काठमाठौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अहिले भेन्टिलेटर निकालिएको छ । उनी क्यान्सरबाट पिडित छन् ।
Category: फिचर
-

काङ्ग्रेस नेता गिरिको स्वास्थ्य अवस्था गम्भीर
-

नेपालमा थप ६२३ जनामा कोरोना पुष्टी, ४८७ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९४ हजार ८५९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७७ हजार ८४५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५०२४ रहेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९९० पुगेको छ ।
-

संकटग्रस्त श्रीलंकाको आर्थिक सङ्कुचन ८ प्रतिशतभन्दा धेरै हुने
कोलम्बो । श्रीलङ्काको आर्थिक मन्दीका कारण यस वर्ष कम्तीमा ८ प्रतिशतले संकुचन आउने तर सर्वसाधारणले चाँडै नै मुद्रास्फीतिबाट केही राहतको अपेक्षा गर्न सक्ने श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले बिहीबार बताएका छन् ।
गत अप्रिलमा ५१ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक ऋण नतिरेको यो टापु राष्ट्रले महिनौंसम्म खाद्यान्न, इन्धन र औषधिको अभाव भएपछि अन्तर्राष्ट्रिय मुद्रा कोषको सहुलियत कर्जाको माग गरिरहेको छ ।
यसको दुई करोड २० लाख मानिसहरूले पनि लामो समयसम्म लोडसेडिङ, अभाव र मुद्रास्फीतिापछि जीवनयापनको लागतको बढ्दो दबाबबाट गुज्रेका छन् । श्रीलङ्काको केन्द्रीय बैंकले सन् २०२० मा ३.६ प्रतिशतले संकुचन आएकोमा सन् २०२० मा अर्थतन्त्र ७.५ प्रतिशतले खुम्चिने प्रक्षेपण गरिसकेको छ ।
कोलम्बोका गभर्नर नन्दलाल वीरासिङ्घेले भने, ‘हामीलाई लाग्छ कि यो ८.० प्रतिशतभन्दा बढी हुनेछ ।’ आधिकारिक रूपमा ६०.८ प्रतिशतको हाराहारीमा रहेको मुद्रास्फीति सेप्टेम्बरमा ‘करिब ६५ प्रतिशत’ पुग्ने र त्यसपछि मागमा आएको कमी र आपूर्तिमा आएको सुधारका कारण क्रमिक रूपमा केही सहज हुने उनले बताए।
मुद्राको राम्रो प्रवाह र कम आयातका कारण आर्थिक सङ्कट निम्त्याएको विदेशी विनिमयको अभाव कम भएको उनले बताए । ‘हामी अहिले पेट्रोल, डिजेल र औषधिजस्ता अति आवश्यक आयातका लागि लगानी गर्न सक्षम भएका छौं,’ वीरासिंघेले बताए ।
श्रीलङ्कामा इन्धनको चरम अभावको चरणमा मोटर चालकहरूले इन्धन भर्न हप्तौं पर्खनु परेको थियो, तर ईन्धन वितरणलाई प्राथमिकताका आधारमा व्यवस्थित गरिएपछि इन्धन स्टेसनका लाइनहरूलाई छोटो बनाएको छ ।
गत महिना ठूलो भीडले आफ्नो सरकारी निवासबाट भाग्न बाध्य भएका राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि अर्थतन्त्र धराशायी भएको विरोधमा महिनौंदेखि जारी विरोध प्रदर्शनको परिणति भएको थियो ।
राजापाक्षमाथि टापु राष्ट्रको अर्थतन्त्रलाई यस्तो अवस्थामा पुर्याएकाे आरोप लागेको छ, जहाँ उसले अति आवश्यक आयातका लागि समेत लगानी गर्न सकेको थिएन ।
त्यसपछि उनी थाइल्याण्ड गएका थिए । उनका निकट सहयोगीहरूले राजापाक्ष स्वदेश फर्कन आतुर रहेको बताएका छन् । राजापाक्षमाथि भ्रष्टाचारको आरोप लागेको थियो जुन राष्ट्रपतिको उन्मुक्तिको कारण निलम्बन गरिएको थियो ।
गत महिना भएको राजनीतिक उथलपुथलका कारण अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँगको वार्ता अवरुद्ध भएको थियो, तर अन्तिम उपायको अन्तर्राष्ट्रिय ऋणदाताको एक प्रतिनिधिमण्डल अगस्टको अन्त्यअघि कोलम्बोमा हुने अपेक्षा गरिएको छ ।
वीरासिंघेले औपचारिक बेलआउट सम्झौता अघि यसै महिनाको अन्त्यमा कोषसँग कर्मचारी स्तरको सम्झौतालाई अन्तिम रूप दिनेमा आफू आशावादी रहेको बताए ।
-

नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ सञ्चालन
काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा वृहत्त स्तनपान व्यवस्थापन केन्द्र (ह्युमन मिल्क बैंक) सञ्चालनमा आएको छ ।
अस्पतालको ६३ औं वार्षिकोत्वसको अवसरमा शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले वृहत्त स्तनपान व्यवस्थापन केन्द्र उद्घाटन गरेकी हुन् । यो नै नेपालको पहिलो (ह्युमन मिल्क बैंक) हो ।
मिल्क बैंकको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ह्युमन मिल्क बैंकले नवजात शिशुको मृत्युदर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
नेपाल सरकार र युनिसेफको सहयोगमा सञ्चालनमा ल्याइएको मिल्क बैंकबाट मासिक एक हजार शिशु लाभान्वित हुनसक्ने अस्पतालले जनाएको छ ।
बैंकले बालबालिकामैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नका लागि समय नपुगि जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई आवश्यकता परेको बेलामा अरू आमाहरूको दूध उपलब्ध गराउँनेछ।
आमाहरूले दान गर्ने दूध सुरक्षितरूपमा राखेर शिशुलाई खुवाउन मिल्ने गरी खोलिएको स्तनपान व्यवस्थापन केन्द्र सरकारले अघिल्लो वर्ष अवधारणा ल्याएको थियो ।
वृहत्त स्तनपान व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि आमाको दूध खान नसक्ने, दूध नै नआउने आमा, आमाले खुवाउन नसक्ने समस्यालाई समाधान गर्न सहयोग गर्नेछ ।
नेपालको एकमात्र ठूलो रिफरल स्त्रीरोग अस्पताल हो परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल । जहाँ वार्षिक २२ देखि २४ हजार डेलिभरी हुन्छ । अस्पतालमा मासिक २ हजार डेलिभरी हुने गरेका छन् जसमा ३५ प्रतिशत शल्यक्रियाबाट बच्चा जन्मिने गरेका छन् ।
मिल्क बैंकमा आफ्नो शिशुलाई खुवाएर बढी भएको दूध आमाहरूले दान गर्न सक्नेछन् । यसरी दान गर्दा आमाहरूको विभिन्न स्वास्थ्य परीक्षण गरेपछि पम्पको माध्यमबाट दूध निकालिनेछ ।
तुरुन्तै दान गर्ने दूधलाई बोतलमा संकलन गरी फ्रिजमा राखिनेछ भने लामो समयसम्म राख्ने दूध माइनस २० डिग्री सेल्सियस तापक्रममा राखेर ६ महिनासम्म पनि प्रयोग गर्न सकिने अस्पतालले जनाएको छ । विभिन्न कारणले आमाको दूध खान नपाएका शिशुहरूलाई खुवाइनेछ ।
दूध दान गर्ने आमाहरूले ६ महिनाभित्र प्रमुख तीन परीक्षण एचआईभी, भेनेरल डिजिज रिसर्च ल्याबोलरेटरी टेस्ट(भिडिआरएल) र हेपटाइटिस बी सर्फेस एन्टिजेन टेस्ट (एचबीएसजी) परीक्षण गरेको हुनुपर्छ ।
त्यसपछि स्वस्थ्य आमाबाट ब्रेस्ट मिल्क पम्पको माध्यमले आमाको दूध संकलन गरिन्छ । बैंकमा इलेक्ट्रिक र म्यानुअल पम्प उपलब्ध हुनेछ ।
संकलन गरिएको दूधमा कुनै रोगव्याधि नरहेको परीक्षणबाट सुनिश्चिततापछि पास्चराइजेसन गरेर एक सय मिलिलिटरको बोतलमा राखिन्छ ।
त्यसपछि माइनस २० डिग्री सेल्सियस तापक्रमको डिप फ्रिजरमा राखिने उक्त बोतल आमाको दूध नपाएका शिशुलाई उपलब्ध गराइनेछ ।
-

हर्क र बालेनलाई दिपकराजको व्यंग्य: लठ्ठी नै जुधाएर भाँच्यौ भने के टेक्छौ ?
काठमाडौं । तीनदेखि सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र धरानका मेयर हर्कराज राई साम्पाङबीच चलेको घोचपेच र व्यंग्यले उनीहरुको समर्थक निराश बनेका छन् ।
काठमाडौं आएर मेयर साम्पाङ धरान फर्केपछि उनीहरुबीच घोचपेच र व्यंग्य चलिरहेको छ । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर र यसको व्यवस्थापनका विषयमा उनीहरुबीच घोचपेच चलेको हो । ‘काठमाडौंको फोहोर नउठाएसम्म चारैतर्फबाट प्रहार गर्नुपर्छ,’ सामाजिक सञ्जालमार्फ मेयर साम्पाङले पछिल्लो पटक भनेका छन् ।
यी दुई मेयरको घोचपेच र व्यंग्यले उनीहरुको समर्थक निराश बनेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनीहरुले ‘लौरो’ चुनाव चिह्न पाएका थिए । सोही चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारकाे रुपमा उनीहरु निर्वाचित भएका हुन् ।
उनीहरुबीचको घोचपेच र व्यंग्यले जनताको साथ र समर्थन गुम्ने आसयसहित कलाकार दिपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकबाटै बालेन र साम्पाङलाई सचेत गराएका छन् ।
कलाकार गिरीले फेसबुकमा लेखेका छन्, ‘ लठ्ठी टेक्ने हो, आपत पर्दा बजाउने पनि हो, लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?’
-

