Category: फिचर

  • १७३ जनामा कोरोना पुष्टी, मृत्यु शून्य

    १७३ जनामा कोरोना पुष्टी, मृत्यु शून्य

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८३९ परीक्षणमा १७३ जनामा संक्रमण पुष्टि भएको हो । ६४३ पीसीआर परीक्षणमा ६५ जना र दुई हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको हो ।

    हाल देशभर कोरोाना भाइरसको सक्रिय संक्रमित संख्या तीन हजार १२ जना रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा २१, ललितपुरमा ८, भक्तपुरमा २, चितवनमा ४, मोरङ, सुनसरी र गोरखामा ३÷३, सिन्धुपाल्चोक, धादिङ, अछाम र कञ्चनपुरमा २÷२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

  • यूरोपमा चरम खडेरी, ५ सय वर्षयताकै खराब भएको रेकर्ड

    यूरोपमा चरम खडेरी, ५ सय वर्षयताकै खराब भएको रेकर्ड

    काठमाडौं\एजेन्सी । युरोपेली सङ्घले हाल युरोपमा जारी चरम खडेरी पाँच सय वर्षयताकै खराब भएको बताएको छ । खडेरीका कारण यस महादेशका झन्डै दुई तिहाइ क्षेत्रमा कुनै न कुनै प्रकारको चेतावनी जारी गरिएको छ । बीबीसीका अनुसार सङ्घले यो खराब अवस्था पाँच वर्षयताको खराब भएको बताएको छ । युरोपमा ४७ प्रतिशत भू–भागमा माटोको चिसोपना सुकेको र थप १७ प्रतिशत भू–भागमा खडेरीको प्रभाव पर्न थालेको सङ्घले उल्लेख गरेको छ । खडेरीका कारण उत्पादनमा असर पर्नुको साथै डढेलो बढाउने चेतावनी दिइएको छ ।

    खडेरीका कारण सन् २०२२ मा अघिल्ला पाँच वर्षको औसत उत्पादनको तुलनामा मकैको उत्पादन १६ प्रतिशतले, सोयाबिन १५ प्रतिशतले र सूर्यमुखी तेल १२ प्रतिशतले घट्ने युरोपेली सङ्घको अनुमान छ । यस्तै युरोपका सबैजसो नदीमा पानीको मात्रा घटेको छ । यसले पारवाहन र जलविद्युत् उत्पादनमा पनि समस्या बढेको छ । खडेरीका कारण युरोपेली नदी घटिरहँदा नदीमुनि छोपिएका ऐतिहासिक अवशेष बाहिरबाटै देखिन थालेका बीबीसीले जनाएको छ ।

  • सशस्त्र प्रहरीको क्यान्टिनमा अब विद्युतीय चुलो मात्र चल्ने

    सशस्त्र प्रहरीको क्यान्टिनमा अब विद्युतीय चुलो मात्र चल्ने

    काठमाडौं । संस्थागतरुपमा नै विद्युतीय सवारी साधनको प्रवर्द्धन र चुलोको अभियान चलाउँदै आएको नेपाल विद्युत् प्राधिकरणले आज पुनःअर्को एक सङ्गठित संस्थासँग समझदारी गरेको छ । प्राधिकरण र सशस्त्र प्रहरीबलबीच विद्युतीय चुलो प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका तर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरे ।

    समझदारीअनुसार सशस्त्र प्रहरीका ब्यारेकमा सञ्चालित भान्सा (मेस)मा भइरहेको एलपी ग्यासको प्रयोगलाई विस्थापित गर्न क्रमिकरुपमा इन्डक्सन चुलो प्रयोग गरिनेछ । प्राधिकरणले इन्डक्सन चुलो प्रयोगका लागि विद्युत् खम्बा थप गर्ने, ठूला क्षमताका ट्रान्सफर्मर राख्नेलगायतका आवश्यक भौतिक पूर्वाधार बनाइदिनेछ । शस्त्र प्रहरी बलका देशभर आठ बाहिनी, ४४ गण,४४ गुल्म, दुई सय २२ बिओपी, १४ तालिम केन्द्र रहेका छन् ।

    प्रत्येक कार्यालयमा तीनवटासम्म मेश सञ्चालित छन् । खाना पकाउन प्रयोग हुने ग्यासमा वार्षिक झण्डै रु ४० करोड बराबरको खर्च हुने गरेको छ । सशस्त्र प्रहरी बल र प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । समझदारीअनुसार, सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्वारा हाल सञ्चालित दुई वटा पेट्रोलपम्प र सशस्त्र प्रहरीका कार्यालयका १५ उपयुक्त स्थान गरी १७ ठाउँमा चार्जिङ स्टेसन स्थापना गरिनेछ ।

    चार्जिङ स्टेसन दीर्घकालीनरुपमा कल्याणकारी कोष मातहत सञ्चालन हुनेछन् । प्राधिकरण र नेपाल प्रहरीबीच २५ ठाउँमा चार्जिङ स्टेसन स्थापना गर्न यस अघिनै समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । समझदारीअनुसार, प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेसनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गर्नेछ । उपकरणहरुको मर्मत तथा नियमित सर्भिसिङ समेत प्राधिकरणले नै गर्ने छ ।

    सशस्त्र प्रहरीले पूर्वाधार निर्माणका लागि उपयुक्त स्थान उपलब्ध गराउने छ र निर्माण भएपछि चार्जिङ स्टेसनको सञ्चालन तथा सुरक्षा गर्ने छ । चार्जिङ स्टेसन तेस्रो व्यक्ति÷संस्थालाई सञ्चालन गर्न दिन नपाउने व्यवस्था गरिएको छ । चार्जिङ स्टेसन सञ्चालन गर्दा प्राधिकरणले समयानुकूल निर्धारण गरेको दरमा सर्वसाधारणलाई समेत सर्वसुलभ रुपमा उपयोग गर्न पाउने व्यवस्था गर्नु पर्ने छ ।

    सवारी साधन चार्ज गर्दा उपभोक्ताले तिर्ने महसुल प्राधिकरणले सङ्कलन गर्नेछ । विद्युत् वितरण विनियमावलीको व्यवस्था बमोजिम विद्युत महसुल दरको शुल्कमा हुने कूल नाफाको ५० प्रतिशत रकम चार्जिङ स्टेसनको सञ्चालन तथा व्यवस्थापन खर्चको रुपमा सशस्त्र प्रहरीको कल्याणकारी केन्द्रले पाउने छ ।

    प्राधिकरणले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न देशैभरी ५१ स्थानमा छिट्टो चार्ज गर्न सक्ने अत्याधुनिक चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । प्राधिकरणले निर्माण गरिरहेका हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन विलिङ प्रणालीको जडान गरिने छ ।

    चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०\६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ । तीन सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

  • भारतमाथिको फिफाको निलम्बन फुकुवा

    भारतमाथिको फिफाको निलम्बन फुकुवा

    काठमाडौं । भारतमाथि फिफाले गरेको निलम्बन फुकुवा भएको छ । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई विश्व फुटबल महासंघ फिफाले निलम्बन गरेको थियो । निलम्बन दुई साता नबित्दै फिर्ता भएको हो । शनिबार बिहान फिफा काउन्सिलले भारतीय फुटबलमाथि लागेको सबै निलम्बन फिर्ताको निर्णय गरेको हो ।

    भारतको सर्वोच्च अदालतले कार्यकारी समिति निर्माण गरेपछि तेस्रो पक्षको हस्तक्षेप ठहर गरी फिफाले गत साउन ३१ गते निलम्बन गरेको हो । ‘अदालतबाट स्थापित कमिटीको नियन्त्रणबाट एआइएफएफ स्वतन्त्र भएको हामीले पाएका छौं । फिफा र एएफसीले त्यहाँको आगामी परिस्थितिबारे पनि निगरानी राख्नेछ’ फिफाको वक्तव्यमा भनिएको छ, ‘हामी निर्धारित समयमै निर्वाचन गराउन एआइएफएफलाई सहयोग गर्नेछौं ।’

    फिफाले आगामी अक्टोबर ११ देखि ३० सम्म हुने तय भएको फिफा यू–१७ महिला विश्वकप पूर्वनिर्धारित मिति र स्थानमै हुने जनाएको छ । निलम्बन हटेसँगै आसन्न साफ महिला च्याम्पियनसिपमा पनि भारतको सहभागिता निश्चित छ । यसपल्ट दक्षिण एसियाका सातै देशको सहभागिता तय भएकोमा भारतीय फुटबलमाथि निलम्वनले संसय बढेको थियो । साफ महिला च्याम्पियनसिप भदौ २१ देखि असोज ३ सम्म काठमाडौँमा हुँदैछ ।

  • आज कुशे औशी, बुबाको मुख हेर्ने दिन

    आज कुशे औशी, बुबाको मुख हेर्ने दिन

    काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसी पर्व, घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राह्मणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्‍याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् ।

    कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुशे औंसी भन्ने गरिएको हो । आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवस समेत भनिन्छ ।

    आजका दिन बाबु नहुनेहरू भने काठमाडौंको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीको संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिधा दानसमेत गर्ने गर्छन् । रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिधा दान गर्ने गरिन्छ । पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिधा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । गोकर्णमा आज मेलासमेत लाग्छ ।

  • १ अर्ब लागतमा बुटवलमा तयार भयो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्रीले उद्घाटन गर्दै

    १ अर्ब लागतमा बुटवलमा तयार भयो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्रीले उद्घाटन गर्दै

    बुटवल । बुटवलमा १ अर्ब ११ करोड रुपैयाँ लागतमाअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ । आज सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । उद्घाटन कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकास मन्त्री मेटमणि चौधरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतका नेताहरूले सम्बोधन गर्नेछन् । पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल उपमहानगरपालिका १० रामनगरस्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा सम्मेलन केन्द्र बनेको छ ।

    एमालेको बुटवलमा सम्पन्न आठौं महाधिवेशनले बुटवलमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र आवश्यक रहेको एजेण्डा पारित गरे अनुसार रुपन्देही २ का सांसद तथा एमाले उपाध्यक्ष विष्णु पौडेलको योजनामा सम्मेलन केन्द्र बनेको हो । सम्मेलन केन्द्रको जग्गा प्राप्तिमा पौडेलसँगै तत्कालीन सांसद सूर्यप्रसाद प्रधानले पहल गरेका थिए । सम्मेलन केन्द्रमा एक हजार १०० क्षमताको मुख्य हल र अन्य १२ वटा साना हल रहेका छन् ।

    संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागको १ अर्ब ११ करोड रूपैयाँ लागतमा केन्द्र बनेको हो । विक्रम संवत् २०७१ माघ १५ गते सम्झौता भएर निर्माण सुरू भएको सम्मेलन केन्द्र दोस्रो चरणमा २०७४ सालमा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयावधि तोकेर काम भएको हो । तोकिएको समयमा काम नगरेपछि २०७९ कात्तिकसम्म म्याद थप गरिएको थियो ।

  • महङ्गो ब्राण्डका नक्कली रक्सी उत्पादन गर्ने कारखानामा प्रहरीको छापा, ५ जना पक्राउ

    महङ्गो ब्राण्डका नक्कली रक्सी उत्पादन गर्ने कारखानामा प्रहरीको छापा, ५ जना पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौंबाट नक्कली मदिरा उत्पादन गर्ने कारखानामा छापा हानेको छ । सो क्रममा पाँच जना पक्राउ परेका छन् । नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका–८ का भगवान बस्नेत, दोलखाको कालिन्चोक गाउँपालिकाका २४ वर्षीय हरि वली, सोहीका स्थानका विशाल वली, रामेछापको खाँडादेवीका मनोज खत्री र गोपी श्रेष्ठ छन्।

