Category: फिचर

  • सभामुख स्पेन प्रस्थान, केके छन् कार्यक्रम ?

    सभामुख स्पेन प्रस्थान, केके छन् कार्यक्रम ?

    काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटा स्पेन प्रस्थान गरेका छन् । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को  १४३औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका छन् ।

    सभामुख सापकोटा नेतृत्वको नेपाली टोली बुधबार राति ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पेन लागेको हो ।

    सभामुखका साथमा प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी, राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी र अगमप्रसाद वान्तवा राई छन् ।

    प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखज्युको प्रमुख स्वकीय सचिव अर्जुन खत्री के.सी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत अर्जुन अधिकारी सहभागी छन् ।

    अन्तर व्यवस्थापिका संघ (आईपीयू) र स्पेनको संसदको आयोजनामा यही मंसिर १० देखि १४ सम्म स्पेनको म्याड्रिडमा १४३औं आईपीयू सम्मेलन हुँदै छ । सम्मेलनमा सभामुख सापकोटाले २८ नोभेम्बरका दिन बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामुखको टोली सम्मेलन सकेर यही मंसिर १६ गते स्वदेश फर्कने छन् ।

  • आज सर्वोच्च अदालतमा फुल कोर्ट बस्दै

    आज सर्वोच्च अदालतमा फुल कोर्ट बस्दै

    काठमाडौं । सर्वोच्च अदालतमा आज फुलकोर्ट बैठक बस्ने भएको छ । गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने बारे निर्णय गर्न फुलकोर्ट बैठक लागेको बताइएको छ । बैठकले  आगामी सातादेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने तयारी समेत छ ।

    अहिले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा आफैले पेसी तोक्दै आएका छन् । अघिल्लो बिहीबार बसेको फुलकोर्ट बैठकले प्रधानन्यायाधीश जबराको तजबिजी अधिकार कटौती गरेर गोला प्रक्रियाबाट इजलास तोक्ने व्यवस्था गरेको हो ।
    प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, कुनै अमुक मुद्दा निश्चित न्यायाधीशको मात्र इजलासमा राखेर भनेअनुसारको फैसला गर्न लगाएको, मन्त्रिपरिषद सदस्यको भागबण्डामासमेत मुछिएको लगायतका आरोप खेप्दै आएका छन् ।

    जबरासँग असन्तुष्ट सर्वोच्चका न्यायायाधीशहरु र कानून व्यवसायीहरु उनीविरुद्ध उत्रिएका छन् ।  गोलाप्रक्रिया सुरु हुने भएपछि न्यायाधीशहरु नियमित इजलासमा फर्किए पनि जबराको नेतृत्व भने नस्वीकार्ने भएका हुन् ।

  • नेपालमा चार महिनामा ५ खर्ब ६८ अर्ब व्यापार घाटा

    नेपालमा चार महिनामा ५ खर्ब ६८ अर्ब व्यापार घाटा

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिना (साउन–कात्तिक) मा नेपालको व्यापार घाटा ५ खर्ब ६८ अर्ब पुगेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिक मसान्तसम्म ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको छ । निर्यात  ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँको भएको छ । सोहिकारण ५ खर्ब ६८ अर्ब १७ लाख रुपैयाँको व्यापार घाटा देखिएको भन्सार विभागले जनाएको छ ।
    गत आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ४ खर्ब २ अर्ब रुपैयाँको वस्तु आयात भएकामा यसवर्ष साढे २ खर्बले बढेर ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको हो ।
    गत आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा व्यापार घाटा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । यस वर्ष व्यापार घाटा ५६.८३ प्रतिशतले बढेको तथ्यांक छ ।

    तथ्यांक अनुसार चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक व्यापारको आकार ७ खर्ब ३२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६५.४५ प्रतिशत बढी हो ।

    गत वर्ष यो अवधिमा ४ खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँको मात्र वैदेशिक व्यापार भएको थियो । नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा ८८.७९ प्रतिशत र निर्यातको हिस्सा ११.२१ प्रतिशत रहेको छ ।

    चार महिनाको अवधिमा ८२ अर्ब १२ करोड ४२ लाखको वस्तु निर्यात भएकामा साउनदेखि असोजसम्म ६५ अर्ब ५ करोड रुपैयाँको निर्यात भएको छ । कात्तिकमा मात्र १७ अर्ब ७ करोड रुपैयाँको निर्यात भएको छ ।

  • कोरोनाका कारण युरोपमा आगामी मार्चसम्म थप ७ लाख मानिसको मृत्यु हुन सक्ने डब्लूएचओको भनाइ

    कोरोनाका कारण युरोपमा आगामी मार्चसम्म थप ७ लाख मानिसको मृत्यु हुन सक्ने डब्लूएचओको भनाइ

    काठमाडौं । सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको कोभिड-१९ का कारण मृत्यु हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ। बिबिसीका अनुसार डब्ल्यूएचओले युरोप क्षेत्रमा राखेका ५३ देशमा अहिलेसम्म कोभिडका कारण १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। सन् २०२२ को मार्चसम्म तीमध्ये ४९ देशका सघन उपचार कक्षमा “उच्च वा चरम दबाव” हुने चेतावनी दिएको छ।

    युरोपमा अहिले कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि भइरहेको छ जसका कारण अस्ट्रियामा पूर्ण लकडाउन लगाइएको छ भने अन्य देशमा नयाँ प्रतिबन्धात्मक व्यवस्थाबारे योजना बनिरहेछ। फ्रान्स, जर्मनी र ग्रीसलगायत अन्य केही देशहरूले चाँडै नै कोभिड खोपको बूस्टर मात्रा लगाएका मानिसलाई मात्रै पूर्ण मात्राका खोप लगाएका मानिस मान्ने नियम बनाउन लागेका छन्।
    तर केही देशहरूमा नयाँ प्रतिबन्धात्मक व्यवस्थाको व्यापक विरोध भइरहेको छ। द नेदरल्यान्ड्समा आंशिक लकडाउनको घोषणासँगै केही रात हिंसक प्रदर्शन भएको थियो।
    डब्ल्यूएचओको प्रतिवेदनमा युरोपमा कोभिड मृत्युको प्रमुख कारण बनेको बताइएको छ।
    “अहिलेको प्रवृत्तिका आधारमा आगामी मार्चसम्ममा कुल मृत्यु २२ लाख पुग्ने आकलन गरिएको छ,” डब्ल्यूएचओले मङ्गलवार भनेको छ।
    पुष्टि भएका कोभिडसम्बन्धी कारणले हुने मृत्यु हालैका दिनमा दोबर भएर दैनिक ४,२०० पुगेको डब्ल्यूएचओले बताएको छ।
    रुसमा मात्रै हालैका दिनहरूमा दैनिक मृत्यु सङ्ख्या १,२०० नाघेको छ।
    डब्ल्यूएचओका अनुसार ठूलो सङ्ख्यामा खोप नलगाएका मानिस र केही देशमा डेल्टा भेरिअन्टको कारण युरोपमा सङ्क्रमण दर बढेको हो।

    डब्ल्यूएचओका युरोप निर्देशक डा. हान्स क्लुगले खोप नलगाएकाहरूलाई तुरुन्तै खोप लगाउन आग्रह गरेका छन्।

    “अनावश्यक वियोग र जीवनको क्षति एवं यो हिउँदमा समाज र व्यवसायमा हुनसक्ने थप सङ्कटलाई रोक्न सहयोग गर्नु हामी सबैसँग अवसर र जिम्मेवारी छ,” उनले भनेका छन् ।

    डब्ल्यूएचओको युरोप क्षेत्रमा युरोपेली राष्ट्रहरूका साथै इजरायल, ताजिकिस्तान र उज्बेकिस्तानजस्ता देशलाई राखेको छ।

  • कोरोनाका कारण बन्द उद्योग-व्यवसायमध्ये ८७ प्रतिशत संचालनमा

    कोरोनाका कारण बन्द उद्योग-व्यवसायमध्ये ८७ प्रतिशत संचालनमा

    काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ८७ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा यस्तो देखाइएको छ । पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग-व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको छ ।
    सर्वेक्षणको नतिजा अनुसार ८७.२ प्रतिशत उद्योग-व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएका छन् ।  कोभिडपूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादन/कारोबार स्थिति यो सर्वेक्षण सम्पन्न हुँदा ७४.७ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार भएर ७७.५ प्रतिशत बाट ९७.२ प्रतिशत पुगेको छ ।

    राष्ट्र बैंकले २०७७ असारमा सम्पन्न गरेको सर्वेक्षणले बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग-व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत उद्योग-व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत उद्योग-व्यवसायहरु पूर्णरुपमा बन्द रहेको देखाएको थियो ।
    तेस्रो पुनरावृत्ति सर्वेक्षण २०७८ कात्तिक महिनाको ७ गतेदेखि १७ गतेसम्म टेलिफोन अन्तरवार्तामार्फत सम्पन्न गरिएको हो । २०७७ असारमा सहभागी ६७४ उत्तरदाताहरुमध्ये करिब ८१ प्रतिशत अर्थात् ५४६ जना उद्योगी/व्यवसायीहरुले यस सर्वेक्षणमा सहभागिता जनाएका छन् । उद्योगी/व्यवसायीहरुलाई सोधिएको प्रश्नावलीमा कोभिड-१९ महामारीका कारण बन्दाबन्दी शुरुवात हुनुभन्दा अगाडि २०७६ फागुन महिनाको अवस्थासँग तुलना गर्न लगाइएको हो ।

  • नेपालमा थप ३३२ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

    नेपालमा थप ३३२ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २३३० जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार ४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २३२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १ हजार ११२ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ३६९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ ।

  • महाधिवेशनको मुखमै एमालेलाई झड्का,अमर गिरी एकीकृत समाजवादीमा प्रवेश

    महाधिवेशनको मुखमै एमालेलाई झड्का,अमर गिरी एकीकृत समाजवादीमा प्रवेश

    काठमाडौं । पार्टीको १०औँ महाधिवेशनको मुखमै नेकपा एमालेलाई झड्का लागेको छ ।

    १०-१२ मंसिरमा पार्टीको १०औँ महाधिवेशन हुन लागेका बेला एमालेको अनुशासन आयोगका सदस्य तथा महाधिवेशनका प्रतिनिधि अमर गिरीले एमाले परित्याग गरेका हुन् ।

    उनले बुधबार विज्ञप्तिमार्फत् एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न लागेकाे जानकारी दिए ।

  • एमालेको महाधिवेशनका दौरान भरतपुरमा कसरी गरिदैंछ सवारी व्यवस्थापन ?

    एमालेको महाधिवेशनका दौरान भरतपुरमा कसरी गरिदैंछ सवारी व्यवस्थापन ?

    नारायणगढ । नेकपा एमालेको १० औँ महाधिवेशन चितवनको नारायणगढस्थित नारायणी किनारमा हुँदैछ । एके पटक ५ लाख मानिस उतार्ने दावि गरेको एमालेको यो महाधिवेशन आयोजना हुने दिन नारायणगढमा यातायात सेवा अस्तव्यस्त हुने छ । कार्यक्रम शुक्रबार हुँदैछ । नारायणगढको यो कार्यक्रमले काठमाडौंतर्फ आउने पूर्व र पश्चिमका सवारी साधनका साथै पूर्व र पश्चिमतर्फ जाने काठमाडौंतर्फका यात्रुलाई समेत प्रभावित बनाउने छ ।

    सो दिन बिहान ९ बजेबाट साँझ ५ बजेसम्म सवारी साधनको आवागमन रोक्ने तयारी छ । चितवनको स्थानीय प्रशासनका अनुसार नारायणगढ भरतपुर क्षेत्रका राजमार्ग र अन्य मुख्य शहरी क्षेत्रमा गाडी चलाउन रोक लगाइदैछ । पूर्वबाट आउने गाडीलाई भरतपुर केन्द्रीय बसपार्क क्षेत्रमा रोकिने भएको छ । पश्चिमबाट आउने गाडीलाई गैँडाकोटमा रोकिने छ ।

    मुग्लिन हुँदै काठमाडौं, पोखराबाट आएका गाडी बजार भन्दा पर आँपटारीमा रोकिने भएका छन् । पश्चिम चितवनबाट छुटेका गाडीलाई भरतपुरको त्रिचोक, बेलचोक र बाह्रघरे क्षेत्रमा रोकिने भएको छ । महाधिवेशनका लागि पुगेका गाडी पनि त्यहीँ रोकिने बताइएको छ । महाधिवेशनमा सहभागीले दुईदेखि चार किलोमिटरसम्म हिँडेर उद्घाटनस्थल नारायणी किनार पुग्नु पर्ने भएको छ ।

  • अल्बर्ट आइन्स्टाइनको सापेक्षतासम्बन्धी सिद्धान्तको पाण्डुलिपी १ करोड ३० लाख डलरमा बिक्रि

    अल्बर्ट आइन्स्टाइनको सापेक्षतासम्बन्धी सिद्धान्तको पाण्डुलिपी १ करोड ३० लाख डलरमा बिक्रि

    पेरिस । अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एक पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिक्रि भएको छ । बीबीसीका अनुसार फ्रान्सको पेरिसस्थित क्रिस्टिको लिलामी घरमा यो पाण्डुलिपी बिक्रि भएको हो । यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको कीर्तिमान नै तोडेको समाचारमा उल्लेख छ ।

    सैद्धान्तिक भौतिकशास्त्रीको महान् वैज्ञानिक काम देखिएका उपलब्ध दुई मध्ये यो एउटा कागज हो। सन् १९१५ मा प्रकाशित यो सिद्धान्तले मानवजातिको अन्तरिक्ष, समय र गुरुत्त्वाकर्षणबारेको बुझाइ परिवर्तन गरिदिएको थियो। हिसाबकिताबको यो पाण्डुलिपि आइन्स्टाइन र उनका स्वीस सहकर्मी मिसेल बेसोले सन् १९१३ र १९१४ तयार गरेका थिए।

    यी कागजात पनि बेसोले नै राखेका थिए। क्रिस्टिको लिलामी घरले यी पाण्डुलिपिलाई जोगाएर राख्ने बेसोको सोचको तारिफ समेत गरेको समाचार छ । आइन्स्टाइनले आफूले लेखेका थोरैमात्रै कागजात सुरक्षित राखेको बताइएको छ । सोहीकारण यो दस्तावेजलाई महत्वपूर्ण मानिएको हो ।

    पाण्डुलिपिमा कालो कलमले हिसाबकिताब गरिएको छ । बेल्लोएका अनुसार सिद्धान्त तर्जुमा गर्ने दौरान त्यहाँ थुप्रै गल्ती देखिएका छन् । लिलामी घर क्रिस्टिले यो बिक्रीले यी कागजातको महत्त्व बुझ्ने विश्वभरिका सङ्ग्रहकर्तालाई आकर्षित गरेको समेत उल्लेख गरेको छ ।

    ५४ पृष्ठको यो पाण्डुलिपि कसले खरिद गरेको भन्ने नखुलाइएको बीबीसीको भनाई छ । आइन्स्टाइनको सापेक्षताको सिद्धान्तले ब्रह्माण्ड, ग्रहका कक्ष र ब्ल्याक होलको उत्पत्तिमा थप स्पष्टता ल्याएको थियो।

  • माओवादी केन्द्रका केन्दिय सदस्य बन्जाडेको सवारी दुर्घटनामा निधन

    माओवादी केन्द्रका केन्दिय सदस्य बन्जाडेको सवारी दुर्घटनामा निधन

    बुटवल । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा निधन भएको प्रहरीले जनाएको छ । रुपन्देहीको जितगढीमा गएराति उनलाई बसले ठक्कर दिंएको थियो । गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माओवादीमा लामो समय देखि सक्रिय बञ्जाडे अखिल (क्रान्तिकारी)का पूर्व महासचिव पनि हुन् ।

  • कांग्रेस महाधिवेशन : रुपन्देहीमा झडप-प्यूठानमा गोली चल्यो

    कांग्रेस महाधिवेशन : रुपन्देहीमा झडप-प्यूठानमा गोली चल्यो

    बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशनहरु जारी छन् । यस दौरान विभिन्न जिल्लामा दुई गूट बीचमा हिंसात्मक झडप भएका खबर आएका छन् । प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा प्रहरीले रबरको गोली चलाएको छ । दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन अरु ग्यास र गोली चलेको प्रहरीले जनाएको छ । त्यहाँ विष्णुकुमार गिरी र शिव रिजालबीच जिल्ला सभापतिका लागि भएको मतदानको गणना भइरहेको थियो ।

    मतगणनामा गिरीले अग्रता लिएपछि देउवा पक्षका युवाले मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा ढुंगा प्रहार गरेपछि झडपको स्थिति आएको गिरी पक्षको आरोप छ । झडपका क्रममा प्रहरीसहित ७ जना घाइते भएको खबर छ । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार जारी छ ।

    उता, रुपन्देही क्षेत्र नम्बर २ को मत गणनास्थलमा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसीमाथि मंगलबार आक्रमण भएको छ । रामचन्द्र पौडेल समूहबाट उम्मेद्वार बनेका केसीलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले आक्रमण गरेको बताइएको छ । मतगणना जारी रहेको अवस्थामा केसीमाथि आक्रमण भएपछि मतगणना समेत स्थगित भएको छ । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी छ ।

  • अब खोप कार्डका आधारमा नेपाल र भारतमा आवत-जावत गर्न सकिने

    अब खोप कार्डका आधारमा नेपाल र भारतमा आवत-जावत गर्न सकिने

    काठमाडौं । अब कोरोना विरुद्धको खोप कार्ड देखाएर नेपाल र भारतमा आवतजावत गर्न सकिने भएको छ । नेपाल सरकारले भारतसँग कोभिड खोप प्रमाणपत्रको आधारमा आवतजावतलाई मान्यता दिने समझदारी गरेसँगै यस्तो बाटो खुलेको हो । मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा खोप प्रमाणपत्रको आधारमा आवतजावतको मान्यता दिनेगरी समझदारी भएको छ ।

    स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौता भएसँगै अब नेपालमा लगाइएको खोपलाई भारतले मान्यता दिने र भारतमा खोप लगाएकालाई नेपालमा सहज हुने स्वास्थ्य सचिव डा। पोखरेलले बताए । उनका अनुसार सम्झौताले भारत जाने र भारतबाट नेपाल प्रवेश गर्नेलाई सहज हुने भएको छ । ‘खोपलाई दुवै देशले मान्यता दिने निर्णय गरेका हुन् ।

  • पर्यटन मन्त्रीले इयूका  प्रतिनिधिसँग भने : हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउ

    पर्यटन मन्त्रीले इयूका प्रतिनिधिसँग भने : हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउ

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली नागरिक उड्डयन क्षेत्रलाई कालो सूचीबाट हटाउन यूरोपेली यूनियनका प्रतिनिधिसँग आग्रह गरेका छन् । युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री आलेले युरोपियन युनियनले नेपालको वायुसेवा क्षेत्रलाई कालो सूचीमा राखेकाले हटाउन आग्रह गरेका हुन् ।

    जवाफमा निर्देशक पाम्पोलोनीले कालो सूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताए । छलफलमा दुईपक्षीय सहयोगका विभिन्न कुराकानी भएको मन्त्री आलेको सचिवालयले जनाएको छ । नेपाल–सघ संयुक्त आयोगको तेह्रौं बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबारदेखि टोली काठमाडौंमा छ ।

  • कक्षा-११ को रजिष्ट्रेसन फाराम र १२ को परीक्षा आवेदन फारम खुल्यो

    कक्षा-११ को रजिष्ट्रेसन फाराम र १२ को परीक्षा आवेदन फारम खुल्यो

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेसन र कक्षा १२ को परीक्षा आवेदन फारम खुला गरेको छ। ।

    बोर्डले शैक्षिकसत्र २०७८र७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि रजिष्ट्रेसन फाराम खुलाएको हो । कक्षा १२ मा अध्ययनरत विद्यार्थीका लागि परीक्षा आवेदन फारम पनि खुला गरेको जनाएको छ ।

    बोर्डले आउँदो पुस २१ गतेसम्म ४०० रुपैयाँ फाराम शुल्क, एसईई ग्रेडसिटको प्रतिलिपिसहित फाराम बुझाउने मिति तोकेको छ ।

    तोकिएको समयमा फाराम नबुझाए पुस मसान्तसम्म दोब्बर शुल्क तिरेर फाराम भर्न सकिने जनाएको छ ।

    विद्यालयहरूले माघ ७ गतेभित्रमा रजिष्ट्रेसन फाराम बोर्डको कार्यालयमा बुझाइसक्नुपर्नेछ ।

    कक्षा १२ को परीक्षा फारम आगामी माघ २१ गतेसम्म भरेर फागुन ७ गतेभित्र बोर्डको सम्बन्धित कार्यालयमा बुझाइसक्न विद्यालयलाई सूचित गरेको छ।

  • नेपालमा थप ३५१ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन

    नेपालमा थप ३५१ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७२९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र १४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ गरी ३५१जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १९ हजार ६९९जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २७३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ८९० पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ३०० रहेको छ ।

    पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ ।

  • दोहोरो अंकले घट्यो नेपाली सेयर बजार

    दोहोरो अंकले घट्यो नेपाली सेयर बजार

    काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । सोमबार ७ अंकले बढेको बजारमा आज दोहोरो अंकले घटेको हो ।

    सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २४ अर्बले बढेर ४ अर्ब नाघेको छ ।

    सेयर बजार मापक सूचक नेप्से ३२.३१ अंकले घटेर २७३३.१३ विन्दुमा आइपुगेको छ । मंगलबार २२७ कम्पनीको ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ रुपैयाँ बराबरको ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये अन्य बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.४ प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक र हाइड्रोपावर समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    कारोबारमा आएका २२७ कम्पनीमध्ये जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, नेशनल हाइड्रो १२ करोड र महालक्ष्मी विकास बैंक १० बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले घटेकोे बजारमा आज मानुषी लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

    घट्दो बजारमा आज आइसीएफसी फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.८४ प्रतिशत गुमाएका छन् । त्यसैगरी, एनआइबीएल प्रगति फण्ड र नारायणी विकास बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    त्यस्तै, गुडविल फाइनान्स, सिंगटी हाइड्रोपावर, मल्टिप्रपोज फाइनान्स, पोखरा फाइनान्स, खानीखोला हाइड्रोपावर, गुह्येश्व्री मर्चेन्ट र श्री इन्भेष्टमेन्ट कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

  • अमेरिकामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, पछिल्लो साता १८ प्रतिशत वृद्धि

    अमेरिकामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, पछिल्लो साता १८ प्रतिशत वृद्धि

    वासिङटन : संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताको तुलनामा यो हप्ता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरस संक्रमण बढेको छ । स्वास्थ्य अधिकारीहरुले यस्तो जानकारी दिएका हुन् । यहाँको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सीडीसीले जनाएअनुसार प्रत्येक दिन कम्तीमा पनि ९० हजार जना संक्रमित हुने गरेका छन् ।

    पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट अमेरिकामा ९२ हजार ८०० जना संक्रमित भएका छन् । उनीहरुका अनुसार दैनिक कम्तीमा पनि ९० हजार जनामा यो भाइरसको संक्रमण भेटिने गरेको छ । हरेक दिन अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दै गएको छ ।

    प्रत्येक दिन कम्तीमा पनि ६ प्रतिशतका दरले अस्पताल भर्ना हुने बिरामीहरुको संख्या बढिरहेको छ । पछिल्ला दिनहरुमा यसरी संक्रमित तथा मृत्यु हुनेको संख्या बढ्दै गएको देखिएको हो । यहाँ कोभिड विरुद्धको खोप लगाउने क्रम अझै जारी छ । तर खोप नलगाउनेको संख्या पनि थुप्रै रहेको छ ।

    उक्त सेन्टरका अनुसार यो खोप नलगाउने व्यक्तिलाई लगाउने भन्दा संक्रमण सर्ने ६ गुणा बढी डर हुन्छ । त्यसैगरी खोप नलगाउने व्यक्तिको मृत्यु दर पनि लगाउनेको भन्दा कम्तीमा पनि १४ गुणा बढी मृत्युको सम्भावना रहन्छ ।

  • प्रधानन्यायाधीश जबराले तोके १० वटा इजलास, फुलकोर्ट बसेर गोलाप्रथा लागू गरिने

    प्रधानन्यायाधीश जबराले तोके १० वटा इजलास, फुलकोर्ट बसेर गोलाप्रथा लागू गरिने

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा मंगलबारका लागि १० वटा इजलास तोकेका छन्। जबराले आफूलाई भने पेसी तोकेका छैनन्।

    मंगलबारका लागि नौं संयुक्तसहित एक एकल इजलास तोकिएको छ भने बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेसी तोकिएको छ।

    नियमावली राजपत्रमा प्रकाशितसँगै गोलाप्रथाबाट इजलास तोकिने भनिएको भएपनि प्रधानन्यायाधीश जबराले मंगलबारका लागि इजलास तोकेका हुन् ।

    सर्वोच्चको फुलकोर्टले पारित गरेको नियमावली अब फुलकोर्ट बसेर गोलाप्रथा लागू गर्न मिति तोक्ने छ । जबराविरुद्ध आन्दोलन गर्दै आएका न्यायाधीशहरुले तत्काल उनको पेसी तोक्ने अधिकार कटौती हुनुपर्ने माग राखेका थिए।

  • एनआरएनएको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई

    एनआरएनएको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशनबारे अन्योल कायमै रहँदा परराष्ट्र मन्त्रालयले संघको विधानअनुसार निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको छ।

    कुमार पन्तले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल गत कात्तिक १ गते सकिएको थियो। संघमा विवाद भएपछि परराष्ट्र मन्त्रालयले निर्वाचन गराउन संरक्षक परिषद्लाई जिम्मा दिएको हो।

    विभिन्न राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्का केही पदाधिकारीले महाधिवेशन प्रतिनिधि चयन विधानविपरीत अलग–अलग मापदण्डमा गरिएको भनी परराष्ट्र मन्त्रालयमा उजुरी गरेका थिए। त्यसबारेमा छानबिन गर्न मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।

    मन्त्रालयका अनुसार एनआरएनए विधान र परम्परा, अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्षको धारणा तथा विभिन्न देशमा भएका अनियमितताको छानबिन गरी समितिले प्रतिवेदन बुझाएको थियो।

    गत हप्ता पन्तलगायतको टोलीलाई परराष्ट्रमन्त्री डा नारायण खड्काले उजुरीकर्ताको राय र छानबिन समितिको प्रतिवेदनअनुसार निर्णय दिने बताएका थिए।

    अध्यक्ष पन्तले शुक्रबार विज्ञप्ति जारी गरी आउँदो डिसेम्बर १५ मा संघको निर्वाचन गराउने तथा डिसेम्बर १९ र २० मा काठमाडौँमा महाधिवेशन गराउने जानकारी दिएका थिए।

    गैरआवासीय नेपाली संघको महाधिवेशन र निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिने परराष्ट्रको निर्णयको केही राष्ट्रिय समन्वय परिषद् (एनसिसी)ले स्वागत गरेका छन्।

    गत महिना सम्पन्न एनसीसीको पहिलो विश्व भेलाका आयोजकमध्ये एक एनसीसी (बेलायत) का अध्यक्ष प्रेम गाहामगरले २०१९–२१ को कार्यसमितिले महाधिवेशन गराउन असमर्थ रहेको अवस्थामा विधानमा व्यवस्था भएअनुसार संरक्षक परिषद्लाई महाधिवेशन गराउन जिम्मा दिनु अहिलेको अवस्थामा उत्तम विकल्प भएको बताए।

    सोमबार आठ देशका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) ले परराष्ट्रको निर्णयको स्वागत गरेका छन्।

  • बाहिरि जिल्लाबाट काठमाडौं छिर्नेलाई लक्षित गरि चार नाकामा खुल्यो खोप केन्द्र

    बाहिरि जिल्लाबाट काठमाडौं छिर्नेलाई लक्षित गरि चार नाकामा खुल्यो खोप केन्द्र

    काठमाडौं । विभिन्न जिल्लाबाट काठमाडौं प्रवेश गर्नेहरुलाई लक्षित गरि चार वटा नाकामा खोप केन्द्र स्थापना भएको छ । आगामी एक महिनासम्म यी केन्द्रमा निशुल्क कोरोना विरुद्धको खोप लगाउन पाइने भएको छ । सरकारले कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा यस्तो व्यवस्था गरेको हो । खोप कार्यक्रम ५ पुससम्म कायम हुने भएको छ ।

    यी केन्द्रमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकले खोप लगाउन सक्ने छन् । खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाण पत्र साथमा हुनु पर्छ । चारवटै खोप केन्द्रबाट भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनेकाको खोप दिन थालिएको छ । सरकाले यसअघिको प्राथमिकतमा छुटपुट सबैलाई खोप लगाउन आह्वान गगरेको छ । पर्याप्त खोप उपलब्ध भएसँगै सरकारले सबै नागरिकलाई खोप लगाउन आह्वान गरेको हो ।

  • दुई नेपाली समेत घाइते हुने गरि ग्रीसमा भएको घटना के हो ?

    दुई नेपाली समेत घाइते हुने गरि ग्रीसमा भएको घटना के हो ?

    काठमाडौं । अघिल्लो साता टर्कीबाट ग्रीस छिर्ने क्रममा एउटा सवारी साधन दुर्घटनामा परेको छ । जसमा सवार ७ जनाको मृत्यु भएको छ । ८ जना घाइते छन् । घाइतेमध्ये दुई जना नेपाली नागरिक छन् । स्थानीय संचारमाध्यमका अनुसार यो साधन अवैध रूपमा टर्कीबाट ग्रीस छिर्न खोजेको थियो । गाडी तीव्र गतिमा भएका कारण अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

    बेलायती सञ्चारमाध्यम डेली मेलले लेखे अनुसार घाइते भएका मध्ये चार पाकिस्तानी र ३५ वर्षीय चालक छन् । दुर्घटना ग्रीसको राजधानी एथेन्सबाट ५ सय २ किलोमिटर पूर्वमा भएको हो । ग्रीस प्रहरीका अनुसार उनीहरू सबै संगठित मानव तस्करले अवैध रूपमा टर्कीबाट ग्रीस छिराउन खोजेका नागरिक थिए ।

    दुर्घटनामा पर्ने नेपाली को हुन र कहाँ जान लागेका थिए भन्ने खुलेको छैन । नेपालीले टर्कीको बाटो हुँदै अवैध रूपमा यूरोप छिर्ने गरेको समाचार बेला बेला आउने गरेका थिए । मानव तस्करले १५ लाख रुपैयाँसम्म लिएर नेपालीलाई यूरोप छिराउने गरेको गुनासो सुनिन्छ ।

  • गैरआवासीय नेपाली संघको निर्वाचनमा परराष्ट्र मन्त्रालयको पुनः रोक

    गैरआवासीय नेपाली संघको निर्वाचनमा परराष्ट्र मन्त्रालयको पुनः रोक

    काठमाडौं । परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचनमा पुनः रोक लगाएको छ । संघले डिसेम्बर १५ मा नयाँ निर्वाचन गर्ने गरि मिति सार्वजनिक गरेको थियो । तर, वर्तमान कार्यसमितिले विधान अनुसार निर्वाचन गराउन नमिल्ने तर्क गर्दै मन्त्रालयले दशौं अन्तर्राष्ट्रिय महाधिवेशन वर्तमान कार्यसमितिले नभई संरक्षक परिषदमार्फत मात्र गर्न गराउन निर्देशन दिएको छ ।

    परराष्ट्र मन्त्रालयले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदलाई ३ मंसिरमा पत्र लेख्दै यस्तो भनेको हो । सोही दिन संघले नयाँ मिति सार्वजनिक गरेको थियो । संघमा देखिएका विवाद समाधान गरी सन् २०२१ भित्र संघको दशौं अन्तर्राष्ट्रिय महाधिबेशन सम्पन्न गर्ने कार्य विधानको धार १६ बमोजिम गठित संरक्षक परिषद मार्फत मात्र गर्नू, गराउनू भनी मन्त्रालयले पत्र लेखेको हो ।

    एनआरएनए अध्यक्ष कुमार पन्तले परराष्ट्रको निर्देशन ठाडो राजनीतिक हस्तक्षेप भएको भन्दै कानूनी लडाईंमा जाने प्रतिक्रिया दिएका छन् । उनले विधान बमोजिम नै आफ्नो एनआरएनको कार्यकाल थपिएको समेत बताएका छन् । संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै उनले विधान विपरीतको निर्देशन कुनै पनि हालतमा नमान्ने समेत बताएका छन् । उनले तोकिएकै समयमा निर्वाचन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

    यस्ता छन् परराष्ट्र मन्त्रालयले दिएका निर्देशन

    संघको विधानको धारा १६.१.४ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् निष्क्रिय रहन गएमा वा अत्यन्तै विवादित भई संस्था विभाजित हुने अवस्था सृजना भएमा संरक्षक परिषदले संस्थाको संरक्षण गर्ने ब्यबस्था रहेको देखिन्छ । तसर्थ संघमा देखिएको विवाद समाधान गरी संघलाई गतिशीलता प्रदान गर्नका लागि देहायबमोजिम गर्नु गराउनु हुन् गैर आवासीय नेपालीसम्बन्धी नियमावली, २०६६ को नियम १६ को उपनियम २ बमोजिम यस मन्त्रालयको मिति २०७८-८-०३ निर्णयानुसार अनुरोध गरिन्छ ।

    १. वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकाल पूरा भईसकेको हुँदा त्यस परिषदले संस्थालाई दूरगामी असर गर्ने कुनै कार्य नगर्नू, नगराउनू ।

    २. संघको विधानको धारा १३.७ को खण्ड ग बमोजिम चयन हुने ६५ प्रतिशत प्रतिनिधिका सम्बन्धमा विगतको प्रचलित अभ्यासअनुसार वर्तमान राष्ट्रिय समन्वय परिषदले सिफारिस गरी पठाएका महाधिवेशन प्रतिनिधिहरुलाई मान्यता दिने ।

    ३. हाल संघमा देखिएका विवादहरुको समाधान गरी सन् २०२१ भित्र संघको दशौं अन्तर्राष्ट्रिय महाधिबेशन सम्पन्न गर्ने कार्य विधानको धार १६ बमोजिम गठित संरक्षक परिषद मार्फत मात्र गर्नू, गराउनू ।

  • हेलम्बुमा आगलागीमा परि तीन बालकको मृत्यु

    हेलम्बुमा आगलागीमा परि तीन बालकको मृत्यु

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागीमा परि तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ छन् । ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किएपछि आगलागी भएको बताइएको छ ।

  • नेपालको आफ्नै भू-उपग्रहसम्बन्धी काम गर्न चार कम्पनी सर्टलिस्टमा, कसले पाउला जिम्मेवारी ?

    नेपालको आफ्नै भू-उपग्रहसम्बन्धी काम गर्न चार कम्पनी सर्टलिस्टमा, कसले पाउला जिम्मेवारी ?

    काठमाडौं । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) सम्बन्धी काम गर्ने सम्बन्धी अध्ययन गर्न चार कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन्। स्याटेलाइटको नियमन र सुरक्षासम्बन्धी आवश्यक नीति, बिजनेस मोडालिटी एवं संचालनबारे आशयपत्र बुझाएका ८ कम्पनीमध्ये नेपाल दूरसञ्चार प्राधिकरणले चार कम्पनी छनोट गरेको जनाएको छ । प्राधिकरणका अनुसार फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्याट, यूएईको एसथ्री टेल इंक र थाइल्याण्डको थाइकम यस प्रयोजनका लागि छनोट भएका कम्पनी हुन् ।

    प्राधिकरणका अनुसार सर्टलिस्टमा परेका ४ कम्पनीमध्ये उनीहरुको अनुभव र आर्थिक, प्राविधिक प्रस्तावका आधारमा पुनः छनोट प्रक्रिया अघि बढाइने भएको छ । प्राधिकरणले यसअघि दुई पटकसम्म योग्य कम्पनी नभेटेको भन्दै खारेज गरेको सेटलाइटसम्बन्धी ठेक्का प्रक्रिया पुनः थालेको थियो । सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालनमा ल्याउने भन्दै भू–उपग्रह सम्बन्धी नीति सार्वजनिक गरिएको छ ।

    यसअघि नेपालको आफ्नै स्याटेलाइट राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए । अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिंगापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया र इजरायलका गरी २२ कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेश गरेका थिए ।

    २०७३ असोजमा पहिलो पटक मागिएको आशयपत्र समयसापेक्ष नभएको भन्दै २०७७ मंसिर २२ मा सबै प्रक्रिया खारेज गरिएको थियो । नेपालले हाल विभिन्न विदेशी भू(उपग्रहहरुको प्रयोग गरी दूरसंचार तथा टेलिभिज सेवा प्रशारण गरिहेको छ । जसका कारण नेपालले भू–उपग्रह शुल्कवापत अर्बौ रुपैयाँ विदेशिएको छ ।

  • महिला क्रिकेट : नेपाल हङकङसँग पराजित

    महिला क्रिकेट : नेपाल हङकङसँग पराजित

    काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत पहिलो खेलमा नेपाललाई हङकङले ६ विकेटले हराएको छ । हङकङका लागि मारिको हिलले शानदार ब्याटिङ गरेपछि नेपाल पराजित भएको हो । उनले ४२ बलमा ४४ रन जोड्दै जितको आधार तयार पारिन् । नेपालले टस हारेर ३ विकेटको क्षतिमा १०४ रन मात्र बनाएको थियो । जवाफमा हङकङले १८ औँ ‍ओभरमा लक्ष्य भेटायो । नेपाल हङकङ भन्दा बलियो टोली भएपनि पराजित भएको हो ।

    पहिलो हारसँगै नेपालको विश्वकप यात्रा कठिन बन्ने देखिएको छ । किनकी यो प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले मात्र ग्लोबल क्वालिफायरमा भाग लिन पाउँछ । एसिया क्षेत्र छनोटमा नेपाल सहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई सहभागी छन्। नेपाल आगामी सबै खेलमा विजय भई हङकङ हारेको अवस्थामा मात्र नेपालको सम्भावना रहन्छ ।

  • नेपालमा अब १८ वर्ष भन्दा माथिका सबैले कोरोनाको खोप लगाउन सक्ने

    नेपालमा अब १८ वर्ष भन्दा माथिका सबैले कोरोनाको खोप लगाउन सक्ने

    काठमाडौं । नेपालमा अब १८ वर्ष माथिका सबै नागरिकले कोरोना विरुद्धकोखोप लगाउन सक्ने भएका छन् । यसअघि सरकारले लक्षित वर्ग र उमेर समुह तोक्दै खोप लगाइरहेको थियो । अब भने छुटपुट सबै नागरिकले खोप लगाउन सक्ने भएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । सोही अनुसार सोमबार अधिकांश स्थानीय तहले सूचना निकाल्दै खोप लगाउन आउन आह्वान गरेका छन् ।

    यसअघि खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन मन्त्रालय र स्थानीय तहले आह्वान गरेका छन् । सरकारले आगामी पुस मसान्तभित्र दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य लिएको छ । यसबीचमा दुई करोड १७ लाख नागरिकमा खोप पुर्याउने लक्ष्य लिइएको छ । अहिलेसम्म कूल जनसङ्ख्याको ३० प्रतिशत जनसङ्ख्याले पहिलो मात्रा र २६ प्रतिशत जनसङ्ख्याले दोस्रो मात्रा समेत पाइसकेको तथ्यांक छ ।

  • नेपालमा ३८५ मा कोरोना पुष्टी, चार जनाको मृत्यु

    नेपालमा ३८५ मा कोरोना पुष्टी, चार जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना देखिएको छ । नौ हजार ९२१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ७७६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत छ । पछिल्लो २४ घण्टामा २५८ जना कोरोना मुक्त भएका छन् । सो अवधिमा चार जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार पाँच सय पुगेको छ । नेपालमा हालसम्म सात हजार २६९ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा ७१ हजार ४८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • विनोद चौधरी बने कांग्रेसको महाधिवेशन प्रतिनिधि

    विनोद चौधरी बने कांग्रेसको महाधिवेशन प्रतिनिधि

    नवलपुर । नेपाली कांग्रेसका सांसद विनोद चौधरी पार्टीको महाधिवेशन प्रतिनिधि चुनिएका छन् । सोमबारबाट नवलपुरमा सुरू प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चौधरी महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । चौधरीबाहेक अरू सर्वसम्मत महाधिवेशन प्रतिनिधि भएनन्। अरू महाधिवेशन प्रतिनिधि चयनका लागि मंगलबार निर्वाचन हुने भएको छ । चौधरी मधेशी कोटाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । कांग्रेसको महाधिवेशन अन्तर्गत आज विभिन्न ६० जिल्लामा प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन भएको हो ।

  • अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते

    वासिङ्टन । अमेरिकाको विस्कन्सिन राज्यमा आइतवार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ।

    वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्ति मार्फत् उक्त घटनाम ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ ।

    एएफपी, वासिङ्टन । अमेरिकाको विस्कन्सिन राज्यमा आइतवार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ।

    वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्ति मार्फत् उक्त घटनाम ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ ।

  • अफगान महिलालाई टेलिभिजन नाटकमा अभिनय रोक, यस्ता छन् तालिबानका नयाँ प्रतिबन्ध

    अफगान महिलालाई टेलिभिजन नाटकमा अभिनय रोक, यस्ता छन् तालिबानका नयाँ प्रतिबन्ध

    एजेन्सी । अफगानिस्तानमा महिलालाई टेलिभिजन नाटकमा अभिनय गर्न प्रतिबन्ध लगाइएको छ । तालिबान सरकारले एउटा नयाँ निर्देशिका जारी गर्दै महिलालाई टेलिभिजन नाटकमा प्रतिबन्ध लगाएको हो ।

    त्यसैगरी महिला पत्रकार र टेलिभिजन प्रस्तोतालाई सम्पूर्ण अनुहार छोप्ने बस्त्र लगाउन निर्देशन दिइएको छ । अफगानिस्तान टेलिभिजन च्यानलका लागि जारी गरिएको निर्देशिकामा आठ ओटा नयाँ नियम रहेको जनाइएको छ ।

    जसअनुसार मुसलमानहरुको मूल्य र मान्यताविपरीत वा शारिया सिद्धान्तविरोधी फिल्मदेखि कमेडी शृंखला प्रसारणमा रोक लगाइएको छ ।

    मुस्लिम धर्म वा आमअफगानिका लागि अपमानित हुने हास्य तथा रमाइला कार्यक्रममाथि पनि प्रतिबन्ध लगाइएको छ । विदेशी सांस्कृतिक मूल्य र मान्यता प्रबद्र्धन हुने चलचित्रलाई प्रतिबन्ध लगाउन तालिबानले जोड दिँदै आएको छ । अफगान टेलिभिजन च्यानहरुले प्रायः विदेशी नाटक प्रसारण गर्छन् ।

    ती नाटकहरुमा अफगान महिलाहरु मुख्य भूमिकामा देखिन्छन् । अफगानिस्तानको पत्रकारहरुको संगठनका सदस्य हुजातुल्लाह मुजाडेडीले नयाँ प्रतिबन्ध अप्रत्यासित भएको प्रतिकृया दिएका छन् ।