Category: फिचर

  • एमालेमा पदाधिकारी र सदस्य छान्ने अधिकार ओलीलाइ, रावलले नमान्ने

    एमालेमा पदाधिकारी र सदस्य छान्ने अधिकार ओलीलाइ, रावलले नमान्ने

    चितवन । नेकपा एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य छान्ने विशेषाधिकार अध्यक्ष केपी शर्मा ओलीले पाएका छन् । उनलाई बन्दसत्रले यस्तो अधिकार दिएको हो । शनिबार सौराहामा शुरु एमालेको १० औं महाधिवेशनको बन्दसत्रमा नेता विष्णु पौडेलले यस्तो प्रस्ताव राखे । उनको प्रस्तावमा बहुमत सदस्यले ताली बजाएर समर्थन गरे ।

    तर, यो निर्णय नेकपा एमालेका नेता भीम रावलले भने नमान्ने भएका छन् । उनले आफूले अध्यक्षमा उम्मेदवारी दिने अडान कायम राखेका छन् । अन्य पदाधिकारीमा सर्वसम्मत बनाउन प्रयासरत ओली आफ्नै पदमा भने चुनाव लड्नु पर्ने तनावमा छन् । उमेदवारी दर्ता आइतबार हुने छ ।

  • सरकारले अवैधानिक भनेपछि एनआरएनएको आधिकारिक धारणा : संरक्षक परिषदको सक्रियता चाहिन्न

    सरकारले अवैधानिक भनेपछि एनआरएनएको आधिकारिक धारणा : संरक्षक परिषदको सक्रियता चाहिन्न

    काठमाडौं । सरकारले १५ डिसेम्बरका लागि तोकेको निर्वाचन स्थगित गरि संरक्षक परिषदलाई निर्वाचन गराउन जिम्मा दिएको सम्बन्धमा गैर आवासीय नेपाली संघले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेकोछ । सरकारले भनेजस्तै वर्तमान कार्यसमिति अवैधानिक नभएको समेत संघका अध्यक्ष कुमार पन्तद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । सरकारले भने संरक्षक परिषदले निर्वाचन गराउने भन्दै डिसेम्बरसम्मको समय दिएको छ । तर, संघले संरक्षक परिषदको सक्रियता नचाहिने बताएको छ । यस्तो छ पन्तद्धारा जारी विज्ञप्ती:

    गत अक्टोबरमा सम्पन्न हुनु पर्ने गैरआवासीय नेपाली संघको १०औ अन्तर्राष्ट्रिय महाधिवेशन परराष्ट्र मन्त्रालयले रोकेको विदितै छ । महाधिवेशनका सम्बन्धमा परराष्ट्र मन्त्रलायबाट मिति २०२१ नोभेम्बर २२ तारिखमा प्राप्त पत्रका सम्बन्धमा गैरआवासीय नेपाली संघको आधिकारिक धाराणा यस प्रकार रहेको छ ।


    १. संघको विधानको धारा १३.२ अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अन्तर्राष्ट्रिय महाधिवेशन बढिमा ६ महिना सार्न वा स्थगित गर्न सक्ने व्यवस्था गरेकोछ । उक्त स्थगित अवधिमा वर्तमान कार्यसमितिले संघको गतिविधि सञ्चालन गर्ने प्रचलित व्यवस्था अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद्को मिति २०२१ अक्टोबर १६ मा बसेको ८० बैठकले अन्तर्राष्ट्रिय समन्वय परिषद्को अवधि बढिमा ६ महिना थप गर्ने निर्णय गरेको छ । उक्त निर्णयको जानकारी परराष्ट्रलाई तत्काल जानकारी गराएको थियो ।
    २. १०औ अन्तर्राष्ट्रिय महाधिवेशन र २०२१\२०२३ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् पदाधिकारीको निर्वाचनको अन्तिम तयार भइसकेको छ । ६५ वटा राष्ट्रिय समन्वय परिषदहरुले आ–आफ्नो अधिवेशन सम्पन्न गरी अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको छनोट गरी काठमाडौँस्थित सचिवालयमा नामावली पेश गरि सकेका छन् । साथै, २०२१\२०२३ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य समेत निर्वाचित गरि सकेका छन् । निर्वाचन समिति गठन भइ डिसेम्बर १५ तारिखमा अनलाइन मार्फत निर्वाचन र महाधिवेशन डिसेम्बर १९\२० मा भौतिकरुपमा काठमाडौमा हुने तयारी रहेकोछ ।

    संघको आर्थिक र वार्षिक प्रतिवेदन राष्ट्रिय समन्वय परिषद् मार्फत प्रतिनिधिहरु समक्ष पेश गरि सकिएको छ । निर्वाचन समिति गठन भइ सकेको र निर्वाचनका सम्पूर्ण तयारी भइ सकेकोले निर्वाचनका लागि संरक्षक परिषदको सकृयताको आवश्यक रहेको छैन ।


    ३. विधानको धारा १३.७ ग वमोजिम चयन हुने ६५५ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट बारे मन्त्रालयको अनुरोधलाई संघले अस्विकार गर्दछ । किनभने विधानको अनुसूची ६,क मा ‘प्राथमिकता सूचीमा रहेका व्यक्तिहरुले अर्थात ६५५ प्रतिनिधिमा छनोट हुन चाहाने व्यक्तिहरुले राष्ट्रिय समन्वय परिषद्को निर्वाचन पूर्व तोकिएको प्रणालीमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ’ भन्ने उल्लेख गरिएको छ । यस छनोट प्रक्रियाको समय नयाँ कार्यसमिति बनि सकेको हुदैन । त्यसैले ६५५ प्रतिनिधिको छनोट पुरानो कार्यसमितिले नै गर्नुपर्छ ।

    यसको पुष्टि संघको विधान व्यख्या समितिले समेत गरेकोछ । विधानको धारा ३१ अनुसार विधानको व्याख्या गर्ने अधिकार संघको विधान समितिलाई रहेको छ र उक्त समितिको व्यख्या अन्तिम मानिनेछ ‍। तसर्थ, मन्त्रालयले अनुरोध गरे अनुसार नयाँ राष्ट्रिय समन्वय परिषद्ले छानेका प्रतिनिधिहरु विधान संवत हुने छैन । साथै, यस भन्दा पहिलेको विधानमा ६५५ प्रतिनिधिको व्यवस्था नभएकोले मन्त्रालयले उल्लेख गरेको ‘प्रचलित अभ्यास’ को कुनै अर्थ नरहने हाम्रो ठम्याई छ ।


    ४. अहिले देखिएको विवादको मुख्य कारण केही राष्ट्रिय समन्वय परिषद्हरुले पठाएका २५५ महाधिवेशन प्रतिनिधि हुन । विधानको धारा १३।७।४ ९क० अनुसार २५५ प्रतिनिधिहरु महाधिवेशनबाट निर्वाचित गरेर पठाउनुको सट्टा आँफु खुशी पठाएका कारणले संघले त्यस्ता प्रतिनिधिबारे पुनर्विचार गर्न राष्ट्रिय समन्वय परिषदलाई अनुरोध गरेको थियो । २५५ प्रतिनिधिका सम्बन्धमा परराष्ट्र मन्त्रालय र सर्वोच्च अदालतमा मुद्दा परेको छ र सर्वोच्च अदालतले संघ र परराष्ट्रलाई विपक्षी बनाइ कारण देखाउ आदेश जारी गरेको छ । २५५ प्रतिनिधिका सम्बन्धमा छुट्टै उजुरी मन्त्रालयमा परेको छ । तर सर्वोच्चले समेत प्रश्न उठाएको र उजुरी परेका २५५ प्रतिनिधिका सम्बन्धमा मन्त्रालयले मौन रहनु तर विधान सम्मत आएका प्रतिनिधिका बारे पटक पटक प्रश्न उठाउनुले मन्त्रालयको उद्देश्य माथि प्रश्न उठाउने ठाउँ रहेको छ ।


    ५. मन्त्रालयको यस अगाडिको पत्रमा विधार्थीहरु सदस्य बनेको र जुलाई १-३१ सम्म निर्वाचन नभएका राष्ट्रिय समन्वय परिषदको वैधता माथि प्रश्न गरिएको थियो । तर मन्त्रालयको अन्तिम पत्रमा भने यस बारे केही उल्लेख छैन । यी दुई विषयहरुलाई कार्वान्यन नगर्दा कुनै एक पक्षलाई निर्वाचनमा सहज हुने आकलन गरिएको छ । तसर्थ, यी दुइ विषयमा मन्त्रालय मौन रहनुले पनि धेरै प्रश्नहरु उब्जाएको छ ।
    ६० विधानको धारा १६.१.४ मा संरक्षक परिषदको अधिकार उल्लेख गरिएको छ । जस अनुसार संघ निस्कृय रहन गएमा वा संस्था विभाजित हुने अवस्था सृजना भएमा संरक्षक परिषदले अन्तर्राष्ट्रिय समन्वय परिषदलाई बैठक बस्न निर्देशन गर्छ । अहिले संघ न त निस्कृय भएको अवस्थामा छ, न विभाजित हुने अबस्थामा । अतः अहिले संरक्षक परिषदको सकृय हुने अबस्था छैन् । मन्त्रालयले भने झै संरक्षक परिषद मार्फत निर्वाचन गराउने विधानमा कही कतै उल्लेख छैन । विधानको धारा २१ अनुसार निर्वाचन सम्पन्न गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद्ले २०२१ जुलाइमा एक निर्वाचन समिति गठन गरि सकेको छ ।


    ७. विधानको धारा १६ अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद्ले २ वर्षको लागि संरक्षक परिषदको नियुक्ति गर्दछ । मन्त्रालयको पत्रको आसयलाई आधार मान्ने हो भने संरक्षक परिषद्को कार्यअवधि मिति २०२१ अक्टोबर १९ तारिखमा समाप्त भइसकेको भने बुझ्नु पर्ने हुन्छ । साथै, संरक्षक परिषदका बहुमत सदस्यहरुले निर्वाचन प्रकृयामा प्रत्यक्ष सहभागी नहुने जानकारी गराइ सक्नु भएको छ ।


    ८. प्रमुख संरक्षकले मिति २०२१ सेप्टेम्बर २३ मा संरक्षक परिषदलाई सकृय बनाइ कार्यकारी अधिकार संरक्षक परिषद्लाई दिन प्रस्ताव गर्नु भएको थियो । उक्त प्रस्ताव माथी २०२१ सेप्टेम्बर २५ तारिखमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ७९औ बैठकमा छलफल हुदा संरक्षक परिषदलाई सकृय बनाउन आवश्यक नरहेको निर्णय गरेको थियो ।


    ९. केही संरक्षक परिषद् सदस्यहरुले गैरआवासीय नेपालीहरु बिच समन्वयकारी भूमिका खेल्नुको सट्टा एकपक्षिय उम्मेदवारहरुको चुनावी सभामा सहभागी हुने, राष्ट्रिय समन्वय परिषद्हरुलाई विभाजन ल्याउने गतिविधीमा संलग्न हुने, अनधिकृत रुपमा निर्वाचित कार्यसमितिलाई पदच्यूत गरी कार्यकारी अधिकार आफ्नो हातमा लिन खोज्ने, सचिवालयका कर्मचारीहरुलाई अनावश्यक दबाब दिने आदि कार्यमा संलग्न हुनु भएको देखिएको ।

    अतः गैरआवासीय नेपाली बिचको एकता खलबलाउने यस्ता किसिममा गतिविधीमा संलग्न नहुन सचेत गराउँछौ । सिमित व्यक्तिहरुले संघमा धावा बोलेर आफ्नो स्वार्थपुर्ती गर्ने मनसायका कारणले अहिलेको परिस्थिति निम्ताएको हो । हामी बिच एकता कायम रहुन्जेल यस्ता तत्वहरु परास्त हुनेछन् । त्यसैले सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई यस कठिन घडीमा धैर्य रहन आव्हान गर्दछौ ।
    कुमार पन्त
    अध्यक्ष, गैरआवासीय नेपाली संघ

  • रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, बाबु-छोराको निधन

    रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, बाबु-छोराको निधन

    रुपन्देही । रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको निधन भएको छ । प्रहरीका अनुसार ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवारी स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीपको निधन भएको हो ।

    बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । गम्भीर घाइते उनीहरुलाई युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिएको थियो । अस्पतालले मृत घोषणा गरेको छ । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

  • नयाँ भाइरस छिर्न नदिन अष्ट्रेलियाले प्रवेशमा कडाई गर्दै

    नयाँ भाइरस छिर्न नदिन अष्ट्रेलियाले प्रवेशमा कडाई गर्दै

    सिड्नी । दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण आफ्नो मुलुकमा छिर्न नदिनका अष्ट्रेलियाले सीमा नाकामा कडाई गर्ने भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सो मुलुकले नाकाबन्दी गर्न सक्ने उल्लेख गरेको छ । राससका अनुसार अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरुको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा निर्णय गरिने बताएका छन् ।

    सरकारले सीमा क्षेत्रमा प्रतिबन्धात्मक केही नयाँ व्यवस्था गर्न सक्ने समेत उनले जनाएका छन् । उनले नौ दक्षिण अफ्रिकी मुलुकबाट अष्ट्रेलियामा हुने सबै उडान पनि बन्द गर्ने सम्भावना रहेको बताएका छन् । दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोट्सवाना, मालावी, मोजाम्बिकलगायत मुलुकमा नयाँ भाइरस पुष्टी भएको छ ।

  • २१३ जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु

    २१३ जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ९०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ७२५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ३२५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२१ पुगेको छ । यसैगरी देशभर हालसम्म सात हजार १५६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख १५ हजार ४३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • १३९ यात्रु बोकेको जहाजको इन्जिनमा खराबी, नागपुरमा आपतकालिन अवतरण

    १३९ यात्रु बोकेको जहाजको इन्जिनमा खराबी, नागपुरमा आपतकालिन अवतरण

    नागपुर । भारतको बैलौरबाट पटनका लागि उडेको जहाजको इन्जिनमा खराबी आएपछि आपतकालिन अवतरण गर्नु परेको छ । गो एयरको सो जहाजमा १३९ जना यात्रु रहेका थिए । भारतीय संचारमाध्यमहरुका अनुसार शनिवार बिहान सवा ११ बजे नागपुरमा सुरक्षित अवतरण गराइएको छ ।

    समाचार एजेन्सी पीटीआईका अनुसार जहाज पाइलटले नागपुर एटीसीलाई जहाजको इन्जिनमा खराबी आएको सूचना दिएका थिए । त्यसपछि विमानस्थलले आपतकालिन अवतरणको व्यवस्था मिलाएको हो । विमानस्थलमा फुल स्केल इमर्जेन्सी घोषित गरिएको थियो । धावनमार्गको खुला बनाएर दमकल, डाक्टर, एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको थियो । पुलिस र अन्य फौज समेत तयारी अवस्थामा थिए ।

  • कोरोनाको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले दियो ओमिक्रोन नाम, विश्वभर बढाइयो सतर्कता

    कोरोनाको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले दियो ओमिक्रोन नाम, विश्वभर बढाइयो सतर्कता

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरिअन्टलाई भेरिअन्ट अफ कन्सर्न घोषणा गरेको छ । सो भाइरसलाई ओमिक्रोन नाम दिइएको छ। यो भेरिअन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको समाचार छ । बीबीसीका अनुसार प्रारम्भिक प्रमाण अनुसार यो भेरिअन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ। यो भेरिअन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको हो । हालसम्म ‌ओमिक्रोन बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा पुष्टि भएको छ।

    कैयौँ देशहरूले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका वा सीमित पारेका छन्। दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीबाट आउने यात्रुहरूमा उनीहरू यूके वा आयरल्यान्डका नागरिक वा यूकेका वासिन्दा रहेको अवस्था बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ। अमेरिकाले पनि यस्तै खाले व्यवस्था कायम गरेको छ। यी व्यवस्था सोमवारबाट लागु हुने छ। युरोपेली सङ्घ अन्तर्गतका राष्ट्र र स्वीट्जरल्याण्डले पनि अस्थायी रूपमा दक्षिण अफ्रिकी राष्ट्रहरूसँगको हवाई यात्रामा रोक लगाएका छन्।

  • न्यूयोर्कमा बढ्यो कोरोना संक्रमण, डिजास्टर इमर्जेन्सी घोषणा

    न्यूयोर्कमा बढ्यो कोरोना संक्रमण, डिजास्टर इमर्जेन्सी घोषणा

    न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरसको संक्रमण बढेसँगै स्थानीय सरकारले डिजास्टर इमर्जेन्सी घोषणा गरेको छ । स्थिति नियन्त्रणमा लिन न्यूयोर्कमा डिजास्टर इमर्जेन्सी घोषण गरिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । समाचार अनुसार अस्पतालमा भर्ती हुने बिरामीको संख्या बढेको छ ।

    न्यूयोर्कमा पछिल्लो २४ घण्टामा करीव ६ हजार नयाँ संक्रमण पुष्टी भएको छ । यो राज्यमा अहिलेसम्म कोरोनाबाट ५८ हजार मानिसको ज्यान गइसकेको छ । यहाँ अहिलेसम्म २८ लाख मानिसमा कोरोना देखिएको छ । त्यसमध्ये अझै ४ लाख सक्रिय संक्रमित रहेको तथ्यांक छ ।

  • एमालले भागवण्डा मिलाउन पद थप्यो, होला सर्वसम्मत ?

    एमालले भागवण्डा मिलाउन पद थप्यो, होला सर्वसम्मत ?

    काठमाडौं । नेकपा एमालेले पार्टी भित्र भागबण्डा मिलाउन विभिन्न पद थप गरेको छ । शुक्रवार मध्यरात सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित अन्य पदमा संख्या थपेर सर्वसम्मत नेतृत्व चयन गर्न प्रयास गरेको छ । पार्टीको बिधान भन्दा फरक व्यवस्था गर्नु पर्ने भएकाले केन्द्रीय कमिटीले गरेको निर्णय बन्द सत्रमा प्रस्ताव लगेर अनुमोदन गर्ने तयारी रहेको एमाले बताएको छ । केन्द्रीय कमिटिले राती साढे १२ बजे बसेको बैठकले यस्तो निर्ण गरेको हो ।

    एक अध्यक्षसहित सात उपाध्यक्ष जसमा वरिष्ठ उपाध्यक्ष एक छ उपाध्यक्ष हुने गरि विधान परिवर्तन गरिएको छ । एक महासचिव, ३ उपमहासचिव, सात सचिव, केन्द्रीय कमिटी ३०१, पोलिट्ब्युरो ९९, स्थायी कमिटी ४५, पदाधिकारी १९ पुर्‍याउने निर्णय समेत एमालेले गरेको छ । यद्दपी एमालले सर्वसम्मत नेतृत्वको प्रयास गरेपनि नेताहरुले धमाधम उमेदवारी घोषणा गर्ने क्रम भने जारी छ । एमालेको बन्दसत्र आजबाट शुरु हुँदैछ ।

  • आज माओवादी केन्द्रको देशभर पालिका अधिवेशन

    आज माओवादी केन्द्रको देशभर पालिका अधिवेशन

    काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को पालिका आज देशभर हुँदैछ । दिउँसो १ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले देशभरिका अधिवेशनमा भर्चुअल्ली सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ । माओवादी केन्द्रले मंसिर ४ गते देशभरि वडा अधिवेशन गरेको थियो। माओवादी केन्द्रमा सबै स्थानमा सर्वसम्सत नेतृत्व आइरहेको छ ।

    अन्तरिम विधान २०७८ मा पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका केन्द्रीय निकायको निर्वाचन गर्न केन्द्रीय निर्वाचन आयोगको व्यवस्था छ। माओवादीले सदस्यता नवीकरण समेत टुंग्याइसकेको छ । माओवादीको २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुने कार्यक्रम छ । पुस ११ देखि १३ मा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ ।

  • कतार विश्वकपमा पोर्चुगल र इटालीमध्ये एउटा मात्र मुलुक पुग्ने

    कतार विश्वकपमा पोर्चुगल र इटालीमध्ये एउटा मात्र मुलुक पुग्ने

    काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा युरोपेली क्षेत्रको छनोटको प्लेअफमा इटली र पोर्चुगल एकै टीममा परेका छन् । शुक्रबार भएको समूह विभाजनमा युरो विजेता इटाली र पोर्चुगल एकै समूहमा परेसँगै विश्वकपमा एउटा मात्र टीम पुग्ने निश्चित भएको हो ।

    प्लेअफको समूह सी मा इटालीले पहिलो खेल नर्थ म्यासेडोनियाविरुद्ध खेल्नेछ । पोर्चुगलले टर्कीसँग खेल्नेछ । दुई खेलको विजेता टिम यस समूहको फाइनलमा खेल्नेछन् । विजेता विश्वकपमा छनोट हुनेछ । प्लेअफमा १२ टिमलाई तीन समूहमा विभाजन गरि खेल खेलाइंदैछ ।

  • भारतले खोल्यो नेपालसहितका मुलुकमा अन्तर्राष्ट्रिय उडान, १४ मुलुकमा प्रतिवन्ध कायम

    भारतले खोल्यो नेपालसहितका मुलुकमा अन्तर्राष्ट्रिय उडान, १४ मुलुकमा प्रतिवन्ध कायम

    नयाँ दिल्ली । भारतले १५ डिसेम्बरबाट लागु हुने गरि अन्तर्राष्ट्रिय उडान सूचारु गरेको छ । नयाँ वर्ष र क्रिसमसलाई लक्षित गरि भारतले उडान खोल्ने निर्णय गरेको हो । अहिले एयर बबल स्किम अनुसार मात्र उडान भइरहेको छ । यस अनुसार एक अर्का मुलुक र अनुमति प्राप्त तेस्रो मुलुकका नागरिकले मात्र उडानको अनुमति पाएका थिए । उडान खुलेपछि भारत सबै मुलुकका नागरिकको आवागमनका लागि सहज हुने छ ।

    यस सूचिमा नेपाल समेत छ । तर, विभिन्न १४ मुलुकका लागि भने उडान अझै खुलेको छैन । बेलायत, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, फिनल्याण्ड, साउथ अफ्रीका, ब्राजील, चीन, मौरिसस, सिंगापुर, बंगलादेश, बोतस्वाना, जिम्बांवे र न्यूजिल्याण्डमा भने उडान हुने छैन । खासगरी कोरोना भाइरसको पछिल्लो फैलावट नभएका मुलुकमा भारतीय सरकारले उडान खोल्ने निर्णय लिएको हो । यूरोप र अफ्रिकामा भने कोरोना भाइरसको संक्रमण बढिरहेको छ ।

  • अफ्रिकामा देखिएको संक्रामक भेरियन्टका कारण बेलायतले रोक्यो ६ मुलुकको हवाई उडान

    अफ्रिकामा देखिएको संक्रामक भेरियन्टका कारण बेलायतले रोक्यो ६ मुलुकको हवाई उडान

    लण्डन । अति सङ्क्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टी भएपछि बेलायतले विभिन्न ६ वटा मुलुसँगको उडान रद्द गरेको छ । बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई रातो सूचीमा राखिएको बताएका छन् । त्यहाँबाट आउने यात्रुले क्वारन्टीनमा बस्नुपर्ने नियम समेत बेलायतले बनाएको छ । नयाँ भेरियन्टलाई अहिलेसम्मकै सबैभन्दा खराब मानिएको छ । यो भेरियन्टले अहिले खोपका कारण आएको प्रतिरोधी क्षमतालाई नै तोड्नसक्ने वैज्ञानिकहरुले बताएका छन् ।

    यो भेरियन्ट अहिलेसम्म दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी ५९ जनामा देखिएको छ । बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडान रद्द गरेको हो । ती छ देशहरूलाई रातो सूचीमा राख्नुको कारण सावधानी र आफ्नो सीमाको सकेसम्म सुरक्षा गर्नुू रहेको बेलायत सरकारको भनाई छ । शुक्रवार मध्याह्नदेखि विगत १० दिनभित्र ती देश भ्रमण गरेका विदेशी र आयरल्यान्डका नागरिकहरूलाई इङ्गल्यान्ड प्रवेश निषेध गरिएको बिबिसीले जनाएको छ ।

  • ‘चुनावको तयारीमा लाग्नुस देश बनाउन एमालेले बहुमत ल्याउनैपर्छ’-ओली

    ‘चुनावको तयारीमा लाग्नुस देश बनाउन एमालेले बहुमत ल्याउनैपर्छ’-ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई चुनावी तयारीमा लाग्न निर्देशन दिएका छन् ।

    चितवनको नारायणी किनारमा १० औँ महाधिवशेन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले मुलुकमा विकासको लहर चलाउनका निम्ति बहुमत जरुरी भएकाले चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन आफ्नो पार्टीले एकल बहुमत ल्याउन आवश्यक रहेको बताएका छन् ।

    ‘देश विकासका लागि एमालेले अब एकल बहुमत ल्याउनुपर्छ,’ उनले भने, ‘बहुमत एमालेका लागि होइन, देश बनाउनका लागि हो । लोकतन्त्र, राष्ट्रिय स्वाधिनता र संविधानको रक्षाका लागि हो ।’

    अध्यक्ष ओलीले संविधानलाई जनमतद्वारा सच्याएर देशलाई अघि बढाउन र विकासको लहर अघि बढाउन पनि एमाले सत्तामा फर्किनु पर्ने बताए ।

    उनले परमादेशमार्फत सरकार फेरिने कुरामा नजाऔँ भनेर जनताका बीचमा जान आफू सरकारको नेतृत्वमा हुँदा चुनाव घोषणा गरेको बताए ।

    ‘ढिलो चाँडो हामीलाई चुनावमा जानैपर्छ । परमादेशमार्फत सरकार फेरिने कुरामा नआऔँ बरु जनताका बीचमा जाऔँ भनेका थियौं,’ उनले भने, ‘जनताका बीचमा जान कतिपय दल डराउँछन् ।’

  • एमालेको महाधिवेशनमा देउवाको सम्बोधन- ‘हामीबीच संवाद र सहकार्य आवश्यक छ’

    एमालेको महाधिवेशनमा देउवाको सम्बोधन- ‘हामीबीच संवाद र सहकार्य आवश्यक छ’

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसदमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्।

    नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले भने, ‘नेपालको संविधान र लोकतन्त्र सबै मिलेर ल्याएका छौँ।

    त्यसको कार्यान्वयन गर्न सब दलको भूमिका रहन्छ।’ नयाँ संविधानलाई संस्थागत गर्नको लागि नेकपा एमालेलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे।

    संविधानले निर्धारण गरेको विधिलाई सबैले स्वीकार्नुपर्ने बताए । उनले कांग्रेस एमालेमा वैचारिक भिन्नता भएकैले अलग–अलग पार्टी रहेको भन्दै जनताका सवाल, राष्ट्रियता र राष्ट्रहितका विषयमा भने सहमति र सहकार्य हुनुपर्ने बताए ।

    यस्तै उद्घाटन सत्रलाई शुभकामना दिँदै देउवाले लोकतन्त्र स्थापनाका लागि ओलीसहित धेरै वामपन्थी नेताहरूसँगै आफू पनि जेल बसेको स्मरण गरे ।

