Category: फिचर

  • काठमाडौं महानगर भित्रका स्कुल आजबाट भौतिक रुपमै  खुले

    काठमाडौं महानगर भित्रका स्कुल आजबाट भौतिक रुपमै खुले

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका स्कुल आजबाट भौतिक रुपमै खुलेका छन् । कोरोना महामारीसँगै वैशाखको दोस्रो साता बन्द भएका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेको थियो । सोही अनुसार स्कुलहरु समेत संचालनमा आएका छन् ।

    दसैँको मुखमा विद्यालय सञ्चालन गर्ने महानगरपालिकाको निर्णयले भने अभिभावकमा भने आक्रोस छ । यसलाई केवल शूल्क उठाउने बाटो खोलेका रुपमा उनीहरुले बुझेका छन् । किनकी अहिले पनि बालबालिकाले खोप पाएका छैनन् । यता, महानगरपालिकाको विद्यालय सञ्चालन गर्ने निर्णय बाध्यकारी भने होइन । सञ्चालन गर्न चाहने विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न सक्ने छन् । महानगरपालिकाले यही असोज १० गते आइतबारदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निर्णय गत बिहीबार गरेको थियो ।

  • विश्व तापमान वृद्धिदर १.५ प्रतिशत भित्रै राख्न नेपाल प्रतिवद्ध छ : प्रधानमन्त्री

    विश्व तापमान वृद्धिदर १.५ प्रतिशत भित्रै राख्न नेपाल प्रतिवद्ध छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) का लागि एसिया प्रशान्त क्षेत्रीय राजदूत केन ओफ्लाहेर्टी नेतृत्वकोे प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा उनले विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न त्यहीरुपमा अन्तर्राष्ट्रिय प्रतिबद्धताको समेत आवश्कता रहेको उनले बताए ।

    प्रधानमन्त्री देउवाले जलविद्युत्, वनक्षेत्रलगायतका अपार सम्भावनाबाटै सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पु(याउने ‘पेरिस सम्झौता’अनुसारको प्रतिबद्धता कार्यान्वयन गर्न नेपाललाई मद्दत पुग्ने स्पष्ट पारे । राष्ट्रिय समाचार समितिका अनुसार सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाल पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनका उच्च जोखिम रहेको र यसबाट हुने हानि तथा नोक्सानीको अन्तर्राष्ट्रियरुपमा सम्बोधन हुनुपर्ने बताए ।

    कोप–२६ का प्राथमिकता, जलवायु वित्त र अनुकूलनलगायत विषयमा छलफल गर्नुका साथै उनले अनुकूलन कार्यक्रममा नेपाललाई थप सहयोगको खाँचो औँल्याए । प्रधानमन्त्री देउवाले कोभिड–१९ का सन्दर्भमा बेलायतले नेपाललाई ‘रेडलिष्ट’मा राखेको सम्बन्धमा सूचीबाट हटाउन समेत आग्रह गरे ।

    प्रधानमन्त्री देउवाले कोभिड–१९ का सन्दर्भमा बेलायतले नेपाललाई ‘रेडलिष्ट’मा राखेको सम्बन्धमा सूचीबाट हटाउन समेत आग्रह गरे ।

    जवाफमा राजदूत ओफ्लाहेर्टीले ‘रेडलिष्ट’ बाट हटाउने सम्बन्धमा बेलायत सरकारको छुट्टै निकायले बेलाबेला विभिन्न विषयको विश्लेषण गरी पुनरावलोकन गरिरहेको जानकारी गराएका छन् । उनले कोप–२६ का सन्दर्भमा नेपालको वस्तुस्थिति, तयारीलगायत विषयमा चासो राख्नुका साथै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नोभेम्बर १ देखि २ सम्म आयोजना गर्ने ‘ग्लोबल लिडर समिट’ र अन्य सम्मेलनमा नेपालको सक्रिय सहभागिताको अपेक्षा समेत गरेका थिए ।

    कोप–२६ आगामी कात्तिक १४ देखि २६ गतेसम्म (अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म) संयुक्त अधिराज्यको ग्लास्गोमा हुँदैछ । प्रधानमन्त्री देउवाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डले कोप–२६ मा सहभागिता जनाउने गरी वन तथा वातावरण मन्त्रालयले तयारी गरिरहेको छ ।

  • बेलायतमा लरी चालक अभाव भएपछि करिब ५ हजार विदेशी चालक भित्राउने तयारी

    बेलायतमा लरी चालक अभाव भएपछि करिब ५ हजार विदेशी चालक भित्राउने तयारी

    लण्डन । बेलायतले विदेशी लरी (लामो किसिमको ट्रक) चालकलाई सहजै अस्थायी प्रवेशाज्ञा प्राप्त गर्न मिल्ने गरि नियम ल्याउने भएको छ । यस्तो योजनाको विस्तृत विवरण आइतवार सार्वजनिक गर्ने तयारी रहेको बीबीसीले जनाएको छ । यसबाट अब विदेशी चालकले बेलायतमा अवसर पाउने छन् । बेलायतमा लरी चालकको अभाव भएपछि यस्तो नियम ल्याउन लागिएको हो ।

    आप्रवासन सम्बन्धी नियममा गरिने कुनै पनि परिवर्तन सीमित समयका लागि हुनेछ र प्रवेश अनुमति दिइने कामदारको सङ्ख्यात्मक सीमा तोकिने समाचारमा उल्लेख छ । करिब ५ हजार प्रवेशाज्ञा जारी हुनसक्ने बुझिएको छ। लरी चालकहरूको अभावले यूकेमा इन्धनको आपूर्तिलाई प्रभावित पारेको समाचारमा उल्लेख छ । यसले पेट्रोल पम्प बन्द भएका छन् र लामो लाइन लाग्नुपर्ने अवस्था छ।

    रोड होलेज एसोसिएसनले यूकेमा लगभग १ लाख ठूला सवारी साधनहरूका लागि चालकको अभाव रहेको अनुमान गरेको छ। महामारी र ब्रेक्जिटका कारण अवस्था थप जटिल भएको उसको भनाइ छ। सरकारी र उद्योगीहरूले रिफाइनरीहरूमा इन्धनको अभाव नरहेको भन्दै मानिसहरूलाई आत्तिएर खरिद् नगर्न समेत अनुरोध गरेका छन्। सैनिक व्यक्तिहरूलाई छोटो अवधिका लागि चालकका रूपमा खटाउने कुनै योजना नरहेको समाचारमा उल्लेख छ ।

  • ईपीएलमा अफ्रिदी आवद्ध टीम काठमाडौंको विजयी शुरुवात

    ईपीएलमा अफ्रिदी आवद्ध टीम काठमाडौंको विजयी शुरुवात

    काठमाडौं । शनिबारबाट शुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किंग्स ११ ले विजयी शुरुवात गरेको छ । यो टीममा पाकिस्तानी स्टार क्रिकेटर साहिद अफ्रिदी समेत छन् । टीमलाई सन्दीप लामिछानेले नेतृत्व गरिरहेका छन् । काठमाडौंले साविक विजेता ललितपुरलाई ७ विकेटले हराएको हो । काठमाडौंका लागि बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर रायल बर्लले आज उत्कृष्ट प्रदर्शन गरे । टस हारेर पहिले ब्याटिंग गरेको ललितपुरले १५८ रनको लक्ष्य काठमाडौंलाई दिएको थियो । काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटायो ।

    काठमाडौंका लागि जिम्बाब्बेका बर्लले अविजित ७३ रन जोडे । अफगानिस्तानका गुर्बाजले ५९ रन प्रहार गरे । राजु रिजाल १९ रनमा अविजित रहे । ललितपुरका पवन सर्राफले १ विकेट लिए । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले पवन सर्राफको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको हो । सर्राफले ६१ रन बनाए । पाकिस्तानी स्टार शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए तर, विकेट लिन सकेनन् । उनले आज ब्याटमा भने मौका पाएनन् ।

  • तीन अंकमा झर्यो कोरोना संक्रमण, ९५३ मा देखिँदा १३७१ जनाले जिते

    तीन अंकमा झर्यो कोरोना संक्रमण, ९५३ मा देखिँदा १३७१ जनाले जिते

    काठमाडौं । नेपालमा कोरोना भाइरसको दैनिक संक्रमण तीन अंकमा झरेको छ । पछिल्लो २४ घण्टामा मात्र ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार कुल ७०५० पीसीआर परीक्षणमा ७९० र ३५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९५३ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

    १३७१ जना संक्रमणमुक्त भएका छन् । अब देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १९ हजार ७०० छ । जसमध्ये १८ हजार ३४० जना होम आइसोलेसनमा छन् । १३६० जना संस्थागत आइसोलेसनमा छन् । कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौंमा १९८, ललितपुरमा ७३, भक्तपुरमा ४०, कास्कीमा ७०, सुनसरीमा ५५, मोरङमा ५४, झापामा ३२, सुर्खेतमा ७३ र रुपन्देहीमा ३५ जना संक्रमित भेटिएका छन् । चितवनमा २४, गोरखामा १६, मकवानपुरमा ११ जनामा संक्रमण देखिएको आंकडा छ ।

  • मनास्लु चुचुरोमा पुग्यो डोरी, आजबाट धमाधम आरोहण

    मनास्लु चुचुरोमा पुग्यो डोरी, आजबाट धमाधम आरोहण

    काठमाडौं । जारी आरोहण सिजनमा मनास्लु हिमालमा सर्वाधिक आरोही पुगेका छन् । करीव ५ सय आरोही विभिन्न क्याम्पमा रहेको समयमा शुक्रबार चुचुरोसम्म डोरी पुगेको छ । शुक्रबार विहान पाँच जना शेर्पा गाइडको टोलीले चुचुरोसम्म डोरी टाँगेर बाटो बनाएको हो । सेभेन समिट ट्रेकका अनुसार आरोही गाइड सोना शेर्पाको नेतृत्वमा निमाटासी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, फुरा तेन्जिङ शेर्पा, पासाङ नुर्वु शेर्पा र टासी शेर्पाले बाटो निर्माण सम्पन्न गरी आधारशिविर फर्केको छ ।

    मनास्लु आरोहणका लागि मात्र १७१ जना विदेशी आरोही आएका छन् । शनिबार बाट भने आरोाहण शुरु भएको छ । आज बिहानै दुई भारतीयले सफल आरोहण गरेको कम्पनीले जनाएको छ । आजबाट धमाधम थप आरोहण हुने समेत कम्पनीले जनाएको छ । शरद ऋतुमा सगरमाथा बाहेकका हिमालमा भिड लाग्छ । यो सिजन सगरमाथा आरोहण भने कठिन मानिन्छ । सामान्यतया सगरमाथाको आरोहणमा जाने तयारीमा रहेका आरोहीले यो सिजन अन्य हिमाल चढेर अनुभव लिने गर्छन् ।

  • विकास साझेदारबाट नेपाललाई पाँच खर्ब सहयोगको प्रतिवद्धता

    विकास साझेदारबाट नेपाललाई पाँच खर्ब सहयोगको प्रतिवद्धता

    काठमाडौं । नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) कार्यक्रमका लागि काठमाडौँ घोषणापत्र जारी भएको छ । नेपाल सरकार र विकास साझेदारहरूले रणनीतिक कार्ययोजना निर्माणको उद्देश्यसहित उक्त घोषणापत्र संयुक्त रूपमा अनुमोदन गरेको विश्व बैंकले जनाएको छ । घोषणापत्रमा नेपालका विकास साझेदारहरूले करिब पाँच खर्ब रुपियाँ (चार अर्ब २० करोड अमेरिकी डलर)सम्मको सम्भावित सहयोगको पहिचान समेत गरेका छन् ।

    यसअघि नै ग्रिड एजेन्डामा सहयोग गर्न साझेदारहरूले करिब चार खर्ब (तीन अर्ब २० करोड अमेरिकी डलर) बराबरको स्रोत परिचालन गर्ने प्रतिबद्धता जनाइसकेका थिए । घोषणापत्रले थप एक खर्ब रुपियाँ बराबरको सहयोगको पहिचान गरेको हो । ग्रिडअन्तर्गतको रणनीतिक कार्ययोजनाले कोभिड–१९ महामारीले निम्त्याएको सङ्कटबाट नेपालको पुनरुत्थानका लागि प्राथमिकताका क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय र आन्तरिक रूपमा समन्वयको काम गर्नेछ ।

    घोषणापत्र सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ बाट नेपालको पुनरुत्थानलाई सहयोग पु(याउने ग्रिड योजनाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । ग्रिडअन्तर्गत गरिने लगानीले नेपालको पन्ध्रौँ विकास योजना तथा दिगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न सहयोग पुयाउने अपेक्षा गरिएको छ । यसका लागि रोजगारी तथा पूर्वाधारको प्रवद्र्धन, जलवायु परिवर्तन तथा विपत्बाट आइपर्ने समस्याविरुद्धको उत्थानशीलता निर्माण र नेपालीका लागि सेवाको समतामूलक पहुँचलाई बढावा दिइने विश्व बैंकको भनाई छ ।

    ग्रिडअन्तर्गत दिगो पर्यटन, नवीकरणीय ऊर्जा, ठोस फोहोर व्यवस्थापन, जलवायु स्मार्ट कृषि, उत्थानशील सडकलगायत क्षेत्रमा उचित अनुपातमा सहायता बढाउने नेपाल सरकार विकास साझेदारहरूको उद्देश्य रहेको घोषणापत्रमा उल्लेख छ । यसका साथै अन्य क्षेत्रमा हरित लगानी बढाउन र रोजगारी सिर्जना गर्ने साना तथा मझौला उद्यम र व्यवसायहरूलाई सहयोग गर्न निजी क्षेत्रसँग साझेदारी र सहकार्यका अवसरको पनि खोजी गरिने लक्ष्य घोषणापत्रले राखेको छ ।

    घोषणापत्र नेपाल सरकारसहित एडीबी, विश्व बैङ्क, अस्टे«लिया, युरोपेली सङ्घ, फिनल्यान्ड, जर्मनी, जापान, नर्वे, कोरियाली गणतन्त्र, स्विजरल्यान्ड, बेलायत, अमेरिका, संयुृक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय मुद्रा कोषका तर्फबाट अर्थ मन्त्रालयले अनुमोदन गरेको हो ।

  • क्रिप्टोकरेन्सीलाई चीनले भन्यो अवैध, मूल्यमा भारी गिरावट

    क्रिप्टोकरेन्सीलाई चीनले भन्यो अवैध, मूल्यमा भारी गिरावट

    काठमाडौंं । चीनले क्रिप्टोकरेन्सीसँग सम्बन्धित सबै कारोबारलाई अवैध भनेको छ । चीनको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबारलाई अवैध घोषणा गरेसँगै अन्तरांष्र्टिय बजारमा समेत यसको असर परेको छ । चीनले बिटकोइनजस्ता डिजिटल मुद्रामाथि समेत प्रभावकारी प्रतिबन्ध लगाएको बीबीसीले लेखेको छ। भर्चुअल मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि हुने पिपुल्स बैंक अफ चाइनको निष्कर्ष छ । उसले त्यस्ता गतिविधि मानिसको सम्पत्तिका लागि खतरनाक भएको चेतावनी समेत दिएको छ। चीन क्रिप्टोकरेन्सीका लागि विश्वका ठूलामध्ये एउटा बजार हो। त्यहाँ हुने घटबढले क्रिप्टोकरेन्सीको विश्वव्यापी मूल्यमा असर पर्ने गरेको थियो।

    चीनको पछिल्लो घोषणासँगै बिटकोइनको मूल्यमा दुई हजार डलरभन्दा बढीले गिरावट आएको समाचारमा उल्लेख छ । आधिकारिक रूपमा चीनमा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार सन् २०१९ देखि प्रतिबन्धित भए पनि अनलाइनमार्फत्‌ विदेशी विनिमय जारी रहँदै आएको छ। शुक्रवार केन्द्रीय बैंकले गरेको घोषणाबाट चीनले क्रिप्टोकरेन्सीसम्बन्धी सबै स्वरूपका कारोबार बन्द गर्न चाहेको देखिएको छ । अवैध आर्थिक गतिविधिमा संलग्नहरूूले अपराध गरिरहेको र उनीहरूमाथि कारबाही गरिने केन्द्रीय बैंकको घोषणा छ ।

  • आजबाट एभरेष्ट प्रिमियर लिग शुरु, विदेशी खेलाडीको जमघट

    आजबाट एभरेष्ट प्रिमियर लिग शुरु, विदेशी खेलाडीको जमघट

    काठमाडौं । नेपालमा आजबाट चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स ११ भिड्ने छन् । खेल नेपाली समय अनुसार सवा १२ बजे शुरु हुनेछ। ललितपुरको कप्तानी कुशल भुर्तेल र काठमाडौंको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् । प्रतियोगितामा चर्चित विदेशी खेलाडीहरुको समेत जमघट रहेको छ । इपिएल ९ देखि २३ गतेसम्म चल्नेछ ।

    प्रतियोगितामा ६ फ्रेन्चाइज टीमले एकल राउन्ड रोविन नियमअनुसार प्रतिस्पर्धा गर्दैछन् । यस आधारमा लिगका शीर्ष चार टोली क्वालिफायर चरणमा छनोट हुनेछन् । पहिलो र दोस्रो स्थानबीचको विजेता सीधै फाइनलमा पुग्नेछ । यो खेलबाट पराजित भएको टोली र चौथो स्थानमा रहेको बीच खेलबाट विजेताले फाइनलमा स्थान बनाउनेछ । विजेताले ५० लाख र उपविजेताले १५ लाख नगद पाउने छ । यसपटकको इपिएलमा २४ जना विदेशी खेलाडी खेल्दैछन्।

  • १२ देशका नागरिकलाई नेपालले दिँदैन अनअराइभल भिसा

    १२ देशका नागरिकलाई नेपालले दिँदैन अनअराइभल भिसा

    काठमाडौं । सरकारले नेपालमा अनअराभइस भिसा खुला गरेको छ । तर, १२ वटा मुलुकका नागरिकले भने अहिले पनि अनअराइभल भिसाको सुविधा पाउने छैनन् । अध्यागमन विभागका अनुसार यसरी अनअराइभल भिसा नपाउने मुलुकमा बढी द्वन्द्वग्रस्त क्षेत्रका मुलुक रहेका छन् । नेपालले कोभिड १९ विरुद्धको पूर्ण खोप प्राप्त गरी १४ दिन पूरा गरेका विदेशी नागरिकलाई बिहीबारबाट अनअराइभल भिसा खुला गरेको छ । उनीहरुको साथमा ७२ घण्टाभित्रको पीसीआर रिर्पोट भएमा अध्यागमन विन्दुमै भिसा प्राप्त हुने छ ।

    विभागका अनुसार नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्लालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले नेपाली अध्यागमन बिन्दुमा अनअराइभल भिसा पाउने छैनन् । उनीहरुले अनिवार्य रुपमा विदेशस्थित तोकिएको नेपाली कूटनीतिक नियोगबाट भिसा लिएर नेपाल आउनु पर्नेछ । यसका लागि आकस्मिक राहदानी बाहकले समेत अनिवार्य रुपमा कुटनीतिक नियोगबाट भिसा लिनु पर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

  • दिल्लीको एक अदालतमा गोली चल्यो, कम्तिमा तीन मारिए

    दिल्लीको एक अदालतमा गोली चल्यो, कम्तिमा तीन मारिए

    नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित एक अदालतमा गोली चल्दा कम्तिमा तीन जनाको मृत्यु भएको छ । दिल्लीको रोहिणी कोर्टमा शुक्रवार दिउँसो गोलीबारी भएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार घटनामा एक ग्यांगस्टार र दुई अपराधीको ज्यान गएको छ । न्यूज एजेन्सी एएनआईका अनुसार जितेन्द्र मान गोगी नामका ग्यांगस्टारको ज्यान गएको हो । गोगीमाथि गोली चलाएका दुई अपराधीको भने प्रहरीको फायरिंगमा ज्यान गएको हो । उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

    आक्रमणकारी वकिलको पोशाकमा आएको बताइएको छ । घटनामा एक महिला वकिलसहित अन्य तीन जना भने घाइते छन् । दिल्ली पुलिस कमिश्नर राकेश अस्थानाका अनुसार रोहिणी कोर्टमा गोगीको सुनवाई हुने क्रममा लैजान लागिएको थियो । मारिने अन्य दुई अपराधीमध्ये एक जनाको टाउको मूल्य समेत तोकेर प्रहरीले खोजि गरिरहेको थियो । उनको मुल्य ५० हजार भारु तोकिएको थियो ।

  • कांग्रेस महाधिवेशन सार्न खोजेको भन्दै बिच्किए गगन

    कांग्रेस महाधिवेशन सार्न खोजेको भन्दै बिच्किए गगन

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय सदस्य गगन थापाले पार्टीको महाधिवेशनको मिति फेरि सार्ने प्रस्तावमा तिब्र असहमति राखेका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा पार्टीको १४ औँ महाधिवेशन फेरि सार्ने प्रस्तावमाथि उनले असन्तुष्टि जनाएका हुन् ।

    उनले भनेका छन्, ‘कति सजिलै सर्छ अधिवेशनको मिति, १३ जिल्लाको वडा अधिवेशनकै टुङ्गो छैन । कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, बेथितिको जिम्मा लिनै नपर्ने । बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ?’ थापाले अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? भन्दै नेतृत्वमाथि प्रश्न गरेका छन् ।

