Category: फिचर

  • बुद्ध एयरले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा

    बुद्ध एयरले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा

    काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आएपछि यस विमानस्थलबाट ५ वटा जहाज राखेर राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निमार्ण कार्य सम्पन्न भइसकेको छ । बाँकी काम धमाधम भइरहेको छ ।

    उक्त विमानस्थल सञ्चालनमा आएपछि बुद्ध एयरले पोखरामा ५ वटा जहाज राखी राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान गर्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । योजना अनुसार पोखराबाट कम्पनीले भारतको विभिन्न गन्तव्यहरुमध्ये सुरुवातमा नयाँदिल्ली, देहरादुनमा सिधा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।

    पोखराबाट धौलागिरिदेखि सगरमाथासम्म हिमश्रृंखला दृश्यावलोकन उडान तथा काठमाडौं र अन्य सहरहरुसँग आवश्यकता अनुसार दैनिक सिधा उडान गर्ने समेत घोषणा कम्पनीले गरेको छ । पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरु हुने भन्दै यसलाई सच्याउन समेत कम्पनीले माग गरेको छ ।

    हाल निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वरपश्चिम ‘रन–वे’को पश्चिम ‘रन–वे’ लाई मात्र अन्त्यसम्म ‘टयाक्सी–वे’ ले जोडिएको छ । पश्चिममा ठूलो डाँडाका कारण विमान अवतरण पूर्वबाट मात्र सम्भव छ । तर पूर्वको रनवेलाई ‘टयाक्सी–वे’ले जोडिएको छैन ।

    यसैकारण विमानहरु उडान भर्नुपर्दा पश्चिमबाट मात्र सम्भव छ । यसले गर्दा ‘हवाई ट्राफिक’ बढ्न गई स्वतः कम उडान हुने भन्दै सच्याउन समेत माग गरेको छ । बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत आधा रनवेसम्म मात्र भएको ‘टयाक्सी–वे’लाई पूर्वको ‘रनवे’को अन्त्यसम्म तुरुन्तै जोड्न आग्रह गरेको हो ।

  • नेपालमा थप १९५७ जनामा कोरोना पुष्टी, ११ जना संक्रमितको निधन

    नेपालमा थप १९५७ जनामा कोरोना पुष्टी, ११ जना संक्रमितको निधन

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा ११८४ जना र ४१०५ जनाको एन्टिजेन परीक्षण गर्दा ७७३ गरी १९५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ६८ हजार ६११ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५१०३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख २० हजार ५९२ पुगेको छ । संक्रिय संक्रमितको संख्या ३६ हजार १८१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ११ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ ।

  • दोहोरो अंकले घट्यो नेप्से, ६ अर्ब २८ करोडको कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, ६ अर्ब २८ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.३० अंकले घटेर २८३५.५८ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३० कम्पनीको ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँ बराबरको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूह मध्ये ५ वटाको परिसूचक हरियो भएको छ भने ८ वटाको घटेको छ ।

    दुई कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ । शेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स र बुद्धभूमी हाइड्रोपावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले बढेको छ ।

    त्यस्तै, दोहोरो अंकले घटेको बजारमा आज लिबर्टी इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै ६.२७ प्रतिशतले घटेको छ ।

    त्यसैगरी, नेपाल हाइड्रो ५.१८, बोटलर्स नेपाल ३.९५, युनिभर्सल पावर ३.६३, तेह्रथुम पावर ३.२५, अपर तामाकोशी ३.०९, हिमालयन पावर, एचआइडीसीएल, छ्याङ्दी हाइड्रोपावर, हिमाल दोलखा लगायत १ दर्जन कम्पनीको शेयर मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ३५ करोड ८५ लाख भन्दा बढीको कारोबार भएको छ ।

    अपी पावर ३३ करोड र निफ्रा ३२ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

  • पार्टी विभाजन नगर्ने भन्दै गीता छोएर कसम खाएका कमल थापाले छोडे राप्रपा

    पार्टी विभाजन नगर्ने भन्दै गीता छोएर कसम खाएका कमल थापाले छोडे राप्रपा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन्। हेटौँडामा पत्रकार सम्मेलन गर्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन्।

    अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले नयाँ पार्टी खोल्ने तयारी गरेका हुन् ।

    ‘अत्यन्त भारी मन तथा पीडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी कियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पाटीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ उनले भनेका छन्।

    स्मरणीय छ थापाले राप्रपा त्याग्ने कल्पना त गरेका थिएनन् नै तर पार्टी एकताताक पार्टी विभाजन नगर्ने भन्दै गीता छोएर कसम समेत खाएका थिए।

  • विश्वकपमा छनोट हुने लक्ष्य बोकेर नेपाली क्रिकेट टोली ओमान उड्दै

    विश्वकपमा छनोट हुने लक्ष्य बोकेर नेपाली क्रिकेट टोली ओमान उड्दै

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीम विश्वकपमा छनोट हुने लक्ष्य बोकेर मंगलबार ओमान उड्दैछ । आईसीसी पुरुष टी–२० विश्व कपको अन्तिम छनोटका रुपमा ग्लोबल छनोट ‘ए’ प्रतियोगिता हुँदैछ । यहाँबाट छनोट हुने दुई टीमले विश्वकपमा भाग लिन सक्नेछन् । मंगलबार राती ८ बजे नेपाली टोली सो मुलुक प्रस्थान गर्नेछ । ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । आठ टोलीलाई समूह ‘ए’ र ‘बी’ मा विभाजन गरिएको छ । ‘ए’ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान छन् । ‘बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।

    खेल फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछन् । नेपालले पहिलो खेल फेब्रुअरी १८ मा आयोजक ओमानसँग खेल्नेछ । दोस्रो खेल फिलिपिन्ससँग फेब्रुअरी १९ मा र तेस्रो खेल क्यानडासँग फेब्रुअरी २१ मा खेल्नेछ । समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

    सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछन्। फाइनल खेल फेब्रुअरी २४ तारिखमा हुनेछ । फाइनल प्रवेश गर्ने दुई टोली अस्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–२० विश्व कपको लागि छनोट हुनेछन् । छनोट खेल अघि नेपालले ओमानमा चार देशीय टी–२० श्रृङ्खला खेल्दैछ । जहाँ नेपाल, ओमान, यूएई र आयरल्यान्ड भिड्नेछन् ।

  • सोमबारसम्म मतदाता नामावलीमा नाम टिपाएका नागरिकले भोट हाल्न पाउने, आजबाट बन्द

    सोमबारसम्म मतदाता नामावलीमा नाम टिपाएका नागरिकले भोट हाल्न पाउने, आजबाट बन्द

    काठमाडौं । निर्वाचन आयोगले मंगलबारबाट मतदाता नामावली संकलन बन्द गरेको छ । यससँगै सोमबारसम्म मतदाता नामावलीमा नाम टिपाएका नागरिकले मात्र भोट हाल्न पाउने छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा तोकेको छ । निर्वाचन कार्यतालिका एक–दुई दिनमा सार्वजनिक गर्ने र सोही अनुसार कार्य अगाडि बढाउने तयारीमा आयोग छ । आयोगले आशन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनबारे समेत तयारी थालेको छ ।

    सोमबार आयोगका प्रवक्ता पौडेलले विज्ञप्ति जारी गर्दै आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक भवन, सवारी साधन तथा फर्चिरसहितका साधनको स्थानीय तहसँग विवरणका लागि पत्राचार गरेको जानकारी गराएका छन् ।

    प्रवक्ता पौडेलका अनुसार मुख्य निर्वाचन अधिकृत–निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि कार्यालय सञ्चालनका लागि सम्बन्धित स्थानीय तहबाटै कम्तीमा एक-एक थान चालु अवस्थाको डेस्कटप कम्प्यूटर, ल्यापटप, स्क्यानर र प्रिन्टर उपलब्ध हुनेगरी व्यवस्थापन गरिदिन सबै स्थानीय तहहरुलाई त्यहाँबाटै पत्राचार हुन समेत अनुरोध गरिएको छ ।

    त्यस्तै, स्थानीय तह निर्वाचन, २०७४ मा निर्वाचन आयोगबाट उपलब्ध गराइएका ल्यापटप तथा प्रिन्टरहरुको विवरण समेत खुलाउन आयोगले भनेको छ । आयोगले आफुलाई मात्र १२ अर्ब बजेट चाहिने भनेको छ ।

  • बाइडनले दाहोर्याए रुसलाई ग्यास पाइपलाइन बन्द गराइदिने धम्की

    बाइडनले दाहोर्याए रुसलाई ग्यास पाइपलाइन बन्द गराइदिने धम्की

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले मस्कोले युक्रेनमा हमला गरे जर्मनीसँग जोडिने एउटा मुख्य ग्यास पाइपलाइन बन्द गरिदिने धम्की पुनः दाहोरयाएका छन् । जर्मन चान्सलर ओलाफ सोल्जसँगको वार्तापछि वासिङ्टनमा बोल्दै उनले नर्ड स्ट्रीम टू पाइपलाईनबारे यस्तो बताएको बीबीसीले लेखेको छ । फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रो र उनका रुसी समकक्षी पुटिनबीच मस्कोमा युद्ध छल्न सकिने भन्दै भेटवार्ता भइरहँदा वासिङ्टनमा बाइडन र सोल्जबीच भेटवार्ता भएको हो । अमेरिकी अधिकारीहरूले आइतवार रुसले पूर्ण आकारको हमलाका लागि चाहिने सैनिकको ७० प्रतिशत फौज भेला पारिसकेको समेत बताएका छन्।


    पछिल्ला सातामा मस्कोले पश्चिमा सैन्य गठबन्धन नेटोमा युक्रेन कहिल्यै सदस्य बन्न नपाउनु पर्ने माग राखेको छ। उसले पूर्वी युरोपमै नेटोका सैन्य सङ्ख्या घटाउनुपर्ने समेत माग राखेको छ । रुसले युक्रेनतर्फको सीमामा एकलाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ। रुस, युक्रेन र पश्चिमा विश्व बीचको तनाव झण्डै ८ वर्षअघिदेखिएको हो। जतिखेर रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नोमा गाभेको थियो। बाल्टिक क्षेत्रको एउटा मुख्य ग्यास पाइपलाइन नर्ड स्ट्रिम टू बन्द गर्न पश्चिमा देशले जर्मनलाई दबाब दिइरहेका छन् ।

  • महामन्त्रीमा हारेका महतलाई कांग्रेस प्रवक्ताको जिम्मेवारी दिएपछि देउवाको आलोचना

    महामन्त्रीमा हारेका महतलाई कांग्रेस प्रवक्ताको जिम्मेवारी दिएपछि देउवाको आलोचना

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. प्रकाशशरण महतलाई प्रवक्ता बनाएका छन् । उनको यो निर्णयको पार्टी भित्रै आलोचना भइरहेको छ । खासगरी सामाजिक संजालमा उनको आलोचना भएको हो । महाधिवेशनमा प्रतिनिधिहरुले महामन्त्रीमा अस्वीकृत गरेका व्यक्तिलाई पार्टीको प्रवक्ता बनाउनु महाधिवेशनको म्याण्डेटको अपमान भएको आलोचकको भनाई छ ।

    गत मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा महत देउवाको प्यानलबाट महामन्त्री लडेका थिए । तर उनले हारे । डा. शेखर कोइराला समूहका गगनकुमार थापा र प्रकाशमान सिंहको प्यानलका विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भएका छन् । महामन्त्रीमा पराजित महतलाई देउवाले सुरुमा केन्द्रीय सदस्य मनोनित गरे । त्यसपछि सोमबार प्रवक्ताको जिम्मेवारी दिए ।

  • यूएई र साउदीबाट अलपत्र नेपाली श्रमिकको उद्धार

    यूएई र साउदीबाट अलपत्र नेपाली श्रमिकको उद्धार

    काठमाडौं । टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) गई अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ । भिजिट भिसामा यूएई पुर्‍याइ उनीहरू अलपत्र पारेको खबर सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न निर्देशन दिएका थिए । नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनील पन्थ र रमेशजङ्ग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र सङ्खुवासभाका सन्तोष चम्लागाईं गरेका छन् ।

    यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट जनही सात लाख ५० हजारका दरले रकम लिएर यूएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ले पक्राउ गरेको थियो । यसैगरी केही समयअघि साउदी अरेवियामा बिरामी परी अलपत्र परेका जाजरकोटका आइस रानालाई स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्काइएको छ । नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीको टोलीले उनको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गरेको थियो । रानासहित साउदी अरबमा अलपत्र परेका चार नेपालीलाई सोमबार स्वदेश फिर्ता गरिएको हो ।

  • इयुसङ्ग पर्यटनमन्त्री आलेले भने : कालोसूचीबाट हटाउ

    इयुसङ्ग पर्यटनमन्त्री आलेले भने : कालोसूचीबाट हटाउ

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली संघको उडान सुरक्षा सूचीमा रहेकाले नेपाललाई उक्त सूचीबाट हटाउन आग्रह गरेका छन् । मन्त्री आलेले नेपालका लागि इयुका राजदूत नोना डिप्रेसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले उक्त सूचीबाट हटाउन विभिन्न गृहकार्य गरिरहेकाले पनि सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गरेका हुन् ।
       मन्त्री आलेले भने, “ नेपालको हवाई सुरक्षा क्षेत्र थप सुधार गर्न तथा उडान सुरक्षामा नेपाल सरकार पूर्ण प्रतिबद्ध छ ।” उनले  नागरिक उड्डयन क्षेत्रका अलावा संस्कृति तथा पर्यटन क्षेत्रको प्रबद्र्धन तथा विकासका लागि इयुसँग नेपालले सहकार्य गर्न चाहेको धारणा पनि राखे ।
            सो अवसरमा राजदूत डिप्रेले नेपालको उडान सुरक्षा अवस्थाको स्थलगत अवलोकनका लागि इयुको प्राविधिक टोलीलाई यथाशीघ्र बोलाउन आग्रह गरिने आश्वासन दिइन ।  इयुले नेपालको उडान सुरक्षालाई सुदृढ गर्न सहयोग गरिरहेको र भविष्यमा पनि सहयोग गरिरहने आश्वासन दिँदै उनले  नागरिक उड्डयन क्षेत्रमा नियमन र सेवा प्रदान गर्ने अलग अलग निकाय स्थापनाका लागि लागि पनि नेपाललाई आग्रह गरिन ।  हालसम्म उडान सुरक्षा क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दैँै राजदूत डिप्रेले भनिन्, “हवाई सुरक्षा क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको छ, मेरातर्फबाट म सकारात्मक प्रयास गर्छु ।”

  • नेपालमा कोरोनाबाट थप १३ को मृत्यु, १५७० मा पुष्टि

    नेपालमा कोरोनाबाट थप १३ को मृत्यु, १५७० मा पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १३ जनाको ज्यान गएको छ । यस अवधिमा  १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो । ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको हो ।

  • अनुमति नलिइ विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले कारवाही गर्ने

    अनुमति नलिइ विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले कारवाही गर्ने

    काठमाडौं । इजाजत नलिई अनधिकृत रुपमा विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले कारवाही गर्ने भएको छ । गृह मन्त्रालयले यस्तो गरेको पाइए उजुरी दिन समेत सर्वसाधारणसँग आग्रह गरेको छ । विदेश जाँदा शैक्षिक संस्थाहरुले निर्णारण गरेको पक्रिया पूरा नहुने र अलपत्र पर्ने वा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने गुनासो आएको भन्‍दै गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै त्यस्तो गैर कानुनी रुपमा काम गर्ने शैक्षिक परामर्शदाता संस्थाहरुविरुद्ध उजुरी दिन आग्रह गरेको हो ।

    त्यसरी गैर कानुनी रुपमा काम गरेको संस्थाहरु\व्‍यक्ति उपर सम्बन्धित व्‍यक्तिले नेपालमा भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए विदेशस्थित निपाली नियोगहरुमा जानकारी, सूचना, उजुरी दिनहुन गृहले भनेको छ । विज्ञप्तिमा भनिएको छ, ‘त्‍यस्ता गतिविधि सञ्‍चालन गरेको पाइएमा संलग्‍न संस्था, समूह र व्‍यक्ति जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने व्‍यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।’

    इजाजतपत्र नलिई अनधिकृत रुपमा सञ्‍चालन भएका शैक्षिक परामर्शदाता संस्थाहरु, अनधिकृत रुपमा इजाजत नलिई अनलाइन रुपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरु, अवैध रुपमा विदेशस्थित विभिन्‍न देशका शैक्षिक संस्थाहरुको प्रतिनिधि रुपमा कार्य गर्ने व्‍यक्तिहरु उपर सरकारले निगरानी गरिरहेकोसमेत गृहले उल्लेख गरेको छ । वैदेशिक अध्‍ययनका लागि जाने विलार्थीहरुले सम्बन्धित देश र उक्त देशको शैक्षिक संस्थाहरुले निर्धारण गरेको प्रक्रिया पूरा गरेर मात्र अध्‍ययनका लागि जानसमेत गृहले अनुरोध गरेको छ

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न जहाज आउने मिति तय

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न जहाज आउने मिति तय

    काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न जहाज आउने मिति तय भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार ५ फागुनमा जहाज नेपाल आउने भएको छ । यो उडानमार्फत विमानस्थलको यान्त्रिक परीक्षण हुने छ । क्यालिब्रेसन उडानबाट विमानस्थलको सञ्चालनमा जडान उपकरणहरुले काम गरे÷नगरेको हेरिने छ । त्यसपछि विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट परीक्षण उडान हुन्छ । त्यसपश्चात भने यो विमानस्थल व्यवसायिक उडानमा योग्य बन्ने छ ।

    गौतमबुद्ध विमानस्थलमा उपकरण जडानसहति प्राविधिक कामको जिम्मेजारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)ले पाएको छ । जहाज ल्याउने र क्यालिब्रसन उडान गर्ने जिम्मेवारी समेत सोही कम्पनीको हो । भैरहवामा ३ हजार मिटर लम्बाई र ६० मिटर चौडाईको विमानस्थल बनेको छ ।

  • बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

    बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषदको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको एक मन्त्रीले जनाकारी दिए ।

    निर्वाचन आयोगले जेठ ५ गतेदेखि स्थानीय तहका सबै जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै जेठ ४ गते एकै चरणमा चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो।

    निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । सरकारले भने मतगणना गरी नयाँ जनप्रतिनिधि आउन लाग्ने समयलाई ख्याल गर्दै लाग्ने भएपछि बैशाख ३० मै निर्वाचन गर्ने निर्णय गरेको हो।

  • कमल थापाको चेतावनी-‘ तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको विकल्प छैन्’

    कमल थापाको चेतावनी-‘ तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको विकल्प छैन्’

    काठमाडौं । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले आफ्ना माग पूरा नभए नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन् ।

    सोमरबार चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा आफुपक्षको छुट्टै भेला आयोजना गर्दै नेता थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म आफूले अघि सारेका तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको चेतावनी दिएका हुन् ।

    ‘स्थानीय चुनावको मिति सरकारले घोषणा गर्नुअघि सैद्धान्तिक, संगठनात्मक र व्यवहारिक विषयमा उठाइएका प्रश्न निराकरण हुँदैन भने हामीले विकल्प खोज्न बाध्य हुनेछौँ,’ थापाले आफू निकट नेताहरुलाई सम्बोधन गर्दै भने ।

    उनले समाधान खोजिएमा पार्टीमा क्रियाशील भएर लाग्ने बताए । अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापा पार्टीको महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको भन्दै छानबिनको माग गरेका छन् ।

    उनले चुनावपछि निरीह र लाचार भएर बस्नुको विकल्प नहुने भन्दै त्यसपहिले नै समस्याको समाधान गर्नुपर्ने बताए । भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् ।

  • ९ अर्ब ५० करोडको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, मंगलवार बोलकबोल

    ९ अर्ब ५० करोडको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, मंगलवार बोलकबोल

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवार ९अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ ।

    बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८० ‘च’ बिक्री गर्न लागेको हो ।

    राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन बिक्री गर्न लागेको विकास ऋणपत्रको अवधि २ वर्षको रहेको छ ।

    ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

    यो ऋणपत्रमा माघ २५ गते मंगलवार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।

    जसअनुसार २०७८ माघ २६ गते जारी मिति तोकिएको यस ऋणपत्र २०८० माघ २६ गते परिपक्व हुनेछ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिनेछ।

    इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने छन् । गैरप्रतिस्पर्धीलाई १५ प्रतिशत र प्रतिस्पर्धीलाई ८५ प्रतिशत हिस्सा छुट्टाइएको छ ।

    अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालालाई समानुपातिकरुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने बैंकले जनाएको छ।

    यस्तै ब्याजदर र बाँडफाँट बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ।

    घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।

    विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवाार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

    ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दोश्रो बजार मार्फत खरिद बिक्री गर्न पनि सकिन्छ ।

  • नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक

    नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२४ कम्पनीको ५ अर्ब २ करोड २० लाख १७ हजार १८० रुपैयाँ बराबरको ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूह मध्ये १० वटाको परिसूचक हरियो भएको छ भने ३ वटाको घटेको छ । दोहोरो अंकले बढेको बजारमा बैंकिङ ३ , होटल तथा पर्यटन ४ अंक र माइक्रोफाइनान्स ४ अंकले घटेको छ । निर्जीवन बीमा ७६, जलविद्युत ६अंकले बढेको छ ।

    विकास बैंक २६, फाइनान्स ८, उत्पादन समूह ३४ र जीवन बीमा समूह १२४ ,अन्य उपसमूह ५४ अंक र लगानी समूह २ अंकले बढेको छ ।

    दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    कारोबार भएका कम्पनीहरु मध्य दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक र छ्याङदी हाइड्रोपावर कम्पनी रहेको छ ।

    दोहोरो अंकले बढेको बजारमा निफ्राको सेयर मूल्य सबैभन्दा ८.४२ प्रतिशतले बढेको छ । त्यसैगरी, छ्याङ्दी हाइड्रोपावर ६.८३, सानिमा लाइफ ५.०४, नेशनल हाइड्रो ४.६६, बोटलर्स नेपाल ४.६१, नेपाल हाइड्रो डेभलपर ४.१७, एचआइडीसीएल, युनाइटेड इदीमार्दी, ज्योति लाइफ, नेपाल टेलिकम, लाइफइन्स्योरेन्स नेपाल, सानिमा जनरल र रिलायन्स लाइफको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    त्यस्तै, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ४.५७ प्रतिशतले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । यस कम्पनीको आज ४९ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।

  • ट्रक चालकको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा आपतकाल घोषणा

    ट्रक चालकको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा आपतकाल घोषणा

    ओटावा। क्यानडाको राजधानी सहरमा आपतकाल घोषणा भएको छ । ओटावाका मेयरले कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकले गरेको प्रदर्शन जारी रहेसँगै आपतकाल घोषणा गरेका हुन् । मेयर जीम वाट्सनले सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको बताएको बीबीसीले लेखेको छ । फ्रिडम कन्भोई भनिएको प्रदर्शन ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै सुरु भएको हो । क्यानडाको रेडिओ सीएफआएसँग बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीहरूले बढ्दो रूपमा असंवेदनशील व्यवहार गरेको बताएका छन् ।

    प्रदर्शनकारीहरूले तारम्तार हर्न र साइरन बजाउने र पटाका पड्काउने काम गरेर त्यसलाई ुपार्टीजस्तो गरेको आरोप लगाएका छन् । एउटा विज्ञप्तिमा उनले ती प्रदर्शनहरूले शहरका बासिन्दाको सुरक्षामा असर पुर्‍याएको बताएका छन्। ट्रक ड्राइभरहरूले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गरेका छन्। मेयरले अब सहरमा के गरिनेछ भन्ने स्पष्ट विवरण दिएका छैनन्।

    तर प्रहरीले उनीहरूले कानुन कार्यान्वयनका उपाय बढाउने क्रममा प्रदर्शनकारीहरूलाई सघाइरहेकालाई गिरफ्तार गर्न सक्ने जनाएको छ। आपत्कालीन अवस्थाले अग्रमोर्चा र आपत्कालीन सेवाका कर्मचारीहरूलाई आवश्यक सामान आपूर्तिका लागि सहरलाई थप शक्तिहरू प्रदान गर्नेछ।

  • सेनेगलले उचाल्यो अफ्रिकी कप नेसन्सको उपाधी

    सेनेगलले उचाल्यो अफ्रिकी कप नेसन्सको उपाधी

    काठमाडौं । अफ्रिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिकी कप अफ नेसन्सको उपाधि सेनेगलले जितेको छ । फाइनलमा ७ पटकको विजेता इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै सेनेगलले ६० वर्षपछि उपाधीमाथि कब्जा जमाएको हो । सेनेगल पहिलोपटक यो उपाधी जित्न सफल भयो । क्यामरुनमा आइतबार राति सम्पन्न फाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

    सेनेगल ४-२ ले विजयी भयो । लिभरपुलका दुई स्टार माने र मोहमेद सालाह एक अर्का विरुद्ध भिडेका हुन् । पेनाल्टीमा सेनेगलका साडियो माने, बाम्बा डिङ, अब्डोउ डिआलो र कालिडोउ कुलीबालीले गोल गरे । तर, बोउना सारले गोल गर्न सकेनन् । इजिप्टका अहमेद सायद र मार्वान हाम्दीले गोल गरे । मोहनद लासहेन र मोहमद अब्देलमोनेमको पेनाल्टी रोकियो । यस्तै सेनेगलका माने प्रतियोगिताको उत्कृष्ट खेलाडी बने ।

  • भिजिट भिसामा यूएइ पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापन गर्न श्रम मन्त्री जाने

    भिजिट भिसामा यूएइ पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापन गर्न श्रम मन्त्री जाने

    काठमाडौं । वैदेशिक रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापन गर्न श्रम मन्त्री स्वयमः खटिने भएका छन् । युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ यूएई जाने राससले लेखेको छ । वैदेशिक रोजगारीको प्रलोभनमा परी भिजिट तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ यूएई जान लागेको श्रम मन्त्रालयले जनाएको छ ।

    यूएई जाने मिति र समय भने खुलाइएको छैन । नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले आइतबार नेपालका लागि (यूएई) का राजदूत साइद हमदान अल नाकीसँग छलफल गरेका थिए । छलफलमा उनले रोजगारीको प्रलोभनमा यूएई गई अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरे ।

    मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकालाई आममाफी दिनुपर्ने तथा उद्धार गर्नुपर्नेलाई नेपाल फिर्ता गर्ने क्रममा यूएई सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।

    नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई पुर्‍याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन युएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठको भनाइ छ । छलफलमा राजदूत साइदले अलपत्र परेका नेपालीलाई यूएईमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेलाई पनि आवश्यक सहयोग गर्ने बताए ।

  • बुटवलमा रोकेको ट्रकमा कार ठोक्कियो, तीन जनाको मृत्यु

    बुटवलमा रोकेको ट्रकमा कार ठोक्कियो, तीन जनाको मृत्यु

    बुटवल । रुपन्देही, बुटवल तामनगरमा सडकमा रोकेको ट्रकमा कार ठोक्किएको छ । त्यस क्रममा कारमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न् । बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगर नजिक पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार सोमबार बिहान ठोक्किएको हो । दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई छ । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी छ । मृतक र घाइतेको सनाखत भइसकेको छैन । यो कार विवाहमा प्रयोग भएको पाइएको छ ।

  • ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको शासनकाल ७० वर्ष नाघ्यो

    ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको शासनकाल ७० वर्ष नाघ्यो

    लण्डन । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको शासनकाल ७० वर्ष पुरा भएको छ । यस उपलक्ष्यमा महारानीले केक काटेकी छिन् । आफ्नो जीवनको पहिलो दशक शाही भाग्यको झीनो अपेक्षामा हुर्केकी ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको बाल्यकाल घोडा र कुकुरहरूसँग खेलेर बितेको बीबीसीले लेखेको छ । उनी महारानी भएको आइतवार ७० वर्ष पुरा भएको हो । उनी २५ वर्षको उमेरमा सन् १९५२ फेब्रुअरी ६ मा ब्रिटिश महारानी बनेकी थिइन्।

    राजकुमारी रहँदा एलिजाबेथ ब्रिटिश राजपरिवारमा अहिले दोस्रो मर्यादामा रहने ड्यूक अफ योर्क एन्ड्रूकी छोरी बिएट्रेसको जस्तै रोल क्रममा थिइन्। यसको अर्थ उनी महारानी बन्ने सम्भावना धेरै कम थियो। तर सन् १९३६ को डिसेम्बरमा ब्रिटिश राजपरिवारमा एउटा नाटकीय परिवर्तन भयो।

    एलिजाबेथले काका डेभिड बोलाउने राजा एडवार्ड तेस्रोले अमेरिकी महिलासँग विवाहका लागि सिंहासन त्याग गरे। यो निर्णयले १० वर्षकी एलिजाबेथलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खोलिदिएको थियो । उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिल्यो। उनकी जेठी छोरी एलिजाबेथ उत्तराधिकारीको पहिलो दाबेदार बनिन्।

  • १ फागुनबाट भौतिक उपस्थितिमै कक्षा संचालन गर्न पाइने

    १ फागुनबाट भौतिक उपस्थितिमै कक्षा संचालन गर्न पाइने

    काठमाडौं । नेपालमा फागुन १ बाट भौतिक उपस्थितिमै विद्यालयमा कक्षा सञ्चालन गर्न पाइने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसमा उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रशासन कार्यालयले आइतबार यस्तो निर्णय गरेका हुन् । फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने भएको छ ।

    १२ वर्ष पुरा नभएका विद्यार्थीको हकमा भने स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भएको छ । उनीहरुले अझै खोप लगाउन पाएका छैनन् । सबै परीक्षाहरु जेड आकारमा फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने भएको छ । विदेशबाट नेपाल आउँदा वा कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुले नेगेटिभ रिपोर्ट भएतापनि कम्तिमा पाँच दिन अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्‍नु पर्ने समेत काठमाडौं प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

  • काठमाडौं उपत्यकामा जोर-विजोर प्रणाली हट्यो

    काठमाडौं उपत्यकामा जोर-विजोर प्रणाली हट्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमण ओरालो लागेसँगै काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली हटेको छ । यो नियम सोमबारदेखि लागु हुने छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।

    कोरोनाको रोकथाम, नियन्त्रण, उपचार र आम नागरिकले जनस्वास्थ्यको पूर्ण रुपमा पालना गर्नुपर्ने निर्णय समेत भएको छ । सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने छ । घरबाट बाहिर निस्किँदा अनिवार्य रुपमा खोपकार्ड (मोबाइलमा भए पनि हुने) राख्‍नु पर्ने भएको छ ।

    सरकारी कार्यालय र व्‍यवसायिक स्थलहरुमा मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ । मास्क नलगाइ आएमा व्‍यवस्थापकले पाँच सय रुपैयाँ लिई मास्क उपलब्ध गराउन सक्ने छन् । मास्क नलगाउनेलाई भने कार्यालय वा पसलमा प्रवेश दिइने छैन ।

  • एमसीसीलाई प्रचण्ड र शेरबहादुर देउवाले पठाएको गोप्य पत्र सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरङ्ग

    एमसीसीलाई प्रचण्ड र शेरबहादुर देउवाले पठाएको गोप्य पत्र सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरङ्ग

    काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई प्रधानमन्त्री शेर बहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पठाएको एक गोप्य पत्र सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । आइतबार केही संचारमाध्यमबाट सो पत्र सार्वजनिक भएको छ । पत्र सार्वजनिक भए लगत्तै प्रचण्डले देउवालाई टेलिफोन गरि असन्तुष्ट व्यक्त गरेका छन् ।

    लगत्तै वालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता भएको छ । पत्र सार्वजनिक भएसँगै एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले स्पष्टीकरण समेत सार्वजनिक गरेको छ । पत्रमा एमसीसी अनुमोदन गर्न ४\५ महिना समय मागेको देखिएको छ । एकातर्फ एमसीसीको विरोध गर्ने र अर्कोतर्फ पास गर्ने प्रतिवद्धता जनाएको भन्दै प्रचण्डको आलोचना भएको छ । प्रचण्डको निजी सचिवालयले भने पत्रको बचाउ गरेको छ ।

    आइतबार साँझ स्पष्टीकरण दिँदै प्रचण्डको निजी सचिवालयले भनेको छ, ‘प्रतिगमनलाई परास्त गरी भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दबाब भएकाले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो । पत्रमा एमसीसीका लागि राष्ट्रिय सहमति आवश्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केही समय आवश्यक पर्ने कुरा उल्लेख गरिएको हो ।’

    एकातिर एमसीसीबारे जनस्तरसम्म विरोध र दबाब रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को कार्यदलले समेत परिमार्जनविना पारित गर्न नसकिने निचोड प्रस्तुत गरेकाले गठबन्धनभित्रै एउटै मत बनिहाल्ने अवस्था नभएकाले पनि समय माग गर्नु परेको प्रचण्डको सचिवालयले बताएको छ । ‘यही वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनीतिक पहललाई गलत रूपमा व्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन,’ प्रचण्डको निजी सचिवालयको स्पष्टिकरणमा उल्लेख छ ।

    परिमार्जनविना एमसीसी पारित गर्नु हुँदैन भन्नेमा माओवादी केन्द्र दृढ रहेको समेत बताइएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चुनाव पछाडि मात्र अगाडि बढाउन प्रतिपक्षसमेत भएर प्रस्ताव गर्न समेत आग्रह गरेका छन् ।

  • नेपालमा १३८६ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

    नेपालमा १३८६ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १३८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार यस अवधीमा ११ जनाको कोभिडका कारण मृत्यु भएको छ।
    सो अवधिमा ८,७०४ जना सङ्क्रमणमुक्त भएका छन्।तथ्यांक अनुसार देशभर निको हुन बाँकी सङ्क्रमितको सङ्ख्या ४५,२४८ छ । तीमध्ये अधिकांश  उपत्यकाका तीन जिल्लामा छन् । काठमाडौंमा ९,८५८, ललितपुरमा ८,८६१ र भक्तपुरमा ३,१६० जना सक्रिय सङ्क्रमित रहेका छन्।

    विगत २४ घण्टामा ६,४४३ पीसीआर र २,८०८ एन्टिजन विधिबाट गरी कुल ९,२५१ वटा परीक्षण गरिएको छ ।

  • भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन

    भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन

    काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ ।

    कोरोनासँगै निमोनिया भएर मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारत लता आइतवार बिहान निधन भएको हो । लता मंगेशकर करिब एक महिनादेखि बिरामी थिइन् ।

    लता मंगेशकरलाई ८ जनवरीमा कोरोना संक्रमण भएपछि निमोनिया पनि भएको थियो । लताको उमेर देखेर चिकित्सकले उनलाई आईसीयूमा भर्ना गरेका थिए ।

    त्यसयता उनी निरन्तर संघर्ष गरिरहेकी छिन् । उपचारका क्रममा उनलाई २ दिन मात्र भेन्टिलेटरबाट हटाइएको थियो ।

    उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।

  • काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा सोमबारबाट दिइँदै

    काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा सोमबारबाट दिइँदै

    काठमाडौं । काठमाडौँ महानगरपालिकामा माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा वितरण गरिने भएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउन सूचना जारी गरेको हो । कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि ४ः०० बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।

    यसरी खोप लगाउन कामपा ३२ वटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम सञ्चालन गर्नुपर्ने छ । सूचनाअनुसार खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ ।खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि कामपाले आग्रह गरेको छ ।

  • आजबाट मौसममा सुधार, घाम लाग्ने

    आजबाट मौसममा सुधार, घाम लाग्ने

    काठमाडौं । नेपालमा एक साता लामो वर्षा र हिमपात थामिएसँगै आइतबारबाट मौसममा सुधार हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आइतबार सामान्यतया देशैभर मौसम सफा रहने सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र देशभर वर्षा भएको थियो । सो मौसमी प्रभाव कम भएसँगै आकास खुलेको हो ।

    मौसमी प्रणालीमा सुधार भएपछि हिमपात र वर्षा कम हुने महाशाखाले जनाएको छ । अब तापत्रमm बढ्ने अनुमान गरिएको छ । यसबीचमा उच्च हिमाली भेगमा माइतस १५ डिग्रीसम्म तापक्रम घटेको छ । महाशाखाका अनुसार आइतबार दिउँसो पनि मौसम सफा नै रहनेछ । राति प्रदेश १ र बागमतीमा आंशिकदेखि सामान्य हुने सम्भावना छ ।

  • आज बसन्त पञ्चमी, विद्याकी देवि सरस्वतीको पूजा आरधना गरिँदै

    आज बसन्त पञ्चमी, विद्याकी देवि सरस्वतीको पूजा आरधना गरिँदै

    काठमाडौं । आज हिन्दुधर्मावलम्बीहरु बसन्त पञ्चमी पर्व मनाउँदैछन् । यस दिन विद्याकी देवी सरस्वतीको पूज आरधना गर्ने गरिन्छ । आज सरस्वती मन्दिरहरुमा पूजा गरिन्छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लाग्छ । आज हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम छ ।

    विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने यो पर्वका दिन ती वस्तुको पूजा गरिन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा(आराधना गर्ने प्रचलन वैदिककालदेखि चलि आएको छ । सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ ।