Category: अर्थतन्त्र

  • पर्यटन क्षेत्रमा लगानी गर्न जापानी व्यवसायीको चासो

    पर्यटन क्षेत्रमा लगानी गर्न जापानी व्यवसायीको चासो

    काठमाडौं । जापानी व्यवसायीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न चासो देखाएका छन् । नेपाल पर्यटन बोर्डले जापानमा नेपालको पर्यटन प्रवर्द्धन गर्न तथा नेपालको पर्यटन क्षेत्रमा जापानी लगानी भित्र्याउने सम्बन्धमा नेपालका लागि जापानका राजदूत तथा जापानी व्यवसायीसँग काठमाडौंमा अन्तरक्रिया गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताका तथा जापानका सरकारी अधिकारी एवम् व्यवसायीको टोलीलाई पर्यटन बोर्डले स्वागत गरेको हो ।

    कार्यक्रममा राजदूत युताकाले जापान र नेपालबीच पुरानो सम्बन्ध रही आएको चर्चा गर्दै कानुनी सहजता भए जापानीहरू नेपालमा लगानी गर्न तयार रहको बताए । ‘नेपाल सुन्दर छ, जापानी नागरिकले नेपाल भ्रमण गर्न मन पराउँछन् । गत वर्ष जापानका विभिन्न कम्पनीका उच्च पदाधिकारीको नेपालमा भएको भेटघाट तथा अन्तरक्रियाले नेपालबारे थप बुझ्न सहयोग पुगेको थियो । यो भ्रमणमा पर्यटन क्षेत्रमा के गर्न सकिन्छ भन्ने चासो बढेको छ,’ उनले भने ।

    बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमले नेपालको पर्यटनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै नेपालको हिमाल आरोहणमा प्रथम महिला सगरमाथा आरोही जुन्को ताबेईसँगै अन्य विभिन्न ऐतिहासिक तथा आपसी सहयोगका विविध कार्यक्रमले नेपाल–जापान सम्बन्धको छुट्टै आयाम रहेको बताए ।

    उनले नेपालको पर्यतीय पर्यटन प्रवर्द्धनमा जापानको राम्रो भूमिका रहेको उल्लेख गरे । उनले नेपालमा जापानी रेस्टुरेन्ट बढ्दै गएको भन्दै नेपालको पर्यटन क्षेत्र लगानीका लागि उपयुक्त क्षेत्र भएको बताए । जापानबाट सन् २०२३ मा १६ हजार ४ सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । २०१९ मा ३० हजार ५ सय ३४ आएका थिए ।

  • दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब १८ करोडको करोबार

    दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब १८ करोडको करोबार

    काठमाडौं । शेयर बजारले दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा झरेको हो ।

    यसदिन ३०९ कम्पनीको ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँ बराबरको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १ समूहको परिसूचक बढेको छ भने १२ को परिसूचक घटेको छ ।

    आज पनि हिमालयन रि(इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । ५ करोड ४० बढीको शेयर किनबेच भएको छ ।

  • भारतमा पहिलो चार महिनाका लागि आज बजेट आउँदै

    भारतमा पहिलो चार महिनाका लागि आज बजेट आउँदै

    काठमाडौं । भारतीय केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज संसदमा वित्त वर्ष २०२४\२५ को पहिलो चार महिनाका लागि अन्तरिम बजेट पेश गर्दैछिन् । मोदी सरकारको दोस्रो कार्यकालको यो अन्तिम बजेट हुनेछ । वित्तमन्त्री सीतारमणको यो कुल छैठौं र पहिलो अन्तरिम बजेट हुनेछ ।

    निर्मला सीतारमणले बिहान ११ बजे लोकसभामा बजेट भाषण पढ़न सुरु गर्ने तयारी छ । यो बजेट महंगी नियन्त्रणमा केन्द्रित रहेको अधिकारीहरुले बताएका छन् । खपत र ग्रामीण अर्थव्यवस्था मजवुत गराउन समेत सरका।माथि दवाव छ । जागिरेहरुलाई समेत केही स्कीम ल्याउने तयारी छ ।

  • झारखण्डका मूख्यमन्त्री किन परे पक्राउ ?

    झारखण्डका मूख्यमन्त्री किन परे पक्राउ ?

    काठमाडौं । भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई जग्गा घोटाला सम्बन्धी आरोपमा प्रवर्तन निर्देशालय (ईडी) को टोलीले पक्राउ गरेको छ । बुधबार दिनभर झारखण्डको राँचीमा उनकै निवासमा बयान लिएको ईडीले गतरात मुख्यमन्त्री सोरेनलाई पक्राउ गरेको हो । पक्राउ परेकोबारे औपचारिक घोषणा हुनुपूर्व सोरेनले राति नै राज्यपालकहाँ गएर मुख्यमन्त्री पदबाट राजिनामा दिएका बीबीसीले जनाएको छ । ईडी सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लङ्घन लगायत विषयमा छानबिन गर्ने केन्द्रीय निकाय हो ।

    ईडीले सोरेनमाथि राँचीमा सेनाको मातहतमा रहेको ४ एकडभन्दा बढी जमिनको नक्कली कागजात बनाएर अवैध खरीद र बिक्री गरेको आरोप लगाएको छ । यस घटनामा सोरेनसँग यसअघि पनि सोधपुछ भइसकेको थियो । जग्गा घोटाला सम्बन्धी मामिलामा अनुसन्धान अगाडि बढ्दै जाँदा ईडीले अहिलेसम्म १४ जना आरोपीहरूलाई पक्राउ गरिसकेको छ । अभियुक्तले सरकारी अधिकारीसँग मिलेर भूमाफियाको नाममा ठगी गरी ती जग्गा हस्तान्तरण गरेको अनुसन्धानबाट खुलेको छ

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार बढेको मूल्य बुधबार मध्यरातिदेखि नै लागू भएको छ ।

  • नेपाल सरकार र आइएलआरआईबीच सहकार्य गर्ने सम्झौता

    नेपाल सरकार र आइएलआरआईबीच सहकार्य गर्ने सम्झौता

    काठमाडौं । कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) बिच सम्झौता भएको छ । काठमाडौँमा बुधबार नेपाल सरकारका तर्फबाट कृषि मन्त्रालयका सचिव डा.रेवती रमण पौडेल र आइएलआरआईका तर्फबाट सहायक महानिर्देशकले डा. सिरले तारावालीले दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताले पशुपन्छी अनुसन्धान र विकास, नवीन प्रविधि प्रवर्द्धन र यस क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउन दुवै निकायको प्रतिबद्धतालाई बलियो बनाउने मन्त्रालयको विश्वास छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले दुई पक्षीय सम्झौताले पशुपालनमार्फत गुणस्तरीय जीविकोपार्जनमा योगदान पुर्‍याउँदै अनुसन्धान र विकासमा सार्वजनिक र निजी क्षेत्रको सहभागिताका लागि बलियो ढाँचा उपलब्ध गराउने अपेक्षा रहेको बताए । आइएलआरआइले सन् २०१३ देखि अफ्रिका र एसियाका कम र मध्यम आय भएका देशका सरकारसँगको सहकार्यमा विभिन्न स्तरका पशुपन्छी क्षेत्रका गुरु योजना र लगानी योजना विकास गर्न प्राविधिक सहयोग उपलब्ध गर्दै आएको छ ।

    सम्झौता गरिएको संस्था विश्वव्यापी रूपमा पशुपन्छीको उत्पादन प्रवर्द्धनलगायत पशुपन्छीको क्षेत्रमा वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने एक संस्था हो । सम्झौताले पशुधनको क्षेत्रमा अनुसन्धान र विकासका विभिन्न पक्षहरूमा सहकार्य गर्न नेपाल सरकार र आइएलआरआइ तयार रहेको उल्लेख गरिएको छ । दुवै पक्ष नेपालमा जलवायु परिवर्तन, जनसङ्ख्या वृद्धि र गरिबीबाट उत्पन्न चुनौतीहरू गर्न समर्पित छन् ।

