Category: फिचर

  • असोजदेखि शुक्रबार शेयर कारोबार बन्द गर्ने

    असोजदेखि शुक्रबार शेयर कारोबार बन्द गर्ने

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले शुक्रबार शेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ । आइतवार बसेको नेप्से संचालक समितिको बैठकले आगामी असोज महिनादेखि लागु हुने गरि शुक्रबार भईरहेको शेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

    भदौ महिनामा बाँकि रहेका शुक्रबारको दिनमा कारोबार हुनेछ ।

    सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि शेयर बजारमा सोमबारदेखि शुक्रबारसम्म कारोबार हुदै आएको थियो ।

    पछि सरकारले आइतबारको सार्वजनिक विदा बन्द गरेपछि आइतबारदेखि शुक्रबारसम्म नै कारोबार हुन थालेको थियो। तर शुक्रबार भने २ घण्टा मात्र शेयर कारोबार हुने गरेको थियो ।

  • ‘रञ्जन कोइरालाको फैसलामा गल्ती भएको छ, माफी माग्न तयार छु’- जबरा

    ‘रञ्जन कोइरालाको फैसलामा गल्ती भएको छ, माफी माग्न तयार छु’- जबरा

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको बताएका छन् ।

    आइतवार महाअभियोग सिफारिस समितिलाई बयान दिने क्रममा जबराले आफूले यो मुद्दामा विवेक प्रयोग गरेको भन्दै यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताए ।

    श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेका कोइरालालाई तोकिएको २० वर्ष सजायँमा जबराले ८ वर्षमा झारेका थिए ।

    यसमा न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार भएकाले त्यसलाई प्रयोग गरेको उनको भनाइ छ ।

    न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ । तत्कालीन मुलुकी ऐनले त्यो अधिकार दिएको छ । यो पारिवारिक मुद्दा हो । नाबालक छोराहरू पनि इजलासमा उपस्थित भए । नाबालकहरूको पालन पोषणका लागि, पारिवारिक जीवन बिताउनका लागि कैद घटाइएको हो ।

    डीआईजी कोइरालाले झन्डै नाै वर्षअघि पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जङ्गलमा जलाएको पुष्टि भएपछि कोइरालालाई जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएका थिए ।

    पत्नी हत्याको अपराध सावित भए पनि प्रधानन्यायाधीशसमेतको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला २०७७ साउन ८ गते जेलमुक्त भएका थिए ।

    तर फैसला गैरकानुनी रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि २०७७ साउन ११ मा निवेदन दिएकोमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको इजलासले २० वर्ष नै कैद कायम गरिदिएको थियो ।

  • नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइंदै

    नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइंदै

    काठमाडौं । राष्ट्रिय सभाबाटहुबहु पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइने भएको छ । आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभाबाट पारित भएको सन्देश सुनाइने र त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक शुक्रवार राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको हो ।

    यसअघि साउन २९ गते राष्ट्रपति भण्डारीले सन्देशसहित नागरिकता विधेयक फिर्ता गर्नुभएको थियो । तर राष्ट्रपतिको सन्देशलाई बेवास्ता गर्दै भदौ २ गते सत्तारुढ दलहरुको बहुमतबाट प्रतिनिधि सभाले विधेयक पास गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले विधायन समितिमा पठाए पनि संशोधन भएन । राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको विधेयक हुबहु पारित भएपछि यसबाट राष्ट्रपतिको अपमान भएको टिप्पणी हुँदै आएको छ । अब राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

  • चोलेन्द्रको बयान आज पनि जारी रहने

    चोलेन्द्रको बयान आज पनि जारी रहने

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध छानबिन गर्न बनेको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ। सिंहदरबारमा ११ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश जबराको बयान दिनेछन्। राणासँग बुधबार र बिहिबार समितिका सबै प्रश्न सोध्न समय नभएपछि उनलाई आज पनि बोलाइएको हो।

    बुधबार र बिहिबार दुईदिन बसेको बैठकमा जबराले ७ वटा प्रश्नको जवाफ दिएका थिए। पहिलो दिनको बैठकमा ४ घन्टा चोलेन्द्रले जवाफ दिएका थिए। दोस्रो दिनको बैठक २ घन्टा मात्र चलेको थियो। समितिले ४३ वटा प्रश्न सोध्ने तयारी गरे पनि सवालजवाफ लम्बिँदा बयान लिन अझै केही समय लाग्ने देखिएको छ।

  • केन्याविरुद्ध एकदिवसीय सिरिज नेपाललाई

    केन्याविरुद्ध एकदिवसीय सिरिज नेपाललाई

    काठमाडौं । घरेलु टोली केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले केन्यालाई १७ रनले हरायो । यससँगै नेपालले एक खेल अगावै सिरिज २–० ले जितेको हो । पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको थियो । दुई टोली बीचको अन्तिम खेल सोमबार हुनेछ । नेपालले यसअघि केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज पनि ३–२ ले जितेको थियो ।


    जितका लागि नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको केन्या ४६।३ ओभरमा सवै विकेटको क्षतिमा २१३ रनमा समेटिएको थियो । केन्याका लागि रकिप पटेलले ८१ रन बनाए । कोलिन्स ओबुयाले ३७, नेल्सन ओधियाम्बोले २८ र गेरार्ड मुथुईले २० रन जोडे । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । सोमपाल कामीले तीन तथा करण केसी, आदिल अन्सारी र पवन सर्राफले एक एक विकेट विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा २३० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले । ६७ रन बनाएका उनले ९५ बलमा सात चौका प्रहार गरेका थिए । देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदिल अन्सारीले १४ र करण केसी ११ रन बनाए ।

  • भारतीय सेनाका प्रमुख पाण्डे आज नेपाल आउँदै

    भारतीय सेनाका प्रमुख पाण्डे आज नेपाल आउँदै

    काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे आज नेपाल भ्रमणमा आउँदैछन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे पाँच दिने भ्रमणका लागि आज अपराह्न काठमाडौं आउन लागेका हुन् । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् ।

    नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मा लगायतलाई भेटवार्ता गर्ने कार्यक्रम छ । उनले विभिन्न पर्यटकीय स्थलको समय अवलोकन गर्ने भएका छन् ।

  • देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजपक्ष स्वदेश फिर्ता

    देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजपक्ष स्वदेश फिर्ता

    कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबय राजपक्ष स्वदेश फर्किएका छन्। गत जुलाई महिनामा आफूविरुद्ध आयोजित विरोधप्रदर्शन उत्कर्षमा पुगेपछि राष्ट्रपति पदमा आसीन हुँदै उनी भागेर विदेश गएका थिए। तर पछि उनले राजीनामा दिएका थिए। अस्थायी भिसामा थाईल्यान्डमा बसिरहेका राजपक्ष सिङ्गापुर हुँदै घर फर्केको बीबीसीले जनाएको छ । केही श्रीलङ्काली मन्त्रीहरूले उनलाई विमानस्थलमा भेटेको बताइएको छ। श्रीलङ्कालीहरूले उनको सरकारलाई श्रीलङ्काको इतिहासमा देखा परेको सबैभन्दा खराब आर्थिक सङ्कटका लागि दोषी मानेका छन्।

    देशको ढुकुटीमा वैदेशिक मुद्राको भण्डार रित्तिएकाले आयात हुन नसकेपछि श्रीलङ्कामा खाद्यान्न र इन्धनको ठूलो अभाव सिर्जना भएको थियो। राजपक्ष कोलम्बोस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्किँदा उनलाई सुरक्षा दिइएको थियो । खाद्यान्न र इन्धनको मूल्य अचाक्ली वृद्धि भएपछि एप्रिलमा त्यहाँ प्रदर्शन सुरु भएको थियो। सबै क्षेत्र र समुदायका लाखौँ मानिसहरू धेरै हदसम्म शान्तिपूर्ण ढङ्गले भएका प्रदर्शनका लागि भेला भएका थिए।

    उनीहरूले राजपक्ष र प्रधानमन्त्री पदमा आसीन उनका दाजु महिन्दको राजीनामा माग गरेका थिए। मे महिनामा महिन्द राजपक्षले मे महिनामै पदबाट राजीनामा दिएका थिए। जुलाई महिनामा हजारौँ मानिसहरू गोटाबय राजपक्ष सरकारी निवासमा बलपूर्वक प्रवेश गरे। त्यसपछि राष्ट्रपति सैन्य विमानमा चढेर माल्दिभ्स पलायन भए। माल्दिभ्सबाट सिङ्गापुर गएर उनले त्यहीँबाट राजीनामा दिए।


    राजपक्षको पलायन र पदत्यागले पुराना राजनीतिज्ञ रनिल विक्रमसिङ्घलाई राष्ट्रपति बन्ने अवसर दियो। महिन्द राजपक्षले राजीनामा दिएपछि उनी प्रधानमन्त्री नियुक्त भएका थिए। राजपक्ष परिवारको निकटताका कारण प्रदर्शकारीहरूले उनलाई पनि रुचाएका थिएनन् र उनको राजीनामा माग गरिएको थियो। यद्यपि राजपक्षले राजीनामा दिएपछि उनलाई संसद्ले राष्ट्रपति निर्वाचित गर्‍यो। सरकारले अब राजपक्षको सुरक्षा पनि सुनिश्चित गर्नुपर्नेछ। अन्य प्रदर्शनकारीहरूले राजपक्ष पुनः राजनीति वा सरकारमा प्रवेश गर्ने जुन कुनै प्रयासको विरोध गर्ने बताएका छन्।

  • नेपाली मजदुर बोकेको बस भारतमा दुर्घटना, ४ जनाको मृत्यु

    काठमाडौं\एजेन्सी । भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिंदा ४ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ । रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान ट्रकले ठक्कर दिएको थियो ।

    टाइम्स अफ इन्डियाका अनुसार घाइतेको बाराबंकी जिल्ला अस्पताल र लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोवा जाँदै गर्दा युपी९३बि.टि. ९९४४ नम्बरको डबल सिटे बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर फेर्दै थिए । त्यसैबेला पछाडिबाट ट्रकले ठक्कर दिएको हो । बसमा करिब ६० जना नेपाली मजदुर रहेको टाइम्स अफ इन्डियाले जनाएको छ

  • २ सय जनामा कोरोना पुष्टी २ जनाको मृत्यु

    २ सय जनामा कोरोना पुष्टी २ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भयो । पछिल्लो २४ घण्टामा ३३९ जना भने संक्रमण भएका छन् । हाल देशभर २ हजार ६४२ संक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको छ ।

  • धाँधली भए प्रतिकारमा उत्रनुहोस : ओली

    धाँधली भए प्रतिकारमा उत्रनुहोस : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहवीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराए ।सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रशंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्ने बताए ।

    उनले यसभन्दा अघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको दाबी गरे । अध्यक्ष ओलीले भने, ‘यसभन्दा अगाडि दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो । तर हार घोषणा गराइएको छ । प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ, म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’

    अध्यक्ष ओलीले नेकपा एमाले गड्यौलाजस्तो नभएको भन्दै दुई वटा दाँत भएको जस्तो डस्न तयार हुनुपर्ने बताए ।उनले बुथ कब्जा गर्न खोज्नेलाई आफ्नो मतको र जनताको अभिमतको रक्षा गर्न तयार हुन निर्देशन दिए ।

  • आज गौरा पर्व मनाईदै

    आज गौरा पर्व मनाईदै

    काठमाडौं । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले शनिबार उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ। भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्। यस वर्ष भाद्र शुक्ल अष्टमीपछि अगस्त्य उदय हुने छ। भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ।

    पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ। कन्या राशिमा सूर्य गएपछि अर्थात असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन। सिंह राशिमा सूर्य भएका बेला अर्थात भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको छ। गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्।

    राजधानीमा पनि सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ। सत्य युगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिए।

    गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा ९सौँ०, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ। यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् जोशीले बताए। देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ। यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ। गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन्।

    यसरी दुई÷तीन दिन पूजा गरिसकेपछि मङ्गलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ। जुठो, सूतक परेका बेला देवीलाई विसर्जन गर्न नहुने परम्परा छ। देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ। देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरुले मनाउने गरेका छन्।

  • किन खस्कियो कक्षा १२ को नतिजा ?

    किन खस्कियो कक्षा १२ को नतिजा ?

    काठमाडौं । माध्यमिक तह (कक्षा १२) को परीक्षाफल प्रकाशित हुँदा निरासाजनक नतिजा आएको छ यस वर्ष आधाभन्दा बढी परीक्षार्थी एनजी (नन ग्रेडेड)मा परे । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार नतिजा सार्वजनिक गरेको हो । जसमा एक लाख ८८ हजार ४१० जना नन ग्रेडेडमा परे । यो कुल परीक्षार्थीको ५१.९० प्रतिशत हो । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुले भविश्य लक्षित विषय रोजेर पढ्न पाउँछन् । त्यसमा पनि निरासाजनक नतिजा आउनुलाई शिक्षा बिदहरु भने सकारात्मक संकेत मान्दैनन् ।

    लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउनुपर्नेछ । तोकिएको अङक भन्दा कम अङ्क ल्याएकाको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) लेखिने छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १२ को परीक्षामा ३ लाख ६३ हजार ८ जना परीक्षार्थी सहभागी थिए । एक लाख ८८ हजार ४१० जना नन ग्रेडेड छन् । उनीहरुमध्ये एक लाख ३० हजार ८७८ जनाले ग्रेडवृद्धिका लागि परीक्षा दिन सक्नेछन् ।

    दुई विषयसम्म नन ग्रेडेड ल्याएकाले परीक्षा दिन पाउनेछन् भने दुई भन्दा बढी विषयमा नन ग्रेडेड ल्याएको अवस्थामा अर्को वर्ष सबै परीक्षा दिनुपर्छ । यसरी हेर्दा ५७ हजार ५३२ जना विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ । कोभिड–१९ को तस्रो लहरका कारण २०७७ सालको परीक्षा होम सेन्टरमा सञ्चालन भएको थियो । २०७८ सालमा सार्वजनिक भएको नतिजामा ७ हजार ६३ जना विद्यार्थीले ३।६ जीपीए कटाएका थिए ।

    यो वर्ष बोर्डले केन्द्र तोकेर परीक्षा सञ्चालन गर्दा ३.६१ देखि ४ जीपीए ल्याउने ४ हजार १७९ विद्यार्थी मात्र देखिए । ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धति अनुसार नतिजा प्रकाशन गरिएको र नियमिततर्फको परीक्षार्थीको लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक भएको छ । यो निर्देशिका अनुसार सैद्धान्तिकतर्फको अंकमा प्रयोगात्मक अंक जोडेर मात्र विद्यार्थीको ग्रेडिङ निकालिन्छ ।


    कार्यालयको अनुसार आंशिकतर्फ पनि जम्मा ४१.१२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । सहभागी ३ हजार १३२ जना मध्ये १ हजार २८८ जना मात्रै उत्तीर्ण भएको जनाएको छ । ४३ जनाको परीक्षाफल रद्द भएको छ ।

  • गगन थापा काठमाडौं ४ बाट सर्वसम्मत सिफारिस

    गगन थापा काठमाडौं ४ बाट सर्वसम्मत सिफारिस

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । शुक्रबार साझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

    निर्वाचन आगामी ४ मंसिरमा हुँदैछ । उनलाई कास्कीको क्षेत्र नम्बर १ बाट पनि सिफारिस गरिएको छ । थापा भने काठमाडौं ४ मै उठ्ने तयारीमा छन् । २०७४ सालको निर्वाचनमा पनि थापा यसै निर्वाचनबाट वाम गठबन्धनका उम्मेदवार एमालेका डा. राजन भट्टराईलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

  • सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन आविष्कार केन्द्रलाई सरकारले दियो ४० लाख

    सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन आविष्कार केन्द्रलाई सरकारले दियो ४० लाख

    काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । शुक्रबार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीमा प्रवर्द्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे ।

    आविष्कार केन्द्रले आगामी वैशाखसम्म सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन निर्माण सक्नेगरी सरकारले सघाउने सम्झौता भएको छ । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आविष्कार केन्द्रसँगको सम्झौताले सरकारको राष्ट्रिय नीतिलाई सहयोग पुग्ने बताए । समझदारीअनुसार आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपियाँ यो आर्थिक वर्षका लागि प्राप्त हुनेछ ।

  • राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पास

    राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पास

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पारित भएको छ । भदौ २ गते प्रतिनिधि सभाले पनि पुनर्विचार गर्न राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको थियो। राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको भए पनि समितिले केही पनि परिवर्तन नगरी विधेयक राष्ट्रिय सभामा प्रतिवेदनको रूपमा पठाएको थियो।

    राष्ट्रिय सभाले पनि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको हो । अब यो विधेयक कानून बन्ने निश्चित भएको छ । विधेयकले कानूनी हैसियत पाएसँगै जन्मसिद्ध नागरिकता पाएका नेपाली नागरिकका सन्तानले नागरिकता पाउनेछन्। पहिलोपटक विदेशमा रहेका गैरआवासीय नेपालीलाई नागरिकता लिन समेत बाटो खोलेको छ । यो विधेयक अब प्रमाणीकरणका लागि पुनः राष्ट्रपति समक्ष पुग्नेछ ।

  • नैतिकताको प्रश्न उठेका व्यक्तिलाई कांग्रेसले उम्मेदवार नबनाउने महामन्त्री थापाको स्पष्टीकरण

    नैतिकताको प्रश्न उठेका व्यक्तिलाई कांग्रेसले उम्मेदवार नबनाउने महामन्त्री थापाको स्पष्टीकरण

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नैतकताको प्रश्न उठेका व्यक्तिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने स्पष्टीकरण दिएका छन् । जेलमा रहेका अफ्ताब आलमलाई पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने सिफारिस गरेसँगै अहिले पार्टीको व्यापक आलोचना भइरहेको छ । यसैतर्फ संकेत गर्दै उनले यस्तो बताएका हुन् । साहित्यकार रामलाल जोशीको पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा साहित्यकार नयनराज पाण्डेले आलमलाई उम्मेदवार बनाउन सिफारिस गरेकोमा प्रश्न उठाएका थिए ।

    ‘इँटा भट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदैछ’ उनले भने । जवाफमा कांग्रेस महामन्त्री थापाले आलमको नाम नलिई नैतिकताको प्रश्न उठेकालाई सांसद नबनाइने बताए । थापाले भने, ‘संविधानले बर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा यो निर्णय हामीले गरेको हो भनेर छाती ठोकेर भन्न नसक्ने कुनै पनि निर्णय हाम्रो पार्टीले गर्दैन ।’

  • उदयपुरमा एकै परिवारका तीन जनाको विभत्स हत्या, एक आफन्त पक्राउ

    उदयपुरमा एकै परिवारका तीन जनाको विभत्स हत्या, एक आफन्त पक्राउ

    उदयपुर । उदयपुरमा एकै परिवारका तीनजनाको विभत्स हत्या भएको छ । प्रहरीले आफन्त भित्रकै एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले नरबहादुर बस्नेतलाई पक्राउ गरेको छ । उनले हत्या गरेको स्वीकार समेत गरेका छन् । शुक्रबार बिहान ११ बजे बेलका नगरपालिका– ७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र १२ वर्षका छोरा सुजन बस्नेतको विभत्स अवस्थामा शव भेटिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार नरबहादुर र राजकुमार बीचको सामान्य विवादका कारण हत्या सम्मको अवस्था आएको पाइएको छ । यद्दपी प्रहरीले थप अनुसन्धान जारी रहेका कारण विस्तत विवरण सार्वजनिक गरिसकेको छैन । प्रहरीका अनुसार जंगलबाट घाँस काट्न लगेको खुकुरीले सुरुमा श्रीमान् राजकुमारलाई हानेर मारेको पाइएको छ ।

    राजकुमार कुलोबाट खेतमा पानी लगाउँदै गर्दा उनीमाथि आक्रमण भएको थियो । त्यसपछि श्रीमतीलाई आक्रमण गरेका थिए । त्यसपछि १२ वर्षका छोरा सुजन बस्नेतलाई देखेपछि उनलाई पनि खुकुरी प्रहार गरेको पाइएको प्रहरी अधिकारीहरुको भनाई छ ।

  • केन्याविरुद्ध आशिफको शतक, नेपालको सहज जित

    केन्याविरुद्ध आशिफको शतक, नेपालको सहज जित

    काठमाडौं । केन्याविरुद्ध पहिलो एकदिवशीय क्रिकेटमा नेपालले जित निकालेको छ । यससँगै नेपालले तीन खेलको सिरिजमा अग्रता समेत लिएको छ । आजको खेलमा ओपनर आशिफ शेखको शतक प्रहार गरे । उनले अर्जुन साउदसँग बलियो साझेदारी गरेसँगै नेपालले पहिलो एकदिवसीयमा केन्यामाथि ७ विकेटको सहज जित निकालेको हो । २१९ रनको लक्ष्य नेपालले ३ विकेट क्षतिमा ४७.३ ओभरमा भेट्टायो ।

    ओपनरद्वय आशिफ र अर्जुनले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरे । एकदिवसीय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च साझेदारी हो । चैतमा पपुवा न्युगिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए । यद्यपि केन्याको एकदिवसीय मान्यता नभएका कारण यो खेलको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता हुँदैन ।

    नेपालका लागि सिनियर टिमबाट पहिलो एकदिवसीय खेल खेलेका अर्जुनले ९७ बलमा ५ चौका र १ छक्कासहित ६१ रनको अर्धशतकीय पारी खेले । आशिफले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग मिलेर थप ५७ रनको साझेदारी गरे । ४३.५ ओभरमा केन्याका डेब्युटेन्ट विशाल पटेलको बलमा बोल्ड हुनुअघि आशिफले १२० बलमा १२ चौका र २ छक्कासहित ११० रनको लामो पारी खेले ।

    ज्ञानेन्द्र २४ रनको व्यक्तिगत स्कोरमा आउट भए । दीपेन्द्र सिंह ऐरीले अविजित १९ र कप्तान रोहितकुमार पौडेलले ३ रन बनाए । यसअघि नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४८.१ ओभरमा अलआउट हुँदै २१८ रनको योगफल खडा गरेको थियो । बलिङमा सोमपाल कामी र करण केसीले ३–३ विकेट लिए ।

  • गोरखा–१ बाट अध्यक्ष प्रचण्ड र २ बाट उपाध्यक्ष श्रेष्ठसहितको नाम सिफारिस

    गोरखा–१ बाट अध्यक्ष प्रचण्ड र २ बाट उपाध्यक्ष श्रेष्ठसहितको नाम सिफारिस

    गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

    दुई निर्वाचन क्षेत्र र प्रदेशतर्फ चार निर्वाचन क्षेत्र रहेको जिल्लामा माओवादीले प्रस्तावित उम्मेदवारको नाम टुङ्गो लगाएर सिफारिस गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य लेखबहादुर थापामगरले जानकारी दिए । उनका अनुसार प्रत्यक्षतर्फ क्षेत्र १ मा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’सहित केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) र नेत्री सुशीला सिङ्खडाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

    त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) मा केन्द्रीय सदस्य लेखबहादुर थापा, अमरबहादुर गुरुङ र पर्शुराम रम्तेलको नाम सिफारिस गरेको केन्द्रीय सदस्य थापामगरले जानकारी दिए । सोही क्षेत्र अन्तर्गत प्रदेशसभा (ख) मा केन्द्रीय सदस्य कृष्ण धिताल, जगन्नाथ खनाल र धु्रवकुमार भट्टको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।

    त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पूर्वउपप्रधानमन्त्री श्रेष्ठ सहित पार्टीका केन्द्रीय सचिव हितराज पाण्डे र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको र सो क्षेत्र अन्तर्गत प्रदेशसभा (क) मा केन्द्रीय सदस्य खोपबहादुर कँडेल, कमला नहर्की र र धना तमुको नाम सिफारिस गर्ने निर्णय गरिएको छ ।

    सो क्षेत्र अन्तर्गत प्रदेशसभा (ख) मा पार्टी केन्द्रीय सदस्य भगवती तिवारी, नरबहादुर गुरुङ र वासु पोखरेलको नाम सिफारिस गरिएको छ । माओवादी केन्द्रले जिल्लाअन्तर्गत सङ्घ र प्रदेशका सबै क्षेत्रका लागि समानुपातिकतर्फका उम्मेद्वारको प्रस्तावित नामावलीको समेत टुङगो लगाएको जनाएको छ ।

  • झिनो अंकले घट्यो नेप्से, लगानीकर्ताको रोजाइमा टेलिकमको शेयर

    झिनो अंकले घट्यो नेप्से, लगानीकर्ताको रोजाइमा टेलिकमको शेयर

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा झरेको हो ।

    शुक्रवार कारोबारको २ घण्टामा २१९ कम्पनीको ६९ करोड ८८ लाख ५ हजार ९५० रुपैयाँ बराबरको १८ लाख १ हजार २७३ कित्ता शेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ समूहको परिसूचक बढेको छ भने १० समूहको घटेको छ ।

    झिनो अंकले घटेको बजारमा आज दुई कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स र रुरुजलविद्युत्का शेय धनीले करिब १० प्रतिशत कमाएका छन् ।

    नेप्सेका अनुसार आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।

    आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक ४ करोड र अरुण काबेली साढे २ करोडको कारोबार भएको छ ।

  • अनधिकृत संरचना हटाउन ललितपुर महानगरको’अल्टिमेटम’,अटेर गरे डोजर लगाइने

    अनधिकृत संरचना हटाउन ललितपुर महानगरको’अल्टिमेटम’,अटेर गरे डोजर लगाइने

    काठमाडौं । ललितपुर महानगरले अनधिकृत संरचना बनाएर व्यापार, व्यवसाय गर्नेहरूलाई समय दिएरै हटाउने भएको छ।

    अनधिकृत संरचना खाली गर्न सूचना दिने र दशैं सकिएपछि पनि घरधनीले नहटाए महानगरले कारबाहीसहित त्यस्ता संरचना हटाउने तयारी थालेको हो ।

    महानगरले पटक–पटक सूचना जारी गर्दै अनधिकृत संरचना हटाउन भने पनि घरधनीले मानेका छैनन्।

    अनधिकृत संरचना कसैले अटेर गरी नहटाएको पाइए प्रक्रिया पूरा गरेर महानगरले हटाउने जनाइएको छ ।

    फुटपाथ (सडकपेटी) मिचेर बनाइएका संरचना भने हटाउन शुरु गरिसकेको छ ।

    शुक्रबार महानगरले ललितपुरको लगनखेलस्थित महानगरकै भवनमा रहेको एक होटलले नियमविपरीत बनाएको संरचना हटाएको हो ।

    साथै महानगरले अनधिकृत रूपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्दै आएकाहरूलाई अब घरधनीलाई भाडा नतिर्न पनि भनेको छ ।

  • ‘पठनपठानलाई नियमित गर्न विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लागौं’ शिक्षामन्त्री

    ‘पठनपठानलाई नियमित गर्न विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लागौं’ शिक्षामन्त्री

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयलाई तालामुक्त गर्न आग्रह गरेका छन्। शंकरदेव क्याम्पसमा आयोजित ६९ औं वाणिज्य दिवस तथा भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले पठनपठानलाई नियमित गर्न विश्वविद्यालय तालामुक्त गर्नुपर्ने बताए।

    ‘त्रिभुवन विश्वि विद्यालयमा तमाम समस्या छन्। ती समस्याको समाधान सहमतिबाट गरौं,वार्ताबाट गरौं। विश्वविद्यालयलाई तालामुक्त गरौं,’उनले भने। उनले विश्विविद्यालयलाई तालामुक्त गर्न अभियानमा जुट्न समेत आग्रह गरे। शिक्षा सुधार्न सकिएन भने केही पनि सुधार्न नसकिने उनको भनाइ छ।

    पठनपाठन राम्रो हुनलाई विश्विविद्यालयहरु राम्रो हुनुपर्ने उनले बताए। उनले भने,’ शिक्षा सुधारका लागि विश्वविद्लाय राम्रो हुनुपर्छ। विश्वविद्यालय सुधारका निम्ति विश्विविद्यालमा भौतिक पूर्वाधार, शिक्षण सिकाइमा सुधार र कानुनी सुधार हुनु आवश्यक छ।’

    उनले शंकरदेव क्याम्पसमा नेपालको मात्र नभइ अन्य देशका विद्यार्थीहरु पढ्न आउने वातावरण बनाउन आग्रह गरे। उनले भने,’ म्यानेजमेन्टको क्षेत्रमा शंकरदेव क्याम्पस राम्रो छ। यो क्याम्पसलाई हेर्नलायक बनाउनुपर्छ।’ उनले शंकरदेव क्याम्पस भवनको पुनरसंचरनाको लागि आफूले सक्दो सहयोग गर्ने बताए।

  • नेपाल र केन्याबीच आजबाट एक दिवसीय सिरिज

    नेपाल र केन्याबीच आजबाट एक दिवसीय सिरिज

    काठमाडौं । पाल र केन्याबीचको आजबाट एकदिवसीय क्रिकेट श्रृंखला सुरु हुँदैछ । नेपाल र केन्याबीच तीन खेलको एकदिवसीय सिरिज हुन लागेको छ । पहिलो खेल दिउँसो पौने एक बजे नैरोबीमा सुरु हुँदैछ । दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल २० गते हुनेछ ।

    केन्यासँगको एकदिवसीय श्रृंखलामा नेपालको कप्तानी रोहित पौडेलले गर्दैछन् । नेपालका कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेसँगै रोहितको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको हो । केन्यासँग यसअघि भएको पाँच खेलको टि–२० श्रृंखला नेपालले ३–२ ले जितेको छ ।

  • जिउँदै मान्छे जलाएको आरोपमा जेलमा रहेका आलमलाई उम्मेदवार सिफारिस गरेपछि कांग्रेसको आलोचना

    जिउँदै मान्छे जलाएको आरोपमा जेलमा रहेका आलमलाई उम्मेदवार सिफारिस गरेपछि कांग्रेसको आलोचना

    काठमाडौं । जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ। यससँगै पार्टीको व्यापक आलोचना भएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको रौतहट कांग्रेसले जनाएको छ। यसको मतलव सो निर्वाचन क्षेत्रमा कांग्रेसले टिकट पाएमा उनी उम्मेदवार बन्ने निश्चित छ । उनलाई २०७६ असोज २६ मा प्रहरीले पक्राउ गरेको थियो। आलम नख्खु जेलमा छन्।

    उनलाई २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि थुनामा पठाइएको थियो। उनी २०७४ मा रौतहट २ बाटै निर्वाचित भएका थिए। उनीमाथि २०६४ चैत २७ मा राजपुरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको अभियोग छ। स्थानीय शेख इद्रिसको घरमा बम बिस्फोट हुँदा त्यसबेला त्रिलोकप्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको थियो। उक्त घटनामा घाइते भएकाहरूलाई इँटाभट्टामा जिउँदै जलाइएको परिवारका सदस्यहरूले आरोप लगाउँदै आलममाथि किटानी जाहेरी दिएका छन् ।

  • इच्छाराज तामाङविरुद्ध ३ अर्ब ३१ करोड बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा

    इच्छाराज तामाङविरुद्ध ३ अर्ब ३१ करोड बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा

    काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङविरूद्ध ३ अर्ब ३१ करोड रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । सम्पत्ति शुद्धीकरण विभागले तामाङसँग ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ बिगो दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। एक कित्ता जग्गासहित विभिन्न ६९ कम्पनीमा रहेको विभिन्न कित्ता शेयर पनि जफत गर्न माग गरेको हो। तामाङकी श्रीमती सिर्जना शाक्य तामाङसँग पनि एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो मागदाबी विभागले गरेको छ।

    उनको एउटा सवारी साधन, विभिन्न कित्ता जग्गा र विभिन्न स्थानको कसुरबाट प्राप्त भएको जग्गा पनि जफत गर्न माग गरेको छ। प्रतिवादीहरू प्रतिक्षा तामाङसँग ६ करोड २२ लाख ३३ हजार ९७ रुपैयाँ, प्रतिशासँग १ करोड ८९ लाख १८ हजार ६४६ रुपैयाँ र सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठसँग २६ करोड ६१ लाख ४५ हजार ५३० रुपैयाँ बिगो दाबी गरेको छ। विभागले प्रतिवादी मिनाकुमारी श्रेष्ठको काठमाडौंका विभिन्न स्थानमा रहेका ७ कित्ता जग्गा पनि जफत गर्न अदालतसँग माग गरेको छ।

    इच्छाराज तामाङले ठगी गरेको उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो। अनुसन्धान गरी उनी लगायतले ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ठगी गरेको भन्दै ब्युरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो। यसमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दा आकर्षित भएपछि विभागले पनि अनुसन्धान थालेको हो।

    उनीहरूले आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, हस्तान्तरण र रूपान्तरण समेतका निषेधित कार्यहरू गरी सम्पत्ति शुद्धीकरण कसुर गरेको विभागको ठहर छ। त्यस्तै, इच्छाराजले आफ्ना परिवारका मानिसहरूबीच अंशबण्डा समेत गरेको जनाएको छ

  • डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत

    डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत

    काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नियमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ । पेट्रोल, हवाई सन्धन र एपी ग्यासको मुल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।

  • सिद्धार्थ राजमार्गमा पहिरो, यात्रुलाई निरन्तर सास्ती

    सिद्धार्थ राजमार्गमा पहिरो, यात्रुलाई निरन्तर सास्ती

    पाल्पा । सिद्धार्थ राजमार्गको हिउँदे खोलामा बनाइएको डाइभर्सनमा पहिरो गएपछि यातायात आवागमन पुनः ठप्प भएको छ । निरन्तरको वर्षाका कारण पाल्पा–बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो । डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

    सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्साललाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार भासिएको सडक निर्माण नभएको र डाइभर्सन बनाइएको सडकसमेत हिलाम्य भएकाले ग्राभेल नगर्दासम्म सवारी साधन पास गर्न सकिने अवस्था छैन । अहिले निरन्तर पानी परेकाले पानी रोकिएपछि मात्रै सवारी साधन सन्चालन गर्ने गरी काम गरिने उनले बताए ।

  • महानगरपालिकाको २४ घण्टे अल्टिमेटम भित्रै १७ लाख कर तिर्यो फनपार्कले

    महानगरपालिकाको २४ घण्टे अल्टिमेटम भित्रै १७ लाख कर तिर्यो फनपार्कले

    काठमाडौं । काठमाडौं महानगरपालिकाले दिएको २४ घन्टे अल्टिमेटम भित्रै भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ। भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई बुझाएको हो । यो पछिल्लो ५ वर्षमा कम्पनीले उठाएको मनोरञ्जन कर वापतको रकम हो । मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर महानगरलाई बुझाउनु पर्छ ।

    फनपार्कले व्यवसाय कर र घर बहाल कर भने तिरेको छैन । ६० रोपनी जग्गा समाज कल्याण परिषदले फनपार्कलाई भाडामा दिएको हो । बहाल करको दस प्रतिशत कर परिषदले महानगरलाई बुझाउनुपर्छ । पछिल्लो समय जनताबाट रकम उठाए पनि सरकारलाई बुझाउनु पर्ने रकम नबुझाएका व्यापारिक फर्महरुमाथि महानगरपालिकाले कारवाही तिब्र बनाएको छ ।

  • कोरोना र डेंगुसँगै काठमाडौंमा हैजाको संक्रमण बढ्दै

    कोरोना र डेंगुसँगै काठमाडौंमा हैजाको संक्रमण बढ्दै

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना र डेंगुको महामारीका बीच हैजाको संक्रमण बढ्न थालेको छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका हैजा संक्रमणको ‘रेड जोन’ मा परेको देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सात जनाभन्दा बढी भएका पालिकालाई रेड जोनमा राखेको छ ।

    महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौं महानगरमा ४०, कागेश्वरी मनोहरा नगरपालिकामा नौ र ललितपुर महानगरमा आठ जनामा हैजा पुष्टि भएको छ । काठमाडौं उपत्यकाका १३ पालिकासहित नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा गरी हैजा संक्रमितको संख्या ७५ पुगेको महाशाखाले जनाएको छ । हालसम्म १४ वर्षमुनिका ९ जना बालबालिकालाई हैजा संक्रमण भएको छ ।

  • सन्दुक रुइतलाई पद्यश्री पुरस्कार

    सन्दुक रुइतलाई पद्यश्री पुरस्कार

    काठमाडौं । पद्मश्री गौरव नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गरिने भएको छ । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानको निर्णायक समितिले प्रतिष्ठित आँखा चिकित्सक तथा मानव सेवी रुइतलाई पद्मश्री गौरव रुइतलाई प्रदान गर्ने निर्णय गरेको हो । २०७८ को पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको अर्को भोर कथासङ्ग्रहले पाउने भएको छ ।

    पद्मश्री साधना सम्मान तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका कथाकार माया ठकुरीलाई अर्पण गर्ने निर्णय गरिएको छ । पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशी रु. तीन लाख रहेको छ । तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं यस वर्ष पनि कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिने हरिकला समाज कल्याण प्रतिष्ठानले जनाएको छ ।

    वि.स. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिने संस्थाका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।