Category: फिचर

  • सत्तारुढ गठबन्धनले न्यायालय विवादबारे बोल्दै भन्यो : ‘ध्यानाकर्षण भएको छ’

    सत्तारुढ गठबन्धनले न्यायालय विवादबारे बोल्दै भन्यो : ‘ध्यानाकर्षण भएको छ’

    काठमाडौं । न्यायालयमा एक महिनादेखि अवरोध जारी छ । जसले गर्दा न्याय पाउनु पर्ने जनताको आधारभूत अधिकार समेत हनन् भइरहेको छ । यस सन्दर्भमा सत्तारूढ गठबन्धन नबोलेको भन्दै सत्तँरुढ दल भित्रैबाट हालोचना भइरहेका बेला राजनीतिक समन्वय समितिको बैठकले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार सिंहदरबारमा पहिलोपटक बसेको बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधबारे ध्यानाकर्षण भएको उल्लेख गरेको हो ।

    राज्यको महत्वपूर्ण अंगको रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्ने समेत सत्तारुढ दलको धारणा छ । बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको संवर्द्धन गर्नेमा जोड दिने निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ । गठबन्धनमा रहेका पाँच दलबाट दुई, दुई जना र सरकारका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की समन्वय समितिमा रहेका छन् । अहिले समितिको संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल रहेका छन् ।

  • कोरोनाले अमेरिकामा एक लाख ४० हजार बालबालिका अभिभावक विहिन

    कोरोनाले अमेरिकामा एक लाख ४० हजार बालबालिका अभिभावक विहिन

    काठमाडौं । कोरोनाभाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावक विहिन भएका छन् ।

    ‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिको जीवनमा दिर्घकालिन असर परेको उल्लेख छ ।

    सो प्रतिवेदन अनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावक विहिन हुनु परेको देखिएको छ । अभिभावक विहिन भएपछि बालबालिकाहरुले मनोवैज्ञानिक तथा आर्थिक समस्या भोग्नु परेको अधिकारीहरुले जनाएका छन् ।

    अभिभावक गुमाएका बालबालिकाहरु मध्ये धेरै बालबालिकाहरु अल्पसङ्ख्यक तथा सानो समुदायका धेरै रहेको पाइएको छ ।

    कोरोनाभाइरसको महामारीबाट अत्यधिक धेरै प्रभावित देशको अग्रसूचीमा अमेरिका पर्दछ । कोरोनाका कारण मृत्यु भएका, सङ्क्रमित भएका र अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अमेरिकामै सवैभन्दा धेरै रहेको छ ।

    कोरोनाभाइरसका कारण अमेरिकामा अहिलेसम्म सात लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

  • प्रदेश नं. १ को बैठक स्थगित, मुख्य मन्त्री राईले भोलि विश्वासको मत लिने

    प्रदेश नं. १ को बैठक स्थगित, मुख्य मन्त्री राईले भोलि विश्वासको मत लिने

    विराटनगर। मुख्य मन्त्रीले राजेन्द्र राईलाई विश्वासको मत दिन बोलाइएको प्रदेश नं। १ को बैठक स्थगित भएको छ। प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि बैठक स्थगित भएको हो।

    अब मुख्य मन्त्री राइले भोलि विश्वासको मत लिनेछन्। बैठक भोलि साढे ११ बजे बस्नेछ।

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल बन्दका कारण साँसद आउन नसकेपछि बैठक स्थगित गर्न एमालेले माग गरेको थियो। एमलेका सासद बैठकमा जान नसकेका हुन्।

    बैठकमा विपक्षी दल नेकपा एमालेका एक जना पनि सांसद सहभागी भएनन्। सो कारण सभामुख प्रदीपकुमार भण्डारीले बुधबार बस्ने गरि बैठक स्थगित गरेका थिए।

  • नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि

    नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि

    काठमाडौं । साताको कारोबारको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ ।

    साताको कारोबारको पहिलो झिनो अंकले घटेता सोमबार पनि सोमबार २६ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलवार ६९.२२ अंकले बढेर २७८४.६२ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२७ कम्पनीको ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५६ रुपैयाँ बराबरको १ करोड ९३ हजार २२१ कित्ता शेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये को परिसूचकमा हरियाली छाएको छ । धेरै कमाउनेमा हाइड्रोपावरका लगानीकर्ता रहेका छन् ।

    बैंकिङ समूहको शेयर ३४ अङ्कले, विकास बैंकको १११ होटलको ७० फाइनान्सको ८२ ,माइक्रोफाइनान्सको १२८ र जलविद्युत् समूहको शेयर १६४ अङ्कले बढेको छ ।

    यस्तै उत्पादन समूहको शेयर एक सय २८ अङ्कले, जीवन बीमा समूहको २६८ अङ्कले, निर्जीवन बीमा समूहको १८८ र अन्य समूहको शेयर १११ अङ्कले बढेको छ । आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।

    दोहोरो अंकले बढेको बजारमा आज ९ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ६ कम्पनीको मूल्य १० प्रतिशत र अन्यको मूल्य पोजोटिभ सर्किट लेभलमा बढेको छ ।

    शेयरमूल्यमा उच्च बृद्धि हुनेमा नेपाल बंगलादेश बैंक, नेपाल दुरसञ्चार प्राधिकरण, महालक्ष्मी विकास बैंक, मानुषी लघुवित्त, पञ्चकन्यामाई हाइड्रोपावर, माथिल्लो तामाकोशी हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी, बोटलर्स नेपाल तराई लिमिटेड, प्रभु इन्स्योरेनस, लिवर्टी इनर्जी, नेशनल हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावर कम्पनी रहेका छन् ।

  • अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भर्चुअल वार्ता, के भयो कुराकानी ?

    अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भर्चुअल वार्ता, के भयो कुराकानी ?

    काठमाडौं एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिंगबीचको बहुप्रतिक्षित भर्चुअल वार्ता भएको छ । वार्तामा चिनियाँ राष्ट्रपतिले आफ्नो मुलुक अमेरिकासँगको सम्बन्ध सकारात्मक दिशमा लैजान चाहेको बताएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । दुई नेताबीच भएको यो वार्ताले दुबै मुलुकबीचको संवादहिनता तोड्न महत्वपूर्ण भूमिका खेलेको समेत समाचारमा जनाइएको छ ।

    बाइडेनले भने वार्तामा मानवाधिका र इन्डो प्यासिफिक क्षेत्रका मुद्दा उठाएका छन् । उता, चिनियाँ राष्ट्रपतिले दुबै देशले एक अर्काको सम्मान गर्नुपर्ने भन्दै द्धिपक्षी सम्बन्ध सुधारमा जोड दिएका हुन् । चिनियाँ राष्ट्रपतिले बाइडेन आफ्नो पुरानो मित्र भएको भन्दै यो वार्तामा जोडिन पाउँदा खुसी लागेको बताए दुबै नेता तेस्रो पटक वार्तामा बसेका हुन् । पछिल्ला दिनमा अमेरिका र चीनबीचको बढ्दो दूरीका बीच महत्वपूर्ण वार्तामा दुई मुलुकका राष्ट्रपति जुटेका हुन् ।

  • प्रदेश १ का मूख्यमन्त्री राईले आज विश्वासको मत लिने

    प्रदेश १ का मूख्यमन्त्री राईले आज विश्वासको मत लिने

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । कात्तिक १६ मा उनी पाँच दलीय गठबन्धनका तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । मंगलबार साढे १२ बजे बस्ने बैठकमा उनले विश्वासको मत लिने समय तय भएको हो । प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक आज बस्दैछ ।

    सोमबार सत्तारुढ पाँच दलिय गठबन्धनको बैठक बसि उनलाई विश्वासको मत दिने निर्णय गरेको छ । साथै कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र समेत निर्माण गरिएको छ । कांग्रेस सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल समेत बनाइएको छ ।

  • रुसले बनायो भु-उपग्रह नष्ट गर्ने क्षेप्यास्त्र, झस्कियो अमेरिका

    रुसले बनायो भु-उपग्रह नष्ट गर्ने क्षेप्यास्त्र, झस्कियो अमेरिका

    काठमाडौं । रुसले भू-उपग्रहलाई नै नष्ट गर्न सक्ने शक्तिशाली क्षेप्यास्त्रको परीक्षण गरेसँगै अमेरिका झस्किएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा रहेका चालक दलका सदस्यलाई नै जोखिममा पार्ने गरी रुसले खतरनाक र गैरजिम्मेवारपूर्ण क्षेप्यास्त्र परीक्षण गरेको भन्दै त्यसको निन्दा गरेको हो । उक्त परीक्षणका क्रममा एउटा रुसी भू(उपग्रह ध्वस्त बनाइएको बीबीसीले जनाएको छ ।

    त्यसले अन्तरिक्ष केन्द्रमा अवशेषहरू उत्पन्न गर्दा त्यहाँ रहेका चालक दलका सदस्यहरूले पृथ्वीमा अवतरण हुने यानमा शरण लिनु परेको बताइएको छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा हाल सात जना चालक दलका सदस्यहरू रहेका छन्। त्यसमध्ये चार जना अमेरिकी, एक जना जर्मन र दुईजना रुसी रहेका छन्। अन्तरिक्ष केन्द्रले पृथ्वीभन्दा करिब ४२० किलोमिटरको उचाइमा परिक्रमा गर्ने गर्छ।

    अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले रुसी सङ्घले लापरबाहीका साथ आफ्नै एउटा भूउपग्रहमाथि एउटा एन्टी-स्याटेलाइट क्षेप्यास्त्र प्रहार गरेको जनाएका छन् । उनले उक्त परीक्षणले हालसम्म सहजै पत्ता लगाउन सकिने एक हजार पाँच सय टुक्रा अवशेषहरू उत्पन्न गरेको र त्यसभन्दा साना सयौँ हजार त्यस्ता अवशेषहरू उत्पन्न भएको बताएका छन् ।

    रुसी अन्तरिक्ष एजेन्सीले भने यो घटनालाई कम महत्त्वपूर्ण भनेको छ। उक्त एजेन्सीले ट्वीट गर्दै एउटा मापदण्ड अनुसार चालक दलका सदस्य सुरक्षित स्थानमा सरेको बताएको छ।

  • विप्लव नेकपाले गरेको बन्दको प्रभाव देशभर, यात्रुलाई सास्ती

    विप्लव नेकपाले गरेको बन्दको प्रभाव देशभर, यात्रुलाई सास्ती

    काठमाडौं । पेट्रोलियम पदार्थ मूल्यवृद्धि भएको भन्दै फिर्ताको माग राखि आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्द आयोजना गरेको छ । बन्दको प्रभाव देशभर देखिएको छ । खासगरी ग्रामिण भेगमा यातायात ठप्प जस्तै छ । शहरी इलाकामा समेत सार्वजनिक यातायात चलेका छैनन् । फाट्टफुट्ट निजी सवारी चल्नुबाहेक सडक सुनसान देखिएको छ । जसले गर्दा यात्रामा जानै पर्ने यात्रुले भने सास्ती भोगिरहेका छन् ।

    लामो दूरीबाट यात्रा गरि काठमाडौं आएका यात्रु सडकमा पैदल हिँडेर घरसम्म पुग्नु पर्ने बाध्यतामा छन् । कलङ्की, नयाँ बसपार्क, बल्खु, कोटेश्वरजस्ता चेकमा सार्वजनिक गाडी कुरेका यात्रु अलपत्र बनेका छन् । बन्दको प्रभाव कम गराउन प्रहरी परिचालन भने बाक्लो देखिएको छ । उता, तनहुँमा बन्द गराउँदै हिँडेका विप्लव नेकपाका ११ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरामा समेत यातायात प्रभावित भएको खबर छ ।

  • मुगुमा मध्यरातमा भिषण आगलागी, करीव दुई दर्जन घर जले

    मुगुमा मध्यरातमा भिषण आगलागी, करीव दुई दर्जन घर जले

    मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा मध्यरातमा भिषण आगलागी भएको छ । आगलागीमा १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिन कच्ची घर भत्काउन ुपरेको छ । दमकल नभएका कारण आगोलागी नियन्त्रण गर्न कठिन भएको स्थानीयले जनाएका छन् । आगो करीव ४ घण्टाको प्रयासपछि मात्र नियन्त्रणमा आएको हो । गतराती साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको हो । रातभर स्थानीय र सुरक्षाकर्मी आगो नियन्त्रणमा खटिएका थिए ।

    आगो साढे ४ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको थियो । आगो निभाउने क्रममा गोरख मल्लको एउटा कच्ची घर भत्काइएको छ । आगलागीमा मानवीय क्षति नभएको समेत बताइएको छ । धनमालको क्षतिको विवरण संकलन भइरहेको छ ।

  • सर्वोच्चका न्यायाधीश दुई गुटमा विभाजित

    सर्वोच्चका न्यायाधीश दुई गुटमा विभाजित

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनु पर्ने भन्दै इजलास बहिस्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीश अब दुई गुटमा विभाजित भएका छन् । कुल १९ जना न्यायाधीश रहेकोमा पाँच जना अलग भएका छन् । उनीहरुले अब बाँकी न्यायाधीशसँगको छलफलमा सहभागी नहुने निर्णय लिएका हुन् । न्यायाधीश तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालले यस्तो निर्णय लिएका हुन् ।

    सोमबार नेपाल बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा समेत यी न्यायाधीश सहभागी भएनन् । उनीहरुले फूलकोर्ट बाहेकका बैठकमा सहभागी नहुने निर्णय लिएका छन् । सोमबार नै प्रधानन्यायाधीश जबराले आन्दोलन त्याग गर्न विज्ञप्ती निकालेका थिए ।

    प्रधानन्यायाधीश जबराको राजीनामा माग गरिरहेका न्यायाधीशले जबराले तोकेका मुद्दा सुनुवाइ गर्न मानिरहेका छैनन् । अहिले बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्रै सुनुवाइ भइरहेको छ । असन्तुष्ट न्यायाधीशको अबको भूमिका के हुने भन्ने चाँही निश्चित छैन ।

  • इजरायलले भैरहवा विमानस्थलमा सिधा उडानको इच्छा देखायो

    इजरायलले भैरहवा विमानस्थलमा सिधा उडानको इच्छा देखायो

    काठमाडौं । भैरहवामा निर्माणधिन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छ । यो विमानस्थलमा इजरायलले सिधा उडानको इच्छा व्यक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायलका राजदूत हेनान गोदरबीच सोमबार भएको भेटवार्तामा इजरायल सरकारले यस्तो संकेत गरेको हो । भेटमा राजदूत गोदरले इजरायल–भैरहवा सिधा हवाई उडान गर्न इजरायल सरकार इच्छुक रहेको समेत जानकारी गराएको आलेको सचिवालयले जनाएको छ ।


    भेटवार्तामा राजदूत गोदरले इजरायल र काठमाडौं बीच सिधा हवाई उडानका लागि इजरायल सरकारले पहल गर्ने आश्वासन समेत दिएका छन् । राजदूत गोदरले नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हवाई भाडादरका विषयमा चासो व्यक्त गरेका छन् । मन्त्री आलेले नेपाल र इजरायल बीच सिधा हवाई सम्पर्कका लागि आफूहरु तयार रहेको जानकारी राजदूत गोदरलाई गराएका थिए ।

    उता, आगामी साताबाट इजरायल जाने नेपाली श्रमिकलाई नेपाल एयरलाइन्सको जहाजबाट लैजानेबारे समेत भेटमा छलफल भएको छ । पर्यटनमन्त्री आलेको सचिवालयका अनुसार भेटका क्रममा आगामी दुई साताभित्र कम्तिमा एक हजार नेपाली श्रमिक इजरायल जाने भन्दै त्यसका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज भाडामा लिनेबारे छलफल भएको हो । भेटको क्रममा राजदूत गोदरले यस्तो इच्छा व्यक्त गरेको सचिवालयले जनाएको छ ।

    भेटमा नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपाली बीच रहेको असमान हवाई भाडादरका विषयमा समेत कुराकानी भएको छ । सो क्रममा मन्त्री आलेले भाडा घटाउन पहल गर्ने बताएका छन् । मन्त्री आलेले नेपालको विविध क्षेत्रमा इजरायले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास समेत व्यक्त गरेका छन् ।

    नेपाल सरकारले निजगढमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीकर्ता जुटाइ दिन वा जीटूजीमार्फत काम गर्न समन्वय गरिदिन मन्त्री आलेले राजदूत गोदरसँग आग्रह गरेका छन् । यस विषयमा राजदूत गोदरले आवश्यक समन्वय र पहल गर्ने आश्वासन दिएका छन् ।

  • नेपालमा थप ४१६ जनामा कोरोना पुष्टी, २७० जना संक्रमण मुक्त

    नेपालमा थप ४१६ जनामा कोरोना पुष्टी, २७० जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४१६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ गरी ४१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १७ हजार ३३३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २७० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ३११ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ ।

  • ‘एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाउनु चिन्ताजनक’- प्रधानन्यायाधीश

    ‘एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाउनु चिन्ताजनक’- प्रधानन्यायाधीश

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनलाई वार्ताका लागि आह्वान गरेका छन् ।

    सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले न्याय क्षेत्रको विवाद समाधानका लागि वार्तामा आउन बारलाई आग्रह गरेका हुन् ।

    जबराले आफ्नो राजीनामा मागेर प्रदर्शनमा उत्रिएका नेपाल बार एशोसियसनका पदाधिकारी र कानुन व्यवसायीलाई विग्रहको बाटो छोडेर संवादको मार्ग रोज्न आह्वान गरे ।

    विज्ञप्तिमा जबराले भनेका छन्, ‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै संविधानसभाबाट जारी नेपालको संविधानको सफल कार्यान्वयन गर्न राज्यका सबै अंगसहित राज्यका सम्पूर्ण निकायहरु एकताबद्ध हुनुपर्ने खाँचो रहेकै समयमा संविधानद्वारा स्थापना भएको सर्वोच्च न्यायिक अङ्ग र यसका प्रमुखमाथि एकपक्षीय ढंगले निरन्तर रुपमा अत्यन्तै तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाउने काम भइरहनु अत्यन्त चिन्ताजनक विषय हो।’

    विज्ञप्तिमा प्रधानन्यायाधीश जबराले न्यायपालिका सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएका सुझावहरु कार्यान्वयन गर्नका लागि आफू तयार रहेको पनि उल्लेख गरेका छन्।

  • दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार

    दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । सोमबार शेयर बजार मापक सूचक नेप्से २६.४४ अंकले बढेर २७१५.५५ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँ बराबरको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये को परिसूचकमा हरियाली छाएको छ । दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    मानुषी लघुवित्त र बोटलर्स नेपालको कम्पनीका शेयरधनीले १० प्रतिशत कमाएका छन् । भने तेह्रथुम पावर को शेयर धनीले ९.९९ प्रतिशत कमाएका छन् ।

    बैंकिङ समूहको शेयर ०.९६ अङ्कले, विकास बैंकको १ सय ४१, होटलको ५८, फाइनान्स ५७ माइक्रोफाइनान्सको ६३ र जलविद्युत् समूहको शेयर ५० अङ्कले बढेको छ ।

    यस्तै उत्पादन समूहको शेयर १०९ अङ्कले, जीवन बीमा समूहको ११३ अङ्कले, निर्जीवन बीमा समूहको २ सय १२ र अन्य समूहको शेयर १८ अङ्कले बढेको छ । त्यस्तै, आज महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ४.४६ प्रतिशतले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज ३५ करोड ४६ लाख भन्दा बढीको कारोबार भएको छ ।

  • कुलमान घिसिङले गरे तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

    कुलमान घिसिङले गरे तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

    तनहुँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे ।

    “महत्वपूर्ण दातृ निकायको सहभागिता रहेको आयोजना तोकिएकै समयभित्र सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ,” घिसिङले भने । सहकार्य गरेर काम गर्नुपर्नेमा उनले जोड दिए । घिसिङले बाँधको निर्माणकार्य ढिलाइ भएको उल्लेख गर्दै यसलाई प्राथमिकता दिएर काम अगाडि बढाउन निर्देशन दिए । कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक किरण श्रेष्ठले आयोजनाको प्रगतिबारे जानकारी गराएका थिए ।

    आयोजनाले तीन वटै प्याकेजका कामलाई निरन्तरता दिइरहेको छ । प्याकेज १ अन्तर्गत नदी फर्काउने, बाँध निर्माणलगायतका कामका लागि तयारी थालिएको छ । उक्त कामका लागि आयोजनाले सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीसँग सम्झौता गरेको थियो । आयोजनाको प्याकेज १ हेडवक्र्स निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग विसं २०७५ असोज १५ मा सम्पन्न खरिद सम्झौता रद्द भए पश्चात् कम्पनीले विसं २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो ।

    कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्र सारभूत रुपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्र अस्वीकृत गरी एशियाली विकास बैंकको खरिद निर्देशिका अनुरुप विसं २०७६ फागुन १६ गते दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।

    आयोजना प्रमुख अच्युत घिमिरेले प्याकेज १ अन्तर्गतको कामका लागि मोबाइल क्रसर प्लाण्ट निर्माण, खोला क्रसिङ गर्ने काम भइरहेको जानकारी दिए । प्याकेज २ अन्तर्गत सिनो हाइड्रोले भूमिगत काम गरिरहेको छ । जसअनुसार हाल पाँच ठाउँमा काम भइरहेको छ । आयोजना प्रमुख घिमिरेका अनुसार पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्क लगायतका काम भइरहेको छ । प्याकेज ३ अन्तर्गतको प्रशारण लाइन निर्माणको कामले पनि तीव्रता पाएको छ ।

  • अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत संयुक्त रुपमा रारा भ्रमणमा

    अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत संयुक्त रुपमा रारा भ्रमणमा

    काठमाडौं । नेपालका लागि अमेरिकी, बेलायती र अष्ट्रेलियाका राजदुत मुगुमा रहेको रारा तालको भ्रमणमा निस्किएका छन् । काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार ट्वीट गर्दै यसबारे जानकारी गराएको हो । अमेरिकी राजदूत रेण्डी बेरी, बेलायती राजदुत निकोला पोलीट र अस्ट्रेलियनका राजदूत फिलिसिटी भोल्क रारा भ्रमणमा पुगेका छन् । कोरोना महामारीपछि रारामा विदेशी पाहुना पहिलो पटक रारा पुगेका छन् ।

    यो टोली आइतबार काठमाडौंबाट नेपालगञ्ज हुँदै तारा एयरको जहाज चढेर रारा पुगेका छन् । जिल्लामा जलवायु परिर्वतनले पारेको प्रभावसम्बन्धी अध्ययन गर्न र मुगुमा संचालित गैरसरकारी संस्थामार्फत आफ्नो देशको परियोजना अवलोकन गर्न समेत राजदूतहरु त्यहाँ पुगेको बताइएको छ ।

    दुतावासले जलवायु परिवर्तनले हिमाली क्षेत्रका बासिन्दा र जनजीवनमा पारेको प्रभावको अध्ययन गर्ने यो भ्रमण गरिएको बताएको छ । सोमबार रारा तालको किनारमा रारा निकुञ्जका कर्मचारी, होटल व्यवसायी, पत्रकार, नागरिक समाजसित जलवायु् परिर्वतनले पारेको असरबारे छलफल गर्ने कार्यक्रम छ । उनीहरु मंगलबार समेत मुगुमै रहने छन् ।

  • अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच आज भर्चुअल वार्ता, के छन् एजेण्डा ?

    अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच आज भर्चुअल वार्ता, के छन् एजेण्डा ?

    वासिंटन डिसी । अमेरिका र चीनबीच लामो समयदेखिको गतिरोध अन्त्य गर्दै आज उच्चस्तरीय वार्ता हुँदैछ । दुबै मुलुकका राष्ट्रपतिबीच भर्चुअल माध्यमबाट वार्ता हुन लागेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति शी जिनपिंग वार्तामा सहभागी हुने छन् । यस वार्तालाई लिएर संसारभर चासो रहेको छ । अफगानिस्तानको मुद्दापछि दुबै मुलुकबीच औपचारिक संवाद भएको छैन । पछिल्लो समय जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा चिनियाँ राष्ट्रपतिको अनुपस्थितिलाई लिएर चर्को आलोचना समेत भएको थियो ।

    तर, संसारका दुई शक्तिशाली मुलुकले गत साता संयुक्त रुपमा ग्लासगोमा जलवायु परिवर्तनको एक संयुक्त घोषणामा हस्ताक्षर गरेका थिए । पछिल्लो समय ताइवानको विषयलाई लिएर भने दुई मुलुकबीचको सम्बन्ध बिग्रिएिको छ । आजको वार्तामा साइबर सुरक्षा, व्यापार तथा परमाणु अप्रसारजस्ता मुद्दामा चर्चा हुन सक्ने अमेरिकी संचारमाध्यमले लेखेका छन् । जनवरीमा पदभार सम्हालेका राष्ट्रपति बाइडेनले शी जिनपिंगसँग दोस्रो पटक वार्ता गर्दैछन् ।

  • अष्ट्रेलियाले जित्यो टी-२० विश्वकपको उपाधी

    अष्ट्रेलियाले जित्यो टी-२० विश्वकपको उपाधी

    दुबई । न्यूजिल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले पहिलो पटक आईसीसी टी-२० विश्वकपको उपाधि उचालेको छ । आइतबार राती सम्पन्न फाइनलमा न्यूजिल्याण्डमाथि ८ विकेटको प्रभावशाली जित निकाल्दै अष्ट्रेलियाले उपाधी कब्जा गरेको हो । अष्ट्रेलिया ओडीआई विश्वकपमा सबैभन्दा सफल टीम हो । उसले ५ वटा उपाधी उचालेको छ ।

    तर, टी२० मा भने उसको यो पहिलो उपाधी हो । सन् २०१० मा फाइनल खेलेको अष्ट्रेलिया इंग्ल्याण्डसँग हारेको थियो । पहिलो पटक टी २० विश्वकपको फाइनल पुगेको न्यूजिल्याण्ड भने उपविजेतामै सिमित बन्यो । यसअघि सन् २०१५ मा वान डे विश्वकपको फाइनल खेलेको न्यूजिल्याण्ड अष्ट्रेलियासँगै हारेको थियो । युएईको दुबईमा मिचेल मार्श र डेभिड वार्नले शानदार ब्याटिङ गरे ।

    त्यसअघि न्यजिल्याण्डका केन विलयम्सले ८५ रन बनाउँदै टीमलाई ठूलो स्कोर खडा गरेका थिए । तर, उनको प्रदर्शन हारसँगै छाँयामा पर्यो । न्यूजिल्याण्डले दिएको १७३ रनको अष्ट्रेलियाले १८.५ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो । अष्ट्रेलियाको जितमा मिचेल मार्श र डेभिड वार्नरले अर्धशतक प्रहार गरे । मार्सले अविजित ७७ रन बनाउदा वार्नले ५३ रन जोडे ।

    ग्लेन म्याक्सवेलले अविजित २८ रन बनाए । न्यूजिल्याण्डका लागि ट्रेण्ट बोल्टले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले कप्तान केन विलियम्सको शानदार ब्याटिङ मद्दतमा ४ विकेट गुमाएर १७२ रन बनायो । विलयम्सनले ४८ बल खेल्दै १० चौकार ३ छक्का मद्दतमा ८५ रन बनाएका थिए ।

  • आज हरिबोधिनी एकादशी, उपबास बसी मनाईदै

    आज हरिबोधिनी एकादशी, उपबास बसी मनाईदै

    काठमाडौं । आज हिन्दु धर्मावलम्बीले धुमधामका साथ हरिबोधिनी एकादशी मनाउँदैछन् । एक वर्षभर चौबीस वटा एकादशी पर्छन् । जसमध्ये ठूली एकादशीको महत्व बढी रहेको छ । चार महीनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आआफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा छ ।

    आज सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल भगवान विष्णुलाई चढाएर प्रसादको रुपमा खाने गरिन्छ । हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्छ । सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेष नारायणमा विशेष मेला लाग्छ । हरिबोधनी एकादशीको दिन काठमाडौंका बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले आज सार्वजनिक बिदा समेत गरेका छन् ।

    हरिबोधनी एकादशीको अवसरमा संखुवासभाको खाँदबारी नगरपालिका, खोटाङको बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाले पनि कात्तिक २८ र २९ गते दुई दिन सार्वजनिक बिदा गरेका छन् । हरिबोधनी एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान विष्णुको आराधना गरिन्छ ।

    हिन्दू धर्मग्रन्थहरुमा तुलसी, पीपल, दुबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकको रुपमा मानेर पुजिन्छ । आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास गरिन्छ । त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कात्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिएको हो ।

  • मुस्ताङ हिउँ-पहिरो : सयौं चौरी वेपत्ता

    मुस्ताङ हिउँ-पहिरो : सयौं चौरी वेपत्ता

    मुस्ताङ । मुस्ताङमा आइतबार आएको भिषण हिउँ पहिरोमा परी सयौं चौरी वेपत्ता भएका छन् । ११ जना मानिस घाइते भएका छन् । जिल्लाको थासाङ गाउँपालिका २ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परि बेपत्ता भएको राससले लेखेको छ । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेप भएका हुन् ।

    हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नरप्रसाद हीराचनले जानकारी गराएका छन् । भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्किएका छन् । हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षितरुपमा सम्पर्कमा आएका छन् ।

    १३० याक चौँरीमध्ये बाइनाकुलरले हेर्दा १०, १२ मात्र देखिएको र बेपत्ता चौँरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन् । हिमपहिरोले जङ्गलमा रुख ढलाएको छ । वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ । हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो । बेनी(जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो । नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ । घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ ।

    जङ्गलमा चर्न गएका गाई, भैँसी र भेडा पनि हताहत भएको हुनसक्ने वडाध्यक्ष हीराचनले बताए । उवा र फापरबालीमा क्षति पुगेको छ । सांसद प्रेमप्रसाद तुलाचन, प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, महेन्द्र थकाली, प्रजिअ शर्मालगायत सुरक्षा अधिकारीको टोलीले स्थलगत निरिक्षण गरेका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको कोवाङ प्रहरी चौकीका प्रमुख नेत्र जिटीले बताएका छन् ।

    हिउँसो ११ः४० मा ठूलो आवाज हिउँको मुस्लो आएपछि भागाभाग भएको थियो । हिम पहिरोको धक्बा नाउरिकोट गाउँ, बोक्सी खोला नजिक बेनी, जोमसोम सडकसम्म आउँदा त्रसित भएर भागाभाग भएको जनआदर्श अमरसिङ माध्यमिक विद्यालयका प्रअ खेम गुरुङले बताए का छन् ।

  • रोल्पामा जिप दुर्घटना, ४ जनाको मृत्यु

    रोल्पामा जिप दुर्घटना, ४ जनाको मृत्यु

    रोल्पा । रोल्पामा आइतबार बिहान भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिप दुर्घटनामा माडी गाउँपालिका– ६ का ५१ वर्षिया रुद्र घर्ती, ४७ वर्षीया चौसरा कामी, ५५ वर्षिया टेकबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो । सोही स्थानका १८ वर्षीया लिला पुन मगरको भने उपचारको क्रममा मृत्यु भएको छ । जिपमा सवार ६ जनामध्ये अब २१ वर्षीया बिना घर्ती र ६१ वर्षिया पञ्चना विकको उपचार जारी छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

  • धनुषाको रुपैठामा निषेधाज्ञा ३० कात्तिकसम्म लम्ब्याइयो

    धनुषाको रुपैठामा निषेधाज्ञा ३० कात्तिकसम्म लम्ब्याइयो

    जनकपुर । धनुषाको जनकपुरधाम उप महानगरपालिका, रुपैठामा आइतबार रातिसम्म जारी गरिएको निषेधाज्ञाको समय ३० कात्तिकसम्म लम्ब्याइएको छ । साम्प्रदायिक सद्भाव बिग्रिने जोखिम रहेको भन्दै यहाँ नारा जुलुस, हुलहुज्जत गर्न रोक लगाइएको हो । स्थानीय प्रशासनले जनकपुरधाम वडा २० रुपैठामा शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्म लागु हुने गरि निषेधाज्ञा जारी गरेको थियो ।

    शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञालाई कात्तिक ३० गते राति १० बजेसम्म थपिएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जनाएका छन् । पूर्वमा जलाद नदीको कल्ली बाँध, पश्चिममा जनकपुर जटही मार्गको दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्बा जाने बाटो र दक्षिणमा देबपुरा निमचौकदेखि बहुअर्बा जाने बाटोसम्म निषेधाज्ञा आदेश जारी भएको छ ।

    रुपैठामा छठकै दिनदेखि तनाव रहँदै आएको छ । एक समूहले छठ पर्व मनाउन रोक लगाएपछि दुई पक्षबीच विवाद भएको हो । विवादले शनिबार उग्र रुप लिएपछि निषेधाज्ञा आदेश जारी भएको हो ।