    सो साझेदारीले नेपालको कृषि विकास रणनीति ९सन् २०१५ देखि २०३५० मा योगदान पुर्‍याउने उद्देश्य राखेको छ । साझेदारीले खाद्य र पोषण सुरक्षा गर्न गरिबी न्यूनीकरण गर्न गुणस्तरीय जीविकोपार्जनका लागि पशुधनको दिगो सुनिश्चित गर्छ । सम्झौतापछि डा. सिरले तारावालीले उचित पोषण, बाल कुपोषण न्यूनीकरण गर्न संज्ञानात्मक विकास सुधार, खाद्य उत्पादन र स्वास्थ्यका लागि साना किसानको पशुपालन प्रणालीलाई गर्न सहयोग गर्ने उल्लेख गरे । कृषि सचिव पौडेलले नेपालको पशुपालनको क्षेत्रमा स्थानीय समस्यालाई समाधान गर्न सहयोग मिल्ने बताए ।

  • हेटौडा कपडा उद्योग चलाउन सेनाको जिम्मा दिने तयारी

    हेटौडा कपडा उद्योग चलाउन सेनाको जिम्मा दिने तयारी

    काठमाडौं । हेटौंडा कपडा उद्योग सञ्चालन गर्न सरकारले सेनाको जिम्मा लगाउने तयारी गरेको छ । सो क्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बुधबार छलफल गरेका छन् । यसमा २ अर्ब रुपैयाँ लगानी गर्ने तयारी समेत सरकारको छ । सेनालाई उद्योग चलाउन दिने तयारी स्वरुप सरकारले अध्ययन गराएको छ ।

    नेपाली सेनाले गरेको अध्ययनले उद्योग पुनःसञ्चालनका लागि १ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्नुपर्ने निष्कर्ष निकालेको छ । त्यस्तै, उद्योगका लागि वार्षिक सञ्चालन खर्च ७८ करोड रुपैयाँ लाग्ने निष्कर्ष पनि अध्ययन कार्यदलले निकालेको छ । कार्यदलले गरेको अध्ययनले ९ वर्षपछि लागत उठाई उद्योग नाफामा जाने पनि निष्कर्ष निकालेको छ ।

    सेनाले गरेको अध्ययनले उद्योगका केही संरचना र मेसिनहरू मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको देखाएको छ । उद्योगको स्वामित्वमा १६६ रोपनी जग्गा उपलब्ध रहेको, उद्योगका लागि आवश्यक न्यूनतम पूर्वाधार विद्यमान रहेको, उद्योग सञ्चालनका लागि अधिकांश कच्चा पदार्थ देशभित्र नै उपलब्ध रहेको तथा नेपाली सेना लगायत सरकारी कर्मचारीका लागि लत्ताकपडाको माग उद्योगले परिपूर्ति भएकाले बजारका लागि कुनै समस्या नभएको समेत उद्योगले उल्लेख गरेको छ ।

    अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनको मोडालिटीसमेत प्रस्ताव गरेको छ । तीन वर्षे कार्यतालिकासहितको प्रस्तावित मोडालिटीमा अनुमानित २६ लाख मिटर कपडा उत्पादनका लागि आर्थिक वर्ष २०८०–८१ मा नीतिगत निर्णय गरी नेपाली सेनालाई उद्योगको हस्तान्तरण, डीपीआर निर्माण, नयाँ मेसिनरी सामानको छनोट र खरिदको काम सम्पन्न गर्ने उल्लेख छ ।

    प्रधानमन्त्री प्रचण्डले हेटौंडा कपडा उद्योग नेपाली सेनाले मानकका रुपमा सञ्चालन गरोस् भन्न चाहेको बताएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आयोजित उच्चस्तरीय छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । नेपाली सेनाले मानकका रुपमा यो उद्योग नाफामा सञ्चालन गरिदिने हो भने त्यो निजी क्षेत्र र सरकारका लागि पनि शिक्षा हुने उनले बताएका थिए । प्रधानमन्त्रीले देशका उद्योगहरू निजीकरण गर्दै जाँदा देशको उत्पादकत्वमा ह्रास आउनुका साथै रोजगारीका अवसर घट्दै जानु राम्रो नभएको बताएका थिए ।

    ‘विगतका सरकारी उद्योगहरू निजीकरण गरिए । त्यसको परिणाम राम्रो भएन, उद्योगहरू कौडीमा निजीकरण गरिए, देशमा औद्योगिक वातावरण कमजोर भयो । रोजगारी सिर्जना खुम्चिँदै गयो,’ प्रधानमन्त्रीले भने, ‘त्यसले युवा पलायनको भयावह स्थिति बन्दै गयो । अब पनि हामीले पहल लिएनौँ र औद्योगिक वातावरण बनाएनौँ भने देशको समस्या सम्बोधन गर्न सक्दैनौँ ।’ नेपाली सेनालाई उद्योग सञ्चालनको जिम्मा दिने बारे राजनीतिक सहमति लिने पनि प्रधानमन्त्रीले बताएका थिए ।

    ‘यसको थप अध्ययनका लागि सरकारको तर्फबाट पनि सानो टिम बनाएर जानेछौं र त्यसको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिनेछौँ,’ उनले भने । ०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग २०५७ सालदेखि छ ।

    बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल सरकारका सचिवहरू र नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरू सहभागी थिए ।

  • नेवानिका कार्यकारी अध्यक्षलाई पर्यटनमन्त्रीका तीन प्रश्न

    नेवानिका कार्यकारी अध्यक्षलाई पर्यटनमन्त्रीका तीन प्रश्न

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम सुधारका लागि बनाइएका समितिको प्रतिवेदन कार्यान्वयन किन नगरेको भन्दै प्रश्न गरेका छन् । बुधबार निगम ‘संरचनागत एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’ को प्रतिवेदन कार्यान्वयन गर्न बनेको समितिको प्रतिवेदन बुझ्दै मन्त्री किराँतीले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई यस्तो प्रश्न गरेका हुन् ।

    उनले विगतमा बनेको समितिले तयार गरेको प्रतिवेदन किन कार्यान्वयन भएन ? प्रतिवेदन कार्यन्वयन भए कुन चरणमा पुगेको छ ? भन्दै प्रश्न गरेका छन् । साथै, उनले त्यसको कार्य प्रगति विवरण बुझाउन समेत निर्देशन दिए । उनले न्यारोबडी जहाजको सिट भाँचिएको दुई सातासम्म समेत किन मर्मत नभएको भन्दै प्रश्न गरेका हुन् ।

    जवाफमा कार्यकारी अध्यक्ष अधिकारीले हरेक प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको र सबैको यथार्थ विवरण पेस गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, जहाजको सिट बनाउन कानुनी प्रक्रिया पूरा गर्दा समय लागेको र यसका केही दिनमै मर्मत हुने जवाफ दिएका छन् ।

    मन्त्री किराँतीले आगामी दिनमा हरेक प्रतिवेदन र मन्त्रालयबाट भएको निर्देशनको स्पष्ट जवाफ र प्रगति विवरण आफूलाई चाहिने र सोहीअनुसार प्रधानमन्त्रीलाई प्रगति विवरण पेस गर्ने उनले बताए । निगम सुधारका लागि पूर्वगर्भनर दीपेन्द्रबहदुर क्षेत्री नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्न पूर्वपाइलट कुलबहादुर (केबी) लिम्बु नेतृत्वको समितिले आज मन्त्री किराँतीलाई तेस्रो मासिक प्रतिवेदन पेस गरेको हो ।

  • कोरियाली लगानीलाई नेपालमा स्वागत गर्न तयार छौं : परराष्ट्र मन्त्री

    कोरियाली लगानीलाई नेपालमा स्वागत गर्न तयार छौं : परराष्ट्र मन्त्री

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा कोरियाली लगानीलाई स्वागत गर्न तयार रहेको बताएका छन् । नेपाल र कोरियाको द्वैत्य सम्बन्ध सुरु भएको ५०औँ वर्षगाँठको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले हाल नेपालमा लगानी गरिरहेका कोरियाली कम्पनीको प्रशंसा समेत गरे ।

    ‘नेपालमा लगानी गरिरहेका सामसंग टेलिभिजन, हुन्डाई मोटर्सलगायत अन्य कोरियाली लगानीकर्ता कम्पनीहरूको प्रशंसा गर्न चाहन्छु । नेपालमा लगानीको सम्भावना खोज्दै चासो राख्ने कोरियाली कम्पनीहरूले आफ्नो लगानी विस्तार गरेको हेर्ने नेपालको चाहना छ’, मन्त्री साउदले भने, ‘यस वर्षको अप्रिलमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूको ठूलो संख्यामा उपस्थिति हुने अपेक्षासहित स्वागत गर्न तयार छौं ।’

    नेपाल र कोरियाबीच सन् १९७४ मे १५ मा स्थापना भएको कूटनीतिक सम्बन्ध समयसँगै प्रगाढ बन्दै गएको र यो सम्बन्ध मित्रता, सौहार्दता, सहयोग, आपसी सम्मान र साझेदारीमा आधारित रहेको उनको भनाइ थियो । उनले आगामी दिनमा यो सम्बन्ध अझ प्रगाढ हुने आशा व्यक्त गरे । दुई देशबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना रहेको भन्दै उनले ती सम्भावनाको अन्वेषण गरी द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गर्न आग्रह गरे । ‘कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा साझेदारीलाई सुदृढ बनाऔं’, उनले भने ।

    कोरियामा हजारौं नेपाली कामदारहरू रहेको भन्दै उनले अहिले ठूलो संख्यामा नेपाली अध्ययनका लागि पनि कोरिया छनोट गरिरहेको जानकारी गराए । साथै, हजारौं कोरियाली नागरिक पर्यटकका रूपमा नेपाल आउने गरेका र नेपालमा ठूलो संख्यामा कोरियालीहरूले लगानी गरेकामा पनि आगामी दिनमा नेपाल यसलाई अझ अझ विस्तार गर्न चाहिरहेको बताए ।

    साथै, दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई गति दिने भन्दै उनले कूटनीतिक सम्बन्धको स्वर्ण जयन्ती उत्सवको अवसरमा छलफल गर्न सकिने बताए । कोरियाबाट फर्केका नेपालीले दुई राष्ट्रबीचको जीवन्त पुलको काम गरेको भन्दै उनीहरुको अनुभव र विशेषज्ञताले अन्य युवाहरु र फर्केका प्रवासीहरुलाई मातृभूमिमा अवसरहरु खोज्न मद्दत गर्ने आशा साउदले व्यक्त गरे ।

    साथै, घनिष्ठ मित्रको रूपमा नेपालका तर्फबाट छोटो अवधिमा कोरियाले हासिल गरेको प्रगति, विकास र समृद्धिको उत्कृष्ट यात्राको प्रशंसा समेत गरे । नेपालले कोरियाको सफलताका कथाहरूबाट सिक्न सक्ने भन्दै उनले पारस्परिक रूपमा लाभदायक क्षेत्रमा साझेदारी बढाउन चाहेको समेत बताए । नेपालले सन् २०२६ मा अल्पविकसित देशबाट विकासोन्मुख राष्ट्रको स्थितिमा स्तरोन्नति गर्न लागेको भन्दै त्यसमा कोरियाको समर्थन रहनेमा विश्वास व्यक्त गरे ।

  • एनसेल खरीद-बिक्रि प्रकरण छानविन गर्न गठित समितिले बुझायो प्रतिवेदन

    एनसेल खरीद-बिक्रि प्रकरण छानविन गर्न गठित समितिले बुझायो प्रतिवेदन

    काठमाडौं । एनसेल शेयर खरिदबिक्रीमा अध्ययन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बुझाएको छ । समितिले यो प्रकरणमा थप छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको हो । निवर्तमान महालेखापरिक्षक शर्मा नेतृत्वको पाँच सदस्यीय समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो, जसमा पटकपटक एनसेलको शेयर खरिदबिक्री हुँदा राज्यका कतिपय निकायहरुले आफ्नो जिम्मेवारी पालना नगरेकाले थप छानबिन गर्न सिफारिस गरिएको छ ।


    समितिले पटकपटक शेयर खरिदबिक्रीका क्रममा स्रोत नखुलेको सम्पत्ति प्रयोग भएको आशंका गर्दै संलग्नहरुमाथि सम्पत्ति शुद्धीकरणको पाटोमा अनुसन्धान गर्न सिफारिस गरेको छ । अनि, कानुन विपरितका क्रियाकलापमा सहजीकरण गरिदिनेहरुमाथि छानबिन गरी दोषी देखिए भ्रष्टाचारको आरोपमा अनुसन्धान अघि बढाउन उपयुक्त हुने सुझाव दिएको हो ।

    स्मार्टसेलमा लगानी गरेको समूहले राज्यलाई तिर्नुपर्ने दायित्व नतिरेको अवस्थामा त्यही समूहले वैदेशिक लगानीको नाममा फेरि एनसेलमा लगानी गरेको भन्दै समितिले एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी पछिल्लो सम्झौतामा शंका व्यक्त गरेको छ । समितिले नेपालबाट बाहिरिने निर्णय गरेको आजिआटाले नेपालमा लगानीको वातावरण छैन भनी दिएको प्रतिक्रियामा समेत प्रश्न उठाएको छ । एनसेलले नेपालमा लिएको ऋणमाथि प्रश्न उठेको भन्दै समितिले विदेशी लगानीकर्ताहरुले नेपालमा गरेको लगानीको तुलनामा असीमित लाभ विदेशमा लगेको औंल्याएको छ ।

  • आकाशिँदै कच्चा तेलको भाउ, १ महिना यताकै महँगो

    आकाशिँदै कच्चा तेलको भाउ, १ महिना यताकै महँगो

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ आकाशिँदै गएको छ । गत सेम्टेम्बरदेखि लगातार ओरालो लागको कच्चा तेलको मूल्य नयाँ अंग्रेजी वर्षको सुरूदेखि नै बढ्न थालेको हो ।

    आयल प्राइस डटकमका अनुसार सन् २०२४ जनवरीमा कच्चा तेलको भाउ औसतमा १२ प्रतिशतले बढेको छ । डिसेम्बर अन्तिममा प्रतिब्यारेल ७२ डलरसम्म झरेको कच्चा तेलको भाउ अहिले बढेर ८३ डलरसम्म पुगेको छ ।

    सोमबार विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको भाउ प्रतिब्यारेल ८३.८७ डलरमा कारोबार भइरहेको छ । यही महिनाको पहिलो साता ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ७२ डलरसम्म झरेको थियो ।

    त्यस्तै, आज ओपेक तथा अमेरिकी बेन्चमार्क डब्ल्यूटीआइ क्रुड आयलको भाउ प्रतिब्यारेल ७८.३३ डलरमा करोबार भइरहेको छ । एक महिना अघि यसको भाउ प्रतिब्यारेल ६७ डलरसम्म झरेको थियो ।त्यस्तै, आज मुर्बान क्रुड आयलको प्रतिब्यारेल ८३.३८ डलरमा कारोबार भइरहेको छ ।

    अन्तर्राष्ट्रिय संचार माध्यकका अनुसार विश्व अर्थतन्त्रमा देखिएको मन्दीका कारण तेलको खपत घट्दा भाउ घटिरहेको थियो । तर, २०२४ को सुरूदेखि विश्वका ठूला तेल उत्पादकहरुले उत्पादनमा कटौती गर्दा अहिले मूल्य बढ्न थालेको हो ।

    विश्व बजारमा तेलको भाउ बढेसँगै नेपालमा त्यसको प्रत्यक्ष असर पर्दछ । नेपाल इन्धनमा पूर्ण परनिर्भर रहेकाले विश्व बजारमा भाउ बढ्ने बित्तिकै नेपालमा पनि बढ्ने गर्छ ।

  • दोहोरो अंकले बढ्यो नेप्से

    दोहोरो अंकले बढ्यो नेप्से

    काठमाडौं । शेयर बजारले दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ विन्दुमा पुगेको हो ।

    यसदिन ३११ कम्पनीको ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँ बराबरको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को परिसूचक घटेको छ ।

    आज पनि हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । ६ अर्बबढीको शेयर किनबेच भएको छ । दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

  • २२ निर्माण कम्पनी कालोसूचिमा

    २२ निर्माण कम्पनी कालोसूचिमा

    काठमाडौं । ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनी कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा एकैपटक २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो। सडक डिभिजन कार्यालय दमौलीले सिफारिस गरेअनुसार ८ निर्माण कम्पनी कालो सूचीमा परेका छन्।

    ललितपुरको देवी रमण कन्स्ट्रक्सन कम्पनी प्रा।लि, बन्दीपुरको खड्गदेवी कन्स्ट्रक्सन, बन्दीपुरकै खड्गदेवी कन्स्ट्रक्सन, भिमादको आयुष एन्ड अनुष कन्स्ट्रक्सन, गोरखाको अनुपमा निर्माण सेवा, गोरखाकै अन्नपूर्ण निर्माण सेवा र लक्ष्मी कन्स्ट्रक्सन र कास्कीको त्रिवेणी निर्माण सेवा सडक डिभिजन कार्यालय दमौलीले पठाएअनुसार कार्यालयले कालोसूचीमा राखेको हो।

    अन्य जिल्लाका विभिन्न निकायहरूले नाम पठाए अनुसार विभिन्न निर्माण कम्पनीहरूलाई साढे १ वर्षदेखि ३ वर्षदेखि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

  • १६ औं योजनाबारे आयोगले दलरुसँग लियो सुझाव

    १६ औं योजनाबारे आयोगले दलरुसँग लियो सुझाव

    काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं पञ्चवर्षीय योजनाका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि (सांसदहरु)सँग सुझाव लिएको छ ।
    १६औं योजना कस्तो बनाउने भन्ने विषयमा आयोगले मस्यौदा तयार पारेको छ । तयार मस्यौदा माथि आइतबार आयोग उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दलका प्रतिनिधिहरुसँग सुझाव लिइएको हो

    । कार्यक्रममा नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रीका सांसद एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्मा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक एवम् पूर्वमन्त्री पदम गिरी, एमाले सचेतक महेश बर्तौता, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, राप्रपाका सांसद ज्ञानेन्द्र शाही लगायतका दलका प्रतिनिधिहरुको सहभागिता थियो ।

    दलका प्रतिनिधिहरुले सबैले स्वीकार्ने र पूरा हुने लक्ष्यहरु १६औं योजनामा समावेश गर्न सुझाव दिएका छन् । छलफलमा आयोगका सबै सदस्यहरु, सदस्य सचिव र अन्य अधिकारीहरु सहभागी थिए । आयोगका सहसचिव महेश भट्टराईले १६औं योजनासम्बन्धी प्रस्तुतीकरण राखेपछि छलफल प्रारम्भ भएको थियो । यसअघि आइतबार नै आयोग सदस्य डा। जयकान्त राउतको अध्यक्षतामा प्रतिनिधि सभाको संसदीय समितिका सभापतिहरुसँग सुझाव लिइएको थियो ।

    संसदीय समितिका सभापतिहरूले योजनालाई यथार्थपरक र कार्यान्वयनयोग्य बनाइ समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गरी समृद्धि हासिल गर्नुपर्ने विषयमा जोड दिएका थिए । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न जैविक तथा सामाजिक विविधतालाई सम्बोधन गर्दै कृषि, वन, सिमेन्ट तथा फलामजन्य उद्योग, निर्माण लगायतका क्षेत्रमा केन्द्रीय रहनुपर्ने धारणा सभापतिहरुको थियो ।

  • १७ सय जनालाई रोजगारी दिन सरकार, संघ र उद्यमीबीच भयो सहमति

    १७ सय जनालाई रोजगारी दिन सरकार, संघ र उद्यमीबीच भयो सहमति

    काठमाडौं । १ हजार ६६५ जनालाई प्रशिक्षण र रोजगारी प्रदान गर्ने उद्देश्यसहित नेपाल सरकार, नेपाल उद्योग परिसंघ र उद्योगबीच त्रिपक्षीय सम्झौता भएको छ । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससीप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगहरुबीच त्रिपक्षीय सम्झौता भएको हो । आइतबार भएको सम्झौतामा केन्द्रका कार्यकारी अधिकृत दीपक घिमिरे, परिसंघका महानिर्देशक दीपकराज जोशी र सम्बन्धित उद्योगका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

    एप्रेन्टिससीप कार्यक्रममा सम्झौता गर्ने ६ उद्योगहरुमा लिटमस् इन्डष्ट्रिज प्रालि, अरिहन्त मल्टिफाइबर्स लिमिटेड, किरण सुज म्यानुफ्याक्चर्स प्रालि, बाबा जुट मिल प्रालि, मोर्डन स्लिपर इन्डस्ट्रिज प्रालि र रन सुज इन्डस्ट्रिज प्रालि रहेका छन् । सम्झौताअनुसार यी उद्योगहरुले कुल १ हजार ६६५ जना प्रशिक्षार्थी कामदार छनोट गरी उनीहरुलाई प्रशिक्षण दिए पश्चात कम्तीमा १८ महिनाको रोजगारी प्रदान गर्ने छन् । प्रशिक्षार्थी कामदारहरुको अधिकतम तीन महिनाको पारिश्रमिक भने नेपाल सरकारका तर्फबाट केन्द्रले व्यहोर्ने भएको छ ।

    सम्झौता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, उद्योग सचिव मुकुन्दप्रसाद निरौला, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको उपस्थितिमा भएको हो । कार्यक्रममा मन्त्री रिजालले यस कार्यक्रमको सञ्चालनबाट उद्योगको उत्पादकत्व वृद्धिमा योगदान गर्ने र स्वदेशमै रोजगारीका थप अवसर सिर्जना हुने अपेक्षा व्यक्त गरे । उनले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न क्रियाशील रहनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले चालु आर्थिक वर्षका लागि ९ ओटा उद्योगहरुले २ हजार १०० जना प्रशिक्षार्थीका लागि परिसंघमार्फत आवेदन दिएको जानकारी दिए । पाठ्यक्रम तथा अन्य चुनौतीका कारणले ६ ओटा उद्योगहरुसँग मात्र यस कार्यक्रमका लागि त्रिपक्षीय सम्झौता भएको उनले जानकारी दिए । अन्य उद्योगहरु इच्छुक हुँदाहुँदै पनि यसमा सहभागी हुन नसक्दा १ हजार ६६५ हाराहारी मात्रै रोजगारीको अवसर सिर्जना गर्न सकिएको उनले बताए । परिसंघका उपाध्यक्ष गुप्ताले आगामी वर्ष यस कार्यक्रमको लक्षित संख्यामा वृद्धि गरी सबै उद्योगहरुलाई समेट्नुपर्ने बताए ।

  • निगमको मूख्यालय अब सिनामंगलमा बन्ने, न्यूरोडमा व्यापारिक भवन बनाउने

    निगमको मूख्यालय अब सिनामंगलमा बन्ने, न्यूरोडमा व्यापारिक भवन बनाउने

    काठमाडौं । नेपाल वायुसेवा निगमले सिनामङ्गलस्थित जग्गामा नयाँ प्रधान कार्यालय निर्माण गर्ने भएको छ । ३४ रोपनी १४ आना दुई पैसा तीन दाम क्षेत्रफल रहेको निगमको उक्त जग्गामा प्रधान कार्यालय निर्माण गर्न शनिबार भूमि पूजन कार्य गरिएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण ९बुट० मोडलमा मुख्यालय सिनामङ्गलमा सार्ने योजना अनुसार शुक्रबार भूमि पूजन गरिएको हो

    । उनका अनुसार इन फ्लाइट किचनसहितको भवन निर्माणका लागि निगम व्यवस्थापनको निर्णयपछि भूमि पूजन भएको हो । हाल मुख्यालय रहेको न्युरोडको भवन के गर्ने भन्नेबारेमा थप छलफल अघि बढ्ने उनको भनाई छ हाल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रका संरचना प्रयोगमा ठुलो रकम भाडाबापत तिर्दै आएको छ । नयाँ भवन निर्माणपछि तिर्दै आएको भाडाबापतको वार्षिक करोडौँ रकम बच्ने र मुख्यालयको केही स्थान भाडामा दिएर थप आम्दानी गर्न सकिने उनको भनाई छ ।

    हाल मुख्यालय रहेको न्युरोडको भवन व्यापारिक प्रयोजनमा दिएर त्यसबाट समेत आम्दानी हुने उनले बताए । विसं २०१५ मा शाही नेपाल वायुसेवा निगम (आरएनएसी) का रूपमा स्थापित निगमसँग हाल काठमाडौँ, मोरङ, बाँके, मुस्ताङ, कास्की, दाङ, रुपन्देही, सुर्खेत, गोरखा, सङ्खुवासभा, कञ्चनपुर, कैलाली, पर्सा, जुम्ला, खोटाङ, हुम्ला र बैतडी गरेर २३ ठाउँमो जग्गाजमिन र भवन छ । निगमको सबैभन्दा धेरै जग्गा बाँकेका तीन ठाउँमा नौ बिघाभन्दा बढी छ । बाँके, विराटनगर र पोखरालगायतका ठाउँबाट निगमले वार्षिक लाखौँ रकम भाडाबापत उठाउँदै आएको छ ।

  • दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग

    दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणकोअध्यक्ष पदका लागि सरकारले आवेदन मागेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गरेर दरखास्त माग गरेको हो। दरखास्त पेस गर्ने अन्तिम दिनसम्म उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकोका व्यक्तिले दरखास्त दिन सक्नेछन्।

    कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा दस वर्षको अनुभव भएको, तर, सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव प्राप्त गरेका व्यक्तिले आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

    सूचना प्रकाशित भएको मितिले सात दिनभित्रमा आवेदन दिन सकिने मन्त्रालयले जानकारी दिएको छ। एमडीएमएस र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि पुरूषोत्तम खनालले प्राधिकरणको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि नवराज अधिकारीलाई कार्यवाहक तोकिएको थियो।

  • धरहराको अण्डरग्राउण्डमा आजदेखि पार्किङ खुला

    धरहराको अण्डरग्राउण्डमा आजदेखि पार्किङ खुला

    काठमाडौं । धरहराको अण्डर ग्राउण्डमा रहेको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा खुला भएको छ । धरहरा सँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो । काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि विकल्पका रूपमा धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको हो।

    महानगरले यसअघि काठमाडौं टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउँदै आएको थियो। अब धरहरामा पनि पार्किङको व्यवस्था गरिएपछि थप सहज हुने महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए। पाण्डेकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ। सहिद गेटबाट नयाँ सडक जाँदा गएको दसैंदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरूसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो।

  • नेपाली यूनिक वस्तुको बजारीकरण गर्न सकेनौं : अर्थमन्त्री

    नेपाली यूनिक वस्तुको बजारीकरण गर्न सकेनौं : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र हामीभित्र भएका वस्तुको यथेष्ट बजार व्यवस्थापन गर्न नसकिएको बताएका छन् । नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतले सबै मिलेर नेपाली उत्पादनको बजार व्यवस्थापन गर्न जरुरी रहेको बताए ।

    ‘‘युनिकनेस अहिले संसारभरि चलेको ट्रेन्ड हो । युनिकनेसबाट धेरै देश हामीभन्दा धेरै अगाडि छन् । नेपालमा युनिक उत्पादन गरेर संसारभरि बजार व्यवस्थापन गर्न सकिन्छ । उपभोक्ताले जहिले पनि अरुभन्दा फरक रुचाउँछन् । नेपालको एडभान्टेज भनेको युनिकनेस हो ।,’’ मन्त्री डा. महतले भने, ‘‘हाम्रो संस्कार, संस्कृति, जनजाति, वन्यजन्तु र एकता यहाँको विशिष्ट पहिचान हो ।’’

    मन्त्री डा. महतले भने, ‘‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन’ यसलाई बजार व्यवस्थापन भनिन्छ । उपभोक्ताको मनमा यो त मैले प्रयोग गर्नैपर्छ, उपयोग गर्नैपर्छ, खानैपर्छ, लाउनैपर्छ, जानैपर्छ, हेर्नैपर्छ र सुन्नैपर्छ भन्ने छाप जसले छोड्नसक्छ उसको बिक्छ । विज्ञापनले मात्र पुग्दैन, यसलाई दीगो बनाउनका लागि गुणहरु हुनैपर्छ । गुण भएन भने दीगो हुँदैन ।’’

    ‘‘देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ । हामीले धेरै राजनीतिक अरोह अवरोह पार गरिसक्यौं । अब अगाडि बढ्ने स्पष्ट मार्गचित्र छ । हामीले राजनीतिक पूर्वाधार तयार पारिसक्यौं, अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ । यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं ।,’’ मन्त्री डा. महतले भने, ‘‘हाम्रो आर्थिक सूचाङ्क सकारात्मक छन् । मूल्यवृद्धि नियन्त्रणमा छ, ब्याजदर घटिरहेको छ । शेयर बजारमा सुधार भइरहेको छ । र, आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको छ ।’’

    ‘‘अहिलेको आवश्यकता भनेको आत्मविश्वास आर्जन गर्नुपर्ने छ । त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । अहिलेसम्म हामीले धेरै नकारात्मक कुरा गर्यौं, यसले गर्दा हामी आत्मविश्वास कमजोर बन्यो । यथार्थ विषयवस्तुलाई नकारात्मक सन्देशले बल पुग्यो ।,’’ मन्त्री डा. महतले भने, ‘‘सकारात्मक सन्देश प्रवाहसँगै हाम्रो व्यापार व्यवसायमा आत्मविश्वास बढ्छ । उपभोक्ताको आत्मविश्वास बढ्छ । उपभोक्तामा आत्मविश्वास बढ्दा व्यापार व्यवसाय बढ्ने हो । व्यापार व्यवसायमा चलपहल हुनेवित्तिकै लगानी वृद्धि हुन्छ । यसले आर्थिक गतिविधि बढाउँछ ।’’

  • काठमाडौंमा अखाद्य खाना बेचे २ लाखसम्म कारवाही

    काठमाडौंमा अखाद्य खाना बेचे २ लाखसम्म कारवाही

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अखाद्य वस्तु ‘कटन क्यान्डी’ बेच्नेलाई कारबाही गर्ने भएको छ । काठमाडौं महानगरले शुक्रबार एक सूचना जारी गर्दै गुणस्तर नभएका खानेकुरा कटन क्यान्डीलगायत बेचबिखन गरेको पाइए ५ हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना गर्ने जनाएको हो । महानगरको सूचनामा छ, ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ३० ले दिएको अधिकार प्रयोग गरेर जरिवाना गराइने छ ।’

    महानगरपालिकाले बालबालिकालाई लक्ष्य गरी खुला बेचिने कटन क्यान्डी (मिठाइ) वडा नम्बर ७ चाबहिल चोकबाट नमुना संकलन गरेर २९ पुसमा राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । यसरी पठाइएको नमुनामा ‘रोडामिन बी’ नामक अखाद्य रङ मिसाइएको प्रतिवेदन प्राप्त भएपछि महानगरले अनुगमन गरेर कारबाहीको तयारी गरेको हो ।

    महानगर बजार अनुगमन समिति संयोजक तथा उपमेयर सुनिता डंगोलले बालबालिकाका लागि खानेकुरा किन्दा गुणस्तर हेरेरमात्र किन्न आग्रह गरिन् । खानेकुरा किन्दा उत्पादन मिति, उपभोग्य मिति, अधिकतम मूल्य, खाद्य अनुज्ञा अनुमतिपत्र सम्बन्धी जानकारी भएको लेबल हेरेरमात्र खरिद गर्न महानगरपालिकाले उपभोक्तालाई आग्रह गरेको छ ।

  • नापजाँच गरेर छुट भएको जग्गा दर्ता गर्न दुई वर्षको मौका

    नापजाँच गरेर छुट भएको जग्गा दर्ता गर्न दुई वर्षको मौका

    काठमाडौं । सरकारले यसअघि नै भोगचलन गरिरहेका तर दर्ता हुन नसकेका जग्गाको छुट दर्ताका लागि फेरि मौका दिएको छ ।