    प्रहरीले उनीहरूलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। विभिन्न ब्राण्डको नाममा नक्कली मदिरा उत्पादन गर्ने गरेको भनी प्रहरीले विशेष सूचना पाएको थियो। उक्त सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले कोटेश्वरमा र दुवाकोटमा रहेको दुई फ्याक्ट्रीमा छापा मारेको थियो। प्रहरी उपरीक्षक मैनालीका अनुसार कोटेश्वरस्थित हरि वलीको डेरा र चाँगुनारायण २ दुवाकोटमा सञ्चालित दुई फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो।

    वलीको डेरा र फ्याक्ट्रीबाट ब्ल्याक लेबल, रेड लेबल, डबल ब्ल्याक, ज्याक डेनिस, ८८४८ भोड्का, सिग्नेचर, ओल्ड दरबार, गोल्डेन ओक, हाइल्याण्डर भोड्का, ब्लु डाइमेन्डलगायत ब्राण्डका नक्कली रक्सी बरामद गरेको प्रहरीले जानकारी दिएको छ । रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत बरामद गरेको जनाइएको छ।

    प्रहरीका अनुसार सुरूमा कोटेश्वरस्थित डेराबाट वलीलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा अन्य व्यक्तिको पनि संलग्नता देखिएपछि उनीहरूलाई पनि पक्राउ गरिएको हो। बरामद भएका रक्सीहरू उनीहरूले विभिन्न नाइट क्लब, लाउन्ज, डिस्को, विभिन्न डिलर, दोहोरी, डान्सबारमा पठाउने गरेका थिए ।

  • कपिलवस्तुमा गोली प्रहारबाट एक जनाको हत्या

    कपिलवस्तुमा गोली प्रहारबाट एक जनाको हत्या

    बुटवल । कपिलवस्तुको मायादेवी गाउँपालिकामा अपरिचित समुहले प्रहार गरेको गोली लागेर एक जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ । पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पुर्‍याएर गोली हानेका थिए । गोली लागेर गम्भीर घाइते भएका पासीको उपचारका लागि कपिलवस्तु अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

    कपिलवस्तु अस्पतालको ईमरजेन्सीमा कार्यरत डाक्टर खगेन्द्र चौधरीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार मृतकको बायाँ तिघ्रामा गोली लागेर छेडिएको थियो । तिघ्रामा गोली लागेका उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ । गोली प्रहारको घटनामा संलग्नहरुको खोज तलासका लागि प्रहरीको टोली घटनास्थल खटाइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

  • केन्यासँगको दोस्रो खेलमा हार्यो नेपाल

    केन्यासँगको दोस्रो खेलमा हार्यो नेपाल

    काठमाडौं । केन्या विरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल हारेको छ । मध्यम योगफल पच्छ्याएको नेपाल ब्याटिङमा पुनः एक पटक चुकेको छ । जसले गर्दा १८ रनले नेपाल हारेको छ । शुक्रबार साँझ सम्पन्न खेलमा घरेलु टोली केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमा अलआउट भयो । पहिलो खेल हारेको केन्याले दोस्रो खेलमा जित निकाल्दै पाँच खेलको शृंखला १–१ को बराबरी ग¥यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । रोहित पौडेल र आदिल आलमले २०÷२० र पवन सर्राफले १९ रन बनाए ।

    अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । केन्याका एमाननुएल बुण्डी, लुकास ओलुच र भिराज पटेलले २–२ विकेट लिए । नैरोवीस्थित जिमखान क्रिकेट मैदान नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको केन्याले ९ विकेट गुमाएर १३२ रन बनायो । केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाए । सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३÷३ विकेट लिए ।

  • महानगरले खाली गरायो राहदानी विभागको ‘अन्डरग्राउण्ड’ पार्किङ

    महानगरले खाली गरायो राहदानी विभागको ‘अन्डरग्राउण्ड’ पार्किङ

    काठमाडौं । काठमाडौं महागरपालिकाको नगर प्रहरी टोलीले त्रिपुरेश्वरस्थित राहदानी विभागको ‘अन्डरग्राउण्ड’ पार्किङ खाली गराएको छ ।

    शुक्रबार दिउँसो नगर बल प्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा त्रिपुरेश्वरस्थित राहदानी विभागको ‘अन्डरग्राउण्ड’ खाली गराएको हो ।

    विभागको पार्किङका लागि बनाइएको बेसमेन्टमा कार्यालय राखिएको पाइएको थियो । जसकारण सवारी पार्किङ अव्यवस्थित बनेको थियो ।

    महानगरले त्यस स्थानमा राखेका कुर्सीहरू हटाउन निर्देशन दिएको छ। अन्डरग्राउड पार्किङमा रहेका कुर्सीहरु महानगरले हटाएको छ।

    विभागले बनाएको बेसमेन्ट अन्य प्रयोजन अर्थात सेवाग्राही बस्ने स्थानका रूपमा प्रयोग गरिएको छ। महानगरले अनाधिकृत संरचना भत्काउन ३५ दिने सूचना जारी गरेको थियो।

    नक्सा पास भए बमोजिम अन्डरग्राउण्डमा पार्किङ प्रयोजनमा आए नआएको अनुगमन गर्न महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेसहितको टोली विभाग पुगेको थियो ।

    राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भीड लाग्ने तर पार्किङका लागि गल्लीको भर पर्नुपर्ने भएपछि महानगरले चासो दिएको थियो । विभागले बनाएको बेसमेन्टलाई ‘वेटिङ रुम’का रुपमा प्रयोग गरिरहेको थियो ।

    केही दिनयता महानगरले यसरी अनधिकृत रुपमा बनाइएका संरचनाहरु हटाउन तीब्रता दिदै आएको छ ।

    यस अगाडि महानगरले सुन्धारास्थित काठमाडौं मल, आरबी कम्प्लेक्स, नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचनाहरु आफै हटाएको थियो ।

  • बालेन्द्रको कदममा झाँक्रीको समर्थन-‘इमान्दार प्रयास सफल हुन्छन्, तपाईं अघि बढ्नुस्’

    बालेन्द्रको कदममा झाँक्रीको समर्थन-‘इमान्दार प्रयास सफल हुन्छन्, तपाईं अघि बढ्नुस्’

    काठमाडौं । सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व सहरी विकासमन्त्री रामकुमार झाँक्रीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को कदममा समर्थन जनाएकी छन्।

    शुक्रबार दिउँसो फेसबुकमा ९ बुँदे आग्रह गर्दै अब सबै अवैध संरचना र अतिक्रमणहरु हटाउनुपर्ने बताएकी हुन् ।

    उनले लेखेकी छिन्, ‘मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएइसकेको थिएँ, निर्वाचन आएकोले नगरौं भन्ने दवाव आयो र स्थगन गर्न पर्‍यो ।’

    पार्टीको दबाबको बावजुद स्थानीय चुनावपछि २ जेठ २०७९ बाट करीडोरका अतिक्रमित संरचना पुनः हटाउन सुरु गरेको बताएकी छिन् ।

    पूर्व शहरी विकास मन्त्री झाँक्रीले आफू मन्त्री रहँदा मेयर शाहसँग बसेर केही योजना बनाएको स्मरण पनि गरेकी छिन् ।

    ‘सुकुम्बासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ,’ उनले लेखेकी छिन्,सुकुम्बासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ।

    मलाई जस्तो दलीय दबाब मेयर बालेनजीलाई हुँदैन।’ ‘म सधैं तपाईंको साथमा छु, तपाईंको पछाडि छु।यसलाई जारी राख्नोस्।’

  • अमेरिका र चीनले फेरि लगाउन थाले एक-अर्काको हवाई उडानमा प्रतिबन्ध

    अमेरिका र चीनले फेरि लगाउन थाले एक-अर्काको हवाई उडानमा प्रतिबन्ध

    एजेन्सी । पछिल्लो समय तिक्तता बढ्दै गएपछि अमेरिका र चीनले एक–अर्काका एयरलाइन्स कम्पनीहरुलाई उडान प्रतिबन्ध लगाउन थालेका छन् ।

    कोरोनाका कारण भन्दै उडानमा प्रतिबन्ध लगाए पनि पछिल्लो समय तिब्बत मामलालाई लिएर दुई देश बीच बढ्दै गएको दूरीका कारण एक देशले अर्को देशको हवाई उडानमा प्रतिबन्ध लगाउन थालेको हुन सक्ने बताइएको छ ।

    अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाको पारवहन मन्त्रालयले एयर चाइना, चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्सले न्युयोर्क र लसएन्जलसबाट गर्ने उडानलाई प्रतिबन्ध लगाएको छ।

    यो प्रतिबन्ध सेप्टेम्बर ५ देखि २८ सम्म लागू हुने जनाइएको छ। कोरोनाको कारण देखाउँदै यसअघि चीनले अमेरिकाका डेल्टा र युनाइटेड एयरलाइन्सलगायतले चीनमा गर्ने केही उडान रद्द गरिदिएको थियो।

    कोरोना महामारी सुरू भएसँगै चीन र अमेरिकाले एक-अर्काका उडानलाई प्रतिबन्ध लगाउँदै आएका छन्।

  • विश्व बजारमा फेरि आकाशियो कच्चा तेलको भाउ, प्रतिब्यारेल कति पुग्यो ?

    विश्व बजारमा फेरि आकाशियो कच्चा तेलको भाउ, प्रतिब्यारेल कति पुग्यो ?

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ फेरि आकाशिएको छ । ६ महिना यताको सस्तो भएके कच्चा तेलको भाउ केही साता यता लगातार बढेको हो ।

    दुई साता अघि प्रतिब्यालेर ९० डलरभन्दा तल झरेको कच्चा तेलको भाउ शुक्रबार प्रतिब्यारेल १०० डलर नाघेको छ । यो पछिल्लो तीन साता यताकै उच्च हो ।

    शुक्रबार (साढे ११ बजेसम्म) ब्रेन्ट र मुर्बान कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ । दुई साताअघि यी तेल प्रतिब्यारेल ९३ डलर हाराहारीमा कारोबार भएको थियो ।

    त्यस्तै, दुई साताअघि ८८ डलरसम्म झरेको डब्लूटीआई तेलको मूल्य शुक्रबार ९३ डलर कायम भएको छ । रसियन तेल माथिको प्रतिबन्ध कायमै रहेको र अन्य तेल उत्पादक देशहरुले पनि अपेक्षित रुपमा उत्पादन बढाउन नसक्दा फेरि तेलको भाउ बढ्न थालेको हो ।

    गत फेब्रुअरीमा रुस युक्रेन युद्ध सुरु हुँदा अन्तर्राष्ट्रिय बजारका कच्चा तेलको भाउ बढेर प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि अब नेपाल आयल निगमलाई पनि भारतबाट इन्धनको मूल्य बढेर आउनेछ । विश्व बजारमा लगातार भाउ घट्दा आइओसीले यसअघि ३ पटकसम्म लगातार मूल्य घटेर पठाएको थियो ।

  • शेयर बजारको ओरालो यात्रा कायमै, १ अर्ब २९ करोडको कारोबार

    शेयर बजारको ओरालो यात्रा कायमै, १ अर्ब २९ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से १६.९३ अंकले घटेर २०२२.६२ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार कोरोबारको दुइघण्टामा २१३ कम्पनीको १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँ बराबरको ३५ लाख ८८ हजार ८३३ कित्ता शेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये जीवन बीमा बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै १.८९ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स समूह पनि १.८७ प्रतिशतले घटेको छ ।

    आज पनि हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर साढे ५ करोड र अरुण काबेली पौने ५ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले घटेको बजारमा आज पञ्चकन्यामाइ हाइड्रोपावरका शेयर धनीले सबैभन्दा धेरै ४.८८ प्रतिशत गुमाएका छन् ।

    त्यसैगरी, कालिका पावर ४.३९, ग्रीन डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, गोर्खा फाइनान्स, लिबर्टी इनर्जी, गुराँस लघुवित्त, बुद्धभूमि नेपाल र युनिभर्सल पावरको शेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

  • नेपाल र केन्याबीच आज दोस्रो टी-२० खेल हुँदै

    नेपाल र केन्याबीच आज दोस्रो टी-२० खेल हुँदै

    काठमाडौं । नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । खेल नैरोबीमा पौने चार बजे सुरु हुनेछ । केन्यासँगको पाँच खेलको टी–२० शृङ्खलामा नेपालले १–० को अग्रता बनाएको छ । हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई नेपालले ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।


    नैरोबीमा जितका लागि पाएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । दुई देशबीचको तेस्रो खेल आइतवार, चौथो खेल भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले केन्यासँग तीन एकदिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ । तीन एकदिवसीय अभ्यास खेल भदौ १७, १८ र २० गते हुनेछ ।

  • च्याम्पियन्स लिगको ड्र सार्वजनिक, कुन टीमले कोसँग खेल्ने ?