यूरोपमा आँधी, कम्तिमा १३ को मृत्यु
पेरिस । यूरोपका विभिन्न भेगमा आएको विनासकारी आँधीले कम्तिमा १३ जना मारिएका छन् । अन्तरांष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बिहीबार मध्य युरोपमा आएको घातक आँधीमा परी उक्त मानवीय क्षति भएको हो । आँधीका कारण त्यत्तिकै संख्यामा मानिस घाइते भएका छन् । आँधीले सैयौं घरमा क्षति पुर्याएको छ । फ्रान्सको कोर्सीका टापुमा बिहीबार बिहान आएको भीषण आँधी र हुरी बतासका कारण पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
तीन दिनको तीव्र वर्षापछि बिहीबार परेको चट्याङले पाँच जनाको ज्यान गएको कोर्सीकन प्रहरीलाई उल्लेख गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इटालीको टुस्कनी क्षेत्रमा शक्तिशाली हावाहुरी चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । दक्षिणी अस्ट्रियामा तीन वयस्क र दुई साना बालबालिकाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
इटालियन नागरिक सुरक्षा एजेन्सीका अनुसार १०० जनाभन्दा बढी मानिसहरूलाई उद्दार गरी स्कुल र जिम केन्द्रमा आपतकालीन आवासमा राखिएको छ ।२२४ किलोमिटर प्रति घण्टाको गतिमा आएको असिना, भारी वर्षा र हावाले दुर्घटना निम्त्याएको फ्रान्सेली अधिकारीहरुले उल्लेख गरेका छन् ।
स्थानीय फ्रान्सेली सञ्चारमाध्यमका अनुसार प्रमुख पर्यटकीय गन्तव्य कोर्सीकामा ज्यान गुमाउनेमा १३ वर्षीया बालिका र उनी बसेको शिविरकै एक ७२ वर्षिया महिला छन् जसको कारलाई समुद्री तटको बंगालाको छत खसेर चेपेको थियो । इटालीको लुक्कामा एक पुरुष र कारारामा एक महिला गरी दुवैको रूख ढलेर मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका छन् ।
इटालीकै मारिना डि मासाको समुद्री किनार शिविरमा रहेका व्यक्तिको गाडीमा स्थानीय घरको छाना खसेर चार जना घाइते भएका छन् । ती चारै जनालाई बारगा सहरको अस्पतालमा भर्ना गरिएको छ । आँधीले भेनिस सहरका केही भवनलाई पनि क्षति पुर्याएको छ ।
१२० देखि २२४ किलोमिटर प्रति घण्टासम्मको तीव्र हावा र मुसलधारे वर्षाले बिहीबार इटाली, स्पेन, अस्ट्रिया फ्रान्स लगायतका देशमा रुखहरू ढलेर बाढी आएको छ । मिलान सहरका अधिकारीहरूले नागरिकहरूलाई पार्किङ वा रूखमुनि हिँड्नबाट जोगिन र उनीहरूको बालकोनीमा राखिएका वस्तु हटाउन आग्रह गरेका छन् ।
-

अमेरिकन आइडलका उपविजेता ‘अर्थन गन’ नेपालमा, शनिबारबाट कन्सर्ट
काठमाडौं । अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडलका उपविजेता अर्थर गन अर्थात् दिवेश पोखरेल नेपाल आइपुगेका छन् । उनी बुधबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । उनीसहित ब्यान्डका अन्य चार सदस्य पनि काठमाडौं आएका हुन् ।
पोखरेल आगामी शनिबारबाट शुरु हुने सांगीतिक प्रस्तुतीका लागि काठमाडौं आएका हुन् । उनले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत नेपालका विभिन्न सहरहरूमा प्रत्यक्ष सांगीतिक प्रस्तुती दिनेछन् । सन् २०२० को अमेरिकन आइडलमा उपविजेता बनेका उनी त्यसयता पहिलोपटक नेपाल आएका हुन् ।
-

चन्द्रमामा पुनः मानिस पठाउँदै अमेरिका, नासाले तयार पार्यो यान
फ्लोरिडा । अमेरिकाले चन्द्रमामा मानवसहितको रकेट पठाउने तीव्र तयारी गरिरहेको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा पठाउन निर्माण गरिएको रकेट प्रक्षेपणको तयारी थालेको बीबीसीले लेखेको छ । स्पेस लन्च सिस्टम (एसएलएस) नामक उक्त रकेटलाई फ्लोरिडास्थित केनडी स्पेस सेन्टरमा रहेको प्याड ३९बीमा लगिएको छ। त्यहाँबाट उक्त रकेट अगस्ट २९ मा पहिलो पटक उड्नेछ। त्यो परीक्षण उडानमा चालकदलका कोही पनि सदस्य हुनेछैनन्।
तर पछि एसएलएस रकेट प्रयोग गरेर अमेरिकाले ५० वर्षपछि चन्द्रमामा पहिलो पटक अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ। झन्डै १०० सय मिटर अग्लो एसएलसीलाई विशाल ट्र्याक्टरमा चढाएर प्याडसम्म लगिएको थियो। जडान गरिएको भवनबाट एसएलसी रकेट स्थानीय समयानुसार मङ्गलवार राति झन्डै १० बजे हिँडेको थियो। त्यहाँबाट ६.७ किलोमिटर पर रहेको प्रक्षेपणस्थलसम्म पुग्दा बुधवार सूर्योदय भइसकेको थियो।
आगामी डिसेम्बरमा अमेरिकाले अन्तिम पटक चन्द्रमामा सफलतापूर्वक मानव अवतरण गराएको अपोलो १७ अभियानको ५० औँ वार्षिकोत्सव मनाउन लागेको छ। नासाले नयाँ आर्टमिस कार्यक्रमसहित अन्तरिक्ष अभियानमा पुनः सहभागी हुने र आधुनिक युगलाई लाभ दिने प्रविधिको प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
आर्टमिस ग्रीक देवता अपोलोकी जुम्ल्याहा बहिनीको नाम हो र उनलाई चन्द्रमाकी देवी पनि मानिन्छ।नासाले आफ्नो चन्द्र अभियानलाई सन् २०३० वा त्यसको केही समयपछि मङ्गल ग्रहमा अन्तरिक्षयात्रीहरू पठाउने आफ्नो तयारीसँग जोडेर हेरेको छ। अराइअनलाई युरोपियन सर्भिस मोड्यूलले अन्तरिक्षमा पठाउनेछ ।
अपोलोको स्याटर्न भी रकेटको तुलनामा एसएलएसको प्याडबाट उड्ने बल १५ प्रतिशत बढी हुन्छ। त्यो अतिरिक्त बलले पृथ्वीभन्दा धेरै टाढासम्म अन्तरिक्षयात्रीहरूलाई पठाउन यानलाई सहयोग गर्नुका साथै थप समयसम्म अभियान सञ्चालन गर्न आवश्यक उपकरण र सरसामान लैजान पनि सघाउँछ।
क्रू क्याप्स्यूल अर्थात् अन्तरिक्षयात्री बस्ने खण्डको पनि क्षमता बढाइएको छ।अराइअन भनिने उक्त क्याप्स्यूल अझ फराकिलो छ। सन् १९६० र ७० का ऐतिहासिक कम्यान्ड मोड्यूलको तुलनामा एक मिटर बढी फराकिलो रहेको अराइअनको चौडाइ पाँच मिटर छ।
-

जापानमा एकै दिन साढे २ लाखमा भेटियो कोरोना
टोकियो । जापानमा एकै दिन साढे २ लाख मानिसमा कोरोना संक्रमण भएको पाइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयको आंकडा अनुसार एकैदिन २ लाख ५५ हजार पाँच सय ४२ जनामा कोभिड पुष्टी भएको हो । ४ लाख ८२ हजार २२७ जनामा परिक्षण गर्दा ती मानिसमा कोरोना देखिएको हो । यो सङ्ख्या हालसम्मकै सबैभन्दा बढी भएको समाचारमा उल्लेख छ । यसअघि जापानमा एकै दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा सङ्क्रमण देखिएको थियो। पछिल्लो २४ घन्टामा जापानमा २ लाख ४४ हजार २४१ जना संक्रमणमुक्त भएका छन्।
कोभिडका कारण देशभर एकै दिनमा २ सय ८७ जनाको मृत्यु भएको छ। टोकियो महानगरमा मात्र बिहिबार २७ हजार ४ सय ५३ नयाँ सङ्क्रमित थपिएका छन् । जापानका स्वास्थ्य अधिकारीहरूले कोभिड (१९ को यो सातौ लहरले देशको स्वास्थ्य पद्धतिलाई दबाबमा पारेको र अस्पतालमा शैय्या पाउन कठिन भएको बताएका छन्।
अहिले जापानमा सक्रिय संक्रमितको संख्या २१ लाख ५२ हजार ३३६ जना छन्। जापानमा हालसम्म ३५९२७ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ। उता, दक्षिण कोरियामा पनि १ लाख ८० हजार ६५२ जनामा संक्रमण देखा परेको छ। यो सँगै दक्षिण कोरियामा १९ लाख ८० हजार ३१३ जना संक्रिय संक्रमित रहेका छन्।
-

आज श्रीकृष्ण जन्माष्टमी, देशभर मनाईंदै
काठमाडौं । श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । सरकारले आज सार्वजनिक विदा दिएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन व्रतालुहरु रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने र श्रीकृष्णका विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरलगायत मुलुकभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि चहलपहल छ । भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लागेको छ । पाटन कृष्ण मन्दिरमा दर्शनका लागि राष्ट्रपति जाने चलन छ ।
पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ । महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।
-

तनहुँमा करेन्ट लागेर बाबु छोराको मृत्यु
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ, आमा घाइते भएकी छिन् ।
मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनको नौ महिनाको छोरा आदि ब्याम्बो रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा बिहीबार उनीहरुलाई करेन्ट लागेको थियो । चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
-

