Category: फिचर

  • संघीय सरकारविरुद्ध मधेष प्रदेश सरकारले घोषणा गर्यो आन्दोलन

    संघीय सरकारविरुद्ध मधेष प्रदेश सरकारले घोषणा गर्यो आन्दोलन

    काठमाडौं । प्रहरी समायोजन नभएको आरोप लगाउँदै मधेस सरकारले संघीय सरकारविरुद्ध पहिलो चरणमा आन्दोलन घोषणा गरेको छ । शनिबार मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गर्दै आन्दोलन घोषणा गरे । मन्त्री साहले पहिलो चरणको कार्यक्रमअन्तर्गत प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना गरिने जानकारी दिए । उनका अनुसार आइतबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा प्रदेश प्रमुखको कार्यालयअगाडि १ हप्तासम्म धर्ना बस्ने कार्यक्रम छ ।

    १ हप्तासम्म पनि संघीय सरकारले माग सम्बोधन गरेन भने दोस्रो चरणको आन्दोलन घोषणा गर्ने उनले जानकारी दिए । धर्नामा प्रदेशका मन्त्री, सांसद र नागरिक समाजको सहभागिता रहने भएको छ । संघले रोक्ने र प्रदेशले थुत्ने रस्साकसीका बीच प्रहरी समायोजनको विषय अझ जटिल बनेको हो । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रहरी समायोजन गरेर र प्रमुख जिल्ला अधिकारीलाई प्रदेशमातहत ल्याएर मात्रै चुनावमा जानुपर्ने सर्त राखेका छन् ।

    यसअघि मधेस सरकारले प्रहरी समायोजन सात दिनभित्र नटुंग्याए आन्दोलन गर्ने चेतावनीसहित आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र पठाएको थियो। प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत मधेसका गृह तथा सञ्चारमन्त्री साहले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षणपत्र पठाएका थिए । पत्रमा प्रहरी र शान्ति–सुरक्षासम्बन्धी अधिकार प्रदेशको क्षेत्राधिकारभित्र रहेको स्मरण गराइएको छ ।

  • गृहको आह्वान : मिटर मिटरब्याजी पिडितले निवेदन देउ

    गृहको आह्वान : मिटर मिटरब्याजी पिडितले निवेदन देउ

    काठमाडौं । गृह मन्त्रालयले देशभरका सबै मिटरब्याजी पीडितलाई भदौ ५ गते सम्म उजुरी दर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै देशभरका मिटरब्याज पीडितहरूलाई भदौ ५ गतेसम्म उजुरी दिन अनुरोध गरेको हो। पीडितहरूलाई आ(आफ्नै जिल्ला प्रशासन कार्यालयमा भएका प्रमाणसहित लिएर जान अनुरोध गरेको हो। शुक्रबार मिटरब्याजको नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रीस्तरीय निर्णय गरी यस अपराधलाई नियन्त्रण गर्न सक्ने उपायहरू सिफारिस गर्न डा. भीष्मकुमार भूसालको संयोजकत्वमा कार्यदल बनेको थियो।

    सो कार्यदल बनेसँगै काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिइरहेका नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाका पीडितहरूसँग पनि छलफल गरेको मन्त्रालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा छलफल भएको थियो। यस्तै नवलपरासी पश्चिममा मात्रै नभई तराईका अधिकांश जिल्लाहरूमा मिटरब्याजबाट पीडित भएकाहरू हुनसक्ने भन्दै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको हो।

    ‘देशैभरी मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरूद्ध आ(आफ्नो जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र यथासम्भव बढी प्रमाणसहित उजुरी दर्ता गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।

  • एमाले र राप्रपाबीच चुनावी तालमालबारे छलफल

    एमाले र राप्रपाबीच चुनावी तालमालबारे छलफल

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच चुनावी तालमेलबारे छलफल भएको छ । राप्रपाका अध्यक्ष लिङ्देनले शुक्रबार दिउँसो बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् । शुक्रबार मध्याह्न १२ बजेदेखि दिउँसो दुई बजेसम्म छलफल भएको नेताहरुले बताएका छन् । स्थानीय तह निर्वाचनपछि उनीहरूबीचको यो दोस्रो भेट भएको हो । दुबै नेता एउटै जिल्लामा चुनाव लड्ने गर्छन् ।

  • कोरोनाका कारण मानवीय क्षति बढ्दै, साउनमा मात्र ३२ जनाको मृत्यु

    कोरोनाका कारण मानवीय क्षति बढ्दै, साउनमा मात्र ३२ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीबाट पुनः ठूलो मानवीय क्षति हुन थालेको छ । कोरोनाबाट साउनमा मात्र ३२ जनाको ज्यान गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । शुक्रबार ४ हजार ७१२ कुल परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको ज्यान गएको छ । पछिल्लो पटक वैशाख २१ गते कोरोना संक्रमणबाट बिरामीको ज्यान गएको थियो । त्यसको ७३ दिनपछि साउन १ मा कोरोना संक्रमणबाट १ जना संक्रमितको मृत्यु भएको थियो। साउन २६ मा सबैभन्दा धेरै ५ जनाको मृत्यु भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु भएका व्यक्तिहरु र्दीर्घरोगी, ज्येष्ठ नागरिक र खोप नलगाएका व्यक्ति रहेको जनाएको छ । मृत्यु हुने ६ जनाले मात्र खोप लगाएको पाइएको छ । हाल कोभिड संक्रमितको अस्पताल भर्ना, स्वास्थ्य जटिलता र मृत्युको तथ्यांक हेर्दा खोप नलगाएको पाइएको छ। खोप लगाएको व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिलाई कोभिडको संक्रमण भएमा सिकिस्त बिरामी हुने वा मृत्यु हुने सम्भावना १० गुणा बढी रहने मन्त्रालयको भनाई छ ।

    अहिले कुल जनसंख्याको २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये ७५.१ प्रतिशतले एक मात्रा र ७०.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । लक्षित जनसंख्या १२ वर्ष माथिका २ करोड ३३ लाख २७ हजार ६१९ मध्ये ९३.९ प्रतिशतले एक मात्रा र ८८.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । बुस्टर मात्राको खोप भने ७४ लाख ११ हजार ८८९ जनाले लगाएका छन् । नेपालले हालसम्म कुल ६ करोड १७ लाख ७६ हजार ७७० मात्रा खोप भित्रिएको छ । खोप अभियान सुरु भएदेखि ४ करोड ९९ लाख ७५ हजार ९२९ खोप मात्रा प्रयोग भएको छ ।

  • कांग्रेसको कार्य सम्पादन समितिको बैठक आज

    कांग्रेसको कार्य सम्पादन समितिको बैठक आज

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक शनिबार बिहान साढे ९ बजे केन्द्रीय पार्टी कार्यालय सानेपामा बस्दैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी, गठबन्धन दलहरुबीच सिट बाँडफाँट लगायतका विषयमा छलफल हुने छ ।


    केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलगायत सबै सदस्यलाई बैठकमा अनिवार्य उपस्थिति हुने निर्देशन दिइएको छ । निर्वाचन नजिकिएको सन्दर्भमा यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

  • मोन्टेनेग्रोमा अन्धाधुन्ध गोली चल्यो, १० जनाको मृत्यु

    मोन्टेनेग्रोमा अन्धाधुन्ध गोली चल्यो, १० जनाको मृत्यु

    काठमाडौं । मोन्टेनेग्रोको सेन्टिज सहरमा पारिवारिक विवादका कारण भएको आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको छ । त्यहाँका अधिकारीहरूका अनुसार विवादपछि एक व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको हो भने केही घाइते भएका छन् । बीबीसीका अनुसार पारिवारिक विवादका क्रममा एक ३४ वर्षीय बन्धुकधारीले एकै घरका तीन जनाको हत्या गरे ।

    त्यसपछि उनले सोही हतियारको प्रयोग गरी स्थानीय सात जना व्यक्तिको हत्या गरेका छन् । हतियारसहित आक्रमणमा उत्रिएका ती व्यक्तिलाई एक सर्वसाधारणले गोली हानी हत्या गरेका छन् । त्यसपछि मात्रै आक्रमणको सिलसिला रोकिएको थियो । ती व्यक्तिले घटना गराउनुको कारण भने नखुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • डोनाल्ड ट्रम्पको घरमा छापा मार्न जारी गरिएको पूर्जी सार्वजनिक गरिने

    डोनाल्ड ट्रम्पको घरमा छापा मार्न जारी गरिएको पूर्जी सार्वजनिक गरिने

    वासिंटन डिसी (बीबीसी । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले यसै साताको सुरुवातमा एफबीआई अधिकारीहरूलाई आफ्नो निवास मार–ए–लागोमा छापा मार्न जारी गरिएको पुर्जी सार्वजनिक गरिनु पर्ने अमेरिकी सरकारको निर्णयको प्रतिवाद नगर्ने बताएका छन्। एक विज्ञप्तिमार्फत ट्रम्पले आफूले यस मामिला छिटो पार लगाउन चाहेको जनाए। यद्यपि, उनले आफ्नो घरमा खानतलासी गर्ने कार्य अनावश्यक र राजनीतिक स्वार्थले प्रेरित भएको भन्ने धारणा दोहोर्‍याएका छन्।

    मेरिकी न्यायमन्त्रालयले फ्लोरिडास्थित एक अदालत समक्ष छापा मार्ने अनुमतिको लागि जारी गरिएको पुर्जी सार्वजनिक गर्ने दुर्लभ आग्रह गरेको छ। उक्त आग्रह स्वीकार भएको खण्डमा पुर्जी सम्बन्धी कागजपत्रहरू सार्वजनिक रूपमा उपलब्ध हुनेछन्। त्यसले सोमवार ट्रम्पको फ्लोरिडास्थित घरमा तलासी गर्नुको कारण प्रस्ट्याउने छ। के कारणले छापा मार्न खोजिएको हो भन्ने बारे हालसम्म रक्षा मन्त्रालयले केही पनि खुलाएको छैन।

    एफबीआईको छापा पूर्व अमेरिकी राष्ट्रपतिले अभिलेख गरिएका विवरण र गोप्य दस्ताबेजहरू ह्वाइटहाउसबाट अन्यत्र लगेकोबारे अनुसन्धानसँग जोडिएको ठानिएको छ। वासिङ्टन पोस्टले नाम नखुलाएको स्रोतलाई उद्धृत गर्दै पारमाणविक अस्त्रहरूसँग सम्बन्धित कागजपत्रहरू ट्रम्पको मार-ए-लागो घरमा एफबीआईले खोजेकोमध्ये एक दस्ताबेज भएको जनाएको छ। स्रोतले उक्त पत्रिकासँग खोजिएको दस्ताबेजमा अमेरिकी वा अन्य देशको अस्त्रबारे उल्लेख भए या नभएको भने खुलाएन।


    बीबीसीको अमेरिकास्थित साझेदार सीबीएसले स्रोतहरूलाई उद्धृत गर्दै छापा सम्बन्धी पुर्जी सीधा र संक्षिप्त दस्ताबेज भएको जनाएको छ। त्यसमा उक्त पुर्जी किन जारी गरिएको थियो वा एफबीआईले के चाहेको थियो भन्नेबारे कुनै जानकारी समावेश गरिएको छैन। यस विषयमा ट्रम्पले आफ्नो सामाजिकसञ्जाल ट्रथ सोसलमार्फत आक्रोशित प्रतिक्रिया जनाएका छन्।

    ‘परमाणु अस्त्रबारे चर्चा रुसजस्तै मिथ्या हो। रुस पनि मिथ्या हो। दुई महाअभियोग पनि मिथ्या हुन्। मुलर अनुसन्धान पनि मिथ्या हो। यसमा पनि तिनै अनैतिक मानिसहरू संलग्न छन्।’ ट्रम्पसँग अमेरिकी समय अनुसार शुक्रवार तीन बजेसम्म ट्रम्पलाई छापासम्बन्धी पुर्जीको प्रतिवाद गर्ने छुट छ। तर, दस्ताबेजहरू सार्वजनिक प्रकाशन हुने भएपछि उनको भनाइले कस्तो अर्थ राख्छ भन्ने प्रस्ट छैन।

  • न्यूयोर्कमा सलमान रुस्दीमाथि छुरा प्रहार भएको पुष्टी, आइसीयूमा उपचार जारी

    न्यूयोर्कमा सलमान रुस्दीमाथि छुरा प्रहार भएको पुष्टी, आइसीयूमा उपचार जारी

    न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा शुक्रवार आयोजित एक कार्यक्रममा छुरा प्रहार भएपछि चर्चित लेखक सलमान रुस्दीबारे जानकारी सुखद नरहेको उनका प्रतिनिधिले बताएका छन्। उनलाई एक साहित्यिक कार्यक्रममा भाग लिइरहेको अवस्थामा एक व्यक्तिले मञ्चमा उक्लिएर चक्कुले प्रहार गरेका थिए। अहिले उनी भेन्टिलेटरमा रहेको र बोल्न नसक्ने अवस्थामा रहेको एन्ड्रिउ वाइलीले एक विज्ञप्तिमा जनाएका छन्। उनले रुस्दीले एउटा आँखा गुमाउन सक्ने समेत बताए।

    सन् १९८८ मा द साटेनिक भर्जेज पुस्तक लेखेयता रुस्दीले इस्लामिक अतिवादीहरूबाट मृत्युको धम्की खेपिरहेका छन्। प्रहरीले न्यूजर्सीका हादी मतर नाम गरेका २४ वर्षीय सन्दिग्ध व्यक्तिलाई पक्राउ गरेको छ। न्यूयोर्क प्रहरीले ती सन्दिग्ध व्यक्ति रुस्दी र उनीसँग प्रश्न सोधिरहेका व्यक्तिलाई पश्चिमी न्यूयोर्कको सटोअक्ल्वा इन्स्टिच्युसनमा हमला गरेको जनाएको छ। हमलापछि उनलाई हेलिकप्टरमा अस्पताल लगिएको थियो।

    हमलापछि रुस्दीलाई हेलिकप्टरमा अस्पताल लगिएको थियो। ‘सलमानले एउटा आँखा गुमाउन सक्ने देखिन्छ, उनको हातका नशामा नराम्ररी असर पुगेको छ र उनको कलेजोमा छुरा रोपिएको कारण त्यसले काम गरिरहेको छैन,’ उनका एजेन्ट वायलीले भनेका छन्। प्रहरीले अझै हमलाको उद्देश्य र अभियोगहरू पुष्टि गरेको छैन।


    प्रहरीले हमला भएको केन्द्रमा पाएका विद्युतीय उपकरण र झोलाबारे अनुसन्धान गर्न छापा मार्ने आदेशका लागि प्रक्रिया थालेको छ। रुस्दीलाई घाँटी र पेटमा छुरा प्रहार गरिएको अधिकारीहरूले बताएका छन्। उनलाई हेलिकप्टरमा अस्पताल लगिएको थियो। भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ को मिडनाइट चिल्ड्रेन पुस्तकबाट चर्चामा आएका थिए जुन पुस्तक यूकेमा मात्र दश लाखभन्दा धेरै सङ्ख्यामा विक्री भएको थियो। तर उनको चौथो पुस्तक सन् १९८८ मा छापिएको द साटेनिक भर्जेजले उनलाई झण्डै दश वर्ष लुकेर बस्न बाध्य पारेको हो ।

  • विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि न्यूयोर्कमा आक्रमण

    विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि न्यूयोर्कमा आक्रमण

    न्यूयोर्क । विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्क सहरमा सांघातिक आक्रमण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पुष्टी गरेका छन् । न्युयोर्कमा एक कार्यक्रममा बोल्ने क्रममा रुस्दीमाथि आक्रमण भएको छ । आक्रमणपछि रुस्दी भुईँमा ढलेको तस्वीर सार्वजनिक भएको छ । उनीमाथि मुड्की वा चक्कु के प्रहार गरिएको छ भन्ने बारे खुलि नसकेको समाचारमा उल्लेख छ ।

    रुस्दी भुइँमा ढलेपछि कार्यक्रममा उपस्थित अन्य मानिसहरू मन्चमा पुगेर उनलाई उठाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा राखिएका छन् । उनी भारतीय मूलका लेखक हुन् । उनले सटानिक भर्सेस लेखेपछि उनीमाथि यसअघि इरानी धर्मगुरु आयतुल्लाह रुहोल्लाह खोमिनीले फतवाह जारी गरेका छन् ।

  • हेटौडाबाट रविको प्रश्न : झ्याल–झ्याल र कोठा–कोठामा मन्त्रालय किन चाहियो ?

    हेटौडाबाट रविको प्रश्न : झ्याल–झ्याल र कोठा–कोठामा मन्त्रालय किन चाहियो ?

    हेटौडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाग्मती प्रदेशको राजधानी हेटौँडामा एउटै भवनका झ्याल–झ्याल र कोठा–कोठामा मन्त्रालय राखेको भन्दै कडा आलोचना गरेका छन् । प्रदेश संरचना संचालन गर्दा चरम दुरुपयोग गरिएको प्रति उनले विरोध जनाएका हुन् । प्रदेश संरचनालाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने उनको भनाई छ । हेटौँडामा शुक्रवार आयोजित बाग्मती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले प्रदेश सरकारलाई आफ्नो कार्यकर्ता पोस्ने स्थान बनाइएको आरोप लगाए ।

    उनले बाग्मती प्रदेशका १८ जना मन्त्रीलाई साँढेको संज्ञा दिए । ‘१८–१८ जना साँढे किन चाहिन्छ ? यदि यसलाई सही ढङ्गबाट चलाउन सकेको भए, चुस्त तरिकाले चलाउन सकेको भए, यसलाई खर्च कम हुने र नागरिकसम्म पुग्न सकेको भए एउटा अर्को तह हुन सक्थ्यो,’ उनले भने । लामिछानेले नागरिकलाई विभिन्न झुटा आश्वासन देखाएर नागरिककै पसिनाको पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको उल्लेख गरे । मकवानपुरमा सुरुङ मार्गको झुटा आश्वासन देखाएर पैसा खानेहरू र उद्योग कलकारकाखा बन्द गर्नेहरूका खाता खोलेर हिसाब निकाल्ने समय आएको उनको भनाई छ ।

  • सभामुख र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी ?

    सभामुख र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सभामुखको सरकारी निवास, लैनचौरमा शुक्रबार बिहान भएको भेटवार्तामा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध रहेको भन्दै नेपाली भूमि छिमेकी राष्ट्र विरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैं चनाखो र सचेत रहेको बताए ।

    राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिवद्धताको उच्च प्रशंसा गरिन् । नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैब दृढ समर्थन गर्दै आएको बताइन् । राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको सभामुखको निजी सचिवालयले जनाएको छ ।

  • नुहाउने क्रममा महाकाली नदीमा दुई किशोरी वेपत्ता

    नुहाउने क्रममा महाकाली नदीमा दुई किशोरी वेपत्ता

    बैतडी । महाकाली नदीमा नुहाउने क्रममा दुई किशोरी बेपत्ता भएका छन् । बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित मौरामा महाकाली नदीमा नुहाउन गएका किशोरी बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार मौराकै १४ वर्षीया संगिता टमटा र १५ वर्षीया कविता टमटा नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

    उनका अनुसार शुक्रबार दिउँसो करीब २ बजे घरबाट नुहाउन भनेर हिडेका उनीहरुसँगै रहेकी अर्की किशोरीले बेपत्ता भएको खबर गरेकी थिइन् । अहिले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको टोली र स्थानीयहरु बेपत्ता किशोरीको खोजी कार्यमा जुटेको प्रहरीले जनाएको छ ।

  • १२ वर्ष मुनिका बालबालिकालाई कोभिड खोप लगाइँदै

    १२ वर्ष मुनिका बालबालिकालाई कोभिड खोप लगाइँदै

    काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत यही भदौ ५ गतेदेखि देशका विभिन्न ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लक्षित गर्दै कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।

    ५० जिल्लामा रहेका बालबालिकाकामा भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ।

    खोप अभियान सञ्चालन गर्ने जिल्लहरुमा प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुंग, तेह्रथुम र उदयपुर तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोक रहेकका छन् ।

    यसैगरी गण्डकी प्रदेशका बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ तथा लुम्बिनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र पूर्वी रुकुममा सोही अवधिमा खोप लगाइने छ।

    कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख, जाजरकोट रहेका छन्। सुदुरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिकालाई फाइजर खोप दिइनेछ।

    कतिपय स्थानीय तहले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिने भएकाले थप जानकारीका लागि नजिकैको वडा कार्यालय वा विद्यालयमा सम्पर्क गरी खोप लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।

  • निहारिकाले गरिन् राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास

    निहारिकाले गरिन् राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास

    काठमाडौं । निहारिका राजपूतले राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी छन्।

    शुक्रबार दिउँसो करिब सवा ३ बजे उनले आफ्नो जीउमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी हुन् ।

    आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिकाले सुरक्षार्थ तैनाथ प्रहरीले तत्कालै उद्धार गरेका कारण आगो लगाउन पाइनन्।

    शीतल निवासबाट उद्धार गरेर उनलाई उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

    महोत्तरीको जलेश्वर नगरपालिका ९ की सोनालीकुमारी सिंह ‘निहारिका’ यसअघि ८ दिनसम्म अनसनमा बसेकी थिइन्। त्यतिबेला सरकारसँग ५ बुँदे सहमति गरेपछि अनसन तोडेकी थिइन्।

    आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।

    श्रेष्ठलाई जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् । मुद्दा अदालतमा विचाराधीन छ ।

  • नेपालमा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको निधन

    नेपालमा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२९० जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९२ हजार ५६५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५११ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७४ हजार ८०६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५७७५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९८४ पुगेको छ ।

  • मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि ६ सदस्यीय कार्यदल गठन

    मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि ६ सदस्यीय कार्यदल गठन

    काठमाडौं । सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री खाणले गृह मन्त्रालयका सहसचिव डा. भिष्म भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन्।

    कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप– अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य छन् भने सदस्य सचिवमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्का रहेका छन्।

    शुक्रबार बिहान प्रधानमन्त्री देउवाले मिटरब्याजी सम्बन्धी समस्या समाधानका उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिएका थिए।

    कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाउनेछ।

  • वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा आरक्षण स्वीकृत

    वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा आरक्षण स्वीकृत

    काठमाडौं । सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले संगठित संस्थाले जारी गरेको प्राथमिक निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण पाउने निश्चित भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमै यस्तो घोषणा गरेको थियो । यो व्यवस्था कार्यान्वयनका लागि धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली’ संशोधन गरी स्वीकृतिका लागि पठाएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेको हो ।

    मुलुकमा विदेशी मुद्रा सञ्चिति निरन्तर घट्न थालेपछि बैंकिङ प्रणालीबाट भित्रिने रेमिट्यान्सको परिमाण बढाउन सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा आरक्षण दिने व्यवस्था घोषणा गरेको थियो ।

    बोर्डले संशोधन गरी पठाएको नियमावलीमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले आईपीओमा १० प्रतिशत आरक्षण पाउने उल्लेख छ । यो व्यवस्थाअनुसार अब संगठित संस्थाले आईपीओ जारी गर्दा सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएकालाई वितरण गर्नुपर्नेछ । यसरी छुट्याइएको सेयर बिक्री नभएको अवस्थामा मात्र अरूलाई बिक्री गर्न पाइनेछ ।

    वैदेशिक रोजगारीमा गएका नेपालीले आईपीओमा आवेदन दिन नेपालमा आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्स खाता खोल्नुपर्नेछ । त्यही रेमिट्यान्स खातामार्फत सेयरमा आवेदन दिनुपर्नेछ । मन्त्रिपरिषद्बाट नियमावली स्वीकृत भएसँगै अब बोर्डले त्यससम्बन्धी निर्देशिका बनाउनेछ । निर्देशिकामा सेयरमा आवेदन दिने प्रक्रिया, आवश्यक कागजातलगायत सबै कुरा उल्लेख गरिने धितोपत्र बोर्डले जनाएको छ ।

  • युक्रेनको परमाणु केन्द्रमा बमबारी, राष्ट्रसंघको चेतावनी

    युक्रेनको परमाणु केन्द्रमा बमबारी, राष्ट्रसंघको चेतावनी

    काठमाडौं । युक्रेनको जापोरीजा परमाणु ऊर्जा केन्द्रमा थप बमबारी भएको छ । परमाणु केन्द्रमा गरिएको आक्रमणमा रुस र युक्रेन दुवैले एक अर्कालाई आरोप लगाएका छन्। युरोपकै सबैभन्दा ठूलो ऊर्जा उत्पादन केन्द्रको कार्यालय र अग्नि केन्द्रमा १० वटा प्रहार भएको युद्धरत दुवै पक्षले बनाए। यस विषयमा छलफलका लागि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पनि छलफल भइरहेको छ। राष्ट्रसङ्घको परमाणु निगरानी निकाय प्रमुख रफाएल ग्रोसीले आक्रमणलाई गम्भीर समय भएको बताएका छन्।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले घटनाले विपत्ति निम्त्याउन सक्ने बताएको बीबीसीले लेखेको छ । रुसले विश्वकै सबैभन्दा खराब आणविक दुर्घटना निम्त्याउन खोजिरहेको आरोप युक्रेनले लगाएको छ। यो परमाणु ऊर्जा केन्द्र गत मार्चयता रुसको कब्जामा छ। बुधवार औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका विदेश मन्त्रीहरूको बैठकले उक्त ऊर्जा केन्द्रको नियन्त्रण रुसले तत्काल युक्रेनलाई फिर्ता गर्नुपर्ने बताएको थियो।

    अमेरिकाले पनि यो ऊर्जा केन्द्रलाई गैरसैनिक इलाका घोषणा गरिनुपर्ने माग गरेको छ। मध्यपूर्वी युक्रेनमा रहेको यो केन्द्रमा गत साता पनि आक्रमण भएको थियो र आक्रमणमा दुवै देशले एक अर्कालाई आरोपित गरेका थिए। युक्रेनले उक्त केन्द्रमा रुसले सैन्य अखडा बनाएको र प्रतिकार गर्न नमिल्ने भएकाले त्यहाँबाट आक्रमण गरिरहेको आरोप लगाएको छ। तर मस्कोले यसको खण्डन गरेको छ।

    बिहीवार एक वक्तव्य जारी गर्दै युक्रेनको आणविक ऊर्जा निकायले रुसी आक्रमणकारीले पुनः जापोरीजा केन्द्रमा आक्रमण गरेर आतङ्क सिर्जना गरेकोू दाबी गर्‍यो। युक्रेनले प्रशासनिक कार्यालयनजिकै भएको आक्रमणबाट धेरै रेडिएसन सेन्सरहरूमा क्षति पुगे पनि मानिसहरू घाइते नभएको जनाएको छ। त्यहाँको अवस्था अहिले नियन्त्रणमै रहेको दाबी गरिएको छ। उक्त क्षेत्रमा रुसले नियुक्त गरेका अधिकारीहरूले पनि युक्रेनले जस्तै वक्तव्य निकालेका छन् तर उनीहरूले बमबारी युक्रेनले गरेको आरोप लगाएका छन्।

    उनीहरूले युक्रेनी फौजले एकसाथ धेरै रकेट प्रहार गर्न मिल्ने प्रणाली र ठूला तोपहरूको प्रयोग गरेको बताएका छन्। दुवै पक्षको दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन। बिहीवार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् बैठकमा बोल्दै ग्रोसीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईएलाई उक्त परमाणु ऊर्जा केन्द्रको अवलोकन गर्न दिइनुपर्ने माग गरे। ‘यो गम्भीर समय हो। चिन्ताजनक समय हो। आईएईएलाई यथाशक्य छिटो जापोरीजामा जान अनुमति दिइनुपर्छ,’ उनले भने।

  • फिफा विश्वकप निर्धारित मितिभन्दा एक दिन अगाडी सर्यो

    फिफा विश्वकप निर्धारित मितिभन्दा एक दिन अगाडी सर्यो

    काठमाडौं । आगामी नोभेम्बर–डिसेम्बरमा कतारले आयोजना गर्ने फिफा विश्वकप फुटबलको मिति एक दिन अगाडी सरेको छ । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका थियो । तर अब एक दिन अघि अर्थात नोभेम्बर २० मै विश्वकप सुरु हुनेछ । जसमा आयोजक कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ । यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा तेस्रो खेलको रुपमा थियो । जसले गर्दा नेदरल्याण्ड्स र सेनेगलबीचको खेल विश्वकपको पहिलो खेल हुने तय थियो ।

    तर आयोजकले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको हो । आयोजक देश कतार र विश्व फुटबलको सर्वोच्च निकाय फिफाबीचको छलफलपछि खेल एक दिन अघि सारिएको हो । कतार र इक्वेडरबीचको खेल अघिल्लो दिन सारेपछि अब नोभेम्बर २१ मा तीन खेल मात्र हुनेछ । जसमा समूह ‘ए’ का नेदरल्याण्ड्स र सेनेगल तथा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान तथा वेल्स र अमेरिकाबीच खेल हुनेछ । उद्घाटन खेलकै दिन नेपालमा मतदान हुँदैछ ।

  • रक्षा बन्धन तथा जनै पूर्णिमा, देशभर उल्लासमय वातावरणमा मनाईंदै

    रक्षा बन्धन तथा जनै पूर्णिमा, देशभर उल्लासमय वातावरणमा मनाईंदै

    काठमाडौं (रासस) । आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर उल्लासमय वातावरणमा मनाइंदैछ । यस दिन नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाउने गरिन्छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

    सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

    यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

    तागाधारीले यज्ञोपवीत धारण गर्दै

    आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवीत० फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

    स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

    वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको छ ।

    क्वाँटीको परम्पररा

    जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा। शेषराज आचार्य बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनले सुनाए ।

    तराई क्षेत्रमा राखी बाँधिदै

    नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

    यस दिन काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमा दिन बिहानैदेखि मेला लाग्ने लागछ ।

  • आज गाइजात्रा, यस्तो छ मनाउने कारण

    आज गाइजात्रा, यस्तो छ मनाउने कारण

    काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको छ । पर्वको अवसरमा आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।


    नेवारी भाषामा ‘सापारु’ भनिने गाईजात्रा पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । नेपाली संस्कृतिले शोकसँगै हाँसोमा पनि साथ दिन्छ भन्ने प्रतीकात्मक अर्थ बोकेको पर्व हो यो । मृत्युमा शोक मनाउनुपर्नेमा हास्यव्यङ्ग्य गर्ने अनौठो चलन चलिआएको छ ।

    कसरी सुरू भयो ?
    राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ ।

    यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यंग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको भनिने गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ ।

    यद्यपि गाईजात्रा प्रताप मल्लको समयभन्दा अघि नै थालिएको तर्क गर्ने विद्वानहरू पनि छन् । प्रताप मल्लले कुनै पनि अभिलेखमा यो पर्व आफूले शुरू गरेको उल्लेख नगर्नु र गोपालराज वंशावलीमा पनि त्यस्तो उल्लेख नहुनुले यो पर्व कम्तीमा ६०० वर्ष पहिले नै शुरू भइसकेको विद्वानहरूको तर्क छ । ६०० वर्ष पहिले जयस्थिति मल्लको समयको गोपालराज वंशावली ९पत्र ६१० मा ‘साँ यात’ उल्लेख छ । यो भनेको ‘गाईको यात्रा’ हो । यसले गाईजात्रा जयस्थिति मल्लको समयभन्दा पनि पहिल्यै शुरू भएको पुष्टि गर्ने बताइन्छ ।

    गाईजात्राका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

    गाईजात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुरका साथै काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलाम, सुनसरी, मोरङ, पर्सा, कास्की, पाल्पा, दाङलगायतका जिल्लामा पनि धुमधामका साथ मनाइन्छ ।

  • चीनले पुनः बन्द गर्यो नेपालसँगका नाका

    चीनले पुनः बन्द गर्यो नेपालसँगका नाका

    काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेको भन्दै चीनले पुनः एकतर्फी रुपमा नेपालसँगका नाका बन्द गरेको छ । तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको बताइएको छ । नाका बन्द भएपछि तीन दिन अघिदेखि सो नाकाबाट चिनियाँ सामान आयात हुन नपाएको भन्सार कार्यालयले जनाएको छ । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार बुधबारदेखि चीनबाट सामान आयात रोकिएको छ ।

    तिब्बतमा कोभिड संक्रमण दर बढेको भनिए पनि अब कहिले खुल्नेबारे केही जानकारी नआएको कार्यालयले जनाएको छ । सो नाकाबाट दैनिक ४ देखि ८ कन्टेनर चिनियाँ सामग्री नेपाल आयात हुदैंआएको थियो । स्याउ, मेशिनरी उपकरण, रोल कपडा आयात भइरहेका थिए । जुरे पहिरो, भूकम्प, बाढीपहिरो, कोरोना महामारीलगायतका बिपद्का कारण सो नाका बन्द हुने र खुल्ने हुँदैंआएको छ ।

  • चीनबाट फर्किएका परराष्ट्र मन्त्री खड्काले भने : चीनलाई विश्वास दिलाउन सफल भएँ

    चीनबाट फर्किएका परराष्ट्र मन्त्री खड्काले भने : चीनलाई विश्वास दिलाउन सफल भएँ

    काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्का तीन दिने चीन भ्रमण पुरा गरी काठमाडौं फर्किएका छन् । उनले नेपाली भूमि चीनविरूद्ध प्रयोग गर्न नदिनेमा चीनलाई विश्वास दिलाउन आफु सफल भएको प्रतिक्रिया दिए ।

    उनले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले समकक्षी वाङ यीलाई नेपालको भूमि चीनविरूद्ध प्रयोग गर्न नदिनेमा विश्वास दिलाएको बताएका हुन् । नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको समेत उनको भनाई छ । उनी मंगलबार चीन प्रस्थान गरेका हुन् ।

    नेपालले यस भ्रमणका सिलसिलामा नेपाललाई १५ अर्ब रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

  • एमालेले बनायो अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी

    एमालेले बनायो अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी

    काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको हो । समितिमा केन्द्रीय कमिटीका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्षरमहासचिव र विभागका सचिव रहनेछ ।

    ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ । मस्यौदा कमिटीमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनेछन् । सचिवालय बैठकले आगामी ७ भदौमा स्थायी कमिटी, ९ भदौमा पोलिटब्यूरो र १० भदौमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

  • नेपालमा थप ८१५ जना कोरोना संक्रमित थपिए, ५ जनाको निधन

    नेपालमा थप ८१५ जना कोरोना संक्रमित थपिए, ५ जनाको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४११ जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २१२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९२ हजार १४६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७४ हजार २९५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५८६९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९८२ पुगेको छ ।

  • पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा

    पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा

    काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । यसअघि भएका सहमति नेपाल आयल निगमले पालना नगरेको भन्दै व्यवसायीले फेरि आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

    ढुवानी भाडा बढाउन पटक पटक सहमति गरे पनि त्यसलाई कार्यन्वयन निगमले आलटाल गरेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ ।

    ‘आगामी भदौ भदौ १ गतेसम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने छौं’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।

    गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको महासंघको दाबी छ । महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण खर्च गर्नेगरी निगम आफैंलाई ट्यांकर चलाउन पनि आग्रह गरिएको छ ।

    बढेको इन्धनको भाउअनुसार ढुवानी भाडा नबढेको भन्दै ट्रक ट्यांकर व्यवसायीहरु गत वर्ष देखि नै आन्दोलित छन् ।

  • रोकिएन नेपाली शेयर बजारको ओरालो यात्रा, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    रोकिएन नेपाली शेयर बजारको ओरालो यात्रा, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजारको आरोलो यात्र कायमै रहेको छ ।

    कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १९.०६ अंकले घटेर २०३७.८३ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२३ कम्पनीको १ अर्ब ७६ करोड १० लाख २३ हजार ३८ रुपैयाँ बराबरको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोवार रकम पनि घटेको छ । बुधवार १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक बाँकी सबैको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.३८ प्रतिशतले घटेको छ ।

    घट्दो बजारमा हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । बुद्धभूमिको ७.५७ र हिमालयन एभरेष्ट इन्सोरेन्सको ५.९४ प्रतिशत घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज ७ करोड २७ लाख भन्दा बढीको कारोबार भएको छ ।

    हिमालय डिस्टिलरीको ६ करोड १२ लाख र नेष्डो लघुवित्त ५ करोड बढीको कारोबार भएको छ ।

  • ताइवान आसपास चीनको सैन्य अभ्यास पूरा

    ताइवान आसपास चीनको सैन्य अभ्यास पूरा

    काठमाडौं\बीबीसी । अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप सुरु गरिएको करिब एक साता लामो सैन्य अभ्यास पूरा भएको चीनले जनाएको छ। चीनको सेनाले स्वशासित ताइवान वरपरको क्षेत्रमा गस्ती जारी रहने जनाउँदै यसअघिको हवाई र सामुद्रिक कारबाही सफल भएको बताएको छ। ताइवानलाई आफ्नो छुट्टिएको प्रान्त रहेको र कुनै समय बल प्रयोग गरेर मूल भूमिमै समायोजित गर्न सकिने ठान्दै आएको चीन उक्त टापुमा भएको पलोसीको छोटो भ्रमणले आक्रोशित भएको थियो।

    ताइवानले आक्रमणको पूर्वतयारी स्वरूप सैन्य अभ्यास गरेको आरोप चीनमाथि लगाएको छ। ताइवान सरकारले चिनियाँ सार्वभौमसत्ताको दाबीलाई अस्वीकार गर्दै आएको छ र यो क्षेत्र चिनियाँ मूल भूमिभन्दा फरक रहेको ठान्दै आएको छ। बेइजिङ भने यो टापुलाई अन्तर्राष्ट्रिय स्तरमा एक्लाउन चाहन्छ। अमेरिकी सभामुख पलोसी सन् १९९० को दशक यता ताइवान भ्रमण गर्ने सबैभन्दा उच्च अमेरिकी अधिकारी हुन्। चीनको चेतावनी बेवास्ता गर्दै उनी गत साता ताइवान भ्रमणमा निस्किएपछि दुई देशबीच तनाव बढेको थियो।

    उग्र प्रतिक्रिया जनाएको चीनले चार दिनसम्म गोलाबारीको अभ्यास, पनडुब्बी प्रतिरोधी आक्रमण गर्नुका साथै समुद्री आक्रमणको अभ्यास गरेको थियो। चीनको पिपल्स लिबरेशन आर्मीले एक वक्तव्य जारी गर्दै चीन र ताइवानबीचको समुद्री क्षेत्रमा नियमित युद्ध तयारी गस्तीहरू गरिने जनाएको छ। ताइवानको रक्षा मन्त्रालयले ३६ वटा चिनियाँ सैन्य विमान र १० वटा पानीजहाज चीन र ताइवानबीच रहेको साँघुरो सामुद्रिक मार्गमा अझै पनि परिचालित रहेको बुधवार जनाएको छ। बुधवार चीनको ताइवान मामिला कार्यालयले उक्त टापु चीनमा गाभ्न बल प्रयोग हुनसक्ने कुरा अस्वीकार गरेको थिएन।

    ‘हामी पृथकतावादी तत्त्वहरूलाई उक्साउने वा बाहिरी शक्तिहरूले हाम्रो रातो सीमा पार गर्ने कामको प्रतिक्रियामा कठोर कदम चाल्न बाध्य हुनेछौँ,’ ताइवानबारे २० वर्षयता पहिलो पटक सार्वजनिक गरिएको चिनियाँ श्वेतपत्रमा भनिएको छ। चिनियाँ नीतिबारेको यो कागजातले ताइवान फिर्ता लिइएको अवस्थामा त्यहाँ सेना र प्रशासन नपठाउने विगतको प्रतिज्ञा उल्टाएको छ।

    बेइजिङले यो टापुलाई यसअघि वाचा गरिएजस्तो स्वायत्तता नदिने नियत राखेको यसले सङ्केत गरेको छ। हालै गरिएका सर्वेक्षणहरूमा बहुमत जनताले ताइवानमा प्रजातन्त्र, स्वतन्त्र सञ्चारमाध्यम चाहेको र कम्युनिस्ट शासन रहेको चीनसँगको कुनै पनि प्रकारको एकीकरण नचाहेको बताएका थिए।

  • काठमाडौं–केरुङ रेलमार्ग बन्ने सम्भावना बढेको हो ?

    काठमाडौं–केरुङ रेलमार्ग बन्ने सम्भावना बढेको हो ?

    काठमाडौं । चिनियाँ भ्रमणमा रहेका परराष्ट्र मन्त्री नारायण खड्कासँगको औपचारिक भेटमा चीनका विदेश मन्त्री वाङ यीले दिएको आश्वासनपछि काठमाडौं–केरुङ रेलमार्ग बन्ने सम्भावना बढेको छ । चीनले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । यो आयोजना अहिले पनि अन्यौलमा छ । चीनले आश्वासन मात्र दिएको आशंकाका बीच पुनः यो आयोजनाले गति लिने अपेक्षा गरिएको छ । भेटमा चीनले नेपाललाई भौतिक पूर्वाधार, विपद् व्यवस्थापन र स्वास्थ्य सामग्री लगायतका विभिन्न शीर्षकमा चीनले १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने घोषणा समेत गरेको छ ।

    यसअघि काठमाडौं–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न नेपाल र चीनबीच सहमति भएको थियो । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला दुई देशका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यसमा दुई देशका उच्च अधिकारी सहमत थिए । तर त्यसपछि अध्ययनका लागि चिनियाँ प्राविधिक टोली आएको छैन ।

    काठमाडौं–केरुङ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भने २०७५ मंसिरमै भएको थियो । २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो । उक्त समयमा रेलमार्गको काम चाँडै सुरु गर्नेबारे दुवै देशका उच्च अधिकारी तयार भएका थिए । रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी रहन्छ । रेलमार्गमा ९८ प्रतिशत पहाड पर्छ, जसलाई छेडेर रेलमार्ग बनाउनु पर्नेछ ।

  • निर्वाचनको तयारीमा जुट्यो एकीकृत समाजवादी

    निर्वाचनको तयारीमा जुट्यो एकीकृत समाजवादी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ।
    शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रियाबारेमा प्रस्ताव तयार गर्न महासचिव वेदुराम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ।

    पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी कार्यालय सचिव तथा उपमहासचिव गङ्गालाल तुलाधरलाई दिएको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत सचिवालय सदस्यको सहभागिता रहेको सो बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको घोषणापत्र तयार गर्ने जिम्मेवारी उपमहासचिवत्रय गङ्गालाल तुलाधार, विजय पौडेल र प्रकाश ज्वालालाई दिएको छ ।