Category: फिचर

  • विदेशबाट खोपको मात्रा पुरा गरि आउने यात्रुलाई नेपालमा सहज

    विदेशबाट खोपको मात्रा पुरा गरि आउने यात्रुलाई नेपालमा सहज

    काठमाडौं । विदेशबाट कोरोना विरुद्धको खोपको मात्रा पुरा गरि नेपाल आउने यात्रुलाई सहज भएको छ । कोरोना खोपको मात्रा पूरा गरेका हवाई यात्रु सीधै घर तथा गन्तव्यमा जान सक्ने गरि सरकारले आदेश जारी गरेके छ । विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ अनुसार कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरी खोप प्रमाणपत्र भएका र कोभिड १९ परीक्षण रिपोर्ट नेगेटिभ लिएर हवाई मार्गबाट आउने यात्रुलाई १० दिन स्वक्वारेन्टिनमा बस्ने गरी सीधै गन्तव्यस्थलमा जान दिइने भएको छ ।

    उनीहरुको अनुगमन स्थानीय सरकारले गर्नेछ । विदेशबाट आउने सबै यात्रुको साथमा ७२ घण्टा भित्रको पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएको रिपोर्ट भने हुनुपर्छ । विदेशमा खोप नलगाए पनि नेपाल आउने यात्रुले अब ७ दिन मात्र होटल क्वारेन्टिन बसे पुग्नेछ। यसअघि यो नियम १० दिनको थियो । यात्रुले पीसीआर रिपोर्टसहित कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेबसाइटमा रहेको फारम भरेको यकिन भएका आधारमा जहाज चढ्न सकिने भएको छ ।

    आफ्नो रीतिरिवाज अनुसार अन्तिम संस्कारमा भाग लिन आउने नेपाली यात्रुलाई स्थानीय तह वा सीसीएमसीको सिफारिशमा एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमा सीधै घर जान दिइने नीति समेत सरकारले लिएको छ । अशक्त, दीर्घरोगी, फरक क्षमता भएका व्यक्ति र बिरामीको कुरुवा (कम्तीमा दुई जना)लाई समेत अस्पतालको आधिकारिक कागजातका आधारमा एन्टिजेन परीक्षण गरी घर जान दिइने छ ।

    ७० वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र नाबालकका बुबाआमालाई समेत एन्टिजेन परीक्षण गरी घर जान दिइनेछ ।


    वैदेशिक रोजगारीबाट फर्कंदा होटल बुकिङ अनिवार्य नहुने
    होटल क्वारेन्टिनमा बसेको ७ औं दिनमा कोरोना परीक्षण गरी नेगेटिभ आएमा सीधै घर जान पाइने भएको छ । वैदेशिक रोजगारीमा गएका र करार अवधि सकिएर घर फर्कनेको हकमा भने अब होटल बुकिङ नभए पनि जहाज चढ्न सकिने प्रावधान ल्याइएको छ । तर, उनीहरु नेपाल आइसकेपछि भने सरकारले क्वारेन्टिन भनी तोकेका होटलमा बस्नुपर्नेछ । डिपोर्टेसन भएर फिर्ता भएका, जेलमुक्त भएर आएका बेखर्ची नेपालीलाई कूटनीतिक नियोगको सिफारिशमा सरकारी क्वारेन्टिनमा राखिनेछ । बस्ने, कोभिड परीक्षण गर्ने र घरसम्म पुग्ने खर्च सरकारले नै बेहोर्नेछ ।

  • नेपालमा थप २४४४ जनामा कोरोना संक्रमण पुष्टी, ३८५३ जना संक्रमणमुक्त

    नेपालमा थप २४४४ जनामा कोरोना संक्रमण पुष्टी, ३८५३ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४४४ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६६४८ पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २४४४ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३५ हजार १८८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३८५३ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ८८ हजार १८७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३७ हजार ९५० रहेको छ ।

  • उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थप, सार्वजनिक सवारी जोरबिजोरमा चल्ने

    उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थप, सार्वजनिक सवारी जोरबिजोरमा चल्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ ।

    सोमबार बिहान बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ।

    यससँगै भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। बैठकले भोलिदेखि २५ सीट क्षमताभन्दा ठूला सार्वजनिक गाडीहरु जोरबिजोरका आधारमा चल्न दिने निर्णय गरेको हो ।

    हाललाई २५ सीटभन्दा कम क्षमताका माइक्रोबस, ट्याम्पु लगायत सार्वजनिक सवारीसाधन भने चलाउन रोक लगाइएको छ । उपत्यकामा गतसातादेखि नै ट्याक्सी तथा निजी गाडी भने जोरबिजोर प्रणालीमा संचालन भइसकेका छन् ।

    सरकारले असार १७ गतेबाट आन्तरिक उडान खुला गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीले पनि गाडी चलाउन पाउनुपर्ने माग गरेका थिए ।

    कोभिड–१९ नियन्त्रणका लागि १६ वैशाखदेखि काठमाडौंमा निषेधाज्ञा जारी छ। पछिल्लो समय थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ।

    भोलिदेखि सात दिन अर्थात् २१ असारसम्म निषेधाज्ञा थपिएको हो। अब झन् खुकुलो पारिने भएको छ।

  • बंगलादेशमा आजबाट राष्ट्रब्यापी कडा लकडाउन, घर बाहिर निस्कन नपाइने

    बंगलादेशमा आजबाट राष्ट्रब्यापी कडा लकडाउन, घर बाहिर निस्कन नपाइने

    ढाका । नेपालको छिमेकी मुलुक बङ्लादेशमा आजबाट राष्ट्रव्यापी कडा लकडाउन सुरु भएको छ । एक सातासम्मका लागि तोकिएको यो लकडाउनमा अति आवश्यक काम नपरी घर बाहिर ननिस्कन सर्वसाधारणमा आह्वान गरिएको छ । लकडाउनको पूर्वसन्ध्यामा राजधानी ढाकाबाट ग्रामिण भेगमा जानेहरुको ठूलो भिडले सवारी साधन र सडक खचाखच भएको खबर आएका छन् । सरकारले सोमवारदेखि सात दिनसम्म बाङ्लादेशमा अत्यावश्यक काम बाहिर बाहिर निस्कन प्रतिवन्ध लगाएको हो ।

    बंगलादेशमा कोरोनाको लहर पुनः बढेको छ । अति संक्रामक मानिएको डेल्टा भेरियन्टको पुष्टी भएसँगै बंगलादेशले कडा लकडाउन घोषणा गरेको हो । बाङ्लादेशमा पछिल्लो लहर करिब छ साता हप्ता अगाडिबाट प्रारम्भ भएको हो । १५ मे मा त्यहाँ २६१ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको र २२ जनाको मृत्यु भएको तथ्यांक छ ।

    तर, पछिल्लो शुक्रबार यहाँ ५,८६९ जनामा सङ्क्रमण पुष्टि भएको छ । १०८ जनाको मृत्यु भएको छ । ढाकासहितका शहरमा अस्पतालमा बिरामी भरिभराउ रहेको बताइएको छ । खासगरी भारतसँग सीमा जोडिएका अस्पतालमा समस्या भयाभह बनेको छ । बंगलादेशमा एक साता सबै सरकारी सेवा समेत बन्द गरिएको छ ।

  • अमेरिका र कुवेतले ४ हजार भारतीयलाई फिर्ता पठाए

    अमेरिका र कुवेतले ४ हजार भारतीयलाई फिर्ता पठाए

    नयाँ दिल्ली । कोरोना महामारीका बीच अमेरिका र कुवेतले करीव ४ हजार भारतीय नागरिकलाई फिर्ता गरिदिएका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार अवैध रुपमा बसिरहेका र भिसा अवधी सकिएका विभिन्न उडानबाट ती मुलुकले भारतीय नागरिकलाई फिर्ता गरेको समाचारमा उल्लेख छ । भारतीय विदेश मन्त्रालयले महामारीका बीच भएको हवाई उडानबारे जानकारी गराएको एक विवरणमा यस्तो उल्लेख छ ।

    कतिपय भारतीयलाई स्पेशल उडान नै गरि फर्काइएको थियो । यस्तो उडानबाट फर्काइनेमा सजाय पुरा भुक्तान गरिसकेका नागरिक थिए । हिन्दुस्तान टाइम्सले छापेको यो रिर्पोटमा दुई मुलुकबाट मात्र ४ हजार भारतीय फिर्ता गरेको उल्लेख छ । अधिकतम उडान कुवेत सरकारले त्यहाँ रहेका गैरकानूनी रुपमा बसिरहेका भारतीयलाई पठाउन गरेको थियो । यसरी बस्नेमा भिसा सकिएपछि पनि अवैध रुपमा बस्ने भारतीय बढी थिए ।

    यसका लागि कुवेत सरकारले निशुल्क उडान गरेको थियो । समाचारमा जनाइए अनुसार यसरी फर्काइएका अधिकांश मजदूर थिए । उनीहरु अब नयाँ प्रक्रियाबाट भने पुनः कुवेत जान सक्नेछन् । तर, सम्बन्धित मुलुकमा विभिन्न अपराधमा सजाय पाएर देश निकालामा परेकाहरु भने पुनः सो मुलुक जान सक्ने छैनन् ।

  • उपत्यकामा निषेधाज्ञा थपिने, निर्णय आज हुँदै

    उपत्यकामा निषेधाज्ञा थपिने, निर्णय आज हुँदै

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । यद्दपी विभिन्न प्रावधानलाई अझै खुकुलो बनाउने तयारी रहेको छ । सम्भवतः अब सरकारले सार्वजनिक यातायातलाई समेत जोर विजोर प्रणालीमा चलाउन दिने छ । यसबारे निर्णय गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको छ । अन्तिम पटक थप भएको निषेधाज्ञाको अवधी मंगलबार सकिँदैछ ।

    आजको बैठकले निषेधाज्ञा कम्तिमा एक साता लम्ब्याएर स्वास्थ्य प्रोटोकल पालना गर्ने गरि केही क्षेत्रहरु अझ खुकुलो बनाउने तयारी गरेको छ । सरकारले अहिले बार अनुसार पसल खोल्न सकिने गरि तोकेको छ । निजी सवारी साधन जोर विजोर प्रणाली अनुसार चल्छन् ।

    नेपालमा लामो सयमदेखि कोरोना भाइरसको संक्रमण स्थीर छ । यसले जोखिम कायम रहेको निष्कर्षमा सरकार पुगेको छ । अहिले दैनिक औसतः ३ हजार माथिको संख्यामा संक्रमित देखिएका छन् । सरकारले असार १७ बाट चल्ने गरि आन्तरिक हवाइ उडान खोलेको छ । अन्तर्राष्ट्रियमा समेत उडान थपिएका छन् ।

  • एमाले नेता भुसालले संसद सचिवालयलाई भने : म स्वतन्त्र सांसदको हैसियतमा बस्न चाहन्छु

    एमाले नेता भुसालले संसद सचिवालयलाई भने : म स्वतन्त्र सांसदको हैसियतमा बस्न चाहन्छु

    काठमाडौं । एमाले नेता बेदुराम भुसालले आफु स्वतन्त्र सांसदको रुपमा बस्न चाहेको जानकारी संसद सचिवालयलाई गराएका छन् । उनी नेकपा विभाजन नहुँदै निर्वाचन भएकाले आफ्नो दल अहिले अस्तित्वमा नरहेको बताएका छन् । पार्टी विभाजन भएपछि एमाले र त्यसमा पनि माधव नेपाल पक्षमा रहेका उनी राष्ट्रियसभाका सदस्य हुन् ।

    भुसालले आइतबार संसद सचिवालयमा पत्र पठाएर स्वतन्त्र सांसदको हैसियतमा बस्न चाहेको र निर्वाचन समेत स्वतन्त्र रुपमा लड्ने बताएका हुन् । उनले आफ्नो पार्टी नै अहिले नरहेको भन्दै कुनै पनि पार्टीमा लेबी नकाट्न समेत सचिवालयलाई आग्रह गरेका छन् । माओवादी केन्द्र र एमालेको एकताबाट नेकपा बनेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनसहितका विवादका बीच सर्वोच्चले यो पार्टीको एकतालाई मान्यता दिएन ।

    सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएको उनले बताएका छन् । उनले पत्रमा नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा काम गरेको र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहने बताएका हुन् ।

  • अमेरिकामा गुड्दै गरेको जहाजबाट एक जना यात्रुले हाम फाले

    अमेरिकामा गुड्दै गरेको जहाजबाट एक जना यात्रुले हाम फाले

    लस एन्जलस । अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा गुड्दै गरेको विमानको ककपिटमा छिर्ने प्रयासपछि एकजना यात्रुले जहाजबाटै हाम फालेका छन्। ती पुरुषले विमानको ढोका खोल्दै आपतकालीन अवस्थामा प्रयोग गरिने चिप्लेटीको प्रयोग गरेर भाग्न खोजेको सङ्घीय उड्डयन प्रशासन (एफएए)लाई उदृत गर्दै बीबीसीले जनाएको छ । उनलाई विमानस्थलकै ट्याक्सी वेमा पक्राउ गरेर अस्पताल पुर्‍याइएको समेत समाचारमा उल्लेख छ ।

    बीबीसीले अमेरिकामा पछिल्लो समय उडानका बेला हुने घटना बढेको समेत बताएको छ । यो वर्ष मात्र झण्डै ३ हजारवटा यस्तो घटना भएका छन् । स्थानीय समय अनुसार साँझको सात बजेर १० मिनेट जाँदा साल्ट लेक सिटी जान लागेको युनाइटेड एक्सप्रेसको फ्लाइटमा उक्त घटना भएको हो । ट्याक्सी वेबाट धावनमार्गतर्फ जाने क्रममा चालक दलले ती यात्रु आफ्नो सिटबाट उठेको देखेका थिए।

    उनीहरूका अनुसार उनी आपतकालिन ढोकातर्फ लाग्नुभन्दा पहिले ककपिटको ढोकातर्फ अघि बढेको बताइएको छ । उनको हर्कतपछि विमानलाई आफ्नो गेटमा फर्काइएको थियो। अधिकारीहरूले ती यात्रुको नियत र घटनाबारे बुझ्न अनुसन्धान सुरु गरेको समाचारमा उल्लेख छ । सन् १९९५ यता यस्ता विवरण राख्न थालिएयता गत महिना सबैभन्दा धेरै कानुन तोड्ने सम्भावित घटनाहरू देखिएको एफएएको विवरणमा उल्लेख छ । पछिल्लो दिनमा धेरै घटना यात्रुले मास्क लगाउन नमान्नु हो ।

  • सुनसरीमा भयानक सडक दुर्घटना, तीन जनाको मृत्यु

    सुनसरीमा भयानक सडक दुर्घटना, तीन जनाको मृत्यु

    सुनसरी । सुनसरीमा भएको भयानक सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तिब्र गतिमा रहेको हायस माइक्रोले पिकअप भ्यान र मोटरसाइकललाई एक साथ ठक्कर दिएको प्रहरीले जनाएको छ । आइतबार बिहान ८ बजे कोशी गाउँपालिका वडा नम्बर ८ नङ्खु टोलस्थित पूर्वपश्चिम राजमार्गमा यो र्दुघटना भएको हो । प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घटनामा दुई जना घाइते छन् ।

    पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरीत दिशाबाट आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर वडा ७ का ४० वर्षीय अक्षय कुमार गुप्ता गम्भीर घाइते भएका थिए।

    उनीहरूको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा ज्यान गएको छ । दुर्घटनामा हायस चालक नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ का ३५ वर्षीय विवश तामाङ र हायसका सहचालक २५ वर्षीय नारायण बत्स्याल घाइते भएका छन् । उनीहरुको विराट नर्सिङ होममा उपचार जारी छ ।

  • यो वर्ष पनि रोपाइँ  महोत्सव नमनाइने

    यो वर्ष पनि रोपाइँ महोत्सव नमनाइने

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यो वर्ष पनि असार १५ मा पर्ने मनाईने धान दिवस तथा रोपाइँ महोत्सवमा औपचारिक कार्यक्रम नहुने भएको छ । कृषि विभागका अनुसार यस वर्ष हिलो खेल्न तथा मनोरञ्जनात्मक गतिविधिमा रोक लगाइएको हो । कोभिड १९ महामारी मापदण्ड २०७८ सार्वजनिक गर्दै विभागले सुरक्षित ढङ्गबाट रोपाइँ महोत्सव तथा धान दिवस मनाउन समेत सर्वसाधारणमा आह्वान गरेको छ ।

    विभागले सांस्कृतिक, परम्परागत तथा मनोरन्जनात्मक कार्यक्रम तथा हिलो खेल्ने काम नगर्न तथा कोभिड सुरक्षाको न्युनतम् स्वास्थ्य मापदण्ड पालना गर्न भनेको हो । महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणबाट सुरक्षित रहन, महोत्सव मनाउने ठाउँमा पनि थोरै संख्यामा मात्रै भेला हुन र सुरक्षाका सबै मापदण्ड पालना गर्न विभागले सर्वसाधारणसँग आग्रह गरेको हो ।

    सरकारले १५ असारमा वर्षेनी मनाउँदै आएको रोपाइँ महोत्सव यस वर्ष पनि सांकेतिक रुपमा मनाउने निर्णय गरेको हो । यो वर्ष पनि कृषि अनुसन्धान परिषद्को हातामा अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७८ मनाइने छ । गत वर्ष यसै गरि दिवस मनाइएको थियो । स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार न्युन सहभागितामा रोपाइँ गरिने र कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री बसन्त नेम्वाङ भने सहभागी हुनेछन् ।

  • सरकार र विश्व बैंकबीच १७ अर्ब ७८ करोडको वित्तीय सम्झौता

    सरकार र विश्व बैंकबीच १७ अर्ब ७८ करोडको वित्तीय सम्झौता

    काठमाडौं । नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड) नेपाली रुपैंयाँ बराबर सहुलियत ऋण सम्झौता भएको छ ।

    नेपाल सरकार र विश्व बैंकबिच कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी डलरको सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।

    आइतबार भएको सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

    अर्थ मन्त्रालयका सचिव ढुङ्गानाले यो सम्झौता अन्र्तगत प्राप्त हुने रकम कोभिड–१९ बाट प्रभावित भएको अर्थतन्त्रलाई पुनर्जिवन दिन, आर्थिक गतिविधिलाई तिव्रता दिन र हरित वृद्धिलाई सहयोग गर्नेगरी कार्यक्रम सञ्चालन गरिने बताए ।

    चालु आर्थिक वर्षमै विनियोजन गरिएका पूर्वाधार निर्माण तर्फको खर्चको लागि यो रकम यसै आर्थिक वर्षभित्र परिचालन हुने पनि उनले बताए ।

    कार्यक्रममा माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले यस आयोजनाले कोभिड–१९ को महामारीका बेला र महामारी पछि पनि नेपालमा दीगो वृद्धि हासिल गर्न सहयोग गर्ने बताए ।

    कोभिड महामारीको समयमा मानिसको जीवन रक्षा तथा अर्थ व्यवस्थाको पुनरुत्थान गर्नका लागि सरकारले ल्याएका कार्यक्रमहरुलाई सघाउन विश्व बैंक प्रतिबद्ध रहेको पनि उनले बताए ।

    यस आयोजनाले रोजगारी सिर्जना गर्ने, बजारलाई गतिशिल बनाउने र हरित पुनरुत्थानलाई सहयोग गर्ने प्रकृतिका चालु ठूला आकारका विकास आयोजनालाई गति दिन मद्दत गर्ने बताइएको छ ।

  • ओलीलाई अर्को झड्का, कार्कीलाई राजदूत नियुक्त्ति नगर्न सर्वोच्चको अन्तरिम आदेश

    ओलीलाई अर्को झड्का, कार्कीलाई राजदूत नियुक्त्ति नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले सरकारले बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गरेको सिफारिस कार्यान्वयन नगर्न आदेश दिएको छ ।

    न्यायाधीशद्धय सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको इजलासले राजदूतको योग्यतासम्बन्धी परेको रिट निवेदनमा स्नातक नगरेको व्यक्तिलाई राजदूत नियुक्त नगर्न अन्तरिम आदेश दिएको हो ।

    मन्त्रिपरिषदले वैशाख २५ गतेको बैठकमा कार्कीलाई बहराइनको आवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय थियो। त्यसविरुद्ध अधिवक्ता दिपकविक्रम मिश्रले सर्वोच्च अदालतमा रिट दिएका थिए।

    त्यही रिटमाथि सुनुवाइ गर्दै मल्ल र ढुङ्गानाको इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म राजदुत नियुक्तिको निर्णय कार्यान्वयन नगर्ननगराउन अन्तरिम आदेश जारी गरेको हो।

    पछिल्लो समय आफ्नै निर्णयका कारण कामचालाउ प्रधानमन्त्री केपी ओलीलाई एकपछि अर्को झड्का लाग्ने क्रम जारी छ। आइतबार उनलाई फेरि अर्को झड्का लागेको हो ।

  • नेपालमा थप १९२० जनामा कोरोना संक्रमण पुष्टी, ३००७ जना संक्रमणमुक्त

    नेपालमा थप १९२० जनामा कोरोना संक्रमण पुष्टी, ३००७ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९२० जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६००० पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनाको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३३ हजार ६७९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३००७ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३३४ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ४० हजार ३३६ रहेको छ ।

  • बैंक चम्किँदा नेपाली सेयर बजारमा दोहोरो अंकको कमब्याक

    बैंक चम्किँदा नेपाली सेयर बजारमा दोहोरो अंकको कमब्याक

    काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । पछिल्लो दुई सातामा करिब २०० अंकले घटेको बजार आज २७ अंकले बढेको हो ।

    सूचकमा सुधार आए पनि कारोबार रकम भने घट्दो क्रममा रहेको छ । गतसाता औसतमा दैनिक १० अर्ब कारोबार हुँदै आएकोमा आज घटेर ७ अर्बमा सीमित भएको छ ।

    सेयर बजार मापक सूचक नेप्से २७.१७ अंकले बढेर नेप्से २८७०.१८ विन्दुमा पुगेको छ । आज २२७ कम्पनीको ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँ बराबरको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये ८ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.७६ प्रतिशतले बढेको छ भने बैंकिङ समूह पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज कारोबारमा आएका २२७ कम्पनीमध्ये १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४१ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा सेञ्चुरी कमर्शियल बैंकको ३७ करोड र नेपाल पुनर्बीमा कम्पनीको ३४ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सेञ्चुरी कमर्शियल बैंक र माथिल्लो तामाकोशीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

    यस्तै, आज युनाइटेड इदी मार्दी हाइड्रोपावर ७.२५ प्रतिशत, रिडी हाइड्रोपावर ६.२५, सिभिल बैंक ६.०९, नेशनल हाइड्रोपावर र बुटवल पावर कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरै बढेको छ ।

    बढ्दो बजारमा आज गोर्खा फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.३७ प्रतिशत गुमाएका छन् ।

  • स्वास्थ्य प्रोटोकल बिर्सिएर महिला सहकर्मीलाई चुम्बन गरेका बेलायती स्वास्थ्यमन्त्रीद्धारा राजिनामा

    स्वास्थ्य प्रोटोकल बिर्सिएर महिला सहकर्मीलाई चुम्बन गरेका बेलायती स्वास्थ्यमन्त्रीद्धारा राजिनामा

    लण्डन । बेलायतमा स्वास्थ्य प्रोटोकल यति कडा छ की त्यहाँ कुनै पनि ओहदाका मानिसले यसको उल्लंघन गर्न पाउदैनन् । हरेक दिन टेलिभिजनमा जनतालाई स्वास्थ्य प्रोटोकलबारे जानकारी गराउने स्वास्थ्य मन्त्रीले नै प्रोटोकल तोडेपछि अन्ततः उनले राजिनामा दिनु परेको छ । बेलायती संचारमाध्यमहरुका अनुसार बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा गरेका छन् ।

    कोरोनाभाइरस नियन्त्रण गर्न बनाइएको प्रोटोकल तोड्दै उनले एक महिला सहयोगीलाई अँगालो हालेको र चुम्बन गरेपछि उनी आलोचित बनेका हुन् । ती महिलाले समेत राजिनामा गरेकी छिन् । ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा बुझाएका छन् । उनी केही महिना अगाडी मात्र मन्त्री बनेका थिए ।

    उनले स्वास्थ्य प्रोटोकल तोडेको तस्वीर द सन पत्रिकामा शुक्रबार छापिएको थियो । ४२ वर्षिय उनले आफुबाट गल्ती भएको स्वीकार गर्दै राजिनामा गरेका हुन् । उनको स्थानमा प्रधानमन्त्री जोनसनले साजिद जावेदलाई नयाँ स्वास्थ्य मन्त्री तोक्दैछन् । बेलायतमा ४७ लाख १७ हजार मानिसमा संक्रमण पुष्टी भइसकेको छ । १ लाख २८ हजार जनाको मृत्यु भएको छ ।

  • भारतको कानपुरमा राष्ट्रपतिको सवारीमा फसेको एम्बुलेन्समा बिरामीको मृत्यु, तीन प्रहरी निलम्बन

    भारतको कानपुरमा राष्ट्रपतिको सवारीमा फसेको एम्बुलेन्समा बिरामीको मृत्यु, तीन प्रहरी निलम्बन

    कानपुर । भारतको कानपुरमा राष्ट्रपति रामनाथ कोविंदको सवारी भइरहेका बेला रोकिएको ट्राफिकमा फसेर एक महिलाको ज्यान गएको विषयले भारतमा ठूलो बहस सिर्जना गरेको छ । उच्च सुरक्षा चूनौति रहेको भारतमा भीभीआइपी सवारीका बेला लामो समयदेखि ट्राफिक रोक्ने चलन छ । शुक्रबार कानपुर यात्रामा निस्किएका राष्ट्रपतिका कारण सडकमै एक महिलाको ज्यान गएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार यो घटनामा उत्तर प्रदेश पुलिसले माफ मागेको छ ।

    साथै ड्यूटीमा खटिएका तीन प्रहरी निलम्बनमा परेका छन् । उनीहरुविरुद्ध आवश्यकता भन्दा बढी समेत यातायात रोकेको आरोप लगाइएको छ । पुलिस आयुक्त तथा जिल्लाधिकारीले महिलाको अन्तिम संस्कारमा पुगि राष्ट्रपतिको सन्देश परिवारलाई सुनाएका थिए ।

    मृत्यु हुने महिला वन्दना मिश्रा इन्डियन एसोसिएशन अफ इन्डस्ट्रीज कानपुर च्याप्टरकी महिला विभाग प्रमुख हुन् । सो कारण समेत यो घटना बढी प्राथमिकता पाएको हो । कानपुर पुलिस कमिश्नरको कार्यालयले ट्वीट गर्दै राष्ट्रपतिले यो घटनामा दुखः व्यक्त गरेको बताएको छ । राष्ट्रपति तीन दिने भ्रमणका क्रममा उत्तर प्रदेश पगेका हुन् । कानपुर उनको गृहक्षेत्र समेत हो ।

  • अन्तरिक्षमा व्यवसायीक उडान गर्न थप एक  कम्पनीलाई अनुमति

    अन्तरिक्षमा व्यवसायीक उडान गर्न थप एक कम्पनीलाई अनुमति

    काठमाडौं । अन्तरिक्षमा भाडा लिएर यात्रुलाई व्यवसायीक उडान गर्न थप एक कम्पनीले अनुमति पाएको छ । अमेरिकी सङ्घीय उड्डयन प्रशासन एफएएले सर रिचर्ड ब्रानसनको कम्पनी भर्जिन गलाक्टिकको रकेट विमानलाई पैसा लिएर अन्तरिक्षसम्म यात्रु उडाउन अनुमति दिएको बीबीसीले लेखेको छ । यसअघि अन्तरिक्षसम्म विमानको परीक्षण उडान गर्न दिइएको अनुमतिलाई शुक्रवार अद्यावधिक गरिएको छ ।

    यी व्यवसायी बेलायती हुन् । उनको कम्पनीबाट पृथ्वीबाट ९० किलोमिटर टाढा यात्रा गरेर अन्तरिक्षको छेउमा पुग्न ६०० यात्रुले पैसा बुझाइसकेको बताइएको छ । तिनीहरू धनाढ्य र चलचित्र एवम् सङ्गीतका चर्चित अनुहार छन् । भर्जिन गलक्टिकले अमेरिकाको न्यू मेक्सिको मरुभूमिमा रहेको स्पेसपोर्टबाट उडान भर्ने भएको हो । मे २२ मा युनिटी नामक रकेट विमानको सफल परीक्षण गरेपछि एफएएले सो अनुमति दिएको बीबीसीले जनाएको छ ।

    सो परीक्षण उडानको तथ्याङ्कले आवश्यक सबै प्राविधिक विकासहरू गरिएको देखाएको बताइएको छ। युनिटी रकेट विमानमा दुई चालक र छ यात्रु रहनेछन् । भर्जिन गलाक्टिकको केही उडान इटलीको सेनाले समेत बुक गरेको छ । जुलाई ४ मा सर रिचर्ड अन्तरिक्ष उडानमा जाने तयारी छ । अमेजनका मालिक जेफ बेजोस समेत आफ्नो कम्पनीबाट अन्तरिक्षमा जान तय गरिसकेका छन् ।

  • लडाई केपी ओलीविरुद्ध होइन, ओली प्रवृत्तिविरुद्ध हो : विपक्षी दल

    लडाई केपी ओलीविरुद्ध होइन, ओली प्रवृत्तिविरुद्ध हो : विपक्षी दल

    काठमाडौं । विपक्षी दलका नेताहरुले वर्तमान लडाई केपी ओली व्यक्तिविरुद्ध नभई त्यस प्रकारको प्रवृत्ति विरुद्ध भएको बताएका छन । शनिबार विपक्षी दलका नेताहरुले पत्रकार सम्मेलन गर्दै यस्तो प्रतिक्रिया दिएका छन् । सो अवसरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विद्यादेवी भण्डारीले राष्ट्रपतिभन्दा बढी प्रधानमन्त्री केपी ओलीको दलीय कार्यकर्ता भएर काम गरेको आरोप लगाए । संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा देउवाले संसद्को कुनै पनि सदस्यले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरे प्रधानमन्त्री नियुक्त गर्नुपर्ने राष्ट्रपतिको कर्तव्य भएको उल्लेख गरे । संविधानको अन्तिम व्याख्या अदालतले मात्र गर्न सक्ने भन्दै उनले अदालतले संविधानको व्याख्या मात्र नभई रक्षा समेत गर्ने विश्वास व्यक्त गरे ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रजातान्त्रिक छलफल नै मन नपराउने व्यक्ति भएको बताए । ओलीकै कारण नेकपामा पार्टीभित्र अन्तर सङ्घर्ष चर्किएको उनले बताए । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूको लडाइ केपी ओली व्यक्तिसँग नभएको स्पष्ट पारे । उनले केपी ओली प्रवृत्ति विरुद्ध लडाई भएको बताए ।

    पत्रकार सम्मेलनमा नेताहरुले आफुहरु एक रहेको स्पष्ट संकेत गरे । ओलीले चाल्ने कुनै पनि षडयन्त्रले यो गठबन्धन प्रभावित नहुने उनीहरुको सन्देश थियो । संसद विघटन विरुद्धको मुद्दा अहिले अदालतमा विचाराधिन अवस्थामा रहेको छ । देउवालाई सबै दलको सहमतिमै प्रधानमन्त्रीको प्रस्ताव गरिएको भन्दै नेताहरुले यो संविधानको रक्षाका लागि महत्वपूर्ण रहेको बताए ।

  • कोरोनाबाट थप ३० जनाको मृत्यु

    कोरोनाबाट थप ३० जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८९७५ पुगेको छ । यो कुल संक्रमणको तुलनामा १.५ प्रतिशत हो । नेपालमा ६ लाख ३२ हजार मानिसमा कोरोना पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । ४ घण्टाको अवधीमा कुल ४९१४ जनाले कोरोना जित्न सफल भएका छन् । अब निको हुनेको संख्या ५ लाख ८१ हजार ३ सय २७ पुगेको छ । यो कुल संक्रमितको तुलनामा ९१.९ प्रतिशत हो ।

  • साढे ९ हजार परीक्षणबाट २०१६ मा कोरोना पुष्टी, ४९१४ ले जिते

    साढे ९ हजार परीक्षणबाट २०१६ मा कोरोना पुष्टी, ४९१४ ले जिते

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर कुल साढे ९ हजार मानिसको कोरोना परीक्षण भएको थियो । नेपालमा अहिलेसम्म ६ लाख ३२ हजार मानिसमा कोरोना पुष्टी भएको छ । २४ घण्टाको अवधीमा कुल ४९१४ जनाले कोरोना जित्न सफल भएका छन् । अब निको हुनेको संख्या ५ लाख ८१ हजार ३ सय २७ पुगेको छ । यो कुल संक्रमितको तुलनामा ९१.९ प्रतिशत हो ।

  • राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको परीक्षण शुरु

    राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको परीक्षण शुरु

    काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको परीक्षण शुरु भएको छ । परीक्षण उत्पादन थालिएसँगै प्रसारण लाइन व्यवस्थापनको काम थालिएको आयोजनाले जनाएको छ । तामाकोशी करिडोरबाट आउने बिजुली अब खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिनेछ । खिम्तीको सबस्टेशनमार्फत तामाकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिने भएपछि यसको परीक्षणका क्रममा विजुली प्रभावित हुनेछ ।

    खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन यही असार १३ गतेदेखि १९ गतेसम्म बन्द गरेर अपर तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्न लागिएको छ । ‘यो काम गर्दा ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेसनमा विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको विद्युत् कटौती हुने भएको हो । यसको प्रभाव काठमाडौंसम्म देखिने छ ।

  • शनिबार देशभर ठूलो वर्षाको सम्भावना, सचेत रहन आह्वान

    शनिबार देशभर ठूलो वर्षाको सम्भावना, सचेत रहन आह्वान

    काठमाडौं । शनिबार देशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेकाले सचेत रहने मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ । प्रदेश१, प्रदेश २ र काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ । काठमाडौंमा भने भिषण वर्षा जारी छ । दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाई छ । दिउँसो र राति प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ । आगामी तीन दिनसम्म नै देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी समेत पर्ने सम्भावना रहेको बताइएको छ ।

    पहाडी भू–भागमा पहिरो तथा नदीमा पानीको बहाव बढ्ने भएकाले बाढीको जोखिम हुने भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झापाको चन्द्रगढी विमानस्थल आसपासमा धेरै पानी परेको र थप पानी पर्ने सम्भावना रहेको छ । चन्द्रगढी विमानस्थलमा रहेको वर्षामापन केन्द्रको विवरण अनुसार पछिल्लो १२ घण्टामा झण्डै एक सय ५२ मिलीमिटर पानी परिसकेको छ । अझै पानी पर्ने सम्भावना रहेको शाखाको विवरणमा उल्लेख छ ।

  • कोलम्बियाका राष्ट्रपति चढेको हेलिकोप्टरमा बन्दुक आक्रमण

    कोलम्बियाका राष्ट्रपति चढेको हेलिकोप्टरमा बन्दुक आक्रमण

    काठमाडौं\एजेन्सी । कोलम्बियाका राष्ट्रपति इवान ड्यूक चढेको हेलिकोप्टरमा बन्दुकबाट आक्रमण भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार भेनेजुएलासँगको सीमाना नजिक उडिरहेको समयमा उनी सवार हेलिकोप्टरलाई लक्षित गरि गोली चलाइएको छ । हेलिकोप्टरमा राष्ट्रपति ड्यूकसहित रक्षामन्त्री, आन्तरिक मामला मन्त्रीसमेत सँगै थिए ।

    राष्ट्रपतिका प्रवक्ताले घटनामा मानवीय क्षति भने नभएको जानकारी गराएका छन् । राष्ट्रपति इवान ड्यूकले घटनाको निन्दा गरेका छन् । उनले आफु आतंकवादी हमलाबाट नडराउने समेत प्रतिक्रिया दिएको समाचारमा उल्लेख छ । कोलम्बिया यस्ता हमलाको सामना गर्न निकै शक्तिशाली रहेको उनको भनाई छ । उनले घटनाबारे जाँचको आदेश दिएको समेत बताइएको छ ।

    हेलिकोप्टर जमिनभन्दा थोरै मात्र माथि थियो । सवार मानिसहरुले हेलिकोप्टरको इन्जिनमा कुनै वस्तु ठोक्किएको जस्तै महसुश गरेको समाचारमा उल्लेख छ । जुन क्षेत्रमा राष्ट्रपतिमाथि हमला भयो, त्यहाँ बामपन्थी विद्रोही समूहहरु सक्रिय रहेको बताइएको छ ।

  • अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या गर्ने प्रहरी अधिकारीलाई साढे २२ वर्ष जेल

    अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या गर्ने प्रहरी अधिकारीलाई साढे २२ वर्ष जेल

    मिनेपोलिस । अमेरिकामा एक वर्ष अगाडी अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या प्रमाणित भएसँगै एक प्रहरी अधिकारीलाई अदालतले साढे २२ वर्ष जेल सजाय सुनाएको छ । अफ्रीकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या गरेको प्रमाणित भएसँगै पूर्व पुलिस अधिकारी डेरेक शोविनलाई यस्तो सजाय सुनाइएको हो । हत्यामा दोषि सावित भएका उनलाई न्यायाधीशले पूर्वपुलिस अधिकारी डेरेक शोविनले आफ्नो पद र अधिकारको गलत प्रयोग गरेको बताए ।

    साथै उनले जर्जमाथि क्रुर व्यवहार देखाएको समेत न्यायधिशले बताएको बीबीसीले जनाएको छ । गतसाल मेमा मिनेपोलिसमा निहत्था अश्वेत नागरिक फ्लोयडको घाँटीमा ९ मिनेटसम्म आफ्नो घुँडा राखेका थिए । यसले उनलाई चरम यातना दिई मारिएको थियो । उनले ९ मिनेट घुँडा घाँटीमा राखेको केही मिनेट पछि नै उनको ज्यान गएको हो । यो घटनालाई प्रत्यक्षदर्शीले भिडियोमा कैद गरेका कारण उनको वास्तविकता खुलेको हो ।

    यो घटनापछि अमेरिकामा अश्वेत नागरिकहरुमाथि हुने विभेदबारे कडा आलोचना भएको थियो । अमेरिकी जूरीले अप्रिलमा प्रहरी अधिकारी शोविनमाथि दोस्रो डिग्रीको हत्या र अन्य कैयौं मुद्दामा दोषि ठहर गरेको थियो । शोविनका वकिलले भने उनको मनसाय हत्याको नभएको बताएका थिए । यसलाई उनीहरुले एक दुर्घटनाका रुपमा बचाउ गरेका थिए ।

    उनीसँगै अन्य तीन पूर्व पुलिस अधिकारीविरुद्ध समेत नागरिक अधिकारको उल्लंघनको आरोपमा दोषि ठहर गरिएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले फैसलाको स्वागत गरेका छन् । जर्जका परिवारले समेत फैसलाको स्वागत गरेका छन् । मुद्दा दर्ता गर्ने समयमा भने फ्लोयडका भाई टेरेस फ्लोयडले अधिकतम ४० वर्ष सजायको माग गरेका थिए ।

  • बाढी-पहिरो प्रभावित क्षेत्रमा खोप लगाउन प्राथमिकता दिइने

    बाढी-पहिरो प्रभावित क्षेत्रमा खोप लगाउन प्राथमिकता दिइने

    काठमाडौं । नेपालको बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा कोरोना विरुद्धको खोप लगाउन प्राथमिकता दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस्तो तयार गरेको हो । बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने मन्त्रालयले गरेको छ ।

    नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गरेका हुन् । उनले छिट्टै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए । कोभिड–१९ विरुद्धको खोपका बारेमा हल्ला भन्दा काम गरेर देखाउने उनको प्रतिवद्धता रहेको छ । उनले खोप ल्याउन विभिन्न मुलुकसँग छलफल भइरहेको जानकारी दिए ।

    उनले कोभिड–१९ को तेस्रो लहरका लागि अहिलेदेखि नै सरकारले तयारी थालेको समेत जनाए । सो अवसरमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आगामी असोज मसान्तभित्र ३३ प्रतिशतलाई खोप दिनसके सङ्क्रमण नियन्त्रणको नजिकमा पुगिने बताए । उनले एक करोड १० लाख खोप किन्ने प्रक्रिया शुरु गरिएको जानकारी दिए ।

  • चीनको एक मार्सल आर्ट्स स्कुलमा आगलागी, कम्तिमा १८ विद्यार्थीको मृत्यु

    चीनको एक मार्सल आर्ट्स स्कुलमा आगलागी, कम्तिमा १८ विद्यार्थीको मृत्यु

    काठमाडौं\एजेन्सी । चीनको एक मार्सल आर्ट्स स्कुलमा आगलागी भएको छ । घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएको स्थानीय सञ्चार माध्यमहरूलाई उदृत गर्दै बीबीसीले जनाएको छ । हताहत हुनेमा अधिकांश सातदेखि १६ वर्षका बालबालिका छन् । उनीहरू खअनान प्रान्तको झङ्सीङ्ग मार्सल आर्ट्स सेन्टरका आवासीय विद्यार्थी थिए।

    शुक्रवार बिहानै भएको आगलागीलाई केही क्षणमै नियन्त्रणको प्रयास भएपनि ठूलो मानवीय क्षति भएको हो । घटनाको कारणबारे खुलिसकेको छैन । झङ्छेङ्ग काउन्टी सरकारले आफ्नो आधिकारिक वीच्याट च्यानलमा दिएको संक्षिप्त विज्ञप्तिमा उक्त मार्सल आर्ट्स सेन्टरका एक अधिकारीलाई पक्राउ समेत गरिएको छ । शुक्रवार बिहान ३ बजे आगलागी हुँदा आवासीय विद्यालयमा ३४ जना विद्यार्थी थिए। घाइते विद्यार्थीहरूलाई तत्काल अस्पताल पुर्याइएको छ ।

  • नेपालमा थप २४७६ जनामा कोरोना संक्रमण पुष्टी, ५४५५ जना संक्रमणमुक्त

    नेपालमा थप २४७६ जनामा कोरोना संक्रमण पुष्टी, ५४५५ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४७६ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९५८६ पीसीआर परीक्षणमा १७२१ र ४७६५ जनाको एन्टिजेन परीक्षणमा ६५५ जना गरी २४७६ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५४५५ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ७६ हजार ४१३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।

  • चिनियाँ खोप भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि लगाइने

    चिनियाँ खोप भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि लगाइने

    काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ।

    भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई असार २२ गते (शनिबार) देखि दोस्रो डाज लगाइने स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    जसअन्तर्गत गत जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर भेरोसेलको पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो डोज दिइनेछ।

    बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त सुचना दिएको हो। खोप लगाउनका लागि यसअघि खोप लगाउँदाको कार्ड अनिवार्य ल्याउनुपर्ने उक्त विज्ञप्तीमा उल्लेख छ।

    विगत खोप अभियानको अनुभव र आवश्यकताको आधारमा खोपकेन्द्र र जनशक्ति परिचालनको व्यवस्था गरी सकेसम्म छोटो अवधिमा अभियान सम्पन्न गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन समेत दिईसकेको मन्त्रालयले जनाएको छ ।

  • आइतबारदेखि तीन दिन श्रम स्वीकृति लिन सकिने, कुन कुन बार ?

    आइतबारदेखि तीन दिन श्रम स्वीकृति लिन सकिने, कुन कुन बार ?

    काठमाडौं । वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले अब हप्तामा तीन दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

    कोरोना महामारीको कारण यसअघि आइतबार र बुधबार श्रम स्वीकृति प्रदान गरिँदै आएको भए पनि आउँदो आइतबारदेखि हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार सेवा प्रदान गर्ने कार्यालयले जनाएको छ ।

    व्यक्तिगत श्रम स्वीकृतितर्फ यसअघि बायोमेट्रिक भएका र अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्नेहरुलाई अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था कायमै रहेको कार्यालयले जनाएको छ ।

    बायोमेट्रिक नभएका र व्यक्ति स्वयं उपस्थित हुनैपर्नेबाहेक अन्य व्यक्तिहरूलाई भौतिक उपस्थितिमार्फत सेवा प्रदान नगरिने हुँदा कार्यालयमा उपस्थित भई अनावश्यक भिडभाड नगरिदिन कार्यालयले अनुरोध पनि गरेको छ ।

    अन्य सेवाहरुको लागि भने न्यून संख्यामा कर्मचारी तथा सेवाग्राही उपस्थित हुनेगरी आइतबार, मंगलबार र बिहीबार (सार्वजनिक विदाबाहेक) कार्यालय संचालन गर्नेछ ।

  • कोरोनाबाट राष्ट्रगानका गायक अजय थापाको निधन

    कोरोनाबाट राष्ट्रगानका गायक अजय थापाको निधन

    काठमाडौं । नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको कोरोना संक्रमणबाट निधन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार कोरोना सङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।

    भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः०० बजे उनको निधन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए । उनका पत्नी राधा थापासमेत कोरोना सङ्क्रमण भएर सोही हस्पिटलमा उपचाररत छिन् । उनका दुई छोरी र एक छोरा अमेरिकामा छन् ।

    छोरीहरु बिहीबार काठमाण्डु आइपुगेको र छोरा शनिबार आइपुग्ने उनका छिमेकी तथा पत्रकार सचिन सुब्बा याक्सोले बताए ।

    विसं २०६२/६३ को जनआन्दोलन सफल भएपछि ब्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो । यसलाई नेपालको संविधान २०७२ मा राखिएको छ ।