काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने ३ हजार ११६ जनालाई कारबाही गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन् ।
कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने १७६, लेन मिचेर सवारी चलाउने ११७, रातो बत्तीको पालना नगर्ने २३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने ३१२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन गर्ने ६८ र अन्य विभिन्नमा २ हजार २१३ चालक रहेका छन् ।
कार्यालयले ट्राफिक नियमको पालना गरी सवारीसाधन चलाउन सबैलाई आह्वानसमेत गरेको छ ।
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् ।
तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् । सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।
साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका गर्दछन् । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरुको तर्क छ । निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम हुन्छन् ।
सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने मान्यता छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ । आज पशुपतिनाथ मन्दिरमा महिला भक्तजनको ठूलो भीड लाग्छ । दिनभर नाचगान गरिन्छ ।
काठमाडौं । केन्याविरुद्ध चौथो टी–२० खेलमा नेपाल पराजित भएको छ । जितमा लागि सामान्य १०२ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा नौ विकेटको क्षतिमा ९४ रनमा समेटियो । कमजोर ब्याटिङ गरेको नेपालका लागि रोहित पौडेलले ४७ रन जोड्नु बाहेक अन्या ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपाललाई सस्तैमा समेट्न केन्याका रकिप पटेलले तीन विकेट लिए । भिराज पटेल, शेम एन्गोचे र एलिज्ह ओटिनोले दुई दुई विकेट लिए ।
यसअघि नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १०१ रन बनाएको थियो । केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए । बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले पाँच ५ विकेट लिए ।
नेपालको यस हारसँगै पाँच खेलको सिरिज २–२ को बराबरी भएको छ । अब टी–२० सिरिजको अन्तिम तथा निर्णायक खेल मंगलबार हुनेछ । त्यसपछि दुई टोलीबीच भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज हुनेछ ।
काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कोर्स–६२ टोलीले प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ । एयर भाइस मार्सल तेजवीर सिंहको नेतृत्वमा आइतबार नेपाल आएको भारतीय टोलीले सोमबार प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटवार्ता गरेको हो । भारतीय टोलीले सोमबार नै जङ्गी अड्डाको भ्रमण गरेको थियो । भ्रमणको क्रममा भ्रमणदलका सदस्यहरु नेपाली सेनासँग सम्बन्धित विषयहरुमा आधारित प्रस्तुतिकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भएका थिए ।
सोही क्रममा, उक्त भ्रमणदलका प्रमुख सिंहले प्रधान सेनापति प्रभुराम शर्मासँग जङ्गी अड्डामा शिष्टाचार भेटघाट समेत गरेका छन् , उक्त भ्रमणदलले पोखरास्थित श्रीमध्य कमाण्ड हेड क्वार्टरको भ्रमण, पशुपतिनाथ मन्दिर, काठमाडौं, दरवार स्क्वायर, लुम्बिनी, नाम्चे बजार लगायत काठमाडौं र पोखराका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । भारतीय टोली भदौ १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ६८ दलको निवेदन परेको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनमा भाग लिने ७६ वटा दलमध्येबाट प्रतिनिधि सभामा ६८ वटा निवेदन परेको निर्वाचन आयोगका सहायक प्रवक्ता उपयसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए।
प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ मा ६३ दलबाट ५५ वटा निवेदन, मधेस प्रदेशमा ६७ वटा दलबाट ५९ वटा निवेदन र बागमती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा निवेदन परेका छन्।
गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा निवेदन, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा निवेदन, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ वटा निवेदन र सुदूरपश्चिम प्रदेश ५८ वटा दलबाट ५० वटा निवेदन परेको आयोगले जानकारी दिएको छ।
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मनोनयनपत्र दर्ता गर्ने उम्मेद्वारहरुले आफूले गर्ने सम्भावित खर्च र त्यसको स्रोत समेत खुलाउनुपर्ने गरी निर्वाचन आयोगले नियम ल्याएको छ । मनोनयनका क्रममा नै उम्मेद्वारहरुले छुट्टै खाता खोलेर खाता सञ्चालन गर्ने प्रतिनिधिको विवरण समेत बुझाउनुपर्ने भएको हो । उम्मेद्वारले सम्बन्धित प्रतिनिधि बाहेक अरुबाट खर्च गर्न नपाउने व्यवस्था गरेको छ ।
अनि राजनीतिक दलहरुले पनि निर्वाचन प्रचारप्रसारका लागि छुट्टै खाता खोलेर निश्चित प्रतिनिधिमार्फत खर्च गर्ने व्यवस्था गरेको हो । २५ हजारभन्दा बढीको आर्थिक सहयोग बैंकमार्फत मात्रै लिनुपर्नेछ । कसैले नगद दिएकोमा चन्दादाताको नाम सहित त्यो रकम बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको हो । आयोगले खर्चको विवरण र बिल भर्पाई पनि सुरक्षित राख्नुपर्छ भनेको छ ।
काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारका लागि देश दौडाहामा जान नपाउने भएका छन् । निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो । सोमबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता अनुसार कुनैपनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई प्रचारप्रसारमा खटिन नपाउने उल्लेख छ ।
आयोगले नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका र कार्यपालिका पदाधिकारीले पालना गर्नुपर्ने ८ वटा आचरण तोकेको छ । जसमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नपाउने उल्लेख छ । तर निर्वाचनमा आफैं उम्मेदवार भएका प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रमा प्रचार प्रसार गर्न जान भने पाउँछन् । यसरी प्रचार गर्न जाँदा सरकारी स्रोत साधन प्रयोग गर्न भने पाउने छैनन् ।
केन्द्र र प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यले वार्षिक बजेट र कार्यक्रममा स्वीकृत भएका बाहेकका अरु कार्यक्रम घोषणा गर्न र बजेट छुट्याउन पाउने छैनन् ।
कुनै योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न पाउने छैनन् भने त्यसका लागि अनुदान दिन पनि पाउने छैनन् । त्यस्तै केन्द्र र प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यले कुनै राजनीतिक नियुक्तिको पद सिर्जना गर्न र नियुक्त गर्न पनि पाउने छैनन् । उनीहरुले आयोगको अनुमति नलिई विदेश भ्रमणमा पनि जान पाउने छैनन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ५ सय २५ पिसिआर परीक्षणका क्रममा १ सय ४५ जना र २ हजार ४ सय ८६ एन्टीजेन परीक्षणका क्रममा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण सोमबार कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय २३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ८१ हजार ७ सय ४४ जना निको भएका छन् ।
हाल नेपालमा ३ हजार २ सय ३५ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । अदालतको अवहेलनासम्बन्धी अभियोगमा तीन दिनभित्र लिखित जवाफ पेश गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।
नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेका भनिएका संरचना हटाउने महानगरपालिकाको कदमविरुद्ध दायर रिटलाई लिएर गरेको टिप्पणीका कारण बालेनविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो।
अधिवक्ता दीपकराज जोशीले मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेका थिए। अधिवक्ता जोशीको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको सोमबारको इजलासले तीन दिनभित्र जवाफ दिन भन्दै बालेनका नाममा आदेश जारी गरेको हो।
