Category: फिचर

  • आज भाइटिका, उत्तम मुहूर्त ११: ०२ बजे

    आज भाइटिका, उत्तम मुहूर्त ११: ०२ बजे

    काठमाडौं । यमपञ्चक (तिहार)को आज पाँचौँ दिन, हिन्दु धर्मावलम्बीले आज भाइटीका मनाउँदैछन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर यो पर्व मनाइन्छ ।

    प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

    दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको बताइन्छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको छ । यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

    यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाँहिने पार्नु पर्ने शास्त्रीय नियम छ । टिका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

  • म्ह: पुजाका दौरान मङ्गलबजारमा आगलागी, एकै घरका चार जनाको मृत्यु

    म्ह: पुजाका दौरान मङ्गलबजारमा आगलागी, एकै घरका चार जनाको मृत्यु

    काठमाडौं । पाटनको मंगलबजारमा आगलागी हुँदा एकैपरिवारका चार जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार शुक्रबार साँझ आगलागी हुँदा एकैपरिवारका चार जनाको मृत्यु भएको हो ।  महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्रकार छन् । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् । दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

    म्ह पुजाका लागि बालिएको दियोबाट आगो सल्किएको र त्यसपछि ग्यास सिलिन्डर पड्किएर घटना भएको प्रहरीको अनुमान छ । घटना बारे प्रहरीले अनुसन्धान थालेको बताएको छ ।

  • नेपालमा १८३ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    नेपालमा १८३ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ३०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ५३७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.६प्रतिशत रहेको जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ६४९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४३८ पुगेको छ । त्यस्तै नेपालमा हाल आठ हजार ४१३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • पटाका पड्काउँदा भारतको राजधानी नयाँ दिल्ली कुइरोले ढाकियो

    पटाका पड्काउँदा भारतको राजधानी नयाँ दिल्ली कुइरोले ढाकियो

    नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली संसारकै प्रदुषित बनेको छ । वायु प्रदुषण आइतबार सम्म नै कायम रहने भएको छ । भारतीय संचारमाधयमहरुका अनुसार नयाँ दिल्लीमा लक्ष्मीपूजा र यसका अवसरमा पढ्काइएका पटाका प्रमुख कारण हो । राजधानी नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण शुक्रवार वायु प्रदूषण खतरनाक स्तरमा पुगेको हो ।

    प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसहरूले बिहीवार राति अबेरसम्म पटाका पट्काएका छन् । नयाँ दिल्लीको आकाश धुम्म परेको छ । सवारीसाधन र औद्योगिक उत्सर्जन, धुलो र मौसमले दिल्लीलाई विश्वको सबैभन्दा प्रदूषित राजधानीको रूपमा चिनाएको छ। हिउँद याममा छिमेकी राज्यहरूमा जलाइएका परालहरूका धुवाँका कारण दिल्लीको वायु विषाक्त बन्ने गरेको छ।

    दीपावलीको समयमा आतिशबाजीका प्रदूषित कणहरू वायुमण्डलको तल्लो सतहमै रहने हुँदा हावाको गुणस्तरलाई झनै बिगारेको बताइएको छ । वायुमा हुने खतरनाक साना प्रदूषकहरू पीएम २.५ को मात्रा दिल्लीका केही भागमा ९९९ प्रतिघनमिटर थियो जुन वायु गुणस्तर नाप्ने मेसिनमा देखाउने सबैभन्दा ठूलो सङ्ख्या हो। त्यहाँका धेरै ठाउँहरूमा ५०० भन्दा माथि पीएम २.५ को मात्रा रेकर्ड गरिएको थियो। यो मात्रा भनेको जनस्वास्थ्यलाई गम्भीर असर गर्ने स्तर हो।

    वायु गुणस्तर सूचकाङ्क एक्यूआईमा शून्यदेखि ५० सम्मको मात्रा ूराम्रोू मानिन्छ र ५१ र १०० बीचमा मात्रा सन्तोषजनक मानिन्छ। प्रदूषणको स्तरलाई न्यूनीकरण गर्न सरकारले यस वर्ष पटाका विक्री वितरणमा प्रतिबन्ध लगाएको छ । तर त्यसले काम गरेको देखिएन। शुक्रवार बिहान सहर प्रदूषणका कारण धुम्म थियो भने धेरै मानिसले आँखा पिरो भएको र घाँटी चिलाएको बताएका थिए।

    एनडीटीभीका अनुसार प्रदूषणका कारण राजमार्गमा छवटा कार दुर्घटना भएका छन् जसमा केही मानिसहरू घाइते भएका छन्। अधिकारीहरूले वायु गुणस्तर आइतवार बेलुकीसम्म थोरै सुधार हुने बताएका छन्। सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन्।

    भारत संसारकै सबैभन्दा वायु प्रदूषित देश हो। संसारका सबैभन्दा प्रदूषित ३० सहरमध्ये २२ वटा भारतमा रहेका छन्। भारतका प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विज्ञहरू बताउँछन्। गत वर्ष दिल्लीमा पीएम २.५ को हालसम्मकै सबैभन्दा बढी मात्रा रेकर्ड गरिएको थियो जुन विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सीमा भनी निर्धारण गरेको भन्दा १४ गुणा बढी थियो।

  • अमेरिकी कम्पनीले उत्पादन कोरोनाको खाने औषधी ८९ प्रतिशत प्रभावकारी

    अमेरिकी कम्पनीले उत्पादन कोरोनाको खाने औषधी ८९ प्रतिशत प्रभावकारी

    १९ कात्तिक, काठमाडौं । अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोभिड बिरामीका लागि विकास गरेको खाने औषधी ८९ प्रतिशत प्रभावकारी देखिएको छ । कम्पनीले आफूले विकास गरेको खाने चक्की अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने सम्भावनालाई रोक्ने कुरामा ८९ प्रतिशत प्रभावकारी देखिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

    अवस्था गम्भीर हुने उच्च जोखिममा रहेका बिरामीहरूले कोभिडका लक्षण देखिनासाथ यो चक्कीको सेवन गर्नुपर्ने बताइएको छ। पाँच दिनसम्म दिनहुँ तीनवटा चक्की सेवन गर्नुपर्ने हुन्छ। फाइजरले उक्त चक्कीको आपत्‌कालीन प्रयोगका लागि अनुमति दिन अमेरिकी नियामक निकायमा निवेदन समेत दिइसकेको छ। उसको प्रतिद्वन्द्वी कम्पनी मर्कले पनि आफूले विकास गरेको मोल्न्यूपिरभीर चक्कीलाई प्रयोग अनुमति दिन निवेदन दिएको छ।

    उसको चक्कीले अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ। ब्रिटिश नियामक निकायले बिहीवार मात्रै यस्तै औषधीलाई प्रयोगको अनुमति दिएको छ । अस्पताल र चिकित्सकहरूमाथि बोझ घटाउने गरी कोभिड बिरामीले घरमै सेवन गर्न सक्ने चक्कीको विकास गर्न औषधि उत्पादकहरू लागिपरेका छन्। कोभिड देखिनासाथ जतिसक्दो चाँडो जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक मोल्न्यूपिरभीर चक्की दिइनेछ।

    मोल्न्यूपिरभीर अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको कोभिड विरुद्धको पहिलो औषधी हो, जसलाई सुईको रूपमा लिनुभन्दा सेवन गर्न सकिनेछ। कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्यूपिरभीरको प्रयोगका लागि अनुमति दिइएको यूकेको औषधि निकामक एमएचआरएले जनाएको थियो।

  • लक्ष्मीपूजाको रात काठमाडौंदेखि न्यूयोर्कसम्म कस्तो देखिए ? (तस्वीरमा)

    लक्ष्मीपूजाको रात काठमाडौंदेखि न्यूयोर्कसम्म कस्तो देखिए ? (तस्वीरमा)

    काठमाडौं । बिहीबार संसारभर लक्ष्मीपूजाका साथ दिपावली मनाइयो । उज्यालोको अनेक रुपले नेपालको राजधानी शहर काठमाडौं धपक्कै बल्यो । भारतमा समेत दिपावली धुमधामसाथ मनाइयो । यी दुई मुलुकबाहेक संसारभर दिपावलीका अनेक स्वरुप देखिएका छन् ।

    यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन विहीबार हिन्दु धर्मावलम्बीले ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाएका हुन् । आज चौथो दिन भने गोवद्र्धन पूजा मनाइदैंछ । गाई, गोरु तथा गोठमा पूजा गरि यो पर्व मनाइन्छ । यो वर्ष भाइटिका शनिबार परेको छ । भाइटिकाको उत्तम साइत भने ११ बजेर २ मिनेट जाँदा रहेको छ ।

    दिपावलीमा चम्किएको काठमाडौ Photo : Gorakhapatra
    अमेरिकाको न्यूयोर्कस्थित वर्ड ट्रेड सेन्टरमा दिपावलीको झलक ANI\BBC
    बेलायतको लेस्टर शहरमा दिपावली : BBC
    दुबईमा लक्ष्मीपूजाको रात
  • डब्लूएचओको चेतावनी : यूरोप कोरोनाको केन्द्रमा छ

    डब्लूएचओको चेतावनी : यूरोप कोरोनाको केन्द्रमा छ

    लण्डन । विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले युरोप कोरोना भाइरसको पुनः केन्द्रमा रहेको चेतावनी दिएको छ । यूरोपमा अहिले कोरोना विरुद्धको सचेतना शून्य प्राय गरिएको छ । सामाजिक दूरी कायम गर्न छाडिएको छ । जसले कोरोनाभाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । सो महादेश पुनः एकपटक कोभिड महामारीको केन्द्र बनेको विश्व स्वास्थ्य सङ्गठनको भनाई छ ।

    बीबीसीका अनुसार डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले फेब्रुअरीसम्ममा युरोप महादेशमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाखभन्दा धेरै पुग्नसक्ने बताएका छन् । साथमा खोप पर्याप्त मात्रामा नलगाइँदा समेत सङ्क्रमितको सङ्ख्या बढको उनको भनाई छ । उनले काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्ने भन्दै कोभिड १९ बढेकोमा प्रतिक्रिया जनाउने भन्दा सुरुमै यो सङ्क्रमण हुन नदिनेतर्फ काम गर्नए सुझाव दिए ।

    अहिले कोरोना विरुद्धको खोप लगाउने दर यूरोपमा घटेको छ । यद्दपी ती मुलुकसँग पर्याप्त मात्रामा खोप रहेको छ । स्पेनमा करिब ८० प्रतिशत मानिसले दुवै मात्रा खोप लगाएका छन् । फ्रान्स र जर्मनीमा भने क्रमशः ६८ र ६६ प्रतिशतले मात्रै लगाएका छन्। पूर्वी र मध्ययुरोपका केही देशमा त खोप लगाउनेको सङ्ख्या अझै कम रहेको छ।

    सन् २०२१ को अक्टोबरसम्ममा जम्मा ३२ प्रतिशत रुसीहरूले मात्रै पूर्ण मात्रा खोप लगाएका छन्। डब्ल्यूएचओका युरोप प्रमुख क्लुग्अले सङ्क्रमणबाट जोगिन अपनाउनुपर्ने नियमलाई खुकुलो पारिएका कारण पनि सङ्क्रमण बढेको बताएका छन्। युरोपेली क्षेत्रमा मध्यएसियाका केही भागसहित ५३ देश समेटिन्छन्।

  • आजबाट शुरु भयो नेपाल सम्वत ११४२, म्हः पूजा समेत आज

    आजबाट शुरु भयो नेपाल सम्वत ११४२, म्हः पूजा समेत आज

    काठमाडौं । नेपालमा प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् आज मनाइदैछ । आजबाट नेपाल सम्वतः ११४२ शुरु भएको छ । यो सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँछन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात् गरेको बताइन्छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो ।

    लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो । लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् मानिन्छ । राससका अनुसार विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो ।

    नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ । गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

    विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ । आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नो म्हः पूजा पर्व मनाउने गर्दछन् ।

  • जाजरकोटमा मिनीट्रक दुर्घटना, २ जनाको मृत्यु

    जाजरकोटमा मिनीट्रक दुर्घटना, २ जनाको मृत्यु

    जाजरकोट । जाजरकोटमा मिनी ट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपता रहेको र सात जना घाइते भएको प्रहरीले जनाएको छ । बिहीबार राति ११ बजे सुर्खेतबाट जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना ठेगाना नखुलेका दिलबहादुर शाही छन् ।

    अर्का एक जनाको पहिचान खुलेको छैन । घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का छन् । घाइते धनबहादुर चालक रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

  • लक्ष्मी पूजाका दिन अमेरिकी राष्ट्रपतिले भने : ‘ह्याप्पी दिवाली’

    लक्ष्मी पूजाका दिन अमेरिकी राष्ट्रपतिले भने : ‘ह्याप्पी दिवाली’

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीका अवसरमा यस पर्व मान्ने संसारभरका सबैमा शुभकामना दिएका थिए । बिहीबार दियो बालेको तस्वीर सहित ट्वीटरमार्फत शुभकामना पोष्ट सार्वजनिक गर्दै उनले यो पर्व मनाउने सबैमा शुभकामना बाँडेका हुन् ।

    राष्ट्रपति निवास ह्वाइट हाउसमा दियो बालेको तस्बिरमा उनी र अमेरिकाकी प्रथम महिला जील बाइडेन देखिएका छन् । बिहीबार संसारभर हिन्दु धर्मावलम्वीले लक्ष्मीपूजा मनाइरहेका छन् ।

    राष्ट्रपतिले भनेका छन्, ‘दिवालीको प्रकाशले हामीलाई सधैं यो स्मरण गराओस्, हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ, विभाजनपछि एकता आउनेछ र दुखपछि आशा पलाउनेछ।’

    अमेरिका मात्र नभई दिवालीको उत्सव मनाइरहेका संसारभरका सबै हिन्दु, शिख, जैन र बौद्धहरूलाई उनले शुभकामना भनेका छन्।

  • कोरोनाविरुद्ध खाने चक्कीलाई बेलायतले दियो अनुमति

    कोरोनाविरुद्ध खाने चक्कीलाई बेलायतले दियो अनुमति

    लण्डन । लक्षण देखिने कोभिडका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतले प्रयोगको अनुमति दिएको छ । त्यहाँको औषधि नियामक निकायले अनुमोदन गरेसँगै अब औषधीको प्रयोग गर्ने बाटो खुलेको छ । मोल्न्यूपिरभीर नाम दिइएको चक्की भर्खरै कोभिड देखिएका जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक दिइने बीबीसीले लेखेको छ ।

    शुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको उक्त चक्कीले अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ। यूकेका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूका लागि यो ओखती महत्त्वपूर्ण हुने बताएका छन्।

    कोभिड बिरामीको उपचारका लागि घरमै लैजान सकिने एन्टिभाइरललाई अनुमोदन गर्ने यूके विश्वकै पहिलो मुलुक बनेको छ । मोल्न्यूपिरभीर अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको कोभिड विरुद्धको पहिलो ओखती हो जसलाई सुईको रूपमा लिनुभन्दा खान सकिनेछ।

    कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्यूपिरभीरको प्रयोगका लागि अनुमति दिइएको यूकेको औषधि नियामक एमएचआरएले जनाएको छ।

    कोभिडको उपचारमा सुईको रूपमा दिनुको साटो खान मिल्ने विश्वमै यो पहिलो पटक अनुमोदन गरिएको एन्टिभाइरल भएको संस्थाकी प्रमुख कार्यकारी जुन रेनले जानकारी दिएकी छिन् ।

  • नेपालमा ३५६ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    नेपालमा ३५६ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार २ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा २८७ जना र ३ हजार १ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जना गरी ३५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ५१८ जना निको भएका छन् ।

    मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार ९१० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ भने ७ लाख ९३ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८९० जना रहेका छन् । जसमध्ये ८ हजार २३३ जना होम आइसोलेसनमा रहेका छन् भने ६५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये २१५जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ८४, ललितपुरमा ३४, मोरङमा २३, सुनसरी र भक्तपुरमा १ढर१९ जना, रुपन्देहीमा १७ र कास्कीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

  • विवेकशील साझा पार्टी विवाद, आयोगले मिश्र समूहलाई दियो बैधता

    विवेकशील साझा पार्टी विवाद, आयोगले मिश्र समूहलाई दियो बैधता

    काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधाता अध्यक्ष रवीन्द्र मिश्र समूहलाई दिएको छ । मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्दै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो । त्यसअनुसार विवरण अध्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेको हो । विवेकशील साझा पार्टीको संशोधित विधानमा संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ ।

    अब पार्टीले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा वकलात गर्ने भएको छ । विवेकशील र साझा पार्टीबीच एकता गर्दा बनेको विधानमा केन्द्रीय समितिको बैठक अध्यक्ष मिश्र र संयोजक पाण्डेको सहमतिमा मात्र बस्ने उल्लेख थियो । संशोधित विधानमा बैठक बोलाउने अधिकार अध्यक्षलाई मात्र दिइएको छ ।

    राजीनामा दिएका ५ जना, मृत्यु भएका एक जनालाई हटाएर केन्द्रीय समिति सदस्य १२४ सदस्यीय बनाइएको छ । आयोगले त्यसलाई पनि स्वीकार गरेको छ । अब विवेकशील साझा पार्टीमा मिश्र पक्ष आधिकारिक भएको हो । उता, फरक मत राख्दै आएका संयोजक पाण्डेले भने आयोगविरुद्ध अदालत जाने बताएका छन् ।

  • न्यायालय विवादबारे प्रधानमन्त्री मौन, गठबन्धन चुनावसम्म जाने भनाई

    न्यायालय विवादबारे प्रधानमन्त्री मौन, गठबन्धन चुनावसम्म जाने भनाई

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर नेपाल फर्किएका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्म कायम रहने बताए । उनले भने, ‘गठबन्धन पुरै समयसम्म रहन्छ, कुनै किसिमको शंका नगर्नु भए हुन्छ ।’

    तर, उनी न्यायालयमा जारी विवादका सम्बन्धमा भने मौन बसे । सत्तारुढ दलका नेताहरुले प्रधानमन्त्री फर्किएपछि यसबारे धारणा बनाउने बताइरहेका बेला देउवाले भने सार्वजनिक कार्यक्रममा यसबारे टिप्पणी गरेनन् । प्रधानमन्त्रीलाई विमानस्थलमा मन्त्रीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्रीको साथमा वातावरणमन्त्री बाहेक अन्य प्रतिनिधि स्वदेश फर्किएका छन् ।

  • टोपी लगाएका कारण बाइडेनले सजिलै चिने : प्रधानमन्त्री

    टोपी लगाएका कारण बाइडेनले सजिलै चिने : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले संयुक्त अधिराज्यको भ्रमणका क्रममा रमाइलो किस्सा सार्वजनिक गरेका छन् । बिहिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले बेलायतमा रहँदा विश्वका नेताहरूसँग गरिएका भेटवार्ताका कुराकानीबारे आफ्नो अनुभव सुनाए। जसमा उनलाइ अमेरिकी रास्ट्रपति जो बाइडेनले चिन्नुमा नेपाली टोपी मुख्य कारण थियो ।

    प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको कुराकानीबारे बताउँदै भने, ‘बाइडेनले नेपाल खुब मनपर्छ भने।’
    आफू टोपी लगाएर गएकोले देख्नेवित्तिकै बाइडेनले चिनेको प्रधानमन्त्री देउवाले बताए । ‘बाइडेनसँग विशेष रूपमा भेट भयो। म टोपी लगाएर गएको थिएँ देखेपछि चिनिहाले,’ प्रधानमन्त्री देउवाले भने, ‘पहिला नेपाल आएका पनि रहेछन्। नेपाल खुब मनपर्छ भने।’ 

    बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि आफू नेपाल बारे जानकार रहेको बताएको उनले जानकारी दिए । प्रधानमन्त्री बेलायत भ्रमण पूरा गरि काठमाडौं फिर्ता भएका हुन् ।

  • कोरोना महामारीमा पर्यटकको उद्धार गरेवापत नेपालले पायो अवार्ड

    कोरोना महामारीमा पर्यटकको उद्धार गरेवापत नेपालले पायो अवार्ड

    काठमाडौं । कोरोना महामारीका समयमा अलपत्र परेका विदेशी पर्यटकको उद्धारमा उत्कृष्ट काम गरेको भन्दै नेपालले अवार्ड प्राप्त गरेको छ । नेपालले बेलायतमा जारी ट्राभल शोमा ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको हो । नेपाल पर्यटन बोर्डले यस्तो अवार्ड प्राप्त भएको जानकारी गराएको छ । महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका बेला नेपालका विभिन्न गन्तव्यमा अड्किएका विदेशी पर्यटकको उद्धारमा सक्रियता देखाएबापत नेपालले विश्व चर्चित वन्डरलस्ट म्यागजिनले बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई यो पुरस्कार प्रदान गरिएको नेपाल पर्यटन बोर्डले उल्लेख गरेको छ ।
    लण्डनमा आयोजित वर्ल्ड ट्राभल मार्ट (डब्ल्यूटीएम) को अवसरमा एक समारोहका बीच अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई हस्तान्तरण गरिएको छ । ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ अवार्डका लागि मनोनयनमा परेका नौवटा देशलाई उछिन्दै नेपालले अवार्ड पाएको हो ।

    पर्यटनमन्त्री आले, पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी र छ वटा नेपाली पर्यटन व्यवसायी कम्पनी सन् २०२१ नोभेम्बर १ देखि ३ सम्म आयोजना भएको डब्ल्यूटीएममा सहभागी भएका बोर्डले जनाएको छ ।
    लकडाउनमा बोर्डले स्ट्रयान्डेड इन नेपाल अनलाइन अभियान सञ्चालन गरी कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी), जिल्ला प्रशासन कार्यालय, पर्यटक प्रहरी, पालिका तथा पर्यटनसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका एक हजार सत सय २१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो । यस्तै बोर्डले रिपाट्रिएशन फ्लाइटमार्फत झण्डै पाँच हजारभन्दा विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको थियो ।

  • इरानको परमाणु सम्झौता ब्यूताउने वार्ता यसै महिना हुँदै, अमेरिकाले भाग लिने

    इरानको परमाणु सम्झौता ब्यूताउने वार्ता यसै महिना हुँदै, अमेरिकाले भाग लिने

    काठमाडौं । इरान र अन्य ६ मुलुकबीच सन् २०१५ मा भएको ऐतिहासिक परमाणु सम्झौतालाई ब्यूँताउने उद्देश्य राखेर गर्न लागिएको वार्ता यसै महिना आयोजना हुने भएको छ । बीबीसीका अनुसार इरानका प्रमुख वार्ताकार अली बगेरी कनीले सरकारले नोभेम्बर २९ मा वार्ताका लागि भियनामा भेट्न सहमति जनाएको बताएका छन् ।

    इरानमा गत जुन महिनामा कट्टरपन्थी नयाँ राष्ट्रपति निर्वाचित भएयता वार्ताको प्रंक्रिया अवरुद्ध थिए । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका पालामा उक्त सम्झौताबाट अमेरिका पछि हटेको थियो । वासिङ्टनले भने त्यसयता फेरि सामेल हुनसक्ने बताउँदै आएको छ। बाइडन प्रशासनले भियनामा हुने वार्ताका लागि अमेरिका उपस्थित हुने जनाएको छ।

    उक्त वार्तामा सम्झौताका अन्य हस्ताक्षरकर्ता यूके, चीन, फ्रान्स, जर्मनी र रुस पनि उपस्थित हुने भएका छन् । बुधवार आफ्नो ट्वीटरमा प्रमुख वार्ताकार कनीले ूगैरकानुनी र अमानवीय प्रतिबन्धहरू हटाउने उद्देश्य राखिएको वार्ता नोभेम्बर २९ तारिखमा भियनामा हुने सहमति भएको बताएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले यदि इरानका प्रतिनिधिहरू गम्भीरू् भए सम्झौतामा छिट्टै पुग्न सकिने बताएका छन् ।


    इरानका राष्ट्रपति इब्राहिम रइसीले वार्तामा कडा अडान राख्ने ठानिएको छ। पश्चिमा देशहरूले इरानलाई वार्तामा पुनः सहभागी हुन महिनौँदेखि आह्वान गर्दै आएका छन्। सन् २०१५ मा भएको सम्झौता अनुसार, इरानले युरेनियम प्रवर्द्धनमा रोक लगाउनेमा सहमति जनाएको थियो।

  • प्रधानमन्त्री आज स्वदेश फर्कने

    प्रधानमन्त्री आज स्वदेश फर्कने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी भई आज स्वदेश फर्किंदै छन् । उनी नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा सहभागी भएका हुन् । उनले सम्मेलनलाई सम्बोधन समेत गरे । २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२ गते लण्डन उडेका हुन् ।

    प्रधानमन्त्री नेतृत्वको टोली इडेनवर्गबाट कतार एयरवेजमार्फत दोहा हुँदै काठमाडौं आउन लागेको हो । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव भने कोप–२६ मा सहभागी छन् । भ्रमण टोलीका अन्य सदस्य प्रधानमन्त्रीसँगै फर्कने छन् । बेलायतमा रहँदा प्रधानमन्त्रीले उच्चस्तरीय भेटघाट समेत गरेका थिए ।

  • आज लक्ष्मी पूजा, यस्तो छ धार्मिक महत्व

    आज लक्ष्मी पूजा, यस्तो छ धार्मिक महत्व

    काठमाडौं । यमपञ्चक (तिहार)को तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता अनुसार आज बिहानैबाट घरघरमा सरसफाई गरिन्छ । गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।

    लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

    पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोको स्थानमा मैनबत्ती बाल्ने प्रचलन पनि बढ्न थालेको छ । दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा रहेको छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।

    लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
    आज साँझ युवती समूह बनाई घरघरमा भैलो खेल्छन् ।

    भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तिनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएको र वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई ‘भैलो’ हुन आएको हो ।

  • एमालेले महाधिवेशनमा माधव नेपालको बाहेक अन्य सबै पार्टीलाई निम्ता दिने

    एमालेले महाधिवेशनमा माधव नेपालको बाहेक अन्य सबै पार्टीलाई निम्ता दिने

    काठमाडौं । एमाले पार्टी निर्माणमा आफ्नो जिवनको महत्वपूर्ण समय खर्च गरेका नेता माधव कुमार नेपालको पार्टीबाहेक अन्य सबै पार्टीलाई एमालेले महाधिवेशन उद्घाटन समारोहमा निम्दा दिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा विदेशी पाहुनालाई समेत निमन्त्रणा दिइएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको पार्टीको प्रचार विभागले जनाएको छ ।

    आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने सो महाधिवेशनको पूर्वसन्ध्यामा आज एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख योगेश भट्टराईले यस्तो जानकारी गराए । तर, माधव कुमार नेपालको पार्टीलाई भने निम्ता नदिने उनको भनाई छ ।

    विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेकाले पार्टीलाई महाधिवेशनले थप एकताबद्ध र सुदृढ बनाउने भट्टराईले बताए । नेकपा एकीकृत समाजवादी पहिचान स्थापित भइनसकेको पार्टी भएकाले त्यसलाई आमन्त्रण गरिरहनुनपर्ने उनको भनाई छ । नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिने भएको छ ।

    विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । एक तिहाई महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी हुनेछ ।

  • कोभिड प्रभावित गरिब परिवारलाई १० हजार दिने कार्यविधि पारित, कसले पाउँछन् अनुदान ?

    कोभिड प्रभावित गरिब परिवारलाई १० हजार दिने कार्यविधि पारित, कसले पाउँछन् अनुदान ?

    काठमाडौं । सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहतस्वरुप १० हजार रुपैयाँ अनुदान दिने गरि कार्यविधि बनाएर राजपत्रमा प्रकाशित गरेको छ । कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि–२०७८ अनुसार कोभिड प्रभावित अति विपन्न परिवारले १० हजार रुपैयाँ अनुदान पाउने भएका हुन् ।

    राजपत्रमा प्रकाशित सूचना अनुसार विगतमा गर्दै आएको रोजगारी पूर्णरुपमा गुमाएको र रोजगारीको अर्को अवसर समेत प्राप्त गर्न नसकी बेरोजगार भएको असङ्गठीत क्षेत्रका मजदुर वा कामदारले राहत पाउनेछन् । खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाड्लो डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्याला–मजदूरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर र पर्यटकलाई पनि सो राहत रकम उपलब्ध गराइनेछ ।

    कोभिड–१९ सङ्क्रमणको कारणबाट एक घरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक सङ्कट झेल्नु परेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारले समेत राहत पाउनेछन् । यसैगरी, सरकारले एकाघरपरिवारका कुनै सदस्यले सरकारी, निजी वा अन्य कुनै सङ्घसंस्था वा वैदेशिक रोजगारीमा स्थायी, अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरी आयआर्जन गरिरहेका परिवारलाई राहत वितरण गर्ने छैनन् ।

    परिवारको कुनै सदस्स्यले नेपाल सरकारबाट उपलब्ध हुने अन्य सामाजिक सुरक्षा (ज्येष्ठ नागरिक, एकल महिला, दलित वा अपाङ्ग) बापतको भत्ता वा नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्थाबाट निवृत्तभरण वा विदेशी सरकारबाट पेन्सन सुविधा प्राप्त गरिरहेको, प्रधानमन्त्री रोजगार कार्यक्रम वा केन्द्र, प्रदेश वा स्थानीय सरकारको कार्यक्रम बमोजिम यस प्रयोजनका लागि एक पटक राहतका रुपमा नगद प्राप्त गरेको परिवारले सो कार्यविधिमा सहभागी हुन पाउने छैनन् ।

    अनुदान रकम सरकारले नेपाल राष्ट्र बैकबाट अनुमति प्राप्त वाणिज्य बैंक, विकास बैंक वा वित्तीय संस्थाबाट पाउने व्यवस्था गरेको छ । जसमा राहतस्वरुप रु दश हजार दिने घरपरिवारका सदस्यको अनिवार्य बैंकमा खाता हुनुपर्नेछ । सरकारले राहत वितरणका लागि १५ दिनको समय दिएर सूचना निकाल्नेछ ।

    सूचना आएपछि सम्बन्धित वडा कार्यालयमा परिवारले नगद प्राप्तिका लागि निवेदन दिन सक्नेछन् । निवेदनका साथमा नागरिकताको प्रतिलिपिसमेत आवश्यक पर्नेछ । सरकारले ७५३ स्थानीय तहका पाँच लाख परिवारलाई रु दश हजारका दरले वितरण गर्न रु पाँच अर्ब बजेट विनियोजन गरिएको छ ।

  • चीनले नेपाललाई अनुदानमा दियो थप १६ लाख डोज खोप

    चीनले नेपाललाई अनुदानमा दियो थप १६ लाख डोज खोप

    काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज साइनोफार्म खोप अनुदानमा दिएको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरिन् । चीनबाट हालसम्म पटक-पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ । नेपालले कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद समेत गरिसकेको छ । किनेको खोप मध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ ।

    अरू आउने प्रक्रियामा रहेको स्वास्थ सचिव रोशन पोखरेलले जानकारी दिए । कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत अन्य खोप खरीद गर्न कोभ्याक्सलाई आवेदन दिएको स्वास्थ्यमन्त्री खतिवडाले जानकारी गराए । राजदूत यान्छीले चीनको खोप सहयोगले महामारी नियन्त्रणमा सहयोगी हुने समेत बताइन्।

  • नेपालमा ४४७ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

    नेपालमा ४४७ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

    काठमाडौं । नेपालमा  पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जना गरी ४४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने ४३९ जना निको भएका छन् ।

    अब नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार ५४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ भने ७ लाख ९३ हजार २७१ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १२३ जना रहेका छन् । जसमध्ये ८ हजार ४३६ जना होम आइसोलेसनमा रहेका छन् भने ६८७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२३ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
    मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १३१, झापामा ३१, ललितपुरमा २७, वागलुङ र रुपन्देहीमका १९/१९ जना, चितवन र भक्तपुरमा १७/१७ जना, मोरङमा १५, कास्कीमा १२ तथा सुनसरी र पश्‍चिम नवलपरासीमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने

    भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निकट भविश्यमा नेपाल भ्रमणमा आउने जानकारी गराएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको ग्लास्गोमा भएको भेटमा मोदीले यस्तो जानकारी गराएका हुन् । दुई नेताबीच मंगलबार औपचारिक भेटवार्ता भएको हो । दुबै मुलुकले प्रधानमन्त्रीलाई एक अर्काको मुलुकमा भ्रमणको निम्तो दिएका थिए ।

    ग्लास्गोमा आयोजना भैरहेको संयुत्त राष्टसंघीय संरचना महासन्धी पक्ष राष्टहरुका २६ औँ सम्मेलनको वल्र्ड लिडर सम्मेलनमा भाग लिने क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएको साइडलाइन भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराए । मोदीले समेत छिट्टै नेपाल भ्रमणमा आउने बताएका हुन् ।

    केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा नेपाल भारत सम्बन्ध बिग्रिएको छ । सो सम्बन्धलाई प्रधानमन्त्री देउवाले सुधार गर्न चाहेका छन् । भेटवार्तामा नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो र प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो ।

    भेटवार्तामा दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ बढाउने विषयमा समेत कुराकानी भएको समेत बताइएको छ । भेटमा प्रधानमन्त्री देउवाले नेपालमा हाल रासायनिक मलको अभाव भएको जानकारी भारतलाई गराएका थिए । कोभिड महामारीमा समेत द्धिपक्षीय सहायता अझ बढाउने समझदारी भएको छ ।

  • कोप-२६ मा चिनियाँ र रुसी राष्ट्रपति नगएपछि भड्किए बाइडेन

    कोप-२६ मा चिनियाँ र रुसी राष्ट्रपति नगएपछि भड्किए बाइडेन

    काठमाडौं । संयुक्त अधिराज्यमा आयोजित कोप २६ सम्मेलनमा रुस र चिनियाँ राष्ट्रपति उपस्थित भएनन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको सन्दर्भको आलोचना गरेका छन्। मङ्गलवार राति कोप२६ मा बोल्दै बाइडेनले जलवायु एक ठूलो मुद्दा भएको र चीन त्यसबाट टाढिएको बताए ।

    बीबीसीका अनुसार त्यस्तै व्यवहार रुस र त्यहाँका राष्ट्रपति पुटिनले पनि देखाएको उनको आरोप छ । ग्लास्गोमा नोभेम्बर १४ अर्थात् दुई सातासम्म चल्ने सम्मेलनमा चीन र रुस दुवै देशका राष्ट्रपति अनुपस्थित छन्। तर दुवै देशले वार्ताका लागि आफ्ना प्रतिनिधि भने पठाएका छन्। विश्वमा कार्बन डाइअक्साइड सबैभन्दा धेरै उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ। रुस भने युरोपेली सङ्घ र भारतपछि पाँचौ स्थानमा पर्छ।

    सम्मेलनका लागि विश्वका १२० भन्दा बढी मुलुकका नेता उपस्थित छन्। देशहरूले सन् २०३० सम्ममा वनविनाश अन्त्य गर्ने र त्यही वर्षभित्र मिथेन ग्यासको उत्सर्जनलाई पनि सीमित गर्ने विश्वव्यापी प्रतिबद्धतामा सहमति जनाएका छन्। वनविनाश अन्त्य गर्ने प्रतिबद्धतामा चीन र रुस दुवैले हस्ताक्षर गरेका छन्।

    बाइडनले मङ्गलवार सम्मेलनमा बोल्न सुरु गर्नुअघि रुसी राष्ट्रपतिले कोप२६ मा वन व्यवस्थापनसम्बन्धी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गरेका थिए। क्रेमलिनले जारी गरेको विज्ञप्ति अनुसार पुटिनले रुसले वनको संरक्षण सशक्त र जोडदार रुपमा गर्ने बताए।

    अहिलेसम्मका वार्तामा चीन, रुस र साउदी अरेबियालगायतका देशले अहिलेसम्म कस्तो भूमिका खेले भन्नेबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा अमेरिकी राष्ट्रपतिले रुस र चीनबारे त्यस्तो टिप्पणी गरेका हुन्।

  • आज काग र कुकुर तिहार मनाइंदै

    आज काग र कुकुर तिहार मनाइंदै

    काठमाडौं । तिहार (यमपञ्चक)को दोस्रो दिन आज काग र कुकुर तिहार मनाइंदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ ।
    आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लागेको छ । त्यसअघि काग तिहारको साइत थियो । आज काग र कुकुरलाई जा गरी मीठा मीठा खानेकुरा खान दिइन्छ । यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरहरुले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वासका साथ कुकुर पुजा गरिन्छ ।

    कुकुर लोकप्रिय घरपालुवा जनावर समेत हो । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ । कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने यो वर्ष बिहीबार मनाउनु पर्ने भएको छ । सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेकाले सो दिन यो पूजा गर्न सुझाव दिइएको छ । यो वर्ष त्रयोदशी र चतुर्दशी एकै दिन आज परेका कारण काग र कुकुर तिहार एकै दिन मनाउनु परेको हो ।

  • नेपालले पहिलो पटक भारतमा बिजुली निर्यातको अनुमति पायो, आजैबाट निर्यात शुरु

    नेपालले पहिलो पटक भारतमा बिजुली निर्यातको अनुमति पायो, आजैबाट निर्यात शुरु

    काठमाडौं । नेपालले भारतमा बिजुली बेच्ने अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयले सहमति दिएसँगै अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमवार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा बिजुली बेच्न गर्न अनुमति दिएको राससले लेखेको छ ।

    पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स) मा बेच्न अनुमति दिइएको हो । दुई विद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बेच्नका लागि अनुमति दिइएको छ ।

    प्राधिकरणले आज मङ्गलवार राति १२ बजेदेखि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात सुरु गर्ने छ । अहिले यो लाइनबाट विद्युत् आयात मात्र भइरहेको छ । नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स) मा विद्युत् खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको छ ।

    प्राधिकरणले गएको वैशाख १७ गतेदेखि आवश्यक परेको बेला आईआईएक्समार्फत प्रतिस्पर्धी दरमा बिजुली आयात गर्दै आएको हो । निर्यातको अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत् बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश बनेको जानकारी दिइन । उनका अनुसार ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत् गृहबाट उत्पादित विद्युतको भारतीय बजारमा बिक्रीको अनुमति छिट्टै पाउने अपेक्षा गरिएको छ ।

  • काठमाडौंमा ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

    काठमाडौंमा ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

    काठमाडौं । काठमाडौंमा तिहारको समयमा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा राति ९ बजेसम्‍म मात्रै देउसी भैलो खेल्न समयसीमा तोक्दै सूचना जारी गरेको छ । कोरोना संक्रमणलाई मध्‍यनजर गर्दै राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने काठमाडौं प्रशासनको निर्णय छ ।

    प्रशासनले सार्वजनिक सूचना जारी गर्दै तिहारलाई लक्षित गरेर गरिएका देउसी भैलो कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्न, गराउन तथा पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील विष्फोटक पदार्थ विक्रीवितरण तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ ।

    त्यस्तो पाइएमा कानून बमोजिम कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी छ । यसैगरी प्रशासनले मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला, झगडा नगर्न सचेत गराउँदै त्यस्ता गतिविधि गरेमा समेत कारबाही हुने बताएको छ ।

  • प्रदेश १ मा राइले लिए सपथ, कर्णालीमा शाही

    प्रदेश १ मा राइले लिए सपथ, कर्णालीमा शाही

    काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई र मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो ।

    ४९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका राईलाई प्रदेश प्रमुख ‘प्यासी’ले नियुक्त गरेका थिए । मुख्यमन्त्री राईले गठबन्धन दलहरुमध्ये नेपाली काँग्रेसबाट २ र बाँकी दलबाट १÷१ जनालाई समेटेर ६ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

    मुख्यमन्त्री राईले नेपाली काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, नेपाली काँग्रेसका प्रमुख सचेतक रहेका केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेता बिष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरे ।

    उता, कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीको दाबी गरको छन् । मंगलबार प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनी समक्ष काँग्रेस नेता शाहीले २१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

    मुख्यमन्त्रीमा शाहीलाई माओवादी केन्द्रसहित नेकपा (एकिकृत समाजबादी) पार्टीको समर्थन रहेको छ । दाबी पत्रमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका छ र समाजबादीका तीन जना गरी २१ जनाको हस्ताक्षर छ ।

  • नेपालमा ४६९ जनामा कोरोना पुष्टी, ११ जनाको मृत्यु

    नेपालमा ४६९ जनामा कोरोना पुष्टी, ११ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । ७ हजार ११५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक छ । ३ हजार १७२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा ५५५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४२७ पुगेको छ । नेपालमा हाल नौ हजार १७४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८० हजार ८१८ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।