Category: अर्थतन्त्र

  • भारतले नेपाललाई दिने वार्षिक अनुदान घटायो

    भारतले नेपाललाई दिने वार्षिक अनुदान घटायो

    काठमाडौं । भारत सरकारले नेपाललाई दिने वार्षिक अनुदान रकम घटाएको छ।

    भारत सरकारले वित्त वर्ष २०२२/ २३ मा नेपाललाई अनुदान दिने गरी ७ अर्ब ५० करोड भारतीय रुपैयाँ (१२ अर्ब नेपाली रुपैयाँ) बजेट छुट्याएको हो ।

    यो अघिल्लो वर्षको बजेटमा छुट्याइएको रकम भन्दा कम हो । गत वर्ष सन् २०२१–२२ को बजेट मार्फत भारतले नेपाललाई नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) सहयोग छुट्याएको थियो।

    नेपाललाई छुट्याएको सहयोग रकम भारु ६ अर्ब ५० करोड (रु. १० अर्ब ४० करोड) रहेको संसोधित अनुमान छ ।

    भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई छुट्याएको छ । भुटानलाई २२ अर्ब ६६ करोड भारु दिने भएको छ ।

    यो गत आर्थिक वर्षको भन्दा थोरै हो। गत वर्ष भुटानलाई ३० अर्ब भारु सहयोग छुट्याइएको थियो ।

    दक्षिण एशियामा भारतले भुटानपछि सबैभन्दा धेरै सहयोग छुट्याउने मुलुक नेपाल हो। भारतले दक्षिणएशियामा बंगलादेश र माल्दिभ्सलाई दिने सहायता रकम भने बढाएको छ। गत वर्ष बंगलादेशलाई दुई अर्ब भारु छुट्याइएकोमा यो वर्ष त्यसलाई बढाएर तीन अर्ब भारु पुर्‍याइएको छ।

    त्यसै गरी माल्दिभ्सलाई दिने सहयोग दुई अर्ब ५० करोड भारुबाट बढाएर तीन अर्ब ६० करोड भारु बनाइएको छ । तर, अफगानिस्तानलाई दिने सहयोग रकम घटाइएको छ।

  • भारतमा क्रिप्टोकरेन्सी वैधानिक, कारोबारमा घाटा भए पनि ३० प्रतिशत कर लाग्ने

    भारतमा क्रिप्टोकरेन्सी वैधानिक, कारोबारमा घाटा भए पनि ३० प्रतिशत कर लाग्ने

    काठमाडौं । भारत सरकारले आफ्नै ‘डिजिटल करेन्सी’ प्रचलनमा ल्याउने भएको छ ।

    क्रिप्टोकरेन्सीले विश्व अर्थतन्त्रलाई पछ्याइरहेको समयमा भारतले आफ्नै ‘डिजिटल करेन्सी’ ल्याउने घोषणा गरेको हो ।लोकसभामा उनले आर्थिक वर्ष २०२२/२३ को बजेट प्रस्तुत गर्दै ‘डिजिटल इकोनमी’ को विकासमा सरकार लाग्ने घोषणा गरेकी छिन्।

    भारतको रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले गत वर्षदेखि डिजिटल करेन्सी बनाउने तयारी थालेको थियो ।

    क्रिप्टो करेन्सीबाट हुने आम्दानीलाई लिएर पनि भारत सरकारले नयाँ नीति ल्याएको छ। बजेट घोषणा गर्दै सीता रमणले अबबाट भर्चुअल करेन्सीको आम्दानीमा ३० प्रतिहत कर लाग्ने घोषणा गरेकी छिन्। यस्तै, क्रिप्टो करेन्सीको कारोबारमा घाटा भए पनि कर तिर्नुपर्ने व्यवस्था गरिएको छ।

    क्रिप्टोकरेन्सीहरूमा लगानीले विगत केही वर्षहरूमा वित्तीय बजारमा ठूलो वृद्धि देखेको छ। यसको सबैभन्दा ठूलो कारण भनेको लगानीकर्ताले छोटो समयमै ठूलो फाइदा पाउनु हो ।