    दुई-तीन पुस्तादेखि भोगचलन गर्दै आएको तर विभिन्न कारणले दर्ता नभएको छुट जग्गा दर्ता गर्न खुला गरेको सूचना भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।

    जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने म्याद यो सूचना प्रकाशित भएको मितिले दुई वर्ष र कार्यालयमा यसअघि नै निवेदन गरी फर्स्योट हुन बाँकी पुराना प्रतिवेदनहरु फस्यौंट गर्ने म्याद यो सूचना प्रकाशन भएको मितिले दुई वर्ष हुने गरी तोकिएको छ ।

    नेपाल सरकारले मालपोत नियमावली, २०३६ को नियम ४ (क) को उपनियम (१) को प्रयोजनको लागि जग्गा (नाप जाँच) ऐन, २०१९ बमोजिम नाप नक्सा भएको तर दर्ता गर्नसम्म छुट भएका जग्गा दर्ता गर्न चाहने सम्बन्धित जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने र सो सम्बन्धमा यसअघि नै निवेदन परी फर्छ्यौट हुन बाँकी रहेका पुराना निवेदन फर्छ्यौट गर्ने म्याद यो सूचना प्रकाशन भएको मितिले दुई वर्ष तोकेकोले यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा उल्लेख छ ।

    झण्डै ८ वर्ष देखि छुट जग्गा दर्ता गर्न रोक लगाइएको थियो । दर्ता रोकिदा यसबाट जग्गाको नापजाँच भएको र भोगचलन गर्दै आएका जग्गाधनीहरू मर्कामा परेका थिए । उनीहरूले जग्गाको बेचबिखन गर्न, बैंकमा धितो राखी धरौटी लिन तथा नामसारी गर्न पाएका थिएनन् ।

  • क्रिप्टोकरेन्सी कारोबारमा ४२ करोड बिगोसहित दुई जना विरुद्ध मुद्दा दायर

    क्रिप्टोकरेन्सी कारोबारमा ४२ करोड बिगोसहित दुई जना विरुद्ध मुद्दा दायर

    काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार अभियोगमा करिब ४२ करोड रुपैयाँ जरिवाना र तीन वर्ष जेल सजाय मागदाबीसहित दुई जना विरुद्ध बिहीबार मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले यस्तो माग दाविसहित मुद्दा दायर गरेको हो । विभागका अनुसन्धान अधिकृत नवराज अधिकारीका अनुसार पाँच महिना लामो अनुसन्धानपछि झापाका रोहन चौधरी र शुभमकुमार यादवविरुद्ध बिहीबार ललितपुर जिल्ला अदालतमा अभियोग दायर गरेको हो ।

    राजस्वले क्रिप्टोकरेन्सी कारोबारमा मुद्दा दायर गरेको यो पहिलो घटना हो । क्रिप्टोकरेन्सी भनेको निजी क्षेत्रबाट जारी गरिएको मुद्राको रूपमा समेत कारोबार गर्न सकिने डिजिटल वस्तु हो । त्यसैले नेपालमा यसको कारोबारमा विदेशी विनिमयअन्तर्गत मुद्दा चल्ने गरेको छ । विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १७ अनुसार बिगो बमोजिमको जरिवाना ४१ करोड ९४ लाख रुपैयाँ र जेल सजाय मागदाबीसहित अभियोग दायर गरेको जानकारी उनले दिए ।

    अभौतिक मुद्राको कारोबारबाट विदेशी विनिमयको अपचलन हुने गरेको विभागको भनाइ छ । राष्ट्र बैंकले यो कारोबारलाई २०७४ सालमै अवैध मान्दै आएको छ । त्यसैले क्रिप्टोकरेन्सीको कारोबारलाई आर्थिक अपराध मानिँदै आएको छ । शुभमकुमारले कारोबारको रकम राख्न र झिक्न रोहनको बैंक खाता प्रयोग गरेको खुलेको छ । अभियुक्तहरुले आफ्नो डिजिलट डिभाइसको तथ्यांक छोटो समयमा मेटाउन सक्ने भएकाले अन्य विषयभन्दा यो कारोबार अनुन्धानका लागि चुनौती देखिएको विभागको भनाइ रहेको छ ।

  • यसरी बढ्दैछ नेपालमा अनौपचारिक अर्थतन्त्र

    यसरी बढ्दैछ नेपालमा अनौपचारिक अर्थतन्त्र

    काठमाडौं । नेपालमा कुल गार्हस्थ उत्पादनको ४३ प्रतिशतसम्म अनौपचारिक अर्थतन्त्र रहेको अनुमान एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले गरेको अध्ययनले नेपालमा अनौपचारिक अर्थतन्त्रको सम्भावित दायरा कुल गार्हस्थ उत्पादन (जीडीपी) को औसत ४२.६६ प्रतिशत रहेको छ । राष्ट्रिय लेखा विधिअनुसार आर्थिक वर्ष २०१०–११–२०२०–२१ लाई आधार मानेर गरेको अध्ययनले यस्तो देखाएको हो । विभाग प्रमुख प्राडा शिवराज अधिकारीका अनुसार नेपालमा अस्थिर सरकार, अस्थिर नीति र सरकारले लगाउने प्रतिबन्धका समयमा अनौपचारिक अर्थतन्त्र फस्टाउने गरेको पाइएको छ ।

    कोभिड–१९ महामारीका बेला सरकारले नाकाबन्दी लगाएको थियो । त्यसबेला अनौपचारिक अर्थतन्त्रको आकार बढेको देखिएको छ । २०१८–१९ मा जीडीपीको ३७.६० प्रतिशत रहेको अनौपचारिक अर्थतन्त्रको आकार २०१९–२० मा ३९.१० प्रतिशतमा उक्लिएको छ । यस अध्ययनमा मुद्रा माग विधि र राष्ट्रिय लेखा विधि प्रयोग गरिएको छ । उनका अनुसार राष्ट्रिय लेखा अनुमान गर्दा अनौपचारिक वा प्रत्यक्ष अवलोकन नभएका आर्थिक गतिविधि अप्रत्यक्ष विधि प्रयोग गरी मापन गरिन्छ ।

    राष्ट्रिय लेखाले अर्थतन्त्रका सबै पक्ष समेट्न थालेसँगै अनौपचारिक अर्थतन्त्रको आकारसमेत क्रमशः घट्दो क्रममा रहेको देखिएको छ । २०१०–११ मा राष्ट्रिय लेखा दृष्टिकोणबाट ४९.१० प्रतिशत रहेको अनौपचारिक अर्थतन्त्रको आकार २०२०–२१ मा आइपुग्दा ३८.६० प्रतिशतमा झरेको देखिएको छ । नेपालमा घरजग्गा र कृषि क्षेत्रमा सबैभन्दा धेरै अनौपचारिक अर्थतन्त्रको हिस्सा रहेको देखिएको छ ।

    तथ्यांकअनुसार घरजग्गामा ९९.९७ प्रतिशत अनौपचारिक अर्थतन्त्रको हिस्सा देखिएको छ । यो पछिल्लो १० वर्षको औसतका आधारमा देखिएको हो । कृषि, वन र मत्स्यपालनमा ९६।.८ प्रतिशत हिस्सा छ । भोजन तथा आवासमा ५०.४२ प्रतिशत हिस्सा अनौपचारिक छ ।

    कार्यालयका पूर्वनिर्देशक तथा तथ्यांक जानकार भण्डारीका अनुसार नेपालमा देशभरि रहेका घरजग्गाले अर्थतन्त्रमा गरिरहेको योगदानका गणना नै भएको छैन । अहिले हुने घरजग्गा किनबेच र घरभाडा कारोबार कुल घरजग्गा अर्थतन्त्रको एक प्रतिशत पनि छैन । सोहीकारण घरजग्गामा शतप्रतिशत हिस्सा अनौपचारिक देखिएको हो ।

  • रोकिएन नेप्सेको ओरालो यात्रा, हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार

    रोकिएन नेप्सेको ओरालो यात्रा, हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार

    काठमाडौं । शेयर बजारमा लगातार सातौं दिन गिरावट आएको छ । गत बुधबारदेखि ओरालो लागेको नेप्से आज पनि सोही लय कायम राखेको हो । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.९ विन्दुमा पुगेको हो ।

    यसदिन ३०४ कम्पनीको ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँ बराबरको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ समूहको परिसूचक बढेको छ भने ७ को परिसूचक घटेको छ । होटल समूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशतले घटेको छ ।

    आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड ६७ लाख रुपैयाँको ४ लाख ३९ हजार ८५९ कित्ता शेयर किनबेच भएको छ ।

    दोहोरो अंकले घटेको बजारमा पनि सामलिङ पावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

  • अनौपचारिक अर्थतन्त्रको आकार ४२.६६ प्रतिशत

    अनौपचारिक अर्थतन्त्रको आकार ४२.६६ प्रतिशत

    काठमाडौं । नेपालको अनौपचारिक अर्थतन्त्रको आकार ४२ दशमलव ६६ प्रतिशत रहेको रहेको एक अध्ययनले देखाएको छ।

    त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागले गरेको नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार बारेको अध्ययनले अर्थतन्त्रको आकार कुल ग्राह्यस्थ उत्पादनको करिव ४३ प्रतिशत रहेको देखाएको हो ।

    यस अध्ययनले राष्ट्रिय लेखा र मुद्रा माग दृष्टिकोण प्रयोग गरेर नेपालमा अनौपचारिक अर्थतन्त्रको सम्भावित दायरा प्रस्तुत गरेको छ । राष्ट्रिय लेखा बिधि अनुसारः आर्थिक वर्ष २०१०् ११ ९ २०२०्२१ सम्मस् औसत ४२दशमलव ६६ प्रतिशत छ ।

    अर्थतन्त्रको आकार ४०, ४२ प्रतिशत हुनु भनेको धेरै हो । अनौपचारिक अर्थतन्त्रको आकारलाई क्रमशः घटाउदै लैजानु पर्ने अध्ययनमा बताइएको छ ।

    यस अध्ययनले देखाएको अनौपचारिक अर्थतन्त्रको विस्तारलाई ध्यानमा राख्दै, नेपालको अनौपचारिक अर्थतन्त्रको प्रकृति, प्रकार र कभरेज बुझ्न थप अनुसन्धानको आवश्यकता रहेको बताइएको छ। यस्ता अनौपचारिक लेनदेनहरू व्यापक रूपमा हुने पहिचान गरिएका क्षेत्रहरूको थप निदान गर्न सर्वेक्षणमा आधारित अध्ययनको आवश्यकता छ।

  • ऋण तिर्न डेढ खर्ब ऋण लिँदै नेपाल एयरलाइन्स

    ऋण तिर्न डेढ खर्ब ऋण लिँदै नेपाल एयरलाइन्स

    काठमाडौं । जहाज खरिद गर्न लिएको पुरानो ऋण तिर्न र नयाँ जहाज किन्न नेपाल एयरलाइन्स ९वायुसेवा निगम० ले १ खर्ब ३५ अर्ब रुपैयाँबराबर ऋण लिने भएको छ । सो प्रयोजनका लागि निगमले अन्तर्राष्ट्रिय आशय पत्र निकालेको हो । निगमले मंगलबार आशय पत्र निकालेको जानकारी बुधबार विज्ञप्तिमार्फत दिएको हो ।

    १ सय ५८ सिट क्षमताका ‘ए३२०’ र २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०’ जहाज किन्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको चर्को ब्याजदरको ऋण तिर्न र नयाँ जहाज खरिद प्रयोजनसहित कम ब्याजदरको ऋण लिन आशय पत्र निकालिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । यसरी लिइने रकमले ऋण तिर्ने, १० वर्षे व्यावसायिक योजनाअनुसार आन्तरिक तथा वाह्य सेक्टरमा उडान गर्न जहाज किन्ने र अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मत गर्ने ह्यांगर निर्माणमा प्रयोग गर्ने योजना रहेको पौडेलले बताए ।

    यस्तो ऋण एकैपटक नलिई व्यावसायिक लगानीको आवश्यकताअनुसार पटक–पटक लिइने र यस्तो ऋण प्राप्त भएपछि वार्षिक साढे ३ अर्ब रुपैयाँबराबर ब्याज रकम कम तिर्नुपर्ने देखिएको समेत पौडेलले जानकारी दिए ।

    प्रवक्ता पौडेलका अनुसार यो रकम आगामी १० वर्ष भित्र लिइसक्ने योजना छ । त्यसमध्ये कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको ऋण तिर्न ४८ अर्ब ऋण तत्काल लिने र अन्य रकम भने फण्ड सुरक्षित गरी राख्ने योजना छ । ‘जुन बेला निगमलाई जहाज किन्न पैसा चाहिन्छ, सम्झौता अनुसार सोही कम्पनीबाट ऋण लिने भन्ने योजनासहित अगाडी बढेका हौं,’ उनले भने ।

    निगमको १० वर्षे कार्ययोजना कार्यान्वयन गर्न आवश्यक रकमको जोहो गर्न सहुलीयतपूर्ण ऋण खोजिएको भन्दै उनले यसको प्राप्ति १० वर्ष भित्रै हुने र तत्काल यो सबै पैसा नलिइने उनले बताए । निगमको कार्ययोजनामा १० वर्ष भित्र १२ वटा जहाज थप्ने योजना छ । नेपाल भित्र मंहगो ब्याजदरको मात्र रकम हुने भएकाले विदेशी कम्पनीबाट यस्तो रकम आउने सक्ने अनुमानसहित अन्तर्राष्ट्रिय आषय पत्र निकालिएको उनले बताए ।

  • उदयपुर सिमेन्टका तत्कालिन महाप्रवन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    उदयपुर सिमेन्टका तत्कालिन महाप्रवन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । पौडेलसहित ८ जनाले ‘भेरिएबल फ्रिक्विन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा भ्रष्टाचार गरेको अनुसन्धानमा देखिएकाले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । विना अध्ययन र औचित्यसमेत यकिन नगरि तथा लागत अनुमानसमेत नबनाई उपयोग नहुने सामग्री खरिद गरेको पाइएको अख्तियारले जनाएको छ ।

    सामान खरिदपछि गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरि निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामग्रीमध्ये १ सय ६० किलोवाटको भीएफडी प्यानले ५ वर्षसम्म पनि परीक्षण नगराएको अस्वाभाविक रूपमा बढी सामान खरिद गरेको पाइएको अख्यितारले जनाएको छ ।

    अख्यितारले तत्कालीन महाप्रबन्धक पौडेलसहित त्यतिबेलाका नायब महाप्रबन्धक नवलकिशोर साह, कायममुकायम उपनिर्देशक पवनकुमार लाल कर्ण, प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रबन्धक कमलराज पौडेल, निर्देशकद्वय ध्रुबबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई विपक्षी बनाएको छ । उनीहरूले २२ लाख ७८ हजार ३ सय ५ रुपैयाँ उद्योगलाई क्षति गराएको जनाउँदै त्यही बराबरको बिगो दाबी गरी मुद्दा दर्ता गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । सुरेन्द्र पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशकसमेत भइसकेका थिए ।

  • भ्रष्टाचार मुद्दामा एनटीसीका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका विकल पौडेल पक्राउ

    भ्रष्टाचार मुद्दामा एनटीसीका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका विकल पौडेल पक्राउ

    काठमाडौं । भ्रष्टाचार मुद्दामा मुछिएका नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरको अनुसन्धान गरिरहेको छ।

    उनीहरूले अनुसन्धानलाई प्रभावित पार्न सक्ने गरी भाग्न खोजेको भन्दै अख्तियारले दुवै जनालाई पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। नेपाल राष्ट्र बैंकको अनुमतिबिना उनीहरूले विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोलेर रकम जम्मा गरेको पाएको प्रवक्ता घिमिरेले बताए।

    उनीहरूले सरकारी सेवामा कार्यरत रहँदा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको देखिएको पनि अख्तियारले जनाएको छ।
    अख्तियारका अनुसार विकलले अमेरिकामा स्थायी आवासीय अनुमति (ग्रिनकार्ड) लिएको देखिएको हो।

