Category: फिचर

  • एउटै व्यक्ति बैंकर र व्यवसायी बन्न नपाउने, विधेयक दर्ता

    एउटै व्यक्ति बैंकर र व्यवसायी बन्न नपाउने, विधेयक दर्ता

    काठमाडौं । अब व्यवसायी र बैंकर एउटै व्यक्ति बन्न नपाउने प्रावधान ल्याउन लागिएको छ । सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संसदमा दर्ता गरेको छ ।

    यो विधेयक पारित भए एउटै व्यक्ति अब बैंकर र व्यवसायी एउटै भूमिकामा रहन पाउने छैन ।

    विधेयकले बैंकर र व्यवसायी छुट्ट्याउने मात्र छैन, सञ्चालक र प्रमुख कार्यकारीको उमेर, सञ्चालकको योग्यता, सुशासनजस्ता विषयमा पनि स्पष्ट प्रावधान समेटिएको छ ।

    यो विधेयक पारित भए वित्तीय सुशासनमा निकै ठूलो उपलब्धी हुने बताइएको छ । किनकी एउटै व्यक्तिको बैंक र उसैको व्यवसायसमेत हुँदा ठूलो कर्जा स्वयम आफ्नै उद्योगमा लैजाने जोखिम धेरै हुने गरेको छ ।

    एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गर्दा स्वार्थ समेत बाँझिने गर्छ । बैंकिङ क्षेत्रमा बैंकर र व्यवसायी छुट्टयाउन यस अघि नै पहल भएपनि विभिन्न स्वार्थ समूहको चलखेलका कारण सफल हुन सकेन ।

    संसदले नै यसअघि बाफियामा राखेको व्यवस्था झिकेको थियो । सांसदहरु स्वयमः व्यवसायीको एजेन्टका रुपमा प्रस्तुत हुने समस्या नेपालमा रहेको छ ।

    पहिलो पटक बाफियामा यो विषय नपरेपछि पहिलो संशोधनमा फेरी सोही विषय समेटिएको हो । भारतलगायत धेरै मुलुकमा एउटै व्यक्तिले बैंक र व्यवसाय संचालन गर्न नपाउने प्रावधान रहेको छ ।

    अब संचालकको समेत योग्यता तोकिदैछ । योग्यता अनुसार अब स्नातकोत्तर अनिवार्य गरिएको छ भने यस अघि कुनै न कुनै रुपमा वित्तीय संघसंस्थामा आवद्ध भई काम गरेको अनुभव भएको हुनुपर्छ ।

    विगतमा आफैं बैंक चलाउने र आफ्नै व्यवसायका लागि त्यसबाटै ऋण लिने गलत प्रवृत्तिका कारण धेरै बैंकहरु डुबेका थिए ।

  • ठूलो कारोबार गर्ने व्यक्ति अब सरकारको निगरानीमा

    ठूलो कारोबार गर्ने व्यक्ति अब सरकारको निगरानीमा

    काठमाडौं । ठूलो कारोबार गर्ने व्यक्ति तथा संस्थामाथि अब सरकारले निगरानी बढाउने भएको छ ।

    सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा कम्पनीहरुलाई जारी गरिने निर्देशिका २०७६ ल्याउन लागेको सरकारले अब एक पटकमा २५ लाख र सो भन्दा माथिको कारोवार गर्ने व्यक्ति तथा संस्थामाथि निगरानी बढाउने भएको हो ।

    ठूलो कारोबार गर्ने व्यक्ति तथा संस्थाले तीन पुस्ते विवरण भरेपछि मात्र कारोकार गर्न पाइने गरी निर्देशिका ल्याउन लागेको कम्पनी रजिष्ट्रार कार्यालयको भनाई छ ।

    खासगरी जोखिमपूर्ण अवस्थाका व्यक्ति र उनीहरुको परिवारमा विशेष निगरानीमा राख्दै अब कम्पनीहरुले ठूलो कारोबारीको कारोबारमा कडाई गर्नु पर्ने भएको छ ।

    सरकारले कम्पनीहरुलाई जिम्मेवार बनाएर व्यक्ति तथा संस्थाको कारोबारमाथि निगरानी बढाउन लागेको हो ।

    वार्षिक १ करोडभन्दा बढीको र एक पटकमा २५ लाखसम्मको कारोबार गर्ने व्यक्ति तथा संस्थालाई ठूला कारोवारीको परिभाषामा राखिएको छ ।

    कारोबार गर्ने व्यक्ति वा संस्था वास्तविक धनी वा हिताधिकारी भए–नभएको पहिचानका लागि यस्तो नियम लागु गर्न लागिएको कार्यालयले उल्लेख गरेको छ ।

    अब कारोबारमा व्यक्तिको नाम, ठेगाना, जन्ममितिदेखि तीनपुस्ते विवरण अनिवार्य लिनु पर्ने र नलिए सम्बन्धित कम्पनीमाथि कारवाही हुने भएको छ ।

    पेशागत विवरण, परिवारको सदस्य उच्च पदीय हैसियतमा रहे–नरहेको समेत उल्लेख गरेपछि मात्र कारोबार गर्र्ने गरी निर्देशिका आउँदैछ ।

    यो निर्देशिका १ असोजबाट कार्यान्वयन गर्ने तयारी सरकारको रहेको छ । व्यक्ति तथा संस्थासँग उल्लेखित विवरण माग नगरी कारोबार गरे त्यसमा सजायको भागिदार सम्बन्धित कम्पनी हुने गरी कानून बताइएको छ ।

    सम्पत्ति शुद्धिकरणसम्बन्धी कानूनहरुले उच्च पदस्थ व्यक्तिहरुलाई जोखिमपूर्ण सूचीमा राखेका हुन्छन् । त्यसकारण उनीहरुको कारोबार बढी निगरानी गर्ने गरिन्छ ।

    अब कम्पनीहरुले उच्च पदस्थ व्यक्तिको पहिचान गरी उनीहरुको व्यक्तिगत विवरण नियमित रुपले अद्यावधिक गर्नुपर्ने कानून बन्दैछ ।

  • जेष्ठ नागरिकलाई हवाई भाडामा छूटबारे सुझाव दिन समिति गठन

    जेष्ठ नागरिकलाई हवाई भाडामा छूटबारे सुझाव दिन समिति गठन

    काठमाडौं । सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा छुट दिन गरेको घोषणा कार्यान्वयनका सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ ।

    पूर्वसचिव सूरेशमान श्रेष्ठको अध्यक्षतामा गठन भएको यस समितिले आन्तरिक उडानका सन्दर्भमा उठेका समग्र विषयमा अध्ययन गरी सरकारलाई सुझाव दिने जिम्मेवारी पाएको छ ।

    खासगरी ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकको हवाई भाडामा ५० प्रतिशत छूट, हवाई भाडामा विदेशी र नेपालीलाई रहेको विभेद, नेपालमा हपाई इन्धन महंगो हुँदा वायुसेवा कम्पनीलाई परेको मर्काका विषयमा पनि सुझाव दिन समिति गठन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

    समितिले सरोकारवाला निकायसँग छलफल गरी कार्यान्वयनको आधारसहित सुझाव दिने छ ।

    समितिमा अर्थ मन्त्रालयका सहसचिव, उद्योग मन्त्रालयका सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक, नेपाल वायुसेवा निगमका निर्देशकस्तरका प्रतिनिधि, लेखा विज्ञ सौरभ रिजाल र वायुसेवा संचालक संघ नेपालका प्रतिनिधिलाई सदस्य तोकिएको छ ।

    पर्यटन मन्त्रालय, हवाई उद्योग व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव सदस्य सचिव रहने गरी समिति बनाइएको हो । समितिले ३० दिनको समयावधि पाएकोछ ।