    यससँगै ज्याक डोर्सी, एलोन मस्क जस्ता विश्वका ठूला उद्योगपतिहरूले पनि क्रिप्टोकरेन्सीमा लगानीलाई समर्थन गरेको देखिएका छन् ।

  • नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक, धेरै कमाउने जलविद्युत समूहका लगानीकर्ता

    नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक, धेरै कमाउने जलविद्युत समूहका लगानीकर्ता

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १९.२६ अंकले बढेर २८९१.३० विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२३ कम्पनीको ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको १ करोड, २१ लाख ६७ हजार ६०५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । सोमवार ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५५९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूह मध्ये ९ वटाको परिसूचक हरियो भएको छ भने ४ वटाको घटेको छ ।

    दोहोरो अंकले बढेको बजारमा बैंकिङ ५ ,विकास बैंक ८१, फाइनान्स ३६, लगानी समूह ०.११ माइक्रोफाइनान्स ४९ अंकले बढेको छ ।

    होटल तथा पर्यटन २, जीवन बीमा १३, उत्पादन समूह १३ अंकले घटेको छ भने जलविद्युत १०९, अन्य उपसमूह १ र निर्जीवन बीमा ९१ अंकले बढेको छ ।

    दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल जलविद्युत कम्पनीका शेयरमूल्यमा आज सर्किट लेभलमा वृद्धि भएको छ ।

    त्यसैगरी, नेशनल हाइड्रो ७.५०, फरवार्ड लघुवित्त ७.२५, युनाइटेड इदीमार्दी ५.९५, मैलुङ खोला ५.५२, साहस ऊर्जा ५.४५, अरुण भ्इाली ५.४३, युनियन हाइड्रोपावर, हिमाल दोलखा, एनएमबी हाइब्रिड फण्ड, घलेम्दी हाइड्रोपावर, गुह्वेश्वरी मर्चेन्ट र न्यादी हाइड्रोपावरको शेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    कारोबारको आधारमा आज नेशनल हाइड्रो कम्पनीको ३९ करोड बराबरको शेयर खरिद विक्री भएको छ ।

    अरुणभ्याली हाइड्रोपावर कम्पनीको ३७ करोड १४ लाख भन्दा बढीको कारोबार भएको छ । अपी पावरको ३५ करोडको कारोबार भएको छ ।

    अपर तामाकोशीको ३४ करोडको कारोबार भएको छ ।

  • किसानले पाउने दुधको मूल्य बढेर प्रतिलिटर ५६.४ रुपैयाँ पुग्यो, उपभोक्तामा भार

    किसानले पाउने दुधको मूल्य बढेर प्रतिलिटर ५६.४ रुपैयाँ पुग्यो, उपभोक्तामा भार

    काठमाडौं । नेपालमा दुघको मूल्य बढेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ तोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको हो । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ थियो । दुधको समर्थन मूल्य १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले बढेसँगै उपभोक्ताले तिर्नुपर्ने मूल्य समेत बढ्ने छ । यसबाट सोही प्रतिशत बराबरको भार उपभोक्तामाथि पर्नेछ । उपभोक्ताले कति तिर्ने भन्ने निर्णय भने हुन बाँकी रहेको छ ।

  • काठमाडौं बौद्धको एक रेष्टुरेन्टमा अनलाइन जुवा खेलिरहेका ७४ जना एकै पटक पक्राउ

    काठमाडौं बौद्धको एक रेष्टुरेन्टमा अनलाइन जुवा खेलिरहेका ७४ जना एकै पटक पक्राउ

    काठमाडौं । काठमाडौंको बौद्धस्थित प्लटिङ नजिक एक रेष्टुरेन्टमा अनलाइन जुवा (बिङ्गो) खेलिरहेका ७४ जना एकै पटक पक्राउ परेका छन् । दोलखा घर भई बानेश्वर बस्ने ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा आइतबार साँझ महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले सोमबार एक सूचना जारी गरी यस्तो जानकारी गराएको हो ।

