Category: फिचर

  • नेपालमा थप ८५२ जनामा कोरोना पुष्टी, ३२८ जना संक्रमण मुक्त

    नेपालमा थप ८५२ जनामा कोरोना पुष्टी, ३२८ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जना र २५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३३१ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९४ हजार ३८९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३२८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७६ हजार ९३७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५४६२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९९० पुगेको छ ।

  • ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१ जना कलेजका विद्यार्थी कारबाहीमा

    ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१ जना कलेजका विद्यार्थी कारबाहीमा

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष चेकिङ अभियान अन्तर्गत आज ५४ जना चालकहरु कारबाहीमा परेका छन्। कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो।

    अभियानमा सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसुरमा २१ जना चालकहरू कारबाहीमा परेका छन्।

    यस्तै, आज बिहानको नियमित चेकिङमा विविध ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका चालक १ सय ७ जना, एम्बुलेन्सका चालक ४ जना र २ सय १६ जना अन्य सवारी चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

    त्यस्तै, मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जनासहित ३ सय २८ चालक पनि कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

  • महाभियोग प्रक्रियामा ढिलाइ भएको भन्दै एमालेको आपत्ति, एक महिनामा सक्न प्रस्ताव

    महाभियोग प्रक्रियामा ढिलाइ भएको भन्दै एमालेको आपत्ति, एक महिनामा सक्न प्रस्ताव

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न प्रस्ताव गरेको छ ।

    बुधबार बसेको महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा नेकपा एमालेले जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न प्रस्ताव गरेको हो ।

    ५ महिनासम्म त्यसै अड्किएको महाअभियोग प्रस्ताव बल्ल समितिमा आएकाले छिट्टै काम सक्नुपर्ने एमाले सांसद कृष्णभक्त पोखरेलले बताए । ‘के के काम कति कति समयमा गर्ने भनेर कार्यतालिका तय गरौं, तीन महिना भनेको ठाउँमा एक महिनासम्म गर्न सक्दा राम्रो हुन्छ’, पोखरेलले भने ।

    प्रतिनिधिसभाले २३ फागुनमा छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा गठन गरे पनि बैठक भने अझै बस्ने सकेको थिएन । प्रतिनिधिसभाले सो बारेमा लामो समय पछि समितिलाई अध्ययन गरी सिफारिस गर्नका लागि अनुमति दिएपछि पहिलो बैठक आज बसेको हो ।

    समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।

    जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले गत १ फागुनमा प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए ।

  • झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ ।

    साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से ०.३६ अंकले घटेर २०४०.६ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२० कम्पनीको १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँ बराबरको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ वटाको परिसूचक हरियाली भएको छ भने ६ समूहको राताम्मे भएको छ ।

    हाइड्रोपावर समूह सबैभन्दा धेरै ०.६८ प्रतिशतले बढेको छ भने जीवन बीमा ०.४८ प्रतिशतले घटेको छ ।

    आज स्वयतगंगा हाइड्रोपावर कम्पनी, मन्दाकीनी हाइड्रोपावर कम्पनी, अप्पर हेवाखोला, सपोर्ट लघुवित्त वित्तीय संस्था र दोर्दीखोला जलविद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

    नेप्सेका अनुसार आज सामलिङ पावर कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

    रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट झन्डै ७ करोड र नबिल बैंक ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • ४० माइक्रोनभन्दा पातला प्लाष्टिक आजबाट नेपालमा पूर्ण प्रतिवन्ध

    ४० माइक्रोनभन्दा पातला प्लाष्टिक आजबाट नेपालमा पूर्ण प्रतिवन्ध

    काठमाडौं । आजदेखि नेपालमा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लागेको छ । सरकारले १ भदौबाट लागुहुने गरी यस्तो व्यवस्था गरेको हो । ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए नभएको बारे आजैदेखि अनुगमन थालिने भएको छ । यस्तो काम वातावरण विभागले गर्दै आएको छ ।

    विभिन्न स्थानमा अनुगमन टोली खटिने समेत विभागको भनाई छ । पहिलो चरणमा ४० माइक्रोन भन्दा पातला झोला प्रयोग नगर्न नगराउन सम्झाईबुझाई गरिने छ । अटेर गरे वातावरण संरक्षण ऐन अनुसार कारबाही हुनेछ । पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनीमा अनुगमन हुनेछ ।

  • आगामी निर्वाचनमा ८४ वटा दलबिच भिडन्त

    आगामी निर्वाचनमा ८४ वटा दलबिच भिडन्त

    काठमाडौं । आगामी मंसिर ४ मा तोकिएको संघ र प्रदेशको निर्वाचनमा ८४ वटा दल दर्ता भएका छन्। मंगलबार दल दर्ता गर्ने अन्तिम दिन थियो । निर्वाचन आयोगका अनुसार दर्ता भएका दलमध्ये चार वटा दल संयुक्त रूपमा दर्ता भएका छन् ।

    दुई वा दुईभन्दा बढी दल एउटै पार्टी र चुनाव चिन्हबाट लड्ने गरी चार वटा दल दर्ता भएका हुन् । २०७४ सालको निर्वाचनमा ८६ वटा दल दर्ता भएका थिए। दल दर्ता गर्ने समय सकिएसँगै अब निर्वाचन आयोगले पेस गरिएका विवरण केलाउनेछ । त्यसपछि मात्र दलको सूचि सार्वजनिक गर्ने तयारी आयोगको छ ।

  • निहारिका राजपुत प्रकरण : आरोपित पक्राउ

    निहारिका राजपुत प्रकरण : आरोपित पक्राउ

    काठमाडौं । निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । धनुषाकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी छन् ।

    उनले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डीएनए परीक्षणको माग गरेकी छिन् । काठमाडौंको माइतीघर मण्डला र बसन्तपुरमा यसअघि आमरण अनशनमा बसेकी उनले पछिल्लो समय राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गरेकी थिइन् ।

  • सत्ता गठबन्धनको सीट बाँडफाँट गर्न बनाइएको कार्यदलको बैठक आज

    सत्ता गठबन्धनको सीट बाँडफाँट गर्न बनाइएको कार्यदलको बैठक आज

    काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि बस्दैछ । आजको बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेस गर्ने तयारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बस्ने बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेस गर्ने तयारी छ । २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

    कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ । अघिल्लो पटक बसेको कार्यदल बैठकले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा कार्यदल संयोजक सिटौलालाई दिएको थियो । कार्यदलमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

    माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

  • ओल्के पर्व मनाउँन आज सुदुरपश्चिम प्रदेशभर सार्वजनिक बिदा

    ओल्के पर्व मनाउँन आज सुदुरपश्चिम प्रदेशभर सार्वजनिक बिदा

    धनगढी । सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभर बुधबार सार्वजनिक विदा घोषणा गरेको छ । ओल्के पर्वमा घरमा नयाँ परिकार पकाएर आपसमा खुसी साटासाट गरिन्छ । ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप हरियो साग (खासगरी गाभा), फलफूल तथा भान्छामा पाकेको मिठो परिकार दिने परम्परा रही आएको छ ।

    विपत्तीबाट जोगिएको खुशियालीमा मनाइने ओल्के पर्वमा मान्यजनलाई अन्न, दूध, दही, घ्यू, पनि दिने गरिन्छ । सुदूरपश्चिममा ‘मरुला भनेर बिशु खानु, बाँचे भने ओल्के खानु’ भन्ने भनाइ पनि प्रचलित छ । आजको दिन विवाहित छोरी–चेलीलाई माइती घरमा बोलाई उनीहरुलाई मन पर्ने खानेकुरा खुवाउने र गक्षअनुसारको दान दक्षिणा दिने चलन छ । साथै देउडा र पिङ खेलेर रमाइलो गर्ने चलन पनि छ ।

  • बालेनले प्रचण्डमाथि नैतिक प्रश्न उठाएपछि..

    बालेनले प्रचण्डमाथि नैतिक प्रश्न उठाएपछि..

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बञ्चरेडाँडामा फोहोर लिएर जाने सडकको अवस्था नाजुग भएकामा प्रचण्डप्रति प्रश्न उठाएका छन् । हिलाम्य सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै बालेनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नैतिकतामाथि पनि प्रश्न उठाएका हुन् । यो सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सनले पाएको छ ।

    यो ठेकेदार कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । उनी हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्दै आएको घरको घरबेटीसमेत हुन् । बालेनले लेखेका छन्, ‘श्रीमान प्रचण्डज्यू १ उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’

  • हर्क साम्पाङ्गले भेटे अर्थमन्त्री, खानेपानीको समस्या समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता

    हर्क साम्पाङ्गले भेटे अर्थमन्त्री, खानेपानीको समस्या समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्द रहेको बताएका छन् ।

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गसंग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले धरान महानगरपालिकालाई सहयोग गर्ने बताएका हुन् ।

    उप-महानगरका मेयर हर्क साम्पाङ्गले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटी खानेपानीकाे समस्या समाधानका लागि गुहारेपछि मन्त्रालयले सहयाेग गर्ने प्रतिबद्धता जनाएकाे छ ।

    साम्पाङसँगकाे भेटमा अर्थमन्त्री शर्माले मन्त्रालयले प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक बजेटकाे जाेहाे गर्न उप-महानगरलाई सहयोग गर्ने आश्वसन दिए ।

    मन्त्री शर्माले मेयर साम्पाङ्ग र उनकाे टीमले धरानका जनताको खानेपानी समस्या समाधानका लागि गरिरहेकाे जनपरिचालनले देशभरमा राम्राे सन्देश दिएकाे बताए । ‘तपाईंले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छ । अरु स्थानीय सरकारले पनि यसकाे अनुशरण गर्न सक्छन्’, उनले भने ।

    भेटमा मेयर साम्पाङ्गले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक परेकाे बताए । उनले संघीय सरकार स्थानीय तहकाे अविभावक भएकाले पनि समस्या परेकाे बेलामा प्राविधिक तथा वित्तीय स्राेत जुटाउन सहयाेग गरिदिनु पर्नेमा जाेड दिए ।

  • नेपालको मूल्यवृद्धि ८.०८ प्रतिशत पुग्यो, आकाशियो गेडागुडी, तेललगायतको मूल्य

    नेपालको मूल्यवृद्धि ८.०८ प्रतिशत पुग्यो, आकाशियो गेडागुडी, तेललगायतको मूल्य

    काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

    नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८र०७९ को १२ महिनाको तथ्यांक अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको मुद्रास्फीति २०७९ असारसम्म ८.०८ प्रतिशत पुगेको हो ।

    विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले आर्थिक वर्ष २०७८/७९ का पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा चाप रहन पुगेको राष्ट्र बैंकको भनाइ छ ।

    यद्यपि आर्थिक वर्ष २०७८/७९ को शुरुवाती महिनाहरुमा न्यून मुद्रास्फीति रहेको कारण वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशतमा सीमित थियोे । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ३.६० प्रतिशत रहेको थियो ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६.१३ प्रतिशत, ९.९२ प्रतिशत, ९.८४ प्रतिशत र ८.५७ प्रतिशत रहेको छ ।

    साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः १५.८२ प्रतिशत, ८.७८ प्रतिशत, ७.०९ प्रतिशत र ६.६८ प्रतिशत रहेको छ ।

  • रेमिट्यान्समा सामान्य सुधार, एक वर्षमा १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो

    रेमिट्यान्समा सामान्य सुधार, एक वर्षमा १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७८/७९ मा विप्रेषण ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको छ ।

    अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।

    समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३,५४,६६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई २,८२,४५३ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो ।

    समीक्षा वर्षमा खुद ट्रान्सफर ४.३ प्रतिशतले वृद्धि भई रु.१११७ अर्ब ८८ करोड पुगेकोछ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ९.१ प्रतिशतले बढेको थियो ।

  • विदेशी मुद्राको सञ्चिति ६.९ महिनाका लागि मात्रै, दबाब कायमै

    विदेशी मुद्राको सञ्चिति ६.९ महिनाका लागि मात्रै, दबाब कायमै

    काठमाडौं । विदेशी विनिमय सञ्चिति घटेको १३ प्रतिशतले छ ।

    नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को एक वर्षको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले यस्तो देखिएको हो ।

    २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले कमी आई २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड कायम भएको छ ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ असार मसान्तमा १८.९ प्रतिशतले कमी आई ९ अर्ब ५४ करोड कायम भएको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७९ असार मसान्तमा १५.१ प्रतिशतले कमी आई रु.१०५६ अर्ब ३९ करोड कायम भएको छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७९ असार मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई रु.१५९ अर्ब ४१ करोड पुगेको छ ।

    २०७९ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ ।

    आर्थिक वर्ष २०७८/७९ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    २०७९ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका छन्। २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

  • नेपालमा थप ८४८ जनामा कोरोना पुष्टी, ५२६ जना संक्रमण मुक्त

    नेपालमा थप ८४८ जनामा कोरोना पुष्टी, ५२६ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७२२ जनाको पीसीआर परीक्षण गर्दा ३९९ जना र २८९७ जनाको एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९३ हजार ८५८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५२६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७६ हजार ६०९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५२५९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९९० पुगेको छ ।

  • दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन पाइने

    दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन पाइने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी परामर्श सेवा कम्पनीलाई दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्सका रुपमा ल्याउन पाइने व्यवस्था गरेको छ ।

    राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ मा संशोधन तथा थप व्यवस्था गर्दै १० लाख रुपैयाँसम्मको सीमालाई बढाएर १५ लाख रुपैयाँ बनाएको छ ।

    विदेशी परामर्श सेवा कम्पनीको नेपालस्थित सहायक कम्पनी र यस्तो काम गर्ने नेपाली कम्पनीले विदेशबाट प्राप्त गर्ने कमिसन, शुल्क र पारिश्रमिकको रकम रेमिट्यान्सका रुपमा दैनिक एक पटक वा पटक(पटक गरी १५ लाख रुपैयाँसम्म ल्याउन पाइने व्यवस्था गरेको हो ।

    विप्रेषण कम्पनीहरुले रकम संकलन र भुक्तानी गर्दा ग्राहकको परिचय खुल्ने कागजात लिएको हुनुपर्नेछ । यस्तो कारोबारको विवरण महिना सकिएको सात दिनभित्र नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागमा पेश गर्नुपर्नेछ ।

    परिपत्र अनुसार इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था तथा विप्रेषण कम्पनीले राष्ट्र बैंकबाट अनुमतीप्राप्त भुक्तानी प्रणाली सञ्चालकसंग सहकार्य गरी जारी गरेका कार्डमा समेत विद्यमान व्यवस्थाको अधिनमा रहेर रेमिटेन्स भित्र्याउन सकिने छ ।

    यसैगरी राष्ट्र बैंकले आयात तथा निर्यात व्यापारको माध्यमबाट हुने सक्ने सम्पती शुद्धीकरणको कार्यलाई निरुत्साहन तथा नियन्त्रणमका सघाउ पुग्ने गरी इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आवस्यक कार्यबिधी तथा आन्तरिक संरचना बनाई बस्तुको अन्तराष्ट्रिय बजार मुल्य र कर चुक्ता कागजातमा उल्लेखित मुल्यबिच तुलनात्मक बिश्लेषण समेत गरी यर्थाथपरक देखिएमा सटही सुविधा (ड्राफ्ट, टिटी जारी गर्ने, प्रतिपतत्र खोल्ने, डिएए, डिएपी) उपलब्ध गराउनु पर्ने छ ।

    यसैगरी राष्ट्र बैंकको स्वीकृतीमा एक वर्ष वा सो भन्दा बडी अवधिको विदेशी ऋण भित्र्याएका वाणिज्य बैंकलाई विदेशी विनियम जोखिम हेजिङ गर्ने प्रयोजनको लागि उक्त ऋणको बक्यौता सावाँ तथा व्याज बराबर हुने रकम सम्मको र ऋणको अवधिसम्मको डेरिभेटिभ्सको खरिदमा सिमा लागु नहुने पनि परिपत्रमा उल्लेख छ ।

  • भारतबाट फेरि घटेर आयो इन्धनको भाउ, नेपालमा घट्ने नघट्ने अझै अन्योल

    भारतबाट फेरि घटेर आयो इन्धनको भाउ, नेपालमा घट्ने नघट्ने अझै अन्योल

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई साउन ३१ गते (अगस्ट १६ तारिख) पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो ।

    नयाँ मूल्यसूची अनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।

    निगमका अनुसार पेट्रोल प्रतिलिटर १.९४ रुपैयाँ, डिजेल प्रतिलिटर ४.८४ रुपैयाँ घटेर आएको छ । यस्तै, हवाई इन्धन पनि प्रतिलिटर ५ रुपैयाँ सस्तिएर आएको निगमले जनाएको छ । अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ ।

    आइओसीले पेट्रोलियम पद्धार्थको भाउ घटाएर पठाको यो लगातार तेस्रो पटक हो । यसअघि साउन १६ गते डिजल प्रतिलिटर १२.४५ रुपैयाँ र पेट्रोल प्रतिलिटर १६.८० रुपैयाँ घटेर आएको थियो । त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेल १६.५६ रुपैयाँ घटेर आएको थियो ।

    आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।

  • शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सुधार

    शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सुधार

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

    साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से २४.८३ अंकले घटेर २०४१.६ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२१ कम्पनीको २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँ बराबरको ६४ लाख ६ हजार ७३८ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३.१८ प्रतिशतले घटेको छ ।

    दोहोरो अंकले घटेको बजारमा युनिलिभरका शेयर धनीले सर्वाधिक ५.६२ प्रतिशत गुमाएका छन् । त्यसैगरी, दोर्दी हाइड्रोपावर, पञ्चकन्या माइ, जोशी हाइड्रो, हिमालयन ऊर्जा र आइएमई जनरल इन्स्योन्सको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    त्यस्तै, युनाइटेड मोदी, नेपाल फाइनान्स, ग्रीन भेन्चर्स लगायत १ दर्जन कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४१ करोड रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट साढे ८ करोड र हिमालयन डिस्ट्रीलरी साढे ५ करोड बढीको कारोबार भएको छ ।

    सोमबार शेयर बजारमा वाणिज्य बैंकहरुले भदौ महिनामा पनि निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेसँगै लगानीकर्ता उत्साहित हुँदा बजार उच्च अंकले बढेको थियो ।

  • नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

    नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय


    काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताले नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै अघि बढाउने निर्णय गरेका छन् ।

    मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको वैठकले संसदमा छलफलका लागि पेश भएको उक्त विधेयकलाई हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो ।

    संसद्बाट बहुमतले पारित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकमा पुनर्विचार आवश्यक रहेको भन्दै प्रतिनिधिसभामै फिर्ता पठाइएको छ ।

    दोस्रो पटक शीतल निवास पठाएको विधेयक राष्ट्रपतिले संसदमा फिर्ता पठाउन पाउने छैनन्।

    संविधानमा राष्ट्रपतिले एक पटक मात्रै विधेयक संसद फिर्ता पठाउन सक्ने व्यवस्था छ।

  • सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

    सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

    काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ।

    अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गरेका थिए।

    त्यसभन्दा पहिले बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट पुनः विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएकोसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको जानकारी गराएका थिए। यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको जानकारी गराइएको थियो।

  • वामदेव र बाबुरामलाई हँसिया हथौडा चिन्हबाट चुनाव लड्न स्वीकृति

    वामदेव र बाबुरामलाई हँसिया हथौडा चिन्हबाट चुनाव लड्न स्वीकृति

    काठमाडौं । नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने स्वीकृत गरेको छ ।

    माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई दलको चुनाव चिह्न दिने निर्णय गरेको हो ।

    ‘राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गर्नुभयो। त्यसको स्वागत गर्छौ। उहाँहरूका बाँकी नेताहरूलाई पनि चुनाव चिह्नबाट लड्न स्वीकृत गरेका छौं‘, बैठकपछि माओवादी केन्द्रको प्रवक्ता कृष्णबहादुर महराले भने।

    आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको दल दर्ताको समय आज सकिँदै छ । एकल चुनाव चिह्नका लागि दल दर्ता गर्दा नै निवेदन दिनुपर्ने भएकाले नेताहरू निर्वाचन आयोग जाँदै छन् ।

  • आगामी निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

    आगामी निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

    काठमाडौं । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज पुरा हुने भएको छ ।
    सरकारले चुनावको मिति घोषणा गरेपछि आयोगले २२ साउनमा दल दर्ताका लागि आह्वान गरेको हो ।

    साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिने प्रयोजनका लागि आयोगमा दल दर्ता गराउनु पर्छं आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता छन् । चुनावमा भाग लिन आइतबारसम्म ६२ दल मात्र दर्ता भएका छन् । नेपाली कांग्रेसले समेत आइतबारसम्म दल दर्ता गराएको छैन ।

  • यात्रुमा कोरोना पुष्टी भएपछि हिमालय एयरलाइन्सको चीन उडान चार साता रोकियो

    यात्रुमा कोरोना पुष्टी भएपछि हिमालय एयरलाइन्सको चीन उडान चार साता रोकियो

    काठमाडौं । यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि चीन सरकारले हिमालय एयरलाइन्सलाई चार साताका लागि उढान गर्न रोक लगाएको छ । नेपाल–चीन उडान चार साताका लागि रोक लगाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    अगस्ट २ मा सो एयरलाइन्सबाट चीन पुगेका १५ जना यात्रुलाई कोरोना देखिएको हो । चीनले अगस्ट २२ देखि लागू हुने गरी उडान बन्द गरेको हो । चीनको नियमअनुसार एउटा उडानमा १० जनाभन्दा बढीमा कोरोना देखिएपछि चार साता उडान रोकिन्छ । हिमालयले चीनको कुइमिङमा सातामा एक उडान गरिरहेको थियो ।

  • फिफाले भारतमाथि किन लगायो प्रतिवन्ध ?

    फिफाले भारतमाथि किन लगायो प्रतिवन्ध ?

    काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा फुटबलभन्दा बाहिरी शक्ति हावी भएको निष्कर्षमा फिफा पुगेको छ । उसले अनिश्चितकालीन प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ । प्रशासनिक समस्या समाधान गर्न भएको सहमतिको ‘रोडम्याप’बाट अखिल भारतीय फुटबल महासंघ विचलित भएपछि फिफाले मंगलबार प्रतिबन्ध लगाउने निर्णय गरेको समाचारमा जनाइएको छ ।

    रोडम्याप अनुसार एआईएफएफले फिफा, एएफसी र भारतीय फुटबल समुदायसँग छलफल गरी बनाएको नयाँ विधानलाई अनुमोदन गर्न अगस्ट २०२२ को पहिलो साता विशेष साधारणसभा बोलाउने निर्णय भएको थियो । त्यसबीचमा सर्वोच्च अदालतको सुनुवाइले माथि उल्लिखित रोडम्यापमा विचलन हुने सूचित भएपछि फिफाले प्रतिवन्धको निर्णय लिएको जनाएको छ । भारतको सर्वोच्च अदालतले गत मेमा भारतीय फुटबल संघ (एआईएफएफ) लाई विघटन गरेर तीन सदस्यीय तदर्थ समिति बनाई खेलको व्यवस्थापन, विधान संशोधन र १८ महिनादेखि हुन नसकेको निर्वाचन गराउने जिम्मेवारी दिएको थियो ।

    फिफाले भने यस्तो कदम नचाल्न भनेको थियो । एआईएफएफका अध्यक्षको कार्यकाल डिसेम्बर २०२० मा सकिएको छ । भारतमा खेलकुद संघमा तीन कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने नियम छ । १२ वर्ष एआईएफएफको अध्यक्ष एउटै व्यक्ति बनेपछि विवाद चुलिएको हो । फिफाको यस निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न पाउँदैन ।

  • रुस र  उत्तर कोरिया सम्बन्ध बिस्तार गर्न सहमत

    रुस र उत्तर कोरिया सम्बन्ध बिस्तार गर्न सहमत

    काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग विस्तृत र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने बताएका छन्। उत्तर कोरियाको स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षी किम जङ अनलाई पत्र पठाउँदै उनले उक्त कदम दुवै देशको हितमा हुने बताए। त्यसको जबाफमा किमले दुई देशबीचको मित्रता दोस्रो विश्वयुद्धको समयमा जापानलाई पराजित गर्दादेखि कायम रहेको टिप्पणी गरेका छन्। उनले मित्रता अझै बलियो बन्ने विश्वास व्यक्त गरेका छन्।

    उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार पुटिनले द्विपक्षीय सम्बन्धको विस्तारले दुई देशका स्वार्थहरूको जगेर्ना गर्ने धारणा राखेका थिए । आफ्नो पत्रमा किमले रुस(उत्तर कोरियाको मित्रताले जापानविरोधी युद्धमा आकार ग्रहण गरेको र त्यो अझ समृद्ध र विकसित भएको धारणा राखेका थिए। उक्त पत्रमा दुई देशबीचको रणनीतिक र कार्यनीतिक साझेदारी, समर्थन र ऐक्यबद्धताु नयाँ उचाइमा पुगेको र साझा मोर्चामा देखिएको साझेदारीले शत्रु फौजको सैनिक जोखिम र उत्तेजनालाईु कमजोर बनाएको जनाइएको छ।

    प्योङ्याङले शत्रु फौजको नाम लिएको छैन तर उसले उक्त शब्दावली पटक पटक अमेरिका र उसका साझेदारलाई जनाउन प्रयोग गर्दै आएको छ। सोभियत सङ्घ कुनै बेला उत्तर कोरियाको प्रमुख साझेदार रहेको थियो र उसले प्योङ्याङलाई आर्थिक सहयोग, सांस्कृतिक आदानप्रदान र वैदेशिक सहयोग उपलब्ध गराउने गर्थ्यो। तर उक्त सम्बन्ध सोभियत सङ्घको विघटनसँगै खस्किएको थियो र सन् २००० को दशको सुरुमा पश्चिमा जगतसँग रुसको सम्बन्ध चिसिँदै गएपछि बिस्तारै उक्त सहकार्य अघि बढेको थियो।


    गएको जुलाईमा रुसले पूर्वी युक्रेनमा रहेका दुई पृथकतावादी राज्यलाई स्वतन्त्र घोषणा गरेपछि तिनलाई आधिकारिक रूपमा मान्यता दिने थोरै देशहरूमध्ये उत्तर कोरिया पनि एउटा थियो। त्यसको बदलामा आफ्नो भूभागमा रुसी अतिक्रमणको विरोध गरिरहेको युक्रेनले प्योङयाङसँग सबै सम्बन्ध कटौती गर्ने निर्णय लिएको थियो। बीबीसी

  • राष्ट्रपति पोखरामा, आज दिनभर व्यस्त रहने

    राष्ट्रपति पोखरामा, आज दिनभर व्यस्त रहने

    पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पोखरा पुगेकी छिन् । उनी मंगलबार भने विभिन्न कार्यक्रममा व्यस्त रहने छिन् । पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा सोमबार उनलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गरे । सोमबार राष्ट्रपति भण्डारी पोखराको विरौटास्थित होटेल पोखरा ग्रान्डमा बसिन् ।

    उनी मंगलबार बिहान ८ः३० मा पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शनमा जाने कार्यक्रम छ । ११ बजे विन्ध्वासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुने कार्यक्रम समेत तय भएको छ । त्यसपछि १ बजे तमुधीमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी बन्ने छिन् । उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको समेत बताइएको छ ।

  • नागरिकता विधेयक आजबाट पुनः संसद प्रवेश गराईंदै

    नागरिकता विधेयक आजबाट पुनः संसद प्रवेश गराईंदै

    काठमाडौं । नागरिकता विधेयक आजबाट पुनः संसद प्रवेश गराईंदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे आजबाट प्रतिनिधि सभामा प्रक्रिया शुरु हुने भएको हो । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा, राष्ट्रपतिले प्रमाणित नगरीकन १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराइने छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र जानकारी गराउने उल्लेख छ ।

    साउन १५ गते संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आफूकहाँ आएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि भन्दै सोमबार प्रतिनिधि सभामै फिर्ता पठाएकी छन् । राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक प्रतिनिधि सभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ । राष्ट्रपति कार्यालयको सोसम्बन्धी पत्र संघीय संसद सचिवालयमा पुगेको छ । फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा छलफल शुरु हुनेछ ।

    राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक जस्ताको तस्तै वा संशोधन सहित पारित गरी पुनः राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने गरिन्छ । यसरी आएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसपछि भने पुनः विधेयक फिर्ता हुने छैन ।

  • ट्राफिक नियम मिच्ने ११८ जना विद्यार्थी कारवाहीमा

    ट्राफिक नियम मिच्ने ११८ जना विद्यार्थी कारवाहीमा

    काठमाडौं । ट्राफिक नियम मिच्ने ११८ जना बिद्यार्थी कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीको विशेष चेकिङमा सोमबार बिहान मात्रै कलेजका ११८ जना बिद्यार्थी कारबाहीमा परेको हुन् । ट्राफिक प्रहरीको चेकमा सवारी चालक अनुमती पत्र नभएका, सवारी दर्ता किताब नभएका र अन्य ट्राफिक नियम उल्लघंन गर्ने विद्यार्थी कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार कारबाही पर्ने सबै बिद्यार्थीमा दुई पांग्रे सवारी साधनका चालक हुन् ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको गत वर्षको तथ्याङ्कअनुसार काठमाडौं उपत्यकाभित्र १० हजार ७३३ सवारी साधन दुर्घटना भएको देखिन्छ । जसमध्ये आठ हजार ३६४ वटा दुई पाङ्ग्रे सवारी साधन मात्रै रहेको छ । तथ्यांकअनुसार सवारी दुर्घटनामा परि १९१ जनाको मृत्यु भएको छ भने, दुई पाङ्ग्रे सवारी दुर्घटनामा मात्रै ११७ जनाको मृत्यु भएको छ । जसमा ५८ जना पैदल यात्री हुन् ।

    मृत्यु हुनेमा अधिकांश दुई पाङ्ग्रे सवारी साधन प्रयोगकर्ता छन् । ती सवारी दुर्घटनामा १७ वर्षदेखि ३५ वर्ष उमेर समुहका मानिसको मृत्यु भएको देखिन्छ । यसरी सबैभन्दा धेरै दुर्घटनामा पर्नेमा दुई पाङ्ग्रे सवारी साधन देखिएकाले दुर्घटना न्यूनिकरण गर्नका लागि ट्राफिक प्रहरीले विशेष अभियान नै चलाएर नियम उल्लघंन गर्नेलाई कारबाही सुरु गरेको प्रवक्ता भट्टले जानकारी दिए ।

  • न्यूयोर्कमा रुश्दीमाथि आफुले आक्रमण नगरेको इरानको स्पष्टीकरण

    न्यूयोर्कमा रुश्दीमाथि आफुले आक्रमण नगरेको इरानको स्पष्टीकरण

    तेहरान । इरानले सलमान रुश्दीमाथि साङ्घातिक आक्रमण गर्ने व्यक्तिसँग आफ्नो कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ । उसले यसमा रुश्दी स्वयमः दोषी भएको आरोप समेत लगाएको बीबीसीले लेखेको छ । अमेरिकाको न्यूयोर्कमा शुक्रवार आयोजित एउटा कार्यक्रममा छुरा प्रहार भएपछि ७५ वर्षीय रुश्दी गम्भीर घाइते भएका छन्। उनलाई एक दिन भेन्टिलेटरमा राखिएको थियो। अहिले उनी बाह्य सहायताबिना आफैँ सास फेर्न सक्ने अवस्थामा फर्किएको समाचारमा उल्लेख छ ।


    यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले इरानको सरकारी सञ्चारमाध्यमले उक्त घटनाप्रति प्रसन्नता व्यक्त गरेको आरोप लगाउँदै त्यस्तो व्यवहारलाई नीचको सङ्ज्ञा दिएका थिए। द सट्यानिक भर्सिज उपन्यास प्रकाशित भएपछि रुश्दीले हत्याको धम्की पाइरहेका छन् । रुश्दीले एउटा आँखा गुमाउन सक्ने विवरण आएपछि इरानको सरकारी टेलिभिजन जाम(ए‍(जमले शैतानको एउटा आँखा बन्द भएको छ भन्ने सन्देश जारी गरेको समाचारमा उल्लेख छ ।

    शुक्रवार रुश्दीमाथि आक्रमण भएको समाचार आउनेबित्तिकै सबैको ध्यान इरानको प्रतिक्रिया के हुन्छ भन्नेतिर गएको थियो। रुश्दीको उपन्यासले इस्लाम धर्मको अपमान गरेको निष्कर्षसहित तीन दशकअघि रुश्दीको हत्या गर्न इरानका सर्वोच्च नेताले फतवा अर्थात् धार्मिक आदेश जारी गरेका थिए। इरानी विदेश मन्त्रालयका प्रवक्ता नसिर कनानीले उक्त आक्रमणसँग आफ्नो देशको सम्बन्ध भएको दाबी अस्वीकार गरेको समाचारमा जनाइएको छ ।

  • वीरगन्जस्थित बन्द अवस्थाको कृषि कारखाना सञ्चालनमा महाविर पुनलाई पनि सहभागी गराउने अर्थमन्त्रीको प्रस्ताव

    वीरगन्जस्थित बन्द अवस्थाको कृषि कारखाना सञ्चालनमा महाविर पुनलाई पनि सहभागी गराउने अर्थमन्त्रीको प्रस्ताव

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वीरगञ्जस्थित कृषि औजार कारखानाको अध्ययन गर्न महावीर पुनसमक्ष आग्रह गरेका छन् । पुनसँग आइतबार अर्थ मन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री शर्माले यस्तो प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ । सरकारले कृषि औजार कारखाना सञ्चालनमा ल्याउने निर्णय गरेको जानकारी गराउँदै अर्थमन्त्री शर्माले कारखानानको अहिलेको अवस्था अध्ययन गर्न प्रस्ताव गरेका हुन् ।

    उनले कारखानालाई औजार उतपादन मात्र नभई आविष्कार केन्द्रका रुपमा समेत विकास गर्ने लक्ष्य रहेको बताएका छन् । भेटमा उक्त कारखानाबाट नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणको उत्पादन, मर्मत सम्भार र नयाँ औजारको आविष्कार समेत गर्न सकिने बताएका छन् । कारखानालाई पुनर्जीवन दिएर उक्त स्थानमा कृषि औजार आविष्कार केन्द्र बनाउने अर्थमन्त्रीको योजनामा आफ्नो समर्थन रहने उनले जानकारी गराए ।

    उनले भने, ‘कृषि औजार कारखानाबाट नेपालको ग्रामिण किसानलाई आवश्यक पर्ने कृषि औजार निर्माण र साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने औजार समेत निर्माण गर्न सकिन्छ ।’ अर्थमन्त्री शर्माले राष्ट्रिय आविष्कार केन्द्रको सुझाव अनुसार सरकारले छिट्टै यो कारखानालाई पुनर्जीवन दिने बताए । २०२१ सालमा स्थापना भएको कृषि कारखाना २०५९ सालबाट पूर्ण रुपमा बन्द भएको हो । वीरगञ्जमा ९ बिघा क्षेत्रफलमा कारखाना रहेको छ ।