  • नेपाल–भारत पेट्रोलियम पाइपलाइन यसकारण नेपालको लाइफलाइन

    नेपाल–भारत पेट्रोलियम पाइपलाइन यसकारण नेपालको लाइफलाइन

    काठमाडौं । नेपाल–भारत पेट्रोलियम पाइपलाइन औपचारिक रुपमा सुरुवात भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले मंगलबार औपचारिक रुपमा सुरुवात गरेका हुन् । दुवै देशका प्रधानमन्त्रीले आ–आफ्नो ठाउँबाट स्वीच थिचेर पाइपलाइनको सुरुवात गरेका हुन् ।
    नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गाइनले दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पाइपलाइन भएको बताए । अमलेखगञ्ज मोतिहारी पेट्रोलियम पाइपलाइनको प्रधानमन्त्री ओलीले सिंहदरबार र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीमा रहेको कार्यालयबाट संयुक्त रुपमा स्विच थिचेर उद्घाटन गरे । दुवै प्रधानमन्त्रीले नेपालको बिकासमा यो पाइपलाइन लाइफलाइनको रुपमा परिणत भएको बताएका छन् ।
    भिडियो कन्फरेन्सिङ प्रविधिमार्फत क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको मंगलबार दिउँसो उद्घाटन भएसँगै नेपालमा पेट्रोलियम पदार्थ आउन सुरु भएको छ । नेपालको अमलेखगञ्ज र भारतको मोतिहारी डिपोमा स्क्रिनको व्यवस्था गरेर दुवै देशका प्रधानमन्त्रीले गरेको उद्घाटनको दृश्य हेर्ने व्यवस्था मिलाइएको थियो । २०६१ सालमा नेपाल–भारतबीच भएको सम्झौताअनुसार पाइपलाइन निर्माण गरिएको हो । पाइपलाइनको ओली र मोदीले २०७४ सालमा संयुक्त रुपमा स्वीच थिचेरै शिलान्यास गरेका थिए ।
    पाइपलाइन ७० किलोमिटर लामो छ । नेपालतर्फ पाइपलाइनको लम्बाई ३६ किलोमिटर र भारततर्फ ३४ किलोमिटर रहेको निगमका प्रवक्ता गोइतले जानकारी दिए । पाइपलाइनका लागि भारतले २ अर्ब २५ करोड भारतीय रुपैयाँ लगानी गरेको छ । नेपालले ७५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भए पनि लगानी भएन । पाइपलाइनबाट प्रतिघन्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आउने निगमका प्रवक्ता गोइतले बताए ।
    निगमले मंगलबारदेखि नै दैनिक ४८ लाख लिटरसम्म डिजल पाइपलाइनबाटै आउने जानकारी दिएको छ । पाइपलाइनका कारण नेपालमा पेट्रोलियम पदार्थको भाउ सस्तो हुने अनुमान गरिएको छ । उद्घाटन कार्यक्रममा भारतीय आयल कर्पोरेसनका कार्यकारी निर्देशक अभिजित चौधरी र नेपालको तर्फबाट निगमका अधिकारीहरु दुई दिनअघि नै अमलेखगञ्ज पुगेका थिए । मंगलबारदेखि डिजल मात्र आउन थालेको छ । नेपालमा डिजलको माग धेरै भएकाले पाइपलाइनबाट सुरुमा डिजल मात्रै आउने भएको छ । अमलेखगञ्जबाट अहिले दैनिक २० लाख लिटर डिजल भित्रिने भएकाले अन्य क्षेत्रमा पनि यहीबाट डिजेल लैजान सकिने छ ।
    अमलेखगञ्जमा तेल भण्डारणका लागि ४१ लाख लिटरका दुई, ३९ लाख लिटरका २ समेतको १ करोड ६० लाख लिटर भण्डारण गर्नसक्ने ट्यांकीको व्यवस्था गरिएको छ । सुरक्षाका लागि पनि सबै प्रकारको व्यवस्थापन गरिएको छ । नापजाँच, तेल कन्ट्रोललगायतका लागि आवश्यक प्रविधि जडान गरेर काम थालिएको हो । नेपालमा डिजेलको मुल्य केहीदिनमा घट्ने अनुमान गरिएको छ । डिजेलको मुल्य घट्दा त्यसको सकरात्मक असर अनेक क्षेत्रमा पर्ने गर्छ ।
    पेट्रोलियम पाइपलाइनलाई नेपाली अर्थतन्त्रको हिसाबले निकै महत्वपूर्ण मानिएको छ । पटक–पटकको अवरोधलाई पन्छाउँदै आउने तेल नै ऊर्जाको मुख्य स्रोतको रुपमा रहेको थियो । तर मंगलबारदेखि नेपाली अर्थतन्त्रमा नयाँ अध्याय सुरु भएको छ । विकासको गतिले बिस्तारै भए पनि आफ्नो स्थान ओगटेको सम्बद्ध क्षेत्रका जानकारहरुले बताएका छन् । अर्थशास्त्री डा. चन्द्रमणी अधिकारीले नेपालको विकासमा दलहरु नै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।
    भारतबाट आउने भनिएको रेलको चर्चा पाइपलाइनसँगै सुरु भएको छ । समयमा नै काम सम्पन्न भएकाले अहिले रेल सेवा पनि समयमै हुनेमा आशावादी देखिएको अर्थशास्त्रीहरुको भनाइ छ । चिनियाँ रेलको सपना देखेका आम नागरिकले भारतीय रेल सेवा काठमाडौँसम्म बिस्तार भएमा ठूलो राहत महसुस गर्ने थिए । त्यसले देशको आर्थिक विकासका लागि कोसेढुंगाकै रुपमा काम गर्ने विश्वास व्यक्त गरिएको छ । निकट भविष्यमा हुने भनिएको भारतीय राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणका बेला रेलका विषयमा ठोस सहमति हुने अपेक्षा गरिएको छ ।

  • एप्पलले सार्वजनिक गर्यो आइफोन ११

    एप्पलले सार्वजनिक गर्यो आइफोन ११

    क्यालिफोर्निया । आइफोन पारखीलाई अब नयाँ सिरिज सार्वजनिक भएको छ । मंगलबार राती नयाँ सिरिजको आइफोन सार्वजनिक गरेको हो एप्पलले आइफोन ११ प्रो र प्रो म्याक्सको पनि लन्च गर्यो ।

    आइफोन ११ को विभिन्न सिरिजको मूल्य अनुसार आइफोन ११ ६ सय ९९ डलरदेखि शुरु हुने भएको छ ।

    आइफोन ११ प्रोको मूल्य भने ९ सय ९९ राखिएको छ । आइफोन ११ प्रो म्याक्सभने १ हजार ९९ डलर तोकिएको छ ।

    अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा एक विशेष कार्यक्रम आयोजना गरी आइफोनको नयाँ सिरिज सार्वजनिक गरिएको छ ।

    एप्पलका मूख्य कार्यकारी टीम कुकका अनुसार नयाँ सिरिज अत्याधुनिक सुविधा सम्पन्न रहेको छ ।

    विलकुल नयाँ डिजाइनमा नयाँ सिरिज ल्याइएको छ । त्यसो त आइफोनले यस वर्ष नयाँ सिरिजको प्रारम्भिक मूल्य गत वर्षको सिरिजभन्दा केही घटाएको छ ।

    यसले आइफोन पारखीलाई झनै उत्साहित बनाउने छ । आइफोन ११ मा दुई वटा क्यामरा राखिएको छ ।

    जुम र वाइड क्यामराका माध्यमबाट स्तरीय तस्वीर लिन सकिने कम्पनीले उल्लेख गरेको छ । आइफोन ११ प्रो मा भने ३ वटा क्यामरा राखिएको छ ।

    एजेन्सी

  • पर्यटन प्रवद्र्धन योजना, बौद्धमार्गी देशलाई प्राथमिकता

    पर्यटन प्रवद्र्धन योजना, बौद्धमार्गी देशलाई प्राथमिकता

    काठमाडौं । निकट भविश्यमा निर्माण सम्पन्न भई संचालनमा आउने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवद्र्धनलाई ध्यानमा राख्दै चालु आर्थिक वर्ष २०७६\७७ मा नेपाल पर्यटन बोर्डले बौद्धमार्गी मुलुकमा प्रवद्र्धन केन्द्रित गर्ने भएको छ ।

    नियमित स्रोत बजार, यूरोप, अमेरिका, चीन र भारतबाहेक अब नयाँ स्रोत बजार खोज्न बौद्धमार्गी मुलुकलाई प्राथमिकता दिने योजना नेपाल पर्यटन बोर्डले बनाएको हो ।

    बोर्ड संचालक समितिले चालु आर्थिक वर्ष २०७६\७७ को बजेट पारित गरेको छ । यस आवमा बोर्डले १६३ करोड रुपैयाँ बजेट कार्यान्वयन गर्ने भएको छ ।

    बोर्डको बजेट गत आव २०७५\७६ को तुलनामा भने घटेको छ । उक्त आवमा बोर्डले १ अर्ब ७५ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

    बोर्डले नेपाल भ्रमण वर्षका लागि करव ३५ करोड रुपैयाँ खर्च गर्ने भएको छ । १० करोड भ्रमण वर्ष सचिवालयलाई नै उपलब्ध गराउने भएको छ ।

    प्रवद्र्धनका क्रममा भियतनाम, कम्बोडिया, म्यानमारजस्ता मुलुकमा बढी प्राथमिकता दिने योजना छ । किनकी गौतमबुद्ध विमानस्थल बनेपछि भगवान गौतमबुद्धको जन्म थलोमा अधिक संख्यामा बौद्धमार्गी आउने अपेक्षा गरिएको छ ।

    त्यससमय म्यानमार, कम्बोडियालगायत मुलुकका एयरलाइन्सले पनि गौतमबुद्ध विमानस्थलमा उडान थाल्ने योजना बनाएको छन् ।

    बोर्डले एक प्रदेश एक गन्तब्य अनुसार हरेक गन्तब्यमा १ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

    अब कठमाडौंमा हिमालयन ट्राभल मार्ट, लुम्बिनी ट्राभल मार्ट सहित पोखरामा पोखरा एडभेन्चर टूरिजम मार्ट, पूर्वमा इस्ट ट्राभल मार्ट र पश्चिममा वेस्ट ट्राभल मार्ट आयोजना हुने भएको छ ।

    सन् २०२० मा ‘वल्र्ड ट्रेल नेटवर्क’ र ‘वल्र्ड इको टूरिजम कन्क्लेभ’ नेपालमा आयोजना हुने भएका छन् ।

    यी विश्वव्यापी आयोजना हुने ठूला इभेन्ट हुन् । विदेशका कार्यक्रममा गैरआवासीय नेपाली र दूतावाससँग समन्वय हुने भएको छ ।

    नेपालको विज्ञापन बीबीसी, सिएनएनमा बजाउने योजना समेत राखिएको छ । विश्वका विभिन्न शहरमा गुड्ने बसमा नेपालको प्रवद्र्धन हुने खालका पोस्टरसमेत टासिने भएका छन् ।

  • पेट्रोलियम पाइपलाइन उद्घाटन दुई प्रधानमन्त्रीबाट, के भने मोदी र ओलीले ?

    पेट्रोलियम पाइपलाइन उद्घाटन दुई प्रधानमन्त्रीबाट, के भने मोदी र ओलीले ?

    काठमाडौं । दक्षिण एसियाकै पहिलो ट्रान्स बोर्डर पेट्रोलियम पाइपलाइन मंगलबारबाट औपचारिक रुपमा संचालनमा आएको छ ।

    चिनियाँ विदेशमन्त्रीबाट सोमबार मात्रै नेपालसँग सम्झौता भई ३५ करोडको अस्पताल बनाउने भन्ने खबरको आलोचना भइरहेको बेला भारतले एक ठूलो र रणनीतिक महत्वको परियोजना नेपाललाई सुम्पेर फेरी एक पटक नेपालीको मन जित्ने कोसिस गरेको छ ।

    मंगलबार सिंहरबारस्थित प्रधानमन्त्री कार्यालयको ‘एक्शन रुम’ मा प्रधानमन्त्री केपी शर्मा ओली र भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच थिचेसँगै यो परियोजनाको शुभारम्भ गरिएको हो ।

    नेपाल आयल निगमका अधिकारीले पाइपबाट खसेको तेल बोतलमा थाप्नेर त्यसलाई भण्डार गर्ने ट्यांकीमा खसालेका थिए ।

    पाइपलाइनमा पहिला नै तेल पठाएर मंगलबार शुभारम्भ गरिएको हो । यसको भब्य तयारी अमलेखगन्जमा समेत भएको थियो ।

    भारतको मोतीहारीबाट नेपालको अमलेखगञ्जसम्म ६९ किलोमिटर लामो पेट्रोलियम पाइप लाइन दक्षिण एशियाकै पहिलो क्रस बोर्डर पाइपलाइन हो । यस पाइपलाइनबाट २० लाख टन प्रतिवर्ष तेल आयात गर्न सकिने बताइएको छ ।

    पाइपलाइनको उदघाटनका लागि एक्सन रुममा भेला भएका मन्त्रीहरुसँगै प्रधानमन्त्री ओलीले भारतले नेपालको विकासमा पुर्याएको सहयोगको प्रशंसा गरे ।

    गोरखा र नुवाकोटमा भूकम्पपछिको पुनर्निर्माणमा भारतीय पक्षबाट भइरहेको कामको पनि प्रधानमन्त्रीले प्रशंसा गर्न छुटाएनन् ।

    उनले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता समेत दिन भ्याए । त्यसपछि आफ्नो मन्तब्य राखेका भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र त्यसका वावजुत देखाएको सक्रियताको खुलेर प्रशंसा गरे ।

    उनले मित्र प्रधानमन्त्री ओलीसँग भेट्न ईच्छुक रहेको समेत उल्लेख गरे । उनले छिट्टै नेपाल आउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री मोदीले पछिल्ला केही वर्षमा भारत र नेपालवीच उच्च राजनीतिक तहमा निकटता बढेको भन्दै उक्त पहलकदमीका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए ।

    जनता जनताबीचको सम्बन्धले नै नेपाल र भारतको महत्व दर्शाउने भन्दै उनले यसलाई जारी राख्नुपर्ने उल्लेख गरे ।

  • चिनियाँ विदेशमन्त्री वाङ आज स्वदेश फर्किदै, देउवा र प्रचण्डसँग भेट्दै

    चिनियाँ विदेशमन्त्री वाङ आज स्वदेश फर्किदै, देउवा र प्रचण्डसँग भेट्दै

    काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी आज स्वदेश फर्किदैछन् । मंगलबार अपरान्ह उनी स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    नेपाल बसाईका दौरान विदेशमन्त्री वाङले उच्च स्तरीय भेटवार्तालाई निरन्तरता दिएका छन् । मंगलबार नेकपा अध्यक्ष प्रचण्ड र कांगेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    उनले सोमबार राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरे । त्यसपछि विदेशमन्त्रीस्तरीय द्धिपक्षीय बैठक समेत सोमबार नै सम्पन्न भयो ।

    बैठकमा नेपाल चीन सम्बन्धका धेरै आयातमा छलफल भएपनि सम्झौता भने नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त अवसरमा विभिन्न तीन सम्झौतामा हस्ताक्षर भएको छ ।

    उच्चस्तरीय वार्तापछि दुई देशका विदेशमन्त्रीको उपस्थितिमा मनाङमा चीन सरकारको सहयोगमा अस्पताल बनाउने, प्राकृतिक विपत्तीमा काम गर्ने ५ हजार टेन्ट चीनले नेपाललाई दिने र चिनियाँ स्वयंमसेवक शिक्षक नेपाल आउने सम्बन्धी तीन वटा सम्झौतामा हस्ताक्षर भएको मन्त्रालले उल्लेख गरेको छ ।

    यो भ्रमणले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको वातावरण बनाउने अपेक्षा गरिएको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा विदेशमन्त्री यीले द्धिपक्षीय छलफल जारी राख्ने र उपयुक्त समयमा राष्ट्रपति सि जिनपिङले नेपाल भ्रमण गर्ने सन्देश नेपाललाई दिएका छन् ।

    राष्ट्रपति सि जिनपिङको आसन्न भ्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले विदेशमन्त्रीलाई पनि राष्ट्रपति सरहकै सुरक्षा सुविधा दिएको छ ।

    यसलाई राष्ट्रपतिको भ्रमणको रिहर्सलका रुपमा लिइएको छ । यसैबीच, विदेशमन्त्री वाङ सोमबार चन्द्रागिरिको समेत भ्रमणमा जान भ्याएका छन् । उनी आइतबार नेपाल आइपुगेका थिए ।

  • आज विपी जयन्ती, कांग्रेसले जागरण अभियान थाल्दै

    आज विपी जयन्ती, कांग्रेसले जागरण अभियान थाल्दै

    काठमाडौं । नेपाली राजनीतिका शीर्षपुरुष विपि कोइरालाको आज जन्मजयन्ती, नेपाली कांग्रेसले देशभर विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

    खासगरी जागरण अभियानको थालनी गर्ने बताएको कांग्रेसले विपीको १ सय ६औं जन्मजयन्तीका दिन १०६ वटा रुख रोपेर अभियान थाल्ने भएको छ ।

    सबै प्रदेशमा यो अभियान शुरु हुने भएको छ । दोस्रो चरणको जागरण अभियानको दौरान रुख रोपेर शुरुवात गर्न लागिएको कांग्रेसले बताएको छ ।

    देशभर विभिन्न स्थानमा ३४ हजार ९ सय ८० वटा बिरुवा रोप्ने योजना कांग्रेसको छ । उपचिर्वाचन पनि नजिकिएको मौकामा कांग्रेसले देशभर जागरण अभियान चलाउन लागेको हो ।

    प्रदेशसभा निर्वाचन क्षेत्रमा कार्यक्रम केन्द्रित गरिएको छ । १५ दिन सम्म चल्ने यस अभियानको अन्तिम दिन ७ असोजमा ७७ जिल्लामा एकसाथ प्रदर्शनको आयोजना गरिएको छ ।

    कांग्रेसले आगामी मंसिरमा हुने उपनिर्वाचनलाई समेत प्राथमिकता दिएको बताएको छ ।

    पार्टीको गिरेको साँख जोगाउनु र नेकपाले सत्तामा रहेका बेला पाएको आलोचनालाई उपयोग गर्ने दाउ हेरिरहेको छ । आगामी १४ मंसिरमा देशभरका विभिन्न ५० क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

  • मंगलबारदेखि पाइपबाट नेपालमा पेट्रोलियम पदार्थ

    मंगलबारदेखि पाइपबाट नेपालमा पेट्रोलियम पदार्थ

    काठमाडौं । मंगलबारबाट नेपालमा पाइपलाइनबाट औपचारिक रुपमा पेट्रोलियम पदार्थ आयात शुरु हुँदैछ ।

    नेपाल तथा भारतका प्रधानमन्त्रीले मंगलबार आआफ्नो मुलुकबाट पाइपलाइनको उद्घाटन गर्दैछन् ।

    नेपाल र भारतको रणनीतिक महत्व बोकेको यो पाइपलाइन निर्माण भएसँगै अब ढुवानी खर्चमा हुँदै आएको अर्बौं रुपैयाँ बचत हुने भएको छ ।

    उद्घाटनको तयारी पुरा भएको नेपाल आयल निगमले जानकारी दिएको छ मंगलबार दिउसो १२ बजेर १५ मिनेटमा पाइपलाइन उद्घाटन हुने भएको छ ।

    दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच अन गरेपछि भारतको बरौनीमा नेपालतर्फ आउने तेलको पाइप अन हुने बताइएको छ ।

    त्यसपछि सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले रिसिभ स्वीच थिच्ने भएका छन् । त्यसपछि तेल अमलेखगञ्जमा झर्नेछ । किनकी पाइपलाइनमा पहिला नै तेल भरेर राखिएको छ ।

    दुई प्रधानमन्त्रीले अन र रिसिभको स्वीच थिच्नासाथ तेल खस्न सक्ने गरी तयारी गरिएको छ । पाइपबाट झारेको तेल बोतलमा थापेर बरौनी डिपो प्रमुखले आयल निगमका प्रमुख हस्तान्तरण गर्ने कार्यक्रम समेत तय गरिएको छ ।

    यो पाइपलाइन दक्षिण एशियाकै पहिलो क्रस बोर्डर पाइपलाइन हो । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन बनाइएको हो ।

    विसं २०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार पाइपलाइन बनेको हो ।

    विसं २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा स्वीच थिचेर मोतिहारी अमलेखगञ्ज पाइपलाइनको निर्माणको शिलान्यास गरेका थिए ।

    शुरुमा पाइपलाइनबाट साढे छ सय किलोलिटर पानी र एक हजार किलोलिटर डिजेल पठाएर परीक्षण गरिएको थियो ।

    पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको थियो ।

    यस आयोजनामा भारत सरकारको रु चार अर्ब ४० करोडको आर्थिक सहयोग रहेको छ । पाइपलाइनको कूल लम्वाई ७० किलोमिटर रहेको छ ।

  • दशैं चहलपहल शुरु, टिकाको साइत जुर्यो, अग्रिम बुकिंग खुल्दै

    दशैं चहलपहल शुरु, टिकाको साइत जुर्यो, अग्रिम बुकिंग खुल्दै

    काठमाडौं । नेपालीहरुको महान चाड दशैं नजिकिएसँगै चहलपहल शुरु भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले टिकाको साइत जुराएको छ ।

    समितिका अनुसार दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । २१ असोजमा यस वर्ष विजयादशमी परेको छ ।

    उक्त दिन मंगलबार हो । त्यसो त विजयादशमीमा दिन भर जसो नै उत्तम साइत मानिन्छ । तर, पात्रो कै साइत जुराउनेहरुका लागि भने उक्त समय सबैभन्दा राम्रो रहेको बताइएको छ ।

    दशैंमा घर जानेहरुलाई लक्षित गर्दै काठमाडौंमा अग्रिम बुकिंग शुरु हुदैछ । केही दिनमै बुकिंग शुरु हुने व्यवसायीले जनाएका छन् ।

    दशैंमा करीव २ सय नयाँ बस थप्ने तयारी व्यवसायीले गरेका छन् । दशैं लक्षित सहुलीयत पसल आजबाट शुरु हुँदैछ ।

    विभिन्न खाद्यान्न तथा मासुमा नगद छूटसहित देशभर ७३ स्थानमा सहुलियत पसल संचालनमा आउँदैछ ।

    बजारमा नयाँ सामान भित्राउन व्यवसायीले शुरु गरिसकेका छन् । बजार अनुगमन पनि उत्तिकै बढाएको सरकारको भनाई रहेको छ ।

  • आजबाट काठमाडौंमा विद्यूतीय बस

    आजबाट काठमाडौंमा विद्यूतीय बस

    काठमाडौं । काठमाडौंको सडकमा सोमबारदेखि सार्वजनिक बस संचालनमा आउँदैछन् ।

    निजी लगानीको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा बसबाट विद्यूतीय सार्वजनिक सवारीको यूग प्रारम्भ गर्दैछ ।

    यसअघि नेपालमा करीव ३० वर्षभन्दा लामो समय चलेको ट्रलीबसले विद्यूतिय सवारीको रुपमा काठमाडौंको पहिचान स्थापित गराएको थियो ।

    नेतृत्वको हेला भएपछि ट्रली बस बन्द हुन पुगेको थियो । ट्रली बस बन्द भएको एक दशकपछि सुन्दर यातायातले सार्वजनिक बस संचालन गर्न लागेको हो ।

    दुई वटा बस सोमबाटबाट गुड्ने र केही दिन मै थप ५ वटा बस काठमाडौं आउने कम्पनीले जनाएको छ । यसै वर्ष भित्र २५ वटा बस ल्याएर काठमाडौंमा चलाउने योजना कम्पनीको छ ।

    उक्त कम्पनीले काठमाडौंमा विद्यूतीय सवारी साधनलाई लक्षित गर्दै आफ्नै लगानीमा विद्यूतीय चार्ज स्टेशनसमेत स्थापना गरेको छ ।

    सुन्दरका बस पहिलो चरणमा चक्रथप भित्र मात्र चल्ने भएका छन् । त्यसपछि क्रमशः अन्य रुटमा बिस्तार गर्ने कम्पनीले जनाएको छ । सुन्दरले प्रतिबस १ करोड ६२ लाख रुपैयाँ लगानीमा यी बस भित्राएको हो ।

  • ७३ स्थानमा चल्ने भए सुपथ पसल

    ७३ स्थानमा चल्ने भए सुपथ पसल

    काठमाडौं । सरकारले चाडबाड लक्षित गरी देशभर सुपथ मूल्यका पसल संचालन गर्ने भएको छ ।

    दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले देशका ७३ स्थानमा सुपथ मूल्य पसल स्थापनाको निर्णय गरेको हो ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार बसेको बैठकले सुपथ मूल्य पसलको संख्या, स्थान र छुट दिने सम्बन्धमा पनि टुंगो लगाएको हो ।

    मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थाले ती पसल सञ्चालन गर्ने भएका छन ।

    मन्त्रालयले काठमाडौंमा ३ वटा घुम्ती पसल संचालनको योजना बनाएको छ । साल्ट ट्रेडिङले देशभर ३५, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २३ र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

    काठमाडौं उपत्यका भित्र कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुरलगायत स्थानमा ९ घुम्ती पसल संचालन गरिने भएको छ ।

    काठमाडौंमा ३ वटा घुम्ती भने साल्ट ट्रेडिङले संचालन गर्ने भएको छ । उपत्यका बाहिर, बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहान जस्ता शहरमा साल्ट ट्रेडिङले पसल संचलन गर्ने भएको छ ।

    यस वर्ष २३ भदौदेखि १६ कात्तिकसम्म चल्ने भएका छन् । सरकारले काठमाडौंमा सोमबारबाट पहिलो सहुलीयत पसल संचालनमा ल्याउदैछ ।

    सहुलियत पसलमा नुन, चामल, चीनी, गेडागुडीदेखि मासुमा समेत कम मूल्य कायम हुने भएको छ ।

    मन्त्रालयका अनुसार सुपथ मूल्यको पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा दुई रुपैयाँ, मसिनो चामलमा तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ तथा च्याँग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिने योजना रहेको छ ।

    डीडीसी घ्यू ५० रुपैयाँ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट राखिने भएको छ । चिनीमा प्रतिकिलो ५ रुपैयाँ सहुलियत दिने तयारी सरकारको रहेको छ ।

  • तालिवानसँगको सम्झौता अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा अस्वीकृत

    तालिवानसँगको सम्झौता अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा अस्वीकृत

    अफगानिस्तानमा जारी हिंसा अन्त्यका लागि महत्वपूर्ण मानिएको शान्ती सहमति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकृत गरेका छन् ।

    तालिबानसँग शान्ति सहमति भएपछि तालिवानले लगातार दुई बम विस्फोट गराइयो । जहा अमेरिकी सैनिकको समेत ज्यान गएपछि राष्ट्रपति ट्रम्प सहमतिबाट पछि हट्ने रणनीतिमा पुगेका हुन् ।

    आइतबार अफगानिस्तानका राष्ट्रपति अशरफ घानी तथा तालिबान नेताहरुसँग क्याम्प डेविडमा भेटघाटको कार्यक्रम रहेको छ ।

    ट्रम्पले भने तालिवान नसच्चिएसम्म उसँग शान्ती सहमति कायम रहन नसक्ने बताएको छन् ।

    अघिल्लो साता काबुलमा दुई आक्रमण भएका छन् । यो आक्रमण तालिवान र अमेरिकाबीचको शान्ती सहमतिपछि भएको हो । जहाँ अमेरिकी सैनिकको समेत ज्यान गएको छ ।

    अफगानिस्तानमा १८ वर्षदेखि जारी युद्धमा लाखौ सर्वसाधारणले अकालमा ज्यान गुमाउन बाध्य भएका छन् ।

    युद्धलाई पूर्णविराम लगाउने लक्ष्यसहित शान्ति वार्ता चलिरहेकै बेला तालिबानले धमाधम आक्रमण गरिरहेको छ ।

    शान्ती सहमति अनुसार नै अफगानिस्तानबाट ५४ सय सैनिक फिर्ता लैजाने सहमति भएको थियो ।

    एजेन्सी

  • चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण, विदेशमन्त्री आज नेपाल आउँदै

    चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण, विदेशमन्त्री आज नेपाल आउँदै

    काठमाडौं । नेपालमा नयाँ संविधान जारी भएर निर्वाचनपछि कम्यूनिष्ट नेतृत्वमा सरकार गठन भएको डेढ वर्ष पुरा भइसकेको छ ।

    यसबीचमा चीन सरकारको तर्फबाट नेपालमा पहिलो पटक उच्चस्तरीय भ्रमण हुन लागेको छ । चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमणको सिलसिलामा आज नेपाल आउँदैछन् ।

    पाकिस्तानमा एक सम्मेलन पुरा गरी उनी नेपाल आउन लागेका हुन् । नेपालमा उनी तीन दिन सम्म रहँदा उच्च स्तरीय भेटवार्ताको कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी गराएसकेको छ ।

    उनको नेपाल भ्रमण चिनियाँ राष्ट्रपति सी जिनफिङको निकट भविश्यमा हुने नेपाल भ्रमणको तयारीका रुपमा दुबै मुलुकले उपयोग गर्दैछन् ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । मन्त्रालयका अनुसार चीनबाट १९ सदस्यीय टोली नेपाल आउन लागेको छ ।

    विदेशमन्त्री वाङले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जारी गरेको तालीकामा उल्लेख छ ।

    भेटमा द्धिपक्षीय विविध विषयले प्राथमिकता पाउने भएका छन् । सोमबार समकक्षी प्रदीप ज्ञवालीसँग औपचारिक द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

    सोही दिन मन्त्री ज्ञवालीले विदेशमन्त्रीको स्वागतमा रात्री भोज समेत आयोजना गर्नेछन् । विदेशी मन्त्री वाङ दोस्रो पटक नेपाल आउन लागेका हुन् । उनी सन् २०१४ मा नेपाल आएका थिए ।

  • ओमानको सलाम एयरले काठमाडौंमा दैनिक उडान घोषणा

    ओमानको सलाम एयरले काठमाडौंमा दैनिक उडान घोषणा

    काठमाडौं । ओमानको वायुसेवा कम्पनी सलाम एयरले अब काठमाडौंमा दैनिक उडान गर्ने भएको छ ।

    यससँगै ओमनमा वैदेशिक रोजगारीमा जाने नेपाली तथा नेपाल भ्रमणमा आउने ओमाानका नागरिकलाई यात्रा सहज भएको ग्लोबल आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले बताए ।

    सलाम एयरको जनरल सेल्स एजेन्ट नेपालमा आइएमई ट्राभल्सले गर्दै आएको छ । अहिले कम्पनीले नेपालमा साताको तीन उडान गर्छ ।

    आगामी साताबाट दैनिक उडान शुरु भएपछि यात्रु संख्या दोब्बरले बढ्ने कम्पनीको विश्वास छ । सलाम एयरले काठमाडौं उडान शुरु गरेको १ वर्ष पुगेको छ ।

    सोही अवसर पारेर सलामले नयाँ उडान बिस्तारको घोषणा गरेको हो । कम्पनीले १ वर्षको अवधिमा करीव ५० हजार यात्रु बोकेको उक्त अवसरमा जानकारी दिइयो ।

    आगामी  वर्षमा यो संख्या दोब्बर बनाउने लक्ष्य कम्पनीको रहेको छ । ओमानबाट दुई वटा कम्पनीले नेपालमा उडान गर्दै आएका छन् ।

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सलाम एयरलाई गौतमबुद्ध विमानस्थलबाट समेत उडान बिस्तारको तयारी गर्न आग्रह गरे ।

    उक्त विमानस्थल सन् २०१९ को अन्तिमबाट संचालनमा ल्याउने तयारी रहेको छ ।

  • भारतीय चन्द्रयान-२ सम्पर्कबिहिन

    भारतीय चन्द्रयान-२ सम्पर्कबिहिन

    भारतले शनिबार बिहान प्रक्षेपण गरेको चन्द्रयान-२ सम्पर्कबिहिन भएको छ ।

    भारतले निकै महत्व दिएको यो यान अन्तरिक्ष अभियानको महत्वपूर्ण पाटो थियो । तर, यान चन्द्रमामा अवतरण गर्नु अगाडी नै सम्पर्कविहिन भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    यद्दपी यानसँग पुनः सम्पर्क स्थापित गर्ने कोसिस भने जारी राखिएको छ । यान प्रक्षेपण प्रत्यक्ष रुपमा अवलोकन गर्न भारतीय प्रधानमन्त्री विभिन्न शिक्षालयका विद्यार्थीसहित स्टेशन पुगेका थिए ।

    यानको सफल अवतरण नभएपछि सबै निरास बनेका थिए । समाचार अनुसार चन्द्र सतहबाट मात्र २.१ किलोमिटर उचाईमा पुगिसकेका बेला यान सम्पर्क बिहिन भएको हो ।

    सफ्ट लन्च हुने बेला यानको सम्पर्क पृथ्वीसँगको स्टेशनबाट टुटेको वैज्ञानिकलाई उदृत गर्दै भारतीय संचारमाध्यमले लेखेका छन् । प्रधानमन्त्री मोदीले यसका वावजुत भारतको अन्तरिक्ष कार्यक्रम जारी रहने उल्लेख गरेका छन् । एजेन्सी

  • दशैंमा सरकारले ३ हजार खसी, बोका, च्यांग्रा काठमाडौंमा बेच्ने

    दशैंमा सरकारले ३ हजार खसी, बोका, च्यांग्रा काठमाडौंमा बेच्ने

    काठमाडौं । सरकारी व्यवस्थापनमा आगामी दशैंमा करीव ३ हजार खसी, बोका तथा च्यांग्रा काठमाडौंको बजारमा बिक्रि गरिने भएको छ ।

    खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडले दशैँ लक्षित गरी उक्त संख्यामा खसी बोका ल्याउन लागेको बताएको छ ।

    बजारमा माग भने यसको तुलनामा निकै धेरै हुन्छ । यस पटक मासुको भाउ अत्यधिक बढेको छ । जसले गर्दा आम मानिसलाई मंहगीको मार पर्ने निश्चित छ ।

    यसबाट थोरै भए पनि बजार नियन्त्रण गर्न सरकारले खसी, बोका र च्याङ्ग्रा ल्याउन लागेको हो ।

    निजी क्षेत्रको एकाधिकारका कारण बजारमा भाउ अत्यधिक भएपछि हरेक वर्ष सरकारले सस्तो मूल्यमा खसी बोका तथा च्यांग्रा ल्याएर बेच्ने गरेको छ ।

    त्यसो त अन्य उत्पादनमा यस्तै हुन्छ । त्यसकारण दशै र तिहारको मूखमा सरकारले सुपथ मूल्यका पसलहरु संचलन गर्ने गर्छ ।

    गत वर्ष सरकारले २ हजार खसी बोका र च्यांग्रा काठमाडौं ल्याइ बेचिएको थियो । यस वर्ष १ हजार बढी च्याङ्ग्रा ल्याउन लागिएको हो ।

    काठमाडौंमा हिमाली भेगबाट च्यांग्रा ल्याइने छ । तराई भेगबाट भने खसी र बोका ल्याउने तयारी छ । यसको व्यवस्थापनका लागि बोलपत्र आह्वान समेत भइसकेको छ ।

  • तन्दुरुस्त बनेर स्वदेश फर्किए प्रधानमन्त्री

    तन्दुरुस्त बनेर स्वदेश फर्किए प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन । सिंगापुरमा स्वास्थ्य उपचार गरी प्रधानमन्त्री शुक्रबार बिहान स्वदेश फर्किएका हुन् ।

    प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरु पुगेका थिए ।

    विमानस्थलमा प्रधानमन्त्री संचारकर्मीसँग बोल्न भने मानेनन् । उनी ५ भदौमा उपचारको सिलसिलामा सिंगापुर गएका थिए ।

    त्यसअघि १० दिन उपचार गरी उनी स्वदेश फर्किएका थिए । प्रधानमन्त्रीका निजी चिकित्सकहरुका अनुसार प्रधानमन्त्री तन्दुरुस्त बनेर स्वदेश फर्किएका छन् ।

    उनी अब नियमित काम गर्न सक्छन् । यसैबीच नेकपा अध्यक्ष प्रचण्डले शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    सिंगापुरमा रहेका बेला प्रधानमन्त्रीले दुई पटकसम्म भिडियो कन्फ्रेन्स गरी नेपालको हालखबर बुझेका थिए ।

  • कृषि मन्त्रीलाई डेंगुको संक्रमण, देशभर फैलिँदै प्रकोप

    कृषि मन्त्रीलाई डेंगुको संक्रमण, देशभर फैलिँदै प्रकोप

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालमा डेंगुको संक्रमण देखिएको छ । उनलाई उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको छ ।

    रगत जाँच गर्दा डेंगुको जिवाणु भेटिएपछि उनी अस्पताल भर्ना भएका हुन् । अघिल्लो शुक्रबार हेटौडा पुगेका मन्त्री खनाललाई रुघाखोकी र ज्वरोले च्यापेको थियो ।

    त्यसपछि रगत परिक्षण गर्दा डेंगुको संक्रमण देखिएको मन्त्री खनालको सचिवालयले जानकारी दिएको छ । मन्त्रीसहित अहिले देशभर ५ हजार भन्दा बढी मानिसमा यसको संक्रमण फैलिसकेको छ ।

    बिहीबार मात्रै सिन्धुपाल्चोकका एक जनाले ज्यान गुमाएका छन् । बिहीबार राजधानीका विभिन्न क्षेत्रमा डेंगु विरुद्धको छरिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार डेंगु नियन्त्रण बाहिर पुगेको छ । यसका लागि सेना नै परिचालन गर्नुपर्ने स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताइसकेका छन् ।

    डेंगु एक विशेष प्रकारको पोथी लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । दिउँसो सक्रिय हुने यो लामखुट्टेले टोकेको थाहा पाइन्न, तर टोकेपछि अति धेरै चिलाउँछ । र ठूल्ठूलो चाला उठ्ने गर्छ ।

    यस्तो लामखुट्टे घर भित्रैको सफा पानीमा उत्पन्न हुने र बढ्ने गर्छ । काठमाडौंमा धेरैजसो घरमा पानी जम्मा गरेर राख्नु पर्ने बाध्यताले यस लामखुट्टेको फैलावटमा सहयोग पुगेको हो ।

    सकेसम्म लामखुट्टेको टोकाईबाट बच्दा धेरै हदसम्म यो रोगको संक्रमणबाट बच्न सकिन्छ । आँखा, नाक, मुखबाट रगत बग्ने, पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने डेंगीका मूख्य लक्षण हुन्।

  • एडीबीका आयोजनामा समस्यै समस्या

    एडीबीका आयोजनामा समस्यै समस्या

    काठमाडौं । एसियाली विकास बैंकका असधकांश आयोजनामा समस्या रहेको देखिएको छ ।

    एसियाली विकास बैंकले बिहीबार राजधानीमा आयोजना गरेको त्रिपक्षीय समिक्षामा प्रस्तुत प्रतिवेदन अनुसार धेरैजसो आयोजनाको कार्यान्वयन अवस्था कमजोर रहेको देखिएको छ ।

    एडीबीले कार्यान्वयन कमजोर रहेका आधा दर्जन आयोजनको सम्झौता नविकरण नै गरेको छैन । नविकरण गरेका आयोजनाको पनि फाइनान्सियल क्लिोजर सम्झौता अवधिभन्दा निकै पछि मात्र भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार आयोजनाको सम्झौता नविकरण ३० डिसेम्बर २०१८ मा सकिएको थियो । त्यसपछि नविकरण गरिएको छैन ।

    अन्य आयोजनाको हकमा पनि यही समस्या छ । हवाई तथा सडक, शहरी पूर्वाधार, शिक्षा, उर्जाजस्ता क्षेत्रमा एडीबीको लगानीका आयोजना अलपत्र अवस्थामा छन् ।

    खासगरी हरेक पटकको समिक्षामा उस्तै समस्याका बारे चर्चा हुने तर सुधार नहुने प्रवृत्तिका विषयमा बिहीबार बहस भएको छ ।

    खासगरी ठेकेदारको लापरवाही र त्यसमा नियामक निकायले आँखा चिम्लने प्रवृत्तिले आयोजना कार्यानवयनमा ढिलाई भइरहेको एडीबीको निष्कर्ष रहेको छ ।

    एडीबीका पोर्टफोलियो म्यानेजमेन्ट युनिट प्रमुख रुदी भान डेलले धेरैजसो आयोजनाको काम समयमै सक्न नसकिएको तथ्यांक प्रस्तुत गरे ।

    उनका अनुसार नेपालमा एडीबीले २ अर्ब ७० करोड अमेरिकी डलर बराबरको सहायता रकमका कार्यक्रम कार्यान्वयनमा ल्याएपनि रकम भुक्तानी भने आधा पनि छैन ।

    एडीबीका कन्ट्री निर्देशक मुख्तोर आमुदखानोभले अब स्थानीय र प्रदेशलाई बलियो नबनाएसम्म आयोजनाले प्रगति गर्न नसक्ने उल्लेख गरे ।

  • आन्दोलन सामु झुक्यो हङकङ, सुपुर्दगी विधेयक फिर्ता

    आन्दोलन सामु झुक्यो हङकङ, सुपुर्दगी विधेयक फिर्ता

    हङकङ । लगातार तीन महिनाभन्दा लामो आन्दोलनको बलमा हङकङमा सुपुर्दगी विधेयक फिर्ता भएको छ ।

    हङकङ सरकारको तर्फबाट प्रमुख ल्यारी क्यामले बुधबार विधेयक फिर्ता भएको घोषणा गरेकी छन् ।

    विधेयक ल्याएसँगै हङकङमा सम्भवतः सबैभन्दा ठूलो आन्दोलन भएको छ । जसको बेलमा विधेयक फिर्ता भएको हो ।

    विधेयक फिर्ता भएपछि आन्दोलन फिर्ता हुन्छ या जारी रहन्छ भन्ने बारे चाँही यसै भन्न नसकिने संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    किनकी सरकारको रवैयाबाट जनता यस पटक संशकीत बन्न पुगेका छन् । हङकङ चीनद्धारा शासन गरिएको क्षेत्र हो, तर यहाँ बेइजिङको कानुन लागु हुँदैन ।

    हङकङका विधायिकामा हङकङको नागरिकले चीन गएर कुनै आपराधिक क्रियाकलाप गरे चीनलाई नै सुपुर्दगी गर्ने विधेयक आएपछि त्यसको व्यापक विरोध भएको हो ।

    झन्डै २० लाख मानिस सडकमा उत्रिएर यस विधेयकको विरोध गरेका थिए । हङकङको नागरिकलाई सोही मुलुककै कानून लागु हुने भन्दै चीनको कानूनसँग सुम्पने विधायीका मान्य नहुने जनताको भनाई थियो ।

    प्रमुख क्यामले विधेयक अघि नबढाउने भने पनि फिर्ता लिन मानिरहकी थिइनन् । जसले गर्दा आन्दोलन अझै चर्किएको थियो ।

    प्रदर्शनकारीले विधेयकमा सरकार टसमस हुन नमानेपछि प्रमुखको राजिनामा र आम निर्वाचनबाट प्रमुख चुन्न पाउनुपर्ने व्यवस्थाको समेत माग गरिरहेका छन् ।

    एजेन्सी

  • घट्दैछन् म्यानपावर कम्पनी

    घट्दैछन् म्यानपावर कम्पनी

    काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको व्यवस्थापन गर्न भन्दै खुलेको म्यानपावर कम्पनीको संख्या अब भने घट्ने भएको छ ।

    १ भदौसम्म १३२३ वटा म्यानपावर कम्पनी कानूनि रुपमा अस्तित्वमा रहेका थिए । सरकारले यसबीचमा कम्पनीहरुलाई धरौटी रकम बढाएर मर्ज हुन अवसर दिएको थियो ।

    सरकारले बुधबार अन्तिम म्याद राखेर दिएको समयमा ८ सय ४८ म्यानपावर कम्पनीले मात्र बैंक ग्यारन्टी र धरौटी सरकारले तोकेबमोजिम पुरा गर्न सफल भएका छन् ।

    अब सरकारी मापदण्ड पुरा गर्न नसकेका सबै म्यानपवार कम्पनी खारेज हुने वैदेशिक रोजगार विभागको भनाई रहेको छ ।

    इजाजतपत्र लिए पनि धरौटी र बैंक ग्यारेन्टी पुरा नगर्ने कम्पनी बन्द हुने भएका हुन् । इजाजतपत्र लिएपनि ३ सय ३ वटा म्यानपावरले धरौटी रकम सरकारले तोकेअनुसार पुर्याउन सकेनन् ।

    यसबीचमा कतिपय कम्पनी भने गाभिएर ठूलो कम्पनीमा रुपान्तरण भएको छन् । जसले गर्दा उनीहरुको बैंक ग्यारेन्टी पुगेको हो ।

    सरकारले नेपालमा ५ सय देखि ६ सयको बीचमा म्यानपावर कम्पनी राख्ने लक्ष्यसहित धरौटी बुझाउन सक्ने र म्यानपावर कम्पनी घट्ने अपेक्षा गरेको थियो । तर, सरकारको सोच भन्दा फरक व्यवसायीहरु धरौटी राख्न सफल भएका छन ।

    बुधबार अन्तिम दिन मात्र करीव १ सय कम्पनीले धरौटी बुझाएको बताइएको छ । सरकारले बैदेशिक रोजगार ऐन संशोधन गरी म्यानपावर कम्पनीले बुझाउनु पर्ने धरौटी रकम बढाएको हो ।

    यस ऐनअनुसार वार्षिक ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीले ५० लाख नगद धरौटी र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्ने प्रावधान ल्याइएको छ ।

    तीनदेखि ५ हजारसम्म कामदार पठाउने कम्पनीले एक करोड नगद र दुई करोड बैंक ग्यारेन्टी राख्नुपर्छ । ५ हजारभन्दा बढी कामदार पठाउने कम्पनीले दुई करोड नगद धरौटी र तीन करोड बैंक ग्यारेन्टी राख्नुपर्ने प्रावधान रहेको छ ।

    यसअघिको नियम अनुसार म्यानपावर कम्पनीले ७ लाख नगद धरौटी र २३ लाख बैंक धरौटी राखे पुग्ने थियो ।

    आफ्नो कम्पनीबाट गएका कामदार पनि विदेशमा अलपत्र पर्दा कम्पनीले त्यसको जिम्मा लिन नसक्ने अवस्था आएपछि सरकारले धरौटी रकम बढाउने निर्णय लिएको हो ।

  • जापानमा नेपालीलाई केयर गिभरको अवसर, कात्तिकमा परीक्षा

    जापानमा नेपालीलाई केयर गिभरको अवसर, कात्तिकमा परीक्षा

    काठमाडौं। जापान सरकारले अब औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया थालनी गरेको छ ।

    नेपालसहित ९ देशबाट आप्रवासी कामदार लैजाने घोषणा यस अघि नै गरेको जापान सरकारले अब कामदार भित्राउने औपचारिक प्रक्रिया शुरु भएको बताएको छ ।

    जापानले विभिन्न १४ क्षेत्रमा आप्रवासी कामदारलाई अवसर दिँदैछ । त्यसअन्तर्गत पहिलो चरणमा नेपालीले केयर गिभरमा अवसर पाउने भएका छन् ।

    नर्सिङ केयरमा कामदार भित्राउन लागिएको जापानको स्वास्थ्य तथा श्रम मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार जापानमा रोजगारी गर्न योग्य हुने व्यक्तिले जापानी भाषा तथा सीप परीक्षा उतीर्ण गर्नुपर्ने प्रावधान तोकिएको छ ।

    नर्सिङ केयर गिभरमा पहिलो चरणमा नेपालबाट युवाले अवसर पाउने निश्चित भएको हो । मन्त्रालयका अनुसार यस कामका लागि जान चाहनले ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ पास गर्नुपर्छ ।

    उक्त टेस्टमा ६० मिनेटमा ४५ वटा प्रश्नको लिखित उत्तर दिनुपर्ने गरी पाठ्यक्रम तय गरिएको छ । कम्प्यूटरका माध्यमबाट प्रयोगात्मक परीक्षाको समेत व्यवस्था रहेको उल्लेख छ ।

    ‘नर्सिङ केयर जापानीज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’ मा भने ३० मिनेट भित्र १५ वटा प्रश्नको उत्तर दिएर टेस्ट पास गर्नुपर्ने गरी पाठ्यक्रम तयार पारिएको छ ।

    यी दुई टेस्ट दिन एक हजार जापानी येन दस्तुरको व्यवस्था भएको मन्त्रालयले जानकारी दिएको छ ।

    पास हुन ६० प्रतिशत कम्तिमा ल्याउनु पर्ने र परिक्षा दिएको एक महिना भित्रै नतिजा सार्वजनिक हुन भएको छ ।

    जापानले यस्तो परिक्षा कात्तिक १० देखि १२, १९ देखि २१ र २६ देखि २८ गतेसम्म परीक्षा सञ्चालन गर्दैछ ।

    नेपाल सरकार र जापान सरकारबीच द्धिपक्षीय सम्झौता अनुसार कामदार जापान पठाउन लागिएको हो ।

  • देशभर वर्षाको सम्भावना, सचेत रहन सूचित

    देशभर वर्षाको सम्भावना, सचेत रहन सूचित

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

    खासगरी नदीहरुमा पानीको बहाव बढ्ने र पहाडमा पहिरोको सम्भावना हुने भन्दै मौषम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको हो ।

    महाशाखाद्धारा जारी बुलेटिन अनुसार भारी र सामान्य वर्षाले समेत हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको छ ।

    मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भु-भागमा औसत स्थान भन्दा माथि र अन्य ठाउंमा औसत स्थान आसपास रहेका कारण देशैभर वर्षाको सम्भावना रहेको बताइएको छ ।

    बंगालको खाडीको उत्तर- पश्चिमि भागमा एउटा न्युन चापिय प्रणाली बनेपछि त्यसले नेपालमा पनि वर्षा पार्न सहयोग पुर्याउँछ ।

    हल्कादेखि मध्यम खालको वर्षा भने शुक्रबारसम्म नै जारी रहन सक्ने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

  • कस्तो छ प्रधानमन्त्रीलाई ?

    कस्तो छ प्रधानमन्त्रीलाई ?

    काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था गोप्य राखेको छ । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री विगत १२ दिनदेखि उपचारका क्रममा सिंगापुरमा छन् ।

    आम जनतालाई प्रधानमन्त्रीलाई कस्तो होला भन्ने निकै ठूलो चासो छ, तर सरकारले यो विषयमा स्पष्ट धारणा ल्याउन सकेको छैन ।

    यसै मेसोमा प्रधानमन्त्रीलाई भेट्ने सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल मंगलबार सिंगापुरतर्फ प्रस्थान गरेका छन् ।

    उनीसँगै नेकपा उपाध्यक्ष वामदेव गौतमसमेत जाने कार्यक्रम रहेको बताइए पनि गौतम भने गएनन् ।

    सिंगापुर उड्नुअघि नेता पौडेलले स्वास्थ्य अवस्था बुझ्ने र प्रधानमन्त्री सँगै स्वदेश फर्कने कार्यक्रम तय गरी आफू सिंगापुर जान लागेको बताएका थिए । प्रधानमन्त्री स्वस्थ रहेको समेत उनको भनाई थियो ।

    प्रधानमन्त्री २० भदौमा स्वदेश फर्कने बताइएको छ । यद्दपी उनको उपचार जारी रहेका कारण त्यो पनि सर्ने हो की भन्ने आशंका पनि छन् ।

  • आवको पहिलो महिनामा वैदेशिक व्यापार-आयातको वृद्धिदर घट्यो

    आवको पहिलो महिनामा वैदेशिक व्यापार-आयातको वृद्धिदर घट्यो

    काठमाडौं । आर्थिक वर्षको पहिलो महिना (साउन)मा आयातको वृद्धिदर घटेको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५\७६ को साउनको तुलनामा चालु आव २०७६\७७ को साउन महिनामा आयातको वृद्धिदर घटेको हो ।

    यस अवधिमा निर्यात व्यापार भने बढेको छ । तथ्यांक अनुसार साउनमा १ खर्ब ६ अर्ब ७२ करोड रुपैयाँ बराबरको सामान भित्रिएको छ । गत वर्ष १ खर्ब २० अर्ब ६१ करोड रुपैयाँ बराबरको सामान नेपाल भित्रिएको तथ्यांक रहेको छ ।

    यस साउनमा अघिल्लो साउनको तुलनामा ११।५१ प्रतिशतले कम सामग्री आयात भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख भएको छ ।

    यस अवधिमा नेपालले ८ अर्ब ८४ करोड ७० लाख रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । अघिल्लो वर्ष यस महिनामा नेपालको निर्यात ६ अर्ब ९२ करोड १५ लाख रुपैयाँ बराबरको रहेको थियो ।

     

    आयात घटेपछि आव २०७५र७६ को तुलनामा आव २०७६र७७ को साउनमा व्यापार घाटा पनि घटेको तथ्यांले देखाएको छ ।

    तथ्यांक अनुसार यस महिनामा नेपालको वैदेशिक व्यापार घाटा ९७ अर्ब ८८ करोड ८२ लाख रुपैयाँको रहेको छ ।

    अघिल्लो वर्ष एक महिनामा १ खर्ब १३ अर्ब ६८ करोड रुपैयाँको व्यापार घाटा भएको थियो ।

  • अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता हुने

    अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता हुने

    अफगानिस्तानमा खटिएका ५४ सय अमेरिकी सेना स्वदेश फिर्ता हुने भएका छन् ।

    तालिबान लडाकु समूहसँग आगामी २० साता भित्रै ५४ सय अमेरिकी सेना फिर्ता लैजाने सहमति भएको एक अमेरिकी उच्च अधिकारीले जनाएका छन् ।

    बीबीसीका अनुसार उनी वाशिङटनका तर्फबाट तालिवान लडाकुसँग वार्तामा खटिएका एक उच्च वार्ताकार थिए ।

    जालमाइ खलिलजाद नामक ति अधिकारीले टेलिभिजन अन्तर्वार्ताका दौरान सहमतिको विवरणबारे केही खुलाएका हुन् ।

    सहमतिलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने उनले जानकारी गराएका छन् ।

    अमेरिकासाग सहमतिका वावजुत पनि अफगानिस्तानमा तालिवानको आक्रमण भने रोकिएको छैन । सोमबार मात्र काबुलमा भएको विस्फोटमा ५ जनाको ज्यान गएको छ ।

    यसको जिम्मेवारी समेत तालिवानले लिएको छ । खलिलजाद तालिबान-अमेरिका सहमतिका रणनीतिकार मानिन्छन् । लामो समयदेखि तालिवान अमेरिकासँग वार्तामा बस्न मानिरहेको छैन ।

    उसले मच्याएको हिंसात्मक गतिविधिका कारण अफगानिस्तानमा लाखौं निहत्था मानिसको ज्यान गइसकेको छ ।

    सैनिक फिर्ताको बदलामा तालिबानले अमेरिका र उसका साझेदारविरुद्ध आक्रमण गर्नेहरूका अफगानिस्तान अखडा नबन्न सुनिश्चित गर्ने सहमति भएको बताइएको छ।

    अहिले अमेरिकामा १४ हजार अमेरिकी सैनिक तैनाथ छन् ।

    एजेन्सी

  • उपनिर्वाचनमा भाग लिन दल दर्ता अनिवार्य 

    उपनिर्वाचनमा भाग लिन दल दर्ता अनिवार्य 

    काठमाडौं । नेकपासहितका दलले आसन्न उपनिर्वाचनमा भाग लिन अनिवार्य दल दर्ता गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले दल दर्ताका लागि राजनीतिक दललाई आह्वान गरेको हो ।

    एमाले र माओवादी मिलेर निर्वाचन पछि एकिकरण भएका कारण नेकपाले नि उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने भएको हो ।

    १४ मंसिरमा विभिन्न तहमा रिक्त रहेको पद परिपूर्तिका लागि उपनिर्वाचन हुँदैछ । यस दिन एकै पटक संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन हुने छ ।

    आयोगले २०७४ सालमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएका राजनीतिक दल बाहेकलाई उपनिर्वाचनमा दल दर्ता गर्न आह्वान गरेको हो।

    उक्त निर्वाचनमा भाग लिएका दलले भने दल दर्ता गरिरहन नपर्ने भएको हो । सोहीकारण उक्त निर्वाचनपछि संगठित भएका दलले दल दर्ता गर्दा नेकपासमेत दर्ता गर्नुपर्ने सूचिमा परेको हो ।

  • पत्रकार बन्न लाइसेन्स अनिवार्य

    पत्रकार बन्न लाइसेन्स अनिवार्य

    काठमाडौं । पत्रकारको योग्यताको विषयलाई लिएर नेपालमा लामो समयदेखि वहस जारी रहेको छ । खासगरी ब्लग र यूट्यूवको लहर आएसँगै पत्रकारको योग्यतामाथि प्रश्न उठिरहेको छ ।

    यसै मेसोमा कानुनमै पत्रकारको योग्यता तोक्ने गरी सांसदहरुले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् ।

    आइतबार सत्तारुढ दल नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले संसद सचिवालयमा दर्ता गराएका छन् र संशोधन प्रस्तावमा पत्रकारिता पेशामा प्रवेश गर्दा परीक्षा लिनुपर्ने उल्लेख गरिएको छ ।

    पत्रकारिता व्यवसायी परीक्षा नाम दिइएको यो परीक्षा मिडिया काउन्सिल अन्तर्गत रहने परीक्षा समितिले लिने उनीहरुको प्रस्तावमा उल्लेख रहेको छ ।

    काउन्सिलले वर्षमा दुई पटक पत्रकारिता पेशामा प्रवेश गर्ने सम्बन्धि परीक्षा सञ्चालनको प्रस्ताव गरिएको छ ।

    त्यसका लागि पाठ्यक्रम पनि काउन्सिलबाटै तयार पार्नुपर्ने प्रावधान संशोधनमा समेटिएको छ ।

    पत्रकारिता क्षेत्रमा पढेलेखेका पत्रकारको तुलनामा राजनीतिक पहुँचका भरमा आएका मानिसहरुको बाहुल्य रहँदा यो पेशा प्रति नै नागरिकको वितृष्णा फैलिदै गएको छ ।