Category: फिचर

  • कतारस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई टिका-प्रसाद वितरण गर्ने

    कतारस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई टिका-प्रसाद वितरण गर्ने

    काठमाडौं । कतारस्थित नेपाली दूतावासले दशैंको टीका–प्रसाद वितरण गर्ने भएको छ । दोहास्थित दूतावासले कतारमा रहेका नेपालीलाई दूतावासमा टीका–प्रसाद ग्रहण गर्ने कार्यक्रम राखेको दूतावासले जनाएको छ । ऐन खालिदा दोहामा १९ असोज ९बुधबार०का दिन टीका–प्रसाद वितरण गर्नेछ । टिका ग्रहणको कार्यक्रम स्थानीय समय अनुसार साढे १० बजेबाट १२ बजेसम्म चल्ने दूतावासको भनाइ छ ।

  • समानुपातिकको सूचि सच्याउने सीमा आज

    समानुपातिकको सूचि सच्याउने सीमा आज

    काठमाडौं\रासस । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि बाँकी साना १२ दलले आज संशोधित सूची बुझाउँदैछन्। आयोगले संशोधित सूची बुझाउन ती दललाई दिएको सात दिनको अवधि आज सकिँदैछ।

    उक्त प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत ठूला दलले शनिबार नै आफ्नोतर्फको संशोधन पेस गरिसकेका छन्। आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि यही असोज ४ देखि ९ गतेसम्म सूची पेस गर्ने राजनीतिक दललाई आग्रह गरेको थियो।


    आयोगको सुझावबमोजिम ती दलले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्नेछ। सम्बन्धित दललाई संशोधनका लागि पत्र पठाएको मितिले सात दिनभित्र संशोधन पेस गर्नुपर्ने आयोगका सचिव एवं उक्त प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले बताए।

    संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने, सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने, असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएका कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम छ।

    यस्तै यही असोज २२ गते उम्मेदवारको बन्दसूचीमा सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, आगामी कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने कार्यक्रम छ।

    यी सबै कार्य बहादुर भवनस्थित आयोगको कार्यालयबाट हुनेछ। आयोगले सो प्रणालीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरी यही असोज २ र ३ गते उक्त बन्दसूची पेस गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको थियो ।

  • दशैं : गतवर्ष भन्दा दोब्बर मानिसले छाडे काठमाडौं

    दशैं : गतवर्ष भन्दा दोब्बर मानिसले छाडे काठमाडौं

    काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। राससका अनुसार यो महिनाको सुरूदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैं मनाउन आ–आफ्नो घर गएका हुन्। विगत दुई वर्ष कोभिडका कारण दसैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको संख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो। उपत्यकाबाट बाहिरका जिल्लाहरूमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरिरहेको राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपालका अध्यक्ष विजय स्वाँरले बताए।

    अहिलेसम्म १७ लाखको हाराहारीमा नागरिकले उपत्यका छाडेका छन् भने विजया दशमीको दिनसम्ममा अझै दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ। ‘विभिन्न कारणले जान नपाएकाहरू पनि भोलि र पर्सिसम्म जानुहुन्छ,’ उनले भने। विगतका वर्ष जस्तै यो वर्ष पनि सवारी साधनमा तोकिएकोभन्दा बढी भाडा लिने, एउटै सिटमा दुई जनाको टिकट काट्ने, यात्रुलाई टिकट काट्दाको भन्दा फरक सिटमा राख्नेलगायतका समस्या यात्रुले भोगिरहेका छन्।

    कतिपय यात्रुले पहिले नै टिकट नकाटेर बीच बाटोबाटै गाडी चढ्दा बढी भाडा लिएको हुनसक्ने अध्यक्ष स्वाँरले बताए। सवारीसाधनहरूले सामान्य अवस्थामा प्रतिस्पर्धा हुँदा तोकिएकोभन्दा कम भाडामा समेत यात्रु बोक्ने भए पनि अहिले तोकिएको लिइरहेको उनको भनाइ छ। काठमाडौंबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरहरूबाट र जिल्ला सदरमुकामहरूबाट पनि धेरै यात्रु आ(आफ्नो घर जाने गरेका छन्। कतिपय यात्रु काठमाडौं बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो संख्या कम रहेको महासंघले जनाएको छ। आमनागरिकले उपत्यकाबाट सबै बस भरिएर गएको देखे पनि फर्किएर आउँदा खालीजस्तै हुने उनले बताए।

    सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारी साधनलाई दिनुपर्ने महासंघले सरकारसमक्ष माग गर्दै आएको थियो। शनिबारदेखि नै अति आवश्यक पर्ने सामान ल्याउने बाहेक अठार र बीस चक्के सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। विभागले यही असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ।
    दसैं, तिहार, छठसँगै निर्वाचनमा जाने यात्रुहरू यो अवधिमा बाहिरिने महासंघले जनाएको छ। यो वर्ष दसैं चाँडो परेकाले देशभरका धेरै सडकमा खाल्डाखुल्डी र पहिरो हटिसकेको छैन। दसैंलाई लक्षित गरी भदौदेखि नै मर्मत सुरू गरिएको भए पनि वर्षा अझै पूर्णरूपमा हटिनसकेकाले सबैतिरको सडक मर्मत गर्न कठिन भएको सडक विभागले जनाएको छ।

  • दशैंको महाअष्टमी आज, दूर्गा भवानीको पूजा गरिँदै

    दशैंको महाअष्टमी आज, दूर्गा भवानीको पूजा गरिँदै

    काठमाडौं\रासस। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।

    आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

    ‘सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशु बलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशु बलि पनि शास्त्रीय हो’, उनले भने ।

    ब्राह्मणका लागि भने पशु बलि वर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशु बलिको महत्व रहेको धर्मशास्त्रविद्हरुको भनाइ छ ।

    दुर्गा सप्तशती चण्डीको आठौं अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशु बलिलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताउँछन् ।

    ‘राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशु बलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ’, उनले भने । यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ । यसै कारण आजको दिन विधिपूर्वक पशु बलि दिइने गरिएको हो ।

    आजैका दिन राति कालरात्रिका रूपमा पशु बलिको विधि र पूजाआराधनासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

    आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानदेखि भीड लाग्ने गर्छ ।

    यसैगरी उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ ।

    आजको दिन कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।

    देवीका शस्त्रअस्त्रसहित चतुरङ्गीणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशु बलि नचढाउनेहरुले भने आज पूजा कोठामा आ–आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।

    महाअष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ । कोरोना महामारीका कारण विसं २०७७ मा भने हनुमानढोकामा बलिसहित पूजा रोकिएको थियो ।

  • १९६४ मा पेरु र अर्जेन्टिनाबीचको फुटबल हिंसा सम्झाउने घटना इण्डोनेसियामा, १७४ मारिए

    १९६४ मा पेरु र अर्जेन्टिनाबीचको फुटबल हिंसा सम्झाउने घटना इण्डोनेसियामा, १७४ मारिए

    जाकार्ता । हुलदङ्गामा उत्रिएका फुटबल समर्थकमाथि प्रहरीले अश्रुग्याँस हानेपछि इन्डोनेसियाको एक फुटबल खेल मैदानमा भएको भागदौडमा कम्तीमा १७४ जनाको मृुत्यु भएको छ । बीबीसीका अनुसार अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा पराजित भएको एउटा खेलपछि भएको भागदौडमा करिब १८० जना घाइते भएका छन्। यो घटनाले सन् १९६४ मा लिमामा पेरु र अर्जेन्टिनाबीच भएको ओलिम्पिक छनौट खेलमा भएको हिंसा सम्झाएको छ ।

    उक्त हिंसामा ३२० जनाको ज्यान गएको थियो भने एक हजार भन्दा बढी घाइते भएका थिए। सन् १९८५ मा लिभरपुल र युभेन्ट्सबीच युरोपियन कप फाइनल चलिरहँदा एउटा पर्खाल भत्किँदा त्यसले थिचिएर बस्रल्सस्थित एउटा रङ्गशालामा ३९ जनाको निधन भएको थियो। त्यसबेला ६०० जना घाइते भएका थिए। सन् १९८९ मा यूकेमा एफए कपको सेमिफाइनलको समयमा सेफिल्डस्थित एउटा रङ्गशालामा भागदौडको परिस्थिति निम्तिँदा ९७ जना लिभरपुल समर्थकहरूले ज्यान गुमाएका थिए।


    शनिबार खेल सकिएको सिट्ठी बजेपछि फुटबल समर्थकहरू मैदानमा प्रवेश गरिरहेका भिडिओ फुटेज इन्टरनेटमा सार्वजनिक भएका छन्। प्रहरीले त्यसपछि अश्रुग्याँस प्रहार गरेको थियो। जसले गर्दा भागदौड मच्चियो र मानिसहरू निसासिन पुगेको पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले बताएका छन् । ज्यान गुमाउने मध्ये दुई जना प्रहरी अधिकारी रहेको उनले जानकारी दिए। मृतकमध्ये ३४ जनाको रङ्गशाला भित्रै निधन भएको थियो। ‘उनीहरू एउटै बाहिरिने विन्दुमा गए, त्यहाँ ठूलो भिड भयो र अक्सिजनको अभावले गर्दा सास फेर्न गाह्रो हुने अवस्था आएको हो, अफिन्टाले बताए।

    सामाजिक सञ्जालका भिडियोमा मृतकको शव भुइँमा रहेको देखिन्छ। इन्डोनेसियाका प्रमुख सुरक्षा मन्त्रीले ४० हजार मानिस अटाउने उक्त रङ्गशालामा क्षमताभन्दा बढी मानिसहरू रहेको बताएका छन्। प्रहरी प्रमुख अफिन्टाका अनुसार समर्थकहरू अराजक हुँदै प्रहरी अधिकारीहरूलाई आक्रमण गर्न र कारहरूमा क्षति पुर्‍याएका थिए।


    इन्डोनेसियाको फुटबल सङ्घले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। इन्डोनेसियाको प्रमुख लीग बीआरआई लीगा १ लाई एक हप्ताको लागि निलम्बन गरिएको छ। इन्डोनेशियाको फुटबल एसोसिएशनले शनिवार राति विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दुख व्यक्त गरेको छ र सो विषयबारे अनुसन्धानका लागि एउटा टोली मलंग पठाएको उल्लेख गरेको छ। यो घटनापछि अरेमा एफसीमाथि यो सीजनभरलाई प्रतिबन्ध लगाइएको छ ।

  • अष्ट्रेलियादेखि अमेरिकासम्म निर्यात हुन्छ नेपाली अचार

    अष्ट्रेलियादेखि अमेरिकासम्म निर्यात हुन्छ नेपाली अचार

    काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा नेपालले पाँच मुलुकलाई ४८ हजार किलोभन्दा धेरै तयारी अचार निर्यात गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार घरेलु उद्योगमा बनेको विभिन्न प्रकारका अचार अष्ट्रेलिया, इटाली, दक्षिण कोरिया र अमेरिका निर्यात भएको हो । नेपालबाट मुला, मासु, टिम्मुर, मिक्स भेजिटेबल लागयतका परिकारबाट बनाइएको अचार धेरै बिक्री हुने गरेको छ ।

    साउन र भदौमा ४८ हजार ८९२ किलो अचार बिक्रीबाट नेपालले २ करोड ७१ लाख ८४ हजार रुपैयाँ नगरद आर्जन गरेको छ । जुन गत वर्षको वार्षिक अचार कारोबार बराबर हो । आर्थिक वर्ष २०७८–०७९ मा नेपालबाट ५९ हजार ९८४ किलो अचार निर्यात भएको थियो । उक्त निर्यातबाट नेपालले ३ करोड ८६ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको थियो ।

  • देशभरका दशैं घरमा भित्राइयो फूलपाती

    देशभरका दशैं घरमा भित्राइयो फूलपाती

    काठमाडौं । आइतबार देशभरका दशैं घरमा फूलपाती भित्राइएको छ । काठमाडौंको हनुमान ढोकासहित देशभरका शक्तिपिठमा आज फूलपाति भित्राइएको हो । हनुमानढोकामा गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमानढोका दरबारका पुजारीले साँझ दशैं घरमा भित्र्याएका हुन् ।

    गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समेत गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेको थियो । सेना तथा प्रहरीले देशभरका शक्तिपिठमा फूलपाती भित्राउने क्रममा सलामी दिएका थिए ।

  • इण्डोनेसियामा फुटबल खेलका दौरान हिंसा, कम्तिमा १२९ को मृत्यु

    इण्डोनेसियामा फुटबल खेलका दौरान हिंसा, कम्तिमा १२९ को मृत्यु

    जाकार्ता । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तिमा १२९ जनाको मृत्यु भएको छ । १८० भन्दा बढी घाइते भएका कारण मृतकको संख्या बढ्न सक्ने समाचार एजेन्सीहरुले बताएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार खेलका क्रममा भएको हिंसा भएको थियो ।

    रोयटर्सका अनुसार इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा यस्तो हिंसा भएको बताएको छ । हार्ने पक्षका समर्थकले पिचमा आक्रमण गरे बताइएको छ । भीड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास हानेको थियो । मृत्यु हुनेमा खेलाडी परे नपरेको पुष्टी भइसकेको छैन ।

  • काठमाडौंको बाङ्गेमुडामा मेयर बालेनविरुद्ध किन सडकमा उत्रिए स्थानीय ?

    काठमाडौंको बाङ्गेमुडामा मेयर बालेनविरुद्ध किन सडकमा उत्रिए स्थानीय ?

    काठमाडौं । काठमाडौंको बांगेमुढामा मेयर बालेन साहविरुद्ध नाराबाजी तथा पुत्ला दहन भएको छ । सामुदायिक भवन (थायमदु त्वाःछे) मा काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका हुन् । उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरे । डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाउँदै उनीहरु विरोधमा उत्रिएका थिए ।

    स्थानीयले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् । महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् । स्थानीय वासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन साय्मी पनि पुगेका थिए ।

  • आज फूलपाती, शुरु भयो दशैंको बिदा

    आज फूलपाती, शुरु भयो दशैंको बिदा

    काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।

    नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ । ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्’, धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले भने ।

    फूलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्राउन साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । आजैका दिनदेखि सरकारी कार्यालयहरु पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्ति सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।

    काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ ।

    जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । हनुमानढोकामा यस वर्षको फूलपाती आइतबार अपराह्न भित्राइने कार्यक्रम रहेको छ ।

  • युक्रेनका चार भू-भाग रुसमा गाभिए, अमेरिकाले गर्यो चर्को आलोचना

    युक्रेनका चार भू-भाग रुसमा गाभिए, अमेरिकाले गर्यो चर्को आलोचना

    काठमाडौं\बीबीसी । अन्तर्राष्ट्रिय निन्दा हुनेगरी रुसले युक्रेनका चारवटा अधीनस्थ क्षेत्रहरूलाई औपचारिक रूपमा रुसमा गाभेको छ। शुक्रवार क्रेम्लिनको सेन्ट जोर्जेज् हलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मस्कोले स्थापना गरेका नेताहरूका साथ त्यससम्बन्धी सन्धिहरूमा हस्ताक्षर गरेका थिए। पुटिनले रुसले सबै तरिकाबाट आफ्नो नयाँ भूभागको रक्षा गर्ने र ती नयाँ क्षेत्रहरूमा सुरक्षा बढाउने बताएका छन्।

    कुलीन रुसी राजनीतिज्ञ र सेनासँगको भेलामा बोल्दै उनले त्यो कुरा बताएका हुन्। उनले युक्रेनलाई सैन्य कारबाही रोक्न र वार्ताको टेबुलमा फर्किन आह्वान पनि गरेका छन्। प्रतिक्रियास्वरूप किएभले भने उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्य हुनका लागि एउटा नयाँ र छिटो हुने प्रक्रियाका लागि प्रयास थालेको छ। आफ्ना प्रधानमन्त्री र संसदका सभामुखसाथ रहेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन लामो समयदेखि उक्त सुरक्षा सङ्गठनको डी फ्याक्टो (विधानतः नभए पनि व्यवहारमा) सदस्य रहेको बताउँदै सीमालाई परिवर्तन गर्ने मस्कोले हत्या, झुक्काउने काम, गलत व्यवहार र झूट प्रयोग गरेको आरोप लगाए।


    शुक्रवारको घोषणापछि राष्ट्रपति जो बाइडनले रुसलाई चेतावनी दिँदै अमेरिका रुसको धम्कीबाट नडराउने बताएका छन्। राष्ट्रपति पुटिनले रुसमा बलपूर्वक गाभिएका रुसी भूभागको रक्षाका लागि परमाणुअस्त्र प्रयोग गर्ने अप्रत्यक्ष धम्की दिएको देखिन्छन्। राष्ट्रपति बाइडनले रुसी समकक्षीका दुस्साहसिक शब्द र धम्कीको आलोचना गर्दै पुटिनले आफूहरूलाई तर्साउन नसक्ने बताए।

    ‘अमेरिका र उसका साझेदारहरू भयभीत हुनेछैनन्’ राष्ट्रपति बाइडनले ह्वाइटहाउसमा भने। त्यसपछि उनले क्यामरातर्फ औँला ठड्याउँदै रुसी राष्ट्रपतिलाई चुनौती दिए। ‘नेटो भूभागको प्रत्येक इन्च रक्षाका लागि अमेरिका उसका साझेदारसँग पूर्ण रूपमा तयार छ’ उनले पश्चिमा सुरक्षा सङ्गठनको प्रसङ्ग निकाल्दै भने, ‘मिस्टर पुटिन, मैले भनिरहेको कुरालाई गलत नबुझ्नू, प्रत्येक इन्च।’


    त्यसको केही बेरमा बाइडनका एक वरिष्ठ राष्ट्रिय सुरक्षा सल्लाहकारले मस्कोले परमाणुअस्त्रको सहारा लिने सम्भावना रहेको रहेको त्यो तत्कालको जोखिम भने नरहेको जनाए। ती क्षेत्रमा गरिएका जनमतसङ्ग्रह छद्म भन्दै निन्दा भइरहेको छ । संयुक्त राष्ट्रसङ्घ, युक्रेन र उसका साझेदारहरूले ती जनमतसङ्ग्रहलाई गैरकानुनी भन्दै आलोचना गर्दै आएका छन्। गाभिएका क्षेत्र रुस नियन्त्रित डोनेट्स्क, लुह्यान्सेक, खेअरसन र जापोरीजा हुन्। ती क्षेत्रलाई रसियन फेडरेशनमा समाहित गर्ने औपचारिक प्रक्रिया आउँदा केही दिनमा हुनेछन् ।

  • नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार माथि

    नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार माथि

    काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार जना नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनदेखि आजसम्म नेपालमा ३० हजार एक सय ८६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यो सरकारी अस्पताल र प्रयोगशालामा पुष्टि भएको संख्या हो । यस्तै २४ घण्टामा डेंगीका कारण एक जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३९ जना पुगेको छ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी संक्रमणबाट जोगिनु एकमात्र उपाय हो ।

  • एमाले मात्र राष्ट्रिय पार्टी हो : अध्यक्ष ओली

    एमाले मात्र राष्ट्रिय पार्टी हो : अध्यक्ष ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको दावि गरे ।

    अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ, यो रिले रेस होइन म्याराथन दौडिने पार्टी हो।’ उनले यो ढोडको लौरो टेक्ने पार्टी होइन आफ्नै खुट्टामा भर परेर हिँड्ने पार्टी भएकाले आगामी निर्वाचनमा बहुमत ल्याउने जिकिर गरे।

    अध्यक्ष ओलीले एमालेको एजेण्डाले देश, जनता, शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, विकास र जनताको सेवा एवं हितलाई सम्बोधन गर्ने भएकाले निर्वाचनमा जनताले यसैको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे।उनले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा केही सिटमा अन्य विचार मिल्ने पार्टीसँग सहमति कायम हुनेसक्ने बताए।

    रासस

  • जगडोलमा चङ्गाचेट

    जगडोलमा चङ्गाचेट

    काठमाडौं । काठमाडौं उपत्यकाकै सुन्दर पर्यटकीय स्थल जगडोलमा तेश्रो चङ्गाचेट प्रतियोगिता सम्पन्न भएको छ । लगातार दुुई वर्ष कोभिडका कारण रोकिएको चंगाचेट र सांस्कृतिक कार्यक्रम यस वर्ष भने भब्य रुपमा सम्पन्न भएको आयोजक यज्ञडोल जगडोल युवा क्लबका अध्यक्ष सञ्जय पौडेलले जानकारी दिए ।

    बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ जगडोलस्थित झण्डा पार्कमा कार्यक्रम आयोजना गरिएको हो । हरेक वर्ष बडा दसैंको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा परम्परा जोगाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गर्न थालिएको अध्यक्ष पौडेलले बाए । कार्यक्रमको शुभारम्भ संयुक्त रुपमा पानसमा बत्ती बाल्दै वडा अध्यक्ष राजु अधिकारी र क्लबका सभापति सञ्जय पौडेलले गरेका थिए ।

    चङ्गाचेट प्रतियोगितामा कुल ४५ प्रतिस्पर्धीले भाग लिएका थिए । जसमा प्रथम स्थान मिर्मिरे बिहानले हात पार्न सफल भए । श्रवण श्रेष्ठ दोस्रो बने । कार्यक्रमलाई तीन समुह बिभाजन गरेर प्रतियोगित आयोजना गरिएको थियो । दसैं लागेसँगै चङ्गा उडाउने परम्परा आधुनिकताका नाममा मसिदै गएका कारण यो परम्परा जोगाउन समेत कार्यक्रम गरिएको पौडेलको भनाई छ ।

  • धादिङमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

    धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै शनिबार दिउँसो ट्रक दुर्घटनामा पर्दा दुई जनाको मत्यु भएको छ । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताएका छन् ।

    दुर्घटनामा कपिलवस्तु तौलिहवाका २५र२६ वर्षका सद्दाम अन्सारी र सोही ठाउँका ३५ वर्षका इन्द्रजित पासीको मृत्यु भएको उनले बताए । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको धादिङ जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटना घाइते भएका ८ जनाको धादिङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    सल्यानटारमा यही असोज २८ गतेदेखि हुने महोत्सवका लागि स्टल बनाउन रड,फलामका सामानहरु बोकेको ट्रक आफैं अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई उद्धार गरी धादिङ अस्पताल पठाएका थिए ।

  • बलात्कारको झुटो जाहेरी दिएपछि एक महिला पक्राउ

    बलात्कारको झुटो जाहेरी दिएपछि एक महिला पक्राउ

    काठमाडौं । बलात्कारको झुटो जाहेरी दिएपछि भक्तपुरमा एक महिला प्रहरीको फन्दामा परेकी छिन् । नवलपरासीको वर्दघाट चिसापानी घर भई काठमाडौंको जडिबुटी डेरा गरी बस्ने ३४ वर्षकी महिलाले झुटो जाहेरी दिएको पुष्टी भएपछि पक्राउ परेकी हुन् । प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेलाई उदृत गर्दै सञ्चारमाध्यमले यस्तो जानकारी गराएका छन् ।

    ती महिलाले आफूलाई भक्तपुरको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनि प्रहरी वृत्त थिमीमा जाहेरी दिएकी थिइन् । तर उक्त निवेदन उपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको र उक्त पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त दिएको फेला परेको डीएसपी पाण्डेले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीको
    भनाई छ ।

  • नेपाल आएर आत्मसमर्पण गर्ने सन्दीपको तयारी

    नेपाल आएर आत्मसमर्पण गर्ने सन्दीपको तयारी

    काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पणको तयारी गरेका छन् । किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै सम्पर्कविहिन रहेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गरेका छन् । जसमा उनले आफुले नेपाल फर्किएर आत्मसपर्पण गर्ने उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने समेत जनाएका छन् ।

    उनले आफुमाथि झुटा आरोप लगाइएको समेत बताएका छन् । ‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनको भनाई छ । उनी क्यारेवियन लीग खेल्न गएकै समयमा नेपालमा उजुरी परेको हो ।

