Category: फिचर

  • अमेरिकामा मध्यरातमा १२  तले घर भत्किँदा कम्तिमा ९९ जना मानिस वेपत्ता

    अमेरिकामा मध्यरातमा १२ तले घर भत्किँदा कम्तिमा ९९ जना मानिस वेपत्ता

    मायामी । संयुक्त राज्य अमेरिकामा एउटा १२ तले भवन बिहीवार मध्यरातमा भत्किँदा कम्तिमा ९९ जना मानिस बेपत्ता भएका छन्। बीबीसीका अनुसार एक जनाको मृत्यु भएको पुष्टि भएको छ । धेरै जना भग्नावशेषभित्र पुरिएको आंशका छ । हराएकामा कैयौँ ल्याटिन अमेरिकी आप्रवासी रहेको बताइएको छ । यो घटना मायामीमा भएको हो । त्यहाँका मेयरले सङ्घीय सरकारसँग सहयोग गर्न आह्वान गरेका छन् ।

    भवन भत्किनुको कारण प्रस्ट भएको छैन तर सुरक्षा प्रमाणीकरणका लागि त्यहाँ पुनर्निर्माणको काम भइरहेको बताइएको छ । मायामी डेडकी मेयर डेनीयला लेभिन काभाका अनुसार हालसम्म १ सय २ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिइन्। सर्फसाइडमा रहेको उक्त भवन सन् १९८० मा बनेको थियो। खोजीकार्य जारी रहँदा सानो आगलागी समेत भएको थियो । त्यसलाई २० मिनेट भित्रै नियन्त्रणमा लिइएको स्थानीय अग्नि नियन्त्रण प्रमुखले बताएका छन्।

    फ्लोरिडाका गर्भनरले घटनास्थलमा पुगेर उद्धारको काम अझै जारी रहेको र त्यति ठूलो संरचना ढलेको देख्नु पीडादायी रहेको बताएको बीबीसीले लेखेको छ । उद्धारकर्ताहरूले क्रेनहरूको प्रयोग गरी नजिकै रहेका अपार्टमेन्टमा बसिरहेका मानिसहरूको उद्धार गर्ने प्रयास गरिरहेका छन् । भवन भत्किए पछिको अवस्था देखेका एक व्यक्तिले सीएनएन समाचार संस्थासँग सन् २००१ मा न्यूयोर्कमा दुई वटा टावरमा गरिएको आक्रमणसँग तुलना गर्दै त्यहाँ ९\११ कै घटना जस्तो देखिएको बताएका छन् ।

  • माओवादीबाट चुनाव जितेका १४ जनप्रतिनिधि एमाले बनेसँगै पद खारेज

    माओवादीबाट चुनाव जितेका १४ जनप्रतिनिधि एमाले बनेसँगै पद खारेज

    काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका देशभरका दुई मेयर, पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद खारेज भएको छ । निर्वाचन आयोगले शुक्रबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो । माओवादी केन्द्रले पार्टीबाट २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले दल त्याग गरेकोले कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएसँगै आयोगले उनीहरुको पद खारेज गरिदिएको हो ।

    निर्वाचन आयोगका अनुसार रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहाको पद रिक्त भएको छ। रीनाकुमारी एमाले नेता प्रभु साहकी श्रीमती हुन्। प्रभु साह माओवादी छाडेर एमालेमा गएसँगै उनको समेत सांसद पद खारेज भएको छ । सरकारबाट समेत प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएपछि उनी अहिले मन्त्री पनि छैनन् ।

    रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटाको पद समेत गएको छ । महोत्तरी साम्सी गाउँपालिका प्रमुख शेष फारूक, रौतहट यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको पद पनि रिक्त भएको छ ।

  • आजबाट पुनः लगातार तीन दिन वर्षा

    आजबाट पुनः लगातार तीन दिन वर्षा

    काठमाडौं । नेपालमा आजबाट लगातार तीन दिन वर्षा हुने भएको छ । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज सूचना जारी गरि यसबारे जानकारी गराएको हो । नेपालको दक्षिण भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको प्रभावले पानी पारेको हो ।

    यसको प्रभावले आज देशका अधिकांश भूभागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा जारी छ । पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घन्टामा प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

    ती प्रदेशको पहाडी भू भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले चेतावनी महाशाखाले दिएको छ ।

  • राष्ट्रिय सभाको अधिवेशन असार १९ गतेका लागि आह्वान

    राष्ट्रिय सभाको अधिवेशन असार १९ गतेका लागि आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपतिको कार्यालयका अनुसार संविधानको धारा ९३ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को १० असारको सिफारिसबाट १९ असारमा बस्ने गरि राष्ट्रिय सभाको अधिवेशन आह्वान भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा भने गत जेठमा विघटन गरिएको छ । त्यससँगै परेको मुद्दा भने सर्वोच्चमा सुनुवाइ जारी छ । प्रतिनिधिसभा नभएको अवस्थामा समेत राष्ट्रिय सभा भने जिवित रहन्छ ।

  • एक मन्त्रीको भागमा ५ मन्त्रालय राख्दै तोकियो जिम्मेवारी

    एक मन्त्रीको भागमा ५ मन्त्रालय राख्दै तोकियो जिम्मेवारी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् । आफुले रक्षा र परराष्ट्र मन्त्रालय राख्दै अन्य मन्त्रालय भने ४ जना मन्त्रीले हेर्ने गरि जिम्मेवारी तोकेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उपप्रधानमन्त्री विष्णु पौडेलले अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालय हेर्नेछन् । मन्त्री कृष्णगोपाल श्रेष्ठले वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको कार्यालयको सूचनामा उल्लेख छ ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि अब मन्त्रिपरिषद्मा मात्र ५ सदस्य बाँकि छन् । प्रधानमन्त्रीले जेठ २१ मा एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाउँदै उपप्रधानमन्त्रीसहित १० मन्त्री र दुई राज्यमन्त्री थपेका थिए । २७ जेठमा सात मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषदलाई २५ सदस्यीय बनाएका हुनेको मन्त्रिपरिषद् अब ५ सदस्यमा सिमित बनेको छ ।

  • नेपालमा थप २४७४ जनामा कोरोना संक्रमण पुष्टी, २५१८ जना संक्रमणमुक्त

    नेपालमा थप २४७४ जनामा कोरोना संक्रमण पुष्टी, २५१८ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४७४ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७२३५ पीसीआर परीक्षणमा १५७७ र ४९९७ जनाको एन्टिजेन परीक्षणमा ८९७ जना गरी २४७४ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २९ हजार ४३१ पुगेको छ । पछिल्लो २४ घण्टामा २५१८ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ७० हजार ९९८ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ रहेको छ ।

  • राष्ट्रपतिद्धारा संवैधानिक निकायमा पदाधिकारी नियुक्त (सूचीसहित)

    राष्ट्रपतिद्धारा संवैधानिक निकायमा पदाधिकारी नियुक्त (सूचीसहित)

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका लागि २० पदाधिकारी नियुक्त गरेकी छन् ।

    संवैधानिक परिषद्को सिफारिसमा बिहीबार भण्डारीले लोकसेवा आयोगसहित २० वटा संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी हुन् ।

    गत वैशाखमा संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, महिला आयोगलगायत संवैधानिक निकायहरुमा रिक्त रहेका पदमा विभिन्न नियुक्तका लागि सिफारिस गरेको थियो ।

    लोकसेवा आयोगमा माधव प्रसाद रेग्मी, अख्तियारको आयुक्तमा डा। हरी पौडेल र सुमित्रा अमात्य रहेका छन् ।

    त्यस्तै निर्वाचन आयोगको आयुक्तमा सगुन शमसेर जबरा नियुक्त भएका छन् । साथै न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी नियुक्त भएका छन् ।

  • दक्षिणकालीको विभत्स हत्या प्रकरण: बलात्कारको प्रतिकार गर्दा हत्या भएको खुलासा

    दक्षिणकालीको विभत्स हत्या प्रकरण: बलात्कारको प्रतिकार गर्दा हत्या भएको खुलासा

    काठमाडौं । सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

    प्रहरीले सन्तोषीको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भई हाल दक्षिणकाली नगरपािलका- ७ का २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको हो ।

    अपराध महाशाखा अनुसन्धानका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङको टोलीले सन्तोषीको शव पुष्टि भएको २४ घण्टा नबित्दै प्रहरीले उनको हत्यारालाई पक्राउ गरी सार्वजनिक सफल भएको छ ।

    सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ घर भई दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिनाले असार ६ गते उनलाई बलात्कार प्रयास गरेका थिए। तिमल्सिना बसका सहचालक हुन् ।

    सन्तोषीले उक्त दिन आफूलाई बस्ने–खाने व्यवस्था नभएको बताएकी थिइन्। तिमल्सिनाले सुब्बालाई आफूले काम गर्ने बसमा बास मिलाइदिन्छु भनेका थिए। बसमा लगेर जबरजस्ती गर्न खोजेपछि सन्तोषीले प्रतिकार गर्दा सलले घाँटी कसेर उनको हत्या भएको देखिएको महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।

    उनका अनुसार सन्तोषी राति बसमा सुतिरहेको बेला सुरेश बसभित्र आए । बसको ढोका लगाए । र सन्तोषीलाई बलात्कार गर्न खोजे । सन्तोषी प्रतिकारमा उत्रिन् ।

    मध्यरातमा सहयोग मागेकै मानिस आफूमाथि जाईलागेपछि सन्तोषी प्रतिकारमा उत्रिन् । केहीबेर दुवैजनाबीच वादविवाद र हात हालाहालको स्थिती भयो ।

    सन्तोषी चिच्याउन थालिन् । वरपरका मानिसहरुले सुन्छन् भनेर सुरेशले सन्तोषीकै सलले घाँटी कसेर उनको हत्या गरे।

    हत्यापछि सन्तोषीको अनुहार कसैले पनि नचिनुन् भनेर सुरेशले सन्तोषीको मृत शरीरमाथि ढुंगा बजारे । अनुहारमा छियाछिया पारेर हाने । र, क्षतविक्षत शव दक्षिणकालीको बसपार्क नजिकै रहेको (प्रयोगमा नआएको) शौचालयमा लगेर फालिदिए ।

    सुब्बाको हत्यापछि अनुहार नचिनियोस् भनेर ढुंगाले हानेर छियाछिया पारे । हत्या पछि उनी काठमाडौं आएर लुकीछिपी बसेका थिए। प्रहरीले उनलाई काठमाडौं–२७ कमलाक्षी इनबहालबाट पक्राउ गरेको हो।

    सुब्बा काठमाडौंको कालोपुलमा धनबहादुर तामाङकी धर्मछोरी बनेर बस्दै आएकी थिइन् । उनी धनबहादुरसँग १७ वर्षदेखि बस्दै आएको देखिएको छ ।

    प्रहरीका अनुसार उनी तीन दिनदेखि सम्पर्कमा थिइनन् । उनले धनबहादुरलाई आफू ‘गंगटो’ खोज्न जान्छु भन्दै निस्किएकी थिइन् ।

