Category: अर्थतन्त्र

  • जेठ महिनाको लागि वाणिज्य बैंकले घटाए ब्याजदर

    जेठ महिनाको लागि वाणिज्य बैंकले घटाए ब्याजदर

    काठमाडौं । वाणिज्य बैंकहरुको जेठ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटेको छ । ३ बैंकले बढाएका छन् । व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर जेठ महिनाका लागिऔसतमा ७.०७ प्रतिशत भएको छ । वैशाखमा औसत ब्याजदर ७.१५ प्रतिशत रहेको छ । १९ बैंकहरुको ब्याजदर ०.०८ विन्दुले घटको हो ।

    बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरूले थप ब्याजदर घटाएका हुन् । बैंकिङ प्रणालीमा अहिले ५ खर्ब रुपैयाँ बढी तरलता छ । तर, कर्जा लगानी हुन नसकेपछि बैंकहरूले स्थायी निक्षेप सुविधा प्रयोग गर्दै ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा राखिरहेका छन् । यस्तो अवस्थामा बैंकहरूले आफ्नो लागत घटाउन पनि निक्षेपको ब्याजदर घटाएका हुन् ।

    जेठका लागि २० मध्ये ९ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् प्रभु, ग्लोबल आइएमई र एनआइसी एशियाले बढाएका छन् । ८ बैंकले भने वैशाखकै ब्याजदर यथावत राखेका छन् ।

    ग्लोबल र प्रभुले व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपमा ०.५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् । त्यस्तै, एनआइसीले व्यक्तिगतमा ०.०५ प्रतिशत बिन्दु र संस्थागतमा ०.१० प्रतिशत बिन्दुले बढाएको छ ।

    जेठमा नबिल र एभरेष्टले व्यक्तिगतमा सर्वाधिक ०.५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । त्यस्तै, एनएमबी, सिटिजन, सिद्धार्थ, सानिमा, प्राइम, राष्ट्रिय वाणिज्य र नेपाल एसबीआई बैंकले पनि निक्षेपको ब्याजदर घटाएका छन् ।

    वैशाखको तुलनामा जेठमा वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.०७ प्रतिशत बिन्दु र संस्थागततर्फ ०.०४ प्रतिशत बिन्दुले घटाएका छन् । वैशाखमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ७.०७ प्रतिशत रहेकोमा जेठमा घटेर ७ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर वैशाखमा ५.८७ प्रतिशत रहेकोमा जेठमा ५.८३ प्रतिशतमा झरेको छ ।

    जेठमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर २.१४ प्रतिशतसम्म फरक भएको छ । एनएमबीले सर्वाधिक ७.८० प्रतिशत र कृषि विकासले सबैभन्दा कम ५.६६ प्रतिशत ब्याजदर दिने भएको छ । वाणिज्य बैंकहरूले ब्याजदर घटाएको यो लगातार आठौं महिना हो ।

  • नारायणी नदीमा बन्ने भयो सिग्नेचर पुल, प्रधानमन्त्रीले शिलान्यास गर्दै

    नारायणी नदीमा बन्ने भयो सिग्नेचर पुल, प्रधानमन्त्रीले शिलान्यास गर्दै

    काठमाडौं । चितवनमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्ने भएका छन् । उनी आइतबार नै चितवन आएका थिए । प्रधानमन्त्री प्रचण्डले चितवनको नारायणगढ र नवलपुरको गैंडाकोट जोड्ने पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणी नदी माथि बन्ने केबलस्टेट पुलको शिलान्यास गर्न लागेका हुन् ।

    यो पुल ४ सय २० मिटर लामो हुनेछ । १२ मिटर लामो फराकिलो पुलमा चार वटा पिल्लर रहने सडक विभागको पुल महाशाखाले जनाएको छ । पुल अहिलेको रहेको पुलभन्दा उत्तरतर्फ रहनेछ । नयाँ पुल अहिलेको भन्दा थप उचाइको हुने सडक विभागले जनाएको छ ।

    नयाँ पुलको तल्लो भागवाट सानातिना पानी जहाज आवातजावत गर्न मिल्ने गरी डिजाइन गरिएको छ । अहिले भइरहेको पुल निकै पुरानो र जीर्ण बनेकाले नयाँ आर्कषक पुल बनाउन लागिएको हो । तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको पुलको डिजाइन पनि सोही कम्पनीले तयार गरी पुल महाशाखाले स्वीकृत गर्ने हो । पुलको लागत भ्याटसहित १ अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ मा रहेको छ । ठेक्का भएको ४ बर्ष भित्र सक्ने सम्झौता भए पनि एक बर्षको समय गुज्रिसकेको छ ।

    ठेकेदारले गरेको डिजाइन अनुसार पुलको २ ठाउँमा टावर राखिनेछन् । पुलमा सवारी हिँड्न ७.५ मिटरको छुट्टाइने छ भने बाँकी भागमा फुटपाथ र साइकलसमेत चलाउन मिल्ने गरी डिजाइन गरिएको छ ।

  • विदेश पढ्न जाने विद्यार्थीसँगै विदेशियो १ खर्ब रुपैयाँ

    विदेश पढ्न जाने विद्यार्थीसँगै विदेशियो १ खर्ब रुपैयाँ

    काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै करिब १ खर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) २०८०–८१ को चैतसम्म शिक्षातर्फ ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको छ । यो अधिल्लो वर्षको तुलनामा धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा शिक्षातर्फ ६७ अर्ब १९ करोड रुपैयाँ मात्र विदेशिएको थियो ।

    शिक्षाका लागि अधिक रकम विदेशिँदा भ्रमण व्यय समेत अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढेको पाइएको छ । यस वर्ष ९ महिनामा भ्रमण व्यय १ खर्ब ४३ अर्ब २२ करोड पुगेको छ । यसमध्ये शिक्षामा ९५ अर्ब ८५ करोड र घुमफिरमा जानेले ४७ अर्ब ३७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश लगेका छन् ।

    यसअवधिमा नेपालले विदेशी पर्यटकका माध्यमबाट भने ६० अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको यसै अवधिमा करिब ४० प्रतिशत धेरै हो । सो वर्ष भ्रमण आय ४३ अर्ब १७ करोड थियो । सेवा खाता अन्तर्गत मुलुक भित्रने भन्दा विदेशिने रकम हुँदा यस्तो खाता घाटामा देखिन्छ ।


    ९ महिनाको अवधिमा सेवा खाता ५२ अर्ब २३ करोड रुपैयाँले घाटामा छ । सेवा खाता अघिल्लो वर्षको यसै अवधिमा ६३ अर्ब ९१ करोड रुपैयाँले घाटामा थियो । यस वर्ष पर्यटन आय बढ्दा घाटा केही कम भने भएको देखिन्छ ।

  • विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, १५ महिनाको आयात धान्ने

    विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, १५ महिनाको आयात धान्ने

    काठमाडौं । विदेशी मुद्रा संचितिले हालसम्मकै उच्चको रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले आइबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिना (साउन-चैत)को तथ्यांक अनुसार विदेशी मुद्रा संचिति १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

    गत असारको तुलनामा चैतमा विदेशी मुद्रा संचिति २४.२ प्रतिशतले बढेको हो । असार मसान्त्सम्म कुल विदेशी मुद्रा संचिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १६ खर्ब ८८ अर्ब २१ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब २३ अर्ब ६५ करोड रुपैयाँ छ ।

    आर्थिक वर्ष २०८०/८१ को पहिलो ९ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    डलर संचिति झण्डै साढे १४ अर्ब

    यस्तै, अमेरिकी डलर संचिति पनि हालसम्मकै धेरै भएको छ । चैतसम्म राष्ट्रिय ढुकुटीमा १४ अर्ब ३६ करोड अमेरिकी डलर संचित छ । गत असारको तुलनामा चालु वर्षमा डलर संचिति २२.७ प्रतिशतले बढेको हो । रेमिट्यान्स आप्रवाहमा वृद्धि, पर्यटकको आवगमन बढ्नु र विदेशी वस्तुको आयात घट्दा डलर संचिति लगातार बढेको हो ।

    २०७९ असोजदेखि डलर संचितिमा लगातार सुधार आएको छ । पछिल्लो एक महिनामा मात्रै राष्ट्रिय ढुकुटीबाट २२ करोड डलर थपिएको ।

    डलर संचिति बढेको यो लगातार अठारौं महिना हो । राष्ट्रिय ढुकुटीमा चालु आवको साउनमा १२ करोड, भदौमा १६ करोड, असोज ३७, कात्तिकमा ४२ करोड, मंसिरमा ५५ करोड, पुसमा ३९ करोड, माघमा २० करोड र फागुनमा २५ करोड डलर थपिएको थियो
    ।
    त्यस्तै, गत वर्षको असोजमा १३ करोड, कात्तिकमा १५ करोड, मंसिरमा १९ करोड, पुसमा ४८ करोड, माघमा २० करोड, फागुनमा १९ करोड, चैतमा २५ करोड, वैशाखमा २७ करोड, जेठमा ९ करोड र असारमा ४३ करोड डलर थपिएको थियो ।

    सरकारले डलर संचिति घटेको भन्दै २०७८ चैतदेखि वर्षदेखि विभिन्न विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, २०७९ पुसदेखि सरकारले आयात खुलाए पनि त्यसका बाबजूद डलर संचितिमा लगातार सुधार आएको हो ।

  • शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्बले बचतमा, चालु खातामा १ खर्ब ७९ अर्ब

    शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्बले बचतमा, चालु खातामा १ खर्ब ७९ अर्ब

    काठमाडौं । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा रहेको थियो।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाख रुपैयाँले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको छ।

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आई ४ अर्ब ७८ करोड रपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ४८ करोड रुपैयाँले धनात्मक रहेको छ।

    अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ९१ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रुपैयाँले धनात्मक रहेको थियो।

    समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १७४ अर्ब २८ करोड रुपैयाँले बचतमा रहेको थियो।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७५ करोड रुपैयाँले बचतमा रहेको छ।

  • मूल्यवृद्धिदर निरन्तर घट्दै, पुग्यो ४.६१ प्रतिशत

    मूल्यवृद्धिदर निरन्तर घट्दै, पुग्यो ४.६१ प्रतिशत

    काठमाडौं । चालू वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । यो सरकारको सीमाभन्दा तल हो ।

    सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत रहेको छ ।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २२.६४ प्रतिशत, तरकारीको १६.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.९४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.५९ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप– समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.१० प्रतिशतले घटेको छ ।

    समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.३३ प्रतिशतले घटेको छ ।

    २०८० चैत महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत, तराईको ४.५८ प्रतिशत, पहाडको५.३३ प्रतिशत र हिमालको४.३२
    प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.५७ प्रतिशत, ७.६८ प्रतिशत, ७.०१ प्रतिशत र ७.४७ प्रतिशत रहेको थियो

  • ९ महिनामा १० खर्ब ८२ अर्ब भित्रियो रेमिट्यान्स

    ९ महिनामा १० खर्ब ८२ अर्ब भित्रियो रेमिट्यान्स

    काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

    द्दण्। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३२९,४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २१२,७२१ रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३८७,८३९ र २१७,९५९ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.८ प्रतिशतले वृद्धि भई रु.११७४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.८ प्रतिशतले बढेको थियो ।

  • नेपाल टेलिकमले पाँच वर्षका लागि पायो नयाँ लाइसेन्स

    नेपाल टेलिकमले पाँच वर्षका लागि पायो नयाँ लाइसेन्स

    काठमाडौं । नेपाल टेलिकमले पाँच वर्षको लागि नयाँ अनुमतिपत्र पाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले अनुमति पत्र प्रदान गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जिएसएम सेलुलर मोबाइल सेवा प्रदान गर्दै आइरहेको टेलिकमलाई पुनः अनुमतिपत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो।

    मन्त्रिपरिषद्को बैठकको निर्णयमा भनिएको थियो, ‘दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा २० को अधिकार प्रयोग गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई सोही ऐनको दफा ३३ को उपदफा ४ बमोजिम पुनः अनुमतिपत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने।’

    उक्त उपदफामा जम्मा पुँजी लगानीको ५० प्रतिशतसम्म विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवाको सञ्चालन अनुमतिपत्रको अवधि समाप्त भएपछि पूर्व अनुमतिपत्र प्राप्त व्यक्तिले पुनः अनुमतिपत्र लिई सञ्चालन गर्न सक्ने व्यवस्था छ। प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले नेपाल टेलिकमलाई शुक्रबार नयाँ लाइसेन्स प्रदान गरिएको जानकारी दिए ।

    नेपाल टेलिकमको २५ वर्षे लाइसेन्स म्याद बिहीबार सकेको थियो। टेलिकमले नयाँ लाइसेन्सको लागि २१ करोड रूपैयाँ शुल्क बुझाएको समेत प्राधिकरणका प्रवक्ता पौडेलले बताए। यसभन्दा अघि नेपाल टेलिकमले २०५६ सालमा जिएमएम सेवाको लागि अनुमतिपत्र लिएको थियो।

  • नेपाल र स्वीट्जरल्याण्ड सरकारबीच पर्यटनमा सहकार्य गर्न बारे द्धिपक्षीय सम्झौता

    नेपाल र स्वीट्जरल्याण्ड सरकारबीच पर्यटनमा सहकार्य गर्न बारे द्धिपक्षीय सम्झौता

    काठमाडौं । नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच पदर्मागमा आधारित पर्यटन विकास परियोजना सुरु गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबार स्थित अर्थ मन्त्रालयमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र नेपालका लागि स्वीट्जरल्याण्डका तर्फबाट राजदूत डेनियल मेउलीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।


    सम्झौतामा हस्ताक्षर कार्यक्रममा सहसचिव कृष्ण नेपालले यो परियोजनाले कोशी प्रदेशका आकर्षक पदमार्गहरूको स्तरोन्नति गरी स्थानीय आर्थिक विकास र दिगो पर्यटन प्रबर्धन गर्ने लक्ष्यका साथ सम्झौता गरिएको बताए । यो आयोजना आगामी चार वर्षमा स्वीजरल्यान्ड सरकारको ९.०१ मिलियन डलर अनुदान सहयोगमा सञ्चालन हुने जानकारी दिए ।

    उनले १६ मिलियन बराबरको आयोजनामा प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानी समेत रहने जानकारी दिए । ‘एकीकृत पर्यटन विकाससँग सम्बन्धित आयोजनामा हामीले सम्झौता गरेका छौँ । १६ मिलियन सिएचएमको र ९.०१ मिलियन डलर स्वीजरल्यान्ड सरकारबाट अनुदान प्राप्त हुन्छ । यो आयोजनाले सन् २०२८ सम्ममा चल्छ । कोसी प्रदेश अन्तरर्गतका २९ स्थानीय तह कभर गर्छ । अहिलेसम्म १६ पदमार्गको खाका तयार भएको छ ।

    त्यसबाट १ लाख नागरिकले प्रत्यक्ष लाभ लिने आयोजनामा मूल्यांकन छ,ु उनले भने, स्थानीय उत्पादन, स्थानीय अर्थतन्त्र, स्थानीय रोजगारी सिर्जनामा र स्थानीय साना तथा मझौला उद्यमहरूको विकासमा पनि सहयोग पुग्छ । यो सम्झौताले मुलुकको पर्यटन क्षेत्रमा योगदान पुर्‍याउँछ । कायान्वयनको लागि तीनै तहका सरकार सहकार्यमा स्वीज सरकार समन्वयात्मक रुपमा गरिने छ । सहजरुपमा कार्यान्वयन हुन्छ भन्ने अपेक्ष गरेका छौं ।’

    आयोजनाले स्थानीय समुदायहरूलाई बढावा दिन र यस क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्दै वार्षिक रूपमा लगभग ८० हजार आगन्तुकहरूलाई स्वागत गर्ने अपेक्षा गरिएको बताए । उनले कोसी प्रदेशमा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपाल–स्विस साझेदारीमा अर्को कोसेढुंगा सावित हुने विश्वास रहेको बताए ।

  • नेपाल टेलिकमले एकै पटक तिर्यो २० अर्ब

    नेपाल टेलिकमले एकै पटक तिर्यो २० अर्ब

    काठमाडौं । नेपाल टेलिकमले प्राधिकरणलाई एकैपटक २० अर्ब रूपैयाँ बुझाएको छ। जिएसएम मोबाइल सेवाको अनुमतिपत्र लिएबापत टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने २० अर्ब रूपैयाँ मंगलबार बुझाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेले बताए। नेपाल टेलिकमले २०५६ सालमा जिएमएम सेवाको लागि अनुमतिपत्र लिएको थियो। सेवा लिएबापत कम्पनीले २०७६ सालमै तेस्रो नवीकरण दस्तुर बुझाउनुपर्ने थियो। तर सो रकम कम्पनीले मंगलबार बुझाएको हो।

    टेलिकमको २५ वर्षे लाइसेन्स म्याद वैशाख २८ गते सकिँदैछ। अर्थात् अनुमतिपत्रको २५ वर्ष अवधि पूरा हुँदैछ। यसपछि कम्पनीले नयाँ अनुमति पत्र लिनुपर्ने हुन्छ। नयाँ अनुमतिपत्र कसरी लिने भन्ने विषयमा स्पष्ट कानुन नहुँदा अन्यौल भइरहेको छ। यस विषयमा प्राधिकरणले सूचना तथा सञ्चार मन्त्रालयलाई पत्राचार गर्दै जानकारी गराएको प्राधिकरणका प्रवक्ता बताउँछन्।