    महाधिवेशनको प्रक्रियाअन्तर्गत तल्ला तहको अधिवेशनका विषयमा नेताहरूबीच विवाद भएपछि संस्थापन पक्षले नै केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव यसअघि नै गरेको थियो । महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तोकिएको छ । यो मिति समेत सार्ने तयारी गरिएको हो ।

  • अफगानिस्तानमा अघिल्लो तालिवानकालकै नियम लागु हुने संंस्थापक नेताको भनाई

    अफगानिस्तानमा अघिल्लो तालिवानकालकै नियम लागु हुने संंस्थापक नेताको भनाई

    काबुल । मानिसलाई मृत्यु दण्ड दिने तथा अंगभंग गर्ने जस्ता निरकुंश साशनसहितको व्यवस्था अफगानिस्तानमा पुनः शुरु हुने तालिबानका संस्थापक नेतामध्ये एकले बताएका छन् । यद्दपी अब यो काम सार्वजनिक स्थलमा भने नदिइने उनको भनाई छ । तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले मृत्युदण्ड र शरीरका अङ्ग काट्नेजस्ता कठोर सजाय अफगानिस्तानमा पुनर्बहाली हुने चेतावनी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । हाल कारागार प्रमुख रहेका मुल्लाह नुरूद्दीन तुराबीले अङ्ग काट्नेसम्बन्धी सजाय सुरक्षाका लागि आवश्यक भएको बताएका हुन् ।

    समाचार एजेन्सी एपीले यसबारे लेखेको छ । सन् १९९० को दशकमा तालिबानले आफ्नो शासनकालमा त्यस्ता सजायहरू सार्वजनिक स्थलहरूमा दिने गरेको थियो । यसको अन्तर्राष्ट्रिय समुदायले अहिले पनि आलोचना गर्दै आएको छ । अफगानिस्थानमा कस्तो कानून बनाउनु पर्छ भन्ने बारे अरुले सिकाउनु नपर्ने उनको भनाई छ । गत अगस्ट १५ मा अफगानिस्तानमाथि नियन्त्रण कायम गरेयता तालिबानले विगतको भन्दा नरम शासन गरिने बताउँदै आएकोमा उनको भनाई सार्वजनिक भएको हो ।

  • राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

    राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

    काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले कारण देखाउ आदेश र लिखित जवाफ माग्दै तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

    राजनीतिक दल सम्बन्धी अध्यादेश र सोही अध्यादेशका आधारमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी) को दल दर्ता बदर गर्न मागगर्दै दायर रिटमा संवैधानिक इजलासमा भएको सुनुवाइपछि विपक्षी नेपाल सरकार, निर्वाचन आयोग र सभामुखसहितलाई कारण देखाउ आदेशमात्र जारी गरिएको छ ।

    अधिवक्ता श्रीकान्त बरालले संसद छलेर अध्यादेश ल्याइएकाले बदर गर्न माग गर्दै एमालेले निस्कासन गरेका १४ सांसदको सनाखतबाट बनेको दल बदरको माग गरेका थिए।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा गठन गरिएको थियो।

    सरकारले गत भदौ २ गते राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न प्रतिनिधिसभा अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएको थियो ।

    अध्यादेशले राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि आवश्यक केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्यालाई घटाएर दुईमध्ये एकमा २० प्रतिशत भए पुग्ने व्यवस्था गरेको थियो ।

    यही अध्यादेशपछि नेकपा एमालेबाट विभाजन भएर माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको छ ।

    कानुन व्यवसायीहरूले अध्यादेश नेपालको संविधानले गरेका विभिन्न व्यवस्थासँग बाझिने भन्दै बदर गर्न माग गरेका थिए ।

  • दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा

    दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंको विभिन्न साइत सार्वजनिक गरेको छ ।

    असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

    घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।

    असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए ।

    असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मंगलबारफूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा अधिकारीले बताए।

    फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ ।

    मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ ।

    तुलजा भवानी यात्राको साइत बिहान ७ः११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।

    असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ ।

    घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ ।

    टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

    विजयादशमीका दिन बिहान ७ः०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ ।

    तुलजा भवानीलाई बिहान ८ः ३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ ।

    आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

  • आफताव आलमको मुद्धा आज पनि ‘हेर्न नमिल्ने’ मा

    आफताव आलमको मुद्धा आज पनि ‘हेर्न नमिल्ने’ मा

    काठमाडौं । पूर्वमन्त्री मोहम्मद आफताव आलमको मुद्धा आज पनि हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएकोमा सो रिट निवेदन ‘हेर्न नमिल्ने’ ठहर भएको हो ।

    इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलम सर्वोच्चमा पुगेका थिए ।

    यसअघि पनि आलको मुद्धा पटकपटक पेशीमा चढेपनि सुनुवाई हुन सकेको छैन ।उनी रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । पक्राउपछि उनको सांसद पद निलम्बित छ ।

  • ‘राजा बन्ने’ भन्दै नारायणहिटीको श्रीपेच चोर्न खोजेको अभियोगमा एक युवक नियन्त्रणमा

    ‘राजा बन्ने’ भन्दै नारायणहिटीको श्रीपेच चोर्न खोजेको अभियोगमा एक युवक नियन्त्रणमा

    काठमाडौं । नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेच चोर्न खोजेको अभियोगमा प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ।

    पश्चिम रुकुम मुसिकोट घर भएका २५ वर्षीय खीमबहादुर घर्तीलाई नियन्त्रणमा लिएको हो। उनले संग्राहलय घुम्ने क्रममा आज श्रीपेच रहेको स्थानको सिसा फुटाएर चोर्न खोजेको देखिएको छ।

    ‘हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ। उसले आफू राज बन्ने भन्दै चोर्न खोजेको बताएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने।

    घर्तीलाई महानगरीय प्रहरी वृत्त दरमार्गमा राखिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

  • ‘प्रदुषणका कारण विश्वभर वार्षिक ७० लाख मानिसले गुमाउँछन् ज्यान’

    ‘प्रदुषणका कारण विश्वभर वार्षिक ७० लाख मानिसले गुमाउँछन् ज्यान’

    काठमाडौं । प्रदुषणका कारण विश्वभर वर्षेनी ७० लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । वायु प्रदूषणको अवस्था पहिला सोचिएकोभन्दा खतरनाक रहेको चेतावनी समेत संगठनले दिएको छ । बीबीसीका अनुसार वायु प्रदूषण गराउने नाइट्रोजन डाईअक्साइडजस्ता मुख्य तत्त्वको अधिकतम सुरक्षित तह पनि घटाइदिएको संगठनको भनाई छ । डब्ल्यूएचओका अनुसार वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वभरि प्रत्येक वर्ष अनुमानित ७० लाख मानिसको अल्पायुमै ज्यान जान्छ ।

    आर्थिक विकासका लागि जीवाश्म इन्धनमा निर्भर हुने भएकाले अल्प र मध्यम आय भएका देशहरू वायु प्रदूषणको सर्वाधिक मारमा पर्ने गरेका समेत डब्यू्एचओको अध्ययनले देखाएको छ । डब्ल्यूएचओले वायु प्रदूषणलाई धूमपान र अस्वस्थ आहारकै श्रेणीमा राखेको छ। नोभेम्बरमा हुन लागेको कोप२६ सम्मेलनअघि डब्ल्यूएचओले आफ्ना १९४ सदस्य राष्ट्रलाई उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम गर्न आग्रह गरेको छ।

    गत बुधवार प्रकाशित नयाँ निर्देशिकामा डब्ल्यूएचओले पीएम२.५ भनिने सूक्ष्म कणको अधिकतम मात्रा मात्रा पहिलाको भन्दा आधा घटाइदिँदै त्योभन्दा बढी भए त्यो हानिकारक हुने जनाएको छ। त्यस्ता कणहरू ऊर्जा उत्पादनका लागि इन्धन बाल्दा र सवारीसाधनका इन्जिनले उत्पादन गर्छन्। अद्यावधिक निर्देशिकामा प्रस्ताव गरिएअनुसार विद्यमान वायु प्रदूषणको मात्रा घटाउन सकिए पीएम२.५ सँग सम्बन्धित झन्डै ८० प्रतिशत मृत्यु रोक्न सकिन्छ ।

  • अमेरिकामा रहेका हाइटीका आप्रवासीलाई घर फर्काउने विषयमा विवाद चर्कियो

    अमेरिकामा रहेका हाइटीका आप्रवासीलाई घर फर्काउने विषयमा विवाद चर्कियो

    टेक्सास । अमेरिकामा रहेका हाइटीमा आप्रवासीलाई स्वदेश फिर्ता गर्ने विषयमा विवाद चर्किएको छ । अमेरिकाबाट आप्रवासी फिर्ता गराइएको विरोधमा प्रदर्शन नै चर्किएसँगै हाइटीका लागि अमेरिकी विशेष दूतले राजिनामा दिएका छन्। बीबीसीका अनुसार वरिष्‍ठ कूटनीतिज्ञ डानिअल फुटेले भूकम्प र राजनीतिक अस्थिरताका कारण देश छाडेका आप्रवासीलाई पुनः हेइटी फर्काउने निर्णयलाई अमानवीय भन्दै विरोध गरेका थिए ।

    गत सप्ताह अमेरिकाले सीमावर्ती टेक्सस सहरबाट आप्रवासीहरूलाई घर फर्काउने उडानहरू सुरु गरेको थियो। आइतवारयता अमेरिकाले मेक्सिकोसँगको सीमानामा रहेको टेक्ससका शिविरहरूबाट १४ सयभन्दा धेरैलाई हाइटी फर्काइसकेको छ । जहाँ एउटा अन्डरपासमुनी ३७ डिग्री सेल्सिअसको धूपमा झण्डै १३ हजार आप्रवासी जम्मा भएर बसेको समाचारमा उल्लेख छ ।

    स्थानिय अधिकारीहरू उनीहरूलाई खानेकुरा र पर्याप्त सरसफाई सुनिश्चित गर्न सङ्घर्षरत थिए। एएफफी समाचार संस्थाका एकजना फोटोपत्रकारले यसैसाताको सुरुमा खिचेका तस्बिरहरूले अमेरिकी दासता र अस्वेत वर्णका मानिसहरूका लागि देशको ऐतिहासिक नराम्रो व्यवहारको निर्दयी झल्को देखाएको थियो।


    आफ्नो राजिनामापत्रमा विशेष दूत फुटेले हेइटी असफल राष्ट्रु भएको र उसले जबरजस्ती फर्काइएका आप्रवासीलाई खानेकुरा, आवास र पैसाजस्ता सहायता उपलब्ध गराउन नसक्ने बताएका छन् । ह्वाइटहाउसकी प्रवक्ता जेन साकीले भने विशेष दूत फुटेसामु ती सरोकारहरू उठाउने पर्याप्त अवसरहरू रहेको तर पदमा हुँदा उनले एकपटक पनि त्यसो नगरेको बताएकी छिन् । हाइटीमा गत जुलाई महिनामा राष्ट्रपति जोभनेल मोइजको हत्या भएको थियो ।

    त्यसपछि यो मुलुकमा अस्थिरता छाएको छ । संचारमाध्यममा घोडामा बसेर अमेरिकी सेनाले आप्रवासीहरूलाई लखेटेका तस्विर सार्वजनिक भएपछि अमेरिकाको आलोचना भएको थियो । यो घटनापछि सीमामा सुरक्षाकर्मीलाई घाडा सवार बन्द गरिएको छ । पछिल्लो घटनाक्रमले बाइडन प्रशासनमाथि उनको डेमोक्र्याटिक पार्टी भित्रबाटै हेइटीका आप्रवासीलाई घर नफर्काई शरण दिन अनुरोध आइरहेका छन् ।

  • काठमाडौंबाट पोखरा हिँडेको कार त्रिशुलीमा खस्दा तीन जना वेपत्ता

    काठमाडौंबाट पोखरा हिँडेको कार त्रिशुलीमा खस्दा तीन जना वेपत्ता

    चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनमा त्रिशुली नदीमा खस्दा तीन जना वेपत्ता भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । ग.२ च ४९१८ नम्बरको कार गतराती साढे १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले कार र हराइरहेकाको खोजी जारी छ । बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका वडा नं। १७ का ५५ वर्षका प्रेम बहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेख बहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल छन् ।

  • एक महिनामा विदेशबाट नेपालीले पठाए ७५ अर्ब ९६ करोड रेमिट्यान्स

    एक महिनामा विदेशबाट नेपालीले पठाए ७५ अर्ब ९६ करोड रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो महिना (साउन)मा विदेशमा रहेका नेपालीले करीव ७६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् । तर, यो रकम अघिल्लो वर्षको यसै महिनाको तुलनामा भने १८ प्रतिशत कम हो । साउन महिनामा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या बढेर १३ हजार आठ सय जना पुगेको छ ।

    अघिल्लो वर्षको साउनमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९९ प्रतिशतले घटेको थियो । साउनमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई सय ८६ प्रतिशतले बढेर ११ हजार ६ सय २८ जना पुगेको छ । अघिल्लो वर्षको साउनमा यो सङ्ख्या ८० प्रतिशतले कम भएको थियो ।

  • पर्यटकलाई सर्त तोकेर अनअराइभल भिसा खुल्यो, गैरआवासीय नेपालीलाई के छ प्रावधान ?

    पर्यटकलाई सर्त तोकेर अनअराइभल भिसा खुल्यो, गैरआवासीय नेपालीलाई के छ प्रावधान ?

    काठमाडौं । सरकारले डेढ वर्षपछि पर्यटकका लागि सर्तसहित अनअराइभल भिसा खोलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । मन्त्रालयका अनुसार अब नेपालको कानून अनुसार अनअराइभल भिसा पाउने मुलुकका नागरिकले खोपको मात्रा पूरा गरेको अवस्थामा अनअराइभल भिसा पाउने छन् ।

    पर्यटकले भिसाका लागि आवश्यक कागजातसहित कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन कटेको प्रमाण पेस गर्नुपर्ने भएको छ । साथमा हवाई उडानको चेकइन हुनुभन्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमति समेत देखाउनु पर्नेछ ।

    पर्यटकले नेपालमा होटेल बुक गरेको प्रमाण समेत साथमा बोक्नु पर्नेछ । अनअराइभल भिसा नलिई सम्बन्धित मुलुकको नेपाली नियोगबाट भिसा लिएर नेपाल आउन चाहने पर्यटकको हकमा समेत कोभिड–१९ विरुद्धको खोपको मात्रा भने पूरा गरेको हुनुपर्ने सर्त राखिएको छ । यसबाहेकका अन्य सर्त यथावत हुने गरी तोकिएको छ । खोपको मात्रा पूरा नगरेका विदेशी नागरिकले भने सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाटै भिसा लिनु पर्नेछ । साथमा उनीहरुलाई एजेन्सीमार्फत मात्र भ्रमणको अनुमति दिइने छ ।

    अर्थात खोप नलगाएका पर्यटक एकल रुपमा आउन सक्ने छैनन् । पूर्ण खोप प्राप्त नगरी नेपाल आएका पर्यटकले भने १० दिन अनिवार्य होटेल क्वारेन्टिन समेत बस्नु पर्नेछ । ११ औं दिनमा कोभिड परीक्षण गरी उनीहरु गन्तव्यमा जान सक्ने नियममा उल्लेख छ । अब सबै विदेशी नागरिकको अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण हुने भएको छ । यसको पूर्वाधार स्वास्थ्ग्य मन्त्रालयले मिलाउने छ ।

    परीक्षणको शुल्क विदेशी यात्रु स्वयंले तिर्नुपर्ने छ । नयाँ आदेश अनुसार कोभिड–१९ खोपको मात्रा पूरा गरेको १४ दिन पार गरेका नेपाली र गैरआवासीय नेपालीले गन्तव्यमा जान पाउने छन् । उनीहरुले ७२ घण्टा भित्रको पीसीआर परीक्षण नेगेटिभ आएको रिपोर्ट भने साथमै बोक्नु पर्नेछ ।

    नयाँ आदेश अनुसार कोभिड–१९ खोपको मात्रा पूरा गरेको १४ दिन पार गरेका नेपाली र गैरआवासीय नेपालीले गन्तव्यमा जान पाउने छन् । उनीहरुले ७२ घण्टा भित्रको पीसीआर परीक्षण नेगेटिभ आएको रिपोर्ट भने साथमै बोक्नु पर्नेछ ।

    यो विदेशमा बसोबास गरिरहेका नेपाली, भ्रमणमा गएका नेपाली र गैरआवासीय नेपाली सबैको हकमा लागु हुनेछ । अध्यागमन विन्दुमा कोरोनाको लक्षण देखिएमा भने उनीहरु सबैले एन्टिजेट परीक्षण गर्नुपर्छ । खोप लगाएको १४ दिन नपुगेका नेपालीले भने पीसीआर परीक्षण रिपोर्टका साथमा अध्यागमन विन्दुमा अनिवार्य एन्टिजेन परीक्षण गराउनु पर्नेछ । उक्त परीक्षणमा एन्टिजेन आएमा भने गन्तव्यमा जान दिइने भएको छ ।

    तर, विशेष परिस्थतिका कारण नेपाल आउनु परेका नेपाली वा गैरआवासीय नेपाली र उनीहरुका परिवारलाई भने अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गरी घर जान दिइने छ । विशेष परिस्थतिमा अन्तिम संस्कारमा सहभागी हुनुपर्ने, दीर्घरोगी वा उनीहरुको कुरुवा, ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक र ५ वर्ष भन्दा मुनीका नाबालक र उनीहरुको अभिभावकलाई मानिएको छ ।

    वैदेशिक रोजगारीमा गएका तर, सम्बन्धित मुलुकले फिर्ता गरेका, विदेशबाट डिर्पोट भएका वा बेखर्ची अवस्थामा स्वदेश फर्किएका नेपालीले भने कोभिड १९ खोप पुरा गरेको अवस्थामा र ७२ घण्टा भित्रको पीसीआर परीक्षणका आधारमा घर जान पाउने छन् । खोप नलगाएको हकमा उनीहरुको एन्टिजेन परीक्षण हुने भएको छ । पोजेटिभ आएमा आइसोलेसनमा पठाइने छ । नेगेटिभ आएमा घर जान दिइनेछ ।

  • राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, खुल्यो बजेट होलिडे

    राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, खुल्यो बजेट होलिडे

    काठमाडौं । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएसँगै नेपालमा बजेट होलिडे अन्त्य भएको छ । अब सरकारले बजेट कार्यानवयन गर्न सक्ने छ । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने अवस्था थियो । तर, विधेयक प्रमाणीकरण भएपछि सरकारले ३१ भदौबाटै गरेका खर्चले कानूनी मान्यता पनि पाएको छ ।

    प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि बिहीबार प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । गत जेठ १५ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेका थिए । उनले आर्थिक वर्ष २०७८\०७९ का लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका थिए ।

    नयाँ बजेटमा चालुतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड र पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड विनियोजन गरिएको छ । यस वर्ष वित्तीय व्यवस्थामा १ खर्ब ८९ अर्ब ४४ करोड र वित्तीय हस्तान्तरणमा भने ३ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको छ । अर्थ मन्त्रालयका अनसार यो वर्ष १० खर्ब ५० अर्ब ८२ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ । वैदेशिक अनुदान ५९ अर्ब ९२ करोड रुपैयाँ लिने लक्ष्य राखिएको छ । वैदेशिक ऋणबाट २ खर्ब ८३ अर्ब र आन्तरिक ऋणबाट २ खर्ब ३९ अर्ब रुपैयाँ संकलनको लक्ष्य सरकारले राखेको छ ।

  • काठमाडौं महानगरभित्र विद्यालय खोल्न २७ बुँदे मापदण्ड जारी

    काठमाडौं महानगरभित्र विद्यालय खोल्न २७ बुँदे मापदण्ड जारी

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा सञ्चालन गर्न अनुमति पाएका छन् ।

    महानगरपालिकाको शिक्षा समितिले २७ बुँदे मापदण्ड पूरा गरि विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गराउनु अनुमति दिएको हो ।

    विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पूर्णपालना गर्ने गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्नेछ ।

    यसमा भौतिक दुरी कायम गर्ने गराउने, मास्क लगाउने, हात धुने, ज्वरो मापन गर्ने, सामुहिक क्रियाकलाप नगराउने, खाजा घरबाटै लैजाने जस्ता विषयलाई मापदण्डमा कार्यान्वय योजना हुनुपर्नेछ ।

    विद्यालय सञ्चालन गर्दा पालना गर्नुपर्ने न्यूनतम २७ बुँदे मापदण्डहरू

    १. विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक अभिभावक संघ र सम्बन्धित् वडासमेतका सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी सहमति र समझदारीमा मात्र भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने

    २. विद्यालयहरूले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाइ अनिवार्य रूपमा शिक्षा विभागमा पेस गर्ने

    ३. विद्यालयमा विद्यार्थीहरूको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालकलगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने । यदि खोप लगाउन कोही बाँकी भए तुरुन्त काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य विभागमा सम्पर्क राखी खोप लगाउने

    ४. विद्यालय सञ्चालन पूर्व विद्यालय परिसर र कक्षा कोठाको पूर्ण सरसफाइको सुनिश्चितता गर्ने

    ५. विद्यालयको भौतिक अवस्था, विद्यार्थी संख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरक फरक सिफ्ट र दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने

    ६. विद्यालयको गेटमा र कक्षा कोठा बाहिर सेनिटाइजर वा साबुन पानीको प्रबन्ध गरी बेलाबेलामा हात धुने वा सेनिटाइज गर्ने व्यवस्था मिलाउने

    ७. विद्यालयको गेटमा नै थर्मल गन राखेर प्रत्येक दिन विद्यार्थी र कर्मचारीको ज्वरो परीक्षण गर्ने र ज्वरो नआएको एकीन गरेर मात्र भित्र पठाउने व्यवस्था मिलाउने

    ८. विद्यालयको गेट, कक्षा कोठा र शौचालयको प्रयोग गर्दा बालबालिकाहरू लाइनमा, पालैपालो दूरी कायम गरी निस्कने र पस्ने प्रबन्ध गर्ने

    ९. सबैजनाले अनिवार्य रूपमा मास्क लगाउने, जगेडा मास्क लिइ आउने र मास्क नलगाई आउने विद्यार्थीलाई विद्यालयले मास्क उपलब्ध गराउने व्यवस्था मिलाउने

    १०. खाजा र पानीको प्रवन्ध विद्यार्थी स्वयंले घरबाट नै गर्न सूचित गर्ने

    ११. कक्षा कोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुने गरी मात्र विद्यार्थीहरूको बसाई व्यवस्थापन गर्ने

    १२. प्रत्येक दिन कक्षा सुरु गर्नु पूर्व र कक्षा संचालन पश्चात विद्यालय परिसर र कक्षा कोठाहरू अनिवार्य रूपमा सेनिटाइज गर्ने व्यवस्था मिलाउने

    १३. स्वास्थ्य समस्या भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई विद्यालय नआउन जानकारी गराउने

    १४. विद्यालयहरूले बालबालिकाहरूलाई हरेक दिन कक्षा सञ्चालन पूर्व १०÷१५ मिनेट स्वास्थ्य सतर्कताबारे सजग गराउने र मनोपरामर्श गरी उत्प्रेरणा प्रदान गर्ने

    १५. विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सम्बन्धित् वडाबाट नियमित रूपमा अनुगमन र समन्वय गर्ने व्यवस्था मिलाउने

    १६. विद्यालयमा बच्चालाई स्वास्थ्य समस्या देखिएमा छुट्टै आइसोलेसन कक्षमा राख्ने व्यवस्था गर्ने, अभिभावकलाई खबर गर्ने र तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजाने ब्यवस्था मिलाउने

    १७. विद्यालयमा सामूहिक कार्यक्रम/सामूहिक प्रार्थना आदि नगराउने

    १८. विद्यालयमा खाजा समयमा भीडभाड नहुने गरी आलोपालो गर्ने प्रवन्ध मिलाउने

    १९. विद्यार्थीलाई आफ्ना पाठ््यसामग्री, पानीका बोतल, खाजा, झोलासहितका सामान आफूले मात्र प्रयोग गर्न र साथीसँग साटासाट नगर्न सजग गराउने

    २०. अभिभावकले नै बच्चा विद्यालयमा ल्याउने लैजाने कार्यलाई प्रोत्साहित गर्ने । सवारीसाधन प्रयोग गर्नुपर्ने अवस्थामा सामाजिक दूरी कायम हुने गरी सवारी साधनमा बस्ने ब्यवस्था मिलाउने

    २१. विद्यालयमा स्वास्थ्य वा विज्ञान शिक्षकलाई कोभिड फोकल शिक्षक तोक्ने र हरेक कक्षामा नियमित अनुगमनका लागि विद्यार्थी मनिटरको व्यवस्था गर्ने ।

    २२. विद्यालयमा स्वास्थ्य हेल्प डेस्क राख्ने

    २३. सुरुका दिनमा माथिल्लो कक्षाबाट पठनपाठन थालेर गरेर क्रमशः तल्ला कक्षाहरू सञ्चालन गर्ने ब्यवस्था मिलाउने

    २४. सुरुका दिनमा कक्षा सञ्चालन गर्दा केही कक्षा मात्र पठनपाठन गरी क्रमशः अवस्था हेरी कक्षाको संख्या बढाउदै लैजाने

    २५. सबै विद्यार्थीहरूको भौतिक उपस्थितिमा पूर्णरुपमा कक्षा संचालन नहुञ्जेल चालु वैकल्पिक सिकाइलाई निरन्तरता दिने

    २६. अचानक कुनै नयाँ परिस्थिति आइपरेमा महानगर शिक्षा विभागमा खबर गरी प्राप्त निर्देशनअनुसार गर्ने

    २७. काठमाडौं महानगरपालिका, शिक्षा विभागमार्फत नियमित अनुगमनको व्यवस्था मिलाउने

  • एमालेको अवरोधकैबीच विनियोजन विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

    एमालेको अवरोधकैबीच विनियोजन विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

    काठमाडौं । एमालेको अवरोधकैबीच राष्ट्रियसभाबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ ।

    बिहीबार बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अनुमतिमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका थिए ।

    मंगलबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकैबीच यो विधेयक टेबुल गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने छ ।

    बजेट पारित भएसँगै राष्ट्रियसभाले बिहीबारै सन्देशसहित प्रतिनिधिसभामा पठाएको छ । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा संसद सचिवालयका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको जानकारी गराएका छन् ।

    यसपछि सभामुख अग्नि सापकोटाले प्रमाणीकरण गरेर राष्ट्रिपति समक्ष पठाउनेछन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि सरकारलाई खर्च गर्ने बाटो खुल्न छ ।

  • परराष्ट्रमन्त्री खड्का न्यूयोर्क उडे

    परराष्ट्रमन्त्री खड्का न्यूयोर्क उडे

    काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क उडेका छन् । उनी ने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति न्युयोर्क प्रस्थान गरेका हुन् । भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत मङ्गलबारदेखि उच्चस्तरीय बैठक शुरु भएको छ । बैठकमा नेपालको प्रतिनिधित्व उनले गर्नेछन् ।

    प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त परराष्ट्र सचिव प्रकाशकुमार सुवेदी लगायतका मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरे । परराष्ट्रमन्त्रीले महासभामा सम्बोधन गर्नेछन् । उनको टोलीमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका सहसचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईलगायत रहेको मन्त्रालयले जनाएको छ ।

  • लिथुआनियामा चिनियाँ फोन प्रयोग नगर्न सिफारिस

    लिथुआनियामा चिनियाँ फोन प्रयोग नगर्न सिफारिस

    काठमाडौं । लिथुआनियाको रक्षा मन्त्रालयले उपभोक्तालाई चिनियाँ फोन प्रयोगमा नल्याउन सिफारिस गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सो मुलुकको इन्टरनेट सुरक्षा सम्बन्धी निकाय न्याशनल साइबर सेक्युरिटि सेन्टरले चिनियाँ उत्पादकका फाइभजी मोबाइल फोनलाई परीक्षण गरेको थियो। सो क्रममा एक शिआओमी फोनमा पहिले नै सेन्सर गर्ने उपकरण जडान रहेको भेटिएको दावि गरिएको छ । साथै हुआवेई मोडेलको फोनमा सजिलै साइबर आक्रमण हुन सक्ने गरि कमजोर सुरक्षा प्रणाली राखिएको समेत बताइएको छ ।

    हुआवेईले प्रयोगकर्ताहरूको तथ्याङ्क र जानकारी फोनबाट बाहिर पठाउने भने नगरेको जानकारी गराएको छ । लिथुआनियाका रक्षा उपमन्त्री मार्गिरिस अबुकेभिसिअसले नयाँ चिनियाँ फोन नकिन्न र आफूसँग भएको फोन पनि सकेसम्म छिटो त्याग गरिहाल्न सुझाव दिएको समाचारमा उल्लेख छ ।

    अध्ययनको प्रतिवेदनका अनुसार शिआओमीको सर्वाधिक चर्चित मी टेनटि फाइभजी फोनमा यस्तो सफ्टवेअरहरू रहेको पाइयो जस्ले तिब्बती स्वतन्त्रता सम्बन्धी नारा फ्रि टिबेटू, ताइवानको स्वतन्त्रता सम्बन्धी लङ लिभ ताइवान इन्डिपेन्डेन्स वा प्रजातान्त्रिक आन्दोलन जनाउने डिमोक्रेसी मुभमेन्ट जस्ता शब्दहरूलाई पत्ता लगाउने र सेन्सर गर्ने क्षमता राख्ने बीबीसीले लेखेको छ । उक्त फोनमा रहेका प्रणालीगत एप र ब्राउजरले ४४९ भन्दाबढी शब्दावलीहरू सेन्सर गर्न सक्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त प्रतिवेदनको विवरणबारे टिप्पणीका लागि गरिएको बीबीसीको प्रयासमा शिआओमीले प्रतिक्रिया जनाइसकेको छैन।

    शिआओमीका फोनहरूले फोन प्रयोग सम्बन्धी डेटा सिंगापुरस्थित सर्भरमा पठाउने गरेको पनि अध्ययनका क्रममा पत्ता लागेको जनाइएको छ। हुआवेइको पीफोर्टी फाइभजी फोनमा रहेको खराबीको बारेमा पनि उक्त अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त कमजोरीका कारण प्रयोगकर्ताको फोनमा साइबर हमला हुनसक्ने जोखिम रहन्छ। यो पछिल्लो विवरण लिथुआनिया र चीनबीच तनाव बढिरहेको समयमा आएको बताइएको छ ।

  • अमेरिकाले थप ५० करोड डोज खोप बाँड्ने

    अमेरिकाले थप ५० करोड डोज खोप बाँड्ने

    न्यूयोर्क । अमेरिकाले आगामी वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकमा बाँड्ने भएको छ । बीबीसीका अनुसार संयुक्त राष्ट्रसङ्गको महासभाको समय पारेर आयोजना गरिएको एक भर्चुअल कोभिड १९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले अमेरिकालाई खोप शक्ति बनाउने बाचा गरेका छन् । त्यस्तो थप मात्रा खोपको गणना हुँदा अमेरिकी खोप सहायताको बाचा १ अर्ब नाघ्नेछ। अमेरिकाले यसअघि नै ५० करोड खोप बाँड्ने बताएको थियो ।

    राष्ट्रपति बाइडनले ५८ करोड मात्रा थप खोप बाँड्ने बाचा गरिरहंदा वासिङ्टनले अहिलेसम्म १६ करोड खोप देशबाहिर बाँडिसकेको तथ्यांक रहेको बीबीसीले लेखेको छ । विज्ञहरूका अनुसार विश्वको ७० प्रतिसत जनसङ्ख्यालाई खोप दिनका लागि ११ अर्ब मात्रा खोप आवश्यक पर्छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ भित्रै हरेक देशमा कम्तीमा ४० प्रतिसतले खोप लगाउने लक्ष्य राखेको छ।

    बाइडनले खोप वितरणका व्यवस्थापकिय चुनौतीलाई सम्बोधन गर्न समेत थप रकमको घोषणा समेत गरेका छन्। धेरै उच्च आय भएका देशहरूले आफ्ना आधाभन्दा धेरै जनसङ्ख्यालाई कम्तीमा एक मात्रा खोप दिएको अक्सफर्ड विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ। तर, न्यून आय भएका देशमा २ प्रतिसतले मात्र पहिलो मात्रा खोप लिन सकेका छन्। धनी देशहरूले चाहिनेभन्दा धेरै खोप सञ्चय गरेको र तिमध्ये उच्च सङ्ख्या काम नलाग्ने भएर छिट्टै फ्याकिनुपर्ने अवस्था समेत आएको छ ।

  • नेपालमा ४० वर्ष भन्दा माथिका सबै नागरिकको पिसाव जाँच गरिने

    नेपालमा ४० वर्ष भन्दा माथिका सबै नागरिकको पिसाव जाँच गरिने

    काठमाडौं । नेपालमा ४० वर्ष उमेर भन्दा माथिका सबै नागरिकको पिसाव जाँच गरिने भएको छ । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीले सरकारको उक्त तयारी बारे जानकारी गराएका हुन् । नेपाली नागरिकको मिर्गौलाको अवस्था जाँच गर्न र स्वास्थ्य पत्ता लगाउन पिसाव जाँच गर्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

    सरकारले मिर्गौलाका सम्बन्धमा नागरिकहरुमा के कस्तो समस्या छ भन्ने जानकारी लिने गरी योजना बनाएको जानकारी समितिलाई गराएको छ । आजको बैठकपछि समितिले मिर्गौला प्रत्यारोपण सेवालाई सहज र छिटो छरितो बनाउन सरकारलाई निर्देशन समेत दिएको छ । डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न, मिर्गौला फेल हुनुको कारण र मिर्गौलासम्बन्धी रोगबाट बच्ने उपायका बारेमा देशभरि नै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न समेत समितिले निर्देशन दिएको छ ।

  • एडीबीको प्रक्षेपण : आर्थिक वृद्धि ४.१ प्रतिशत मात्र

    एडीबीको प्रक्षेपण : आर्थिक वृद्धि ४.१ प्रतिशत मात्र

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष २०७८\७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र हुने प्रक्षेपण सार्वजनिक गरेको छ । सरकारले यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । एसियाली विकास बैंकले गएको अप्रिलमा गरेको ५.१ प्रतिशतको प्रक्षेपणलाई परिमार्जन गर्दै ४.१ प्रतिशतमा झारेको छ । महामारीका कारण पर्यटन क्षेत्रमा ठूलो असर पर्दा यसले धेरै आर्थिक गतिविधिमा असर पारेको भन्दै एडीबीले नेपालले खोप लगाउने गतिलाई बढाएमा केही सकारात्मक परिवर्तन आउन सक्ने उल्लेख गरेको छ ।

    एसियाली विकास बैंकले नेपाल सरकारले ल्याएको बजेट विस्तारवादी भएको र स्वास्थ्य सेवाको हेरचाह, रोजगारी सिर्जना, गरिब तथा कमजोर वर्गमा सामाजिक सुरक्षाको विस्तार र कृषि उत्पादकत्व बढाउनमा केन्द्रित भएको समेत बताएको छ । पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण मुद्रास्फीति भने ५्२ प्रतिशत रहने बताएको छ ।