Category: अर्थतन्त्र

  • सरकारले तोक्यो धानको समर्थन मूल्य

    सरकारले तोक्यो धानको समर्थन मूल्य

    काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि मोटा धानको प्रति क्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको मूल्य प्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा तोक्ने निर्णय गरेको हो ।

    बैठकले चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा इन्ल्याण्ड क्लियरेन्स डिपोरएकीकृत चेक पोष्ट र अरनिको राजमार्गको निर्माण तथा मर्मत सम्भारका लागि संभाव्यता अध्ययन गर्न प्राप्त भएका पत्रहरुमा हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ ।

    त्यस्तै, बैठकले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानविन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

  • नागढुंगा–नौबिसे सडक दुई रात बन्द

    नागढुंगा–नौबिसे सडक दुई रात बन्द

    काठमाडौं । धादिङबाट काठमाडौं आउने मुख्य राजमार्ग त्रिभुवन राजपथ (नागढुंगा–नौबिसे सडक खण्ड) दुई दिन रातको समयमा मात्रै बन्द हुने भएको छ । नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका लागि १९ र २० असारका दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म यो सडक बन्द गर्न लागिएको धादिङ प्रहरीले जानकारी गराएको छ । यस समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक सबै सवारी साधनको आवागमन रोकिने छ ।

    यस अवधिमा सबै चालकलाई लेन अनुशासन कायम राख्न, जथाभावी ओभरटेक नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।
    काठमाडौंबाट नौबिसे निस्कन वा नौबिसेबाट काठमाडौं आउन वैकल्पिक मार्गका रूपमा अहिले यात्रुले धार्के–सितापाइला सडक प्रयोग गर्न सक्छन् ।

  • अख्तियार आयुक्तको घरमा चल्यो ललितपुर महानगरको डोजर

    अख्तियार आयुक्तको घरमा चल्यो ललितपुर महानगरको डोजर

    काठमाडौं । मन्दिरको जग्गा मिचेको पाइएपछि ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरमा डोजर चलाएको छ । महानगरले घरको पर्खाल भत्काइदिएको छ । ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको छ । डा. सुमित्रा अमात्य र डा. दिवस अमात्य दम्पतीले १ असोज २०७८ मा १५ आना ३ पैसा क्षेत्रफल रहेको घरजग्गा किनेको पाइएको छ ।

    घरजग्गा खरिद गरेपछि उनीहरूले पर्खाल बनाएका थिए । त्यसक्रममा मन्दिर र सम्पदाको जग्गा मिचिएको स्थानीयहरूको आरोप छ । स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिएका थिए । त्यस स्थानमा शहरी विकास मन्त्रालयले पार्क निर्माणको काम थालेको छ । स्थानीय समुदाय र गुठियारले कुलपूजा गर्ने ठाउँमा समन्वय नगरी शहरी विकास मन्त्रालयले एकलौटी रूपमा पार्क बनाउन खोजेको भन्दै उजुरी परेको बताइएको छ ।

    ललितपुरका मेयर चिरिबाबु महर्जनले स्थानीय ज्यापु समुदाय र गुठियारले जग्गा मिचेको उजुरी दिएपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गरेको बताए । तर आग्रह अस्वीकार गरेपछि मन्दिरको जग्गा संरक्षणका लागि डोजर चलाएको उनले जानकारी दिए ।

  • बढ्यो नूनको मूल्य

    बढ्यो नूनको मूल्य

    काठमाडौं । सरकारले नुनको मूल्य वृद्धि गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको भाउ बढाउने निर्णय गरेको हो । यसअघि २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य अब २६ रुपैयाँ प्रतिकेजी पुर्‍याइएको छ । थोक मूल्य प्रतिकिलो रहेको आयो नुनको अब थोक बिक्री मूल्य २३ रुपैयाँ पुर्‍याइएको छ ।

    न्यु शक्ति नुनको भाउ किलोको थोकमा १७ र उपभोक्ता मूल्य २० रुपैयाँ पुगेको छ । भानु नुन किलो ९ रुपैयाँ पुगेको छ । राजभण्डारीका अनुसार मूल्य बढेपनि कम्पनीलाई भने अझै पनि घाटा छ । यसअघि २८ रुपैयाँ प्रतिकिलो लागतको नुनलाई कम्पनीले १८।५० रुपैयाँमा बेचिरहेको थियो । अब भने थोक बिक्रीमा २३ रुपैयाँ तोकिएको छ । यस अवस्थामा पनि कम्पनीलाई प्रतिकिलो ५ रुपैयाँ घाटा हुने उनले जानकारी दिए ।

  • विदेशी लगानी भित्राउने आधार बनेको छ : अर्थमन्त्री

    विदेशी लगानी भित्राउने आधार बनेको छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले वैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त आधार रहेको सन्देश दिएको बताएका छन् । प्रतिनिधिसभामा सोमबार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लगानी सम्मेलन सफल भएको बताए । लगानी सहजीकरणका लागि कानुन संशोधन गर्नुका साथै इनभेस्टमेन्ट गाइड तथा सेक्टोरल प्रोफाइल तयार गरिएको उनले बताए ।

    यसैगरी सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न विभिन्न क्षेत्रका १ सय ५० भन्दा बढी आयोजनाहरू प्रस्तुत गरिनुका साथै १९ वटा परियोजनाका लागि ‘एक्सप्रेसन अफ इन्ट्रेस्ट’ आह्वान गरिएको र परियोजना बैंकलाई अध्यावधिक गरिएको उनले बताए । निजी क्षेत्रका छाता संगठनहरूको समेत सहआयोजनामा सम्पन्न सम्मेलनले निजी क्षेत्रको मनोबल वृद्धि भएको उनले बताए । बैठकमा सांसद् सुवालले १६ र १७ वैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनको उपलब्धिबारे प्रश्न सोधेका थिए ।

  • श्रमाधान रोजगार मेलाबाट १५ हजार रोजगारीको प्रतिवद्धता

    श्रमाधान रोजगार मेलाबाट १५ हजार रोजगारीको प्रतिवद्धता

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न ‘श्रमाधान रोजगार मेला’ मा विभिन्न रोजगारदाता प्रतिष्ठानबाट १४ हजार ७८८ व्यक्तिलाई रोजगारी दिने प्रतिबद्धता आएको तथ्य सार्वजनिक गरेको छ । श्रम मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत देशका सात प्रदेशमा सम्पन्न श्रमाधान रोजगार मेलाबाट त्यो सङ्ख्या रोजगारी दिने प्रतिबद्धता आएको तथ्य सार्वजनिक गरेको हो ।

