Category: फिचर

  • बेलायतमा नेपाली स्वास्थ्यकर्मी लैजाने विषयमा श्रम सम्झौता

    बेलायतमा नेपाली स्वास्थ्यकर्मी लैजाने विषयमा श्रम सम्झौता

    काठमाडौं । नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरे।

    समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन् । नेपाली स्वास्थ्यकर्मी शून्य लागतमा वेलायत जान पाउने छन् ।

    स्वास्थ्यकर्मीहरूको भिसा, टिकट तथा भर्ना प्रक्रियाका लागि आवश्यक शुल्क बेलायत सरकारले गर्ने भएको हो। यसमा निजी क्षेत्रको संलग्नता रहने छैन।

    उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन् ।

    सम्झौता पत्रमा निम्न ८ वटा विषय उल्लेख गरिएका छन् ।

    १.स्वास्थ्यकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुने।

    २.नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एन. एच. एस.) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने ।

    ३.विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एण्ड सेफगार्ड लिष्ट २००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको सङ्ख्या र प्रकारका सम्बन्धमा दुबै सरकारले संयुक्त निर्णय गर्ने ।

    ४.नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढिकरणमा बेलायत सरकारको योगदान रहदै आएकोमा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने ।

    ५.परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई इम्प्लिमेन्टेसन प्रोटोकल स्पष्ट व्यवस्था गरिने ।

    ६.नियुक्ती प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनौट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने ।

    ७.परीक्षण चरणको अन्तमा समग्र स्वास्थ्यकर्मी नियुक्ती प्रक्रियाको मूल्याङ्कन गरिने र थप नियुक्ती तथा विस्तारका सम्बन्धमा आवश्यक निर्णय लिइने ।

    ८.समझदारी पत्र, नियुक्ती प्रक्रिया र अन्य जानकारी मन्त्रालयको वेवसाइट http://moless.gov.np/np/page/uk-health-care मा उपलव्ध हुने तथा थप जानकारीका लागि [email protected] मा इमेल गर्न सकिने । सम्झौतापछि मन्त्रालयले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

  • शेयर बजारमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    शेयर बजारमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी


    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ७.३८ अंकले घटेर २०५३.१६ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२२ कम्पनीको १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४२९ रुपैयाँ बराबरको ५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । आइतवार २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचकमा गिरावट आएको छ । होटल समूह सबैभन्दा धेरै १.०५ प्रतिशतले घटेको छ ।

    कारोबारमा आएका २ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । घट्दो बजारमा यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    मन्दाकीनी हाइड्रोपावर कम्पनी र अप्पर हेवाखोला हाइड्रोपावर शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । नेप्सेका अनुसार आज एनआइबीएल समृद्धि फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।

    दोर्दी खोला जलविद्युत्का लगानीकर्ताले ५.२४ प्रतिशतले गुमाएका छन् । त्यसैगरी, श्वेत गंगा ४.१५, तारागाउँ होटल ३.८९, सबैको लघुवित्त, रुरु जलविद्युत्, बोटलर्स नेपाल, राधी जलविद्युत्को शेयर मूल्य साढे २ प्रतिशतले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यसको आज २८ करोड १८ लाख भन्दा बढीको कारोबार भएको छ ।

    रिडी पावरको ८ करोड ५० लाख र प्रभु बैकको ८ करोड ४० लाखको कारोबार भएको छ ।

  • मंगलवार ‘विप्लव’को नेकपासहित चार दलको नेपाल बन्द

    मंगलवार ‘विप्लव’को नेकपासहित चार दलको नेपाल बन्द


    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विभिन्न चार दलले भोलि (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका छन्।

    सरकार र पार्टीबीच भएको तीन बुँदे सहमति उल्लंघनन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, महँगी र राष्ट्रघाति सन्धिरसम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै ती पार्टीले नेपाल बन्दको घोषणा गरेका हुन्।

    ‘भदौ ७ गते बेपाल बन्दको आयोजना गरिएकाले विगतका दिनहरुमा जस्तै यो पटक पनि यहाँहअरुको संघसंस्थाबाट आवश्यकसहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहूति र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णबहादुर बुढाथोकीको हस्ताक्षर रहेको छ।

    ती पार्टीले तीन बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न र पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेका छन्। आफूहरू एमसिसी सम्झौता र एएसपिपी परियोजनाका विरुद्धमा रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

    उनीहरूले राष्ट्रहितविरुद्धका असमान सन्धिसम्झौताहरू खारेजीको माग पनि अघि सारेका छन्।

