Category: फिचर

  • श्रमिकको प्रश्न, श्रमिककै जवाफ

    श्रमिकको प्रश्न, श्रमिककै जवाफ

    २१ असार, काठमाडौं । सुजन बर्मा सोध्नुहुन्छ :
    म दुबई आएको १६ महिना भयो । अहिले काम गरिरहेको कम्पनीको भन्दा झण्डै दोब्बर तलबमा अर्को कम्पनीमा काम पाएको छु । मैले नयाँ कम्पनीमा काम गर्न पाउँछु कि पाउँदिन ? कम्पनी परिवर्तन गर्न के–के गर्नुपर्छ ?

    बेदप्रसाद अर्यालको जवाफ :
    यूएईको श्रम कानुनअनुसार रोजगार सम्झौता समाप्त भएपछि वा रोजगारदाता र कर्मचारीबीच आपसी सहमतिमा करार अवधिभित्र नै सम्झौता अन्त्य भएमा श्रमिकले नयाँ कम्पनीमा काम गर्न सक्छन् । यसका लागि रोजगार सम्झौतामा उल्लेख भएको ३० देखि ९० दिनसम्मको नोटिस अवधि पूरा गर्नुपर्छ ।

    नोटिस अवधि पूरा नभए कम्पनीलाई क्षतिपूर्ति तिर्नुपर्ने वा कानुनी समस्या आउन सक्छ । बीचमै अर्को कम्पनीमा जानु परेमा कम्पनीको सहमतिमा नै नयाँ कामको छनौट गरेको उत्तम हुन्छ । ‘स्किल्ड’ कामदारहरुले आपसी सहमतिमा ६ महिना पछि पनि कम्पनी परिवर्तन गर्न सक्छन् ।


    रोजगारदाता परिवर्तन गर्न नयाँ कम्पनीबाट अफर लेटर प्राप्त गरेपछि हालको कम्पनीमा लिखित राजीनामा दिनुपर्छ । नोटिस अवधि पूरा भएपछि पुरानो कम्पनीले वर्क परमिट, लेबर कार्ड र रेसिडेन्सी भिसा रद्द गर्छ । त्यसपछि नयाँ कम्पनीले ःइज्च्भ् मार्फत नयाँ वर्क परमिट र भिसा प्रक्रिया अघि बढाउँछ । कानुनी प्रक्रिया पूरा गरेमा सामान्यतया ‘लेबर ब्यान’ लाग्दैन । तर सम्झौता उल्लंघन गरेमा एक वर्षसम्मको वर्क परमिट प्रतिबन्ध लाग्न सक्ने व्यवस्था छ ।

    (सामाजिक क्षेत्रमा सक्रिय अर्याल २५ वर्षदेखि यूएईमा कार्यरत हुनुहुन्छ)

  • अनुभव, कूटनीति र नेतृत्व : यूएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्री

    अनुभव, कूटनीति र नेतृत्व : यूएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्री

    २१ असार, अबुधाबी । युनाइटेड अरब इमिरेट्स (यूएई)का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले कार्यभार सम्हालेको झण्डै ३ वर्ष पुगेको छ । उनले सन् २०२३ सेप्टेम्बर २८ मा नेपाली दूतावासको कार्यभार सम्हालेका हुन् । त्यसको केही दिनपछि अक्टोबर ४ मा उनले यूएईका राष्ट्रप्रमुखसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै औपचारिक रुपमा राजदूतको जिम्मेवारी ग्रहण गरेका थिए ।


    करिब तीन दशक लामो कूटनीतिक अनुभव बोकेका राजदूत क्षेत्रीले परराष्ट्र मन्त्रालयका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । राजदूत नियुक्त हुनुअघि उनी सन् २०२२ देखि २०२३ सम्म परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखामा कार्यरत थिए ।


    सन् २०२१ मा सहसचिवमा बढुवा भएका उनले मन्त्रालयको प्रशासन महाशाखामा जिम्मेवारी सम्हालेका थिए । त्यसअघि सन् २०१८–२०१९ मा प्रशासन शाखा प्रमुख तथा सन् २०१८ देखि २०२१ सम्म तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रमुख निजी सचिवका रुपमा कार्य गरेका थिए । उनले सन् २०१६ देखि २०१७ सम्म परराष्ट्र मन्त्रालयको प्रोटोकल महाशाखाअन्तर्गत उप–प्रमुखको जिम्मेवारीसमेत निर्वाह गरेका थिए ।


    राजदूत क्षेत्रीले सन् १९९८ मा परराष्ट्र सेवामा शाखा अधिकृतका रुपमा प्रवेश गरेका हुन् । सेवाकालमा उनले मन्त्रालयका पश्चिम एसिया तथा अफ्रिका, उत्तरपूर्वी एसिया, दक्षिणपूर्वी तथा सुदूरपूर्व एसिया, प्रशान्त क्षेत्र, दक्षिण एसिया, प्रोटोकल र प्रशासन लगायतका विभिन्न महाशाखामा कार्य अनुभव हासिल गरेका छन् । उनले राहदानी विभागमा निर्देशक (उपसचिव)का रुपमा पनि जिम्मेवारी सम्हालेका थिए ।


    विदेशस्थित नेपाली नियोगहरुमा पनि उनको लामो अनुभव छ । उनले भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा सन् २००२ देखि २००६ सम्म द्वितीय सचिव तथा प्रथम सचिवका रुपमा काम गरेका थिए । त्यसपछि चीनको तिब्बतस्थित ल्हासामा नेपाली महावाणिज्य दूतावासमा सन् २००८ देखि २०१० सम्म महावाणिज्यदूतको जिम्मेवारी सम्हालेका थिए ।


    सन् २०१२ मा उनी बेलायतको लण्डनस्थित नेपाली दूतावासमा मिनिस्टर–कन्सुल (वाणिज्यदूत मन्त्री) तथा उपनियोग प्रमुख नियुक्त भए । सन् २०१४ मार्चदेखि २०१६ जुनसम्म उनले कार्यवाहक राजदूतका रुपमा नेपाली दूतावासको नेतृत्वसमेत गरेका थिए ।


    राजदूत क्षेत्रीले त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । साथै उनले मानविकी तथा शिक्षा विषयमा स्नातकसमेत गरेका छन् । राजदूत क्षेत्रीकी पत्नी रीता क्षेत्री हुन् । उनका एक छोरी स्वेच्छा क्षेत्री र एक छोरा अंकित क्षेत्री छन् ।


    नेपालको परराष्ट्र सेवामा झण्डै तीन दशकको अनुभव, प्रोटोकल, प्रशासन तथा द्विपक्षीय सम्बन्धका विविध क्षेत्रमा हासिल गरेको दक्षताका कारण राजदूत तेजबहादुर क्षेत्रीलाई नेपाल–यूएई सम्बन्ध सुदृढ बनाउन सक्षम कूटनीतिज्ञका रुपमा हेरिएको छ । यूएईमा ठूलो संख्यामा रहेका नेपाली श्रमिक, व्यवसायी तथा प्रवासी समुदायसँग सम्बन्धित विषयलाई प्रभावकारी रुपमा सम्बोधन गर्दै दुई देशबीचको आर्थिक, श्रम, लगानी तथा कूटनीतिक सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।

  • प्राथमिकतामा यूएईमा रहेका श्रमिकहरूको स्वास्थ्य सचेतना

    प्राथमिकतामा यूएईमा रहेका श्रमिकहरूको स्वास्थ्य सचेतना

    लक्ष्मण खनाल
    २१ असार, यूएई । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली श्रमिकहरुको प्रमुख रोजगारी गन्तव्यका रुपमा परिचित छ । लाखौं नेपालीहरु यहाँ निर्माण, यातायात, सुरक्षा, आतिथ्य सेवा, उद्योग तथा विभिन्न व्यावसायिक क्षेत्रमा कार्यरत छन् । विदेशमा रोजगारीले आर्थिक अवसर र परिवारको जीवनस्तर सुधार्ने सम्भावना प्रदान गरे पनि यससँगै स्वास्थ्यसम्बन्धी विभिन्न चुनौतीहरु पनि जोडिएका हुन्छन् ।

    विशेषगरी अत्यधिक गर्मी, लामो कार्यसमय, मानसिक तनाव, असन्तुलित खानपान तथा स्वास्थ्य सेवाप्रतिको सीमित पहुँचका कारण धेरै श्रमिकहरु स्वास्थ्य समस्याको जोखिममा पर्ने गरेका छन् । त्यसैले यूएईमा रहेका नेपाली तथा श्रमिकहरुका लागि स्वास्थ्य सचेतना अत्यन्त आवश्यक विषय बनेको छ ।


    यूएईमा रहेको नेपाली राजदूतावास र महावाणिज्य दूतावास लगायत यहाँ क्रियाशील विभिन्न नेपाली समाजिक संघसंस्थाहरुले बेलाबेलामा श्रमिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमहरु गर्ने गरेको पाइन्छ । स्थानीय प्रशासनको निर्देशनमा कम्पनीले कार्यस्थलहरुमा स्वास्थ्य सजगतासम्बन्धी सूचनापाटीहरु राखेको हुन्छ । यूएई सरकारले पनि विभिन्न माध्यमबाट स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम र प्रचार सामग्रीहरु प्रदान गरिरहेको हुन्छ । तर पनि विभिन्न समयमा श्रमिक स्वास्थ्यका समस्याहरु आई नै रहेका पाइन्छन् । यूएईमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सचेतनासम्बन्धी मुख्यतः निम्न विषयमा चर्चा गरौं :

    अत्यधिक गर्मी
    यूएई विश्वका अत्यधिक गर्मी हुने देशहरुमध्ये एक हो । गर्मी मौसममा तापक्रम ४५ देखि ५० डिग्री सेल्सियसभन्दा माथिसम्म पुग्न सक्छ । विशेषगरी बाहिरी वातावरणमा काम गर्ने निर्माण तथा श्रम क्षेत्रमा संलग्न कामदारहरु गर्मीका कारण स्वास्थ्य समस्याको उच्च जोखिममा हुन्छन् ।


    अत्यधिक गर्मीले शरीरमा पानीको कमी, चक्कर लाग्ने, टाउको दुख्ने, अत्यधिक थकान महसुस हुने, रक्तचाप असन्तुलित हुने तथा गम्भीर अवस्थामा हीट स्ट्रोकसमेत हुन सक्छ । त्यसैले श्रमिकहरुले नियमित रुपमा प्रशस्त पानी पिउनु आवश्यक छ । काम गर्ने क्रममा विश्राम लिनु, घामबाट जोगिने उपाय अपनाउनु तथा सुरक्षात्मक पोशाक प्रयोग गर्नु पनि उत्तिकै महत्वपूर्ण छ ।

    यूएई सरकारले गर्मीको समयमा प्रत्यक्ष सूर्यको किरण पर्ने ठाउँहरुमा दिउँसो १२ः३० बजेदेखि ३ बजेसम्मको समयमा काम गर्न प्रतिबन्ध लगाएको हुन्छ । तर, श्रमिकहरु यूएई सरकारको कानुनलाई समेत बेवास्ता गरेर अत्यधिक गर्मीमा काम गर्ने गर्दछन् जसले गर्दा श्रमिकलाई स्वास्थ्य समस्या हुने गर्दछ । धेरै श्रमिकहरुले कामको चापका कारण पानी पिउने वा आराम गर्ने समयलाई बेवास्ता गर्ने गरेको पाइन्छ, जुन स्वास्थ्यका लागि निकै जोखिमपूर्ण हुन सक्छ ।

    सन्तुलित आहार र पोषणको महत्व
    विदेशमा बसोवास गर्दा धेरै श्रमिकहरु आर्थिक बचत गर्ने उद्देश्यले खानपानमा पर्याप्त ध्यान दिन सक्दैनन् । कतिपयले सस्तो र छिटो उपलब्ध हुने खाद्य पदार्थमा निर्भर रहने गरेका छन् । यसले शरीरमा आवश्यक पोषक तत्वको कमी हुन सक्छ ।
    स्वस्थ जीवनका लागि सन्तुलित आहार अपरिहार्य छ ।

    दैनिक भोजनमा हरियो सागसब्जी, फलफूल, दाल, अन्न तथा प्रोटिनयुक्त खानेकुरा समावेश गर्नुपर्छ । अत्यधिक तेल, चिल्लो, नुन तथा चिनीको प्रयोग कम गर्नुपर्छ । नियमित समयमा खाना खाने बानीले शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्नुका साथै विभिन्न रोगबाट पनि जोगाउँछ ।


    धेरै श्रमिकहरुमा मधुमेह, उच्च रक्तचाप, मोटोपन तथा मुटुसम्बन्धी रोगको जोखिम बढ्दै गएको देखिन्छ । यसका प्रमुख कारणमध्ये असन्तुलित आहार, शारीरिक गतिविधिको कमी तथा अनियमित जीवनशैली रहेका छन् । त्यसैले स्वस्थ खानपानलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउन आवश्यक छ ।

    मानसिक स्वास्थ्य
    स्वास्थ्य भन्नाले केवल शारीरिक स्वास्थ्य मात्र बुझिँदैन, मानसिक स्वास्थ्य पनि त्यत्तिकै महत्वपूर्ण पक्ष हो । विदेशमा काम गर्ने धेरै नेपालीहरु परिवार, श्रीमान्–श्रीमती, सन्तान तथा आफन्तबाट टाढा बस्न बाध्य हुन्छन् । यसले एक्लोपन, चिन्ता, तनाव तथा भावनात्मक दबाब सिर्जना गर्न सक्छ ।


    कामको चाप, आर्थिक जिम्मेवारी, ऋणको बोझ तथा भविष्यप्रतिको अनिश्चितताले मानसिक तनाव बढाउन सक्छ । कतिपय अवस्थामा यसले डिप्रेसन, निद्रासम्बन्धी समस्या तथा अन्य मानसिक स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ ।
    मानसिक स्वास्थ्य राम्रो राख्न परिवारसँग नियमित सम्पर्कमा रहनु, साथीभाइसँग समय बिताउनु, मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुनु तथा पर्याप्त आराम गर्नु आवश्यक छ । यदि अत्यधिक तनाव, निराशा वा मानसिक असहजता महसुस भएमा स्वास्थ्यकर्मी वा परामर्शदातासँग सहयोग लिन हिच्किचाउनु हुँदैन । मानसिक समस्यालाई लुकाएर राख्नुभन्दा समयमै समाधान खोज्नु बुद्धिमानी हुन्छ ।

    नियमित व्यायाम
    व्यस्त कार्यतालिका भए पनि स्वस्थ जीवनका लागि नियमित शारीरिक गतिविधि आवश्यक हुन्छ । धेरै श्रमिकहरु कामपछि थकित हुने भएकाले व्यायामलाई प्राथमिकता दिँदैनन् । तर दैनिक २० देखि ३० मिनेटको सामान्य व्यायामले पनि स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ ।


    हिँड्ने, दौडिने, स्ट्रेचिङ गर्ने वा हल्का व्यायाम गर्ने बानीले शरीरलाई तन्दुरुस्त राख्छ । यसले मोटोपन नियन्त्रण गर्नुका साथै मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको जोखिम पनि कम गर्छ । साथै व्यायामले मानसिक तनाव कम गर्न र निद्रा सुधार गर्न पनि मद्दत पु¥याउँछ ।

    कार्यस्थलको सुरक्षा
    यूएईमा कार्यरत धेरै नेपालीहरु निर्माण, उद्योग तथा जोखिमयुक्त क्षेत्रमा काम गर्छन् । कार्यस्थलमा हुने दुर्घटनाहरुले गम्भीर शारीरिक क्षति पु¥याउन सक्छन् । त्यसैले सुरक्षा नियमहरुको पालना गर्नु अत्यन्त आवश्यक छ ।


    काम गर्दा हेलमेट, सुरक्षा जुत्ता, सुरक्षा बेल्ट, पञ्जा तथा अन्य सुरक्षात्मक सामग्री अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ । कम्पनीले उपलब्ध गराएको सुरक्षा तालिमलाई गम्भीरतापूर्वक लिनुपर्छ । कुनै पनि जोखिमपूर्ण अवस्था वा उपकरणमा समस्या देखिएमा कम्पनीको जिम्मेवार व्यक्ति वा आफूले रिपोर्ट गर्ने व्यक्तिलाई जानकारी गराउनुपर्छ । सुरक्षालाई बेवास्ता गर्दा सामान्य गल्तीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ । त्यसैले ‘पहिला सुरक्षा, त्यसपछि काम’ भन्ने सोचलाई व्यवहारमा लागू गर्न आवश्यक छ ।

    स्वास्थ्य परीक्षण
    धेरै स्वास्थ्य समस्याहरु प्रारम्भिक चरणमा कुनै लक्षण नदेखाई विकसित हुन सक्छन् । त्यसैले नियमित स्वास्थ्य परीक्षण गराउनु अत्यन्त महत्वपूर्ण हुन्छ । रक्तचाप, मधुमेह, कोलेस्ट्रोल तथा अन्य दीर्घरोगहरुको समयमै पहिचान भएमा उपचार प्रभावकारी हुन्छ ।


    श्रमिकहरुले स्वास्थ्य बीमासम्बन्धी जानकारी राख्नुपर्छ र उपलब्ध स्वास्थ्य सेवाको उपयोग गर्नुपर्छ । बिरामी हुँदा औषधि आफैं किनेर सेवन गर्नेभन्दा योग्य चिकित्सकको सल्लाह लिनु उचित हुन्छ । नियमित स्वास्थ्य जाँचले रोगको जोखिम घटाउनुका साथै स्वस्थ जीवनयापनमा सहयोग पु¥याउँछ ।

    कुलत
    तनाव कम गर्ने बहानामा कतिपय व्यक्तिहरु धूम्रपान, मदिरा सेवन वा अन्य अस्वस्थ बानीतर्फ आकर्षित हुने गर्छन् । यस्ता बानीहरुले स्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पार्छन् । धूम्रपानले फोक्सो, मुटु तथा श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पु¥याउँछ भने अत्यधिक मदिरा सेवनले कलेजो तथा अन्य अंगहरुलाई क्षति पु¥याउन सक्छ । स्वस्थ जीवनशैली अपनाउन यस्ता बानीहरुबाट टाढा रहनु आवश्यक छ । तनाव व्यवस्थापनका लागि व्यायाम, सामाजिक गतिविधि तथा सकारात्मक सोचलाई प्राथमिकता दिनुपर्छ ।

    अन्त्यमा…..
    यूएईमा रहेका नेपाली तथा अन्य श्रमिकहरु देशको अर्थतन्त्र र आफ्ना परिवारको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । तर आर्थिक उपलब्धिसँगै स्वास्थ्यलाई पनि समान रुपमा महत्व दिन आवश्यक छ । अत्यधिक गर्मीबाट बच्ने, सन्तुलित आहार खाने, नियमित व्यायाम गर्ने, मानसिक स्वास्थ्यको ख्याल गर्ने, कार्यस्थल सुरक्षाको पालना गर्ने तथा नियमित स्वास्थ्य परीक्षण गराउने बानीले स्वस्थ जीवन सुनिश्चित गर्न मद्दत गर्छ ।


    स्वास्थ्य राम्रो भए मात्र श्रमिकले आफ्नो क्षमता पूर्ण रुपमा उपयोग गर्न सक्छन् । त्यसैले ‘स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो’ भन्ने सन्देशलाई आत्मसात गर्दै प्रत्येक नेपाली श्रमिकले स्वास्थ्य सचेतनालाई आफ्नो दैनिक जीवनको प्राथमिकतामा राख्नुपर्छ । स्वस्थ श्रमिक, सुखी परिवार र समृद्ध समाज निर्माणको आधार पनि यही हो ।


    यूएई सरकार र सम्बन्धित कम्पनीले दिएका स्वास्थ्य मापदण्डहरु पालना गरौं, आफू स्वस्थ बनौं र सकेसम्म धेरै साथीभाइहरुलाई स्वास्थ्य सचेतना सल्लाह र सुझाव दिने बानी बसालौं । एउटा सानो सल्लाह वा सुझावले हाम्रै श्रमिकहरुको जीवन सुरक्षित हुन सक्छ ।

  • डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

    डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

    कर्णाली, २१ असारः डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आज बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जगदुल्ला–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आज दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका-८ डोल्पाका ३८ वर्षीय विष्णु बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पद्म रावलले जानकारी दिनुभयो । उक्त जिपमा चालकसहित १२ जना सवार रहेकामा अन्य ११ जना घाइते भएका छन् ।

    उनका अनुसार घाइते हुनेमा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ७ का ४६ वर्षीय नन्दराम शाही, वडा नं ३ का २६ वर्षीय धनबहादुर डाँगी, जगदुल्ला गाउँपालिका(६ का २८ वर्षीय लालदेवी रोकाय, चार वर्षीय आवास रोकाय, २४ वर्षीया कर्णसरा बुढा, २४ वर्षीय धीरेन्द्र बूढाथोकी, दुई वर्षीय प्रितम बुढा, काइके गाउँपालिका(३ का ४४ वर्षीय भीमप्रसाद बुढा रहेका छन् ।

    त्यस्तै, उक्त दुर्घटनामा परी जुम्लाको सिञ्जा गाउँपालिका–३ का ६२ वर्षीय डिल्लीप्रसाद उपाध्याय, गोठीचौर गाउँपालिका–४ का ६४ वर्षीय नित्यानन्द अधिकारी र बोलेरो चालक चन्दननाथ नगरपालिका–८ का अन्दाजी ३५ वर्षीय विन्दास रावल घाइते भएका प्रहरी निरीक्षक रावलले जानकारी दिए । घाइतेहरूको उद्धार गरी उपचारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स र एउटा गाडीमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको सूचना अधिकारी रावलले बताए । उनका अनुसार दुर्घटना कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

  • बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन, २१ असारः बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ । बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए । त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण बजगाईंले कवितावाचन गरेका थिए ।


    नेपाली कविताका माध्यमबाट बेलायतमा रहेका नेपालीलाई आफ्नो मातृभूमिको भाषा, संस्कृति र साहित्यसँग जोड्ने तथा नेपाली साहित्यलाई अन्तरराष्ट्रियस्तरमा फैलाउने उद्देश्यका साथ आयोजना हुँदै आएको काव्य यात्राको यो तेस्रो संस्करण हो ।

    प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले काव्य यात्रा बेलायतका विभिन्न सहरमा आयोजना गरिने र काव्य यात्रामा वाचित कविताहरुको सङ्ग्रह प्रकाशन गरिने जानकारी दिए । विश्वको जुनसुकै कुनामा पुगे पनि नेपाली भाषा र साहित्यको उन्नयन सबैको दायित्व भएको उनले बताए ।

  • नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

    मध्यविन्दु (नवलपरासी), २१ असारः नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ । जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट जङ्गलस्थित पितौजीमा उक्त संरचना निर्माण गरिएको हो ।

    वन क्षेत्र हुँदै सडक विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बताए ।


    “नेपालमा सडक आयोजनाअन्तर्गत बाँदरलाई लक्षित गरेर निर्माण गरिएको यो पहिलो क्यानोपी ब्रिज हो”, उनले भने, “सडक विस्तारसँगै वन्यजन्तुको बासस्थान र आवागमनमा पर्ने प्रभावलाई न्यूनीकरण गर्न यो संरचना निर्माण गरेका हौँ । यसको प्रयोग र प्रभावकारिताको अध्ययनपछि आवश्यक देखिएका अन्य उपयुक्त स्थानमा पनि यस्ता क्यानोपी ब्रिज निर्माण गर्ने योजना छ ।”

    सूचना अधिकारी खनालका अनुसार बाँदर, लङ्गुरलगायत रुखबाट रुखमा आवतजावत गर्ने वन्यजन्तुले सडकमा झरेर पार गर्नुपर्ने बाध्यता कम गर्ने र सवारीसाधनसँग हुने दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको हो । यसले वन्यजन्तुको प्राकृतिक व्यवहार संरक्षणसँगै चालक र यात्रुको सुरक्षामा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माणाधीन ११३ किलोमिटर लामो नारायणघाट–बुटवल सडक विस्तार आयोजना नेपालका ठूला पूर्वाधार आयोजनामध्ये एक हो । आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ । यसअघि आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र तथा कङ्क्रिट ढलानको काम सम्पन्न भइसकेको छ भने जुन २०२६ सम्म समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।

    सडक निर्माणसँगै वातावरणीय प्रभाव न्यूनीकरणका लागि वन्यजन्तुमैत्री संरचना, नाला, हरियाली प्रवर्द्धन, सडक सुरक्षा पूर्वाधार तथा अन्य संरक्षणका उपायहरू पनि कार्यान्वयन भइरहेका छन् । सडक पूर्वाधार विकाससँगै जैविक विविधता संरक्षणलाई जोड दिँदै निर्माण गरिएको क्यानोपी ब्रिजले नेपालका आगामी सडक आयोजनामा पनि वातावरणमैत्री पूर्वाधार निर्माणको नयाँ अभ्यास स्थापित गर्ने अपेक्षा गरिएको इन्जिनियर खनालले बताए ।

  • लमजुङ एफसीलाई पहिलो पीएनएसबी गोल्ड कपको उपाधि

    लमजुङ एफसीलाई पहिलो पीएनएसबी गोल्ड कपको उपाधि

    २१ असार, यूएई । पहिलो पीएनएसबी (प्रवास नेपाली सम्पर्क विभाग) गोल्ड कप प्रतियोगिताको उपाधि लमजुङ एफसीले हात पार्न सफल भएको छ । रास्वपाको चौथो स्थापना दिवस तथा प्रथम महाधिवेशनको अवसरमा प्रवास नेपाली सम्पर्क विभाग, यूएईद्वारा ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मूल नाराका साथ २१ मेमा दुबईको अबुहेलमा रहेको स्पोर्टस् बेमा उक्त प्रतियोगिता आयोजना गरिएको थियो ।

    यूएईमा क्रियाशील रहेका करिब २६ नेपाली क्लबहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेलमा लमजुङ एफसीले लालीगुराँस एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजेता बनेको हो । प्रतियोगिताको उपविजेता लालीगुराँस एफसी बनेको छ ।


    प्रतियोगिताको विजेता टिमलाई पुरस्कारस्वरुप ७७७७ यूएई दिहराम (करिब ३ लाख नेपाली रुपैयाँ) दिइएको थियो । यो पुरस्कार रकम यूएईमा हुने अन्तर नेपाली क्लबहरुको प्रतियोगितामध्येकै ठूलो हो । त्यसैगरी उपविजेता टिमलाई ३८८८ यूएई दिहराम (करिब १ लाख ५० हजार नेपाली रुपैयाँ) प्रदान गरिएको प्रवास नेपाली सम्पर्क विभाग, यूएईका खेलकुद संयोजक दिवस चापागाईंले जानकारी गराए ।
    त्यसैगरी फेयर प्ले अवार्ड नवबुद्ध एफसीले प्राप्त गरेको छ ।

    सर्वाधिक गोलकर्ता लालीगुराँस एफसीका खेलाडी सुमन लिम्बुले पाएका छन् । सर्वोत्कृष्ट खेलाडी तथा सर्वोत्कृष्ट गोलरक्षकमा क्रमशः लमजुङ एफसीका आशिष थापा मगर, सञ्जीब लामा भएका छन् । कार्यक्रमकै बीचमा प्रवास नेपाली सम्पर्क विभाग यूएईका प्रमुख सुजन थापाले चौथो स्थापना दिवसको अवसरमा केक काटेर मनाइएको थियो ।

  • यूएई महावाणिज्य दूतावासको श्रमिक सचेतना कार्यक्रम

    यूएई महावाणिज्य दूतावासको श्रमिक सचेतना कार्यक्रम

    २१ असार, यूएई । यूएईमा रहेको नेपाली महावाणिज्य दूतावास दुबईले श्रमिक संवाद एवं सचेतना कार्यक्रम सम्पन्न गरेको छ । महावाणिज्य दूतावास दुबईको सभाहलमा २१ जुनमा आयोजित कार्यक्रममा यूएईमा रहेका नेपाली श्रमिक लक्षित विभिन्न जनचेतनामूलक विषयमा संवाद कार्यक्रम गरिएको थियो ।


    कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुका साथै श्रमिक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो । नेपाली महावाणिज्य दूतावास दुबईका महावाणिज्यदूत हरिप्रसाद ओडारीले महावाणिज्य दूतावास दुबई नेपाली श्रमिकहरुलाई आइपर्ने हरेक समस्याहरुको समाधानको लागि निरन्तर लागिपरेको बताए । उनले श्रमिकहरुका समस्या पहिचान गरी आवश्यकता र प्राथमिकताको आधारमा सेवा दिइरहेको जानकारी दिए ।


    महावाणिज्य दूतावास दुबईका वाणिज्यदूत तथा सूचना अधिकारी कुञ्जन शाहले सञ्चालन गरेको कार्यक्रममा उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागाईंले कार्यक्रमको विषयमा प्रकाश पारेका थिए । त्यसैगरी यूएईमा नेपालीद्वारा सञ्चालित निको पोलिक्लिनिकका डा. भुवन सुवेदीले श्रमिकहरुका स्वास्थ्य समस्याका बारेमा सचेतनामूलक प्रस्तुति राखेका थिए ।

    नेपाली समाज यूएईका पार्षद अध्यक्ष कमल गिरीले सामाजिक सुरक्षाकोषको बारेमा प्रकाश पारेका थिए भने नेपाली समाज यूएईका कोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले कानुनी सचेतना प्रदान गरेका थिए ।

  • राजदूतावासमा राहदानी नवीकरण तथा खुल्ला श्रमिक संवाद

    राजदूतावासमा राहदानी नवीकरण तथा खुल्ला श्रमिक संवाद

    २१ असार, यूएई । नेपाली राजदूतावास अबुधाबीले राहदानी नवीकरण तथा खुल्ला श्रमिक संवाद कार्यक्रम सम्पन्न गरेको छ । २८ जुनमा दूतावासको सभाहलमा आयोजित राहदानी नवीकरण तथा खुल्ला संवाद कार्यक्रममा सहभागी नेपाली श्रमिकहरुलाई संयुक्त अरब इमिरेट्सको श्रम कानून, श्रमिकका अधिकार तथा कर्तव्य, गुनासो व्यवस्थापन प्रक्रिया, सुरक्षित वैदेशिक रोजगार, नेपालको वैदेशिक रोजगारसम्बन्धी कानुनी व्यवस्था तथा सामाजिक सुरक्षा कोषसम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो ।


    साथै, श्रमिकहरुलाई विभिन्न सरकारी सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले मोफा मित्र एप, नागरिक एप, मोहरे एपसम्बन्धी जानकारी दिइनुका साथै मोबाइलमा एपहरु स्थापना गर्न र राहदानी तथा कागजात प्रमाणीकरणका विषयमा आवश्यक सहजीकरणसमेत गरिएको थियो ।


    उनीहरुलाई राजदूतावासका श्रम सहचारी पंकज लाभ कर्ण र तृतीय सचिव बिमलेशकुमार मिश्रले सम्बन्धित विषयहरुमा जानकारी गराउँदै उठेका सवालहरुको जवाफ दिएका थिए । उनीहरुले श्रमिक अधिकारका विषयमा जानकारी गराउनुका साथै श्रमिकहरुका श्रम समस्या, कानुनी सहायता, दूतावास र महत्वपूर्ण सम्पर्क नम्बरहरुका बारे जानकारी दिएका थिए ।


    कार्यक्रममा विद्यमान स्वास्थ्य जनचेतनासम्बन्धी विषयहरुमा नेपाली समुदायका तर्फबाट नेपाल पत्रकार महासंघ, यूएई शाखाका निवर्तमान अध्यक्ष लक्ष्मण खनाल र प्राथमिक उपचार प्रशिक्षक जगन अधिकारीद्वारा व्यावहारिक जानकारी प्रदान गरिएको थियो थियो । सोही दिन दूतावास आएका करिब तीन दर्जन सेवाग्राहीहरुको राहदानी नवीकरण गरेको दूतावासका सूचना अधिकारी भूपदेव घिमिरेले जानकारी गराए ।


    यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको विशेष उपस्थिति रहेको कार्यक्रममा करिब ४ दर्जन श्रमिकहरु सहभागी भएका थिए ।

  • चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

    चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

    नारायणगढ (चितवन), २१ असारः भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उहाँकी चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो । हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।

  • यस्तो छ आजको मौसमः गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

    यस्तो छ आजको मौसमः गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, २१ असारः देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।


    महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बादल लाग्ने तथा कोशी, मधेस र बागमती प्रदेशका तराईमा आंशिकदेखि साधारणतया बादल लाग्ने सम्भावना छ । हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

    गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, कोशी र बागमती प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।


    त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बादल लाग्ने छ । हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुनसक्ने छ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोशी प्रदेशको तराई क्षेत्र तथा मधेस प्रदेशका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

  • रुपन्देही सेवा समाज यूएईमा कला पंगेनी

    रुपन्देही सेवा समाज यूएईमा कला पंगेनी

    २१ असार, यूएई । रुपन्देही सेवा समाज यूएईको अध्यक्षमा कला पंगेनी सर्वसम्मत निर्वाचित भएकी छन् । समाजका अध्यक्ष अमित लोहनीको अध्यक्षतामा २१ जुनमा बरदुबईमा आयोजित समाजको छैटौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्ष युवराज भट्टराई, प्रथम उपाध्यक्ष हेमा भण्डारी, महिला उपाध्यक्ष नारायणी भुसाल र अन्य उपाध्यक्षहरुमा खेम रास्कोटी मगर, सीता पंगेनी थापा, सुष्मा सुनारलाई चयन गरेको छ ।

    त्यसैगरी महासचिवमा प्रदीप पुन मगर, सचिव सुवास अर्याल, सहसचिव तुलसा न्यौपाने र महिला सचिवमा ज्योती खनाल रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा मित्रलाल घिमिरे चयन भएका छन् ।


    अधिवेशनले केन्द्रीय सदस्यहरुमा क्रमशः कल्पना गैरे भण्डारी, कर्ण राना मगर, दलबहादुर सोमारे, इन्दिरा अर्याल पाठक, रेखा गैरे, दिलु आले मगर, दौपती थापा मगर, होम रजाली मगर, रमेश बिसी, बबिता घर्ती मगर, लक्ष्मी रेश्मी मगर, सुनिता थापा मगर र कृष्णप्रसाद भट्टराईलाई चयन गरेको छ ।

    निर्वाचन समितिका संयोजक टंक थापा मगरले निर्विरोघ निर्वाचित कार्यसमिति घोषणा गरेका थिए । रुपन्देही सेवा समाज यूएई लामो समयदेखि यूएईमा सामाजिक कार्यमा क्रियाशील हँुदै आइरहेको छ ।

  • प्रवास नेपाली सम्पर्क विभाग यूएई शाखामा थापा निर्वाचित

    प्रवास नेपाली सम्पर्क विभाग यूएई शाखामा थापा निर्वाचित

    २१ असार, यूएई । राष्ट्रिय स्वतन्त्र पार्टीको यूएई संगठन प्रवास नेपाली सम्पर्क विभाग यूएईको प्रथम अधिवेशनले सुजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । यूएईको दुबईस्थित फुड बउल रेष्टुरेण्टमा १४ जुनमा भएको उक्त अधिवेशनको उपप्रमुखमा युगमाया पाण्डे र अमरराज राई रहेका छन् ।

    त्यसैगरी सचिवमा जगन्नाथ लुइँटेल, सहसचिवमा सुमित्रा बारघरे, कोषाध्यक्षमा जगन्नाथ अधिकारी रहेका छन् । सदस्यहरुमा क्रमशः देवीलाल रावत, धु्रवराज आचार्य, कृष्णप्रसाद खतिवडा, दिवस चापागाई, हरिहर सापकोटा, बसन्तकुमार कार्की, भीमकुमारी खत्री, लक्ष्मी खासु मगर, खगेन्द अर्याल र सविन भुजेल रहेका छन् ।


    कार्यक्रममा निर्वाचन समिति संयोजक उमाकान्त पाण्डेले कार्यसमिति घोषणा गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि प्रवास नेपाली सम्पर्क विभाग यूएईका प्रमुख सल्लाहकार प्रेमराज ढकाल रहेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवास विभागका सचिव पदमराज पन्थीको भर्चुअल सम्बोधन रहेको थियो ।

  • नेपाली फुटबल संघ यूएईको महासभा सम्पन्न

    नेपाली फुटबल संघ यूएईको महासभा सम्पन्न

    २१ असार, यूएई । यूएईमा क्रियाशील नेपाली फुटबल क्लबहरुको एसोसिएसन नेपाली फुटबल संघ (अन्फा)को तेस्रो महासभा सम्पन्न भएको छ । बरदुबईको काष्टमण्डप रेष्टुरेण्टमा भएको उक्त महासभाले दीपेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

    नयाँ निर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा रोबिन श्रेष्ठ र विनोद भण्डारी रहेका छन् भने महासचिवमा सरोज उप्रेती रहेका छन् । त्यस्तै, सचिवमा देव राई र दुर्गा ढकाल छन् भने कोषाध्यक्षमा नरेश रिमाल छन् । सहकोषाध्यक्षमा दीपक थापा रहेका छन् । कार्यसमिति सदस्यहरुमा क्रमशः मिलन तामाङ, प्रमोद कार्की र दिपेन्द्र बानियाँ रहेका छन् ।


    अध्यक्ष पदमा निर्वाचित दिपेन्द्र भण्डारीले धन्यवाद ज्ञापन गर्दै प्रवासमा रहेर पनि सबैलाई मिलाएर अगाडि बढ्ने बताए । साथै यूएईमा नेपाली फुटबलको विकास, एकता र खेलकुद प्रवद्र्धनमा नयाँ उचाइ हासिल गर्न सक्दो प्रयास गर्ने नयाँ कार्यसमितिले प्रतिबद्धतासमेत जनाए ।

    रोजगारी, व्यवसाय, अध्ययन वा अन्य कारणले यूएईमा रहेका नेपाली फुटबलप्रेमीहरु मिलेर स्थापना गरेका विभिन्न स्थान, क्षेत्र लगायतका आधारमा करिब दुई दर्जन नेपाली फुटबल क्लबहरु सक्रिय रहेका छन् । उक्त क्लबहरुमा नेपालको जिल्ला, प्रदेश र राष्ट्रिय टिममा खेलिसकेका खेलाडीहरु पनि समावेश रहेका छन् । उक्त क्लबहरुले विभिन्न समयका फुटबल प्रतियोगिताहरु गर्दै आइरहेका छन् ।

  • क्षत्री समाज नेपाल यूएई शाखामा नयाँ नेतृत्व

    क्षत्री समाज नेपाल यूएई शाखामा नयाँ नेतृत्व

    २१ असार, यूएई । क्षत्री समाज नेपाल, यूएई शाखाको प्रथम अधिवेशनले कृष्णबहादुर ढकाल क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । राष्ट्रिय अखण्डता र जातीय सद्भावनाका निम्ति क्षत्री एकता, आजको आवश्यकता भन्ने मूल नाराका साथ यूएईको बरदुबईमा जुन १४ मा सम्पन्न उक्त अधिवेशनले २१ सदस्यीय कार्यसमिति चयन गरेको निर्वाचन समिति संयोजक दीपक खड्काले बताए ।


    नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा देवीलाल रावत, सुदीप कार्की, दीपक रावत रहेका छन् भने महिला उपाध्यक्षमा हीरा केसी रहेकी छन् । कार्यसमितिको सचिवमा भीम केसी, सहसचिवमा रमेश खड्का, कोषाध्यक्षमा होमबहादुर महत, सहकोषाध्यक्षमा कमल केसी रहेका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा क्रमशः ओमकार थापा, कृष्णबहादुर केसी, चन्द्रबहादुर भण्डारी, सिक्रम थापा, हरीबहादुर केसी, धनबहादुर क्षेत्री, विमला पौडेल क्षेत्री, बिन्दु सेढाई, कमला थापा, सृजना थापा, रितु पाण्डे क्षत्री र देवी बस्नेत रहेका छन् ।


    कार्यक्रममा क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष रिबबहादुर थापाको भर्चुअल माध्यमबाट प्रमुख आतिथ्यता रहेको थियो भने यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । स्थापना कालदेखि छोटो समयमा नै क्षत्री समाज नेपाल यूएई शाखाले विभिन्न सामाजिक, सांस्कृतिक कार्यहरु गर्दै आइरहेको छ ।

  • नयाँ अटो सेल्स – परदेशमा भरोसायोग्य नाम

    नयाँ अटो सेल्स – परदेशमा भरोसायोग्य नाम

    २१ असार, न्यूयोर्क । परदेशको जीवन सजिलो हुँदैन । यहाँ हरेक सपना मेहनतसँग जोडिएको हुन्छ, हरेक सफलता संघर्षसँग मिसिएको हुन्छ र हरेक व्यवसाय केवल नाफाको हिसाबले मात्र होइन, विश्वासको धरातलमा पनि उभिएको हुन्छ । अमेरिकामा बसोवास गर्ने नेपाली समुदायका लागि गाडी केवल आवतजावतको साधन होइन; यो रोजगारी, आत्मनिर्भरता, परिवारको सहजता र आर्थिक उन्नतिको महत्वपूर्ण आधार हो ।


    यही वास्तविकतालाई नजिकबाट बुझेका व्यक्ति हुन्– राजा घिमिरे । करिब एक दशकसम्म अमेरिकाको गाडी उद्योगमा निरन्तर काम गर्दै आएका घिमिरेले ठूला फ्रेन्चाइज डिलरसिपहरुमा सेल्स कन्सल्ट्यान्टका रुपमा अनुभव हासिल गरे । ती ठूला डिलरसिपहरुमा काम गर्दा उनले केवल गाडी बेच्ने कला मात्र सिकेनन्, ग्राहकको मनोविज्ञान, वित्तीय प्रक्रिया, बीमा, कागजी काम, बजारको चाल र गाडी खरिद गर्दा ग्राहकले बुझ्नुपर्ने सूक्ष्म पक्षहरु गहिरोसँग अध्ययनसमेत गरे ।


    तर, उनको अनुभवसँगै एउटा कुरा बारम्बार मनमा खट्किरह्यो– अमेरिकाको यति ठूलो गाडी उद्योगमा नेपालीहरुको उपस्थिति अत्यन्तै कम छ । धेरै ठाउँमा उनी नै सम्पूर्ण डिलरसिपभित्र एक मात्र नेपाली प्रतिनिधि हुन् । ठूलो बजार, ठूलो सम्भावना र गाडीप्रति नेपाली समुदायको बढ्दो आवश्यकता हुँदाहुँदै पनि यस क्षेत्रमा आफ्नै समुदायको पहुँच र सहभागिता न्यून देखिनु उनका लागि सोचनीय विषय बन्यो ।


    भनिन्छ, देशमा बस्नेलाई भन्दा परदेशमा बस्नेलाई देश र समुदायको माया अझ गहिरो हुन्छ । त्यही भावनाबाट घिमिरेको मनमा एउटा सोच जन्मियो– अमेरिकी बजारका गुणस्तरीय गाडीहरुलाई दुबई, साउदी अरेबिया र कतारजस्ता अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने । यही निर्यातमुखी दृष्टिकोणबाट नयाँ अटो सेल्सको परिकल्पना शुरु भयो । तर समयसँगै यो सोच केवल व्यापारमा सीमित रहेन ।

    यसले नेपाली तथा दक्षिण एसियाली समुदायलाई गाडीसम्बन्धी सही जानकारी, इमानदार सल्लाह र भरोसायोग्य सेवा दिने उद्देश्य पनि आत्मसात ग¥यो ।
    अमेरिकामा गाडी किन्नु बाहिरबाट हेर्दा सजिलो देखिन्छ, तर यसको भित्री प्रक्रिया जटिल छ । मूल्य, ब्याजदर, मासिक किस्ता, कर्जा स्वीकृति, बीमा खर्च, गाडीको इतिहास, दुर्घटनाको विवरण, मर्मत खर्च, दर्ता प्रक्रियाका आवश्यकताहरु– यी सबै कुरा नबुझी गरिएको निर्णय पछि आर्थिक बोझ बन्न सक्छ । ठूलो डिलरसिपमा सम्झौता हस्ताक्षर भएपछि सम्बन्ध प्रायः औपचारिक प्रक्रियामा सीमित हुन्छ । तर आप्रवासी समुदायका धेरै ग्राहकलाई सम्झौता सकिएपछि पनि मार्गदर्शन, व्याख्या र साथ चाहिन्छ ।


    यही आवश्यकता बुझेर नयाँ अटो सेल्सले आफ्नो काम गर्ने शैली फरक बनाएको छ । यहाँ ग्राहकलाई केवल गाडी देखाएर बेच्ने होइन, उसको वास्तविक आवश्यकता बुझेर उपयुक्त विकल्प दिन प्राथमिकता दिइन्छ । ग्राहकले ग्दभच वा ीथात चलाउने हो कि पारिवारिक प्रयोगका लागि गाडी चाहिएको हो, त्ीऋ का लागि योग्य गाडी खोजिएको हो कि व्यापारिक प्रयोजनका लागि, बजेट कति छ, बीमा खर्च कस्तो आउन सक्छ, इन्धन खर्च र मर्मत सम्भार कति पर्छ– यी सबै पक्ष हेरेर ग्राहकलाई निर्णय गर्न सहयोग गरिन्छ ।


    घिमिरेको भन्छन्– ‘गाडी बेच्नु मात्रै व्यवसाय होइन; ग्राहकले किनिरहेको गाडी उसको जीवन, काम र भविष्यका लागि सही छ कि छैन भन्ने बुझाउनु पनि जिम्मेवारी हो ।’ समुदायभित्र यस्ता धेरै घटना छन् जहाँ मानिसहरुले अन्यत्रबाट गाडी किनेपछि बीमा, दुर्घटना दाबी, कागजी प्रक्रिया वा भुक्तानीसम्बन्धी समस्यामा अलमलिएका छन् ।

    कतिपय अवस्थामा गाडी नयाँ अटो सेल्सबाट नकिनिएको भए पनि आफ्नै दाजुभाइ–दिदीबहिनी सम्झेर उनले आवश्यक मार्गदर्शन दिंदै आएका छन् । कुन प्रक्रिया कसरी अगाडि बढाउने, कुन कागजात आवश्यक पर्छ, कुन कुरा स्पष्ट रुपमा बुझ्नुपर्छ भन्ने विषयमा उनले सहयोग गरेका छन् । यही व्यवहारले नयाँ अटो सेल्सलाई केवल कारोबार गर्ने स्थान नभई समुदायसँग जोडिएको भरोसायोग्य नाम बनाएको छ ।


    न्यूयोर्क व्यवसायको ठूलो केन्द्र हो । धेरै नेपालीहरु यही क्षेत्रमा मेहनत गरेर आफ्नो परिवार, भविष्य र आर्थिक आधार निर्माण गरिरहेका छन् । तर, सही गाडी नछान्दा, गलतमा फस्दा, नबुझ्दा वा उपयुक्त गाडी लिँदा ठूलो नोक्सानी हुन सक्छ । नयाँ अटो सेल्सले यस्ता जोखिमबाट ग्राहकलाई जोगाउन अनुभव, जानकारी र व्यावहारिक सल्लाह दिने काम गर्दै आएको छ ।


    नयाँ अटो सेल्सले हाल गाडी खरिद–बिक्री उपयुक्त गाडी छनोट, दर्ता तथा कागजी प्रक्रियामा सहजीकरण, दुर्घटनापछि आवश्यक सामान्य मार्गदर्शन, बीमा प्रक्रियाबारे आधारभूत जानकारी र अमेरिकी गाडीहरुलाई दुबई,
    साउदी अरेबिया तथा कतार लगायतका बजारमा निर्यातसम्बन्धी परामर्श प्रदान गर्दै आएको छ ।


    यो व्यवसायको सुन्दर पक्ष यसको दोहोरो उद्देश्य हो– एकातिर अन्तर्राष्ट्रिय स्तरमा अमेरिकी गाडी निर्यात गर्ने दृष्टिकोण, अर्कोतिर स्थानीय नेपाली तथा एसियन समुदायलाई सही जानकारी र सुरक्षित निर्णयमा जोड्ने सामाजिक भावना । यही मिश्रणले नयाँ अटो सेल्सलाई साधारण डिलरसिपभन्दा फरक बनाएको छ र अनुभव, विश्वास र जिम्मेवारीसँग जोडिएको रुपमा अघि बढिरहेको छ ।


    राजा घिमिरेको यात्रा एउटा आप्रवासी उद्यमीको प्रेरणादायी कथा हो । करिब १० वर्षको अनुभव, ठूला डिलरसिपहरुमा सिकेको व्यावसायिक ज्ञान, नेपाली समुदायप्रतिको अपनत्व र अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने सोच– यी सबैको संगमबाट नयाँ अटो सेल्स आज न्यूयोर्कमा एउटा नयाँ पहिचान बनाउन अघि बढिरहेको छ । केवल गाडीको गुणस्तरमा होइन, व्यवहारमा पनि देखिनुपर्छ, सही निर्णय, सही जानकारी र ग्राहकको दीर्घकालीन हितमा देखिनुपर्छ ।

  • हिमालयन स्वाद र उद्यमशीलताको नयाँ अध्याय–लिङ्कन एभरेस्ट र टेष्ट अफ हिमालय चुलो

    हिमालयन स्वाद र उद्यमशीलताको नयाँ अध्याय–लिङ्कन एभरेस्ट र टेष्ट अफ हिमालय चुलो

    २० असार, बर्लिन, कनेक्टिकट । लिङ्कन एभरेस्ट एक प्रेरणादायी नेपाली उद्यमी हुन् । नेपालको तनहुँ जिल्लामा जन्मिएका एभरेस्ट बाल्यकालदेखि नै स्वस्थ खानपान र समग्र जीवनशैलीप्रति गहिरो रुचि राख्थे । यो प्रेरणाको स्रोत भनेको उनका हजुरबुबा हुन्– जो नेपालका पहिलो आयुर्वेदिक वैज्ञानिक थिए । हजुरबुबाको समग्र स्वास्थ्य दर्शन र प्राकृतिक उपचार पद्धतिले लिङ्कनको जीवनलाई गहिरो रुपमा प्रभावित ग¥यो र ‘खाना नै औषधि हो’ भन्ने विश्वास उनको जीवन मन्त्र बन्यो ।

    सन् १९७९ मा नेपालको अन्नपूर्ण होटलबाट आफ्नो व्यावसायिक यात्रा शुरु गरेका उनले मल्ल, याक एण्ड यती र एभरेस्ट शेराटनमा काम गर्दै सन् १९८९ मा अमेरिका पुगे । त्यहाँ हिल्टन र शेराटनमा काम गर्नुका साथै उनले एभरेस्ट एक्सप्रेस र काठमान्डू चुलो जस्ता सफल नेपाली रेस्टुरेन्टहरु सञ्चालन गरे । नेपाल र अमेरिका दुवै देशप्रतिको प्रेम र समर्पणका कारण उनले ‘लिङ्कन एभरेस्ट’ नाम राखेका हुन्– लिङ्कन अमेरिकाका महान राष्ट्रपतिको सम्मानमा र एभरेस्ट नेपालको पहिचानको प्रतीकका रुपमा ।

    टेस्ट अफ हिमालय – चुलो
    सन् २००१ मा मिशिगनको फार्मिङ्टनमा ‘एभरेस्ट एक्सप्रेस’ खोलेर आफ्नो रेस्टुरेन्ट यात्रा शुरु गरेका लिङ्कन एभरेस्टले सन् २००५ मा रोयल ओकमा काठमान्डू चुलो स्थापना गरे । यो रेस्टुरेन्ट छिट्टै मिशिगनमा अत्यन्त लोकप्रिय बन्यो र विभिन्न मिडिया आउटलेट तथा खाद्य समीक्षकहरुको ध्यान आकर्षित गर्न सफल भयो ।

    एक विशेष समीक्षामा रेस्टुरेन्टको हातले बनाइएका मम, ताजा अर्गानिक मसलाको प्रयोग र प्रामाणिक नेपाली अनुभवको निकै प्रशंसा गरेको थियो । विभिन्न अखबार र मिडियाबाट प्राप्त यो व्यापक प्रशंसाले नेपाली खाना र संस्कृतिप्रति अमेरिकी समुदायमा एक नयाँ चेतना जगाउन महत्वपूर्ण भूमिका खेल्यो ।


    त्यही सफलताको अनुभव र दशकौंको खाद्य उद्योगको ज्ञानलाई बोकेर लिङ्कन एभरेस्टले अब बर्लिन, कनेक्टिकटमा नयाँ व्यवस्थापन अन्तर्गत टेस्ट अफ हिमालय – चुलो सञ्चालनमा ल्याएका छन् । चुलो भन्ने शब्द नेपालको परम्परागत माटोको खाना पकाउने भाँडोको नाम मात्र होइन, यो मानिसहरुलाई नेपाली खाना र संस्कृतिमार्फत जोड्ने, एकजुट पार्ने र नेपाली जीवनशैली सिकाउने एउटा गहिरो अवधारणाको प्रतिविम्ब हो । साथै यो रेस्टुरेन्ट किसान, आयातकर्ता, निर्यातकर्ता, आपूर्तिकर्ता र नेपाली खाद्य उद्योगमा रुचि राख्ने जो–कोहीसँग पनि सहकार्य र साझेदारीमा काम गर्न तयार एक संगठनात्मक मञ्च पनि हो ।


    रेस्टुरेन्टको मुख्य विशेषता भनेको ९९% अर्गानिक सामग्री प्रयोग गरी प्रत्येक दिन ताजै परोसिन्छन् । दाल भात, बफ सेकुवा, सेल रोटी, बरा, समोसा, चाउमिन लगायत थुप्रै प्रामाणिक नेपाली परिकारहरु यहाँ उपलब्ध छन् । येल्पमा ४.४ स्टार र १२० भन्दा बढी समीक्षा प्राप्त गरिसकेको यो रेस्टुरेन्ट कनेक्टिकटमा नेपाली खानाको प्रमुख गन्तव्य बन्दै गएको छ ।

    दृष्टिकोण र मिसन : नेपाली खानालाई विश्वमा चिनाउने महाअभियान


    लिङ्कन एभरेस्टको सबैभन्दा ठूलो सपना भनेको नेपाली खानालाई विश्व मञ्चमा प्रामाणिक रुपमा स्थापित गर्नु हो । विश्वभर नेपाली खानालाई भारतीय खानाका रुपमा चिनाइँदै आएको प्रवृत्तिप्रति उनी अत्यन्त चिन्तित छन् र यसलाई परिवर्तन गर्नु उनको जीवनको मुख्य मिसन बनेको छ । यसका लागि उनले नेपलीज वल्र्डवाइड सेफ एसोसिएसनको स्थापना गरेका छन् जसमार्फत विश्वभरका नेपाली सेफहरुलाई एकै मञ्चमा ल्याई नेपाली खानाको वैश्विक प्रवद्र्धन गरिँदैछ । नेपालका सातै प्रदेशमा खाना महोत्सव आयोजना गर्ने उनको महत्वाकांक्षी योजना तयारीको चरणमा रहेको छ ।

  • प्रेमरोगीको डायरी

    प्रेमरोगीको डायरी

    आरएल श्रमजीवी, लण्डन

    ‘तिमीले छोड्यौ भने, तिमीले मलाई बेवास्ता ग¥यौ भने, म त तिम्रै नाममा मरिदिन्छु । हाँसीहाँसी तिम्रो नाम लिएर मर्न मलाई मन्जुर छ ।’ कुनै समय तिमीले म्यासेन्जरमा भनेका यी शब्द सुन्दा म झस्किएको थिएँ । ‘हे पागल्नी, के भनेको यस्तो ?’ मैले अचम्म मान्दै भेटमा प्रतिप्रश्न गरेको थिएँ ।


    तिमी मुस्कुराएकी थियौ । मेरो छातीमा टाउको राखेर बिस्तारै भन्यौ, ‘बरु मृत्यु आओस्, कुनै गुनासो छैन । तर तिमीबाट छुट्टिएर बाँच्नुपर्ने दिन कहिल्यै नआओस् है ।’ आज पनि ती शब्दहरु मेरा कानमा उस्तैगरी गुञ्जिरहेका छन् ।


    समयले धेरै कुरा बदलेको छ । ऋतु फेरिएका छन् । भूगोल फेरिएको छ । मान्छेहरु फेरिएका छन् । तर त्यो क्षण, त्यो स्पर्श, अँगालो, त्यो आवाज र ती शब्दहरु भने मेरो स्मृतिको भित्तामा अझै ताजै टाँसिएका छन् ।

    २०१५ जनवरी १५ चिसो दिन, त्यो दिनपछि तिमी मेरो जीवनबाट यति गहिरो गरी हरायौ कि आज ११ वर्ष पुग्न लाग्यो । तर अनौठो कुरा के छ भने, तिमी हराए पनि तिम्रो अनुरागले यो जीवनभर नछाड्ने भयो ।


    कहिलेकाहीं रातको सन्नाटामा म एक्लै बस्छु । अचानक तिम्रो आवाज कानमा ठोक्किन्छ । म झस्किन्छु । आँखाहरु रसाउन थाल्छन् । अनि थाहै नपाई आँशु मोतीदाना बनेर गालाभरि बग्न थाल्छन् ।


    म सोच्न बाध्य हुन्छु– यति धेरै माया गर्ने मान्छे कसरी यति धेरै टाढा हुन सक्छ ?
    सायद प्रेमको सबैभन्दा भयावह रुप घृणा नै रहेछ । प्रेम जति गहिरो हुन्छ, त्यसको विपरीत दिशामा उभिने घृणा पनि त्यति नै निर्मम हुँदो रहेछ ।


    तर आजसम्म मैले बुझ्न सकेको छैन– आखिर मैले तिम्रो जीवनमा के त्यस्तो नहुने काम गरें ? मैले के बिराएँ ?


    यो एउटा यस्तो प्रश्न हो जसको उत्तर खोज्दै मैले वर्षौं बिताएँ । आफैंलाई हजारौं पटक सोधें । आफ्नै मनसँग बहस गरें । तर उत्तर कतै पाउन सकिन ।
    अन्ततः २०१९ नोभेम्बरको एक रात, क्यालिफोर्नियाको चिसो अँध्यारोमा मैले तिमीलाई फोन गरेर त्यही प्रश्न सोधें ।


    केहीबेरपछि तिम्रो एउटा सन्देश आयो– ‘डन्ट इन्टरफेयर इन माई प्राइभेट लाइफ’ ।


    त्यो छोटो अंग्रेजी वाक्यले मेरो सम्पूर्ण संसार भत्काइदियो ।
    जब तिमीले देख्यौ कि मैले त्यो सन्देश पढिसकेको छु, त्यसपछि तिमीले अन्तिम पटक फेसबुकबाट पनि मलाई ब्लक गरिदियौ ।


    त्यसपछि…
    तिम्रो बारेमा मलाई केही थाहा छैन ।
    तिमी कहाँ छौ ? कसरी छौ ? खुसी छौ कि बेखुसी मलाई केही थाहा छैन ?
    अरु पनि मलाई केही थाहा छैन ।


    ब्लक भएको पनि आठ वर्ष पुगिसकेको छ । तर समयले एउटा कुरा भने बदल्न सकेन ।


    तिमीप्रतिको मेरो प्रेम ।


    मानिसहरु भन्छन्, समयले सबै घाउ निको पार्छ । तर केही घाउहरु निको हुँदैनन्, तिनीसँग बाँच्न मात्र सिकिन्छ ।


    सायद म पनि त्यही घाउसँग बाँचिरहेको छु । आज पनि रात गहिरिँदै जाँदा, जब संसार निदाउँछ, म तिम्रो सम्झनासँग जागै हुन्छु ।


    र मनभित्र कतै एउटा आवाज उठ्छ– ‘तिमी जहाँ भए पनि खुसी रहनू । किनकि तिमीले भुलेको त्यो प्रेमीले आजसम्म तिमीलाई भुल्न सकेको छैन । सायद अन्तिम साससम्म भुल्ने छैन ।’

  • सन्तोषको संघर्ष र सफलता

    सन्तोषको संघर्ष र सफलता

    भरत गिरी\ न्यूयोर्क
    २० असार, काठमाडौं । अविश्वसनीय तर सत्य र सफल खेलाडी सन्तोष राईको जीवनी खेलप्रेमीको लागि प्रेरणा हो । सुन्दर नेपाल, सगरमाथाको देश र भगवान बुद्धको जन्मभूमिबाट अमेरिका आएका सन्तोष राई धन–सम्पत्ति वा विशेष सुविधामा जन्मिएका व्यक्ति होइनन् । उनको जन्म नेपालको एक ग्रामीण क्षेत्रमा रहेको साधारण परिवारमा भएको थियो, जहाँ जीवन संघर्षले भरिएको थियो र हरेक अवसर कडा मेहनतबाट मात्र प्राप्त हुन्थ्यो ।


    बुबा कमलबहादुर राई र आमा सयनकुमारी राईले सानैदेखि सन्तोषमा मेहनत, इमानदारी र दृढ संकल्पका मूल्यहरु रोप्नुभयो । करातेसँगको उनको यात्रा अप्रत्याशित रुपमा शुरु भयो । बाल्यकालमा उनले आफ्नी दिदीबाट आत्मरक्षाका आधारभूत सीपहरु सिके । शुरुमा केवल आत्मरक्षाको माध्यम बनेको कराते बिस्तारै उनको जीवनको उद्देश्य बन्न पुग्यो । करातेले उनलाई अनुशासन, आत्मविश्वास र जीवनको दिशा प्रदान ग¥यो ।


    धेरै महान खेलाडीहरु जस्तै सन्तोषको यात्रा पनि सजिलो थिएन । आर्थिक अभाव, सीमित स्रोतसाधन, कठिन प्रशिक्षण अवस्था र सफलता टाढा देखिने समयहरु पनि आए । तर, प्रत्येक बाधाले उनको संकल्पलाई अझ बलियो र खेलप्रतिको समर्पणलाई अझ गहिरो बनायो ।


    माध्यमिक शिक्षा जारी राख्दै गर्दा सन्तोषले प्रशिक्षक वीरकृष्ण शाहीको मार्गदर्शनमा औपचारिक रुपमा कराते यात्रा शुरु गरे । प्रशिक्षक शाहीको मार्गदर्शनले उनको प्रारम्भिक खेल जीवनलाई आकार दिन महत्वपूर्ण भूमिका खेलेको थियो । पछि प्रशिक्षक शाहीको व्यस्तताका कारण उनलाई प्रशिक्षक ध्रुवविक्रम मल्लको नेतृत्वमा रहेको बालाजु डोजोमा प्रशिक्षण जारी राख्न प्रोत्साहित गरियो ।

    यो निर्णय उनको जीवनको एउटा महत्वपूर्ण मोड साबित भयो । उनले अथक मेहनतका साथ प्रशिक्षण गरे । थकान, चोटपटक र निराशाका दिनहरु पनि आए, तर उनको विश्वास अटल रह्यो कि निरन्तर मेहनत र धैर्यले अन्ततः सफलता दिलाउनेछ । सन्तोषले छैटौं, सातौं र आठौं राष्ट्रिय खेलकुदमा पदक जितेर आफ्नो पहिचान बनाउन शुरु गरे ।


    ती सफलताले उनलाई आत्मविश्वास दियो र अझ ठूलो उपलब्धि हासिल गर्ने प्रेरणा पनि प्रदान ग¥यो । नवौं राष्ट्रिय खेलकुदमा उनले आफ्नो पहिलो राष्ट्रिय स्वर्ण पदक जिते । यो उनको खेल जीवनको परिभाषित क्षण थियो, जसले उनको त्याग, समर्पण र अथक मेहनतलाई प्रमाणित ग¥यो ।


    सन्तोषका प्रत्येक पदकले एउटा कथा बोकेको छ । प्रत्येक सफलताका पछाडि अनगिन्ती घण्टौंको प्रशिक्षण, पीडा, त्याग र दृढ संकल्प लुकेको छ, जुन प्रायः मानिसले देख्न पाउँदैनन् । केवल १५ वर्षको उमेरमा सन्तोष इचिगु कराते डोजोका प्रमुख प्रशिक्षक बने । अरुलाई सिकाउनु उनको यात्राको सबैभन्दा अर्थपूर्ण पक्षहरुमध्ये एक बन्यो ।

    उनका लागि सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित थिएन; करातेमार्फत अरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु नै उनको वास्तविक सफलता थियो । वर्षौंको अवधिमा उनले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गरे । उनका आठ जना विद्यार्थीहरुले नेपाल सशस्त्र प्रहरी क्लबको प्रतिनिधित्व गर्दै सातौं, आठौं र नवौं दक्षिण एसियाली च्याम्पियनसिपमा दर्जनौं स्वर्ण पदक जिते । आफ्ना विद्यार्थीहरुलाई विजेताको मञ्चमा उभिएको देख्नु उनका लागि आफैंले पदक जित्नु जत्तिकै गर्वको विषय बनेको छ ।


    सन् २०२६ मा सन्तोषलाई नेपालको उपराष्ट्रपतिको उपस्थितिमा मनकुमारी साम्पाङ राई खेल पुरस्कारबाट सम्मानित गरियो । त्यसै वर्ष उनलाई किरात राई सोसाइटी अफ अमेरिकाद्वारा एलम्बर हाङ खेल पुरस्कार प्रदान गरियो, जुन पुरस्कार नेपालका महावाणिज्यदूतबाट हस्तान्तरण गरिएको थियो ।


    यी पुरस्कार र सम्मानहरुले धेरै ठूलो अर्थ राख्ने सन्तोष बताउँछन् । ‘परिवार, प्रशिक्षकहरु, विद्यार्थीहरु र कठिन यात्रामा साथ दिने सबै व्यक्तिहरुप्रतिको यो सम्मान हो,’ उनी भन्छन्– ‘मानिसहरुले प्रायः पदक र ट्रफीहरु मात्र देख्छन्, तर ती सफलताका पछाडि लुकेका संघर्षहरु देख्दैनन् ।’

    सन्तोषको कथा एउटा सानो गाउँका केटाको कथा हो, जसले आफ्नो परिस्थितिभन्दा ठूलो सपना देख्ने साहस ग¥यो । करातेले उनलाई सिकायो कि च्याम्पियन जन्मँदैनन्, उनीहरु अनुशासन, त्याग र अटुट आत्मबलबाट निर्माण गरिन्छन् । उनको यात्रा अझै जारी छ र सायद महत्वपूर्ण विजयहरु अझै भविष्यमा उनले पर्खिरहेका छन् ।

    प्रमुख उपलब्धिहरु

    – स्वर्ण – गोलबजार राष्ट्रिय कराते प्रतियोगिता तथा उत्कृष्ट खेलाडी पुरस्कार

    – स्वर्ण – छथर राष्ट्रिय कराते प्रतियोगिता
    – स्वर्ण – सताक्षी राष्ट्रिय कराते प्रतियोगिता
    – स्वर्ण – प्रथम कपिलाशगढी आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता
    – रजत – यूके ईकेईई १ सिरिज, वर्सेस्टर
    – रजत – २२ माइल्स अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप, मलेसिया
    – रजत – २६औं हिराल्डोज काई शोतोकान शोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५
    – काँस्य – यूएसए कराते च्याम्पियनसिप, डलास, टेक्सास (२०२६)
    – स्वर्ण र रजत – २७औं हिराल्डोज काई शोतोकान शोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप (२६ अप्रिल, २०२६)
    – रजत – ५५०आंै राष्ट्रिय खेलकुद

  • दाङमा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

    दाङमा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

    घोराही (दाङ), २० असारः दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा बङ्गाचुली गाउँपालिका–२ मर्पेसका २६ वर्षीया दीपा थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज साँझ साढे ६ः०० बजे उपचारका क्रममा उनको मृत्यु भएको हो । सोही ठाउँका २९ वर्षीया कमला थापा र ३४ वर्षीय सन्दीप विक घाइते भएका छन् । घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • अझै भेटिएनन् दैलेख दुर्घटनामा वेपत्ता, खोजीमा गोताखोर परिचालन

    अझै भेटिएनन् दैलेख दुर्घटनामा वेपत्ता, खोजीमा गोताखोर परिचालन

    कर्णाली, २० असारः कर्णाली राजमार्गको दैलेख सडकमा दुर्घटनाग्रस्त ‘फोर्स’ गाडीसहित कर्णाली नदीमा बेपत्ता यात्रुहरूको खोजीका लागि सशस्त्र प्रहरीको प्रविधियुक्त गोताखोर टोली परिचालन गरिएको छ । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क।प्र। ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी असार १८ गते चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ दैलेखको साङगेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो ।

    घटनापश्चात् नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको संयुक्त टोलीले दुई दिनसम्म खोजेर बेपत्ता गाडी तथा यात्रु भेटाउन नसकेपछि आज विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट अत्याधुनिक उपकरणसहितको गोताखोर परिचालन गरिएको हो ।

    सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको पाँच जनाको गोताखोर टोली घटनास्थलमा परिचालन भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले पत्रकार भेटघाटमार्फत जानकारी दिए । “उक्त टोली पानीमुनि र भेलमा प्रयोग हुने सोनार क्यामेरा, म्याग्नेट (चुम्बक)सहित घटनास्थलको खोजीलाई तीव्र बनाइरहेको छ,” उनले भने, “हेलिकोप्टर र ड्रोन क्यामेराबाट पनि घटनास्थलका आसपासका कठिन ठाउँमा खोजतलासको काम भइरहेको छ । सशस्त्र प्रहरी बल नं ६ महेश्वरी वाहिनी मुख्यालयको ६ जनाको गोताखोर टोली पनि घटनास्थलमा नै छ ।”

    भौगोलिक कठिनाइ, जल सतहको वृद्धि, तीव्र वेग र धमिलो पानीका कारण खोज तथा उद्धारको कार्य चुनौतीपूर्ण बनेको प्रहरी नायब महानिरीक्षक सापकोटाले बताए । उनका अनुसार सो घटनामा परी पचालझरना–९ कालीकोट निवासी ५४ वर्षीय जेखे तिरुवाको मृत्यु भइसकेको छ । सोही पालिकाका मेखे तिरुवा, रास्कोट नगरपालिका–२ खड्कागाउँका सिर्जना खड्का, पञ्चपुरी नगरपालिका–८ सुर्खेत माझीगाउँका चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदीसहित फोर्स गाडी बेपत्ता रहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना गरेर करिब १०० जना जनशक्ति खोजी कार्यमा परिचालन भएको जनाइएको छ ।

  • सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

    सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

    काठमाडौँ, २० असार । चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ । वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा आज सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आयोजना गरेको पत्रकार सम्मेलनमा विगतका वर्षमा उखु किसानले भुक्तानीका लागि छ देखि आठ महिनासम्म कुर्नुपर्ने बाध्यता रहेकोमा यसवर्ष आर्थिक वर्षभित्रै रकम उपलब्ध गराउने प्रभावकारी व्यवस्था गरिएको जानकारी दिए ।


    सरकारका तर्फबाट दिइने प्रतिक्वीन्टल रु ७० का दरको करिब रु एक अर्ब ५२ करोड अनुदान रकम सम्बन्धित निकायमा निकासा भई असार २५ भित्र किसानको खातामा जम्मा हुने क्रममा रहेको उहाँले बताउनुभयो । बैंक खाता र प्यानजस्ता प्राविधिक विवरण नमिलेका कारण रोकिएका केही किसानहरूको बाँकी भुक्तानीसमेत तत्काल हुने व्यवस्था मिलाइएको सरकारले जारी गरेको १०० दिनका उपलब्धि विवरणमा उल्लेख छ ।

    कृषि बजार सूचना प्रणाली सञ्चालन एवं चिस्यान केन्द्रका लागि बजेट व्यवस्था गरिएको छ । कृषकलाई ‘स्वाइल हेल्थ कार्ड’ वितरण तथा माटो परीक्षणको कार्य अघि बढाइएको छ । कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्न रु तीन करोडसम्मको कृषि कर्जामा रहेको जोखिम भारलाई ७५ प्रतिशतबाट घटाएर ६० प्रतिशत कायम गरिएको छ ।

    मुलुकभरका किसानहरूको आवश्यक विवरण सङ्कलन गरी विद्युतीय प्रणालीमा आबद्धता गर्न कूल २५ लाख ५८ हजार १९८ सङ्ख्यामध्ये हालसम्म सात लाख ५० हजारको प्रमाणीकरण गरिएको छ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न प्रभावित परिवारलाई राहत वितरणका साथै सोको अध्ययनको कामसमेत समितिले सक्रिय रूपमा गरिरहेको जनाइएको छ ।

  • सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

    सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

    काठमाडौँ, २० असारः सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई उच्च प्राथमिकतामा राखेको छ । वर्तमान सरकार गठन भएको १०० दिन पुगेको अवसरमा आज सार्वजनिक विवरणअनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझावअनुसार १५ वटा असान्दर्भिक कानुन खारेज गरिएको छ । यस्तै, राजस्व अनुसन्धान विभाग खारेज गरी सोको व्यवस्थापन गरिएको छ ।

    सार्वजनिक पूर्वाधार विकासमा निजी क्षेत्र र वैदेशिक लगानी आकर्षित गर्न उद्देश्यका साथ वैकल्पिक विकास वित्त ऐन २०८३ सङ्घीय संसद्बाट पारित भई कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । यसले राज्यका प्राथमिकताका क्षेत्रमा लगानी परिचालन गर्नका लागि नवीन उपकरणको प्रयोग गर्न सकिने वातावरण सिर्जना गरेको छ ।

    यस्तै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली संशोधन भई पुँजीगत बजेटको रकमान्तर सम्बन्धित मन्त्रालयका सचिव (लेखा उत्तरदायी अधिकृत)ले गर्नेगरी लाई अधिकार प्रत्यायोजन गरिएको छ । यसबाट रकमान्तरको प्रक्रिया उल्लेखनीय रूपमा कमी भई पुँजीगत खर्च वृद्धि हुने सरकारको विश्वास छ ।

    कम्पनी रजिष्ट्रारको कार्यालय र १२० वटा स्थानीय तहबाट स्थायी लेखा नम्बरसहित करदाता सेवा प्राप्त गर्न सक्ने गरी प्रबन्ध मिलाइएको छ । पश्चिम एसियाको द्वन्द्वका कारण पेट्रोलियम पदार्थ आपूर्तिमा अवरोध एवं विश्व बजारमा मूल्यवृद्धि भएको परिप्रेक्ष्यमा जनतामा सोको भार कम गर्न पैठारीमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास शुल्कमा ५० प्रतिशत छुट दिइएको थियो । ‘ई–पेन्सन भेरिफिकेसन’ प्रणाली लागू गरी जुनसुकै स्थान वा घरबाट नै पेन्सनको भेरिफिकेसन गर्न व्यवस्था मिलाइएको छ । यसबाट निवृत्तिभरण प्राप्त गर्ने ठूलो सङ्ख्याले राहत पाएका छन् ।

    यस्तै, आन्तरिक राजस्व कार्यालयबाट कर विवरण पेस, कर चुक्तालगायत सम्पूर्ण कार्य ‘अनलाइन’ प्रणालीबाट प्रदान गरिएको छ । व्यापारको लागत न्यूनीकरण, व्यापार सहजीकरण र ‘फेसलेस र कन्ट्याक्टलेस’ राजस्व प्रशासनको विकास गर्न सहयोग गरिएको आज सार्वजनिक विवरणमा उल्लेख छ ।

    नेपाल २०८१ फागुन ९ देखि नेपाल ‘फाइनान्सियल एक्सन टास्क फोर्स’को ‘ग्रे लिस्ट’मा परेको छ । ग्रे लिष्टमा परेकामा पहिलोपटक तात्विक सुधारतर्फ उन्मुख भएको छ । वर्तमान सरकारले चालेको सकारात्मक कदमबाट हाल प्रगतिउन्मुख रहेको स्पष्ट पारेको छ । सन् २०२६ को जुन महिनामा भएका टास्क फोर्सको बैठकले सन् २०२६ अप्रिलसम्म भएका प्रगतिको मूल्याङ्कन गर्दै ग्रे लिष्टका लागि तोकिएका १५ कार्यमध्ये तीन कार्य सम्पन्न भएको र चार कार्यमा आंशिक प्रगति भएको भनी स्तरोन्नति गरेको उल्लेख छ ।

    गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट, जनकपुर चुरोट र नेपाल मेटल कम्पनी लिमिटेडको ‘ड्यू डिलिजेन्स अडिट’ (डिडिए) गरी अन्तिम प्रतिवेदन तयार पारिएको छ । यस्तै, उदयपुर सिमेन्टको पनि डिडिएको अन्तिम मस्यौदा प्राप्त भएको छ । बुटवल धागो र ‘नेपाल ओरियन्टल म्याग्नेसाइट’को अध्ययन भइरहेको छ । लगानी बोर्डअन्तर्गत रहेका ९७० वटा ठूला एवं महत्त्वपूर्ण परियोजनाको लगानीको ढाँचासहितको अध्ययन सम्पन्न भएको छ ।

    यस्तै, १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैङ्क तथा वित्तीय संस्थाका खाताहरूको रकम परिचालन गर्ने व्यवस्था कार्यान्वयन गर्ने सम्बन्धमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ मा आवश्यक परिमार्जनका लागि प्रक्रिया अगाडि बढाइएको छ । सार्वजनिक विवरणअनुसार त्यससम्बन्धी मस्यौदा प्रस्ताव गर्न अर्थ मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत प्रतिनिधित्व हुनेगरी कार्यदल गठन भई मस्यौदा प्रतिवेदन सञ्चालक समितिसमक्ष पेस भएको छ ।

    सय दिनको अवधिमा समान प्रकृतिको कोषको एकीकरणका लागि महालेखा नियन्त्रक कार्यालयले अध्ययन प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयमा बुझाएको छ । कुल १९६ भन्दा बढी कोषमा रु ८४ अर्ब ८४ करोड बराबरको मौज्दात रहेको छ, सो रकमलाई प्रभावकारी रूपमा परिचालन गर्नका लागि कानुन संशोधनको प्रक्रिया अगाडि बढाइएको छ ।

    राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन राजस्व अनुसन्धान विभाग खारेज गरी त्यसले सम्पादन गर्दै आएको कार्य आन्तरिक राजस्व विभाग र भन्सार विभागअन्तर्गत गाभ्ने व्यवस्था मिलाइएको छ । राजस्व चुहावट नियन्त्रण गर्न ‘डेडिकेटेड अप्रेसन टिम’ गठन गरी परिचालन गरिएको छ । राजस्व चुहावट नियन्त्रण र कर प्रशासनलाई पारदर्शी बनाउन वार्षिक रु २० करोडभन्दा बढी कारोबार गर्ने ८४१ करदातालाई ‘केन्द्रीय बिजक अनुगमन प्रणाली’मा आबद्ध गरिएको छ ।

    यस्तै, यही असार १ गतेदेखि रु १० करोडभन्दा बढी कारोबार गर्ने करदातालाई समेत यस प्रणालीमा ल्याउन परिपत्र जारी गरिएको छ । बजारमा एमआरपीको अनिवार्य कार्यान्वयन सुनिश्चित गर्न २५३ वटा अनुगमन टोली परिचालन गरिएको छ । जसअन्तर्गत एक हजार ६९२ वटा कम्पनी तथा फर्मको अनुगमन गरी १०२ वटालाई रु ७१ लाख १६ हजार जरिवाना गरिएको छ ।

    भन्सार नाकामा वर्षौंदेखि थन्किएका सवारी साधन नेपाल प्रहरीलगायत निकायमा हस्तान्तरण गरिएको छ र बाँकी लिलाम बिक्रीको प्रक्रिया अगाडि बढाइएको छ । भन्सार नाकामा राजस्व चुहावटमा शङ्कास्पद देखिएका कर्मचारी तथा त्यसमा संलग्न व्यक्तिप्रति निर्मम भई निलम्बन र छानबिनको प्रक्रियामा ल्याइएको सार्वजनिक विवरणमा समावेश छ ।

    धौवादी र राते खोला फलाम खानी क्षेत्रमा विस्तृत सम्भाव्यता अध्ययनका क्रममा १२ वटा स्थानमा ‘कोर ड्रिलिङ’ कार्य सम्पन्न भएको छ । खानी तथा भूगर्भ विभागबाट उत्खननका लागि सैद्धान्तिक सहमति प्राप्त भएको छ । यसका साथै वातावरणीय प्रभाव मूल्याङ्कन कार्य परामर्शदातामार्फत सुरु गरिएको छ ।

    यस्तै, सरकारी निर्णय प्रक्रियामा रहेको बहु–स्वीकृति तहलाई बढीमा तीन तहमा सीमित गर्ने नीतिगत सुधारको कार्यान्वयन गरिएको छ । नेपालका विभिन्न भूभागमा रहेका खानी तथा खनिज क्षेत्रको उत्खनन र नियमनमा कडाइ गरिएको छ । यसअन्तर्गत निष्क्रिय रहेका २७ वटा अनुमतिपत्रलाई स्पष्टीकरण सोधिएको छ ।

    यस्तै, तीन वटा उत्खनन तथा १२२ वटा खोजतलास अनुमतिपत्र रद्द गरिएका छन् । हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने क्रममा नेपाली सेनाबाट सानो स्केलमा परीक्षण उत्पादन गर्न सरकारले स्वीकृत दिएको छ । उक्त उद्योगको भौतिक संरचना मर्मतका लागि करिब रु ५० लाखको लागत अनुमान तयार गरी पेस गरिएको छ ।

    त्यस्तै, दैलेखको जलजले क्षेत्रमा ११२ दशमलव एक अर्ब घनमिटर प्राकृतिक ग्यास भण्डार रहेको प्रारम्भिक अध्ययनबाट पुष्टि भएको छ । त्यसको उपयोगमार्फत २०० मेगावाट विद्युत्, दैनिक दुई हजार २०० टन युरिया मल तथा सवारी इन्धन सिएनजी–पिएनजी उत्पादनको सम्भाव्यता सम्बन्धमा सैद्धान्तिक आधार तयार गरिएको छ । उक्त स्रोतको व्यावसायिक उत्खननका लागि आवश्यक सडक, विद्युत् र खानेपानीलगायत आधारभूत पूर्वाधारको विकास एवं ठूलो स्तरको लगानी व्यवस्थापन गर्नु सो परियोजनाको प्रमुख चुनौतीका रूपमा रहेको छ ।

    नेपाल आयल निगमको सहायक कम्पनी स्थापना गरी लगानीको ‘मोडालिटी’ तय गर्ने, क्षेत्रगत राष्ट्रिय मापदण्ड तर्जुमा गर्ने तथा प्राविधिक जनशक्ति विकासका लागि विश्वविद्यालयसँग सहकार्य गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्रता दिँदै परियोजनालाई चरणबद्ध र व्यवस्थित रूपमा अगाडि बढाउने कार्ययोजना तर्जुमा गरिएको छ ।

    लगानीकर्तालाई एकीकृत सेवा प्रदान गर्न लगानी बोर्ड नेपालअन्तर्गत ‘एकद्वार स्वीकृति प्रणाली’ स्थापना गरी पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ । निजी क्षेत्रको मनोबल उच्च बनाउन निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति तर्जुमा गरिएको छ । संयुक्त अधिराज्य बेलायतसँग दोहोरा करमुक्ति सम्झौता गर्ने द्विपक्षीय छलफल र संयुक्त अरब इमिरेट्स ९युएई०सँगको वार्ता प्रक्रिया अघि बढाइएको छ ।

    अन्तरराष्ट्रिय कर तथा वित्तीय पारदर्शिता मापदण्ड लागू गर्ने कार्य अघि बढाइएको छ । त्यसमा ‘ट्रान्सफर प्राइसिङ’ निर्देशिका जारी हुनुका साथै आर्थिक विधेयक, २०८३ मा यससम्बन्धी कानुनी व्यवस्था गरिएको सार्वजनिक विवरणमा समावेश छ । उद्योग विभागमा सञ्चालित एकल विन्दु सेवा केन्द्रमा रहेका विभिन्न १४ निकायका प्रतिनिधिलाई थप अधिकार प्रत्यायोजन गरिएको छ । उद्योग विभागको एकल बिन्दु सेवा केन्द्रमा खटिने कर्मचारीलाई कर अधिकृतबाट कर दर्ता प्रमाणपत्र जारी हुने गरी अधिकार प्रत्यायोजन गरिएको छ ।

    औद्योगिक तथा व्यावसायिक सुरक्षा सुदृढीकरणका लागि द्रुत प्रतिकार्य संयन्त्रको अवधारणापत्र स्वीकृत गरिएको छ । यस्तै, ७७ वटै जिल्लामा आपत्कालीन अवस्थाका लागि १५ हजार ४३९ सशस्त्र प्रहरीको टोली तयारी अवस्थामा राखिएको छ । जिल्ला औद्योगिक व्यावसायिक सुरक्षा समन्वय समिति गठनको व्यवस्था गरिएको छ ।

    एकीकृत व्यवसाय पुनःउत्थान योजना तयार गरी जेनजी आन्दोलनबाट प्रभावित उद्योग व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, कर, छुट, सहुलियत तथा अन्य मौद्रिक सुविधा प्रदान गरिएको छ । नेपाल राष्ट्र बैङ्कमार्फत जेनजी आन्दोलनका क्रममा सृजना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई दिइएको कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गर्न सक्ने व्यवस्था गरिएको छ ।

    दुर्गम स्थानमा खाद्यान्न भण्डार र नुन ढुवानी वितरण प्रणालीलाई प्राथमिकता दिई राष्ट्रिय खाद्य भण्डारमा न्यूनतम मौज्दात क्रमशः आठ हजार मेट्रिक टन र २५ हजार मेट्रिक टन कायम रहेको छ ।

  • नेपाली सेफको विश्वभर दबदबा : विलासी होटलदेखि राष्ट्रप्रमुखको भान्सासम्म

    नेपाली सेफको विश्वभर दबदबा : विलासी होटलदेखि राष्ट्रप्रमुखको भान्सासम्म

    सेरिका थापा/ काठमाडौं

    २० असार । नेपाली जनशक्ति वैदेशिक रोजगारीमा इमानदार, मेहनती र परिपक्वरुपमा परिचित हुँदै आएका छन् । पछिल्ला वर्षहरुमा विशेषगरी होटल तथा आतिथ्य क्षेत्रमा नेपाली सेफहरुको उपस्थितिले अन्तर्राष्ट्रिय स्तरमै अलग पहिचान बनाइरहेको छ । संसारका विभिन्न मुलुकका पाँचतारे होटल, रिसोर्ट, क्रुज, एयरलाइन क्याटरिङ सेवा तथा रेस्टुरेन्टहरुमा नेपाली सेफहरुको माग उल्लेख्य रुपमा बढ्दै गएको छ ।


    नेपाली सेफहरु केवल श्रम आपूर्ति गर्ने कामदारका रुपमा मात्र नभई स्वाद, अनुशासन, मेहनत र व्यावसायिक दक्षताका कारण अन्तर्राष्ट्रिय बजारमा विश्वसनीय ब्राण्डकै रुपमा स्थापित हुन थालेका छन् । खाडी मुलुकदेखि युरोप, अमेरिका, अष्ट्रेलिया र एसियाली राष्ट्रसम्म नेपाली सेफहरुले आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् ।


    तर, विश्वभर कति नेपाली सेफ कार्यरत छन् भन्नेबारे सरकारसँग यकिन तथ्यांक भने छैन । नेपाल सरकारसँग विदेशमा रहेका नेपालीहरुको समेत पूर्ण विवरण नरहेको अवस्थामा सेफहरुको अलग आधिकारिक अभिलेख तयार हुन नसक्नु सामान्य मान्नु पर्छ । सरकारी निकायहरुसँग विभिन्न देशमा रहेका नेपालीहरुको अनुमानित संख्या मात्रै उपलब्ध हुने गरेको छ ।


    यद्यपि, नेपाली सेफहरुलाई संगठित गर्ने प्रयास भने तीव्र रुपमा अघि बढिरहेको छ । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी र नेपाल सेफ सोसाइटीमार्फत हजारौं नेपाली सेफहरु एउटै सञ्जालमा आबद्ध भएका छन् । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीका अनुसार संस्थाले हालसम्म ४५ देशमा आफ्नो कार्यसमिति विस्तार गरिसकेको छ । उनले नेपाली सेफहरु संसारभर फैलिएको भए पनि उनीहरुबीच पेशागत एकता, अनुभव आदान–प्रदान र क्षमता अभिवृद्धिका लागि संस्थागत संरचना आवश्यक महसुस भएपछि अभियान अघि बढाइएको बताए ।


    अधिकारीका अनुसार नेपाल सेफ सोसाइटीले पनि देशभर संगठन विस्तार अभियान सञ्चालन गरिरहेको छ । पहिलो चरणमा प्रदेश र त्यसपछि जिल्लास्तरमा शाखा विस्तार गर्दै युवा सेफहरुलाई व्यावसायिक रुपमा संगठित गर्ने योजना अघि बढाइएको उनले जानकारी दिए । संस्थामा सदस्यता प्राप्त गर्न होटल तथा रेस्टुरेन्ट क्षेत्रमा कम्तीमा पाँच वर्ष सेफको रुपमा कार्य गरेको अनुभव अनिवार्य गरिएको छ । यसले संस्थामा अनुभवी तथा पेशागत रुपमा सक्रिय व्यक्तिहरुलाई मात्र समेट्ने उद्देश्य राखिएको छ ।

    संगठनात्मक पहल
    अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको स्थापना सन् २०१८ मा संयुक्त अरब इमिरेट्सबाट भएको हो । विदेशमा कार्यरत नेपाली सेफहरुलाई साझा प्लेटफर्ममा ल्याउने उद्देश्यले शुरु गरिएको संस्था पछि विस्तार हुँदै विभिन्न महादेशसम्म पुगेको हो । त्यसपछि सन् २०२४ मा नेपालमा औपचारिक रुपमा दर्ता गरेर संस्थाले आफ्नो गतिविधि थप व्यवस्थित बनाएको अध्यक्ष अधिकारीले बताए ।


    हाल संस्थामा विभिन्न ४५ देशबाट १० हजारभन्दा बढी सेफ आबद्ध रहेका छन् । संस्थाको तथ्यांकअनुसार औसतमा प्रत्येक देशबाट करिब २ सय ५० जना सेफ संस्थासँग जोडिएका छन् । कतिपय मुलुकमा नेपाली सेफहरुको संख्या धेरै भएकाले त्यहाँ अझ बलियो संरचना निर्माण गरिएको छ ।


    विशेषगरी दुबई, कतार, साउदी अरेबिया, मलेसिया, जापान, दक्षिण कोरिया, बेलायत, क्यानडा, अमेरिका र अष्ट्रेलियामा नेपाली सेफहरुको उपस्थिति उल्लेखनीय रहेको बताइन्छ । नेपाली खानाका परिकारसँगै अन्तर्राष्ट्रिय व्यञ्जनमा समेत दक्ष नेपाली सेफहरुले विदेशी होटल उद्योगमा राम्रो छाप छोडेका छन् ।

    नेपालको पहिचानमा सेफहरुको उपस्थिति
    आतिथ्य क्षेत्रका जानकारहरुका अनुसार नेपाली सेफहरुको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई नेपालको पहिचानसँग पनि जोडिएको विषय हो । विदेशी भूमिमा काम गर्ने नेपाली सेफहरुले नेपाली खानाको स्वाद, संस्कृति र आतिथ्य परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गरिरहेका छन् ।


    तर, यो क्षेत्र अझै पनि सरकारी प्राथमिकतामा पर्याप्त रुपमा पर्न नसकेको गुनासो व्यवसायीहरुको छ । उनीहरुका अनुसार सरकारले वैदेशिक रोजगारीमा रहेका दक्ष नेपाली सेफहरुको आधिकारिक तथ्यांक संकलन, सीप प्रमाणीकरण, अन्तर्राष्ट्रिय तालिम तथा पर्यटन प्रवद्र्धनसँग जोडेर दीर्घकालीन नीति ल्याउन आवश्यक छ ।


    सेफ पेशामा आकर्षण बढ्दै जाँदा नेपालभित्र पनि कुक तथा होटल व्यवस्थापन अध्ययन गर्ने युवाको संख्या बढिरहेको छ । दक्ष जनशक्ति उत्पादनसँगै नेपाली सेफहरुको अन्तर्राष्ट्रिय बजारमा प्रभाव अझ विस्तार हुने विश्वास छ ।
    बेलायतमा रहेका नेपाली सेफ सन्तोष साहले बीबीसीको आयोजनामा भएको प्रतियोगितामा भाग लिएपछि नेपाली खानाको चर्चा संसारभर भएको थियो । उनले नेपालीको पहिचानको माध्यम सेफ पेशा पनि भएकाले यसमा राज्यको तर्फबाट पनि लगानी आवश्यक रहेको जोड दिएका छन् ।

    विलासी होटलदेखि राष्ट्रप्रमुखको भान्सासम्म
    अन्तर्राष्ट्रिय आतिथ्य उद्योगमा नेपाली सेफहरुको प्रभाव केवल संख्या वा उपस्थितिमा मात्र सीमित छैन, उनीहरुको दक्षता, अनुशासन र स्वादको कलाले विश्वस्तरमै अलग पहिचान बनाएको छ । विश्वभर कार्यरत नेपाली सेफहरुलाई अत्यन्त मेहनती, इमानदार तथा पाहुनाको स्वाद र मनोविज्ञान बुझेर परिकार तयार गर्न सक्ने व्यावसायिक जनशक्तिका रुपमा हेरिने गरिएको छ ।


    विशेषगरी पाँचतारे तथा विलाशी होटलहरुमा समेत नेपाली सेफहरुले नेतृत्वदायी भूमिकासमेत निर्वाह गरिरहेका छन् । उच्चस्तरीय होटल उद्योगमा काम गर्ने नेपाली सेफहरुले विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुख, कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय खेलाडी, कलाकार तथा प्रतिष्ठित व्यक्तित्वलाई परिकार तयार गरेर सेवा दिइसकेका छन् ।


    आतिथ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुका अनुसार नेपाली सेफहरुको विशेषता भनेकै कठिन परिस्थितिमा पनि निरन्तर काम गर्न सक्ने क्षमता, टोलीमा घुलमिल हुने व्यवहार, नयाँ स्वाद सिक्ने लचकता तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गर्ने दक्षता हो । यही कारण अन्तर्राष्ट्रिय होटल चेन तथा लक्जरी रिसोर्टहरुमा नेपाली सेफप्रति विश्वास बढ्दो छ ।

    चर्चा कमाएका नेपाली सेफहरु
    विभिन्न मुलुकमा आफ्नो पेशागत क्षमता र नेतृत्वका कारण नेपाली सेफहरुले उल्लेखनीय सफलता हासिल गरेका छन् । साउदी अरबमा कार्यरत सरोज थापा, संयुक्त अरब इमिरेट्सका ह्युमन लिम्बु, बेलायतका विनोद बराल, अष्ट्रेलियाका श्याम अम्माइ, माल्दिभ्सका बरुण सिंह र समिस बुढाथोकी, जापानका अमरदीप कार्की, न्युजिल्याण्डका कृष्णहरि सापकोटा, नाइजेरियाका कृष्णकुमार थापामगर, कतारका सूर्य भण्डारी, ओमानका विमल कार्की चर्चामा छन् ।


    त्यस्तै अमेरिकाका सोब थापा, क्यानडाका अनिल तिवारी, साइप्रसका रेशम लामा, यूएईका प्रकाश बुढाथोकी, भारतका शाइकुमार शर्मा, अष्ट्रियाका रामकुमार जोशी, जर्मनीका रामकाजी गोसाइँ, फिनल्याण्डका युवराज पाण्डे, जिबुटीका गोविन्द राई, मकाउका बाबुराम कार्की तथा अष्ट्रेलियाका भवी खनाललाई चर्चित नेपाली सेफका रुपमा लिइन्छ ।


    यी सेफहरुले सम्बन्धित मुलुकका उच्च पदस्थ व्यक्तित्वदेखि विदेशी पाहुनाका रुपमा आउने राष्ट्रप्रमुख, सरकार प्रमुख, अन्तर्राष्ट्रिय कलाकार तथा खेलकुद क्षेत्रका चर्चित हस्तीलाई समेत विभिन्न परिकार तयार गरेर खुवाइसकेका छन् । कतिपय नेपाली सेफहरु अन्तर्राष्ट्रिय होटल समूहका कार्यकारी सेफ, किचेन म्यानेजर तथा फुड कन्सल्टेन्टको भूमिकामा समेत कार्यरत छन् ।


    भारतमा कार्यरत शाइकुमार शर्माले २८ वटा पाँचतारे होटलका सेफहरुको नै नेतृत्व गरिरहेको तथ्यलाई नेपाली सेफहरुको अन्तर्राष्ट्रिय सफलता र नेतृत्व क्षमताको उदाहरणका रुपमा हेरिएको छ । बहुराष्ट्रिय होटल चेनअन्तर्गत सञ्चालन भएका होटलहरुको भान्सा व्यवस्थापन, मेनु विकास, गुणस्तर नियन्त्रण र अन्तर्राष्ट्रिय स्वादको संयोजनमा उनको भूमिका महत्वपूर्ण रहेको छ ।


    अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारी स्वयं पनि अन्तर्राष्ट्रिय स्तरमा परिचित सेफ हुन् । उनी संयुक्त अरब इमिरेट्सस्थित सिडयाट आइल्याण्ड होटलमा सेफका रुपमा कार्यरत छन् । लामो समयदेखि अन्तर्राष्ट्रिय होटल उद्योगमा काम गर्दै आएका अधिकारीले नेपाली सेफहरुको पेशागत पहिचानलाई विश्वव्यापी बनाउन संस्थाको नेतृत्वमा रहेर सक्रियता देखाएको बताउँछन् । नेपाली सेफहरु अब केवल श्रमिकका रुपमा सीमित छैनन्, बरु अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको नेतृत्व तहसम्म पुग्न थालेका छन् । उनी भन्छन्, ‘नेपाली सेफहरुको मेहनत, अनुशासन र स्वादको समझ अन्तर्राष्ट्रिय बजारमा स्थापित भइसकेको छ ।’

    नेपाली खानामा विदेशीको आकर्षण
    पछिल्ला वर्षहरुमा नेपाली खानाका परिकारप्रति विदेशीहरुको आकर्षण बढ्दै गएको छ । मोमो, थुक्पा, नेपाली थाली, गुरुङ तथा नेवारी परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न नेपाली सेफहरुले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । कतिपय नेपाली सेफहरुले आफ्नै रेस्टुरेन्ट सञ्चालन गरेर नेपाली भोजन संस्कृतिलाई विश्व बजारमा विस्तार गरिरहेका छन् ।


    आतिथ्य क्षेत्रका जानकारहरुका अनुसार यदि राज्यले दक्ष सेफ उत्पादन, अन्तर्राष्ट्रिय प्रमाणीकरण, पाककला प्रशिक्षण तथा पर्यटनसँग जोडेर दीर्घकालीन नीति अघि बढाउने हो भने नेपाली सेफहरु नेपालको ‘सफ्ट पावर’का रुपमा अझ प्रभावशाली बन्न सक्छन् । नेपाली स्वाद र आतिथ्य संस्कृतिमार्फत विश्वमा नेपालको पहिचान विस्तार गर्न यो क्षेत्र महत्वपूर्ण माध्यम बन्न सक्ने उनीहरुको बुझाइ छ ।

    नेपाली खानाको अन्तर्राष्ट्रियकरणको पहल
    होटल तथा आतिथ्य क्षेत्रमा नेपाली सेफहरुको प्रभाव बढ्दै जाँदा उनीहरुको भूमिका अब केवल जागिरे कामदारमा सीमित छैन । विश्वका विभिन्न मुलुकमा कार्यरत नेपाली सेफहरु नेपाली खानाका अन्तर्राष्ट्रिय प्रचारकका रुपमा स्थापित हुन थालेका छन् । उनीहरुले विदेशी भूमिमा नेपाली स्वाद, संस्कृति र भोजन परम्परालाई चिनाउने काम गरिरहेका छन् ।


    विशेषगरी बेलायतमा रहेका चर्चित नेपाली सेफ सन्तोष साहलाई नेपाली खानालाई विश्वमाझ स्थापित गराउने सफल उदाहरणका रुपमा लिइन्छ । अन्तर्राष्ट्रिय पाककला प्रतिस्पर्धा तथा प्रतिष्ठित होटल–रेष्टुराँमार्फत उनले नेपाली परिकारलाई विश्वस्तरमा परिचित गराउँदै व्यक्तिगत सफलतासँगै नेपालको पहिचान निर्माणमा समेत योगदान दिएका छन् । उनले काठमाडौं उपत्यकामा पनि रेष्टुरेन्ट खोलेर व्यवसाय सुरु गरिसकेका छन् ।


    अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीका अनुसार संस्थाले नेपाली खानाको अन्तर्राष्ट्रियकरणका लागि विशेष अभियान सुरु गरेको छ । त्यसका लागि ५५ सदस्यीय विशेषज्ञ टोली गठन गरिएको उनले जानकारी दिए । उनका अनुसार टोलीमा अनुभवी सेफहरुसँगै फुड साइन्सका विज्ञहरु पनि सहभागी छन् । नेपाली खानाको मौलिकता, स्वाद, सामग्री, पोषण र अन्तर्राष्ट्रिय प्रस्तुतीकरणलाई वैज्ञानिक ढंगले स्थापित गर्ने उद्देश्यले काम अघि बढाइएको उनले बताए ।


    ‘हामीले नेपाली खानाको व्यवस्थित मेनु तयार गर्ने काम शुरु गरेका छौं । नेपाली खानाको प्रमाणीकरण र पहिचान निर्माणमा पनि काम गरिरहेका छौं,’ अध्यक्ष अधिकारीले भने । उनका अनुसार हालसम्म नेपाली खानाको स्पष्ट अन्तर्राष्ट्रिय मानक तय हुन सकेको छैन । विश्व बजारमा ‘नेपाली खाना’ भनेर औपचारिक रुपमा चिनिने साझा मापदण्ड, प्रस्तुति शैली र प्रमाणीकरण प्रणाली अभाव रहेको उनी बताउँछन् ।

    यही कारण नेपाली खानाको मौलिक पहिचानलाई वैज्ञानिक तथा व्यावसायिक रुपमा स्थापित गर्न फुड साइन्स विज्ञहरूसँग सहकार्य गरिएको हो ।
    सोसाइटीका अनुसार अहिले विदेशी बजारमा मोमो बाहेक धेरै नेपाली परिकार अझै व्यवस्थित रुपमा ब्रान्डिङ हुन सकेका छैनन् । थकाली खाना, नेवारी परिकार, हिमाली भोजन, गुरुङ समुदायका परम्परागत स्वाद तथा विभिन्न जातीय खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सम्भावना ठूलो भए पनि त्यसका लागि राज्य र निजी क्षेत्रको समन्वित पहल आवश्यक रहेको उनीहरुको भनाइ छ ।

    शिक्षा र सीपबीचको भिन्नताले समस्या
    नेपाली सेफहरुको अन्तर्राष्ट्रिय सफलताका बाबजुद राज्यले यो क्षेत्रलाई प्राथमिकतामा नराखेको गुनासो व्यवसायी तथा सेफहरुको छ । अध्यक्ष अधिकारीका अनुसार नेपालमा पाककला शिक्षा र व्यवहारिक सीपबीच ठूलो दूरी छ । ‘पढाइ भएकासँग व्यवहारिक सीप छैन, सीप भएकाहरुसँग औपचारिक शिक्षा छैन,’ उनले भने, ‘यी दुई पक्षलाई संयोजन गर्ने काम सरकारले गर्नुपर्ने थियो । तर, सेफ पेशा अझै पनि सरकारी प्राथमिकतामा परेको छैन ।’


    नेपालमा होटल व्यवस्थापन तथा कुक शिक्षा दिने संस्थाहरु बढिरहेका भए पनि अन्तर्राष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक व्यावहारिक प्रशिक्षण, आधुनिक उपकरण, उद्योगसँगको सहकार्य र प्रमाणीकरण प्रणाली अझै कमजोर छ ।
    क्षमता, अनुभव र दक्षता हुँदाहुँदै पनि ‘कमजोर पासपोर्ट’ अर्थात् नेपालको सीमित अन्तर्राष्ट्रिय प्रभावका कारण धेरै नेपाली सेफहरु नेतृत्व तहमा पुग्न संघर्ष गर्न बाध्य छन् । समान योग्यता हुँदाहुँदै पनि विकसित मुलुकका नागरिकले प्राथमिकता पाउने अनुभव उनीहरुले सुनाउने गरेका छन् ।


    यद्यपि, अन्तर्राष्ट्रिय बजारमा नेपाली सेफहरुको माग भने अत्यधिक रहेको सोसाइटीले जनाएको छ । अध्यक्ष अधिकारीका अनुसार अहिले विश्व बजारमा नेपाली सेफको माग लाखांैको संख्यामा भए पनि त्यसअनुसार दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन । उनले वैदेशिक रोजगारीको वर्तमान संरचनामाथि प्रश्न उठाउँदै दक्ष जनशक्तिमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याए । ‘खाडीमा १ हजार जना सामान्य श्रमिक पठाउनुको सट्टा २० जना दक्ष सेफ पठाउँदा पनि आर्थिक रुपमा ती २० जना धेरै प्रभावकारी हुन्छन्,’ उनले भने ।

    अन्तर्राष्ट्रिय बजारमा आपूर्ति गर्न सकिने
    सेफ पेशामा आम्दानी, सीप विकास र दीर्घकालीन करिअर सम्भावना उच्च हुने भएकाले यसलाई नेपालको वैदेशिक रोजगार नीतिसँग जोड्नुपर्ने उनको धारणा छ । सोसाइटीले यदि व्यवस्थित रुपमा सेफ उत्पादन, तालिम र अन्तर्राष्ट्रिय बजारमा आपूर्ति गर्न सकिने हो भने नेपालको रेमिट्यान्स आय अहिलेको तुलनामा उल्लेखनीय रुपमा बढ्न सक्ने दाबी गरेको छ ।


    आर्थिक क्षेत्रका विशेषज्ञहरुका अनुसार आतिथ्य उद्योग विश्वकै तीव्र गतिमा विस्तार भइरहेको क्षेत्रमध्ये एक हो । पर्यटन, होटल, क्रुज, एयरलाइन क्याटरिङ र लक्जरी रेष्टुरेन्ट क्षेत्रमा दक्ष सेफहरुको माग निरन्तर बढिरहेको अवस्थामा नेपालले यसलाई रणनीतिक अवसरका रुपमा लिन सक्ने सम्भावना छ । तर, समाजमा अझै पनि होटल तथा रेष्टुरेन्ट क्षेत्रमा काम गर्नेलाई हेय दृष्टिले हेर्ने प्रवृत्ति कायम रहेको सेफहरु बताउँछन् । यही सोंच, राज्यको कमजोर प्राथमिकता तथा दक्ष जनशक्ति उत्पादनमा लगानी अभावका कारण नेपाली सेफहरुको संख्या र गुणस्तर अपेक्षाअनुसार बढ्न नसकेको उनीहरुको निष्कर्ष छ ।


    पाककला क्षेत्रका जानकारहरु भने नेपाली सेफहरुलाई व्यवस्थित रुपमा प्रोत्साहन गर्न सके नेपालको पर्यटन, सांस्कृतिक कूटनीति र वैदेशिक रोजगार तीनै क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सकिने बताउँछन् । ‘नेपाली स्वाद’ विश्व बजारमा नेपालको नयाँ पहिचान बन्न सक्ने सम्भावना बलियो छ ।

    लोपोन्मुख खानादेखि संगठन विस्तार योजना
    नेपाली सेफहरुको प्रभाव बढ्दै गएसँगै उनीहरुलाई संगठित गर्ने अभियान पनि तीव्र बन्दै गएको छ । विश्वका विभिन्न मुलुकमा कार्यरत नेपाली सेफहरुलाई एउटै व्यावसायिक सञ्जालमा जोड्दै उनीहरुको क्षमता विकास, पेशागत अधिकार र नेपाली खानाको अन्तर्राष्ट्रिय ब्रान्डिङलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले आफ्नो गतिविधि विस्तार गरिरहेको छ ।


    संस्थाका अध्यक्ष अधिकारीका अनुसार हाल सोसाइटीको मुख्य ध्यान संगठन विस्तारमा केन्द्रित छ । विदेशका ४५ देशमा कार्यसमिति निर्माण गरिसकेको संस्थाले अब नेपालभित्र पनि प्रदेशदेखि जिल्लास्तरसम्म संगठन विस्तार अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

    प्रत्येक प्रदेशमा समिति गठन गर्ने तथा होटल, रेष्टुराँ र पर्यटन क्षेत्रमा कार्यरत सेफहरुलाई स्थानीय स्तरमै संगठित गर्ने काम भइरहेको छ । ‘नेपालका धेरै सेफहरु अझै असंगठित छन् । उनीहरुलाई पेशागत रुपमा जोड्ने, अनुभव आदान–प्रदान गर्ने र नयाँ पुस्तालाई प्रेरित गर्ने उद्देश्यले संगठन विस्तार अभियान चलाइएको हो,’ अध्यक्ष अधिकारीले भने ।


    संस्थाको उद्देश्य केवल सेफहरुलाई एउटै छातामुनि ल्याउने मात्र नभई उनीहरुको व्यक्तित्व विकास, पेशागत दक्षता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने रहेको उनले बताए । साथै, नेपाली खानालाई विश्व बजारमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।

    सोसाइटीले विशेषगरी नेपाली मौलिक तथा लोपोन्मुख खानाको संरक्षण र ब्रान्डिङमा पनि ध्यान केन्द्रित गर्न थालेको छ । आधुनिक खानपान संस्कृतिको प्रभावसँगै हराउँदै गएका परम्परागत नेपाली परिकारको खोज, दस्तावेजीकरण र प्रवद्र्धनका लागि अभियान अघि बढाइएको संस्थाले जनाएको छ ।

    प्रवद्र्धनका लागि नेपालमै फूड फेस्टिभल
    नेपाली समाजका विभिन्न जातीय समुदायसँग जोडिएका परम्परागत स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सम्भावना रहेको भन्दै संस्थाले त्यसको व्यावसायिक प्रस्तुतीकरणमा काम गरिरहेको छ । नेपालमै फूड फेस्टिभल आयोजना गरेर विभिन्न स्थानीय तथा मौलिक परिकारलाई प्रवद्र्धन गर्ने प्रयास गरिएको छ । यस्ता कार्यक्रममार्फत नयाँ पुस्तालाई नेपाली खानाको मौलिकता बुझाउने तथा विदेशी पर्यटकलाई नेपाली स्वादसँग परिचित गराउने लक्ष्य राखिएको उनले बताए ।


    आतिथ्य तथा खाद्य क्षेत्रका विज्ञहरुका अनुसार नेपालमा अझै पनि थुप्रै स्थानीय परिकार व्यवस्थित रुपमा अभिलेखीकरण हुन सकेका छैनन् । हिमाली, पहाडी र तराई क्षेत्रका विविध परिकारको वैज्ञानिक अध्ययन, पोषण विश्लेषण र अन्तर्राष्ट्रिय प्रस्तुतीकरण आवश्यक रहेको उनीहरु बताउँछन् । यसैबीच, सोसाइटीले खाद्य सुरक्षा र अनुगमनको विषयलाई पनि प्राथमिकतामा राखेको छ । विश्वका धेरै देशमा खाद्यान्न गुणस्तर अनुगमन संयन्त्रमा अनिवार्य रुपमा पेशागत सेफहरुको सहभागिता रहने प्रावधान रहेको उल्लेख गर्दै संस्थाले नेपालमा पनि त्यस्तो व्यवस्था आवश्यक रहेको जनाएको छ ।


    संस्थाका अनुसार खाद्य उत्पादन, भण्डारण, पकाउने प्रक्रिया, सरसफाइ र प्रस्तुतीकरणसम्बन्धी व्यावहारिक ज्ञान सेफहरुसँग हुने भएकाले खाद्य अनुगमन प्रणालीमा उनीहरुको भूमिका प्रभावकारी हुन सक्छ । नेपालमा भने हाल खाद्य अनुगमन मुख्यतः प्रशासनिक र प्राविधिक निकायमा सीमित रहेको भन्दै सोसाइटीले स्थानीय तहसम्म हुने अनुगमन प्रक्रियामा पेशागत सेफहरुको सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।


    अध्यक्ष अधिकारीका अनुसार संस्थाले नेपाल सरकारका जिम्मेवार निकायसँग समन्वय गर्दै हरेक पालिकामा हुने खाद्य अनुगमन तथा निरीक्षण प्रक्रियामा सेफहरुको प्रतिनिधित्व र सहयोगको प्रस्ताव अघि सारेको छ । ‘खाद्य सुरक्षासँग प्रत्यक्ष काम गर्ने पेशागत जनशक्ति सेफहरु नै हुन् । त्यसैले अनुगमन र मापदण्ड निर्माणमा हाम्रो अनुभव उपयोगी हुन सक्छ,’ उनले बताए ।

    सरकारी दृष्टिकोण बदल्नुपर्ने
    नेपालमा होटल, रेष्टुराँ तथा खाद्य व्यवसाय तीव्र रुपमा विस्तार भइरहेका बेला खाद्य सुरक्षा, गुणस्तर र अन्तर्राष्ट्रिय मापदण्ड पालनाको विषय अझ महत्वपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा प्रशिक्षित सेफहरुको संस्थागत सहभागिताले खाद्य क्षेत्रलाई थप व्यवस्थित बनाउन सहयोग पुग्न सक्ने उनीहरुको धारणा छ ।


    नेपाली सेफहरुको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढिरहेका बेला सरकारले अझै यो क्षेत्रलाई रणनीतिक प्राथमिकतामा राख्न नसकेको गुनासो व्यवसायीहरुको छ । उनीहरुका अनुसार आतिथ्य क्षेत्रलाई सामान्य श्रम बजारका रुपमा हेर्ने दृष्टिकोण बदल्न आवश्यक छ । दक्ष सेफ उत्पादन, आधुनिक पाककला शिक्षा, अन्तर्राष्ट्रिय प्रमाणीकरण, अनुसन्धान तथा नेपाली खानाको ब्रान्डिङमा राज्यले लगानी गर्न सके नेपालले पर्यटन र वैदेशिक रोजगारी क्षेत्रमा उल्लेखनीय लाभ लिन सक्ने विज्ञहरुको भनाइ छ ।


    विशेषगरी विश्वबजारमा नेपाली सेफहरुको बढ्दो मागलाई अवसरका रुपमा उपयोग गर्न सकिए नेपालले उच्च आम्दानी दिने दक्ष जनशक्ति निर्यात गर्ने देशका रुपमा नयाँ पहिचान बनाउन सक्ने सम्भावना देखिएको छ । त्यसैले सरकारको ध्यान सेफहरुको हक–अधिकारको रक्षा र प्रवद्र्धनमा केन्द्रित हुनुपर्छ ।

  • सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत

    सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत

    काठमाडौँ, २० असारः प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गरे ।


    मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)को चुनावी बाचापत्र उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको प्रवक्ता पोखरेलले बताए । उनले मन्त्रालयको सङ्ख्या घटाएसँगै वार्षिक करिब रु २० अर्ब राज्य कोषमा बचत हुने अनुमान गरिएको बताए ।

    यसैगरी अन्य संरचनाहरु खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढाउने जनाउँदै राजनीतिक दल निकट ट्रेड युनियन, विद्यार्थी सङ्गठन खारेजीलगायतका सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको बताए ।

  • फुटबल विश्वकप : मानवताको महाउत्सव

    फुटबल विश्वकप : मानवताको महाउत्सव

    कुमार न्यौपाने/ हाल : न्युयोर्क
    २० असार, काठमाडौं । आजको विश्व अनेकौं चुनौतीहरुबाट गुज्रिरहेको छ । एकातिर युद्ध, राजनीतिक ध्रुवीकरण, आर्थिक असमानता, धार्मिक विवाद र जातीय संघर्षहरु छन् भने अर्कोतिर मानव समाजलाई एकताबद्ध गर्ने प्रयासहरु पनि जारी छन् । यस्ता विभाजनकारी परिस्थितिहरुबीच एउटा यस्तो शक्ति छ जसले भाषा, धर्म, जाति, संस्कृति, राजनीतिक विचारधारा र राष्ट्रिय सीमाहरुलाई पार गरेर अर्बौं मानिसहरुलाई एउटै भावनामा बाँध्ने काम गर्छ । त्यो शक्ति हो– फुटबल र विशेषगरी फुटबल विश्वकप ।


    फुटबल विश्वकप संसारको सबैभन्दा ठूलो खेलकुद कार्यक्रम मानिन्छ । विश्वका झण्डै सबै देशहरुले यसको छनोट प्रतियोगितामा भाग लिन्छन् र अन्तिम चरणमा पुग्ने अवसरका लागि संघर्ष गर्छन् । विश्वकप केवल ट्रफी जित्ने प्रतिस्पर्धा होइन, यो मानवताको साझा उत्सव हो । धेरै अवस्थामा फुटबलले राजनीतिले गर्न नसकेको काम गरेको छ– मानिसहरुलाई एकताबद्ध बनाउने काम ।

    केही समय अघिसम्म सिमानाका तातो बहस गर्दै गरेका तीन छिमेकीहरुलाई एउटै मञ्चमा विश्वकप २०२६ को आयोजकको रुपमा उभ्याएको छ । सबै महादेशका ४८ देशहरुको कुम्भमेला या विश्वकपको लोकप्रियता कुनै पनि राजनीतिक सम्मेलन, अन्तर्राष्ट्रिय शिखर बैठक वा सांस्कृतिक कार्यक्रमभन्दा धेरै ठूलो छ ।


    सन् २०२२ को कतार विश्वकपलाई विश्वभर करिब ५ अर्ब मानिसले कुनै न कुनै रुपमा हेरेको अनुमान गरिएको थियो । फाइनल खेल मात्र १.५ अर्बभन्दा बढी दर्शकले हेरेका थिए । यो संख्या संयुक्त राष्ट्रसंघका अधिकांश कार्यक्रम, अन्य कुनै खेल, विश्व आर्थिक मञ्च वा अन्य अन्तर्राष्ट्रिय राजनीतिक कार्यक्रमहरुको दर्शक संख्याभन्दा धेरै गुणा बढी हो । यो बढ्नेक्रम जारी छ ।


    यसबाट स्पष्ट हुन्छ कि फुटबल विश्वकप आजको विश्वको सबैभन्दा ठूलो साझा अनुभव बनेको छ । पृथ्वीका विभिन्न कुनामा रहेका मानिसहरुले एउटै समयमा एउटै खेल हेरेर खुसी, निराशा, उत्साह र आशा साझा गर्छन् ।

    राजनीतिले विभाजन गर्छ, खेलले जोड्छ
    राजनीतिक दलहरु, सरकारहरु र विचारधाराहरुले प्रायः समाजलाई विभिन्न समूहमा विभाजन गर्छन् । चुनाव, सीमा विवाद, राष्ट्रिय हित र शक्ति संघर्षका कारण देशहरुबीच मतभेद उत्पन्न हुन्छन् । तर फुटबलले यस्ता विभाजनहरुलाई केही समयका लागि भए पनि कमजोर बनाइदिन्छ ।


    विश्वकपको समयमा मानिसहरु विपक्षी दलका समर्थक होइनन्, उनीहरु फुटबलप्रेमी बन्छन् । उनीहरु धर्म, जाति वा भाषाअनुसार विभाजित हुँदैनन्, बरु एउटै खेलप्रतिको प्रेमले जोडिन्छन् । यही कारणले फुटबललाई ‘विश्वको साझा भाषा’ भनिन्छ ।
    युद्ध र द्वन्द्वका बीचमा पनि फुटबल
    इतिहासमा धेरै यस्ता उदाहरण छन् जहाँ राजनीतिक तनाव र युद्धका बीचमा पनि फुटबलले संवाद र सम्बन्धको ढोका खोलेको छ ।
    सन् १९१४ को प्रथम विश्वयुद्धको समयमा बेलायत र जर्मनीका सैनिकहरुले क्रिसमसको दिन केही घण्टाका लागि युद्धविराम गरेर फुटबल खेलेको ऐतिहासिक घटना उल्लेखनीय छ । युद्धको मैदानमा एकअर्कालाई गोली हानिरहेका सैनिकहरु फुटबल खेल्दा केही समयका लागि शत्रु होइन, खेलाडी बनेका थिए । यसले देखाउँछ कि फुटबलमा मानिसलाई साझा मानवताको आधारमा जोड्ने अद्भूत क्षमता छ ।

    दक्षिण अफ्रिका : खेलद्वारा राष्ट्रिय एकता
    सन् २०१० मा दक्षिण अफ्रिकाले पहिलोपटक अफ्रिकी महादेशमा विश्वकप आयोजना ग¥यो । रंगभेदको लामो इतिहास बोकेको देशका लागि यो केवल खेलकुद प्रतियोगिता थिएन ।


    विश्वकपले दक्षिण अफ्रिकाका विभिन्न जातीय, भाषिक र सांस्कृतिक समुदायहरुलाई एउटै राष्ट्रिय पहिचान अन्तर्गत ल्याउन मद्दत ग¥यो । विश्वभरका लाखौं पर्यटक र दर्शकहरुले अफ्रिकालाई नयाँ दृष्टिकोणबाट हेर्ने अवसर पाए । यो कार्यक्रमले अफ्रिकी महादेशलाई विश्व नक्सामा नयाँ सम्मान दिलायो ।

    फ्रान्सको बहुसांस्कृतिक सफलताको उदाहरण
    सन् १९९८ मा फ्रान्सले आफ्नै भूमिमा विश्वकप जित्दा टोलीमा अफ्रिकी, अरब, युरोपेली र क्यारिबियन मूलका खेलाडीहरु थिए । त्यो टोलीलाई ‘ब्ल्याक, ब्लयाङ्क, बुर’ अर्थात् कालो, गोरा र अरबहरुको संयुक्त फ्रान्स भनेर चिनिन्थ्यो ।
    त्यो जितले फ्रान्समा बहुसांस्कृतिक समाजको सफलताको प्रतीकको रुपमा काम ग¥यो । विभिन्न समुदायहरुले आफूलाई एउटै राष्ट्रको हिस्सा भएको महसुस गरे ।
    यही विश्वकपमा इरानको उपस्थिति, युद्धविराम र हुन गइरहेको शान्ति सम्झौताले यो खेल मात्र खेल हैन, विश्वशान्तिको प्रतीक हो ।

    मेस्सी, रोनाल्डो र नेयमारको ख्याति र एकता
    विश्व फुटबलका महानहरु पेले, माराडोना, गारिन्चा, क्रुएफ, रोनाल्डो नाजारियो र हालका मेस्सी, रोनाल्डो र नेयमारको लोकप्रियता कुनै एक देशमा सीमित छैन । नेपाल, भारत, चीन, जापान, अमेरिका, अफ्रिका र युरोपका करोडौं मानिसहरु उनीहरुका समर्थक छन् ।


    विभिन्न सामाजिक सञ्जालहरुमा उनीहरुको समर्थकहरुको संख्या जोड्ने हो भने झण्डै आधा विश्व हुनजान्छ । यसले प्रमाणित गर्छ कि फुटबलले राष्ट्रियताको सीमाभन्दा बाहिर गएर विश्वव्यापी समुदाय निर्माण गरेको छ ।

    विश्वकप र आप्रवासी समुदाय
    आज विश्वका अधिकांश ठूला शहरहरु बहुसांस्कृतिक छन् । उदाहरणका लागि न्यूयोर्क सिटीमा विश्वका लगभग सबै देशका मानिसहरु बसोवास गर्छन् ।
    विश्वकपको समयमा न्यूयोर्कका सार्वजनिक पार्क, रेस्टुरेन्ट, बार र खुला मैदानहरुमा अर्जेन्टिना, ब्राजिल, फ्रान्स, जर्मनी, मेक्सिको, मोरक्को, जापान र अन्य देशका समर्थकहरु एकै ठाउँमा बसेर खेल हेर्छन् । खेल समाप्त भएपछि फरक राष्ट्रका मानिसहरु एकअर्कासँग फोटो खिच्छन्, गीत गाउँछन् ।

    आर्थिक र सांस्कृतिक प्रभाव
    विश्वकपले केवल खेलकुद होइन, पर्यटन, व्यापार, पूर्वाधार विकास र सांस्कृतिक आदानप्रदानलाई पनि बढावा दिन्छ । विश्वभर ८०–१०० अर्ब डलरको आर्थिक गतिविधि गर्न सक्ने खेल एक अर्थको संसार हो । आयोजक देशमा लाखौं पर्यटक पुग्छन् । उनीहरुले स्थानीय संस्कृति, खानपान, कला र इतिहाससँग परिचित हुने अवसर पाउँछन् । यसले विभिन्न देशका नागरिकहरुबीच प्रत्यक्ष सम्पर्क बढाउँछ ।
    कूटनीतिक सम्बन्ध निर्माण गर्न कहिलेकाहीं वर्षौं लाग्छ, तर खेलमार्फत मानिसहरु केही घण्टामै मित्र बन्न सक्छन् ।

    सामाजिक सञ्जालको युगमा विश्वकप
    आज फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटक र एक्स (ट्विटर) जस्ता सामाजिक सञ्जालहरुले विश्वकपलाई अझ विश्वव्यापी बनाएका छन् ।
    काठमाडौंबाट गरिएको पोस्टलाई अर्जेन्टिनाको समर्थकले लाइक गर्छ । ब्राजिलको समर्थकले मोरक्कोको उपलब्धिको प्रशंसा गर्छ । अफ्रिकाको एउटा कथा एसियाका लाखौं मानिसले साझा गर्छन् । यसरी विश्वकपले डिजिटल युगमा विश्व नागरिकताको भावना अझ बलियो बनाएको छ ।

    साना राष्ट्रहरुको ठूलो सपना
    विश्वकपको अर्को सुन्दर पक्ष भनेको यसले साना र ठूला राष्ट्रलाई समान अवसर दिन्छ । मोरक्कोले २०२२ मा सेमिफाइनल पुग्दा सम्पूर्ण अफ्रिका र अरब विश्व उत्साहित भएको थियो । आइसल्याण्डले युरोपेली प्रतियोगितामा सफलता हासिल गर्दा विश्वभर प्रशंसा पाएको थियो ।


    फुटबलले आर्थिक वा सैनिक शक्तिलाई होइन, प्रतिभा, मेहनत र सामूहिक प्रयासलाई सम्मान गर्छ । २०२६ मा कुरासाओ र केप भेर्डजस्ता थोरै जनसंख्या र क्षेत्रफल भएका मुलुकहरुले विश्वकप खेल्दै गर्दा कसरी विश्व मञ्चमा चम्किन सक्छन्, यो ज्वलन्त उदाहारण हो ।

    किन फुटबल कहिलेकाहीं सरकारभन्दा ठूलो देखिन्छ ?
    सरकारहरुको प्रभाव सीमित भूगोलभित्र हुन्छ । तर फुटबलको प्रभाव विश्वव्यापी हुन्छ । सरकारहरु परिवर्तन हुन्छन्, प्रधानमन्त्री र राष्ट्रपति बदलिन्छन्, राजनीतिक गठबन्धनहरु टुट्छन् । तर फिफा वल्र्डकपको सम्झना पुस्तौंसम्म रहन्छ ।
    धेरै मानिसलाई आफ्नो देशको पुरानो सरकारको नाम याद नहुन सक्छ, तर उनीहरुलाई अर्जेन्टिनाले कहिले विश्वकप जित्यो, ब्राजिलले कति पटक जित्यो वा मेस्सी वा एम्बाप्पेले ट्रफी कहिले उठाए भन्ने कुरा याद हुन्छ । यसले फुटबलको सांस्कृतिक प्रभाव राजनीतिक प्रभावभन्दा फराकिलो हुन सक्ने संकेत गर्दछ ।

    निष्कर्ष
    फुटबल विश्वकप केवल ९० मिनेटको खेल होइन । यो मानवताको साझा उत्सव, विश्व एकताको प्रतीक र सांस्कृतिक पुल हो । यसले भाषा, धर्म, जाति, विचारधारा, आर्थिक अवस्था र राष्ट्रिय सीमाहरुलाई पार गरेर मानिसहरुलाई एउटै भावनात्मक बन्धनमा बाँध्छ ।


    आजको विभाजित विश्वमा फुटबल विश्वकपले हामीलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ । हामी फरक देशका, फरक संस्कृतिका र फरक भाषाका हुन सक्छौं, तर हाम्रो खुसी, सपना, आशा र भावना साझा छन् ।


    त्यसैले फुटबल विश्वकप केवल खेलकुद प्रतियोगिता होइन; यो विश्व मानवताको सबैभन्दा ठूलो उत्सव हो, जसले सरकार र राजनीतिभन्दा पनि शक्तिशाली रुपमा मानिसहरुको हृदयलाई जोड्ने काम गर्छ ।

  • नेपाली र इण्डियन पाककलामार्फत यूएईमा परिचित कर्णबहादुर बुढाथोकी

    नेपाली र इण्डियन पाककलामार्फत यूएईमा परिचित कर्णबहादुर बुढाथोकी

    २० असार, काठमाडौं । संयुक्त अरब इमिरेट्समा अहिले नेपाली तथा इन्डियन पाककला क्षेत्रको परिचित नाम हो–काठमाडौंको तारकेश्वर–९, बालाजुका कर्णबहादुर बुढाथोकी । विगत झण्डै दुई दशकदेखि यूएईमै रहेर पाककलाको क्षेत्रमा योगदान दिँदै आएका बुढाथोकी हाल जेहनग्रीस रेष्टुरेन्टमा हेड अफ कुलिनरी आर्टको जिम्मेवारी सम्हालिरहेका छन् ।


    सन् २००७ देखि यूएईको आतिथ्य क्षेत्रमा यात्रा शुरु गरेका बुढाथोकीले निरन्तर मेहनत, अनुभव र सीपका आधारमा आफूलाई स्थापित गरेका हुन् । प्रारम्भिक दिनमा साधारण किचन स्टाफका रुपमा काम थालेका उनले समयसँगै आफ्नो पाककला, नेतृत्व क्षमता र व्यवस्थापन दक्षताका कारण शीर्ष तहसम्मको यात्रा तय गरे ।


    उनको व्यावसायिक जीवनको सबैभन्दा उल्लेखनीय पक्ष– यूएईका उच्च तहका विशिष्ट व्यक्तित्वहरुसम्म आफ्नो कला पु¥याउनु हो । उनले अबुधाबीका शेख अब्दुल्लाह लगायत शाही परिवारका सदस्यलाई आफ्नै हातले परिकार पस्किने अवसर पाएका छन् । लामो यात्रामा धेरै संघर्ष भए पनि तर सिकाइ र अनुभवले जीवनलाई नयाँ उचाइ दिएको उनको बुझाइ छ ।


    विदेशमा लामो समय काम गर्दा परिवारदेखि टाढा रहनुपर्ने चुनौती भए पनि आफ्नो पेशाप्रतिको लगावले उनलाई अगाडि बढाइरहेको छ । लामो अन्तर्राष्ट्रिय अनुभवलाई नेपालमै उपयोग गरेर केही नयाँ र उदाहरणीय काम गर्ने लक्ष्य उनले राखेका छन् ।


    जेहनग्रीस रेष्टुरेन्ट
    यूएई

  • सरसफाइबाटै विश्वस्तरको सेफसम्म : सुवास थापा

    सरसफाइबाटै विश्वस्तरको सेफसम्म : सुवास थापा

    २० असार, काठमाडौं । खोटाङका सुवास थापा अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा परिचित नेपाली सेफका रुपमा स्थापित छन् । सामान्य ग्रामीण परिवेशबाट शुरु भएको उनको जीवनयात्रा अहिले विश्वका प्रतिष्ठित पाँचतारे होटल र चर्चित रेस्टुरेन्टसम्म पुगेको छ । २५ वर्षभन्दा बढीको अनुभवले उनलाई पाककलाको क्षेत्रमा प्रेरणादायी व्यक्तित्वका रुपमा पनि स्थापित गराएको छ ।


    उनको होटल जीवनको शुरुवात भने भान्साबाट नभई सरसफाइ व्यवस्थापनबाट भएको थियो । त्यसपछि वेटरका रुपमा साउदी अरेबिया पुग्ने अवसर पाए । साउदी अरेबियामा काम गर्दागर्दै उनले एक अन्तर्राष्ट्रिय मुख्य सेफसँग काम गर्ने अवसर पाए । पाककला यात्रा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, ओमान, कतार, माल्दिभ्स, नेपाल र अष्ट्रेलियामा आफ्नो सीप र अनुभव उनले विस्तार गरेका छन् । फरक संस्कृति, स्वाद र ग्राहकको आवश्यकताअनुसार काम गर्दै उनले आफूलाई बहुआयामिक अन्तर्राष्ट्रिय सेफका रुपमा स्थापित गरेका छन् ।


    विशेषगरी उनको ‘बीएलटी’ परिकार निकै चर्चित मानिन्छ । थापाका लागि सफलता भनेको पद वा राम्रो आम्दानी मात्र होइन, ज्ञान र अनुभवको निरन्तर आदानप्रदान हो । उनको विश्वास छ– ज्ञान बाँड्दा अझ बढ्छ र मेहनतले मानिसलाई जहाँ चाह्यो त्यहाँ पु¥याउन सक्छ ।

  • एसियाली स्वादमा विशेष दख्खल : बरुणकुमार सिंह

    एसियाली स्वादमा विशेष दख्खल : बरुणकुमार सिंह

    २० असार, काठमाडौं । रामग्राम नगरपालिका–६, नवलपरासीका वरुणकुमार सिंह आज अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा नेपाली सेफहरुको सफल प्रतिनिधिका रुपमा स्थापित भएका छन् । नेपालबाट शुरु भएको उनको पाककलाको यात्रा अहिले विश्वकै चर्चित पर्यटन गन्तव्य माल्दिभ्ससम्म पुगेको छ । हाल उनी माल्दिभ्सस्थित प्रतिष्ठित ‘बाग्लियोनी होटल्स’ समूहअन्तर्गत सेफ डे क्युजिन (मुख्य कार्यकारी सेफ)का रुपमा कार्यरत छन् ।


    उनको व्यावसायिक अनुभव २१ वर्ष लामो छ, जसमा संयुक्त अरब इमिरेट्स (यूएई) र माल्दिभ्सका विभिन्न अन्तर्राष्ट्रिय होटल तथा रिसोर्टहरुमा काम गरेको अनुभव समेटिएको छ । यो यात्रा केवल रोजगारीको यात्रा मात्र होइन, नेपाली पाककलाको सीपलाई विश्वमञ्चमा स्थापित गर्ने अभियान पनि बनेको छ । सन् २०२४ मा माल्दिभ्समा आयोजित प्रतिष्ठित ‘होटल एसिया इन्टरनेशनल कुलिनरी च्यालेन्ज’मा उनले ‘मोस्ट आउटस्ट्यान्डिङ सेफ’को उपाधि जितेर ठूलो सफलता हासिल गरे ।


    ‘सबैभन्दा ठूलो सन्तुष्टि भनेको अतिथिको अनुहारमा देखिने खुसी हो’, उनी भन्छन् । उनको पाककलाको विशेषता भनेको परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्ने क्षमता हो । समुद्री परिकार, अन्तर्राष्ट्रिय फ्युजन क्युजिन, युरोपेली शैलीका परिकार तथा एसियाली स्वादमा उनको विशेष दख्खल छ ।
    बाग्लियोनी होटल्स माल्दिभ्स

  • नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू

    नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू

    काठमाडौँ, २० असार । नेपाल सरकारले सरकारी सेवा घरघर भन्ने अभियानलाई मूर्त रूप दिइ हुम्ला र भोजपुरबाहेक सबै जिल्लामा राहदानी घर दैलोमा पुर्‍याउने कार्यको थालनी गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिने प्रमुख उपलब्धिहरुआज सिंहदरबारबाट सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले नागरिकमैत्री सेवा प्रवाह गरी नागरिकप्रति सरकारको विश्वास र भरोसा अभिवृद्धि गर्न सो कार्यको थालनी गरिएको बताए ।

    प्रगति विवरणअनुसार हालसम्म दुई लाख छ हजार ३३० थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको छ भने सम्बन्धित कार्यालयले पाँच हजार ७२८ थान राहदानी सेवाग्राहीको घरदैलोमा पुर्‍याइएको छ ।

    सेवा प्रवाहलाई प्रभावकारी र नागरिकमैत्री बनाउन फ्रन्ट डेस्कमा काम गर्ने करिब ५०० कर्मचारीलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानबाट तालिम दिइएको सरकारले जनाएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर र सोको प्रमाणपत्र सोही कार्यालयको साथै १२० स्थानीय तहबाट स्थायी लेखा नम्बरसहित करदाता सेवा प्राप्त गर्न सक्ने प्रबन्ध गरिएको विवरणमा जनाइएको छ । सरकारले छपाइ गर्न बाँकी सवारीचालक अनुमतिपत्र हालसम्म २३ लाख ७५ हजार १८१ थान छपाइ सम्पन्न भएको र यही असार मसान्तसम्म २९ लाख थान छपाइ सकिने सार्वजनिक विवरणमा जनाइएको छ ।

    यसैगरी सबै जिल्ला प्रशासन कार्यालयबाट क्रमशः एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्न गठन गरिएको कार्यदलबाट प्राप्त सुझावबमोजिम हाल ३२ वटै जिल्लामा एकद्वार सेवा प्रणाली कार्यान्वयनका लागि बजेट व्यवस्था गरिएको जनाइएको छ ।