नर्भिक अस्पताल पक्षबाट दायर भएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अस्पतालले निर्माण गरेका संरचना तत्काल नहटाउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो। नर्भिकको पक्षमा सर्वोच्चले आदेश दिएपछि मेयर साहले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए ।
“नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ”, उनले भनेका थिए ।
यस्तै, मेयर साहले उक्त प्रकरणमा अर्को पेसी तोक्न ढिलाइ भइरहेको संकेत गर्दै अर्को एक सन्देश पनि सामाजिक सञ्जालमार्फत् साझा गरेका थिए। आफूलाई बुढो भएको देखाउने एउटा तस्बिर साझा गर्दै बालेनले लेखेका थिए, “अल्पकालिन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकालपछि आउँछ कि।”
अदालतको अवहेलनाविरुद्ध परेको रिटमाथि सोमवार सुनुवाइ भएको हो । पछिल्लो आदेशसँगै अब मेयर बालेनले अदालतसामु लिखित जवाफ पेश गर्नुपर्नेछ ।
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक नेप्से ३.७६ अंकले बढेर १९९३.२ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२२ कम्पनीको १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँ बराबरको ३४ लाख ४० हजार ९०० कित्ता शेयर किनबेच भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । आइतवार २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको भएको थियो ।
झिनो अंकले बढेको बजारमा वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.४८ अंकले बढेरको छ ।
नेप्सेका अनुसार आज रु रु जलविद्युत परियोजनाको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यसको आज ११ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ । अरुण काबेलीको ५ करोड र हिमालय डिस्टिलरीको ४ करोडबढीको कारोबार भएको छ ।
काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोग गर्ने भएको छ ।
विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड रुपैयाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो।
अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका संचालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरेका हुन्।
बजेटरी सहायताका रुपमा उपलब्ध हुने सो सहयोगले नेपाललाई हरियाली, जलवायु उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन सघाउनेछ। ‘ग्रीड’अन्तर्गत तीन चरणमा प्राप्त हुने सहुलियत ऋणमध्येको यो पहिलो चरण हो।
‘यो सहायताले हरित, समावेशी र उत्थानशील विकासका लागि सरकारको लक्ष्यलाई सघाउनेछ’, स्ट्रोलकोभाले भनिन्, ‘यस कार्यक्रममार्फत हामी, पानी, भूमि प्रयोग, जलवायु स्मार्ट कृषि, दिगो वन व्यवस्थापन, सहरी क्षेत्र, फोहर व्यवस्थापन र प्रदूषणलगायतका क्षेत्रमा सरकारको प्राथमिकतामा रहेका नीतिगत प्रयासलाई सहयोग गर्दछौँ।’
नेपालको ग्रीड मार्गतर्फको प्रस्थान भनेको यस चुनौतीपूर्ण समयका लागि अवसरले भरिपूर्ण आवश्यक रणनीतिक कदम भएको उनले बताइन्।
यस परियोजनामार्फत जल, भूमि प्रयोग, जलवायु स्मार्ट कृषि, दीगो वन व्यवस्थापन, शहरी फोहोर र प्रदूषण लगायतका क्षेत्रहरूमा सरकारको प्राथमिकतामा रहेका नीतिगत कार्यहरूलाई सहयोग गर्ने उनको भनाइ छ ।
ग्रीड डीपीसीको यस पहिलो चरणको अपरेसनमा प्राकृतिक पूँजीको दीगो र उत्पादक प्रयोगसँग शहरी तथा ग्रामीण पूर्वाधार, मानव पुँजी र जीविकोपार्जनको क्षेत्रलाई जलवायु तथा वातावरणीय जोखिम विरूद्ध उत्थानशीलता, थप छरितो र स्वच्छ उत्पादन, खपत तथा आवागमनलाई बढावा दिने लगायतका कार्यक्रम यस चरणमा समावेश गरिएका छन् ।
यस कार्यक्रमले ग्रीड अन्तर्गतका रणनीतिक परिवर्तनका लागि नेपाल सरकारले अवलम्बन गरेका नीतिगत कार्यहरुमा समर्थन गर्दछ, जसले सबैको लागि समृद्धि निर्माण गर्नुका साथै कायम राख्न मद्दत गर्नेछ ।
काठमाडौं । न्युरोडस्थित सुरज आर्केडमा बनेको अवैध संरचना हटाउन पुगेको काठमाडौं महानगरपालिकाको टोली फर्किएको छ ।
आर्केडले पार्किङका लागि अनुमति लिएर बनेका बेसमेन्टमा रहेका पसल खाली गर्न महानगरपालिकाले २४ घण्टाको समय दिएर फर्किएका छन् ।
ती सामान हटाएर पार्किङका लागि खाली गर्न भन्दै महानगरको टोली पुगेपछि सुरज आर्केडका पसल बन्द गरिएका थिए।
तर, व्यवसायीले आफूहरुले सामान निकाल्ने बताएपछि महानगर टोलीले फर्किएको हो । अन्यथा आफूहरुले नै खाली गर्ने महानगर टोलीको भनाइ छ।
महानगरले बसन्तपुर प्लाजाको अन्डरग्राउन्ड पनि खाली गराउने भएको छ। पार्किङका लागि बनाएको संरचना ब्यापारिक प्रयोजनका लागि भाडामा दिएपछि त्यसलाई हटाउन खोजिएको महानगरले जनाएको छ।
इस्लामावाद । बाढीले धेरै जनधनको क्षति गरेपछि पाकिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । अमेरिका, बेलायत, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले सहयोग उपलब्ध गराउँदै आए पनि अझै धेरै सहयोगको आवश्यकता रहेको पाकिस्तानले बताएको बीबीसीले जनाएको छ । यो वर्ष जुनयता धेरै पानी परेर आएको बाढीका कारण पाकिस्तानमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३३ जना पुगेको छ । भने दशौँ हजार विस्थापित भएका त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन निकायले जनाएको छ।
देशको उत्तरपश्चिममा पर्ने खैबर पक्तुन्वा प्रान्तमा नदीका तटबन्धहरू भत्किएपछि ठूला बाढी आउँदा कयौँ मानिस विस्थापित भएका छन् । बाढीले विस्थापित भएकाहरु राहतको पर्खाइमा छन् । बाढी प्रभावितका लागि आफूले सक्दो सहयोग गरिरहेको पाकिस्तान सरकारले जनाएको छ । दक्षिण पूर्वमा अवस्थित सिन्ध प्रान्तमा पनि हजारौँ मानिसहरू विस्थापित भएका छन् । आर्थिक समस्यासँग जुधिरहेको पाकिस्तानमा विपत्तिले झनै समस्या निम्त्याएको छ । पाकिस्तानमा हरेक वर्ष बाढीको जोखिम हुने गरेको भए पनि यसपालि फरक खालको वर्षा भएकाले धेरै जनधनको नोक्सानी भएको मौसमविद्हरुले बताएका छन् ।
काठमाडौं\रासस । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ ।
माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई मङ्गलबारको व्रतका लागि पूर्वतयारी गर्छन् ।
विशेषगरी माइती एवं दाजुभाईले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।
पछिल्ला वर्षहरुमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउँछन् ।
यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीहरुले जोड दिएका छन् । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा दर खाने दिनका लागि तोकिएको छ ।
पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमको तामझाम हुने गरेको छ । समाजमा सुरु भएको विकृति रोक्नुपर्ने जिम्मेवारी बोकेका सरकारी कार्यालय नै विकृतिका भासमा जाकिएपछि यसले संस्थागत रुप लिँदै गएको छ ।
सोमबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी भदौ १५ गते बुधबार, ऋषि पञ्चमी पर्व भदौ १६ गते बिहीबार मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ । ऋषि पञ्चमी भने मध्याह्न कालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।
तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।
हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयमा लाखौं महिलाको भीड लाग्ने गर्छ । तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाइरहेको सुन्न सकिन्छ ।
रुकुम । रुकुम पश्चिममा पहिरोमा परी आमा छोरीको निधन भएको छ । एक जना घाइते भएका छन् । जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया छोरी प्रतीक्षा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते छिन् । तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
बालमती आइतबार दुई छोरीसँगै जाजरकोटको नलगाड नगरपालिका–१ स्थित माइतीबाट रुकुम पश्चिम हुँदै घरतर्फ फर्कदै थिइन् । पानी परेपछि उनीहरु रुकुमपश्चिम आठबिसकोट नगरपालिका–१४ पिपलचौर स्थित छेपारे सामुदायिक वनको भवनमा बसेका थिए । सोही समयमा दिउँसो साढे ३ बजे माथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको बताइएको छ । घटनापछि प्रहरी र स्थानीयले एक छोरीको उद्धार गर्न सकेका थिए ।
धनगढी । कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेसँगै सतर्क रहन प्रशासनले आह्वान गरेको छ । आइतबार साँझदेखि परिरहेको अविरल वर्षापछि नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।
नदीमा पानीको सतह खतरा भन्दा धेरै माथि पुगिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पानीको सतह ३ दशमलव ६ मिटर पुगेपछि खतरा मानिदै आएकोमा सोमबार बिहानसम्म बढेर ३ दशमलव १५ मिटर पुगेको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा आइतबारदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले कान्द्रा, मोहना, खुटिया लगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनुको साथै होचा ठाउँमा डुबान हुन सक्ने भएकाले बिहान ८ बजेसम्मै सतर्क रहन विभागले जनाएको छ ।
बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका गोरकटामा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाएरभएको दुर्घटनामा दुईजना बालबालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार मणिग्रामबाट गोरकट्टातर्फ जाँदै गरेको र गोरकट्टाबाट मणिग्रामतर्फ जाँदै गरेको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।
लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आइतबार साँझ ६ बजेतिर एकआपसमा ठोक्किएका हुन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मृत्यु हुनेमा तिलोत्तमा ३ शंकरनगरकी १२ वर्षीया समीक्षा खराल र ७ वर्षीय सुग्रीम खराल छन्। दुर्घटनामा परी सुद्धोधन ३ का ३४ वर्षीय सुरज काफ्ले र तिलोत्तमा ३ की कमला खराल घाइते छन् ।
उनीहरूको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार जारी छ । मृतक दुईजना बालबालिका र घाइते कमला खराल सुरज काफ्लेले चलाएको लु १६ प ६१३० नम्बरको मोटरसाइकलमा सवार थिए। दुर्घटनामा लु २८ प ४३७३ नम्बरको मोटरसाइकल चालक बुटवल ७ दीपनगरका २६ वर्षीय सुजन थापा र पछाडि बसेका सुभास खनाल सामान्य घाइते छन्। दुई मोटरसाइकल ठक्कर खाएपछि लु १ क ३०६४ नम्बरको मिनी ट्रकमा समेत ठोक्किएको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा अब डाक्टर र नर्ससहितको सेवा उपलब्ध हुने भएको छ । आइतबार बसेको आठौं कार्यपालिका वैठकले ३२ वटै वडामा एक एक जना इन्जिनियर, एमडीजीपी र नर्स करारमा राख्ने निर्णय गरेको छ । हरेक वडामा वडा क्लिनिक सञ्चालन गर्ने र त्यहाँ रोगको पहिचान गर्न सक्ने जनरल प्राक्टिसमा एमडी गरेका डाक्टर राख्ने निर्णय महानगरपालिकाले गरेको हो । वडा क्लिनिकमा चिकित्सकलाई सहयोग गर्न एक जना नर्स रहने छन् ।
जनरल फिजिसियन डाक्टर राखेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह दिन र कुनै समस्याको तत्काल उपचार गर्न सक्ने मेयर बालेन साहले जानकारी दिए । हरेक वडामा हुने विकास निर्माणको अनुगमनका लागि इन्जिनियर पनि करारमा राख्ने भएको छ । यस वर्ष वडामा बजेट वृद्धि गरिएको र त्यहाँ हुने विकास निर्माणको काम अनुगमन गर्न इन्जिनियर चाहिने मेयर बालेनले बताए । फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई दैनिक ५ सय रुपैयाँ भत्ता दिने पनि महानगरको कार्यपालिका बैठकले निर्णय गरेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार बागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीहरुको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरिएको हो । दुई महिना चुनावी मैदानमा खटिने गरी सबै केन्द्रीय सदस्यलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर जिम्मेवारी दिइएको छ । बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिसभा क्षेत्रमध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ को जिम्मा रेणु दाहालले पाएकी छन् । भरतपुर महानगरकी मेयर समेत रहेकी रेणु नेकपा माओवादी केन्द्र चितवनकी इन्चार्ज समेत हुन्।
कुन क्षेत्रका चुनावी कमाण्डर को ?
काठमाडौं
१– अनिल शर्मा २– मा कुमार पौडेल ३– मा बद्री बजगाईं ४–गोविन्द बटाला ५– कल्पना शर्मा ६– हिमाल शर्मा ७– रामबाबु फुयाँल ८– सरिता श्रेष्ठ ९– शंकर दुलाल १०– अञ्जना विसङ्खे
चितवन
१– कञ्चन खनाल २–घनश्याम दाहाल ३–रेणु दाहाल
ललितपुर
१–गंगा पराजुली २–उर्मिला लामा ३–हरि दाहाल, पद्मा राई
भक्तपुर १– देवेन्द्र श्रेष्ठ र डीपी ढकाल २–दिलीप प्रजापती
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक नेप्से ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२४ कम्पनीको २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूह मध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.७८ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर समूह पनि ३.४२ प्रतिशतले घटेको छ ।
उच्च अंकले घटेको शेयर बजारमा आज रुरु जलविद्युत्को मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।
त्यसैगरी, अपर हेवाखोला ७.०३, मन्दकिनी हाइड्रोपावर ६.७७, नारायणी विकास बैंक ६.७१, बलेफी हाइड्रो ६.२९, अपर सोलु हाइड्रो, हिमालयन हाइड्रो, श्वेतगंगा, छ्याङ्दी हाइड्रोपार र गणपति लघुवित्तको शेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ ।
आज अरुण काबेलीको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ७ करोड १५ लाख र अपी पावरको ६ करोड २२ लाख बढीको कारोबार भएको छ ।
काठमाडौं । भारतको नोयडामा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन ध्वस्त पारिएको छ।
आइतबार दिउँसो नेपाली समयअनुसार पौने तीन बजे ती दुई भवन भत्काइएको हो।
राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोयडामा रहेका दुईमध्ये एउटा भवन एक सय मिटर र अर्को ९७ मिटर अग्ला थिए। उनीहरूको नाम एपेक्स र सियान राखिएको थियो।
टावर भएको स्थान वरिपरि धुवा फैलिएको छ। विष्फोटले आसपासका क्षेत्रमा रहेका भवनमा क्षति भए-नभएको भने एकिन भइसकेको छैन।
नोएडाको सेक्टर ९३ए मा रहेको विवादास्पद ट्विन टावर करिब ३७०० किलो बारूदले ध्वस्त पारेको हो ।
एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका हुन्। यी ३० तले भवनहरूलाई ट्विन टावर भनिन्थ्यो। यी टावरको उचाइ ३२० फिट भन्दा बढी छ।
भारत हालसम्म भत्काइएका मध्ये सबैभन्दा ठूलो भवन यही हो। मानिसको सुरक्षालाई ध्यानमा राख्दै यी भवन नजिक रहेका मानिसहरूलाई घर खाली गर्न पनि भनिएको थियो ।
ती भवनलाई अवैध भएर भत्काउन लागिएको हो। टावरहरू इम्प्लोसन टेक्नोलोजीको प्रयोग गरेर भत्काइएको हो। सो टेक्नोलोजीबाट केही सेकेन्डभित्र नै भवन भत्किएको छ।
अगस्ट २०२१ मा भारतको सर्वोच्च अदालतले ट्विन टावरहरू भत्काउन आदेश दिएको थियो। यी टावर भत्काउनको लागि नजिकैका दुई सोसाइटीका करिब पाँच हजार बासिन्दाले घर खाली गरेका छन् ।
भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने सबै खर्च कम्पनीले व्यहोरेको छ ।
काठमाडौं । काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनेको अवैध संरचना भत्काउन थालेको छ।
नगर प्रहरीको टोलीले आज भोटाहिटीमा अवैध संरचना भत्काउने काम सुरु गरेको हो। भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले भत्काएको छ।
महानगरले अवैध संरचना हटाउने अभियान जारी राखेको छ।
महानगरले यसअघि कोटेश्वर,बानेश्वर, न्युरोडलगायत क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काएको थियो।
मेयर बालेन अहिले फिल्डमा खटिएका छैनन् । डोजरसहित नगर प्रहरीलाई स्ट्यानबाई राखेका छन् ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले अनधिकृत संरचना हटाउन महानगरले कार्यकारिणी अधिकार प्रयोग गरेको बताएका छन् । बालेनले अनधिकृत निर्माण तथा प्रयोजनको रोकथाम तथा नियन्त्रणका लागि कार्यकारी अधिकार प्रयोग गरेको बताएका हुन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पछिल्लो समय सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छिन् ।
आइतबार सामाजिक संजालमा स्ट्याटस राख्दै महानगरले चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियानमा समर्थन रहेको बताएकी हुन् ।
‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृति गर्दा भुइँतला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाएपछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौं महानगरपालिकाले निरन्तरता दिँदै आएको विदितै छ,’ उनले अपिलमा भनेकी छिन्, ‘त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो । म काठमाडौं महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले काठमाडौं महानगरपालिकाको यो अभियानमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।’
उनले काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आˆनो एजेण्डाप्रति सजग र सचेत रहेको पनि स्मरण गराएकी छिन् ।
‘तर, केही दिनदेखि मुख्य गरेर केही अनललाइनहरुले महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको छ । पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौंथो अंगका रुपमा लिइने गरिएको छ ।
पत्रकारिता क्षेत्रमै निरन्तर लागिरहनु भएका पत्रकार मित्रहरुलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताका बारेमा मैले यहाँ व्याख्या गरिरहनु पर्ने आवश्यकता ठानेको छैन,’ उनले भनेकी छिन्, ‘यद्यपि, पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु ।’
न्यूयोर्क\बीबीसी । अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईले न्यायमा गरिएको अवरोधको प्रमाण खोज्ने उद्देश्यले भूतपूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा छापा मारिएको एक न्यायाधीशलाई बताएको खुलासा भएको छ । हालै सार्वजनिक अदालतका कागजपत्रहरूमा यसबारे उल्लेख गरिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार अतिगोप्य फाइलहरू ट्रम्पको मारा लागो निवासमा विभिन्न पत्रपत्रिकाहरूसँगै राखिएका थिए।
न्याय मन्त्रालयले आफूले ूउल्लेख्य सङ्ख्यामा रहेका सर्वसाधारण साक्षीलाई जोगाउन मुचुल्कामा सेन्सर गरेको जनाएको छ। ट्रम्पले अनुसन्धानको नेतृत्व राजनीतिक अनुचर र ठगहरूले गरेको आरोप लगाएका छन्। अमेरिकी न्याय मन्त्रालयले अगस्ट ८ मा ट्रम्पको मारा लागो निवासमा एफबीआईले गरेको खोजतलासको औचित्य पुष्टि गर्न प्रयोग गरिएको मुचुल्काको एउटा संस्करण जारी गरेको छ। यद्यपि त्यसमा व्यापक सम्पादन गरिएको छ।
फ्लोरिडाको वेस्ट पाम बीच इस्टेटमा छापा मार्नुअघि अदालतमा कागजपत्र पेस गरिएको थियो। न्याय मन्त्रालयका अनुसार ती कागजपत्रहरू एउटा गल्फ क्लबबाट बरामद भएका थिए। उसका अनुसार ती ११ थान गोप्य कागजपत्रमा नयाँ विस्तृत विवरण छैन। मुचुल्का बनाउने एफबीआईका एक अधिकारीले आफूहरूसँग प्रमाण, तस्करी, अपराधको फल वा अवैध रूपमा राखिएका अन्य सामग्री पत्ता लाग्ने विश्वास गर्ने सकिने सम्भावित कारण थियो भनेर लेखेका छन्।
उक्त परिसरमा अवरोधको प्रमाण फेला पर्नेछ भन्ने विश्वास गर्ने सम्भावित कारण पनि भएको त्यसमा उल्लेख गरिएको छ। ट्रम्पको मारा लागो निवासबाट गत ज्यानुअरीमा फेला पारेका १५ बाकस कागजपत्र केलाउँदा न्याश्नल आर्काइभ्सले तीमध्ये केही अतिगोप्य वर्गीकृत फाइल पनि रहेको पत्ता लगाएपछि ट्रम्पमाथि आपराधिक मामिलामा अभूतपूर्व अनुसन्धान सुरु भएको देखिन्छ।
एफबीआईले ती कागजपत्रको समीक्षा गरेपछि तिनमा १८४ वर्गीकृत कागजपत्र फेला परे। तीमध्ये ३५ वटा अतिगोप्य थिए। त्यस्ता कागजपत्रमा अमेरिकी गुप्तचर स्रोतबाट प्राप्त जानकारीहरू पनि समावेश थिए। केहीमा विदेशी नागरिकहरूलाई जारी गर्न नमिल्ने चिह्न लगाइएको थियो। केहीमा ट्रम्पका हस्तलिखित टिप्पणीहरू थिए र ती कागजपत्रहरू पत्रपत्रिका तथा अन्य दस्ताबेजसँग राखिएको थियो । यो सबै विवरण मुचुल्कामा दिइएको छ।
मुचुल्कामा भनिएको छ, ‘सबैभन्दा चिन्ताको विषय के थियो भने अतिगोप्य भनिएका रेकर्डहरू खोलिएका थिए, तिनलाई अन्य रेकर्डसँग मिसाइएको थियो वा अनुचित रूपमा पहिचान गरिएको थियो।’ त्यसले अनुसन्धानकर्ताहरूलाई ट्रम्पले गोप्य जानकारी नियन्त्रण गर्ने सहित तीनवटा सङ्घीय कानुनको उल्लङ्घन गरेको हुनसक्ने विश्वास दिलायो। मुचुल्काका ३८ पानामध्ये २१ मा अधिकांश वा पूर्णतः कालो बनाइएको छ। धेरै पानामा एक शब्द पनि देखिँदैन।
काठमाडौं । नेपालको प्रतिष्ठित साहित्यित पुरस्कार ‘मदन पुरस्कार’ यस वर्ष डा. नवराज लम्सालको पुस्तक ‘अग्नि’ले पाएको छ। मदन पुरस्कार गुठीको साधारण सभाले लम्सालको पुस्तक अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी गराएका छन् ।
अध्यक्ष दीक्षितका अनुसार यो वर्षको जगदम्बा-श्री बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गुठीले गरेको छ। दुवै पुरस्कारको राशी जनही चार लाख रुपैयाँ रहेको छ । यी पुरस्कार घटस्थापनाको दिन प्रदान गरिन्छ । देशभरका उत्कृष्ट कृतिबाट छानिएका सर्वोकृष्ट ५ मध्ये एक\एक जनाले यी पुरस्कार पाउने गर्छन् ।
काठमाडौं । नागरिकता विधेयक आज राष्ट्रियसभामा पेश हुने भएको छ । आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइनेछ।
राष्ट्रियसभाका सचिव फुयाँलले प्रतिनिधिसभामा उत्पत्ति भई सो सभाबाट पारित भएका ‘बिमा विधेयक, २०७५, ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६, ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६, सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू र राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको’ सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६, लाई प्रतिनिधिसभाले संशोधनसहित फिर्ता पठाएको सन्देश सभासमक्ष टेबुल गर्नेलगायत सम्भावित कार्यसूची छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेधिक विश्वविद्यालय विधेयक २०७९ माथि प्रतिनिधि सभामा संशोधन भएको उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे सुरु हुनेछ ।
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट आइतबारबाट सेवाग्राहीले आफ्ना सवारी साधन पार्किङ गर्न सक्ने भएका छन् । यसअघि सेवाग्राहीले सडकमा आफ्नो जोखिममा सवारी साधन राख्नु पर्ने बाध्यता थियो । महानगरपालिकाले बेसमेन्ट पार्किङ प्रयोजनका लागि भएको भन्दै सो स्थान गत शुक्रबार खाली गराएको हो । विभागले बाहिरका सडक वरिपरि अनावश्यक भीडभाड नगरदिन समेत सेवाग्राहीसँग भनेको छ ।
साविकमा यस विभागको बेसमेन्ट राहदानी आवेदकका लागि होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएको थियो । विभागले आइतबारदेखि राहदानी विभागमा लाइभ इलरोलमेन्ट सेन्टर कायम भएका सेवाग्राही मात्र आवेदनका लागि विभागमा आउन आग्रह गरेको छ। आवेदकहरू आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र विभागमा आउन भनेको छ।
तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरू साविकमा झै गेट नं. २ बाट प्रवेश गर्न आग्रह गरेको छ। राहदानी सम्बन्धी सेवा लिन विभाग आउँदा आवश्यक अवस्थामाबाहेक सम्बन्धित आवेदक मात्र आउनले विभागले आग्रह गरेको छ।
काठमाडौं । नेपाल र केन्याबीचको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
दुवै टोली आजको खेल जित्दै शृङ्खलामा अग्रता लिने योजनामा हुनेछ । पहिलो खेलमा नेपाल ५ विकेटले विजय भएको थियो भने दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै १८ रनले जितेको थियो ।
काठमाडौं । आइतबारबाट नेपालमा मौसम बदली भएको छ । आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ ।
भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।