Category: अर्थतन्त्र

  • आगामी वर्ष ‘शान्ती कोष’मा बजेट राखिने

    आगामी वर्ष ‘शान्ती कोष’मा बजेट राखिने

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१–८२ को बजेटमा शान्ति कोषका लागि रकम विनियोजन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले यसबारे बिहीबार जानकारी गराएका हुन् । स्वीस राजदूत डेनिएल मेउलीसँगको भेटमा अर्थमन्त्री पुनले आगामी आवमा संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंगो लाग्ने जानकारी पनि दिए । आफू १५ वर्षभन्दा अघिदेखि नै संक्रमणकालीन न्यायसम्बन्धी काममा संलग्न रहेको विषयमा अन्तर्राष्ट्रिय समुदायसमेत जानकार रहेको उनको भनाइ छ ।

    बजेटमा आफूले संक्रमणकालीन न्यायसँगै पीडितका लागि उपलब्ध गराइने परिपूरणका लागि शान्ति कोषको व्यवस्था गर्न लागेको समेत उनले जानकारी गराए । त्यसमा सहयोग गर्न मेउलीमार्फत स्वीस सरकारलाई आग्रह उनले गरे । ‘हामीले अमेरिका, बेलायतसहित विभिन्न मुलुकसँग सहयोगको प्रस्ताव राखेका छौं,’ उनले भने, ‘सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएको छ । स्वीस सरकारका तर्फबाट पनि यसमा महत्वपूर्ण सहयोग हुनेछ भन्ने अपेक्षा हामीले लिएका छौं ।’

  • सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्री लामिछानेलाई बुझायो प्रतिवेदन

    सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्री लामिछानेलाई बुझायो प्रतिवेदन

    काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ।

    बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर ४ सय ८५ पृष्ठ लामो प्रतिवेदन गृहमन्त्रीसमक्ष बुझाइएको हो । करिब ५ महिनाको छानबिनपछि आयोगले बनाएको प्रतिवेदनमा १३ अनुच्छेद र ९ अनुसूची रहेको छ । ९ वटा भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको आयोगले जनाएको छ ।

    राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागेका बेला सरकारले आयोग गठन गरेको थियो। विभिन्न समयमा विभिन्न माध्यमबाट भित्रिएको सुनबारे छानबिन गर्न उच्चस्तरिय जाँचबुझ आयोग बनेको थियो।

    विद्युतीय चुरोट (भेप) र सवारीसाधनका ब्रेक सुलगायतमा लुकाएर ल्याएको सुनसम्बन्धी छानबिन गरी संलग्नमाथि कारबाही सिफारिस गर्न सरकारले असोज १४ मा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको थियो । अध्यक्ष आचार्य अध्यक्ष रहेको सो आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य छन्।

  • गुल्मीको रेसुङ्गा विमानस्थलमा अब साताको तीन उडान हुने

    गुल्मीको रेसुङ्गा विमानस्थलमा अब साताको तीन उडान हुने

    काठमाडौं । गुल्मीको रेसुंगा स्थित विमानस्थलमा अब साताको तीन उडान हुने भएकोछ । अहिले नेपाल एयरलाइन्सले सातोको दुई उडान गर्दै आएको छ । आगामी सोमबार ृचैत ५ गते देखि हप्तामा तीन पटक उडान हुने भएको हो । यस विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले हप्तामा तीन पटक उडान भर्ने सहमति भएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए । कठोर मिहेनत र पटक(पटकको छलफल पश्चात् आगामी सोमबारदेखि हप्तामा तीन पटक उडान भर्ने भएको उनले उल्लेख गरेका छन् ।


    निगमले आगामी सोमबारको टिकट खुला गरिसकेको छ । आम नागरिकले टिकटको अभावमा भोग्नु परेको दुख र समस्याको केही हदसम्म समाधान हुने भन्दै यात्रुको चाप हेरिसके पछि आवश्यकता अनुसार उडान थप गर्दै जाने विषयमा पनि छलफल प्रारम्भ गरिएको उनले बताए ।

    रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले २०८० वैशाख २९ गतेदेखि नियमित उडान भर्ने गरेको छ । उडान हुने दिनमा मात्र प्रहरी पठाएर सुरक्षा दिने काम भइरहेको यस विमानस्थलमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर दीर्घकालीन रूपमा चौबीसै घण्टा विमानस्थलको सुरक्षा गर्नको लागि नेपाल प्रहरीको एक पोस्ट बस्ने भएको नगरप्रमुख पन्थीले बताए ।


    रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ः३० बजे र यहाँबाट काठमाडौँका लागि बिहान ७ः४० बजे उडान गर्ने समय तालिका छ । काठमाडौँदेखि रेसुङ्गा विमानस्थलका लागि सात हजार २८० रुपियाँ र यहाँदेखि काठमाडौँका लागि सात हजार ८० रुपियाँ भाडा दर कायम गरिएको छ ।

  • शरतसिंह भण्डारीले श्रममा गरेका अलोकप्रिय निर्णय उल्टिने

    शरतसिंह भण्डारीले श्रममा गरेका अलोकप्रिय निर्णय उल्टिने

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले अघिल्ला श्रममन्त्री शरतसिंह भण्डारीले गरेका अलोकप्रिय निर्णयमाथि पुनर्विचार गर्ने भएका छन्। यसअघि भण्डारीले गरेका कतिपय निर्णयहरू श्रमिकको हित विपरीत भएको भन्दै चौतर्फी आलोचना भएको थियो। उनले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकलाई दिइने अभिमुखीकरण तालिम शुल्क सात सय रूपैयाँबाट बढाएर २८ सय (परीक्षा शुल्क समेत) रूपैयाँ पुर्‍याएका थिए।

    अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ संशोधन गरी शुल्क बढाएपछि यो निर्णयको चौतर्फी आलोचना भएको थियो। त्यस्तै भण्डारीले वैदेशिक रोजगार विभागको फेमिस सफ्टवेयरका लागि वैदेशिक रोजगार कल्याणकारी कोषबाट १० करोड रूपैयाँ खर्च गर्ने निर्णय गरेका थिए।

    यसमा भ्रष्टाचारको आशंका गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोकिदिएको थियो। यस्तै, जापानसँग यसअघि यहाँको सरकारी संयन्त्रमार्फत् श्रमिक पठाउने गरी समझदारी भए पनि म्यानपावरलाई जिम्मा दिने कार्यविधि भण्डारीले जारी गरेका थिए। युरोपमा पनि म्यानपावर कम्पनीमार्फत् श्रमिक पठाउने गरी कार्यविधि ल्याइएको थियो।

