काठमाडौं । अन्ततः एमसीसी संसदमा टेबुल हुने भएको छ । सत्तारुढ गठबन्धनमा एमसीसी टेबल गर्न सहमति जुटेको छ । आइतबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले एमसीसी टेबल गन सहमति जुटाएको हो । एमसीसीसँगै अन्य विधेयकहरु समेत अब संसदमा जाने भएका छन् । यस निर्णयबाट तत्कालका लागि गठबन्धन भने नटुट्ने निश्चित भएको छ । तर, निर्वाचनको अन्योल बढ्ने देखिन्छ । अब एमसीसीमा एमालेको मत निर्णय हुने छ ।
Category: फिचर
-

शुरु भयो चट्याङ्ग र मेघगर्जनको याम
काठमाडौं । नेपालमा चट्याङ्ग र मेघगर्जनसहित हावाहुरी चल्ने याम शुरु भएको छ । आइतबार पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको हो ।
आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको छ । अहिले पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ भने तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ। पश्चिमी वायुको प्रभाव कायमै रहने भएकाले भोलि र पर्सि पनि पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने र केही ठाउँमा मेघगर्जनसहित चट्याङ्ग र वर्षा हुनसक्ने अनुमान छ । मौसमविद्ले चट्याङ्गको सम्भावना रहेकाले खेतीपातीको काम गर्दा ध्यान दिन आग्रह गरेका छन् ।
-

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो
काठमाडौं । नेपालमा पेट्रोल,डिजेल र मट्टितेलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल आयल निगमले शनिबार रातीबाट लागु हुने गरि बढाएको मूल्य अनुसार मूल्य सबैभन्दा माथिल्लो विन्दुमा पुगेको हो । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाएको छ । यसअघि निगमले माघ १८ मा मूल्य बढाएको थियो ।
नयाँ मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य लिटरमा १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको र सोही अनुसार भारतीय आयल कर्पोरेशनले मूल्य बढाएपछि त्यसको मारमा नेपाली उपभोक्ता समेत परेका छन् । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।
-

आज संसद बैठक बस्दै, एमसीसी पेश हुने टुंगो भने छैन
काठमाडौं । अइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ । लामो समयदेखि एमालेको अवरोध र सत्तारुढ दलहरुबीच एमसीसीका विषयमा जारी विवादका कारण सदन सूचारु हुन सकिरहेको छैन । बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आज एमसीसी टेबुल गर्ने कांग्रेसले दावि गरेको छ । सत्ता गठबन्धनमा भने यसबारे सहमति भइसकेको छैन । सहमति गर्न आज पनि गठबन्धनका शीर्ष नेताको बैठक बोलाइएको छ । बैठक १० बजे बस्ने छ ।
-

नेपालमा ६० प्रतिशत जनसंख्यालाई पूर्ण खोप पुग्यो
काठमाडौं । नेपालमा कुल जनसंख्याको ६० प्रतिशत भन्दा धेरैले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १ करोड ७६ लाख चार हजार पाँच सय २९ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यो कुल जनसंख्याको ६० प्रतिशत भन्दा माथि हो । कुल जनसंख्याको ७३ दशमलव एक प्रतिशतले कम्तीमा पहिलो मात्रा खोप लगाएको मन्त्रालयको आंकडा छ ।
पछिल्लो २४ घण्टामा खोप लगाएका र यस अघिको विवरण प्राप्त भएको समेत गरी थप सात लाख ६९ हजार पाँच सय ७६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा तीन सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार ९६ जनाको नमूना परीक्षण गर्दा तीन सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस अवधिमा एक हजार दुई सय ७२ जना कोरोना संक्रमित निको भएका छन् । थप चार जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । अहिले नेपालमा १३ हजार तीन सय ५७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
-

एमसीसीबारे पुनः अमेरिकी दुतावासले भन्यो, निर्णय नेपालकै हुन्छ
काठमाडौं । नेपालमा एमसीसी सहयोग विवाद चर्किदै जाँदा अमेरिका समेत दवावमा परेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार पुनः अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको बताएको छ । विज्ञप्ति निकाल्दै अमेरिकी दूतावासले नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हुने उल्लेख गरेको छ ।
नेपाल र अमेरिकाबीच ७५ वर्ष पुरानो सम्बन्ध रहेको भन्दै अमेरिकाले ५० करोड डलर बराबरको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट नेपाललाई दिइएको उपहार भएको भनेको छ । नेपाल र अमेरिकाबीचको यो साझेदारीले नेपालमा रोजगारी र पूर्वाधार विकासमा सहयोग पुग्ने र नेपालीहरूको जीवनस्तरमा सुधार हुने पनि दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ’ विज्ञप्तिमा भनिएको छ । गत हप्ता अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रमुख तीन दलका शीर्ष नेतालाई टेलिफोन गरी एमसीसी अनुमोदन गर्न दबाब दिएको समाचारहरु सार्वजनिक भएका थिए । शुक्रबार चीनले पनि एमसीसीबारे प्रतिक्रिया जनाउँदै अमेरिकाले बलजफ्ती कुटनीति अपनाएको आरोप लगाएको छ ।
-

टी-२० विश्वकप छनोट : नेपाल सेमिफाइनल नजिक
काठमाडौं । टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको विशाल जित निकालेको छ । प्रतियोगितामा लगातार दोस्रो जित निकालेको नेपाल सेमिफाइनल नजिक पुगेको छ । फिलिपिन्सविरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले १०४ रनको अविजित शतकीय इनिङ्स खेलेका छन् ।
उनी टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने दोस्रो नेपाली क्रिकेटर बने । यसअघि पूर्वकप्तान पारस खड्काले शतक हानेका छन् । फिलिपिन्सविरुद्ध कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि १७१ रनको साझेदारी गरे । यो नेपालको टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रनको साझेदारी हो ।
दीपेन्द्रले ८३ रन बनाए । ओमानको अल अमेरात रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर २१८ रन जोड्यो । यो टी–२० अन्तर्राष्ट्रियमा नेपालको तेस्रो सर्वाधिक योगफल हो ।
-

भक्तपुरमा अचेत अवस्थामा भेटिएका दुईको मृत्यु
काठमाडौं । भक्तपुरमा अचेत अवस्थामा भेटिएका दुई जनाको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसारमध्यपुर थिमी नगरपालिका–२ सानोथिमीको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा फेला परेका दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यपुर थिमी–२, सानोथिमीस्थित दिव्यश्वरी प्लानिङको हलेसी मार्टपछाडि सडकमा घोप्टो भई अचेत अवस्थामा फेला परेका उदयपुर कटारी–९ का ३५ वर्षीय सुरज तामाङको उपचारका क्रममा मृत्यु भएको हो । तामाङलाई उपचारका लागि नेपाल– कोरियामैत्री अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको हो ।
मध्यपुर थिमी–२, सानोथिमीस्थित एक घरमा डेरा गरी बस्ने उदयपुर गाईघाटका ४० वर्षीय गणेश मगरको पनि उपचारका क्रममा मृत्यु भएको छ । मगर शौचालयमा अचेत अवस्थामा फेला परेका थिए । शौचालयमा चुकुल लगाई अचेत अवस्थामा रहेका मगरलाई उनकै श्रीमतीले फेला पारी प्रहरीलाई खबर गरेकी थिइन् । उनलाई प्रहरी प्रभाग सानोथिमीको प्रहरी टोलीले उद्धार गरी अस्पताल पुर्याएको थियो ।
उता, सूर्यविनायक–९ नंखेल भाराली खोलामा पहिचान नखुलेको करिब ४४ वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ । गहुँगोरो, पाँच फिट उचाइ रहेको ती पुरूषले हरियो रङको नर्थफेस लेखेको ज्याकेट, हरियै ट्रयाक सुट र ऊनको टोपी लगाएको प्रहरीले बताएको छ । यी घटनाहरुबारे प्रहरीले अनुसन्धान समेत गरिरहेको छ ।
-

मुलुकलाई समृद्ध बनाउन सरकार कटिबद्ध छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै देशलाई समृद्ध बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । यो काममा सबैको सकारात्मक सहयोग आवश्यक रहेको उनले बताए ।
७२ औं प्रजातन्त्र दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘वर्तमान सरकार, प्रतिपक्ष दल, नागरिक समाज, निजी तथा सहकारी क्षेत्र, दातृ निकाय सबैको प्रयासमा मुलुकलाई समृद्ध र सुशासनको मार्गमा अघि बढाउन प्रतिबद्ध छ ।’
२००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली लागू भएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले अब यसलाई संस्थागत गर्दै समतामुलक समाजको निर्माण गर्ने राष्ट्रिय दायित्व पूरा गर्नुपर्ने बताए
-

ब्राजिलमा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १३० पुग्यो
काठमाडौं । ब्राजिलको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबार बढेर १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको सङ्ख्या झण्डै दोब्बर भएर दुई सयभन्दा बढी पुगेको बताएको छ । मंगलबारको भारी वर्षाले नदीहरूमा पानीको बहाव बढेको र धेरै घरहरू ध्वस्त भएका थिए । शुक्रबार दिउँसो प्रकोप क्षेत्रमा उडेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले यो घटनाको दृष्य ‘युद्ध दृश्य’ जस्तो देखिन्छ भन्दै मन्त्रीहरूलाई उद्धारका रचनात्मक उपाय अवलम्बन गर्न निर्देशन दिए ।
अग्निनियन्त्रकहरूले विपद्को चार दिन पछि पनि मानिसहरूलाई जीवितै उद्धार गर्न सम्भव भएको बताएका छन् यद्यपि प्रतिकूल मौसमका कारण भग्नावशेष सार्न भारी मेसिनरी प्रयोग गर्न गाह्रो भएकाले उद्धार प्रयासहरू सुस्त छ ।
ब्राजिल सरकारले प्रभावित क्षेत्रका लागि आपतकालीन राहतका लागि करिब ५० करोड रियास (लगभग ९५ मिलियन अमेरिकी डलर) घोषणा गर्ने अपेक्षा गरिएको छ । (रासस)
-

राप्रपाको प्रवक्ता बने ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेका छन् । यससँगै राप्रपामा प्रवक्ताको संख्या पाँच पुगेको छ । ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक शाही शुक्रबार मात्र राप्रपा प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेको घोषणा गरे ।
पार्टीले सुशासन विभाग बनाउने र शाहीलाई त्यसको प्रमुखसमेत बनाउने उनले बताए । शाही नेतृत्वको अभियानमा रहेका हरेकलाई पार्टीमा जिम्मेवारी दिने भन्दै उनले भने, ‘नेता कार्यकर्ता हुनुको केही सीमा हुन्छ, कार्यशैली परिवर्तन गर्नुपर्छ । तर सुशासनको अभियान अझ सशक्त भएर जान्छ ।’
राप्रपामा यसअघि नै भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल गरी चारजना प्रवक्ता र अरु तीन जना सहप्रवक्तामा मनोनीत भइसकेका -

विश्वकप छनोट : आज नेपाल र फिलिपिन्स भिड्दै
काठमाडौं । आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा आज नेपाल र फिलिपिन्स भिड्दैछन ।
ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुदैछ ।
यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो । ग्लोबल क्वालिफायरको नवआगन्तुक टोली फिलिपिन्सले शुक्रबार क्यानडासँग ११८ रनको हार ब्यहोरेको थियो । फिलिपिन्सलाई हराउन सके नेपालले सेमिफाइनल यात्रा निश्चित गर्नेछ ।
-

आज प्रजातन्त्र दिवस मनाइदै
काठमाडौं । आज नेपालमा प्रजातन्त्र दिवस मनाइदै छ । यस अवसरमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
२००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली जनता रैतीबाट नागरिक बनेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।
टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो । कार्यक्रममा प्रधानमन्त्री देउवाले सम्बोधन गरे ।
समारोहलाई उत्सवमय बनाउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अंकित दुई वटा हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो ।
-

दलित समुदायबाट पहिलो महिला सीडीओ बनिन् सीता
काठमाडौं । नेपालमा दलित समुदायबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुने कीतिमान सीता परियारले राखेकी छिन् । गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा सीता परियारलाई खटाएको हो । उनी यसअघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी थिइन् । परियार दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला बनेकी छिन् ।
दलित समुदायबाट पुरुषहरू भने यसअघि सीडीओ बनिसकेका छन् । कास्कीको रुपा गाउँपालिका–१ मा जन्मिएकी सीता शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी हुन् । उनले तीनवटा उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा समेत काम गरिसकेकी छिन् ।
-

स्थानीय तहको निर्वाचनमा उठ्ने उमेदवारलाई आचारसंहिता, के-के छन् ?
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनेहरुका लागि आचार संहिताको टुंगो लगाएको छ । उमेदवारको नाममा सरकारी पेश्की र बेरुजू रहन नपाइने भएको छ । यसले उमेदवारहरुलाई जिम्मेवार बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ । आयोगका पदाधिकारीहरुले बिहीबार हस्ताक्षर गरेको आचार संहितामा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनेले यसअघि आफूले लिएको पेश्की रकम फर्स्योट गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।
लेखापरीक्षणबाट उम्मेदवार हुने व्यक्तिको नाममा बेरुजू देखिएमा फर्स्योट गरेको हुनुपर्ने प्रावधान समेत राखिएको छ । आयोगले उम्मेदवार हुने व्यक्तिले स्थानीय तहको पदाधिकारीबाट राजिनामा दिनुपर्ने प्रावधान राखेको छ । स्थानीय तह वा स्थानीय तहको स्वामित्व, नियन्त्रणमा रहेको, स्थानीय तहबाट अनुदान प्राप्त संस्ठामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेका निर्वाचित र मनोनित पदाधिकारीले स्ठानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै वहाल रहेको पदबाट राजिनामा गर्नुपर्ने भएको छ ।
-

सत्ता गठबन्धनको बैठक बस्दै, निस्केला निकास ?
काठमाडौं । सत्ता गठबन्धनका पाँच दलको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारको बैठक बिना निष्कर्ष सकिएपछि शुक्रबार पुनः बैठक बोलाइएको हो । गठबन्धनका शीर्ष नेताले बिहान ९ बजे बैठक बसी साझा धारणा बनाउन कोसिस गर्ने भएका छन् ।
बैठकले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा पेस गर्ने विषय टुङ्गो लगाउने अनुमान गरिए पनि त्यसो हुन सकिरहेको छैन । बिहीबार सत्तारुढ दलको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री शेर बहाखुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।
-

पोखरामा बन्यो केबुलकार, आजबाट व्यवसायिक संचालनमा
काठमाडौं । नेपालको चौथो केबुलकार परियोजनाका रुपमा पोखरामा केवलकार तयार भएको छ । पोखराको फेवाताल किनारबाट सराङकोट डाँडासम्म जान सकिने गरि केबुलकार बनेको हो । केबुलकारमा शुक्रबारबाट टिकट काटेर चढ्न सकिने छ । अन्नपूर्ण केबुलकार प्रालिले केबुलकार बनाएको हो । सराङकोटसम्म दुई हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबुलकार’मा कुल १७ वटा गोन्डुला रहेको छ ।
एक गोन्डुलामा एक पटकमा ८ जनाले यात्रा गर्न सक्छन् । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म केबुलकार चढ्न सकिने छ । केबुलकारमा फेवातालको किनारबाट झन्डै नौ मिनेटमा सराङकोट पुग्न सकिने भएको छ । प्रतिव्यक्ति टिकट सात सय रुपैयाँ तोकिएको छ । आयोजनामा २ अर्ब रुपैयाँ लगानी भएको छ ।
-

विश्वकप छनोट : आज नेपाल र ओमान भिड्दै
काठमाडौं । टी–२० विश्वकपको छनोट (ग्लोबल क्वालिफायर)का खेलहरु आजबाट ओमानमा शुरु हुँदैछन् । प्रतियोगिताको पहिलो खेलमा शुक्रबार आयोजक ओमानविरुद्ध नेपालले सामना गर्दैछ । यो खेलले समूह चरणबाट माथि जाने टीमको आंकलन गर्न सक्ने अवस्था रहेकाले समेत दुबै टीमका लागि खेलको नतिजा महत्वपूर्ण हुने छ । ग्लोबल क्वालिफायर ए मा नेपालसहित आठवटा देशले प्रतिस्पर्धा गर्दैछन् ।
जसलाई ४-४ टोलीको दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स रहेका छन् । अर्को समूहमा आयरल्याण्ड, युएई, जर्मनी र बहराइन छन् । दुवै समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल जितेर फाइनल प्रवेश गर्ने दुई टिम विश्वकपमा छनोट हुनेछ । त्यसकारण नेपाललाई ७ वर्षपछि विश्वकप खेल्ने अवसर रहेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाली टिम विश्वकपमा छनोट हुने आशा राखेका छन् ।
-

सत्तारुढ दलबीच सहमति नजुटेपछि ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा
काठमाडौं । सत्तारुढ दलहरुबीच एमसीसी संसदमा टेबुल गर्ने विषयमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निजी निवास बालकोटमा पुगेका छन् । एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा श्रीमती डा. आरजु राणा देउवाका साथ बालकोट पुगेका हुन् ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइए पनि के निष्कर्ष आयो भन्ने खुलाइएको छैन । सत्ता गठबन्धनका दलहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी)बारे छलफल भए पनि सहमति जुटेको थिएन । सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान १० बजे पुनः बस्ने भएको छ ।
-

अमेरिकामा एचआइभी एड्सको सफल उपचार भएको दावी
काठमाडौं । एक अमेरिकी महिला एचआईभी सङ्क्रमणबाट मुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएको दावि गरिएको छ । बीबीसीका अनुसार रक्त क्यान्सरको उपचारका क्रममा ती महिलालाई एड्स निम्त्याउने भाइरसविरुद्ध प्राकृतिक प्रतिरोधी क्षमता भएका भएका व्यक्तिबाट स्टेम कोष प्रत्यारोपण गरिएको थियो । उपचारपछि ती महिला विगत १४ महिनायता भाइरसमुक्त छन्। तर विज्ञहरूले नाइटोबाट रगत प्रत्यारोपण गरिने यो विधि एचआईभी भएका अन्य मानिसहरूमा प्रयोगमा ल्याउन धेरै जोखिमपूर्ण हुने बताएका छन्।
बिरामीको उपचार गरिएको यो विषय मङ्गलवार डेन्भरस्थित एक चिकित्सा सम्मेलनमा प्रस्तुत गरिएको थियो। एचआईभीको उपचारमा यो विधि प्रयोग गरिएको पहिलो पटक सार्वजनिक भएको हो। क्यान्सरको उपचारका लागि नाइटोबाट रगत प्रत्यारोपण गरिएको ती महिलालाई एचआईभीको उपचारका लागि एन्टीरेट्रोभाइरल थेरापी आवश्यक परेको थिएन।
अमेरिकामा एचआईभी सङ्क्रमित मानिसहरूमा क्यान्सर र अन्य गम्भीर रोगको उपचारका लागि उस्तै प्रकारको रगत प्रत्यारोपण विधि प्रयोग गरेर भएका उपचारबारे गरिएको व्यापक अध्ययनमध्ये यो उपचार पनि एक थियो। प्रत्यारोपणका लागि छानिएका कोषहरूमा आनुवंशिक उत्परिवर्तन थियो, जसको अर्थ ती कोषहरू एचआईभीबाट सङ्क्रमित हुँदैन थिए।
परिणामस्वरूप यस्तो प्रत्यारोपण पाएका मानिसहरूमा एचआईभीविरुद्ध प्रतिरोधी क्षमता विकास हुने वैज्ञानिकहरूको विश्वास छ। एचआईभीको यसअघिका दुई वटा उपचारमा बोनम्यारो प्रत्यारोपणको प्रक्रियाबाट वयस्क स्टेम कोषहरू बिरामीको शरीरमा राखिएको थियो। नाइटोबाट दिइने रगत यसअघिको उपचारमा प्रयोग भएका वयस्क स्टेम कोषहरूभन्दा धेरै पाइने र यसका लागि दाता र प्रत्यारोपण गरिने व्यक्तिबीच धेरै मेल हुनुपर्ने बाध्यता पनि नहुने बताइएको छ।
-

नेपालमा तयार भयो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट
काठमाडौं । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट हुने भएको हो । थाइल्याण्डबाट एरो थाइले ल्याएको विमानबाट आगामी एक हप्तासम्म भैरहवा क्षेत्रको आकासमा उडान गरि विमानस्थलको परीक्षण हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जडान भएका उपकरणहरुले काम गरे÷नगरेको जाँच गर्न थाइल्याण्डबाट बिहीबार एरो थाइको जहाज नेपाल आएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर मुकुन्द मिश्रका अनुसार आगामी एक सातासम्म हरेक दिनजसो यो जहाज भैरहवाको आकासमा उड्ने भएको हो । जसले यहाँ जडान भएका हरेक उपकरणले विमानस्थल सञ्चालनका दौरान काम गरे, नगरेको परीक्षण गर्नेछ । जहाजमा कुल ७ जना अट्छन् । जसमा २ जना पाइलट हुन्छन् । क्यालिब्रेसन उडानमार्फत एयर ट्राफिक कन्ट्रोल टावरमार्फत कम्यूनिकेसन प्रणालीबारे परीक्षण हुनेछ । तालिका अनुसार शुक्रबार प्राधिकरण र क्यालिब्रेसन गर्ने टीमबीच ब्रिफिङ हुनेछ । त्यसपछि भने उडान सुरु हुनेछ ।
जहाज २८ फेब्रुअरीमा थाइल्याण्ड फर्कने छ । त्यसअगाडि २३ फेब्रुअरीका दिन सबै क्रु मेम्बर र प्राविधिकहरुको आरामका लागि बिदा दिइएको छ । त्यसबाहेक १८ फेब्रुअरीदेखि २७ सम्म हरेक दिनजसो जहाजले उपकरणहरुको जाँच गर्नेछ । खासगरी नयाँ विमानस्थल बनेपछि उडान रुटहरु निर्धारण गर्न, सञ्चार उपकरणको परीक्षण गर्न यस्तो उडान अनिवार्य गरिएको हुन्छ ।
एरो थाइको जहाज २८ फेब्रुअरीमा थाइल्याण्ड फर्कने छ । त्यसपछिको १५ दिनमा कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई रिर्पोट बुझाउने छ । यस्तो रिर्पोट आएपछि भने नेपाल नागरिक उड्डयन प्राधिकरणले ठूलो जहाजबाट परीक्षण उडान गर्न सक्नेछ । नेपालमा २००६ सालमा त्रिभुवन विमानस्थल बनेयता पहिलो पटक दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो ।
-

सत्तारुढ दलको बैठकमा जुटेन सहमति, एमसीसीमा आ-आफ्नै अडान कायमै
काठमाडौं । सत्तारुढ दलको बिहीबारको बैठकमा सहमति जुट्न नसकेसँगै सत्ता गठबन्धन नै धरापमा पर्ने खतरा बढेको छ । बिहीबार प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाएको सत्तारुढ दलको बैठकमा दलहरु आआफ्नो अडानमा अडिग रहे । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा लैजानुपूर्व संसदको अवरोध हट्नुपर्ने बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउनुपर्ने शर्त राखे । उनीहरुले एमसीसीबारे थप छलफल जरुरी रहेको भन्दै यस्तो शर्त राखेका हुन् । उता कांग्रेसले भने शुक्रबार कुनै पनि हालतमा एमसीसी टेबुल गर्ने बताएको छ ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गर्ने बताएका हुन् । उनले ‘तपाईंहरु जे सुकै गर्नुस्, सरकारले पेश गर्छ’ भन्दै कांग्रेसको अडान राखेका थिए ।
-

नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दामा हरि खड्का दोषि ठहर
काठमाडौं । फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको फैसला सुनाएको छ । उनलाई ५ हजार जरिवाना तोकिएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा १६ को १ अनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र दशदेखि २० हजारसम्म जरिवाना सजाय माग गरेको थियो ।
खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को प्रमाणपत्र पेश गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए । खड्का १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका उनले प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए ।
-

भारतको कुशीनगरमा कुवामा झरे महिला र बच्चा, कम्तिमा १३ को मृत्यु
उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यको कुशीनगरमा कुवामा झरेर महिला तथा बालबालिकाको दर्दनाक निधन भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार कुशीनगरको नौरगिया गाउँमा एक पुरानो कुवाको माथि बसेका महिला तथा बालबालिका कुवामा झरेका हुन् । गाउँमा एक पूजा कार्यक्रमको आयोजना भएको थियो । कुवालाई ढकनीले ढाढिएको थियो ।
यस क्रममा ढकनीसँगै उनीसमेत कुवामा गिर्दा दर्दनाक घटना भएको हो । घटनामा दुई जना गम्भीर घाइते छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गर्दै प्रत्येक परिवारलाई ४÷४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत घटनाप्रति दुख व्यक्त गरेका छन् ।
-

ब्राजिलमा भिषण वर्षा, छिनभरमा करीव १ सय मानिसको मृत्यु
रियो दि जिनेरो । ब्राजिलमा अचानक आएको भिषण वर्षा र बाढीका कारण करीव १ सय मानिसको ज्यान गएको छ । बीबीसीका अनुसार ब्राजिलको पेत्रोपुलिसमा अचानक आएको बाढीपहिरोका कारण कम्तीमा ९४ जना मानिसको ज्यान गएको पुष्टी भइसकेको छ । रियो दि जिनेरोबाट उत्तरतर्फ पर्ने उक्त पहाडी सहरमा दशकौँपछि मुसलधारे वर्षा भएको थियो।
सडकमा पानीको भेल पस्दा कार यत्रतत्र भएका थिए । पहाडी खोँचमा रहेका घर पहिरोले बगाउँदा सो संख्यामा मानवीय क्षति भएको हो । हिलो मिसिएको भेल मानिसहरूका घरमा छिर्दा कयौँ परिवार घरबार विहीन बनेको समेत खबर छ । अधिकारीहरूले विपद्लाई व्याख्या गर्ने क्रममा झण्डै एक महिनाको वर्षा बराबरको पानी केही घण्टामै परेको बताएका छन्। रियो दि जिनेरो राज्यका गभर्नरले त्यो सन् १९३२ पछिको ठूलो वर्षा भएको बताएका छन्। पेत्रोपुलिस सहरका मेअरले त्यहाँ आपत्काल घोषणा गरेका छन्।खोजी तथा उद्धारकर्ताहरूले माटोमा पुरिएका मानिसहरू खोजिरहेका छन्। एकजना स्थानीयवासीले आफूले पुरिएकी एक बालिकाको जिउँदै उद्धार गरेको समाचार संस्था एएफपीलाई बताएका छन् । रुस भ्रमणमा रहेका राष्ट्रपति जाइर बोल्सोनारूले त्यहाँ तत्कालै सहायता पठाइने बताएका छन्। पेत्रोपुलिस एउटा पर्यटकीय गन्तव्य हो ।
-

सलमान खानसहित चर्चित भारतीय कलाकार नेपाल आउँदै
काठमाडौं । बलिउडका स्टार कलाकार सलमान खानसहित चर्चित कलाकारहरु नेपाल आउने भएका छन् । उनीहरु आगामी वैशाख ३ मा नेपाल आउने कार्यक्रम तय भएको संचारमाध्यमले जनाएका छन् । काठमाडौंको दशरथ रंगशालामा एक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा सहभागी हुन सलमान नेपाल आउने समाचारमा उल्लेख छ ।
सलमानसहित ज्याकलिन फर्नान्डिज, प्रभु देवासहितका कलाकार काठमाडौं आउने भएका छन् । एक दसक अगाडी ब्रायन एडम्सलाई नेपाल ओडिसी इन्टरटेनमेन्टले सलमान सहित बलिउड कलाकारलाई नेपाल ल्याउन लागेको बताइएको छ । सलमान खान यसअघि पनि नेपाल आउने तयारी थियो । तर, सुरक्षाको कारण देखाउँदै रद्द गरिएको थियो । -

स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता गर्न सकिने
काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि दल दर्ता शुरु भएको छ । निर्वाचन आयोगले बिहीबार एक सूचना निकाल्दै निर्वाचनमा भाग लिन दल दर्ता गर्न आह्वान गरेको हो । आयोगका अनुसार बिहीबारबाट फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिने भएको छ । दल दर्ता गर्न सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्नेछ ।
दल दर्ता गर्न निवेदन दिंदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिह्नको नमूना, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात तथा विवरण पेस गर्नुपर्ने छ । विधान र नियमावली लोकतान्त्रिक, पाँच वर्षमा एक पटक सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको तथा विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिनिधित्वको व्यवस्था भएको हुनुपर्नेजस्ता सर्तसहितका काजजातसमेत दर्ताका अवसरमा पेस गर्नुपर्ने छ ।
-

एमसीसीबारे आज सत्तारुढ दलहरुबीच ‘निर्णायक वार्ता’
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्न सत्तारुढ दलहरुबीच आज निर्णायक भनिएको वार्ता हुँदैछ । सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो तीन बजेका लागि बोलाइएको छ । शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी छ । यस विषयमा साझा धारणा बनाउने वा एक्लाएक्लै जाने भन्ने विषयमा आज निर्णय हुने भएको हो ।
बुधबारको संसद बैठकमा एमसीसी पेश गर्ने तयारी रहेपनि दलहरुबीच सहमति नजुटेपछि स्थगित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेश गर्नुभन्दा अघि गठबन्धनको बैठक बोलाउने सहमति भए अनुसार बिहाीबार बैठक बोलाइएको हो ।माओवादी केन्द्रले एमसीसीलाई जबरजस्ती अघि बढाए गठबन्धन तोडिने चेतावनी दिइसकेको छ । माओवादी केन्द्रले बुधबार एमसीसीको विरोधमा आफ्ना भ्रातृ संगठनहरुलाई आन्दोलनमा उतारेको छ । नेपाली कांग्रेस एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्नुपर्ने पक्षमा छ । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनविना संसदमा लैजान नहुने पक्षमा छन् ।
-

काठमाडौंबाट ३ लाख नक्कली नोटसहित चार पक्राउ
काठमाडौं । काठमाडौंबाट ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् । अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरूलाई काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेकोहो । उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका २ लाख ९४ हजार बराबरको नक्कली नेपाली नोट बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
-

अमेरिकी सहयोग एमसीसीको विरोधमा काठमाडौंमा झडप
काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्ने तयारी थालेसँगै काठमाडौंमा आन्दोलन चर्किएको छ । बुधबार विभिन्न कम्युनिष्ट घटकले नेपाल बन्दको आह्वान गरेका थिए । त्यसको प्रभाव कम परेपनि एमसीसीको विरोधमा सत्ता गठबन्धन भित्रै भातृसंगठनले आन्दोलन चर्काएका छन् । यसले हिसात्मक रुप लिँदा प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।
सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संसदमा रहेका नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संसद बाहिर रहेका विप्लव नेतृत्वको नेकपालगायतका राजनीतिक दलहरु एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राम कार्कीलगायतका नेता नै बुधबार सडक प्रदर्शनमा देखिए ।
माओवादीको युवा संगठन वाईसीएल अध्यक्ष सुमन देवकोटा सामान्य घाइते भएको छन् । ५० मिलियन अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयनमा लैजानु अघि संसदमा अनुमोदन हुनुपर्छ । यो सम्झौता राष्ट्रघाती रहेको भन्दै व्यापक विरोध भइरहेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पेश गर्ने तयारी भएको विरोधमा कार्यकर्ता सडकमा उत्रिएका हुन् । उनीहरुले एमसीसी खारेजीको माग गरेका छन् ।
बानेश्वरमा संसद भवनतर्फ अघि बढेका प्रदर्शनकारी र प्रहरीबीच बुधबार झडप भएको हो । प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले ढुंगा र इँटा प्रहार गरेका छन् । प्रहरीले सय भन्दा बढीलाई पक्राउ गरेको बताएको छ ।