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान
काठमाडौं । सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आह्वान गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।
उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लगानीको सहजताका लागि कानूनी एवं प्रक्रियागत सुधार गरेको जानकारी दिए ।
उनले चालु आवको बजेटले प्रत्यक्ष वैदेशिक लगानीको सीमा ५ करोडबाट घटाएर २ करोड कायम गरेको, एकद्वार नीति अवलम्बन गरेको समेत जानकारी दिए । उनले नेपालको आर्थिक विकासका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको समेत उल्लेख गरे । नेपालमा गरिने लगानीका लागि भारत एवं चीन लगायत प्रमुख बजार रहेको भन्दै उनले लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरे ।नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतसँग राजनीतिकसँगै सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको वताउदै भारतीय लगानीकर्ताले निर्धक्क भएर लगानी गर्न सक्ने बताए । उनले भारतीय लगानीकर्ताका लागि नेपाल महत्वपूर्ण लगानी गन्तव्य मुलुक रहेको उल्लेख गरे ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानी गरेका डाबर नेपाल, यूनिलिभर नेपाललगायत कम्पनीले सुरुमा गरेको लगानीको तुलनामा धेरै गुणा नाफा गरिसकेको उदाहरण दिदै लगानीका लागि आग्रह गरे ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले नेपाल र भारतबीचको सामाजिक, सांस्कृतिक एवं आर्थिक पक्षबारे चर्चा गर्दै पर्यटन, पूर्वाधारका क्षेत्रमा लगानीका लागि उचित वातावरण निर्माण भएको बताए ।
कार्यक्रममा भारतीय तथा स्वदेशी लगानीकर्ताबीच उर्जा, खानी तथा रियल स्टेट, स्टील, कपडा, कृषि, खाना तथा प्याकेजिङ, सेवा तथा पर्यटन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिलगायतका क्षेत्रमा बीटूबी छलफल भएको छ ।
-

बिहीबार २८४ गाडी फोहोर बन्चरे डाँडामा बिसर्जन
काठमाडौं । बन्चरे डाँडामा स्थानीयको अवरोध बिहीबार समेत कायम रह्यो । यसका वावजुत बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीहरुलाई केहीबेर स्थानीयले अवरोध गरेका थिए । स्थानीयवासीको अवरोध हटाउन बिहीबार समेत ठूलो संख्यामा प्रहरी खटाइएको थियो ।
पक्राउ परेका स्थानीयलाई रिहा गर्नुपर्ने माग राखेर बिहीबार बिहान केही समय स्थानीयले फोहोर फाल्न अवरोध खडा गरेका थिए । बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा ४ बुँदे सहमति भएको थियो ।
-

दुई ठूला जलविद्युत आयोजना निर्माणको जिम्मा भारतलाई
काठमाडौं । नेपालका दुई ठूला जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीले पाएका छन् । भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना पाएको छ । साथै ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र समेत सोही कम्पनीले पाएको छ । बिहीबार आयोजित कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
लगानी बोर्ड नेपालले प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गराएको छ । २३ साउन बोर्डले समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो । समझदारीपत्रमा नेपालका तर्फबाट लगानी बोर्डका सीईओ सुशील भट्ट र भारतकातर्फबाट एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरे ।
समझदारीअनुसार एनएएचपीसीले पश्चिम सेती जलविद्युत परियोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि समझदारीपत्रमा हस्ताक्षर भएको मितिले ४५ दिनभित्र र सेती नदी-६ जलविद्युत परियोजनाको लागि ६ महिनाभित्र आवेदन गर्नुपर्ने छ । सर्वेक्षण अनुमति पाएको दुई वर्ष भित्र तोकिएका विषयहरू समेत समेट्ने गरी विस्तृत परियोजना अध्ययन गरी अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेस गर्नुपर्ने भनिएको छ ।
परियोजनाको भौगर्भिक, प्राविधिक, सामाजिक, आर्थिक तथा वातावरणीय पक्ष, परियोजनाको अप्टिमाइजेसन, परियोजनालाई जलाशय वा अर्धजलाशय वा संयुक्त रुपमा वा छुट्टाछुट्टै निर्माण गर्ने पाटो, परियोजनाको अनुमानित लागत अनुमान, अध्ययन, निर्माण सुरु तथा निर्माण सम्पन्न हुने समय र कार्ययोजना, बजार सुनिश्चितता, प्रसारणलाइन, वित्तीय स्रोतको उपलब्धता र परियोजना कार्यान्वयनको तरिकाबारे एनएचपीसीले अध्ययन गर्ने भएको छ । परियोजना विकास सम्झौता (पीडीए) को निम्ति दुई पक्षबीच वार्ता हुने तथा लगानी बोर्डको कार्यालयले आवश्यक सहजीकरण गर्ने सझदारीमा उल्लेख छ ।
-

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै प्रतिनिधि सभाबाट पारित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फर्काइदिएको नागरिकता विधेयक फेरि संसदबाट मतदानमार्फत पारित भएको छ। प्रतिनिधि सभाको बैठकबाट विधेयक हुबहु पारित भएको हो।
गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको विधेयक हुबहु पारितका लागि निर्णयार्थ पेश गरेपछि प्रमुख प्रतिपक्षी एमालेले विरोध गरेको थियो।
एमालेको माग अनुसार नै मतदान भएको थियो ।
संसदमा कूल उपस्थिति संख्या १९५ थियो। राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ । त्यस्तै विपक्षमा ६० मत झरेको थियो। यसैगरी हुन्न भन्ने पक्षमा पनि शून्य सांसदले मत हालेका छन्।
विधेयकमाथिको छलफलका क्रममा भाग लिँदै सत्ता पक्ष र प्रतिपक्षका ७७ बढी सांसदहरुले आ-आफ्नो धारणा राखेका थिए। विधेयकलाई जस्ताको तस्तै पारित गर्नुपर्ने र राष्ट्रिय सहमति कायम गरी पारित गर्नुपर्ने उनीहरुले तर्क गरेका थिए।
संसदका दुवै सदनबाट पास भइसकेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए।
तर ,राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्बाट पुनःविचार हुन आवश्यक देखिएकाले संविधानको धारा ११३ को उपधारा ९३० बमोजिम १५ बुँदे सन्देशसहित साउन २९ गते साँझ प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन्।
-

नेपालमा थप ५४२ जनामा कोरोना पुष्टी, ४२१ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०८२ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र २८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९४ हजार ६१३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४२१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७७ हजार ३५८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५२६५ रहेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९९० पुगेको छ ।
-

नेपाली शेयर बजार हरियाली, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ ।
साताको कारोबारको पाँचौंदिन शेयर बजार मापक सूचक नेप्से २७.७२ अंकले बढेर २०६८.७२ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिवार २२० कम्पनीको २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५६ रुपैयाँ बराबरको ५१ लाख १ हजार २९० कित्ता शेयर किनबेच भएका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । बुधवार १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
कारोबारमा आएका चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मन्दाकीनी हाइड्रोपावर कम्पनी, अप्पर सोलु हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर कम्पनी र अप्पर हेवाखोला कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
नेप्सेका अनुसार आज एनआइबीएल प्रगती फण्ड र सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।
यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज १० करोड ४३ लाख भन्दा बढीको कारोबार भएको छ ।
अपी पावरको ७ करोड ८० लाख र शिवम् सिमेन्टको ६ करोड बढीको कारोकार भएको छ ।
-

‘नागरिकता विधेयकमा टाउकोको होइन विवेकको गणना गरिनुपर्छ’-सांसद ज्ञवाली
काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकमा सांसदहरूको टाउको नभइ विवेकको गणना गरेर निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् ।
नागरिकता वितरणजस्तो गम्भीर विषयमा केवल संसदमा सांसदहरूको टाउको गनेर पारित गर्न नहुने बताउँदै उनले राष्ट्रिय सहमति खोजिनुपर्ने बताएका छन् ।
आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तासँग बहुमत भएपनि यो ‘हेड काउन्ट’ गर्ने विषय नभएको भन्दै उनले भने, ‘जबर्जस्ती गरेर टाउकोको गिन्तिका आधारमा गर्ने हो भने यसको परिणाम राम्रो हुँदैन ।’
राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि अहिले प्रतिनिधिसभामा छलफल भइरहेको छ । सो क्रममा सांसद ज्ञवालीले टाउको गनेर पारित गरिने यस्ता संवेदनशील विधेयकले भविष्यमा समस्या ल्याउने समेत बताएका छन् ।
नेकपा एमालेले नागरिकता ऐन संशोधन विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउनु पर्ने अडान लिएको छ । अन्यथा राष्ट्रपति संस्थामाथि प्रश्न उठाएको ठहरिने एमालेको जिकिर छ ।
-

राष्ट्रपतिको ‘भूमिका’प्रति सांसदको व्यंग-‘नागरिकता विधेयक दिउँसो होइन, राति पठाऔं’
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले राष्ट्रपति विद्यादेवी भण्डारीको ‘भूमिका’प्रति व्यंग गरेका छन्।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद महतले नागरिकता विधेयक प्रमाणीकरणका लागि दिउँसो नभइ, राति पठाउनुपर्ने भन्दै राष्ट्रपतिमाथि व्यंग गरेका हुन्।
उनले भने, ‘पुनः नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउनुपर्ने होला, उक्त विधेयक राष्ट्रपतिकहाँ पठाउँदा दिउँसो पठाउनु भएन सभामुख महोदय, यो राति पठाउनुपर्यो । किनभने अलि अप्ठ्यारा कामहरु राति नै फत्ते हुन्छन् । त्यसो भएकाले यो दिउँसो नपठाउनुहोला ।’
उनले राष्ट्रपति भण्डारीलाई रातिमा विधेयक प्रमाणीकरण गर्ने बानी परेको टिप्पणी गरे ।
-

नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु
काठमाडौं । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।
संसदको बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । संसदले बहुमतले स्वीकृत गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी नागरिकता विधेयक १५ बुँदे सन्देशसहित सदनमा फिर्ता पठाएकी थिइन्।
राष्ट्रपतिले विधेयक फिर्ता पठाएपछि त्यसप्रति असन्तुष्ट जनाउँदै गठबन्धन दलले जस्ताको त्यस्तै विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो।
सोहीअनुसार गृहमन्त्री खाडले सन्देशसहितको नागरिकता विधेयक संसदमा पुनरविचारका लागि प्रस्ताव प्रस्तुत गरेका हुन्।
संसदका दुवै सदनबाट पास भइसकेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए।
तर राष्ट्रपति भण्डारीले १५ बुँदै सन्देशसहित साउन २९ गते साँझ उक्त विधेयक संसदमै फिर्ता गरेकी थिइन्। त्यसको भोलिपल्ट अर्थात् साउन ३० गते बसेकै प्रतिनिधि सभा बैठकमा विधेयक फिर्ताको सन्देशसहितको पत्र पेश भएको थियो।
-

नागरिकता विधेयक प्रतिनिधिसभाबाट आजै पास गर्ने तयारी
काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार नै पास गर्ने तयारी गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न संसदमा फिर्ता पठाएको नागरिकता सम्बन्धी नयाँ विधेयक आजै पारित गर्ने तयारी रहेको बताइएको छ । प्रतिनिधि सभाको बैठक ११ बजेका लागि बोलाइएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्नेछन् ।
प्रस्तावमा सांसदहरूले धारणा राख्न समय पाउनेछन् । गृहमन्त्रीले नै विधेयक पारित गरियोस् भन्ने अर्को प्रस्ताव राख्ने कार्यसूची छ । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले १५ साउनम्ँ प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक राष्ट्रपति भण्डारीले संसदमै फिर्ता पठाएकी हुन् । संसद्ले यो विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउन लागेको हो । अब भने राष्ट्रपतिले पुनल् संसदमा पठाउन पाउँदिनन् ।
-

वैदेशिक रोजगारीमा जान एक महिनामा ६३ हजारले लिए श्रम स्वीकृति
काठमाडौं । वैदेशिक रोजगारीमा जान एक महिनाको अवधिमा ६३ हजार मानिसले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा ६३ हजार ४२ ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहचलले जनाएको छ । गत आवको साउनमा २५ हजार चार सय २८ ले मात्र श्रम स्वीकृति लिएका थिए ।
साउनमा सबैभन्दा बढी मलेसियाका लागि २४ हजार चार सय ८४ श्रम स्वीकृति दिइएको छ । कतारमा १२ हजार पाँच सय ७०, संयुक्त अरब इमिरेट्समा आठ हजार एक सय ४०, साउदी अरेबियामा छ हजार सात सय पाँच र कुवेतमा चार हजार दुई सय ८४ श्रम स्वीकृति जारी भएको छ ।
पाँच देशले मात्रै कूल श्रम स्वीकृतिको ९० प्रतिशत हिस्सा ओगट्छ । कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने ३२ प्रतिशत छन् भने पहिलोपटक लिने ६८ प्रतिशत छन् । श्रम स्वीकृति लिनेमध्ये करिब १० प्रतिशत महिला छन् ।
-

रौतहटमा बस र अटोरिक्सा ठोक्किए, ३ जनाको मृत्यु
रौतहत । चन्द्रपुर नगरपालिका–२ पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटनामा परेका छन् । प्रहरीका अनुसार दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहान ५ बजे एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा अटोमा सवार ४ जना मानिस घाइते भएका थिए । उपचारका लागि अस्पताल लगिएका मध्ये ३ जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय चपुरका अनुसार मृत्यु हुनेमा सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर छन् । उनीहरुको चन्द्रपुर अस्पतालमा निधन भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
-

कलंकीको खसी बजार हटाउन महानगरपालिकाको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिका कलंकीस्थित खसी बजार खाली गर्न निर्देशन दिएको छ। महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै १५ दिन भित्र बजार हटाउन भनेको हो । वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले निर्देशन दिएको हो ।
खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने उजुरी आएकोले खसीबजार हटाउन लागिएको महानगरको सूचनामा जनाइएको छ । स्थानीय बासिन्दाले सामूहिक रूपमा निवेदन दिँदै खसीबजार हटाउन भनेका थिए ।
अबको १५ दिनपछि उक्त जग्गामा खसी बजार सञ्चालन नगर्न व्यवसायीहरूलाई महानगरले आग्रह गरेको हो । व्यवसायीले खसी बजारको वैकल्पिक व्यवस्था गर्नुपर्ने महानगरले उल्लेख गरेको छ ।
-

धरानका मेयर हर्कले सार्वजनिक गरे १०० दिनमा गरेका १३ काम
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले १ सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन्। मेयर भएपछि एक सय दिनभित्र के(के काम गरियो भन्ने प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले १३ वटा कामका विवरण सामाजिक सञ्जारमा राखेका छन् । उनले पहिलो नम्बरमा श्रम संस्कृति क्रान्ति आफूले सुरू गरेको बताएका छन् । खानेपानी धरान ल्याउन, वृक्षारोपण गर्नलगायत काममा स्थानीय बासिन्दाको श्रमदानलाई प्राथमिकता दिँदै आएका उनले यसलाई श्रमक्रान्ती भनेका छन् ।
‘नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरू गरेँ। चार ठाउँबाट खानेपानीको मुहान थप गरेँ। व्यापक जनपरिचालन र सामुदायिक सहभागीता जुटाएँ। छ लाख विरुवा रोपें। सरसफाइमा देखिने सुधार ल्याएँ,’ राईले कामका विवरण सार्वजनिक गर्दै उल्लेख गरेका छन्। उनले प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा पनि सुधार ल्याएको दाबी गरेका छन्।
‘जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें। बाटो मर्मत सम्भार, टटबन्धन, विपद व्यवस्थापन, लागुऔषध विरुद्धको अभियान सुरू गरेँ। योजनाहरुका लागि बजेटको जोहो गराएँ,’ उनले भनेका छन्। पारदर्शी हिसाबकिताब राखेर सार्वजनिक गरेको, पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएको, शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएको दाबी उनको छ।
-

मोरङमा आगलागी, एक जनाको मृत्यु
विराटनगर । मोरङको सुन्दरहरैचा–११ मा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । आगोमा जलेर बेलबारी–११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको हो । उनी घरमा रंगरोगन गर्ने मजदुर हुन् । विद्युत सर्ट भएर आगो लागेको प्रहरीले अनुमान गरेको छ ।
-

दार्चुलामा जीप दुर्घटना, ५ जनाको मृत्यु
दार्चुला । दार्चुलामा जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चार जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
-

काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्कबीच फेसबुकमै घोचपेच ब्याटल
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच ब्याटल भएको छ । सम्पाङले बुधबार साँझ फेसबुकमा ‘आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैन्छ’ भन्दै स्टाटस लेखे । उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका छन् । उनले सम्पाङकै शैलीमा लेखे, ‘हो नि ‘ तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि ।’
साम्पाङले सडकमा थुप्रिएको फोहोरबारे निरन्तर घोचपेच गरिरहेका छन् । उनले काठमाडौंमा खाल्डाखुल्डीको सडक भए पनि धरान नै सफा भएको भन्दै काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको समेत लेखेका थिए । बालेनले सुझावलाई आलोचनाका रुपमा लिएको बारे समेत साङपाङले अर्को स्टाटस लेखेका छन् । त्यसमा भने बालेनले थप प्रतिक्रिया दिएनन् ।
-

बन्चरेडाँडामा चार बुँदे सहमती, बिहीबारबाट उठ्ला फोहोर ?
काठमाडौं । काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न भइरहेको अवरोध हटाउने बारे बुधबार सहमति जुटेको छ । काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न जारी अवरोध अन्त्य गर्ने सम्बन्धमा ४ बुँदे सहमति भएको छ ।
फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र गत २६ जेठमा भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति पछि फोहोरको अवरोध अन्त्य भएको हो । यो सहमतीसँगै भोलिदेखि फोहोर व्यवस्थापन सहज हुने अपेक्षा समेत गरिएको छ ।
यसअघि फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गर्ने धादिङको धुनिवेशी नगरपालिकाका सत्तारुढ दलका ३ नेतामाथि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । तर सो विज्ञप्तिलाई पनि आन्दोलनकै हिस्सा मानेर कारबाही अघि नबढाउने सहमति भएको छ । फोहोर बोकेको गाडीले लिचेड चुहाउँदै आएमा भने स्थानीयले अवरोध गर्ने छन् ।
-

सिंहदरबारमा ग्यास लैजान नपाइने, मन्त्रालयका क्यानटिनमा अब विद्युतीय चुल्हो
काठमाडौं । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ ।
चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो । सोही क्रममा आजदेखि नै अर्थमन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले त्यसको सुरुआत गरेका हुन् । खाना पकाउने ग्यासमा मात्रै मुलुकको ठूलो धनराशि बाहिरिएपछि सरकारले आन्तरिक रुपमा बिजुली खपत गराउने लक्ष्यका साथ बजेटमा नै नीतिगत प्रबन्ध गरेको हो ।
गत साउन महिनाभित्रै सिंहदरबारभित्रका सबै चमेनागृह तथा भोजनगृहहरुबाट एलपी ग्यास विस्थापन गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले सम्भव हुन सकेको थिएन ।
अर्थमन्त्री शर्माले आज अर्थ मन्त्रालयको क्यान्टिनबाट विद्युतीय चुल्होको प्रयोग गरिएको जानकारी दिँदै छिट्टै सबै मन्त्रालय र विभागका क्यान्टिनबाट एलपी ग्यास विस्थापन गर्न आग्रह गरे । उनले मातहतका सबै निकायलाई तत्काल यस प्रक्रियामा सहभागी हुन निर्देशन दिएको अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार मनऋषि धितालले जानकारी दिए ।
सरकारले उपभोक्तालाई पनि विद्युतीय चुल्होको प्रयोग गर्न आग्रह गरिरहेको छ । त्यसका लागि बिजुलीको महसुलमा समेत केही छुट दिएको छ । सकारात्मक हस्तक्षेपका लागि सार्वजनिक निकाय तथा महानगरपालिकाहरुमा अभियान्तमक रुपमा विद्युतीय चुल्होको प्रयोग बढाउँदै लैजाने नीति लिइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि लगायतका कारण आर्थिक वर्ष २०७८/७९ मा झन्डै ३ खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
त्यसबाट जोगिन पनि विद्युतीय चुल्होको प्रयोग नै उपयुक्त विकल्प रहेको सरकारको बुझाइ छ । अर्थमन्त्री शर्माले पनि नेपालको आन्तरिक ऊर्जा खपत गर्न र बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको जनसम्पर्क सल्लाहकार धितालले जानकारी दिए ।
अधिकांश चमेनागृहले विद्युतीय चुल्होको तयारी गरेको भए पनि बिजुलीको नियमित आपूर्तिको प्रबन्ध गरिदिन आग्रह गरेका छन् । केही प्राविधिक जटिलताका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली प्रवाहमा कहिलेकाहीँ समस्या देखिने गरेको छ ।
उक्त समस्या समाधानका लागि प्राधिकरणले पहल गरिरहेको र बिना अवरोध विद्युतीय चुल्होको प्रयोग गर्न सक्ने गरी व्यवस्था हुने जनाइएको छ ।