Category: फिचर

  • विदेशबाट फर्कदा सुन भरियाका रुपमा फसिँदै निर्दोष नेपाली

    विदेशबाट फर्कदा सुन भरियाका रुपमा फसिँदै निर्दोष नेपाली

    काठमाडौं । वैदेशिक रोजगारीमा गएर घर फर्कने नेपालीलाई सुन तस्करले भरियाका रुपमा प्रयोग गर्दा निर्दोष नेपाली फस्ने क्रम बढ्दै गएको छ । प्रहरीले गत आइतबार मात्र यसरी भरियाका रुपमा सुन बोकेर आएका १७ जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सो दिन कुल नौ सय ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

    विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट १ सय ४९ दशमलव ५ ग्राम सुनसहित सुरूमा दुई जनालाई पक्राउ गरेको थियो । भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ७ का ३३ वर्षीय समुन्द्र दंगाल र बुढानिलकण्ठ नगरपालिका १२ बस्ने ४३ वर्षीय सन्तविर राई पक्राउ परेका थिए । आइतबार पक्राउ परेका उनीहरुले सिंगापुर एयरलाइन्समार्फत् मलेसियाबाट सिंगापुर हुँदै काठमाडौं आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाएको प्रहरीले जनाएको छ ।

    यात्रुहरूलाई उक्त परिमाणको धातु लुकाइछिपाइ लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो। विमानस्थलबाट सोही दिन ७ सय ५० ग्राम सुन बरामद भएको थियो । कुल १४ वटा बाला र एउटा सिक्रीका रुपमा प्रहरीले उक्त सुन बरामद गरेको थियो। सिंगापुर र मलेसियाबाट काठमाडौं आएका १५ यात्रुहरूलाई भन्सार छली गर्न लगाएर सो सुन तस्करी भएको पाइएको छ ।

    ती यात्रुहरूले ल्याएको सुन विमानस्थलमा संकलन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो। यात्रुहरूले ल्याएको सुन उनीहरूकै भने होइन। अर्कै व्यक्तिले लगिदिनू भन्दै पठाएका हुन् । उनीहरूलाई मलेसियाको विमानस्थलबाट नामथर नखुलेका व्यक्तिले दिएर पठाएको प्रहरीले बताएको छ।

    काठमाडौं पुगेपछि सामान विमानस्थल वरिपरिका होटलमा रिसिभ गर्न आउने भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । विदेशबाट फर्कने सोझा नेपालीलाई तस्करले भरियाका रुपमा प्रयोग गर्दा निर्दोष नागरिक फसिने क्रम बढेको छ ।

  • काठमाडौंको कपनबाट ४ वर्षिय बालक वेपत्ता

    काठमाडौंको कपनबाट ४ वर्षिय बालक वेपत्ता

    काठमाडौंं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ कपनबाट एक बालक वेपत्ता भएका छन् । प्रहरीका अनुसार भारतको बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सम्पर्कविहीन भएका हुन् । बालक सोमबार साँझ चार बजेदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

    मंगलबारसम्म पनि बालक सम्पर्कमा नआएपछि परिवारले प्रहरीको कन्ट्रोल नम्बरमा सम्पर्क गरेको बताइएको छ । बालक आफ्नै बुवाका छिमेकी साथी शंकर दाससँग गएको देखिएको खबर आएको प्रहरीले बताएको छ । तर, अहिलेसम्म सम्पर्कमा नआएपछि प्रहरीमा खबर पुगेको हो । विनोद र शंकर दुबै जना सँगै शिशाको काम गर्ने साथी भएको समेत प्रहरीको भनाई छ ।

  • प्राविधिकले ‘समस्या छैन’ भनेपछि बुद्धको जहाज व्यवसायिक उडानमा

    प्राविधिकले ‘समस्या छैन’ भनेपछि बुद्धको जहाज व्यवसायिक उडानमा

    काठमाडौं । सोमबार करीव २ घण्टा आकासमा फन्को मारेर अवतरण भएको बुद्ध एयरको एटीआर जहाजले मंगलबार भने बिहानैबाट व्यवसायिक उडान गरेको छ । जहाजमा कुनै पनि प्राविधिक समस्या नदेखिएपछि यो जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरका प्राविधिले उड्ने अनुमति दिएका हुन् । बुद्ध एयरका अनुसार सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए ।

    चेकजाँचका क्रममा जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले उडान अनुमति दिएको हो । सोमबार बिहान ७३ यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको सो जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको थियो । आकाशमा करीब दुई घण्टा फन्को मारेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य अवस्थामा अवतरण गरेको थियो ।

  • नेपाली सेयर बजार ७ महिना अघिकै विन्दुमा, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

    नेपाली सेयर बजार ७ महिना अघिकै विन्दुमा, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

    काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । यससाता आइतबारदेखि उच्च अंकले घट्न थालेको बजार ३ दिनमै २०५ बढी अंकले घटेको हो ।

    आइतबार एकैदिन ६२ अंकले घटेको बजार सोमबार ७३ अंकले घटेको थियो भने ७० अंकले घटेको छ । लगातार घटेसँगै नेप्से ७ महिना अघिकै विन्दु अर्थात् २६०० हाराहारीम आइपुगेको छ ।गत चैत १७ गते नेप्से २६१९ विन्दुमा थियो ।

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गरे यता घट्न थालेको बजार अझै रोकिएको छैन । राष्ट्र बैंकले एउटा बैंकबाट ४ करोड र अन्यबाट गरी कुल १२ करोड बढी कर्जा लिन नपाइने व्यवस्था गरेपछि ठूला लगानीकर्ता प्रभावित हुँदा समग्र बजारनै ओरालो लागेको हो ।

    साथै, पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव भई बैंकको ब्याजदर बबढ्नाले पनि सेयर बजारमा प्रभाव परेको देखिन्छ ।

    मंगलबार सेयर बजार मापक सूचक नेप्से ७०.०१ अंकले घटेर २६१५.४० विन्दुमा आइपुगेको छ । यसदिन २१८ कम्पनीको ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँ बराबरको १ करोड ३० लाख ३४ हजार ८२९ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ७.३७ प्रतिशतले घटेको छ । यस्तै, हाइड्रोपावर ४.७४, विकास बैंक र लगानी समूह पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्टीलरी १७ करोड र नेशनल हाइड्रो १५ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    उच्च अंकले घटेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । हिमालयन पावर र नेशनल हाइड्रो डेभलपर कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

    यसैगरी, गोर्खा फाइनान्स, जोशी हाइड्रोपावर र श्री इन्भेष्टमेन्टका सेयरधनीले पनि करिब १० प्रतिशत गुमाएका छन् । यस्तै, शिवश्री हाइड्रो र समृद्धि फाइनान्सको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ । ग्रीन डेभलपमेन्ट बैंक, वरुण हाइड्रोपावर, कुमारी बैंक, आइसीएफसी फाइनान्ससहित १ दर्जन कम्पनीको मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा ठ्याक्कै १० प्रतिशतले बढेको छ भने मैलुङ खोला जलविद्युत् कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