    ‘केपी ओलीजी लगायत धेरै वामपन्थी साथीहरू र हामी सँगै जेलमा थियौं । हामी जेलमेट पनि हौं । हामीले सँगै दुःख भोगेका हौं । हिजोका दिनमा हामीले भोगेका दुःख सम्झेर भोलिका दिनमा कुनै नेपालीले दुःख नपाउन् भन्नेमा हामी केन्द्रित हुनुपर्छ’, देउवाले भने ।

    संसदभित्र र बाहिरका सबै दलहरूसँग छलफल गरेर अघि बढ्न तयार रहेको बताए। यस्तै, नागरिकको रक्षा नै पहिलो प्राथमिकता भएकाले कोरोनाको खोप सबैलाई लगाइरहेको बताए।

  • एमालेमय बन्यो चितवन, यी हुन् केन्द्रीय सदस्यका आकांक्षीहरु

    एमालेमय बन्यो चितवन, यी हुन् केन्द्रीय सदस्यका आकांक्षीहरु

    चितवन । नेकपा एमालेको दशौं महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदैछ । निकै भब्य र विशाल उद्घाटनस्थल बनाएर एमालेले सबैको नजर खिच्ने काम गरिरहेको छ ।

    नारायणी तटमा उद्घाटन हुँदैछ भने सौराहामा बन्दसत्र हुनेछ । आइतबारसम्म चल्ने महाधिवेशनले नेतृत्व चयन गर्दैछ । अहिलेसम्म खुलेर गुट देखिएको छैन । अर्कातर्फ आकांक्षी धेरै भए पनि खुलेर लागेका छैनन् ।

    सबैको दृष्टि अध्यक्ष केपी शर्मा ओलीको आशीर्वाद कसलाई लाग्छ भनेरै कुरिरहेका छन् । ओली दोस्रो पटक अध्यक्ष बन्दै गर्दा अरु कसैलाई आड भरोसा दिएको सुन्नमा आएको छैन । तर ओली निकटका भित्रैबाट पदाधिकारीमा हानथाप भइरहेको छ । उनीहरु खुलेर लाग्न पनि सकेका छैनन् ।

    अध्यक्षमा ओलीलाई भीमबहादुर रावलले टक्कर दिने भने पनि उनको ब्यापकता देखिँदैन । त्यस्तै ओली खेमा बाहिरका घनश्याम भुषालले वरिष्ठ उपाध्यक्ष लड्ने भने पनि माहोल बनाउन सकेका छैनन् ।

    विशेषगरी माधवकुमार नेपाललाई अन्तिम समयमा धोका दिएका भीम रावलसहितका नौ भाइ र एक बहिनी अष्टलक्ष्मी शाक्यको अवस्था के हुने भन्नेमा अन्योल छ । ओलीले मुख नखोलेसम्म केही हुने अवस्था पनि देखिँदैन ।

    त्यसैगरी माओवादी केन्द्रबाट आएकाहरुको अवस्था पनि त्यस्तै छ । ओलीले समर्थन गरे अगाडि बढ्ने र नगरे जहीँको तहीँ रहने अवस्था छ ।

    यसैबीच कसैले उम्मेदवारी दिने आँट भने गरेका छैनन् । अहिलेसम्म चुनाव नै हुन्छ र ? भनी प्रश्न गर्ने पनि धेरै छन् ।

    तर केन्द्रीय सदस्यमा भने चुनाव हुने धेरैको आँकलन छ । त्यसका लागि पनि ओलीले नै स्वीकारोक्ति दिनुपर्ने जस्तो मनस्थिति देखिन्छ । यद्यपि निर्वाचन समितिले भने निर्वाचन प्रक्रियाको काम तीव्र रुपले अगाडि बढाएको जनाएको छ ।

    यी हुन् केन्द्रीय सदस्यका आकांक्षीहरु–
    बुद्धिकुमार राजभण्डारी, मानवीर राई, रवीन्द्र अधिकारी, विष्णु रिजाल, शिव गुरुङ, डा. दीपक भट्ट, विद्या भट्टराई, पदम गिरी, लालकुमार केसी, राजेन्द्र राई, भूमि त्रिपाठी, विद्यासुन्दर शाक्य, बसन्त नेम्वाङ, जय राई, नवराज सिलवाल, कोमल वली, नारायण सिलवाल, सोभियत ढकाल, प्रभु शाहले केन्द्रीय सदस्यमा आकांक्षा व्यक्त गरेका छन् ।

    त्यस्तै भगवती न्यौपाने, नविना लामा, ऐन महर, रश्मी आचार्य, रमेश पौडेल, जनार्दन ढकाल, गगन विष्ट, राजेन्द्र अर्याल, किशोरविक्रम मल्ल, रत्न गौतम, निर्मला शर्मा, राजीव पहारी, उषाकला राई, सरस्वती बस्नेत, केशव पाण्डे, प्रभा बराल, कल्पना थापा, नारायण खतिवडा, किरण पौडेल र दावा लामाले पनि आकांक्षा गरेका छन् ।

    जगन्नाथ थपलिया, रणकुमारी बलम पाकीमगर, ईश्वरचन्द्र पोखरेल, श्याम बस्नेत, नरेन्द्र श्रेष्ठ, इन्द्र भण्डारी, शान्ति पाख्रिन, सुरेश नेपाल, सुभाष कर्माचार्य, सरिता न्यौपाने, अनन्त पौडेल, कृष्णभक्त पोखरेल, कृष्ण थापा, भीम कार्की, पुण्य पौडेल, विकास लम्साल, कल्पना चापागाईं, भक्त गुरुङ, भीमज्वाला राई, नारायण मरासिनी, सीता सुन्दास, मीन गुरुङ, मोहन रेग्मीले पनि लविङ गरिरहेका छन् ।

    मुक्ति पाठक, नवराज शर्मा, भूपेन्द्र थापा, हरिकृष्ण श्रेष्ठ, गोविन्द नेपाली, इन्द्रलाल सापकोटा, हीरा केसी, डा. सूर्य पाठक, टासी गुरुङ, प्रेम तुलाचन, चन्द्रमोहन गौचन टुकराज सिग्देल, केदार सिग्देल, मायानाथ अधिकारी, जमिन्द्रमान घले, टुका हमाल, धनञ्जय दवाडी, रामशरण बस्नेत, सम्झना देवकोटा, तिलक महत, रोशन गाहामगर, अशोक ब्याञ्जू, तुलसी चौधरी, बलबहादुर सामसोहाङ, विनोद ढकाल, बलराम अधिकारी, शिव सुवेदी, बलबहादुर आचार्य, भोजप्रसाद श्रेष्ठ, भूमिश्वर ढकाल, चेतनारायण आचार्य, राधाकृष्ण कँडेल, झपिन्द्र जिसी, मधुकृष्ण पन्त, वसन्ती अधिकारी, रत्न खत्री, सूर्य ढकाल, गोमा आचार्य, सावित्रा अर्याल, नवीन रोका, दधिराम न्यौपाने, दिनेश पन्थी, चन्द्रबहादुर खड्काले ओलीलाई भेटेर आकांक्षा प्रकट गरेका छन् ।

    मेनुका काफ्ले, निलम खनाल, तुलसी न्यौपाने, छत्रपति प्याकुरेल, चन्द्रा श्रेष्ठ, नेल्सन शाही, बदनी कुँवारी, कौशिला खत्री, कमला ओली, मोहनमाया ढकाल, नवराज महतरा, ध्रुव शाही, भैरवसुन्दर श्रेष्ठ द्धारिका न्यौपाने, चन्द्र रिजाल लगायतका नेताहरुले आकांक्षा देखाइसकेका छन् । यसमध्ये विष्णु रिजाल र सूर्य थापा यसअघि पनि केन्द्रीय सदस्य मध्येका हुन् ।

    महेश बस्नेत, आनन्दप्रसाद पोखरेल, विष्णु रिजाल, गोकुल बाँस्कोटा, नरुलाल चौधरी, राजेन्द्र गौतम, डा। युवराज खतिवडा, रामेश्वर फुँयाल, देवी ज्ञवाली, डोरमणि पौडेलले पनि लगायतले प्रतिस्पर्धाबाटै केन्द्रीय सदस्यमा निर्वाचित हुने तयारी गरेका छन् । बस्नेतले सचिवमा उम्मेदवारी घोषणा गरेका छन् भने बाँस्कोटा पनि सचिवकै आकांक्षी हुन् तर उनले केही बोलेका छैनन् ।

  • यस्ता छन् मौद्रिक नीति समीक्षामार्फत गरिएका नयाँ व्यवस्था

    यस्ता छन् मौद्रिक नीति समीक्षामार्फत गरिएका नयाँ व्यवस्था

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ ।

    राष्ट्र बैंकले शुक्रबार समीक्षा सार्वजनिक गर्दै अधिकांश व्यवस्था यथावत राखेको छ । सीडी अनुपात, सेयर धितो कर्जा सम्बन्धी व्यवस्था यथावत नै राखेको छ भने आयातमा केही कडाइ गरेको छ ।

    यस्ता छन् राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा मार्फत गरेका नयाँ व्यवस्थाहरु

    १. बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्ने छ ।

    २. विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिनेछ ।

    ३. डकुमेन्ट एगेन्स्ट पेमेन्ट र डकुमेन्ट एगेन्स्ट एसेप्टेन्सको विद्यमान सीमा पुनरावलोकन गरिनेछ ।

    ४. ड्राफ्ट/टीटीको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिनेछ ।

    ५. व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मिलाइने छ ।

    ६. विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ ।
    ७. गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिनेछ ।

    ८. विदेशी मुद्राको नन डेलिभरेवल फरवार्ड कारोबारमा रहेको विद्यमान सीमा पुनरावलोकन गरिनेछ ।

  • मौद्रिक नीतिको समीक्षा सार्वजनिक, शेयर धितोकर्जाको प्रावधान यथावत

    मौद्रिक नीतिको समीक्षा सार्वजनिक, शेयर धितोकर्जाको प्रावधान यथावत

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

    शुक्रवार बिहान नीतिको समीक्षा सार्वजनिक गरेको हो । जसमा शेयर धितोकर्जा सम्बन्धी व्यवस्था गरेको प्रावधानलाई यथावत राखेको छ । राष्ट्र बैंकले शेयर कर्जाको ४/१२ करोडको नीतिमा हेरफेर गरेको छैन ।

    त्यस्तै शेयर धितोकर्जाको सीमा ७० प्रतिशत नै यथावत राखेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर धितो राखेर लिइने कर्जा एउटा बैंकबाट ४ करोड तथा सबै बैंकबाट १२ करोडसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।

    अर्थमन्त्री जनार्दन शर्माले समेत यो नीतिलाई परिवर्तन गर्नको लागि सुझाव दिएका थिए ।

    सेयर बजारका ठूला लगानीकर्ताहरुले ४/१२ को नीति परिवर्तन गर्न माग गरेका थिए ।

    राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोडमात्र ऋण पाउने र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरेको थियो ।

  • दक्षिण अफ्रिकामा भेटियो कोरोनाको नयाँ भेरियन्ट, कति खतरनाक ?

    दक्षिण अफ्रिकामा भेटियो कोरोनाको नयाँ भेरियन्ट, कति खतरनाक ?

    काठमाडौं । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । वैज्ञानिकहरूले यो भाइरसको उत्परिवर्तन धेरै सङ्ख्यामा भएको बताएको बिबिसीले लेखेको छ ।

    उनीहरूले अहिले प्रयोगमा आएका कोरोनाभाइरसविरुद्धका खोपहरू ती उत्परिवर्तित भाइरसविरुद्ध प्रभावकारी नहुनसक्ने पनि बताएका छन्। पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन।

    विश्व स्वास्थ्य संगठनका विज्ञहरू यसबारे दक्षिण अफ्रिकी अधिकारीहरूसँग छलफल गर्नका लागि शुक्रवार उनीहरूसँग भेट्दैछन्। नयाँ भेरियन्ट देखिएपछी ब्रिटेनले दक्षिण अफ्रिकी छ वटा देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

    ब्रिटिश स्वास्थ्यमन्त्री शाजिद जावेदले यूकेमा ती उत्परिवर्तित भाइरसका बिरामी नदेखिए पनि वैज्ञानिकहरू गहिरो रूपमा चिन्तित रहेको बताएका छन्। वैज्ञानिकहरुले यो भेरिअन्ट आफूहरूले देखेमध्येको खराब भएको बताएका छन्।

    नयाँ भेरिअन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ। तर यसको सङ्क्रमण थप क्षेत्रमा फैलिएका सङ्केतहरू पनि छन्।

  • एमाले महाधिवेशन : २५ सय सुरक्षाकर्मी खटिदै

    एमाले महाधिवेशन : २५ सय सुरक्षाकर्मी खटिदै

    चितवन । एमाले महाधिवेशनका दौरान २५ सय जना सुरक्षाकर्मी खटिने भएका छन् । जिल्ला सुरक्षा समितिले चितवनमा  एक हजार पाँच सय र नवलपरासीमा  एक हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने जानकारी गराएको छ । सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुल थापा र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी चितवन मै छन् ।

    महाधिवेशन स्थल र बन्दसत्र सञ्चालन हुने सौराहामा सुरक्षाकर्मीको निगरानी बढी हुने भएको छ ।  महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू र विदेशी पाहुना आउने भएकाले स्थानीय प्रशासनले त्यहीअनुसारको सुरक्षा व्यवस्था र रणनीति तयार गरिएको बताइएको छ ।
    उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।  पूर्वपश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिएको समेत प्रशासनले जनाएको छ ।

  • आजबाट चितवनमा एमालेको १० औं महाधिवेशन शुरु

    आजबाट चितवनमा एमालेको १० औं महाधिवेशन शुरु

    चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा गरिदैछ ।  बन्दसत्र भने सौराहमा हुने गरि तालिका तय गरिएको छ । चितवन महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ ।

    महाधिवेशनको उदघाटन मध्याह्नमा राखिएको छ । उदघाटन अघि विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी छ । ती जुलुस नारायणी नदी किनारमा पुगेर उदघाटन सभामा परिणत हुने छ । उदघाटन समारोहमा पाँच लाख मानिस उतार्ने एमालेको दावी  छ ।

    भिड व्यस्थापन गर्न प्रशासनले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ खण्ड र नारायणगढको मुख्य बजारक्षेत्रभित्र आज बिहान बिहान ९ बजेदेखि अत्यावश्यक सेवाका बाहेक अन्य सबै सवारी साधनहरु प्रवेशमा रोक लगाएको छ ।

    उदघाटन समारोहलाई अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले सम्बोधन गर्नेछन् । उदघाटन समारोहमा सहभागी भएर एमालेलाई शुभकामना दिन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि चितवन जाँदैछन् । विभिन्न राजनीतिक दलका नेताहरु र विदेशी पाहुनाहरुलाई पनि एमालेले महाधिवेशनमा निम्तो दिएको छ ।

    शनिबारबाट सौराहको होटल सेभेन स्टारमा बन्दसत्र आयोजना हुने छ । बन्दसत्रमा २ हजार १ सय ७५ र पर्यवेक्षक १३० जना गरी कूल २ हजार ३ सय ५ जना सहभागी हुने एमालेले जनाएको छ । महाधिवेशनका लागि देशभरबाट एमालेका प्रतिनिधिहरु चितवनमा भेला भएका छन् । यिनै प्रतिनिधिहरुले एमालेको नयाँ नेतृत्व चयन गर्नेछन् ।

  • सर्वोच्चमा जारी आन्दोलनबारे प्रधानमन्त्रीले कानुन व्यवसायीसङ्ग छलफल गर्ने

    सर्वोच्चमा जारी आन्दोलनबारे प्रधानमन्त्रीले कानुन व्यवसायीसङ्ग छलफल गर्ने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमा जारी आन्दोलनबारे कानुन व्यवसायीसङ्ग छलफल गर्ने भएका छन् । प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन चर्काइरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीलाई प्रधानमन्त्रीले शुक्रबार बालुवाटार बोलाएका हुन् ।

    शुक्रबार बिहान साढे १० बजेका लागि प्रधानमन्त्री देउवाले कानुन व्यवसायीसङ्ग छलफल गर्नेछन् । दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमण श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री देउवालाई प्रधानन्यायाधीश जबरालाई पदमुक्त गर्न भूमिका खेल्न आग्रह गर्ने तयारी गरेका छन् ।

    बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई गत सोमबार बुझाएको धारणापत्र प्रधानमन्त्रीलाई पनि बुझाउने भएको छ ।

  • एमाले महाधिवेशनमा आठ विदेशी पार्टीका पाहुना, २५ पार्टीले पठाए शुभकामना

    एमाले महाधिवेशनमा आठ विदेशी पार्टीका पाहुना, २५ पार्टीले पठाए शुभकामना

    काठमाडौं ।  नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा आठ  विदेशी पार्टीका १५ जना पाहुना उपस्थित हुने निश्चित भएको छ । बिहीवार नेकपा (एमाले) विदेश मामिला विभागले  पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनका लागि आएका छन् ।  २५ देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश आएको समेत बताइएको छ । एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईका अनुसार विदेशी पाहुना काठमाडौंमा होटल सोल्टीमा रहेका छन् । विदेशी पाहुना महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता हुनेछन् ।
    पार्टी अध्यक्ष केपी शर्मा ओलीले विदेशी पाहुनासङ्ग  मङ्सिर १२ गते बिहान चितवनमा संयुक्त ‘ब्रेकफास्ट मिटिङ’ गर्ने कार्यसूची छ । समितिका अनुसार चितवनमा रहँदा पाहुनाहरूलाई ग्रिन मेनसन जङ्गल रिसोर्टमा राखिनेछ । उनिहरुलाइ  स्थानीय पर्यटकीय क्षेत्रको भ्रमण गराउनुका साथै जीप सफारी र थारु सांस्कृतिक प्रदर्शनीको अवलोकनसमेत गराइने भएको छ ।

  • भारतले क्रिप्टोकरेन्सिमा लगाउने भयो प्रतिवन्ध

    भारतले क्रिप्टोकरेन्सिमा लगाउने भयो प्रतिवन्ध

    नयाँ दिल्ली । भारतले क्रिप्टोकरेन्सी माथी प्रतिवन्ध लगाउने भएको छ ।
    भारत सरकारले डिजिटल मुद्राबारे आफ्नो धारणा केही नरम बनाउँछ कि भन्ने अपेक्षाका बिच प्रतिवन्धको तयारी गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।
    नयाँ नियमअन्तर्गत प्रविधि प्रवर्धनका लागि गरिने केही प्रयोगबाहेक अन्य सबै अवस्थामा निजी क्रिप्टोकरेन्सी प्रतिबन्धित हुने बिबिसीले लेखेको छ । विधेयकको बारेमा घोषणा भएपछि भारतीय बजारमा क्रिप्टोकरेन्सीको मूल्य समेत घटेको छ ।
    सरकारले संसद्को हिउँदे अधिवेशनमा ‘क्रिप्टोकरेन्सी एन्ड रेगुलेशन अफ अफिशल डिजिटल करेन्सी’ विधेयक प्रस्तुत गर्न लागेको छ ।

    सो कानुनमा  केन्द्रीय बैंकले  सरकारी डिजिटल मुद्रा विकास गर्न आवश्यक वातावरण निर्माण गर्ने लक्ष्य लिएको बताइएको छ । विधेयकको मस्यौदा जनवरीमै बनेको हो ।

    विधेयकको पछिल्लो मस्यौदा सार्वजनिक भने भैसकेको छैन ।  छिमेकी मुलुक चीनले सेप्टेम्बरमा क्रिप्टोकरेन्सी कारोबारलाई अवैध घोषणा गरेको थियो ।

    विधेयकको घोषणापछि केही क्रिप्टोकरेन्सीको मूल्य घटेको छ। भारतीय बजारमा बिटकोइनको मूल्य १३ प्रतिशतले एवं शीवा इनु र डोजकोइनको मूल्य १५ प्रतिशतभन्दा बढीले घटेको छ।

  • एमालेको महाधिवेशनमा प्रचण्ड नजाने

    एमालेको महाधिवेशनमा प्रचण्ड नजाने

    काठमाडौं । भोलिबाट शुरु हुने नेकपा एमालेको १० औं महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् । उनकै निर्वाचन क्षेत्रमा आयोजना भएका कारण उनी आउने वा नआउने भन्ने विषयलाई चासोपुर्वक हेरिएको थियो ।

    एमालेले माओवादी लगायतका विभिन्न दलका नेताहरुलाई महाधिवेशनमा सहभागी हुन आमन्त्रण गरेको छ । माओवादीले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई महाधिवेशनमा पठाउने निर्णय समेत गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउवा भने सहभागी हुदैछन ।

  • सर्वोच्चमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने ‘फूलकोर्ट’को निर्णय

    सर्वोच्चमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने ‘फूलकोर्ट’को निर्णय

    काठमाडौं । सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको छ ।

    सर्वोच्च अदालतमा न्यायाधीशको आज बसेको पूर्ण बैठक (फूलकोर्ट) बैठकले उक्त प्रक्रियाबाट पेसी तोकी मुद्दाको सनुुवाइ गर्ने निर्णय गरेको हो ।

    गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्चका न्यायाधीश र नेपाल बार एशोसिएशनको पनि थियो । उक्त माग पूरा हुने भएको छ ।

    सर्वोच्च अदालत दोस्रो संशोधन नियमावली, २०७८ राजपत्रमा प्रकाशित भएपछि उक्त निर्णय भएको हो । नियमावली सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको थियो ।

    यसअघि प्रधानन्यायाधीश राणाले पेशी तोक्दै आएका थिए । तर त्यसरी पेशी तोक्दा ‘सेटिङ’ गरेर न्याय किनबेच गरेको आरोप कानुन व्यवसायीले प्रधानन्यायाधीश राणामाथि लगाएका थिए ।

    गोलाप्रथाबाट पेशी तोक्नुपर्ने मागसहित बारका कानुन व्यवसायीले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका छन् ।

    गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए ।

    नेपाल बार एसोसीएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधीशहरूले इजलास बहिस्कार गरेका थिए । तर, गोलाप्रथा लागु गर्ने भएपछि न्यायाधीश इजलास फर्किए पनि बार भने आन्दोलनमै छ ।

  • नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसंघद्वारा अनुमोदन

    नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसंघद्वारा अनुमोदन

    काठमाडौं । नेपाललाई संयुक्त राष्ट्रसंघको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ ।

    उक्त प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेस गरेको थियो ।

    संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईले राससलाई दिएको जानकारीअनुसार नेपालको स्तरोन्नतिसम्बन्धी प्रस्तावलाई पाँच वर्षको तयारी अवधिसहित राष्ट्रसंघले बुधबार अनुमोदन गरेको हो ।

    उक्त अवसरलाई सम्बोधन गर्दै राईले नेपालले आगामी पाँच वर्षभित्र अर्थतन्त्रको संरचनागत परिवर्तनका लागि आफ्ना तर्फबाट सम्पूर्ण प्रक्रिया पूरा गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

    राईले अगाडि भने, ‘नेपाल सरकारले स्तरोन्नतिसम्बन्धी रणनीति तर्जुमा समेत गरिसकेको छ, अब पाँच वर्षभित्र अर्थतन्त्रको संरचना तयार पारेर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उँचो बनाउने अवसर हो ।’

    राईले नेपाल स्तरोन्नतिका लागि गरेको मेहेनतलाई कार्यान्वयन तहमा पुरयाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले भने, ‘सन् २०२६ पछि थपिन सक्ने चुनौतीलाई सम्बोधन गर्नसमेत हामीहरूले आग्रह गरेका छौँ, यसमा विकास साझेदार संस्थाहरुसँग छलफल गरेर एउटा निर्णयमा पुग्ने नै छौँ ।’

    नेपालले सन् २०१५ र २०१८ मा पनि स्तरोन्नतिको मापदण्ड पूरा गरेको थियो तर तत्कालीन अवस्थामा भूकम्पका कारणले अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गर्नुपरेको भन्दै यो प्रस्तावसम्बन्धी कार्यलाई नेपालले पछि सारेको थियो ।

  • कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा

    कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा

    काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहीबार पत्रकार सम्मेलन गरी निधिले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन्।

    उनले सभापतिको उम्मेवारी घोषणा गर्नअघि सबै नेतासँग छलफल गरेको बताए।

    ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु।’ पत्रकार सम्मेलनका क्रममा उनले भने।

    पाँच दशकभन्दा लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय निधि कांग्रेसका संस्थापकमध्येका नेता महेन्द्रनारायण निधिका छोरा हुन्।

    उनी ०२७ सालमा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको सदस्य भएका थिए। उनी २०७५ सालमा नेपाली कांग्रेसको उपसभापति पदमा मनोनीत भएका थिए।

  • झिनो अंकले घट्यो नेपाली शेयर बजार

    झिनो अंकले घट्यो नेपाली शेयर बजार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन बिहीवार नेप्से ३.२२ अंकले घटेर २७३१.७८ विन्दुमा कायम भएको छ ।

    यसदिन २३३ कम्पनीको ३ अर्ब ७८ करोड ७ लाख ९ हजार ३३० रुपैयाँ बराबरको कारोबार भएको छ । ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी १० समूहको परिसूचक ओरालो लागेका छन् । धेरै गुमाउने मानुषी लघुवित्तका लागानीकर्ता रहेका छन् । बैंकिङ उपसमूह ९, होटल तथा पर्यटन २५ र अन्य १९ अंकले बढेको छ ।

    तीबाहेकका सबै उपसमूह घटेका छन् । विकास बैंक ७०, फाइनान्स २ जलविद्युत २३, उत्पादन ३१, निर्जीवन बीमा १५६, माइक्रोफाइनान्स उपसमूह ५१ अंकले र जीवन बीमा २३ अंकले घटेको छ ।

    मानुषीको शेयर मूल्य ६.९३ प्रतिशतले घटेको छ ।

    आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा समृद्धि फाइनान्स कम्पनी र सामलिङ पावर कम्पनी रहेको छ ।

    समृद्धि फाइनान्स कम्पनी कम्पनीको शेयरमूल्य ९.४२ प्रतिशतले बढेर प्रतिकित्ता ५६९ रुपैयाँ पुगेको छ भने सामलिङ पावर कम्पनीको शेयरमूल्य ८.१७ प्रतिशतले बढेर प्रतिकित्ता ३२०.५० पुगेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीको भएको छ । टेलिकमको आज २६ करोड ५७ लाख भन्दा बढीको कारोबार भएको छ ।

  • हुस्सुका कारण आन्तरिक उडान हरेक दिन प्रभावित

    हुस्सुका कारण आन्तरिक उडान हरेक दिन प्रभावित

    काठमाडौं । आन्तरिक गन्तब्यका विमानस्थलहरुमा बाक्लो हुस्सुका कारण हरेक दिन उडान प्रभावित बनेको छ । याअले उडान डिले तथा रद्द हुने क्रम समेत बढेको छ । बिहिवार बिहान विराटनगर, भरतपुर, भोजपुर, दाङ, राजविराज, सुर्खेत, धनगढीसहितका विमानस्थल अबेरसम्म खुलेनन । यो समस्या केही दिन देखि दोहोरिएको हो ।

    आन्तरिक उडानहरु प्रभावित हुदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ । आन्तरिक उडान प्रभावित बनेपनी काठमाडौं विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन । तराईमा बाक्लो हुस्सु र हिमाली भेगमा हिमपातका कारण यो सिजनमा हवाइ यातायात बढी प्रभावित हुने गरेको छ ।