  • तिब्बतको सीमानामा पर्ने नेपाली गाउँ हिल्सामा सोलारबाट विजुली

    तिब्बतको सीमानामा पर्ने नेपाली गाउँ हिल्सामा सोलारबाट विजुली

    हुम्ला । तिब्बत सीमामा पर्ने नेपाली गाउँ हिल्सामा एक सय किलोवाट सौर्य विद्युत् उत्पादन भएको छ । सोलार मिनी ग्रिडबाट विद्युत् उत्पादन भएसँगै हिल्सावासीको उज्यालोमा बस्ने सपना पूरा भएको छ । यो आयोजनाको मुख्य लगानीकर्ता ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले सोलार मिनी ग्रिडबाट हिल्सामा एक सय किलोवाट विद्युत् उत्पादन सुरु भएको बताएका छन् ।

    उपभोक्ताले घरमा बिजुली बाल्न सुरु गरिसकेको सरकारी सञ्चारमाध्यम गोरखापत्रले जनाएको छ । थापाका अनुसार एक वर्षअघिदेखि यो आयोजनाको निर्माण तथा सौर्य प्यानल खरिद, ढुवानी र जडानका लागि निर्माण कम्पनीसँग सम्झौता भए पनि हिमपातका कारण सामान ढुवानी गर्न नसकिएकाले काम ढिलो भएको थियो । अब नेपाली भूभाग हिल्सामा पनि पूर्ण रूपमा विद्युतीकरण भएको बताउँदै उनले हिल्साका एक सय घरधुरी प्रत्यक्ष लाभान्वित भएको जानकारी दिए ।

    हिल्सावासीका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरीका सीमा सुरक्षा चौकीलाई समेत अब विद्युत्को समस्या समाधान भएको छ । उक्त मिनी ग्रिडका लागि नेपाल सरकार, नाम्खा गाउँपालिका, फिनल्यान्ड सरकार र युरोपियन युनियनको गरी साढे चार करोड रुपियाँ खर्च भएको छ ।

    हिल्साका होटल व्यवसायी कर्मा लामाले सौर्य विद्युत् उत्पादन भएपछि यसअघि व्यक्तिगत खर्चमा राखिएका सौर्य प्यानल, मैनबत्ती वा टुक्की बाल्नुपर्ने हिल्सावासीको बाध्यता अब हटेको बताए । मिनी ग्रिडबाट विद्युत् उत्पादन सुरु भएपछि त्यसको जिम्मेवारी हिल्सा सोलार मिनी ग्रिड सहकारी संस्थालाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

  • सल्यानमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु

    सल्यानमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु

    सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको हो । दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    उकालोमा ब्याक गर्ने क्रममा दुर्घटना हुँदा जिप सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिएका छन् । दुर्घटनामा परी घाइते भएकाहरूको उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याइँदै गरेको र घाइते कति छन् भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

  • काभ्रेमा दशैंभर टिपर चलाउन रोक

    काभ्रेमा दशैंभर टिपर चलाउन रोक

    काभ्रे । चाडपर्वमा सडकमा सवारी साधनको चाप र सुरक्षालाई दृष्टिगत गरी दसैं अवधिभर काभ्रे जिल्लामा टिपर सञ्चालनमा रोक लगाइएको छ। दसैं मनाउन काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोकको रुट भएर जिल्ला बाहिर जाने–आउने सवारीसाधन र यात्रुको चापलाई मध्यनजर गरी शुक्रबारदेखि असोज २४ गतेसम्म जिल्लाभित्र टिपर नचलाउने निर्णय भएको हो।

    काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलेको अध्यक्षतामा बसेको सार्वजनिक यातायात व्यवसायीहरूको बैठकले यस्तो निर्णय गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार बीपी राजमार्ग भएर पूर्वी जिल्ला जाने सवारीको यान्त्रिक परीक्षण गरेको छ । यस्तै अरनिको राजमार्ग र बीपी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधनमा ‘टाइम कार्ड’ लागू गरिएको छ।

  • मौसम विभागको दशैं लक्षित बुलेटिन : नवमीबाट ठूलो पानी पर्ने प्रक्षेपण

    मौसम विभागको दशैं लक्षित बुलेटिन : नवमीबाट ठूलो पानी पर्ने प्रक्षेपण

    काठमाडौं । यस वर्षको मनसुन एक साता धकेलिने प्रक्षेपणसँगै नवमीबाट ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा सामुद्रिक आँधी बनेपछि मनसुन कम्तीमा एक साता पर धकेलिएको भएको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाले विजया दशमी, एकादशी र द्वादसीका दिन ठूलो पानी पर्ने प्रक्षेपण गरेको छ। महाशाखाले मनसुनको उत्तरार्धमा भारतको आन्ध्र प्रदेशको तट तथा पश्चिम–मध्य बंगालको खाडीको तल्लोतटीयमा बनेको सामुद्रिक आँधीका कारण नेपालमा नवमी अर्थात् १८ असोजबाट मनसुनी वर्षा हुने प्रक्षेपण गरेको हो।

    हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमी तर्फ सर्दै जाने क्रममा असोज १८ गतेदेखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुनेछ। ‘नेपालमा यसको अवसरका कारण नवमीबाट वर्षा हुने देखिएको छ। विजया दशमीको दिन देशभर वर्षा हुने देखिएको छ,’ महाशाखाले शुक्रबार दसैँका लागि विशेष मनसुन बुलेटिन जारी गर्दै असोज २१ द्वादशीसम्म वर्षा हुने प्रक्षेपण गरेको छ।

    विजया दशमीका दिन देशका धेरैजसो क्षेत्रमा ठूलो वर्षाको आँकलन गरिएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै क्षेत्रमा त भीषण वर्षा हुने आँकलन महाशाखाले गरेको छ। यस्तै नवमीका दिन प्रदेश १, बागमती र गण्डकी प्रदेशसहित अन्य क्षेत्रमा वर्षा हुने अनुमान गरिएको छ। महाशाखाका अनुसार २० असोज एकादशीमा अझ धेरै वर्षा हुने आँकलन गरिएको छ। यो दिन देशभर बदली हुने र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको चेतावनी दिइएको छ।

    २१ असोजमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै ठाउँ र बाँकी प्रदेशका केही क्षेत्रमा वर्षा हुनेछ। यी प्रदेशका केही क्षेत्रमा भीषण वर्षाको सम्भावना छ । पछिल्लो एक साता मनसुनी गतिविधि निष्क्रियजस्तै भएकोमा फेरि गतिविधि देखा परेका हुन्। गत वर्ष पनि दसैँताका नेपालमा ठूलो वर्षा हुनुका साथै बाढीले धानबाली नष्ट गरेको थियो ।