    कोभिड १९ को महामारीको समयमा ठूलो सङ्ख्यामा मानिस भेला भई अनलाइन बिङ्गो खेलमा संलग्न रहेका भनी विशेष सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको बताइएको छ । उक्त खेलमा प्रयोग गरिने सामग्री मोबाइल, बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगदसमेत नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरूको साथबाट ६ लाखभन्दा बढी रकमसमेत बरामद भएको छ ।

  • दोहोरो अंकले घट्ने नेपाली शेयर बजार, ५ अर्ब १५ करोडको कारोबार

    दोहोरो अंकले घट्ने नेपाली शेयर बजार, ५ अर्ब १५ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १४.४८ अंकले घटेर २८७१.५ विन्दुमा झरेको छ । आइतवार शेयर बजारमा उछाल आएको थियो । त्यसदिन १०५ अंकले बजार बढेको थियो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२५ कम्पनीको ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५५९ रुपैयाँ बराबरको १ करोड, १ लाख ५ हजार ५९८ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । आइतवार ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहमध्ये १० वटाको परिसूचक राताम्मे भएका छन् भने ३ वटा हरियो भएको छ । दोहोरो अंकले घटेको बजारमा बैंकिङ १९ , होटल तथा पर्यटन २३, निर्जीवन बीमा १७८, जलविद्युत २३ अंकले घटेको छ ।

    विकास बैंक ११०, फाइनान्स ४३ उत्पादन समूह ७१ र जीवन बीमा समूह २२१ अंकले घटेको छ । अन्य उपसमूह २८ अंक, माइक्रोफाइनान्स ३० र लगानी समूह २ अंकले बढेको छ ।

    सोमवार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था, वीन नेपाल लघुवित्त वित्तीय संस्था, बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्यमा आज पोजेटिभ सर्किट लागेको छ ।

    त्यसैगरी, छ्याङ्दी हाइड्रोपावर ८.९७, एचआइडीसीएल ७.३७, सीईडीबी हाइड्रोपावर ७.१८, जीवन विकास लघुवित्त ५.४२, एनआरएन इन्फ्रस्ट्रक्चर ४.४२, लिबर्टी इनर्जी, महुली सामुदायिक लघुवित्त र नेपाल टेलिकमको शेयर मूल्य ३ प्रतिशतले बढेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ५७ करोड १२ लाख भन्दा बढीको कारोबार भएको छ ।

    अपर तामाकोशीको शेयरको ३१ करोडको कारोबार भएको छ । नेपाल टेलिकमको ३१ करोडको कारोबार भएको छ ।

    त्यस्तै, माउन्टेन हाइड्रो नेपाल, सिभिल लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रोपावर, पञ्चकन्यामाइ हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

    यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ ।

  • किस्तामा गाडी किन्दा महंगो पर्ने, हायर पर्चेज कर्जामा राष्ट्र बैंकको कडाई

    किस्तामा गाडी किन्दा महंगो पर्ने, हायर पर्चेज कर्जामा राष्ट्र बैंकको कडाई

    काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीको ब्याजदरमा कडाई गरेसँगै अब किस्तामा गाडी किन्दा मूल्य बढी पर्ने भएको छ । राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७०’ को तेस्रो संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो। जसमा औसत ब्याजदर अन्तर ४ प्रतिशत भन्दा बढी नहुने गरी निर्धारण गनुपर्ने व्यवस्था भएको छ । हायर पर्चेज कम्पनीको चुक्ता पुँजी ३० करोड हुनु पर्ने ब्यवस्थालाई निरन्तरता दिइएको छ ।

    हायर पर्चेज कम्पनीले निजी तथा सार्वजनिक यातायातका साधन बिक्री वितरण गर्छन्। साथै मेसिन, इक्विपमेन्टको बिक्री समेत यी कम्पनीबाट हुन्छ । यस अघि यो दर ३ प्रतिशत मात्र थियो । यस संगै अब किस्ताबन्दीमा गाडी खरीद गर्दा महंगो हुने भएको हो । अब कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । यस अघि यो सीमा तोकिएको थिएन।

    अब भने नयाँ गाडी खरीद गर्दा न्युनतम २० प्रतिशत रकम सुरु मै तिर्नु पर्ने छ । यस अघि शुन्य प्रतिशत किस्ताबन्दीमा पनि कम्पनीहरुले अफर ल्याएका थिए । यी कम्पनीहरूले अब अर्धवार्षिक नभई त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र राष्ट्र बैंकको सम्बन्धित सुपरीवेक्षण विभागमा पेस गर्नुपर्ने भएको छ ।

  • एमसीसीको बाहनामा गठबन्धन नटुटोस, छिटो पास गरौं : बाबुराम भट्टराई

    एमसीसीको बाहनामा गठबन्धन नटुटोस, छिटो पास गरौं : बाबुराम भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बाहनामा गठबन्धन टुट्न नहुने बताएका छन् । आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने समेत उनको भनाई छ । सोमबार सामाजिक संजालबाट आफ्नो धारणा सार्वजनिक गर्दै उनले सर्वसम्मतीले एमसीसी पारित गर्नुपर्ने बताएका हुन् ।

    भट्टराईले लेखेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतीले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् ।’ उनी अगाडी लेख्छन्, ‘एमसीसी प्रकरण नेपालका रुढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस्, देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् । शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ।’

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका लागि सत्ता गठबन्धन टुटाउने चेतावनी दिएको खबर बाहिरिएको छ । एमसीसी जस्ताको तस्तै पास हुन नहुने अडानमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी छन् । एमालले भने गठबन्धन फुट्ने अवस्थामा कांग्रेसलाई साथ दिने संकेत गरिसकेको छ ।

  • राजनीतिका कारण अर्थतन्त्रमा समस्या आएको हो : अर्थमन्त्री

    राजनीतिका कारण अर्थतन्त्रमा समस्या आएको हो : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा अपेक्षित उन्नती हुन नसक्नुमा राजनीतिको दोष रहेको बताएका छन् । विकासमैत्री नीतिको अभाव रहेको भन्दै उनले यस्तो बताएका हुन् । आइतवार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उनले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको उल्लेख गरे । विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको अभाव देखिरहेको भन्दै मन्त्री शर्माले ‘यस्ता जटिलताले विकासमा बाधा उत्पन्न गरेको बताए ।

    उनले संविधानअनुसार देशको स्पष्ट अर्थनीति नहुनुका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखापरेको समेत उल्लेख गरे । सबै समस्याको जड राजनीति भएको भन्दै उनले राजनीतिक दलहरूमा सहमतिको आवश्यकता औँल्याए । राजनैतिक दलहरूमा देशलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउनेबारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनुपर्ने अवस्था रहेको उनको भनाइ छ । मन्त्री शर्माले विज्ञहरूको सुझावलाई सरकारले मार्गदर्शकको रूपमा लिने र छलफललाई निरन्तरता दिने समेत प्रतिबद्धता पनि व्यक्त गरे ।

    छलफलमा विज्ञहरूले तथ्याङ्कका आधारमा देशको अर्थतन्त्र धराशायी भइ नसकेको बताए । यद्यपि थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न सुझाव दिए । विदेशी मुद्रा सञ्चितिका लागि भुक्तान सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन पनि उहाँहरूको सुझाव रहेको थियो ।

    यस्तै कृषि उत्पादकत्व बढाउने, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने, संरचनागत सुधार गर्ने लगायतका सुझावसमेत विज्ञहरूले दिए । छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, प्रा. डा. विश्वम्भर प्याकुरेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको उपस्थिति थियो । त्यस्तै भारतका लागि नेपालका पूर्व राजदूत डा.दुर्गेशमान सिंह, अर्थ विश्लेषक हरि रोका, डा.रामकुमार फुयाललगायत उपस्थिति थियो ।