    उनका अधिकांश निर्णयहरूमाथि प्रश्न उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्सन लिएका थिए। भण्डारीले कतिपय निर्णय तत्काल लागू नगर्न र विस्तृत अध्ययन गरी श्रमिक हितलाई ध्यानमा राख्न १६ बुँदे निर्देशन दिएका थिए।

  • झिनो अंकले घट्यो नेप्से, अपर तामाकोशीको शेयर मूल्यमा नेगेटिभ सकिट

    झिनो अंकले घट्यो नेप्से, अपर तामाकोशीको शेयर मूल्यमा नेगेटिभ सकिट

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ विन्दुमा झरेको हो ।

    यसदिन ३१० कम्पनीको ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँ बराबरको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता शेयर किनबेच भएको छ ।

  • नेप्सेमा ‘हाफ सेञ्चुरी’को छलाङ, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    नेप्सेमा ‘हाफ सेञ्चुरी’को छलाङ, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११.२४ विन्दुमा पुगेको हो । यसदिन ३०५ कम्पनीको ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँ बराबरको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक बढेको छ । आज सिमेन्ट कम्पनीको शेयरमा उच्च आकर्षण देखिएको छ । आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ३७ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । माइक्रोफाइनान्स र जीवन बीमा समूहको परिसूचक ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    बढ्दो बजारमा आज ५ लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विन नेपाल, जाल्पा सामुदायिक, उन्नति सहकार्य, जनत्थान र स्वाभिमान लघुवित्तका शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएक छन् ।

  • उडिरहेको जहाजका दुबै पाइलट निदाएपछि….

    उडिरहेको जहाजका दुबै पाइलट निदाएपछि….

    काठमाडौं । इन्डोनेशियाको एउटा स्थानीय वायु सेवा बटिक एअरको एक उडानका क्रममा विमानमा भएका दुवै पाइलट निदाएको घटना सार्वजनिक भएको छ । त्यसबारे छानबिन थालेको यातायात मन्त्रालयले जनाएको छ। सूलवेसीदेखि राजधानी जकार्तासम्मको उडानका क्रममा एअरबस ए३२० उडानका दुवै चालकहरू झन्डै २८ मिनेटसम्म निदाउँदा विमान छोटो समयका लागि आफ्नो बाटोबाट बाहिर गएको बताइएको छ।

    यद्यपि यसले सुरक्षित अवतरण गरेको थियो। विमानमा सवार १५३ यात्रु र चालकदलका सदस्य कसैलाई कुनै चोट पनि लागेन। गत २५ ज्यानुअरीको त्यो घटनापछि दुवै पाइलटलाई निलम्बन गरिएको छ। उक्त उडान सुरु भएपछि ३२ वर्षे लीडपाइलटले कोपाइलटलाई आफूलाई आरामको आवश्यकता रहेको भन्दै विमानको हेरविचार गर्न भनेको बताइएको छ। त्यसमा २८ वर्षे कोपाइलटले सहमति जनाएको यातायात मन्त्रालयको एउटा प्रतिवेदनमा उल्लेख छ।

    तर केहीबेरमा कोपाइलट पनि निदाए। मन्त्रालयको प्रतिवेदनअनुसार उनकी श्रीमतीले जुम्ल्याहा बच्चा जन्माएको एक महिना मात्र भएको थियो र उनी पनि बच्चाको रेखदेखमा संलग्न थिए। जकार्तामा रहेको एअर ट्राफिक कन्ट्रोल कार्यालयले उक्त विमानको ककपिटमा सम्पर्क गर्दा कुनै जबाफ नभएपछि घटनाबारे पहिलो पटक थाहा भएको थियो। ट्राफिक कन्ट्रोलको सम्पर्कमा रहेको रेडिओ उपकरण २८ मिनेटसम्म मौन रहेको बताइएको छ।

    त्यसपछि लीडपाइलट बिउँझिदा उनले आफ्ना कोपाइलट निदाएको र विमान केही समयका लागि निर्धारित मार्गभन्दा बाहिर गएको पत्ता लगाएको बताइएको छ। त्यसपछि भने उनी जकार्ता ट्राफिक कन्ट्रोलको सम्पर्कमा आएकाले विमानको सुरक्षित अवतरण गराउन सफल भएको बताइएको छ। उडानभन्दा अघिको स्वास्थ्यपरीक्षणमा दुवै पाइलट उडानका लागि योग्य रहेको पाइएको थियो। उनीहरूको रक्तचाप र मुटुको गति सामान्य थियो र मदिरा सेवन नगरेको पाइएको थियो।

    साथै दुवै पाइलटले पर्याप्त आराम पाएजस्तो देखिएको थियो। यद्यपि उनीहरूको विश्रामको गुणस्तर पनि राम्रो थियो भनी प्रमाणित गर्न ती परीक्षणहरू विफल रहेका उड्डयनविज्ञ एल्भिन लाईले बीबीसी इन्डोनेशिअनलाई बताएका छन्। घटनापछि अधिकारीहरूले बटिक एअरलाई कडा चेतावनीूदिएका छन्। इन्डोनेशियाका हवाई यातायात प्रमुख एम क्रिस्टी एन्डा मुर्नीले कम्पनीले चालकदलको विश्रामबारे थप ध्यान दिनुपर्ने बताएकी छन्।

    बटिक एअरले भने आफू ूपर्याप्त आरामको नीतिअनुसार नै सञ्चालनमा रहेकोू र ूसुरक्षासम्बन्धी सबै सिफारिस कार्यान्वयनका लागि प्रतिबद्ध रहेकोू बताएको छ। सन् २०१९ मा यसै कम्पनीको एक विमानका चालक बेहोस भएपछि विमानको आकस्मिक अवतरण गराइएको थियो।
    बीबीसी

  • सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति

    सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति

    काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा सोमबार भएको वार्तामा मिटरब्याज पीडितको समस्या समाधानका लागि फेरि तीन महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । यसअघि पनि सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि गौरीबहादुर कार्की नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । तर उक्त आयोगको म्याद सकिइसकेको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नै मिटरब्याज पीडितसँग छलफलमा बसेका थिए ।

    ‘मैले पहिले पनि संसद्‍मा कुरा उठाएको थिएँ, उहाँहरुको एक–एक मिनेट धेरै हो भनेको थिएँ’, उनले भने, ‘पीडितलाई न्याय दिनका लागि मेरो तर्फबाट आवश्यक निर्देशन दिएको थिएँ, वार्ता टोलीका संयोजकज्यू र सदस्यहरु पनि प्रतिबद्ध हुनुहुन्थ्यो ।’ लामो समय यात्रा गरेर काठमाडौंसम्म आउनुपर्ने अवस्था समेत सिर्जना हुनु नहुने उनले भनेका छन् । यद्यपि, सहमति भएको भन्दै उनले भने, ‘मिटरब्याजबाट पीडितहरुले पूर्ण न्याय पाएका दिनलाई उत्सवका रुपमा मनाउने छौं, यो संघर्ष लामो छ । हामीले यो सुरुवात गरेका छौं ।’

    वर्षौंदेखि जकडिएको समस्या समाधानका लागि सरकारले दरिलो कदम चालेको उनले भनेका छन् । उनले सम्झौतामा भएका बुँदाहरुसँग सरकार प्रतिबद्ध रहने बताएका छन् । योसँगै मिटरब्याज पीडितले ४२ दिनदेखि गरिरहेको आन्दोलन स्थगित हुने भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितलाई आइतबार सिंहदरबारमा बोलाएर आफैंले उनीहरुको कुरा सुनेका थिए । त्यसपछि पीडितसँग सहमति गर्न सरकार हदैसम्म लचक बन्न तयार रहेको बताएका थिए ।

    मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट कुशवाहको नेतृत्वमा ५०० र पश्चिमबाट निर्ग नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए । काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी थियो ।

  • उद्योग वाणिज्य महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने

    उद्योग वाणिज्य महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना गर्ने भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा उक्त जानकारी दिएका हुन् । अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवम व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिने उनले बताए ।

    कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ हुने र यसमा महासंघका सदस्य बाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले जानकारी दिए ।
    कार्यक्रममा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारमा पहल भइरहेको समेत बताए । राजनीतिक दलहरुको आर्थिक विषयमा एकै एजेन्डा हुन नसक्दा समन्यव र सुधार नभएको बताउँदै उनले महासंघको चैत्र अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरुको ऐक्यबद्धता खोजिने बताए ।

    महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित वृहत आर्थिक बहस यसको कोशेढुंगा भएको उनको दाबी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको दाबी गरे । ‘अझै हामीले प्रयास गर्नुपर्छ,’ अध्यक्ष ढकालले भने, ‘बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ ।’

  • नेपाली विदेश जाँदा बाहिरियो १ खर्ब ५ अर्ब, पर्यटकबाट आम्दानी ४५ अर्ब

    नेपाली विदेश जाँदा बाहिरियो १ खर्ब ५ अर्ब, पर्यटकबाट आम्दानी ४५ अर्ब

    काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा नेपालीले विदेश भ्रमणबापत १ खर्ब ५ अर्ब रुपैयाँ खर्च गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशत बढी हो।

    नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरणअनुसार नेपालले भ्रमण आयस्वरूप ४५ अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा ३१ अर्ब ४१ करोड रुपैयाँ भित्रिएको तथ्यांकमा उल्लेख छ।

    नेपालीले विदेशी भ्रमणमा १ खर्ब बढी रकम खर्च गरे पनि त्यसका विद्यार्थीले देशबाट लैजाने रकम जोडिएको छैन।

    सात महिनामा भ्रमण व्यय ४९.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । उक्त अवधिमा भ्रमण व्यय एक खर्ब ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ६६ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ६९ अर्ब ८९ करोड रहेकोमा शिक्षातर्फको व्यय ४३ अर्ब ७४ करोड रहेको थियो ।

  • उपत्यकामा घट्यो महँगी, सबैभन्दा बढी पहाडमा

    उपत्यकामा घट्यो महँगी, सबैभन्दा बढी पहाडमा

    काठमाडौं । चालू वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । माघमा महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ ।

    यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ ।

    अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहकोमुद्रास्फीति ६.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ ।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.३३ प्रतिशतले घटेको छ ।

    समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.४१ प्रतिशतले घटेको छ ।

    २०८० माघ महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ ।

    अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.४७ प्रतिशत, ७.८२ प्रतिशत, ७.३० प्रतिशत र ७.९२ प्रतिशत रहेको थियो ।

  • शोधनान्तर स्थिति २ खर्ब ९७ अर्बले बचतमा

    शोधनान्तर स्थिति २ खर्ब ९७ अर्बले बचतमा

    काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को सात महिनासम्म शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनानुसार शोधनान्तर स्थिति गत वर्षको तुलनामा दुई गुणाले बढेको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१२८ अर्ब ५५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको छ ।

    राष्ट्र बैंकका अनुसार, निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो ।

  • २१ प्रतिशत बढ्यो रेमिट्यान्स, ७ महिनामा ८ खर्ब ३९ अर्ब भित्रियो

    २१ प्रतिशत बढ्यो रेमिट्यान्स, ७ महिनामा ८ खर्ब ३९ अर्ब भित्रियो

    काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आवको ७ महिना तथ्यांक अनुसार विप्रेषण आप्रवाह २१ .६प्रतिशतले वृद्धि भएको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २४७,०१२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १५८,५४० रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३१४,७६७ र १६७,७०८ रहेको थियो ।
    समीक्षा अवधिमा खुद ट्रान्सफर २०.० प्रतिशतले वृद्धि भई रु.९१० अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो ।

  • दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २१.१० अंकले बढेर २०५२.६५ बिन्दुमा पुगेको छ ।

    यसदिन ३०४ कम्पनीको २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये एक वटा बाहेक अरु सबै समूहको परिसूचक बढेको छ ।

    शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड बढिको कारोबार भएको छ ।

  • सुनको मूल्यमा दिनदिनै रेकर्ड, तोलाको १ लाख २६ हजार पुग्यो

    सुनको मूल्यमा दिनदिनै रेकर्ड, तोलाको १ लाख २६ हजार पुग्यो

    काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज थप १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख २६ हजार रूपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मै उच्च मूल्य हो ।

    शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रूपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य समेत १ हजार रुपैयाँले बढ्दै १ लाख २५ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँ बढेर एक हजार ४७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • ब्रिटिश प्रधानमन्त्रीकी सासु भारतमा बनिन् सांसद

    ब्रिटिश प्रधानमन्त्रीकी सासु भारतमा बनिन् सांसद

    काठमाडौं । ब्रिटिश प्रधानमन्त्री ऋषि सुनककी सासूलाई भारतीय संसद्को माथिल्लो सदनकी सदस्यका रूपमा मनोनयन गरिएको छ। त्रिहत्तर वर्षीया सुधा मूर्तिले प्रविधि कम्पनी इन्फोसिसका सह-संस्थापक तथा अर्बपति एनआर नारायण मूर्तिसँग बिहे गरेकी थिइन्। उनकी छोरी अक्षताले सुनकसँग सन् २००९ मा बिहे गरेकी हुन्। सुनक सन् २०२२ देखि ब्रिटेनका प्रधानमन्त्री छन्। भारतीय संसद्‌को माथिल्लो सदन राज्यसभामा अधिकांश सदस्यहरू निर्वाचित हुन्छन्।

    यद्यपि उक्त सदनमा समाजका गन्यमान्य व्यक्तिमध्येबाट १२ जना सदस्यलाई राष्ट्रपतिले ६ वर्षका लागि मनोनयन गर्ने व्यवस्था पनि छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मूर्तिको मनोनयनलाई ‘नारी शक्ति’को उदाहरण भएको जनाएका छन्। मोदीले यसले भारतको लक्ष्य निर्धारणका निम्ति महिलाको शक्ति र क्षमताको उदाहरण प्रस्तुत गर्ने पनि उल्लेख गरेका छन्।

    मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै मूर्तिको ‘सामाजिक कार्य, परोपकार र शिक्षा लगायतका विविध क्षेत्रमा व्यापक र प्रेरणादायी योगदान रहेको’ जनाएका छन्। गत वर्ष उनको समाजसेवालाई कदर गर्दै सरकारले भारतको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्मभूषण पनि प्रदान गरेको थियो। इन्जिनियरिङ अध्ययन गरेकी मूर्तिले मोदीलाई धन्यवाद दिँदै देशको सेवा गर्ने अवसरको लागि कृतज्ञ भएको बताएकी छन्।

    उनले द हिन्दू पत्रिकासँग भनेकी छन्, मनोनयनमा मेरो नाम एउटा सुखद आश्चर्यका रूपमा आएको छ र अन्तर्राष्ट्रिय महिला दिवसका दिन यस्तो सम्मान पाउँदा म दोबर उत्साहित भएकी छु। संसदीय कार्यकालका लागि मैले योजनाहरू बनाउन बाँकी छ। म यो मञ्चलाई भारतका जनताका निम्ति काम गर्न उपयोग गर्नेछु।

    फोर्ब्स पत्रिकाका अनुसार मूर्तिका पतिको अनुमानित कुल सम्पत्ति ४ अर्ब ७० करोड अमेरिकी डलर बराबर छ। नारायण मूर्तिले एक पटक आफ्नो कम्पनी सुरु गर्न आफ्नी पत्नीबाट २५० डलर सापटी लिएको बताएका थिए। यो कम्पनी अहिले भारतको सातौँ ठूलो र न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीमा परेको पहिलो भारतीय कम्पनीका रूपमा रहेको छ। सुधा मूर्ति भारतीय टीभीहरूमा हुने छलफलहरूमा देखा परिरहने हुनाले उनी भारतमा परिचित व्यक्ति हुन्।

    त्यस्तै एउटा छलफलमा उनले आफूले यूकेका अद्यागमन अधिकारीहरूसँग आफू डाउनिङ स्ट्रिटमा बस्न जाने बताएको उल्लेख गरिन्। उनको त्यो भनाइ सुनेर ती अधिकृतहरूले उनले ठट्टा गरिरहेकी होलिन् भन्ने ठानेका थिए। उनले आफूले आफ्नो श्रीमान्‌लाई व्यवसायी बनाउन सफल भएको उल्लेख गर्दै ,मेरी छोरीले पनि आफ्नो पतिलाई ब्रिटिश प्रधानमन्त्री बनाएकी छन्, भनेकी थिइन्।
    बीबीसीको सहयोगमा

  • भारतीय पर्यटकले नेपालमा अब क्यूआर मार्फत भुक्तानी दिन सक्ने

    भारतीय पर्यटकले नेपालमा अब क्यूआर मार्फत भुक्तानी दिन सक्ने

    काठमाडौं । अब नेपालमा आउने भारतीयहरुले क्यूआर भुक्तानी गर्न पाउने भएका छन् । भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरुले नेपालको फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका हुन् । भारतको पेमेन्ट्स कर्पोरेन अफ इन्डिया (यूपीसीआई) अन्तर्गतको अन्तर्राष्ट्रिय भुक्तानी सेवा दिने कम्पनी एनआईपीएल र नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडले शुक्रबार युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत नेपाल–भारत क्रसबोर्डर कारोबार सुरू भएको जानकारी गराएका हुन् ।

    भारतको मुम्बईमा गत सेप्टेम्बरमा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यूपीआईमार्फत क्रसबोर्डर भुक्तानीमा सहकार्य गर्न एनआईपीएल र फोन पेबीच सहमति भएको थियो । सोही सहमतिअन्तर्गत भारतीय पर्यटक तथा आगन्तुकले नेपालमा क्यूआर कोडमा आधारित पर्सन–टु–मर्चेन्ट (पीटूएम) भुक्तानी सञ्चालनमा लाइएको दुई कम्पनीले जनाएका छन् । यसको अर्थ यूपीआई प्रयोगकर्ता भारतीयले नेपालका पसल, होटल, रेष्टुराँलगायत फोन पेमा आबद्ध व्यवसायीलाई क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने भएका छन् । तर, नेपालीले भने यस्तै सुविधा अहिल्यै भारतमा पाउने छैनन् ।

    यो परिघटना दुई मुलुकबीचको क्रसबोर्डर कारोबारमा क्रान्तिकारी रुपान्तरण भएको दुई कम्पनीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । नेपालको फोन पेसँगको सहकार्यमा क्रसबोर्डर भुक्तानी सुरू हुँदा त्यसले दुई मुलुकबीचको व्यापार तथा सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले बताए । क्रसबोर्डर कारोबारका कारण दुई मुलुकबीचको आर्थिक सम्बन्ध, व्यापार तथा पर्यटनलाई उल्लेखनीय रुपमा बढाउने फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले जनाएका छन् ।

  • ऋण तिर्दैनौं भन्नेलाई छूट नदिने अर्थमन्त्रीको चेतावनी

    ऋण तिर्दैनौं भन्नेलाई छूट नदिने अर्थमन्त्रीको चेतावनी

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । बधाई तथा शुभकामना दिन बिहीबार सिंहदरबार पुगेका नेपाल बैंकर्स संघका पदाधिकारीसँगको भेटमा मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने बताए । बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ऋण नर्तिन भडकाउँदै हिंड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी उनले दिए ।