  • लुक्ला उडान रामेछापबाट शुरु

    लुक्ला उडान रामेछापबाट शुरु

    काठमाडौं । काठमाडौंबाट भइरहेको लुक्लाको हवाई उडान रामेछापमा सारिएको छ । काठमाडौं विमानस्थलको भिडभाडमा हुने व्यस्तता हटाउन १ अक्टोवरदेखि लागि हुने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । सोही अनुसार उडान सारिएको प्राधिकरणको भनाई छ । आज बिहानै समिट एयरले सो विमानस्थलबाट लुक्लाका लागि पहिलो उडान गरेको छ ।

    लुक्लामा समिटसँगै सीता र तारा एयरले समेत नियमित उडानका लागि तालिका स्वीकृत गराएका छन् । लुक्लामा बिहानको समयमा मात्र उडान हुन्छ । दिउँसो उच्च गतिमा चल्ने हावाका कारण इनरुटमा जोखिम हुने भएका कारण उडान हुँदैन । बिहानको समयमा काठमाडौंमा हुने हवाई चाप घटाउन यस्तो निर्णय लिएको प्राधिकरणको भनाई छ ।

  • त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन उडाउन नपाइने

    त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन उडाउन नपाइने

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन उडान प्रतिवन्ध लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन नउडाउन सूचित गरेको हो । यस्तो कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने विमानस्थल कार्यालयको भनाई छ ।

    यस्ता गतिविधि नगर्न भन्दै कार्यालयले अटेर गरेमा कानूनअनुसार कडा कारवाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ । ड्रोन उडान सम्बन्धी नियम २०२१ ले विमानस्थलको आसपास ड्रोन उडाउन बन्देज गरेपनि पछिल्लो समय अटेर गरी ड्रोन उडाइरहेको पाइएको कार्यालयको भनाइ छ ।

  • दशैंको बिदामा निगमका यी १३ डिपो खुल्ने, पेट्रोलपम्प बन्द नहुने

    दशैंको बिदामा निगमका यी १३ डिपो खुल्ने, पेट्रोलपम्प बन्द नहुने

    काठमाडौं । नेपाल आयल निगमले दशैं बिदामा पेट्रोलियम पद्धार्थ अभाव हुन नदिन आफ्ना डिपोहरू खुला राख्न निर्देशन दिएको छ ।

    दशैंको बेला पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि निगमले देशका विभिन्न ठाउँका १३ वटा डिपोहरू खुला राख्ने भएको हो ।

    अन्य समयकोभन्दा दशैंमा सवारीको चाप बढ्ने भएकाले त्यसलाई मध्येनजर गर्दै सबै पेट्रोलपम्महरू खुल्ने निगमले जनाएको छ । पप्पहरूलाई सहजै तेल आपूर्ति गराउन बिदाका दिनमा पनि १३ वटा डिपोहरू खुला हुने निगमको भनाइ छ ।

    निगमका अनुसार प्रदेश १ को विराटनगर र मधेश प्रदेशको अमलेखगंजमा डिपो असोज १६, २९ र २१ गते खुला हुनेछ । यसैगरी, वाग्मतीको थानकोट र गण्डकीको पोखरा डिपो असोज १५, १६, १८ र २१ गते खुल्नेछ ।

    बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पम्पहरु २४ घन्टा खुल्ला हुने र त्यसका लागि १३ वटा डिपोहरु विभिन्न बिदाको दिनमा खुल्ला राखिने निगमले जनाएको छ ।

    निगमका अनुसार हाल दैनिक रुपमा पेट्रोल तीन हजार पाँच सय किलोलिटर र डिजल पाँच हजार ६०० किलोलिटर खपत भइरहेको छ ।

    यस्तै, लुम्बिनीको भैरहवा डिपो असोज १५, १६, १७, २१ र २२ गते, कर्णालीको सुर्खेत डिपो असोज १६ र २१ गते र सुदूरपश्चिमको धनगढीमा डिपो असोज १६, १७ र २१ गते खुला हुने निगमले जनाएको छ ।

    यसैगरी, शाखा कार्यालय चारआलीमा १६ र २१ गते, नेपालगंज, धनुषा, वीरगंज, दाङ र दिपायलमा पनि २१ गतेसम्म निगमको डिपोहरू खुला हुनेछन्।

  • पूर्वराजाको शुभकामना सन्देश-‘पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नु हुँदैन’

    पूर्वराजाको शुभकामना सन्देश-‘पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नु हुँदैन’

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भविश्यको कोरा सपना मात्र बाँडेर पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर नधकेल्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका छन् ।

    भिडियो सन्देश मार्फत दशैँको शुभकामना दिँदै शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको बताएका छन्।

    उनले शुक्रबार बिहान भिडियोमार्फत् सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल नबन्ने बताएका छन्।

    ज्ञाने‍न्द्रले भनेका छन्, ‘पूर्खाहरूले आर्जेको यो स्वाधीन राज्यलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको छ। आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल बन्दो रहेनछ। त्यसैले बलियो मियोमा आबद्धभएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ।’

    उनले नेपाल देशी विदेशीहरूको क्रीडाभूमि भएको जनगुनासो रहेको बताए। ‘नेपाल निरन्तर देशी विदेशीहरूको क्रीडाभूमि पनि भयो भन्ने जनगुनासो छ। त्यसैले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिको पुनस्निर्माणमा ध्यान दिनु देखिन्छ। नेपाललाई फेरि महान बनाउनु परेको छ’, पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्।

  • काठमाडौं १ बाट रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा

    काठमाडौं १ बाट रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उम्मेदवारी घोषणा गरेका छन् ।

    विवेकशील साझा त्यागेर राप्रपासँग एकीकरण गरेका उनले आज प्रतिनिधिसभा निर्वाचनका काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गरेका हुन् ।

    मिश्र २०७४ को संसदीय चुनावमा पनि सोही क्षेत्रमा उमेदवार रहेका थिए । उनी त्यसबेला नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग थोरै मतान्तरमा पराजित भएका थिए ।

    घोषणा गर्दै मिश्रले काठमाडौं १ बाट चुनाव जित्दै आएका कांग्रेस नेता प्रकाशमानले १५ वर्षसम्म केही काम नगरेको आरोप लगाए ।

    ‘संसद् भवन काठमाडौं १ मा पर्छ । एकजना व्यक्ति १५ वर्षदेखि यहाँबाट सांसद बन्नुभएको छ । उहाँलाई सोध्नुस् १५ वर्षमा कति दिन संसद् चल्यो ? कति दिन उपस्थित हुनुभयो । १५ वर्षमा के गर्नुभयो ?’, उनले प्रश्न गरे ।

    बस्न योग्य नभएको काठमाडौंलाई व्यवस्थित बनाउने आफ्नो योजना रहेको मिश्रले बताए । ‘यहाँका सांसद बाल्यकालमा बागमतीको पानी पिउनु हुन्थ्यो, अहिले छुन सकिँदैन । बागमतीको यो अवस्थाबारे संसद्मा कति पटक आवाज उठाउनु भयो ?’ उनले प्रश्न गरे ।

  • यतीको नयाँ जहाज ‘एटीआर ७२-५००’बाट व्यावसायिक उडान शुरु, यस्ता छन् विशोषता

    यतीको नयाँ जहाज ‘एटीआर ७२-५००’बाट व्यावसायिक उडान शुरु, यस्ता छन् विशोषता

    काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । गत भदौ २० गते छैटौँ एटीआर ७२-५०० विमान थप गरेको यतीले आजदेखि व्यावसयिक उडान सुरु गरेको हो ।

    नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएर आज बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडान भर्ने तालिका रहेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

    सो विमानलाई प्राधिकरणले नाइनएन–एएमजेट कल साइन दिएको छ । सत्तरी सिट क्षमताको उक्त विमान अष्ट्रेलियन कम्पनीसँग लिजमा ल्याएको हो । एमएसएन नं ९८६ भएको उक्त विमानको जम्मा ८ हजार २७३ साइकल र १० हजार दुई सय ९१ घण्टा मात्र उडान भरेको प्रवक्ता बर्तौलाले जानकारी दिए।

    एटीआर कम्पनीले उत्पादन गरेको ७२–५०० सिरिजको विमानमा यो सबैभन्दा पछिल्लो उत्पादन हो । कम्पनीले यो विमानपश्चात् थप एउटा मात्र विमान उत्पादन गरेर सो सिरिजको उत्पादन नै बन्द गरी ७२–६०० सिरिजका विमानहरुको उत्पादन सुरु गरेको हो ।

    नेपालमा ट्रङ्क रुटमा उडान गर्ने अन्य विमानभन्दा यो नै पछिल्लो र कम उडान भरेको विमान हो । विमानको आयु यसको साइकल र उडान घण्टामा आधारित हुन्छ । एटीआर विमानको साइकल ७० हजारभन्दा बढी हुन्छ । एक उडानलाई एक साइकल गणना गरिन्छ ।

    ‘नेपालीको महान् पर्व वडादसैँको शुभसाइत पारेर हामीले उडान सुरु गरेका छौँ, यसले दसैँको बेला हुने उडान चापलाई कम गर्न र समयमै उडान भर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ,’ प्रवक्ता बर्तौलाले भने । उत्कृष्ट इन्टेरियर, लग्जरी सिटको साथै वातानुकूलित उक्त विमानको यात्रा अझ बढी आरामदायी हुने यती एअरलाइन्सले जनाएको छ ।

    सो एअरलाइन्सले हाल नेपालको सुगम गन्तव्य काठमाडौँ चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज लगायत पर्वतीय उडानमा आफ्नो सेवा दिँदै आएको छ भने अन्तर्रास्ट्रियतर्फ चार्टर र नन सेड्युल उडान गर्दै आएको छ ।

  • ‘नेपालसँग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता छ,वस्तुहरु विविधिकरण हुन सकेनन’

    ‘नेपालसँग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता छ,वस्तुहरु विविधिकरण हुन सकेनन’

    काठमाडौं । नेपालले हालको भन्दा आठगुणा बढी निर्यात गर्न सक्ने सम्भावना गुमाइरहेको एक अध्ययनले देखाएको छ। विश्व बैंकले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदनले अध्ययनमा समावेश झन्डै ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको छ।

    नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले अझै सम्भावना रहेको प्रस्तुति गरेका थिए। उनले भने, ‘नेपालसँग ९ अर्ब २ करोड डलर निर्यात गर्न सक्ने क्षमता छ’, उनले भने।

    यसलाई गत आर्थिक वर्षको निर्यातसँग तुलना गर्ने हो भने आठ गुणा बढी सम्भावना देखिएको छ। व्यापार घाटा निरन्तर बढिरहेका बेला यो अध्ययनले सम्भावना देखाएको छ।

    नेपालको निर्यात सम्भाव्यता विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री भरेलाले नेपालसँग एकै दिन विश्व व्यापार संगठनको सदस्य भएको अतिकम विकसित मुलुक क्याम्बोडिया, लाओसजस्ता देशले निर्यात बढाउन सकेको हुँदा नेपालको सम्भावना रहेको बताए।

    उनका अनुसार एउटै खालको भौगोलिक अवस्था भएको लाओसको सन् १९९९ अगाडिसम्म निर्यातमा लगभग आधा कृषि उत्पादनहरू, आधा कपडा र बाँकी थोरै अंश, केही खनिज र अन्य उत्पादनहरू थिए तर सन् २०१९ कोभिड पूर्व ठूलो परिवर्तनका साथ निर्यातमा कृषि र कपडालाई जारी राख्दै इलेक्ट्रोनिक्स, रबर र रसायनमा आधारित वस्तुुहरू, विद्युतीय ऊर्जा थप्न सफल भयो। जसले लाओको अर्थतन्त्रलाई निकै माथि लान सफलता मिल्यो।

    ‘सोही समयमा नेपाललाई हेर्दा कपडा निर्यात पहिलो नम्बरमा थियो, तत्पश्चात् कृषि र अन्य रसायनमा आधारित वस्तु थिए। त्यसको २० वर्ष पछिसम्म पनि नेपालको निर्यातयोग्य वस्तु विविधीकरण हुन सकेनन्। धेरै कृषि, थोरै कपडा, तर ती दुई समूहले नै निर्यातमा वर्चस्व राखेको पाइयो’, अर्थशास्त्री गोन्जालोले भने।

    नेपालको वृद्धि उत्पादकत्वका आधारमा देखिँदैन। नेपाली उद्योग व्यवसायले तीव्र निर्यातमार्फत लाभ लिन सकेको पाइँदैन। न्यून परिणामको निर्यात, सीमित देशहरूमा मात्र केन्द्रित र छोटो समयको निर्यात र न्यून बाह्य लगानी नै नेपालको मुख्य चुनौतीका रूपमा देखिएको कुरा उनले बताए।

    ‘न्यून बाह्य लगानी प्रवाहले वृद्धिका अवसर र उत्पादकत्व फैलाउने सम्भावनालाई समेत थप सीमित बनाइदियो’, उनले भने, ‘किनभने लाओस क्याम्बोडियाजस्ता मुलुकहरूले धेरै विदेशी लगानी आकर्षित गर्न सके, जसले देशको उत्पादन र उत्पदकत्व दुवै बढ्यो। नेपालले भने लगानी र निर्यात दुवै बढाउन सकेन।’

    नेपालका सम्भावनालाई यथार्थतामा रुपान्तरण गर्न उद्योग व्यवसायलाई उनीहरुको उत्पादन तथा सेवा अधिक राम्रो बनाउन, उत्पादित वस्तुुहरूलाई सफलतापूर्वक अन्तर्राष्ट्रिय बजारमा ल्याउन र त्यसलाई प्रोत्साहन गर्न सरकारले निजी क्षेत्रसँग प्रभावकारी रूपमा सहकार्य गर्नुपर्ने उनको सुझाव छ।

    महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र विप्रेषणरूपी एउटा मात्र इन्जिनबाट चलेकाले सावधानीपूर्वक समग्र निर्यात प्रवर्द्धनमा काम गर्नुपर्नेमा जोड दिए। हामीले हाम्रो अर्थतन्त्रको आधार बलियो बनाउन सकेनौं भने जतिबेला पनि इन्जिन फेल हुन सक्ने खतरा रहेको उनको भनाइ छ।

    ‘हामीले हाम्रै स्रोतमा आधारित वस्तुह निर्यात गर्ने क्षमता राख्नुपर्छ’, अध्यक्ष गोल्छाले भने, ‘यसमा सरकारले निजी क्षेत्रले दिएका सुुझावहरूको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा हाम्रो जोड छ।’

    उद्योग सचिव डा. तोयानारायण ज्ञवालीले मुलुकभित्र भित्रिएको विप्रेषण हामीले देशभित्रै बचाएर राख्न नसकेको यथार्थता राख्दै यसका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताए।

    निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यमा आफ्नो मन्त्रालय निरन्तर लागिरहेको र महासंघले अर्थतन्त्रको विस्तार, रोजगारी सिर्जना, व्यापार घाटा न्यून गर्ने उद्देश्यले ल्याएको भिजन पेपरको कार्यान्वयनका लागि सहकार्य भएको जानकारी पनि गराए।

    विश्व बैंकका अर्थशास्त्री गोन्जालोले प्रस्तुत गरेको तथ्य–तथ्यांक र सुुझाव सरकारका लागि निकै महत्त्वपूर्ण रहेको उनले बताए।

  • युक्रेनका ४ भू-भाग रुसमा भाग्दै पुटिन

    युक्रेनका ४ भू-भाग रुसमा भाग्दै पुटिन

    मस्को\एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका ४ भू–भाग रुसमा गाभिएको घोषणा गर्ने भएका छन् । रुसले एकलौटी रुपमा सो भेगमा पाँच दिनसम्म जनमतसंग्रह गरेको थियो । युक्रेनका लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई शुक्रबार औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्ने तयारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनको दक्षिण पूर्वमा रहेका ती क्षेत्रहरू रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ ।

    जनमतसंग्रहमा ती क्षेत्रका लगभग सबैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएको रुसको दावि छ । रुसी राष्ट्रपति पुटिनले एक समारोहमा ती क्षेत्र आफ्नो देशमा गाभिएको घोषणामा हस्ताक्षर गर्नेछन् । त्यसपछि विशेष भाषण गर्नेछन् । त्यसका लागि राजधानी मस्कोस्थित रेड स्क्वायरमा भव्य मञ्च तयार गरिएको बीबीसीले लेखेको छ । समारोहमा अतिक्रमित क्षेत्रका दुई पृथकतावादी नेतासमेत सहभागी हुनेछन् ।

    राष्ट्रपति पुटिनले आफ्नो ७० औं जन्मदिनको तीन दिनघघि अर्थात् अक्टोबर ४ मा रुसको माथिल्लो सदनमा सम्बोधन गर्नेछन् । रुसको पछिल्लो कदम सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने कदमसँग मिल्दोजुल्दो छ । क्रेमलिनले मतपरिणम यसअघि तयार गरिसकेको र जनमत संग्रहलाई युक्रेनी क्षेत्रलाई अवैध रूपमा हडप्ने साधनका रूपमा प्रयोग गरेको पश्चिमा देशहरूको दाबी छ ।

  • दशैं अवधिमा ठूलो पानी पर्ने सम्भावना कम

    दशैं अवधिमा ठूलो पानी पर्ने सम्भावना कम

    काठमाडौं । नेपालमा मनसुनी वायुको सामान्य कमजोर हुँदै जादा दशैंको समयमा ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब मनसुन अन्त्य हुने अवस्थामा छ । यसले दशैंमा यात्रा गर्नेहरुलाई केही सहज हुनेछ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि नेपालबाट मनसुन यहीँ दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न सक्ने अवस्था भने छैन सामान्य अवस्थामा अक्टोवर पहिलो साता बाट मनसुन निष्कृय हुन्छ । मनसुन अन्त्य हुन मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन सुरू हुनुपर्छ। नेपालमा मनसुन बंगालको खाडीबाट प्रवेश गर्छ। हिउँदमा वर्षा गराउने पश्चिमी वायु भने भूमध्य सागरबाट नेपाल आउँछ ।