    पत्रकार सम्मेलनमा श्रममन्त्री डोलप्रसाद अर्यालले सातै प्रदेशका रोजगारदाताबाट आएको प्रतिबद्धता अनुसार रोजगारी दिए वा नदिएको विषयमा मन्त्रालयले समिति बनाएर फलोअफ गर्ने तयारी गरेको जानकारी दिए ।


    श्रम मन्त्रालयका अनुसार जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा आएर जेठ ३० गते सम्पन्न भएको थियो । मेलामा १७ हजार ९२१ जनाले रोजगारीका लागि आवेदन दिएका थिए । मन्त्रालयका अनुसार ४१ हजार ३२५ जनाले मेला अवलोकन गरेका छन् । मेलामा सरकारी, गैरसरकारी र निजी क्षेत्रसहितका ३२२ वटा स्टल राखिएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार मेलामा विभिन्न शीर्षकका ३६ वटा कार्यशाला पनि सञ्चालन गरिएको थियो । सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार गरी ३३५ सङ्घ संस्थासँग सहकार्य गरिएको मेलाको संयोजन श्रम मन्त्रालयले गरेको थियो । उहाँका अनुसार मेलामा ९३ लाख छ हजार ९६३ रहेकोमा ८५ लाख ३३ हजार ८६५ रुपियाँ खर्च भएको छ ।

    पत्रकार सम्मेलनमा सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ मा रोजगारदाताले प्रतिबद्धता जनाए अनुसार रोजगारी प्रदान भए नभएको मन्त्रालयले रेकर्ड राख्ने जानकारी दिए । “मेला मात्रै सम्पन्न भयो तर रोजगारदाताले प्रतिबद्धता जनाए अनुसारको युवालाई रोजगारी दिए नदिएको विषयमा मन्त्रालयले निरन्तर जानकारी लिने छ,” उनले भने, । रोजगारीका लागि आवेदन दिने युवाले पनि रोजगारी पाए नपाएको मन्त्रालयले जानकारी लिने जनाइएको छ ।

    मेलामा सिप विकास कार्यशाला, नेटवर्किङ सत्र, स्टल र रोजगारीका अवसरका प्यानल छलफल सञ्चालन गरिएको थियो । तिनमा १७६ भन्दा बढी विज्ञले वक्ताका रूपमा सहभागिता जनाएका थिए । रोजगारी सिर्जना, योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम आप्रवासन, व्यावसायिक सिप विकास, उद्यमशीलता विकास र यस क्षेत्रका समस्या, चुनौती तथा आगामी कार्यदिशाका सम्बन्धमा छलफल चलाइएको थियो ।

  • वैदेशिक रोजगारीबाट फर्केर उद्यमी बनेका ८ युवा सरकारद्धारा सम्मानित

    वैदेशिक रोजगारीबाट फर्केर उद्यमी बनेका ८ युवा सरकारद्धारा सम्मानित

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर देशमा उद्यमी बन्न सफल आठ युवा उद्यमीलाई पुरस्कृत गरेको छ ।
    मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रममा उनीहरुलाई नगदसहित सम्मन गरिएको हो । पुरस्कृत हुनेमा एक लाख ५० हजार रुपियाँसहित ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार २०८०’ बाट झापामा व्यावसायिक रूपमा केरा र मकै खेती गर्दै आएका चन्द्रप्रसाद बस्नेत पुरस्कृत भए ।


    जनही ७५ हजार रुपियाँ नगदसहित ‘उद्यमी राष्ट्रिय पुरस्कार २०८०’ बाट गुल्मीका रविलाल पन्थ, झापाका मोहनप्रसाद सङ्ग्रौला, जुम्लाका टक्कबहादुर नेपाली, कन्चनपुरका चन्द्रसिंह थापा, नुवाकोटका अर्जुन परियार, म्याग्दीका भूपेन्द्र शर्मा र बाराका हिराबहादुर थापा पुरस्कृत भए । उनीहरुलाई श्रममन्त्री डोलप्रसाद अर्यालले नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरे ।


    देशमा नै रोजगारीका अवसर सिर्जना गर्न प्रेरित गर्नका लागि मन्त्रालयले प्रत्येक वर्ष वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यमी बनेका उद्यमीलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ । राष्ट्रिय सम्मान तथा पुरस्कारका लागि उद्यमीलाई सार्वजनिक रूपमा नै आवेदनको माग गरिएको थियो । इमेलमार्फत ८९ जना उद्यमीको पुरस्कारका लागि आवेदन आएको थियो ।

    विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिमको पुरस्कार सिफारिस समितिले उद्यमीको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा ‘उत्कृष्ट राष्ट्रिय पुरस्कार’ बाट एक जना र ‘उद्यमी राष्ट्रिय पुरस्कार’ बाट प्रत्येक प्रदेशबाट एकएक जनाका दरले सात जना सफल उद्यमी युवालाई पुरस्कृत गरिएको हो ।

  • रैथाने पेय पदार्थको ब्राडिङ गर्दै काठमाडौं महानगर

    रैथाने पेय पदार्थको ब्राडिङ गर्दै काठमाडौं महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्रान्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रूपमा समेत प्रयोग हुने गरेको छ । जन्म र मृत्युबीचको संस्कार तथा शुभकार्य, जात्रा, पर्व, पाहुना आउँदा वा बिदाइ गर्दा आफैंले उत्पादन गरेको पेय पदार्थ (अयला, ठोँ) लाई गुणस्तरीय मानिने महानगरले जनाएको छ ।

    यसरी उत्पादन हुने पेय पदार्थको गुणस्तरीयता ब्रान्डिङ गरेर विश्वबजार पु¥याउने सम्भावना अध्ययनबाट हेर्न लागिएको हो । महानगरका अनुसार कार्यक्रमलाई सहकारी विभागले अगाडि बढाएको हो । यो कार्यक्रमलाई नेवाः समुदायभित्रका विभिन्न गुथि तथा संघसंस्थाका प्रतिनिधिको प्रतिक्रिया बुझ्न महानगरले आइतबार छलफल समेत आयोजना गरेको छ ।

    ‘मदिरा ऐनले यस्ता वस्तुको प्रवद्र्धन रोकेको छ । यसरी रोक्नुको अर्थ अध्ययन गर्न नपाउनु भन्ने होइन,’ महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता पहिचान बढाउन सहयोग पुग्ने देखियो भने कानुनी व्यवस्था संशोधन गरेर भए पनि सम्भावनालाई नतिजामा रूपान्तरण गर्नुपर्छ ।’

    पुस्तौंदेखि व्यावहारिक शिक्षाका रूपमा हस्तान्तरण हुँदै आएको पेय पदार्थ उत्पादन गर्ने विधिलाई अभिलेखन गर्न आवश्यक रहेको परियारले बताए । संस्कृतिसँग जोडिएको उत्पादन प्रक्रियालाई पुस्तान्तरण गर्ने काममा अध्ययनले सहयोग गर्ने उनको भनाइ छ ।

    छलफलमा ज्यापू महागुथि नेपा, महानगर समिति, गुंलाबाजं संरक्षण तथा व्यवस्थापन समिति, नेपाल खड्गी सेवा समिति, नेपाल राष्ट्रिय खड्गी समाज अन्तर्गतका विभिन्न गुथि खलः का प्रतिनिधि सहभागी थिए ।

    छलफलमा सहभागीले पेय पदार्थ उत्पादनका लागि आवश्यक कच्चापदार्थ, उत्पादन प्रक्रिया, मात्रा, समयावधि, भण्डारण विधि, प्रयोग विधि लगायत विषयमा जानकारी दिँदै महानगरले अगाडि सारेको कार्यक्रमले नेवाः सभ्यता अन्तर्राष्ट्रियकरण हुन ठूलो योगदान हुने बताए ।

    छलफलमा महानगर सहकारी विभाग प्रमुख बलराम त्रिपाठीले स्थानीयको भावना र अध्ययनले देखाउने आवश्यकता विश्लेषण गरेर आगामी दिनका कार्यक्रम सञ्चालन गरिने बताए । विभागका अनुसार समुदायले सांस्कृतिक प्रयोजनका लागि उत्पादन गरेका वस्तुमात्र अध्ययन हुनेछ ।

    अयला ब्रान्डिङको कामलाई विभिन्न चरणमा अगाडि बढाउने योजना छ । ‘पहिलो चरणमा विद्यमान अवस्थाको अध्ययन हुनेछ । यो काम सुरु भइसकेको छ । यसबाट कुन ठाउँमा कसले बनाएको उत्पादन कुन–कुन प्रयोजन ९शुभकार्य, औषधि, पिउन० का लागि ब्रान्डिङ गर्न सकिन्छ भन्ने थाहा हुनेछ,’ त्रिपाठीले भने ।

    यसपछि कानुनी व्यवस्था तर्जुमा गर्ने र यसका आधारमा मूल्य, कर र प्रयोजन निर्धारण गरिने छ । त्यसपछि बजारीकरण गर्ने चरणमा पुगिन्छ । यति गरेपछि ब्रान्डिङ गरिएका पेय पदार्थ अन्तर्राष्ट्रिय बजारमा लैजान सकिने उनले बताए ।

    काठमाडौं–१८ की स्थानीय नानीहिरा प्रजापतीका अनुसार ब्यलय् (६ महिना राखेर कच्चापदार्थ तयार पारिने), लय् (एक महिना राखेर कच्चापदार्थ तयार पारिने) र पुइकेगु (ब्यलय् र लय्) लाई फेरि प्रयोग गरेर पेय पदार्थ उत्पादन गर्ने प्रचलित छन् । यसमध्ये ब्यलय् सबैभन्दा गुणस्तरीय हुन्छ ।

    काठमाडौँमा पुस महिनाको पानीमा बनाइएको उत्पादनलाई उत्कृष्ट मानिन्छ । मंसिर, पुस र माघमा कच्चापदार्थ बनाउने, यसलाई भण्डारण गरेर मौसम र शुभकार्यको प्रकृति अनुसारको स्तरमा उत्पादन गर्ने गरेको उनले बताइन् । ‘पहिले यसका लागि तामाको भाँडा प्रयोग गरिन्थ्यो । भण्डारण गर्दा तापक्रम मिलाउन पराल र माटोको घ्याम्पो प्रयोग हुन्थ्यो । शुभकार्यमा सगुनका रूपमा आफैंले उत्पादन गरेको वस्तुको प्रयोग हुन्थ्यो । अहिले बजारमा प्राप्त हुने पेय पदार्थ किनेर शुभकार्य चलाउने गरिएको छ,’ उनले गुनासो गरिन् ।

    भाँडाकुँडा पनि आल्मुनियम र प्लास्टिक प्रयोग हुँदा स्थानीय आय घटेको र खर्च बढ्ने तथा यस्तै गुणस्तरमा पनि ह्रास आउन थालेको बताए । विभागका अनुसार मौलिक सिपबाट गुणस्तरीय पेय पदार्थ बनाउने परम्परालाई पुनस्र्थापना गर्ने र यसको दिगो सुरक्षाका लागि ब्रान्डिङ गर्ने महानगरको योजना हो ।

  • नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

    नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ । हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको मूल्य आज राति १२ बजेपछि लागू हुनेछ ।

    मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ । त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टितेल तथा डिजल प्रतिलिटर १५२ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६६ र डिजल तथा मट्टितेल १५६ रुपैयाँ पनेछ ।

  • बुद्धले थप्यो १८ औं जहाज

    बुद्धले थप्यो १८ औं जहाज

    काठमाडौं । बुद्ध एयरले १८ औं एटीआर जहाज भित्र्याएको छ। बुद्धले कल साइन नाइनएन एनाइनजेट एटिआर ७२ जहाज फ्रान्सको तुलुसबाट शुक्रबार काठमाडौं ल्याएको हो । यससँगै बुद्धको एटीआर–७२ जहाजको संख्या १५ पुगेको छ। जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याएर साउन महिनाबाट उडान सेवामा ल्याइने कम्पनीले जनाएको छ।

    हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप जहाज थपेकोब बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए। ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकूल उडान भर्न सक्नेछन्,’ उनले भने।

    थपिएको जहाजबाट साउन १ देखि धनगढी तथा सुर्खेतमा थप १ उडान भर्ने योजना कम्पनीको रहेको छ। हाल धनगढी तथा सुर्खेतमा दैनिक २ उडान भइरहेको छ। थपिएको जहाजबाट अन्य गन्तव्यहरुमा पनि उडान संख्या थप्ने कम्पनीको योजना छ।

    बुद्धसँग ३ वटा एटीआर–४२–३२० र १५ वटा एटीआर– ७२–५०० जहाजहरु छन्। बुद्धलेअन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान पनि भरिरहेको छ। यसैगरी पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जको उडान पनि गरिरहेको छ।

  • धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

    धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ ।

    नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको हो ।

    समितिले शुक्रबार सूचना प्रकाशन गर्दै बोर्डको अध्यक्ष नियुक्तिको लागि हालसम्म गरेका सम्पूर्ण प्रक्रिया रद्द गरिएको जनाएको छ ।

    समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा परेकाहरूमध्ये ३ जना अन्तरवार्तामा सहभागी भएका थिएनन् ।

    ‘सर्टलिस्ट’मा परेकामध्ये सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ अन्तर्वार्तामा गएका थिए भने बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी निर्देशक कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं गएनन्।

    त्यसपछि समितिले महान्यायाधिक्तासँग राय मागेको थियो । महान्यायाधिक्ताको कार्यालयले योग्यता पुगेका उम्मेदवारमध्ये तीन जनाभन्दा बढी संख्यामा समितिले सिफारिस गर्न बाधा नपर्ने राय दिएको थियो ।

    ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिको मिति २०८१/३/१४ को निर्णयअनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्त नाम सिफारिस गर्नको लागि मिति २०८०/११/१६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरू रद्द गरिएको ब्यहोरा सम्बद्ध सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, समितिले प्रकाशन गरेको सूचनामा भनिएको छ ।

  • भारत र चीनसँग आइटी क्षेत्रमा नेपालको प्रतिस्पर्धा हुन सक्छ : अर्थमन्त्री

    भारत र चीनसँग आइटी क्षेत्रमा नेपालको प्रतिस्पर्धा हुन सक्छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि (आईटी) क्षेत्रमा नेपालले क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघले बिहीबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले दुई उदयमान छिमेकी भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र आईटी भएको बताए । आईटीमा प्रचुर सम्भावना देखेरै आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जनाए ।

    भू–परिवेष्ठित अवस्थितिमा रहेको नेपालले सामुन्द्रिक पहुँच प्रयोग गरेर विश्व बजारमा आफ्ना उत्पादन लैजान चुनौतीपूर्ण रहेको चर्चा गर्दै उनले आईटी उपयुक्त विकल्प भएको उल्लेख गरे । गत आर्थिक वर्षमा ६७ अर्बको आईटी सेवा निर्यात भएको र चालु आर्थिक वर्षमा उक्त रकम १ खर्ब नाघ्ने उनको भनाइ थियो ।

    ‘हामीले आफ्नो मौलिकता, अवस्थिति, उत्पादन शक्ति र उत्पादन सम्बन्ध आदिलाई सही ढंगले पहिचान गरेर विकासका मोडल निर्माण गर्नुपर्छ । विशाल जनसंख्या र भूगोल भएको भारत र चीनको बीचमा भएकाले कुन क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्छौं त्यो हेर्नुपर्नेछ,’ उनले भने, ‘भारत र चीनलाई विश्वभरिको उत्पादनको हब वा पावर हाउस भनिन्छ । संसारभरको सप्लाई चेन कि चीन कि भारतमा आएर ठोकिन्छ । किन भने सबै त्यहाँ उत्पादन हुछ, संसारभरि वितरण हुन्छ । उनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । आफ्नो अवस्थितिअनुसार हामी सूचना प्रविधि क्षेत्रमा दुवै छिमेकीसँग प्रतिस्पर्धा गर्न सक्छौं ।’

    प्रतिस्पर्धी बजार देखेरै आफूले बजेटमा आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको मन्त्री पुनले बताए । ‘विगत केही वर्षको तथ्यांक हेर्दा आईटी, पर्यटन, जलविद्युत्, कृषि र सिमेन्टजस्ता खानीजन्य उद्योगमा प्रतिस्पर्धा गर्न सक्छौं भन्ने देखिएको छ,’ उनले भने, ‘हामी यी क्षेत्र मामार्फत रोजगारी सिर्जना गर्न र तीव्र आर्थिक विकास गर्न सक्छौं । त्यसैले ती क्षेत्रलाई बजेटमार्फत सरकारले प्राथमिकतामा राखेको छ ।’

    पूँजी, निजी र सहकारी गरी तीन खम्बे अर्थ नीतिको परिकल्पना संविधानले गरेको चर्चा गर्दै उनले आर्थिक नीति र मुलुकको विकासबारे प्रमुख राजनीतिक दलहरूबीच समान धारणा बनाएर अघि बढ्न जरुरी रहेको औंल्याए ।

    ‘हाम्रो संविधानले तीन खम्बे अर्थ नीतिको कुरा गरेको छ । त्यो भनेको राजकीय पूँजी, निजी पूँजी र सहकारीलाई सँगसँगै हिँडाउने हाम्रो प्रतिबद्धता मात्र होइन, संविधानको दिशानिर्देश पनि हो,’ मन्त्री पुनले भने, ‘सामान्य निरन्तरताले मात्र पुग्दैन । नयाँ चरणको आर्थिक सुधार गर्नुपर्छ भनेर बजेटमै भनेका छौं ।’
    सरकारले सार्वजनिक, निजी र सहकारीको संयोजनबाट अर्थतन्त्रमा आमूल परिवर्तन र तीव्र गतिमा विकास गर्न विज्ञ सम्मिलित समिति वा आयोग बनाउने तयारी गरेको उनले बताए ।

  • नेपाल भित्र पहिलो पटक ४ सय केभी प्रसारण लाइन सञ्चालनमा

    नेपाल भित्र पहिलो पटक ४ सय केभी प्रसारण लाइन सञ्चालनमा

    काठमाडौं । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ । नेपाल भित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तार गर्न यो प्रसारण लाइन बनाइएको हो ।

    धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मंगलबार बेलुका साढे सात बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो । ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर प्रसारण लाइन चार्ज गरिएको हो । ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रसारण सुरु भएको छ ।

    यसअघि ढल्केबर–मुजफ्फरपुर (भारत) अन्तरदेशीय प्रसारण लाइनबाट ४०० केभीमा विद्युत् आयात–निर्यात हुँदै आएको थियो । अब देशभित्र पनि ४०० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु गरिएको हो ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै मुख्य रूपमा कोशी प्रदेशका तराईका जिल्लाहरूमा विद्युत् आपूर्तिको भोल्टेज सुधार गर्न, समग्रमा देशको प्रसारण प्रणालीलाई गुणस्तर तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापारको परिमाण वृद्धि गर्न महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए । प्रसारण लाइनले करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्छ ।

    प्रसारण पूर्वाधार तयार नभएकाले हाल सञ्चालमा रहेको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हुने विद्युत् आयात–निर्यात परिमाण अब बढाउन सकिने घिसिङले बताए । अहिले दुई देशबीचको विद्युत् आयात निर्यात परिमाण ८०० मेगावाट मात्र छ । उनले कोशी करिडोर हुँदै इनरुवा सबस्टेसनमा आएको विद्युतलाई त्यस क्षेत्रमा खपत गरी अतिरिक्त भएमा ढल्केबर–इनरुवा प्रसारण लाइनमार्फत ढल्केबर ल्याएर भारतर्फ निर्यात गर्न पनि सकिने बताए ।

    मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङस्थित हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसम्म २ सय ८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । प्रसारण लाइनलाई हेटौंडा–ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ । हेटौंडा–ढल्केबर खण्ड निर्माणाधीन छ ।

  • दोहोरो अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ विन्दुमा झरेको हो ।

    यसदिन ३०५ कम्पनीको ४ अर्ब ५ करोड ८० लाख ४७ हजार ७३४ रुपैयाँ बराबरको ८७ लाख २७ हजार १६४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ३ वटा बाहेक अरुसबैको घटेको छ ।

    आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

  • बन्द भयो मेलम्चीको पानी

    बन्द भयो मेलम्चीको पानी

    काठमाडौं । मेलम्चीको पानी काठमाडौँमा पथान्तरण गर्न बन्द गरिएको छ । मनसुन सक्रिय भएसँगै अत्यधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो ।
    वर्षासँगै बाढीले पुर्‍याउन सक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । साथै मेलम्ची नदीमा बाढी आएपछि स्थानीयहरू समेत त्रसित बनेका छन् ।

    गत आइतबार रातिदेखि आएको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो । बाढी आएसँगै त्यहाँका स्थानीयहरू बाढीको त्रासमा रात कटाइरहेका छन् । साथै आइतबार राति आएको पानी र त्यसपछि पनि निरन्तर वर्षा भइरहेको छ । आइतबार राति वर्षापछिको बाढीले मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल बगाएको थियो ।

    पुल बगाएसँगै स्थानीयहरूलाई आवतजावतमा समस्या भएको छ । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँच पोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो । पुल बगाएसँगै एक वडाबाट अर्को वडामा जान असहज भएको छ ।

  • नेप्सेमा सामान्य अंकको सुधार

    नेप्सेमा सामान्य अंकको सुधार

    काठमाडौं । शेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको हो ।

    यसदिन ३१९ कम्पनीको ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८३३ रुपैयाँ बराबरको ९४ लाख ३५ हजार ४५४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ वटा कम्पनीको बाहेक अरु उपसमूहको परिसूचक बढेको छ ।

  • विराटनगर महानगरले ल्यायो ३ अर्ब ४९ करोड बजेट

    विराटनगर महानगरले ल्यायो ३ अर्ब ४९ करोड बजेट

    काठमाडौं । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

    सोमबार महानगरको १४ औं नगर सभामा उपप्रमुख शिल्पा निरौला कार्कीले चालु वर्षको संशोधित बजेट भन्दा १३ करोड ८१ लाख २१ बढी बजेट सार्वजनिक गरेकी हुन् ।

    समपूरक कार्यक्रममा ६ करोड, वडास्तरीय योजनाका लागि ४३ करोड ३ लाख १२ हजार बजेट विनियोजन भएको छ । योजना निर्माण गर्ने क्रममा महानगरपालिकाले १९ वडालाई दुई करोडका दरले बजेट दिएको छ ।

    आगामी वर्षको खर्चतर्फ बहुवर्षीय ठेक्का तथा दायित्व सरेका योजनाहरूको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराई मधेश समृद्धि कार्यक्रमतर्फ ५ करोड ६० लाख, मर्मत सम्भारका लागि १० करोड र भारी सवारी साधन खरिदका लागि २ करोड बजेट विनियोजन गरेको छ ।

    महानगरपालिकाले सडक ढल तथा नाला सफाइ र मर्मतका लागि ४ करोड ५० लाख विनियोजन गरेको छ । सामाजिक विकास क्षेत्रअन्तर्गत शैक्षिक विकास कार्यक्रमका लागि ७८ करोड, स्वास्थ्य विकास कार्यक्रमका लागि २० करोड ५७ लाख, नगरस्तरीय योजनाका लागि ३५ करोड विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

    कृषि विकासका लागि १ करोड ३ लाख, पशुपंक्षी तथा भेटेनरीका लागि १ करोड ५३ लाख, उद्यमशील विकासका लागि ५० लाख, पर्यटन प्रवर्द्धनका लागि १ करोड ९४ लाख विनियोजन गरिएको छ । विपद् व्यवस्थापनतर्फ १ करोड २० लाख, सरसफाइका लागि १ करोड ३० लाख विनियोजन गरेको छ ।

    महानगरले चालु आर्थिक वर्षको बजेटमध्ये जेठ मसान्तसम्म २ अर्ब १५ करोड ६० लाख खर्च गरेको छ । यो विनियोजित बजेटको ६४.१३ प्रतिशत हो ।

  • झिनो अंकले घट्यो नेप्से

    झिनो अंकले घट्यो नेप्से

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा झरेको हो । यसदिन ३१७ कम्पनीको ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ रुपैयाँ बराबरको ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ३ वटा बाहेक अरुसबैको घटेको छ । आज पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १७ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । घट्दो बजारमा ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको ।

  • एकैदिन २७ सयले घट्यो सुनको मूल्य

    एकैदिन २७ सयले घट्यो सुनको मूल्य

    काठमाडौं । सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

    आजका लागि एक लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ । यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ।

    चाँदीको मूल्य प्रतितोला रु ५० ले घटेको छ। शुक्रबार प्रतितोला रु एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु एक हजार आठ सय १५ निर्धारण भएको छ।

  • समाजवाद उन्मुख बजेट ल्याएका छौं : अर्थमन्त्री

    समाजवाद उन्मुख बजेट ल्याएका छौं : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको बताएका छन् । काठमाडौंमा नेकपा (माओवादी केन्द्र) अछाम–काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई शनिबार सम्बोधन गर्दै उनले बजेटमा कृषि, पर्यटन, जलविद्युत्, आइटी क्षेत्रलाई नेपालको अर्थतन्त्रमा रुपान्तरण ल्याउने क्षेत्रका रुपमा अघि सारिएको बताए ।

    उनले सात प्रदेशका सात वटा विशेषता छुट्याएको बताए ।
    सुदूरपश्चिमलाई पर्यटकीय हबको रुपमा विकास गर्नेगरी बजेटमा विनियोजन गरिएको बताए । उनले सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने गरी काम गरिरहेको बताए । मानिस धनी हुनेमात्रै नभइ समानतातिर लैजाने किसिमले उत्पादनकेन्द्रित बजेट ल्याएको उनको भनाइ थियो ।

    उनले भने, ‘अहिले हामीले बजेटमा पनि उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको छ ।

    अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा निर्देशन भएर कृषि, पर्यटन, जलविद्युत्, आइटी र उत्पादनमूलक क्षेत्रहरु नेपालको अर्थतन्त्रमा रुपान्तरण ल्याउने क्षेत्र हुन सक्छन्, उनले भने, सात प्रदेशका सात वटा विशेषता छुट्याएका छौं । सुदूरपश्चिमलाई पर्यटकीय हबको रुपमा विकास गर्नुपर्छ भनेर लगानीकर्तालाई आहृवान गरेका छौं । उनले समाजको नैतिक धरातललाई नबिर्सिकन काम गर्दा समाज र देश समृद्ध बन्ने बताए ।

  • विश्व बैंकको नेपालमा आयोजित आइडीए बैठक सम्पन्न

    विश्व बैंकको नेपालमा आयोजित आइडीए बैठक सम्पन्न

    काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ ९आईडीए–२१० को तेस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ । होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको शुक्रबार आयोजित एक कार्यक्रममा समापन गरियो । समापनमा अर्थमन्त्री वर्षमान पुन सहभागी भए । बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्घाटन गरेका थिए । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो सम्मेलन हो । बैठकले न्यून आय भएका मुलुकका लागि आगामी वर्षहरूमा गर्ने सहयोगसम्बन्धी रणनीति तय गरेको बैंकले जनाएको छ ।

    बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गसहित आधा दर्जन बढी उपाध्यक्ष र निर्देशक सहभागी थिए । साथै ६१ देशका करिब २ सयभन्दा बढी प्रतिनिधि बैठकमा लागि आएका थिए । उदघाटनसत्रपछि तीन दिनसम्म बन्दसत्र चलेको थियो । बन्दसत्रमा आगामी ३ वर्षका लागि गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सोको लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरू बीच गहन छलफल भएको बताइएको छ ।

    आईडीए–२ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेस गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । विश्व बैंकको दक्षिण एसिया क्षेत्रमै यो स्तरको कार्यक्रम भएको पहिलो हो । बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयले सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको थियो । विश्व बैंकले सन् १९६० मा आईडीएको स्थापना गरेको थियो ।

    आईडीएले विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । यसका साथै यसले विकासका पछि परेका मुलुकहरूका लागि सहुलियतपूर्ण ऋण र अनुदान तथा बहुपक्षीय सहायता प्रदान गर्दछ । आईडीएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दा बढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ । अर्थ मन्त्रालयले साझेदारहरूसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरूका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत गराउन तथा उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्त्वपूर्ण भएको जनाएको छ ।

    बैठकपछि विश्व बैंकमा उच्च अधिकारीहरूले काठमाडौं उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा सञ्चालित शिक्षा, खानेपानी, पुनर्निर्माण, ऊर्जा, जलवायुलगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ९ आयोजनाको स्थलगत भ्रमण गर्ने भएका छन् ।

    बैठकको आयोजनाबाट नेपाललाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन सफल भएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले बताए । विकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई दिइएको समेत उनले बताए । नेपालका विकास प्राथमिकतालाई आईडीएको नीति प्राथमिकतासँग तादम्य गराउन अवसर मिलेको, अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढेको, आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढेको तथा पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा समेत टेवा पुगेको विश्वास लिइएको उनले बताए ।

  • माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्पमा फोरजी सेवा बिस्तार

    माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्पमा फोरजी सेवा बिस्तार

    काठमाडौं । नेपाल टेलिकमले माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी सेवा विस्तार गरेको छ । कास्कीको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा विस्तार गरेको नेपाल टिलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । उनका अनुसार उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको टुजी मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि फोरजी सेवा विस्तार गरेको हो ।

    यो टावर समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेका टेलिकमले जनाएको छ । कास्कीका मनमोहक पर्यटकीय स्थलहरु माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटनलगायत टेलिकमको फोरजी सेवाबाट लाभान्वित हुने टेलिकमले दाबी गरेको छ ।

  • दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन प्रधानमन्त्रीको पहल

    दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन प्रधानमन्त्रीको पहल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा चलाउन पहल थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा शुक्रबार प्रधानमन्त्री प्रचण्डले यही विषयमा उच्चस्तरीय छलफल गरेका छन् ।


    छलफलमा प्रधानमन्त्री प्रचण्डले दुईवटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायबारे सुझाव लिएका हुन् । छलफलमा प्रधानमन्त्री प्रचण्डले दुईवटै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्त्वका परियोजना भएकोमा जोड दिँदै विमानस्थल पूर्ण क्षमतामा चलाउन सरकारका सबै निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताए ।

    ‘पोखरा र भैरहवा एयरपोर्ट राष्ट्रिय गौरवका परियोजना हुन् । यी परियोजना निर्माणमा राज्यको ठूलो लगानी पनि भइसकेको छ । निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको छ । यस्तो परिस्थितिमा यी विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्नुको अर्को कुनै विकल्प छैन। पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले गम्भीरतापूर्वक तयारी गर्नुस् र विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालनको ठोस प्रस्ताव छिटै ल्याउनुहोस्,’ प्रधानमन्त्री प्रचण्डले भने ।

    छलफलमा प्रधानमन्त्री प्रचण्डले केही सहुलियत दिएर र सरकारी सेवाको विस्तार गरेर विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको खाका ल्याउन निर्देशन दिएका छन् । काठमाडौं विमानस्थलमा एयर ट्राफिकको समस्या रहेको र यसको उचित समाधान दिनुपर्ने आवश्यकता रहेको समेत उनले बताए ।

    काठमाडौं एयरपोर्टको सुधार र क्षमता विस्तारको काम भइरहेको भन्दै उनले भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्ने गरी आवश्यक तयारी गर्न निर्देशन दिए ।

    वैदेशिक रोजगारीमा जाने नेपाली यात्रु र अन्य यात्रुलाई भैरहवा र पोखराबाटै उडान गराउने गरी तयारी गर्न समेत उनले निर्देशन दिए । त्यसका लागि मेडिकल, श्रम स्वीकृति, अध्यागमन लगायतका सरकारी सेवा पोखरा र भैरहवामा व्यवस्थित गर्न समेत उनले निर्देशन दिए ।

    ‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि केही सहुलियत दिनुपर्ने हुन्छ, हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा केही सहुलियत दिऊँ, निजी क्षेत्रसँग पनि समन्वय गरेर होटल लगायतमा सहुलियत प्याकेजका निम्तिसमेत अनुरोध गरौँ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

    छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आफूहरूले आवश्यक गृहकार्य गरेर विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने सम्बन्धी ठोस प्रस्ताव प्रस्तुत गर्ने बताए । पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले सहुलियतपूर्ण प्याकेजसहितका विकल्पमा छलफल गरेर ठोस प्रस्ताव प्रस्तुत गरिने बताए ।

    दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति मन्त्रालयको तर्फबाट विदेशी विमान कम्पनीहरूसँग पनि छलफल भइरहेको उनले जानकारी दिए । बैठकमा मन्त्री तामाङ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, पर्यटन सचिव डा. पाण्डे, वाणिज्य सचिव दिनेशकुमार घिमिरे, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, श्रम सचिव घनश्याम उपाध्याय, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत उपस्थित थिए ।

  • जेठसम्म साढे १४ खर्ब बराबरको आयात

    जेठसम्म साढे १४ खर्ब बराबरको आयात

    काठमाडौं । नेपालमा जेठ महिनासम्म १४ खबए ५३अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । एक महिनामा मात्र १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २०८० मा मात्र १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

    वैशाख मसान्तसम्म १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जेठमा आयात बढे पनि समग्र आयातको तथ्यांक गत वर्षको यसै अवधिको तुलनामा भने घटेको छ । जेठसम्म आयात १.८४ प्रतिशतले कम भएको देखिन्छ । अघिल्लो वर्ष जेठसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांकले देखाएको छ ।

    यस वर्ष निर्यातमा समेत ठूलो उपलब्धि छैन । जेठसम्म १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३.०१ प्रतिशतले कम हो । अघिल्लो वर्ष जेठसम्म १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।


    आयात र निर्यात दुवै घट्दा कुल वैदेशिक व्यापार र व्यापार घाटा दुवै खुम्चिएको छ । कुल वैदेशिक व्यापारको आकार १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १.९५ प्रतिशत कम हो । अघिल्लो वर्ष जेठसम्म १६ खर्ब २४ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

    व्यापार घाटा १३ खर्ब १४ अर्ब रुपैयाँमा खुम्चिएको छ । जुन अघिल्लो आवको तुलनामा १.७२ प्रतिशत कम हो । अघिल्लो वर्ष १३ खर्ब ३७ अर्ब रुपैयाँ बराबर व्यापार घाटा थियो । यस वर्ष जेठसम्म वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.२६ प्रतिशत र निर्यातको हिस्सा ८.७४ प्रतिशत रहेको छ ।

  • २४ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

    २४ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

    काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८–८१ जेठसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ करोड रुपैयाँ पुगेको छ । कार्यालयका अनुसार जेठ मसान्तसम्म आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र वाह्य ऋण १२ खर्ब ७ अर्ब ८६ करोड पुगेको छ । आवका सुरुवाती महिनामा वाह्यको तुलनामा आन्तरिक ऋण हिस्सा धेरै भए पनि अहिले वाह्य ऋण उकालो लागेको देखिन्छ । सार्वजनिक ऋणमा वाह्य ऋण हिस्सा ५०।३२ प्रतिशत र आन्तरिक हिस्सा ४९।६८ प्रतिशत छ ।

    कार्यालय प्रमुख दीर्घराज मैनालीका अनुसार आर्थिक वर्षका सुरुवाती महिनामा वाह्य ऋणको तुलनामा आन्तरिक ऋण बढी देखिन्छ । यसो हुनुमा वाह्य ऋणको प्राप्ति हिस्सा आर्थिक वर्षको अन्तिमतिर बढी हुनु हो । अर्कातर्फ, सरकारले कम लागत र बजार असर नपर्ने गरी आन्तरिक ऋण उठाउने योजना बनाएको हुन्छ । यस वर्ष बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको र ब्याजदर समेत कम रहेका कारण सरकारले सुरुवाती महिनामा बढी आन्तरिक ऋण उठाएको थियो ।

    तर, आव अन्तिमतिर जाँदा आन्तरिक ऋणको बढी सावाँ भुक्तानी तथा वाह्य ऋण प्राप्तिसमेत बढ्दा समग्र सार्वजनिक ऋणमा वाह्य ऋण हिस्सा आन्तरिकको तुलनामा बढी भएको छ । नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन ९जीडीपी० को ४२ प्रतिशत हाराहारी छ । वाह्य ऋण जीडीपीको तुलनामा २१ प्रतिशतभन्दा केही बढी छ । वाह्य ऋणमध्ये बहुराष्ट्रिय निकायको ऋण १० खर्ब ७१ अर्ब छ भने अन्य देशसँग नेपालले लिएको ऋण १ खर्ब ३६ अर्ब बराबर छ ।

    सरकारले चालु आव ११ महिनामा ३ खर्ब ७ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिएको छ । यो आन्तरिक तथा वाह्य दुवै हो । यस अवधिमा १ खर्ब ९७ अर्ब भुक्तानी भएको छ । २०८० असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड थियो । जेठ मसान्तसम्म आन्तरिक ऋण प्राप्ति २ खर्ब २५ अर्ब छ । वाह्य ऋण प्राप्ति ८२ अर्ब ६७ करोड छ । यस वर्ष सरकारले आन्तरिक र वाह्य गरी कुल ४ खर्ब ५२ अर्ब लिने लक्ष्य राखेको थियो ।

    जेठ मसान्तसम्म प्राप्ति भने ३ खर्ब ७ अर्ब रुपैयाँमात्र भएको छ । बाँकी एक महिनामा लक्ष्य पूरा गर्न सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिनुपर्छ । यसमध्ये आन्तरिक ऋण उठाउन लक्ष्यभन्दा १५ अर्ब कम छ भने वाह्य ऋण उठाउन लक्ष्यभन्दा १ खर्ब ३० अर्ब रुपैयाँ कम रहेको तथ्यांकमा देखिन्छ । जेठसम्मको वाह्य प्राप्ति लक्ष्यको ३८ प्रतिशतमात्र हो ।

  • दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ८७ करोडको कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ८७ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा झरेको हो ।

    यसदिन ३०६ कम्पनीको ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९०३ रुपैयाँ बराबरको ८६ लाख ६३ हजार ६९९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये २ वटा बाहेक अरुसबैको घटेको छ ।

    आज माउण्टेन इनर्जीको सर्वाधिक कारोबार भएको छ । यसको १७ करोड १४ लाख रुपैयाँको ३ लाख ६२ हजार १२४ कित्ता शेयर किनबेच भएको छ ।

  • मेलम्ची शुक्रबारबाट बन्द हुँदै

    मेलम्ची शुक्रबारबाट बन्द हुँदै

    काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ। बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वारा बन्द सम्भावना रहेको समितिले जनाएको हो।

    योसँगै उपत्यकावासी यही शुक्रबारदेखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन्। मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्नेगरी तयारी गरिएको खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए । मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी उपभोग गर्न पाउने उनको भनाइ छ।

    मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिने गरेकामा यो पटक तीन दिन चाँडो भित्रिएको थियो। मनसुन अक्टोबर २ मा बाहिरिने गर्दछ।

    दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकामा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ। मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडबक्समा पानी थिग्र्याउने संरचनाले सुरुङमा धमिलो पानी जान पाउँदैनथ्यो। समितिका अनुसार उक्त संरचना बिग्रिएकाले नदी धमिलिने बित्तिकै आयोजना बन्द गर्नुपर्ने हुन्छ।

    गत ३१ जेठ गते आयोजना बन्द गर्ने सरकारले निर्णय गरेको थियो। नेपालका मनसुन भित्रिए पनि पूर्वी भू–भागमा मात्रै सक्रिय भए पनि वाग्मतीमा ठुलो पानी नपरेपछि तत्कालका लागि आयोजना बन्द गर्न आवश्यक नरहेको भन्दै खुला राखिएको थियो। जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिरहेको छ। यसले बाढी पहिरोलगायत मनसुनजन्य घटनासमेत बढ्न सक्ने भन्दै समयमा सतर्कता अपनाउन विभागले सरोकार भएका सबैलाई सुझाव दिएको छ।


    दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीसँगै आयोजनामा बाढी पस्दा करिब रु दुई अर्ब बराबरको क्षति भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। गत साउन २८ र २९ गते बाढीले पुनः आयोजनाको संरचनामा क्षति पुगेको थियो। मनसुन सकिएपछि मेलम्ची खानेपानीको पुनः वितरण गरिने भनिएकामा गत माघ १ गतेदेखि मात्रै मेलम्चीको पानी उपत्यका पठाइएको थियो।

    मेलम्ची खानेपानी आयोजना बन्द रहने अवधिसम्म वाग्मती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्नेगरी अधिकार सम्पन्न बागमती सभ्यता–एकीकृत विकास समितिसँग सहमति भएको छ । धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी ल्याउने सहमति भएको छ । काठमाडौँमा दैनिक ४३ करोड खानेपानीको माग रहेको छ ।

    राससको सहयोगमा

  • नेप्सेले गर्यो कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेप्सेले गर्यो कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । अघिल्ला ३ कारोबार दिनमा लगातार ४५ अंकले घटेको नेप्से आज झिनो अंकले बढेको हो ।

    बुधबार नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ बिन्दुमा पुगेको छ । सूचकमा झिनो सुधार आए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६५ करोडले घटेर ३ अर्ब ४० करोड रुपैयाँ सीमित भएको छ ।

    आज ३०८ कम्पनीको ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ को घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.६२ प्रतिशतले बढेको छ भने व्यापार समूह १.३२ प्रतिशतले घटेको छ ।

    आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड २३ लाख रुपैयाँको २ लाख ८५ हजार ४० कित्ता सेयर किनबेच भएको छ ।

    कारोबारमा आएका मध्ये १३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको घटेको छ ।

    सामानय अंकले बढेको बजारमा नेपाल फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    त्यस्तै, समाज लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    मनकामना स्मार्ट लघुवित्तका सेयरधनीले भने सर्वाधिक ९.८८ प्रतिशत गुमाएका छन् ।

  • दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ५ करोडको कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ५ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा पुगेको हो ।

    यसदिन ३१८ कम्पनीको ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ रुपैयाँ बराबरको ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचक घटेको छ ।

  • विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन नेपालमा सुरु

    विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन नेपालमा सुरु

    काठमाडौं । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघको आइडा २१ तेस्रो रिप्लेनिसमेन्ट बैठक काठमाडौंमा मंगलबारबाट सुरु भएको छ । बैठक चार दिनसम्म चल्ने छ , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान काठमाडौंको सोल्टी होटेलमा बैठकको उद्घाटन गरे ।

    बैठकले न्यून आय वर्गका मुलुकलाई गर्ने भावी सहयोगको रणनीति तय गर्ने छ । बैठकमा विश्ववैंकका वरिष्ठ प्रवन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गलगायत उच्च पदस्थ पदाधिकारीसहित ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

    आगामी ३ वर्षका लागि आइडीए देशलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सो को लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्च पदस्थ पदाधिकारीहरु बीच ४ दिनसम्म प्रविधिक सत्रमा छलफल हुने छ ।

    सो अवसरमा बैठकमा सहभागीहरूबाट विश्व बैंकसमेतका सहयोगमा नेपालमा सञ्चालित शिक्षा, खानेपानी, पुनर्निमाण, ऊर्जा, जलवायु लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ९ वटा आयोजनाहरुको समेत स्थलगत भ्रमण हुनेछ ।

    नेपालमा सञ्चालन भएका आयोजनाको प्रगति र अवस्था बारे विश्व समुदायलाई नजिकबाट देखाउन र बुझाउन यसले अवसर प्रदान गर्नेछ । दक्षिण एशियामै पहिलो पटक आयोजना हुन लागेको विश्व बैकको उक्त प्रकृतिको उच्चस्तरीय बैठकको तयारी सम्पन्न भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    यस बैठकको आयोजनाबाट नेपालको विकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई हुने, नेपालका विकास प्राथमिकतालाई आइडीएको नीति प्राथमिकतासँग तादम्य गराउन अवसर मिल्ने, अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढने, आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढ्ने, पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।