  • नेपालमा थप ११५८ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन

    नेपालमा थप ११५८ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी ११५८ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९३ हजार २७१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १३१८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६३ हजार ७३४ पुगेको छ । संक्रिय संक्रमितको संख्या १८ हजार ४२२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ११५पुगेको छ ।

  • असोज २३ देखि तारा एअरको पोखरा–जोमसोम नियमित उडान

    असोज २३ देखि तारा एअरको पोखरा–जोमसोम नियमित उडान

    काठमाडौं । यति एअरलाइन्सको भगिनी संस्था तारा एअरले आगामी असोज २३ देखि पोखरा-जोमसोम उडान गर्ने भएको छ।

    नेपालमा कोरोना सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एअरले पनि आफ्नो उडानलाई सुचारु गर्न लागेको हो।

    यति एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान नियमित संचालन गर्न लागेको जानकारी दिए।

    “बिगतका बर्षहरुमा जस्तै पोखरा बिमानस्थलमा नै जहाज राखेर तारा एअरको १९ सिटे विमानमार्फत दैनिक उडान गर्न लागेका छौँ,” उनले भने। कोरोना महामारीका कारण बन्द हुनुभन्दा पहिले ताराले पोखरा–जोमसोम यात्रुको चाप हेरेर दैनिक पाँच वटा सम्म उडान भर्दै आएको थियो।

    जोमसोममा दिउँसो हावा चल्ने भएकाले वायुसेवाहरुले विहान १२ बजे भित्र नै उडानहरु भर्नुपर्ने हुन्छ। दुर्गममा उडान गर्ने वायुसेवाहरुमा तारा एअरले मात्र पोखरा, नेपालगंज र काठमाण्डौंमा नियमित बायुयान राखेर दुर्गममा सेवा दिंदै आएको छ।

    तारा एअरसँग हाल दुर्गममा उडान गर्ने ४ वटा टुइनअटर बायुयान रहेको छ। ताराले लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरा लगायत दुर्गमका बिमानस्थलहरुमा नियमित तथा चार्टर उडान भर्दै आएको छ।

  • मन्त्रिहरुको नाम टुंग्याउँदै दलहरु, एक\दुई दिनमै सरकार बिस्तार

    मन्त्रिहरुको नाम टुंग्याउँदै दलहरु, एक\दुई दिनमै सरकार बिस्तार

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको नेतृत्व लिएको दुई महिना नाघिसक्दा पनि मात्र ६ सदस्यीय मन्त्रीमण्डलले देश चलिरहेको छ । यसबाट मन्त्रालयगत रुपमा हुनुपर्ने कतिपय निर्णय अनिर्णयको बन्दी बनेका छन् । यता सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएपछि भने मन्त्रिमण्डल विस्तार हुने भएको छ । आज र भोलीमा यो विषय टुंगो लगाउने तयारीमा दलहरु छन् ।

    माओवादी केन्द्रमा त्यति विवाद नभएपनि मन्त्री बन्ने सन्दर्भमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)मा विवाद छ । यी दलले समेत आजै मन्त्रीको नाम टुंग्याउने बताएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गते ल्याइएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेलगत्तै राष्ट्रपतिबाट अध्यादेश खारेज भइसकेको छ ।

    प्रधानमन्त्रीसहित २५ जनाभन्दा बढीको मन्त्रिमण्डल बनाउन पाइदैन । दलहरुबीच नेपाली कांग्रेसलाई प्रधानमन्त्रीसहित ७ मन्त्रालय, माओवादी केन्द्रलाई ६ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादी पार्टीलाई ५ मन्त्री र एक राज्यमन्त्री तथा जसपालाई ४ मन्त्री र १ राज्यमन्त्री दिने विषयमा सहमति भएको जनाइएको छ ।

  • बेलायतमा पेट्रोल आपूर्ति सहज बनाउन सेना परिचालन

    बेलायतमा पेट्रोल आपूर्ति सहज बनाउन सेना परिचालन

    लण्डन । बेलायतमा लामो लाइन र तेल अभावका कारण कैयौँ पेट्रोल पम्प बन्द भएका छन् । यसले खुलेका पम्पमा ठूलो भिड लागेको छ । यो अवस्था सहज बनाउन बेलायतले सेना परिचालन गर्ने भएको छ । बीबीसीका अनुसार सेनालाई तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ । सेनाका ट्याङ्कर चालकहरूलाई आवश्यक परेको अवस्थामा परिचालन गर्न तालिम समेत दिइने भएको छ । बेलायती व्यापारमन्त्री क्वासी कोर्टनले मुलुकमा पर्याप्त आपूर्ति रहेको भन्दै सेना परिचालनको कदमलाई समझदारी र सावधानीको कदमुका रूपमा व्याख्या गरेका छन्।

    तेल आपूर्तिकर्ताहरूले आगामी दिनहरूमा माग सामान्य हुने अपेक्षा गरेको बताएका छन्। तर मोटरीङ्ग ग्रुप आरएसीका अनुसार केही किराना व्यापारीले अवस्थाको फाइदा उठाउँदै मूल्य बढाएका छन्। मन्त्रीहरूले आवश्यकता नभएका मानिसहरूले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको र ती रित्तिन पुगेको आरोप लगाएका छन्।

    लरी चालकहरूको अभावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुनसक्ने आशङ्काका कारण कैयौँ चालकहरू पेट्रोल पम्प पुगेका थिए। सरकारले ट्याङ्कर चालकहरूको अभाव पूर्ति गर्नका लागि विदेशी एचजीभी चालकहरूका लागि तीनमहिने अस्थायी प्रवेशाज्ञा उपलब्ध गराउन सहमत भइसकेको छ। बिपी र सेलजस्ता ठूला उत्पादकहरूले यूकेका रिफाइनरीहरूमा पर्याप्त मात्रामा इन्धन रहेको जनाएका छन्।

  • संयुक्त राष्ट्रसंघ महासभामा परराष्ट्र मन्त्रीले के भने ?

    संयुक्त राष्ट्रसंघ महासभामा परराष्ट्र मन्त्रीले के भने ?

    न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई सम्बोधन गरेका छन् । सो क्रममा उनले नेपाल अन्तर्राष्ट्रिय मामलामा एक स्वतन्त्र मुलुक रहेको सन्देश दिए । उनले अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको उल्लेख गरे । महासभालाई उनले मंगलबार बिहान सम्बोधन गरेका हुन् । अमेरिकाको न्यूयोर्कमा महासभा जारी छ । परराष्ट्रमन्त्री खड्काले यसअघि अफगानिस्तान मामलामा अन्य सार्क सदस्य मुलुक बोलेका छैनन् ।

    मन्त्री खड्काले अफगानिस्तान, लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व नेपालले चाहेको बताए । आणविक हातहतियारको होडबाजी र आतंकवाद मानव अस्तित्वको शत्रु भएको उनको भनाई छ । उनले कोरोनाविरुद्धको खोपको असमान वितरणले न्यून आय भएका मुलुकमा आर्थिक(सामाजिक असर पारेको समेत बताए । उनले सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनुपर्ने बताए । आगामी ६ महिना भित्र सबै नेपालीलाई खोप लगाउने सरकारको योजनाबारे उनले सुनाए ।

  • अमेरिकामा नेपाली समुदायलाई विभाजन गर्न खोजेको भन्दै महावाणिज्य दूतावास न्यूयोर्कप्रति आपत्ति

    अमेरिकामा नेपाली समुदायलाई विभाजन गर्न खोजेको भन्दै महावाणिज्य दूतावास न्यूयोर्कप्रति आपत्ति

    न्यूयोर्क । अमेरिकामा रहेका नेपालीहरुलाई विभाजन गर्न खोजेको भन्दै नेपाली महावाणिज्य दूतावास न्यूयोर्कप्रति सरोकारवालाले आपत्ति जनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष लोक चेम्जोङ, प्रवाशी नेपाली मञ्च अमेरिकाका अध्यक्ष अर्जुन सिंह, नेपाली समाज अमेरिकाका अध्यक्ष समिर महर्जन र प्रवाली नेपाली समाज अमेरिकाका अध्यक्ष रुद्र राउतले संयुक्त विज्ञप्ती निकाल्दै यस्तो बताएका हुन् । महावाणिज्य दूतावासले समग्र नेपालीको प्रतिनिधित्व गर्नुपर्नेमा अहिले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका परराष्ट्र मन्त्री डा. नारायण खड्कासँगको भेटघाट राजनीतिक दलको भातृसंगठनसँग मिलेर आयोजना गरेको भन्दै यी संगठनले आपत्ति जनाएका हुन् ।

    उनीहरुले महावाणिज्य दूतावास सरकारी निकाय भएकाले कुनै पनि दलको पक्षमा लाग्न नहुने तर्क छ । यस्तो कार्यक्रमले मन्त्रीको सम्मान भन्दा बढी अपमान हुने समेत विज्ञप्तीमा उल्लेख छ । विगतमा नेपालबाट उच्चस्तरीय पाहुना आउँदा सरोकारवाला सबैको सहभागितामा कार्यक्रम आयोजना हुने गरेको स्मरण समेत ती संगठनका प्रमुखले गराएका छन् । उनीहरुले कार्यबाहक महावाणिज्य दूत विष्णु प्रसाद गौतमको विभेदकारी र विरोधकारी नीतिको कडा आलोचना समेत गरेका छन् । उनीहरुले यस्तो व्यवहार सच्याउन चेतावनी समेत दिएका छन् । नेपाली समुदायलाई फुटाउने प्रयास गरे त्यसको परिणाम नराम्रो हुने उनीहरुको भनाई छ ।

  • राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस

    राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस

    काठमाडौं । रकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश खारेज गर्न सिफारिस गर्ने निर्णय गरेको हो । दल विभाजनका लागि बीस प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने व्यवस्थासहित आफैंले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश सरकारले फिर्ता लिन लागेको हो ।

    सो प्रावधान केवल एमाले र जनता समाजवादी पार्टी फुटाउन मात्र प्रयोग गरिएको छ । अध्यादेशको प्रावधान कायमै राख्न अन्य दलमा समेत जोखिम हुने ठान्दै सरकारले अध्यादेश फिर्ता लिन लागेको हो । सरकारले गत भदौ १ गते बीस प्रतिशत सांसद वा दलको केन्द्रीय सदस्यहरुले चाहेमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो। अध्यादेश फिर्ता भएपछि अब दलहरु सरकारमा सहभागी हुनेछन् ।

  • बुद्ध एयरको जहाजमा ल्याण्डिङ गियर नखुल्दा सोमबार काठमाडौंमा मच्चियो तहल्का

    बुद्ध एयरको जहाजमा ल्याण्डिङ गियर नखुल्दा सोमबार काठमाडौंमा मच्चियो तहल्का

    काठमाडौं । सोमबार बिहान १०) बजेको समयमा काठमाडौंको आकासमा एक जहाजले करीव १० फन्का लगायो । अन्य उडान अवतरण बन्द भएको समयमा एउटै जहाजले १० फन्को मार्दा काठमाडौंबासीलाई अचम्म लाग्नु स्भाविक थियो । त्यतिन्जेल संचारमाध्यमहरुमा खबर फैलियो, काठमाडौबाट विराटनगर उडेको जहाज त्यहाँ ल्याण्ड हुन नसकी काठमाडौं फर्किएको छ । समस्या थियो ल्याण्डिंग गिर नखुल्नु अर्थातः पांग्रा नखुल्नु ।

    यो खबर काठमाडौं विमानस्थलले पाएसँगै विमानस्थलमा आकस्मिक अवतरणको सबै तयारी गरिएको थियो । आवश्यक परे फम विच्याएर आपतकालिन अवतरणको समेत तयारी थियो । तर, ल्याण्डिङ गियरले काम गरेको पुष्टी भएसँगै जहाजको सुरक्षित अवतरण भएको छ । जहाजमा रहेका यात्रुले पशुपतिनाथको कृपाले बाँचेको प्रतिक्रिया दिएका छन् ।

    आजै बुद्धको जहाज पोखराका लागि उडेसँगै ककपिटमा धुँवा देखिएपछि काठमाडौं फिर्ता गरिएको विमानस्थल कार्यालयले जनाएको छ । दुबै घटनामा कुनै पनि मानवीय क्षति भने हुन पाएन । यी दुबै घटनामा कम्पनीले ‘सुरक्षामा शून्य सहनशीलता’को सिद्धान्त अपनाएको दावि गरेको छ । सोमबार बुद्ध एयरले विज्ञप्ति जारी गर्दै सुरक्षामा शून्य सहनशीलता अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौं फर्काउने निर्णय लिएको बताएको छ ।

    बुद्ध एयरका अनुसार जहाजमा ल्याण्डिङ गियरका लागि दुई वटा इन्डिकेटर हुन्छन् । सोमबार विराटनगरका लागि उडेको जहाज अवतरण गर्न खोज्दा प्राइमरी इण्डिकेटर देखिएन । विराटनगर विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले समेत जहाजको पाङ्ग्रा खुलेको देखेनन् ।

    विमान काठमाडौं फर्कियो । किनकी फायर फाइटिङदेखि एम्बुलेन्ससम्म सुविधाका लागि काठमाडौं विमानस्थल सबैभन्दा सुरक्षित विमानस्थल हो । बुद्ध एयरका अनुसार प्राइमरी इन्डिकेटरमा नदेखिए पनि सेकेन्डरी इण्डिकेटरमा सबै ठीकठाक थियो । काठमाडौं आइसकेपछि क्याप्टेनलाई बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी गराइएको थियो ।

  • नेपालमा थप १२८२ जनामा कोरोना पुष्टी, १२६२ जना संक्रमण मुक्त

    नेपालमा थप १२८२ जनामा कोरोना पुष्टी, १२६२ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२८२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८२ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १२८२ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९२ हजार ३६७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १२६२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६२ हजार ४१६ पुगेको छ । संक्रिय संक्रमितको संख्या १८ हजार ८४८रहेको छ ।

    पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ ।

  • रोकिएन् नेपाली सेयर बजारको पहिरो, यी हुन् धेरै गुमाउने १० कम्पनी

    रोकिएन् नेपाली सेयर बजारको पहिरो, यी हुन् धेरै गुमाउने १० कम्पनी

    काठमाडौं । सेयर बजारमा लगातार पहिरो गएको छ । आइतबार एकैदिन ६२ अंकले घटेको बजार आज त्याुभन्दा धेरै अंकले घटेको हो । यससँगै नेप्से २७०० विन्दु तल झरेको छ ।

    लगातार घटेसँगै नेप्से ६ महिना अघिकै विन्दुमा पुगेको छ । गत वैशाख ३० गते सेयर बजार २६८५ विन्दुमा रहेको थियो।

    सोमबार सेयर बजार मापक सूचक नेप्से ७३.०५ अंकले घटेर २६८५.४२ विन्दुमा आइपुगेको छ । यसदिन २२७ कम्पनीको ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँ बराबरको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.५३ प्रतिशतले घटेको छ । यस्तै, लगानी र निर्जीवन बीमा समूह ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे १५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, युनाइटेड मोदी हाइड्रोपाव १३ करोड र हिमालयन डिस्टीलरी झन्डै १३ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    उच्च अंकले घटेको बजारमा आज गुडविल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ७.८३ प्रतिशत गुमाएका छन् । यस्तै, युनाएटेड इदीमार्दी, नेपाल फाइन्स, कालिका पावर, पोखरा फाइनान्स र नेपाल हाइड्रोको सेयर मूल्य डेभलपरको सेयर मूल्य ७ प्रतिशभन्दा धेरैले घटेको छ । यस्तै, समृद्धि, सेन्टर, जानकी, मल्टिप्रपोज फाइनान्ससहित १ दर्जन कम्पनीको मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा ठ्याक्कै १० प्रतिशतले बढेको छ भने मैलुङ खोला जलविद्युत् कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

  • कोरोना विरुद्धको खोप लगाउनेमा नेपाल सार्क मुलुकमा चौथो, कतिले लगाए ?

    कोरोना विरुद्धको खोप लगाउनेमा नेपाल सार्क मुलुकमा चौथो, कतिले लगाए ?

    काठमाडौं । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखेको थियो । सोही अनुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्णमात्राको खोप लगाइसकिएको छ ।

    स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले लक्ष्यअनुसार असोज मसान्तसम्म लक्षित वर्गलाई खोप लगाइसक्ने जानकारी दिए । ‘हामीले असोज मसान्तसम्म लक्षित वर्गको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने भनेका थियौँ’, उनले भने, ‘सोहीअनुसार हामीले दैनिक खोप अभियान सञ्चालन गरिरहेका छाैं । असोज मसान्तसम्म ३३ प्रतिशतलाई खोप पुर्‍याउँछौँ ।’

    प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ मा आफू नियुक्त भए लगत्तै कोरोना भाइरस विरुद्धको खोपलाई सरकारले पहिलो प्राथमिकतामा राख्ने र आसोज मसान्तसम्ममा ३३ प्रतिशतमा खोप पुर्याइने घोषणा गरेका थिए । सोही अनुरुप सरकारले अनुदान प्राप्त हुने देशबाट अनुदान तथा चीन र भारतबाट खरिद गरेर पनि खोप ल्याउने नीति लिएको हो ।

    सरकारले १८ वर्षभन्दामाथिका ७१.६ प्रतिशत अर्थात् कूल दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ । पहिलो चरणको अर्थात् असोज मसान्तसम्मको लक्ष्य पूरा हुन लागेकाले खोपको आगामी अरु लक्ष्य पनि पूरा हुने देखिएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ । खोप अभियानकै क्रममा मन्त्रालयले अहिले पनि भेरोसेलको पहिलो मात्रा खोप अभियान सञ्चालन भइरहेको छ । अहिले दैनिक एक लाखभन्दा बढी जनाले खोप लगाइरहेका छन् ।

    अहिलेसम्म पूर्वरुकुम, मनाङ र मुस्ताङका सबै लक्षित समुदायले पूर्णमात्राको खोप लगाइसकेका छन् । उनका अनुसार कूल जनसङ्ख्याको २२ प्रतिशतले पहिलो र २० प्रतिशतले पूर्णमात्राको खोप लगाइसकेका छन् । अहिले ६६ लाख नौ हजार २३३ ले पहिलो र ६० लाख ३६ हजार ४०१ जनाले पूर्ण मात्रा गरी कूल एक करोड २६ लाख ४५ हजार ६३४ जनाले खोप लगाइसकेका छन् ।

    खोप अभियानअन्तर्गत सबैले खोप लगाउन थालेपछि सङ्क्रमण पनि घट्दै गइरहेको छ । आइतबार १३ हजार ७३६ जनामा कोभिड–१९ परीक्षण गर्दा ८३४ जनामा सङ्क्रमण देखिएको छ । अहिले परीक्षण गरिएकामध्ये करिब १२ देखि १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।

    अहिलेसम्म नेपालमा सङ्क्रमणको दर १९ प्रतिशत रहेको छ । नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो । नेपालमा पहिलो पटक २०७६ माघ ९ गते सङ्क्रमण देखिएको थियो । सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेयता सात महिनामा यही भदौ १६ गते नै एक करोड ९२ हजार १६४ सर्वसाधारणले खोप लगाएका थिए ।

    कुन जिल्लामा कतिले लगाए खोप ?

    सबभन्दा बढी काठमाण्डु उपत्यकामा जनसङ्ख्यालाई खोप लगाइएको छ । काठमाण्डु जिल्लामा पहिलो ५० प्रतिशत र दोस्रो ४९ प्रतिशत जनसङ्ख्यालाई, ललितपुरमा पहिलो ५० प्रतिशत जनसङ्ख्या र ४५ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेको छ ।

    यस्तै भक्तपुरमा ४१ प्रतिशतलाई पहिलो मात्रा खोप र ४६ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइसकेको छ । उपत्यकापछि सबभन्दा बढी रसुवामा खोप लगाइएको छ । रसुवामा पहिलो मात्रा ५६ प्रतिशत र पूर्णमात्रा ४७ प्रतिशतलाई लगाइएको छ । यस्तै काभ्रेमा ३७ प्रतिशत पहिलो र ३१ प्रतिशत पूर्ण मात्रा, रामेछाप २६ प्रतिशत पहिलो र ३६ प्रतिशत पूर्ण मात्राको खोप लगाइएको छ ।

    यस्तै कास्कीमा पहिलो मात्रा २५ प्रतिशत जनसङ्ख्या र पूर्ण ३१ प्रतिशतलाई, लमजुङमा पहिलो ३० प्रतिशत र पूर्ण मात्रा २९ प्रतिशतलाई लगाइएको छ । स्याङ्जा पहिलो ३२ प्रतिशत र पूर्ण मात्रा २८ प्रतिशत, पर्वत पहिलो २३ प्रतिशत र पूर्ण मात्रा २५ प्रतिशतलाई खोप लगाइसकेको जनाइएको छ ।

    कुन प्रदेशमा कतिले लगाए ?

    मन्त्रालयका अनुसार सबभन्दा बढी वाग्मती प्रदेशमा खोप लगाइएको छ । वाग्मती प्रदेशमा पहिलो ३६ प्रतिशत र पूर्ण मात्रा ३४ प्रतिशत जनसङ्ख्यालाई खोप लगाइएको छ । गण्डकी प्रदेशमा पहिलो र पूर्ण मात्रा खोप २४/२४ प्रतिशत जनसङ्ख्यालाई, लुम्बिनी प्रदेशमा पहिलो १९ प्रतिशत र पूर्ण मात्रा १७ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा पहिलो १८ प्रतिशत र पूर्ण मात्रा १७ प्रतिशतलाई खोप लगाइसकेको छ ।

    यस्तै प्रदेश नं १ मा १८ प्रतिशतले पहिलो र १५ प्रतिशतले पूर्ण मात्रा र प्रदेश नं २ मा १५ प्रतिशतले पहिलो र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मुलुकभरि विशेष क्षेत्रमा काम गर्ने सबैजसोलाई खोप लगाइसकेको जानकारी दिए ।

    ‘हामीले लक्ष्यअनुसार सबैलाई खोप लगाइसकेका छौँ’, उनले भने, ‘सबै नागरिकलाई खोप लिने लक्ष्यसहित खोप ल्याइरहेका छौँ ।’ सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सबैलाई खोप दिइसकेको थियो ।

    मन्त्रालयले यही असोज ४ गतेदेखि १४ गतेसम्म ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुला जिल्लामा १८ वर्षभन्दा माथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै छ ।

    यस्तै काभ्रे र चितवनमा पनि १८ वर्षभन्दा माथि छुटेका विद्यार्थी र ३५ वर्षमाथिका सबैलाई र काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाम जिल्लामा ४० वर्षमाथिका खोप लगाउन बाँकी र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइँदै छ ।

    नेपालमा अहिले कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ । सरकारले सर्वसाधारणलाई खोप लगाउनका लागि खरिद, अनुदान र कोभ्याक्स सुविधामार्फत ल्याइरहेको छ । सरकारले खोपको कमी हुन नदिन अनुदान लिएर तथा खरिद गरेर पनि खोपको मात्रा पुर्याउने बताइरहेको छ ।

    बालबालिकाका लागि चाँडै एक लाख मात्रा आउँदै

    सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइने तयारी गरेको छ । बालबालिका लागि मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याइने छ । मोडर्ना कोभ्याक्स सुविधाअन्तर्गत ल्याउनका लागि पैसा पनि बुझाइसकेको छ । खोप शाखा प्रमुख दाहालले एक लाख मात्रा फाइजर खोप चाँडै नै आउने बताए ।

    उनका अनुसार अहिलेसम्म एक करोड ७७ लाख मात्रा खोप आइसकेको छ । यसैगरी ५९ लाख मात्रा भेरोसेल खोपका लागि पैसा तिरिसकेको उनले बताए । कूल खोप लगाउने लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत ल्याउने सरकारले तयारी रहेको छ । कोभ्याक्सबाट निःशुल्करुपमा एक करोड १३ लाख मात्रा खोप प्राप्त गर्ने सरकारको योजना छ । सरकारले असोज मसान्तभित्र एक करोड पाँच लाख ४८ हजार मात्रा खोप र चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याइसक्ने जनाएको छ ।

    सार्कमा नेपाल चौथो

    कोरोना भाइरस विरुद्धको खोप लगाउनेमा नेपाल सार्क मुलुकमा चौथो स्थानमा छ । सार्क देशहरुमा सबैभन्दा बढी भुटानले ६५.६ प्रतिशत नागरिकलाई खोप दिएको छ । त्यस्तै दोस्रोमा मालदिभ्सले ६१.४८, श्रीलंकाले ५२.६१ प्रतिशतलाई र नेपालले लक्षित बर्गको २८ प्रतिशत नागरिकलाई पूर्ण मात्रामा खोप लगाएको पनि डा अधिकारीले बताए ।

  • फुलपातिदेखि पूर्णिमासम्म सवारी साधनले रुट इजाजत लिन नपर्ने

    फुलपातिदेखि पूर्णिमासम्म सवारी साधनले रुट इजाजत लिन नपर्ने

    काठमाडौं । सरकारले वडा दसैँलाई लक्षित गरि सवारी साधनको रुट इजाजत खुला गरेको छ । यस वर्ष दशैंको फुलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनले नेपालभर जहाँ पनि यात्रा गर्न सक्ने गरि इजाजत खुला गरेको हो । यातायात व्यवस्था विभागका अनुसार त्यसपछि भने तोकिएको रुटमा मात्र सवारी साधन चलाउन पाइने छ ।

    दशैंमा शहरबाट गाउँ जाने र गाउँबाट शहर फर्कनेहरुले टिकट नपाएको अवस्थामा गाडी रिर्जभ गर्न सक्छन् । सोहीकारण रुट इजाजत खुला गर्ने गरिन्छ । यात्रुवाहक सवारी साधनको छतमा यात्रु तथा पशुपन्छी राख्न नपाइने नियम बनाइएको छ । सवारीसाधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रूपमा टाँस गर्नुपर्ने भएको छ । तोकिएको भन्दा बढी भाडा उठाउन पाइने छैन ।

  • अफगानिस्तानमा दारी काट्ने वा मिलाउने काम बन्द गर्न तालिबानको उर्दी

    अफगानिस्तानमा दारी काट्ने वा मिलाउने काम बन्द गर्न तालिबानको उर्दी

    काबुल । अफगानिस्तानमा तालिबानले नाऊहरूले दाह्री काट्ने वा मिलाउने काम इस्लामिक कानून विपरित रहेको भन्दै त्यस्तो कार्य नगर्न उर्दी जारी गरेको छ । बीबीसीका अनुसार अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्न प्रतिबन्ध लागेको हो । उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने समेत बताइएको छ । राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन आएको जानकारी गराएका छन् । उक्त निर्देशनले विगतमा जस्तै उक्त समूहको कडा शासन फर्किएको सङ्केत गरेको समेत समाचारमा उल्लेख छ । तालिबानले विगतमा जस्तो कडा व्यवहार नगर्ने बताउँदै आएको थियो।

    गत महिना सत्ता आफ्नो हातमा लिएयता तालिबानले विपक्षीविरुद्ध कडा कारबाही गर्दै आएको छ। शनिवार तालिबानका लडाकुहरूले चारजना सन्दिग्ध अपहरणकारीहरूलाई गोली हानेर मारिदिएका थिए र उनीहरूले शरीर हेरात राज्यको सडकमा झुन्ड्याइएको थियो। दक्षिणी हेलमन्डका सैलुनहरूमा टाँसिएका सूचनामा तालिबान अधिकारीहरूले नाऊहरूले कपाल र दाह्री काट्दा शरिया कानुन मान्नुपर्ने उल्लेख रहेको बीबीसीले लेखेको छ ।

  • नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच न्यूयोर्कमा भेट, आज महासभामा सम्बोधन

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच न्यूयोर्कमा भेट, आज महासभामा सम्बोधन

    काठमाडौं । नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच न्यूयोर्कमा भेटवार्ता भएको छ । परारष्ट्रमन्त्री भए लगतै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका डा. खड्काले साइड लाइन वार्ताका क्रममा भारतीय समकक्षी जयशंकरसँग भेटेका छन् । भेटमा दुई देशको सम्बन्धलाई अझ मजवुत बनाउने सम्बन्धमा छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले जानकारी गराएका छन् ।