  • फास्टट्रयाक्कमा सुरुङमार्ग बनाउने कम्पनीका प्राविधिक नेपाल आए

    फास्टट्रयाक्कमा सुरुङमार्ग बनाउने कम्पनीका प्राविधिक नेपाल आए

    काठमाडौं । काठमाडौं–तराई–मधेश द्रुतमार्ग अन्तर्गत प्याकेज नम्बर २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का प्राप्त गरेको चिनियाँ पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका प्राविधिक नेपाल आएका छन् । कोरोना महामारीका बीच प्राविधिक नेपाल आउन पाएका थिएनन् । राससका अनुसार परियोजना प्रबन्धकसहितको टोली काठमाडौँ आएको हो ।

    यो परियोजना निर्माणको जिम्मा नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ । नेपाली सेनाको समन्वयमा ग्वाञ्जाओबाट चार्टर्ड उडानद्वारा सो कम्पनीको विशेषज्ञ टोली बुधबार काठमाडौँ आएको बताइएको छ । सुरुङ डिजाइनको मुख्य कामका लागि आएको टोलीमा कम्पनी परियोजना प्रबन्धक तथा सुरुङ, पुल र सडक इञ्जिनीयर सहितको १४ सदस्यीय विज्ञ समूह संलग्न रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेललाई उदृत गर्दै राससले लेखेको छ ।

    मकवानपुरस्थित धेद्रे–लेनडाँडा सुरुङमार्ग रु २८ अर्ब ५३ करोड लागतमा निर्माण गर्न पोली च्याङ्दासँग गत वैशाख ३१ मा सम्झौता भएको हो । टोलीले कार्यालय स्थापना गरी डिजाइनको कामलाई तीव्रता दिने छ। सम्झौता भएको छ महिनाभित्र डिजाइनको काम पूरा गर्ने लक्ष्य छ ।

    डिजाइन तयार भएको तीन वर्षभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। सेनाले द्रुतमार्गको प्याकेज नम्बर १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशन लिमिटेड र प्याकेज नम्बर २ का लागि पोली च्याङ्दा इञ्जिनीयरिङ कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो।

  • सरकारविरुद्ध सडक आन्दोलनको तयारीमा विपक्षी दल

    सरकारविरुद्ध सडक आन्दोलनको तयारीमा विपक्षी दल

    काठमाडौं । सरकारले संसद विघटन गरेको विरोधमा विपक्षी गठबन्धनले सडक आन्दोलन शुरु गर्ने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले भौतिक दूरी कायम गरि मुलुकभर सडक प्रदर्शन थाल्ने निर्णय गरेको हो । सडक आन्दोलनमा भाथृ संगठनहरु परिचालन हुने भएका छन् ।

    विपक्षी गठबन्धनले यो विषय अदालतमा बहस भइरहेको समयमा सडक आन्दोलन समेत संगै चर्काउने निर्णय लिएका हुन् । बैठकमा देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहितका नेता उपस्थित थिए ।

    बैठकमा समसामयीक विषयमा छलफल हुनुका साथै परिस्थितिको समिक्षा समेत भएको थियो । सरकारको कदम संविधानविरोधी भएको भन्दै यसलाई सडकसमेत चूनौति दिनुपर्ने निष्कर्षमा विपक्षी गठबन्धन पुगेको हो । बैठकले प्रदेश सरकारका हकमा यसअघिका सहकार्यलाई निरन्तरता दिने निर्णय भएको छ ।

  • इथियोपियामा हवाई हमला, कम्तिमा ६० जना मारिए

    इथियोपियामा हवाई हमला, कम्तिमा ६० जना मारिए

    काठमाडौं\एजेन्सी । उत्तरपूर्वी इथियोपियाको टिग्रे भन्ने क्षेत्रमा रहेको एउटा बजारमा सरकारी फौजले गरेको हवाई हमलामा कम्तिमा ६० जना मारिएका छन् । बीबीसीका अनुसार आक्रमणमा दर्जनौँ मानिस घाइते छन् । प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले लेखे अनुसार इथियोपियाको हवाई फौजले उक्त क्षेत्रको राजधानी मिकाइलीबाट २५ किलोमिटर टाढा अवस्थित टोगोगा बजारमा आक्रमण गरेको हो ।

    इथियोपियाको सेनाले गैर सैनिकहरूलाई निशाना नबनाएको बताउँदै आफ्नो हमलाले आतङ्कवादीलाई निष्क्रिय बनाउने उद्देश्य राखेको दावि गरेको
    । तर, मारिनेमा सर्वसाधारण रहेका छन् । टिग्रेको विद्रोही सेनाले भने आफूहरूले प्रगति गरिरहेको दावि गर्छन् । संयुक्त राष्ट्रसङ्घले इथियोपियाको सरकारलाई हवाई हमलाका विवरणबारे अनुसन्धान गर्न आग्रह गरेको छ ।

    करिब आठ महिनाअघि द्वन्द्व सुरु भएयता यो मुलुकमा हजारौँ व्यक्तिले ज्यान गुमाएका छन् । लाखौँ विस्थापित भइसकेका छन् । काइलीको एउटा प्रमुख अस्पतालका चिकित्सकले कम्तीमा ६० जना मारिएको र ४० जनाभन्दा बढी घाइते भएको आंकडा दिएका हुन् ।

  • यूरो २०२० मा अन्तिम १६ मा पुग्ने टोलीको टुंगो, प्रिक्वाटरमा कुन टीम कोसँग खेल्दै

