Category: फिचर

  • रौतहटमा कार दुर्घटनामा परि चार जनाको मृत्यु

    रौतहटमा कार दुर्घटनामा परि चार जनाको मृत्यु

    रौतहट । रौतहटमा कार दुर्घटनामा चार जनाको ज्यान गएको छ । यमुनामाई गाउँपालिका ५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना भएको प्रहरीले जनाएको छ । युके १२ सी २९०० नम्बरको कार सडक भन्दा तल खाल्डोमा रहेको पानीमा डुबेको अवस्थामा भेटिएको थियो । कारको सिसा फुटाएर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै डाक्टरहरूले चारै जनालाई मृत् घोषणा गरेको प्रहरीको भनाई छ । मृतकको पहिचान खुलेको छैन । उनीहरु भारतीय नागरिक भएको हुन सक्ने अनुमान गरिएको छ ।

  • अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउने

    अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउने

    काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने निश्चित भएको छ । १ मंसिरमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले पुष्टी गरेको छ । नेपालमा उनले प्रधानमन्त्रीसहित उच्चस्तरीय अधिकारीसँग भेट्ने भएका छन् । कात्तिक २९ मा माल्दिभ्स भ्रमणमा आउने उनी त्यहाँबाट नेपाल आउने गरि कार्यक्रम तय भएको हो ।

    यो पछिल्लो दुई महिनायता अमेरिकाबाट हुन लागेको दोस्रो महत्वपूर्ण भ्रमण हो । यसअघि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार नेपाल आएकी थिइन् । यस भ्रमणका दौरान कुन कुन एजेण्डामा कुरा हुनेछ भन्ने खुलेको छैन । यद्दपी अमेरिकाको चासो भने एमसीसीमै हुने छ ।

  • भारतको मणिपुरमा एम्बुसमा परी एक कर्णेलसहित ७ जनाको मृत्यु

    भारतको मणिपुरमा एम्बुसमा परी एक कर्णेलसहित ७ जनाको मृत्यु

    मणिपुर । भारतको पूर्वी राज्य मणिपुरमा आसम राइफल्सको एक सुरक्षा समूहमाथि हमला भएको छ । एम्बुस थापेर भएको यो हमलामा एक कर्णेल, उनकी पत्नी, ८ वर्षका उनका छोरा र चार जना जवानको मृत्यु भएको छ । घटना शनिवार भएको होे । भारतीय संचारमाध्यमहरुका अनुसार चरचन्दपुरमा मारिएका कर्णेल विप्लव त्रिपाठी आसम राइफल्सका कमान्डिंग अफिसर हुन् । यो हमलाको कुनै पनि संगठनले जिम्मेवारी लिएको छैन ।

    घटनामा अन्य चार जवान घाइते भएका छन् । घटनापछि प्रधानमन्त्री नरेंद्र मोदी, रक्षा मंत्री राजनाथ सिंह, मणिपुरका मुख्यमंत्रीले समेत समवेदना प्रकट गरेका छन् । विपक्षी दलले भने सरकारको आलोचना गरेका छन् । कांग्रेस नेता राहुल गांधीले केन्द्र सरकारमाथि प्रश्न उठाएका छन् । उनले मोदी सरकार सुरक्षा मामलामा पूर्ण रुपमा असफल भएको बताएका छन् ।

  • १ मंसिरबाट नेपालमा इ-पासपोर्ट वितरण, पुरानोको हकमा के हुन्छ ?

    १ मंसिरबाट नेपालमा इ-पासपोर्ट वितरण, पुरानोको हकमा के हुन्छ ?

    काठमाडौं । १ मंसिर २०७८ बाट नेपालमा विद्युतीय राहदानी (इ-पासपोर्ट) वितरण गरिने भएको छ । सोहीकारण अत्यावश्यक नपरेसम्म तत्काल राहदानी नविकरण नगर्न वा नयाँ राहदानी नलिन राहदानी विभागले अनुरोध गरेको छ । सरकारले आगामी अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा यो पासपोर्ट प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको राहदानी विभागले जनाएको छ ।

    अघिल्लो महिनादेखि नै परीक्षण वितरण सुरु गर्ने तयारीमा विभाग थियो । तर चाडबाटका कारण एक महिना ढिला गरी विद्युतीय राहदानीको परीक्षण सुरु हुन लागेको बताइएको छ । परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याउने तयारी सरकारको छ । मङ्सिर १ गतेदेखि केही हप्ता विभागबाटै परीक्षणको विद्युतीय राहदानी वितरण गरिने भएको छ ।

    नयाँ राहदानी वितरण भए पनि पुरानो एमआरपी राहदानीको म्याद नसकिएकाको हकमा म्याद रहुन्जेल त्यही राहदानीले मान्यता पाउँछ ।

    औपचारिक वितरण सुरु भएपछि भने प्रदेश तथा जिल्ला स्तरमा विद्युतीय राहदानी वितरण गरिने भएको छ । गत वर्ष सेप्टेम्बरमा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको छ । गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब लागतमा सम्झौता भएको थियो । विभागका अनुसार पहिलो चरणमा २० लाख थान विद्युतीय राहदानी छापिने भएको छ ।

    नेपाल सरकारले पासपोर्टको डिजाइनलाई स्वीकृति दिएपछि पहिलो चरणको छपाइ भइसकेको छ । प्रिन्ट भने वितरणको समयमा नेपाल मै गरिने भएको छ । विद्युतीय राहदानीको पोलिकार्बोनेट पानाभित्र जडान गरिएको डिजिटल चिप्समा राहदानी बाहकको सबै विवरण सुरक्षित राखिएको हुन्छ ।

    यो विश्वका धेरै मुलुकले प्रचलनमा ल्याएको प्रणाली हो । नयाँ राहदानी वितरण भए पनि पुरानो एमआरपी राहदानीको म्याद नसकिएकाको हकमा म्याद रहुन्जेल त्यही राहदानीले मान्यता पाउँछ । विद्युतीय राहदानीका लागि नेपालमा रहेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । विदेशमा रहेका नेपाली नागरिकको हकमा नागरिकता नम्बरलाई मान्यता दिइनेछ ।

  • साम्प्रदायिक सदभाव खल्बलिने भन्दै धनुषाको रुपैठामा निषेधाज्ञा, किन भयो विवाद ?

    साम्प्रदायिक सदभाव खल्बलिने भन्दै धनुषाको रुपैठामा निषेधाज्ञा, किन भयो विवाद ?

    धनुषा । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकामा पर्ने देवपुरा रुपैठामा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरमा शनिबार दिउँसोदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । जनकपुर उपमहानगरमा पर्ने देवपुरा रुपैठामा सम्प्रदायिक सदभाव खल्बलिने गतिविधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले रुपैठामा साम्प्रदायिक सदभावमा खलल पुग्नेगरी नारा, जुलुस र हुलहुज्जत गरिरहेको बुझिएकोले शान्ति शुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जानकारी गराएका छन् । निषेधाज्ञा अवधिभर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजिम कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, घेराउ, र सभाजस्ता क्रियाकपाल गर्न नपाउने प्रमुख जिल्ला अधिकारी बास्तोलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    आदेश उल्लंघन गर्ने जोसुकैलाई प्रहरीले कानुन बमोजिम कारबाही गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । रुपैठामा छठकै दिनदेखि तनाव शुरु भएको थियो । एक समूहले छठ पर्व मनाउन रोक लगाएपछि दुई पक्षबीच विवाद हुँदै आएको छ ।

  • फ्रान्सको राष्ट्रपति भवनमा बलात्कारको घटना सार्वजनिक

    फ्रान्सको राष्ट्रपति भवनमा बलात्कारको घटना सार्वजनिक

    पेरिस । फ्रान्समा एक जना महिला सैनिकले आफुमाथि सहकर्मीबाटै यौन दुर्व्यवहार भएको सार्वजनिक गरेकी छिन् । यससँगै सरकारी अभियोजनकर्ताहरूले पेरिसस्थित राष्ट्रपति भवनमा भएको भनिएको एउटा बलात्कारको घटनाबारे अनुसन्धान गर्न थालेको स्थानीय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार महिला सैनिकले एलीजे दरबारमा गत जुलाई महिनामा आयोजित एउटा मदिरापान कार्यक्रमपछि आफूमाथि यौन दुर्व्यवहार भएको बताएकी हुन् ।

    बिदा हुन लागेका एक वरिष्ठ अधिकारीका लागि आयोजित उक्त कार्यक्रममा राष्ट्रपति एमानुएल माक्रोँ समेत सहभागी थिए। आरोपित व्यक्ति पनि सैनिक नै रहेको बताइएको छ । यस विषयमा उनीसँग सोधपुछ समेत गरिएको समाचारमा उल्लेख छ । यद्दपी उनीविरुद्ध अहिलेसम्म अभियोग भने नलगाइएको बताइएको छ । लिबरेशन नामक पत्रिकाले शुक्रवार पहिलो पटक उक्त आरोपबारे समाचार प्रकाशित गरेको हो ।

    पीडित भनिएकी महिला र अभियुक्त दुवै जना राष्ट्रपति भवनको उच्च सुरक्षा अधिकारीको कार्यालयमा कार्यरत थिए। पत्रिकामा जनाइ अनुसार उनीहरू एकअर्कासँग परिचित थिए। राष्ट्रपति कार्यालयका एक अधिकारीले एएफपी समाचार संस्थालाई बताए अनुसार अधिकारीहरूलाई यस आरोपबारे थाहा हुनासाथ पीडित भनिएकी महिलालाई सहयोग गर्न आवश्यक कदम चालिएको छ ।

    राष्ट्रपति छोटो मन्तव्य राखेर निस्किएका थिए । तर पछि मदिरापानको कार्यक्रम चलिरहेको बताइएको छ । घटना भएको भोलिपल्टै ती महिलाले प्रहरीमा औपचारिक उजुरी दिएकी थिइन् ।

  • नेपालमा २९५ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    नेपालमा २९५ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आंकडा अनुसार ५,२२५ पीसीआर परीक्षणमा २६० र ३,०१८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २९५ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४७८ रहेको छ ।

    संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको ज्यान गएको छ । देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७,२७८ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ७९, ललितपुरमा ३३, भक्तपुरमा ६, झापामा ३०, कास्कीमा १६, मोरङमा १३, नवलपरासी पूर्वमा ८, कैलालीमा ७, सुनसरीमा ६, महोत्तरी र रुपन्देहीमा ५,५ जनामा संक्रमण पुष्टि भएको छ ।

  • न्यायालय विवादबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

    न्यायालय विवादबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

    भोजपुर । न्यायालयमा चर्किएको विवादबारे सत्तारुढ गठबन्धनको साझा धारणा आउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बताएका छन् । अहिले प्रधानन्यायाधीशको राजिनामा गर्दै वकिलहरु आन्दोलनमा छन् । यस विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा आउने प्रचण्डले जानकारी गराए । माओवादी केन्द्र भोजपुरले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा दाहालले ‘न्यायलय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो नभएको समेत बताए ।

    सर्वोच्च अदालत भित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुने भन्दै उनले यस विषयमा साझा धारणा छिट्टै बाहिर ल्याइने समेत बताए । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र विरोधी तथा प्रतिगामी तत्वले राजनीतिक व्यवस्था उल्ट्याउन कोसिस गरिरहेको र त्यसका लागि कहिले संसद र कहिले न्यायालयबाट प्रयास भइरहेको उनको भनाई छ ।

    जनताको चेतना र राजनीतिक नेतृत्वको विवेकका कारण यस्ता तत्व सफल हुन नसकेको उनले बताए । प्रतिगामी षड्यन्त्रमा नेकपा एमालेका नेता केपी शर्मा ओली, राजावादी र विदेशी शक्तिसँग मिलेको आरोप उनले लगाए ।

  • नेपाललाई बहराइनले रेड-लिस्टबाट हटायो, श्रमिक जान पाउने

    नेपाललाई बहराइनले रेड-लिस्टबाट हटायो, श्रमिक जान पाउने

    काठमाडौं । बहराइनले नेपाललाई कोरोना भाइरसको जोखिम रहेका मुलुकको रेड लिस्टबाट हटाएको छ । नेपालमाथिको यात्रा प्रतिवन्ध हटेसँगै अब नेपाली श्रमिककले बहराइनमा यात्राको अनुमति पाउने छन् । नेपाललाई रातो सूचीबाट हटाउँदै बहराइनले नेपालीको आवागमन खुला गरेको बहराइनस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।

    कोरोना सङ्क्रमण रोकथामका लागि बहराइनले विभिन्न मुलुकलाई रेड लिस्टमा राखेको थियो । नोभेम्बर १४ अर्थात् भोलि शनिबार राती १२ बजेदेखि बहराइनले नेपाललाई रेड लिस्ट कन्ट्रीबाट हटाउने निर्णय गरेको बहराइनमा रहेको नेपाली दूतावासले उल्लेख गरेको छ ।

    बहराइन सरकारको यो निर्णयसँगै अब नेपाली श्रमिकहरू रोजगारीका लागि बहराइन जान पाउने छन् । विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाएकाहरू बहराइन पुगेपछि क्वरेण्टीन बस्न पर्दैन । बहराइन यात्रा गर्ने यात्रुले साथमा क्युआर कोडसहितको अङ्ग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्नेछ ।


    खोप नलगाएका वा एक मात्रा मात्र लगाएका यात्रुले भने त्यहाँ पुगेपछि आफ्नो बसोबास भएकै ठाउँमा वा बहराइनको स्वास्थ्य मन्त्रालयले तोकेको स्थानमा १० दिन क्वरेण्टीनमा बस्नुपर्छ । खोप लगाएका र खोप नलगाएका दुवै यात्रुले बहराइन पुगेपछि विमानस्थलमा र पाँचौँ तथा दसौँ दिनमा पीसीआर परीक्षण गर्नुपर्छ ।

  • एक अमेरिकी पत्रकारलाई म्यानमारले सुनायो ११ वर्ष जेल सजाय

    एक अमेरिकी पत्रकारलाई म्यानमारले सुनायो ११ वर्ष जेल सजाय

    याङ्गुन । म्यान्मारमा एउटा अमेरिकी पत्रकारलाई त्यहाँको सैन्य अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ । अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई अदालतले ११ वर्ष जेल सजाय दिने निर्णय सुनाएको हो । बीबीसीका अनुसार फेन्स्टरले अध्यागमन कानुन उल्लङ्घन गरेको, गैरकानुनी सङ्गठन गरेको र सेनाविरुद्ध विद्रोह गर्न प्रोत्साहन गरेको ठहर उक्त अदालतको छ ।

    केही दिनअघि उनीविरुद्ध सैन्य सरकारले राजद्रोह र आतङ्कवादका अन्य दुई अभियोग लगाएको थियो। ती अभियोग प्रमाणित हुँदा आजीवन कारावास पनि हुनसक्छ। तर नयाँ मुद्दामा निर्णय हुन बाँकी रहेको समाचारमा उल्लेख छ । ३७ वर्षीय फेन्स्टर फ्रन्टीअर म्यान्मार अनलाइन साइटका प्रबन्ध सम्पादक हुन् । उनलाई मे महिनामा याङ्गुनस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

    सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि म्यान्मारमा दर्जनौँ पत्रकार पक्राउ परेका थिए । फ्रन्टीअरका अनुसार फेन्स्टरले पहिला सेनाको आलोचना गर्ने म्यान्मार नाऊ नामक स्वतन्त्र सामाचार साइटका लागि समेत काम गरेको समाचारमा उल्लेख छ । ड्यानीले जुलाई २०२० मै म्यान्मार नाऊबाट राजीनामा दिएका थिए र अर्को महिना फ्रन्टीअरसँग आबद्ध भएका थिए ।

  • एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

    एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

    काठमाडौं । नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ । सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो ।

    होटलमा बन्दसत्रका लागि पर्याप्त हल नभएपछि होटल परिसरमा रहेको खुल्ला ठाउँमा डोम निर्माण गरी हलको व्यवस्था गर्न लागिएको छ ।

    महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेका अनुसार होटलका हल र परिसरमा निर्माण गरिने डोमलाई महाधिवेशनमा आवश्यकताअनुसार प्रयोग गरिने छ ।

    सो होटलमा एक हजार जना क्षमताको ठूलो एक र साना दुई वटा हलसमेत रहेका छन् । सौराहामा ठूला हल भएको होटलका रूपमा यसलाई चिनिन्छ ।

    मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन सत्र गर्ने यसअघि नै निर्णय भएको छ । बन्दसत्र र नेतृत्व छनोटका काम सौराहाबाट हुनेछ । यी दुवै ठाउँको बिहीबार मात्रै पार्टी महासचिव ईश्वर पोखरेलसहित केन्द्रीय नेताले स्थलगत निरीक्षण गरेपछि बन्दसत्र गर्ने ठाउँको टुङ्गो लागेको हो ।

    एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार महाधिवेशन प्रतिनिधिलाई सौराहामा बस्ने व्यवस्था मिलाइएको छ । सौराहाका तीन हजार ५०० शय्याका लागि होटल व्यवसायीसँग कुराकानी भइरहेको रावलले जानकारी दिनुभयो । क्षेत्रीय होटल सङ्घ (हान) सौराहा र रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) बीच आवासीय सुविधाका लागि छलफल तीव्र पारिएको छ ।

    एमालेको बन्दसत्रमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन् । तीमध्ये एक हजार ७५० जना जिल्ला जिल्लाबाट छनोट हुनेछन् । महाधिवेशनको उद्घाटनसत्रमा पाँच लाखभन्दा बढी जनता सहभागी गराइने तयारी एमालेले गरेको छ ।

    यस्तै एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् ।

    कार्यक्रममा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले इसेवामार्फत् पार्टीका हरेक सदस्यहरुलाई कम्तिमा पनि सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्ने सिष्टमबारे जानकारी गराएका थिए ।

  • नेपालमा थप ३९७ जनामा कोरोना पुष्टी, ३८९ जना संक्रमण मुक्त

    नेपालमा थप ३९७ जनामा कोरोना पुष्टी, ३८९ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १३४ पीसीआर परीक्षण गर्दा ३५५ जना र १९३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ गरी ३९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १६ हजार ४१५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३८९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ४९८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ ।

  • पुनः श्रम स्वीकृतिका लागि बायोमेट्रिक दर्ता अनिवार्य, नभए नेपाल आउनु पर्ने

    पुनः श्रम स्वीकृतिका लागि बायोमेट्रिक दर्ता अनिवार्य, नभए नेपाल आउनु पर्ने

    काठमाडौं । अहिले वैदेशिक रोजगारीमा गएका नेपालीको पुनः श्रम स्वीकृति विदेशबाटै लिन सक्ने गरि सहजिकरण गरिएको छ । तर, पुनः श्रम स्वीकृतिका लागि पनि बायोमेट्रिक दर्ता भने अनिवार्य छ । श्रमिकले आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन समेत बायोमेट्रिक दर्ता अनिवार्य रहेको भन्दै वैदेशिक रोजगार विभागले त्यस्तो दर्ता नभएका कामदार भने नेपाल मै आउनु पर्ने जनाएको छ । वैदेशिक रोजगारीमा जानुअघि विभागबाट श्रम स्वीकृति लिँदा बायोमेट्रिक नगरेकाले श्रम नवीकरणका लागि नेपाल आउनुुपर्ने भएको हो ।

    बायोमेट्रिक दर्तामा विदेश जाने बेलामा श्रम स्वीकृति लिँदा श्रम कार्यालयमा श्रमिकको आँखा र औँठा छापको फोटो मेसिनले स्क्यान गरेर अनलाइनमा राखिन्छ । विभागमा बायोमेट्रिक दर्ता गरेर गएका श्रमिकले भने अनलाइनबाट आफू रहेको मुलुकबाटै दुुई पटकसम्म पुनः श्रम स्वीकृति लिन सक्छन् ।

    विभागले अनलाइनमार्फत श्रम स्वीकृति लिन होस् वा भौतिक रूपमा उपस्थित भएर लिँदा होस् अनलाइनमार्फत अनिवार्य टोकन लिन समेत सरोकारवालालाई आह्वान गरेको छ । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर विभागले श्रम स्वीकृति लिँदा अनलाइनबाट टोकन लिने व्यवस्था अनिवार्य गरेको जनाएको हो । विभागका अनुसार भौतिक रूपमा श्रम कार्यालयमा उपस्थित भएर पुनः श्रम स्वीकृति लिने हो भने पहिला अनलाइनमार्फत टोकन लिनुपर्छ ।

  • देशभर तापक्रम घट्दै, सतर्कता अपनाउन आह्वान

    देशभर तापक्रम घट्दै, सतर्कता अपनाउन आह्वान

    काठमाडौं । देशभर तापक्रम घट्दो क्रममा छ । मौसम पूर्वानुमान महाशाखाले चिसो बढेको भन्दै सतर्क रहन सबैमा आह्वान गरेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न र सतर्कता अपनाउन महाशाखाले भनेको हो ।

    महाशाखाका अनुसार अहिले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहने छ शुक्रबार प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

    काठमाडौं उपत्यकासहित पहाडी र हिमाली भेगमा तापक्रम उल्लेख्य घटिरहेको छ । यो वर्ष साविकको तुलनामा छिटो तापक्रम घटेको हो । काठमाडौंमा शुक्रबार न्यूनतम तापक्रम ११ डिग्री मापन भएको छ । अधिकतम तापक्रम २३ डिग्रीसम्म पुग्ने अनुमान छ ।

  • प्रधानन्यायाधीशलाई सर्वोच्च मै प्रवेश रोक्ने बारको तयारी

    प्रधानन्यायाधीशलाई सर्वोच्च मै प्रवेश रोक्ने बारको तयारी

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलन उत्कर्षमा छ । बिहीबार प्रहरीसँग झडप भएसँगै आज नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश नै नदिने गरि आन्दोलनको तयारी गरिएको छ । बिहान १० बजेबाट आन्दोलन शुरु गर्ने र राणालाई प्रवेश मै रोक लगाउने तयारी कानून व्यवसायीले गरेका हुन् । नेपाल बार एसोसिएशनको आयोजनामा आन्दोलन भइरहेको छ । कानून व्यवसायीले प्रधानन्यायाधीशको राजिनामा माग गरिरहेका छन् ।

    बारका महासचिव लिलामणि पौडेलले विज्ञप्ति निकाल्दै सबै कानुन व्यवसायीलाई बिहान साढे ९ बजे नै नेपाल बार एसोसिएशनमा उपस्थित हुन भनेका छन् । प्रधानन्यायाधीशको विरोधमा थप कठोर कदम चाल्न बाध्य हुने बारको चेतावनी छ । सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्न, बेन्च बहिष्कार गर्न र न्यायाधीशलाई समेत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न बारले भनेको छ ।

  • यूरोपमा ग्यास आपूर्ति रोक्ने बेलारुसको चेतावनी

    यूरोपमा ग्यास आपूर्ति रोक्ने बेलारुसको चेतावनी

    काठमाडौं । बेलारुसले आप्रवासी संकटको विषयलाई लिएर यूरोपेली संघले प्रतिवन्ध लगाएमा कडा कदम चाल्ने चेतावनी दिएको छ । त्यहाँका राष्ट्रपतिले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्ध लगाइए युरोपको ग्यास आपूर्ति नै रोकिदिने चेतावनी दिएका हुन् । बीबीसीका अनुसार बेलारुसको पश्चिमी सीमामा पोल्याण्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासी युरोपेली सङ्घ ईयूको क्षेत्रभित्र प्रवेश गर्ने आशामा निकै चिसो मौसमबीच बसिरहेका छन्।

    ईयू अधिकारीहरूले बेलारुसलाई उक्त सङ्कटलाई उचालेर सुरक्षा अवस्था बिगारेको आरोप लगाएका छन्। बेलारुसले भने यो आरोप स्वीकार गरेको छैन । जसविरूद्ध ईयूले नयाँ प्रतिबन्धको तयारी गरिरहेको खबर सार्वजनिक भएपछि बेलारुसले यस्तो धम्की दिएको हो । बेलारुसमा लामो समयदेखि सत्तामा रहेका तानाशाही नेता एलेक्जेन्डर लुकासेन्कोले एउटा चेतावनी दिँदै प्रतिबन्ध लगाइएमा आफूहरूले जवाफ दिनुपर्ने बताए ।

    बेलारुस हुँदै ईयू जाने रुसी ग्यास पाइपलाइनलाई सङ्केत गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले भने, ‘हामीले ग्यास आपूर्ति रोकिदियौँ भने के होला ?’ पोल्याण्डतर्फ जानका लागि आप्रवासीहरूको एउटा समूह सेन्ट्रल मिन्स्कमा जम्मा भएको छ

  • बागमती प्रदेशमा मन्त्रीमण्डल बिस्तार, दुई मन्त्री थप

    बागमती प्रदेशमा मन्त्रीमण्डल बिस्तार, दुई मन्त्री थप

    काठमाडौं । बागमती प्रदेशमा मन्त्रीमण्डल बिस्तार भएको छ । बिहीबार दुई जना मन्त्रीले नियुक्ति लिएका हुन् । प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले दुई जना मन्त्री थप गर्दै मन्त्रीपरिषद् बिस्तार गरेका छन् । कात्तिक ११ मा मुख्यमन्त्रीको शपथ लिएका उनले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । बिहीवार नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामा प्रदेशमा मन्त्री बनेका हुन् ।

    जम्मकट्टेलले आर्थिक मामिला तथा योजना र लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । दुवै मन्त्रीलाई बिहीबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री नियुक्त गरेका थिए ।

  • हिंस्रक बन्यो प्रधानन्यायाधीश विरुद्धको वकिलको आन्दोलन

    हिंस्रक बन्यो प्रधानन्यायाधीश विरुद्धको वकिलको आन्दोलन

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गरि जारी वकिलहरुको आन्दोलन हिंस्रक बनेको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र प्रहरीबीच धकेला धकेल भएको छ । जसमा आधा दर्जन व्यक्ति घाइते भएका छन् । वकिलहरुलाई प्रहरीले रोक्ने प्रयास गरेपछि दुई पक्षबीच झडप भएको थियो । आन्दोलन नेपाल बार एशोसिएशनको आयोजनामा भइरहेको छ ।

    माइक राखेर सर्वोच्चमै नाराबाजी शुरु भएसँगै प्रहरीले हस्तक्षेप गरेको थियो । सोही क्रममा झडप भएको हो । सर्वोच्चमा पछि सशस्त्र प्रंहरी समेत खटाइएको थियो । प्रधानन्यायाधीश जबरामाथि राजीनामाको तिव्र दताव छ । तर, उनी टसमस गरेका छैनन् । न्यायालयमा राजनीतिक भागबण्डा खोजेको आरोप लागेपछि उनीविरुद्ध आन्दोलन शुरु भएको हो ।

  • अब नेपाल एयरलाइन्सकै टिकटबाट युरोप, अष्ट्रेलियासहित ९ गन्तव्य जान पाइने

    अब नेपाल एयरलाइन्सकै टिकटबाट युरोप, अष्ट्रेलियासहित ९ गन्तव्य जान पाइने

    काठमाडौं । अब नेपाल एयरलाइन्सको सिधा उडान नहुने गन्तव्यहरुमा पनि नेपाल एयरलाइन्सकै टिकटबाट यात्रा गर्न पाइने भएको छ ।

    नेपाल एयरलाइन्सले विभिन्न वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यात्रुले यस्तो सुविधा पाउने भएका हुन् । सम्झौतासँगै एक अर्का वायुसेवाका सेक्टरमा यात्रुले सहजै सेवा लिन सक्ने भएका छन् ।

    सम्झौता अनुसार अब नेपाल एयरलाइन्सको टिकटबाट यूरोपका विभिन्न शहरदेखि अष्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत, बहराइनसम्म यात्रा गर्न सकिने छ ।

    यो सम्झौतासँगै निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने अपेक्षा लिइएको छ । टिकटहरु निगमको केन्द्रीय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने भएको छ ।

  • नेपालमा थप ३१७ जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

    नेपालमा थप ३१७ जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६०९पीसीआर परीक्षण गर्दा ३०१ जना र ३०४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ गरी ३१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १६ हजार ६० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २७९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ५३५रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ ।

  • रोकिएन् शेयर नेपाली बजारको पहिरो, धेरै गुमाउने फाइनान्सका लगानीकर्ता

    रोकिएन् शेयर नेपाली बजारको पहिरो, धेरै गुमाउने फाइनान्सका लगानीकर्ता

    काठमाडौं । साताको कारोबारको अन्तिमदिन शेयर बजारमा पहिरो गएको छ । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.५७ अंकले घटेर २६९०.२९ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२५ कम्पनीको ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५३९ रुपैयाँ बराबरको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्स र विकास बैंकका लगानीकर्ता रहेका छन् ।

    बैंकिङ समूहको शेयर २९ अङ्कले, विकास बैंकको १ सय ९४, होटलको ९२, फाइनान्सको १ सय ९, माइक्रोफाइनान्सको एक सय १४ र जलविद्युत् समूहको शेयर ७०अङ्कले घटेको छ ।

    यस्तै उत्पादन समूहको शेयर ६३ अङ्कले, जीवन बीमा समूहको तीन सय १६ अङ्कले, निर्जीवन बीमा समूहको २ सय ९३ र अन्य समूहको शेयर ५६ अङ्कले घटेको छ ।

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।

    त्यस्तै, आज आइसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

  • कोरोना प्रभावित अतिविपन्न परिवारलाई १० हजार अनुदानका लागि आवेदन दिन आह्वान

    कोरोना प्रभावित अतिविपन्न परिवारलाई १० हजार अनुदानका लागि आवेदन दिन आह्वान

    काठमाडौं । कोरोना भाइरसको महामारीको कहरमा परेका ठूला व्यवसायी तथा व्यापारीले मोटो रकम राहत पाउँदा टुलुटुलु हेर्न बाध्य नागरिकलाई पहिलोपटक सरकारले सानै भए पनि सहयोग गर्ने भएको छ ।

    संविधानमा समाजवाद लेखिए पनि व्यवहारमा राज्यका तर्फबाट राहत पाउन नसकेका अति विपन्न वर्गलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिन लागिएको हो । दिनभरि कमाएर साँझ बिहानको छाक टार्नेको सङ्ख्या अत्यधिक छ । कोरोना नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण उनीहरु समस्यामा थिए ।

    कोरोनाका कारण रोजगारी र आयआर्जनको अवसर गुमाएका अनौपचारिक तथा असङ्गठित क्षेत्रलाई यसअघि कुनै पनि रूपमा सम्बोधन गरिएको थिएन । पछिल्लोपटक वर्तमान सरकार गठन भएपछि ‘टोकन’कै रूपमा भए पनि ५ लाख परिवारलाई प्रतिपरिवार १० हजारका दरले अनुदान दिन लागिएको छ । त्यसका लागि आवेदन दिन अर्थमन्त्रालयले आज सार्वजनिकरूपमा आह्वान गरेको छ ।

    कोरोनाका कारण व्यवसाय बन्द भएका उद्योगी तथा व्यवसायीलाई सरकारले नेपाल राष्ट्र बैंकमार्फत विभिन्न सुविधा दिएको छ । अति विपन्न वर्ग तथा समुदायले भने राज्यका तर्फबाट कुनै पनि सहयोग नपाएको चौतर्फी गुनासोपछि वर्तमान सरकारले पूरक बजेटमार्फत राहत दिने व्यवस्था गरेको हो ।

    अर्थमन्त्री जनार्दन शर्माले चालु आवमा राहतस्वरुप एकपटकका लागि प्रतिपरिवार १० हजारका दरले नगद अनुदान दिन लागिएको जानकारी दिए। मन्त्रालयले आगामी १५ दिनभित्र स्थायी वा अस्थायीरूपमा बस्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा आवेदन दिन आग्रह गरेको छ । त्यसका लागि मन्त्रालयले ‘कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८’ ले व्यवस्था गरेको अनुसूची २ बमोजिमको ढाँचामा आवेदन दिनुपर्नेछ ।

    गरिब, कम आय भएका, अति विपन्न तथा दैनिक ज्यालादारी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायाताका मजदुर, पर्यटक भरियालगायतले त्यस्तो अनुदान पाउनेछन् ।

    अर्थ मन्त्रालयका अनुसार विगतमा गर्दै आएको रोजगारी पूर्णरूपमा गुमाएका र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोजगार भएका असङ्गठित क्षेत्रका मजदुर वा कामदारले नगद राहत प्राप्त गर्नेछन् । त्यस्तै खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, आदिमा सामान बिक्री गर्ने अति विपन्न व्यवसायी, कोभिड–१९ सङ्क्रमणका कारणबाट आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक सङ्कट झेल्नुपरेका परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारले पनि राहत पाउनेछ ।

    मन्त्रालयका अनुसार निवेदन दिँदाको समयमा निवेदकको एक घरपरिवारका कुनै सदस्यले सरकारी, निजी वा अन्य कुनै सङ्घसंस्था वा वैदेशिक रोजगारीमा स्थायी, अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरी आयआर्जन गरिरहेकाले भने त्यस्तो राहत पाउने छैनन् ।

    परिवारको कुनै सदस्यले सरकारबाट उपलब्ध हुने अन्य सामाजिक सुरक्षा भत्ता वा सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्थाबाट वा विदेशी सरकारबाट निवृत्तिभरण सुविधा प्राप्त गर्नेले पनि राहत पाउने छैनन् । सञ्चित आय वा पैतृक सम्पत्तिबाट तत्कालको खर्च आवश्यकता पूरा गर्न सक्ने अवस्थामा रहेका, प्रधानमन्त्री रोजगार कार्यक्रम वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यक्रमबमोजिम यस प्रयोजनाका लागि एकपटक राहतका रूपमा नगद प्राप्त गरेका परिवारले राहत पाउने छैन ।

    सरकारले ७७ वटै जिल्लामा के–कति सङ्ख्यामा राहत उपलब्ध गराउने भन्ने निर्धारण गरिएको छ । नेपालमा कोरोना त्रास सुरु गरिएपछि पूरकसमेत गरी तीनवटा बजेट आए । ठूला व्यवसायीलाई सहजै राहत दिएको सरकारले दैनिक ज्यालादारीका लागि कुनै पनि कार्यक्रम ल्याएन र सम्बोधन गर्न सकेन ।

    कोरोनाको कहरमा सबैभन्दा बढी मारमा परेका वर्ग, क्षेत्र र समुदाय नै दैनिक रोजीरोटी गर्नेहरु थिए । त्यही वर्गलाई सरकारले सम्बोधन गरेको अर्थमन्त्री शर्माको भनाइ छ ।

  • जनगणनामा सत्य विवरण टिपाउन प्रधानमन्त्रीको आह्वान

    जनगणनामा सत्य विवरण टिपाउन प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । आजबाट देशभर १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ । देशभर ४० हजारको संख्यामा गणक खटिँदैछन् । उनीहरुले करीव ७० लाख घरमा पुगेर ३ करोड हाराहारी जनसंख्याको विवरण टिपोट गर्नेछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनामा सत्य विवरण टिपाएर सहयोग गर्न आह्वान गरेका छन् । घरघरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन उनले आग्रह गरेका हुन् ।

    राष्ट्रिय जनगणना सुरूवात भएको अवसरमा बिहीबार भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्रीले सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा सहयोग गर्न सबैमा अपिल गरे । उनले गणकले सोधेका प्रश्नहरूको सही जवाफ दिन पनि आग्रह गरेका छन् भने सूचना गोप्य रहने पनि बताए । आजबाट शुरु हुने जनगणनाको काम १५ दिनसम्म चल्नेछ । यस अभियानका दौरान कुल ४ अर्ब रुपैयाँ बजेट खर्च हुनेछ ।

  • शिक्षामन्त्री फ्रान्स प्रस्थान, युनेस्को महासभामा भाग लिने

    शिक्षामन्त्री फ्रान्स प्रस्थान, युनेस्को महासभामा भाग लिने

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल युनेस्कोको महासभामा भाग लिन फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४१ औँ महासभामा भाग लिन उनी बुधबार राति ८ : २५ मा पेरिस प्रस्थान गरेको मन्त्रालयल जनाएको छ । १९३ राष्ट्र को प्रतिनिधित्व रहेको महासभा बैठकमा शिक्षामन्त्री एवम् युनेस्कोका लागि नेपालका अध्यक्ष पौडेलले बिहीबार अर्थात ११ नोभेम्बरमा सम्बोधन गर्ने भएका छन् ।

    युनेस्कोको मुख्यालयमा ९ नोभेम्बरदेखि जारी महासभामा उनले राष्ट्रसंघीय दिगो विकास लक्ष्यको लक्ष्य नं ४ अन्तर्गत शिक्षा क्षेत्रमा भएका प्रगति, उच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । १२ नोभेम्बरमा सहभागी मुलुकका शिक्षामन्त्रीहरूको बैठकमा मन्त्री पौडेलले विश्वव्यापी आधुनिक शिक्षाजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    त्यहाँ रहँदा मन्त्री पौडेलले विज्ञान तथा प्रविधि, समाज विज्ञान, आमसञ्चार, संस्कृति, जलवायु परिर्वतनलगायतका विषयमा छलफल गर्ने भएका छन् । महासभामा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी, यूनेस्कोका लागि नेपालका सहायक महासचिव डा. बाबुराम अधिकारीसमेत सहभागी छन् ।

  • उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ पर्व

    उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ पर्व

    काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै आजबाट छठ पर्व सकिएको छ । सामाजिक एकता र सदभावको पर्वको रुपमा छठको महिमा रहेको छ । बुधबार साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो । विहिबार विहान उदँँउदो सूर्यलाई अर्घ दिएसँगै छठ व्रत पुरा भएको हो । नेपालको तराई मधेशका जिल्लामा यो वर्ष धुमधामले मनाइन्छ । पोखरी,ताल नदी तथा जलाशयहरुलाई सिङगारेर छठघाट बनाइएको थियो ।

    दीपावली सकिएको ६ दिनपछि हुने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले माछा कोदो नखाने,दोस्रो दिन न्हाँ खाँ गरी दाने,तेस्रो दिन दिभरी उपवास बसेर साँझ सखर मिलाएको खिर खाने जसलाई खरना भनिन्छ । चौथो दिन छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिइने र अन्तिम पाँचौ दिन उदाँउदो सूर्यलाई अर्घ दिएर समापन गरिन्छ ।

    कृषकले उत्पादन गरेका अन्न, तरकारी मसलामा प्रयोग गर्ने वनस्पति केरा लगायतका सामग्रीहरुलाई प्रसाद बनाई चढाउने गरेको छठ पर्व परिवारिका सुख शान्ति र निरोगी रहन यो पर्व मनाउने गरिन्छ ।

  • राष्ट्रिय जनगणना बिहीबारबाट, ८० वटा प्रश्न बोकेर गणक घर-घर पुग्ने

    राष्ट्रिय जनगणना बिहीबारबाट, ८० वटा प्रश्न बोकेर गणक घर-घर पुग्ने

    काठमाडौं । १२ औँ राष्ट्रिय जनजणना बिहीबारबाट शुरु हुँदैछ । जनगणनाको सम्पूर्ण तयारीको काम पुरा भएको केन्द्रिय तथ्यांक विभागले जनाएको छ । जनगणनाका लागि देशभरबाट ४० हजार गणक खटिने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । जनगणनामा खटिने गणकको सहजीकरणमा आठ हजार पाँच सय जना सुपरीवेक्षक खटिने भएका छन् ।


    ४० हजार जना गणकले हरेक घर परिवारमा औसत २० मिनेट समयमा प्रश्नावली भर्ने भएका छन् । कुल ८० प्रश्न जनगणनामा सोधिने भएको छ । जनगणनामा काठमाडौं जिल्लामा ट्याबलेटको प्रयोग हुँदैछ । कालापानी, लिपुलेक क्षेत्रमा जगनणना गर्न भने भारतको स्वीकृति लिनुपर्ने भएको विभागको भनाई छ । यी भेग भारतीय सेनाको कब्जामा छन् । १२ औं जनगणना २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुनेछ ।

  • सरकारले पुनः बढायो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासमा ७५ रुपैयाँ वृद्धि

    सरकारले पुनः बढायो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासमा ७५ रुपैयाँ वृद्धि

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्यास किन्न १५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

    हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि भएको छ । अब क्रमशः पेट्रोल र डिजेल तथा मट्टीतेलको मूल्य काठमाडौंमा प्रतिलिटर १३६ र ११९ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ र अन्तर्राष्ट्रियमा प्रतिकिलोलिटर ८८५ डलर पुगेको छ । भारतीय आयल कर्पोरेशनले मूल्य बढाएपछि नेपालमा पनि मूल्य समायोजना गरिएको निगमले उल्लेख गरेको छ ।

  • डडेलधुरा एमालेमा पहिरो, जिल्ला अध्यक्षसहितको टोली एकीकृत समाजवादीमा

    डडेलधुरा एमालेमा पहिरो, जिल्ला अध्यक्षसहितको टोली एकीकृत समाजवादीमा

    काठमाडौं । नेकपा एमाले डडेलधुराका तत्कालीन जिल्ला अध्यक्ष तारा जोशीसहितको टोली नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले डडेलधुरा पुगेर अध्यक्ष जोशीसहितको टोली एकीकृत समाजवादी पार्टीमा समाहित भएको हो ।

    एमालेको ५१ सदस्यीय जिल्ला कमिटीका पदाधिकारीसहित दुईतिहाई सदस्य समाजवादीमा समाहित भएका हुन्। १४ जना भातृ संगठन प्रमुखको टीम समेत समाजवादीमा समाहित भएको अध्यक्ष जोशीले बताए ।

    सुदूरपश्चिममा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति विपरीत गतिविधि गराउन थालेपछि डडेलधुरामा नेकपा एमाले विभाजन भएको जोशीसँगै समाजवादीमा प्रवेश गरेका नेताहरुको भनाइ छ ।

    प्रेस चैतारी नेपाल, अनेम संघ, युवा संघ लगायतका १४ भातृ संगठनका प्रमुखसहित बहुमत सदस्य पनि समाजवादीमा सामेल भएका छन् ।

  • बालबालिकालाई आइतवारदेखि फाइजर खोप दिइँदै

    बालबालिकालाई आइतवारदेखि फाइजर खोप दिइँदै

    काठमाडौं । सरकारले आइतवारदेखि कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोगी र १२ वर्षमाथि उमेर समूहका खोप दिने भएको छ ।

    १२ वर्षभन्दा माथिका बालबालिकालाई दुई चरणमा खोप लगाइन तयारी गरिएको मन्त्रालयले जनाएको छ।

    खोपको पहिलो मात्रा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म दिइनेछ भने दोश्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ ।

    यो खोप २१ देखि २८ दिन भित्रमा दुई मात्रा लिनुपर्ने हुन्छ । खोप लगाउन काठमाडौँ उपत्यकामा ८ र उपत्यका बाहिर १६ वटा अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको छ ।

    दीर्घ रोगीहरुमा भने मुटुको शल्यक्रिया गरेका वा औषधि सेवन गरिरहेका, मिर्गौला फेरेका, डायलासिस गरिरहेका वा औषधि सेवन गरिरहेका व्यक्तिले फाइजर खोप लगाउन पाउने छन्।

    रोग प्रतिरोधात्मक क्षमता कम भएका, मस्तिष्क र मस्तिष्का रक्तनली सम्बन्धी रोग भएका व्यक्तिले पनि फाइजर खोप लगाउन स्वास्थ्य मन्त्रालय अनुरोध गरेको छ।

    खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी कागजपत्र बोकेर जानुपर्नेछ।

    सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

  • नेपालमा थप ४४० जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

    नेपालमा थप ४४० जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४०७ पीसीआर परीक्षण गर्दा ३८७ जना र १४०७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ गरी ४४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १५ हजार ७७२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४७४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९६ हजार ८८० पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ५१९रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४६० पुगेको छ ।