Category: अर्थतन्त्र

  • युवालाई रोजगारदातासँग भेटाउन आजबाट सातै प्रदेशमा श्रमाधान रोजगार मेला

    युवालाई रोजगारदातासँग भेटाउन आजबाट सातै प्रदेशमा श्रमाधान रोजगार मेला

    काठमाडौं । आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना हुँदैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । श्रम मन्त्री डोलप्रसाद अर्यालका अनुसार हरेक प्रदेशमा दुई–दुई दिन सञ्चालन हुने मेला कोशी प्रदेशको विराटनगरमा आजबाट शुरु हुँदैछ ।

    जेठ ३० गते बाग्मती प्रदेशको ललितपुरमा सकिने छ । कोशी प्रदेशको विराटनगरमा आज र भोलि, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।

    श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी लिन सकिने श्रम मन्त्रालयले जनाएको छ । मेलाका लागि मङ्गलवारदेखि दर्ता खुला गरिएको छ । श्रम मन्त्रालय र मातहतका सबै निकाय एवम् विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, होटल सङ्घ नेपाल लगायतका स्टल रहनेछन् ।

    मेलामा रोजगारदाता कम्पनीहरू र रोजगारीको खोजीमा रहेका नेपाली जोडिन सक्ने मन्त्रालयले जनाएको छ । श्रममन्त्री अर्यालले सरकारको रोजगार बैंकमा रोजगारदाताले खोजेको श्रमिक र रोजगार पाउने अवस्था रहेको पनि बताउँछन् । मेलाले स्वदेशी कामदार र विदेशमा सीप सिकेर फर्किएर कामदारलाई अवसर दिलाउने सरकारको विश्वास छ ।

  • न्यूरोडमा महानगरले भत्काएको सडक दुई दिन भित्र यथास्थितिमा राख्न सडक विभागको अल्टिमेटम

    न्यूरोडमा महानगरले भत्काएको सडक दुई दिन भित्र यथास्थितिमा राख्न सडक विभागको अल्टिमेटम

    काठमाडौं । सडक डिभिजन कार्यालय, काठमाडौंले काठमाडौं महानगरपालिकालाई न्यूरोडस्थित जुद्ध शालिक-इन्द्रचोक सडक खण्ड दुई दिनभित्र यथास्थितिमा पुनर्स्थापना गरिदिन भनेको छ। महानगरले भत्काएको सडक नबनाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने समेत डिभिजन कार्यालयले बताएको छ। बुधबार डिभिजन प्रमुख नारायणदत्त भण्डारीले काठमाडौं महानगरका नाममा एक पत्र जारी गर्दै भत्काएको सडक दुई दिनभित्र बनाइदिन अनुरोध गरेका हुन्।

    डिभिजन कार्यालयका अनुसार यसअघि पनि महानगरलाई उक्त सडक खन्न र भत्काउन रोकेर पुनर्स्थापना गरिदिन भनिएको थियो। उक्त काम सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को बर्खिलाप देखिएकाले तुरून्त रोकी सडक यथास्थितिमा पुनर्स्थापना गरिदिन फेरि अनुरोध गरिएको थियो। तर हालसम्म काम नभएको भन्दै डिभिजन कार्यालयले महानगरलाई दुई दिनको समय दिएको हो।

  • आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज

    आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज

    काठमाडौं । सरकारले आलु, प्याज, स्याउलगायत तरकारी तथा फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गर्ने घोषणा गरेको छ ।

    मंंगलबार आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यसबाट स्वदेशी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    त्यस्तै, मदिरा, वियर र सूर्तीमा लगाइएको अन्तशुल्क दरमा वृद्धि गरिएको जानकारी दिए ।

  • अर्थमन्त्री पुनले ल्याए हालसम्मकै ठूलो बजेट, १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन

    अर्थमन्त्री पुनले ल्याए हालसम्मकै ठूलो बजेट, १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन

    काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् ।

    यो हालसम्मकै ठूलो आकारको बजेट हो। यसअघि आव २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका थिए।

    संघीय प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकमा मंगलबार उक्त बजेट प्रस्तुत गर्दै उनले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत बजेट विनियोजन गरेको जानकारी दिए।

  • प्रदेश र स्थानीय तहमा पाँच खर्ब ६७ अर्ब रुपैयाँ हस्तान्तरण गरिने

    प्रदेश र स्थानीय तहमा पाँच खर्ब ६७ अर्ब रुपैयाँ हस्तान्तरण गरिने

    काठमाडौं । आर्थिक वर्ष २०८१–८२ मा संघीय सरकारबाट प्रदेश तथा स्थानीय तहमा ५ खर्ब ६७ अर्ब रुपैयाँ बजेट पठाउने भएको छ । राजश्व बाँडफाँट, समानीकरण अनुदान, समपूरक अनुदान तथा विशेष अनुदान समेत गरी सो बराबरको बजेट पठाउन लागिएको हो ।

    त्यसमध्ये समानीकरण अनुदानका लागि प्रदेशलाई ६० अर्ब र स्थानीय तहलाई ८८ अर्ब छुट्याइएको छ । त्यस्तै, सशर्त अनुदानका लागि प्रदेशलाई २५ अर्ब ८४ करोड र स्थानीय तहलाई २ खर्ब ८ अर्ब ८८ करोड छुट्याइएको छ ।

    त्यस्तै सशर्त अनुदानतर्फ प्रदेशमा ६ अर्ब २० करोड तथा स्थानीय तहमा ७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । विशेष अनुदानतर्फ प्रदेशमा ४ अर्ब ४० करोड र स्थानीय तहमा ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

  • बुटवल–नारायणगढ खण्डमा महेन्द्र राजमार्ग अवरुद्ध

    बुटवल–नारायणगढ खण्डमा महेन्द्र राजमार्ग अवरुद्ध

    काठमाडौं । पूर्वी नवलपरासीको गैंडाकोट थुम्सीमा सडक भासिदा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध बनेको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैंडाकोट–९ थुम्सीको जंगलमा सडक भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले दिएको जानकारी अनुसार सडक भासिएको ठाउँमा ट्रकसमेत फसेकोले त्यसलाई निकाल्ने प्रयास गरिएको छ ।

    भाँसिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको लु १ ख ८५१३ नम्बरको यात्रुवाहक बसमा एक्कासि ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् । ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किन पुगेको थियो।

    नारायणगढ बुटवल सडक विस्तार आयोजनाले अवरुद्ध सडक खुलाउन अझै १ घण्टा लाग्ने जनाएको छ । सोही सडकखण्डको दाउन्नेमा अबरुद्ध बनेको सडक भने सञ्चालनमा आइसकेको आयोजनाले जानकारी दिएको छ ।

  • आगामी आवको बजेट आज सार्वजनिक हुँदै

    आगामी आवको बजेट आज सार्वजनिक हुँदै

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दैछन् । जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ ।

    बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरण छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेशमा दलहरु सहमति नजिक पुगेकाले आजको संसद बैठकमा सौहाद्रपूर्ण वातावरणमा सञ्चालन हुने नेताहरुले बताएका छन् ।

    यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले बजेट ल्याउन लागेको हो । यसअघि सरकारले यही जेठ १ गते नीति तथा कार्यक्रम ल्याएको थियो । उक्त नीति तथा कार्यक्रम प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका बीच जेठ १३ गते पारित भएको थियो । अर्थ मन्त्रालय स्रोतका अनुसार १९ खर्ब हाराहारीको बजेट आउने छ ।

    यस पटक बजेटमार्फत नयाँ कार्यक्रमभन्दा पुराना र क्रमागत आयोजनालाई प्राथमिकता राखेर त्यसको स्रोत सुनिश्चिततामा जोड दिइने स्रोतले जनायो ।
    करको दर हेरफेरमा हुने आलोचना कम गर्दै त्यसलाई पारदर्शी बनाउने उद्देश्यले तीन महले राखेर करको दर हेरफेर हुने कारणसमेत उल्लेख गर्ने तयारी छ ।

    साथै निजी क्षेत्रलाई प्रवर्द्धन गर्न उत्पादन र निर्यातमा सहुलियत तथा अनुदान, स्टार्टअपलाई प्रोत्साहन, सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन र सामाजिक सुरक्षाबापत हुने खर्चलाई न्यायिक बनाउने लगायतका विषय बजेटमा समेट्ने तयारी सरकारको छ ।

  • झिनो अंकले बढ्यो नेप्से

    झिनो अंकले बढ्यो नेप्से

    काठमाडौं । शेयर बजार झिनो अंकले वृद्धि भएको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ विन्दुमा पुगेको हो । यसदिन ३१७ कम्पनीको ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १४३ रुपैयाँ बराबरको ९३ लाख ३० हजार २९५ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटै समूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । बढ्दो बजारमा २ कम्पनी शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

  • सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब, सबैभन्दा बढी अर्थमा

    सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब, सबैभन्दा बढी अर्थमा

    काठमाडौं । सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

    महालेखाले आइतबार आफ्नो ६१औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत आर्थिक वर्षको असारमसान्तसम्म संघ प्रदेश र स्थानीय तहसहित सबै सार्वजनिक संस्थानको बेरुजु १२ खर्ब नजिक पुगेको जानाकारी गराएको हो ।

    त्यसमध्ये नियमित गर्नु पर्ने बेरुजु ६८ प्रतिशत, असुल गर्नु पर्ने बेरुजु २४ प्रतिशत र पेश्कि ६ प्रतिशत रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

    संघीय तथा प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अरू संस्था समेतको ७८ खर्ब ८१ अर्ब ६० करोड रुपैयाँको लेखापरीक्षण गरिएको प्रतिवेदनमा जनाइएको छ । सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तह समेतको लेखापरीक्षणबाट ९५ अर्ब ६० करोड रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

    त्यसमध्ये तीन हजार २७७ संघीय सरकारी निकाय तथा कार्यालयको २४ खर्ब ६१ अर्ब ११ करोड रुपैयाँको लेखापरीक्षणबाट ४६ अर्ब ५४ करोड रुपैयाँ (१.८९ प्रतिशत) बेरुजु निस्किएको छ ।

    प्रदेशतर्फ एक हजार २७० निकाय तथा कार्यालयको तीन खर्ब २३ अर्ब ३४ करोड रुपैयाँको लेखापरीक्षण गर्दा ६ अर्ब ५७ करोड रुपैयाँ (२.०३ प्रतिशत) बेरुजु निस्किएको छ ।

    नेपाल सरकारका १० मन्त्रालयहरुमध्ये सबैभन्दा बढी अर्थ मन्त्रालयको सबैभन्दा बढी ५४.७४ प्रतिशत देखिएको छ । त्यस्तै, भौतिक तथा पुर्वधार यातायात मन्त्रालयको बेरुजु २५.९९ प्रतिशत बेरुजु देखाएको छ ।

    त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरुजु ६.७१ प्रतिशत, उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको २.१९ प्रतिशत, शहरी विकास मन्त्रालय १.९८, खानेपानी मन्त्रालय १.६४ प्रतिशत, भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्राल १.३० प्रतिशत, गृह मन्त्रालयको १.१६ प्रतिशत, संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालय ०.८८ प्रतिशत, परराष्ट्र मन्त्रालय ०.८३ प्रतिशत र अन्य मन्त्रालयहरुको २.५८ प्रतिशत बेरुजु रकम देखिएको छ ।

  • नेप्सेमा दोहोरो अंकको करेक्सन, ४ अर्ब ४४ करोडको कारोबार

    नेप्सेमा दोहोरो अंकको करेक्सन, ४ अर्ब ४४ करोडको कारोबार

    काठमाडौं । शेयर बजारमा करेक्सन आएको छ । गत साता लगातार ११० अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको करेक्सन आएको हो ।

    यसदिन ३१५ कम्पनीको ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४१७ रुपैयाँ बराबरको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र सामूहिक लगानी कोष बाहेक अरु सबै उपसमूहको परिसूचक राताम्मे भएको छ ।

    होटल उपसमूहको परिसूचक सर्वाधिक ३.३७ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूह २.१९ प्रतिशतले घटेको छ । आज आइएमई लाइफ इन्स्योरेन्स र सीईडीबी हाइड्रोपावरको सर्वाधिक समान १५ करोड रुपैयाँ बढीको शेयर सर्वाधिक कारोबार भएको छ ।

    कारोबारमा आएका मध्ये जम्मा २९ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने २१५ कम्पनीको घटेको छ । आज कालिञ्चोक दर्शनको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् । इन्फिनिटी लघुवित्तका शेयरधनीले सर्वाधिक ६.३६ प्रतिशत गुमाएका छन् ।

  • बजेट मंगलबार दिउँसो १ बजे प्रस्तुत गरिने

    बजेट मंगलबार दिउँसो १ बजे प्रस्तुत गरिने

    काठमाडौं । सभामुख देवराज घिमिरेले मंगलबार (जेठ १५ गते) दिउँसो १ बजेलाई प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठक बोलाएका छन् । यससँगै प्रमुख प्रतिपक्षी दलसँग सम्झौता नभए पनि सरकारले पेलेरै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्नेछ । अघिल्ला वर्षहरूमा अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदै आएको थियो ।

    सहकारी ठगी प्रकरणमा सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले निरन्तर संसद् अवरुद्ध गर्दै आइरहेको छ । कांग्रेस आफ्नो अडानबाट पछि नहट्ने सङ्केत बुझेपछि सरकारले प्रतिपक्षीलाई पेलेरै अघि बढ्ने नीति लिँदै जेठ १ गते राष्ट्रपतिद्वारा पेश नीति तथा कार्यक्रमको छलफल अघि बढाएको थियो ।

  • सहकारीको ठगी प्रकरण :  समितिको कार्यादेशमा अझै बनेन सहमति

    सहकारीको ठगी प्रकरण : समितिको कार्यादेशमा अझै बनेन सहमति

    काठमाडौं । सहकारीको बचत ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउन बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । सिंहदरबारमा बिहीबार अपराह्न कानुन मन्त्री पदम गिरीसहित नेकपा एमाले, रास्वपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सदस्यहरूबीच छलफल भएको थियो। एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार शुक्रबार बिहान ८ः३० मा बस्ने गरी बैठक सकिएको छ । उनकाअनुसार संसदीय छानबिन समितिको कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम लेख्ने वा नलेख्नेबारे सत्ता र प्रतिपक्षीबीच अझै सहमति जुटिसकेको छैन।

    रास्वपाबाट कार्यदल सदस्य रहेका सांसद शिशिर खनालका अनुसार व्यक्ति तोकेरै समितिको कार्यादेश बनाउन न्यायोचित हुँदैन भन्ने सत्ता पक्षको भनाइ छ।
    कांग्रेसबाट कार्यदल सदस्य रहेका सहमहामन्त्री जीवन परियारका अनुसार गृहमन्त्रीको नाम नराखी संसदीय छानबिन समिति गठनको प्रस्ताव सत्ता पक्षले मौखिक रूपमा राखेको थियो। ‘गृहमन्त्रीको नाम नै नराखी संसदीय छानबिन समिति बनाउन सकिन्छ भन्ने उहाँहरूको भनाइ रह्यो,’ उनले भने, ‘यस्तो तरिकाबाट हुन्न भनेर हामीले प्रष्ट भनेका छौं। उहाँहरूले राखेका प्रस्ताव स्वीकार्न सक्ने अवस्था रहेन।’ सहमहामन्त्री परियारले कांग्रेस अडानबाट पछि नहटेको बताए।

  • प्रदेशगत रुपमा बागमतीको अर्थतन्त्र सबैभन्दा ठूलो

    प्रदेशगत रुपमा बागमतीको अर्थतन्त्र सबैभन्दा ठूलो

    काठमाडौं । नेपालको अर्थतन्त्रको आकारमा सबैभन्दा ठूलो योगदान बागमती प्रदेशको रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रदेश लेखा तथ्यांक अनुसार राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादनमा सबैभन्दा धेरै हिस्सा बागमती प्रदेशको रहने देखिएको हो ।

    चालु आर्थिक वर्ष (आव) २०८०–८१ मा नेपाली अर्थतन्त्र ३.८७ प्रतिशतले विस्तार भई ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यसमा बागमती प्रदेशले सबैभन्दा धेरै ३६.४ प्रतिशत ओगट्छ । दोस्रोमा कोशी प्रदेश रहेको छ । कोशीले अर्थतन्त्रमा १५.८ प्रतिशत हिस्सा ओगट्छ ।

    लुम्बिनी प्रदेशले १४.३ प्रतिशत, मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.१ प्रतिशत, सुदूरपश्चिम प्रदेशले ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत हिस्सा ओगट्ने कार्यालयले जनाएको छ ।

    तथ्यांक अनुसार बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७४ अर्ब रहेको छ । कोशीको ९ खर्ब ३ अर्ब, लुम्बिनीको ८ खर्ब १४ अर्ब, मधेशको ७ खर्ब ४८ अर्ब, गण्डकीको ५ खर्ब १७ अर्ब, सुदूरपश्चिमको ४ खर्ब ४ अर्ब र कर्णालीको अर्थतन्त्रको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको रहेको देखिएको छ ।

  • दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ६८ करोडको कारोबार

    दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ६८ करोडको कारोबार

    काठमाडौं । शेयर बजारमा लगातार उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १५.५४अंकले बढेर २१३१.४९विन्दुमा पुगेको हो । यसदिन ३१८ कम्पनीको ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँ बराबरको १ करोड ४४ लाख १९हजार ५२१ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटै समूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । बढ्दो बजारमा २ कम्पनी शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

  • शेयर बजारमा लगातार उच्च अंकको वृद्धि

    शेयर बजारमा लगातार उच्च अंकको वृद्धि

    काठमाडौं । शेयर बजारमा लगातार उच्च अंकको वृद्धि भएको छ । आइतबार ४५ अंकले बढेको नेप्से सोमवार २७ अंकले बढे र आज २३ अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २३.९४ अंकले बढेर २११५.९४ विन्दुमा पुगेको हो ।

    यसदिन ३१७ कम्पनीको ५ अर्ब २० करोड ६२ लाख ८ हजार १११ रुपैयाँ बराबरको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटै समूहमध्ये ११ समूहको परिसूचक बढेको छ भने २ को घटेको छ ।

    आज पोखरा फाइनान्स सर्वाधिक कारोबार भएको छ । यसको २४ करोड ६४ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । बढ्दो बजारमा आज ५ कम्पनी शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

  • शेयर बजारको उकालो यात्रा जारी

    शेयर बजारको उकालो यात्रा जारी

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक २७.५४अंकले बढेर २०९२ विन्दुमा पुगेको हो ।

    यसदिन ३१५ कम्पनीको ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ४वटा बाहेका सबैको बढेको छ ।

    आज पोखरा फाइनान्स सर्वाधिक कारोबार भएको छ । यसको १९ करोड ९२ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । बढ्दो बजारमा आज ४ कम्पनी शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

  • उच्च अंकले बढ्यो नेप्से, तीन महिना यताकै धेरै कारोबार

    उच्च अंकले बढ्यो नेप्से, तीन महिना यताकै धेरै कारोबार

    काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन नेप्से परिसूचक ४५.६९ अंकले बढेर २०६४.६९ विन्दुमा पुगेको हो ।

    यसदिन ५ अर्ब २५ करोड रुपैयाँ बढीको १ करोड २२ लाख ४० हजार ८०२ शेयर किनबेच भएको छ । यो ३ महिना यताकै धेरै हो । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ ।

    आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड ८० लाख रुपैयाँ बढीको १ लाख ७८ हजार २२४ कित्ता शेयर किनबेच भएको छ ।

    बढ्दो बजारमा आज ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुत्तिको शेयर मूल्य १० प्रतिशतले बढेको छ । माण्डू हाइड्रोपावरको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ ।

  • नागढुंगा-नौबिसे सुरुङमार्गको भौतिक प्रगति ७४ प्रतिशत

    नागढुंगा-नौबिसे सुरुङमार्गको भौतिक प्रगति ७४ प्रतिशत

    काठमाडौं । राष्ट्रिय गौरवको आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणको तीनचौथाई काम सकिएको छ ।आयोजनाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आइतबारसम्म सुरुङमार्गको समग्र भौतिक प्रगति ७४.३६१ प्रतिशत पुगेको हो ।

    आयोजना अन्तर्गत सुरुङ खन्ने काम सकिए पनि फिनसिङ, लाइट जडान, लाइटिङ, अक्सिजन जडान, सडक ढलान लगायतको काम बाँकी छ ।

    आयोजनाको मुख्य सुरुङ वैशाख ३ गते र आपतकालीन सुरुङ गत साउने २२ गते ब्रेक थ्रु गरिएको थियो । आयोजना निर्देशक नवीनमान श्रेष्ठका अनुसार मुख्य सुरुङ फिनसिङको काम ७६.१० प्रतिशत सकिएको छ । कुल २ हजार ६८८ मिटर लामो मुख्य सुरुङमध्ये हालसम्म २ हजार ४५.४० मिटर सुरुङ फिनसिङ गरिएको छ ।

    फिनसिङसँगै अन्य काम पनि सँगसँगै भइरहेको उनले बताए । उनका अनुसार सुरुङमार्ग अन्तर्गत निर्मा गर्नुपर्ने संरचनामध्ये अब फ्लाइओभर मात्रै बनाउन बाँकी छ । हालसम्म फ्लाइओभरको ५ वटा सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको छ भने अब अब सुपर स्ट्रक्चर मात्रै निर्माण गर्न बाँकी छ । यस्तै, फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गामध्ये ९५ प्रतिशत अधिग्रहण गरिसकिएको आयोजनाले जनाएको छ ।

  • सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

    सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

    काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार ९ सय रुपैयाँ पुगेको छ ।

    यो मूल्य हालसम्मकै उच्च पनि हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

    उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन प्रतितोला १ लाख ४० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • टिपतालामा पहिलो पटक पुगे नेपाली निर्माण उपकरण

    टिपतालामा पहिलो पटक पुगे नेपाली निर्माण उपकरण

    काठमाडौं । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलो पटक नेपालतर्फका गाडी पुगेका छन् । चीनको तिब्बतसँग जोडिएको टिपताला नाकामा शुक्रबार एउटा स्काभेटर र ट्याक्टर पुगेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए। टिपताला पाँच हजार एक सय मिटरको उचाइमा पर्छ । विराटनगरको रानी भन्सार हुँदै टिपताला जोड्ने सडकको ट्याक खोल्ने कार्य यसअघि नै सकिएको थियो ।

    सो सडक निर्माणको ढेक्का पाएको एलाइट जेभी निर्माण सेवाले ओलाङचुङगोलासम्म ट्याक खोल्ने कार्य केही दिनअघि सम्पन्न गरेको थियो । यता टिपतालादेखि ओलाङचुङगोलासम्मको २४ किलोमिटर दूरीको ट्रयाक खोल्ने कार्य केही वर्ष अघि नै सम्पन्न भइसकेको छ ।

    सडक निर्माणसँगै ओलाङचुङगोलावासी तथा उत्तरी क्षेत्रका बासिन्दाको वर्षौदेखिको सडकको सपना पूरा भएको छ । टिपतालादेखि विराटनगरस्थित रानी भन्सार करिब दुई सय ९२ किलोमिटरको दूरीमा जोडिन्छ । टिपताला नाकामा सडक पुगे पनि कोरोना महामारीमा बन्द भएको सो नाका अझै खुलेको छैन ।
    रासस

  • काठमाडौं-तराई/मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

    काठमाडौं-तराई/मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

    काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु भएको छ ।

    नेपाली सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै लेनडाँडा सुरुङमार्गको जोडी सुरुङे एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु भएको जनाएको हो ।

    “नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नं. २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको आज २०८१ जेठ ४ गते ब्रेक थ्रु भएको छ,” सेनाको विज्ञप्तिमा भनिएको छ ।

    द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरू मध्ये निकट भविष्यमा दुवै तर्फको सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको सेनाले जनाएको छ ।

    नेपाली सेनाले २०७४ सालेदेखि द्रुतमार्ग निर्माण कार्यको जिम्मेवारी लिएको हो । २०८३ चैत मसान्तसम्म द्रुतमार्ग निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सेनाले लिएको छ ।

  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ ।

    हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा त्यो १५४ रुपैयाँमा झरेको छ । भारतबाट आयात हुने पेट्रोलको मूल्य घटेर आएकाले नेपालमा मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।

  • झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन दिन नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा झरेको हो ।

    यसदिन ३१५ कम्पनीको ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँ बराबरको ८४ लाख ९० हजार ७२२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ३ वटा बाहेका सबैको बढेको छ ।

    घट्दोबजारमा उपकार र यूनिक नेपाल लघुवित्त कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

  • ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २३५१ डलर

    ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २३५१ डलर

    काठमाडौं । सरकारले आगामी ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको १६औं आवधिक योजना अनुसार आर्थिक वर्ष २०८५र८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको हो ।

  • ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने सरकारको घोषणा

    ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने सरकारको घोषणा

    काठमाडौं । सरकारले देशभरका ५ लाख भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

    उनले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताए। उनले सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकार बीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने बताए ।

    ३ लाख हेक्टर कृषियोग्य जमिनमा सिंचाई सुविधा पुर्‍याउनेदेखि राष्ट्रिय गौरवका सिंचाईं परियोजना निर्माणमा जोड दिने बताए।

  • २०८१/८२ भित्रै ‘कन्ट्री रेटिङ’ गर्ने घोषणा

    २०८१/८२ भित्रै ‘कन्ट्री रेटिङ’ गर्ने घोषणा

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा गरेको छ।
    आगामी आर्थिक वर्ष २०८१/८२ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्।

    भर्खरै सम्पन्न भएको लगानी सम्मेलन अघि सरकारले कन्ट्री रेटिङ गर्ने भनिए पनि हुन सकेको छैन। करिब ४ वर्षदेखि कन्ट्री रेटिङको काम भइरहेको बताइए पनि हालसम्म सम्पन्न भएको छैन।उनले निजी क्षेत्रसँगको सहकार्यमा पशुपालनलाई प्रोत्साहन गर्न सरकारले प्रत्येक स्थानीय तहमा पशु अस्पताल निर्माण गर्ने बताए।

  • सहकारी नियमनका लागि छुट्टै नियामक निकाय बनाइने

    सहकारी नियमनका लागि छुट्टै नियामक निकाय बनाइने

    काठमाडौं । सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गरेकाे सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने उल्लेख गरेको छ ।

    बैंक तथा वित्तीय संस्थाका समस्या समाधानका लागि कानुनी तथा नीतिगत प्रबन्ध र केही नयाँ व्यवस्थासमेत कार्यन्वयन गर्ने नीति सरकारले लिन लागेको हो ।

    “नियमन र सुपरिवेक्षणलाई सुदृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाइनेछ । बैङ्क तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बीमा र पूँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरू क्रमशः कार्यान्वयन गरिनेछ । लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनःसंरचना गरिनेछ”, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ,

    सहकारी संस्थाको सघन सुपरिवेक्षण र नियमनका लागि विशिष्टीकृत नियामक निकाय स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसैगरी सहकारी बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा सूचना केन्द्र र सहकारी कर्जा असूली न्यायाधीकरणमार्फत सहकारी क्षेत्रको बचत तथा लगानीको सुरक्षा गरिने जनाइएको छ ।

    “सहकारी संस्थाहरू अनिवार्य रूपमा सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा आबद्ध हुनुपर्ने व्यवस्था गरिनेछ । सरकारको शेयर स्वामित्व भएका साझा सहकारी संस्थालाई एकीकरण गर्ने व्यवस्था मिलाइनेछ । बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिन प्रोत्साहन गरिनेछ”, सरकारको वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ ।

    मुलुकभित्र व्यावसायिक वातावरण निर्माण गरी उद्योगी व्यवसायीको मनोबल बढाइने नीति पनि सरकारले लिएको छ । छरिएर रहेका साना पुँजी एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्न एवम् बन्द भएका उद्योग कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न निजी लगानी कम्पनीलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    राजस्व बाँडफाँटलाई समन्यायिक, सन्तुलित र अनुमानयोग्य बनाइने विषय पनि नीति तथा कार्यक्रममा राखिएको छ । त्यसैगरी, खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा वित्तीय हस्तान्तरण गरिनेछ जनाइएको छ ।

    “वस्तुगत मापदण्डका आधारमा ससर्त अनुदान हस्तान्तरण गरिनेछ । तीन तहका सरकारबीच प्राकृतिक स्रोतको परिचालन एवम् बाँडफाँट, लगानी तथा प्रतिफलको हिस्सा निर्धारण तथा विवाद निरूपणका लागि एकीकृत कानून तर्जुमा गरिनेछ । तीनै तहका विद्युतीय प्रणालीहरूबीच अन्तर–आबद्धता कायम गर्दै सार्वजनिक वित्त व्यवस्थापनलाई सुदृढ तुल्याइनेछ”, सरकारको वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ ।

  • भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड लाग्ने

    भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड लाग्ने

    काठमाडौं । विभिन्न समयमा गएका तीन वटा भूकम्पका कारण क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि ६३ अर्ब ५८ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रारम्भिक क्षति मूल्याङ्कनमा झण्डै ५८ अर्ब रुपैयाँको क्षति भएको र त्यसको पुनःनिर्माणका लागि साढे ६३ अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको हो ।

    प्राधिकरणका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख भरतमणि पाण्डेका अनुसार प्रारम्भिक रुपमा अध्ययन गरेर पुनःनिर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको जानकारी दिए ।

    विसं २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर १५४ जनाको मृत्यु भएको थियो भने ३६६ जना घाइते भएका थिए ।

    विसं २०८० असोज १६ गते बझाङमा ५.३ रेक्टरस्केलको भूकम्प जाँदा एक जनाको मृत्यु र ३० जना घाइते भएका थिए । त्यसअघि २०७९ कात्तिक २२ मा डोटीमा छ दशमलव छ रेक्टरको भूकम्प जाँदा छ जनाको मृत्यु र आठ जना घाइते भएका थिए ।

    ती तीनै वटा भूकम्पबाट ९५ हजार ७८७ घर क्षति भएको विवरण छ । ती घरमा कुल रु ४३ अर्ब ३९ करोड क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । त्यसबाहेक २०४ वटा विद्यालय भवन, ७० सरकारी र सार्वजनिक भवन, ११ वटा साँस्कृतिक सम्पदा, झण्डै दुई सय किलोमिटर सडक र एक सय २१ वटा सिंचाई आयोजनामा क्षति पुगेको थियो । सबैभन्दा बढी मानवीय र भौतिक क्षति जाजरकोट भूकम्पले गराएको थियो । उक्त भुकम्पमा मात्रै ८६ हजार बढी घर क्षति भएको छ ।

    प्राधिकरणले गरेको प्रारम्भिक मूल्याङ्कनमा निजी आवास, सरकारी भवन, स्वास्थ्य, शिक्षा र तथा साँस्कृतिक भवनको पुनःनिर्माणका लागि रु ५२ अर्ब ४६ करोड, अन्य पूर्वाधार क्षेत्र पुनःनिर्माणका लागि रु सात अर्ब १८ करोड, उत्पादनशिल क्षेत्रका लागि रु एक अर्ब ७३ करोड र अन्य गरेर कुल रु ६३ अर्ब ५८ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

    सोही आधारमा पुनःनिर्माणको आवश्यक प्रक्रिया अघि बढाउन थालिएको छ । जाजरकोट, बझाङ्ग र डोटीलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र अन्य भौतिक संरचनाहरुको प्रबलीकरण, पुनःनिर्माण र पुनःस्थापनाको योजना तर्जुमा गर्न विस्तृत क्षति आकलनको अवधारण स्वीकृत गरी बजेटका लागि अर्थ मन्त्रालयमा सहमति माग्ने निर्णय यसअघि नै भइसकेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यसअघि गृहमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले ‘विपद् प्रभावितको निजी आवास प्रवलिकरण, पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१’ स्वीकृत पनि गरिसकेकाले अब पुनःनिर्माणका काम अघि बढाइने जानकारी दिए ।

    यसपटक लाभग्राही कायम गरी ‘क’, ‘ख’ र ‘ग’मा वर्गीकरण गरिने र आवास पुनःनिर्माणको काम अघि बढाइने उनले बताए । कार्यविधिमा स्थानीय तहलाई बढी जिम्मेवार बनाइएको छ । क्षतिको प्रारम्भिक लेखाजोखा स्थानीय तहले गर्ने छ । क्षति आकलन पनि पहिलो प्राथमिकतामा स्थानीय तहलाई नै दिइएको छ । उसले नसकेमा स्थानीय तहलाई प्रदेश र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समन्वय गर्ने छ ।

    स्थानीय तहबाट आएको विवरणका आधारमा विश्लेषण गरी स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले लाभग्राही पहिचान र कायम गर्नेछ । त्यसपछि लाभग्राही र वडाध्यक्षबीच सम्झौता हुने छ । सम्झौताको २ वर्षभित्रमा पुनःनिर्माण सक्ने गरी कार्यविधि तयार पारिएको छ ।

  • १० महिनामा भित्रियो ४१ अर्ब माथि एफडीआई

    १० महिनामा भित्रियो ४१ अर्ब माथि एफडीआई

    काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०–८१ को १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा व्यापक सुधार देखिएको छ । उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म ४१ अर्ब २ करोड रुपैयाँबराबर एफडीआई स्वीकृत भएको छ । यो अघिल्लो आव २०७९–८० को सोही अवधिको तुलनामा सवा ११ अर्ब बढी हो । गत आव वैशाख मसान्तसम्म २९ अर्ब ७४ करोड रुपैयाँ बराबर एफडीआई आएको थियो । यो वर्ष कुल ३ सय ७ उद्योग दर्ता भएको तथ्यांकमा छ ।

    गत वर्ष २ सय १९ मात्र उद्योग दर्ता भएका थिए । यस वर्ष वैशाखमा मात्र ३८ उद्योग दर्ता भएका छन् । जसमार्फत ११ अर्ब २८ करोड ५७ लाख रुपैयाँबराबर वैदेशिक लगानी स्वीकृत भएको छ । तथ्यांक अनुसार सरकारले गरेको लगानी सम्मेलनको प्रभाव एफडीआईमा समेत देखिएको छ ।

    पछिल्लो तथ्यांक अनुसार नेपालमा कुल स्वीकृत एफडीआई ४ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । तथ्यांक अनुसार यस वर्ष १० महिनामा साना उद्योगमा बढी लगानी केन्द्रित भएको देखिएको छ । वैशाखसम्म २ सय ९० साना उद्योगमा लगानी आएको छ ।

    १३ मध्यम खालका उद्योगमा लगानी स्वीकृत भएको विभागले जनाएको छ । ठूला चार उद्योगमा मात्र एफडीआई स्वीकृत भएको छ । वैशाखमा मात्र स्वीकृत एफडीआईमध्ये साना उद्योगमा ३७ र एक ठूलो उद्योगमा लगानी स्वीकृत भएको तथ्यांकमा छ ।

    यस वर्ष वैशाखसम्म आएको एफडीआईको ठूलो हिस्सा पर्यटनमा केन्द्रित देखिन्छ । पर्यटनमा १ सय ४४ एफडीआई स्वीकृत भएको छ । जुन कुल उद्योगमा ४७ प्रतिशत हो । सेवा क्षेत्रमा १ सय ३ उद्योग दर्ता छन् । जसको हिस्सा ३४ प्रतिशत छ । उत्पादनमा ३४ उद्योग दर्ता छन् । जसको हिस्सा ११ प्रतिशत छ । सूचना प्रविधिमा ९ उद्योग दर्ता छन् । यो ३ प्रतिशत हिस्सा हो ।

    यसबाहेक कृषिमा ७, पूर्वाधारमा ७, खानीमा २ र ऊर्जामा एक उद्योगले एफडीआई स्वीकृत गराएको विभागको तथ्यांक छ । यस वर्ष वैशाखसम्म झन्डै २ हजार विदेशी नागरिकले नेपालमा लगानीकर्ताका रूपमा बिजनेस भिसा पाएका छन् । तथ्यांक अनुसार वैशाखसम्म १ हजार ८ सय ९६ लगानीकर्ताले बिजनेस भिसा पाएका छन् ।

  • दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । ताको कारोबारको दोस्रोदिन दिन नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ विन्दुमा पुगेको हो ।

    यसदिन ३२० कम्पनीको ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रुपैयाँ बराबरको ९५ लाख ४१ हजार १७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको परिसूचक बढेको छ भने ५ समूहको घटेको छ ।