  • महाधिवेशनमा तात्तियो कांग्रेस, सभापतिको नेतृत्वमा मुल तयारी समिति गठन

    महाधिवेशनमा तात्तियो कांग्रेस, सभापतिको नेतृत्वमा मुल तयारी समिति गठन

    काठमाडौं । नेपाली कांग्रेस १४ औं महाधिवेशनका लागि तात्तिएको छ । सुस्त शुरुवात गरेको कांग्रेसले मंसिर २४ देखि २६ गतेसम्म १४ औं महाधिवेशनको मिति तोकेको छ । सो प्रयोजनका लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल तयारी समिति गठन गरिएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन मूल तयारी समिति र विभिन्न उपसमिति गठन गरेको छ ।

    सभापति देउवाको नेतृत्वको मूल समितिमा पार्टीका केन्द्रीय सदस्य, सांसद, प्रदेश संसदीय दलका नेतालगायत सदस्य रहनेछन् । त्यस्तै कांग्रेसले प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ ।

    प्रदेश १ को संयोजकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश दुईको संयोजकमा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा गृहमन्त्री बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशको संयोजको जिम्मेवारी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई दिइएको छ ।

    कांग्रेसले महाधिवेशनका लागि अर्थ संकलनको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएको छ भने भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ ।

    सहमहामन्त्री डा। प्रकाशशरण महतलाई विदेशी पाहुना स्वागतको जिम्मेवारी दिएको छ भने मञ्च व्यवस्थापनका लागि काठमाडौं जिल्ला सभापतिको संयोजकत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य रहने गरी समिति बनाइएको छ ।

    प्रचार प्रसारको जिम्मेवारी प्रवक्ता विश्वप्रकाश शर्मालाई दिइएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रको जिम्मेवारी मोहनबहादुर बस्नेतलाई दिइएको छ । उद्घाटन सत्रका लागि सांस्कृतिक समितिको जिम्मेवारी केन्द्रीय सदस्य सीता गुरूङलाई दिइएको छ ।

  • नेपालमा थप ३०६ जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

    नेपालमा थप ३०६ जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३०६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८ पीसीआर परीक्षण गर्दा २९१ जना र १५९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ गरी ३०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १६ हजार ९६६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३४८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९८ हजार २७४ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार २१५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४४७ पुगेको छ ।

  • समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी हुन्छ, त्यो कुरा कर्मचारीले जान्नुपर्छ: अर्थमन्त्री शर्मा

    समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी हुन्छ, त्यो कुरा कर्मचारीले जान्नुपर्छ: अर्थमन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवाद उन्मुख अर्थतन्त्रकाबारे कर्मचारी जानकार हुनुपर्ने बताएका छन् ।

    आइतबार राजस्व प्रशासन सम्बन्धी अधिकृतस्तरीय सेवाकालिन तालिमको उद्घाटन गर्दै मन्त्री शर्माले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ भन्ने विषय कर्मचारीले जान्नैपर्ने बताएका हुन् ।

    कस्तो कर प्रणाली, कस्तो राजस्व नीति, कस्तो उत्पादनले समाजवाद उन्मुख अर्थतन्त्र विकास हुन्छ ? त्यो कुरा कर्मचारीहरूले जान्नुपर्छ । यो विषय पनि तालिममा सिकाइयोस् ।’

    उनले परम्परागत कार्यसम्पादन प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । प्रविधिको प्रयोगले कम जनशक्ति लाग्ने र पारिश्रमिकसमेत बढाउन सकिने उनले बताए ।

    संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख अर्थतन्त्र कार्यान्वयनका लागि मन्त्री शर्माले जोड दिएका हुन् । उनले नेपालको संविधान राजनीतिकर्मी, कर्मचारी, सर्वसाधारण सबै मिलेर ल्याएको परिवर्तन तथा उपलब्धि भएकाले त्यसको कार्यान्वयनका लागि कर्मचारी नै ‘फिल्ड’ मा रहेको स्मरण गराए ।

    समाजवाद उन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्नेमा मन्त्री शर्माले जोड दिए । उनले व्यक्तिको कमाईका आधारमा कर सङ्कलन गर्नुपर्ने बताए ।

    कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । यस विषयमा प्रतिस्थापन विधेयकमार्फत् व्यवस्था गर्न नसके पनि आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन गरिने उनले बताए ।

    ‘आगामी बजेटमार्फत कर नीतिम आमूल परिवर्तन हुन्छ’ मन्त्री शर्माले भने, ‘हामीले कर बुझाउनलाई ताकेता गरिरहनुपर्ने अवस्था नहोस् । कर बुझाउन स्वयम् व्यक्ति आउने वातावरण र सजिलो व्यवस्था बनाउनुस् ।’

    आइतबारबाट सुरु भएको तालिम पुस ९ गतेसम्म चल्नेछ ।

  • झिनो अंकले घट्यो नेप्से, चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले घट्यो नेप्से, चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । साताको कारोबारको पहिलोदिन शेयर बजार झिनो अंकले घटेको छ । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३८अंकले बढेर २८८८ ९२ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३० कम्पनीको ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँ बराबरको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूह मध्ये ६ को परिसूचक हरियाली भएको छ भने ७ परिसूचक राताम्मे भएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ३.१२ प्रतिशतले बढेको छ भने लगानी समूह ३.६२ प्रतिशले घटेको छ ।

    आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको २७ करोड रुपैयाँको कारोबार भएको छ ।

    यस्तै, आइसीएफसी फाइनान्स २४ करोड र नबिल बैंक १६ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुनेमा बोटलर्स नेपाल, महालक्ष्मी विकास बैंक, तेह्रथुम पावर कम्पनी र मनुसी लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।

    त्यस्तै, आज हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

  • भारतको राजधानी नयाँ दिल्लीमा प्रदुषणका कारण लकडाउन

    भारतको राजधानी नयाँ दिल्लीमा प्रदुषणका कारण लकडाउन

    नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा विशाक्त हावासहितको प्रदुषणका कारण लकडाउन गर्नु पर्ने अवस्था आएको छ । त्यहाँका मूख्यमन्त्री अरविन्द केजरीवालले एक साताका लागि सबै प्रकारका स्कुल बन्द गर्ने घोषणा गरेका छन् । भारतीय संचारमाध्यमले यहाँ प्रदुषणका कारण लकडाउन गर्नुपर्ने अवस्था आएको बताएका छन् । आइतबार प्रदूषणको स्तर निकै खराब श्रेणीमा रहेको बताइएको छ ।

    आज आइतबार दिल्लीको प्रदुषण मापक सूचक एर क्लालिटी इन्डेक्स (एक्यूआई) ३८६ रहेको छ , जसलाई निकै खराब अवस्था मानिन्छ । प्रदुषण र तिहारका बेला पड्काइएका पतकाका कारण यहाँको हावा विशाक्त बनेको हो । मूख्यमन्त्री केजीवालले सबै सरकारी कर्मचारीलाई समेत वर्क फ्रम होमको अवधारणामा काम गर्न भनेका छन् । दिल्लीमा निर्माणसँग सम्बन्धित सबै काम रोकिएको छ ।

  • इक्वेडरमा जेल भित्रै झडप, कम्तिमा ६८ जना मारिए

    इक्वेडरमा जेल भित्रै झडप, कम्तिमा ६८ जना मारिए

    काठमाडौं । इक्वेडरमा एक जेल भित्र कैदीहरुबीच हिंसात्मक झडपमा परी कम्तीमा ६८ जनाको ज्यान गएको छ । अन्तरांष्ट्रिय संचारमाध्यमले ६८ जनाको मृत्यु भएको र थप २५ जना घाइते भएको पुष्टी गरेका छन् । त्यहाँको गाकुइल नामक सहरस्थित जेलमा झडप भएपछिको खोज तलासीमा विष्फोटक पदार्थ तथा बन्दुक समेत फेला परेको छ ।

    झडपपछि प्रशासनले सेना परिचालन गरेको छ । यो वर्ष मात्र इक्वेडरमा जेल भित्रको झडपमा दुई सयभन्दा धेरैको ज्यान गइसकेको समेत समाचारमा जनाइएको छ । अघिल्लो महिना भएको एक झडपमा एक सय भन्दा बढी मारिएका थिए । फेब्रुअरीमा तीन वटा जेलमा भएको झडपमा कम्तीमा ७९ जना मारिएको खबर छ । लागु औषधसँग सम्बन्धित अपराधीहरुको जामघट रहेको यी जेलमा बढी हिंसा हुने गरेको हो ।

  • आजबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप वितरण, कहाँबाट लगाउन पाइन्छ ?

    आजबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप वितरण, कहाँबाट लगाउन पाइन्छ ?

    काठमाडौं । नेपालमा आजबाट १२ वर्षमाथिका दीर्घ रोगीका लागि कोभिड १९ विरुद्धको फाइजर खोप वितरण गरिने भएको छ । यो खोप सरकारले अमेरिकाबाट खरीद गरेको हो । १२ वर्षमाथिका आठ प्रकारका दीर्घरोग भएका व्यक्तिले यो खोप पाउने भएका छन् ।

    लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका, लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि खाइरहेका, जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका, लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पुर्जा बमोजिम औषधि खाइरहेका, अङ्ग प्रत्यारोपण गरेका, लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भइ डाक्टरको निगरानीमा उपचार गराइरहेका र कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्तिले यो खोप लगाउन सक्ने छन् ।

    साथै मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका व्यक्तिलाई समेत फाइजरको खोप दिइने भएको छ । कोभिड १९ विरुद्धको अन्य कुनै खोप लगाएका व्यक्ति र १२ वर्ष भन्दा कम उमेरका दीर्घ रोगीले भने यो खोप लगाउन मिल्दैन । खोप मंसिर चार गतेसम्म चल्नेछ । खोप लगाउन सरकारले देशभर २४ वटा अस्पताल तोकेको समेत जनाएको छ ।

    यस अघि कोभिड विरुद्धको खोप लगाएका खोप केन्द्रमा यसपालि फाइजर खोप लगाउन पाइने छैन । खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घरोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ । खोपको दोस्रो मात्रा मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म लगाउन सकिने छ ।

  • कतार विश्वकपका लागि फ्रान्स र बेल्जियम छनोट

    कतार विश्वकपका लागि फ्रान्स र बेल्जियम छनोट

    पेरिस । आगामी वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलमा साविक विजेता फ्रान्स र फिफा नम्बर वान टीम बेल्जियम यूरोपबाट छनोट हुन सफल भएका छन् । केयलिन एमबापेको ह्याट्रिकको मद्दतमा फ्रान्सले काजाकिस्तानमाथि ८–० को फराकिलो जित निकाल्दै कतारको टीकट काट्न सफल भएको हो । जितसँगै युरोपेली विश्वकप छनोटको समूह डी मा फ्रान्स शीर्ष स्थानमा उक्लिएको छ ।

    उता, फिफा वरियतामा विश्व नम्बर १ मा रहेको बेल्जियम समेत कतार विश्वकपमा छनोट भएको छ । शनिबार इस्टोनियालाई ३–१ ले पराजित गरेको बेल्जियमले समेत कतार जाने निश्चित गरेको हो । फ्रान्स र बेलिजयमसँगै कतार विश्वकप खेल्ने ६ टोलीको टुंगो लागेको छ । कतार आयोजकको हैसियतमा खेल्ने छ । दक्षिण अमेरिकी टीमबाट ब्राजिलले विश्वकप खेल्ने निश्चित गरिसकेको छ ।