Category: फिचर

  • आयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनल प्रवेश

    आयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनल प्रवेश

    काठमाडौँ, २३ असारः फिफा विश्वकपको राउन्ड अफ १६ अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै अमेरिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यस हारसँगै अमेरिकाको विश्वकप यात्रा अन्तिम–१६ मै टुङ्गिएको छ ।

    बेल्जियमको जितमा चाल्र्स डे केटलेरले दुई गोल गरे भने हान्स भानकेन र रोमेलु लुकाकुले समान एकएक गोल गरे । खेल सुरुआती नवौँ मिनेटमा चाल्र्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३१औं मिनेटमा अमेरिकाको मलिक टिलम्यानले फ्रिकिकमार्फत गोल गर्दै खेललाई एक–एक बराबरीमा ल्याए ।

    त्यसको दुई मिनेटमै बेल्जियमले दोस्रो अग्रता बनायो । खेलको ३३ औँ मिनेटमा केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ५७औँ मिनेटमा भानकेनले गोल गर्दै बेल्जियमको अग्रता तेब्बर बनाए ।

    त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा लुकाकुले गोल गरेपछि बेल्जियमले अमेरिकामाथि ४–१ को जित निकाल्यो ।

  • पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

    पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

    काठमाडौँ, २३ असारः फिफा विश्वकपको राउन्ड अफ(१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

    अमेरिकाको डलास खेलमैदानमा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने सङ्केत देखिएको थियो । तर खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए ।

    यो जितसँगै स्पेन विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पोर्चुगलको उपाधि यात्रा राउन्ड अफ–१६ मै समाप्त भएको छ । यसैबीच, स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २०१० मा विश्वकप च्याम्पियन बनेको स्पेन त्यसयता क्वाटरफाइनलमा पुग्न सकेको थिएन । अन्तिम समयमा विजयी स्पेन विजयी भएसँगै पोर्चुगल विश्वकपबाट बाहिरिएको छ ।

  • एआई लिट्रेसी तालिम मोडुलको पाइलट शुभारम्भ

    एआई लिट्रेसी तालिम मोडुलको पाइलट शुभारम्भ

    काठमाडौँ, २२ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखल र नेपाल भ्रमणमा रहनुभएका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले काठमाडौँको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको संयुक्त रुपमा अवलोकन गरेका छन् । एडीबीको सहयोगमा भूकम्पपछिको पुननिर्माण अन्तर्गत निर्माण गरिएका विद्यालयका भवन, विज्ञान प्रयोगशा (साइन्स ल्याब) तथा स्मार्ट कक्षाको उहाँरुले अवलोकन भ्रमण गरेका हुन् ।


    अवलोकनका क्रममा मन्त्री पोखरेल र एडीबी अध्यक्ष कान्दाले शिक्षकका लागि ‘एआई लिट्रेसी एन्ड डिजिटल कम्पिटेन्सी’ तालिम मोडुलको पाइलट शुभारम्भ गरे । अनलाइन तथा स्व–अध्ययन (सेल्फ–लर्निङ) मा आधारित उक्त तालिम एडीबी र शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक सहकार्यमा विकास गरिने जनाइएको छ । तालिममार्फत शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत ज्ञान तथा डिजिटल दक्षता विकास गराइनेछ ।


    कार्यक्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा एडीबीले करिब पाँच दशकदेखि पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै डिजिटल रूपान्तरण, प्राविधिक तथा व्यावसायिक शिक्षा लगायतका प्राथमिकता क्षेत्रमा आगामी दिनमा पनि सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे । एडीबी नेपाल सरकारको विद्यालय शिक्षा क्षेत्र योजनाको प्रमुख विकास साझेदारमध्ये एक हो । विद्यालय पूर्वाधार निर्माणदेखि शिक्षा सुधारका विभिन्न कार्यक्रममार्फत एडीबीले लामो समयदेखि सहयोग गर्दै आएको मन्त्रालयले जनाएको छ ।

  • बालपोषण भत्ता रु. १,००० पुग्ने

    बालपोषण भत्ता रु. १,००० पुग्ने

    २२ असार, काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बालबालिकाको पोषण अवस्थामा सुधार तथा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यका साथ मानव विकास सूचकाङ्कमा पछाडि परेका २५ जिल्लाका सबै बालबालिका तथा देशभरका दलित बालबालिकालाई प्रदान गर्दै आएको मासिक रु. ५३२ बालपोषण भत्ता आगामी आर्थिक वर्षदेखि वृद्धि गरी रु. १,००० पुर्‍याउने व्यवस्था मिलाएको छ।

    बालपोषण भत्तामा गरिएको यस वृद्धिबाट बालबालिकाको पोषण अवस्थामा सुधार आउनुका साथै कुपोषण न्यूनीकरण, बालअधिकारको संरक्षण तथा बालमैत्री सामाजिक सुरक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। त्यसैगरी, मातृ–शिशु स्वास्थ्य तथा पोषणसम्बन्धी विभिन्न कार्यक्रमहरू स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत सञ्चालन हुँदै आएका छन्।

    आगामी दिनमा मातृ–शिशु स्वास्थ्य तथा बालपोषण कार्यक्रमलाई थप प्रभावकारी, समन्वयात्मक तथा परिणाममुखी बनाउन सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालन हुने महिला तथा बालबालिका लक्षित सामाजिक संरक्षण तथा सामाजिक सुरक्षा कार्यक्रमहरूले मातृ–शिशु स्वास्थ्य, बालपोषण तथा बालकल्याण प्रवर्द्धनमा थप टेवा पुर्‍याउने विश्वास लिइएको छ।

  • एकै दिन १५ अस्पतालहरूको श्रम निरीक्षण : न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयनमा गम्भीर लापरबाही

    एकै दिन १५ अस्पतालहरूको श्रम निरीक्षण : न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयनमा गम्भीर लापरबाही

    २२ असार, काठमाडौं । एकै दिन असार १८ गते श्रम कार्यालयहरूले देशभर गरिएको श्रम निरीक्षणमा सरकारी तथा निजी अस्पतालहरूमा न्यूनतम पारिश्रमिक, श्रम सम्झौता र सामाजिक सुरक्षा कार्यान्वयनमा गम्भीर लापरबाही रहेको देखिएको छ। पछिल्लो केही दिनको तथ्याङ्क हेर्ने हो भने पनि देशभरका ९५ वटा विभिन्न सरकारी तथा निजी अस्पतालहरूमा श्रम ऐनको पालनामा गम्भीर कमजोरीहरू रहेको देखिएको छ। श्रम तथा रोजगार कार्यालयहरूले झापा, विराटनगर, जनकपुर, वीरगन्ज, काठमाडौँ, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढी लगायतका क्षेत्रहरूमा रहेका प्रतिष्ठानहरूको निरीक्षण गर्दा श्रमिकको न्यूनतम हक अधिकार हनन भएको पाइएको हो।

    अनुगमनका क्रममा ३८ वटा अस्पताल तथा स्वास्थ्य संस्थाहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको र ५ वटाले आंशिक रूपमा कार्यान्वयन गरेको पाइएको छ। त्यस्तै ६० वटा अस्पताल र स्वास्थ्य संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको भेटिएको छ र ४ वटा आंशिक रूपमा मात्रै आबद्ध भएका छन्। ४१ वटा अस्पताल र स्वास्थ्य संस्थाहरूले रोजगार सम्झौता नगरेको र २ वटाले मात्रै आंशिक रूपमा सम्झौता गरेका छन्।

    कतिपय अस्पतालहरूमा श्रमिकहरूलाई नियुक्ति पत्र नै नदिई वा मौखिक भरमा काममा लगाइएको पाइएको छ। कर्मचारीहरूलाई अतिरिक्त समय (ओभर टाइम) काम लगाए बापत थप पारिश्रमिक नदिने, बिदा र चाडपर्व खर्चको व्यवस्था नगर्ने जस्ता गुनासाहरू पनि देखिएका छन् ।

    निरीक्षण टोलीले त्रुटि देखिएका अस्पतालहरूलाई तत्काल न्यूनतम पारिश्रमिक लागू गर्न, सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन, श्रम सम्झौतालाई अनिवार्य लागू गर्न र श्रम अडिट गरी प्रतिवेदन पेस गर्न कडा निर्देशन दिएको छ। कतिपय प्रतिष्ठानहरूले आगामी आर्थिक वर्षदेखि सुधार गर्ने प्रतिबद्धता जनाएका छन् भने केहीले निर्देशन पालनाको प्रक्रिया सुरु गरिसकेका छन्।

    श्रम कार्यालयहरूले निर्देशन पालना नगर्ने प्रतिष्ठानहरूलाई पटक–पटक पत्राचार गर्दा पनि जवाफ नदिए पछि आवश्यक कारबाहीका लागि विभागमा सिफारिस समेत गरेका छन् । यो अनुगमनबाट स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत श्रमिकहरूको श्रम अधिकार सुनिश्चित गर्न राज्यले थप कडाइ गर्नुपर्ने आवश्यकता देखाएको छ।

    सरकार गठन हनुअघिको ९ महिनामा १ हजार ९९१ वटा श्रम निरीक्षण भएकोमा वर्तमान सरकारको एक सय दिनमै १ हजार ३ सय २१ वटा श्रम निरीक्षण सम्पन्न भई सकेको छ। मापदण्ड पालना गर्ने उत्कृष्ट प्रतिष्ठानहरूलाई सम्मान गर्ने परिपाटीले श्रम बजारमा सुरक्षित कार्य संस्कृतिको विकासमा सघाउ पुर्‍याएको छ । यसै क्रममा मन्त्रालयले बालश्रममुक्त घोषित भएका १३ स्थानीय तह, देशभरिबाट ६ उत्कृष्ट औद्योगिक प्रतिष्ठान र ७ उद्यमीलाई सम्मान गरेको छ। श्रमिकको अधिकार सुनिश्चित गरी, उपर्युक्त वातावरण निर्माण गर्न निवेदन–उजुरी तथा निरीक्षणको पश्चात् रु.४ करोड ४० लाख ९६ हजार जरिवानाक्षतिपूर्ति पनि भराइएको छ।

    सुरक्षित, मर्यादित श्रम र बाल श्रम निवारणको प्रतिबद्धता व्यक्त गर्दै, युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले देशमा बालबालिका लागि उचित वातावरण, युवाका लागि रोजगारी र उद्यम सिर्जना गर्न सके मात्रै राष्ट्र बलियो हुने बताए । उनले भने,“जब हरेक श्रमिकले आफू सुरक्षित भएको अनुभूति गर्छ, जब हरेक बालबालिका विद्यालयमा हुन्छन्, जब हरेक रोजगारदाताले कानुनको सम्मान गर्छ, र जब हरेक युवाले आफ्नो भविष्य स्वदेशमै निर्माण गर्न सकिन्छ भन्ने विश्वास गर्छ, त्यति बेला मात्र राष्ट्र बलियो बन्छ।”

  • ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम

    ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम

    २२ असार, काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका २४८ जना पिडितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिव शिखर सहकारीका १११७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

    सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

    समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।

  • सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन

    सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन

    २२ असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारी ट्रेड युनियन तथा संगठनका भवन र संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।

    मन्त्रालयका अनुसार नेपाल सरकारले निजामती कर्मचारीको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेपछि साविकमा राष्ट्रियस्तरका ट्रेड युनियनका रूपमा रहेका केही संगठनहरूले सरकारी स्वामित्वको जग्गा प्रयोग गरी निर्माण गरेका भवन तथा अन्य संरचनाको कानुनी आधार समाप्त भएको छ। यससँगै मन्त्रिपरिषद्को निर्णय तथा श्रम तथा व्यावसायजन्य सुरक्षा विभागबाट सम्बन्धित ट्रेड युनियनहरूको दर्ता खारेज भइसकेको छ।

    मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्बन्धित संगठनहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गरी काजगात, सम्पत्तिको जिम्मेवारी र भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनुपर्नेछ। तोकिएको समयभित्र संरचना खाली नगरिए प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी पनि मन्त्रालयले दिएको छ। साथै, जिल्ला प्रशासन कार्यलयको रहोवरमा उक्त संगठनका भवनहरुमा समेत सुचना टासिँएको मन्त्रालयले जनाएको छ ।

    सूचनामा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल लगायतका संगठनले प्रयोग गरिरहेका संरचना खाली गर्नुपर्ने उल्लेख गरिएको छ।

  • एडीबीका अध्यक्ष नेपाल भ्रमणमा, २५ अर्ब भन्दा धेरै ऋण दिने सम्झौता

    एडीबीका अध्यक्ष नेपाल भ्रमणमा, २५ अर्ब भन्दा धेरै ऋण दिने सम्झौता

    २२ असार, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणको अवसरमा २५ अर्बको ऋण सम्झौता भएको छ । एडीबीसँग नेपालले १६ करोड ५० लाख अमेरिकी डलर (२५ अर्ब रुपैयाँ बराबर) सहुलीयतपूर्ण ऋण लिने सम्झौता भएको हो ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न सो रकम बराबरको सहुलीयतपूर्ण ऋण लिनेबारे सोमबार सम्झौता भएको हो । सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरे ।

    नेपालले एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा आपूर्ति व्यवस्थापन सुधार कार्यक्रम (सबप्रोगाम– २) का लागि सो ऋण परिचालन गर्न लागेको हो ।

    अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालका अनुसार ढल व्यवस्थापन सम्बन्धी आयोजनामा ११ करोड ५० लाख अमेरिकी डलर र आपूर्ति व्यवस्थापनसँग सम्बन्धित आयोजनामा ५ करोड अमेरिकी डलर ऋण लिइएको छ । स्थानीय तहका खानेपानी र ढल व्यवस्थापनको एकीकृत पूर्वाधार निर्माणमा यो रकम परिचालनको लक्ष्य छ । साथै भन्सार कार्यप्रक्रिया र लजिस्टिक सेवा आधुनिकीकरणमा दोस्रो ऋण सम्झौतावापतको रकम खर्च गरिने छ ।

    कार्यक्रममा अर्थमन्त्री डा। वाग्लेले नेपालको विकासमा एसियाली विकास बैंकबाट प्राप्त सहायताको उच्च मूल्यांकन गर्दै आगामी दिनमा यो साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे । एसियाली विकास बैंकका अध्यक्ष कान्दाले नेपालसँगको ६ दशक लामो सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

    उनले नेपालको विद्यमान वाह्य तथा आन्तरिक चुनौतीहरुको सामना गर्न बैंक सँधै सहयोगी हुने र नेपालका विकास प्राथमिकतासँग बैंकको प्राथमिकता मेल खाने उल्लेख गरे । कार्यक्रममा नेपाल सरकार तथा एसियाली विकास बैंकका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

  • धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

    धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

    काभ्रेपलाञ्चोक, २२ असार । बर्षातका कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा रातका समयमा यातायात सेवा बन्द नगरिने भएको छ । सो सडकखण्ड हाल स्तरोन्नती भइरहेको छ ।

    निर्माणलाई तीव्रता दिन आजदेखि १५ दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने निर्णय गरिएको थियो । उक्त सडकखण्डमा पहिलो चरणको कालोपत्रे गर्नका लागि रातको समयमा बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको थियो । केही दिनको बर्षाले ‘सिटिबी’ तथा ‘डिबीएम’ गर्न सडक सम्याएर हालिएको सब–बेश केही स्थानमा बगाएको र कतै क्षति पु¥याएकाले आवागमन रोकेर गर्ने भनिएको काम सम्भव नदेखिएकाले सडक बन्द नहुने सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका इञ्जिनियर सीताराम बुढाथोकीका अनुसार निर्माण कम्पनीले आजै पचाचार गरी आजदेखिको निर्धारित कार्यतालिका फेरबदल गर्नुपरेकाले केही समय सार्ने जानकारी गराएको हो ।

    यसअघि जिल्ला सुरक्षा समिति काभे्रले उक्त सडकखण्डमा आजदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारी आवागमन बन्द गरिने निर्णय गरेको थियो । उक्त सडकखण्ड कालोपत्रे गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्णतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुबाहक तथा अन्य मालबाहक सवारी साधनलाई बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको थियो । बिस्तारित उक्त सडकखण्डको दूरी चार किमी रहेको छ ।

    डिभिजन सडक कार्यालय भक्तपुरले असार दोस्रो सातादेखिनै राती यातायात रोकेर निर्माणकार्यलाई तीव्रता दिने जनाएपनि आर्थिक वर्षको अन्त्यको समय भएकोले निर्माण सामग्री ढुवानीमा प्रभावित नहोस् भन्ने हेतुले समितिले सडक निर्माण प्रक्रियालाई केही ढिलाई गर्न लगाएको थियो । गत चैतमा पनि करिब एक महिनाभर रातको समयमा पूर्णतः आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर अढाई किमी कालोपत्रे (डिबिएम–पीच)को काम गरिएको थियो ।

  • मासिक राशिफल (जुलाई, २०२६)

    मासिक राशिफल (जुलाई, २०२६)

    ज्योतिष आचार्य डा. प्रकाश पौडेल
    जुलाई २०२६ मा शुक्र, सूर्य, बुध र शनि ग्रहको गोचर परिवर्तनले सबै राशिमा विशेष प्रभाव पार्नेछ । जुलाई ४ मा शुक्र सिंह राशिमा, जुलाई १६ मा सूर्य कर्कट राशिमा प्रवेश गर्नेछन् । जुलाई २४ मा बुध मार्गी हुनेछन् भने जुलाई २७ मा शनि मीन राशिमा वक्री हुनेछन् । यी ग्रहहरुको प्रभावले करियर, धन, प्रेम, स्वास्थ्य र पारिवारिक जीवनमा परिवर्तन ल्याउने संकेत देखिन्छ ।


    वैदिक ज्योतिषअनुसार जन्म समयमा चन्द्रमा रहेको राशिलाई चन्द्र राशि वा जन्म राशि भनिन्छ । चन्द्र राशिका आधारमा व्यक्तिको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरुको विश्लेषण गरिन्छ । यहाँ प्रस्तुत गरिएको जुलाई २०२६ को मासिक राशिफल चन्द्र राशि र ग्रहहरुको गोचरका आधारमा तयार गरिएको हो । यसबाट तपाईंले यो महिनामा जीवनमा आउने सम्भावित परिवर्तन, अवसर र चुनौतीबारे जानकारी प्राप्त गर्न सक्नुहुनेछ । साथै, ग्रहजन्य बाधा कम गर्न सरल ज्योतिषीय उपायहरु पनि समावेश गरिएको छ ।

    मेष

    जुलाई महिना मेष राशिका लागि मेहनतपछि सफलता दिने समय रहनेछ । रोकिएका कामहरु अघि बढ्नेछन् र करियरमा नयाँ अवसर प्राप्त हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ तर खर्चमा नियन्त्रण आवश्यक हुनेछ । व्यापार तथा नोकरीमा प्रगतिको सम्भावना छ । महिनाको उत्तरार्धमा मानसम्मान र सामाजिक प्रतिष्ठा बढ्ने संकेत देखिन्छ ।
    उपाय : मंगलबार हनुमानजीको पूजा गरी ‘ॐ हनुमते नमः’ मन्त्र जप गर्नुहोस् ।

    वृष
    वृष राशिका लागि यो महिना आर्थिक सुधार र स्थिरताको समय रहनेछ । व्यापार तथा नोकरीमा प्रगति हुनेछ । नयाँ सम्पत्ति वा सवारी खरिदको सोच बन्न सक्छ । प्रेम सम्बन्धमा मधुरता बढ्नेछ ।
    उपाय : दैनिक ‘ॐ श्रीं महालक्ष्म्यै नमः’ मन्त्र जप गर्नुहोस् ।

    मिथुन
    मिथुन राशिका लागि जुलाई नयाँ योजना र अवसरको महिना रहनेछ । बोल्ने कला र बुद्धिमत्ताबाट लाभ मिल्नेछ । यात्राबाट फाइदा हुनेछ । अध्ययन तथा व्यापारमा राम्रो सफलता प्राप्त हुन सक्छ ।
    उपाय : प्रतिदिन ‘ॐ गं गणपतये नमः’ मन्त्र जप गर्नुहोस् ।

    कर्कट
    कर्कट राशिका लागि जुलाई महिना गुरुको शुभ प्रभावले भाग्य बलियो रहनेछ । करियर, शिक्षा र व्यवसायमा राम्रो प्रगति हुनेछ । परिवारमा सुख र शान्ति बढ्नेछ । विदेशसँग सम्बन्धित काममा सफलता मिल्ने सम्भावना छ ।
    उपाय : ‘ॐ नमः शिवाय’ मन्त्र जप गर्नुहोस् । सोमबार शिवजीलाई जल अर्पण गर्नुहोस् ।

    सिंह
    सिंह राशिका लागि जुलाई महिना सामाजिक सम्मान र आत्मविश्वास बढ्ने समय हो । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । आर्थिक स्थिति सुधार हुनेछ तर अहंकार र रिसबाट टाढा रहनु राम्रो हुनेछ ।
    उपाय : हरेक बिहान सूर्यलाई जल चढाउनुहोस् ।

    कन्या
    कन्या राशिका लागि जुलाई महिना निकै लाभदायक रहनेछ । व्यापार, शेयर बजार र करियरमा सफलता मिल्ने सम्भावना छ । मित्र तथा परिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ । नयाँ योजना तथा लगानीबाट लाभ मिल्न सक्छ भने कार्यक्षेत्रमा सम्मान र जिम्मेवारी बढ्ने संकेत देखिन्छ । विद्यार्थीहरुका लागि अध्ययन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा प्रगतिको समय रहनेछ ।
    उपाय : गणेशजीको पूजा गरी गणेश चालीसा पाठ गर्नुहोस् र बुधवार हरियो वस्तु दान गर्नु शुभ रहनेछ ।

    तुला
    तुला राशिका लागि यो महिना सम्बन्ध सुधार र आर्थिक राहतको समय रहनेछ । पुराना विवाद हट्न सक्छन् र प्रेम सम्बन्धमा मधुरता बढ्नेछ । करियरमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ भने व्यापार तथा साझेदारीका काममा पनि लाभ मिल्न सक्छ । सामाजिक सम्बन्ध बलियो बन्नेछन् र परिवारबाट राम्रो साथ सहयोग प्राप्त हुनेछ । महिनाको उत्तरार्धमा रोकिएका कामहरु पूरा हुने संकेत देखिन्छ ।
    उपाय : प्रतिदिन ‘ॐ श्रीं महालक्ष्म्यै नमः’ मन्त्र जप गर्नुहोस् र शुक्रबार सेतो मिठाई दान गर्नु शुभ रहनेछ ।

    वृश्चिक
    वृश्चिक राशिका लागि जुलाई महिना प्रगतिदायक महिना रहनेछ। रोकिएका काम पूरा हुनेछन् । व्यवसायमा लाभ र सामाजिक सम्मान बढ्नेछ । सम्बन्धमा धैर्य अपनाउनु आवश्यक हुनेछ । कामकाज र व्यवसायमा राम्रो सफलता मिल्नेछ । परिवारबाट सहयोग प्राप्त हुनेछ । नयाँ सम्बन्धमा सावधानी अपनाउनुहोस् ।
    उपाय : हनुमान चालिसा पाठ गर्नु शुभ हुनेछ ।

    धनु
    धनु राशिका लागि जुलाई महिना भाग्य र परिश्रम दुवै बलियो रहनेछन् । नयाँ आय स्रोत बन्ने सम्भावना छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । लगानी गर्दा सोचविचार गर्नु आवश्यक छ । करियरमा प्रगति र सम्मान प्राप्त हुनेछ । स्वास्थ्यमा पेटसम्बन्धी समस्या देखिन सक्छ ।
    उपाय : ‘ॐ नमो भगवते वासुदेवाय’ मन्त्र जप गर्नुहोस् ।

    मकर
    मकर राशिका लागि जुलाई महिना जिम्मेवारी र अवसर दुवै लिएर आउनेछ । नोकरी तथा व्यवसायमा नयाँ सम्भावना देखिनेछ । आर्थिक आम्दानी राम्रो भए पनि खर्च बढ्न सक्छ । पारिवारिक सम्बन्धमा धैर्य आवश्यक हुनेछ । कानुनी विषयमा सावधानी अपनाउनु राम्रो हुनेछ ।
    उपाय : प्रत्येक शनिबार ‘ॐ शं शनैश्चराय नमः’ मन्त्र जप गर्नुहोस् ।

    कुम्भ
    कुम्भ राशिका लागि जुलाई महिना सम्बन्ध र आर्थिक विषयमा उतारचढाव आउन सक्छ । गलत संगतबाट टाढा रहनु राम्रो हुनेछ । महिनाको अन्त्यतिर करियरमा सुधार आउने संकेत छ। कामको अवसर प्राप्त हुन सक्छ भने रोकिएका कामहरु पनि विस्तारै पूरा हुँदै जानेछन् । परिवारसँगको सम्बन्धमा धैर्य र समझदारी राख्नुभयो भने मानसिक शान्ति मिल्नेछ ।
    उपाय : प्रतिदिन हनुमान चालिसा पाठ गर्नुहोस् ।

    मीन
    मीन राशिका लागि जुलाई महिना भाग्य र अवसरले भरिएको रहनेछ । शिक्षा, प्रेम र व्यवसायमा सफलता प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । रोकिएका कामहरु पूरा हुनेछन् र आर्थिक अवस्था पनि विस्तारै मजबुत बन्ने संकेत छ । परिवारबाट सहयोग प्राप्त हुनेछ भने प्रेम सम्बन्धमा मधुरता बढ्नेछ ।
    उपाय : प्रतिदिन ‘ॐ नमो नारायण’ मन्त्र जप गर्नुहोस् र बिहीबार पहेंलो वस्तु दान गर्नु शुभ रहनेछ ।

  • यूएईमा बस्ने नेपालीका लागि कानुनी सचेतना

    यूएईमा बस्ने नेपालीका लागि कानुनी सचेतना

    २२ असार, काठमाडौं । यूएईमा बसोवास गर्दा निम्न कार्यहरु नगर्नु हुन अनुरोध छ ।

    सार्वजनिक स्थानमा झगडा, गालीगलौज वा अश्लील हाउभाउ प्रदर्शन नगर्ने ।


    सामाजिक सञ्जालमा कसैलाई अपमान, बदनाम वा धम्की नदिने ।

    ह्वाट्सएप, फेसबुक, टिकटकलगायत माध्यममा अपुष्ट सूचना, अफवाह वा झुटा समाचार शेयर नगर्ने ।


    अरुको फोटो वा भिडियो अनुमतिबिना खिच्ने वा पोस्ट नगर्ने ।


    साइबर अपराध, ह्याकिङ, नक्कली वेबसाइट सञ्चालन, अनलाइन ठगी वा अरुको डिजिटल खातामा अनधिकृत पहुँच नगर्ने ।


    धार्मिक आस्था, धर्मस्थल वा धार्मिक प्रतीकप्रति अपमानजनक व्यवहार नगर्ने ।


    लागूऔषध (ड्रग्स)सम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नहुने ।


    मदिरा सेवन गरेर सार्वजनिक रुपमा हंगामा नगर्ने वा सवारी नचलाउने ।


    सार्वजनिक शिष्टाचारविपरीत अशोभनीय व्यवहार नगर्ने ।


    सरकारी अनुमतिबिना चन्दा संकलन नगर्ने ।


    अनुमतिबिना प्रदर्शन, ¥याली वा राजनीतिक गतिविधिसम्बन्धी कार्यक्रम आयोजना वा प्रचारप्रसार नगर्ने ।


    क् सरकारी, सुरक्षा तथा अन्य संवेदनशील स्थानहरुको फोटो वा भिडियो खिचेर अनधिकृत रुपमा प्रसारण नगर्ने ।


    युद्ध वा सुरक्षा घटनासँग सम्बन्धित भिडियो तथा तस्बिर नखिच्ने ।


    सामाजिक सञ्जालमा युद्ध, सुरक्षा अवस्था वा अन्य संवेदनशील विषयका अपुष्ट सामग्री लाइक, शेयर वा प्रसारण नगर्ने ।


    कम्पनीको अनुमति वा कानुनी प्रक्रिया पूरा नगरी जागिर छाडेर अन्यत्र बसोवास नगर्ने ।


    आफ्नो राहदानी, एमिरेट्स आईडी, बैंक कार्ड (एटीएम) वा अन्य महत्वपूर्ण कागजात अपरिचित व्यक्तिलाई नदिने ।


    सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पु¥याउने वा त्यस्ता गतिविधिमा संलग्न नहुने ।


    सवारी चालक तथा सर्वसाधारणले ट्राफिक नियमहरुको पूर्ण पालना गर्ने, किनकि पालना नगरेमा यसले गम्भीर कानुनी तथा सुरक्षा समस्या निम्त्याउन सक्छ ।

    ध्यान दिनुपर्ने कुरा
    सामाजिक सञ्जालमा रिसको भरमा लेखिएको टिप्पणी, पोस्ट वा सन्देशसमेत कानुनी प्रमाण बन्न सक्छ ।


    अपुष्ट समाचार वा अफवाह फैलाउँदा कानुनी कारबाही हुन सक्छ ।


    यस्ता गतिविधिमा संलग्न भए जरिवाना, कैद सजाय वा विदेशी नागरिकको हकमा देश निकाला (डिपोर्ट)सम्म हुन सक्छ ।


    रोजगार सम्झौता, कम्पनीका नियम तथा यूएईको श्रम कानुनको पालना गर्नु प्रत्येक श्रमिकको दायित्व हो ।

    यूएईका कानुन, स्थानीय संस्कृति र सामाजिक मूल्य–मान्यताको सम्मान गर्नु नै सुरक्षित र सफल प्रवासी जीवनको आधार हो । कानुनको सम्मान गरौं, जिम्मेवार नागरिकको परिचय दिऔं ।

  • नेपाली दक्ष जनशक्तिका लागि यूएई अवसरको भूमि

    नेपाली दक्ष जनशक्तिका लागि यूएई अवसरको भूमि

    २२ असार, दुबई । सन् २००८ मा रोजगारका लागि संयुक्त अरब इमिरेट्स (यूएई) आएका सन्तोष भट्टराईलाई शारजाह विमानस्थलमा बिताएको पहिलो रात अझै ताजै लाग्छ । रस अल खैमास्थित राक सेरामिक्समा सिनियर आईटी एक्जिक्युटिभका रुपमा कार्यभार सम्हाल्न आएका उनलाई त्यही रात एक नेपाली यात्रुले भनेका शब्द आज पनि सम्झना छन्– ‘भविष्य राम्रो छ’ । त्यसपछि भट्टराईले पछाडि फर्कनु परेको छैन ।


    नेपालमा सूचना प्रविधि विषयमा अध्ययन गरेका भट्टराईले सन् २००५ मा स्नातक तह पूरा गरेका थिए । उनले भारत सरकारको विदेश मन्त्रालयको छात्रवृत्तिमा ‘एडभान्स नेटवर्किङ टेक्नोलोजी’ तालिम प्राप्त गरेका थिए । सन् २००४ देखि २००८ सम्म नेपालस्थित भारतीय दूतावासमा सिस्टम एड्मिनिस्ट्रेटरका रुपमा काम गरेका उनले त्यसपछि भने यूएईको यात्रा थालेका हुन् ।


    यूएईमा उनको करिअर राक सेरामिक्सबाट शुरु भयो, जहाँ उनले सन् २०१५ सम्म विभिन्न सूचना प्रविधि परियोजनाको नेतृत्व गरे । हाल उनी लाटिक्रेट मिडल इस्ट एलएलसीमा ‘रिजनल म्यानेजर–आईटी एण्ड स्पेसल प्रोजेक्ट्स’का रुपमा कार्यरत छन् । करिब दुई दशक लामो व्यावसायिक यात्राको अनुभव सुनाउँदै भट्टराई नेपाली युवाको क्षमता विश्वस्तरको रहेको बताउँछन् । ‘सूचना प्रविधि, इन्जिनियरिङ, चार्टर्ड एकाउन्टेन्सी वा अन्य कुनै पनि क्षेत्रमा नेपाली युवाको ज्ञान र मेहनत अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कमजोर छैन,’ उनी भन्छन् ।


    उनका अनुसार यूएईमा दक्ष जनशक्तिको माग निरन्तर बढिरहेको छ । नेपाल सरकारले ‘जब सर्चिङ भिजिट भिसा’ जस्ता विषयमा कूटनीतिक पहल गर्न सके नेपाली युवाका लागि थप अवसर सिर्जना हुन सक्छन् । साथै, उनले नेपाललाई यूएईका लागि सम्भावित ‘आउटसोर्सिङ हब’का रुपमा विकास गर्न सकिने धारणा राख्छन् ।

    प्राविधिक सेवा, लेखा व्यवस्थापन, कल सेन्टर तथा इन्जिनियरिङ डिजाइनजस्ता क्षेत्रमा नेपाल–यूएई सहकार्य विस्तार गर्न सके दुवै मुलुकका संस्थाले लागत घटाउने र दक्ष जनशक्तिको आवश्यकता पूरा गर्ने लाभ लिन सक्ने उनको विश्वास छ । ‘सही नीति, संस्थागत संरचना र अन्तर्राष्ट्रिय सहकार्य भए नेपालले आफ्नो दक्ष जनशक्तिलाई विश्व बजारसँग जोड्न सक्छ,’ भट्टराई भन्छन् ।

  • नेपाली आईटी विज्ञ— फिक्कलका प्रभाकर

    नेपाली आईटी विज्ञ— फिक्कलका प्रभाकर

    २२ असार, यूएई । इलामको रमणीय पहाडी बस्ती फिक्कल गैरीगाउँका प्रभाकर शर्मा आज संयुक्त अरब इमिरेट्स (यूएई)को एक बहुप्रतिष्ठित कम्पनीमा सूचना प्रविधि (आईटी– टिकटिङ) विभाग प्रमुखका रुपमा कार्यरत छन् । सामान्य किसान परिवारमा जन्मिएर अन्तर्राष्ट्रिय स्तरको जिम्मेवारी सम्हाल्न पुग्नु उनका लागि केवल व्यक्तिगत सफलता मात्र होइन, नेपाली युवाको क्षमता, दक्षता र सम्भावनाको सशक्त उदाहरण पनि हो । उनले आफ्नो कर्म र संघर्षमार्फत नेपालीहरु केवल श्रमशक्तिमा मात्र होइन, प्राविधिक दक्षतामा समेत विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने प्रमाणित गरेका छन् ।


    २०४४ साल फागुन २१ गते साविक फिक्कल गाविसको गैरीगाउँ, हाल सूर्योदय नगरपालिका–९ मा प्रभाकरको जन्म भएको थियो । मध्यमवर्गीय किसान परिवारमा हुर्किएका प्रभाकरका बाबुआमाको मुख्य आम्दानीको स्रोत खेतीपाती नै थियो । आर्थिक अभाव भए पनि परिवारमा शिक्षाप्रतिको दृष्टिकोण भने सकारात्मक र प्रगतिशील थियो ।


    प्रभाकरकी आमा एसएलसी उत्तीर्ण भएकी शिक्षित महिला हुनुहुन्थ्यो । आमाले स्थानीय शिशु स्याहार केन्द्रमा काम पाएपछि प्रभाकरले त्यहीँबाट आफ्नो शैक्षिक यात्रा शुरु गरे । त्यसपछि उनी आफ्ना दाजुसँगै कजिनीस्थित आदर्श प्राथमिक विद्यालयमा भर्ना भए र कक्षा ४ सम्म अध्ययन गरे । सीमित स्रोत–साधन भएको ग्रामीण वातावरणमा पनि उनले निरन्तर शिक्षा हासिल गर्दै आफ्नो अध्ययनलाई अगाडि बढाए ।


    उनको जीवनमा एउटा महत्वपूर्ण मोड अंग्रेजी शिक्षक श्याम भण्डारीको आगमनले ल्यायो । भण्डारी, सल्लाहपछि प्रभाकरकै घरमा बस्न थाले । दिउँसो बोर्डिङ स्कूलमा पढाउने उनले बिहान–बेलुका अंग्रेजी तथा अन्य विषय पढाउन थालेपछि प्रभाकर, उनका दाजु र कान्छी दिदीको पढाइमा उल्लेखनीय सुधार आयो । गुणस्तरीय शिक्षाको त्यो अवसरले उनीहरुको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्यो ।


    श्याम भण्डारीकै सल्लाहमा आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि बाबुआमाले छोराछोरीलाई बोर्डिङ स्कूलमा पढाउने निर्णय गरे । त्यो सजिलो निर्णय थिएन । तर ३ जना विद्यार्थी भर्ना गर्दा एक जनालाई निःशुल्क पढाउने बोर्डिङ स्कूलले दिएको सहुलियत व्यवस्थाले परिवारलाई केही राहत दियो ।


    यसपछि प्रभाकर इभरल्याण्ड बोर्डिङ स्कूल, फिक्कलमा भर्ना भए र कक्षा ८ सम्म अध्ययन गरे । ग्रामीण परिवेशमा भएका कारण घरको सबै कामहरुमा पनि सहयोग गर्नुपथ्र्यो (गाईलाई घाँस, खोलेको व्यवस्था गर्ने, थलो भकारो, दाउरा, पूजापाठ, खाना बनाउने इत्यादि) यी सबै काम सघाएर डेढ घण्टाको पैदल यात्रा गरेर स्कूल जानु पथ्र्यो । कक्षा ५, ६ र ७ को अध्ययन त्यही स्कूलमा पूरा गरेर उनी र उनका दाजु सनराइज बोर्डिङ स्कुल, फिक्कलमा गए । कक्षा ८, ९ र १० को अध्ययन त्यहीँबाट पूरा गरे ।


    तर त्यतिबेला उक्त विद्यालयले एसएलसी परीक्षाको अनुमति नपाएकाले प्रभाकरले अन्तिम परीक्षा भने स्थानीय फिक्कल माध्यमिक विद्यालयबाट दिए । २०५९ सालमा उनले दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरे । यो सफलता उनको शैक्षिक यात्राको अर्को महत्वपूर्ण आधार बन्यो ।


    उनको बुबा खेतीपातीबाहेक दूध संकलन गर्नुहुन्थ्यो र डेरी विकास निगमलाई बेच्नुहुन्थ्यो । पछि त्यही व्यवसायलाई सहकारीमा परिणत गरेर व्यवस्थापकको भूमिकामा रहनुभयो । पछि उहाँले ग्रामीण पशु उपचारको तालिम लिने अवसर पनि पाउनुभयो र अभ्यास गर्न थाल्नुभयो । उनकी आमा पनि महिला विकास शाखाका विभिन्न पहलहरुमा संलग्न हुनुहुन्थ्यो र पछि बचत तथा ऋण सहकारी संस्था स्थापना गरी व्यवस्थापक बन्नुभयो । जसले गर्दा उनीहरुको आर्थिक स्थितिमा केही सुधार आयो ।


    दुवै छोराको पढाइ राम्रो देखेपछि उनका बाबुले थप ठूलो निर्णय लिए– उनीहरुलाई झापामा पढाउने । भविष्यको उज्यालो सम्भावनालाई ध्यानमा राख्दै ऋणधन गरेर भए पनि पढाउनुपर्छ भन्ने उद्देश्यले बिर्तामोडमा भर्ना गरियो । प्रभाकरले गोमेन्द्र बहुमुखी कलेज, बिर्तामोडमा कम्प्युटर साइन्स विषय लिए भने उनका दाजुले मानविकी संकाय रोजे ।


    घरको संरक्षण र अभिभावकीय निगरानीबाट टाढा भएपछि पढाइमा अपेक्षित सफलता प्राप्त हुन सकेन । तर उनी कहिल्यै असफल भएनन् । संघर्षकै बीच उनले प्लस टु अध्ययन पूरा गरे । प्लस टु सकेपछि उनका दाजु सेनामा भर्ती हुने उद्देश्यले धरानतिर लागे भने प्रभाकरले थप अध्ययनका लागि फरक बाटो रोजे । सन् २००५ मा उनी काठमाडौं पुगे । काठमाडौंमा दिदी–भिनाजुको साथले उनको जीवनमा अर्को महत्वपूर्ण मोड लियो ।


    भिनाजु डिल्ली आचार्यकै सल्लाहमा प्रभाकरले नोबेल कलेज, सिनामंगलमा कम्प्युटर इन्फर्मेसन विषयमा स्नातक अध्ययन शुरु गरे ।

    जीवन साथीसँगको त्यो संयोगको भेट
    सन् २००९ मा दिदी–भिनाजु अमेरिका गएपछि प्रभाकरले विदेश जाने लक्ष्यसहित आईईएलटीएस अध्ययन शुरु गरे, जसले अन्तर्राष्ट्रिय अवसरतर्फ नयाँ ढोका खोल्यो । आईईएलटीएस अध्ययनकै क्रममा उनले काठमाडौंमा केही समय ट्रेनीका रुपमा काम गरे र पछि गौरीघाटस्थित एक विद्यालयमा कम्प्युटर साइन्स अध्यापन गर्न थाले ।

    शिक्षकका रुपमा बिताएको समयले उनको प्राविधिक ज्ञानलाई निखार्नुका साथै जीवनमा विशेष मोड पनि ल्यायो । सोही विद्यालयमा कार्यरत प्रज्ञा घिमिरेसँग उनको चिनजान प्रेममा परिणत भयो र लामो सम्बन्धपछि उनीहरुले सन् २०१३ को डिसेम्बरमा विवाह गरे । आज प्रभाकरको जीवनयात्राकी महत्वपूर्ण सहयात्री बनेकी छन्– प्रज्ञा ।

    विदेश यात्राको प्रारम्भ
    यसबीच प्रभाकरको जीवनमा विदेशको अवसर पनि ढकढक्याउन थालिसकेको थियो । उनका दाजु सन् २००७ मै यूएई पुगिसकेका थिए । दाजुकै सल्लाह र आग्रहमा सन् २०१० मा एक रिक्त पदका लागि प्रभाकरलाई दुबई आउन प्रस्ताव आयो । नयाँ अवसर र आकर्षक सम्भावनाले उत्साहित प्रभाकरले सन् २०१० अक्टोबर १ मा जीवनमै पहिलो पटक विमान चढेर दुबईको यात्रा गरे र उक्त पदका लागि उनले आवेदन दिए ।

    आशा थियो– साक्षात्कारपछि नयाँ अध्याय शुरु हुनेछ । तर भाग्यले तत्काल साथ दिएन । अन्तर्वार्ताको चरणमै पुग्न नपाउँदै उक्त पद नै खारेज भयो । सपना अधुरै रह्यो । त्यसपछि उनले करिब २५–३० स्थानमा जागिरका लागि प्रयास गरे । कतिपय सामान्य कामका अवसर आए, तर उनले आफ्नो क्षेत्रमा बाहेक अन्यत्र काम नगर्ने अडान लिए ।


    त्यो निर्णय सजिलो थिएन । विदेशको अपरिचित भूमिमा बेरोजगार भएर बस्नु मानसिक रुपमा चुनौतीपूर्ण थियो । तर आफ्नो सीप र क्षमतामाथिको विश्वासले उनलाई डगमगाउन दिएन । यही क्रममा उनका दाजुका साथी कपिल खड्काले सहयोगको हात बढाए । कपिलको आग्रहमा प्रभाकर दुबईस्थित ‘यस होटल’मा अन्तर्वार्ताका लागि पुगे । उनले आफ्नो बायोडाटा बुझाए । होटलले मासिक १७५० दिरामसहित अन्य सुविधा दिने प्रस्ताव राख्यो । तत्काल निर्णय नगरी उनले सोचेर जवाफ दिने बताए । त्यसबेला कपिल पनि सोही होटलमा कार्यरत थिए ।


    केही सल्लाहपछि प्रभाकरले दस दिनपछिको टिकट सारे । खबर नआएपछि भोलिपल्ट नेपाल फर्किने तयारीमा किनमेल गरिरहेका बेला होटलबाट फोन आयो । मानव संसाधन विभागले अन्तर्वार्ताका लागि बोलाएको खबर थियो ।
    अन्तर्वार्तापछि मेडिकल परीक्षण गर्नुपर्ने भयो । प्रभाकरले आफू नेपाल फर्किन लागेको जानकारी गराएपछि कम्पनीले सहज रुपमा नेपाल फर्किएर मेडिकल रिपोर्ट पठाउन आग्रह ग¥यो र पुनः टिकट पठाइदिने आश्वासन दियो । त्यसपछि उनी नेपाल फर्किए ।


    नेपाल फर्किएको ठीक २० दिनपछि, अर्थात् सन् २०११ जनवरी २ मा उनलाई पुनः दुबईको टिकट पठाइयो । जनवरी ३ देखि उनले आईटी सपोर्ट पदमा औपचारिक रुपमा वैदेशिक रोजगारीको यात्रा शुरु गरे । त्यो नै उनको अन्तर्राष्ट्रिय करियरको पहिलो औपचारिक पाइला थियो । त्यहाँ उनले दुई वर्षसम्म इमानदारिता र दक्षताका साथ काम गरे ।


    सन् २०१३ मा उनले यूएईकै प्रतिष्ठित ‘थिम पार्क फेरारी वल्र्ड’मा आईटी विशेषज्ञका रुपमा नयाँ यात्रा शुरु गरे । यो अवसरले उनको करियरलाई नयाँ उचाइमा पु¥यायो । प्रविधि क्षेत्रमा आफ्नो दक्षता, नेतृत्व क्षमता र समस्या समाधान गर्ने शैलीले उनले छोटो समयमै आफूलाई प्रमाणित गरे ।


    सन् २०१६ मा व्यवस्थापक पदका लागि प्रतिस्पर्धा खुल्यो । त्यो अवसर प्रभाकरका लागि केवल पदोन्नतिको अवसर मात्र थिएन, आफ्नो क्षमताको वास्तविक परीक्षण पनि थियो । पढाइमा जस्तै उनले यहाँ पनि हार व्यहोर्नुपरेन । प्रतिस्पर्धामा सफल हुँदै व्यवस्थापक बने । यो उपलब्धिले उनको पद, प्रतिष्ठा, मासिक आम्दानी र सेवा–सुविधामा उल्लेखनीय परिवर्तन ल्यायो ।


    त्यसपछि उनको करियर उकालो लाग्दै गयो । सन् २०२२ मा लाइन म्यानेजरबाट उनी सिनियर म्यानेजरमा पदोन्नति भए । दुई वर्षसम्म उक्त जिम्मेवारी सम्हालेपछि सन् २०२४ मा उनले मिराल ग्रुप छाडेर अर्को कम्पनीमा नयाँ यात्रा शुरु गरे । त्यहाँ सन् २०२६ मार्चसम्म काम गरेपछि पुनः अप्रिल महिनादेखि मिराल ग्रुपमै फर्किएर कार्यरत छन् ।

    सफलताको सुन्दर कथा प्रभाकरको परिवार
    आज प्रभाकरको परिवार पनि सफलताको अर्को सुन्दर कथा बनेको छ । उनकी श्रीमती प्रज्ञा घिमिरे अबुधाबीकै एक चर्चित अस्पतालमा मार्केटिङ प्रतिनिधिका रुपमा कार्यरत छिन् । उनीहरुकी नौ वर्षीया एक छोरी छिन्, जसले परिवारको खुसीलाई अझ पूर्ण बनाएको छ ।


    तर यो सहज यात्राको अन्त्यमा पुगेको सफलता होइन । यूएईका सुरुवाती दिनहरु निकै संघर्षपूर्ण थिए । सीमित आम्दानी, जिम्मेवारी र भविष्यको अनिश्चितताबीच उनले निरन्तर संघर्ष गरे । आज भने परिस्थितिले पूर्ण मोड लिएको छ । परिवार आर्थिक रुपमा सबल बनेको छ ।


    उनका ९८ वर्षीय हजुरबा अहिले नेपालमै छन् । दाजुको बसोवास हाल क्यानडामा छ । बाबुआमा कहिले क्यानडा त कहिले अबुधाबी गर्दै परिवारसँग समय बिताइरहेका छन् । यसले परिवारको सम्बन्धलाई अझ बलियो बनाएको छ । आज प्रभाकर आफ्नो वर्तमान अवस्थाप्रति अत्यन्त सन्तुष्ट छन् । परिवार खुसी छ, जीवन व्यवस्थित छ र करियर सुदृढ छ ।

    भारतीयको प्रभूत्वमा नेपाली लिडर
    यूएईको आईटी क्षेत्रमा भारतीयहरुको प्रभूत्व रहेको अवस्थामा सीमित नेपालीहरुमध्ये उच्च व्यवस्थापकीय पदमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । आज प्रभाकर केवल यूएईको एक सफल आईटी व्यवस्थापक मात्र होइनन्, नेपाली प्राविधिक जनशक्तिको अन्तर्राष्ट्रिय सम्भावनाका एक सशक्त प्रतिनिधि पनि बनेका छन् । वर्षौंको अनुभव, संघर्ष र सफलतापछि उनी अहिले यूएईको सूचना प्रविधि क्षेत्रको अवस्थालाई नजिकबाट बुझ्ने अवस्थामा पुगेका छन् ।


    उनका अनुसार अहिले यूएईमा सूचना प्रविधि क्षेत्रको सम्भावना अत्यन्तै व्यापक छ । डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, डाटा व्यवस्थापन र क्लाउड कम्प्युटिङजस्ता क्षेत्रमा तीव्र विस्तार भइरहेकाले दक्ष जनशक्तिको माग निरन्तर बढिरहेको छ । यही कारणले यूएईलाई उनी ‘अवसरको खानी’का रुपमा व्याख्या गर्छन् ।


    प्रभाकरको बुझाइमा नेपाली आईटी विज्ञहरुको गुणस्तर अन्तर्राष्ट्रिय बजारमा निकै राम्रो मानिन्छ । सीप, मेहनत र समस्या समाधान गर्ने क्षमताका आधारमा नेपालीहरु कुनै पनि देशका जनशक्तिभन्दा कम छैनन् । तर यूएईको आईटी बजारमा भारतीयहरुको अत्यधिक बाहुल्यता रहेको सन्दर्भमा त्यो घेरा तोड्नु अहिले नेपालीहरुका लागि मुख्य चुनौती बनेको छ ।


    उनी भन्छन्, ‘हाम्रो क्षमता राम्रो छ, तर पहुँच कमजोर छ । अवसरसम्म पुग्ने बाटो खुलाउन सके नेपालीहरु यूएईको आईटी बजारमा उल्लेखनीय रुपमा स्थापित हुन सक्छन् ।’


    उनको विचारमा नेपाल सरकारले यो क्षेत्रलाई रणनीतिक रुपमा प्राथमिकतामा राख्न सके देशले दक्ष जनशक्तिमार्फत ठूलो मात्रामा वैदेशिक आम्दानी भिœयाउन सक्छ । अहिले विश्वभर आईटी सेवाको माग तीव्र गतिमा बढिरहेको अवस्थामा नेपालले आफ्ना युवालाई दक्ष बनाएर अन्तर्राष्ट्रिय बजारमा पठाउने नीति अपनाउनुपर्ने उनको सुझाव छ ।


    प्रभाकरका अनुसार यो केवल सरकारको दायित्व मात्र होइन । सामाजिक संघसंस्था, व्यावसायिक संगठन र स्वयं यस क्षेत्रमा कार्यरत दक्ष व्यक्तिहरुले पनि आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्छ । यदि यी सबै पक्ष एकै दिशामा अघि बढ्न सके यूएईको आईटी बजारमा नेपालीहरुको पहुँच उल्लेखनीय रुपमा विस्तार हुन सक्छ ।


    उनी भन्छन्, ‘यूएईमा अवसर खोज्न आउनेहरुका लागि अहिलेको समय उपयुक्त छ । यहाँ कम्पनीहरुसँग सिधै सम्पर्क गरेर आफ्नो क्षमता प्रस्तुत गर्न सकिन्छ । अझ अहिलेको डिजिटल युगमा यूएईमै बसेर मात्र होइन, नेपालमै बसेर पनि यहाँका कम्पनीका लागि काम गर्ने अवसरहरु बढिरहेका छन् ।’
    उनको यो अनुभवले नयाँ पुस्तालाई एउटा महत्वपूर्ण सन्देश दिन्छ– विश्व बजारमा अवसर खोज्न विदेश जानु मात्र अन्तिम विकल्प होइन सीप, दक्षता र सही नेटवर्क भए आफ्नै देशमा बसेर पनि अन्तर्राष्ट्रिय स्तरको करियर निर्माण गर्न सकिन्छ ।

    सामाजिक जीवनमा सक्रियता
    व्यावसायिक सफलतासँगै प्रभाकर र उनकी जीवनसंगिनी प्रज्ञा सामाजिक सेवामा पनि सक्रिय रहँदै आएका छन् । व्यक्तिगत सफलतालाई समाजप्रतिको जिम्मेवारीसँग जोड्दै उनीहरु यूएईका विभिन्न नेपाली संघसंस्थामार्फत आर्थिक सहयोग, राहत वितरण तथा मानवीय सेवामा निरन्तर संलग्न छन् । विशेषगरी कोभिड–१९ महामारीका समयमा यूएईमा समस्यामा परेका नेपालीहरुलाई राहत, समन्वय र आवश्यक सहयोग उपलब्ध गराउन उनीहरुले महत्वपूर्ण योगदान दिएका थिए ।

    साथै, नेपालमा बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्तिका बेला पनि उनीहरुले विभिन्न माध्यमबाट सहयोग गर्दै आएका छन् । बहुसांस्कृतिक समाजमा मानवसेवा सीमाभन्दा माथिको विषय हो भन्ने मान्यतालाई व्यवहारमा उतार्दै यो दम्पतीले समाजसेवामार्फत नेपाली समुदायमा सकारात्मक छाप छोड्न सफल भएका छन् ।
    प्रभाकर र प्रज्ञाको जीवनयात्रा केवल सफलता, संघर्ष र समर्पणको कथा मात्र होइन यो समाजप्रति उत्तरदायित्व, परिवारप्रतिको समर्पण र मातृभूमिप्रतिको अपनत्वको पनि कथा हो ।


    इलामको एउटा सामान्य गाउँबाट शुरु भएको यो यात्रा आज अन्तर्राष्ट्रिय आईटी बजारसम्म पुगेको छ । यो केवल एउटा व्यक्तिको उपलब्धि होइन, सम्भावनाको खोजीमा रहेका हजारौं नेपाली युवाका लागि प्रेरणाको कथा हो । प्रभाकरको कथाले यही सन्देश दिन्छ– सपना साना वा ठूला हुँदैनन्, तिनलाई साकार पार्ने साहस र निरन्तरता नै सफलताको वास्तविक आधार हो ।


    अवसरको खोजी, सीपप्रतिको निष्ठा र आत्मविश्वासको बलमा नेपाली युवाले विश्वको जुनसुकै कुनामा पनि आफ्नो पहिचान बनाउन सक्छन् भन्ने सन्देश प्रभाकरको जीवनले स्पष्ट रुपमा दिएको छ । मेहनत, धैर्य र स्पष्ट लक्ष्य भए गाउँको सामान्य परिवारबाट पनि विश्वस्तरको सफलता सम्भव हुन्छ भन्ने जीवित प्रमाण हुन्– प्रभाकर शर्मा ।

  • यूएईको अत्यधिक गर्मीबाट बच्न अपनाउनुपर्ने सावधानीहरू

    यूएईको अत्यधिक गर्मीबाट बच्न अपनाउनुपर्ने सावधानीहरू

    विश्व न्यूजको यूएई अंकमा हामीले स्वास्थ्य सचेतना सामग्री प्रकाशित गर्दै आएका छौं । यस अंकमा हामी गर्मीबाट कसरी बच्ने भन्नेबारे उल्लेख गर्दैछौं ।

    प्रशस्त मात्रामा पानी पिउने, तिर्खा लागेपछि मात्र होइन नियमित रुपमा पानी सेवन गर्ने ।
    घाममा काम गर्दा वा हिँड्दा टोपी, छाता र सनग्लास प्रयोग गर्ने ।


    हल्का, फुस्रो र सुती कपडा लगाउने ।


    दिउँसो १२ः३० देखि ३ः०० बजेसम्म सकेसम्म प्रत्यक्ष घाममा नबस्ने ।


    बाहिरी क्षेत्रमा काम गर्नेहरुले नियमित विश्राम लिने ।


    शरीरमा पानीको मात्रा कायम राख्न कागती, नुन पानी, नरिवल पानी, ओआरएस र खनिजयुक्त पेय पदार्थ सेवन गर्ने ।


    अत्यधिक चिया, कफी तथा चिनीजन्य पेय पदार्थको सेवन कम गर्ने ।
    पार्किङमा राखिएको बन्द सवारीसाधनभित्र बालबालिका वा वृद्धवृद्धालाई नछोड्ने ।
    टाउको दुख्ने, चक्कर लाग्ने, अत्यधिक पसिना आउने वा वाकवाकी लाग्ने जस्ता लक्षण देखिए तुरुन्त चिसो स्थानमा जाने ।


    घर तथा कार्यस्थलमा एसी वा पर्याप्त हावाप्रवाहको व्यवस्था गर्ने ।


    उपलब्ध गराएको सुरक्षा व्यवस्था अनिवार्य रुपमा प्रयोग गर्ने ।


    वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीहरुको विशेष हेरचाह गर्ने ।


    रमजान वा उपवासका बेला स्वास्थ्य अवस्थाअनुसार चिकित्सकको सल्लाह लिनु उपयुक्त हुने ।


    आपतकालीन अवस्थामा नजिकको स्वास्थ्य संस्था वा आपतकालीन सेवासँग तत्काल सम्पर्क गर्ने ।

    यूएई सरकारको विशेष निर्देशन

    १५ जुनदेखि १५ सेप्टेम्बरसम्म ‘मिड–डे ब्रेक’ नियम पालना गर्ने ।


    रोजगारदाताले श्रमिकका लागि छायाँ, चिसो पानी, प्राथमिक उपचार सामग्री र विश्रामस्थलको व्यवस्था गर्नुपर्ने ।


    नियम उल्लंघन गर्ने कम्पनीमाथि जरिवाना र कानुनी कारबाही हुन सक्ने ।

    यी उपायहरु अपनाउँदा अत्यधिक गर्मीका कारण हुने स्वास्थ्य जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।

  • चुनौती चिर्दै, सफलता चुम्दै : उद्यमी रमेश श्रेष्ठको प्रेरणादायी यात्रा

    चुनौती चिर्दै, सफलता चुम्दै : उद्यमी रमेश श्रेष्ठको प्रेरणादायी यात्रा

    २२ असार, यूएई । स्याङ्जाको सामान्य परिवारमा हुर्किएका रमेश श्रेष्ठले आफ्नो जीवनमा सफलता कुनै सहज यात्राबाट हासिल गरेका होइनन् । संघर्ष, असफलता, धैर्य र निरन्तर प्रयासको लामो शृङ्खलापछि उनी आज यूएईको नेपाली समाजदेखि अन्तर्राष्ट्रिय स्तरमा परिचित नेपाली उद्यमी तथा सामाजिक अभियन्ताका रुपमा स्थापित भएका छन् । उनको जीवनयात्राले एउटा स्पष्ट सन्देश दिन्छ– सफलता परिस्थितिले होइन, निरन्तर प्रयासले निर्धारण गर्छ ।


    रमेश श्रेष्ठको बाल्यकाल साधारण नेपाली परिवारमा बित्यो । परिवारले उनलाई इमानदारी, अनुशासन र मेहनतका मूल्य सिकायो । व्यवसायमा संलग्न रहेका उनका बुवाले व्यापारसँगै सामाजिक सेवामा पनि सक्रिय भूमिका निर्वाह गर्थे । यही वातावरणले रमेशमा सानैदेखि जिम्मेवारीबोध, नेतृत्व क्षमता र समाजप्रतिको उत्तरदायित्वको भावना विकास गरायो । उनी केवल पढाइमा मात्र सीमित रहेनन्, परिवारको व्यवसायमा पनि सहभागी भए । व्यापार सञ्चालन, ग्राहकसँगको व्यवहार र निर्णय क्षमताका प्रारम्भिक अनुभवले उनलाई व्यावहारिक जीवनका महत्वपूर्ण पाठ सिकायो ।


    एसएलसी उत्तीर्ण गरेपछि उनले कमर्श विषयमा अध्ययनलाई निरन्तरता दिए । अध्ययनसँगै व्यवसायमा सक्रिय रहँदा उनले उद्यमशीलताको वास्तविक अर्थ बुझ्न थाले । कलेज जीवनमा उनी विभिन्न सामाजिक तथा विद्यार्थी गतिविधिमा पनि सहभागी भए । जिल्लास्तरका संघसंस्थामा सक्रिय भूमिकाले उनको नेतृत्व क्षमता अझ परिष्कृत बनायो । यही अनुभवले भविष्यमा सामाजिक र व्यावसायिक दुवै क्षेत्रमा नेतृत्व गर्ने आत्मविश्वास प्रदान ग¥यो ।


    सन २००१ तिर उनले औपचारिक रुपमा आफ्नै व्यवसाय शुरु गरे । पोखरा र स्याङ्जामा इलेक्ट्रिकल सामग्री वितरणको कामबाट उद्यमशीलताको यात्रा अघि बढाए । तर त्यो समय नेपाल द्वन्द्वको चपेटामा थियो । राजनीतिक अस्थिरता र असुरक्षाले व्यापारमा प्रत्यक्ष असर पा¥यो । उनले करिब २० लाख रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुप¥यो । धेरैका लागि यस्तो अवस्था अन्तिम हार बन्न सक्थ्यो । तर श्रेष्ठले त्यसलाई अन्त्य होइन, नयाँ शुरुवातका रुपमा लिए । असफलताले उनलाई निराश बनाउनुको सट्टा थप परिपक्व बनायो ।


    अन्ततः सन् २००८ मा उनले दुबई जाने निर्णय गरे । त्यहाँ उनले रोड्स एण्ड ट्रान्सपोर्ट अथोरिटी (आरटीए) अन्तर्गत बस चालकका रुपमा काम शुरु गरे । मासिक चार हजार सात सय दिराम तलब पाउने यो जागिरले आर्थिक आधार त दियो, तर जीवन भने सहज थिएन । बिहानदेखि रातिसम्मको कडा मेहनत, परिवारबाट टाढा बस्नुपर्ने पीडा र नयाँ वातावरणसँग घुलमिल हुनुपर्ने चुनौतीले प्रारम्भिक समय निकै कठिन बनायो ।


    केही वर्ष उनको जीवनको सबैभन्दा चुनौतीपूर्ण चरणमध्ये एक थियो । तर उनले कठिनाइसँग सम्झौता गरेनन्, बरु त्यसलाई अवसरमा रूपान्तरण गर्ने प्रयास गरे । पछि परिवारलाई पनि दुबई ल्याएपछि मानसिक रुपमा थप सशक्त बने । परिवारको साथले उनीभित्र नयाँ ऊर्जा थपियो । यही अवधिमा उनले अनुशासन, समय व्यवस्थापन र जिम्मेवारीको महत्वलाई अझ गहिरोसँग आत्मसात् गरे ।
    दुबई बसाइका क्रममा उनले वैदेशिक रोजगारी र मानव संसाधन व्यवस्थापनको क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पाए ।

    अनुभव बढ्दै जाँदा उनले आफ्नै रिक्रुटमेन्ट व्यवसाय सञ्चालन गर्ने योजना बनाए । विभिन्न कम्पनीमा काम गर्दै आवश्यक ज्ञान र अनुभव संकलन गरेपछि सन् २०१५ मा उनले ‘डेस्टिनी ह्युमन रिसोर्स’ स्थापना गरे । यही कम्पनीमार्फत नेपाली युवालाई वैदेशिक रोजगारीका अवसर उपलब्ध गराउन थाले । नेपाली कामदारको मेहनत, इमानदारी र सीप अन्तर्राष्ट्रिय बजारमा विश्वासिलो रहेको अनुभवले उनको व्यवसायलाई विस्तार गर्न सहयोग पु¥यायो । क्रमशः उनले भारत, श्रीलंका, भियतनाम, इन्डोनेसिया लगायतका देशबाट समेत जनशक्ति व्यवस्थापन गर्ने काम शुरु गरे ।


    व्यवसायसँगै रमेश श्रेष्ठ सामाजिक क्षेत्रमा पनि सक्रिय रहे । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईमा उनले विभिन्न जिम्मेवारी सम्हाले । उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारीसम्म पुग्दा उनले नेपाली समुदायलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । विशेषगरी यूएईमा एनआरएनएलाई आधिकारिक रुपमा दर्ता गराउने प्रक्रियामा उनको नेतृत्वलाई उल्लेखनीय उपलब्धिका रुपमा हेरिन्छ । उनका लागि सामाजिक सेवा व्यवसायभन्दा अलग विषय होइन, समाजप्रतिको दायित्वको निरन्तरता थियो ।


    तर सफलता हासिल गर्ने क्रममा उनले फेरि अर्को ठूलो चुनौतीको सामना गर्नुप¥यो । सन् २०१४ तिर निर्माण क्षेत्रमा प्रवेश गर्दै ‘कन्स्ट्रक्सन कम्पनी’ स्थापना गरे । व्यवसाय विस्तार गर्ने उद्देश्यले शुरु गरिएको यो प्रयास साझेदारसँगको विवादका कारण असफल भयो । करिब ३० लाख दिराम बराबरको आर्थिक क्षति मात्रै होइन, कानुनी झन्झटसमेत बेहोर्नुप¥यो । यो उनको जीवनको अत्यन्त कठिन मोड थियो । तर विगतका अनुभवले उनलाई एउटा कुरा सिकाइसकेको थियो– असफलता स्थायी हुँदैन । उनले निर्माण क्षेत्रबाट बाहिरिने निर्णय गरे र फेरि आफ्नो मुख्य दक्षता रहेको रिक्रुटमेन्ट व्यवसायमै केन्द्रित भए ।


    त्यसपछि उनले ‘जीसीडी वल्र्डवाइड’ स्थापना गर्दै व्यवसायलाई नयाँ ढंगले विस्तार गर्न थाले । यूएईमा जीसीडी एचआर एन्ड म्यानेजमेन्ट कन्सल्टेन्सी र जीसीडी डकुमेन्ट सर्भिसेज स्थापना गरे । सन् २०१६ मा जीसीडी क्लिनिङ कम्पनी एलएलसी शुरु गर्दै सेवा क्षेत्रमै अर्को सफल पाइला चाले । बिस्तारै उनका कम्पनीहरुले स्थायित्व प्राप्त गरे र अन्तर्राष्ट्रिय बजारमा आफ्नो विश्वसनीयता स्थापित गर्न सफल भए ।


    कोभिड–१९ महामारीले विश्व अर्थतन्त्रलाई गम्भीर रुपमा प्रभावित बनाएको बेला पनि रमेश श्रेष्ठले व्यवसायलाई रोकेनन् । चुनौतीका बीच नयाँ अवसर खोज्दै उनले युरोपेली मुलुकहरु– क्रोएसिया, पोल्याण्ड, लिथुआनिया, हंगेरी र माल्टा लगायतमा नेपाली कामदार पठाउने प्रक्रिया शुरु गरे । बदलिँदो श्रम बजारअनुसार व्यवसायलाई रूपान्तरण गर्ने क्षमताले उनलाई अन्य उद्यमीभन्दा फरक बनायो । आज उनका कम्पनीमार्फत हरेक वर्ष हजारौं नेपालीले वैदेशिक रोजगारीका अवसर प्राप्त गरिरहेका छन् । अहिले उनको कम्पनीमा २०० जनाभन्दा बढीले रोजगारी पाएका छन् ।


    हाल नेपाल, यूएई, भारत लगायत विभिन्न देशमा उनका कार्यालय सञ्चालनमा छन् । सयौं कर्मचारीको टोलीसँग उनले अन्तर्राष्ट्रिय स्तरको मानव संसाधन व्यवस्थापन व्यवसाय सञ्चालन गरिरहेका छन् । व्यवसाय विस्तारसँगै उनले रोजगारी सिर्जना, सीप विकास र नेपाली श्रमिकलाई सुरक्षित वैदेशिक रोजगारीमा जोड्ने कामलाई प्राथमिकतामा राखेका छन् ।


    सयौं नेपालीलाई वैदेशिक रोजगारीमा जोड्ने रिक्रुटमेन्ट व्यवसाय सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण काम भएको रमेश श्रेष्ठ बताउँछन् । ठूलो संख्यामा श्रमिकसँग काम गर्दा कहिलेकाहीँ समस्या देखिनु स्वाभाविक भए पनि त्यस्ता समस्या संवाद र कानुनी प्रक्रियामार्फत समाधान गर्न सकिने उनको भनाइ छ । ‘हाम्रो उद्देश्य श्रमिकलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउनु हो,’ श्रेष्ठ भन्छन् । व्यवसायको मूल उद्देश्य नाफा मात्र नभई नेपाली श्रमिकलाई रोजगारीको अवसरसँग जोड्दै उनीहरुको हितमा काम गर्नु रहेको उनको दाबी छ ।


    व्यवसायसँगै रमेश श्रेष्ठ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । उनी हाल गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रीय संयोजकका रुपमा कार्यरत छन् । यस भूमिकामार्फत उनले मध्यपूर्वमा रहेका नेपाली समुदायका हकहित, श्रमिक कल्याण तथा संगठन सुदृढीकरणका विषयमा सक्रिय रुपमा काम गरिरहेका छन् ।


    रमेश श्रेष्ठको जीवन केवल व्यक्तिगत सफलताको कथा होइन । यो असफलताबाट उठ्ने साहस, परिस्थितिलाई अवसरमा बदल्ने दृष्टिकोण र निरन्तर संघर्षको उदाहरण पनि हो । उनले भोगेका चुनौतीहरुले देखाउँछन् कि व्यवसायमा जोखिम अपरिहार्य हुन्छ, तर सही निर्णय, धैर्य र आत्मविश्वासले कठिन परिस्थितिलाई पनि पार गर्न सकिन्छ । परिवारको साथ, अनुशासन, इमानदारी र स्पष्ट लक्ष्यप्रतिको प्रतिबद्धताले नै सफलताको आधार तयार गर्छ भन्ने सन्देश उनको यात्राले दिन्छ ।


    सानो शहरबाट शुरु भएको यात्रा आज अन्तर्राष्ट्रिय उद्यमशीलताको पहिचानसम्म पुगेको छ । संघर्षका अनेक अध्याय पार गर्दै उनले आफू मात्र होइन, हजारौं नेपालीका लागि रोजगारी र आशाको ढोका खोल्ने काम गरेका छन् । यही कारण रमेश श्रेष्ठको जीवनकथा केवल सफल व्यवसायीको परिचय होइन, संघर्षरत युवाका लागि प्रेरणाको स्रोत पनि बनेको छ । कठिनाइलाई हार होइन, सिकाइका रुपमा स्वीकार गर्ने र अवसरलाई मेहनतसँग जोड्ने जो–कोहीका लागि उनको यात्रा अनुकरणीय उदाहरण बनेर उभिएको छ ।

  • खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

    खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

    तेहरान, २२ असार (रासस–एपी) । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि सोमबार राजधानी तेहरानमा विशाल शोक जुलुस सुरु भएको छ । खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा राखी परिवारका सदस्यहरूसहित ट्रकमार्फत तेहरानका मुख्य सडक हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको छ । फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले सुरु गरेको युद्धको प्रारम्भिक चरणमा भएको हवाई आक्रमणमा उनको मृत्यु भएको थियो ।

    इरानी राज्य सञ्चारमाध्यमका अनुसार जुलुस सुरु भइसकेको छ भने सरकारप्रति जनसमर्थन प्रदर्शन गर्ने उद्देश्यले ठूलो सङ्ख्यामा नागरिकलाई सहभागी गराइएको छ । शोक अवधिलाई मध्यनजर गर्दै सडक, हवाई क्षेत्र तथा सार्वजनिक गतिविधिमा विशेष प्रतिबन्ध लगाइएको छ । शनिबारदेखि सुरु भएको राष्ट्रिय शोक बिहीबारसम्म रहनेछ । त्यसपछि ८६ वर्षीय खामेनीलाई उहाँको जन्मस्थान मशहदस्थित इमाम रेजा मन्दिर परिसरमा अन्त्येष्टि गरिनेछ ।

    यसबीच, संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पूर्ण रूपमा पुनः सञ्चालन, इरानको विवादित आणविक कार्यक्रम नियन्त्रण तथा युद्धको स्थायी अन्त्यका लागि वार्ता अघि बढाउन दबाब दिइरहे पनि अन्त्येष्टि सम्पन्न नभएसम्म वार्ता स्थगित रहने सङ्केत देखिएको छ । अन्त्येष्टिको वातावरणबीच खामेनीको मृत्युको बदला लिनुपर्ने आवाज पनि चर्किएको छ । जुलुसमा सहभागी केही शोकाकुल व्यक्तिहरूले बोकेका प्लेकार्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध आक्रोश व्यक्त गरिएको थियो । अमेरिकी अधिकारीहरूले सन् २०२० मा जनरल कासिम सुलेमानीको हत्या भएपछि ट्रम्प र अन्य अधिकारीविरुद्ध इरानबाट आउने सम्भावित धम्कीहरू लामो समयदेखि निगरानीमा राख्दै आएका छन् । यद्यपि इरानले ट्रम्पको हत्या गर्ने कुनै षड्यन्त्र रहेको आरोप निरन्तर अस्वीकार गर्दै आएको छ ।

    यता ट्रम्पले पनि युद्धका क्रममा इरानविरुद्ध कडा चेतावनी दिँदै देशको सभ्यतासमेत ध्वस्त पार्ने धम्की दिएका थिए । शोक जुलुसमा सहभागी फातिमा हसनले भनिन्, “आज हामी आफ्ना नेताप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आएका छौँ । यो हाम्रो लागि अत्यन्त पीडादायी दिन हो। हामी उनलाई बिदाइ मात्र गर्न होइन, उनको मृत्युको बदला लिन पनि प्रतिबद्ध छौँ ।”

  • उत्तर कोरियाद्वारा नयाँ विध्वंसक जहाज ‘काङ कोन’ को ‘परीक्षण’

    उत्तर कोरियाद्वारा नयाँ विध्वंसक जहाज ‘काङ कोन’ को ‘परीक्षण’

    सियोल, २२ असार (रासस–एएफपी) । उत्तर कोरियाले यो हप्ता पाँचहजार टनको विध्वंसक जहाज ‘काङ कोन’ को परीक्षण गरेको कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)ं ले जनाएको छ । नेता किम जोङ उनले यो हप्ता पाँच हजार टनको विध्वंसक जहाज ‘काङ कोन’ को परीक्षणका साथै क्रुज मिसाइल प्रक्षेपण र ‘विद्युतीय युद्धसामग्री’ समेतको निरिक्षण गर्नुभएको जानकारी राज्य सञ्चालित केसिएनएले आइतबार रिपोर्ट गरेको हो ।

    यो नौसेना जहाज गत वर्ष उद्घाटन समारोहका क्रममा पल्टिएपछि पछि मर्मत गरिएको थियो । कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएअनुसार, परीक्षण शुक्रबार भएको हो। यो परीक्षण अर्को पाँच हजार टनको टनको विध्वंसक जहाज ‘चोए ह्योन’ सैन्य सेवामा प्रवेश गरेको दुई हप्ता पनि नबित्दै भएको हो।

    त्यस कमिसनिङ समारोहमा किमले आफ्नो नौसेनालाई आणविक हतियारले सुसज्जित गर्ने र नयाँ १० हजार टनका युद्धपोतहरू विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कमिसनिङ भनेको योजना र डिजाइनदेखि वास्तविक निर्माण, कार्यान्वयन वा स्थापनासम्मका सबै सञ्चालन घटकहरू जसरी काम गर्नुपर्ने हो त्यसरी नै काम गरिरहेको छ भनी सुनिश्चित गर्ने विधिगत दृष्टिकोण हो। यसको उद्देश्य निरीक्षण, दस्तावेजीकरण र परियोजनाको प्रगति परियोजना मालिकको आवश्यकता र विशिष्टताहरूसँग बराबर छ कि छैन भनेर प्रमाणित गर्नु हो।

    शुक्रबारको हतियार परीक्षणपछि किमले ‘विध्वंसक जहाजको परीक्षण प्रक्रिया जिम्मेवारीपूर्वक पूरा गर्न र दुई महिनाभित्र नौसेनालाई सुम्पन’ निर्देशन दिनुभएको केसीएनएले जनाएको छ ।

    केसीएनएले जारी गरेको फोटोमा पहेँलो टोपी लगाएका किम समुद्री टापुको एक अग्लो बिन्दुबाट हतियार परीक्षण हेर्दै गरेको देखिनुभएको छ भने उहाँको दायाँबायाँमा सैनिक अधिकारीहरू रहेका देखिन्छ ।अर्को फोटोमा काङ कोनले समुद्रमा मिसाइल प्रक्षेपण गर्दा धुवाँको मुस्लो उडिरहेको देखिन्छ।

    निरिषणपछि देशको ‘युद्ध निरोधक क्षमता’ लाई मजबुत बनाउनुपर्ने दोहो¥याउँदै किमले उत्तर कोरियाको ‘पूर्ण शक्ति’ प्रदर्शन गर्ने प्रतिबद्धता जनाएको केसीएनएले उल्लेख गरेको छ।

    काङ कोन गत वर्ष मे महिनामा दुर्घटनामा परेको थियो। किमको प्रत्यक्ष उपस्थितिमा पानीमा परीक्षण गर्दा आंशिक रूपमा पल्टिएर क्षति भएको थियो । किमले दुर्घटनाको लागि ‘पूर्ण लापरवाही’ र ‘जिम्मेवारीहीनता’ लाई दोष दिँदै दोषीहरूलाई कारबाही गर्न आदेश दिनुभएको थियो ।

    –नौसेना महत्वाकाङ्क्षा–

    विश्लेषकहरूका अनुसार किमले दुई महिनाभित्र जहाज सुम्पने निर्देशन एउटा ठूलो राजनीतिक वर्षगाँठसँग जोडिएको हुन सक्छ ।

    “उत्तर कोरियाको राजनीतिक पात्रो हेर्दा, सबैभन्दा सम्भव कुरा यो हो कि जहाजलाई देशको स्थापना भएको ७८ औं वर्षगाँठ अर्थात् सेप्टेम्बर ९ मा सेनालाई सुम्पिइने छ,” सियोलस्थित कोरिया इन्स्टिच्युट फर नेशनल युनिफिकेसनका हङ मिनले एएफपीसँग भने । एक पटक तैनाथ भएपछि यो युद्धपोत मुख्य रूपमा कोरियाली प्रायद्वीपको पूर्वी तटमा सञ्चालन हुने सम्भावना छ । “अहिलेलाई यसको फोकस कम जोखिमयुक्त, नजिकको समुद्री क्षेत्रमा सञ्चालन कौशलता बढाउनेमा रहनेछ,” उनले भने ।


    सन् २०१९ मा हनोईमा किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर वार्ता असफल भएपछि उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय’ आणविक राज्य भएको बारम्बार घोषणा गर्दै आएको छ । उत्तर कोरिया दक्षिण कोरियासँग प्राविधिक रूपमा अझै युद्धको अवस्थामा छ किनकि सन् १९५० देखि सन् १९५३ को द्वन्द्व शान्ति सन्धि भएर नभई युद्धविराममा टुङ्गिएको थियो। दक्षिण कोरियाली नौसेनासँग पाँचहजार टनभन्दा ठूला १० भन्दा बढी जहाज छन् भने उत्तर कोरियासँग मात्र दुईवटा छन् ।

  • बङ्गलादेशको निर्यातमा सामान्य कमी

    बङ्गलादेशको निर्यातमा सामान्य कमी

    ढाका, २२ असार (रासस–सिन्ह्वा) । सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको एक बर्षको समयमा बङ्गलादेशको निर्यात आम्दानीमा ०।५८ प्रतिशतले घटेर करिब ४८ अर्ब अमेरिकी डलरमा सीमित भएको छ । निर्यात प्रवद्र्धन विभागले आइतबार जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार, जुन महिनामा देशले ४.२० अर्ब डलरको सामान निर्यात गरेको छ, जुन गत वर्षको सोही महिनाको तुलनामा करिब २६ प्रतिशत बढी हो । यसको मुख्य कारण तयारी पोशाक (रेडिमेड गार्मेन्ट्स) को माग बढ्नु हो ।

    गत आर्थिक वर्षको कुल निर्यात आम्दानीमध्ये बङ्गलादेशले ३८.७० अर्ब डलर तयारी पोशाक (बुनेका गार्मेन्ट्स) बाट कमाएको छ। बङ्गलादेशले आर्थिक वर्ष २०२५–२६ को लागि कुल ५५ अर्ब डलर निर्यात लक्ष्य राखेको थियो, जसमध्ये तयारी पोशाकबाट मात्र करिब ४५ अर्ब डलर कमाउने लक्ष्य थियो । बङ्गलादेशले तयारी पोशाकबाट सबैभन्दा बढी आम्दानी गर्छ ।

  • युट्युब हेरेर व्यावसायिक कृषिमा शेर्पा

    युट्युब हेरेर व्यावसायिक कृषिमा शेर्पा

    तुलसीपुर (दाङ), २२ असारः अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम हो । तर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाएकी छिन् । पाँच वर्षअघि मोबाइलको पर्दाबाट सुरु भएको सिकाइले आज उनलाई व्यावसायिक कागती कृषकका रूपमा स्थापित गरेको छ ।

    कुनै औपचारिक तालिम नलिई, कृषि विज्ञको ढोका नढकढक्याईं सुलोचनाले युट्युबमा उपलब्ध सामग्री हेरेरै कागतीखेतीका आधुनिक विधि सिकिन् । त्यसपछि घरसँगै जोडिएको ११ कट्ठा जग्गामा ३०० वटा कागतीका बिरुवा रोपेर व्यावसायिक खेती सुरु गरिन् । “मैले युट्युबबाट धेरै कुरा सिकेँ, त्यसबाट आत्मविश्वास बढ्यो र खेती सुरु गर्ने निर्णय गरेँ”, उनले भनिन् ।


    सुरुआती वर्षमा उत्पादन कम भए पनि उनी निराश भइनन्हुर । बोटको नियमित हेरचाह, सिँचाइ र प्राङ्गारिक मलको प्रयोगलाई निरन्तरता दिइन् । त्यसको प्रतिफलस्वरूप गत वर्ष सबै खर्च कटाएर करिब रु एक लाख ५० हजार आम्दानी गर्न सफल भइन् । यस वर्ष भने बगैँचाका अधिकांश बोट फलले लटरम्म छन् । उत्पादन बढेकाले आम्दानी रु दुई लाखसम्म पुग्ने अपेक्षा उनकाे छ । “गत वर्षभन्दा यसपालि धेरै राम्रो फल लागेको छ, मेहनतको प्रतिफल देखिन थालेको छ”, उनले भनिन् ।

    अहिले उनले विभिन्न कृषिसम्बन्धी सङ्घसंस्था र सरकारी निकायबाट पनि प्राविधिक सहयोग लिन थालेकी छिन् । झोल मल, गोठे मल र गड्यौला मलको प्रयोग गरेर प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिइरहेकी छिन् । यसले उत्पादनको गुणस्तर सुधारिनुका साथै लागत पनि घटेको उनको अनुभव छ ।

    सुलोचनाको बुझाइमा अहिले सूचना र प्रविधिको पहुँच गाउँसम्म पुगेको छ । त्यसलाई मनोरञ्जनमा मात्र सीमित नराखी सीप सिक्ने माध्यमका रूपमा उपयोग गर्न सके आत्मनिर्भर बन्न सकिन्छ । उनको सफलताले आधुनिक प्रविधिको सही उपयोगले गाउँमै बसेर पनि रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । कुनै समय मनोरञ्जनका लागि चलाइएको मोबाइल आज उनका लागि खेतीको गुरु बनेको छ भने कागती बगैँचाले उनको जीवनमा आर्थिक आत्मनिर्भरताको नयाँ अध्याय लेखिदिएको छ ।

  • पोखरा–दुबई उडान दिगो बनाउन पहल

    पोखरा–दुबई उडान दिगो बनाउन पहल

    रासस
    गण्डकी, २२ असारः आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ । आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँगको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउनेगरी काम सुरु भएको बताए ।

    पोखरा–दुबई उडानलाई स्थायित्व दिन स्थानीयवासी र सरोकारवालाको सहयोग महत्त्वपूर्ण हुने उनको भनाइ थियो । यो उडानले गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लन्डन, न्युयोर्क, टोकियोजस्ता विश्वका २५० भन्दा बढी गन्तव्यमा पुग्ने अवसर आएको महाप्रबन्धक शाहीले बताए ।


    सो अवसरमा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पोखराबाट हुने अन्तरराष्ट्रिय उडानलाई दिगो बनाउन निजी क्षेत्रले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । फ्लाइ दुबईको भगिनी संस्था फ्लाइ इमिरेट्सका महाप्रबन्धक रमेश लामिछानेले उडानलाई दीर्घकालीन बनाउन सम्पूर्ण तयारी भएको बताए । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबईको पोखरा–दुबई उडानलाई नियमित र दिगो


    रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखरा र फ्लाइ दुबईका पदाधिकारीबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो । पर्यटन क्षेत्रको दिगो विकास, अन्तरराष्ट्रिय पर्यटक आगमन वृद्धि तथा निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको थियो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले गत महिना फ्लाइ दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो । यसबीचमा फ्लाइ दुबईले उडान तालिका सार्वजनिक गरिसकेको छ । सुरुमा एक महिनाका लागि मात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ ।

    फ्लाइ दुबईको टोलीले केही समयअघि पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो । सरकारले आगामी आव २०८३÷८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान अनुमति पाएको थियो ।

    पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रने आसमा पर्यटन व्यवसायी छन् । हालसम्म छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान हुनसकेको छैन । झन्डै रु २२ अर्ब ऋणमा बनेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो ।

  • आजको मौसमः केही स्थानमा मध्यम वर्षाको सम्भावना

    आजको मौसमः केही स्थानमा मध्यम वर्षाको सम्भावना

    काठमाडौँ, २२ असारः हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

    आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने विभागको अनुमान छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ । कोशी, मधेस र बागमती प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेस प्रदेश साथै कोशी र बागमती प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

    आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेशका साथै कर्णाली प्रदेशका पहाडी भू–भाग तथा बागमती प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

  • काठमाडौंमा चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

    काठमाडौंमा चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

    काठमाडौँ, २२ असारः काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका ८१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०१, सङ्केत बत्ती उल्लङ्लनकर्ता १५९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०२ जना छन् ।

    साथै ‘लेन’ अनुशासन पालना नगर्ने ९२, निषेधित क्षेत्रमा हर्न बजाउने ११०, सडक पुथपाथ पार्किङमा ११०, एकतर्फीमा ६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५५ जना रहेका छन् । उक्त कारबाहीबाट रु १० लाख ६२ हजार असुली गरिएको छ ।

  • मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

    मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

    काठमाडौँ, २२ असारः इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । दश खेलाडीमा सीमित बनेको इग्ल्याण्डले अन्तिम १६ अन्तर्गत आज भएको खेलमा सहआयोजक मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । मेक्सिको अज्टेका स्टेडियममा भर्खरै सम्पन्न खेमला नर्वेले मेक्सिकोलाई ३–२ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

    इङ्ग्ल्यान्डको जितमा जुड बेलिङहमले २६औँ र ३८औँ मिनेटमा गोल गरे भने कप्तान ह्यारीले खेलको ६०औँ मिनेटमा गोल थपे । मेक्सिकोका लागि जुलियनले खेलको ४२औँ मिनेट र राउल जिमिनेजले ६९ औँ मिनेटमा गोल गरे । इङ्ल्यान्ड खेलको ५५ औँ मिनेटदेखि दश खेलाडीमा सीमित बनेको थियो । खेलको ५४औँ मिनेटमा इङ्ग्ल्यान्डका डिफेन्डर जारेल क्वान्साहले जेसस गालार्डोमाथि ट्याकल गरेपछि रातो कार्ड पाए । इङ्ग्ल्यान्डले अब क्वाटरफाइनल खेलमा नर्वेसँग खेल्नेछ ।

  • ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश

    ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश

    काठमाडौँ, २२ असारः एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा आज भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    नर्वेको जितमा दुवै गोल हालान्डले गरे । उनले खेलको दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए । खेलको ७९औँ मिनेटमा हालान्डले नर्वेका लागि पहिलो गोल गरेका थिए । आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन् । त्यस्तै उनले खेलको ९०औँ मिनेटमा दोस्रो गोल गरे । त्यसैगरी, ब्राजिलका लागि नेइमारले खेलको दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । यस हारसँगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ ।

  • प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

    प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

    काठमाडौँ, २१ असार । प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कमा आयोजना हुने पाँचौँ ‘युनाइटेड नेसन्स चिफ अफ पुलिस समिट’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । उक्त समिट यही असार २३ देखि २४ गतेसम्म चल्नेछ ।

    प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुवै सङ्गठनका वरिष्ठ अधिकृतहरुले बिदाइ गरे । समिटमा अन्तरराष्ट्रिय सहयोग सुदृढीकरण, प्रविधिको प्रयोगलगायत विषयमा छलफल हुने केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    भ्रमणका दौरान महानिरीक्षक कार्कीले संयुक्त राष्ट्र सङ्घका उच्च पदाधिकारी तथा संयुक्त अरब इमिरेट्स (युएई)का प्रतिनिधिमण्डलका सदस्यसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्नेछन् । प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।

  • अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम

    अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम

    संयुक्त राज्य अमेरिका, २१ असार (रासस–एएफपी) । गुआम र उत्तरी मारियानामा रहेका मानिसहरू ‘अत्यन्त खतरनाक’ आँधीको जोखिमबाट बच्न आइतबार आपतकालीन उद्धार केन्द्रहरूमा भेला हुन थालेका छन् । आँधीले गुआम र उत्तरी मारियानाको तटीय क्षेत्रलाई ध्वस्त पार्नसक्ने बताइएको छ ।

    बावी नाम दिइएको अत्यन्त्यै वेगसहितको आँधी स्थानीय समयअनुसार सोमबार बिहान करिब १०ः०० बजे यस क्षेत्र हुँदै पश्चिमतर्फ बढ्ने अनुमान गरिएको छ । यसको हावाको गति २६० किलोमिटर प्रति घण्टा रहने अनुमान गरिएको छ । यो गति पाँचौँ तहको चक्रवात (हुरिकेन) को बराबर हो ।

    अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्लयुएस)ले आँधीलाई ‘अत्यन्त खतरनाक’ भनेको छ र आइतबार दिउँसो वा साँझदेखि उष्णकटिबन्धीय हावाको लहर चल्ने तथा प्रणालीको केन्द्र नजिक ‘विनाशकारी’ क्षति हुने चेतावनी दिएको छ।

    एनडब्लयुएसले भनेको छ, “भारी वर्षाबाट ठूलो बाढी र तटीय क्षेत्र डुबानमा पर्ने सम्भावना छ ।” समुद्रमा करिब १० तले भवनको उचाइ जत्ति अर्थात् ३५ फिट (१०.७ मिटर)सम्मको लहरहरूले ‘अत्यन्त खतरनाक’ अवस्था सिर्जना गर्नेछ ।

    आइतबार गुआममा सडकमा थोरै गाडीहरू मात्र देखिन्थे किनकि भारी वर्षा र बलियो हावाले टापुलाई प्रभावित पारिरहेको थियो । आँधी आउने भनिएको क्षेत्रकी ५५ वर्षीया पिन्की कुबाकुबले आफ्नो रेष्टुरेन्टको झ्यालहरू बन्द गर्दै भने, “म शनिबार बिहानै ५०० डलरको प्लाईउड किनेर ढोका तथा झ्यालहरूलाई थप मजबुत् पार्दैछु ताकि आँधीबाट संरचनामा कम क्षति होस् ।”

    उहाँले एएफपीसँग भने, “म धेरै दिन घर बाहिर बस्न सक्दिनँ । यो मेरा लागि दुःखद् हुनेछ, किनकि म अहिले भर्खरै रोजगारी सुरु गरेको छु, हामीले अहिले जे कमाइरहेका छौँ त्यो भाडा, उपभोग्य सामान, कर्मचारी र अन्य सामग्रीका लागि मात्र हो। म आफैंलाई पनि तलब दिइरहेकी छैन।”

    ४८ वर्षीया कल सेन्टरकी कर्मचारी अरबेला पाउलिनोले भनिन्, “मेरी छोरीहरूले मलाई डरलाग्दो हुनेछ भनिरहेका छन्, तर मैले सबै ठीक हुनेमा आशा गरिरहेकी छु ।” “मेरो घर कङ्क्रीटको छ, त्यसैले सबैभन्दा खराब केही भएमा आँधीले झ्याल फुट्न सक्छ, अरू केही नहोला,” उनले भनिन् ।


    अर्की एक २५ वर्षीया जापानी पर्यटक मिकु सकुराईले आफ्ना साथीहरूसँग आइतबार टोकियो फर्कने तयारीमा रहेको तर मौसमका कारण उनीहरूको उडान रद्द भएपछि त्रासबीच अलपत्र बनेको बताइन् । “आँधी आउँदा हामी होटलमै बस्नेछौँ तर मलाई डर लागिरहेको छ,” उनले भनिन् ।


    गुआमको ‘तालोफोफो बे’मा रहेको एक समुद्र तटमा एक दर्जन जति सर्फरहरूले भने हावाको फाइदा उठाइरहेका थिए ।

    “पानीमा धेरै धुलो र फोहोरे छ तर धेरै रमाइलो छ,” उनीहरूमध्ये एकले भने ।
    —प्रार्थना गर्दै—

    पश्चिमी प्रशान्त महासागरमा रहेको उत्तरी मारियानाको जनसङ्ख्या करिब ४० हजार छ भने नजिकैको गुआमको जनसङ्ख्या करिब एक लाख ७० हजार रहेको छ । मध्य अप्रिलमा यो क्षेत्रमा आएको सिन्लाकुले चक्रवातले गर्दा हजारौँ मानिसको बिद्युत् सोवालाई अवरूद्ध भएको थियो, रूखहरू ढलेका थिए, गाडीहरू लडेका थिए र भवनहरूको टिनको छाना उडाएको थियो ।

    सन् २०२३ मा अर्को ठूलो आँधी ‘मावर’ले पनि ठूलो विनाश गरेको थियो। आइतबार बिहानसम्म बावीले गुआम र साइपान (उत्तरी मारियानाको मुख्य टापु) को बीचमा पर्ने सानो टापु रोटा नजिकबाट गुजर्ने अनुमान गरिएको थियो।

    “आवश्यक सावधानी अपनाएर हामी आफ्ना परिवार, छिमेकी र समुदायलाई जोगाउन सक्छौँ । हामी हाम्रा मानिसहरूको सुरक्षाको लागि प्रार्थना गर्छौं,” रोताका मेयर अउब्री होकोगले भने । संघीय आपतकालीन व्यवस्थापन निकायको टोली गुआममा खटिएको छ । उनीहरूको वितरण केन्द्रमा ११ लाख लिटर पानी, १२ लाख जनाका लागि खाना, र छ हजार ७०० ओछ्यान र ९० जेनेरेटर तयारी अवस्थामा छन्।

    टोलीले ‘उद्धार गर्न वा आश्रय खोज्ने’ समय घर्किँदै गएको’ बताएको छ । गुआमले विद्यालयहरूमा पाँच वटा उद्धार केन्द्र खोलेको छ जसको कुल क्षमता उक हजार ९०० छ । यो मुख्य रूपमा कमजोर घरहरूमा बस्नेहरूका लागि गरिएको व्यवस्थाका बन्दोबस्त हो । स्थानीय अधिकारी डेमन माइकल बोरजाले भन्नुभयो, उनीहरूले ‘मावर’ (विगतको आँधी) बाट धेरै पाठ सिकेका छन्” र अर्को सिन्लाकु नामक आँधी आउँदा राम्रो तयारी गरेका थिए ।

    “मावरको बेला सबै ठाउँमा बिजुली र पानी फर्किन करिब तीन महिना लागेको थियो भने सिन्लाकुमा करिब तीन हप्ता लागेको थियो,” उनले गुआमको आन्तरिक सुरक्षा मुख्यालयमा एएफपीसँगको कुराकानीमा भने ।

    —एल निनो—

    युरोपेली सङ्घको ‘कोपरनिकस मरिन सर्भिस’ले बुधबार विश्वका महासागरहरूमा अहिलेसम्मको रेकर्डमा सबैभन्दा तातो अनुभव गरेको रेकर्डभन्दा बढी तापक्रम बढ्ने अनुमान गरेका छन् । तातो महासागरले उष्णकटिबन्धीय आँधीहरूलाई झन् शक्तिशाली बनाउँछ र बढी आद्र्रता थप्छ जसले भारी वर्षा निम्त्याउँछ ।

    विश्व मौसम सङ्गठनले शुक्रबारे सामान्यतया प्रत्येक दुई देखि सात वर्षमा अनुभव गरिने एल निनोको चेतावनी दिएको छ । यो नौ देखि १२ महिना रहन्छ र यो उष्ण प्रशान्त क्षेत्रमा पहिले नै सुरु भइसकेको आगामी दिनमा अझ बलियो हुने सम्भावना रहनेछ । यो प्राकृतिक जलवायु घटनाले मध्य र पूर्वी भूमध्यरेखामा प्रशान्त महासागरको सतहको तापक्रम बढाउँछ जसले विश्वव्यापी रूपमा हावा, वायुको चाप र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ ।

  • शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

    शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

    पाटन (ललितपुर), २१ असार : नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी रूपमा अघि बढाउन सरकारलाई आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमसम्बन्धी समीक्षा कार्यक्रममा उहाँले राजनीतिक स्थिरता कायम राख्दै सरकारले पाँच वर्षको जनादेशअनुसार काम गर्न पाउनुपर्ने धारणा व्यक्त गरे ।


    प्रधानमन्त्रीको मुख्य जिम्मेवारी सिंहदरबारमा बसेर शासकीय सुधारलाई अघि बढाउनु रहेको उल्लेख गर्दै सभापति थापाले त्यसमा निरन्तरता कायम रहोस् भन्ने कांग्रेसको अपेक्षा रहेको बताए । उनले सरकारको कार्यशैलीका केही विषयमा पार्टीको असहमति रहे पनि प्रतिपक्षको जिम्मेवारीअनुसार रचनात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पारे । “राजनीतिक स्थिरता तलमाथि नहोस् भनेर हामी सरकारलाई समर्थन गरेका छौँ । प्रश्न गर्नुपर्ने ठाउँमा प्रश्न गर्छौँ, समर्थन गर्नुपर्ने ठाउँमा समर्थन गर्छौँ,” उनले भने ।


    विगतमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीले पनि बहुमतको सरकार सञ्चालन गरेको स्मरण गर्दै सभापति थापाले बहुमतलाई देश र व्यवस्थाको हितमा सदुपयोग गर्नुपर्ने आवश्यकता औँल्याए । सरकारले पाएको पाँच वर्षको जनादेशलाई सम्मान गर्दै त्यसलाई सफल बनाउन आवश्यक सहयोग गर्ने उनको भनाइ थियो ।

  • यूएईमा नेपालीको लागि नयाँ व्यवसाय स्थापनाका अवसर र चुनौतीहरू

    यूएईमा नेपालीको लागि नयाँ व्यवसाय स्थापनाका अवसर र चुनौतीहरू

    बद्री भण्डारी
    २१ असार, यूएई । यूएई अर्थात् संयुक्त अरब इमिरेट्स, विशेषगरी दुबई, आज विश्वकै प्रमुख व्यापारिक तथा आर्थिक केन्द्रहरुमध्ये एक हो । सन् १९७१ मा स्थापना भएदेखि यस देशले हासिल गरेको अभूतपूर्व आर्थिक सफलता र विकासमा विश्वका विभिन्न देशका उद्यमी तथा श्रमिकहरुको महत्वपूर्ण योगदान रहेको छ । यस क्रममा नेपाली श्रमिक तथा व्यवसायीहरुको योगदान पनि उल्लेखनीय छ ।


    सामान्यतया नेपालीहरु रोजगारी वा भिजिट भिसामा यूएई आउने गरेको पाइन्छ । त्यसैले यहाँ नेपालीहरुको ठूलो स्तरको लगानी गर्ने अवस्था अझै व्यापक रुपमा विकसित भइसकेको छैन । तथापि, पछिल्ला वर्षहरुमा नेपालीहरुले सञ्चालन गरेका साना तथा मझौला व्यवसायहरुको संख्या निरन्तर बढिरहेको छ ।

    यो नेपाली समुदायका लागि सकारात्मक संकेत हो । किनभने, यूएईमा नेपालीहरु केवल श्रमिक मात्र हुन् भन्ने पुरानो धारणा परिवर्तन हुँदै नेपालीहरु सफल व्यवसायी तथा उद्यमीका रुपमा पनि स्थापित भइरहेका छन् । अब यूएईमा नेपालीको लागि नयाँ व्यवसाय स्थापनाका अवसर र चुनौतीहरुबारे चर्चा गरौं ।
    अवसरहरु

    १. करमैत्री वातावरण
    यूएई विश्वका करमैत्री देशहरुमध्ये एक मानिन्छ । यहाँ व्यक्तिगत आयकर (इनकम ट्याक्स) लाग्दैन । यसले उद्यमीहरुलाई आफ्नो आम्दानीको ठूलो हिस्सा व्यवसाय विस्तार तथा पुनः लगानी गर्न सहयोग पु¥याउँछ ।

    २. अन्तर्राष्ट्रिय बजारमा पहुँच
    यूएई एसिया, यूरोप र अफ्रिकालाई जोड्ने महत्वपूर्ण व्यापारिक केन्द्र हो । यहाँबाट व्यवसाय सञ्चालन गर्दा अन्तर्राष्ट्रिय ग्राहक तथा साझेदारहरुसम्म पुग्न सहज हुन्छ ।

    ३. स्थिर अर्थतन्त्र र सुरक्षित लगानी वातावरण
    राजनीतिक स्थिरता, आधुनिक पूर्वाधार तथा स्पष्ट व्यावसायिक नीतिका कारण यूएई विदेशी लगानीकर्ताहरुको आकर्षणको केन्द्र बनेको छ ।

    ४. बहुसांस्कृतिक बजार
    यूएईमा दुई सयभन्दा बढी राष्ट्रियताका मानिसहरु बसोवास गर्छन् । यसले विभिन्न संस्कृति, स्वाद र आवश्यकतालाई लक्षित गरी नयाँ व्यवसाय शुरु गर्ने अवसर प्रदान गर्दछ ।

    ५. डिजिटल तथा प्रविधि क्षेत्रको विकास
    E-commerce, Digital Marketing, Information Technology, Artificial Intelligence, Logistics, Education Technology tyf Financial Technology जस्ता क्षेत्रमा तीव्र विकास भइरहेको छ । नेपाली उद्यमीहरुले पनि यी क्षेत्रमा सम्भावना खोज्न सक्छन् ।

    ६. नेपाली समुदायको विस्तार
    यूएईमा ठूलो नेपाली समुदायको उपस्थिति छ । नेपाली खाद्यान्न, रेस्टुरेन्ट, ट्राभल, रेमिट्यान्स, शिक्षा तथा अन्य सेवामूलक व्यवसायका लागि यो महत्वपूर्ण बजार हुन सक्छ ।

    चुनौतीहरु

    १. उच्च सञ्चालन खर्च
    व्यवसाय दर्ता, लाइसेन्स, कार्यालय भाडा, कर्मचारी व्यवस्थापन तथा अन्य प्रशासनिक खर्च अपेक्षाकृत महँगा हुन सक्छन् ।

    २. कडा प्रतिस्पर्धा
    यूएई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र भएकाले विश्वभरका व्यवसायीहरु यहाँ सक्रिय छन् । नयाँ व्यवसायीले बजारमा स्थान बनाउन कडा प्रतिस्पर्धाको सामना गर्नुपर्छ ।

    ३. कानुनी तथा नियामकीय प्रक्रिया
    व्यवसायको प्रकृतिअनुसार विभिन्न अनुमति तथा लाइसेन्स आवश्यक पर्न सक्छन् । नियमहरुको राम्रो जानकारीबिना व्यवसाय सञ्चालन गर्न कठिन हुन सक्छ ।

    ४. वित्तीय व्यवस्थापन
    नयाँ व्यवसायमा प्रारम्भिक लगानी, नगद प्रवाह (ऋबकज ँयिध) व्यवस्थापन तथा बजार विस्तारका लागि पर्याप्त पूँजी आवश्यक पर्न सक्छ ।

    ५. बजारको निरन्तर परिवर्तन
    ग्राहकको आवश्यकता, प्रविधि र व्यापारिक प्रवृत्ति तीव्र रुपमा परिवर्तन भइरहेका हुन्छन् । त्यसैले व्यवसायलाई समयानुकूल अद्यावधिक गर्दै लैजानुपर्ने हुन्छ ।

    निष्कर्ष
    यूएई नेपाली उद्यमीहरुका लागि अवसरले भरिएको बजार हो । करमैत्री वातावरण, अन्तर्राष्ट्रिय पहुँच, आधुनिक पूर्वाधार तथा बहुसांस्कृतिक समाजले नयाँ व्यवसाय शुरु गर्न चाहनेहरुका लागि राम्रो सम्भावना सिर्जना गरेको छ । तर सफल हुनका लागि पर्याप्त अध्ययन, स्पष्ट योजना, कानुनी जानकारी र दीर्घकालीन दृष्टिकोण आवश्यक छ ।


    आज यूएईमा नेपालीहरु केवल श्रमिकको रुपमा मात्र नभई सफल व्यवसायी र उद्यमीको रुपमा पनि आफ्नो पहिचान स्थापित गर्दैछन् । यो परिवर्तनले सम्पूर्ण नेपाली समुदायको सामाजिक तथा आर्थिक छविलाई सकारात्मक दिशा प्रदान गरिरहेको छ ।


    त्यसैले अध्ययन गरेर दीर्घकालीन योजनासहित व्यवसाय गर्न चाहने नेपालीहरुका लागि यूएई राम्रो गन्तव्य बन्न सक्छ ।


    भण्डारी व्यवसायी हुन्

  • ब्लोअप : सन्ध्या देउला

    ब्लोअप : सन्ध्या देउला

    नाम : सन्ध्या देउला
    ठेगाना : पाटन, ललितपुर
    हाल : अबुधाबी, यूएई
    उचाइ : ५ फिट ६ इञ्च
    शिक्षा : माध्यमिक तह (हाई स्कूल)
    उपलब्धि : मिसेस नेपाल २०१५
    (मिसेस ब्यूटिफुल उपाधि विजेता)
    पेशा : सिवल्र्ड, अबुधाबी
    (यस आइल्याण्ड)मा सेल्स एसोसिएट

    पारिवारिक परिस्थितिका कारण सानै उमेरमा पढाइ छोड्नुपरे पनि सन्ध्याले मेहनत र आत्मविश्वासका साथ आफ्नो जीवनयात्रा अघि बढाइन् । १२ वर्षको उमेरदेखि नेपालमा हाउसकिपिङको कामबाट रोजगारी शुरु गरेकी उनले कामसँगै आफ्नै प्रयासमा अंग्रेजी भाषा सिकिन् र आवश्यक सीपहरु विकास गरिन् ।


    हाउसकिपिङबाट शुरु भएको उनको व्यावसायिक यात्रा क्रमशः रिसेप्सन, क्यासियर हुँदै फ्रन्ट डेस्क सुपरभाइजरसम्म पुग्यो । निरन्तर मेहनत र लगनकै कारण उनी आज यूएईको अबुधाबीस्थित यस आइल्याण्डमा रहेको सिवल्र्डमा सेल्स एसोसिएटका रुपमा कार्यरत छिन् ।


    सन्ध्या सौन्दर्य प्रतियोगितामा पनि सफल छिन् । उनले सन् २०१५ मा ‘मिसेस नेपाल’ प्रतियोगितामा ‘मिसेस ब्यूटिफुल’ उपाधि जितेकी थिइन् । उनी नेवा पुचः यूएईको कलाकारका रुपमा पनि सक्रिय रहँदै आफ्नो कला र संस्कृतिको प्रवद्र्धनमा योगदान दिइरहेकी छन् ।


    सन्ध्याले आफूलाई हरेक कदममा साथ र हौसला दिने आफ्ना बुबाआमा तथा ठमेल पर्यटन बोर्डका तत्कालीन अध्यक्ष ध्रुव अधिकारीप्रति विशेष आभार व्यक्त
    गरेकी छन् ।

  • श्रष्टा परिचय : टक गुरुङ

    श्रष्टा परिचय : टक गुरुङ

    स्थायी ठेगाना :
    आँबुखैरेनी गाउँपालिका–३,
    तनहुँ, गण्डकी प्रदेश,
    हाल : यूएई

    गजल

    मेशिन मर्मत गर्दा घनले हिर्काउनु पर्छ
    जीवन पनि ठीक हुन थोरै हण्डर पाउनु पर्छ

    आफ्नो परिचय दिनु पर्ने त हजुरले हो मालिक
    मेरो त ठेलाले भनिहाल्छ जे जे बताउनु पर्छ

    चुनाव सँगै चुनावी बाचा बिस्र्यो नेताले
    आफ्नै पद चिन्ह डुँगा भए पछि मेटाउनु पर्छ

    यो देशको अवस्था देख्दादेख्दै भन्दैछौ
    किसान मजदुरले हतियार किन उठाउनु पर्छ

    क्यान्सर लागेको आफ्नै अंग काटे जस्तै हो
    परम्पराको जग प्रिय नै होस् भत्काउनु पर्छ

    प्रकाशित कृतिहरु

    १. अनाहत (गजल संग्रह)
    २. टक (गजल संग्रह)
    ३. गजलाभूषण (गजल लेखनसम्बन्धी सैद्धान्तिक तथा अभ्यास पुस्तक)
    ४. विभिन्न संयुक्त संग्रह तथा फुटकर गजलहरु

    संस्थागत आबद्धता
    संरक्षक, सिर्जना वाचन डबली
    संरक्षक, नेपाल गजल प्रतिष्ठान
    विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरुसँग आबद्ध

    नेतृत्वदायी भूमिका
    संरक्षक, तमु प्ये ल्हु संघ
    अध्यक्ष, गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय
    परिषद्, यूएई
    सदस्य, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समिति
    पुरस्कार

    छायाँदेवी–चेतनाथ पुरस्कार (२०७५) – अनाहत गजल संग्रहका लागि

    पेशागत परिचय
    प्रबन्ध सञ्चालक, ओनिक लिमिटेड
    प्लान्ट एण्ड मेन्टिनेन्स इन्जिनियर, इन्टर प्लाष्ट कम्पनी लिमिटेड

    यूएई निवासी गुरुङ साहित्य, सामाजिक सेवा र व्यावसायिक क्षेत्रमा समान रुपमा सक्रिय समकालीन नेपाली गजल साहित्यका सशक्त स्रष्टामध्ये एक हुन् । उनले गजल सिर्जना, गजलको सिद्धान्त तथा अभ्यास, सामाजिक नेतृत्व र प्रवासी नेपाली समुदायको सेवामा उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् ।