Category: फिचर

  • बलियो ओमानविरुद्ध नेपालको सानदार जित

    बलियो ओमानविरुद्ध नेपालको सानदार जित

    काठमाडौं । बलियो टोली ओमानविरुद्ध नेपालले सानदार जित निकालेको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई सात विकेटले हराएको हो । पहिलो खेलमा ओमानसँग ५ विकेटको हार बेहोरेको नेपालले आज त्यसको बदला समेत लिएको छ । नेपालले प्रतियोगितामा दुई जित र दुई हार बेहोर्यो ।

    आइतबार साँझ अल अमिरात मैदानमा सम्पन्न खेलमा ओमानले पहिले ब्याटिंंग गर्दै मात्र एक सय २२ रन जोड्यो । यो लक्ष्य नेपालले १८ ओभर २ बलमा तीन विकेट मात्र गुमाएर पुरा गर्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक हाने । मल्लले ४६ बलमा अविजित ५२ रन जोडे । आसिफ शेख ४० रनको योगदान गरे ।

    अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानलाई ३७ ओभर १ बलमा समेट्ने क्रममा करण केसी र सन्दीप लामिछानेले चम्किएका थिए । उनीहरुले चार–चार विकेट लिए । शरद भेषवाकरले दुई विकेट लिए । जितसँगै नेपाल आठ खेलमा आठ अङ्कसहित चौथो स्थानमा उक्लियो ।

    ओमान १३ खेलमा २० अङ्कसहित शीर्ष स्थानमा कायम छ । यो लीगमा कुल सात टोली छन् । एक टोलीले कुल ३६ खेल खेल्ने छ । लिग–२ को शीर्ष तीन स्थानमा रहने देश सन् २०२३ मा जुलाईमा जिम्बावेमा आयोजना हुने विश्व कप छनोटमा भाग लिन छनोट हुनेछन् ।

  • संखुवासभा हत्याकाण्ड: थप चार जना अनुसन्धानको दायरामा

    संखुवासभा हत्याकाण्ड: थप चार जना अनुसन्धानको दायरामा

    काठमाडौं । केही साता अघि एकै परिवारका ६ जनाको सामुहिक हत्या भएको घटनामा थप चार जनामाथि अनुसन्धान शुरु भएको छ । सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनामाथि अनुसन्धान शुरु गरेको हो । प्रहरीले पहिचान भने खुलाएको छैन । घटनामा उनीहरुको संलग्नता वा प्रत्यक्षदर्शी भएपनि घटना लुकाएको हुन सक्ने आशंका प्रहरीको छ ।

    घटनामा संलग्न रहेको आरोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई भने प्रहरीले शुरु मै पक्राउ गरि सार्वजनिक समेत गरिसकेको छ । लोकबहादुर र उनका भाईका बयानका आधारमा थप मानिस अनुसन्धानमा तानिएका हुन् । मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले शुक्रवार लोकबहादुरका भाइले लुकाएको अवस्थामा भेटाएको थियो । अहिले पुनः प्रहरी घटनास्थलमा खटिएको छ । गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

  • एमालेमा पोलिटब्यूरो संरचना हट्यो, अब सचिवालय रहने

    एमालेमा पोलिटब्यूरो संरचना हट्यो, अब सचिवालय रहने

    काठमाडौं । एमालेको नेतृत्वमा अब पोलिट ब्यूरोको संरचना हट्ने भएको छ । त्यसको स्थानमा सात सदस्यीय सचिवालय बन्ने भएको छ । एमाले र माओवादी केन्द्र एकीकरण भएसँगै बनेको नेकपामा यस्तो अभ्यास भएको थियो । एमालेले सोही अभ्यास पच्छ्याउने भएको हो । आइतबार ललितपुरको च्यासलमा भएको एमाले स्थायी कमिटीको बैठकमा संगठन विभागले अध्यक्षको नेतृत्वमा सात सदस्यीय सचिवालय निर्माणको प्रस्ताव गरेको छ । महासचिवको नेतृत्वमा कार्यलय सम्बन्धी सचिवालय रहने भएको छ ।

    विधानबाट पोलिटब्युरो संरचना भने हटाइएको छ । प्रस्तावित विधानमा उपाध्यक्षको संख्या घटाइएको छ भने सचिवको संख्या बढ्ने भएको छ । उपाध्यक्षको संख्या तीनमा झारिएको छ । सचिव सात जना हुने भएका छन् । नवौं महाधिवेशनमा उपाध्यक्ष र सचिवको संख्या पाँच,पाँच थियो । उपमहासचिव भने २ जना रहने छन् । केन्द्रीय कमिटी भने २ सय २५ जनाको रहने छ । एमालेमा केन्द्रीय कमिटीको एक तिहाई संख्याको पोलिटब्युरो, पोलिटब्युरोको एक तिहाई संख्याको स्थायी कमिटी बनाउने प्रचलन रहेको छ ।

  • नेपालमा थप ७३४ जनामा कोरोना पुष्टी, १४१३ जना संक्रमण मुक्त

    नेपालमा थप ७३४ जनामा कोरोना पुष्टी, १४१३ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ३०४ पीसीआर परीक्षण गर्दा ६५६ जना र २७०९ एन्टिजेन परीक्षण गर्दा ७८ गरी ७३४ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८४ हजार ६५५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १४१३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४९ हजार २१३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २४ हजार ३१३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ ।

  • सोमबारदेखि कोरोनाविरुद्ध खोपको पहिलो मात्रा दिइँदै, यी हुन् खोप पाउने समूह

    सोमबारदेखि कोरोनाविरुद्ध खोपको पहिलो मात्रा दिइँदै, यी हुन् खोप पाउने समूह

    काठमाडौं । सरकारले असोज ४ गतेदेखि असोज १४ गतेसम्म कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिने भएको छ।

    अहिलेको अभियानअन्तर्गत चारवटा उमेर समूहलाई जिल्ला अनुसार खोप दिनको लागि उमेर समूह छुट्ट्याइएको छ । कोभिसिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुले भने यो खोप लगाउन पाउने छैनन्

    मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइनेछ ।

    यीबाहेक अरू ५८ जिल्लाहरूमा मनाङ, मुस्ताङ र रुकुमपूवबाहेकका जिल्लाहरूमा भने ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिइनेछ ।

    त्यस्तै, काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउने बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइनेछ ।

    यसअघि छुटेका अग्रपंतिमा खटिने, अत्यावश्यक सेवा,शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिहरु समेत खोप दिइने बताइएको छ।

  • संविधान दिवसको मानपदवी बाउ र श्रीमतीको मुख हेर्ने दिन हो ?

    संविधान दिवसको मानपदवी बाउ र श्रीमतीको मुख हेर्ने दिन हो ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएसँगै समान्ती युग अन्त्य भएर नयाँ युगको सुरुवात भएको बताएका छन् । एमालेद्वारा आइतबार आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले संविधान जारी भएसँगै वास्तविक जनताको राजको युग सुरु भएको बताएका हुन् ।

    उनले संविधानले असमानता, थिचोमिचो र भेदभावको युगको अन्त्य गर्ने र नयाँ युगको नयाँ विहानीको प्रारम्भ गरेको बताए । संविधान बनाउने क्रममा स्वार्थ समूहहरू तानातान भएको स्मरण गर्दै उनले भने, ‘विभिन्न देशका संविधानसँग तुलनात्मक अध्ययन भए । विगतका अनुभवलाई ध्यानमा राखेर नेपालको संविधान निर्माण गर्‍यौँ । यद्यपि, त्यसक्रममा स्वार्थ समूहहरु तानातान भए । आफ्ना अधिकार हितलाई सुनिश्चित गर्नु स्वभाविक भए । विभिन्न शक्तिका दबाब झेलेर पराजित गरेर संविधान जारी गर्‍यौँ ।’

    जनतालाई सम्पूर्ण स्रोत मानेर संविधानमा वर्चश्व हासिल गरेको बताउँदै उनले भने, ‘सार्वभौमसत्ता सम्पन्न जनताले आफ्नो सार्वभौमसत्ता मूल संविधानमा वर्चश्व हासिल गरे । जनता नै सम्पूर्ण शक्तिको स्रोत हुन भनेर व्यवस्थित गरियो । यस दिनको असाधारण महत्व छ । त्यसैले राष्ट्रिय दिवस भन्यौं । कुनै कुल घराना व्यक्ति होइन जनता सर्वोपरि हुन्छ । संविधानमार्फत व्यवस्थित गरिएको छ । जनतामा रहेको सार्वभौमसत्ता सम्पूर्ण हिसाबले जनतामा संवैधानिक सर्वोच्च कायम भएको हिसाबले यो दिन विशेष छ ।’

    ‘नेपाली जनताले गरेको त्याग बलिदान र योगदान गलत थिएन । समानता र न्यायका लागि योगदान गरे । ति सबैको संविधानले सम्मान गरेको छ । सफलताको आसनमा ल्याएको छ’, अध्यक्ष ओलीले भने, ‘यसले सापेक्षित रुपमा भन्ने हो भने राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने अवस्था अन्त्य गरेको छ । साथसाथै संविधान जारी हुने कुरामा नेपालमा एउटा ठूलो बहसको विषय राजनीतिक आन्दोलन क्रान्ति परिवर्तनका लागि हिंसा अनिवार्य हो कि हैन भन्ने प्रश्न छ । हामीले अनेकौँ सशस्त्र युद्ध रोक्यौं । हतियारमात्रै परिवर्तन होइन । परिवर्तनका लागि हिंसा आवश्यक छैन । यो स्वीकार्य पनि छैन भनेको छ ।’

    समानुपातिक समावेशी सहभागिता, पछाडि परेको समुदाय अगाडि बढाउने नीति निर्माण, जनप्रतिनिधिमुलक संस्था जनताको सामाजिक जीवन सबैको प्रतिनिधित्व हुन सकेको ओलीको भनाइ छ । साथै उनले नेपालको संविधान सर्वस्वीकार्य भएको दाबी गरे । संविधान संशोधनका नाममा विदेशी गुहार्ने काम भएको उल्लेख गर्दै ओलीले देशी विदेशी अवरोध भए पनि एमालेको नेतृत्वमा संविधान सर्वस्वीकार्य भएको जिकिर गरे ।

    ‘विदेशमा गएर संविधान संशोधन गर्न सकिएन, तपाइँले सहयोग गरिदिनुपर्‍यो भनियो सर्वस्वीकार्यताको नाममा । तर, अहिले स्वीकार्य भएको छ । विरोध गर्ने शक्तिहरुले स्वीकारेका छन् । संवैधानिक प्रक्रियामा सहभागी भएका छन् । अहिले संविधान सर्वस्वीकार्य भएको छ । मूल्यमान्यताहरू सर्वस्वीकार्य भएको छ । सर्वस्वीकार्य बनाउने काममा एमालेले अगुवाइ गरेको छ । हाम्रो पार्टी गर्व गर्छ,’ उनले भने ।

    ओलीले संविधानको रक्षा, विकास र कार्यान्वयनमा ध्यान जानुपर्ने औल्याउँदै आफ्नो पार्टीले प्रभावकारी भूमिका खेल्ने बताए ।

    साथै उनले नेता र नेताका परिवारका सदस्यलाई पदक बाँडिएकोमा आक्रोश पोखेका छन् । सरकारले सातौं संविधान दिवसका अवसरमा सत्ता गठबन्धनका नेताहरू पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहाल, माधव कुमार नेपालका पिता मंगलकुमार उपाध्याय र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पदक दिने निर्णय गरेपछि ओलीले आक्रोश पोखेका हुन् ।

    ‘आजको गठबन्धनले के गर्दैछ, ७० दिनमा पूर्णता पाउन सकेको छैन । कति हाइसञ्चो छ हेर्नुस् त । संविधान दिवस जनताले मनाउन पाउनुपर्ने, सहिदका परिवारले खुसियाली मनाउन पाउने, मनाउने अवसर छैन । जनतालाई होइन बालाई सम्मान ? श्रीमतीलाई सम्मान ? अघिल्लो पटक सुपत्रीलाई सम्मान, अर्को सुपुत्रलाई महान सम्मान ? कस्ता भोका, झुटाहहरू सत्तामा पुगेका रहेछन्, कस्तो अचम्म,’ ओलीले भने ।

    उनले प्रचण्डकी श्रीमती र माधवका पिताले पदक पाएको तर्फ संकेत गर्दै सोधे, ‘शहिदका आमा, बुवा, छोराछोरीले नपाउने ? आज श्रीमतीको मुख हेर्ने दिन हो ? बाउको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?’

    बाहिर जनताका लागि राजनीति गरेको भन्ने र मौका पाएका परिवारका सदस्यलाई बोक्ने भन्दै ओलीले पदक पनि लजाएको टिप्पणी गरे ।

    ‘कस्तो भोक, आकांक्षा, तृप्ती हो ? बाहिर म जनताका लागि हो भनेर बोल्ने, परिवारका लागि होइन भन्ने । मौका पाउँदा हेर्नुस् त । ति विभूषण, मानपदवी लजाइरहेका छन्, हेर्नुस् त शरम मान्या छन् । बोल्न सक्ने भए उफ्रिन्थे तिनी । तर, बोल्न सक्दैनन । लज्जाजनक छ,’ उनले भने ।

    आफ्नो सरकारविरुद्ध लेख्ने पत्रकारलाई पदक बाँडेको भन्दै ओलीले आक्रोश पोखे । ’अघिल्लो लोकप्रिय सरकार, सुशासन पक्षको सरकारका एक पनि सकारात्मक समाचार नदिने सञ्चारमाध्यम र तिनका पत्रकारलाई छानीछानी पदक दिएको छ । खोजी पत्रकारिता गर्ने, लोकतन्त्रको पक्षमा लागेकालाई दिए हुन्थ्यो,’ उनले भने ।

    झगडिया, मुद्दा हाल्ने, तथानाम बोल्ने, जे पायो त्यहीँ बोल्नेलाई पदबाट सम्मानित गरेकोमा ओलीको आक्रोश थियो । ‘दुईचार छुटे जस्तो लाग्यो । तिनलाई किन छोडेको होला ?’ ओलीले प्रश्न गरे, ‘मुद्दा जिताइदिने, हराइदिने, कता तराजु फर्काइदिने, आँखामा पट्टी बाँधेको हुन्छ । न्यायमूर्तिहरुले तराजु कता फर्काइने ? सबैका लागि यो लज्जाजनक विषय हो । इतिहासले निर्मम मूल्यांकन गर्नेछ ।’

    आफ्नैलाई बाँड्ने राष्ट्रपतिबाट नभइ सिधै घर लगेर बाँड्न उनको सुझाव थियो । ’किन राष्ट्रपतिबाट बाँडिरहनुप¥यो ? आफैँ आफैँ घर लगेर जाउ न । आफैँ बाँडौं न,’ उनले भने ।

  • त्रिदेशीय क्रिकेटमा ओमानसँग खेल्दा दवावमा नेपाल

    त्रिदेशीय क्रिकेटमा ओमानसँग खेल्दा दवावमा नेपाल

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको चौथो खेलमा आज नेपाल र ओमान भिड्दा नेपाल उच्च दवावमा हुने छ । लगातार दुई खेल हारेको नेपालले अंक तालीका सुधार गर्न समेत यो खेल जित्नै पर्ने दवाव छ । खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपाल यसअघि मङ्गलवार ओमानसँग पाँच विकेटले हारिसकेको छ । लिग–२ मा सन् २०२० मा घरेलु मैदानमा भएको दुई खेलमा समेत ओमानले नेपाललाई हराएको थियो ।


    गएको सोमवार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराए पनि शुक्रवारको अमेरिकाले नेपालाई ६ विकेटले हराएपछि नेपाल दवावमा रहेको हो । लिग–२ मा ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा छ । १५ खेलमा १४ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छ । ७ खेलबाट मात्र ६ अङ्क जोडेको नेपाल पुछारबाट दोस्रो स्थानमा छ । सात टोली रहेको लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोट खेल्न पाउने छन् ।

  • कृष्ण प्रसाद भट्टराई, झलनाथ खनालसहित ९०३ जनाले पाए पदक-विभुषण

    कृष्ण प्रसाद भट्टराई, झलनाथ खनालसहित ९०३ जनाले पाए पदक-विभुषण

    काठमाडौं । संविधान दिवसका अवसर परि ९०३ जना व्यक्ति विभुषित बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसरी विभुषित हुनेको नाम आज गोरखापत्रमा सार्वजनिक गरिएको छ । संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण प्रदान गरेकी हुन्।

    नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई प्रदान गरिएको बताइएको छ । पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न प्रदान गरिएको छ । मन्त्रिपरिषदका पूर्वअध्यक्ष सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री एंव नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्र गौरव पदवी प्रदान गरिएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, स्वर्गीय तुलसीलाल अमात्य, स्वर्गीय मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, स्वर्गीय दुर्गानन्द झा र स्वर सम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यलाई महाउज्जवल राष्ट्रदीप प्रदान गरिएको छ।

    सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    राष्ट्र यशोवद्र्धक अलङ्कार चार जनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीनजनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गरिएको छ। राष्ट्रसेवा पदक प्रथम श्रेणी तीनजनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकासरत्न पदक एकजनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौ जनालाई प्रदान गरिएको छ ।

  • रुसी राष्ट्रपति र भारतका प्रधानमन्त्रीले दिए संविधान दिवसको शुभकामना

    रुसी राष्ट्रपति र भारतका प्रधानमन्त्रीले दिए संविधान दिवसको शुभकामना

    काठमाडौं । नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतबार एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पुटिनले रसिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको जनाएका छन् । उनले विविध क्षेत्रका दुईपक्षीय सहायता अझ अभिवृद्धि हुने विश्वास समेत व्यक्त गरेका छन् । दुवै देशका जनताको हितमा हाम्रो सम्बन्ध अघि बढ्ने र त्यसले क्षेत्रीय सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने विश्वास पनि राष्ट्रपति पुटिनले सन्देशमा व्यक्त गरेका छन् । उनले राष्ट्रपति भण्डारीको सुस्वास्थ्य सफलताका साथै नेपाली जनताको शान्ति र हितको कामना गरेका छन् ।

    उता, नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका हुन् । संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता(जनताबीचको सम्बन्धले भारत र नेपाललाई जोडेको बताउँदै उनले सन्देशमा दुवै देशबीचको अनुपम एवम् विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीचमात्र रहेको उल्लेख गरेका छन् । अकल्पनीय कोभिडको महामारीबाट मुक्त हुनेतर्फ विश्व अग्रसर भइरहेको अहिलेको अवस्थामा महामारीका कारण सिर्जित चुनौतीको सामना गर्न नेपाललाई भारतबाट निरन्तर एवम् अविचलित सहयोग हुने प्रतिबद्धता प्रधानमन्त्री मोदीले सन्देशमा लेखेका छन् ।

  • आज संविधान दिवस, राष्ट्रपति र प्रधानमन्त्रीले के भने ?

    आज संविधान दिवस, राष्ट्रपति र प्रधानमन्त्रीले के भने ?

    काठमाडौं । आज नेपालमा संविधान दिवस मनाइंदै छ। नेपालमा सरकारले २०७२ साल असोज ३ मा संविधान जारी भएको अवसर पारी सार्वजनिक बिदा दिने गरेको छ । यस उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु युगीन अभिभारा भएको बताएकी छन् ।

    संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्न, नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्न समेत आवश्यक रहेको बताइन् । नेपाली जनताको बलिदानपूर्ण सङ्घर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल आश्विन ३ गते नेपालको संविधान जारी भएकामा सम्मान र त्यस दिनको स्मरणस्वरुप आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेको समेत उनले बताएकी छिन् ।

    लामो समयको सङ्क्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरू संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट आफ्ना राजनीतिक उद्देश्य हासिल गर्न सकिने दृष्टिकोणसहित राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल भइरहेका तथा नयाँ संविधान जारी भएयताका वर्षमा संविधानप्रतिको ग्रहणशीलता बढ्दै जाँदा मुलुकको शान्ति र राजनीतिक स्थायित्वका लागि ठूलो योगदान पुगेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

    उता, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । उनले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको भनेका छन् ।

    प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकारका पालामा संविधानसभाबाट विसं २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । उनले चैतभित्र सबै नेपालीलाई पूर्ण खोप लगाउनु सरकारको मुख्य लक्ष्य भएको समेत बताएका छन् ।

  • महिला फुटबल : नेपाललाई फिलिपिन्सले हरायो

    महिला फुटबल : नेपाललाई फिलिपिन्सले हरायो

    काठमाडौं । एएफसी महिला एसियन कप २०२२ को छनोटमा नेपाललाई फिलिपिन्सले हराएको छ । शुरुवाती अगैता जोगाउन नसकेको नेपाल २\१ गोलले हारेको हो । उज्वेकिस्तानमा शनिबार भएको समूह एफ को पहिलो खेलमा नेपाल पराजित भएको हो । खेलमा नेपालले पहिले अग्रता लिएपनि अन्तिममा सम्हालिन नसक्दा त्यसलाई जोगाउन सकेन । नेपालले ९० औं मिनेट र इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल खायो ।

    उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको खेलमा विमला चौधरीले खेलको १० औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिइन । नेपालले ८९ मिनेटसम्म फिलिपिन्सलाई रोकेको थियो । तर, अन्तिम समयमा नेपाल सम्हालिन सकेन । फिलिपिन्सका लागि ९० औं मिनेटमा ताहनाई अनिशले बराबरी गोल फर्काइन् ।

    पहिलो गोल गरेपछि फिलिपिन्सले एक मिनेटपछि नै अर्को गोल थप्यो । इन्जुरी टाइमको दोस्रो मिनेटमा कमिल्ला विल्सनले फिलिपिन्सको लागि विजयी गोल र्दा नेपाल निरास बन्यो । नेपालले अब समूह एफको अर्को खेल हङकङसंग असोज ५ गते खेल्नेछ । समूह विजेता बन्दै एसिया कपमा छनोट हुनेछ ।

  • संविधान दिवसको अवसरमा ८ जनालाई आममाफी, ५२३ जनाको कैद कटौती

    संविधान दिवसको अवसरमा ८ जनालाई आममाफी, ५२३ जनाको कैद कटौती

    काठमाडौं । संविधान दिवसको अवसरमा पारि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनालाई माफी र ५२३ जनाको कैद कट्टा गरेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत ८ जना व्यक्तिले राष्ट्रपतिबाट आम माफी पाएका छन् । उनीहरुले विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारि माफी पाएका हुन् । उता, हर्कबहादुर राईसमेत ५२३ जना कैदीले भुक्तान हुन बाँकी कैद कट्टा गरिएको हो ।

    असोज ३ गते संविधानको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था रहेको छ ।

  • मलेसियाबाट एकै दिन ल्याइयो ६ शव र १५ जनाको अस्तु

    मलेसियाबाट एकै दिन ल्याइयो ६ शव र १५ जनाको अस्तु

    काठमाडौं । मलेसियामा विभिन्न कारणले मृत्यु भएका ६ जना नेपालीको शव र १५ जना श्रमिकको अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि पुगेका नेपालीमध्ये विभिन्न कारण मृत्यु भएकाहरुको शव र अस्तु शनिबार एकै पटक नेपाल ल्याइएको हो । नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेशिया गई हालसम्म नेपाल नफर्किएका समेत छन् ।

    परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको उनले बताए । सन् २००२ मा उहाँ मलेसिया गएका ती श्रमिक सम्पर्कबिहीन भएर बसेका थिए । कानूनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन । विदेशमा मृत्यु भएकाहरुको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म शवबाहनमा शव पुर्याउने गर्दै आएको छ ।

  • गैरआवासीय नेपाली संघको निर्वाचन तोकिएकै मितिमा हुने संघको स्पष्टिकरण

    गैरआवासीय नेपाली संघको निर्वाचन तोकिएकै मितिमा हुने संघको स्पष्टिकरण

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन तोकिएकै मितिमा हुने भएको छ । संघले शुक्रबार एक विज्ञप्ती निकाल्दै यस्तो जानकारी गराएको हो । निर्वाचन प्रतिनिधिमा गोलमाल भएको भन्दै असन्तुष्ट समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि हाल निर्वाचन प्रक्रिया बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छ । यसका वावजुत निर्वाचन तोकिएकै समयमा हुने संघले स्पष्ट पारेको हो ।

    मन्त्रालयको पत्रपछि भने अन्यौल सिर्जना भएको छ । २०२१ अक्टोबरमा हुने निर्वाचनलाई विवादरहित बनाउन अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा जुटेको विज्ञप्तिमा भनिएको छ । पौडेल नेतृत्वको एनआरएनएको निर्वाचन समितिमा सदस्य सचिव भूषण घिमिरे (जापान) रहेका छन् ।

    यस्तै सदस्यहरूमा रामप्रताप थापा (जर्मनी), चिरञ्जिवी ढकाल (यूके), डा. विष्णुमाया परियार (अमेरिका), डा. देवकाजी डंगोल (कतार), डा. गणेश गुरुङ (नेपालं रहेको समेत विज्ञप्तीमा उल्लेख छ । गत जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको जानकारी दिएको छ। निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेको समेत जनाइएको छ ।

    संघको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले संघको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्नासाथ निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने र अन्य आवश्यक काम अघि बढाउने विज्ञप्तिमा उल्लेख छ ।

    निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको भन्दै एनआरएनले हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको जनाएको छ । गैरआवासीय नेपाली सङ्घको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको हो ।

  • एएफसी महिला एसियन कप छनोटमा नेपाल र फिलिपिन्स भिड्दै

    एएफसी महिला एसियन कप छनोटमा नेपाल र फिलिपिन्स भिड्दै

    काठमाडौं । आज एएफसी महिला एसियन कपमा छनोट प्रतियोगितामा नेपालले आफ्नो यात्रा शुरु गर्दैछ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उज्वेकिस्तानमा आज फिलिपिन्सको सामना गर्दैछ । समूह एफ मा रहेको नेपाल र फिलिपिन्स दुबै स्पष्ट जित निकाल्दै अंक जोड्न चाहन्छन् । नेपालको महिला टिमले सन् २०१९ पछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्न लागेको हो । महिला टीमले सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बालाई भने चोटका कारण गुमाएको छ । उनको अभाव टीममा स्पष्ट देखिन्छ ।

    एसियन कप भने अर्को वर्ष भारतमा आयोजना हुने छ । यो प्रतियोगितामा नेपालले आफूभन्दा वरीयतामा माथि रहेका दुई टिम फिलिपिन्स र हङकङको सामना गर्दैछ । समूहमा शीर्ष स्थानमा रहने टोली मात्र एसिया कपमा छनोट हुनेछ । फिफा वरीयतामा फिलिपिन्स ६८औं, नेपाल १०१औं र हङकङ ७६औं स्थानमा छन् ।

  • बर्दियामा बँदेल मार्न थापेको पासोमा परि एकै परिवारका तीनको मृत्यु, छिमेकी पक्राउ

    बर्दियामा बँदेल मार्न थापेको पासोमा परि एकै परिवारका तीनको मृत्यु, छिमेकी पक्राउ

    बर्दिया। बर्दियामा बँदेल मार्न थापेको पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ । प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाधयमले जनाए अनुसार बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका ३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले घटनाको पुष्टी गरेका छन् । उनका अनुसार शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका हुन् । खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षिय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्त्रधान भइरहेको प्रहरीले जनाएको छ ।

  • अमेरिकासँग नेपालको लज्जास्पद हार

    अमेरिकासँग नेपालको लज्जास्पद हार

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपाललाई अमेरिकाले सजिलै हराएको छ । पहिलो खेलमा नेपाल विजयी भएको थियो । अमेरिकाले त्यसको बदला थियो । शुक्रबार राती सम्पन्न खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो । खेल ओमानमा जारी छ । जारी सिरिजमा यो नेपालको दोस्रो हार हो । नेपाल ओमानसँग ५ विकेटले हारेको थियो । अल अमिरातमा पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदा मात्र १७४ रन जोड्न सक्यो ।

    अमेरिकाले यो लक्ष्य २९.३ ओभरमा ४ विकेट गुमाएर भेट्टाउन सक्यो । अमेरिकाका लागि ओपनर स्टिभन टेलरले सर्वाधिक ९२ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । टस हारेको नेपाललाई कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक योगदान गरे । मल्ल व्यक्तिगत ५५ रनमा आउट भएका थिए ।

  • दशैंका लागि बसको अग्रिम टिकट बुक असोज १० बाट

    दशैंका लागि बसको अग्रिम टिकट बुक असोज १० बाट

    काठमाडौं । दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुलाई लक्षित गरि दशैंको अग्रिम टिकट बुकिंग १० असोजबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकबाट यस्तो मिति तोकिएको हो । यसअघि यातायात व्यवस्था विभागले असोज दोस्रो सातादेखि बुकिङ खुल्ला गराउने प्रस्ताव गरेको भएपनि यसअघि व्यवसायीसँग सहमति भइसकेको थिएन ।

    भाडा समायोजनाका विषयमा अहिले पनि विवाद जारी छ । व्यवसायीले प्रदेशभित्र चल्ने सवारीको समेत भाडा बढाउन सरकारसँग माग गरेका छन् । तर, चाडबाडको समय भएका कारण व्यवसायी समेत तयार भएका हुन् । अर्कोतर्फ व्यवसायीले लामो समय बस थन्काउनु परेको थियो । सोहीकारण मूख्य सिजनमा उनीहरुले बस संचालनको निर्णय गरेका हुन् । प्रदेश सरकारले बढेको भाडा कार्यान्वयन गर्न ढिलाइ गरे पनि दसैंमा २८ प्रतिशतसम्म भाडा बढाएर लिन पाउनु पर्ने माग व्यवसायीले गरेका छन् ।

  • काठमाडौंमा असोज ४ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप, यी हुन् केन्द्र

    काठमाडौंमा असोज ४ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप, यी हुन् केन्द्र

    काठमाडौं । काठमाडौंमा असोज ४ गतेदेखि कोरोनाविरुद्ध चिनियाँ भेरोसेलको दोस्रो डोज खोप लगाउने भएको छ ।

    स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्‍म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन लागेको जनाएको छ । महानगरपालिकाका ३२ वटा वडाबाटै खोप लगाइनेछ।

    जसअन्तर्गत् काठमाडौं महानगरपालिकाभित्र ३२ स्थानमा, कीर्तिपुर नगरपालकिामा १०, चन्द्रागिरि नगरपालिकामा १५, नागार्जुन नगरपालिकाको १०, तार्केश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकाको ९ स्थान खोप केन्द्र निर्धारण गरिएको छ ।

    यस्तै, बूढानीलकण्ठ नगरपालिकामा १३, टोखा नगरपालिकामा, ११, गोकर्णेश्वर नगरपालिकामा, शंकरापुर नगरपालिकामा, ९ र कागेश्वरी मनोहरा नगरपालिकामा ९ ठाउँमा चिनियाँ भेरोसेल दोस्रो डोज खोप लगाउनका लागि खोप केन्द्र निर्धारण गरिएको छ ।

    पालिकाबाहेक काठमाडौं महानगरपालिकाकाभित्रका अस्पतालमा खोप केन्द्र राखिएको छ । जसअन्तर्गत नेपाल प्रहरी अस्पताल, महाराजगञ्‍ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, बीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्‍ज, निजामती कर्मचारी अस्पताल बानेश्‍वर, परोपकार प्रसूतीगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप केन्द्र राखिएको मन्त्रालयले जनाएको छ ।

    पहिलो मात्रा खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहित नम्बर ल्याएको आधारमा खोप दिइनेछ।

  • एकैदिन चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

    एकैदिन चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

    काठमाडौं । सरकारले खरीद गरेको कोभिड १९ विरुद्धको चिनियाँ भेरोसेल खोप काठमाण्डु आइपुगेको छ ।

    वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान ४४ लाख मात्रा खोप लिएर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले जानकारी दिए । खोप ल्याउन विमान बिहीबार राती बेइजिङ उडेको थियो ।

    खोपलाई टेकुस्थित स्टोरमा भण्डारण गरिने दाहाले बताए । उनका अनुसार खोप तुरुन्तै लाउन सुरु गरिनेछ । ‘हामी तयार छौं । निश्चित उमेर समूहलाई लगाउँछौं,’ उनले भने ।

    हालसम्म ५० वर्षउमेर समूहलाई कभर गरिसकेको भन्दै उनले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ हेरेर खोप लगाउन सुरु गरिने बताए । हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको उनको भनाइ छ ।

  • नेपालमा थप १५५८ जनामा कोरोना पुष्टी, १३५१ जना संक्रमण मुक्त

    नेपालमा थप १५५८ जनामा कोरोना पुष्टी, १३५१ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५५८जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षण गर्दा १०८६ जना र ३७२० एन्टिजेन परीक्षण गर्दा ४७२ गरी १५५८ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ७५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १३५१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४६ हजार ५६६ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २५ हजार ४९७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।

  • त्रिदेशीय क्रिकेट : नेपाल र अमेरिका आज दोस्रो खेलमा भिड्दै

    त्रिदेशीय क्रिकेट : नेपाल र अमेरिका आज दोस्रो खेलमा भिड्दै

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा आज नेपाल र अमेरिका भिड्दैछन् । जारी सिरिजमा दुई मुलुकबीच यो दोस्रो भेट हो । खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुने छ । अघिल्लो सोमवार सम्पन्न पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो । नेपाल ओमानसँग भने ५ विकेट ले नै पराजित भएको थियो । आज समेत नेपाल स्पष्ट जितका साथ मैदान उत्रने तयारीमा छ । लिग–२ मा नेपाल ६ खेलमा ६ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा छ ।

  • इटलीमा कर्मचारीले अनिवार्य खोप लगाउनु पर्ने, सरकारले दिने भयो ‘ग्रीन पास’

    इटलीमा कर्मचारीले अनिवार्य खोप लगाउनु पर्ने, सरकारले दिने भयो ‘ग्रीन पास’

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यूरोपमा सबैभन्दा प्रभावित मुलुकमध्ये एक इटलीमा मानिसहरुले अझै खोप लिन आनाकानी गरिरहेका छन् । यहाँ खोप अभियान बढाउन सरकारले कडा नियम ल्याएको छ । अब यस मुलुकमा सबै कर्मचारीले अनिवार्य खोप लगाउनु पर्नेछ । नभए उनीहरुले कोभिड परीक्षण गर्दा नतिजा नेगेटिभ आएको वा कोरोनाभाइरसबाट सङ्क्रमित भएर निको भएको प्रमाण अनिवार्य पेस गर्नुपर्ने छ ।

    बीबीसीका अनुसार त्यहाँ सरकारले खोप लगाउने कर्मचारीलाई हरियो पास दिनेछ । हरियो पास नहुने कर्मचारी निलम्बनमा पर्नसक्ने छन् । उनीहरूको पारिश्रमिक पाँच दिनसम्म रोक्न सकिने समेत बताइएको छ। अक्टोबर १५ तारिखबाट कार्यान्वयनमा आउने उक्त व्यवस्था कोभिडको व्यापक असर झेलेको इटलीमा खोप लगाउनेहरूको सङ्ख्या बढाउन गर्न लागिएको समेत बीबीसीले उल्लेख गरेको छ ।

    डिजिटल माध्यमबाट र कार्डका रूपमा उपलब्ध गराइने हरियो पास रेल स्टेसन, सिनेमा हल, रेष्टुराँ, व्यायामशाला र पौडी पोखरीका लागि उपलब्ध गराउनुपर्ने व्यवस्था इटलीमा विद्यमान छ। विद्यालयका कर्मचारीहरूले पनि हरियो पास देखाउनुपर्ने हुन्छ। केही शिक्षकहरूलाई त्यस्तो गर्न नसकेका कारण कामबाट फर्कन भनिएको बताइएको छ।

    इटलीमा मध्य अक्टोबरदेखि झन्डै २ करोड ३० लाख मानिसहरूले त्यस्तो प्रमाणित गर्नुपर्नेछ। हालसम्म खोप नलगाएका ४० लाख कामदारहरूलाई प्रेरित गर्न यो व्यवस्था सार्वजनिक गरिएको समाचारमा उल्लेख छ ।

  • चाडबाड लक्षित सुपथ मूल्यका पसल आजबाट संचालनमा

    चाडबाड लक्षित सुपथ मूल्यका पसल आजबाट संचालनमा

    काठमाडौं । नेपालीहरुका महान चाडपर्व नजिकिएसँगै सरकारले सुपथ मूल्यका पसल संचालनमा ल्याएको छ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सुपथ मूल्य सपसमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्रीमा राखिने भएको हो । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सुपथ मूल्य पसलमा अन्य पसलभन्दा प्रतिकिलो ५ देखि १० रुपैयाँ सम्म सस्तोमा सामान किन्न पाइने भएको छ ।

    देशभर ३९ स्थानमा यस्ता पसल संचालन गरिने छ । यो समय पेट्रोलियम पदार्थको आपूर्तिलाई पनि सहज बनाइने बताइएको छ । यसमा नेपाल आयल निगमले काम गर्नेछ । सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्मचल्ने छन् । चाडबाडमा महंगो हुने बजारमा सस्तो सामान आपूर्ति गर्न सरकारले हरेक वर्ष यस्तो पसल चलाउने गरेको छ ।

  • आज विश्वकर्मा पूजा, मेसिनको पूजा-आरधना गरिँदै

    आज विश्वकर्मा पूजा, मेसिनको पूजा-आरधना गरिँदै

    काठमाडौं । हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा आज देशभर पूजा आराधनासहित मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ । यो दिनमा घरमा रहेका हातहतियारको समेत पूजा गरिन्छ । कृषकले कृषि औजारको पूजा गर्छन् । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाउने गरिन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति विभिन्न नदीमा सेलाउने गरिन्छ ।

    आज उपयोगमा आउने विभिन्न औजार, सवारी साधनको समेत पूजा गर्ने प्रचलन रहेको छ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको मान्यता छ ।

    प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै तयार पारेको विश्वास गरिन्छ ।

  • बजेट पास हुन नसकेपछि रोकियो सरकारको खर्च

    बजेट पास हुन नसकेपछि रोकियो सरकारको खर्च

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को बजेट पास हुन नसकेपछि आजबाट सरकारको खर्च रोकिएको छ । संसद बैठक आगामी असोज ४ गते बस्दैछ । कम्तिमा सो दिनसम्म अब सरकारले संघीय संचित कोषबाट हुने खर्चबाहेक विनियोजन ऐन अनुसार गर्न पाउने खर्च रोकिएको छ । यसरी खर्च रोकिँदा सरकारी कर्मचारीले तलव पाउँदैनन् । प्रधानमन्त्री र मन्त्रीहरुको तलव समेत रोकिन्छ । तर, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधिक र सभाभुखको तलव र सुविधा भने रोकिन्न ।

    सरकारले पेश्की खर्च विधेयक समेत नल्याएको, अध्यादेशको अवधी पुरा भएको र प्रतिस्थापन विधेयक संसदबाट पास नभएका कारण खर्च रोकिएको हो । यसलाई बजेट होलीडे भनिएको हो । सरकारले संसदबाट सजिलै बजेट पास हुने अपेक्षा गरेको थियो ।

    तर, संसदमा एमालेले अवरोध गरेका कारण नेपालमा इतिहासमै पहिलो पटक खर्च बिहिनताको अवस्था आएको हो । सरकारले४ जेठसम्म एमालेसँग सहमति जुटाएमा बजेट पास हुन सक्छ । नभए यो प्रक्रिया अझै लामो हुनसक्छ । जसको असर दीर्घकालसम्म पर्ने जोखिम रहन्छ ।

  • चाडबाडमा भिडभाड नगर्न प्रशासनले गरायो सचेत

    चाडबाडमा भिडभाड नगर्न प्रशासनले गरायो सचेत

    काठमाडौं । नेपालीको महत्वपूर्ण चाडबाड नजिकिएका छन् । यसले भिडभाड बढ्ने र कोरोना भाइरसको संक्रमण फैलने जोखिम रहेको छ । सरकारले यस परिस्थितिमा कोरोना संक्रमण कायमै रहेको भन्दै चाडपर्वमा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न भनेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक आदेश जारी गरि चाडपर्वमा धेरै जना जम्मा नहुन र चाडपर्वलाई सांकेतिक रुपमा मात्रै मनाउन भनेको हो ।

    प्रशासनले असोज एक गतेबाट लागू हुने गरी जारी गरेको निषेध आदेशमा सार्वजनिक स्थानमा भीडभाड नगर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोज आदि नगर्न, नगराउन आदेश दिएको छ । उपत्यकामा शैक्षिक संस्थाले भौतिकरुपमा पठनपाठन गर्न नपाउने भनिए पनि यदि गर्नै परेका खण्डमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सँगको समन्वयमा सञ्चालनको निर्णय गर्नसक्ने आदेशमा उल्लेख छ । यसरी गर्दा सञ्चालनको विवरण र ढाँचा तयार पार्नुपर्ने भएको छ ।

    स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरी आर्थिक गतिविधिलगायत क्रियाकलाप सञ्चालन गर्न सक्नेगरी यसअघि नै आदेश जारी गरिएको थियो । आदेशमा अनावश्यकरुपमा मानिस जम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस गर्न, जात्रा महोत्सव तथा भोज आदि गर्नरगराउन नपाउने उल्लेख छ ।

    आदेशानुसार स्थानीय ढुवानी बिहान ९ देखि ११ र बेलुका ४ देखि ७ सम्म सञ्चालन गर्न भने पाइने छैन । सार्वजनिक एवं निजी निर्माण कार्यका लागि ढुवानीका साधन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायत निकायबाट आर्थिक, सामाजिक एवं व्यावसायिक गतिविधि सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने काठमाडौँ प्रशासनले जनाएको छ ।

    स्वास्थ्य मापदण्ड र स्मार्ट लकडाउनका सबै प्रोटोकल पालना गरी भिडभाड नगरी सबै व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको यसअघिको आदेशलाई कायमै राखिएको छ । यस अवधिमा पर्ने चाडपर्वसमेत स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङ्केतिकरुपमा मात्र मनाउन भनिएको छ । आदेशको नियमित अनुगमन हुने र मापदण्ड पालना नगरेको पाइएमा कारवाही गरिने चेतावनीसमेत दिइएको छ ।

  • पर्यटकलाई एक महिना फ्रि भिसा दिन पर्यटन व्यवसायीको माग

    पर्यटकलाई एक महिना फ्रि भिसा दिन पर्यटन व्यवसायीको माग

    काठमाडौं । पर्यटन व्यवसायीले भारतसँगको नाका खोल्दै विदेशी पर्यटकलाई एक महिनाको भिसा फ्रि गर्न माग गरेका छन् । यो प्रावधान सरकारले बजेटमा घोषणा गरेको छ । बिहीबार पर्यटन सम्बद्ध छाता संगठनका अध्यक्षहरुको बैठक बसी संयुक्त रुपमा व्यवसायीले यस्तो माग गरेका हुन् । कोरोना महामारीको समयमा सरकारको मापदण्ड पूर्ण रुपमा पालना गरेका व्यवसायीलाई महामारी कम हुँर्दै गएसँगै सरकारको साथ र सहयोग चाहिने भन्दै उनीहरुले यस्तो माग गरेका हुन् ।


    पर्यटन उद्योगीहरुका छाता संगठन नाट्टा, टान, हान, नारा, सोट्टो, एनटीभीए, टिबान, पाटा, नाटो, एनएमएसहितका संस्थाका अध्यक्ष तथा उपाध्यक्षको संयुक्त बैठकले विभिन्न पाँच बुँदे माग सरकारसँग राख्ने निर्णय गरेका हुन् । आफूहरुको माग पुरा नगरे व्यवसायीले अर्को साताबाट सडक आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् । व्यवसायीले कोभिड १९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टाइन नराखी ‘अनअराइभल भिसा’मानेपाल आउन दिने व्यवस्था तत्काल मिलाउनुपर्ने माग गरेका छन् ।

    यसका लागि भारतसँगको सीमानाका तत्काल खोल्नुपर्ने र नेपाल सरकारले घोषणा गरेको पर्यटकलाई एक महिनाको फ्री भिसा तुरुन्तै लागू गर्नुपर्ने माग व्यवसायीको छ । सीसीएमसीको सट्टा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई जिल्लाको कोभिड १९ परिस्थती अनुसार स्वास्थ्य मापदण्ड पालना गर्न लगाउनुपर्ने माग व्यवसायीको छ । सरकारले पर्यटन व्यवसायीहरुका माग तत्काल सम्बोधन नगरे पत्रकार सम्मेलन गरि अर्को हप्ताबाट कडा रुपमा सडक आन्दोलनमा जाने निर्णय समेत व्यवसायीले गरेका छन् ।

    पर्यटन क्षेत्र लगायत अन्य क्षेत्रहरुको माग सम्बोधनका लागि व्यवसायीहरुको छाता संस्था नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल चेम्बर अफ कमर्श (एनसीसी) रनेपाल उद्योग परिसंघ (सीएनआई)सँग सहकार्य गरेर अगाडि बढ्ने निर्णय व्यवसायीको छ ।

    अन्तर्राष्ट्रिय जगतमा ट्राभल एडभाइजरीमा नेपाललाई ‘रेड जोन’मा राखिएको हुँदा सो रेड जोन हटाउनका लागि नेपाल सरकारका नेपालमा पर्यटनकर्मीहरुलाई पूर्ण रुपमा कोभिड विरुद्धको खोप लगाइसकेको र कोभिड खोप लगाइसकेका पर्यटकलाई नेपालमा निर्वाध रुपमा आउन दिई क्वारेन्टाइन हटाइएको अन्तर्राष्ट्रिय मिडियामा प्रचारप्रसार गरेमात्र ट्राभल एडभाइजरी रेड जोनबाट सुरक्षित जोनका रुपमा विश्वबजारमा सुरक्षित रहने सन्देश जाने भएकाले सो को अविलम्ब व्यवस्था गर्नुपर्ने माग व्यवसायीको छ ।

  • इन्टरनेटको मूल्य बढाउने व्यवसायीको निर्णय

    इन्टरनेटको मूल्य बढाउने व्यवसायीको निर्णय

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पोलको भाडा बढाएको भन्दै इन्टरनेट सेवाप्रदायकहरूले उपभोक्ता मूल्य बढाउने निर्णय गरेका छन्।

    इन्टरनेट सेवाप्रदायकहरुको संस्था आइस्पानले इन्टरनेट सेवाको उपभोक्ता मूल्य बढाउने निर्णय गरेको अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए।

    नेपाल विद्युत प्राधिकरणले पोलको शुल्क तिर्न ताकेता गर्दै आएको थियो। तोकिएको मितिमा मूल्य नतिरे तार झारिदिने भन्दै चेतावनी दिएपछि इन्टरनेट सेवाप्रदायकहरूले मूल्य बढाउने निर्णय गरेका हुन्।

    प्राधिकरणले पहिला प्रतिपोल २५० रुपैयाँ लिने गरेको थियो। तर गत वर्ष प्रति किलोमिटरका दरले शुल्क लगाउने निर्णय गरेको थियो। यसो गर्दा प्रतिपोल ७५० रुपैयाँ पर्ने व्यवसायीहरूले बताएका छन्।

    ‘पहिलेको तुलनामा पाँच सय रुपैयाँ शुल्क बढेपछि हामीले सोहीअनुसार उपभोक्ता मूल्य बढाउने निर्णय गरेका हौँ’ पराजुलीले बिजनेस न्युजसँग भने। सहरी क्षेत्रमा प्रति महिना प्रति ग्राहक १५० र ग्रामीण क्षेत्रमा ३ सय रुपैयाँ बढाउने निर्णय गरिएको उनको भनाइ छ।

    तीन सय रुपैयाँसम्म मूल्य बढाउने निर्णय गरेर नेपाल दूरसञ्चार प्राधिकरणमा अनुमतिका लागि प्रक्रिया सुरु गरिएको आइस्पानका प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले जानकारी दिए।

    संस्थाले निर्णय गरेको र त्यसलाई कार्यान्वयनमा लिनका लागि प्रक्रिया सुरु गरिएको उनले बताए।

    केही दिन अघिमात्रै नेपाल विद्युत प्राधिकरणले असोज १५ गतेभित्र तोकिएको शुल्क तिरेर नवीकरण गर्न आउन व्यवसायीहरूका नाममा सूचना जारी गरेको थियो। यदि तोकिएको मितिमा नवीकरण गर्नेको तार काटिदिने प्राधिकरणले चेतावनी दिएको थियो।

    प्राधिकरणका विभिन्न कार्यालयहरूले यसअघि नै तार झार्न सुरु गरिसकेको पराजुलीले बताए। सेवा नै अवरुद्ध हुनुभन्दा मूल्य बढाउन उपयुक्त भएको पराजुलीको भनाइ छ।

    ‘ अहिले धेरैको मुख्य काम नै इन्टरनेटमा अडिएको छ। शिक्षादेखि कामसम्म इन्टरनेटबाटै हुन थालेको छ। हामीले प्राधिकरणसँग भिडेर बस्नुभन्दा मूल्य बढाउनु उपयुक्त ठान्यौँ’ उनले भने’ तर यो मूल्य बढ्नुको एकमात्र कारण विद्युत प्राधिकरणको निर्णय हो।’

  • थप १५११ जनामा कोरोना पुष्टी, १६८९ जना संक्रमण मुक्त

    थप १५११ जनामा कोरोना पुष्टी, १६८९ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार २०८ पीसीआर परीक्षण गर्दा ११६५ जना र ३९७१ एन्टिजेन परीक्षण गर्दा ३४६ गरी १५११ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८१ हजार ९८९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १६८९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४५ हजार २१५ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २५ हजार ७७२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ ।