Category: फिचर

  • महानगरले बन्द गर्‍यो त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड

    महानगरले बन्द गर्‍यो त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड

    काठमाडौं । काठमाडौं, महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ ।

    यसअघि महानगरले होडिङ बोर्ड हटाउन पटक(पटक आग्रह गरेको थियो । तर पनि सेन्टरले बन्द गरेको थिएन ।

    त्यसपछि बिहीबार दिउँसो गएको महानगर प्रहरीको टोलीले वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको हो ।

    सडक र भवनमा राखिएका डिजिटल होर्डिङ बोर्डका कारण सवारी दुर्घटना बढेको भन्दै महानगरले डिजिटल होर्डिङ बोर्ड हटाउने अभियान सुरु गरेको हो ।

    बिहीबार काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले यस्तो निर्णय लिएका थिए ।

    ट्राफिक प्रहरीले सुरुदेखि नै डिजिटल होर्डिङ बोर्ड नराख्न आग्रह गर्दै आए पनि कुनै सुनुवाइ हुन सकेको थिएन ।

    अनुमतिबिना चुरोट, रक्सी र अन्य मादक पदार्थको प्रचार गर्ने सबै डिजिटल बोर्ड अब हट्ने छन्।

    नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली ट्रेड सेन्टर गएका थिए ।

    स्वीकृत मापदण्डमा ८ सय स्क्वायर फिटमा मात्रै डिजिटल होडिङ बोर्ड राख्‍न पाइने नगर प्रहरीले जनाएको छ ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विज एयर नियमित उडान गर्ने

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विज एयर नियमित उडान गर्ने

    काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विज एयरवेजले पनि नियमित उडान सञ्चालन गर्ने तयारी गरेको छ ।

    एयरवेजले आगामी कात्तिक १३ (अक्टोबर ३० तारिख)देखि भैरहवाबाट संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीमा उडान भर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको उक्त एयरवेजले नेपालमा सातामा तीन दिन उडान गर्ने तयारी गरेको छ ।

    योसँगै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान भर्ने दुई एयरलाइन्स पुगेका छन् । यसअघि कुवेतको जजीरा एयरलाइन्सले नियमित उडान गरिरहेको छ ।

    जेठ २ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले मात्र अन्तरराष्ट्रिय उडान गरिरहेको छ । थप एयरलाइन्सले पनि भैरहवाबाट उडान सञ्चालनमा चासो देखाएको प्राधिकरणले जनाएको छ ।

  • शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकममा सुधार

    शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकममा सुधार

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पाँचौंदिन शेयर बजार मापक सूचक नेप्से १.८ अंकले घटेर १९७२.२९ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२५ कम्पनीको १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको ३९ लाख ५५ हजार ८८६ कित्ता शेयर किनबेच भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा सुधार आएको छ । बुधवार १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ समूहको घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.३१ प्रतिशतले बढेको छ ।

    आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

    त्यसैगरी, अपर हेवाखोला ६.५८, महुली लघुवित्त ५.८४, सप्तकोशी डेभलपमेन्ट बैंक ५.२२, प्रोग्रेसिभ फाइनान्स, लिबर्टी इनर्जी र बिन्ध्यवासिनी हाइड्रोपावरको शेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार आज राप्ती हाइड्रो एण्ड कन्ट्रक्शन र गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यसको आज १२ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ ।

    हिमालय एभरेष्ट इन्सोरेन्सको ५ करोड ६५ लाख र नेष्डो लघुवित्तको ४ करोड ८८ लाख बढीको कारोबार भएको छ ।

  • ४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, ३५ पालिका अझै विद्युत पहुँच बाहिर

    ४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, ३५ पालिका अझै विद्युत पहुँच बाहिर

    काठमाडौं । देशभरका ७५३ मध्ये ४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको छ । नेपाल विद्युत प्राधिकरणले प्रसारण तथा वितरण प्रणालीका संरचना निर्माण गरी यी स्थानीय तहमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुर्याएको हो । २४२ स्थानीय तहमा भने आंशिकरूपमा मात्रै विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा अहिलेसम्म पनि राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुग्न सकेको छैन ।

    प्राधिकरणले मुलुकभरीका स्थानीय तहका गाउँपालिका र नगरपालिकाका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ,२०७९ अनुसार, कूल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युतको पहुँच पुगेको छ । विद्युतको पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशतले राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत सेवा पाएका छन् ।

    सबैभन्दा बढी मधेश प्रदेशमा ९९.९५ विद्युतीकरण हुँदा सबैभन्दा कम कर्णाली प्रदेशमा ५६.७९ प्रतिशत विद्युतीकरण भएको छ । १ नं प्रदेशमा ९१.२३ प्रतिशत, बागमतीमा ९७.४७, गण्डकीमा ९७.७६ प्रतिशत, लुम्बिनीमा ९६.७३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७८.८५ प्रतिशत विद्युतीकरण भएको छ ।

    मुलुकका ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्ण विद्युतीकरण भइसकेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । झापा, मोरङ, सुनसरी, धनकुटा,सप्तरी, सिराहा, धनुषा,महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा,रामेछाप, दोलखा,कार्भेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर र ललितपुर पूर्ण विद्युतीकरण भएका जिल्ला हुन् ।

    यसैगरी, नुवाकोट, रसुवा, धादिङ,चितवन, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पाल्पा,पर्वत, मुस्ताङ, बागलुङ, गुल्मी, प्यूठान,नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी,रुपन्देही, अर्घार्खाची,कपिलवस्तु,दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा सारभूतरुपमा विद्युतीकरण भएको छ ।

    इलाम, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, खोटाङ, उदयपुर, सिन्धुली, मकवानपुर,गोरखा,पाल्पा, म्याग्दी,रुकुमपश्चिम, डाटी र डडेलधुरा गरी १४ जिल्लामा ७५ देखि ९५ प्रतिशत विद्युतीकरण भएको छ । प्राधिकरणका अनुसार ताप्लेजुङ, भोजपुर, ओखलढुङ्गा,मनाङ,रोल्पा, सल्यान सुर्खेत,दैलेख,अछाम र दार्चुला गरी १० जिल्लामा ५० देखि ७५ प्रतिशत विद्युतीकरण भएको छ ।

    रुकुमपूर्व, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बझाङ र बैतडी गरी ७ जिल्ला २५ देखि ५० प्रतिशत हाराहारीमा विद्युतीकरण भएका जिल्लामा पर्दछन् । सोलुखुम्बु, डोल्पा, जाजरकोट र बाजुरा गरी ४ जिल्लामा ० देखि २५ प्रतिशत मात्र विद्युतीकरण भएको छ ।

    डोल्पा, मुगु र हुम्लामा अझैसम्म राष्ट्रिय ग्रिड पुग्न सकेको छैन । राष्ट्रिय प्रसारण लाइन पुर्याउन नसकिने ठाउँमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य, लघुजलविद्युत (माइक्रोहाइड्रो) लगायतमार्फत विद्युतीकरण गर्ने सरकारको कार्यक्रम छ ।

    आगामी दुई वर्ष (सन् २०२४) भित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुर्याउने नेपाल सरकारको घोषणालाई पूरा गर्न योजनाबद्ध रूपमा काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

    ‘आर्थिक वर्ष २०७२/७३ मा ६२.१६ प्रतिशत घरधुरीमा मात्रै विद्युतीकरण भएकोमा अहिले ९२.५१ प्रतिशत जनतामा विद्युत पहुँच विस्तार भएको छ,’ उनले भने, ‘७ प्रदेशमध्ये ४ प्रदेशमा पूर्ण विद्युतीकरण भएको छ । कर्णाली प्रदेशमा न्यून विद्युतीकरण छ । अब निर्धारित लक्ष्यभित्र विद्युत पहुँच पुर्याउने गरी काम भइरहेको छ ।’उनले कर्णालीमा विद्युतीकरण विस्तार गर्न बजेट व्यवस्थापन गरी निर्माण व्यवसायी छनोटका लागि टेण्डर आह्वान गरिसकेको पनि उनले बताए ।

    प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बैक (इआइबी)बाट २२ करोड अमेरिकी डलर (करिब २८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा विद्युतीकरण गर्दैछ ।सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर अन्य क्षेत्रमा विद्युतको पहुुँच विस्तारमा रकम जुटाइएको घिसिङले जानकारी दिए ।

    प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाललले कोभिड–१९ महामारीको प्रभाव, निर्माण सामग्री तथा उपकरणहरूको मूल्य वृद्धि, विश्वव्यापी रुपमा बिग्रिएको आपूर्ति चेनको अवस्थामा पनि गत आर्थिक वर्षमा थप १० जिल्लामा पूर्ण विद्युतीकरण गर्न सकिएको उनले बताए ।‘आंशिक विद्युतीकरण भएका र विद्युतीकरण हुन नसकेका स्थानीय तहहरूमा विद्युतीकरण गर्न टेण्डरको प्रक्रियामा गइसकेका छौं’ उनले भने ।

  • दुई प्रश्न सोधेपछि सकियो चोलेन्द्रसँगको दोस्रो दिनको बयान

    दुई प्रश्न सोधेपछि सकियो चोलेन्द्रसँगको दोस्रो दिनको बयान

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको दोस्रो दिनको बयान सकिएको छ ।

    महाभियोग सिफारिस समितिले जवरासँग दोस्रो दिन करिव २ घण्टा बयान लिएर सकिएको हो ।

    संसदको महाअभियोग सिफारिस समितिले राणालाई १९ गते दिउँसो १ बजे पुन: बयानका लागि बोलाएको छ ।

    समिति सदस्य मीन विश्वकर्माका अनुसार आज राणालाई दुईवटा प्रश्न सोधिएको छ । समितिले तयार पारेको ४३ वटा प्रश्नमध्ये पहिलो दिन हिजो ४ वटा प्रश्न सोधिएको थियो ।

    अर्को बैठक भदौ १९ गते ११ बजे बस्नेगरी सकिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । बिहीबार न्यायलयमा भएको भ्रष्टाचार, न्याय सम्पादन गर्न नसकेको लगायतका प्रश्न गरिएको थियो ।

    ‘भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन गर्न नसकेको र न्याय सम्पादनमा भ्रष्टाचार केन्द्रीत भएर फैसला गरियो भन्ने छ, यसमा तपाईको भनाई के हो ? भनेर गरिएको प्रश्नमा उहाँले धेरै भूमिका बाँधेर जानुभयो’, विश्वकर्माले बयानमा गरिएका सवाल जवाफबारे जानकारी दिए । त्यसक्रममा जबराले समिति र संसदलाई नै प्रश्न गरेका थिए । जसले गर्दा समय लागेको विश्वकर्माले जानकारी दिए ।

  • नयाँ प्रधानमन्त्रीको नियुक्ति पहिलो पटक लण्डनभन्दा बाहिरको शहरबाट गर्दै बेलायती महारानी

    नयाँ प्रधानमन्त्रीको नियुक्ति पहिलो पटक लण्डनभन्दा बाहिरको शहरबाट गर्दै बेलायती महारानी

    लण्डन\बीबीसी । यूकेकी महारानीले परम्परा तोड्दै लण्डन बाहिरस्थित कार्यालयमा देशको नयाँ प्रधानमन्त्रीको नियुक्ति समारोह गर्ने बकिङ्घम राजदरबारले जनाएको छ। नयाँ नियुक्त हुने प्रधानमन्त्री र पदबाट बाहिरिँदै गरेका बोरिस जोनसन यसअघिको परम्परा तोड्दै सेप्टेम्बर ६ मा महारानी एलिजाबेथ द्वितियासँगको भेटका निम्ति स्कटल्याण्डस्थित उनको निवासमा जाने भएका छन्।

    आफ्नो ७० वर्षको शासनकालमा ९६ वर्षीय महारानी एलिजाबेथले देशका नयाँ प्रधानमन्त्रीहरूको औपचारिक नियुक्ति बकिङ्हम प्यालेसबाट नै गर्ने गरेकी थिइन्। नयाँ नियुक्त हुने प्रधानमन्त्रीको दैनिक र नियमित कामहरूको तालिकालाई निश्चितता प्रदान गर्न सजिलो होस् भनेर पूर्व जानकारी दिएरै यस्तो निर्णय लिइएको बुझिएको छ। सेप्टेम्बर ५ मा लिज ट्रस वा ऋषि सुनक मध्ये एक जना सत्ताधारी कन्जरभेटिम पार्टीको नेता चयन हुँदै छन्।

    वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले त्यसको भोलिपल्ट महारानीसमक्ष उपस्थित भएर आफ्नो राजीनामा घोषणा गर्ने अनुमान गरिएको छ। त्यस्तो घोषणा लगत्तै महारानीबाट नयाँ प्रधानमन्त्री नियुक्त हुने परम्परा रहँदै आएको छ। बकिङ्घम प्यालेसले यसअघि नयाँ प्रधानमन्त्रीसँग भेट गर्न महारानीले बालमोरलको बसाईलाई रोकेर लण्डन आउने जनाएको थियो। यूकेमा नियुक्त हुन लागेका नयाँ प्रधानमन्त्री उनको ७० वर्षे शासनकालको १५ ‍औँ प्रधानमन्त्री हुनेछन्। महारानीलाई पछिल्लो केही महिनायता हिँडडुलमा समस्या भएको ठानिएको छ।

    परम्परादेखि मनाइँदै आएको ग्रीष्मकालीन बिदाका लागि महारानी परिवार र पाहुनाहरू सहित स्कटल्याण्ड पुगेकी छिन्। उनी अगस्टबाट अक्टोबरसम्म त्यहाँ बस्ने गरेकी छन्। राष्ट्र प्रखुको हैसियतमा नयाँ प्रधानमन्त्री नियुक्त गर्ने जिम्मेवारी महारानीको हो, जस्ले महारानीको सरकार, हर म्याजेष्टिज् गभमन्ट, को नेतृत्व गर्छन् भन्ने प्रचलन छ।

    महारानी भिक्टोरियाको शासनयता एक जना बाहेक हरेक प्रधानमन्त्रीको नियुक्ति समारोह लण्डनस्थित बकिङ्घम राजदरबारमा भएको संविधानविद् प्राध्यापक भर्नोन बग्दनोर बताउँछन्। अपवादको रूपमा हर्वट हेनरी आस्क्विथ भने सन् १९०८ मा राजा एडवर्ड सातौँबाट नियुक्ति लिनका लागि फ्रान्सको वियरित्स सहर पुगेका थिए।

  • नारायणगढ–मुग्लिन सडक बिहानैबाट बन्द, यात्रुलाई सास्ती

    नारायणगढ–मुग्लिन सडक बिहानैबाट बन्द, यात्रुलाई सास्ती

    काठमाडौं । पहिरोका कारण मुग्लिङ्ग नारायणगढ सडकखण्ड बन्द हुँदा यात्रु अलपत्र परेका छन् । पहिरो खुलाउन लामो समय लाग्ने प्रहरीको अनुमान छ । यो सडक खण्डको विभिन्न ठाउँमा पहिरो र ढुङ्गा खसेको छ । सोहीकारण बिहानैबाट गाडी रोकिएका छन् । सडक बन्द भएपछि गाडीको लामो लाइन लागेको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा बिहान लेदोसहितको पहिरो खसेको छ ।

    त्यस्तै १८ किलोमा पनि ठूलो पहिरो झरेको छ । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । केराबारीको पहिरो पन्छाउन ४\५ घण्टा लाग्ने र १८ किलोको पहिरो ३ घण्टामा हटाउनेगरी काम थालिएको प्रहरीको भनाइ छ । चितवनको इच्छाकामना गाउँपालिका–६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ ।

    यसअघि मंगलबार राति खसेको पहिरो हटाएर हिजो बिहान साढे ८ बजेदेखि मुग्लिन नारायणगढ सडकखण्ड खुलाइएको थियो । पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ ।

  • काठमाडौंसहित देशभर वर्षा, यस्तो छ मौसम पूर्वानुमान

    काठमाडौंसहित देशभर वर्षा, यस्तो छ मौसम पूर्वानुमान

    काठमाडौं । बिहीबार काठमाडौं उपत्यकासहित मुलुकभरका अधिकांश स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। भोलि शुक्रबार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका ए-(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    यस्तै शनिबार प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउउन विभागले सचेत गराएको छ ।

  • सत्तारुढ दलबीच सिट बाँडफाँटमा अझै सकस, आज पनि बैठक बस्दै

    सत्तारुढ दलबीच सिट बाँडफाँटमा अझै सकस, आज पनि बैठक बस्दै

    काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । बिहीबार बिहान ११ बजे बालुवाटारमा बैठक बस्ने कार्यक्रम छ । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले तालमेल गरेर जाने निर्णय गरेका छन् । तर, कुन पार्टीलाई कति सिट भन्ने बाँडफाँट गर्न भने सकेका छैनन् ।

    बुधबार पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भएको थियो । तर कुनै सहमतिमा पुगेन। कार्यदल बैठकमा नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका थिए। यसपछिका बैठकमा भने दलहरू आफ्ना अडानबाट पछि नहट्दा सहमति हुन सकिरहेको छैन।

  • उपत्यकामा रात्रिकालिन सम्पदा यात्रा चलाइंदै

    उपत्यकामा रात्रिकालिन सम्पदा यात्रा चलाइंदै

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले ल्याएको पर्यटन पुनरुत्थान कार्ययोजनामा यो कार्यक्रम समेटिएको थियो । काठमाडौं, भक्तपुर, पाटन र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु गर्नेबारे मन्त्री श्रेष्ठले बुधवार सरोकारवालाहरुसँग छलफल गरेका हुन् ।

    मन्त्री श्रेष्ठले रात्रिकालीन सम्पदा यात्राले पर्यटकहरूको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्बिने विश्वास व्यक्त गरे । रात्रिकालीन सम्पदायात्राबाट यहाँका कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्धत पुग्ने उनले बताए ।

    रात्रिकालीन सम्पदा यात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुनर्जीवन पाउने उनको भनाइ थियो । पर्यटन व्यवसायी र स्थानीयबासिन्दाबीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्तिको व्यवस्था, सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय सञ्चालनको तयारी पूरा गरी रात्रिकालीन सम्पदायात्रा सञ्चालन गरिनेछ ।

    ऐतिहासिक सम्पदा, मन्दिर, पार्क तथा ढुंगेधाराको रात्रिकालीन अवलोकन निकै आकर्षक एवं मनमोहक हुने पर्यटन व्यवसायीहरुको भनाइ छ । छलफलमा उपत्यकाका स्थानीयतहका प्रतिनिधिका साथै होटल व्यवसायी, पर्यटन व्यवसायी, प्रहरी र स्थानीय संघ–संस्थाका प्रतिनिधि सहभागि भएका थिए ।

    दिवाकालीन मात्रै होइन, रात्रिकालीन पर्यटन विकास गर्न तथा सम्पदा बस्तीलाई पर्यटकीय गन्तव्य बनाउन रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गर्न लागिएको हो । रात्रिकालीन सम्पदा यात्राले स्थानीयवासिन्दाको आर्थिक समृद्धिमा सहयोग पुन्नेछ । रात्रिकालीन पर्यटन प्रवर्द्धन गर्न सम्पदा क्षेत्रहरू उपयुक्त रहेको मन्त्री श्रेष्ठले बताए ।

  • ऋषि पञ्चमी पूजामार्फत तीजको व्रत समापन गरिँदै

    ऋषि पञ्चमी पूजामार्फत तीजको व्रत समापन गरिँदै

    काठमाडौं । आज तीजको अन्तिम दिन, प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

    हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

    आज स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

    यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ । सप्तऋषिको पूजा गरेसँगै तीज व्रत समाप्त भएको मान्यता छ ।

  • बुटवलमा मोटरसाइकल जुधेर भएको दुर्घटनामा बाबुछोराको मृत्यु

    बुटवलमा मोटरसाइकल जुधेर भएको दुर्घटनामा बाबुछोराको मृत्यु

    बुटवल । बुटवलमा दुई वटा मोटरसाइकल ठोक्किएर भएको भएको दुर्घटनामा बाबु(छोराको मृत्यु भएको छ। बुटवल बेलवासमा बुधबार दिउँसो भएको उक्त दुर्घटनामा बुटवल उपमहानगरपालिका–१३ बेलवासकै ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुधबार दिउँसो बेलवास चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेका थिए।

    उक्त दुर्घटनामा परेपछि लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ क ४४२४ नम्बरको ट्यांकरमुनि परेको थियो। दुर्घटनाबाट गम्भीर घाइते बाबुछोरालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो। लु ४८ प ३२४६ नम्बरको मोटरसाइकलमा सवार बुटवल–१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन्।

  • रोल्पामा दम्पत्तिको शव फेला, हत्या भएको आशंका

    रोल्पामा दम्पत्तिको शव फेला, हत्या भएको आशंका

    रोल्पा । रोल्पामा एक दम्पत्तिको शव फेला परेको छ । प्रहरीका अनुसार माडी गाउँपालिका–३ तालाबाङमा एक दम्पतीको शव फेला परेको हो । धारिलो हतियार प्रहार भएको अवस्थामा परिवर्तन गाउँपालिका–२ राँसीका दुर्गाबहादुर पुन र उनकी पत्नी पार्वती पुनको शव भेटिएको प्रहरीले जनाएको छ ।

    उनीहरु माडी गाउँपालिका–३ तालावाङमा मजदुरी गर्दै आएका थिए । उनीहरुको शव बुधबार दिउसो २ः३० वजे फेला परेको हो । प्रहरीले हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । शव हालसम्म घटनमास्थलमै छ । घटनाको अनुसन्धानका लागि कोहलपुरवाट तालिम प्राप्त कुकुरसमेत बोलाइएको प्रहरीको भनाइ छ ।

  • दुई किशोर-किशोरी बुद्धनगरमा निर्माणाधिन भवनबाट हाम फाले, अस्पतालमा निधन

    दुई किशोर-किशोरी बुद्धनगरमा निर्माणाधिन भवनबाट हाम फाले, अस्पतालमा निधन

    काठमाडौं । बुधबार साँझ साढे ६ बजे बुद्धनगरस्थिति एक निर्माणाधिन घरको छतबाट हाम फाल्दा एक किशोर र एक किशोरीको ज्यान गएको छ । प्रहरी वृत्त, बानेश्वरका अनुसार बुद्धनगरको बुटवल पावर कम्पनी नजिकै एक निर्माणाधीन घर अगाडि दुई बालबालिकाले ६ तलामाथिबाट फाल फालेका हुन् । घटनास्थलमा प्रहरी पुग्दा दुईजना गम्भीर अवस्थामा थिए । उनीहरुलाई तत्काल सिभिल अस्पताल बानेश्वर लगियो । तर चिकित्सकहरुले मृत घोषित गरे ।

    उनीहरु मध्यबानेश्वरस्थित पाठशाला स्कुलमा कक्षा ९ मा पढ्ने विद्यार्थी भएको खुलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनीहरु १३ र १४ वर्षका किशोरकिशोरी भएको खुलेको छ । दुवै पेप्सिकोलामा बस्दै आएका थिए । बुधबार उनीहरु दुबै जना स्पोर्टस् ड्रेसमा उनीहरु स्कुल आएका थिए । अनुसन्धान अधिकृतहरुका अनुसार हालसम्म उक्त घरमा अन्य व्यक्तिको प्रवेश देखिएको छैन र शंकास्पद विषय अगाडि आएका छैनन् । घटनाको कारण हालसम्म खुलेको छैन । उनीहरुको झोला पनि हालसम्म भेटिएको छैन ।

  • फनपार्कलाई कर तिर्न काठमाडौं महानगरको २४ घण्टे ‘अल्टिमेटम’

    फनपार्कलाई कर तिर्न काठमाडौं महानगरको २४ घण्टे ‘अल्टिमेटम’

    काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र राजस्व तिर्न ‘अल्टिमेटम’ जारी गरेको छ ।

    बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।

    व्यवसाय सञ्चालन गरेर वर्षौंदेखि कर नतिरेको भन्दै २४ घण्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर नतिरे सिलबन्दी गर्ने चेतावनी महानगरले दिएको छ ।

    समाजकल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरु निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्दै आएको छ ।

    फन पार्क कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको कम्पनीले सञ्चालन गर्दै आएको छ ।

    समाज कल्याण परिषद्को जग्गामा फन पार्क बनाइएको छ । सो पार्कमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीहरू बद्रीप्रसाद न्यौपाने र टेकबहादुर गुरुङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो प्रकरणपछि पार्कले कर नतिरेको बताइएको छ ।

  • नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से २१.९७ अंकले घटेर १९७३.३८ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२४ कम्पनीको १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६१ रुपैयाँ बराबरको २९ लाख ९२ हजार ८७३ कित्ता शेयर किनबेच भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा सुधार आएको छ । मंगलवार १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर र फाइनान्स समूह २ प्रतिशतभन्दा बढीले घटेको छ ।

    नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यसैगरी, अपर सोलुखोला, अपर हेवाखोला, रिलायन्स फाइनान्स र खानीखोला हाइड्रोपावरका शेयरधनीले ५ प्रतिशत गुमाएका छन् ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यसको आज १० करोड ७४ लाखभन्दा बढीको कारोबार भएको छ ।

    रिडी पावरको ६ करोड ४० लाख र राप्ती हाइड्रोको ३ करोड २७ लाख बढीकोे कारोबार भएको छ ।

  • ‘महाभियोगको प्रक्रिया मिलेको छैन्, यो विषयमा कुनै दिन लेखौंला बोलौंला’

    ‘महाभियोगको प्रक्रिया मिलेको छैन्, यो विषयमा कुनै दिन लेखौंला बोलौंला’

    काठमाडौं । निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगको बयान झण्डै डेढ घण्टा पछि सुरु भएको छ ।

    समितिले तोकेको समयमा राणा पुगेपनि सांसदहरु नआउँदा ढिलो गरी सुरु भएको हो ।

    जवाफको क्रममा आफूले कानुन बाहिर गएर काम नगरेको दाबी गर्दै प्रक्रियामा नै प्रश्न उठाएका छन् ।

    उनले महाभियोग प्रस्ताव निस्क्रिय भइसकेको दाबी गरेका छन्। जनतारसंसदको सम्मानका लागि मात्रै जवाफ दिन आएको उनले बताए ।

    ‘म माथि लागेको अभियोगका विषयमा म कुनै दिन लेखौंला बोलौंला। कानुन र संविधानभन्दा बाहिर गएर काम गरेको छैन। यो महाभियोगको प्रक्रिया मिलेको छैन्,’ जबराले भने।

    म पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजिएको भन्दै उनले त्यसैका लागि आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको बताए ।

    दीपक कार्कीजीलाई पनि त्यो इच्छा होला नि। उहाँलाई प्रधानन्यायधीश बनाउन गरिएको हो यो सब गुटबन्दी पनि।’

  • महाअभियोग सिफारिस समिति बैठक: डेढ घण्टा सांसदलाई कुरेपछि चोलेन्द्रसँग बयान शुरु

    महाअभियोग सिफारिस समिति बैठक: डेढ घण्टा सांसदलाई कुरेपछि चोलेन्द्रसँग बयान शुरु

    काठमाडौं । निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगको बयान झण्डै डेढ घण्टा पछि सुरु भएको छ ।

    समितिले तोकेको समयमा राणा पुगेपनि सांसदहरु नआउँदा ढिलो गरी सुरु भएको हो ।

    जबरा बैठकमा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको छ ।

    समितिले बोलाएको समय ११ बजे नै राणा सिंहदरबार पुगेका थिए । तर, समितिका सदस्य सांसदहरु नआएपछि उनको बयान ढिलो गरी सुरु भएको हो ।

    फागुन १ गते जबराविरुद्ध महाअभियोग दर्ता भएको थियो। फागुन २२ गते ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएकोमा समितिले बुधवारका लागि जबरालाई बयान दिन बोलाएको हो। उनमाथि विभिन्न २१ वटा आरोप लगाएर महाभियोग दर्ता गरिएको थियो। महाअभियोग दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए।

    समितिमा एमालेका विष्णु पौडेल,लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल सदस्य छन्। कांग्रेसबाट मिनबहादुर विक, रामबहादुर विष्ट छन् भने नेकपा माओवादी केन्द्रबाट यसोदा सुवेदी र रेखा शर्मा सदस्य छन्।

    नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजावदी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह सदस्य छन्।

  • अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सूचारु

    अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सूचारु

    चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सूचारु भएको छ । सडक बिहान साढे आठ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ केराबारी भन्ने ठाउँमा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण जाममा परेका सवारी साधनहरु पहिरो पन्छाएपछि गन्तव्यमा लागेका छन् । सवारी साधनहरूलाई लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोधसमेत गरेको छ ।

  • डलरकार्ड प्रयोग गरी क्यासिनोदेखि अनलाइन जुवासम्मको भुक्तानी गर्न नपाइने

    डलरकार्ड प्रयोग गरी क्यासिनोदेखि अनलाइन जुवासम्मको भुक्तानी गर्न नपाइने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्ड प्रयोगमा कडाई गरेको छ । वाणिज्य तथा विकास बैंकहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले तोकेरै डलर कार्डबाट १८ वटा कोडमा भुक्तानी बन्द गरेको हो । कोड नम्बरका आधारमा राष्ट्र बैंकले डलर कार्ड प्रयोग गर्न नपाइने भनेका भुक्तानीका क्षेत्रमा क्यासिनोदेखि अनलाइन जुवासम्म रहेका छन् । डलर कार्डबाट विदेशमा कसैलाई रकम स्थानान्तरण गर्न नपाइने व्यवस्था आएको छ ।

    प्रत्यक्ष बीमा सेवामा भुक्तानी गर्न, स्टाम्प तथा सिक्काको भुक्तानी गर्न, विदेशी वित्तीय संस्थाका सदस्यलाई नगद, व्यापारिक सामान तथा सेवाको भुक्तानी गर्न पनि डलर कार्डको प्रयोग रोकिएको छ । विदेशी धितोपत्र ब्रोकर तथा डिलरलाई भुक्तानी गर्न पनि पाइने छैन । विदेशी बिमाको अन्डरराइटिङ तथा प्रिमियमवापत भुक्तानी गर्न डलर कार्ड प्रयोग गर्न पाइने छैन ।

    विदेशका रियल स्टेट एजेन्ट तथा व्यवस्थापकलाई भाडा तिर्न, कोषवापत रकम स्थानान्तरण गर्न, डेटिङ सेवाको भुक्तानी गर्न, क्यासिनो तथा अनलाइन जुवा, घोडा तथा कुकुर दौड खेलको भुक्तानी गर्न, सट्टेबाजी तथा काल्पनिक खेलको भुक्तानी गर्न, राजनीतिक तथा धार्मिक संगठनलाई रकम दिन पनि डलर कार्ड प्रयोग गर्न पाइने छैन । हाल वाणिज्य तथा विकास बैंकहरुले एक व्यक्तिलाई वार्षिक ५ सय डलरसम्म खर्च गर्न पाउनेगरी डलर कार्ड दिन्छन् ।

  • सोभियत संघका अन्तिम नेता मिखाइलको निधन

    सोभियत संघका अन्तिम नेता मिखाइलको निधन

    मस्को । सोभियत युगका अन्तिम नेता मिखाइल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा रहेका मिखाइल सोभियत युगका अन्तिम नेता मानिन्छन् । उनी लामो समयदेखि मृगौला रोगसँग लडिरहेका थिए । मिखाइलको उपचाररत अस्पतालमै निधन भएको बीबीसीले जनाएको छ ।

    स्वर्गीय मिखाइलले शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्दै तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिएर सुधारको खाका प्रस्तुत गरेका थिए । तर, उनले सोभियत संघको पतनलाई रोक्न भने सकेनन् । सोहीकारण आधुनिक रूसको उदय भयो । मिखाइलको निधनमा विश्वका नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्भाचोभको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

  • पश्चिम पहाडी भेगमा ठूलो वर्षा

    पश्चिम पहाडी भेगमा ठूलो वर्षा

    काठमाडौं । पछिल्लो केही घण्टायता तनहुँ, लमजुङ, कास्की, बागलुङ, पर्वत, स्याङजा, नवलपरासी, चितवन र आसपासका धेरै ठाउँमा ठूलो पानी परेको छ ।
    ती क्षेत्रमा ठूलो वर्षा मापन भएको र साना खोला तथा नदीमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । त्यस्तै कपिलवस्तुको बाणगङ्गा र आसपासको क्षेत्रमा पनि ठूलो वर्षा भएको छ । बाणगङ्गालगायत आसपासका क्षेत्रमा पनि सतर्कता अपनाउन भनिएको छ ।

    उता, पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड बन्द भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि सडक अवरुद्ध भएको हो । रातिदेखि नै पहिरोका कारण सडक ठप्प भएपछि अहिले यो सडकखण्डमा गाडीको लामो लाइन लागेको छ । पहिरो हटाउन दुई तीन घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    अहिले दुई वटा डोजरको प्रयोग गरेर पहिरो पन्छाउने काम भईरहेको प्रहरीले जनाएको छ । गएको साउन महिनामा पनि यो क्षेत्रमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पानी पर्न कम भएसँगै पहिरो रोकिएको थियो । तर, अहिले फेरि त्यस क्षेत्रमा पानी परेसँगै पहिरो खस्न थालेको छ । पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे ख्याल गर्न प्रहरीले आग्रह गर्दै आएको छ ।

  • कांग्रेस नेता प्रदीप पौडेलले दिए तनहुँ क्षेत्र नं २ बाट चुनाव लड्न निवेदन

    कांग्रेस नेता प्रदीप पौडेलले दिए तनहुँ क्षेत्र नं २ बाट चुनाव लड्न निवेदन

    तनहुँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने गरी पार्टीमा आवेदन दिएका छन्। क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेकोमा पौडेलले मंगलबार तनहुँ २ स्थित प्रतिनिधि सभा क्षेत्रबाट चुनाव लड्न आवेदन दिएका हुन्। पौडेल कांग्रेस केन्द्रीय सदस्य छन्। तनहुँ २ मै केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आलेले पनि उम्मेदवार हुन आवेदन दिएका छन्।

    २०७४ को चुनावमा यहाँबाट कांग्रेसका शंकर भण्डारी उम्मेदवार थिए। उनी पराजित भएका थिए। भण्डारीले यसपालि तनहुँ १ मा उठ्न आवेदन दिएका छन्। वाग्ले सभापति शेरबहादुर देउवानिकट मानिन्छन् पौडेल भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट हुन् । क्षेत्रीय कार्यसमितिले आवेदन संकलन गरी जिल्लामा पठाउने र जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिमा उम्मेदवारका नाम पठाउने गर्छ।

  • दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

    दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

    दाङ । दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। घटनामा १२ जना घाइते खबर छ । घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वलीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार चट्याङ लागेर २ को मृत्यु र १२ जना घाइते भन्ने सूचना आएको छ । मृतक र घाइतेको नाम खुल्न बाँकी छ । घटनाबारे आज बिहान मात्रै प्रहरीमा खबर आएको थियो। वडाध्यक्ष दोर्णबहादुर बहकरी प्रहरीमा घटनाबारे जानकारी गराएका थिए । घटनास्थलतर्फ प्रहरी जाँदैछ ।

  • सत्ता गठबन्धनको सिट बाँडफाँट आज टुंगिएला ?

    सत्ता गठबन्धनको सिट बाँडफाँट आज टुंगिएला ?

    काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले प्रतिनिधि सभाको सिट बाँडफाँटलाई टुंग्याउने तयारीमा जुटेका छन् । गठबन्धनमा आबद्ध दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक आज बस्दै छ । गठबन्धनका शीर्ष नेताहरुको बैठक आज ५ बजे बोलाइएको छ । यसै बैठकबाट प्रतिनिधि सभामा कुन दलले कति सीट प्राप्त गर्ने भन्ने विषय टुंगो लगाइने भएको छ । गठबन्धनका नेताहरुको बैठक बस्नुअघि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बिहान ९ बजे बालुवाटारमा बस्दै छ ।

    यसमा कांग्रेसले माग्ने सीटको साझा धारणा बनाउने तयारी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदै छ । २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् । कार्यदलस्तरबाट भने अहिलेसम्म कुनै निष्कर्ष आउन सकेको छैन ।

  • पाँचौं खेल जितेसँगै केन्यासँगको टी-२० अन्तर्राष्ट्रिय सिरिज नेपालको कब्जामा

    पाँचौं खेल जितेसँगै केन्यासँगको टी-२० अन्तर्राष्ट्रिय सिरिज नेपालको कब्जामा

    काठमाडौं । केन्याविरूद्धको निर्णायक तथा पाँचौ टी-२० खेलमा जितेको नेपालले सिरिज ३–२ ले आफ्नो कब्जामा पारेको छ। नेपालले मंगलबार भएको पाँचौ टी-२० मा केन्यालाई ३१ रनले हरायो । यसअघि नेपालले पहिलो टी-२० मा ५ विकेट र तेस्रो टी-२० मा ४ विकेटको जित निकालेको थियो। दोस्रो टी-२० मो केन्या १८ रनले विजयी हुँदा हिजो भएको चौथो टी-२० मा उसले ७ रनको जित निकालेको थियो। मंगलबार नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले ७ विकेटको क्षतिमा १४४ रन मात्र जोड्न सक्यो। केन्याका ओपनर कोलिन ओबुया २३ रन र सुखदिप सिंह ४ रनमा आउट भए। इर्फान करिमले २८ रन जोडे भने राखेप पटेल १ रन र सचिन भुडिया शून्यमा आउट भए।

    ओडियाम्बोले सबैभन्दा बढी ३७ रन जोडे। २२ बलमा ४ चौका र १ छक्का हिर्काएका उनलाई बसिर अहमेदले आउट गरे। बसिरले लुकासको पनि विकेट लिने क्रममा ४ रनमा आउट गरे। यस्तै एनगोचे ३३ रनमा नटआउट रहदा नेल्शन ओडियाम्बोले नटआउट १३ रन जोडे। बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले २-२ विकेट लिए। करण केसी, आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे। त्यसअघि केन्याको नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १७५ रन जोड्यो।

    नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। ओपनिङमा आएका ज्ञानेन्द्रले ५९ रन जोडे। उनले ४४ बलमा ५ चौका र २ छक्का हिर्काए। रोहितकुमार पौडेल अन्तिम ओभरको चौथो बलमा आउट हुनुअघि ४७ रन जोडे। उनले २५ बलमा ७ चौका प्रहार गरे। अर्का ओपनर अर्जुन साउदले २१ बलमा २९ रनको योगदान गरे। दीपेन्द्रसिंह ऐरीले १८ बलमा २२ रन बनाए। अब नेपाल र केन्याले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछन्। नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते हुनेछ।

  • चितवन क्षेत्र १ मा कांग्रेसबाट स्वर्णिम वाग्लेसहित ६ जनाले दिए चुनाव लड्न निवेदन

    चितवन क्षेत्र १ मा कांग्रेसबाट स्वर्णिम वाग्लेसहित ६ जनाले दिए चुनाव लड्न निवेदन

    काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले चितवनबाट प्रतिनिधिसभा निर्वाचन लड्न पार्टी समक्ष निवेदन दर्ता गरेका छन् । उनले चितवन १ मा उम्मेदवारी दर्ता गरेका हुन् । मंगलबार कांग्रेसको चितवन १ क्षेत्रीय समितिमा आफ्नो नाम पेश गर्नेमा वाग्लेसहित ६ जना रहेका छन् । जसमा वर्तमान योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल समेत छन् । क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा, जिल्लाले प्रदेशमा र प्रदेशले केन्द्रमा नाम सिफारिस गर्दा यही सूचीलाई आधार मान्ने छ ।

    यसमा तीर्थराज खनियाँ, उमेश श्रेष्ठ, भीमप्रसाद थपलिया र राजेन्द्र बुर्लाकोटीले पनि उम्मेदवारीका लागि निवेदन दिएका छन् । यसअघि स्वर्णिम गोरखा १ मा लड्ने चर्चा थियो । तर, स्थानीय तहको निर्वाचनमा गोरखामा माओवादी केन्द्रले उत्साहजनक मत ल्याएको छ । जहाँ कांग्रेसको जनाधार कम बन्र्दै गएको छ ।

  • महँगा वस्तुको आयातमा लागेको प्रतिवन्ध २८ असोजसम्म निरन्तर

    महँगा वस्तुको आयातमा लागेको प्रतिवन्ध २८ असोजसम्म निरन्तर

    काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको छ । सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत राखको छ ।

    उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

    सरकारले १३ वैशाखको प्रतिबन्धलाई थप कसिलो बनाउँदै ३१ असारमा १४ भदौ (४४ दिन ) सम्मका लागि प्रतिबन्ध थप गरेको थियो । यस बीचमा व्यवसायीहरुले महँगा मदिरा, महँगा गाडी, मोबाइल र १५० सीसी भन्दा माथिका मोटरसाइकलको आयात खुलाउन सकारलाई दबाव दिंदै आएको थियो ।


    विलासी वस्तुको आयात तत्काल खोल्न प्रधानमन्त्री राजी नभए पछि प्रमुख विलासी वस्तुको आयातलाई यथावत राख्दै अन्य ६ वस्तुको आयात प्रतिबन्ध भने हटाउने निर्णयमा सरकार पुगेको हो

  • चाडपर्वलाई लक्षित नोट सटही सुविधा भदौं २६ देखि, प्रतिव्यक्ति १८ हजार ५ सय सम्म साटन सकिने

    चाडपर्वलाई लक्षित नोट सटही सुविधा भदौं २६ देखि, प्रतिव्यक्ति १८ हजार ५ सय सम्म साटन सकिने

    काठमाडौं । दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले भदौं २६ गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ।

    दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

    काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट नोटहरु साट्न सकिने जनाइएको छ ।

    राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले आगामी सातादेखि नयाँ नोट सटही सुरु गर्ने बताए । उनले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने बताए ।

    नागरिकले ५, १०, २०, ५० र १०० दरका एक/एक बण्डल (बिटा) नयाँ नोट सटही गर्न पाउछन ।

  • प्राधिकरणले सञ्चालनमा ल्यायो विद्युतीय चार्जिङ स्टेसन, १ घण्टामा फुल चार्ज

    प्राधिकरणले सञ्चालनमा ल्यायो विद्युतीय चार्जिङ स्टेसन, १ घण्टामा फुल चार्ज

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पहिलो पटक सरकारी तहबाट विद्युतीय सवारी साधन चार्ज गर्न स्टेसन सञ्चालनमा ल्याएको छ।

    मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालय रत्पपार्कमा एक कार्यक्रमका चार्ज स्टेसन उद्घाटन गरिएको थियो ।

    चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।

    देशका विभिन्न ५१ स्थानमा सवारी चार्जिङ स्टेशन स्थापनाका काम भइरहेको पनि उनले जनाएका छन् ।

    प्राधिकरणका अनुसार स्टेशनमा २६ वटा GBT (ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि) चार्जर र २५ वटा CCS (साना ठूला कारहरु) चार्जर रहेका छन्।

    यसको लागि आवश्यक NSP (National Service Provider) प्रणालीको विकास गरिएको छ। NSP मार्फत उपभोक्ताले अनलाइन बुकिङ्ग गर्न सक्नेछन्। चार्जको रकम भुक्तानीको लागि प्राधिकरणको मोबाइल एप्स प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ।

    प्राधिकरणले निर्माण गरेको चार्जिङ्ग स्टेशनको क्षमता ६० किलोवाट डिसि + ६० किलोवाट डिसि + २२ किलोवाट एसी रहेको छ।

    यद्यपी १२० किलोवाट डिसी सम्म पनि सिङ्गल डिसि गनले गाडीहरु चार्ज गर्न सक्ने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको व्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ।