Category: फिचर

  • राष्ट्रपतिले राजिनामा दिने आशंकाका बीच तरंगित हुँदै राजनीति

    राष्ट्रपतिले राजिनामा दिने आशंकाका बीच तरंगित हुँदै राजनीति

    काठमाडौं । सरकारले नागरिकता विधेयक जस्ताको तस्तै पठाएसँगै असन्तुष्ट राष्ट्रपति विद्यादेवि भण्डारीले राजिनामा दिन सक्ने आशंकाका बीच राजनीतिमा नयाँ बहस शुरु भएको छ । बुधबार एमाले निकट सञ्चारमाध्यमले राजिनामा आउन सक्ने सम्भावना रहेको प्रकृतिका समाचार प्रकाशित गरेका थिए । यसलाई बल पुग्ने गरी बुधबार नै राष्ट्रपतिले आफ्नो सुरक्षामा खटिएका वर्तमान र विगतका सुरक्षाकर्मीलाई समेत बोलाएर धन्यवाद ज्ञापन गरेको खबर सार्वजनिक भएको छ ।

    यसले राष्ट्रपति राजिनामा दिने मुडमा पुगेको आशंकमा अझ बढी बल पुगेको हो । आजै प्रधानमन्त्री शेर बहादुर देउवाले समेत आफ्नो दलका नेताहरुसँग यस्तौ खबर सुनाएका थिए । राजिनामाले राष्ट्रपतिको राष्ट्रवादी छवि बस्ने र यसले उनको पार्टी एमालेलाई समेत फाइदा हुने विश्लेषण एमाले निकट सञ्चारमाध्यमले गरेका छन् । साथै राष्ट्रपति सक्रिय राजनीतिमा फर्कने सम्भावना समेत जनाइएको छ । नागरिकता विधेयकमा भने राष्ट्रपतिले कानूनी विषय समेटेर आफ्नो असहमति राखेकी थिइन् । सरकारले त्यसलाई अटेर गरेसँगै उनी असन्तुष्ट छिन् ।

  • निहारिकाको मुद्दामा डीएनए जाँच गर्न उच्च अदालतको आदेश

    निहारिकाको मुद्दामा डीएनए जाँच गर्न उच्च अदालतको आदेश

    काठमाडौं । उच्च अदालत जनकपुरले निहारिका राजपुतका छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ।

    बुधबार उच्च अदालतका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले निहारिकाको बच्चाको डीएनए र जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको दुई निवेदनको हस्ताक्षर जाँच गर्न आदेश दिएको हो ।

    सरकारी वकिल कार्यालय एवं जाहेरीवालाको तर्फबाट योदुनाथ शर्मा, मिरा ढुंगाना, वरिष्ठ अधिवक्ता सुनिता रेग्मी, शान्ति काफ्ले र रिंकु कुमारी यादवले बहस गरेका थिए । प्रतिवादी शिवराज श्रेष्ठको तर्फबाट श्याम मिश्रले बहस गरेका थिए ।

    निहारिकाले लामो समयदेखि आफ्नो छोराको अधिकारका लागि डीएनए परीक्षण माग गर्दै आएकी थिइन्।

    जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले ०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन दिएकी थिइन् । उच्च अदालतले तोकिएको पेसी सुनुवाइ नगरेको र प्रतिवादीसँग अदालत मिलेको भन्दै उनले काठमाडौंमा दोस्रोपटक आमरण अनशन सुरु गरेकी थिइन् ।

    अनशनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि मुद्दामा फास्ट्रयाकमा अघि बढेको हो ।

    जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन्।

    प्रहरीले आरोपित शिवराज श्रेष्ठलाई यसअघि नै पक्राउ गरिसकेको थियो। हाल उनलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर थुनामा राखिएको छ।

  • नक्सा पास भएको विवरण पठाउन जिल्ला अदालतलाई महानगरकाे पत्र

    नक्सा पास भएको विवरण पठाउन जिल्ला अदालतलाई महानगरकाे पत्र

    काठमाडौं । काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र लेखेको छ । महानगरपालिकाले अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै प्रमाण पठाउन निर्देशन दिएको हो ।

    महानगरपालिकाले अदालतको भवनको नक्सा पास भएको नपाएको जनाउँदै अदालतलाई त्यसको विवरण पठाउन भन्दै पत्र लेखेको हो । नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने महानगरले जनाएको छ ।

    बुधबार न्युरोडमा अनधिकृत रुपमा निर्माण गरिएको स‌‌रचना हटाउने क्रममा मेयर बालेन्द्र शाहले नक्सा पास नगरी बनाइएका संरचना हटाउने बताएका थिए । उनैले अदालतको भवनको नक्सा पास भएको नभेटिएकाले पत्र काटेको जानकारी दिएका थिए ।

  • अन्डरग्राउन्ड पार्किङमा बनेको न्युरोडस्थित नबिल बैंकको शाखा हटाउन बालेनको निर्देशन

    अन्डरग्राउन्ड पार्किङमा बनेको न्युरोडस्थित नबिल बैंकको शाखा हटाउन बालेनको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा भएको नबिल बैकको शाखा हटाउने निर्देशन दिएको छ ।

    मेयर बालेन शाहले न्युरोडस्थित नबिल बैंकको भवनमा बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएका हुन् ।

    सूचना निकालेको एक महिना बितिसक्दा पनि काम गरेको नदेखिएको र आज निरीक्षणको क्रममा बेसमेन्टमा कार्यालय संचालन गरेको भेटिएपछि निर्देशन दिइएको जनाइएको छ ।

    उक्त सूचना जारी भएको ३५ दिनपछि महानगरका मेयर शाह आफैं अवैधानिक रूपमा बनेको संरचना हटाउन सक्रियसाथ लागेका छन्। उनले बुधबार बिहान काठमाडौं मल अगाडिको फुटपाथ र पार्किङको लागि भनेर महानगरसँग स्वीकृति लिएर व्यापार हुँदै गरेको स्थान खाली गराउन पुगेका थिए।

  • मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउनेसहित २२७ जना चालक कारवाहीमा

    मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउनेसहित २२७ जना चालक कारवाहीमा

    काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा चेकिङमा आज २ सय २७ जना चालकहरू कारवाहीमा परेका छन् ।

    १ सय २५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारवाहीमा परेका हुन् ।

    जसमा मापसे गरी बा ८ च ४३९७ नम्बरको एम्बुलेन्स चलाउने चालक १ जना , बा १९ च ८५४८ नम्बरको पानि बोक्ने सवारी साधनका चालक १ जना, बा २ क ३२७९ नम्बरको वालकुमारी स्थित कान्जिरोवा स्कुलका बस चालक १ जना र बा ९ च ९४६२ नम्बरको सवारी साधनका चालक १ एक जना रहेका छन् ।

    यस्तै अवस्था ठिक नभएका सवारी चलाउने ५२ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाउने ११ जना र अन्य कसुरमा १ सय ६० जना चालकहरू पनि कारवाहीमा परेको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

  • अनधिकृत संरचनामा बालेनको ‘एक्सन’, काठमाडौं मल र आरबी कम्प्लेक्समा चल्यो डोजर

    अनधिकृत संरचनामा बालेनको ‘एक्सन’, काठमाडौं मल र आरबी कम्प्लेक्समा चल्यो डोजर

    काठमाडौं । नक्सापास नगरी अवैध रुपमा बनाइएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगर आक्रमक रुपले लागिपरेको छ ।

    एउटा प्रयोजनका लागि नक्सा पास गरी अर्कै संरचना बनाइएको स्थानमा महानगरले त्यस्ता संरचना धमाधम भत्काउन थालेको हो ।

    केही दिनअघि मात्रै नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा संचालन भएका पसलहरू भत्काएको महानगरले आज काठमाडौंको मुटु मानिने सुन्धारास्थित काठमाडौं मलमा डोजर चलाएको हो ।

    बुधबार बिहान मेयर बालेन्द्र शाह (बालेन), काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित काठमाडौं मलमा पुगेर अनधिकृत संरचनामा डोजर चलाइएको हो ।

    त्यस्तै, बुधबार नै महानगरले खिचापोखरस्थित आरबी कम्प्लेक्सले अनधिकृत रुपमा बनाएको संरचनामा डोजर लगाएको छ ।

    यसअघि महानगरले नक्सा पास विपरीत बनाइएक संरचना हटाउन ३५ दिने सूचना जारी गरे पनि सम्बन्धित घरधनीले वेवास्ता गरेपछि महानगर आफैं त्यस्ता संरचना हटाउन लागि परेको हो ।

  • नेप्सेमा झिनो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेप्सेमा झिनो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से १.६१अंकले बढेर २०५६.५९ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२३ कम्पनीको १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१७ रुपैयाँ बराबरको ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । मंगलवार १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ समूहको घटेको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ समूहको घटेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ०.६८ प्रतिशतले बढेको छ ।

    कारोबारमा आएका २ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मन्दाकीनी हाइड्रोपावर कम्पनी र अप्पर हेवाखोला हाइड्रोपावर शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

    त्यसैगरी, रुरु जलविद्युत् ५.८६, अरुण काबेली ५.२८, सिन्धु विकास बैंक ४.६२, अपर सोलु, न्यादी हाइड्रोपावर, गुराँस लघुवित्त, श्वेत गंगा हाइड्रोपावर र हिमालयन बैंकको शेयर मूल्य साढे ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    नेप्सेका अनुसार आज सिद्धार्थ इक्युटी फण्ड शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यसको आज १६ करोड ९२ लाख भन्दा बढीको कारोबार भएको छ ।

    अपी पावरको ८ करोड र रिडीमो ५ करोड ६० लाख बढीको कारोबार भएको छ ।

  • भोटका लागि एमालले नागरिकता विधेयकमा पाखण्डी प्रचार गरिरहेको छ : प्रचण्ड

    भोटका लागि एमालले नागरिकता विधेयकमा पाखण्डी प्रचार गरिरहेको छ : प्रचण्ड

    भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरकिता विधेयकबारे एमालले भोटका लागि पाखण्डी प्रचार गरिरहेको बताएका छन् । विधेयकका प्रावधान एमालेले ल्याएको अध्यादेश भन्दा फरक नभएको भन्दै अहिले उसले गरिरहेको प्रचार केवल भोटका लागि भएको प्रचण्डको भनाई छ । बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेकपा एमालेले भोट बटुल्न गलत प्रचार गरेको बताएका हुन् ।

    विधेयकमा आमाबुवा दुवै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता पाउने विषय मात्र नयाँ भएको समेत स्पष्ट पारे । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा लगिएको अध्यादेशमा भएका व्यवस्थाभन्दा कुनै फरक नभएको भन्दै उनले अगाडी भने, ‘ती मान्छेहरू जसले यही विधेयकलाई पोहोर अध्यादेशका रूपमा लगेका थिए तिनीहरूले नै यसलाई राष्ट्रघाती भन्नुभन्दा बेइमानी र अनैतिक केही हुँदैन ।’

    राज्यव्यवस्था तथा सुशासन समितिको प्रस्ताव सदनमा लैजान पनि तत्कालीन नेकपाका अध्यक्ष ओली र एमाले गुटले नै नमानेको उनले बताए । एमालेले चुनावलाई हेरेर गलत प्रचार गरिहेको छ भन्दै उनले भने, ‘राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न सकिन्छ कि भनेर दुस्साहस गरिररहेका छन् । तर नेपाली जनता सचेत भइसकेका छन्, बुझिसकेका छन् । यस्ता पाखण्डी प्रचारको पछि लाग्दैनन् ।’

  • भ्रष्टाचार अभियोग पुष्टी भएपछि मलेसियाका पूर्वप्रधानमन्त्री रजक १२ वर्ष जेल चलान

    भ्रष्टाचार अभियोग पुष्टी भएपछि मलेसियाका पूर्वप्रधानमन्त्री रजक १२ वर्ष जेल चलान

    क्वालालाम्पुर । भ्रष्टाचार अभियोग पुष्टी भएसँगै मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजकलाई १२ वर्ष जेल सजाय तोकिएको छ। मलेसियाको उच्च अदालतले उनको अपील अस्वीकार गरेसँगै नजिब जेल चलान भएका हुन् । सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलभमेन्ट बरहाड (वानएमडीबी) दुरूपयोग गरेको अभियोगमा ६९ वर्षीय पूर्वप्रधानमन्त्रीलाई जेल सजाय तोकिएको हो। उनलाई सन् २०२० को जुलाईमा दोषी ठहर गरिएको थियो, तर पुनरावेदनका क्रममा जमानतमा छुटेका थिए।

    उनीमाथिको दण्ड ढिलाई गर्न नजिबले गरेको अनुरोधलाई अदालतले अस्वीकार गरेको छ। आफूले कुनै गलत काम नगरेको उनले निरन्तर बताउँदै आएका छन्। नजिबले आफू निर्दोष रहेको दाबी गर्दै आफ्ना आर्थिक सल्लाहकारले फसाएको बताएका छन्। सन् २०२० मा एक अदालतले नजिबलाई विभिन्न सात वटा अभियोगमा दोषी पाएको थियो। उनलाई करिब ४ करोड २० लाख मलेसियाली रिंगीट (एक करोड ३ लाख डलर) भ्रष्टाचार गरेको आरोप लागेको छ।

    नजिबले आफू प्रधानमन्त्री हुँदा सन् २००९ मा मलेसियाको आर्थिक विकासका लागि भन्दै ‘दि वान मलेसिया डेभलपमेन्ट बर्हार्ड फन्ड’ स्थापना गरेका थिए। उक्त कोषबाट लाखौं डलर निजी खातामा राखेको पाइएपछि अनुसन्धान थालिएको थियो। उक्त रकम रियल स्टेट, निजी विमान, हलिउड फिल्मलगायतमा लगानी गरेको भेटिएको थियो। रजाक सन् २००८ देखि २०१८ सम्म मलेसियाको प्रधानमन्त्री थिए ।

  • समानुपातिक प्रणालीमा भाग लिने दलसँग निवेदन माग

    समानुपातिक प्रणालीमा भाग लिने दलसँग निवेदन माग

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलसँग निवेदन माग गरेको छ । आयोगले बुधबार भदौ १० देखि १२ गतेसम्म कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ, काठमाडौँमा निवेदन दिन सकिने गरी सूचना जारी गरेको हो । आयोगले साउन २२ देखि ३१ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको थियो ।

    सो क्रममा ८४ वटा दल दर्ता भएका छन् । दर्तामध्ये १२ वटा दल तालमेलमा पुगेका छन् । अब यसरी दर्ता दलमध्ये समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छुट्टै निवेदन दिनुपर्छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगमै स्थापना भएको छ।

    प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकमा भाग लिन मुख्य निर्वाचन अधिकृतकै कार्यालयमा निवेदन दिनुपर्ने आयोगले जनाएको छ। एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलले सबै दलको केन्द्रीय समितिको संयुक्त वा अलग–अलग रूपमा निवेदन दिन पाउनेछन्।

    ‘एकल चुनाव चिन्ह लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निवेदन दिँदा त्यस्ता सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग अलग रूपमा निर्णय गरी एउटै व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिले र त्यस्ता दलहरूले निर्णय गरी अलग अलग व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिहरूले संयुक्त रूपमा हस्ताक्षर गरी निवेदन दिनुपर्नेछ’, सूचनामा भनिएको छ।

    दलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि छुट्टै र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ प्रत्येक प्रदेशका लागि छुट्टै निवेदन दिनुपर्नेछ। आयोगको निर्वाचन कार्यतालिकाबमोजिम समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची आगामी असोज २ र ३ गते पेस गर्नुपर्नेछ।

  • निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाबाट निवेदन आह्वान

    निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाबाट निवेदन आह्वान

    काठमाडौं । आगामी निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थासँग निर्वाचन आयोगले प्रस्ताव मागेको छ । मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगले पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई अनुमति प्राप्तिका लागि निवेदन मागेको हो । राष्ट्रिय संस्थाहरूलाई आयोगले पर्यवेक्षण अनुमति दिने तयारी गरेको छ।

    संस्था दर्ता प्रमाणपत्र प्रतिलिपी, संस्थाको विधान प्रतिलिपी, नवीकरण, पदाधिकारी विवरणलगायत खुलाएर आयोगमा निवेदन दिन सकिनेछ। निर्वाचन आचारसंहिता उल्लङ्घन गरी सजाय पाएको संस्था वा यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरेर पर्यवेक्षण नगरेका वा पर्यवेक्षण प्रतिवेदन पेश नगर्ने संस्थालाई अनुमति नदिइने पनि आयोगले प्रष्टाएको छ।

  • भारतीय सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणमा आउने

    भारतीय सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणमा आउने

    काठमाडौं । भारतीय स्थल सेनाअध्यक्ष मनोज पाण्डे १९ भदौमा नेपाल भ्रमणमा आउने भएका छन् । उनी ५ दिने भ्रमणमा नेपाल आउन लागेका हुन् । नेपाल–भारत दुवै मुलुकका सेना प्रमुखलाई एकअर्काको मुलुकमा मानार्थ महारथीको सम्मान दिने परम्परा अनुसार उनी नेपाल आउन लागेका हुन् । उनी नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १९ औं भारतीय सैन्य अधिकारी हुन्छन् ।

    पाण्डेले नेपाल भ्रमणका बेला काठमाडौंका ऐतिहासिक सम्पादा र पशुपतिनाथको पनि दर्शन गर्ने कार्यक्रम छ । नेपाली सेनाका अनुसार सन् १९५० देखि नेपाल र भारतबीच एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने चलन रही आएको छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए ।

  • मेयर बालेनको अर्को बोल्ड निर्णय, कर्मचारी र शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्न निर्देशन

    मेयर बालेनको अर्को बोल्ड निर्णय, कर्मचारी र शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्न निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएका छन् । सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दलीय आवद्धता भए तत्काल त्याग्न उनले निर्देशन दिएका हुन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र कर्मचारीले दलको सदसेयता लिन नपाइँने व्यवस्था रहेको उल्लेख गर्दै मेयर साहले दलमा आवद्ध नहुन सचेत गराएका हुन् ।

    ऐनको दफा १४ को उप दफा २ को खण्ड ग ले कुनै पनि सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीलाई राजनीतिक दलको सदस्यता दिन नहुने व्यवस्था रहेको छ । काठमाडौं महानगरपालिकाको कर्मचारी सेवा ऐन २०७७ मा पनि दलको गतिविधिमा भाग लिन नपाइने व्यवस्था रहेकोबारे उनले कर्मचारीको ध्यानाकर्षण गराएका छन् ।

    कुनै शिक्षक वा कर्मचारी दलमा आवद्ध भएको पाइएमा आफ्नो इमेलमा जानकारी दिनसमेत उनले सार्वजनिक अपिल गरेका छन् । यसअघि निर्वाचन आयोगले पनि शिक्षक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिए कारबाही गर्ने चेतावनी दिएको थियो ।

  • फिनल्याण्डकी प्रधानमन्त्री मरिनले लागुऔषध सेवन गरेको पुष्टी भएन

    फिनल्याण्डकी प्रधानमन्त्री मरिनले लागुऔषध सेवन गरेको पुष्टी भएन

    काठमाडौं\एजेन्सी । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले लागुऔषध सेवन गरेको विषय अनुसन्धानबाट पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथीहरूसँगको पार्टीमा लठ्ठिएर नाचेको दृश्य सार्वजनिक भएपछि त्यहाँको विपक्षी दलले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको माग गरेको थियो। विपक्षी दलको माग अनुसार उनले स्वास्थ्य परीक्षण गर्दा लागुऔषध सेवन नगरेको पाइएको बीबीसीले जनाएको छ।

    मरिनले गत शुक्रबार आफ्नो स्वास्थ्य परीक्षण गराएकी थिइन्। उनले आफूले मदिरा सेवन गरेको भने स्वीकार गरेकी थिइन्। शुक्रबार पत्रकार सम्मेलनमार्फत् मरिनले आफूमाथि निराधार आरोप लागेकोमा दुस्ख व्यक्त गर्दै न्यायिक सुरक्षाका निम्ति स्वास्थ्य परीक्षणको निम्ति तयार भएको बताएकी थिइन् ।

  • साउनमा १३ प्रतिशतले घट्यो आयात

    साउनमा १३ प्रतिशतले घट्यो आयात

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९\८० को पहिलो महिना (साउन)मा आयातमा ठूलो गिरावट देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँ बराबरको आयात भएको छ । यो गत आवको यसै महिनाको तुलनामा १२.९० प्रतिशत कम हो । गत आवको साउनमा १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको आयात भएको थियो । आयातसँगै निर्यातमा समेत यो महिनामा गिरावट आएको छ । विभागका अनुसार साउनमा मात्र १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

    यो गत आवको यसै महिनाको तुलनामा २८.६८ प्रतिशत कम हो । गत आवमा साउनमा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । आयात र निर्यात दुवै घटेको यो महिना गत वर्षको साउनको तुलनामा वैदेशिक व्यापार खस्किएको छ । साउनमा कुल १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख रुपैयाँ बराबरको व्यापार भएको छ । यो गत आवको साउनको तुलनामा १४.८१ प्रतिशत कम हो ।

    गत आवमा १ खर्ब ७१ अर्ब ४९ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । व्यापार घाटा भने यो महिनामा १ खर्ब १६ अर्ब ४७ लाख रुपैयाँ बराबरको भएको छ । यो गत साउनको तुलनामा १०.३८ प्रतिशत कम हो । गत आवको साउनमा १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँ बराबर व्यापार घाटा थियो । अहिले १ सय रुपैयाँ बराबरको वैदेशिक व्यापार भएमा ८९.८६ प्रतिशत आयात र १०.१४ प्रतिशत निर्यातको हिस्सा रहेको छ ।

  • नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टी, एक जनाको निधन

    नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टी, एक जनाको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २१९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार ९८९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७९ हजार ७७४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४२२१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९९४ पुगेको छ ।

  • घरमा छापा मारिएपछि ट्रम्पले हाले अमेरिकी सरकारविरुद्ध मुद्दा

    घरमा छापा मारिएपछि ट्रम्पले हाले अमेरिकी सरकारविरुद्ध मुद्दा

    काठमाडैं । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले केही साता अघि सङ्घीय जाँच ब्युरो एफबीआईले उनको निवासबाट कब्जा गरेर लगेका फाइलहरूको न्याय मन्त्रालयद्वारा जारी अनुसन्धान रोक्न न्यायाधीशसमक्ष अनुरोध गरेका छन्।

    उक्त मुद्दामा ट्रम्पको टोलीले ती दस्तावेजहरूको सुपरीवेक्षण गर्न स्वतन्त्र वकिल नियुक्त गरिनुपर्ने बताएका छन्। एफबीआईका अधिकारीहरूले फ्लोरिडास्थित उनको मारा लागो निवासमा छापा मारेर ११ सेट गोप्य फाइलहरू लगेको बताइएको थियो।

    ट्रम्पलाई लागेका आरोप के?

    ट्रम्पमाथि उनले संवेदनशील दस्तावेजहरूको गलत व्यवस्थापन गरेका आरोपमा अनुसन्धान भइरहेको छ।सोमवार उनका वकिलहरूले ‘स्पेशल मास्टर’ भनिने तटस्थ वकिलको माग गरे जसले ती कब्जा गरेर लगिएका दस्तावेजहरू ट्रम्प राष्ट्रपति भएका बेला उनलाई प्राप्त कार्यकारी विशेषाधिकारबमोजिम थिए कि भनेर हेर्नेछन्।

    त्यस्तो विशेष अधिकारले राष्ट्रपतिहरूलाई उनीहरूले गरेका कतिपय सञ्चार गोप्य राखिराख्न अनुमति दिन्छ। विशेषगरी आपराधिक मामिलाहरूमा कुनै प्रमाण वकिल-सेवाग्राहीबीच हुने विशेषाधिकारले संरक्षित गरेको छ कि भनेर हेर्न स्पेशल मास्टर नियुक्त गरिन्छ। त्यस्ता संरक्षणप्राप्त प्रमाणलाई अदालतमा पेश गर्न सकिन्न।

    के भन्यो अमेरिकी सरकारले?

    न्याय मन्त्रालयका अधिकारीहरूले एक संक्षिप्त विज्ञप्ति जारी गर्दै ट्रम्पले हालेको मुद्दाबारे अभियोजनकर्ताहरू जानकार रहेको र त्यसबारे अदालतमै जबाफ दिने जनाएको छ।’ट्रम्पको निवास मारा लागोमा छापा मार्न सङ्घीय अदालतको अनुमति लिइएको,’ प्रवक्ता एन्थोनी कोलीले बताए।

    ट्रम्पले चाहिँ उनी आफैँले सन् २०२० मा मनोनित गरेको एक न्यायाधीशसमक्ष फ्लोरिडाको वेस्ट पाम बीचस्थित अदालतमा २७ पृष्ठ लामो निवेदन दिएका छन्। त्यसमा ‘राष्ट्रपति डोनल्ड जे ट्रम्प सन् २०२४ को रिपब्लिकन पार्टीभित्र हुने राष्ट्रपतिको प्राइमरी निर्वाचनको दौडमा एवं सन् २०२४ को राष्ट्रपति निर्वाचनको दौडमा सबभन्दा अगाडि रहेका छन् – यदि उनले ती निर्वाचनमा भाग लिने निर्णय गरेमा’ भनेर पनि उल्लेख गरिएको छ। ‘कानुन कार्यान्वयन भनेको अमेरिकीहरूको रक्षा गर्ने अस्त्र हो। त्यसलाई राजनीतिक उद्देश्यका निम्ति प्रयोग गरिनु हुँदैन,’ त्यसमा भनिएको छ। बीबीसी

  • विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने

    विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने

    काठमाडौं । विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने भएको छ।

    विसं २०७८ वैशाख १३ गते त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्न प्रतिबन्ध लगाएको थियो।

    सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो मुलुकमा जान पाउने गरी उक्त प्रतिबन्ध हटाएको हो।

    तर, विमानस्थल भित्रै ट्रान्जिट गरी जानेका लागि भने रोकतोक थिएन।

    कोभिड–१९ महामारीका बेला भारतीय नागरिक नेपाल आएर साउदी अरेबिया जाने क्रम बढेपछि गत वर्ष सरकारले यस्तो निर्णय गर्नु परेको थियो।

  • दुई मन्त्रालयमा अधिकृतस्तरका ५८४ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत

    दुई मन्त्रालयमा अधिकृतस्तरका ५८४ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत

    काठमाडौं । सरकारले दुई मन्त्रालयमा ५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।

    भदौ ६ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयबारे मंगलबार जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार ततथा सूचना प्रविधिमन्त्री त्रानेन्द्रबहादुर कार्कीले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको जानकारी दिएका हुन्।

    उनका अनुसार मन्त्रिपरिषद बैठकले सहरी विकासमा ३८० वटा र कृषि तथा पशुपक्षी विकासमा २०४ वटा गरी ५८४ जना अधिकृतस्तरका कर्मचारी अस्थायी दरबन्दी स्वीकृत गरेको हो।

  • शेयर बजारमा सामान्य अंकको वृद्धि, एक अर्ब ३३ करोडको कारोबार

    शेयर बजारमा सामान्य अंकको वृद्धि, एक अर्ब ३३ करोडको कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से १.८१ अंकले बढेर २०५४.९५ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२२ कम्पनीको १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँ बराबरको ५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । सोमवार १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४२९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    कारोबारमा आएका ३कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । झिनो अंकले बढेको बजारमा तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    रुरु जलविद्युत कम्पनी, मन्दाकीनी हाइड्रोपावर कम्पनी र अप्पर हेवाखोला हाइड्रोपावर शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । नेप्सेका अनुसार आज सिद्धार्थ इक्युटी फण्ड शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यसको आज १४ करोड २१ लाख भन्दा बढीको कारोबार भएको छ ।

    रिडी पावरको ७ करोड ६५ लाख र अपी पावरको ५ करोड ४५ लाखको कारोबार भएको छ ।

  • विप्लव नेतृत्वमा ४ पार्टीको बन्द:गाडी तोडफोड गर्ने बन्दकर्ता स्थानीयबाट कुटिए

    विप्लव नेतृत्वमा ४ पार्टीको बन्द:गाडी तोडफोड गर्ने बन्दकर्ता स्थानीयबाट कुटिए

    काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव देशभर नै सामान्य मात्रै परेको छ।

    काठमाडौं उपत्यकमा प्रभाव नदेखिएपनि तराईंका जिल्लामा भने सामान्य असर देखिएको छ। यस्तै, केही पहाडी जिल्लामा पनि बन्दकर्ताले सवारी साधनमाथि तोडफोड गर्ने प्रयास गरेपनि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

    बन्द गराउँदै हिँडेको आरोपमा काभ्रेको बनेपामा एक जनालाई स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।

    बनेपाको चारदोबाटोमा गाडीमाथि ढुंगा प्रहार गरेपछि चालक र सह-चालकले ती व्यक्तिलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन्। पक्राउ पर्नेमा नरहरीनाथ नगरपालिका, कालिकोटका २४ वर्षिय पल राउत छन्।

    बन्द गराउँदै हिँडेका राउतले बसमा ढुंगा प्रहार गरेपछि आक्रोशित चालक र सहचालकसँगै त्यही जम्मा भएको स्थानीयले घेरेका थिए।

    नेपाल बन्दका कारण सडक यातायातसँगै, उद्योग कलकारखाना, विद्यालय लगायतमा असर नपरेपनि केही ठाउँमा शंकास्पद वस्तु फेला पर्दा स्थानीय नागरिक त्रसित बनेका छन्।

    सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको हो।

    विप्लवको पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन्। अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर अन्य ३ पार्टीले बन्दमा समर्थन गरेका हुन्।

  • संक्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधनका लागि ल्याएको विधेयक टेबुल

    संक्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधनका लागि ल्याएको विधेयक टेबुल

    काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश भएको छ।

    गत असार ३१ गते दर्ता भएको यो विधेयक मंगलबार संसदमा दर्ता भएको हो। विधेयकविरुद्ध परेको विरोधको सूचना अस्वीकृत भएपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द बन्दीले विधेयक पेश गरेका हुन्।

    विरोधको सूचनामाथि गरिएका प्रश्नहरुको जवाफ दिँदै कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दीले सातै प्रदेशमा परामर्श गरिएको, सरोकारवालापक्षहरुसँग प्रयाप्त छलफल गरेर विधेयक ल्याइएको बताए।

    सामान्य समयमा, युद्ध नभएको बेलामा, सामान्य अपराधको समय र मुलुकमा भएको युद्धका समयमा भएका मानव अधिकार उल्लंघनको घटनालाई एकै रुपमा लिन नसकिने उनले बताए।

    विश्वका धेरै देशमा युद्ध हुँदा मानव अधिकार उलंघन भएको र त्यसका लागि सम्बोधन गर्न द्वन्द्वका कारण पत्ता लगाउने, किन भएको, के कस्ता घटनाहरू भए भन्ने पत्ता लगाउने र निश्चित घटनाहरुलाई ट्रायलमा लैजाने र अन्यलाइ मेलमिलापमा लैजाने अभ्यास विश्वभरी नै रहेको बताए।

    युद्धका समयमा सबै घटनालाई फैजदारी अपराध भनेर कतै नभनिने उल्लेख गर्दै उनले परिपुरणसहित युद्धको समयको घटनाहरुको सम्बोधन गर्ने अभ्यास पनि विश्वस्तरमा रहेको बताए।

    मानव अधिकार, गम्भीर मानव अधिकार उल्लंघनको परिभाषाका सन्दर्भमा संसदले छलफल गरेर आवश्यक संशोधन गर्न सक्ने उनले बताए ।

    कानुनमन्त्री बन्दीले देशमा विभेद रहेको, कुकुरको पुजा हुने तर मानिसहरुका बीचमा छोइछिटो रहेको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्न राजनीतिक कोर्सका रुपमा अगाडि बढेको बढाए। साथसाथै सशस्त्र द्वन्द्वलाई संविधानले समेत स्वीकार गरिसकेको पनि कानुनमन्त्री बन्दीले बताए।

    २०५२ साल फागुन १ गतेबाट तत्कालीन नेकपा माओवादीले सुिरु गरेको सशस्त्र युद्ध २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतापछि अन्त्य भएको थियो। तर, त्यस अवधिमा भएका घटनाहरुको अझै निरुपण हुन सकेको छैन्।

    विधेयकमाथि पीडित पक्ष, राष्ट्रिय मानव अधिकार आयोग, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगायतले असन्तुष्टि जनाउँदै आएका छन्।

    यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थागित गरिएको छ। प्रतिनिधिसभाको अर्को बैठक भदौ १२ गते बिहान ११ बजे बस्ने छ।

    भदौ १२ गतेसम्म पार्टीका विभिन्न बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक एक सातासम्म स्थागित गर्न सभामुख अग्नि सापकोटालाई आग्रह गरेको थियो ।

    आज एमालेको स्थायी कमिटी बैठक छ भने ९ गते पोलिटब्युरो, १० र ११ गते केन्द्रीय कमिटी र १२ गते निर्वाचन परिचान कमिटीको बैठक बस्ने तालिका छ।

  • विश्वव्यापी खाद्य संकटसँग जुध्न अमेरिकाले नेपाललाई २ अर्ब अनुदान दिने

    विश्वव्यापी खाद्य संकटसँग जुध्न अमेरिकाले नेपाललाई २ अर्ब अनुदान दिने

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले विश्वव्यापी खाद्य संकटबाट बच्त नेपाललाई २ अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (.युएसएआईडी) ले नेपाललाई रुस–युक्रेनको युद्धबाट बढ्दै गएको विश्वव्यापी संकटबाट जोखिममा परेका जनतालाई जोगाउन करिब दुई अर्ब रुपियाँ सहयोग उपलब्ध गराउने नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै घोषणा गरेको दुई अर्ब ७६ करोड अमेरिकी डलर अनुदानको एक हिस्सा स्वरुप नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको हो ।

    नेपालस्थित अमेरिकी राजदूतावासबाट सोमबार जारी प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । युएसएआईडीका कार्यवाहक नेपाल मिसन निर्देशक बेथ होगनका अनुसार, मलको अभावले धान, मकै र अन्य महत्वपूर्ण बालीहरूको उत्पादन घट्दै गएकाले यो सहयोगले नेपालको कृषि क्षेत्र र किसानहरूमा व्यापक प्रभाव पार्ने विश्वास गरिएको छ । खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन र गरिबी, भोकमरी र कुपोषणमा थप वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ भन्दा बढी देश र क्षेत्रीय संस्थाहरूमध्ये नेपाल पनि एक हो ।

    यस सहयोगले नेपालको बढ्दो मूल्य र खाद्यान्न अभावबाट प्रभावितलाई पर्याप्त खानेकुरा सुनिश्चित गर्न मद्दत गर्ने विश्वास नियोगले गरेको छ । यो नेपाल–अमेरिका साझेदारी र चलिरहेको स्वास्थ्य र खाद्य सुरक्षा सहायता कार्यक्रमको ७५ वर्षको निरन्तरता हो । यी कोषहरूले पाँच वर्ष मुनिका बालबालिका र गर्भवती महिलाका लागि पोषण बृद्धि गरिएको खानालाई पनि सहयोग गर्नेछ

  • रुससँगको युद्धमा आफ्ना ९ हजार सैनिक मारिएको युक्रेनको पुष्टी

    रुससँगको युद्धमा आफ्ना ९ हजार सैनिक मारिएको युक्रेनको पुष्टी

    काठमाडौं\एजेन्सी । रूससँगको युद्धमा आफ्ना ९ हजार सैनिक मारिएको युक्रेनले पुष्टी गरेको छ । ७ महिनादेखि जारी युद्धमा ती सैनिकको ज्यान गएको युक्रेनले एक विवरण सार्वजनिक गर्दै जनाएको छ । युक्रेनका कमाण्डर इन चीफ जनरल भ्यालेरी जालुज्नीले युद्धका कारण बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको बताए । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

    युक्रेनले भोलि आफ्नो ३१औँ स्वतन्त्रता दिवस समेत मनाउँदैछ । दिवसका अवसरमा ठूला आक्रमणका घटना हुनसक्ने आशङ्कामा पर्सि बिहीवार बिहानसम्म सामूहिक कार्यक्रम गर्न रोक लगाइएको छ । देशको दोस्रो ठूलो सहर खार्किभमा आज बेलुकादेखि कर्फ्युको घोषणा गरिएको बीबीसीले जनाएको छ । रुसी सेनाले राजधानी कीएभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भू–भागमा आक्रमणलाई केन्द्रित गरेको छ । रुस–युक्रेन युद्धका कारण ऊर्जा इन्धन र खाद्यान्नको मूल्य आकासिएको छ । युद्धको प्रभाव विश्वभर नै परेको छ।

  • नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य, केही सवारी साधनमा क्षति

    नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य, केही सवारी साधनमा क्षति

    काठमाडौं । आज नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत चार कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेका छन् । यसको प्रभाव सामान्य देखिएको छ । बिहान बन्द सफल गराउन विभिन्न स्थानमा सवारी साधनमाथि तोडफोड भएको खबर आएका छन् । सरकारले एमसिसी सम्झौता गरेको र विप्लव नेतृत्वको पार्टीसँग गरिएका ३ बुँदे सहमति कार्यान्वयन नभएको विरोध लगायतमा उनीहरूले बन्द आह्वान गरेका हुन् ।

    गृहमन्त्री बालकृष्ण खाणले विप्लव नेतृत्वको पार्टीसँग सरकारले गरेका सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए पनि उनीमाथि पक्राउ पुर्जी नै जारी भएको छ । काठमाडौंको सडकमा सार्वजनिक सवारी साधन साविकभन्द्या केही कम देखिएका छन् । निजी सवारी निर्वाध चलेका छन् । बिहान थापागाउँमा नेपाल यातायातको बा ४ ख ९०८९ नम्बरको बस तोडफोड भएको छ।

    कोटेश्वरमा बिहान महासागर यायायातको एक यात्रुबहाक बसमा ढुंगा प्रहार भएको छ । कोटेश्वरमा एक माइक्रोमा पनि तोडफोड भएको प्रहरीको अपडेट छ । डिल्लीबजारको सफ्टवारिका कलेजमा पनि मोटरसाइकलमा आएको एक समूहले तोडफोड गरेको छ । काठमाडौंमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

  • मिटरब्याजीविरुद्ध १९३७ वटा उजुरी

    मिटरब्याजीविरुद्ध १९३७ वटा उजुरी

    काठमाडौं । मिटरब्याजीविरुद्ध देशभरबाट १९३७ वटा उजुरी परेका छन् । गृहमन्त्री बालकृष्ण खाणले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार सोमबारसम्म मिटरव्याज पीडितहरूबाट सो संख्यामा उजुरी आएको हो । गृह मन्त्रालयले मिटरव्याज अपराध अध्ययन गर्न कार्यदल नै बनाएर उजुरी आह्वान गरेको थियो। कतिपय जिल्लामा मिटरव्याज अपराधविरूद्ध उजुरी नै नआएपछि सार्वजनिक सूचना जारी गरेर उजुरी आह्वान गरिएको थियो।

    उनका अनुसार अब उजुरीमाथि छानविन गरी कारवाहीको प्रक्रिया अगाडी बढ्नछ । प्रदेश नम्बर १ मा ९२ वटा उजुरी आएका छन्। सबैभन्दा धेरै मिटरव्याज अपराधमा मधेश प्रदेशमा उजुरी आएका छन्। खाणका अनुसार मधेश प्रदेशमा एक हजार तीन सय ३० उजुरी प्राप्त भएका छन्। बागमतीमा २०२, गण्डकीमा ३५, लुम्बिनीमा २११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी आएको गृहमन्त्री खाणले जानकारी दिए। ‘

    मिटरव्याज अपराध उजुरीउपर छानबिन गर्छौं। दोषी पाइएमा कानूनअनुसार कारबाही गरिन्छ,’ उनले भने, ‘छोटो समयमा सोचेभन्दा व्यापक उजुरी आयो। यो विषय प्राथमिकता दिनुपर्ने देखिएको छ।

  • प्रचण्ड र माधव नेपालबीच पार्टी एकता सम्मको सहमतीले पार्टीलाई कति फाइदा ?

    प्रचण्ड र माधव नेपालबीच पार्टी एकता सम्मको सहमतीले पार्टीलाई कति फाइदा ?

    काठमाडौं । सत्ता गठबन्धन भित्रका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुने गरी तयारी थालिएको छ । दुबै दलका नेताहरु एकता प्रक्रियालाई औपचारिकता दिन सहमत भएसँगै यो प्रक्रियाले गति लिने देखिएको छ । दुई दलबीचको छलफलमा ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव लगत्तै एकता गर्ने गरी गृहकार्य सुरु गर्न नेता तयार भएका छन् ।

    सो प्रयोजनका लागि एकता संयोजन समिति गठन हुने भएको छ । यसले एकताको अवधारणापत्र तयार पार्नेछ । यस्तो समितिको संयोजकमा दुबै दलका अध्यक्ष रहने भएका छन् । चुनाव अगाडि संयुक्त घोषणापत्र लिएर अगाडी जाने सहमति समेत भएको छ । यसरी एकता भएमा पार्टीलाई दोस्रो शक्तिसम्म बनाउन सकिने आंकलन नेताहरुको छ ।

  • कन्सल्टेन्सीका नाममा अनलाइन जुवा खेलाउने चार जना पक्राउ

    कन्सल्टेन्सीका नाममा अनलाइन जुवा खेलाउने चार जना पक्राउ

    झापा । झापामा कन्सलटेन्सीका नाममा जुवा खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् । नेपालमा प्रतिबन्धित वान बेट एप्लिकेशन मार्फत गेम खेलाउने र नक्कली सरकारी कागजात बनाउने गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्रेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दमक– ८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक २५ वर्षीय सतप्रकाश साह र दमक नगरपालिका– ७ का २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक कमल गाउपालिका– २ का ३० वर्षीय अरुण कार्की र ब्रिटिस आर्मी ट्रेनिङका सञ्चालक दमक– ८ का ३३ बर्षीय राजु लिम्बु पक्राउ परेका हुन् ।

    १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको रिट समूह, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्रेको हो । प्रहरीका अनुसार पक्राउ परेको समुहले अनलाइन गेम खेलाउँदै आएको थियो ।अनलाइन गेम खेल्न चाहाने व्यक्तिको नागरिकता लिने र सोही नागरिकताबाट एनसेलको सिम कार्ड झिकेर सट्टाबाजीको लागि इसेवा आइडी खोली रकम सङ्कलन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

    कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगको लागि बिभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्रसमेत बनाउने गरेको अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले प्रयोग भएका २७९ र प्रयोग नभएका ४५ थान एनसेलको सिम, १९ वटा मोवाइल, ल्यापटपलगायत सामग्री बरामद गरेको छ ।

  • नेपालमा लगानी गर्न पाकिस्तानका उद्योगीलाई नेपालको आह्वान

    नेपालमा लगानी गर्न पाकिस्तानका उद्योगीलाई नेपालको आह्वान

    लाहोर । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले लाहोरका उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । लाहोर चेम्बर अफ कमर्स (एलसीसीआई) का प्रमुख मियान नौमान कबिरसहित अन्य सदस्यसँगको अन्तरक्रियामा राजदूत अधिकारीले यस्तो आग्रह गरेका हुन् ।

    भेटमा राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच द्विपक्षीय आर्थिक सम्बन्धलाई सुदृढ गर्नुपर्ने धारणा राखेका थिए । ‘दुई देशबीचको सम्बन्ध यसै पनि सुमधुर छ । साथै नेपाल र पाकिस्तान असल छिमेकी तथा दक्षिण एसियाली सहयोग संगठन (सार्क) का सदस्य र अन्य समान सामाजिक–सांस्कृतिक पृष्ठभूमि समेत छ,’ अन्तरक्रियाका क्रममा अधिकारीले एलसीसीआईका सदस्यहरूसँग भने ।

    राजदूत अधिकारीले काठमाडौं र लाहोरको ऐतिहासिक सम्बन्ध रहेको बताउँदै १९औं शताब्दीमा नेपालका पूर्व प्रधानमन्त्री माथवर सिंह थापाले लाहोरमा नै निर्वासन जीवन बिताएको स्मरण गरे । उनले नेपाल सरकारको आर्थिक नीतिले सिधै विदेशी लगानी गर्न पाउने व्यवस्था गरेको भन्दै पाकिस्तानका उद्योगीहरूलाई पनि नेपाल स्वागत गर्न तयार रहेको बताए । उनले त्यहाँका व्यापारीहरूलाई भ्रमणको निम्तो दिँदै व्यापार, पर्यटन उद्योग तथा साहासिक पयर्टनमा लगानी गर्नका लागि नेपाल उपयुक्त स्थान रहेको जानकारी दिए ।

    लाहोर चेम्बर अफ कमर्सका प्रमुख कबिरलगायत अन्य सदस्यले नेपालमा रहेको लगानीको अवसरको प्रशंसा गरेका थिए । उनीहरू लगानीको विषयमा बुझ्न र नेपालका व्यापारिहरूसँग अन्तरक्रिया गर्न नेपाल भ्रमणको कार्यक्रम गर्ने प्रतिक्रिया दिएका छन् । उनीहरूले पाकिस्तानी उत्पादनका विषयमा जानकारी गराउन नेपालमा व्यापार मेला गर्ने चाहना समेत व्यक्त गरे ।

    एलसीसीआई पाकिस्तानको सबभन्दा पुरानो चेम्बर अफ कमर्समध्ये एउटा हो । सन् १९२३ मा स्थापना भएको एलसीसीआई अहिले आफ्नो स्थापनाको सयौं वर्ष मनाइरहेको छ

  • नेपालमा फेरि बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन ६५८ जनामा संक्रमण पुष्टी

    नेपालमा फेरि बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन ६५८ जनामा संक्रमण पुष्टी

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३८१ जनाको पीसीआर परीक्षण गर्दा ४०५ जना र ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा २५३ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार ६४६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४५६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७९ हजार ३५७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४२९६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९९३ पुगेको छ ।