    मन्त्री खड्काले महासभामा भने आज नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासभामा नेपालले कोरोना विरुद्धको खोपको विश्वव्यापी उपलब्धता, विश्व तापमान वृद्धिबाट नेपालसहितका हिमाली मुलुकमा परेको असरसहितका एजेण्डा उठाउने छन् ।

  • आजबाट खुल्यो लामो दुरीको बसमा अग्रिम टिकट बुकिङ

    आजबाट खुल्यो लामो दुरीको बसमा अग्रिम टिकट बुकिङ

    काठमाडौं । आजबाट काठमाडौं उपत्यकाबाट लामो दूरीमा चल्ने बसमा अग्रिम टिकट बुकिङ खुला भएको छ । दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेलाई लक्षित गरि टिकट बुकिङ खुलेको हो । दशैंमा घर जान इच्छुक व्यक्तिहरु बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेका छन् । उनीहरुलाई दुरी कायम गरी लाइनमा राखेर अग्रिम टिकट बिक्री गर्ने व्यवस्था मिलाइएको छ ।

    यातायात व्यवस्था विभागले गत बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेसँगै सोमबारबाट टिकट काट्न थालिएको हो । कतिपय गन्तब्यमा भने अहिले पनि अनलाइनबाट टिकट काट्न सकिन्छ ।

  • रसुवा जिल्लाको संक्षिप्त चर्चा

    रसुवा जिल्लाको संक्षिप्त चर्चा

    सरस्वती न्यौपाने, रसुवा

    बागमती प्रदेशको उत्तरी भागमा पर्ने रसुवा जिल्ला चीनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको बिकट हिमाली जिल्ला हो । स्थानीय भाषामा ‘र’ को अर्थ भेडाच्याङग्रा र ‘सोवा’ को अर्थ चराउने वा राख्ने ठाउँ भन्ने मान्यतामा राखिएको ‘रसोवा’ नाम अपभ्रंस भएर रसुवा भन्न थालिएको भन्ने भनाई छ ।

    भौगोलिक, प्राकृतिक, सांस्कृतिक, जातीय,जैविक लगायतका विविधता रहेको यस जिल्लाको क्षेत्रफल १५१२ वर्ग किमि रहेको छ । करिव २० वटा जलविद्युत आयोजना कम्पनीहरू संचालन तथा निर्माणाधिन रहेको यो जिल्ला हाईड्रो हवको रूपमा समेत परिचित छ ।

    पूर्वमा सिन्धुपाल्चोक, पश्चिममा धादिङ, उत्तरमा चीनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा नुवाकोट जिल्लासंग जोडिएको यस जिल्लाको सबैभन्दा होचो स्थान बेत्रावति (६१४ मि) र अग्लो स्थान लाङटाङ हिमाल (७,२३४ मि) रहेको छ । यसको सदरमुकाम धुन्चे (१९५० मि) उचाईमा अवस्थित छ।जिल्लाको आन्तरिक राजनैतिक विभाजनको रुपमा आमाछोदिङमो, उत्तरगया, कालिका, गोसाइकुण्ड र नौकुण्ड गरी ५ गाउँपालिकाहरू रहेका छन।

    रसुवा जिल्ला धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले धनि जिल्ला हो ।

    १. गोसाईकुण्ड
    समुन्द्री सतहवाट ४ हजार ३ सय ८० मिटरमा अवस्थित रामसार सुचिमा सुचिकृत गोसाईकुण्ड हिन्दु र बौद्व, वोन्पो धर्मावलम्बीहरूको साझा धार्मिक आस्थाको केन्द्र हो । यस क्षेत्रमा साना ठुला गरी १ सय ८ कुण्डहरू रहेका छन् ।

    २. रसुवागढी

    बि. सं. १९१२ सालमा निर्मित रसुवागढी नेपाल-चीन सिमानामा अवस्थित ऐतिहासिक महत्त्व बोकेको गढी हो ।

    ३.गत्लाङ गाउँ

    समुन्द्री सतहदेखि २३०० मिटरको उचाईमा अवस्थित गत्लाङ गाउँ एक सुन्दर पर्यटकीय स्थल हो । परम्परागत रूपमा काठले मात्र छाईने घरका छानाहरू कालो देखिने भएकाले यो गाउँ ब्ल्याक गाउँले पनि चिनिन्छ ।

    विशुद्ध तामाङ जातिको बसोबास रहेको यस गाउँमा करिव ५०० घरधुरी रहेका छन । भुकम्प पछिको पुनर्निर्माणले यस गाउँको ऐतिहासिक पहिचान संकटमा परेको छ ।

    ४. क्यान्जिन उपत्यका

    लाङटाङ हिमालको काखमा रहेको समुन्द्र सतहवाट ३,८५० मिटर उचाईमा अवस्थित क्यान्जिन उपत्यका हिमाली दृष्यावलोकनका लागि एक रमणीय स्थल हो ।

    ५. उत्तरगया-धाम

    पवित्र उत्तरगयाधाम काठमाडौंबाट उत्तरतर्फ करिब ८० किलोमिटरको दुरिमा नुवाकोट र रसुवा जिल्लाको सिमाक्षेत्र वेत्रावतिमा अवस्थित बेत्रगंगा र त्रिशूली गंगाको संगम स्थल हो । नेपाल र तिब्बतबीच विं. स.१८४९ असोज १७ गते बेत्रावति सन्धि भएकोले यस स्थानको ऐतिहासिक महत्त्व समेत रहेको छ ।

    ६ .पार्वती कुण्ड
    रसुवाको सदरमुकाम धुन्चेदेखि उत्तर करिव ३५ किमिको दुरिमा आमा छोदिङमो गाउँपालिका ३ मा अवस्थित समुन्द्र सतहबाट करिव २५०० मिटरको उचाईमा रहेको एक महत्त्वपूर्ण धार्मिक स्थल हो । गोसाईकुण्ड पुगेका शिवको खोजी गर्ने क्रममा पार्वतीले यस कुण्डमा स्नान गरेको तथा यस कुण्डमा स्नान गर्दा वर तथा सन्तान प्राप्त हुने जनविश्वास रही आएको छ ।

    ७. अन्य धार्मिक तथा पर्यटकीय स्थलहरू

    चिलिमे, तातोपानी, सान्जेन भ्याली, गोल्जुङ, तामाङ सम्पदा पद मार्ग, भाङगे खोलाको झरना, भुमेस्थान थान, घलेगढी, कालिका माई मन्दिर, लोकिल- सानो आहली, ठुलो आहली जुरेढुङगा गोसाईकुण्ड पदमार्ग, नीलकण्ठ महादेव मन्दिर, नागथली, रेडपाण्डा पार्क, मिनी गोसाईकुण्ड, शंङखपार्क, लार्च्याङटार, जुरे ढुङ्गा, बिजुली ढुङ्गा, नौकुण्ड, सातधारे हिमाल, दुधकुण्ड लगायतका थुप्रै रहेका छन् ।

  • इजरायल जान १ हजार ६ सय जनाको नाम सिफारिस

    इजरायल जान १ हजार ६ सय जनाको नाम सिफारिस

    काठमाडौं । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन १ हजार ६ सय जनाको नाम सार्वजनिक भएको छ। वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुलाई छनोट गरेको राससले लेखेको छ । नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत एक हजार ६ सय (७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष) उम्मेदवार सिफारिस गर्न माग गरेको थियो ।

    परीक्षामा एक हजार ८०३ सहभागीमध्ये शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र प्रमाणीकरण हुन नसकेको सङ्ख्या घटाउँदा कायम भएका उम्मेदवारमध्येबाट अन्तर्वाता र लिखित परीक्षा लिइएको थियो । लामो समयसम्म रोजगारीका लागि इजरायल जान रोकिएको भए पनि उसले नै दुई वर्ष पहिले दुई देशका सरकारबीचको सहमति सम्झौताबाट खुलाउने इच्छा देखाएको मन्त्रालयले उल्लेख गरेको छ ।

    विभागले लिएको लिखित परीक्षामा ६ हजार ३१७ सहभागीमध्ये २ हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए । विभागले असोज १ देखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यो बीचमा छुटेका व्यक्तिलाई अन्तर्वाता अवधिभरलाई अवसर दिएको थियो । सम्झौताअनुसार १ हजार जना इजरायल जानेछन् ।

  • कपनमा ढलमा बगेका बालकको शव ललितपुरमा भेटियो

    कपनमा ढलमा बगेका बालकको शव ललितपुरमा भेटियो

    काठमाडौं । अघिल्लो साता (असोज ४)मा काठमाडौंको कपनस्थित मिलनचोकबाट ढलमा बगेर वेपत्ता भएका बालको शव शनिबार राती भेटिएको छ । ललितपुर प्रहरीका अनुसार उनको शव ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका–१ घुसेलमा भेटिएको हो । असोज ४ गते साँझ ढलमा खसेका १० वर्षीय बालक उज्ज्वल विश्वकर्माको शव कपडाको आधारमा परिवारले पहिचान गरेका हुन् ।

    शव बागमती नदी किनाराबाट मूल सडकसम्म ल्याउन करिब दुई घण्टा पैदल हिँड्नुपर्ने हुन्छ । शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको थियो । लापरवाहीका कारण ढल खुला रहेको अवस्थामा बालकले ज्यान गुमाउनु परेको यो घटनापछि सरकारको चर्को आलोचना भएको छ ।

  • पर्यटन दिवसको अवसरमा एक दर्जन मुलुकका राजदूत पोखरामा पदयात्रा गर्दै

    पर्यटन दिवसको अवसरमा एक दर्जन मुलुकका राजदूत पोखरामा पदयात्रा गर्दै

    पोखरा । नेपालको पर्यटकीय नगरि पोखरामा यस वर्षको विश्व पर्यटन दिवस पृथक तरिकाबाट मनाइने भएको छ । गण्डकी प्रदेश सरकारले एक दर्जन मुलुकका राजदूतलाई आइतबार पोखरामा स्वागत गरेको छ । सोमबार परेको विश्व पर्यटन दिवसका अवसरमा राजदूतहरुले पदयात्रा गर्ने भएका छन् । पदयात्रा र पोखरा नेपाली पर्यटनका विश्वव्यापी पहिचान हुन् । नेपालमा पर्यटक आगमन खुला भएको छ । यो सन्देश संसारभर पुर्याउन यो अभियान सफल हुने प्रदेश सरकारको विश्वास छ ।

    राजदूत, उनका परिवार र विदेशी निकायका प्रमुखलाई पोखरा र आसपासका पदमार्ग घुमाउने योजनासहित यो कार्यक्रम बनेको हो । यस अभियानमा पर्यटन बोर्डले समेत समन्वयको काम गरेको छ । पदयात्रामा जान आइतबार ११ वटा देश र निकायका राजदूत पोखरा पुगिसकेका छन् ।

    युरोपियन युनियन, युनाइटेड अरब इमिरेट्स, कतार, जर्मनी, थाइल्याण्ड, फिनल्याण्ड, श्रीलंका, साउदी अरब, कोरिया, इजिप्ट, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव, संयुक्त राष्ट्र संघका आवासीय प्रमुख, इसिमोडका महानिर्देशक, युएन एडका नेपाल निर्देशक, युएनडिपी, युनेस्को, विश्व खाद्य कार्यक्रम लगायतका नियोगका प्रमुख समेत पदयात्राका लागि पोखरा पुगेका छन् ।

    पोखरा विमानस्थलमा उनीहरुलाई गण्डकी सरकारका पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारी र पोखराका पर्यटन व्यवसायीले भब्य स्वागत गरे । पदयात्रामा जान आएका राजदूत तथा कुटनीतिज्ञलाई गण्डकी सरकारले बुद्ध एयरको जहाज चार्टर गरेर पोखरा लगेको हो । सोमबार ४२ औं विश्व पर्यटन दिवसको अवसर पारेर उनीहरुलाई कास्कीको नौडाडादेखि पोखरासम्म पदयात्रा गराउने कार्यक्रम छ। नौडाडामा स्थानीयको स्वागतसहित चिया खाएर शुरू हुने पदयात्रा कास्कीकोटहुँदै सराङकोट आएर सकिने योजना छ।

  • साफ च्याम्पियनसिप: किरणको कप्तानीमा २३ सदस्यीय टोली घोषणा, राजन र विकेश टिम बाहिर

    साफ च्याम्पियनसिप: किरणको कप्तानीमा २३ सदस्यीय टोली घोषणा, राजन र विकेश टिम बाहिर

    काठमाडौं । साफ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा भएको छ ।

    मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आउँदो शुक्रवारदेखि सुरु हुने साफ च्याम्पियनसिपको लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

    कतारमा भइरहेको प्रशिक्षणपछि अलमुताइरीले विकेथ कुथु र राजन गुरुङलाई टिम बाहिर राखेका छन् ।

    टिममा किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ रहेका छन् ।

    साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म मालेमा हुँदैछ । नेपालसँगै भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले राउण्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

  • नेपालमा थप ८३४ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन

    नेपालमा थप ८३४ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५१४७ एन्टिजेन परीक्षण गर्दा १०४ गरी ८३४ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९१ हजार ३९२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १२७९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६१ हजार १५४ पुगेको छ । संक्रिय संक्रमितको संख्या १९ हजार १४२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ ।

  • नेपाली सेयर बजारमा पहिरो, कारोबार साढे ६ अर्बमा सीमित

    नेपाली सेयर बजारमा पहिरो, कारोबार साढे ६ अर्बमा सीमित

    काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । गत मंगलबारदेखि उकालो लागेको बजारमा आज उच्च अंकको गिरावट आएको हो ।

    सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत साता औसतमा दैनि साढे ७ अर्ब बढीको कारोबार हुँदै आएकोमा आज साढे ६ अर्बमा सीमित भएको छ ।

    आइतबार सेयर बजार मापक सूचक नेप्से ६१.२७ अंकले घटेर २७५८.४८ विन्दुमा आइपुगेको छ । यसदिन २३३ कम्पनीको ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँ बराबरको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये सामूहिक लगानी कोष बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ५.८९ प्रतिशतले घटेको छ । यस्तै, हाइड्रोपावर ४.३०, व्यापार र लगानी समूह ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    कारोबारमा आएका २३३ कम्पनीमध्ये जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा २०२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झण्डै ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, फरवार्ड माइक्रोफाइनान्सको प्रमोटर सेयर साढे ३१ करोड र नेपाल बैंक झन्डै २१ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    उच्च अंकले घटेको बजारमा आज आइसीएफसी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ८.९८ प्रतिशत गुमाएका छन् । यस्तै, घलेम्दी हाइड्रो, मल्टिप्रपोज, बेस्ट, गुडविल फाइनान्स, माउन्टेन हाइड्रो, सिंगटी हाइड्रोपावर र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य ७ प्रतिशभन्दा धेरैले घटेको छ ।

    घट्दो बजारमा पनि आज मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

  • एनआरएनए अध्यक्षमा कुल आचार्यले गरे उम्मेदवारी घोषणा

    एनआरएनए अध्यक्षमा कुल आचार्यले गरे उम्मेदवारी घोषणा

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी(२०२१- २०२३) कार्यकालका अध्यक्षका लागि कुल आचार्यले उमेदवारी घोषणा गरेका छन् ।

    एनआरएनको पूर्व उपाध्यक्ष समेत रहेका आचार्यले आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    संघको दशौं विश्व सम्मेलन अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा हुँदैछ । पर्वत जिल्लामा जन्मेका हाल आचार्य बेलायमा व्यवसाय गर्दै आइरहेका छन् ।

    अघिल्लो निर्वाचनमा उनी वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए । संघका उनी पूर्वउपाध्यक्ष हुन् ।

    यसअघि अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी सकेकी छिन् ।

    अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२१- २०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

  • नेपाल र ओमानबीच आज मैत्रिपूर्ण फुटबल

    नेपाल र ओमानबीच आज मैत्रिपूर्ण फुटबल

    दोहा । नेपाल र ओमानबीच आज अन्तर्राष्ट्रिय मैत्रपूर्ण फुटबल हुँदैछ । नेपाली समय अनुसार राति पौने १० बजे दोहामा हुने यो खेल नेपालले साफ फुटबलको तयारीमा रुपमा लिएको छ । नेपाली टोली अन्तराष्ट्रिय प्रशिक्षणका क्रममा अहिले दोहामा रहेको छ । साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपाल र ओमान मैत्रीपूर्ण खेलमा भिड्न लागेका हुन् ।

    यसअघि नेपालले काठमाडौंमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दै दोहा गएको हो । ती दुई खेलमध्ये एकमा बराबरी र एकमा हार बेहोरेको थियो । नेपाली टोली कतारबाटै साफका लागि माल्दिभ्स जाँदैछ । साफ च्याम्पियनसिप १५ असोजबाट शुरु हुने छ । साफ दक्षिण एसियाली भेगको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो ।

  • न्यूयोर्कमा के मा व्यस्त छन् परराष्ट्रमन्त्री खड्का ?

    न्यूयोर्कमा के मा व्यस्त छन् परराष्ट्रमन्त्री खड्का ?

    न्यूयोर्क । संयुक्त राष्ट्रसंघ (यूएन) को ७६ औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका परराष्ट्र मन्त्री डा. नारायण खड्काले सोमबार नेपालको तर्फबाट महासभालाई सम्बोधन गर्दैछन् । त्यसअगाडी उनी विभिन्न द्धिपक्षीय भेटघाटमा व्यस्त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्काले न्यूयोर्कमा रहँदा यूएनको ‘पिस अपरेशन विभाग’ का उपमहासचिव जिन–पियरे लाक्वा र कुवेतका परराष्ट्रमन्त्री शेख अहमद नासिर अल–मोहमद अलसवाहसँग भेटवार्ता गरेका छन् ।

    मन्त्री खड्काले यूएनको शान्ति सेनातर्फ यूएन मुख्यालय र स्थलगत रुपमा नेपालको उच्च तहमा सहभागिता बढाउन आग्रह गरेको मन्त्रालयले जनाएको छ । न्यूयोर्कस्थित यूएनका लागि नेपालको स्थायी नियोगका अनुसार मन्त्री खड्काले शान्ति सैनिक पठाउने सम्बन्धमा नेपाल र यूएनले सहकार्य गरेर अहिलेको अवस्थाभन्दा अझै बलियो बनाउँदै लानुपर्ने बताएका छन् ।

    अर्को साइडलाइन वार्तामा खड्काले कुवेतका परराष्ट्रमन्त्री अलसवाहसँग कुराकानी गरेका छन् । भेटमा दुबै मन्त्रीले दुई मुलुकका साझा चासोबारे कुराकानी गरेका छन् । वैदेशिक कामदारको सहयोगबाट व्यापार, पर्यटन र लगानीको भूमिका खेल्ने विषयमा पनि उनीहरुबीच कुराकानी भएको छ । यसबाहेक अन्य उच्चस्तरीय भेटघाट भने भएका छैनन् ।

  • अफगानिस्तानमा तालिवानले सार्वजनिक स्थलमै दियो चार जनालाई मृत्युदण्ड ?

    अफगानिस्तानमा तालिवानले सार्वजनिक स्थलमै दियो चार जनालाई मृत्युदण्ड ?

    काबुल । अफगानिस्तानको हेरात सहरमा तालिबानले चार जनालाई सार्वजनिक स्थलमै मृत्युदण्डको सजाय दिएको आशंका गरिएको छ । बीबीसीका अनुसार उनीहरुमाथि व्यक्ति अपहरणको मुद्दा लागेको थियो । तालिवानले शवलाई सार्वजनिक स्थानमा झुन्ड्याइदिएको समाचारमा उल्लेख छ । तालिबानका एक कुख्यात अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्टै यस्तो घटना सार्वजनिक भएको हो। एक व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका ती चार जनाको एउटा भिडन्तमा मृत्यु भएको र शवलाई झुण्डाइएको स्थानीय अधिकारीले दावि गरेका छन् ।

    समाचारसंस्था एपीले लेखे अनुसारहेरातको केन्द्रमा एउटा क्रेनमा शव झुन्ड्याइएको थियो । उक्त स्थानमा चारवटा शव ल्याइएको र त्यहाँ एउटा झुन्ड्याइएको थियो भने बाँकी तीन वटालाई सहरका अन्य स्थानमा देखाउन लगिएको पाइएको समेत समाचारमा उल्लेख छ । यद्दपी हेरातका सहायक गभर्नर मौलवी शैर अहमद एमरले भने तालिबान लडाकुसँगको भिडन्तमा उनीहरुको ज्यान गएको बताएका छन् । अरू अपहरणकारीलाई चेतावनी दिन तिनका शवलाई हेरातका चोकहरूमा झुन्ड्याएको उनको भनाई छ । ती मानिसको मृत्यु भएको परिस्थितिबारे स्वतन्त्रतापूर्वक पुष्टि भने नभएको बीबीसीले लेखेको छ ।