  • संसदका दुबै सदनबाट प्रदीप गिरिकाे निधनप्रति शोक प्रस्ताव पारित

    संसदका दुबै सदनबाट प्रदीप गिरिकाे निधनप्रति शोक प्रस्ताव पारित

    काठमाडौं । संघीय संसदका दुबै सदन प्रतिनिधि र राष्ट्रियसभाबाट सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित भएको छ। सोमबार बसेको बैठकले गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो।

    गिरी नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। यस्तै, २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित भएका थिए भने वि.सं. २०७४ सालमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

    उनको शनिबार बेलुकी उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो।

    अब प्रतिनिधिसभाको अर्को बैठक भदौ ७ गते मंगलबार बिहान १० बजे र राष्ट्रियसभाको १२ गते आइतबार अपरान्ह १ बजे बोलाइएको छ।

  • ‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएर पसल संचालन गर्ने माथि कारबाही, काठमाडौँ महानगरले भत्कायो संरचना

    ‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएर पसल संचालन गर्ने माथि कारबाही, काठमाडौँ महानगरले भत्कायो संरचना

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वर चोकमा रहेको बानेश्वर कम्प्लेक्सको अस्थायी संरचना भत्काएको छ ।

    महानगरले ‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएर अन्य प्रयोजनको लागि प्रयोग गरिरहेका व्यावसायिक भवनहरुको अस्थायी संरचना भत्काएको हो ।

    महानगरले अन्डर ग्राउण्ड पार्किङ खुलाउन उक्त संरचना भत्काएको हो । अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको थिए ।

    महानगरपालिकाले ‘अण्डर ग्राउण्ड पार्किङ’लाई अन्य प्रयोजनको प्रयोग नगर्न ३५ दिने सूचना जारी गरेको थियो।

    जसको अनुगमनको लागि हिजो मेयर बालेन्द्र साह आफै बानेश्वर पुगेका थिए। आज बिहान पनि साह बानेश्वर क्षेत्र पुगेका थिए।

  • अदालतलाई धम्क्याएको आरोपमा पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पाकिस्तानमा अनुसन्धान शुरु

    अदालतलाई धम्क्याएको आरोपमा पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पाकिस्तानमा अनुसन्धान शुरु

    कराँची । पाकिस्तानी प्रहरीले पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान थालेको बताएको छ । शनिवार एक राजनीतिक मन्तव्य दिएपछि उनी विरुद्ध प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप लागेको छ। यी पूर्व शीर्ष नेताका समर्थक उनको घर बाहिर जम्मा भएका छन् र उनी गिरफ्तारीमा परेमा आफूहरूले परिस्थिति नियन्त्रणमा लिने बताएपछि देशमा तनाव चुलिएको बीबीसीले लेखेको छ । गत अप्रिलमा सत्ताच्युत भएदेखि खान सरकार र देशको सेनाको कडा आलोचक बनेका छन्।

    क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खानले आफू निकट सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो। यद्यपि, ती सहयोगी स्वयं देशद्रोहको आरोपमा हाल हिरासतमा छन्। शनिवार दिएको सार्वजनिक मन्तव्यमा खानले आफ्नो पार्टी सहकर्मीलाई हिरासतमा राखेको र दुर्व्यवहार गरेकोबारे इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशको आरोपको खण्डन गरे।

    ‘तिमीहरू पनि तयार रहनु। हामी तिमीहरू विरुद्ध पनि कारबाही गर्छौँ,’ उनले भाषणको क्रममा उनीहरू दुवैलाई चेतावनी दिएका थिए । प्रहरी अनुसन्धानकर्ताहरूका अनुसार खानले राज्यका अधिकारीहरू विरुद्ध धम्की दिएको आरोपलाई आधार मान्ने हो भने उनले देशको आतङ्कवाद विरोधी कानुन उल्लङ्घन भएको हुन सक्छ।


    प्रहरीले उनी विरुद्ध अनुसन्धान सुरु गरेको खबर सार्वजनिक भएपछि पूर्व प्रधानमन्त्री खानका सयौँ समर्थकहरू इस्लामावादस्थित उनको निवासबाहिर भेला भए र यदि उनलाई पक्राउ गर्ने कोसिस भएमा राजधानी नियन्त्रणमा लिने बताए। त्यहाँ उपस्थित प्रहरीले भने आफूहरू खानलाई पक्राउ गर्न नभइ शान्ति तथा सुरक्षा व्यवस्थापनका लागि त्यहाँ खटिएको बताए।

  • सरकारसँग सहमती जुटेपछि निहारिकाले तोडिन् अनसन

    सरकारसँग सहमती जुटेपछि निहारिकाले तोडिन् अनसन

    काठमाडौं । सरकारले आफ्नो माग सम्बोधन गर्न सहमत भएसँगै निहारिका राजपुतले अनशन तोडेकी छिन् । उनी १७ दिनदेखि काठमाडौंमा अनशन बसेकी थिइन् । महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले आइतबार साँझ अनशन तोडेकी हुन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग भएको सहमतिपत्रमा उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने र डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने उल्लेख छ ।

    शिवराज श्रेष्ठले आफूमाथि धनुषामा जबरजस्ती करणी गरेको र त्यसबाट बच्चा जन्मिएकाले आरोपित र बच्चाको डीएनए परीक्षण गर्नुपर्ने लगायतका माग राखेर निहारिका गएको जेठ २९ गतेदेखि काठमाडौंमा अनशन बसेकीहुन् । सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि असार ३ गते उनले अनशन रोकेकी थिइन् । तर सहमतिअनुसार माग पूरा नभएको भन्दै उनले राष्ट्रपति भवन शीतल निवास अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् ।

  • आयोगद्धारा निर्वाचनका लागि ११ अर्ब रुपैयाँ माग

    आयोगद्धारा निर्वाचनका लागि ११ अर्ब रुपैयाँ माग

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि अर्थमन्त्रालयसँग १० अर्ब ९८ करोड बढी बजेट मागेको छ । आइतबार आयोगले अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोड ९८ लाख बजेट माग गरेको हो । बजेट मन्त्रालयले निकासा गरेपछि खर्च गर्न सकिने छ । सरकारले ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।

    आयोग निर्वाचनको तयारीमा छ । स्थानीय तह निर्वाचनमा भन्दा यसपालि अनुमानित पाँच लाख बढी मतदाता थपिएका छन्। मतदाताको संख्या एक करोड ८२ लाख हुनेछ । यस निर्वाचनमा करिब १० हजार ८२५ मतदान स्थल र २२ हजार ५०० मतदान केन्द्र रहनेछन् ।

  • गोकर्ण विष्ट विरुद्ध चुनाव लड्ने रामकुमारी झाक्रीको घोषणा

    गोकर्ण विष्ट विरुद्ध चुनाव लड्ने रामकुमारी झाक्रीको घोषणा

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सासंद रामकुमारी झाक्री गुल्मी क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने निश्चित भएको छ । आइतबार फेसबुकमा एक तस्बिर राख्दै उनले गुल्मी क्षेत्र नम्बर दुईमा चुनाव लड्ने जानकारी गराएकी हुन् । यो एमाले नेता गोकर्ण विष्टको निर्वाचन क्षेत्र हो । उनले एमालेको विरासतलाई तोडेर देखाउने समेत बताएकी छन्। यसअघि उनी नेकपा एमालेबाट समानुपातिक सासंद बनेकी थिइन्। गत संसदीय निर्वाचनमा एमाले र माओवादीको गठबन्धनबाट विष्ट १४ हजार भन्दा बढी मतले विजयी भएका थिए ।

  • काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न कोरियासँग सभामुखको प्रस्ताव

    काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न कोरियासँग सभामुखको प्रस्ताव

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न दक्षिण कोरियासँग प्रस्ताव गरेका छन् । नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलसँग भेट्दै उनले फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा गरिएको बताएका हुन् । सिहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले भने, ‘फोहोरमैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल सावित गरेको छ, अन्य सहरमा पनि सहयोगको कुरा छ, काठमाडौंको फोहोरमैला व्यवस्थापनमा कोरियाली सहयोगको अपेक्षा गरेका छौं ।’

    आर्थिक र सामाजिक विकासमा दक्षिण कोरियाको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्दै सभामुख सापकोटाले कोरियाले गरेको द्रूत विकासबाट नेपालले सिक्न चाहेको उनले बताए । भेटमा सभामुख सापकोटाले नेपालीका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको गन्तव्य भएको चर्चा गर्दै नेपाली कामदारको कोरियामा प्रशंसा भएकोमा खुसी व्यक्त गरेका थिए । भेटमा दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलका तर्फबाट कोरिया नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लिस्याङ हेयोनले आफूहरु नेपाललाई माया गर्ने सांसदहरु रहेको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए ।

    वातावरण क्षेत्र हेर्ने जिम्मेवारीमा रहेका सांसद संलग्न प्रतिनिधि मण्डलका सदस्यहरुले नेपालका विभिन्न सहरमा फोहोरमैला व्यवस्थापनमा कोरियाले सहयोग गरिरहेको बताउँदै काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा स्वदेश फर्किएपछि गम्भीरताका साथ अध्ययन गर्ने जानकारी दिएका थिए । प्रतिनिधि मण्डलमा मैत्री समूहका अध्यक्ष लि स्याङ हेयोन सहित सांसदहरु बाइयोङ गिलएन, हृयाक योङ लि, वियोङ जु किमका साथै नेपालका लागि दक्षिण कोरियाका राजदूतपार्क चोङ सुक लगायत सहभागी थिए ।

  • गिरिको निधनमा आज संसदमा शोक प्रस्ताव पारित हुँदै

    गिरिको निधनमा आज संसदमा शोक प्रस्ताव पारित हुँदै

    काठमाडौं । आज संसद बैठकमा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गरिँदैछ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।

    प्रतिनिधि सभा सदस्य एवम् समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको थियो । उनको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।

  • आर्थर गन दिवेश पोखरेल नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

    आर्थर गन दिवेश पोखरेल नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (आर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ।

    आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरे।

    कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान दिएकाले पोखरेललाई सम्मान गरिएको थियो। पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत घोषणा गर्न पाउँदा खुशीको लागेको बताउनुहुँदै मन्त्री श्रेष्ठले आफ्नै प्रतिभामार्फत नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे।

    काठमाडौंको रविभवनमा जन्मेर उच्च शिक्षा अध्ययनको सिलसिलामा सन् २०१४ मा अमेरिका गएका पोखरेल ‘अमेरिकन आइडल’ को स्टेजमा दमदार उपस्थिति जनाइ लोकप्रिय बनेका थिए। मन्त्री श्रेष्ठले विभिन्न विधामा रहेका नयाँ प्रतिभाहरूले नेपाललाई विश्वमै नयाँ पहिचान दिन सफल भएको बताए।

    प्राकृतिक सुन्दरता, जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा रहेका सर्वोच शिखर सगरमाथा, भगवान् बुद्धको जन्मभूमि लुम्बिनी, सीताको जन्मस्थल जनकपुरसहित अन्य विभिन्न धार्मिक क्षेत्र पशुपतिनाथ, मुक्तिनाथका साथै अन्य प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको प्रचारप्रसारमा पोखरेलले भुमिका खेल्ने विश्वास व्यक्त गरे।

    विश्व सद्भावना दूत नियुक्त भएपछि पोखरेलले संगीतमार्फत नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

  • राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि

    राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

    आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

    ७५ वर्षको उमेरमा शनिबार राति ललिपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सरपीडित गिरिको निधन भएको थियो ।

    आइतबार बिहान अस्पतालमा र दिउँसो कांग्रेस मुख्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलिपछि शवयात्रा निकालिएको थियो ।

    गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए ।

  • नेपालमा थप २८६ जनामा कोरोना पुष्टी, ४८७ जना संक्रमण मुक्त

    नेपालमा थप २८६ जनामा कोरोना पुष्टी, ४८७ जना संक्रमण मुक्त

    काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८१६ जनाको पीसीआर परीक्षण गर्दा २०२ जना र १६०७ जनाको एन्टिजेन परीक्षण गर्दा ८४ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार २४१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४७९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७८ हजार ९०१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४३४८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९९२ पुगेको छ ।

  • राष्ट्रपतिले गरिन् दुई विधेयक प्रमाणीकरण

    राष्ट्रपतिले गरिन् दुई विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई विधेयक प्रमाणीकरण गरेकी छन् ।

    भण्डारीले संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भएका नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

    संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

  • झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ ।

    साताको कारोबारको पहिलो शेयर बजार मापक सूचक नेप्से ७.७२ अंकले घटेर २०६०.५५ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २१८ कम्पनीको २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८८ रुपैयाँ बराबरको ५३ लाख ३९ हजार ४ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेकोे छ । विहिवार २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    कारोबारमा आएका २ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    घट्दो बजारमा यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मन्दाकीनी हाइड्रोपावर कम्पनी र अप्पर हेवाखोला हाइड्रोपावर शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

    सिभर फल्स कम्पनीको र हिमालयन हाइड्रो पावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज १२ करोड २८ लाख भन्दा बढीको कारोबार भएको छ । अपी पावरको १० करोड र नेष्टो लघुवित्तको ७ करोड ५१ लाख बढीको कारोबार भएको छ ।

  • प्रदीप गिरिको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने

    प्रदीप गिरिको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने

    काठमाडौं । नेता प्रदीप गिरीको शोकमा नेपाली कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ। आइतबार बिहान बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले सो निर्णय गरेको हो।

    बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा सांसद गिरीको शोक प्रस्ताव पनि पारित गरेको छ। यस्तै, १३ दिनसम्म देशभरका कार्यालयमा शोक पुस्तिका राख्ने र शोक प्रकट गर्नेहरुका लागि खुला गर्ने पनि निर्णय गरेको छ।

  • नेपालले साउनमा १ अर्ब ८३ करोडको विद्युत बेच्यो, थप १११ मेगावाट निर्यात प्रस्ताव

    नेपालले साउनमा १ अर्ब ८३ करोडको विद्युत बेच्यो, थप १११ मेगावाट निर्यात प्रस्ताव

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८०को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ ।

    प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत निर्यातबाट साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ कमाउन प्राधिकरण सफल भएको छ ।

    प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

    सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

    आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।

    गत आव २०७८/७९मा ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत निर्यात भएको थियो । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत निर्यात भइरहेको छ ।गत आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोशी र निजी क्षेत्रका जलविद्युत तथा सौर्य आयोजनाको कुल ७३५ मेगावाट विद्युत प्रणालीमा थप भएको थियो ।

    योसँगै वर्षायाममा देशभित्रको माग भन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएकोले भारतीय बजारमा प्रतिश्पर्धामार्फत विद्युत बिक्री गर्न सफल भएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

    ‘विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै हाम्रो देशको विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको छ, दुई मुलुकबीचको व्यापार घाटालाई समेत केही कम गर्न सहयोग भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

    ‘मुलुकमा विद्युत उत्पादन दिनानुदिन थप हुँदै गइरहेको हुँदा घरायसी खपत र औद्योगिक खपत बढाउन आवश्यक छ, यसका लागि प्रसारण तथा वितरण लाइनको विकास र सुधार गर्नुका साथै उद्योगीले बिशेष सेवा र सुविधा प्राप्त गर्ने ब्यवस्था मिलाइने छ ।’

    थप १११ मेगावाट निर्यात प्रस्ताव

    नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १११ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ ।

    प्राधिकरणले ४ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिश्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो । केन्द्रीय विद्युत प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत निर्यात सुरु हुने छ ।

    प्राधिकरणले ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३।५ मेगावाटको सोलूखोला, २२।१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११।८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुनेम विश्वास व्यक्त गरे ।

    ‘नेपाल र भारतको बिहार राज्यबीच विद्युत आदान–प्रदान गर्न निर्माण गरिएको १३२ केभी प्रसारण लाइनको पूर्ण सदुपयोग हुने गरी वर्षायाममा बचत भएको विद्युत उत्तर बिहार पावर वितरण कम्पनी बाहेका निकायहरुलाई समेत बिक्री गर्न भारत सरकारका सम्बन्धित निकायहरुसँग आवश्यक भइरहेको छ’, उनले भने।

    भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ ।

    विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिश्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात गरिन्छ ।

    प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्छ छ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।

  • उडिरहेको जहाज भित्र पाइलट निदाएको घटना के हो?

    उडिरहेको जहाज भित्र पाइलट निदाएको घटना के हो?

    इथियोपिया । ३७ हजार फिट उचाइमा उडिरहेको जहाजमा पाइलट निदाएपछि यो घटना यतिबेला विश्वभर चासोको विषय बनेको छ । अवतरणका क्रममा भने उनीहरू ब्युँझिएपछि विमान सुरक्षित रूपमा अवतरण भएको छ।  

    विमान उचाइ घटाउनुपर्ने विन्दु पार गरेर अगाडि बढेपछि इथियोपियाको आदिस अबाबा विमानस्थलका एअर ट्राफिकले सम्पर्क गर्ने प्रयास गरेका थिए। बिबिसीले
    एभिएशन हेराल्डलाई उदृत गर्दै लेखे  अनुसार अन्ततः पाइलटहरू ब्युँझे र दोस्रो पटकमा विमानलाई अवतरण गराएका थिए। 

    सरकारी सञ्चारमाध्यम फनाका अनुसार इथियोपियन एअरलाइन्सका ती पाइलटलाई अनुसन्धान रोकेर बिदामा राखिएको छ। 

    यात्रुवाहक सो विमान सोमवार सुडानको खार्तुम विमानस्थलबाट उडेको थियो। 

    १५४ सीट क्षमताको उक्त बोइङ ७३७ विमानले दुई देशबीचको उक्त हवाई मार्गमा सामान्यतः दुई घण्टाभन्दा कम समय लगाउँछ। 

    त्यस घटनाप्रति पाइलटहरूको कामको दैनिकीलाई लिएर सहानुभूति प्रकट गर्नेदेखि त्यस्तो जिम्मेवारीमा पनि निदाएको भन्दै अचम्मित हुने गरी प्रतिक्रिया आएका छन्। 

    एभिएशन हेराल्डको वेबसाइट रहेको एउटा प्रतिक्रियामा भनिएको छ: “मैले इथियोपियाली चालक दललाई खासगरी यहाँ दोष लगाउँदिनँ – यस्तो संसारमा जुनसुकै चालक दललाई हुनसक्छ र सम्भवतः भएको पनि छ। गल्ली कम्पनी र नियमनकर्ताहरूको छ।” 

    अर्का एकजनाले त्यसको एकमात्र समाधान रहेको बताउँदै भनेका छन्: “बर्खास्त। कुरै सकियो।” 

    अन्यले यस घटनाको रमाइलो पक्ष भन्दै ट्विटरमा लेखेका छन्, “यस काममा निदाउने कुरालाई नयाँ उचाइमा पुर्‍याइएको छ!”

    एकजना उड्डयन विश्लेषकले यस घटनालाई “निकै चिन्ताजनक” भन्दै ट्वीट गरेका छन्। 
    “पाइलटहरू थकित हुने कुरा कुनै नयाँ होइन र यसले अन्तर्राष्ट्रिय रूपमा हवाई सुरक्षाका लागि सबैभन्दा ठूलो जोखिम देखाइरहेको छ,” उड्डयन विश्लेषक एलेक्स मचेरसले ट्विटरमा लेखेका छन्। 

  • रास्ट्रपतिको सन्देश : देशले बौद्धिक व्यक्ति गुमायो

    रास्ट्रपतिको सन्देश : देशले बौद्धिक व्यक्ति गुमायो

    काठमाडौं । समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरी प्रति राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा श्रद्धाञ्जली व्यक्त भएको छ ।

    “नेता गिरीको निधनको खबरले अत्यन्त दुखी बनाएको र देशले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको रास्ट्रपतिको भनाइ छ । उनले शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेकि छिन

  • काङ्ग्रेस नेता गिरिको आज अन्तिम संस्कार

    काङ्ग्रेस नेता गिरिको आज अन्तिम संस्कार

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालय राखिने भएको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका अर्पण गर्ने कार्यक्रम राखेको हो

    मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा बिहान ९ बजेदेखि ११ बजेसम्म र त्यसपछि साढे ११ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा उनको शव राखिनेछ

    पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि गिरिको आजै दिउँसो पशुपतिमा अन्त्येष्टि गरिने छ ।

  • गिरिको निधनमा प्रधानमन्त्रीको शोक सन्देश : असल नेता गुमायौ

    गिरिको निधनमा प्रधानमन्त्रीको शोक सन्देश : असल नेता गुमायौ

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट स्तब्ध भएको बताएका छन् । गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको देउवाले उल्लेख गरेका छन ।

    ट्वीट गर्दै देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तव्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ ।’
    गिरिको शनिबार निधन भएको छ ।

  • रहेनन् काङ्ग्रेस नेता गिरि

    रहेनन् काङ्ग्रेस नेता गिरि

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो ।

    भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । पछिल्ला घण्टाहरुमा निमोनिया फैलिँदै गएर शरीरका अंगहरुले काम गर्न छाड्दै गएको थियो ।

    शनिबार साँझ ९ः३० बजे निधन भएको कांग्रेस संसदीय दलले वक्तव्य जारी गर्दै जानकारी दिएको छ ।

    उनको पार्थिव शरीरलाई भोलि आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिनेछ । विहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचेतक मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

  • कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल, स्वास्थ्यलाभको प्रार्थना गर्न पत्नी भारतीको अपिल

    कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल, स्वास्थ्यलाभको प्रार्थना गर्न पत्नी भारतीको अपिल

    काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत कांग्रेस नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेको छ।

    गिरीपत्नी भारती सिलवाल गिरीले शनिबार वक्तव्य जारी गर्दै उनको स्वास्थ्यलाभको प्रार्थना गर्न सबैसमक्ष अपिल गरेकी हुन्।

    भारतमा क्यान्सरको उपचार गरेर फर्किएका गिरी झन्डै एक महिनाअघि मेडिसिटी अस्पताल भर्ना भएका थिए। क्यान्सरका कारण देखिएको समस्या र निमोनिया भएर अस्पताल भर्ना भएको भारतीले बताएकी छन्। वक्तव्यमा भनिएको छ, ‘यसले धेरै अंग फेल भइरहेका छन्।’

    यद्यपि अहिले पनि डाक्टरको टिम उपचारमा जुटिरहेकाले उनले धन्यवाद दिएकी छन्। पतिको स्वास्थ्यलाभको कामना गर्न समर्थनकलाई आग्रह गरेकी छन्।

  • पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ।

    मन्त्रालयका अनुसार ४,३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो। १,६७० पीसीआर परीक्षणमा १८० र २,६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित फेला परेका हुन्।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४,६२५ रहेको मन्त्रालयले बताएको छ।

  • माओवादीमा महासचिवको चिठ्ठा देव गुरुङलाई, यी हुन् २१ पदाधिकारी

    माओवादीमा महासचिवको चिठ्ठा देव गुरुङलाई, यी हुन् २१ पदाधिकारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको महासचिवमा देव गुरुङलाई चयन गरेको छ।

    शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो। सबैभन्दा बढी चासो रहेको महासचिवमा गुरुङ सर्वसम्मत चयन भएका हुन्। यसअघि उक्त पदमा वर्षमान पुन र जनार्दन शर्माको दाबी रहे पनि दुवै जना उपमहासचिव बनेका छन्।

    माओवादीले २१ जनाको पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, एक जना उपाध्यक्ष एक जना महासचिव, ७ जना उपमहासचिव, ९ जना सचिव र एक जना कोषाध्यक्ष बनाएको छ।

    अन्य २१ पदाधिकारी यी हुन्

    अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’

    वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

    उपाध्यक्ष : कृष्णबहादुर महरा

    महासचिव : देव गुरुङ

    उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव,हरिबोल गजुरेल

    सचिव : दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की

    कोषाध्यक्ष : श्रीराम ढकाल प्रशान्त रहेका छन् । माओवादीले गत पुसमै महाधिवेशन गरे पनि पदाधिकारी चयन गर्न सकेको थिएन।

  • पश्चिम तराईमा मध्यरातमा भुकम्प

    पश्चिम तराईमा मध्यरातमा भुकम्प

    बाँके । पश्चिम तराईमा  भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यरातमा आएको भुकम्पले स्थानीय त्रसित बनेका थिए ।

  • मलेसियाका पुर्वप्रधानमन्त्री महाथिर भन्छन् : ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोज्यो

    मलेसियाका पुर्वप्रधानमन्त्री महाथिर भन्छन् : ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोज्यो

    क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् ।

    लामो समयदेखि पश्चिमा देशहरूका आलोचकका रूपमा परिचित पूर्वप्रधानमन्त्री महाथिरले अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसी र अन्य सांसद्को भर्खरैकाे ताइवान भ्रमणले चीनप्रति अमेरिकी विरोध दर्शाउने बताउँदै बेइजिङले त्यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठानेको बताएका हुन् ।

    एक विस्तृत अन्तर्वार्तामा ९७ वर्षी पूर्वप्रधानमन्त्रीले चीनको एक अङ्गको रूपमा स्वशासित ताइवानलाई बेइजिङले एकराष्ट्र दुई प्रणालीअन्तर्गत स्वतन्त्र छाडेको बताउँदै समस्यारहित ताइवानमा अमेरिकाले युद्धका निम्ति उकासेको तर्क गरेका छन् ।

    चीनले चाहेमा जुनसुकै बेला आक्रमण गर्न सक्ने र अहिलेसम्म त्यसो नगरेकाले अब पनि आक्रमण गर्छ भन्ने आफूलाई नलागेको बताउँदै उहाँले युद्ध भएमा ताइवानलाई सघाउने बाहनामा हतियार बेच्न पाइने तथा त्यस क्षेत्रमा अस्थिरता भए आफूलाई फाइदा हुने अमेरिकाले ठानेको उल्लेख गरे ।

  • फिनल्याण्डकी प्रधानमन्त्री मरिनको लागूऔषध परिक्षण

    फिनल्याण्डकी प्रधानमन्त्री मरिनको लागूऔषध परिक्षण

    काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मरिन मदिराले मातेर पार्टीमा नाच्दै गरेको भिडियो सार्वजनिक भएसङ्गै उनको लागूऔषध परिक्षण गरिएको छ । गत शुक्रबार सार्वजनिक भिडियोमा उनी साथीहरूसँग मातेर नाच्दै गरेको दृश्य देखिएको थियो ।

    त्यसलगत्तै फिनल्याण्डका नेताहरूले उनीमाथि छानबिन गर्नुपर्ने भन्दै दबाब दिएका थिए । सोही अनुरुप मरिनले लागूऔषध सेवन गरेको वा नगरेको पत्ता लगाउन शुक्रबार ड्रग्स परिक्षण गरिएको हो ।

    प्रधानमन्त्री मरिनले भने आफूले मदिरा सेवन गरे पनि लागूऔषध सेवन नगरेको बताएकी छन् । यस क्रममा उनले आफ्नो पनि निजी जीवन हुने र त्यस अवधिमा साथीहरूसँग रमाउँदा कानुन उल्लंघन नहुने भन्दै स्पष्टिकरण दिएकी थिइन् ।

    ‘मैले आज लागूऔषध परिक्षण गराएँ । एक साताभित्र यसको नतिजा आउनेछ । मैले जीवनभर लागूऔषध प्रयोग गरेको छैन,’ उनले पत्रकारहरूसँग भनिन् ।

    प्रधानमन्त्री मरिनले प्रसिद्ध कलाकारहरूसँग पार्टीमा मदिरा सेवन गरी नाचिरहेको भिडियो सार्वजनिक भएसँगै विश्वभर सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रधानमन्त्री मरिनले भने उक्त भिडियो सार्वजनिक गरिएकोमा दुखी बनेको प्रतिक्रिया दिएकी छन् ।

    यद्यपि लागूऔषध परिक्षण गर्नका लागि उनलाई विपक्षी दलसहित चौतर्फी दबाब आएको थियो । मरिन सन् २०१९ मा प्रधानमन्त्री बन्दा संसारकै सबैभन्दा कम उमेरको सरकार प्रमुखको रुपमा चिनिएकी थिइन् । सोसल डेमोक्रेटिक पार्टीबाट प्रधानमन्त्री बन्दा उनको उमेर ३३ वर्ष मात्रै थियो ।

  • चुनावको मुखमा माओवादीले गरायो वाइसीएललाई सक्रिय

    चुनावको मुखमा माओवादीले गरायो वाइसीएललाई सक्रिय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावको मुखमा आफ्नो भातृ सङ्गठन  योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई सक्रिय बनाएको छ । बिहिवार अध्यक्ष पुष्पकमल दाहालले पहिलो संविधानसभा चुनावमा जस्तो सक्रियतापूर्वक परिचालन हुन योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई निर्देशन दिए । वाईसीएलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष दाहालले चुनाव विजय गराउने अविचलित अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् । 

    विस्तृत शान्ति सम्झौतापछि जनआन्दोलन र जनयुद्धको बलमा जुन शक्ति प्राप्त भयो । पहिलो संविधानसभा निर्वाचनलाई सफल बनाउने र क्रान्तिकारी शक्तिलाई देशलाई प्रमुख शक्तिको रूपमा स्थापित गर्ने काममा पनि वाईसीएलको भूमिका निकै महत्त्वपूर्ण करिब-करिब निर्णायक भयो,’दाहालले भने ‘पछिल्लो समयमा संविधानको सकारात्मक विषयहरु मेटिने त होइन, निरंकुशतातर्फ धकेलिने त होइन भन्ने वाईसीएल नेपाल र तपाईं युवाहरूले भूमिका कसरी निर्णायक हुनुपर्छ । चाहे सडकमा होस् वा चुनावमा होस् तपाईंहरूको भूमिका निर्णायक हुनुपर्छ । क्रान्ति, समाजवादी शक्तिलाई विजयी बनाउन एउटा अविचलित अभियान साथ हुने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

    पहिलो संविधानसभा चुनावमा माओवादी पहिलो शक्ति बनेको थियो । तर अन्य राजनीतिक दलहरुले भने वाईसीएल लगाएर जबरजस्ती गरेको आरोप लगाउँदै आएका छन् । ‘प्रतिक्रियावादी जाली फटाहाहरुबाट जनतालाई सुरक्षित गराउने वाईसीएल नेपालको भूमिका दुरगामी र महत्त्वपूर्ण रह्यो,’ दाहालले भने ।

    कार्यक्रममा दाहालले देशभरका वामपन्थी दलहरुलाई एकतामा ल्याउन प्रयास भइरहेको बताएका