Category: फिचर

  • रुस-युक्रेन युद्ध : एक दिनमै १३७ युक्रेनी मारिएको पुष्टी

    रुस-युक्रेन युद्ध : एक दिनमै १३७ युक्रेनी मारिएको पुष्टी

    काठमाडौं । रुसले युक्रेनमाथि बिहीबार गरेको आक्रमणयता एक दिनमै १३७ जना मारिएको पुष्टी भएको छ । त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस्तो पुष्टी गरेका हुन् । यो संख्या अझै बढ्न सक्ने बताइएको छ । रुसतर्फको क्षति सार्वजनिक गरिएको छैन । तर, दर्जनौं सैनिक मारिएको हुन सक्ने खबर छ । रुसले आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ।

    राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य शहरमा भएका प्रदर्शनहरूका क्रममा अहिलेसम्म १,७०० जनालाई पक्राउ गरिएको छ। रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो। बीबीसीका अनुसार विपक्षीहरूका प्रदर्शनका क्रममा हुने गिरफ्तारीबारे सूचना राख्ने समूह ओभीडी इन्फोका अनुसार मस्कोमा ९०० जना र सेन्ट पिटर्सबर्गमा ४०० जना पक्राउ परेका छन्।

    सयौँ प्रदर्शनकारीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि रुसी नियोगको कार्यालयअगाडि विरोध जनाएका छन्। युद्ध चर्किदै गएसँगै युक्रेनमा रात्रिकालीन कर्फ्यु लागु गरिएको छ। युक्रेनका विभिन्न भागमा रुसी सेना तीव्र गतिमा अघि बढिरहेका विवरण प्राप्त भएका छन्। त्यहाँ गोलाबारी, विस्फोट अनि हवाई हमला भएको छ। एउटा हवाई अखडामा रुस र युक्रेनी सेनाबीच भिडन्त भएको बताइएको छ।

    रुसी सेनाले नियन्त्रणमा लिएको भनिएको उक्त हवाई अखडा पुनः आफ्नो नियन्त्रणमा लिएको युक्रेनले दाबी गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरूले लड्न जारी राख्ने बताएका छन्। पश्चिमा राष्ट्रहरूले रुसमाथि थप आर्थिक प्रतिबन्धहरूको घोषणा गरेका छन्। रुसका ब्याङ्क अनि उच्च अधिकारीहरूमाथि प्रतिबन्ध लगाइने उनीहरूले बताएका छन्।

    तर उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका सदस्य राष्ट्रहरूले युक्रेनमा सेना भने नपठाउने बताएका छन्। अर्को प्रसङ्मा अमेरिकाले युरोपमा सात हजार थप सेना पठाउने भएको छ। जर्मनीमा पठाउन लागिएको अमेरिकी सैन्य बलले युरोपस्थित नेटोका सदस्य राष्ट्रहरूलाई प्रत्याभूति दिलाउने अमेरिकी भनाइ छ।

  • आज संसद बैठकमा एमसीसीबारे छलफल, बाहिर चर्को आन्दोलन

    आज संसद बैठकमा एमसीसीबारे छलफल, बाहिर चर्को आन्दोलन

    काठमाडौं । प्रतिनिध सभाको बैठकमा आजबाट एमसीसीबाट छलफल प्रारम्भ हुँदैछ । कांग्रेसले दावि गरे अनुसार अबको तीन दिन भित्रमा एमसीसी पास नभए यो अमेरिकाले फिर्ता लैजाने छ । सोहीकारण उसले बरु गठबन्धन तोडियोस, तर सबै उपाय लगाएर भए पनि एमसीसी पास गर्ने रणनीति बनाएको छ । एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको हो ।

    बैठक आज १ बजे बस्नेछ । बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामशर्म समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा आएर सोही बैठकमा सरकारले एक दिनको समय मागेपछि संसद बैठक आजलाई सारिएको छ । एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुन सकेको छैन । बिहीबार दिनभर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार सक्रिय भए पनि कुनै सहमति भएको छैन ।

    सत्तारुढ दलहरू विभाजित भएका छन्, गठबन्धन कायम रहने नरहने अनिश्चित छ । सत्तामै रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीकोविरुद्धमा छन् । जनता समाजवादीको उपेन्द्र यादव पक्ष पनि विपक्षमै देखिएपछि प्रधानमन्त्री देउवाले गठबन्धनलाई छोडेर एमालेसँगको छलफल अघि बढाएका छन् । पछिल्लो समय सरकार(नेपाली कांग्रेस र नेकपा एमाले, माओवादी र नेकपा एमालेबीच पनि पटकपटक छलफल र वार्ता भएको छ । तर, कुनै सहमति भइनसकेको नेताहरूले प्रतिक्रिया दिएका छन् ।

  • युक्रेन पनि होमियो युद्धमा, १८ देखि ६० वर्षसम्मका पुरुषलाई देश छाड्न रोक

    युक्रेन पनि होमियो युद्धमा, १८ देखि ६० वर्षसम्मका पुरुषलाई देश छाड्न रोक

    काठमाडौं । रुससँगको युद्धमा युक्रेन समेत अब होमिएको छ । रुससँग विभिन्न स्थानमा युद्ध भइरहेको अवस्थामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन्। बीबीसीका अनुसार युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ। जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ भने १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताइएको छ।
    एउटा भिडिओ सन्देशमा राष्ट्रपति जेलेन्सकीले रुसी आक्रमणको पहिलो दिन १३७ युक्रेनीहरूले ज्यान गुमाएको बताएका छन्। युक्रेनको सेनाका अनुसार रुसले राजधानी किएभ घेर्ने अनि ब्ल्याक सीको तटसम्म पुग्ने बाटो सुरक्षित गर्ने रणनीति बनाएको छ। युक्रेनको सेनाले रुसी हमलाको जवाफमा आक्रमण गरिरहेको बताएको छ। रुसी आक्रमणको पहिलो दिन हजारौँ युक्रेनी नागरिकले घर छाडेर सुरक्षित स्थानमा पुगेका छन्।

    रात्रिकालीन कर्फ्यु लगाइएको राजधानी किएभमा कैयौँ सर्वसाधारणहरू मेट्रो स्टेसनमा पुगेका छन् जसलाई बम हमलाबाट जोगिने आश्रय स्थलका रूपमा प्रयोग गर्नका लागि खुला राखिएको छ। यकिन सङ्ख्या स्पष्ट भई नसकेको भए पनि अमेरिकाका लागि युक्रेनका राजदूतले कैयौँ सर्वसाधारण मारिएको बताएका छन्।


    पूर्वी युक्रेनस्थित हार्कीभ सहरको स्थानीय प्रशासनले २६ जना सर्वसाधारण घाइते भएको बताएका छन्। आक्रमण फैलिँदै गएको अवस्थामा युक्रेनका छिमेकी राष्ट्रहरूले ठूलो सङ्ख्यामा आफ्नो देशमा शरणार्थीहरूलाई स्थान उपलब्ध गराउने तयारी थालेका छन्।

  • सत्ता गठबन्धन टु्ट्ने, एमाले र कांग्रेसबीच सहकार्य गर्ने सैद्धान्तिक सहमती

    सत्ता गठबन्धन टु्ट्ने, एमाले र कांग्रेसबीच सहकार्य गर्ने सैद्धान्तिक सहमती

    काठमाडौं । अमेरिकी अनुदान एमसीसीका कारण नेपालको राजनीतिमा अर्को उथलपुथल आएको छ । अब प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिएका सत्तारुढ दलबीचको गठबन्धन टुट्ने भएको छ । त्यसको साटो नेपाली कांग्रेस र एमाले गठबन्धनका लागि सहमत भएका छन् । यसले एमसीसी पास गर्नेदेखि सत्तामा समेत यी दुई दलले भागबन्डा गर्ने छन् ।

    बिहीबार राती प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच जारी राजनीतिक गतिरोधलाई समुचित सहकार्यमार्फत निकास दिने सहमति जुटेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यस्तो सहमति जुटेको स्रोतको भनाई छ । बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति एवं प्रधानमन्त्री देउवाले विगतमा मुलुकलाई निकास दिन कांग्रेस र एमालेले पटक पटक सहकार्य गरेको स्मरण गराएका छन् ।

    संसदबाट एमसीसी पास गर्ने शर्तमा उनी गठबन्धन समेत तोठ्न तयार भएका हुन् । उनको भनाईमा केपी ओली समेत सहमत भएका कारण दुई ठूला दलबीच सहमति भएको हो । ओलीले निकासका लागि एमाले बाधक नबन्ने बताएका थिए । अहिलेकै अवस्थामा एमाले संसदमा प्रवेश गर्ने वातावरण नभएको र त्यो वातावरण बनेमा अवरोध नगर्ने उनको भनाई छ । एमालेको माग कसरी पुरा गर्ने भन्ने चाँही स्पष्ट भइसकेको छैन । दुई दलबीच शुक्रबार समेत छलफल हुने छ ।

  • विश्वकप छनोटमा नेपाल तेस्रो बन्यो, ओमानविरुद्ध सानदार जित

    विश्वकप छनोटमा नेपाल तेस्रो बन्यो, ओमानविरुद्ध सानदार जित

    काठमाडौं । आईसीसी टी २० ग्लोबल क्वालिफायरमा नेपाल तेस्रो बनेको छ । अष्ट्रेलियामा आयोजना हुने टी २० विश्वकपमा छनोट हुन असफल भएको नेपालले बिहीबार आयोजक ओमानसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेको हो । जहाँ नेपाल ९ विकेटको फराकिलो अन्तरमा विजयी भयो । ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १७.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

    भुर्तेलले ५३ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा अविजित ५५ रन बनाए । आरिफ शेख २१ रनमा अविजित रहे । ओमानविरुद्ध अर्धशतक प्रहार गरेका कुशल भुर्तेल नेपालबाट टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक ५ अर्धशतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन् । उनले एक शतकसमेत प्रहार गरेका छन् । भुर्तेलले ११ खेलमा कूल ४९८ रन बनाएका छन् ।

    यस्तै, पूर्वकप्तान पारस खड्काले टी(२० मा एक शतक र ४ अर्धशतक प्रहार गरेका छन् । त्यसअघि मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ८७ रनमै रोकिएको थियो ।

  • नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण, ५६२ जना संक्रमणमुक्त

    नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण, ५६२ जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ जना र २ हजार ३३५ जनाको एन्टिजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७६ हजार ५१२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५४ हजार ९०३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ११ हजार ६७८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९३१ पुगेको छ ।

  • एमसीसी अनुमोदनलाई गठबन्धनको साथ नपाएपछि ओलीको समर्थन खोज्‍दै देउवा

    एमसीसी अनुमोदनलाई गठबन्धनको साथ नपाएपछि ओलीको समर्थन खोज्‍दै देउवा

    काठमाडौं । एमसीसी अनुमोदनको लागि गठबन्धनको साथ नपाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलसँग सामूहिक संवाद थालेका छन्।

    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमै रहेको एमाले संसदीय दलको कार्यालयमा ओलीसँग एक्लाएक्लै छलफलपछि प्रधानमन्त्री देउवाले अन्य नेतासहितको छलफल गरेका हुन् ।

    छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।

    एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए भने कांग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगन थापा सहभागी थिए।

    बिहीबार बिहान प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि छलफल भएको थियो।

    विहीवारको लागि बोलाइएको वैठकमा अनुमोदनका लागि बहुमत नपुग्ने देखिएपछि प्रधानमन्त्री देउवाले संसद् बैठक नै स्थगन गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए।

    सरकारको आग्रहबमोजिम सभामुख सापकोटाले प्रतिनिधि सभा बैठक स्थगन गरेका थिए ।

  • रुससँग युक्रेनले तोड्यो कूटनीतिक सम्बन्ध, रूसी आक्रमण ४० जना नागरिकको मृत्यु

    रुससँग युक्रेनले तोड्यो कूटनीतिक सम्बन्ध, रूसी आक्रमण ४० जना नागरिकको मृत्यु

    काठमाडौं । युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले गरेका छन् ।

    बिहीवार बिहान रुसले युक्रेनका विभिन्न भागमा आक्रमण गरेपछि जेलेन्स्कीले यस्तो घोषणा गरेका हुन् ।

    एएफपीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको जनाएको छ ।

    त्यस्तै रूसी आक्रमणमा परी ४० जना युक्रेनियन नागरिकको मृत्यु भएको छ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सल्लाहकारलाई उद्धृत गर्दै समाचार संस्था एपीले अहिलेसम्म ४० जनाको मृत्यु भएको बताएको उल्लेख गरेको छ।

    राष्ट्रपतिका ती सल्लाहकारले मारिनेहरू सैनिक मात्र हुन् कि सर्वसाधारण पनि हुन् भन्ने खुलाएका छैनन्। रूसी आक्रमणबाट दर्जनौं मानिसहरू घाइते भएको उनले बताएका छन्।

  • रुसी राष्ट्रपतिको आदेशसँगै युक्रेनमा युद्ध चर्कियो,५० रुसी सैनिक मारिए, ६ विमान ध्वस्त

    रुसी राष्ट्रपतिको आदेशसँगै युक्रेनमा युद्ध चर्कियो,५० रुसी सैनिक मारिए, ६ विमान ध्वस्त

    काठमाडौं । बिहीबार बिहानै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले युक्रेनमा आक्रमणको आदेश दिएसँगै युक्रेनसँग युद्ध चर्किएको छ ।

    रुसले युक्रेन स्थित सैन्य पूर्वाधारहरू लक्षित गर्दै विभिन्न सहरमा हवाइ आक्रमण सुरु गरेको बताइएको छ ।

    समाचार एजेन्सी एएफपीका अनुसार रुसी भुसेना युक्रेनमा पसिसकेका छन् भने, युक्रेनको दक्षिणी तटमा समेत रुसी सेना अवतरण भएको छ ।

    युक्रेनी सेनाले ५० रुसी सेना मारिएको जनाएको छ । साथै पाँच रुसी लडाकु विमान र एक एक हेलिकप्टर ध्वस्त गरेको बताएको छ ।

  • राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँड, २५ लाखको हात खाली

    राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँड, २५ लाखको हात खाली

    काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ ।

    कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले दिउँसो ३ बजे क्यापिटल कै कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो ।

    यस आइपीओमा गोलाप्रथा मार्फत ७९ हजार ४५० जना सर्वसाधारण आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

    कम्पनीको आइपीओमा आवेदन दिएका २४ लाख ९९ हजार ९५२ जनाको हात रित्तो भएको क्यापिटलले जनाएको छ ।

    राष्ट्र उत्थानले फागुन ४ गते ८ गतेसम्म बाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो ।

    त्यसमध्ये ०.५ प्रतिशत आर्थत १३ हजार कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ९४ हजार ५०० कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरेको हो ।

  • अनिर्णीत एमसीसी र राष्ट्र बैंकको नीतिले शेयर बजारमा उच्च अंकको गिरावट

    अनिर्णीत एमसीसी र राष्ट्र बैंकको नीतिले शेयर बजारमा उच्च अंकको गिरावट

    काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ५८. ९९ अंकले घटेर २६६१.४४ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२९ कम्पनीको ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९१ रुपैयाँ बराबरको८४ लाख ९० हजार ६८९ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्सका लगानीकर्ता रहेका छन् ।

    फाइनान्स समूह सबैभन्दा धेरै ३.०१ प्रतिशतले घटेको छ ।

    त्यस्तै, विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमा, जीवन बीमा, माइक्रोफाइनान्स समूह पनि २ प्रतिशतले घटेका छन् ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रो पावर कम्पनीको भएको छ । यस कम्पनीको २६ करोड ९७ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको २५ करोड ३५ लाख भन्दा बढीको कारोबार भएको छ ।

    तेस्रोमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको १४ करोड भन्दा बढीको कारोबार भएको छ ।

    नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रहेको छ ।

    यस कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । युनिभर्सल पावरका सेयरधनीले सबैभन्दा धेरै ५.४७ प्रतिशत गुमाएका छन् । त्यसैगरी, न्यादी हाइड्रोपावर, नयाँ सारथी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।

    त्यस्तै, घलेम्दी हाइड्रोपावर, बुद्धभूमि नेपाल, आइसीएफसी फाइनान्स, युनाइटेड मोदीको शेयरमूल्य साढे ४ प्रतिशतले घटेको ।

    गुराँस लघुवित्त, ग्रामीण विकास लघुवित्त, सेन्टर फाइनान्स, इन्फिनिटी लघुवित्त, सूर्य लाइफ, सिनर्जी पावर, एक्सल डेभलपमेन्ट बैंक र लक्ष्मी लघुवित्तको ४ प्रतिशतले घटेको छ ।

  • युक्रेनमा संकटकाल घोषणा

    युक्रेनमा संकटकाल घोषणा

    काठमाडौं । रुसी सेनाले हमलाको निर्देशन प्राप्त गरेसँगै युक्रेनमा संकटकाल घोषणा गरिएको छ । संयुक्त राष्ट्रसंघले यहाँ रुसी आक्रमण भएमा कम्तिमा ५० हजार मानिस मारिने चेतावनी यसअघि नै दिइसकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा “सैन्य कारबाही”को घोषणा गरेसँगै यहाँ संकटकाल घोषणा गरिएको हो ।

    पुटिनले पूर्वी युक्रेनस्थित युद्ध क्षेत्रबाट आफ्ना हतियारहरू बिसाउन र घर फर्कन युक्रेनी सेनालाई आग्रह गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आक्रमणले युरोपेली महाद्वीपमा “ठूलो युद्धको सुरुवात हुनसक्ने” चेतावनी दिएका छन् । उनले राती ढिलो गरी देशवासीलाई सम्बोधन गर्दै यदि रुसले हमला गरे “हामी आफ्नो रक्षा आफैँ गर्छौँ” भन्ने वाचा समेत गरेका छन् ।

    उनका अनुसार युक्रेनको स्थानीय समय अनुसार बिहीवार राती १० बजेदेखि एक महिना लामो संकटकालीन अवस्थामा प्रवेश गर्दैछ। पश्चिमा मुलुकहरुको आंशकालाई सहि सावित गर्दै रुसले युक्रेनमाथि सैन्य हमला गर्न लागेको हो ।

  • रुसले आफ्नो सीमा क्षेत्रका युक्रेनी विमानस्थल बन्द गरायो

    रुसले आफ्नो सीमा क्षेत्रका युक्रेनी विमानस्थल बन्द गरायो

    काठमाडौं । रूस–यूक्रेन तनावका बीच रूसले एक सिभिल एभिएशन नोटिस जारी गरेको छ । जसमा रुसले आफ्नो सीमा क्षेत्र नजिकै रहेका युक्रेनी विमानस्थल बन्द गर्न भनिएको छ । युद्धग्रस्त क्षेत्रबाट जहाज उडेमा त्यसलाई रुसी सेनाले खसाल्ने चेतावनी समेत दिइएको छ । यसले सीमा क्षेत्रमा रहेका पूर्वी यूक्रेनका सबै विमानस्थल बन्द गराउनु पर्ने भएको छ ।

    रूसले एक सिभिल एभिएशन नोटिस जारी गरि यस्तो चेतावनी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । द ओपन सोर्स इन्टेलिजेन्स मनिटरले रूसका तर्फबाट यस्तो सूचना जारी गरेको छ । यस्तो बन्द कहिलेसम्म भनेर मिति समेत तोकिएको छैन ।

  • रुसी राष्ट्रपतिले दिए युक्रेनमा सैन्य आक्रमणको निर्देशन

    रुसी राष्ट्रपतिले दिए युक्रेनमा सैन्य आक्रमणको निर्देशन

    काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भर्खरै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन्। बीबीसीले ब्रेकिङ समाचार भर्खरै प्रकाशित गरेको छ । जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपतकालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ पछिल्लो घोषणा गरेका हुन्।

    यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए। राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झन्डै २,००,००० सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको बताएका छन्।

  • विश्वकप छनोटबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज ओमानसँग खेल्दै

    विश्वकप छनोटबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज ओमानसँग खेल्दै

    काठमाडौं । आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायरबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि बिहीबार ओमानको सामना गर्दैछ । यस पटक ओमानसँग नेपाल लगातार तेस्रो पटक भिड्न लागेको हो । ओमान र नेपाल यसै वर्ष अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा छनोट हुन असफल टीम हुन् । दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपको होडबाट बाहिरिएका हुन् । नेपाल र ओमानबीचको खेल अल अमेरातमा नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ ।

    मंगलबार भएको सेमिफाइनलमा नेपाल यूएईसँग र ओमान आयरल्याण्डसँग पराजित भएको थियो । यूएई र आयरल्याण्ड भने क्वालिफायरको फाइनल पुग्दै अक्टोबर(नोभेम्बरमा अष्ट्रेलियामा हाने टी(२० विश्वकपका लागि छनोट भएका छन् । फाइनल खेल समेत आजै हुँदैछ ।

  • संसद भवनबाहिर सुरक्षा व्यवस्था कडा, एमसीसी विरुद्ध प्रदर्शन जारी

    संसद भवनबाहिर सुरक्षा व्यवस्था कडा, एमसीसी विरुद्ध प्रदर्शन जारी

    काठमाडौं । प्रतिनिध सभाको बैठक बस्ने दिन आज एमसीसीबारे संसदमा छलफल हुँदैछ । अर्कोतर्फ यसको विरोध गरिरहेको कम्युनिष्ट घटकहरुले सडकमा समेत माहोल तताउने तयारी गरेका छन् । सोहीकारण संसद भवन वरिपरि प्रहरीले काँडेतारले घेरेको छ । सुरक्षा प्रवन्ध कडा गरिएको छ । गत आइतबार संसदमा एमसीसी टेबुल हुने दिने प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको थियो ।

    आज समेत विरोधीहरुले चर्को आन्दोलनको तयारी गरेका छन् । आज बस्ने बैठकमा आजबाट मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्टबारे छलफल प्रारम्भ हुने छ । सत्तारुढ दलमध्ये कांग्रेस जसरी पनि एमसीसी पास गराउने दौडधुपमा छ । अन्य दल विपक्षमा छन् । सोहीकारण प्रधानमन्त्री शेर बहादुर देउवाले एमालेलाई फकाइरहेका छन् ।

  • आजबाट प्रतिनिधिसभामा एमसीसीबारे छलफल थालिने

    आजबाट प्रतिनिधिसभामा एमसीसीबारे छलफल थालिने

    काठमाडौं । प्रतिनिध सभाको बैठक आज बस्ने गरि बोलाइएको छ । बैठकमा आजबाट मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्टबारे छलफल प्रारम्भ हुने छ । दलहरु एमसीसीको मुद्दामा विभाजन भएका छन् । त्यसकारण आजबाट संसद र सडक दुबैमा परिस्थिति सहज भने हुने छैन । संसदमा एमालेको अवरोध जारी रहेको छ । बिहीबारको बैठकको मुख्य एजेण्डा अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्ट छ ।

    संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ । सम्भावित कार्यसूची अनुसार बैठक अघि बढे आज एमसीसीबारे छलफलको प्रस्ताव पेस हुनेछ। गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए । एमसीसीबारे छलफल सुरु हुने भएकोले नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिइसकेको छ ।

  • पहाडी रानी नामले परिचित इलाममा अब जहाजबाट यात्रा गर्न सकिने

    पहाडी रानी नामले परिचित इलाममा अब जहाजबाट यात्रा गर्न सकिने

    ११ फागुन, काठमाडौं । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यवसायिक उडान सुरु भएको छ । इलाम नगरपालिकासँगको सम्झौता अनुसार तारा एयरले काठमाडौं(इलाम नियमित उडान थालेको छ । तारा एअरको नाइन एनएलओ टुइनअटर जहाज बिहान १०ः४० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा एअरपोर्टमा अवतरण गरेको हो ।

    तारा एअरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले बताए । उनले विमानस्थल निरन्तर उडानका लागि प्रतिवद्ध रहेको समेत बताए । रिमालले कमर्सियल फ्लाइटलाई निरन्तरता दिने समेत बताए । इलामवासीको साथ र सहयोग भए निरन्तर उडान गर्न सकिने समेत उनले बताए ।

    तारा एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विभिन्न पर्यटन व्यवसायी, पर्यटन बोर्ड र इलाम नगरपालिकाको सहकार्यमा मात्र उडान सफल भएको बताए । उनले आगामी दिनमा निरन्तर उडान भर्न अध्ययन भइरहेको र इलामवासीले सहयोग गरेर निरन्तर उडानलाई सहजता प्रदान गर्ने विश्वास रहेको बताए । उनले अबका दिनमा सो विमानस्थलमा आइतबार र बिहीबार दुई दिनका लागि उडान तालिका बनाएको जानकारी दिए ।

    पहिलो व्यवसायिक उडानमा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, टानका अध्यक्ष अच्युत गुरागाईं, होटल एसोसिएसनका उपाध्यक्ष विनायक शाह सहितको पर्यटन व्यवसायी लगायत यात्रु तथा तारा एअरका प्राविधिक टोली गरी १४ जना सहभागी भए ।

  • एमसीसीबारे चीनको दोस्रो टिप्पणी : यो उपहार हो वा पान्डोराज बक्स ?

    एमसीसीबारे चीनको दोस्रो टिप्पणी : यो उपहार हो वा पान्डोराज बक्स ?

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे चीनले दोस्रो पटक टिप्पणी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी उपहार हो कि पान्डोराज बक्स हो भनेर प्रश्न गरेको चिनियाँ संचारमाध्यमले जनाएका छन् । अमेरिकाको नेपालस्थित दूतावासले ५०० मिलियनको एमसीसी अनुदानलाई अमेरिकी जनताको तर्फबाट उपहार भनेको थियो ।

    जवाफमा चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले ‘उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो भन्दै प्रश्न गरेकी छिन् । उनले भनेकी छिन्, ‘यस्तो उपहार जो कोहीले कसरी स्वीकार गर्न सक्छ ? यो उपहार हो वा पान्डोराज बक्स ?’ यो एमसीसी भन्ने प्रोजेक्ट नेपालीले भने जस्तै हेर्दा राम्रो, तर चपाउन गाह्रो मासुमा बदलिन सक्ने डर रहेको उनको टिप्पणी छ । एमसीसीबारे नेपालमा ध्रुविकरण बढ्दा दुई शक्तिराष्ट्र समेत घोचपेचमा उत्रन थालेका छन् ।

  • पल शाहविरुद्ध किटानी जाहेरी

    पल शाहविरुद्ध किटानी जाहेरी

    काठमाडौं । अभिनेता पल शाहविरुद्ध प्रहरीमा बलत्कार अभियोगमा किटानी जाहेरी परेको छ । एक किशोरी गायिका माथि उनले बलत्कार गरेको आरोप लागेको हो । उनीहरुबीच प्रेम सम्बन्ध रहेको चर्चा गरिएको थियो । तर, किशोरी १८ वर्ष पुगेकी छैनन् । केही दिन अगाडी एक अडियोमा शाहले किशोरीसँग यौन सम्बन्ध राखेको बताएको सुनिएको थियो ।

    शाहले भने अडियो आफ्नो नभएको दावि गर्छन् । उनै किशोरी गायिकाले पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । उनले जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएकी छिन् । शाहले किशोरीमाथि तनहुँ, चितवन, पोखरासहितका होटेलमा यस्तो कर्म गरेको उनको जायरीमा उल्लेख छ । बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेर उनले निवेदन दिएसँगै प्रहरीले शाहको खोजी थालेको बताएको छ ।

    उनीहरुबीच सहमतीमै यौन सम्बन्ध कायम भएपनि कानुनतः १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि जबर्जस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

  • पछिल्लो २४ घण्टामा ३१२ संक्रमित थपिए,९११ जना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा ३१२ संक्रमित थपिए,९११ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र ३ हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टी भएको हो ।

    हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बुधबार ९११ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन्। यस्तै बुधबार ९११ जना संक्रमणमुक्त भएका छन्।

    दुईजनाको मृत्यु भएको छ ।

  • संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई सर्कुलर

    संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई सर्कुलर

    काठमाडौं । नेपाली कांग्रेसले बिहीवार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।

    संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन्।

    सचेतक भुसालले भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको बताइन्।

    ‘सैद्धान्तिक छलफल र निर्णय प्रक्रिया जोडिएको हुन्छ। तसर्थ यसलाई एमसीसीको पक्षमा उभिन सांसदलाई ह्विप नै जारी गरिएको भनेर बुझ्दा पनि हुन्छ’, भुसालले भनिन्।

    हाल प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका ६३ जना सांसद छन्। तीमध्ये दुईजना निलम्बित छन्। सांसद प्रदीप गिरी उपचारका क्रममा भारतमा छन्।

    कांग्रेस एमसीसीको पक्षमा छ। कांग्रेस सांसद लक्ष्मी परियारले भोलि बस्ने संसद बैठकमा उपस्थित हुन भनेर सर्कुलर आएको जानकारी दिइन्। उनले पार्टीको संसदीय दलको कार्यालयले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुनु भनेर म्यासेज पठाएको पुष्टि गरिन्।

    सत्तारुढ प्रमुख दल कांग्रेस संसदमा दोस्रो ठूलो शक्तिको रूपमा रहेको छ। संसदमा सबैभन्दा धेरै एमालेका ९७ जना सांसद छन्। एमालेले एमसीसीको सम्बन्धमा संसदमा पक्ष वा विपक्षमा उभिनेबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन। एमालेले आफ्नो माग सम्बोधन गरेमात्रै एमसीसीको विषयमा निर्णय गर्ने अडान राखेको छ।

  • युक्रेनमा रहेका नेपालीलाई परराष्ट्रले भन्यो-‘युद्ध हुन सक्छ, तत्काल स्वदेश फर्कनुस्’

    युक्रेनमा रहेका नेपालीलाई परराष्ट्रले भन्यो-‘युद्ध हुन सक्छ, तत्काल स्वदेश फर्कनुस्’

    काठमाडौं । रुस र युक्रेनबीच तनाव बढेपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ।

    मन्त्रालयले बुधवार एक विज्ञप्ति निकाल्दै युक्रेनमा रहेका नेपालीलाई उपलब्ध हवाई उडानको प्रयोग गरी स्वदेश फर्कनसमेत अनुरोध गरेको हो ।

    अहिलेसम्म युक्रेनमा रहेका ३८ नेपाली नागरिक सम्पर्कमा आएको र उनीहरू सुरक्षित रहेको परराष्ट्रले बताएको छ।

    युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परे जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतावासमा सम्पर्क गर्न भनिएको छ।

    मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘युक्रेनमा रहनु भएका नेपाली नागरिकहरूले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्यांकन गर्नु भई अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ । साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्नसमेत अनुरोध गरिन्छ ।’

    मन्त्रालयले आवश्यक परेमा बर्लिनस्थित राजदूतावासकी तृतीय सचिव सहारा चौलागाईं र मस्कोमा रहेका कार्यवाहक राजदूत सुशील घिमिरेलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

    रुसले पृथकतावादी समूहको नियन्त्रणमा रहेका दुई वटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने निर्णय गरेसँगै युक्रेनी सीमामा तनाव बढेको छ।

  • दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, कारोबार ३ अर्ब १३ करोडमा सीमित

    दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, कारोबार ३ अर्ब १३ करोडमा सीमित

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । केही दिन बढेको बजार साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँ बराबरको ६२ लाख ४७ हजार ४४७ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये १ हरियो भएको छ । भने ११ वटा घटेको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.०७ प्रतिशतले बढेको छ भने उत्पादनमूलक १.२२ प्रतिशतले घटेको छ । आजपनि टेलिकमको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । मंगलवार ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा दिव्याश्वरी हाइड्रोपावर, युनाइटेड इदी मर्दी हाइड्रोपावर कम्पनी रहेको छ ।

    यी दुवैको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । घलेम्दी हाइड्रोपावरको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

    तेह्रथुम पावर ८.८४, रुरु जलविद्युत् ७.४८, सामलिङ पावर ६.८४, आरबीबी म्युचुअल फण्ड १, मध्यभोटेकोशी, बुद्धभूमि नेपाल र मैलुङखोलाको शेयर मूल्य साढे ५ प्रतिशतले बढेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको १९ करोड ३७ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा घलेम्दीको भएको छ । यस कम्पनीको १२ करोड ८५ लाख भन्दा बढीको कारोबार भएको छ । हिमालयन डिस्ट्रीलरीको ९ करोढ ५८ लाखको कारोबार भएको छ ।

    घट्दो बजारमा आज प्रभु बैंकको डिबेञ्चरधनीले सबैभन्दा धेरै ३.९६ प्रतिशत गुमाएका छन् ।

  • रुसका पाँच बैंकमाथि बेलायतले लगायो प्रतिवन्ध

    रुसका पाँच बैंकमाथि बेलायतले लगायो प्रतिवन्ध

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पाँचवटा रुसी बैंकहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले रुसका सबैभन्दा बढी सम्पत्ति भएका तीन व्यक्तिमाथि पनि प्रतिबन्ध लगाएका छन्। बीबीसीले जनाए अनुसार यूकेमा भएको रुसी सम्पत्ति रोक्का गरिएको छ । ती बैंकका प्रतिनिधिलाई बेलायत आउन समेत प्रतिबन्ध लगाइएको छ।

    आफुहरुले यूकेका कुनै पनि व्यक्ति वा संस्थालाई उनीहरूसँग कुनै पनि प्रकारको सम्बन्ध राख्न नदिने समेत उनले बताए । उनले यी कदम पहिलो चरणको प्रतिबन्ध भएको उल्लेख गर्दै थप प्रतिबन्धहरू लगाउनका लागि पनि आफू तयार रहेको जनाएका छन्। रुसी राष्ट्रपतिले युक्रेनमा आक्रमण गर्न सक्ने आशंकाका बीच पश्चिमा मुलुकहरुले रुसमाथिको प्रतिवन्ध कडा गरेका हुन् ।

  • रुससँग लड्न अमेरिकाबाट थप हतियार आउने युक्रेनको आशा

    रुससँग लड्न अमेरिकाबाट थप हतियार आउने युक्रेनको आशा

    काठमाडौं । युक्रेनले रुससँगको मुकाविलाका लागि अमेरिकाबाट थप हातहतियार आपने अपेक्षा गरेको छ । बीबीसीका अनुसार त्यहाँका विदेशमन्त्री दिमेत्रो कुलेबाले अमेरिकाले रुसमाथि लगाएको सुरुवाती प्रतिबन्ध बलियो रहेको बताउँदै यस्तो भनेका हुन् । मङ्गलवार अमेरिकी राष्ट्रपति जो बाइडनसँग भेट गरेका उनले अमेरिकी अधिकारीहरूले आफूहरूलाई थप हतियार उपलब्ध गराउने वाचा गरेको फक्स न्यूजसँग बताएका छन् ।

    रुसको पछिल्लो कदमविरुद्ध अमेरिकाले विभिन्न प्रतिबन्धको घोषणा गरेको छ। रुसले क्राइमिया गाभ्दा अमेरिकाले लगाएको प्रतिबन्धभन्दा यो निकै धेरै रहेको अमेरिकी राष्ट्रपतिले बताएका छन्। अमेरिकाले ८० अर्ब डलरको सम्पत्ति रहेका दुई ठूला रुसी ब्याङ्कको व्यापारमा रोक लगाउने घोषणा गरेको छ।

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुसी समकक्षीसँग तय भएको बैठक आफूले रद्द गरेको बताएका छन्। तर तनाव व्यवस्थापनका लागि आफूहरूले अमेरिकी सेना नै युक्रेनमा परिचालित हुन् भन्ने नचाहेको युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाको भनाई छ । आफूहरूले युक्रेनलाई रक्षासम्बन्धी सहयोग दिन जारी राख्ने बाइडनले प्रतिबद्धता जनाएका छन्।

    युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रुसको पछिल्लो कदमविरुद्ध सशस्त्र बल परिचालन नगर्ने घोषणा गरेका छन्। तर जगेडामा रहेका सुरक्षा बल सदस्यहरूलाई तालिमका लागि भने बोलाउन लागिको उनले जानकारी दिए। रुस र युक्रेनबीच वार्ताको संयोजन गर्ने टर्कीको प्रस्तावलाई राष्ट्रपति जेलेन्स्कीले स्वागत गरेका छन्। उनले जर्मनी र टर्की सहित राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रहरूको सहभागिता रहने शिखर सम्मेलनको आह्वान गरेका छन्।

  • लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

    लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

    काठमाडौं । वरिष्ठ लोक गायक तथा दिग्गज कलाकार जयनन्द लामाको निधन भएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार लामाको बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा भएको हो । उनी राती भोजमा सहभागी भई घर आएका थिए । सो क्रममा उनी गाडीबाट झर्ने बेला लडेको समेत समाचारमा उल्लेख छ । लडेर लामाको टाउकोमा गहिरो चोट लागेको बताइएको छ ।

    सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् । उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए । उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीत गाएका छन् ।

  • विदेशमा रोकिएका नेपाली घरेलु कामदार स्वदेश फर्कन पाउने

    विदेशमा रोकिएका नेपाली घरेलु कामदार स्वदेश फर्कन पाउने

    काठमाडौं । सरकारले विदेशमा रोकिएका नेपाली घरेलु श्रमिकलाई स्वदेश फर्कन सक्ने गरि बाटो खोलेको छ । राम्रो जागिर भएका कारण छाडेर मात्र फर्कनु पर्ने बाध्यता हटाउँदै सरकारले घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिने निर्णय गरेको हो । सरकारले घरेलु कामदार जान प्रतिवन्ध लगाएको मुलुकमा २०७४ भन्दा अघिबाट कार्यरत रहेपनि नेपाल फर्किन नसकेका घरेलु कामदारका लागि पुनः श्रम स्वीकृति दिने विशेष व्यवस्था गरेको हो ।

    श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले २० चैत २०७३अघि त्यस्ता मुलुकमा काम गर्न गएका घरेलु कामदारहरुलाई नेपाल आएर पुनः श्रम स्वीकृति दिएर जान पाउने व्यवस्था गरेको बताएको छ । यही मितिबाट संसदीय समितिको निर्देशनअनुसार घरेलु कामदार विदेश जान र विदेशेमा कार्यरतहरुलाई नेपाल आएपछि फर्किनका लागि पुनःश्रम स्वीकृति दिन रोकिएको थियो ।

    नेपालबाट घरेलु कामदारका रुपमा विशेषगरी महिलाहरु खाडी देशहरुमा जाने गरेका छन् । सरकारले प्रतिवन्ध लगाएपछि धेरै महिला कामदार पुनःश्रम स्वीकृत नपाइँदा राम्रो जागिर गुम्ने भएपछि ५ वर्षदेखि नेपाल फर्किएका छैनन् । मन्त्री स्तरीय निर्णयमार्फत २० चैत २०७३ भन्दा उता विदेशमा गएका महिला श्रमिकलाई नेपाल फर्किमा पुनः श्रम सवीकृति दिने गरी निर्णय भएको छ ।

    पुनः श्रम स्वीकृतिका लागि दूतावासले महिला सम्बन्धित रोजगारदाताको घरमा सुरक्षित रहेको ब्यहोराको सिफारिस भने ल्याउनुपर्नेछ ।अब व्यवस्थाले वैधानिक रुपमा विदश गाएका सबै घरेलु महिलाले पुनः श्रम स्वीकृति पाउने भएका छन् ।

  • विदेशी पर्यटक आकर्षित गर्न प्याकेज बन्दै: हवाई यात्रा र होटेलमा छूट

    विदेशी पर्यटक आकर्षित गर्न प्याकेज बन्दै: हवाई यात्रा र होटेलमा छूट

    काठमाडौं । नेपालमा पर्यटक आकर्षित गर्न प्याकेज घोषणा गरिने भएको छ । यस क्रममा हवाईजहाज र होटेलमा सहुलियत दिने गरि तयारी शुरु भएको छ । विदेशी नागरिकलाई लिइने डलर फेयर हटाउने र होटेलमा २० प्रतिशतसम्म छूट दिइने भएको छ । विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्न पर्यटन मन्त्रालयले पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरि यसबारे काम थालेको बताएको छ । मंगलबार समितिले अहिलेसम्म गरेका प्रयासबारे विवरण सार्वजनिक गर्दै सो जानकारी गराएको छ ।

    पर्यटकलाई होटलमा २० प्रतिशत छुट दिने निर्णय गरिएको छ । पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपाल (हान) ले संस्थागत निर्णय गरी २० प्रतिशतसम्म होटलको कोठा भाडामा पर्यटकहरुलाई छुट दिने निर्णय गरेको जानकारी मन्त्रालयलाई गराएको छ । विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा लाग्ने भाडामा छुट दिन पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समितिले आन्तरिक वायुसेवा कम्पनीलाई अनुरोध गरेको थियो ।

    बुद्ध एअर र यती एअरलाइन्सले छुट दिने प्रतिवद्धतासहित सूचना जारी गरेका छन् । पर्यटन उद्योगको पुनरुत्थान, नयाँ सम्भावनाको खोजि, पहिचान तथा प्रवद्र्धन गर्न तथा यस क्षेत्रमा लगानीको वातावरण तयार गरी रोजगारी सिर्जनाका लागि सरोकारवालासँग समन्वय तथा सहकार्य गरी नीतिगत राय, परामर्श र सल्लाह सुझाव उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री प्रेम आलेको अध्यक्षतामा २ माघमा निर्देशक समिति गठन भएको थियो ।


    मन्त्रालयका अनुसार कोभिड १९ संक्रमण घट्दो क्रममा रहेको अवस्थालाई मध्यनजर गरी नेपाल सरकार मन्त्रिपरिषदबाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश, २०७८ लाई परिमार्जन गरी यात्रा सम्वन्धी मापदण्डलाई थप सरलिकरण गर्न सीसीएमसीसीलाई सिफारिस गरिएको छ ।

    निर्देशक समितिले सिफारिस गरेको नीतिगत राय, परामर्श र सल्लाह सुझाव बमोजिम कार्यक्रम तयार गरी कार्यान्वयन गर्न राजाराम गिरीको संयोजकत्वमा पर्यटन क्षेत्र पुनरुत्थान प्रविधिक समिति समेत गठन गरिएको छ । पर्यटन क्षेत्र पुनरुत्थान प्रविधिक समितिको २४ माघको निर्णय अनुसार पर्यटन उद्योग सम्बन्धी सात वटा विषयगत क्षेत्रमा आवश्यक तयारी गरी सुझाब दिन छुट्टाछुट्टै कार्य समूह तथा प्रदेश स्तरबाट सल्लाह सुझाब लिन मधेश, गण्डकी, लुम्विनी र सुदुरपश्चिम प्रदेशहरुको प्रदेश प्रतिनिधि समेत तोक्ने निर्णय गरेको छ ।

    आगामी १ महिनाभित्र पर्यटन क्षेत्रका सरोकारवालहरु समावेश गरी एक बृहत अन्तरक्रिया कार्यक्रम काठमाडौंमा आयोजना गरिने र अन्तरक्रियाबाट प्राप्त सुझाव समेत समावेश गरी प्रर्यटन क्षेत्रको पुनरुत्थानको विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गरिने समेत बताइएको छ ।

  • देउवाले ओलीसँग भने : मलाई गठबन्धनबाट असहयोग भयो-एमसीसी पास गर्न सहयोग गर्नुहोस

    देउवाले ओलीसँग भने : मलाई गठबन्धनबाट असहयोग भयो-एमसीसी पास गर्न सहयोग गर्नुहोस

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग एमसीसी पास गर्न सहयोग मागेका छन् । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा उनले ओलीसँग यस्तो आग्रह गरेको एमाले नेता विष्णु रिजालले जानकारी दिए । उनका अनुसार गठबन्धनबाट सरकारलाई असहयोग गरेका कारण एमसीसी अनुमोदनमा समस्या रहेको उनले बताएका छन् । सोहीकारण उनले एमालेसँग यस्तो सहयोगको आग्रह गरेका हुन् ।

    जवाफमा ओलीले आफ्नो पार्टीले ६ महिनादेखि जायज माग राख्दै संसद अवरुद्ध गरेका कारण सर्वप्रथम ती माग पुरा हुनुपर्ने बताएको रिजालले जानकारी दिए । आफ्नो माग पुरा नभएसम्म अन्य कुनै संसदीय प्रक्रियामा प्रवेश नगर्ने जवाफ ओलीले प्रधानमन्त्री देउवालाई दिएका छन् । भेटमा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत भेटवार्तामा सहभागी भए ।