    ‘बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब धेरै दिन छुट दिन सकिँदैन’, पुनले भने, ‘त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन ।’ निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबन गिर्न नदिने प्रतिबद्धता मन्त्री पुनको थियो ।

    मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेन्टी गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको पुनले उल्लेख गरे ।
    ‘सरकारले लगानीको वातावरण बनाउँछ । सुरक्षाको प्रत्याभूति दिलाउँछ,’ पुनले भने, ‘निजी क्षेत्र आत्तिने र डराउने वातावरणको सरकारले अन्त्य गर्छ ।’ सरकारले नागरिकको व्यक्तिगत, पारिवारिक र सम्पत्तिको सुरक्षा दिने प्रतिबद्धता उनले जनाए ।
    मन्त्री पुनले निजी क्षेत्रका व्यवसायीलाई गल्ती नगरी काम गर्न अनावश्यक दुःख नदिन नियामक निकायलाई आग्रह गरे । भेटमा संघका अध्यक्ष केसीसहित संघका प्रतिनिधिले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए । ऋण उठाउन गएका बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहारका साथै भौतिक आक्रमणका घटना बढेकामा गम्भीर हुन मन्त्री पुनसँग बैंकर्स संघले आग्रह गरेको थियो ।

    मुलुकको आर्थिक वृद्धिमा बैंकिङ क्षेत्रले पुर्‍याएको योगदानबारे स्मरण गराउँदै पछिल्लो समय अर्थतन्त्रमा देखा परेका चुनौतीहरुबारे ध्यानाकर्षण गराएको केसीले बताए । पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, राज्यपक्षबाट भएका धरपकड लगायत विषयमा अर्थमन्त्री पुनलाई जानकारी गराइएको उनले बताए । आगामी दिनमा अर्थतन्त्र उकास्न, मुलुकको आर्थिक वृद्धिमा सहयोग गर्न, वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग हुने प्रतिवद्धता अर्थमन्त्री पुन समक्ष गरिएको उनले बताए ।

  • दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब १९ करोडको कारोबार

    दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब १९ करोडको कारोबार

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक १३.५१ अंकले बढेर २०३०.५५ बिन्दुमा पुगेको छ । यसदिन ३०९ कम्पनीको ४ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२० रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये तीनवटा बाहेक अरु सबै समूहको परिसूचक बढेको छ ।

  • सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख २५ हजार

    सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख २५ हजार

    काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन प्रतितोला १५ सयले बढेर प्रतितोला १ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख २३ हजार पाँच सयमा कारोबार भएको थियो ।

    तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २२ हजार ९ सय थियो । त्यस्तै आज चाँदीको मूल्य हिजोको तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार चार सय ७० रुपैयाँ तोकिएको छ ।

  • हवाई नीति संशोधन हुने

    हवाई नीति संशोधन हुने

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पदभार ग्रहण गरेका छन् । बुधबार सिंहदरवारस्थित मन्त्रालयमा पुगेर उनलेले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै पर्यटनमन्त्री तामाङले हवाई नीति २०६३ संशोधन गर्न सुझाव दिनका लागि सम्बन्धित महाशाखा प्रमुख एवम् सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । हवाई क्षेत्रलाई युरोपेली संघ (इयू)ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गरे । पदबहाली गर्दै मन्त्री तामाङले इयूले नेपालको हवाई क्षेत्रमाथि गरेको प्रतिबन्ध हटाउन पहल गर्ने बताए ।

    उनले भने, ‘नेपालको हवाई क्षेत्रमा इयूले सन् २०१३ देखि लगाएको उडान प्रतिबन्ध हटाउन योजनाबद्ध पहल गर्नेछु । यो चाँडैनै हट्छ भन्ने विश्वास लिएको छु ।’ इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै उडान सुरक्षा चासो (कालोसूची) मा राखेको थियो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को गम्भीर सुरक्षा चासो सूची (एसएससी)मा राखेकामा सन् २०१७ जुलाईदेखि हटाएको थियो । नेपालले पछिल्लो पटक हवाई सुरक्षा दरमा वृद्धि गरेकाले इयूको सुरक्षासूचीबाट हट्ने विश्वास गरिएको छ ।

    मन्त्री तामाङले नेपालको हवाई सेवालाई सुदृढ र प्रभावकारी बनाउन योजनाबद्ध काम गर्ने विश्वास व्यक्त गरे । उनले सङ्घीयताको मर्म र भावना अनुरुप मुलुकको पर्यटन नीतिलाई समयसापेक्ष बनाइने विश्वास व्यक्त गरे । मन्त्री तामाङले पर्यटन व्यवसायी एवं विज्ञ सरोकारवालासँग छलफल गरेर पर्यटन क्षेत्रको विकास तथा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनेबारे योजनाबद्ध कार्यक्रम अगाडि बढाइने बताए ।

  • अन्तर-देशीय प्रसारण लाइन फास्ट-ट्रयाकमा अगाडि बढाउने एमसीएको निर्णय

    अन्तर-देशीय प्रसारण लाइन फास्ट-ट्रयाकमा अगाडि बढाउने एमसीएको निर्णय

    काठमाडौं मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले १८ किलोमिटर लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डको काम फास्टट्रयाकमा अगाडि बढाउने निर्णय गरेको छ । एमसीए–नेपाल सञ्चालक समितिको २१ फागुनमा बसेको ४०औं बैठकले यस्तो निर्णय गरेको हो । यसअघि एमसीए नेपालअन्तर्गतको ३ सय १५ किलोमिटर लामो प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माणको तयारी गरिएको थियो ।

    तर, त्यसरी निर्माण गर्दा क्रसबोर्डर प्रसारण लाइन निर्माणमा ढिलाइ हुने चिन्ता नेपाल विद्युत् प्राधिकरणले गर्दै आएको थियो । त्यो प्रसारण लाइन चाँडो सम्पन्न होस् भन्ने उद्देश्यले १८ किलोमिटर खण्डलाई छुट्टै कार्यान्वयन गर्ने निर्णय गरेको हो । सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता दिँदा नेपाल र भारतबीच सीमापार ऊर्जा व्यापार सम्झौता अन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने एमसीए सञ्चालक समितिले जनाएको छ ।

    ‘सरकार र नेपाल विद्युत् प्राधिकरणका लागि यस खण्डको गम्भीरतापूर्ण महत्व दृष्टिगत गर्दै एमसीए नेपाल सञ्चालक समितिले यस्तो निर्णय गरेको हो,’ सञ्चालक समिति बैठकपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा प्रवक्ता नविनराज सिंहले भने ।

    उनका अनुसार उक्त खण्डलाई वृहत् प्रसारण लाइन सञ्जालबाट छुट्ट्याउँदा खरिद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने र भारतमा निर्माणाधीन प्रसारण लाइनसँग जोड्न यसको निर्माण २०८३ साल जेठभित्रै सम्पन्न हुने सुनिश्चित गर्ने छ । यो सीमापार प्रसारण लाइन विद्युत् प्रसारण आयोजनाको महत्वपूर्ण अंश भएको र यसले नेपालको आवश्यकता पूरा गर्न सीमापार विद्युत् व्यापारलाई सहजीकरण गर्ने एमसीए नेपालले जनाएको छ ।

    नयाँ बुटवल–गोरखपुर सीमापार प्रसारण लाइन निर्माण कार्य व्यवस्थापन गर्ने वित्तीय तथा स्वामित्व संरचना सम्बन्धमा नेपाल र भारतबीच असोज २०७६ मा सहमति भएको थियो । बाँकी २ सय ९७ किलोमिटर प्रसारण लाइनको डिजाइन–बिल्ड निर्माण कम्पनीका सेवा खरिदका लागि काम अगाडि बढाइरहेको एमसीए नेपालले जनाएको छ । ‘एमसीए नेपाल प्रसारण लाइन समयमै, बजेटभित्रै र नेपाल सरकार एवम् एमसीसीको वातावरणीय तथा सामाजिक मापदण्ड अनुसार निर्माण हुने सुनिश्चित गर्न प्रतिबद्ध रहेको छ,’ बोर्ड बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

  • झिनो अंकले बढ्यो नेप्से

    झिनो अंकले बढ्यो नेप्से

    काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से परिसूचक ९.३३ अंकले बढेर २०१७.०३ बिन्दुमा पुगेको छ । यसदिन ३०८ कम्पनीको ९१ लाख ३८ हजार १५४ कित्ता शेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचकमा हरियाली छाएको छ भने ३ को घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशतले बढेको छ ।

    आज सिमेन्ट कम्पनीको शेयरमा उच्च आकर्षण देखिएको छ । सोनापुर सिमेन्टको सर्वाधिक ३३ करोड र शिवम्को झन्डै २८ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

    बढ्दो बजारमा दोल्ती पावरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएक छन् ।

    मोलुङ हाइड्रोपावरका सेयरधनीले भने आज सर्वाधिक ९.७१ प्रतिशत गुमाएका छन् ।

  • सस्तियो नेपाल टेलिकमको डेटा रोमिङ सेवा

    सस्तियो नेपाल टेलिकमको डेटा रोमिङ सेवा

    काठमाडौं । नेपाल टेलिकमले विदेशमा आफ्नो सिम प्रयोग गर्ने प्रयोगकर्ताका लागि पहिलेभन्दा सस्तो दरमा डेटा रोमिङ सेवा उपलब्ध गराएको छ ।

    यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ता (आउटबाउन्ड रोमर)हरूले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डेटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरूसँग गरिएको सम्झौताअनुसार उक्त महसुल दरमा भारी कटौती भएको टेलिकमले जनाएको छ ।

    यस अनुसार टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरूको नेटवर्कमा आवद्ध भई डेटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डेटा सेवा उपलब्ध हुनेछ ।

    ”अब नेपाल टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डेटा रोमिङ सेवा उपलब्ध हुनेछ,” कम्पनीले आफ्नो विज्ञप्तिमा लेखेको छ, ”त्यसैगरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेयिबा, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, यूएई, युके, यूएसए र भियतनाममा समेत सस्तो दरमा डेटा रोमिङ सेवा प्रयोग गर्न सकिने छ ।”

    डेटा रोमिङ सुविधा प्रयोग गर्न ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्छ । पोस्टपेड तथा प्रिपेड ग्राहकले नेपालमै रहँदा आफ्नो मोबाइलबाट 14157# डायल गरी वा प्रिपेड ग्राहकहरुले नेपाल टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सक्नेछन् ।

    तर, डाटा रोमिङ सुविधा प्रयोग गर्नका लागि ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्दछ ।

    परिमार्जित दररेट सस्तो र सुलभ हुने भएकोले रोमिङ सेवा प्रयोगकर्ताहरुका लागि डाटा रोमिङ सेवा उपयोगी हुने र सेवा प्रयोग गर्ने परिपाटीमा वृद्धि हुने अपेक्षा कम्पनीको रहेको छ ।

  • उत्तर-दक्षिण सडक आयोजनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ

    उत्तर-दक्षिण सडक आयोजनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, विभागीय प्रमुखहरू र मन्त्रालयका सहसचिवहरू बोलाएर छलफल गरेका हुन् ।

    छलफलमा प्रधानमन्त्रीले राष्ट्रिय गौरवका उत्तर–दक्षिण सडक कोरिडोर आयोजनाहरूको आफूले नियमित अनुगमन गरिरहेको जानकारी दिँदै आयोजनाको लागत बढेमा स्वयं आयोजना प्रमुखहरू नै जिम्मेवार हुने गरी निर्देशित गर्न र कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशनसमेत दिए ।

    बैठकमा उत्तरदक्षिण (कोशी करिडोर) खाँदबारी–किमाथांका सडक योजना, कालीगण्डकी करिडोर र कर्णाली करिडोरको प्रगति अवस्थाबारे मन्त्रालयको ब्रिफिङ लिए । कोशी करिडोरको भौतिक प्रगति ३२ प्रतिशत रहेको, वित्तीयप्रगति पनि ३२ प्रतिशत नै रहेको जानकारी दिँदै सचिव शर्माले सडक निर्माणको काममा प्रगति भइरहेको दाबी गरे ।

    त्यसैगरी उत्तर दक्षिण (कालीगण्डकी करिडोर) सडक योजनाको ६३ प्रतिशत भौतिक प्रगति र ५५.७ प्रतिशत भौतिक प्रगति रहेको जानकारी दिँदै शर्माले स्रोत व्यवस्थापनको सीमितताका कारण अपेक्षित प्रगति हासिल नभएको जानकारी गराए । त्यस्तै उत्तर दक्षिण (कर्णाली करिडोर) सडक योजनाको भौतिक र वित्तीय प्रगति सन्तोषजनक रूपमा अगाडि बढेको जानकारी सचिव शर्माले गराए । बैठकमा प्रधानमन्त्री प्रचण्डले विगत २५० वर्षमा भएको भौतिक र मानवीय प्रगतिभन्दा गणतन्त्रपछि भएको प्रगति निकै उत्साहप्रद रहे पनि त्यसबारे आम नागरिकमा यथार्थ सम्प्रेषण गर्नुपर्ने बताए ।

    ‘पछिल्लो १५ वर्षमा भौतिक एवं मानवीय विकासका क्षेत्रमा राम्रा काम भएका छन् । तर, जनतामा सही ढंगले सम्प्रेषण गर्न नसक्दा निरासाजस्तो देखिएको छ। यति धेरै काम हुँदा पनि हामीले जनतालाई सही ढंगले प्रशिक्षित गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने । विकास आयोजनाका काममा उच्च प्राथमिकता दिन र आयोजना प्रमुखहरूलाई फिल्डमा नै बसेर काम गर्ने वातावरण बनाउन मन्त्री ज्वालालाई निर्देशित गरे ।

    ‘विकास आयोजनाका काममा हामी सबैले उच्च प्राथमिकता दिनुपर्छ । सरकार, मन्त्रालय र आयोजनाले निर्धारित काम तोकिएको समयमा पूरा नगर्दा आयोजनाको लागत बढ्दै गएको छ। तसर्थ, यो बेथिति अन्त्य गर्न गम्भीरतापूर्वक लाग्नुस्,’ प्रधानमन्त्रीले भने ।

  • कोरला नाका छिट्टै खुल्छ : प्रधानमन्त्री

    कोरला नाका छिट्टै खुल्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङको कोरला नाका आयात, निर्यातका लागि सञ्चालन गरिने बताएका छन् । उनले देशकै विकासको लागि कोरला नाकाको महत्व रहेको बताए । बागलुङको पञ्चकोटमा फागुन ९ देखि सुरु भएको महायज्ञ ११ औं दिनमा आएका प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रको विकासबाट देश समृद्ध बन्ने बताए ।

    ‘पर्यटकहरु सहजै आउने सडक र नाका खुलाउन सकेमा देशको अर्थतन्त्र बलियो बन्छ,’ दाहालले भने, ‘प्रधानमन्त्रीको हैसियतले मेरो ध्यान कोरला नाकामा छ । यो नाका खुल्दा छोटो बाटोमा धेरै आर्थिक क्रियाकलाप हुने छ ।’ प्रधानमन्त्री दाहालले धार्मिक पर्यटनले नेपालको अर्थतन्त्रमा सुधार भएको समेत बताए । ‘पौराणिक समाजवादमा धार्मिक अर्थतन्त्रको महत्व रहेछ,’ उनले भने, ‘आफ्नो लागिमात्रै कमाउने बाँकी सम्पत्ति राज्यको हुने अवस्था भएमा देशमा आर्थिक संकट पर्दैन ।’ उनले आध्यामिक चिन्तले मानिसमा समाजप्रतिको उत्तरदायित्व सम्झाउने गरेको समेत बताए ।

    गौशालाको गाई संरक्षणमा पनि प्रधानमन्त्रीले जोड दिएका छन् । उनले आयुर्वेदिक औषधि उत्पादन र उपयोगमा पनि गौशालाको महत्व भएको बताए । शनिबार ब्रम्हाण्डीय महायज्ञमा पुग्दा प्रधानमन्त्रीको अधिकांश मन्तव्य धार्मिक थियो । उनले समाजमा स्थायी शान्ति स्थापनाका लागि पनि आध्यात्मिक चिन्तन चाहिने बताए । उनले धर्म, संस्कृति र संस्कार संरक्षणमा जोड दिए । राज्यले पनि यस्ता क्रियाकलापमा उच्च सम्मान गर्ने भन्दै महायज्ञ आयोजक कमलनयनाचार्यको प्रशंसा गरे ।

    उनले बागलुङमा स्थापना भएको शालग्राम संग्रहालय, निर्माण गरिन लागेको १ सय ८ फिट अग्लो गण्डकी कलश लगायतका संरचना निर्माणमा सरकारको पनि ध्यान गएको बताए । उनले ती संरचना र पर्यटकीय क्षेत्रको विकासमा साथ दिने बताए । साथै उनले कालीगण्डकी नदी संरक्षणमा पनि जोड दिए । ‘जल संरक्षणबाट हाम्रो सभ्यता पनि बचाउन सकिन्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘जल संरक्षणको प्रतिक बनाउन लागिएको विश्वशान्ति गण्डकी कलशले नागरिकलाई थप सन्देश दिनेछ ।’

    कमलनयनाचार्यले २० वर्षअघि मुक्तिनाथमा स्वास्थ्य सेवा पुर्‍याएको, नवलपरासीमा गजेन्द्रमोक्ष धाम बनाएको र भक्तपुरमा बनेको श्रीवन, पञ्चमहालक्ष्मी मन्दिर लगायतले धार्मिक पर्यटक भित्र्याउन सहयोग पुगेको भन्दै ती पर्यटकबाट देशकै अर्थतन्त्रमा सुधार आएको समेत बताएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिजय महासंघका अध्यक्ष चन्द्र ढकालले कोरला नाका, बागलुङसहित धौलागिरिका पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा राज्यको लगानी र ध्यान जानुपर्ने धारणा राखेका थिए । महायज्ञमा राष्ट्रपति रामचन्द्र पौडेलसहित मन्त्रीहरु पनि आइसकेका छन् ।

  • ऊर्जा क्षेत्रमा सहयोग बढाउन प्राधिकरणको आग्रह

    ऊर्जा क्षेत्रमा सहयोग बढाउन प्राधिकरणको आग्रह


    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई आग्रह गरेको छ । नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, युरोपेली संघ, विश्व बैंक र एसियाली विकास बैंकलाई नेपालको विद्युत् उत्पादन, प्रशारण तथा वितरणको विस्तार र सुधारका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले प्राधिकरणले सहायता बढाउन आग्रह गरेको छ ।

    स्वीट्जरल्याण्ड राजदूत डानियल मिउली, विश्व बैंकका नेपाल, माल्दिभ्स तथा श्रीलंका हेर्ने देशीय निर्देशक फारिस हदाद जेर्वोस, एसियाली विकास बैंक (एडीबी), नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा, युरोपेली संघ, अमेरिकी सहायता नियोगलगायतका विकास साझेदारका प्रतिनिधि सम्मिलित टोलीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यवस्तीस्थित २२० केभी नयाँ बुटवल सबस्टेसनको शुक्रबार अनुगमन भ्रमण गरेको थियो ।

    नेपाल सरकार तथा प्राधिकरणको लगानी र एडीबीको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर २२० केभी प्रशारण लाइन आयोजनाअन्तर्गत नयाँ बुटवल सबस्टेसन निर्माण गरिएको हो । उक्त सबस्टेसनको अनुगमन भ्रमणमा पुगेको टोलीलाई प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन आग्रह गरेको हो । नेपालको ऊर्जा क्षेत्रमा हासिल भएका उपलब्धिको प्रसंसा गर्दै टोलीले थप लगानी बढाउने प्रतिवद्धता जनाएको थियो ।

    नेपालमा जलविद्युत उत्पादन, प्रसारण वितरणको अवस्था र भारत तथा बंगलादेशसँगको विद्युतका विषयमा जानकारी दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी ५र६ वर्षमा १२र१३ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी आवश्यक रहेको बताए ।

    ‘विद्युत् उत्पादन बढाउन र प्रणालीको विस्तार तथा सुदृढीकरणका लागि आगामी आगामी ५र६ वर्षमा विद्युत् उत्पादनतर्फ ६ अर्ब डलर, प्रशारणतर्फ ५ अर्ब र वितरणतर्फ २ अर्ब डलरभन्दा बढी लगानी चाहिन्छ’ कार्यकारी निर्देशक घिसिङले भने ‘देशभित्र विद्युत् खपत बढाउने हाम्रो प्राथमिकता हो, यहाँ खपत गरी बढी भएको विद्युत् मात्र छिमेकी देशहरुलाई बिक्री गर्ने हो, त्यसैले पूर्वाधार संरचना विस्तारका लागि ठूलो लगानी आवश्यक छ, लगानी बढाउन विकास साझेदाहरुलाई आग्रह गर्दछु ।’

    विश्व बैंकका नेपाल, माल्दिभ्स तथा श्रीलंका हेर्ने देशीय निर्देशक फारिस हदाद जेर्वोसले बैंकको नेतृत्वमा १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् अयोजनामा लगानी गर्ने विषय अन्तिम चरणमा पुगेको बताए । आयोजना कार्यान्वयनका क्रममा वातावरणीय तथा सामाजिक सुरक्षणका व्यवस्था कार्यान्वयनमा विशेष ध्यान दिइनु पर्नेमा उनले जोड दिए ।

    एडीबीका नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले नेपालको ऊर्जा क्षेत्रमा विगत ५० वर्षबाट साझेदारी गरिरहेको उल्लेख गर्दै बैंकको नेतृत्वमा ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा सन् २०२४ भित्रमा वित्तीय व्यवस्थापन गर्ने गरी काम भइरहेको बताए ।

    टोलीले सबस्टेसनको नियन्त्रण कक्षलगायतको अवलोकन भ्रमण गरी विद्युत् प्रशारण र वितरणको अवस्थाका बारेमा जानकारी लिएको थियो । कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन र तीन वटा सबस्टेसनहरुको निर्माण गरिएको हो ।

    कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को नयाँ बुटवल सबस्टेसनसम्मको करिब १३० किलोमिटर डबल सर्किट प्रशारण लाइन निर्माण गरिएको छ । प्रशारण लाइनले करिब २ हजार मेगावाट विद्युत् भार बोक्न सक्छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एडीबीको एसिया उपक्षेत्रीय आर्थिक सहयोग ९सासेक०अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना निर्माण गरिएको हो ।

    भारतसँगको विद्युत् व्यापारका लागि नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रशारण लाइन पनि निर्माण हुँदैछ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् सोही प्रशारण लाइनमार्फत भारततर्फ निर्यात गरिने छ ।

  • एक महिनामा भित्रिए साढे ९७ हजार पर्यटक

    एक महिनामा भित्रिए साढे ९७ हजार पर्यटक

    काठमाडौं । नेपाल भ्रमणमा आएका पर्यटक ३३ प्रतिशतले बढेका छन् । हवाई मार्ग हुँदै सन् २०२४ को दोस्रो महिना फेब्रुअरीमा ९७ हजार ४ सय २६ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार २०२३ फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । फेब्रुअरीमा सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन् । भारतबाट २५ हजार ५ सय ७८ जना पर्यटक आएका छन् । यो गत महिनाको २६।३ प्रतिशत हिस्सा हो ।

    चीनबाट ९ हजार १ सय ८० आएका छन् । त्यसैगरी प्रमुख पर्यटन बजार अमेरिकाबाट गत महिना ९ हजार ८९ र बेलायतबाट ४ हजार ५ सय ७१ पर्यटक आएका छन् । त्यस्तै थाइल्यान्डबाट ४ हजार ७ सय ९९, बंगलादेश ४ हजार ९९, श्रीलंका ३ हजार ६ सय ८४, अस्ट्रेलिया २ हजार ९ सय ७६, म्यानमार २ हजार ९ सय २१ र जर्मनीबाट २ हजार ४ सय ९४ आएका थिए । गत फेब्रुअरीमा ८८ हजार १ सय ४६ पर्यटक नेपालबाट बाहिरिएका थिए । बोर्डका अनुसार २०२२, २०२१, २०२० र २०१९ फेब्रुअरीमा क्रमशः १६ हजार ९ सय ७५, ८ हजार ८ सय ७४, ९ हजार २ सय ६६ र १ लाख २ हजार ४ सय २३ पर्यटक आएका थिए ।

  • गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान

    गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान

    काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार बनाउन टेण्डर आह्वान भएको छ । भरतपुर महानगरपालिकाले बिहीबार टेण्डर आह्वान गरेको मेयर रेणु दाहालले जानकारी दिएकी छिन् । ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको छ ।

    रंगशालालाई महानगरले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । थप १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिनाभित्र काम गरिसक्ने गरी टेण्डर आह्वान गरिएको छ । रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३–३ तलाको टावर बनाइने छ ।

    एउटामा भीआईपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन् । गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बाँकी रकम भरतपुर महानगरपालिकाले खर्च गर्ने छ ।

  • अब विराटनगरमा राती १२ बजेसम्म होटेल खुल्ने

    अब विराटनगरमा राती १२ बजेसम्म होटेल खुल्ने

    काठमाडौं । विराटनगर महानगरपालिका भित्र अब रातको १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । यसअघि १० बजेपछि नै बन्द गर्नुपर्ने बाध्यता थियो । सरोकारवालाको बैठकले अब १२ बजेसम्म होटल व्यवसाय चलाउन पाइने गरी समय तोकेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

    व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि पटक(पटक महानगरलाई आग्रह गर्दै आएका थिए । व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक राखेको थियो ।

    बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउनेछ ।