Category: फिचर

  • दाङको तुल्सिपुरमा आगोलागी, ५ जनाको मृत्यु

    दाङको तुल्सिपुरमा आगोलागी, ५ जनाको मृत्यु

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनमा एक घरमा भएको आगलागीमा परि पाँच जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । घटनामा चार पुरुष र एक बालिका परेको इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याललाई उदृत गर्दै स्थानीय संचारमाध्यमले लेखेको छन् । आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको छ । घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको छ । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीको भनाई छ । मृतकको नाम खुलेको छैन ।

  • खोप लगाएको ६ महिना पुरा भएका १८ वर्ष माथिका सबैले बुस्टर डोज लगाउन पाउने

    खोप लगाएको ६ महिना पुरा भएका १८ वर्ष माथिका सबैले बुस्टर डोज लगाउन पाउने

    काठमाडौं । नेपालमा खोप लगाएको ६ महिना पुरा भएका १८ वर्ष भन्दा माथिका सबै नागरिकले बुस्टर डोज लगाउन सक्ने भएका छन् । सरकारले कोरोना भाइरसविरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना भएका १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो श्रृङ्खला खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिकालाई बुस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको जनाएको छ ।

    मन्त्रालयले सबै ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्र लेखी बुस्टर डोज खोप दिन आग्रह गरेका छन् । बुस्टर डोज खोप दिँदा अग्रपंक्तिमा खटिनेहरु, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र सामाजिक जनसांख्यिक रुपमा पछाडि पारिएका व्यक्तिालाई प्राथिमकता दिइने छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संक्रमण भएका व्यक्तिलाई संक्रमणमुक्त भएको एक महिनापछि कोरोना भाइरसविरुद्धको खोप र बुस्टर डोज दिन मिल्ने उल्लेख गरेको छ ।

  • चार मुलुक सहभागी क्रिकेट सिरिज आजबाट, नेपाल र ओमान भिड्दै

    चार मुलुक सहभागी क्रिकेट सिरिज आजबाट, नेपाल र ओमान भिड्दै

    काठमाडौं । चार मुलुक सहभागी रहेको क्रिकेट सिरिज आजबाट शुरु हुँदैछ । आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर अगाडी यो सिरिज हुन लागेको हो । ओमानको घरेलु मैदान मस्कटस्थित अल अमिरातमा दिउँसो ३ः४५ बाट खेल सुरु हुनेछ । नेपालमा हिमालय टिभिबाट खेल प्रत्यक्ष हेर्न सकिे छ । नेपाल, ओमान, आयरल्याण्ड र युएई सिरिजमा खेल्दैछन् । सबै टीमले एक अर्का मुलुकविरुद्ध एक एक खेल खेल्ने कार्यक्रम रहेको छ ।

    चार वटै टिम ग्लोबल क्वालिफायर ए मा रहेका छन् । क्वालिफायर ए मा रहेका ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘ए’ मा तथा आयरल्याण्ड, युएई, बहराइन र जर्मनी समूह ‘बी’ मा छन् । क्वालिफायरमा समेत नेपालले पहिलो खेल ओमानसँग छ । आजको खेलबाट कप्तान सन्दीप लामिछानेले कप्तानीमा डेब्यू गर्दैछन् ।

  • चूनाव गर्न ५० अर्बको माग : अर्थमन्त्री

    चूनाव गर्न ५० अर्बको माग : अर्थमन्त्री

    काठमाडौं । निर्वाचनको प्रयोजनका लागि ५० अर्ब रुपैयाँको अतिरिक्र माग आएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बजेटको अर्धवार्षिक समिक्षा कार्यक्रममा अर्थ मन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटमा चुनावका लागि विनियोजन गरिएभन्दा पाँच गुणा बढी रकम माग भएको जानकारी दिए । यसले मन्त्रालय दबाबमा परेको उनको भनाई छ । चालु आर्थिक वर्षको बजेटमा १० अर्ब रुपैयाँ निर्वाचनका लागि छुट्याइएको छ । माग भने ५० अर्ब रुपैयाँको आएको उनको भनाई छ । निर्वाचन आयोगले मात्र १२ अर्ब चाहिने भनेको छ । यसबाहेक सुरक्षा निकायबाट माग आउन बाँकि छ ।

  • बेलायतमा आइसोलेसन बस्नुपर्ने नियम हट्ने

    बेलायतमा आइसोलेसन बस्नुपर्ने नियम हट्ने

    काठमाडौं । बेलायतमा कोरोनाबाट बच्न लागु गरिएको आइसोलेसनका नियमहरु हट्ने भएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले सङ्क्रमित घरमै एकान्तमा बस्नु पर्ने नियम लगायत महामारी नियन्त्रणका लागि इङ्ल्याण्डमा बाँकी रहेका सबै प्रतिबन्ध यसै महिनाको अन्त्यसम्ममा हटाइने बताएका हुन् । बीबीसीका अनुसार इङ्ल्याण्डमा अहिले कोभिड सङ्क्रमण पुष्टि भएका व्यक्तिहरू पाँच दिनसम्म घरमा एकान्तबास, आइसोलेशनमा बस्नुपर्छ ।

    यस्ता प्रतिबन्ध आगामी मार्च २४ सम्म तोकिएको छ । जोन्सनले सङ्क्रमण घट्दै गए छिट्टै आन्तरिक प्रतिबन्ध हटाउने बताएका हुन् । उनले संसद् अधिवेशन स्थगन भएको समयमा कोभिडसँगै बाँच्ने सरकारको रणनीति तयार गर्न आफूले काम गर्ने जानकारी गराए । संसद् अधिवेशनको मध्यावधि स्थगन पछिको पहिलो बैठकमा कोभिडसँगै बाँच्ने रणनीति लिएर आउने उनले बताए ।

    अहिलेजस्तै सङ्क्रमणको तथ्याङ्क उत्साहजनक रूपमा घटेमा सङ्क्रमण पुष्टि भएपछि आफूलाई आइसोलेशनमा राख्नुपर्ने कानुनी बाध्यता सहितका आन्तरिक प्रतिबन्धहरू एक महिना अघि नै हटाउन सकिने उनको भनाई छ । अनवरीको अन्त्यबाट बेलायतमा कोभिड सङ्क्रमण दर ओरालो लागेको छ । यद्दपी दैनिक ५० हजार भन्दा माथि संक्रमण रहेको छ ।

  • नेपालमा थप १३६९ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन

    नेपालमा थप १३६९ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १०१३ जना र ३००० जनाको एन्टिजेन परीक्षण गर्दा ३५६ गरी १३६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७१ हजार ४७५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २२३८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ३० हजार ६०७ पुगेको छ । संक्रिय संक्रमितको संख्या २९ हजार ४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १२ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ ।

  • फिफा वरीयतामा नेपाल दुई स्थान उक्लियो, बेल्जियम शीर्ष स्थानमा यथावत

    फिफा वरीयतामा नेपाल दुई स्थान उक्लियो, बेल्जियम शीर्ष स्थानमा यथावत

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयतामा सुधार भएको छ।

    विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पछिल्लो समय सार्वजनिक गरेको वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा पुगेको हो।

    यसअघि नेपाल १६९ औं स्थानमा थियो । नेपालको ९८२।.२ अंक छ। नेपालले यही महिना अफ्रिकी राष्ट्र मरिससमाथि दुई खेलमा जित निकालेको थियो।

    दक्षिण एसियामा नेपाल भन्दा अगाडि रहेका भारत एक स्थान सुधार गर्दै १०४ औं र माल्दिभ्स १५७ औं स्थानमा छ ।

    त्यस्तै भुटान १८५, बंगलादेश १८६ र पाकिस्तान १९७ स्थानमा रहँदा श्रीलंका २०४ ‍औं स्थानमा छ।

    नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ ।

    दोस्रो स्थानमा ब्राजिल, तेस्रो स्थानमा फ्रान्स र चौथो स्थानमा अर्जेन्टिना छ। एसियामा शीर्ष तीनमा रहेका इरान, जापान र कोरिया विश्ववरीयतामा २१, २३ र २९ ‍औं स्थानमा छन्।

  • स्थानीय तहको निर्वाचन गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा अस्वीकार

    स्थानीय तहको निर्वाचन गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा अस्वीकार

    काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट दर्ता गर्न अस्वीकार गरेको छ ।

    महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दा संविधानले तोके अनुसार आफूहरुको कार्यकाल पाँच वर्ष पूरा नहुने भन्दै सरकरको निर्णय खारेजीको माग गर्दै निवेदन दिए पनि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको हो ।

    उनले मंगलबार नै रिट पेस गरेका थिए । बुधबार रजिष्ट्रार नारायणप्रसाद पन्थीले त्यो निवेदन दर्ता गर्नकै लागि योग्य नभएको निष्कर्षसहित दरपीठको आदेश दिएका हुन् ।

    रजिष्ट्रार पन्थीले जारी गरेको दरपीठ आदेशमा ऐनको प्रावधान यथावत रहेको अवस्थामा मेयर साहले अनुमानका आधारमा निवेदन दर्ता गर्न खोजेको उल्लेख छ ।

  • अर्थमन्त्रीले फेरि घटाए बजेटको आकार

    अर्थमन्त्रीले फेरि घटाए बजेटको आकार

    काठमाडौं । सरकारले बजेटको आकार घटाएको छ। अर्थमन्त्री जनार्दन शर्माले आव २०७८र७९ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरेका हुन् ।

    खर्च हुन नसक्ने भएपछि शर्माले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बजेट आकार ८६ अर्बले घटाएका हुन्। चालु बर्ष सरकराले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको आकार तय गरेको थियो।

    यसलाई १५ खर्ब ४६ अर्ब रुपैयाँमा झारिएको हो।

    शर्माले भदौ अन्तिममा ल्याएको प्रतिस्थापन विधेयकमा १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँ विनियोजन गरेका थिए ।

    त्यसअघि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश बजेट ल्याउँदै चालु आवमा १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ खर्च हुने अनुमान राखेका थिए ।

  • रोकिएन् नेपाली शेयर बजारको ओरालो यात्रा, कारोबारमा सुधार

    रोकिएन् नेपाली शेयर बजारको ओरालो यात्रा, कारोबारमा सुधार

    काठमाडौं । शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ ।

    साताको कारोबारको अन्तिम शेयर बजार मापक सूचक (नेप्से) ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा पुगेको छ । अघिल्लो दिन नेप्से २२ अंकले घटेको थियो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२३ कम्पनीको ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३४९ रुपैयाँ बराबरको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा सुधार आएको छ । त्यसदिन ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये १० राताम्मे भएको छ । भने ३ वटा समूह बढेको छ ।

    नेप्सेका अनुसार कारोबार भएका कम्पनीहरु मध्ये नबिल इक्युटि फण्डको शेयरमूल्य भने बढेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको २५ करोड ४८ लाख भन्दा बढीको कारोबार भएको छ ।

    नेशनल हाइड्रोपावरको २२ करोडको र आइएमई जनरल इन्सोरेन्सको १९ करोडको कारोबार भएको छ ।

    त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ४ प्रतिशतले घटेको छ ।

  • क्यानडामा जारी ट्रक चालकको प्रदर्शन अस्वीकार्य : प्रधानमन्त्री टूडो

    क्यानडामा जारी ट्रक चालकको प्रदर्शन अस्वीकार्य : प्रधानमन्त्री टूडो

    ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन टूडोले देशभरट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । यो कदम अस्वीकार्य रहेको उनको प्रतिक्रिया छ । बीबीसीका अनुसार त्यहाँको प्रहरीले समेत दुई सातादेखि राजधानी सहर ठप्प पारेका लरी चालकहरूलाई आपराधिक अभियोगमा पक्रन सक्ने चेतावनी दिएको छ। ओटावाका सडक अवरोध पार्नेजस्ता कामलाई आपराधिक कार्य मान्न सकिने भन्दै प्रहरीले त्यस्तो काम बन्द गर्न वा अभियोग सामना गर्न तयार रहन सजग गराएको छ।

    लरी चालकहरूले अनिवार्य रूपमा खोप लगाउनु पर्ने वा परीक्षण गर्नुपर्ने विषयलाई लिएर सुरु भएको प्रदर्शन अहिले निकै व्यापक भएको छ। ओटावास्थित संसद्‍मा बुधवार बोलेका टूडोले कोभिड नियमहरूको बचाउ गरे । अवरोध, गैरकानुनी प्रदर्शनहरू अस्वीकार्य रहेको भन्दै उनले व्यावसाय र उत्पादनमा नकारात्मक असर पारेको समेत बताए ।

    उनले प्रदर्शनकारीहरूले देशको अर्थतन्त्र र प्रजातन्त्रलाई अवरोध पार्ने प्रयास गरेको समेत बताए। कोभिड लागेपछि आइसोलेसनमा बसेका उनी एक सातापछि सोमबारबाट संसद् फर्किएको समेत समाचारमा उल्लेख छ । सोमवारबाट प्रदर्शनकारीहरूले अमेरिकासँग जोडिने एउटा मुख्य पुलमा समेत अवरोध पुर्‍याएका छन्।

  • शुक्रबारबाट पशुपतिनाथ मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला

    शुक्रबारबाट पशुपतिनाथ मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला

    काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरपछि माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुला हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले सूचना जारी गरि यसबारे जानकारी गराएको हो । कोषले बुधबार जारी गरेको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको हो ।

    कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने जनाएको थियो। कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जारी गरेको सूचनामा विश्वस्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको उल्लेख छ। कोरोना सङ्क्रमण बढ्न थालेपछि यही माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो।

  • शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे जानकारी लिन स्वाथ्यमन्त्री अस्पताल पुगे

    शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे जानकारी लिन स्वाथ्यमन्त्री अस्पताल पुगे

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वांमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उनले जोशीलाई भेटेका हुन् । मन्त्री खतिवडाले उनको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

    जोशी जिउँदो इतिहास भएको भन्दै उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको राससले लेखेको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि जोशी माघ २५ देखि अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालको भनाई छ । उनको कोरोना परीक्षण रिर्पोट समेत नेगेटिभ आएको छ ।

  • एसईई परीक्षाको तालीका सार्वजनिक, कुन दिन कुन विषय ?

    एसईई परीक्षाको तालीका सार्वजनिक, कुन दिन कुन विषय ?

    काठमाडौं । सरकारले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा ९ वैशाखबाट शुरु हुने छ । शुक्रबार परेको यो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा राखिएको छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने तालीकामा उल्लेख छ । वैशाख ११ मा अनिवार्य गणित र १२ मा अनिवार्य नेपालीको परीक्षा राखिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको तालीका अनुसार ९ वैशाखमा सुरु भएको परीक्षा वैशाख २० गते सकिने भएको छ । परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म राखिएको छ ।

  • टर्की र ग्रिसको सिमानामा चिसोका कारण मृत्यु भएका १९ आप्रवासीमा नेपाली पनि परेको आशंका

    टर्की र ग्रिसको सिमानामा चिसोका कारण मृत्यु भएका १९ आप्रवासीमा नेपाली पनि परेको आशंका

    इस्तानबुल । टर्की र ग्रिसको सिमा क्षेत्रमा गत साता चिसोले कठ्याग्रीएर १९ जना आप्रवासीको मृत्यु भएको छ । उनीहरु अवैध बाटोबाट टर्की हुँदै ग्रिस छिर्न आएका थिए । १९ आप्रवासीहरूको गत साता चिसोले ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले पुष्टी गरेका छन् । मृत्यु हुनेमा नेपाली समेत परेको आंशका गरिएको छ । १९ जनाको शव भेटिए पनि यो संख्या अझै बढ्न सक्ने अनुमान छ । ग्रीसको सीमा बलले आप्रवासीहरूलाई टर्कीतर्फ फर्काउँदै अलपत्र छोडिदिएपछि घटना भएको बताइएको छ ।

    घटनाप्रति युरोपेली युनियनले चिन्ता प्रकट गरेको छ । कञ्चनपुर मूल घर भएका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन रहेका कारण यहाँ नेपालीहरु समेत परेको हुन सक्ने एनआरएनए टर्कीका अध्यक्ष उज्ज्वलकुमार घिसिङ्लाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् । इस्तानबुल फर्किएका नेपालीहरूको भनाइलाई उदृत गर्दै ४१ जना आप्रवासीहरूको समूहलाई ग्रिस प्रहरीले समातेर टर्कीको सिमानामै फर्काइदिएको बताइएको छ । त्यो समूहमा ८ जना नेपाली थिए । जसमा ७ जना सम्पर्कमा आइसकेका छन् ।

  • होटेल याक एण्ड यति बन्द गर्न सरकारको निर्देशन, यस्तो छ कारण

    होटेल याक एण्ड यति बन्द गर्न सरकारको निर्देशन, यस्तो छ कारण

    काठमाडौं । सरकारले पाँचतारे होटेल याक एण्ड यति बन्द गर्न निर्देशन दिएको छ । होटेलको बैंक खाता रोक्का गर्दै पर्यटन मन्त्रालयले यस्तो निर्देशन दिएको हो । बैंकको पाँचतारे स्तरको वर्गिकरण प्रमाणपत्र रद्द गरेको छ भने क्यासिनो र होटेल संचालनमा समेत रोक लगाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार यस्तो निर्णय गरेको पर्यटन विभागले सूचना जारी गरि जानकारी गराएको छ ।

    यस होटेल परिसरमा रहेको क्यासिनोले सरकारलाई बुझाउनु पर्ने दस्तुर तथा राजस्व नबुझाएको र सरकारले पटक पटक ताकेता गर्दा समेत अटेर गरेका कारण पर्यटन मन्त्री प्रेम आलेको सक्रियतामा होटेलमाथि कारवाही भएको समेत बताइएको छ । क्यासिनोले सरकारलाई ४२ करोड रुपैयाँ रोयल्टी बुझाउनु पर्नेमा नबुझाएपछि होटेललाई कारवाही गरिएको हो । साथै ह्याप्पी आवरका नाममा जारी भएका क्यासिनो समेत बन्द गरिएका छन् ।

  • ६ महिनामा विदेशबाट भित्रियो मात्र साढे ४ खर्ब रेमिट्यान्स

    ६ महिनामा विदेशबाट भित्रियो मात्र साढे ४ खर्ब रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्षको शुरुवाती महिनाबाटै रेमिट्यान्स भित्रने क्रम शुरु भएकोमा छैठौं महिनासम्म समेत सोही प्रवृत्ति देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह ५.५ प्रतिशतले घटेको छ । ६ महिनामा कुल ४ खर्ब ६८ अर्ब ४५ करोड मात्र रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो । ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या भने उल्लेख्य बढेको छ । यस अवधिमा कुल १ लाख ६७ हजार ५१३ ले यस्तो श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८९ प्रतिशतले घटेको थियो ।

  • रेल चलाउने मिति नजिकियो, हाट बजार हटाउन शुरु

    रेल चलाउने मिति नजिकियो, हाट बजार हटाउन शुरु

    जनकपुर । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनको मिति तय भएसँगै नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ । आगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन थालेको छ ।

    जनकपुरधामसहित ठाउँ ठाउँमा रेल्वे लिकमै तरकारी हाटबजार राख्ने गरेका कारण रेल सञ्चालनमा समस्या हुने भएकाले लिकबाट हाटबजार हटाउने अभियान सुरु गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झालाई उदृत गर्दै राससले लेखेको छ । उनका अनुसार ‘रेल्वे लिकमै हाटबजार लगाउँदै आएको छ । महाप्रबन्धक झाका अनुसार हाटबजार रेल्वे लिकबाट अन्यत्र सार्ने विषयमा जनप्रतिनिधि, व्यापारी र स्थानीयसँग छलफल गरेर वैकल्पिक ठाउँको खोजीसमेत भइरहेको छ ।

    हाटबजारका लागि जनकपुर रेल्वे स्टेशनकै छेउमा रहेको रेल्वे कम्पनीको जग्गाको निरीक्षण गरिसकेको र त्यसैलाई व्यवस्थित गरेर त्यहीँ हाटबजार लगाउने विषयमा एक चरणको छलफल भएको महाप्रबन्धक झाले बताए । खरिद गरेर पनि लामो समयदेखि सञ्चालन हुन नसकेका दुई रेल सेट नेपाल रेल्वे कम्पनीले आगामी फागुन १ गतेदेखि दैनिक जयनगरदेखि कुर्थासम्म ड्राई (बिना यात्रु) सञ्चालन गर्ने तयारी गरेको छ ।

    नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा जयनगर–कुर्था रेल सेवाको उद्घाटन नगरेसम्म बीना यात्रु गुड्ने र उद्घाटन पछि मात्र यात्रुसहित गुडाउने तयारी छ । गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखमा खरिद गरिएका दुई सेट रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

  • नेपालमा १४ जना संक्रमितको निधन, ७ हजार ७७७ जना संक्रमण मुक्त

    नेपालमा १४ जना संक्रमितको निधन, ७ हजार ७७७ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा १८५१ जना र ४७५३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५० गरी २४०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७० हजार ४६२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ७७७७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख २८ हजार ३६९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ३० हजार २४१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ८५२ पुगेको छ ।

  • दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, खाने तेल २१.२२ प्रतिशत महँगियो

    दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, खाने तेल २१.२२ प्रतिशत महँगियो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

    नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ६ महिनाको तथ्यांक अनुसार पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ ।

    अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो ।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.२३ प्रतिशत रहेको छ ।

    २०७७ पुसको तुलनामा २०७८ पुसमा घ्यू तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१.२२ प्रतिशत, १४.०७ प्रतिशत, ११.३७ प्रतिशत, १०.४८ प्रतिशत र ९.२२ प्रतिशत रहेको छ ।

    समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.२८ प्रतिशत, तराईमा ६.१५ प्रतिशत, पहाडमा ५.३४ प्रतिशत र हिमालमा ५.२२ प्रतिशत मुद्रास्फीति रहेको छ ।

    २०७७ पुसमा यी क्षेत्रहरुमा क्रमशः ३.५५ प्रतिशत, २.८७ प्रतिशत, ४.७२ प्रतिशत र ३.३८ प्रतिशत मुद्रास्फीति रहेको थियो । २०७८ पुसमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.७७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १.७२ प्रतिशतले बढेको थियो ।

    समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ४.७३ प्रतिशतले बढेको छ ।

  • स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने सीके रावतको धम्की

    स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने सीके रावतको धम्की

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका छन् ।

    बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राउतले किसान आन्दोलनको माग सम्बोधन भए मात्र स्थानीय तहको निर्वाचनको परिकल्पना गर्न सकिने बताएका हुन् ।

    यदि माग पुरा नभए स्थानीय तहको निर्वाचनमा तराई-मधेसमा अवरोध गर्ने उनको भनाइ छ । उनले भने, ‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं । नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर तराई–मधेसमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं ।’

    जनमत पार्टी निर्वाचन विरोधी नभएको समेत अध्यक्ष राउतले गरे । उनले भने, ‘हामी निर्वाचनमा जान आतुर छौं । निर्वाचनमा जानु अगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनु पर्यो।

    किनकि एकैदिनमा यो समस्या समाधान हुने होइन ।यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने छैन । अहिलेसम्म त्यही ३/४ जना नेताको अनुहार आउने हो । जुनसुकै सरकार आए पनि एजेन्डा यही रहने हो । त्यसैले यो सरकारले सम्बोधन प्रक्रिया वा तत्परता देखाएको भए हुन्थ्यो ।’

    राउतले अर्को चरणको किसान आन्दोलन १ फागुनबाट घोषणा हुने जानकारी दिएका छन् । मौसमको खराबीका कारण हाइबे केन्द्रीत आन्दोलन ग्रामीण क्षेत्रमा सारिएको बताउँदै उनले १ फागुनबाट सशक्त कार्यक्रम आउने बताएका छन् ।

  • रोकिएन नेपाली शेयर बजारको ओरालो यात्रा, लगातार दोहोरो अंकको गिरावट

    रोकिएन नेपाली शेयर बजारको ओरालो यात्रा, लगातार दोहोरो अंकको गिरावट

    काठमाडौं । शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ ।

    साताको कारोबारको दोस्रो चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) २२.११ अंकले घटेर २८१३.४७ विन्दुमा पुगेको छ । अघिल्लो दिन नेप्से १६ अंकले घटेको थियो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२३ कम्पनीको ३ अर्ब ४७ करोड ११लाख ९ हजार १८२ रुपैयाँ बराबरको ६५ लाख २० हजार ६२८ कित्ता शेयर किनबेच भएका छन् ।

    मंगलवार तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । त्यसदिन ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.५४ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स, लगानी र व्यापार समूह पनि १ प्रतिशतले घटेको छ ।

    दोहोरो अंकले घटेको बजारमा आज बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.६४ प्रतिशतले घटेको छ ।

    त्यसैगरी, नेपाल एसबीआई बैंकको डिबेञ्चर, नेपाल हाइड्रो डेभलपर, सप्तकोशी विकास बैंक र वीन नेपाल लघुवित्तको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    त्यस्तै, सामलिङ पावर, माउन्टेन इनर्जी, बुटवल पावर, गरुाँस लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, जानकी फाइनान्ससहित डेढ दर्जन कम्पनीको शेयर मूलय २ प्रतिशतले घटेको छ ।

    घट्दो बजारमा आज लिबर्टी इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै ३.०४ प्रतिशतले बढेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड बढीको शेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम साढे १४ करोड र नेशनल हाइड्रो १४ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

  • विश्वमा कोरोना संक्रमणबाट ५८ लाखको मृत्यु, सबैभन्दा बढी अमेरिकामा

    विश्वमा कोरोना संक्रमणबाट ५८ लाखको मृत्यु, सबैभन्दा बढी अमेरिकामा

    काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ। मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो।

    वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा हालसम्म ४० करोड १२ लाख ८८ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ।

    संक्रमितमध्ये ३२ करोड ११ लाख २० हजार २७० जना निको भइसकेका छन्। हालसम्म कोरोना संक्रमणका कारण ५७ लाख ८३ हजार १८२ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्याङ्कले देखाएको छ।

    विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो विश्वभर फैलिएको हो । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ७ करोड ८५ लाख ५६ हजार १९३ जनामा कोरोना पुष्टी भइसकेको छ।

    अमेरिकापछि कोरोना संक्रमितको दोस्रो ठूलो संख्या भारतमा रहेको छ। भारतमा हालसम्म ४ करोड २४ लाख १० हजार ९७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

    वल्डोमिटर्सका अनुसार ब्राजिलमा २ करोड ६७ लाख ७६ हजार ६२०, फ्रान्समा २ करोड १० लाख ३९ हजार ६३९, बेलायतमा १ करोड ७९ लाख ३२ हजार ८०३ जनालाई कोरोना संक्रमण भएको छ।

    कोरोनाले सबैभन्दा बढीको ज्यान अमेरिकामा लिएको छ। हालसम्म अमेरिकामा ९ लाख ३२ हजार ४४३ जनाको मृत्युको कारण कोरोना बनेको छ। कोरोनाका कारण ब्राजिलमा ६ लाख ३३ हजार ८९४, भारतमा ५ लाख ५ हजार ३०८, रुसमा ३ लाख ३६ हजार ७२१ र मेक्सिकोमा ३ लाख ९ हजार ८८४ जनाको मृत्यु भएको छ।

  • युद्धको त्रासका बीच बेलायतले युक्रेनमा पठायो स्पेसल फोर्स

    युद्धको त्रासका बीच बेलायतले युक्रेनमा पठायो स्पेसल फोर्स

    लण्डन । युक्रेनमा रुसले आक्रमण गर्न सक्ने त्रासका बीच बेलायतले आफ्नो विशेष फौजका केही सदस्यलाई युक्रेन पठाएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बेलायती विशेष फौजका एक सय भन्दा धेरै सदस्य युक्रेन पुगेका छन् । उनीहरु युक्रेन र रुसको सीमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको बेलायती अधिकारीले पुष्टी गरेका छन् । रुसले युक्रेनको सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिक परिचालन गरेपछि त्यहाँ युद्धको आशंका गरिएको छ ।

    युक्रेनका अधिकारीहरुले समेत बेलायतबाट सय जनाभन्दा धेरै सुरक्षाकर्मी पुगेको पुष्टी गरेका हुन् । रुस, युक्रेन र पश्चिमा मुलुकबीचको युद्धको चेतावनीमा यहाँका जनता भने मारमा परेका छन् । युद्ध भएमा ५० हजार सर्वसाधारणले ज्यान गुमाउने अनुमान संयुक्त राष्ट्र संघले गरेको छ ।

  • आजबाट शुक्रबारसम्म मौसम प्रतिकुल बन्दै, यस्तो छ प्रक्षेपण

    आजबाट शुक्रबारसम्म मौसम प्रतिकुल बन्दै, यस्तो छ प्रक्षेपण

    काठमाडौं । नेपालमा आजबाट मौसमः पुनः प्रतिकुल बन्ने भएको छ । देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारबाट शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना देखिएको छ । देशमा पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भई सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

    बाग्मती प्रदेश तथा प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना हुने भएको छ । उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने छ । बुधबार दिउँसो सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना छ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ ।

    बाग्मती प्रदेश तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। राती सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत बागमती र प्रदेश नं १ को पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली तथा बाकी भूभागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बागमती तथा प्रदेश नं १ का पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

  • सरकारको अनुरोधपछि आज बोलाइएको संसद बैठक स्थगित, कारण एमसीसी ?

    सरकारको अनुरोधपछि आज बोलाइएको संसद बैठक स्थगित, कारण एमसीसी ?

    काठमाडौं । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः एक साताका लागि स्थगित भएको छ। सरकारले बैठक सार्न सभामुखलाई आह्वान गरे अनुसार बैठक स्थगित भएको बताइएको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुनुपर्ने प्रधानमन्त्रीको चाहना छ । तर, सत्तारुढ अन्य दलको दवावका कारण सरकार समेत बाध्य भएको हो ।

    नेकपा माओवादी केन्द्रले २८ माघमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो दिनसम्म प्रतिनिधिसभा बैठक नराख्ने माओवादीको चाहना अनुसार बैठक सरेको हो । माओवादीले २८ र २९ गते केन्द्रीय कमिटी बैठक राखेको छ । केन्द्रीय कमिटी बैठकले एमसिसीबारे माओवादीको धारणा बनाउने छ । संसद बैठक भने २ फागुनका लागि बोलाइएको छ ।

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे संसदीय समितिले छानविन गर्ने

    पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे संसदीय समितिले छानविन गर्ने

    काठमाडौं । पेट्रोलियम पदार्थमा भएको उच्च मूल्यवृद्धिबारे संसदीय समितिमा छानबिन हुने भएको छ । संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्न सांसद दुर्गा पौडेलको संयोजकत्वमा उपसमिति गठन गरेको हो । सदस्यमा खेम लोहनी र लक्ष्मी परियार तोकिएका छन् ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि र त्यसको वैकल्पिक व्यवस्था गरेर जनतालाई राहत दिने गरी सरकारलाई आवश्यक सुझाव दिन उपसमिति गठन गरिएको समितिले जनाएको छ । समितिको मंगलबार बसेको बैठकमा सांसदहरुले आयातीत पेट्रोलियम पदार्थका कारण जनता मारमा परेको उल्लेख गर्दै त्यसबाट निकास दिन नेपालभित्र पेट्रोलियम पदार्थको अन्वेषणमा जोड दिए । सरकारले चर्को कर लिने भएकाले नेपालमा पेट्रोलियम पदार्थको मूल्य पनि बढी रहेको हो ।

  • क्रिप्टोकरेन्सीको लगानीले अर्थव्यवस्थामा चूनौति थपिएको छ : राष्ट्र बैंक

    क्रिप्टोकरेन्सीको लगानीले अर्थव्यवस्थामा चूनौति थपिएको छ : राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङबाट हुने कारोबारका कारण राज्य र समग्र अर्थव्यवस्थामै चुनौती थपिएको बताएको छ । क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिन मंगलबार एक सामग्री सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस्तो बताएको हो । खासगरि नेपालजस्ता सीमित पुँजी र स्वदेशी पुँजी विदेश लैजान बन्देज लगाइएका मुलुकमा क्रिप्टोकरेन्सीमार्फत पुँजी पलायन हुनबाट जोगाउनु मुख्य चुनौती रहेको राष्ट्र बैंकको निष्कर्ष छ ।

    नेपालजस्तो वित्तीय साक्षरता कम भएका मुलुकमा वित्तीय सेवाका उपभोक्ताहरू असुरक्षित हुने बढी सम्भावना रहेको समेत केन्द्रिय बैंकले बताएको छ । नवीन प्रविधिको सहयोगमा क्रस बोर्डर रूपमा सञ्चालित नेटवर्क मार्केटिङ व्यवसायबाट अवैधानिक माध्यम वा हुण्डीमार्फत पैसा विदेसिने जोखिम रहेको समेत बताइएको छ । एकातिर स्वदेशबाटै पुँजी पलायन हुन सक्ने र अर्कोतिर विदेशमा रहेका नेपालीबाट नेपाल आउन सक्ने विप्रेषण विदेशमै लगानी हुन सक्ने भएकोले विदेशी मुद्राको सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने राष्ट्र बैंकको भनाई छ ।

    आईएमएफले २०२१ अक्टोबरमा जारी गरेको ग्लोबल फाइनान्सियल स्टाबिलिटी रिपोर्टमा समेत क्रिप्टोकरेन्सीलाई विश्वव्यापी वित्तीय स्थायित्वको तीन वटा प्रमुख चुनौतीमध्येको एक भनेर उल्लेख गरिएको राष्ट्र बैंकले स्मरण गराएको छ । राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा यससँग सम्बन्धित कोषमा लगानी गर्ने तथा नेटवर्क मार्केटिङ आबद्ध हुने जस्ता क्रियाकलापमा युवा जनशक्ति आकर्षित हुन सक्ने भएकोले युवावस्थामै अवैधानिक आर्थिक क्रियाकलापमा संलग्न हुँदा व्यक्तिगत जीवन र मुलुकको आर्थिक सामाजिक व्यवस्थामा समेत नकारात्मक असर पर्ने भन्दै सचेत समेत गराएको छ ।

  • राप्रपाले कमल थापालाई भन्यो : पार्टी छाड्ने निर्णय पुनर्विचार गर्नुहोस

    राप्रपाले कमल थापालाई भन्यो : पार्टी छाड्ने निर्णय पुनर्विचार गर्नुहोस

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टी छाड्ने निर्णयबारे पुनर्विचार गर्न भनेको छ । मंगलबार थापाले पार्टी परित्याग गर्ने घोषणा गरेका थिए । यो निर्णयबारे पार्टीको धारणा बनाउन मंगलबार नै पदाधिकारी बैठक बसेको थियो । बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार हेटौंडामा पूर्वअध्यक्ष थापाले पार्टी बाट अलग हुने घोषणा गरेका थिए । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ऐतिहासिक एकता महाधिवेशनपछि राष्ट्रिय शक्तिको रुपमा उदाएको राप्रपाका निवर्तमान अध्यक्ष थापाको निर्णय अनपेक्षित भएको भन्दै यस्तो अनुरोध गरेका छन् ।

    ‘राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रुपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भन्दै गरेको घोषणाप्रति दुःख प्रकट गर्दछौँ’, प्रवक्ता श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ ।’ राप्रपाले पार्टी राजसंस्था, हिन्दूराष्ट्रको पुनःस्थापनालगायत सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित भएकोसमेत उल्लेख गरेको छ ।

  • शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य ?

    शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य ?

    काठमाडौं । शताब्दी पुरूष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । १०२ वर्षीय जोशीको शरीरमा अक्सिजन कमी भएको र स्वास प्रस्वासमा समस्या भएपछि मंगलबार अस्पताल भर्ना गरिएको हो । उनलाई ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो । अस्पतालका अनुसार निमोनिया देखिएको उनको उपचार जारी छ । स्वास्स्थ अवस्था समेत सुधारोन्मुख देखिएको अस्पतालले जनाएको छ ।