    यूरो २०२० मा अन्तिम १६ मा पुग्ने टोलीको टुंगो, प्रिक्वाटरमा कुन टीम कोसँग खेल्दै

    काठमाडौं । युरो २०२० मा समूह चरणका खेल पुरा भइसकेका छन् । यससँगै प्रिक्वाटरफाइनलमा खेल्ने अन्तिम १६ टिमको टुंगो लागेको हो । अन्तिम १६ मा ६ समूहका विजेता र उपविजेता गरी १२ टिम पुगेका छन् । साथमा ६ समूहका तेस्रो हुने ४ टिमलाई अन्तिम अन्तिम १६ मा स्थान दिइएको छ । अन्तिम १६ का खेल शनिबारबाट सुरु हुदैछन् ।


    यस्तो छ अन्तिम १६ का खेल तालीका
    वेल्स विरुद्ध डेनमार्क : असार १२ गते राति ९ः४५ बजे
    इटाली विरुद्ध अस्ट्रिया : असार १२ गते राति १२ः४५ बज
    नेदरल्यान्ड्स विरुद्ध चेक : असार १३ गते राति ९ः४५ बजे
    बेल्जियम विरुद्ध पोर्चुगल : असार १३ गते राति १२ः४५ बजे
    क्रोएसिया विरुद्ध स्पेन : असार १४ गते राति ९ः४५ बजे
    फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड : असार १४ गते राति १२ः४५ बजे
    इंग्ल्यान्ड विरुद्ध जर्मनी : असार १५ गते राति ९ः४५ बजे
    स्विडेन विरुद्ध युक्रेन : असार १५ गते राति १२ः४५ बजे

  • आज स्थानीय तहमा बजेट आउने

    आज स्थानीय तहमा बजेट आउने

    काठमाडौं । देशभरका स्थानीय तहमा आज आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आउँदैछ । हरेक स्थानीय सरकारले आआफ्नो नगर वा गाउँ सभामा बिहीबार बजेट प्रस्तुत हुनेछ । यद्दपी सबै स्थानीय सरकारले भने बजेट ल्याउन सक्दैनन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् । कतिपयको भने असारभर समय लाग्न सक्छ ।


    अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने प्रावधान रहेको छ । अधिकांश स्थानीय सरकारले कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई राहत प्रदान गर्ने गरि बजेटको तयारी गरेका छन् ।

    यो वर्ष स्थानीय तहका जनप्रतिनिधिले अन्तिम पटक बजेट ल्याउँदैछन् । आगामी फागुनमा स्थानीय तहको आवधिक निर्वाचन गर्नुपर्ने छ । केन्द्रमा १५ जेठमा बजेट आएको छ । सबै प्रदेशले १ असारमा बजेट ल्याएका थिए । केन्द्र र प्रदेशको बजेटमा आधारित भई स्थानीय सरकारको बजेट आउनेछ ।

  • नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२७ पुग्यो

    नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२७ पुग्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ वृद्धि गरेको छ । पेट्रोल तथा डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ ।

    हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८२ रुपैयाँ पुर्याइएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर २० अमेरिकी डलर वृद्धि भएको छ । नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम भएको छ । यसअघि निगमले गत जेठ २२ मा मूल्य बढाएको थियो ।

  • ११ महिनामा नेपालबाट अमेरिकामा १२ अर्ब १६ करोड बराबरको निर्यात

    ११ महिनामा नेपालबाट अमेरिकामा १२ अर्ब १६ करोड बराबरको निर्यात

    काठमाडौं । नेपालको वैदेशिक व्यापारमध्ये ठूलो व्यापारमा तुलनात्मक रुपमा अमेरिकासँगको व्यापार सन्तुलित देखिएको छ । भारत र चीनसँग उच्च व्यापार घाटा रहेको नेपालको अमेरिकासँग भने सन्तुलित व्यापार देखिएको हो । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७\७८ को ११ औं महिना (साउन-जेठ) सम्म नेपालबाट अमेरिकामा १२ अर्ब १६ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अमेरिकाबाट भने नेपालमा १७ अर्ब ३ करोड ६२ लाख रुपैयाँ बराबरको सामान आयात भएको देखिएको छ । अमेरिकामा नेपालबाट उच्च गुणस्तरको गलैचा बढी संख्यामा निर्यात हुने गरेको छ ।

    उता, समग्र वैदेशिक व्यापारमा भने नेपालको व्यापार घाटा निकै उच्च स्तरमा पुगेको छ तथ्यांक अनुसार नेपालको व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । ११ औं महिनासम्मको व्यापार घाटा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २४.६१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यही अवधिमा व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड रुपैयाँ थियो । २०७७ साउनदेखि २०७८ जेठसम्मको ११ महिनामा कुल १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २५.६७ प्रतिशत बढी हो ।

    गत आर्थिक वर्षमा ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । २०७७ साउनदेखि २०७८ जेठसम्मको ११ महिनामा नेपालको निर्यात व्यापार १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यो अंक गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३७.७८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको ११ महिनामा ८८ अर्ब ३१ लाख रुपैयाँको मात्र वस्तु निर्यात भएको थियो । नेपालको कुल वैदेशिक व्यापार भने १५ खर्ब ४ अर्ब ६१ करोड रुपैयाँ बराबर भएको छ ।

  • थपिएका अन्तर्राष्ट्रिय गन्तब्यमा बिहीबारबाट उडान, कुन गन्तब्यमा कहिले उड्छ जहाज ?

    थपिएका अन्तर्राष्ट्रिय गन्तब्यमा बिहीबारबाट उडान, कुन गन्तब्यमा कहिले उड्छ जहाज ?

    काठमाडौं । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोलेको छ । सोही अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक र बाह्य उडान हुने मिति तोकेको छ । मन्त्रालयकाअनुसार आन्तरिक उडान १७ असारबाट शुरु हुने छ ।

    मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ जुलाई अर्थातः १७ असारबाट आन्तरिकतर्फका नियमित उडान हुने भएका हुन् । साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिनेछ । सोको व्यवस्थापन भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।

    अन्तर्राष्ट्रिय गन्तब्यमा भने तोकिएको रुटमा बिहीबारबाटै उडान शुरु हुँदैछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । यसअनुसार २४ जुनमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

    २५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । यो दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ । २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छ । यो दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने गरि उडान तालिका तय भएको छ ।

    २७ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ । यो दिन हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक\एक उडान गर्नेछ । कतार एयरवेज दोहाबाट काठमाडौं आउने छ । जजिरा एयरवेज कुवेतबाट काठमाडौं आउने गरि तालिका तय भएको छ ।

    २८ जुनमा नेपाल एयरलाइन्स दुबई जाने छ । हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान गर्नेछ । कतार एयरवेजले दोहाबाट उडान गर्नेछ । २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने छ । सो दिन टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने छ ।

    फ्लाई दुबई दुबईबाट काठमाडौं आउने छ । ओमानबाट सलाम एयरको जहाज काठमाडौं आउने छ । ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरि तालिका तय भएको पर्यटन मन्त्रालयको सूचनामा उल्लेख छ ।

  • एक अर्ब बढी भ्रष्टाचार गरेको आरोपमा चुडामणि शर्मासहित तीन जनाविरुद्ध मुद्दा

    एक अर्ब बढी भ्रष्टाचार गरेको आरोपमा चुडामणि शर्मासहित तीन जनाविरुद्ध मुद्दा

    काठमाडौं । विशेष अदालतमा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जना विरुद्ध १ अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    अख्तियारले कर फर्छ्योट आयोगका पदाधिकारीले कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    पदाधिकारीहरु अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणी शर्मा ढकाल (तत्कालीन महानिर्देशक, आन्तरिक राजश्व विभाग)ले नेपाल सरकारको मिति २०७१/१०/२२ मा नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक काम गरेको दाबी गरेको छ ।

    आयोगले करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी नेपाल सरकारलाई प्राप्त हुने ठुलो मात्राको राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको र त्यसमा अनुसन्धान हुदा बदनियत देखिएको जनाईएको छ ।

    उजुरी उपर अनुसन्धान हुँदा करदाताहरूको बिभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियपूर्वक रुं. १,००,३३,२०,३८५ अक्षरुपी एक अर्ब तेत्तीस लाख बीस हजार तीन सय पचासी रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि हुन आएको दाबी गरिएको छ ।

    तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी पुर्‍याई बदनियतपूर्ण कार्य गरेको स–प्रमाण पुष्टि हुन आएको हुँदा प्रतिवादीहरु लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र चुडामणी शर्मा ढकाल बिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को देहाय (क) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।

    आयोगले एक अर्ब तेत्तीस लाख बीस हजार तीन सय पचासी रुपैयाँ कायम गरी दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद गरी दफा ७ बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत ऐन, २०५९ को दफा ९ समेतको आधारमा बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

  • उच्च अंकले घट्यो नेपाली शेयर बजार, कारोबार रकममा ठूलो गिरावट

    उच्च अंकले घट्यो नेपाली शेयर बजार, कारोबार रकममा ठूलो गिरावट

    काठमाडौं । साताको कारोबारको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । कारोबारको चौंथोदिन नेप्से ५३.८८ अंकले घटेर २८५९.९६ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१८ कम्पनीको ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रुपैयाँ बराबरको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा राताम्मे छाएको छ । विकास बैंक र फाइनान्स समूह सबैभन्दा धेरै ३३ प्रतिशतले घटेका छन् ।

    आज कारोबारमा आएका २१८ कम्पनीमध्ये जम्मा २४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८५ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा राद्यी विद्युत कम्पनी र ङादी ग्रुप पावर कम्पनी रहेका छन् । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

    आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ५४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्स्योरेन्स ४२ करोड र राधी विद्युत् कम्पनी ३८ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    यस्तै, मल्टी प्रपोज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, पाँचथर पावर, हिमालयन पावर र ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले पनि ४ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

  • ७६(४) को प्रक्रिया पूरा नगरी ७६(५) मा जान सकिन्छ ? -प्रधानन्यायाधीश

    ७६(४) को प्रक्रिया पूरा नगरी ७६(५) मा जान सकिन्छ ? -प्रधानन्यायाधीश

    काठमाडौं । संसद विघटनविरुद्ध परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ७६(३) अनुसारका प्रधानमन्त्रीले ७६(४)को प्रयोग नगरी ७६(५)मा जान मिल्छ भनेर प्रश्न गरेका छन् ।

    बुधबारबाट संवैधानिक इजलासमा रिट निवेककको तर्फबाट खम्बबहादुर खाती र गोविन्द बन्दीले बहसमा प्रधानमन्त्रीमा शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दाबी वैध भएको तर्क राख्दा प्रधानन्यायाधीशले सो उल्लेख गरेका हुन् ।

    प्रधानन्यायाधीश जबराले ७६(३) अनुसारका प्रधानमन्त्रीले ७६(४)को प्रयोग नगरी ७६(५)मा जान मिल्छ भनेर प्रश्न गरेका छन् । उनले सोधेका छन्, ‘७६(२) को विश्वासको मत नपाएर ७६(३) को सरकार बनेको हो । ७६(४) को प्रक्रिया पूरा नगरी ७६(५) मा जान सकिन्छ ?’

    प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत गुमाएपनि ३० वैशाखमा ७६(३) अनुसार संसद्को सबभन्दा ठूलो दलको नेताको हैसियतमा फेरि प्रधानमन्त्री नियुक्त भएका थिए । तर उनले ७६(४) अनुसार संसदमा विश्वासको मत लिएनन् ।

    अघिल्लो पटक विश्वासको मत नपाएको र परिस्थिति नफेरिएको भन्दै उनले मार्गप्रशस्त गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराए र राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिन् ।

    अधिवक्ता बन्दीले पनि प्रधानमन्त्रीले मार्गप्रशस्त गरें भनेको र दलहरुले त्यसलाई स्वीकार गरेकाले सरकार गठनको प्रक्रिया ७६(५) मा पुगेको बताएका छन् ।

  • जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी थुनामुक्त

    जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी थुनामुक्त

    काठमाडौं । घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा भएकी छन् ।

    जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार थुनामुक्त भएकी छन्।

    जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको बताइएको छ । यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान थालेको थियो।

    उनलाई कोठा नदिएको भन्दै टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी थिइन् । योभन्दा अगाडी प्रहरीले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान सुरु गरेको थियो ।

  • बाइडेनलाई झट्का, हुलाकबाट गरिने मतदानलाई सहज बनाउने प्रयास असफल

    बाइडेनलाई झट्का, हुलाकबाट गरिने मतदानलाई सहज बनाउने प्रयास असफल

    वासिंटन डिसी । अमेरिकामा हुलाकबाट हुने मतदानलाई सहज गराउने गरि आएको चुनावसम्बन्धी नयाँ नियम ल्याउने राष्ट्रपति जो बाइडेनको प्रयास असफल भएको छ । बीबीसीका अनुसार रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडनको प्राथमिकतामा परेको चुनावसम्बन्धी नयाँ नियम लागु गर्ने प्रयास विफल पारेका हुन् ।

    हुलाकबाट गरिने मतदानलाई सहज बनाउने नीति सो विधेयकमा थियो । दलीय आधारमा मत विभाजन हुँदा पक्ष र विपक्षमा समान ५०, ५० मत खसेसँगै यो प्रयास असफल भएको हो । बाइडेनले यो विधेयकलाई आफ्नो राष्ट्रपतीय कार्यकालको लडाइ मान्छन् । विधेयकको पक्षमा वकालत गरिरहेकाहरूले त्यसले सन् १९६५ को मतदान अधिकारसम्बन्धी ऐन यताकै सबैभन्दा दीर्घकालीन प्रभाव पार्ने रहेको बताएका छन् ।


    मत विभाजनतर्फ १०० सदस्य सिनेटमा अधिकांश कानुनका प्रस्ताव अघि बढ्न ६० मत आवश्यक पर्छ र माथिल्लो सदनमा दुई दलबीचको विभाजन ५०, ५० रहेको छ। चुनाव सुधारका लागि ह्वाइट हाउसबाट जिम्मेवारी पाएकी उपराष्ट्रपति कमला ह्यारिसले विधेयक विफल हुँदा बैठकको अध्यक्षता गरिरहेकी थिइन्। उनले लडाइ अझै नसकिएको प्रतिक्रिया दिएकी छिन् ।

    चुनावको दिन अगावै गरिने मतदानलाई विस्तार गर्ने बाहेक उक्त कानुनले चुनावी अभियानमा दिइएका चन्दा सहितका योगदानलाई थप पारदर्शी बनाउन र निर्वाचन क्षेत्र निर्धारण गर्दा दलीय प्रभाव कम हुने कुरा सुनिश्चित गर्ने डेमोक्र्याटहरुको विश्वास छ ।

  • कोरोनाको उपचार अब सरकारी अस्पतालमा मात्र, संक्रमण घटेको सरकारको निष्कर्ष

    कोरोनाको उपचार अब सरकारी अस्पतालमा मात्र, संक्रमण घटेको सरकारको निष्कर्ष

    काठमाडौं । नेपालमा अब कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र हुने भएको छ । कोरोना संक्रमण कम भएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार अब निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन गरिने छैन ।


    निजी अस्पताललाई कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भए अनुसार अस्पतालमा भर्ना भइ उपचाररत सङ्क्रमितको दश दिनसम्मको शोधभर्ना सरकारले गर्नेछ । तर, अब सङक्रमितले आफूले निजी अस्पताललाई उपचार गराउन चाहेको खण्डमा आफ्नै खर्चमा उपचार गराउन सक्नेछन्।

    यसरी निजी अस्पतालमा उपचार गराउँदा सरकारले तोकेको भन्दा बढी शुल्क भने अस्पतालले लिन पाउने छैनन् । सरकारले गम्भीर प्रकृतिका बिरामीलाई दैनिक १५ हजार रुपैयाँसम्म लिएर उपचार गराउन सक्ने गरि मूल्य तोकेको छ ।

  • संसद विघटनको रिटमा आजबाट निरन्तर सुनुवाई

    संसद विघटनको रिटमा आजबाट निरन्तर सुनुवाई

    काठमाडौं । प्रतिनिधि सभा विघटन गरि सरकारले निर्वाचन घोषणा गरेको सम्बन्धमा परेका रिटमाथि आजबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुँदैछ । विपक्षी सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहित रिट दायर गरेका थिए । यस्तो रिट दायर गर्नेमा १४६ जना सांसद छ ।

    ७ जेठमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सोही दिन उनले मध्यावधी निर्वाचन घोषणा गरेकी हुन् । राष्ट्रपतिले आह्वान गरेको समयमा देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै १४९ जना सांसदले शितल निवासमा हस्ताक्षर बुझाएका थिए। उता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत आफ्नो दावि प्रस्तुत गरेका थिए ।

    तर, राष्ट्रपतिले १४९ जना सांसदले हस्ताक्षर बुझाउँदा पनि देउवालाई प्रधानमन्त्री नियुक्त नगरी संसद विघटन गरेसँगै सर्वोच्चमा ३० वटा रिट परेका छन् । ती सबै रिटको आजबाट संवैधानिक इजलासमा सुनुवाइ हुने छ । रिटमध्ये पहिला देउवाको रिटमा सुनुवाइ हुनेछ । त्यसपछि अन्य २९ रिटमाथि सुनुवाइ हुने तालिका छ ।

    पहिलो दिनको सुनुवाइमा देउवा पक्षले आफ्नो तर्फबाट दुई जना अधिवक्ता र तीन जना वरिष्ठ अधिवक्ताले बहस गर्नेछन् । आज अधिवक्ता खाम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीसहित वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा र महादेव यादवले बहस गर्ने छन्।

  • लगानी बोर्डद्धारा ९७ अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत

    लगानी बोर्डद्धारा ९७ अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत

    काठमाडौं । लगानी बोर्डले मंगलबार करीव १ खर्ब बराबरका दुई परियोजनामा आउने विदेशी लगानी स्वीकृति गरेको छ । मंगलबार प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४७ औं बैठकले यस्तो निर्णय गरेको हो । बैठकले २ जलविद्युत परियोजनाका लागि ९७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको हो ।

    ५४ करोड अमेरिकी डलर लागतको माथिल्लो तमोर जलविद्युत परियोजना (२८५ मेगावाट) र ३३ अर्ब ४१ करोड ४० लाख लागत अनुमान गरिएको तल्लो मनाङ्ग मस्र्याङ्गदी जलविद्युत परियोजना (१३९.२ मेगावाट) का लागि लगानी स्वीकृत गरिएको हो ।

    आजको बैठकले झापाको दमकमा निर्माण हुने सार्वजनिक निजी साझेदारी अवधारणामा अघि बढाइएको मुलुककै सबैभन्दा ठूलो नेपाल–चीन मैत्री औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन समेत स्वीकृत गरेको छ । परियोजनाको विकासकर्तासँग परियोजना विकास सम्झौता गर्न आवश्यक तयारी गर्न समेत लगानी बोर्डको कार्यालयलाई निर्देशन दिइएको छ ।

    आजको बैठकले संखुवासभामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजना (६७९ मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययन गर्न सर्वेक्षण अनुमति पत्र जारी गर्न परियोजना विकासकर्तासँग गरिने समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको छ ।
    बैठकले तमोर जलाशययूक्त जलविद्युत परियोजना (७५६ मेगावाट) को सर्वेक्षण अनुमति प्रदान गर्न देखिएको अस्पष्टता सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ ।

  • विपक्षी गठबन्धनको आंशका : प्रधानमन्त्रीका कारण अहिलेसम्मका उपलब्धी गुम्ने खतरा

    विपक्षी गठबन्धनको आंशका : प्रधानमन्त्रीका कारण अहिलेसम्मका उपलब्धी गुम्ने खतरा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालमा अहिलेसम्म प्राप्त उपलब्धी गुम्ने खतरा रहेको भन्दै विपक्षी दलले आंशका व्यक्त गरेका छन् । विपक्षी गठबन्धनमा रहेका एमाले नेता माधव कुमार नेपालसहितका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको समेत बताएका हुन् ।

    उनीहरुले प्रधानमन्त्रीविरुद्धको एकतामा प्रतिवद्धता समेत जनाएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले मंगलबार संयुक्त विज्ञप्ति जार्गै प्रधानमन्त्रीकै कारण अहिलेसम्म प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताएका हुन् ।

    उनीहरुको यो भनाई अदालतको पछिल्लो फैसलापछि आएको छ । ‘प्रधानमन्त्री र सरकारले सबै निकायमा तिब्र हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अपनाएको विपक्षी गठबन्धनको भनाई छ । सोहीकारण नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने खतरा उत्पन्न भएको विज्ञप्तीमा उल्लेख छ ।

    प्रधानमन्त्रीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको समेत उनीहरुले बताएका छन् । देशलाई समृद्धितर्फ अग्रसर गराउनुको साटो प्रतिगामी पाइला चाल्ने आन्दोलनका उपलब्धि र राष्ट्रिय हितमा आघात पुर्‍याइएको आरोप समेत प्रधानमन्त्रीमाथि लगाएका छन् ।

    प्रतिनिधिसभा दुई–दुई पटक विघटन, अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अंगलगायत राज्यका निकायहरुको दुरुपयोग, राजनीतिक दलहरुमा विभाजन, भ्रष्टाचार, परराष्ट्र सम्बन्ध र कूटनीतिमा विचलन र असन्तुलनले सरकारमा अकर्मन्यता र गैरजिम्मेवारीपन देखिएको विपक्षी गठबन्धनको निष्कर्ष रहेको छ ।

    कोरोना संक्रमणको महामारीबाट जनतालाई सुरक्षा र राहत प्रदान गर्न सरकारको अक्षमता तथा बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद् व्यवस्थापनमा पूर्वतयारीको अभाव देखिएको विपक्षी गठबन्धनको भनाई छ । स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र तर्फ समेत उनीहरुले खबरदारी गरेका छन् ।

  • आन्तरिक उडान खुल्यो, बाह्य उडानमा गन्तब्य र उडान संख्या थप

    आन्तरिक उडान खुल्यो, बाह्य उडानमा गन्तब्य र उडान संख्या थप

    काठमाडौं । सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोलेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गर्न सकिने भएको छ । यसको तालिका र मिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्ने गरि तोकिएको छ ।

    अन्तराष्ट्रिय तर्फ समेत सरकारले गन्तब्य र उडान संख्या बढाएको छ । काठमाडौं- दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्न सक्ने गरि तोकिएको छ । काठमाडौं-इस्तानबुलमा साताको २, काठमाडौं-दुवई रुटमा समेत सातामा चार उडान हुनेछ ।

    काठमाडौं-दमाम रुटमा साताको २, काठमाडौं-कुवेतमा साताको दुई, काठमाडौं-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्नेछ । दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । काठमाडौं छेन्दु र ग्वाङझाओ रुटमा साताको एक एक उडान हुने गरि खुलेको हो ।

  • नेपालमा थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टी, ४९५४ जना संक्रमणमुक्त

    नेपालमा थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टी, ४९५४ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४५२२ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२२०४ जनाको पीसीआरमा ३७०३ जना जना ४७०९ जनाको एन्टीजेन परीक्षण गर्दा ८१९ जना गरि ४५२२ जनामा संक्रमित पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २६ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४९५४ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ६४ हजार ८८२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ५२ हजार ६४८ रहेको छ ।

  • मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश, पदमुक्त भए २१ मन्त्री

    मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश, पदमुक्त भए २१ मन्त्री

    काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ ।

    मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

    जेठ ७ गते संसद विघटन गरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते एक जना उपप्रधानमन्त्री र १० जना मन्त्री हटाएर उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरी २१ जना थप गरेका थिए ।

    सर्वोच्चको आदेशबाट उपप्रधानमन्त्रीहरू विष्णु पौडेल (अर्थमन्त्रीमा यथावत), रघुवीर महासेठ र राजेन्द्र महतो, १५ जना मन्त्री र ३ जना राज्यमन्त्री जिम्मेवारीमुक्त भएका छन् ।

    अब सरकारमा प्रधानमन्त्री ओली, अर्थमन्त्री पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङमात्रै बहाल रहेका छन् ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध रि दायर गरेका थिए ।

    ‘२०७८ साल जेठ २१ र २७ मा प्रधानमन्त्रीको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट भएको उपप्रधानमन्त्री एवं मन्त्रीहरूको सपथ र कार्यविभाजन संविधान अनुकुल भएको नभई संविधानको मूल मर्म भावना विपरीत भएकोले निवेदनको अन्तिम किनारा नलागेसम्मका लागि मन्त्रिपरिषद विस्तारको निर्णय कार्यान्वयन नगर्न’ आदेशमा उल्लेख छ ।

  • ६५ वर्षमाथिका नागरिकलाई दोस्रो डोजको खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

    ६५ वर्षमाथिका नागरिकलाई दोस्रो डोजको खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले ६५ वर्षभन्दा माथिका नागरिकहरुलाई दोस्रो डोजको खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

    मंगलबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले ६५ वर्षमाथिका जेष्ठ नागरिकहरुलाई तत्काल कोरोनाविरुद्धको दोस्रो डोजको खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

    सोमबार काभ्रेपलान्चोकका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय पूर्णप्रसाद पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

  • एक सातापछि सेयर बजारमा उच्च अंकको कमब्याक

    एक सातापछि सेयर बजारमा उच्च अंकको कमब्याक

    काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको शेयर बजार लयमा फर्किएको छ ।

    गत बुधबारदेखि ओरालो लागेको बजारमा मंगलबार भने उच्च अंकले बढेको हो । यसदिन नेप्से ७९.४३ अकले बढेर २९१३.८४ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २२५ कम्पनीको १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर किनबेच भएका छन् ।

    यस दिन सबै समूहहरु बढेका छन्। बैंकिङ ४३, ब्यापार ८, होटल तथा पर्यटन १२२, विकास बैंक २५०, जलविद्युत १४८, फाइनान्स १२४, निर्जीवन बीमा ३७१, उत्पादन १५९, अन्य ३९, माइक्रोफाइनान्स ५९ र जीवन बीमा ३९१ अंकले बढेका छन्।

    कम्पनीहरुलाई हेर्दा २०१ कम्पनीको मूल्य बढेको छ, ९ कम्पनीको मूल्य स्थिर भएको छ भने १५ कम्पनीको मूल्य घटेको छ।

    नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । पोजेटिभ सर्किट लाग्ने कम्पनीहरुमा जनकी फाइनान्स, बरुण हाइड्रोपावर कम्पनी, हाइड्रो इलेक्ट्रोसीटी एण्ड इनभेष्टमेन्ट कम्पनी, ङादी ग्रुप पावर कम्पनी र पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी रहेका छन् । अन्यको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

    कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब ४९ करोड रुपैयाँको शेयर किनबेच भयो। कारोबारका आधारमा दोस्रो स्थानमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनीको जम्मा ३२ करोडको शेयर किनबेच भयो।