  • अर्थमन्त्रीलाई सरोकारवालाको सुझाव- ‘हिम्मत निकाल्नूस-सच्चिने समय यही हो’

    अर्थमन्त्रीलाई सरोकारवालाको सुझाव- ‘हिम्मत निकाल्नूस-सच्चिने समय यही हो’

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणमा जुटेका अर्थमन्त्री वर्षमान पुन तथा अर्थ प्रशासकलाई सरोकारवालाले राज्य संयन्त्रलाई सच्याउने सही समय आएको भन्दै हिम्मत गर्न सुझाव दिएका छन् ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार आयोजना गरेको ‘प्रि-बजेट राउण्ड टेबल’ कार्यक्रमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमुख, अर्थविज्ञ, प्राध्यापक तथा सरोकारवालाले यस्तो सुझाव दिएका हुन् ।

    अर्थविद् प्रा.डा.अच्युत वाग्लेले राजनीतिक क्रान्ती गरेर आएका अर्थमन्त्री र उनको टीमसमक्ष अब राज्य संयन्त्रमा रहेका समस्या हटाउन ठूलो सुधारको हिम्मत चाहिएको बताए ।

    विगतमा जति पनि विकासका काम भएका थिए, ती बोल्ड डिसिजनकै कारण सम्भव भएको भन्दै उनले सुधारका लागि निर्णायक समय आएको बताए । आर्थिक क्रान्तिका लागि ठिक समय आएको छ, तपाईं त्यो ठाउँमा हुनुहुन्छ,’ उनले अर्थमन्त्रीसम्क्ष भने, ‘हिम्मत गर्नुहोस ।’

    उनले परम्परागत रूपमा अर्थतन्त्रको टेवा भनिएका क्षेत्र नै अहिले समस्यामा रहेको भन्दै सुधारका लागि बोल्ड निर्णय र हिम्मत चाहिएको बताएका हुन् ।

    सम्भावना भएका क्षेत्रहरू नै नेपालले पहिचान र विकास गर्न नसक्दा पछाडी परिरहेको भन्दै उनले राजस्व बढाउन समेत अब हिम्मत गरेर आँटिला निर्णयहरू गर्नुपर्ने बताए । यसमा प्रत्यक्ष कर तिर्ने वातावरण बनाउनु पर्ने तथा भन्सार घोषणामा रहेका कमजोरी हटाउँदा मात्र पनि डेढ खर्ब भन्दा बढी राजस्व चुहावट रोकिने उनले बताए ।

    त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभाग प्रमुख रेशम थापाले बजेट बनाउँदा तल्लो सरकारहरूलाई बिर्सन नहुने बताए । उनले पालिका उपाध्यक्षहरूको कार्यालय प्रभावकारी हुने हो भने त्यसले समग्र अर्थतन्त्रमा व्यापक परिवर्तन आउने बताए । त्यहाँ बन्ने योजनाले मुलुकलाई डोर्याउने वातावरण बनाउन उनले सुझाव दिए । निजी क्षेत्रले सरकारको धेरै मुख ताक्ने प्रवृत्तिले समेत वातावरण बिग्रिरहेको भन्दै दुबै पक्षले आफ्नो योगदान बिर्सन नहुने बताए । ठूलो बजेट बनाउन नहुने भन्दै उनले सेवा व्यापारमा आएको नयाँ आयातबाट फाइदा लिनुपर्ने धारणा राखे ।

    अर्थविद् विश्वास गौचनले संरचनात्मक सुधार नगरेसम्म हरेक वर्ष आउने बजेटले आमुल परिवर्तन ल्याउन नसक्ने बताए । आगामी आव १६ औं आवधिक योजनाको पहिलो बजेट रहेको भन्दै उनले दीर्घकालिन योजना र बजेटका बीचमा तालमेल मिलाउन सुझाव दिए । उनले विगतमा इभी सवारी साधनबारे लिइएका नीतिबारे समिक्षा गर्नुपर्ने समेत बताए ।

    पछिल्ला दशकमा घर जग्गामा भएको स्रोतको अधिक लगानीले जग्गाको भाउ बढाएको र यसले उत्पादन दिन नसकेको भन्दै सुधारको काम यस विन्दुबाटै थाल्न समेत सुझाव दिए ।

    निजी क्षेत्रको अपेक्षा : मनोबल बढाउनुपर्यो

    छलफलमा निजी क्षेत्रका तर्फबाट भने सुस्ताएको अर्थतन्त्रलाई माथि उकास्नु पर्ने र गुमेको आत्मविश्वास फिर्ता ल्याउनुपर्ने आवश्यकतामा जोड दिइयो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नयाँ बजेटले निजी क्षेत्रका अपेक्षा पूरागर्ने आश गरिएको बताए ।

    अहिले बजारमा माग र आपूर्ति कम हुँदा हरेक क्षेत्र सुस्ताएको भन्दै उनले कम्तिमा एक सयजनालाई रोजगारी दिने उद्योगलाई विशेष सुविधा ल्याउनु पर्ने बताए । आफ्नो काम देखाउन सरकारी एजेन्सीले निजी क्षेत्रलाई दुख दिइरहेको उनको गुनासो छ ।

    नेपाल उद्योग परिसघका अध्यक्ष राजेश कुमार अग्रवालले नेपालले आगामी आर्थिक वर्षमा कोभिड अगाडीका नीतिहरू पुनः फर्काउनु पर्ने आवश्यकता रहेको बताए । यद्यपि यो गर्दा कोभिड अगाडिको समयमा फर्किएको आरोप लाग्न सक्ने भन्दै उनले अर्थतन्त्रका लागि भने यो आवश्यक रहेको बताए । निजी क्षेत्रमा जाने स्रोत दुरुपयोग भयो भन्ने भाष्य चिर्न समेत कोभिड अगाडिका नीति अंगिकार गर्नुपर्ने उनको भनाइ छ । उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिन सुझाव दिए ।

    नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले आर्थिक शिथिलता अन्त्य गर्ने खालको बजेट आवश्यक रहेको बताए । निजी क्षेत्रको मनोबल माथी नउठेसम्म सरकार समेत सफल हुन नसक्ने उनको भनाइ छ । विगतमा लिइएका गलत नीति सच्याउनु पर्ने उनले सुझाव दिए । पुराना कानुनका कारण दुःख दिन नहुने उनले बताए ।

    नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकमा लगानीयोग्य रकम थुप्रिने तर अर्थतन्त्र चलायमान नहुने अवस्थाले लगानीकर्तामा आत्मबल नभएको संकेत गर्ने बताए । उनले व्यवसाय गर्ने व्यक्तिलाई प्रोत्साहन दिने खालको नीति आवश्यक रहेको बताए । बैंकहरूमा खराब कर्जा बढेको र यसमा बढी निर्माण व्यवसायीको रहेको भन्दै सरकारले भुक्तानी रोक्दा यो समस्या आएको उनले बताए ।

    बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन)का अध्यक्ष उपेन्द्र पौडेलले अहिलेका विद्यार्थीले मुलुक भित्र सम्भावना नदेखिरहेको अवस्थामा सरकारले उनीहरूलाई लक्षित गरी बजेट बनाउनु पर्ने सुझाव दिए । युवाले भविष्य नदेखेसम्म बैंकले समेत लगानी सुरक्षित भएको महसुस नगर्ने उनको भनाइ छ ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले जलविद्युत निर्माणले केबल बिजुली मात्र नबलेर सडक, बजार विस्तार र रोजगारी एकसाथ सिर्जना हुने भन्दै बजेटले विशेष प्राथमिकता यस क्षेत्रलाई दिनुपर्ने सुझाव दिए । जलविद्युतमा दोहोरो कर लिन नहुने भन्दै यसमा स्थानीय सरकारलाई समेत जानकार गराउनु पर्ने उनको भनाइ छ ।

    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण कुमार चौधरीले सरकारले अटोमोबाइल क्षेत्रलाई बिर्सिएको गुनासो गरे । उनले अहिले विद्युतीय सवारी र अन्य सवारी साधनमा दोहोरो बुझाइ रहेको भन्दै समग्रमा अटोमोबाइल क्षेत्र नै समस्यामा रहेको उल्लेख गरे । जनशक्ति पलायनको ठूलो समस्या रहेको भन्दै उनले जनशक्ति रोक्ने खालको नीति ल्याउन समेत माग गरे ।

    अर्थमन्त्री र अर्थसचिवको आश्वासन : आशावादी बनौं

    छलफलमा अर्थमन्त्री वर्षमान पुन र अर्थसचिव मधुकुमार मरासिनीले आशावादी बन्न अनुरोध गरे । अर्थमन्त्री पुनले बजेट निर्माणका क्रममा धेरै क्षेत्रसँग अन्तक्र्रिया गरिएको र सो क्रममा अर्थतन्त्र शिथिल छ भन्ने सुनिएको उल्लेख गरे । तर, गत वर्षभन्दा परिस्थिति सुधारोन्मुख रहेको भन्दै उनले आशावादी रहेर बजेट बनाइरहेको जानकारी दिए । निजी क्षेत्रको आत्मविश्वास उठाउने गरी बजेट आउने भन्दै उनले निजी क्षेत्रले समेत यसमा साथ दिनुपर्ने बताए । परिवार, सम्पत्ति र व्यवसायको सुरक्षालाई प्राथमिकता दिइने भन्दै उनले कुनै व्यक्तिसँग प्रश्न उठेमा त्यसको जवाफदेही स्वयं व्यक्ति हुनु पर्ने बताए ।

    मनोबल उठ्न नसक्नुका कारण खोजेर सरकारले सहजीकरण गर्ने उनको भनाइ छ । लगानी सम्मेलनमा सरकारले कानुन संसोधन गरेको स्मरण गर्दै उनले यसमा सरकार निजी क्षेत्र सङ्गै रहेको बताए । औद्योगिक वातावरण बनाउन बजेटले भुमिका खेल्ने उनले बताए । वित्तीय नीति र मौद्रिक नीतिमा तालमेल मिलाउनु पर्ने सुझावमा आफू सहमत रहेको उनको भनाइ छ ।

    अर्थसचिव मधुकुमार मरासिनीले छलफलमा उठेका अधिकतम विषयवस्तुलाई ध्यानमा राखेर बजेट निर्माण गरिने आश्वासन दिए । विगतदेखि नेपाल उस्तै समस्यामा रुमलिएको परिस्थितिले केही न केही उपचार गर्नेपर्ने आवश्यकता रहेको भन्दै उनले यसमा अर्थ मन्त्रालय गम्भीर रहेको समेत बताए । समस्याको पहिचान र त्यसको निदानमा आफ्नो ध्यान केन्द्रित रहेको भन्दै उनले सुरूमा समस्या थाहा पाउने र त्यसपछि ठोस उपचार खोजिने बताए । स्थानीय तहहरू शासन गर्ने अड्डा नभएर उत्पादनका क्षेत्र भएको भन्दै ती तहलाई जिम्मेवार बनाउन सके अर्थतन्त्रको आधारभूत तहबाटै समस्या समाधान हुन थाल्ने उनले बताए ।

    कार्यक्रममा सेजनका अध्यक्ष सुजन ओलीले कर दर हेरफेरमा सरकारको पारदर्शीता आवश्यक हुने बताए । पूँजीगत खर्च हुन नसक्नुका वास्तविक कारण पत्ता लगाईंमा त्यसमा संरचनागत सुधारकै खाँचो रहेको उनको भनाइ छ ।

  • भारतीय कम्पनीले पायो एमसीसीको पहिलो ठेक्का, ४०० केभी बुटवल सबस्टेसन निर्माण हुने

    भारतीय कम्पनीले पायो एमसीसीको पहिलो ठेक्का, ४०० केभी बुटवल सबस्टेसन निर्माण हुने


    काठमाडौं । भारतीय कम्पनी लिङ्कसन इण्डिया प्रालिले एमसीए–नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को अनुदानमा बन्ने न्यू बुटवल सबस्टेसन निर्माणका लागि ठेक्का पाएको छ ।

    नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्प्सन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थितिमा नवलपरासीमा आयोजित समारोहमा एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र लिङ्कसन इण्डियाका प्रतिनिधिले हस्ताक्षर गरे ।

    लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेसनको निर्माण सम्झौता अवधिको ३९ महिनाभित्र सम्पन्न गरिनेछ ।

    एमसीए–नेपालले यो परियोजनाअन्तर्गत तीनवटा सबस्टेसन निर्माण गर्दै छ । बाँकी दुई सबस्टेसन नुवाकोटको रातमाटे र तनहुँको दमौलीमा निर्माण हुँदैछन् । यी दुई सबस्टेसन निर्माणका लागि पनि प्राविधिक रुपमा योग्य ठेकेदारले पेश गरेको वित्तीय प्रस्ताव खोलिसकिएको छ ।

    एमसीए नेपालले यसअघि नै विद्युत् प्रसारण लाइनको टेन्डर खोलेको थियो । तर, कम्पनीहरुले गरेको प्रस्तावित मूल्य एमसीएको लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि सो टेन्डर प्रक्रियालाई गत २६ असोजमा सम्पूर्ण रुपमा रद्द गरिएको थियो ।

    त्यसमध्ये बुटवल–गोरखपुर १८ किलोमिटर प्रसारण लाइनलाई प्राथमिकताका साथ निर्माण गर्ने निर्णय एमसीए– नेपालको बोर्डले गरेको छ । सोहीअनुसार एमसीएले २ चैतमा सो खण्ड निर्माणका लागि टेन्डर आह्वान गरेको थियो ।

  • झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब १२ करोडको कारोबार

    झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब १२ करोडको कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६. २३ विन्दुमा पुगेको हो ।

    यसदिन ३१३ कम्पनीको ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२ रुपैयाँ बराबरको ७० लाख ५८ हजार ३९९ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ समूहको घटेको छ ।

  • चल सम्पत्ति धितो राखेर पनि अब ऋण लिन सकिने

    चल सम्पत्ति धितो राखेर पनि अब ऋण लिन सकिने

    काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ। दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको हो। विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ। बैठकमा अर्थमन्त्री वर्षमान पुन सहभागी थिए। समिति सभापति जयन्ती राईले प्रतिवेदन चाँडै राष्ट्रियसभा बैठकमा प्रस्तुत गरिने जानकारी दिइन्।

    पहिलो पटक ६३ सालमा सुरक्षित कारोबार ऐन आएको थियो। तर, ऐनको प्रभावकारी कार्यान्वयन नभएपछि सरकारले गत ४ चैतमा अर्थ मन्त्रालयमार्फत् राष्ट्रियसभामा ऐनको पहिलो संशोधन विधेयकसम्बन्धी प्रस्ताव दर्ता गराएको हो। राष्ट्रियसभाले पारित गरेपछि प्रतिनिधि सभामा पठाइन्छ। प्रतिनिधिसभाले प्रक्रिया पूरा गरेर पुनः राष्ट्रिय सभामा पठाएपछि विधेयक पारित हुन्छ। विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रूपमा लागू हुन्छ।

    ऐन कार्यान्यवनमा आएसँगै घर, जग्गाबाहेक चल सम्पत्ति पनि धितो राखेर बैंक तथा वित्तिय संस्थाबाट ऋण लिन पाइन्छ। अचल सम्पत्तिबाहेकको जडित सम्पत्ति, उत्खननका लागि अनुमति प्राप्त खनिज पदार्थ, व्यक्तिको कुनै पनि प्रकारको मूर्त वा अमूर्त सम्पत्तिलाई विधेयकमा चल सम्पत्तिको परिभाषाभित्र राखिएको छ।

    यसअघि बैंक तथा वित्तीय संस्थाले अचल सम्पत्ति मात्र धितो राखेर ऋण दिने गरेकामा यो ऐन लागू भएपछि चल सम्पत्ति पनि धितो राख्न सकिन्छ, अर्थमन्त्री पुनले भने। अब पशु, कृषि बाली तथा कृषिजन्य उत्पादन, उक्त उत्पादनबाट तयार पारिएको खाद्यवस्तु र उत्खननका लागि अनुमति लिइएको खनिज पदार्थसमेत धितो राखेर ऋण लिन सकिने छ। सभापति राईले सरलीकृत रूपमा कर्जा लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीलाई सहज होस् भन्ने उद्देश्यका साथ विधेयक आएको बताइन्।

  • १६ देशका कर विज्ञको भेला नेपालमा

    १६ देशका कर विज्ञको भेला नेपालमा

    काठमाडौं । आन्तरिक राजस्वको प्रभावकारी कार्यान्यवन क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस टयाक्स इनिसिएटिभ (एटीआई) को क्षेत्रीय प्राविधिक बैठक नेपालमा आयोजना भएको छ । काठमाडौंमा बुधबार सुरु बैठकमा एटीआई सदस्य १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका प्रतिनिधि गरी ६० जनाभन्दा बढी सहभागी छन् । काउन्सिल अन इकोनोमिक पोलिसी ९सीईपी० र जर्मन इन्स्टिच्युट फर डेभलपमेन्ट एन्ड सस्टेनेबिलिटीसँगको सहकार्यमा आन्तरिक राजस्व विभागले कार्यक्रम आयोजना गरेको हो ।

    कार्यक्रमको प्रमुख उद्देश्य कर प्रणालीको निष्पक्षता, पारदर्शिता, दक्षता र प्रभावकारितामा सुधारका लागि सहकार्य गर्नु रहेको विभागले जनाएको छ ।
    गत वर्ष फिलिपिन्सको मनिलामा सम्पन्न क्षेत्रीय कार्यशालाले एटीआईको कार्यशालामा काठमाडौँमा गर्ने निर्णय गरेको थियो । कार्यशालाको अर्थ मन्त्रालयका सचिव (राजस्व) डा. रामप्रसाद घिमिरेले उद्घाटन गरे । उनले नेपालमा बैठक राखिएको र विभागलाई कार्यक्रमको सहआयोजकको भूमिका प्रदान गरेकामा धन्यवाद दिए । घिमिरेले सदस्य देशहरूले भोग्दै आएको वित्तीय चुनौती सामना गर्न कार्यशाला फलदायी हुने विश्वास व्यक्त गरे ।

    सदस्य मुलुकहरूबीचको सहकार्य थप बलियो बनाउन, कर प्रशासनलाई पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउन तथा वित्त परिचालनमार्फत समावेशी र दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्न कार्यशालाले मागदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरे । राजस्व परिचालन र कर छुटसम्बन्धी नीतिहरुमा समीक्षा गर्दै आगामी दिनमा लिनुपर्ने नीतिबारे सामूहिक धारणा बनाउन उनले सुझाए ।

    कार्यशाला उदघाटनमा एडिस कर सञ्चालक समितिका तर्फबाट एलिस्टेयर लोबोले कार्यशालाको उद्देश्य र कार्यक्रमबारे जानकारी दिए । एटीआईले स्थापनादेखि नै विकास साझेदार संस्था र साझेदार मुलुकबीच राम्रो सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा सहकार्यले थप गति पाउने बताए ।

    उनले सदस्य राष्ट्रहरुले दिगो विकास लक्ष्य हासिल गर्न सहयोगी हुने कर प्रणाली अपनाउनु पर्नेमा जोड दिए । संस्थाले आगामी दिनमा पनि साझेदारीका साथै ज्ञान र अनुभव आदानप्रदान, निष्पक्ष र प्रभावकारी राजस्व परिचालन, नीतिगत सामञ्जस्यताका लागि काम गर्ने विश्वास व्यक्त गरे । एटीआईको घोषणापत्रअनुसार कर खर्चको पारदर्शिता बढाउन, लागत लाभ मूल्यांकन सहज बनाउन तथा कर दातामाथिको कर भार घटाएर उनीहरूको विश्वास जित्ने गरी काम गर्नुपर्ने उल्लेख गरे ।

    लोबोले कार्यशाला निष्पक्ष र पारदर्शी कर प्रणालीको विकास गर्न, क्षेत्रीय संयन्त्रको थप विकास गर्न, दिगो विकासका लक्ष्य हासिल गर्ने नीति तय गर्ने विश्वास व्यक्त गरे ।

    यस्तै नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय निर्देशक आयशानी मेडागाङ्‍गोडा लाबेले दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक वित्त परिचालनका लागि कार्यशालाले प्रभाकारी भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरिन् । राष्ट्र संघको सहश्राब्दी विकास लक्ष्य हासिल गर्न एटीआई सदस्य मुलुकहरूले गरेको प्रयासको सराहना गरिन् । एसियाली विकास बैंकका तर्फबाट कर क्षेत्र हेर्ने सजन्दप भट्टाचार्य भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।

    एटीआईले सदस्यहरूका बीचमा राजस्व परिचालन सम्बन्धी एजेन्डामा सहकार्य गर्दै आएको छ । आन्तरिक राजस्व वृद्धिका लागि स्वच्छ र प्रभावकारी राजस्व संकलन र परिचालन, सदस्य राष्ट्रहरूका बीचमा नीतिगत एकरूपता, ज्ञान, सिप र क्षमता अवभिवृद्धिका क्षेत्रमा एटीआईले जोड दिँदै आएको छ ।

    निष्पक्ष र प्रभावकरी राजस्व परिचालन, कर प्रणालीमा नीतिगत सुधार तथा साझेदारीमार्फत दिगो विकास लक्ष्य हासिल गर्ने, अनुभव आदानप्रदान गर्ने, विकास साझेदारहरूबीच समन्व गर्ने उद्देश्यसहित इथियोपियाको राजधानी अदिस अबाबामा सन् २०१५ को जुलाइमा भएको आयोजित विकासका लागि वित्तीय सम्मेलन (फाइनान्सिङ फर डेभलपमेन्ट) ले एटीआई स्थापना गरेको थियो ।

    सहभागीहरूलाई करको अनुमान, रिपोर्टिङ, र मूल्यांकनका प्राविधिक पक्षका साथै कर प्रशासनमा प्रविधिको प्रयोग र भावी दिनमा गरिने सहकार्यका क्षेत्रबारे विज्ञले प्रशिक्षणसमेत दिनेछन् ।

    कार्यशालामा नेपालका तर्फबाट संघीय संसद सचिवालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागका प्रतिनिधि सहभागी छन् । संस्थागत साझेदारका रूपमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधि पनि कार्यशालामा सहमभागी भएका छन् ।

    कार्यशालाले नेपालको कर प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन क्षतमा विकास गर्नुका साथै नेपालले कर प्रशासनका क्षेत्रमा हासिल गरेका अनुभवबारे सदस्य राष्ट्रहरूलाई अवगत गराउन फलदायी हुने आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले बताए ।

  • झिनो अंकले घट्यो नेप्से, २ अर्ब ५४ करोडको कारोबार

    झिनो अंकले घट्यो नेप्से, २ अर्ब ५४ करोडको कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.८१ विन्दुमा झरेको हो ।

    यसदिन ३०५ कम्पनीको २ अर्ब ५४ करोड ७० लाख ३० हजार ८२५ रुपैयाँ बराबरको ५८ लाख ७४ हजार ९६७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको बाहेक सबैको परिसूचक घटेको छ ।

  • सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’

    सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन्। सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरे।

    ‘बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ,राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,’प्रधानमन्त्री प्रचण्डले भने,’आज सुरूङको ‘ब्रेक–थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।’

    सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘सुरूङमार्गको ब्रेक–थ्रु सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ ।’
    कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरूदण्ड हुनुका साथै कुल ग्राहस्थ उत्पादनमा झन्डै एकतिहाइ योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका लागि आवश्यकपर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन,खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिवी न्यूनीकरण गर्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताए।

    नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तराई–मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेको बताए। हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने बताउँदै उनले सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानी लगायत अन्य प्रयोजनमा प्रयोगगरी राष्ट्रको समग्र विकास गरिने बताए।

    प्रधानमन्त्री प्रचण्डले ठूला पूर्वाधारहरूको सफल निर्माणबाट नै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने भएकाले आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिए । उनले देशको रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने कार्यमा आ–आफ्नो ठाउँबाट समन्वय र सहयोग गर्न अपील गरे।

    यस आयोजनाको सफल कार्यान्वयनबाट जलस्रोत तथा सिँचाइ क्षेत्रमा कार्यरत प्राविधिकहरूको नयाँ प्रविधिको उपयोग गर्दै प्राविधिक दक्षता हासिल गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जलस्रोतको संयोजनात्मक रूपमा उपयोग गरी उर्वर भूमिबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आयातको असन्तुलन कम गर्न मद्दत पुग्ने बताए।

    आयोजना सञ्चालनपश्चात् सुनकोशी र तामाकोशी क्षेत्रमा बसोवास गर्ने जनसङ्ख्याको बहुआयामिक विकास हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि एवं मनोरञ्जन तथा तालरजलासयमा पर्यटन व्यवसाय फस्टाउने उल्लेख गरे।

    सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पुर्‍याउनेछ । हाल सिँचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमीनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ ।

  • सुनकोशी-मरिण डाइभर्सनको सुरुङ आज ब्रेक थ्रु

    सुनकोशी-मरिण डाइभर्सनको सुरुङ आज ब्रेक थ्रु

    काठमाडौं । सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत सुरुङ खन्ने काम सकिएको छ । बुधबार ब्रेक थ्रु हुने भएको छ । ब्रेक थ्रुका लागि केही सेन्टिमिटर राखेर सुरुङ निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा बाँकी रहेको केही सेन्टिमिटरबाट ब्रेक थ्रु गरी सुरुङ खन्ने टीबीएम मेसिन बाहिर निकाल्ने कार्यक्रम छ । १३ दशमलव तीन किलोमिटरमध्ये ९९ दशमलव ९९ प्रतिशत काम भएर ब्रेक थ्रु हुन लागेको हो ।

    आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी र तामाकोशीको संगमस्थलभन्दा ९ सय मिटर तल नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएपछि ब्रेक थ्रु हुने आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत सुरुङको काम कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुंग्रीसम्म हो ।

    सुरुङ खन्न २२ महिनाको लक्ष्य लिइएकामा ३ महिना २ दिनअगावै सम्पन्न भएको छ । एकै दिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनाले जनाएको छ । ०७९ असोज २८ बाट सुरु भएको सुरुङ खन्ने काममा ६ पटक अवरोध भएको थियो । ०७७ फागुन २० मा कमलामाई–२ को कसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भई आयोजना निर्माणको थालनी भएको थियो ।

    उच्च प्रविधिबाट ५ दशमलव ५ डायमिटरको सुरुङमा पानी हाल्न सुनकोशी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माणको काम जारी छ । सुरुङमार्फत मरिणखोलामा सुनकोशीको पानी प्रतिसेकेन्ड ६७ क्युसेक खसालिनेछ । त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ०७ मेगावाट बिजुली उत्पादन गरिनेछ ।

    सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टनेल बोरिङ मेसिनले सुरुङ खनेको हो । सुरुङ खन्न मात्रै चाइना ओभरसिज कम्पनी कोभेकले मूल्य अभिवृद्धि करबाहेक १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा ठेक्का सकारेको थियो । १५ अर्ब ५९ करोड ४० लाख रुपैयाँको सुरुङ निर्माण कोभेकले ३६ प्रतिशत घटेर ठेक्का लिएको हो । नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिणखोलामा खसाली मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

    विद्युत् उत्पादनसँगै वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको मुख्य उद्देश्य छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड छ ।

  • मुलपानी क्रिकेट रंगशालाको डीपीआर तयार, यस्तो बनाउने योजना

    मुलपानी क्रिकेट रंगशालाको डीपीआर तयार, यस्तो बनाउने योजना

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालयमा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बुझाएको छ । पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बुझाएको डिपीआर सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको हो।

    मूलपानी क्रिकेट रंगशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरिसकेको छ। डिपीआरको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम १ साताभित्र सम्पन्न गर्न सदस्य–सचिव घिसिङले पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीलाई निर्देशन दिएका छन् ।

    डिपीआर प्रस्तुतीका क्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र सचिव सुमनराज अर्यालले राखेपको कामको प्रगतिको प्रशंसा गर्दै मूलपानी क्रिकेट रंगशाला निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढ्ने बताए।

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ८९ करोडमा सीमित

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ८९ करोडमा सीमित

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा झरेको हो । यसदिन ३१० कम्पनीको २ अर्ब ८९ करोड १३ लाख ९९ हजार ९७९ रुपैयाँ बराबरको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये १ समूहको बाहेक सबैको परिसूचक घटेको छ ।

  • घट्यो ब्रोकर कमिसन, जेठदेखि कार्यान्वयनमा आउने

    घट्यो ब्रोकर कमिसन, जेठदेखि कार्यान्वयनमा आउने

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको छ ।

    धितोपत्र बोर्डमा अध्यक्ष नभएकै कारण यो निर्णय हुन सकिरहेको थिएन। आइतबार अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक रितेश शाक्यसमेत उपस्थित रहेको बैठकले यस्तो निर्णय गरेको हो। शाक्य अहिले धितोपत्र बोर्डको अध्यक्षको हैसियतमा समेत छन्।

    यद्यपि, उक्त निर्णयमा सबै संचालकहरूले हस्ताक्षर गर्न भने बाँकी रहेको बोर्डले जनाएको छ । घटेको कमिसन दर आगामी जेठ १ गतेदेखि लागू हुनेछ ।

    बोर्डले यसअघि गरेको अध्ययनले हालको शुल्कमा १० प्रतिशत घटाउनु उपयुक्त हुने निष्कर्ष निकालेको थियो । सोही दरमा कमिसन घटाउन दुई साता अघि अर्थ मन्त्रालयले समेत स्वीकृति दिएको थियो ।

    हाल सेयर किनबेच गर्दा न्यूनतम ०.२७ प्रतिशतदेखि अधिकतम ०.४० प्रतिशतसम्म कमिसन तिर्नुपर्छ भने अब न्यूनतम ०.२४ प्रतिशतदेखि अधिकतम ०.३६ प्रतिशतसम्म तिर्नुपर्छ ।

    हाल ५० हजार रुपैयाँसम्मको सेयर खरिदबिक्री गर्दा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्छ ।

    अब ५० हजारसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३०६ प्रतिशत, २० लाखदेखि १ करोडसम्म ०.२७ प्रतिशत र १ करोड रुपैयाँ बढीको सेयर किनबेच गर्दा ०.२४३ प्रतिशत कमिसन तिर्नुपर्छ ।

  • दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ७९ करोडको कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ७९ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २४.५८ अंकले घटेर १९७४. ३७ विन्दुमा झरेको हो ।

    यसदिन ३१६ कम्पनीको ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँ बराबरको ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये २ समूहको बाहेक सबैको परिसूचक घटेको छ ।

    आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड ६४ लाख रुपैयाँ बढीको २ लाख २२ हजार ५७८ कित्ता शेयर किनबेच भएको छ । आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९६ कम्पनीको घटेको छ । घट्दो बजारमा आज दोल्ती पावरको शेयर मूल्य सर्वाधिक ९.५६ प्रतिशतले बढेको छ ।

    पिपुल्स पावरका शेयरधनीले सर्वाधिक ९.९२ प्रतिशत गुमाएका छन् ।

  • करका दर हेरफेरमा विवाद नहुने गरी काम गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

    करका दर हेरफेरमा विवाद नहुने गरी काम गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
    बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए ।

    राजस्वका दर हेरफेर गर्दा सरोकारवालासँग परामर्श गरी उनीहरूका सुझावका आधारमा निर्णयमा पुगिने उनको भनाइ थियो । ‘करका दर घटाउने, बढाउने, विस्तार गर्ने वा छुट दिने जे गर्दा पनि विगतमा अर्थमन्त्री वा अर्थ मन्त्रालयलाई विवादमा पार्ने गरिएको छ’, मन्त्री पुनले भने, ‘मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका अधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन भन्ने हाम्रो प्रतिबद्धता हो ।’उनले कुन वस्तुमा पहिला कति थियो र अहिले किन घटाइयो वा बढाइयो भन्ने तर्कपूर्ण कारण देखाएर करका दरमा हेरफेर गरिने बताए ।

    आफूले सरकारवालाको सहभागितामा बजेट बनाउन लागेको भन्दै मन्त्री पुनले यसअघि पूर्वअर्थमन्त्री, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, पूर्वअर्थसचिव, पूर्वाधार , स्वास्थ्य र शिक्षा क्षेत्रका विज्ञसँग छलफल गरी सुझाव संकलन गरिसकेको उल्लेख गरे । निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स र महिला उद्यमीसँग पनि छिट्टै छलफल गर्ने तय भएको जानकारी मन्त्री पुनले दिए ।

    मुलुकको भू–अवस्थिति, प्राकृतिक श्रोत र जनशक्तिका आधारमा विकासका योजना बनाउने सरकारको नीति रहेको बताए । सरकारको नीति र नीतिगत निरन्तरताका कारण पर्यटन, ऊर्जा र सिमेन्ट उद्योगमा नेपालमा पछिल्लो डेढ दशकमा राम्रो प्रगति गरेको चर्चा गर्दै युवा वर्गलाई लक्षित गरी सूचना प्रविधि क्षेत्र, स्टार्टअप र नवप्रवर्तनलाई आगामी दिनमा प्राथमिकतामा राख्ने नीतिमा सरकार रहेको उनको भनाइ थियो ।

    एक अध्ययनले आगामी ५ वर्षमा सूचना प्रविधिका ५ खर्ब बराबरका उत्पादन निर्यातको सम्भावना औंल्याएकाले उक्त क्षेत्रको सम्भावनालाई व्यक्त गर्ने भनाइ मन्त्री पुनको छ । पछिल्लो तीन दशकमा नेपालको सरदर आर्थिक वृद्धि ४. २३ प्रतिशत मात्र रहेको उल्लेख गर्दै उनले त्यसको कारण सबै मिलेर खोज्नुपर्ने बताए । विशाल विशाल जनसंख्या र ठूलो अर्थतन्त्र भएका भारत र चीनको बीचमा रहेको भन्दै उनले दुवै छिमेकीको गरेका विकासको प्रतिफल लिन सक्नुपर्नेमा जोड दिए ।

    नेपालभित्रै र बाहिर रहेका युवाहरुमा सूचना प्रविधि क्षेत्रमा आकर्षण देखिएको भन्दै मन्त्री पुनले लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारले ल्याएको अध्यादेशमा नेपालमा लगानी गरेर आर्जन गरेको धन बाहिर लैजान र बाहिर आर्जन गरेको नेपाल ल्याउन दिने व्यवस्था गरिएको जानकारी उनले दिए ।

  • कुमारीसहित ६ बैंक राष्ट्र बैंकको कारबाहीमा

    कुमारीसहित ६ बैंक राष्ट्र बैंकको कारबाहीमा

    काठमाडौं । आफ्नो निर्देशन पालना नभएको भन्दै राष्ट्र बैंकले ६ बैंकलाई कारबाही गरेको छ भने केही सञ्चालकलाई नगद जरिवाना समेत गराएको छ।

    राष्ट्र बैंकको कारवाहीमा पर्ने बैंकहरुमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र लक्ष्मीसनराइज बैंक छन् । बाँकी दुई वटा लुम्बिनी विकास बैंक र एक्सल डेभलपभेष्ट बैंक हुन् ।
    लक्ष्मी सनराइज बैंकका संस्थापक राजेन्द्र कुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड रूपैयाँ कर्जामध्ये ११ करोड ४४ लाख रूपैयाँ रकम आफ्नो खातामा ट्रान्सफर गरेर प्रयोग गरेको भन्दै १० लाख जरिवाना गरिएको छ।

    त्यस्तै, कुमारी बैंकले जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि,२०७५ विपरीत ब्याज अनुदान दिएकोले सञ्चालक समिति र सीईओलाई सचेत गराइएको छ ।

    साथै, बैंकका सीईओको तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शनको व्यवस्थाभन्दा प्रतिकूल हुने गरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता र सुविधा दिने गरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी २ करोड ३ लाख रुपैयाँ भुक्तानी दिने निर्णय गरेकोले संचालक समितिलाई सचेत गराएको छ ।

    साथै, ३५ दिनभित्र उक्त रकम असुलउपर गर्न निर्देशन दिइएकोमा सो रकम असुलउपर भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यसैगरी, इन्भेष्टमेन्ट मेगाले कमलादी शाखाबाट खोलिएको प्रतीतपत्र कालिमाटी शाखाले कन्फर्म गरी सो प्रतीतपत्र अन्तर्गत भएको कारोबारमा निवेदक कम्पनीबाट प्रोमीसरी नोट जारी गरी ४१.६३ करोड कर्जा बराबरको बिल पर्चेज गरेको, प्रतीतपत्रको म्याद थप गरी इभरग्रीन गरी असल कर्जामा देखाइ पूँजीकोष गणना गरेको भन्दै कारबाही गरेको छ ।

    त्यस्तै, लुम्बिनी विकास बैंकले ग्राहक पहिचान तथा सम्पुष्टि पर्याप्त मात्रामा हुन नसकेको र शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणाली पूर्ण रुपमा लागू हुन नसकेको भन्दै कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । एक्सल डेभलपमेन्ट बैंकले एकीकृत निर्देशन परिपालना नगरेकाले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

  • पर्यटक आगमन उत्साहजनक, एक महिनामा भित्रिए एक लाख ११ हजार

    पर्यटक आगमन उत्साहजनक, एक महिनामा भित्रिए एक लाख ११ हजार

    काठमाडौं । नेपाल भ्रमणमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ ।

    नेपाल पर्यटन बोर्डले तथ्यांक अनुसार सन् २०२४ को अप्रिलमाएक लाख ११ हजार ३७६ पर्यटक भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार यो सन् २०२३ को अप्रिलको संख्यामा १२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष अप्रिलमा ९८ हजार ७७३ पर्यटक भित्रिएका थिए।

    नेपाल आउने पर्यटकमध्ये भारतीय पहिलो स्थानमा छन् । अप्रिलमा मात्र भारतबाट ३० हजार १ सय ५८ जना नेपाल आएका छन् ।

    नेपालले भारतीय पर्यटक गणना गर्दा हवाई मार्गबाट आउनेलाई मात्र मान्छ । सोहीकारण स्थलमार्गबाट आउने ठूलो संख्याका भारतीय भने पर्यटकमा गणना हुँदैनन् ।

    दोस्रो स्थानका लागि भने चिनियाँ र अमेरिकी पर्यटकबीच प्रतिस्पर्धा देखिन्छ । त्यस्तै अमेरिकाबाट नौ हजार ९४७, चीनबाट नौ हजार ७५०, बेलायतबाट पाँच हजार ३९१ र अष्ट्रेलियाबाट चार हजार ११० पर्यटक भित्रिएका छन्।

    त्यस्तै बंगलादेशबाट चार हजार, फ्रान्सबाट तीन हजार ७५५, जर्मनीबाट तीन हजार २७०, रसियाबाट दुई हजार ९७७ र माल्दिभ्सबाट दुई हजार ३१० पर्यटक भित्रिएका छन्।

  • अर्थतन्त्र सुधार गर्न नेतृत्वले जोखिम लिनुपर्छ : अर्थमन्त्री

    अर्थतन्त्र सुधार गर्न नेतृत्वले जोखिम लिनुपर्छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुलुकको आर्थिक विकासका लागि राजनीतिक नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गर्दै अर्थमन्त्री पुनले भने, ‘निजी क्षेत्र र प्रशासन संयन्त्रको मनोबल कमजोर छ ।

    राजनीतिक नेतृत्वले मुलुकको विकासमा गति पैदा गर्न जोखिम मोल्नुपर्ने अवस्था आएको छ ।’ बुधबार साँझ पूर्वअर्थसचिवहरु, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसँग सुझाव लिएपछि उनले अर्थतन्त्र सुधारका लागि सरकार, राजनीतिक दल, निजी क्षेत्र, प्रशासन संयन्त्र र अर्थ क्षेत्रका विज्ञहरु क्रियाशील र चिन्तित भएको समेत बताए ।

    उनले सरकारको वित्तीय नीति र राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा तालमेल मिलाएर काम गर्नुपर्ने उल्लेख गरे। अर्थतन्त्रमा संकट हुँदा गरिएका कडाइहरुमा विस्तारै खुकुलो जानुपर्ने भन्दै मन्त्री पुनले त्यसबारे राष्ट्रबैंकसँग छलफल भइरहेको जानकारी पनि दिए । राजनीतिक र प्रशासनिक नेतृवले कामका लागि आँट गर्नुपर्ने र त्यसमा समाजका अरु पक्षले साथ दिनुपर्ने उनले बताए । छलफलका सहभागीले यथार्थपरक र कार्यान्वयन हुन सक्ने बजेट ल्याउन सुझाएका थिए ।

  • श्रम मन्त्रालयले सार्वजनिक गर्यो श्रमाधान योजना

    श्रम मन्त्रालयले सार्वजनिक गर्यो श्रमाधान योजना

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारीसँग सम्बन्धित ‘श्रमाधान योजना’ घोषणा गरेको छ । बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मन्त्रालयले श्रमाधान योजना घोषणा गरेको हो । मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच श्रमाधान योजनाको घोषणा गर्दे श्रममन्त्री डोल प्रसाद आयलले श्रमाधान योजनाले नेपाल र विदेशमा रहेको नेपाली श्रमिकको सबै खालको समस्या एकद्वार प्रणालीबाट समाधान गर्ने बताए ।

    ‘मन्त्रालयले अहिले सञ्चालन गरेको कल सेन्टरको काम सीमित भयो । त्यसैले वृहत रुपमा श्रमिकको समस्या समाधान देखि जिज्ञासा, सुझाव तथा गुनासोलाई सम्बोधन गर्ने गरी यो योजना सञ्चालन गरिएको हो,’ उनले भने ।

    श्रमाधानको पहिलो चरणमा सातवटा क्षेत्रहरुसँग सम्बन्धित कार्यक्रमहरु समावेश गरिएका छन् । इन्द्रेणीका सात रगंहरुसँग मेल खाने गरी प्रत्येक कार्यक्रमहरुलाई एक विशेष रगंसँग जोडिएको उनको भनाइ थियो । जसले प्रत्येक कार्यक्रमको उद्देश्य र महत्वलई प्रतिविम्बित पनि गर्छ । श्रमाधान योजनाको पहिलो ‘सेकेन्ड इनिङ’ कार्यक्रम रहेको छ । जसले काममा सक्रिय रहने उमेर कटेपछि वा अवकास भएपछि आफूसँग रहेको सीप कसरी प्रयोग गर्ने भन्ने बिषयमा काम गर्ने मन्त्री अर्यालले बताए ।

    दोस्रोमा ‘रोजगार बैंक’ रहेको छ । यसले रोजगार दाता र रोजगारी खोज्ने बीच समन्वय गर्नेछ । तेस्रोमा रहेको ‘समता’ कार्यक्रमले समानतको प्रत्याभूत गर्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए । जसमा विशेष समुदायलाई प्राथमिकता दिने उनले बताए । चौथोमा ‘कानुन’ कार्यक्रम छ । यस कार्यक्रममार्फत श्रमिकलाई कानुनी रूपमा सक्षम बनाउने उद्देश्य मन्त्रालयले राखेको छ । श्रम सम्बन्धी कानुन सबैले जानुन भन्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए ।
    अर्को ‘कनेक्ट’ कार्यक्रम रहेको छ । विश्व बजारको श्रमसँग नेपालको श्रमिक लाई प्रतिस्पर्धी बनाउने यसको उद्देश्य रहेको छ । अर्को ‘साथ’ कार्यक्रम रहेको छ । यसले विश्व बजारमा रहेका श्रमिकको साथमा नेपाल सरकार, मिडिया, कर्मचारी रहेको आभास गराउने लक्ष्य राखेको छ । त्यस्तै, अर्को ‘कल सेन्टर’ कार्यक्रम छ । कल सेन्टरबाट समस्या, जिज्ञासा संकलन गरी सम्बन्धित निकायमा पुर्याएर समाधान गरिने मन्त्रालयले जनाएको छ ।

    श्रमाधान योजना भित्रका सात कार्यक्रमलाई क्रमिक रुपमा सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ । पहिलो चरणमा श्रमाधान कल सेन्टर सञ्चालन गरिने श्रममन्त्री डोल प्रसाद अर्यालले बताए । श्रमाधान दोस्रो चरणमा वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमै अवकाश प्राप्त नागरिकहरुको सीप, श्रम र अनुभवलाई पुन स् सक्रिय बनाउन मद्धत गर्ने मन्त्री अर्यालले बताए । यस कार्यक्रमले सेनानिवृत्त व्यक्तिहरुलाई आफ्नो अनुभव र कौशललाई प्रयोग गरी नयाँ रोजगारी, स्वयम्सेवा वा उद्यमशीलताका विभिन्न अवसरहरुमा संलग्न हुन सहयोग पुर्याउने छ ।

  • अर्थतन्त्रमा सकारात्मक सूचक देखिएका छन् : अर्थमन्त्री

    अर्थतन्त्रमा सकारात्मक सूचक देखिएका छन् : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् । राजधानीमा बुधबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेको बताएका हुन् । विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्यांक कार्यालयले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको उनले बताए ।

    अर्थतन्त्रमा थोरै शिथिलता रहेको र यसमा आन्तरिक र वाह्य कारण रहेको उनले बताए । तथ्यांकहरुले विस्तारै त्यसमा सुधार देखाएको भन्दै मन्त्री पुनले बाँकी अवधिमा पूँजीगत खर्च बढाउन पहल गर्ने बताए । यद्यपि अझै पनि ढुक्कसँगै अर्थतन्त्र राम्रो भयो भन्ने अवस्था नरहेको उनले बताए ।


    मन्त्री पुनले विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक श्रोत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्ने बताए । नेपाल विश्व अर्थतन्त्रका दुई उदयीमान मुलुक भारत र चीनको बीचमा रहेकाले ती मुलुकको बजार हेरेर नीति बनाउनु पर्ने समेत उनले बताए । भारत र चीनबाट ठूलो संख्यामा मध्यम वर्ग भ्रमणमा निस्कने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको बताए ।

    आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको पुनको भनाइ छ । निर्माण क्षेत्रमा भने नकारात्मक अवस्था रहेकाले त्यसमा सुधार गर्न सरकार प्रयासरत रहेको बताए । उनले नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन सकेन भन्ने स्वीकार्न आफू तयार नरहेको बताए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा ०६४ सालमा अख्तियार गरिएको ऊर्जासम्बन्धी नीतिको निरन्तरताका कारण नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्न सक्ने अवस्था आएको चर्चा उनले गरे । ‘प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले ऊर्जा क्षेत्रमा लिएको नीतिको निरन्तरता अझै छ । यो बीचमा १५ वटा सरकार फेरिए होलान् तर नीति फेरिएको छैन’, मन्त्री पुनले भने, ‘नेपालमा स्थिरता छैन भन्ने हल्ला सरकार, निजी क्षेत्र, सञ्चार माध्यम र वौद्धिक व्यक्तित्वहरु मिलेर चिनुपर्छ ।’

    उनले नेपालमा सूचना प्रविधि र कृषि क्षेत्रमा पनि राम्रो सम्भावना रहेको बताए । फरक प्रसंगमा मन्त्री पुनले नेपालमा वैदेशिक लगानीको समेत राम्रो सम्भावना रहेको बताए । वातावरण राम्रो भएकै कारण बहुराष्ट्रिय कम्पनीहरु नेपालमा लगानी गर्न आइरहेको उल्लेख गरे । हालसम्म नेपालमा लगानी गरेका कम्पनीहरुले घाटा ब्यहोरोको आफूले थाहा नपाएको चर्चा गर्दै उनले त्यही नै नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको प्रमाण रहेको बताए ।

  • काठमाडौंमा सीप मेला गर्दै काठमाडौं महानगरपालिका

    काठमाडौंमा सीप मेला गर्दै काठमाडौं महानगरपालिका

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा सीप मेला आयोजना गर्ने भएको छ। महानगरले २ हजार ८१ जनालाई एक महिने निःशुल्क तालिम दिन लागेको हो। शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउन, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउन, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ।

    रोजगार क्षेत्रमा देखिएको खाडल पुर्न रोजगारदाताको आवश्यकता र बजारले मागेको सीप हासिल गरेको जनशक्ति उत्पादन गर्न व्यावसायिक तालिमको आवश्यकता महसुस गरेर ुसीप मेलाु कार्यक्रम आयोजना गरिएको महानगरले जनाएको छ। विगतमा गैरकानुनी रूपमा सडकमा व्यापार गरिरहेका सडक व्यापारीलाई सीपमूलक तालिममा सहभागी हुन महानगरले आह्वान गरेको छ। ‘विगतमा गैरकानुनी रूपमा सडकमा व्यापार गरिरहेका सडक व्यापारीलाई सीपमूलक तालिममा सहभागी हुनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ। यसबाट उहाँहरू औपचारिक अर्थतन्त्रमा प्रवेश गर्नुहुनेछ,’ महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    महानगर गौरव योजनाअन्तर्गत रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि कार्यक्रममा ३४ भन्दा धेरै पेशाका सीपमूलक तालिम रहेको महानगरले जनाएको छ। साइबर सेक्युरिटीमा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदैछ।

    ‘नजानेकालाई सीप सिकाउने, सीपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सीपयुक्त जनशक्ति उपलब्ध हुनेछन्। यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिहरूलाई ुसीप मेलाु मा रोजगारदाताहरूसँग सम्पर्क गराउनु मेला आयोजनाको अर्को उद्देश्य हो,’ महानगरले भनेको छ।

    सीप मेलामा तालिमका लागि १० बटा क्षेत्र निर्धारण गरिएको महानगरले जनाएको छ। ती क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन्। मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने महानगरको योजना छ। सुरू गर्न लागिएका तालिममध्ये अटो मोबाइल्स एउटा क्षेत्र हो। यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरबाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी) विषय छन्। दोस्रो निर्माण क्षेत्र हो। यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ तालिम हुनेछ।

    हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो। यसमा वारिस्ता, फुड एण्ड कुक, बेकरी, वार टेन्डिङ र वेटररबेट्रेस प्रशिक्षण हुनेछ। सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) चौथो क्षेत्र हो। यसमा डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ, सिसिटिभी क्यामरा विषय राखिएका छन् ।
    मेकानिकलमा वेल्डिङ र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम हुनेछ। आर्ट एण्ड कल्वरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ। यी क्रमशः पाँचौं र छैटौं क्षेत्र हुन्। सातौं क्षेत्र गार्मेन्ट्स हो। यसमा टेलरिङ ड्रेस मेकर र फेसन डिजाइनिङको कक्षा हुनेछ।

    आठौं क्षेत्र व्युटिसियन (सौन्दर्य कला) हो। यसमा नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल, र सैलुन प्रशिक्षण हुनेछ। नवौं क्षेत्र डिजाइनिङ हो। यसमा साइन मेकिङ प्रशिक्षण हुनेछ। दशौं विधा पुरोहित हो। यसमा पुरोहित र ज्योतिष सम्बन्धी प्रशिक्षण हुनेछ। तालिमको अन्तिम दिन रोजगार मेला हुने महानगरले जनाएको छ।

    ‘यस दिन रोजगारदाताहरू स्टलमा रहनु हुनेछ। सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरू सम्पर्कमा गएर आफ्नो सीपका बारेमा बताउनु हुनेछ। यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्नु हुनेछ। रोजगारदाताले सीपयुक्त जनशक्ति प्राप्त गर्नुहुनेछ,’ महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

  • डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

    डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटएको छ । भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । निगम सञ्चालक समिति बैठकले पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राख्ने निर्णय गरेको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ ।

    मूल्यवृद्धि भएसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर डिजेल–मट्टितेलको मूल्य १५६ रुपैयाँ ५० पैसा पुगेको छ । यसैगरी दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर डिजेलको मूल्य १५८ र तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५९ रुपैयाँ पुगेको छ । यसैगरी हवाई यन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र बाह्यतर्फ ७ डलर वृद्धि गरिएको निगमले जनाएको छ ।