    ‘विकल पौडेलको हकमा उनले अमेरिकाको स्‍थायी आवासीय अनुमतिसमेत लिएको देखिएकोले निजहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकोले निजहरूलाई बुधबार पक्राउ पुर्जी दिएर थप अनुसन्धान भइरहेको छ,’ अख्तियार प्रवक्ता घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    उनीहरू दुवै जना हाल निलम्बित छन्। विशेष अदालतमा दायर भएका दुई वटा छुट्टाछुट्टै कसुरको मुद्दा विचाराधीन छ। सुनिल नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा प्रतिवादी छन्। अख्तियारले गत असोज १५ गते सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। यसमा २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले बिगो कायम गरी कैद सजाय र जरिवानाको मागदाबी गरेको थियो।

    विकल भने सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रतिवादी छन्। उनीविरूद्ध गत वैशाखमा मुद्दा दायर भएको थियो। अख्तियारले विकल पौडेलसहित ९ जनालाई प्रतिवादी बनाएर २ अर्ब ६९ करोड रुपैयाँको मुद्दा दायर गरेको थियो। विकल एक्लैविरूद्ध अख्तियारले ६९ करोड ८ लाख ८२ हजार ८५४ रुपैयाँको बिगो मागदाबी कायम गरेको थियो।

  • कनिका छरेजस्तो बजेट नछर्ने प्रधानमन्त्रीको प्रतिवद्धता लागु होला ?

    कनिका छरेजस्तो बजेट नछर्ने प्रधानमन्त्रीको प्रतिवद्धता लागु होला ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले पुराना योजनाहरू अलपत्र पर्ने तर नयाँ(नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठुलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराए ।


    प्रधानमन्त्रीले भने, “विकास भनेको योजनाबद्ध हुन्छ, हुनुपर्छ। बिना सम्भाव्यता अध्ययन, बिना उपयोगिता जहाँ पनि विकास माग्ने तर त्यसको अपनत्व पनि नलिने, स्रोत पनि नपुग्ने र विनियोजित बजेट पनि फ्रिज जाने विडम्बना छ। त्यसबाट हामी माथि उठ्नैपर्छ। यसपटकको बजेट कनिका छरेजस्तो हुँदैन । विगतमा छनोट भएर अधुरा रहेका योजना सम्पन्न गर्न सम्पूर्ण तागत लगाउनुपर्छ।”

    “अर्थतन्त्रका सङ्केतहरू सकारात्मक छन्। तर, हाम्रो अर्थतन्त्र दबाबमुक्त भइसकेको छैन। विकास निर्माणका काममा थुप्रै बेथिति छन्” प्रधानमन्त्रीले भन्नुभयो, “यसपटक परम्परागत सोच र ढाँचाबाट माथि उठौँ। सबैलाई खुसी पार्ने होइन, देशको समृद्धिको कार्यभार पूरा हुने योजना छनोट गर्नुपर्छ। यसपटक “ब्रेक–थ्रु” गर्नैपर्छ।” बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक रहेपनि राजश्व सङ्कलनमा अपेक्षित सफलता प्राप्त भइनसकेकाले मितव्ययी भएर अगाडि बढ्नुपर्ने जोड दिए ।

    नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले यसपटक नीति तथा कार्यक्रम र बजेट निर्माणको कार्यतालिका परिमार्जन गरिएकाले पर्याप्त अध्ययन र छलफलका आधारमा अन्तिम निष्कर्षमा पुग्न सजिलो हुने बताए । बैठकमा अर्थसचिव डा. कृष्णहरि पुष्कर लगायत अर्थ मन्त्रालयका विभागीय प्रमुखहरूले अर्थतन्त्रको वर्तमान अवस्थाबारे विषयगत प्रस्तुति राखेका थिए ।

  • नारायणगढ–बुटवल सडक विस्तार : ५ वर्षमा मात्र ४५ प्रतिशत काम

    नारायणगढ–बुटवल सडक विस्तार : ५ वर्षमा मात्र ४५ प्रतिशत काम

    काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब ६ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ । विसं २०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो। त्यसयता दुईपटक म्याद थप गरिएको छ । दोस्रोपटक थपिएको म्याद आउँदो साउनमा सकिने छ । उक्त अवधिसम्म ९० प्रतिशत काम गर्दा लगभग योजनाको निर्माण काम सकिने योजना प्रमुख मगरले बताए।

    यस योजनामा निर्माणपछि समेत पाँच वर्ष मर्मतको जिम्मा निर्माण कम्पनीको रहने हुँदा उक्त काम करिब १० प्रतिशत मान्दा साउनसम्म प्रगति ९० प्रतिशत हुनुपर्ने उनले बताए। हालको भौतिक प्रगतिलाई हेर्ने हो भने समयमा सडक विस्तारको काम सम्पन्न गर्न अब मासिक कम्तीमा ७ प्रतिशत प्रगति गर्नुपर्ने हुन्छ । तर कामको गति असाध्यै न्यून रहेको योजना प्रमुख मगरले बताए ।

    निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनलाई अहिले प्रयोग गरेको जनशक्ति र मेसिन अपर्याप्त रहेको जनाउँदै पर्याप्त साधन स्रोतको प्रयोग गरी तोकिएको समयमै काम सम्पन्न गर्न निर्देशन गरिरहेको उनले बताए। जुन गतिमा प्रगति हासिल गर्नुपर्ने हो त्यसो हुन नसकेको र निर्माणको गति न्यून रहेकाले कामको प्रगति बढाउन निर्देशन गरिरहेको उनको भनाइ छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको एक सय १३ किलोमिटर सडक मध्यपूर्वी खण्डमा करिब ६५ किलोमिटर पर्दछ ।

    बजार क्षेत्रमा सर्भिस लेनसहित छ, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण हुनेछ । पूर्वी खण्डमा हालसम्म २१ किलोमिटरमात्र दुई लेन सडक निर्माण सम्पन्न भएको छ । पुलको भाग छाडेर दुई लेनको हिसाब गर्दा करिब एक सय २५ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ । यस हिसाबले अझै एक सय किलोमिटर बढी कालोपत्र गर्नुपर्ने काम बाँकी छ ।

    ‘एकतर्फीको हिसाब गर्दा करिब २१ किलोमिटर कालोपत्र गर्ने काम सकिएको छ,’ योजना प्रमुख मगरले भने, ‘सय किलोमिटरभन्दा धेरै कालोपत्र गर्न अझै बाँकी छ।’ साउनभित्रमा सबै काम सक्नेगरी निर्देशन गर्नुका साथै जनताको सुविधालाई ध्यानमा राखेर पहिला एकतर्फी कालोपत्र काम गर्न भनिएको योजना प्रमुख मगरले बताए।

    ‘साउनभित्र सबै काम सम्पन्न गर्नुपर्ने भनेका छौँ,’ त्यसमा पनि पहिला ६५ किलोमिटर एकतर्फी सक्नुपर्छ भन्ने निर्देशन गरेका छौँ, यस्तो गरियो भने अलि चाँडै यात्रा सहज हुन्छ भन्ने हो”, योजना प्रमुख मगरले भने। उनका अनुसार ठूला पुल १२ निर्माण गर्नुपर्नेमा सबैको काम जारी छ । साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा २१ वटा पुलको काम सकिएको र अब एउटाको मात्रै काम बाँकी छ । गैँडाकोटबाट दाउन्नेसम्म पहिलो खण्ड र दाउन्नेबाट बुटवलसम्म दोस्रो खण्डमा विभाजन गरी निर्माणको काम चलिरहेको छ ।

    करिब रु १७ अर्ब लागत लाग्ने यो योजना लामो समयसम्म निर्माण सम्पन्न नहुँदा यस खण्डमा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् । साथै निर्माणको काम नसकिँदा धुलोले यात्रु तथा राजमार्ग आसपासका बासिन्दा पीडित बनेका छन् । धुलोका कारण व्यापार व्यवसायसमेत प्रभावित बनेको डण्डाका व्यापारी कृष्ण अधिकारीको गुनासो छ। रासस