Category: फिचर

  • नेपालमा सात महिनापछि कोरोनाबाट दैनिक मृत्यु हुने संक्रमित संख्या शून्य

    नेपालमा सात महिनापछि कोरोनाबाट दैनिक मृत्यु हुने संक्रमित संख्या शून्य

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४६जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र १४३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ गरी २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार १७२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३४७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३ हजार ७१६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार ९२१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ । नेपालमा चैतपछि पहिलो पटक कोभिड १९ का कारण मृत्यु हुनेको संख्या शून्य भएको हो ।

  • नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

    नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

    काठमाडौं । नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ।

    नेपाल-कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका विषयमा सहमति भएको हो ।

    बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार अघि बढ्न कतारी पक्षले सहमति जनाएको छ।

    साथै कतार भिषा सेन्टरलाई थप व्यवस्थित गर्न कतारी पक्ष सहमत भएको छ। नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहमति जनाएको छ।

    घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन कतारको टोलीले आग्रह गरेपछि उक्त बिषयमा निर्णय गर्न दुई पक्षीय संयुक्त समिति गंठन गर्ने र त्यसको सुझावलाई श्रम सम्झौता पुनरावलोकनको क्रममा समेट्ने सहमति भएको छ।

    यसअघि, कतारको उच्चस्तरीय टोलीले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसहित मन्त्रालयको टोलीसँग श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित बनाउने विषयमा छलफल गरेको थियो।

    घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन कतारको टोलीले आग्रह गरेपछि मन्त्री श्रेष्ठले विभिन्न सरोकारवलाहरुसँग छलफल गरी निर्णयमा पुग्ने बताए। मन्त्री श्रेष्ठले श्रमिकको सुरक्षा र हितलाई केन्द्रमा राखेर प्रक्रिया अघि बढाइने जानकारी गराए। कतारले घरेलु श्रमिकलाई लैजान जोड दिएपछि यसलाई सही ढंगले सम्बोधन गर्न मन्त्री श्रेष्ठले सरोकारवलाहरुसँग पनि छलफल गरेका थिए।

    यसअघि संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले घरेलु श्रमिक लैजाने देशले ७ वटा सर्त पूरा गरे मात्रै अनुमति दिन सरकारलाई निर्देशन दिएको थियो । कतारको उच्चस्तरीय टोलीले नेपालको शर्त पुरा गर्न तयार रहेको प्रतिकृया दिएको छ।

    साथै श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभुति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागिता लगायतका बिषयमा छलफल भएको थियो। नेपाल÷कतार संयुक्त समितिको चौथो बैठकमा नेपाली टोलीको नेतृत्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव वीनु बज्राचार्यले नेतृत्व गरेकी थिइन्।

    नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयका उपसचिव पुष्पराज भट्टराई र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा थानेश्वर भुषाल थिए।

    उक्त बैठकको अध्यक्षता गर्दै मन्त्रालयका सचिव एकनारायण अर्यालले नेपालको तर्फबाट छलफलका बिषयलाई कतारी पक्षसमक्ष प्रस्तुत गरे।

    त्यस्तै कतारको श्रम मन्त्रालयका सचिव मोहम्मद हसन अल लवाद्लीले नेतृत्व गरेका टोलीमा अन्तर्राष्ट्रिय समन्वय विभागका प्रमुख हमाद अलि अफिफा सहित गृह र श्रम मन्त्रालयका उच्च अधिकारी सहभागी थिए।

    नेपाल र कतारबीच दौत्यसम्बन्ध स्थापना भएको करिब तीन दशक भइसकेको छ। श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित गर्न नेपाल र कतारले सन् २००५ मा श्रम सम्झौता गरेका थिए ।

  • ‘हामीले निष्कासन गरेका राखे एमालेले फेरि पनि संसद् चल्‍न दिँदैन’- केपी ओली

    ‘हामीले निष्कासन गरेका राखे एमालेले फेरि पनि संसद् चल्‍न दिँदैन’- केपी ओली

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फेरि पनि संसद चल्न नदिने भएको छ।

    दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि केन्द्रीय कार्यालय थापाथलीमा पदभार ग्रहणका क्रममा अध्यक्ष केपी शर्मा ओलीले यस्तो संकेत गरेका हुन्।

    एमालेले निष्कासन गरेका व्‍यक्तिहरूलाई संसदमा राखेर कुनै पनि हालतमा स्वीकार गर्न नसकिने पनि उनले बताए।

    उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरू संसदभित्र राखेर कसरी संसद् चल्न सक्छ ?,’ एमालेले निष्कासन गरेका व्यक्तिहरु फेरि संसदमा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौं।’

    उनले गठबन्धनबाट देश अहिले नचलेको भन्दै छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्ने बताए । ओलीले अदालतमा देखिएको समस्या सत्तारुढ पाँच दलको गठबन्धनको विसंगतिका कारण भएको बताए ।

    ‘अदालतको हुर्मत लिने काम भएको छ । गलत फैसला गराउने र आफै हुर्मत लिने । कार्यपालिकाले न्यायपालिकालाई बर्वाद गरेको छ’ ओलीले भने, ‘गठबन्धनले हरेक क्षेत्रलाई गठबन्धनले निकम्मा बनायो । लोकतन्त्रका आधार भत्काउने काम भएको छ ।