    च्याम्पियन्स लिगको ड्र सार्वजनिक, कुन टीमले कोसँग खेल्ने ?

    काठमाडौं । युरोपियन फुटबल एसोसियशन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको छ । यूईएफएले नयाँ सिजनको लागि समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो । ‘ड्र’ अनुसार बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा परेका छन् । बार्सिलोना र बायर्न समूह ‘सी’ मा परेका छन् । साविक विजेता रियल मड्रिड भने समूह ‘एफ’ मा परेको छ । समूह चरणको ‘ड्र’ अनुसार समूह ‘ए’ मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेका छन् ।

    समूह ‘बी’ मा पोर्टो, एट्लेटिको मड्रिड, बायर लिभरकुसेन र क्लब ब्रुग, समूह ‘सी’ मा बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान र भिक्टोरिया प्लेजन रहेका छन् । समूह ‘डी’ मा फ्रान्कफर्ट, टोटनहम, स्पोर्टिङ सीपी र मार्से, समूह ‘ई’ मा एसी मिलान, चेल्सी, साल्जवर्ग र डिनामो जाग्रेब रहेको छ । समूह ‘एफ’ मा साविक विजेता रियल मड्रिडसँगै लाइपजिङ्ग, शाख्तर डोनेक्स्ट र सेल्टिक रहेका छन् । समूह ‘जी’ मा म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डर्टमण्ड र कोपेनहेगन तथा समूह ‘एच’ मा पेरिस सेन्ट जर्मेन (पीएसजी), युभेन्ट्स, बेन्फिका र हाइफा रहेका छन् ।

  • सुनकोशी-३ आयोजना नेपाल र बंगलादेशले संयुक्त रुपमा बनाउने

    सुनकोशी-३ आयोजना नेपाल र बंगलादेशले संयुक्त रुपमा बनाउने

    काठमाडौं । सुनकोशी ३ जलविद्युत आयोजना नेपाल र बंगालदेशको संयुक्त लगानीमा बन्ने भएको छ । यो आयोजनाको लगानी र निर्माण मोडालिटी टुंग्याउन बंगलादेश सहमति भएको छ । बिहीबार बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकमा नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर सुनकोसी ३ अगाडि बढाउन सहमती जुटेको छ ।

    ऊर्जा क्षेत्रमा आपसी सहयोगका लागि गठित सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी र बंगलादेशका तर्फबाट विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानले नेतृत्व गरको थिए । बैठकमा सम्भाव्यता अध्ययन प्रतिवेदन बंगलादेशलाई दिने सहमति भएको छ ।

    विद्युत् विकास विभागले तयार गरेको प्रतिवेदन अध्ययन गरेर लगानी मोडालिटी तय गर्न बंगलादेश सरकार सहमत भएको छ । यो आयोजनाको क्षमता ६८३ मेगावाट हो । यो जलाशययुक्त जलविद्युत आयोजना हुनेछ । काभ्रेपलाञ्चोक र रामछाप जिल्लाको सीमानामा आयोजना पहिचान भएको हो । आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ ।

  • सत्ता गठबन्धनले निर्वाचनमा सिट बाँडफाँट अझै टुंग्याएन, आज पनि बस्दै बैठक

    सत्ता गठबन्धनले निर्वाचनमा सिट बाँडफाँट अझै टुंग्याएन, आज पनि बस्दै बैठक

    काठमाडौं । सत्ता गठबन्धनले आगामी निर्वाचनका लागि अझै सिटको बाँडफाँट टुग्याउन सकेको छैन । सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ-आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुङ्ग्याउन आज बैठक बस्न लागेको हो ।

    बिहीबार नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेस गरेका थिए । कांग्रेसमा भने सिटका विषयमा सबै नेताहरूको एउटै मत छैन । महामन्त्री गगन थापाले १०० सिटबाट तल नझर्ने अडान लिएका छन् भने पार्टी सभापति शेरबहादुर देउवाले भने लचकता देखाएका छन् । १६५ सिटमा दलको दाबी २३५ पुगेपछि सिट बाँडफाँटमा सकस भएको छ ।

  • एमाले केन्द्रिय समिति बैठक आज, के के छन् एजेण्डा ?

    एमाले केन्द्रिय समिति बैठक आज, के के छन् एजेण्डा ?

    काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो । आजको बैठकका लागि एमालेले ११ वटा कार्यसूची तय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची छ ।

    यस्तै सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण र समसामयिक प्रस्ताव रहेका छन् । भदौ ७ गते स्थायी र भदौ ९ गते पोलिटव्यूरो बैठक बसेको थियो । ती दुवै बैठकमा नेताहरूले पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सुझाव दिएका थिए ।

  • व्यापारीमाथिको हस्तक्षेप रोक्न बालेनलाई संघको आग्रह

    व्यापारीमाथिको हस्तक्षेप रोक्न बालेनलाई संघको आग्रह

    काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघले व्यापारीमाथिको हस्तक्षेप रोक्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई आग्रह गरेको छ । संघको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई वार्तामार्फत् समस्याको समाधान निकाल्न सकिने भन्दै व्यापारीथिको हस्तक्षेप रोक्न अनुरोध गर्ने निर्णय गरेको छ । घरधनी र महानगरको लडाइँमा व्यापारी परेको संघको भनाई छ । वार्ता र कानुनी तरिकाबाट पनि समस्या समाधान गर्न सकिने संघले बताएको छ ।

    महानगरको सर्वपक्षीय विकासका लागि उद्योगी व्यवसायीहरुले सधैं सक्रिय र क्रियाशील हुँदै आएको भन्दै संघले विस्थापित व्यवसायीहरुलाई प्रक्रियागत तवरले उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग समेत गरेको छ । व्यवसायलाई अन्य स्थानमा पुनर्स्थापना गर्नका लागि सार्वजनिक सूचना पर्याप्त नभएको भन्दै संघले समय थप गरी यो प्रक्रियामा वास्तविक दोषीलाई कानुनी कठघरामा ल्याई कारबाही गर्न माग गरेको छ । एकतर्फी रुपमा जबरजस्ती व्यवसायीहरुलाई विस्थापित हुने कार्य तत्काल बन्द गरी उचित समाधानका लागि संघले महानगरसँग अनुरोध समेत गरेको छ

  • केन्यालाई नेपालले हरायो

    केन्यालाई नेपालले हरायो

    काठमाडौं । केन्यालाई नेपालले हराएको छ । पहिलो टी–२० अन्तर्राष्ट्रियमा नेपाल ५ विकेटले विजयी भएको हो । नैरोबीस्थित जिमखना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले १९.२ ओभर खेल्दै ५ विकेट गुमाएर १३३ रन बनाउँदै पूरा गरेको हो । यस जितसँगै नेपालले पाँच खेलको शृंखलामा १–० को अग्रता लिएको छ । भिसा समस्याका कारण नेपाली टोली चार चरणमा गरेर केन्या गएका थिए ।

    दोस्रो चरणमा गएका सोमपाल कामी र विवेक यादव तथा तेस्रो चरणमा गएका आदिल आलमले केन्या विरुद्ध पहिलो खेल खेल्न भ्याए । आजको खेलमा ६ महिनापछि ज्ञानेन्द्र मल्लले राष्ट्रिय टिममा पुनरागमन गरे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३१ रन बनाउँदा आसिफ शेख र ज्ञानेन्द्र मल्लले १९÷१९ रन जोडे । उपकप्तान रोहित पौडेलले १५ रन जोडे । आरिफ शेखले अविजित २१ रन बनाए ।

    नैरोबीस्थित जिमखान क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली केन्याले ८ विकेट गुमाएर १३० रन बनाएको थियो । केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । बलिङमा नेपालका लागि सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।

  • बालेन दिनभर अनधिकृत संरचना हटाउन व्यस्त, बानेश्वर क्षेत्रमा हटाउन निर्देशन

    बालेन दिनभर अनधिकृत संरचना हटाउन व्यस्त, बानेश्वर क्षेत्रमा हटाउन निर्देशन

    काठमाडौं । बिहीबार पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह अनधिकृत रुपमा बनाइएका संरचना हटाउने अभियानमा संलग्न रहे । शुरुमा बानेश्वर क्षेत्रमा अनधिकृत संरचना हटाउन निर्देशन दिएका उनको अल्फाबिटामा भने घरधनीसँग चर्काचर्की परेको थियो । त्यसपछि उनले नक्सा र डोजर नै ल्याएर संरचना भत्काइएको छ ।

    बालेनले नक्सा पास नभई बनाइएका यस्ता संरचना हटाउन भनेका छन् । खासगरी काठमाडौंमा पार्किङको प्रयोजनका लागि संरचना सहितको नक्सा पास गर्ने र त्यसलाई व्यापारिक प्रयोजनमा प्रयोग गर्ने प्रचलन रहेको छ । सो प्रवृत्ति विरुद्ध महानगरले कारवाही थालेको हो ।

  • स्वतन्त्रता दिवसकै दिन युक्रेनमा रुसको आक्रमण, कम्तिमा २२ जना मारिए

    स्वतन्त्रता दिवसकै दिन युक्रेनमा रुसको आक्रमण, कम्तिमा २२ जना मारिए

    काठमाडौं\बीबीसी । युक्रेनी रेल स्टेसनमा रुसले गरेको रकेट हमलामा परी २२ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ। मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पूरा भएको दिन उक्त घटना भएको हो। पूर्वी सहर च्याप्लिनमा भएको आक्रमणका पीडितमध्ये पाँच जनाको सवारी साधन भित्रै जलेर मृत्यु भएको बताइएको छ। आक्रमणमा परी एक ११ वर्षीय बालकको पनि मृत्यु भएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकबीच आक्रमणबारे जानकारी दिएका थिए।

    आक्रमणमा परी ५० जना घाइते भएको उनले बताए। यस विषयमा रुसले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। उसले पटकपटक आफूहरूले नागरिक पूर्वाधारलाई लक्षित गरी आक्रमण नगरेको बताउँदै आएको छ। जेलेन्स्कीले आफू सुरक्षा परिषद्मा बोल्ने तयारी गरिरहेको बेला निप्रोपेट्रोभ्स्क क्षेत्रको च्याप्लिनमा भएको प्रहारबारे थाहा पाएको बताए र भने, संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकको लागि रुसले यस्तो तयारी गरेको छ।’

    अहिले चार वटा यात्रुवाहक सवारी साधनमा आगलागी भएको छ। त्यहाँ मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ, उनले भने। गत एप्रिलमा फरक रेल स्टेसनमा भएको आक्रमणमा ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो। युक्रेनले बुधवार आफ्नो स्वतन्त्रता दिवस मनाएको छ र जेलेन्स्कीले यसअघि नै उक्त अवसरको उत्सवमा रुसले वाधा पुर्‍याउन क्रूर कार्य गर्न सक्ने बताएका थिए।

    यसअघि उनले मस्कोको सेनालाई जापोरीजा परमाणु ऊर्जा केन्द्रलाई युद्ध क्षेत्रमा परिणत गरेको आरोप लगाएका थिए। उनका अनुसार त्यहाँ भएको बमबारीका कारण केन्द्र र युरोपका मानिसहरू जोखिममा परेको र विश्वलाई परमाणु विपद्को नजिक पुर्‍याएको थियो। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले यस अर्थहीन युद्धका कारण युक्रेन र त्यहाँ बाहिरका लाखौँ मानिसहरूलाई चरम गरिबीमा धकेल्न सक्ने चेतावनी दिए।

  • माओवादी केन्द्र र नेपाल समाजवादीको एउटै चुनाव चिन्ह स्वीकृत

    माओवादी केन्द्र र नेपाल समाजवादीको एउटै चुनाव चिन्ह स्वीकृत

    काठमाडौं । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिन्हबाट निर्वाचन लड्ने निश्चित भएको छ । दुई पार्टीबीच पार्टी एकतासम्मको सहमति रहेको छ । निर्वाचन आयोगले निवेदन दिएका सबै ८७ वटै दलको दर्ता स्वीकृत भएको जनाएको छ । जसमा यी दुई पार्टी एकल चुनाव चिन्हबाट लड्नेछन् । आयोग पदाधिकारीको बुधबार बसेको बैठकले दलहरूको दर्ता स्वीकृत गर्ने निर्णय गरेको हो ।

    आयोगका अनुसार दर्ता स्वीकृत भएपछि आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपत्रमा ७९ वटा चुनाव चिह्न रहनेछन् । दर्ताका लागि निवेदन दिएकामध्ये ७५ दलका आफ्नै चुनाव चिह्न रहनेछन् तर निवेदन दिँदा चारवटा समूहमा रहेका १२ वटा दलले तालमेल गर्ने निर्णय गरेर एकल चुनाव चिह्न माग गरेका थिए । आयोगले ती १२ दलका चारवटा चुनाव चिह्न कायम गरी दर्ता स्वीकृत गरेको छ । जसबमोजिम प्रतिनिधि सभातर्फ ७९ वटा चुनाव चिह्न कायम भएको हो ।

    नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी बाहेक नेपाल कम्युनिस्ट पार्टी (राष्ट्रवादी), समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टीको समेत एकल चुनाव चिह्न कायम गरिएको छ । आयोगले सामाजिक एकता पार्टी, नेकपा (समाजवादी) र नेपाल दलित पार्टीले समेत तालमेल गर्ने निर्णय गर्दै माग गरेको एकल चुनाव चिह्न स्वीकृत गरेको छ । नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाल पार्टी र नेपाल सुशासन पार्टीले तालमेल गरी नेपाल आमा पार्टीको चुनाव चिह्न कायम गरिदिन माग गरेको थियो ।

  • सत्तारुढ दलको बैठक बस्दै, गठबन्धनमा सीट बाँडफाँट सकाउने लक्ष्य

    सत्तारुढ दलको बैठक बस्दै, गठबन्धनमा सीट बाँडफाँट सकाउने लक्ष्य

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सिट बाँडफाँटबारे छलफल गर्न आज बैठक बस्दैछ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटबारे प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूबीच आज बिहान छलफल हुने भएको छ। सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बुधबार अपरान्ह बस्ने गरी बोलाइए पनि नेताहरूको कार्यव्यस्तताका कारण स्थगित भएको थियो।

    बिहीबार बिहान ९ बजेपछि बालुवाटारमा बस्ने गठबन्धन बैठकमा सिट बाँडफाँटबारे छलफल हुनेछ । सिट बाँडफाँटबारे गठबन्धनले साउन २० मा ११ सदस्यीय कार्यदल बनाएको थियो। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलको बैठक पटकपटक बसे पनि सिट बाँडफाँटबारे ठोस खाका पेश हुन सकेको छैन। शीर्ष नेताहरूसँग परामर्शपछि कार्यदलले कसले कति सिट लिने र कहाँ(कहाँ कुन दलबाट उम्मेदवारी दिने भन्नेबारे निर्णयमा पुग्ने तयारी दलहरूको छ

  • १९६० मा काठमाडौंबाट हराएको मूर्ति अमेरिकामा फेला, नेपाल फर्काइंदै

    १९६० मा काठमाडौंबाट हराएको मूर्ति अमेरिकामा फेला, नेपाल फर्काइंदै

    काठमाडौं । पुरातात्विक महत्वको दूर्गाको एक मूर्ति अमेरिकाबाट नेपाल फर्काइने भएको छ । म्यानहटन जिल्ला सरकारी वकिलको कार्यालयमा विशेष समारोह आयोजना गरी दूर्गाको १३।२५ इन्चको उक्त मूर्ति न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासका अधिकारीलाई हस्तान्तरण गरिसकिएको छ । समारोहमा म्यानहटन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्रागले कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमलाई मूर्ति हस्तान्तरण गरे ।

    १४ औंदेखि १८ औं शताब्दी पुरानो अनुमान गरिएको उक्त मूर्ति १९६० मा काठमाडौं उपत्यकाबाट हराएको थियो । उक्त मूर्तिलाई सन् २०२२ को मार्चमा एक निजी घरमा लिलामीमा राखेको पाइएको थियो । त्यसको मूल्य करिब १२ हजार अमेरिकी डलर तोकिएको थियो । महावाणिज्य दूतावास, म्यानहटन जिल्ला महान्यायाधिवक्ताको कार्यालय, अमेरिकाको होमल्याण्ड सेक्युरिटी अनुसन्धान विभाग र नेपालको पुरातत्व विभागले यसको पुनः प्राप्तीमा सहयोग गरेका थिए ।

  • आजबाट नेपाल र केन्याबीच क्रिकेट सिरिज

    आजबाट नेपाल र केन्याबीच क्रिकेट सिरिज

    काठमाडौं । नेपाल र केन्याबीच अन्तर्राष्ट्रिय क्रिकेट सिरिज आजबाट शुरु हुँदैछ । केन्यासँगको पाँच टी–२० अन्तर्राष्ट्रिय शृंखला र तीन वटा एक दिवसीय ऋङ्खला खेल्न नेपाल केन्या पुगेको हो । पहिलो टी२० खेल आज हुँदैछ ।

    नेपाल र केन्याबीच पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुदैछ । नेपालका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको लागि पनि नेपाली टिमबाट यो पहिलो शृंखला हुनेछ ।

  • भारतीय सेनाको ‘अग्नीपथ’ योजनामा नेपाली युवालाई भर्ति नगर्न नेपालको आग्रह

    भारतीय सेनाको ‘अग्नीपथ’ योजनामा नेपाली युवालाई भर्ति नगर्न नेपालको आग्रह

    काठमाडौं । भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवालाई भर्ती नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमै बोलाएर यसबारे नेपाल सरकारको धारणा सुनाएका हुन् । उनले नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गरेको मन्त्रालयले जनाएको छ । यो योजना भारतमै विवादित बनेको छ । यसबारे नेपालका सबै दलको एकीकृत धारणा समेत बनेको छैन । सोहीकारण सरकारले तत्काका लागि भर्ती रोक्न भनेको हो ।

    अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई भर्ती गर्न भारतीय सेनाले बिहीबार रुपन्देहीको बुटवलमा र भदौ १६ गते धरानमा प्रारम्भिक छनौट प्रक्रिया सुरु गर्ने योजना बनाएको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सन् २०२२ को जुन महिनामा अग्निपथ योजना सार्वजनिक गरेका थिए । योजना अन्तर्गत भारतीय सैनिकमा १७ देखि २३ वर्ष उमेर समूहका युवालाई चार वर्षका लागि भर्ना गरिने छ । सेनामा भर्ती भएकाहरुलाई ‘अग्निवीर’ भनिने छ । भर्ती भएकाहरुलाई पहिलो वर्ष ४ लाख ७६ हजार भारु दिइने छ ।

    यो चौथो वर्षसम्म बढेर ६ लाख ९२ हजार रुपैयाँसम्म पुग्ने छ । यसको अतिरिक्त जोखिम भत्ता पनि दिइने छ । चार वर्षपछि २५ प्रतिशत सेनामा स्थायी जागिरे हुनेछन् भने ७५ प्रतिशतको जागिर सकिने छ । चार वर्ष सेवा अवधि पूरा गरेर घर फर्किनेहरुलाई ११ लाख ७ हजार भारु उपदान दिइने छ । यसमा कर लाग्ने छैन । चार वर्ष सेवा गरेपछि फेरि बेरोजगार हुने र यसबाट भविष्य बिग्रिने भन्दै युवाहरुले भारतमा विरोध प्रदर्शन गरेका थिए ।

  • कोरियाली ब्राण्ड सामसङका टेलिभिजन अब नेपालमा उत्पादन हुने

    कोरियाली ब्राण्ड सामसङका टेलिभिजन अब नेपालमा उत्पादन हुने

    काठमाडौं । दक्षिण कोरियाली ब्रान्ड सामसङका टेलिभिजन नेपालमै उत्पादन हुनेभएको छ । सामसङ र गोल्छा ग्रुपअन्तर्गतको हिम इलेक्ट्रोनिक्सको सहकार्यमा नेपालमै सामसङ ब्रान्डका टेलिभिजन उत्पादन गर्न थालिएको हो । बुधबार नवलपरासीमा एक कार्यक्रम गर्दै सामसङ कारखाना शिलान्यास भएको छ ।

    स्वदेशमै उद्योग स्थापना गरी रोजगारी दिने उद्देश्यले सामसङ ब्रान्डका टेलिभिजन यहीँ बनाउन लागिएको गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । उद्योग स्थापनामा सामसङ कम्पनीको प्राविधिक सहायता लिइनेछ ।

    लगानी गोल्छा ग्रुपको हुनेछ। यस कम्पनीले सबै आकारका टेलिभिजन उत्पादनको लक्ष्य लिएको छ । टिभी उद्योग एक वर्षपछि सञ्चालन आउने छ। सञ्चालन भएपछि उद्योगमा एक सयभन्दा बढीले रोजगारी पाउनेछन्। दैनिक एक हजार टिभी उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।

    कार्यक्रममा सामसङ दक्षिण पश्चिम एसियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङले लामो समयदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँग मिलेर नवलपरासीमा स्थापना गर्न लागेको यो टिभी कारखाना नेपाली जनताप्रतिको निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनप्रति उपभोक्ताले देखाएको बढ्दो विश्वास एवं मायाको प्रतिक भएको बताए ।

    सामसङ नेपालमा सन् १९९७ मा भित्रिएको हो। सामसङले हिम इलेक्ट्रोनिक्समार्फत् नेपालमा टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, ओभन र स्मार्टफोन बिक्री वितरण गर्दै आइरहेको छ।

  • भिजिट भिसामा कुवेत जान खोजेका ३९ जना महिला विमानस्थलबाटै फर्काइए

    भिजिट भिसामा कुवेत जान खोजेका ३९ जना महिला विमानस्थलबाटै फर्काइए

    काठमाडौं । कुवेतमा भिजिट भिसामा जान लागेका ३९ जना महिलालाई नेपाल प्रहरीले त्रिभुवन विमानस्थलबाट फर्काएको छ । बुधबार बिहान जजिरा एयरवेजको जहाजबाट कुवेत जान लागेका महिलाहरुलाई प्रहरीले शंकास्पद कागजातका आधारमा फर्काएको छ । उनीहरुले बोकेको कागजात र सोधपुछमा समान नभएपछि प्रहरीले उनीहरुलाई रोकेको बताइएको छ ।

    उनीहरुले भने दुबईमा भिजिट भिसामा जान लागेको बताएका थिए । उनीहरुलाई विदेश लगेर श्रम भिसा दिलाउने प्रलोभन देखाइएको आशंका प्रहरीले गरेको छ । पछिल्लो समय भिजिट भिसामा विदेश लगेर अलपत्र पर्नेहरुको संख्या बढिरहेको छ ।