    राष्ट्रपति विद्या भण्डारीले आगामी मंसिर २८ गते संघीय संसद बैठक आह्वान गरेकी छन्।

    नेकपमा एमालेले माधव नेपाल, झलनाथ खनाललगायतका १४ जना नेताहरूलाई कारबाही गरेको थियो। माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भई संसदमा दर्ता भइसकेको छ।

  • कक्षा–१२ को परीक्षाफल सार्वजनिक, ७ हजार ३६ जनाले ल्याए ‘ए प्लस’

    कक्षा–१२ को परीक्षाफल सार्वजनिक, ७ हजार ३६ जनाले ल्याए ‘ए प्लस’

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ ।

    शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा प्रकाशित गरेको हो।

    सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार २३९ छ ।

    ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५३७ ‘बी’, ७५ हजार ८८ ‘सी प्लस’ र २४ हजार ५१५ परीक्षार्थीले ‘सी’ ग्रेड ल्याएका छन्।

    डी प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ परीक्षार्थी छन् भने डी प्लस ल्याउनेमा २ सय ९६ जना छन्। १० हजार ७३ परीक्षार्थीले इ ल्याएका छन्।

    नतिजा https://neb.ntc.net.np/ मा हेर्न सकिनेछ।

    एनईबी स्पेस अनि सिम्बोल नम्बर लेखी १६०० मा एसएमएस पठाएर वा आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा जानकारी पाउन सकिने बोर्डले जनाएको छ।

    सिस्टममा अपलोड भइनसकेकोले केही समयपछि मात्रै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

    राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरमा कक्षा १२ को परीक्षा लिएको थियो।

    परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउँदै होम सेन्टरमा सञ्चालन भएको थियो।

  • बंगालको खाडीबाट आउँदै छ शक्तिशाली चक्रवाती तुफान, नेपालमा कति असर ?

    बंगालको खाडीबाट आउँदै छ शक्तिशाली चक्रवाती तुफान, नेपालमा कति असर ?

    ओडिशा । बंगालको खाडीबाट एक शक्तिशाली चक्रवाती तूफान जवाद उत्पन्न भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार यो तुफान शनिबार आ्न्ध्र प्रदेशको समुन्द्री निकारामा आइपुग्ने छ । सोही अनुसार भारत सरकारले आन्ध्र प्रदेश, ओडिशा र बंगालमा हाई एलर्ट जारी गरेको छ र यहाँ आपतकालिन अवस्थाका लागि उद्धार टीम खटिएका छन् । नदी निकारबाट मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको समेत समाचारमा जनाइएको छ ।

    जवाद तूफान कति खतरनाक हो भन्ने बारे प्रधानमन्त्री नरेन्द्र मोदीले आज जानकारी लिन बैठक बोलाएका छन् । भारतीय मौसम विभागका अनुसार जवाद तूफान किनारामा ठोक्किएपछि हावाको गति १ सय किलामिटर प्रतिघण्टाको रफ्तारमा बहने छ । यसबाट आन्ध्र प्रदेश, ओडिशा र पश्चिम बंगालका तटीय क्षेत्रमा भारी वर्षा गराउने छ ।

    ओडिशाका गजपति, गंजम, पुरी र जगतसिंहपुरमा रेड यलर्ट जारी गरिएको छ । केन्द्रपान्डा,, कटक, खुर्दा, नयागढ़, कन्धमाल, रायगन्डा, कोरापुटमा समेत यलर्ट जारी भएको छ । यसको असर नेपालमा के पर्ने छ भन्नेबारे यहाँको मौसम विज्ञान विभागले कुनै जानकारी सार्वजनिक गरेको छैन ।

  • ए-डिभिजन लिग खेलाइरहेका ९ जना रेफ्रिले किन दिए सामुहिक राजीनामा ?

    ए-डिभिजन लिग खेलाइरहेका ९ जना रेफ्रिले किन दिए सामुहिक राजीनामा ?

    काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाइरहेका नौ जना फिफा रेफ्रीले बिहीबार सामूहिक राजीनामा दिएका छन् । रेफ्रीहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई राजिनामा बुझाएका हुन् । एन्फाले लिग चलिरहेको समयमा रेफ्रीको ‘फिटनेश लेभल टेस्ट’ माग गरेको थियो । यसको विरोध गरिरहेका रेफ्रीहरुले सामूहिक राजीनामा गरेका छन् ।

    राजीनामा बुझाउनेमा फिफा रेफ्री नविन्द्र महर्जन, प्रकाशनाथ श्रेष्ठ र प्रज्वल क्षेत्री तथा फिफा असिस्टेन्ट रेफ्रीहरु नानीराम थापा, विक्रम चौधरी, किशन यादव, युनाल मल्ल, माधव खत्री र सहदेव श्रेष्ठ छन् । रेफ्रीहरुले फिटनेश टेस्ट गर्ने भए लिग रोकेर फिटनेशका लागि समय दिनुपर्ने माग गरेका थिए ।

    एन्फाले भने हरेक तीन महिनामा रेफ्रीको ‘फिटनेश लेभल टेस्ट’ गरिनु पर्ने फिफाको निर्देशन अनुसार नै रेफ्रीको ‘फिटनेश लेभल टेस्ट’ माग गरेको बताएको छ । शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबारदेखि दशरथ रंगशालामा तेस्रो चरणका खेल सुरु हुँदैछन् । रेफ्रीकै कारण शुक्रबारको खेल भने रोकिने छैन ।

  • कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी

    कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज प्रकाशित गर्ने तयारी गरिएको छ । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि बिहान ९ बोर्डको बैठक बोलाइएको छ । नतिजा प्रकाशनको सबै तयारी पूरा भएको बोर्डले जनाएको छ । अब बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गर्नुपर्छ ।

    कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म लिइएको थियो । कोरोना भाइरसको महामारीका कारण पटक पटक प्रभावित भएको यस पटकको परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी छन् । यसपटक उनीहरुलाई आफ्नै विद्यालयमा सेन्टर पारिएको थियो ।

  • ओमिक्रोनबाट बच्न अमेरिकाले यात्रामा लगायो कडा नियम

    ओमिक्रोनबाट बच्न अमेरिकाले यात्रामा लगायो कडा नियम

    वासिंटन डिसी । ओमिक्रोन नामक कोरोना भाइरसको नयाँ मेरियन्टबाट बच्न अमेरिकाले यात्रामा कडा नियमहरू लगाएको छ । बीबीसीका अनुसार राष्ट्रपति जो बाइडनले यस्तो नियम सार्वजनिक गरेका छन् । यद्दपी उनले लकडाउन भने नगरिने बताएका छन् । खोपसम्बन्धी यसअघिको निर्णयमा समेत परिवर्तन नहुने भएको छ । न्यू योर्क राज्यमा पाँच जना र मिनेसोटा र कोलोराडोमा अहिलेसम्म ओमिक्रोनको सङ्क्रमण एकएक जनामा पुष्टी भइसकेको छ ।

    अमेरिकामा बुधवार क्यालिफोर्निया राज्यमा पहिलो ओमिक्रोन सङ्क्रमण देखिएको थियो । स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरियन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षण मात्र देखिएको बताएका छन्। उक्त भेरिअन्ट अहिलेसम्म कम्तीमा २३ वटा देशमा देखिइसकेको छ। दक्षिण अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि
    अति उत्परिवर्तिन ओमिक्रोन बढी सङ्क्रामक छ वा खोपले काम नगर्ने जोखिम बढी छ भन्ने अझै स्पष्ट भइसकेको छैन।

    बिहीवार सार्वजनिक गरिएको विवरण अनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घन्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ। यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागु हुन्छ। विमान, रेल वा बसमा चढ्दा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम मार्च महिनासम्मका लागि लागु गरिएको छ। अमेरिकी सरकारले निजी बिमा कम्पनीको माध्यमबाट लाखौं मानिसलाई घरमै बसेर कोरोनाभाइरसको निस्शुल्क परीक्षण गर्ने व्यवस्था गर्न खोज्दैछ।

    बिमा गरेका मानिसहरू बाहेकका हकमा भने स्वास्थ्य केन्द्र र ग्रामीण क्षेत्रमा रहेका क्लिनिकमार्फत् त्यस्तो सुविधा दिइनेछ। प्रशासनको योजना अन्तर्गत हिउँद महिनामा वयस्क मानिसहरूलाई बुस्टर खोप लगाउन प्रोत्साहन गरिने भन्ने समेत रहेको छ । चार करोडभन्दा बढी अमेरिकीहरूले बुस्टर खोप पाइसकेका छन्। तर बाइडनले भने १० करोड थप मानिस बुस्टरका लागि योग्य भएको तर उनीहरूले लिन बाँकी रहेको बताए ।

    बालबालिका र किशोरकिशोरीमाझ खोप लगाउने दर बढाउने प्रयास स्वरुप देशैभरि सयौँ परिवार खोप क्लिनिकहरूको व्यवस्था गरिनेछ। अमेरिकासहित थुप्रै अन्य देशहरूले आठवटा दक्षिण अफ्रिकी देशहरूमाथि यात्रा प्रतिबन्ध लगाएका छन्।

  • २८ मंसिरबाट एमआरपी वितरण बन्द, अनिवार्य इ-पासपोर्ट

    २८ मंसिरबाट एमआरपी वितरण बन्द, अनिवार्य इ-पासपोर्ट

    काठमाडौं । सरकारले आगामी मंसिर २८ गतेबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण बन्द गर्ने भएको छ । अब राहदानी विभागबाट अनिवार्य रुपमा ई-पासपोर्ट वितरण गरिने विभागले जनाएको छ । विभागले नारायणहिटीबाट एमआरपी वितरण गरिरहेकोमा टोकन दिन बन्द गरेको जनाएको छ । २८ गतेबाट सेवाग्राहीलाई त्रिपुरेश्वरस्थित नयाँ भवनबाट ई-पासपोर्ट मात्रै वितरण गरिने भएको हो ।

    अनलाइन आवेदनबाट बुक गरेको समयमा सेवाग्राही बायोट्रिक दिन त्रिपुरेश्वरस्थित कार्यालयमा जानुपर्छ । ईपासपोर्ट वितरण थालेपनि एमआरपी जारी गर्न भने विभागले बन्द गरेको छैन । एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले केही दिन दुवै खालका पासपोर्ट वितरण गरिरहेको बताएको हो ।

    अब विभागको मुख्य कार्यालयबाट ईपासपोर्ट मात्रै वितरण गरिने भएको हो । ‘विदेशस्थित कुटनीतिक नियोगबाट भरिसकेका फारमहरु अनुसार एमआरापी नै छपाइ भएर वितरण हुनेछ । विभागका अनुसार अहिलेसम्म विभागले ७१ लाख १० हजार एमआरपी वितरण गरिएका छन् । जसमा करिब एक लाख एमआरपी बुक मौज्दात छ । अर्को साताबाट काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी ईपासपोर्ट वितरण हुनेछ ।

    ई-पासपोर्ट बनाउनेले राष्ट्रिय परिचयपत्र वा त्यसको भेरिफाइड नम्बर अनिवार्य भर्नुपर्नेछ । जिल्ला प्रशासन कार्यलयहरुबाट तत्कालै राष्ट्रिय परिचयपत्र नपाए पनि जिल्ला प्राशसन कार्यालयमा आवेदन भरेपछि पाइने परिचयपत्र नम्बर पासपोर्टमा अनिवार्य गरिएको छ ।

    ३४ पृष्ठको राहदानी जिल्ला प्रशासन कार्यालयबाट बनाउँदा ५ हजार रुपैयाँ दस्तुर लाग्नेछ । तर, ६६ पृष्ठको बनाउन चाहे १० हजार रुपैयाँ दस्तुर तोकिएको छ । राहदानी विभागबाट दुई दिने सेवा अवधि बुक गरेर पासपोर्ट बनाउँदा ३४ पृष्ठको दस्तुर १२ हजार र ६६ पृष्ठको रहादानीको दस्तुर २० हजार तोकिएको छ ।

    राहदानी हराएको, केरमेट भएको, पाना च्यातिएको वा अन्य कारणले राहदानी प्रयोग गर्न नसक्ने भएर नयाँ बनाउनुपर्दा तोकिएको शुल्कमा थप ५ हजार रुपैयाँ दस्तुर लाग्नेछ । नियोगहरुमार्फत राहदानी बनाउँदा लाग्ने शुल्क भने क्षेत्र तथा क्षेत्रअनुसार फरक फरक तोकिएको छ ।

  • भारतमा पनि पुष्टी भयो ओमिक्रोन भेरियन्ट

    भारतमा पनि पुष्टी भयो ओमिक्रोन भेरियन्ट

    काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा समेत ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टी भएको भारतीय संचारमाँध्यमले जनाएका छन् । ६६ र ४६ वर्षका ती दुई पुरुषलाई अहिले निगरानीमा राखिएको बीबीसीले जनाएको छ । भारतमा पहिलो पटक कोरोनाभाइरसको यो नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको हो। सङ्क्रमित व्यक्ति दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन्। उनीहरूमा सामान्य लक्षण मात्र देखिएको छ।

    विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका कारण सङ्क्रमण हुन सक्ने उच्च जोखिम रहेको बताएको छ । भारतको राजधानी दिल्लीमा कोभिड पुष्टि भएका छ जना र महाराष्ट्रमा सङ्कलित थप छ जनाको नमुना ओमिक्रोनबाट सङ्क्रमण भएको हो कि हैन छुट्ट्याउन जीन सीक्वन्सिङ गर्न पठाइएको छ । भारतले बुधवारदेखि लागु हुनेगरी उच्च जोखिम भएका देश यूके, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बङ्ग्लादेश, हङ्‌कङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गरेको छ।

  • राष्ट्रपतिबाट २८ मंसिरमा संसद बैठक आह्वान

    राष्ट्रपतिबाट २८ मंसिरमा संसद बैठक आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले २८ मङ्सिरमा संसद् बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संसद बैठक आह्वान भएको हो । यो दिन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बजेट अधिवेशन सँगै संसद बैठक अन्त्य भएको थियो । अब संसदको हिँउदे अधिवेशन आह्वान भएको हो ।

  • रेखा थापा बनिन् राप्रपाको लिङ्देन समूहबाट महामन्त्रीको उमेदवार

    रेखा थापा बनिन् राप्रपाको लिङ्देन समूहबाट महामन्त्रीको उमेदवार

    काठमाडौं । कलाकार रेखा थापा राप्रपाको पूर्णकालिन राजनीतिमा होमिएकी छिन् । उनी राप्रपा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन समूहको प्यानलमा महामन्त्रीको उमेदवार बनेकी हुन् । बिहीबार साँझ लिङ्देन पक्षले उपाध्यक्ष र महामन्त्रीसहितको प्यानल घोषणा गरेको छ । लिङ्देन समूहबाट विक्रम पाण्डे उपाध्यक्षका उम्मेदवार बनेका छन् ।

    चार उपाध्यक्षमा पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठलाई उम्मेदवार बनाइएको छ । तीन महामन्त्रीका लागि धवलशमशेर राणा, श्याम तिमिल्सिना र रेखा थापालाई उम्मेदवार बनेका छन् । अध्यक्ष पदमा कमल थापा र लिङ्देनबीच भिडन्त हुँदैछ ।

  • एक महिनामा अमेरिकाबाट भित्रिए ३ हजार ७८२ जना पर्यटक

    एक महिनामा अमेरिकाबाट भित्रिए ३ हजार ७८२ जना पर्यटक

    काठमाडौं । नेपालमा एक महिनाको अवधिमा अमेरिकाबाट ३ हजार ७८२ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोरोना महामारीको प्रभाव कम भएको र नेपालमा यात्रा प्रतिबन्ध खुकुलो बन्दै जाँदा नोभेम्बरमा सन् २०२१ यताकै सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । यसमध्ये अमेरिकाबाट मात्र ३ हजार ७८२ जना नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोडर्ढले जनाएको छ । नेपालमा सबैभन्दा बढी आगमन भने भारतीय पर्यटकको छ ।

    त्यसपछि तेस्रो स्थानमा बेलायतबाट बढी पर्यटक नेपाल आएको तथ्यांक छ । नोभेम्बर २०२१ को एक महिनामा कुल २६ हजार १३५ जना विदेशी पर्यटक नेपाल आएका छन् । यसमा १० हजार ४२१ जना भारतीय छन् । बेलायतबाट २ हजार २६ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    बंगलादेशबाट १,३८२ र फ्रान्सबाट ८०८ जना नेपाल आएको बोर्डले जनाएको छ । यो वर्ष अप्रिलमा २२ हजार ४५० पर्यटक आएका थिए । ११ महिना (जनवरीदेखि नोभेम्बरसम्म)मा १ लाख २६ हजार २८३ पर्यटक नेपाल आएका छन् । नेपालमा सन् २०२१ को ११ औं महिनासम्म मात्र १ लाख २६ हजार २८३ जना पर्यटक नेपाल आएका छन् ।

  • हङकङसहित ९ मुलुकबाट नेपाल आउन रोक

    हङकङसहित ९ मुलुकबाट नेपाल आउन रोक

    काठमाडौं । हङकङसहित ९ मुलुकबाट आउने यात्रुलाई नेपाल सरकारले प्रतिवन्ध लगाएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

    यो निर्णय शुक्रबारबाटै कार्यान्वयनमा आएको छ । तर, अहिले ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

    ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो । संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा समेत नदिने निर्णय भएको छ । यसअघि सरकारले अफ्रिकी मुलुकका नागरिकलाई मात्र नेपाल आउन रोक लगाएको थियो ।

  • नेपालमा थप ३१५ जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

    नेपालमा थप ३१५ जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५११ जनाको पीसीआर परीक्षण गर्दा २९८ जना र १८९२ जनाको एन्टिजेन परीक्षण गर्दा १७ गरी ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २१ हजार ९४९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २०२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३ हजार ३६९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ४५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ ।

  • राप्रपा अध्यक्षको उम्मेदवारी शुल्क १ लाख, अन्य पदमा कति ?

    राप्रपा अध्यक्षको उम्मेदवारी शुल्क १ लाख, अन्य पदमा कति ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षको उम्मेदवारी शुल्क एक लाख रुपैँया तोकिएको छ । राप्रपा केन्द्रीय निर्वाचन समितिले तय गरेको निर्वाचन कार्यतालिका अनुसार अध्यक्षको उम्मेदवार बन्न १ लाख शुल्क तोकेको हो ।

    त्यस्तै केन्द्रीय उपाध्यक्ष पदको उमेदवार बन्न ७५ हजार तोकिएको छ । केन्द्रीय महामन्त्री पदको लागि ५० हजार, केन्द्रीय सदस्यको लागि १५ हजार तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । राप्रपाको महाधिवेशन काठमाण्डुको भृकुटीमण्डपमा जारी छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशन अन्तर्गत बन्दसत्रमा आर्थिक कार्यपत्र प्रस्तुत गरिएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पार्टीको जारी महाधिवेशनमा आर्थिक कार्यपत्र प्रस्तुत गरेका हुन् ।

    कार्यपत्रमा राप्रपाले आउँदो १५ वर्ष भित्र नेपालको प्रति व्यक्ति आम्दानी ३००० डलर पुर्‍याउनु हाम्रो बृहत् आर्थिक लक्ष्य हुने जनाएको छ ।

    यसको लागि कृषिको वृद्धिदर सालाखाला ४.५ र गैर–कृषि क्षेत्रको वृद्धिदर ८ देखि ९ प्रतिशत कायम गरिने कार्यपत्रमा उल्लेख छ ।

    कार्यपत्रमा नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालको अर्थ राजनीति र नेपालको विशिष्टताबारे गरेको चिन्तन २१ औँ शताब्दीमा निरन्तरतासहितको गतिशीलता कायम गर्दै अगाडी बढ्न उपयुक्त हुन्छ भन्ने ठहर गरिएको छ ।

    वर्तमान सन्दर्भमा निरन्तरतासहितको गतिशीलता आर्थत् संवर्द्धनवाद भएको बताउँदै यस दृष्टिकोणलाई ‘पृथ्वीपथ’ नाम दिइएको छ ।

  • नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार ३ अर्ब ४१ करोडमा सिमित

    नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार ३ अर्ब ४१ करोडमा सिमित

    काठमाडौं । साताको कारोबारको अन्तिम दिन शेयर बजारमा पहिरो गएको छ । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.४ अंकले घटेर २५८४.६१ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३१ कम्पनीको ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँ बराबरको ७९ लाख ३२ हजार ७३१ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहकै परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्स र विकास बैकका लगानीकर्ता रहेका छन् ।

    बैंकिङ समूहको शेयर १७ अङ्कले, विकास बैंकको एक सय ८९, होटलको ६२, फाइनान्सको ९३, माइक्रोफाइनान्सको ८४ र जलविद्युत् समूहको शेयर ६६ अङ्कले घटेको छ ।

    यस्तै उत्पादन समूहको शेयर एक सय ५९ अङ्कले, जीवन बीमा समूहको २३० अङ्कले, निर्जीवन बीमा समूहको २४५ र अन्य समूहको शेयर ७५ अङ्कले घटेको छ ।

    घट्दो बजारमा पनि आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    न्यादी हाइड्रोपावर र सामलिङ पावर कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । यसैगरी, महिला लघुवित्तको ८.५० प्रतिशत प्रतिशतले बढेको छ ।

    आज महालक्ष्मी विकास बैकको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

    यस्तै, हिमालयन डिस्ट्रीलरी ११ करोड र नेशनल हाइड्रोपावरको १० करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

    आज कर्पोरेट विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

  • प्रधानन्यायाधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न गठबन्धनको सुझाव

    प्रधानन्यायाधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न गठबन्धनको सुझाव

    काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले कोभिड-१९ सङ्क्रमण भई उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन्।

    प्रधानन्यायाधीश जबरालाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ। उनको सशस्त्र प्रहरी अस्पतालमा उपचार चलिरहेको छ।

    बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर अदालतको काम–कारबाही अघि बढाउन सुझाव दिएका हुन्।

    “प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको काम–कारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ,” सञ्‍चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरू सहभागी थिए।

  • आज विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

    आज विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । नेपालको विभिन्न स्थानमा आज मौसम बद्ली हुने भएको छ । जसले गर्दा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

    महाशाखाको मौसम सम्बन्धी विशेष बुलेटिन अनुसार आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्नेछ । हिमाली जिल्लामा भारी हिमपातको सम्भावना छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । यस्तै यी प्रदेशका हिमाली जिल्लामा मध्यमदेखि भारी हिमपात हुनेछ । यस्तै, राति पनि वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    भेलि पनि मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । पर्सिदेखि भने मौसम केही खुल्ने अनुमान गरिएको छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर बन्दै जाने भएकाले पर्सि मौसम केही खुल्ने अनुमान गरिएको हो । हिमाली जिल्लामा भारी हिमपातको सम्भावना रहेकाले सकेसम्म पर्वतारोहणमा नजान मौसमविद्को सुझाव छ ।

  • नयाँ भेरियन्टपछि दक्षिण अफ्रिकामा ह्वात्तै बढ्यो संक्रमण, अमेरिकामा पनि पुष्टी

    नयाँ भेरियन्टपछि दक्षिण अफ्रिकामा ह्वात्तै बढ्यो संक्रमण, अमेरिकामा पनि पुष्टी

    काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टी भएसँगै दक्षिण अफ्रिकामा कोरोनाभाइरसको सङ्क्रमणमा तीव्र वृद्धि भएको छ। सोमवारयतामात्रै देशभरि सङ्क्रमितको सङख्या दोबरले बढेको बीबीसीले लखेको छ । स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले सङ्क्रमण यसरी तीव्र रूपमा वृद्धि गरेको हुनसक्ने बताएका छन्। यद्यपि त्यसकै कारण कति बढेको छ भन्ने पुष्टी भइसकेको छैन ।

    विगत २४ घन्टामा मात्रै आठ हजार पाँच सय नयाँ सङक्रमित पुष्टी भएको छ । अत्यधिक उत्परिवर्तित भनिएको यो नयाँ भेरियन्ट सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको गत साता घोषणा गरिएको थियो। उता, अमेरिकामा पनि दक्षिण अफ्रिकाबाट फर्किएका एकजनामा ओमिक्रोनको पहिलो सङ्क्रमण देखिएको छ। ओमिक्रोन कति सङ्क्रामक छ र अहिले उपलब्ध खोप त्यसका लागि कति प्रभावकारी छ जस्ता थुप्रै विषयबारे अध्ययन भइरहेको छ।

    उता, नाइजेरियामा पनि ओमिक्रोन भेरियन्ट देखिएको छ। नाइजेरियन सेन्टर फर डिजिज कन्ट्रोलले गत साता दक्षिण अफ्रिकाबाट नाइजेरिया आएका यात्रुहरूमा उक्त भेरिअन्ट पत्ता लागेको जनाएको छ। यो साताको सुरुमा, क्यानडा सरकारले समेत नाइजेरियाबाट आएका दुई यात्रुमा ओमिक्रोन भेरियन्ट पत्ता लागेको जनाएको थियो।

  • राप्रपामा निर्वाचन प्रक्रिया थालिँदै, कसले मार्ला बाजी ?

    राप्रपामा निर्वाचन प्रक्रिया थालिँदै, कसले मार्ला बाजी ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आजबाट चुनावी प्रक्रिया थालिँदैछ । अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देन उठेका छन् । एकता महाधिवेशन नाम दिइएको राप्रपाको महाधिवेशन बुधबारबाट भृकुटीमण्डपमा शुरु भएको हो । भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र बुधबार नै सुरु भइसकेको छ ।

    डा. प्रकाशचन्द्र लोहनी, पद्मसुन्दर लावतीलगायत नेताहरू लिङ्देनको पक्षमा छन् । राप्रपामा अध्यक्षको उम्मेदवारी घोषणा भए पनि त्यसपछिका पदाधिकारीबारे भने अझै टुंगो लागेको छैन। निर्वाचन समितिको कार्यतालिका अनुसार बिहीबार सवा ९ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ। उम्मेदवारको प्रथम नामावली दिउँसो २ बजे प्रकाशित गरिने छ।

    उम्मेदवारीमाथि दाबी विरोध र फिर्ताको समय दिउँसो साढे दुई बजेसम्म तोकिएको छ। अपराह्न ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि बिहीबारको कार्यक्रम सम्पन्न हुने कार्यक्रम छ । शुक्रबार बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुने छ ।

  • आजबाट कांग्रेसको प्रदेश अधिवेशन

    आजबाट कांग्रेसको प्रदेश अधिवेशन

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन कार्यतालीका अन्तर्गत आजबाट प्रदेश अधिवेशन हुने भएको छ । बिहीबार प्रदेश २ बाहेक बाँकी सबै प्रदेशमा अधिवेशन उद्घाटन हुनेछ । प्रदेश २ मा भने सर्लाही जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन नसकेका कारण आज अधिवेशन शुरु हुने छैन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सात वटै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्नेछन् ।

    प्रदेश एकको अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेश अधिवेशन हेटौंडा, गण्डकीको कर्णाली, लुम्बिनी अधिवेशन भैरहवा, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने छ । कांग्रेसमा पहिलो पटक प्रदेश कमिटी बन्न लागेको छ ।

  • नाइजेरियामा डुंगा पल्टियो, स्कुले बालबालिकासहित २९ को मृत्यु

    नाइजेरियामा डुंगा पल्टियो, स्कुले बालबालिकासहित २९ को मृत्यु

    काठमाडौं । नाइजेरियामा डुंगा पल्टिएपछि भएको दुर्घटनामा २९ जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा डुङ्गा पल्टँदा बालबालिका सहित कम्तिमा २९ जनाको मृत्यु भएको बीबीसीले लेखेको छ । मृत्यु हुनेमा धेरैजसो ६ देखि १२ वर्षका बालबालिका छन् । उनीहरु एक इस्लामिक विद्यालयका बालबालिका हुन् । उनीहरू एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गरिरहेका े समाचारमा उल्लेख छ ।

    प्रहरीले उद्धार कार्य जारी रहेको जनाएको छ। जिवितै उद्धार गरिएका सात जनालाई अस्पताल पुर्याइएको छ। घटनाको कारण स्पष्ट भइसकेको छैन। विगतमा भएका यस्ता दुर्घटनाका कारक क्षमता भन्दा बढी यात्रु राखिनु र आवश्यकता अनुसार डुङ्गाको मर्मतसम्भार हुन नसक्नु रहेको बताइएको छ।

    दुर्घटनाग्रस्त डुङ्गामा ५० भन्दा बढी यात्रु सवार रहेका समेत उल्लेख छ । दुई हप्ता अघि छिमेकी जीगावा राज्यमा एउटा डुङ्गा पल्टँदा कम्तिमा सात महिलाको मृत्यु भएको थियो। मे महिनामा भएको त्यस्तै घटनामा केब्बी राज्यमा १०० भन्दा बढी यात्रुको मृत्यु भएको थियो।

  • भारतले १५ डिसेम्बरबाट खोल्ने भनेको हवाई उडान ओमिक्रोन भेरियन्टका कारण स्थगित

    भारतले १५ डिसेम्बरबाट खोल्ने भनेको हवाई उडान ओमिक्रोन भेरियन्टका कारण स्थगित

    काठमाडौं । भारतले डिसेम्बर १५ बाट खोल्ने भनेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः स्थगित भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि भारतले यस्तो निर्णय गरेको हो । जसले गर्दा नेपाल एयरलाइन्सले भारतीय शहरमा गर्ने भनेको उडान समेत प्रभावित बनेको छ ।

    भारतीय नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै ओमिक्रोनबाट उत्पन्न पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको र भारतबाट वा यसतर्फ हुने अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने मितिबारे उपयुक्त समयमा जानकारी गराइने उल्लेख गरेको छ ।

  • नेपालमा थप ३१६ जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन

    नेपालमा थप ३१६ जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९१९ जनाको पीसीआर परीक्षण गर्दा २८५ जना र १८०८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१ गरी ३१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २१ हजार ६५१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २५९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३ हजार १६८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार ९५४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ ।

  • एयरपोर्ट गेटदेखि टर्मिनलसम्म निःशुल्क सवारी सेवा, विदेशिने श्रमिकलाई छुट्टै विश्राम कक्ष

    एयरपोर्ट गेटदेखि टर्मिनलसम्म निःशुल्क सवारी सेवा, विदेशिने श्रमिकलाई छुट्टै विश्राम कक्ष

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम निःशुल्क सटल बससेवा सुरु गरिएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र विश्रामकक्षको समेत व्यवस्था गरेको छ ।

    सटल बस र विश्रामकक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले आज शुभारम्भ गरे। टर्मिनल भवनदेखि नै ट्याक्सी प्रयोग गर्दा महँगो भाडा तिर्नुपर्ने यात्रुको गुनासोलाई मध्येनजर गर्दै प्राधिकरणले गोल्डेन गेटसम्म तत्कालका लागि तीन वटा निःशुल्क सटल बसको व्यवस्था गरेको हो ।

    सवारी सुरु भएसँगै गोल्डेन गेटबाट पैदल यात्रा गरि टर्मिनल पुग्नुपर्ने यात्रुले सवारीसाधन प्रयोग गर्न सक्नेछन्। साथै विमानस्थलबाट बाहिर निस्किएपछि समेत यात्रुले यी बसबाट निःशुल्क गोल्डेन गेटसम्म झरेर यहाँबाट सार्वजनिक यातायात चढेर गन्तव्यसम्म जान सक्नेछन्।

    सो सटल बस बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन् । त्यसैगरी वैदेशिक रोजगारीमा जाने यात्रु टर्मिनल भवन बाहिरै उभिनुपर्ने समस्या देखिएपछि ४० यात्रु बस्न मिल्ने विश्रामकक्षको व्यवस्था गरिएको छ ।

    सो विश्राम कक्षमा मोबाइल चार्जिङ प्वाइन्ट, वाईफाई, कुर्सी, तातो/चिसो खानेपानी, टिभी, टेलिफोन र उडानबारे थाहा पाउने डिजिटल डिस्प्ले बोर्ड राखिएको छ ।

  • ओमिक्रोन भेरियन्टको प्रभाव : विदेश यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    ओमिक्रोन भेरियन्टको प्रभाव : विदेश यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश भ्रमणमा नजान सबैलाई आग्रह गरेको छ ।

    स्वास्थ्य मन्त्रालयले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड १९ को ओमक्रोन भेरियन्ट संक्रमणको जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहके विदेश भम्रण नगर्न सबैलाई अपिल गरेको हो।

    हालसम्म उक्त भेरियन्ट नेपालमा फेला नपरेको तर, आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो पारिएको मन्त्रालयले प्रष्ट पारेको छ ।

    ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न हुन आग्रह गरिएको हो ।

    केही दिनअघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरिएन्ट (सार्स कोभ-२ भेरियएन्ट ओमिक्रोन) (बी.१.१.५२९) विश्वका अन्य मुलुकमा पनि तीव्ररुपमा फैलिरहेको छ।

    यो भेरियन्ट बढी संक्रमण तथा सबै उमेर समूहका व्यक्तिहरूमा असर पर्ने देखिएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    यसको संक्रमण रोक्न सबै जना सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्नसमेत सबैमा अनुरोध गरिएको छ । कोभिड–१९ विरुद्धको खोपले कोरोनाबाट बचाउन मदत गर्ने र पायक पर्ने ठाउँमा गएर खोप लगाउनसमेत सबैमा अनुरोध गरिएको छ

  • राप्रपाको महाधिवेशन आजबाट, नयाँ नेतृत्व छानिने

    राप्रपाको महाधिवेशन आजबाट, नयाँ नेतृत्व छानिने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन आजबाट काठमाडौंमा हुँदैछ । कमल थापा, पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वले नेतृत्व गरेका तीन वटा घटकबीचको एकीकरण पछि पहिलो पटक महाधिवेशन हुन लागेको हो । महाधिवेशनले आगामी नेतृत्व चयन गर्नेछ । महाधिवेशनबाट राप्रपाको नयाँ नेतृत्व चयन गर्न करीव ४ हजार प्रतिनिधि काठमाडौं आएका छन् ।

    महाधिवेशन १७ गतेसम्म चल्नेछ । राप्रपामा १९९ सदस्यीय कार्य समिति रहेको छ । अध्यक्षसहित १४७ जना प्रत्यक्ष निर्वाचित र २५ प्रतिशत अर्थात् ५२ जना निर्वाचित कार्य समितिले मनोनित गर्ने प्रवाधान छ । राप्रपाको नेतृत्वमा यस पटक राजेन्द्रप्रसाद लिङ्देन र कमल थापा उठ्दैछन् ।

  • धेरै नेपाली रहेका जापान र दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

    धेरै नेपाली रहेका जापान र दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

    काठमाडौं । नेपाली नागरिक बढी संख्यामा रहेका दुई मुलुक जापान र दक्षिण कोरियामा समेत कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टी भएको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टी भएको हो । कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेश गरेपछि परीक्षणमा ओमिक्रोन पुष्टी भएको हो ।

    खोपको दुवै मात्रा पूरा गरेकाहरूका लागि समेत यो भेरियन्ट उत्तिकै खतरनाक हुने बताइएको छ । कोरियाले शनिबारदेखि लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बाबे, नामिबिया, लसोथो, मोजाम्विक, मालावीलगायतबाट हवाई उडानसहित आवागमनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । उता, जापानमा मंगलबार मात्र नयाँ भेरियन्ट पुष्टी भएको छ । जापानले हवाई उडानमा प्रतिवन्ध लगाएको छ । यसले नेपालबाट समेत आवागमन प्रभावित बनेको छ ।

  • सर्वोच्चमा आजबाट गोलाप्रथाबाट पेसी तोकिने, प्रन्याको अधिकार कटौती

    सर्वोच्चमा आजबाट गोलाप्रथाबाट पेसी तोकिने, प्रन्याको अधिकार कटौती

    काठमाडौं । सर्वोच्च अदालतमा आजबाट गोला प्रथाबाट न्यायाधिशहरुको पेशी तोकिने भएको छ । विहान १० बजे सबै न्यायाधीश भेला हुने र गोटी तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात हुने गरि प्रक्रिया बनाइएको छ । यसअघि प्रधानन्यायाधीयको तजविजी अधिकारको आधारमा पेशी तोक्ने प्रचलन रहेको थियो । बुधबारदेखि शुरु हुने नयाँ पेसी व्यवस्थापन प्रक्रियासँगै इजलासमा न्यायाधीश छान्ने र इजलासमा मुद्दा तोक्ने प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती भएको हो ।

    अदालतहरूमा पेसी तोक्ने सम्बन्धमा भइरहेको कानूनी व्यवस्थामा संशोधन गरी स्वचालित पेसी सूची प्रणाली लागू गर्नुपर्ने र स्वचालित पेसी सूची प्रणाली लागू नहुँदासम्म अदालतहरूमा गोलाप्रथा’द्वारा पेसी व्यवस्थापन गर्न लामो समयदेखि माग समेत उठेको थियो । २०७८ साउन २४ गते सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गर्ने निर्णय समेत गरेको थियो ।