  • नेपाली शेयर बजारमा उछाल, एकैदिन तेहेरो अंकको कमब्याक

    नेपाली शेयर बजारमा उछाल, एकैदिन तेहेरो अंकको कमब्याक

    काठमाडौं । सत्ता पक्षीय गठबन्धनबीच आगामी जेठसम्म स्थानीय तहको चुनाव गर्ने सहमती भएसँगै लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको छ ।

    शनिबार बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले ०७९ जेठभित्र स्थानीयत तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।

    निर्वाचन हुने निश्चित भएपछि शेयर लगानीकर्तामा आइतवार बजार खुलेदेखिनै उत्साह बढेको छ । चुनाव हुँदा ठूलो धनराशी परिचालन हुने र अर्थतन्त्र चलायमान हुँदा शेयर बजारमा पनि सकारात्मक असर पर्ने लगानीकर्ताको बुझाइ छ ।

    साताको कारोबारको पहिलोदिन शेयर बजार उच्च अंकले बढेको छ ।

    कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) १०५.५५ अंकले बढेर २८८५. ५३ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३१ कम्पनीको ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँ बराबरको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहमध्ये हरियो भएको छ । उच्च अंकले बढेको बजारमा बैंकिङ ४६ , होटल तथा पर्यटन १४१, निर्जीवन बीमा ४३१, माइक्रोफाइनान्स १७१, जलविद्युत १८२ अंकले बढेको छ ।

    विकास बैंक ३१८, फाइनान्स १५२, उत्पादन समूह १९७ र लगानी समूह ५ अंकले बढेको छ । अन्य उपसमूह ८३ अंकले घटेको छ ।

    आइतवार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था, लिवर्टी इनर्जि कम्पनी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फाइन्ट्रक्चर, अरुण भ्याली हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्यमा आज पोजेटिभ सर्किट लागेको छ ।

    त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर ९.०२, हिमालयन ऊर्जा, प्रोग्रेसिभ फाइनान्स, हिमाल दोलखा र कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    त्यस्तै, लुम्बिनी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, हिमालयन पावर, सिन्धु विकास बैंक, कामना सेवा बैंक लगायत २ दर्जन कम्पनीको शेयरमूल्य ७ प्रतिशतले बढेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २६ करोड १५ लाख भन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल टेलिकमको २० करोडको कारोबार भएको ।

    मञ्जुश्री फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

  • वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ? यी नम्बरमा सिधै फोन गर्नुहोस्

    वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ? यी नम्बरमा सिधै फोन गर्नुहोस्

    काठमाडौं । तपाइ वैदेशिक रोजगारीका लागि विदेशमा हुनुहुन्छ ? वा विदेश जाने तयारीमा हुनुहुन्छ ? आफू जान लागेको काम वा कम्पनीबारे कुनै जिज्ञासा छ ? वा शुल्क कति लाग्ने भन्ने अन्यौलमा हुनुहुन्छ ?

    अब तपाइ सिधै सरकारलाई फोन गर्न सक्नुहुन्छ। तपाइको गुनासो सुन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टर तथा वैदेशिक रोजगारीसम्वन्धी गुनासो सुनुवाइ कक्ष स्थापना गरेको छ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कक्षको उद्घाटन गरेका हुन्।

    यसअघि पनि सञ्चालनमा रहेको कल सेन्टरलाई वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ गर्न एकीकृत कक्षका रुपमा व्यवस्थित गरी सुरु गरिएको हो।

    पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भीसामा खाडी क्षेत्रका विभिन्न मुलुकहरु, दक्षिणपुर्वी एसियाली मुलुकहरु, युरोपेली तथा अमेरिकी मुलुकहरु र अफ्रिकी महादेशका देशहरुमा गैरकानुनी रुपमा पुर्‍याई नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनी दिनहुँ गुनासो आउने गरेपछि मन्त्री श्रेष्ठको निर्देशनमा मन्त्रालयमै गुनासो सुनुवाइ कक्ष स्थापना गरिएको हो।

    अब कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी एकीकृत गरिनेछ।

    यससम्बन्धी समस्या तथा गुनासो मन्त्रीको सचिवालयको मोबाइल नम्बर ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्वर ९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सिधै सम्पर्क गरी २४ सै घण्टा गुनासो र समस्या टिपाउन सकिनेछ।

  • वाग्मती किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने अल्टिमेटम

    वाग्मती किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने अल्टिमेटम

    काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदी किनाराको दुवै तर्फ अनाधिकृत रुपमा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।

    समितिले सूचना जारी गर्दै समितिले वाग्मती नदी किनारको दुवैतर्फ गुह्येश्वरीदेखि थापाथली पुलसम्मको क्षेत्रमा बनेका अनधिकृत अस्थायी तथा स्थयाी संरचना हटाउन निर्देशन दिएको हो ।

    यसअघि पनि यस्ता संरचना हटाउन पटकपटक सार्वजनिक सूचना जारी गरी जानकारी गराइएकामा त्यसको बेवास्ता भएकाले पुनःसूचना प्रकाशन गर्न बाध्य हुनुपरेको समितिले जनाएको छ ।

    तोकिएको समयभित्र अनधिकृत संरचना नहटाएमा समितिले आफैँ भत्काउने र लागेको खर्च संरचना निर्माण गर्ने व्यक्ति एवं पक्षबाट सरकारी बाँकी सरह उठाइने छ ।

    समितिले यसअघि गोकर्णबाट गुह्येश्वरीसम्मको नदि किनारमा बनेका करिब चार दर्जन स्थायी एवं अस्थायी संरचना पनि हटाएको थियो ।

    यदी सात दिनभित्र उक्त संरचना नहटाइए समिति आफैँले भत्काउने उक्त सूचनामा उल्लेख छ । उक्त क्षेत्र खाली गराउँदा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने जनाइएको छ ।

  • सोलुखोला जलविद्युत आयोजनामा तीन दिन देखि बेपत्ता मजदुर मृत फेला

    सोलुखोला जलविद्युत आयोजनामा तीन दिन देखि बेपत्ता मजदुर मृत फेला

    काठमाडौं । सोलुखुम्बुमा निर्माणाधिन सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा बेपत्ता कामदारको शव तीन दिनपछि फेला परेको छ । ८६ मेगावाटको यो हाइड्रोपावरको सुरुङमा बिहीवारदेखि बेपत्ता बारा कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । बिहीवार सुरुङ मार्गमा जाने क्रममा बकेट चुडिँदा हाड्रोपावरका कामदार चौधरी बेपत्ता भएका थिए ।

    अर्का कामदार पर्साको पटेरवा गाउँपालिका–४ का २० वर्षीय अङ्गत राय थारु घाइते भएका थिए । घाइतेको काठमाण्डौमा रहेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । थुलुङ दूधकोसी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन हाइड्रोपावरमा एक महिनाको अवधिमा ३ जनाले ज्यान गुमाइसकेका छन् । यसअघि गएको पुस ११ गते पानी परीक्षणका क्रममा पाइप विस्फोट हुँदा दुई इञ्जिनियरको ज्यान गएको थियो ।

  • काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथिको जोर विजोर प्रणाली हट्यो

    काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथिको जोर विजोर प्रणाली हट्यो

    काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथिको जोर विजोर प्रणाली हटेको छ । निजी सवारीमा भने कायम छ । बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली लागु हुने छैन । आम सर्वसाधारणलाई अन्य सबै गतिविधि कायम राखेर यातायातमा कडाई गरेको भन्दै सरकारको कडा आलोचना भएको थियो । यसले सार्वजनिक सवारी साधनमा अत्यधिक भिडभाड हुँदा कोभिडको अझै जोखिम बढेको भन्दै विरोध भएको हो ।

    काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेपछि प्रशासनले सो निर्णय गरेको हो ।

  • भारतीय ध्वजावाहक ७० वर्षपछि फेरि टाटाको हातमा, बजार हिस्सा १३.३ प्रतिशत

    भारतीय ध्वजावाहक ७० वर्षपछि फेरि टाटाको हातमा, बजार हिस्सा १३.३ प्रतिशत

    काठमाडौं । करिब ७ दशकपछि भारतीय ध्वजावाहक एयर इन्डियाको स्वामित्व टाटा ग्रुपको हातमा आएको छ । बिहीबार भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारत सरकारले स्वामित्व टाटा ग्रुपलाई हस्तान्तरण गरेको हो ।

    सन् १९३२ मा एयर इन्डिया तत्कालीन टाटा ग्रुपका अध्यक्ष जेआरडी टाटाले स्थापना गरेका थिए । उक्त समयमा यो एयरलाइन्सको नाम टाटा एयरलायन्स रहेको थियो । जसलाई पछि सन् १९५३ मा भारतीय सरकारले अधिग्रहण गरेको थियो । घाटामा डुबेपछि उक्त एयरलाइन्स लिलामीमार्फत फेरि टाटा समूहले आफ्नो हातमा ल्याएको हो ।

    भारतीय एयरलायन्स इन्डष्ट्रिमा एयर इन्डियाको बजार हिस्सा १३.३ प्रतिशत रहेको छ । नुनदेखि सफ्टवेयरसम्म बनाउने टाटा ग्रुपले भारतीय सरकारले लिलाम गरेको एयर इन्डिया १८ हजार करोड भारुमा पाएको हो । यो रकम प्रतिस्पर्धीहरुको भन्दा २ हजार ९०० करोड बढी थियो । टाटा ग्रुपले एयर इन्डिया खरिद गर्नका लागि २ हजार ७०० करोड नगद हालेको छ भने बाँकी १५ हजार ३०० करोड एसबीआई बैंकको नेतृत्वमा कन्सोल्टीएम बैंकहरुले लगानी गरेका छन् । अब एयर इन्डियाको स्वामित्व लिइसकेपछि पनि टाटा ग्रुपले हजारौं करोड थप लगानी गर्नुपर्ने आवश्यकता रहेको छ ।

    भारत सरकारले निरन्तर घाटामा रहेकोले एयर इन्डिया विक्री गरेको हो । सन् २०२१ को अगस्टसम्म एयर इन्डिया ६१ हजार ५६३ करोड ऋणमा फसेको थियो । जसमध्ये ४६ हजार २६२ करोड स्पेशल पर्पोज भेहिकलमा सारिएको हो भने बाँकी रकम टाट ग्रुपले तिरेको हो । भारत सरकारले गत एक दशकमा मात्रै एयर इन्डियामा १ लाख करोडको लगानी गरेको थियो । यो एयरलायन्समा प्रतिदिन २० देखि ३० करोड घाटा हुने गरेको जनाइएको छ । तर सधैं घाटामा मात्र रहेकाले भारत सरकारले यो एयरलायन्स विक्री गरेको हो ।

    टाटा ग्रुपले यस अघिनै दुई वटा एयरलायन्समा लगानी गरिरहेको छ । भारतको फुलफ्लेज एयरलायन्स भिस्तारामा टाटा ग्रुपको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यस्तै, एयर इन्डिया एशिया नामको अर्को बजेट एयरलायन्समा पनि टाटा ग्रुपको ८४ प्रतिशत स्वामित्व रहेको छ । भारतीय हवाई बजारमा भिस्ताराको हिस्सा ८.२ प्रतिशत र एयर एशिया इन्डियाको ४.४ प्रतिशत रहेको छ । अब टाटा ग्रुपको भारतीय हवाई बजारमा कुल हिस्सा २५ प्रतिशतभन्दा धेरै पुग्नेछ ।

    करिब १० हजार कर्मचारी र १४१ वटा विमान रहेको एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसमा अब टाटा ग्रुपले केकस्तो सुधार गर्ने हो आगामी दिनले बताउनेछ । एयर इन्डियाको खरिदसँगै टाटा ग्रुपसँग अब ४ हजार ४०० वटा आन्तरिक र १ हजार ८०० वटा विदेशी ल्यान्डिङ र पार्किङ स्लट पनि पाउनेछ ।

    भारत सरकारसँग भएको सम्झौता अनुसार टाटा ग्रुपले १ वर्षसम्म कर्मचारी कटौती गर्न पाउने छैन । टाटा ग्रुप टाटा सन्स अन्तर्गतको कम्पनी हो । टाटा सन्सको ६६ प्रतिशत स्वामित्व सामाजिक ट्रष्टहरुको रहेको छ । जसले कमाइको ठूलो हिस्सा शिक्षा, स्वास्थ्य, पर्यावरण आदि क्षेत्रमा लगानी गर्दछ ।

    विश्वको तेस्रो ठूलो हवाई उद्योग रहेको भारतमा प्राय सबै एयरलायन्सहरु घाटामा रहेका छन् । भारतले आन्तरिक हवाई उद्योग वार्षिक करिब २ लाख २५ हजार करोडको रहेको छ । यसका बाबजूद पनि विगत ७ दशकमा ६० वटा एयरलायन्सहरु बन्द भइसकेका छन् । किंगफिसर, एयर साहारा, जेट एयरवेज, डेक्कन एयर पछिल्ला दशकमा बन्द भएका वा अन्यमा विलय भएका एयरलायन्स हुन् ।

  • तीन महिनामा एप्पलले कमायो १२३.९ बिलियन डलर

    तीन महिनामा एप्पलले कमायो १२३.९ बिलियन डलर

    काठमाडौं । एप्पल कम्पनीको बिक्री बढेको छ । अक्टोबर र डिसेम्बरको बीचमा एप्पलको बिक्री ११ प्रतिशतले बढेको हो ।

    माइक्रोचिपको विश्वव्यापी अभाव भए पनि क्रिसमसको समयमा बिक्री बढेको अनुमान गरिएको छ । अमेरिकी सञ्चार माध्यमका अनुसार गएको तीन महिनामा मात्रै १२३.९ बिलियन कमाई गरेको छ ।

    बजार बन्द भएपछि कम्पनीको शेयर मूल्य चार प्रतिशतले उकालो लागेकोले कम्पनीले प्राप्त गरेको वृद्धिलाई निरन्तरता दिने बताइएको छ ।

    कोरोना महामारीका बेला मानिसहरूले अनलाइनमा बढी समय बिताएको कारण एप्पलको बिक्री बढेको हो ।

    विज्ञहरूले गत वर्ष चेतावनी दिएका थिए कि माइक्रोचिपको विश्वव्यापी अभावले एप्पलको बिक्रीलाई असर गर्न सक्छ ।

    तर, बिहीबार कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई त्रैमासिक तथ्यांकको बारेमा जानकारी गराएको छ । जुन तथ्यांकले कम्पनी यो संकटबाट जोगिएको देखाउँछ ।

    एप्पलको उत्पादन ‘म्याक’को बिक्री १२ प्रतिशत र ‘आईफोन’को बिक्री ९ प्रतिशतले बढेको छ।

    विज्ञहरूले आइप्याडको बिक्री सबैभन्दा बढी प्रभावित हुने र यही उत्पादनको मात्रै बिक्री १४ प्रतिशतले घटेको अनुमान गरेका थिए ।

    यो अवधिमा कम्पनीले आईफोन १३ बाट ७१ अर्ब ६० करोड डलर राजस्व पाएको छ।

    कम्पनीको सेवा युनिटहरु एप्पल पे, एप स्टोर र टिभी स्ट्रिमिङ सर्भिसतर्फको राजस्व समेत २३ प्रतिशतले बढेको छ।

    आईप्याडको बिक्री भने १४ प्रतिशतले घटेको छ। चीनमा एप्पलको बिक्री २० प्रतिशतले बढेको पाइएको छ। एप्पलले जनाएअनुसार नाफा २० प्रतिशतले बढेर ३४ अर्ब ६० करोड डलर पुगेको छ।

    कम्पनीका १ अर्ब ८० करोड सक्रिय डिभाइसहरु बजारमा रहेका छन्।

  • अमेरिकामा चार दशकयताकै उच्च आर्थिक वृद्धि

    अमेरिकामा चार दशकयताकै उच्च आर्थिक वृद्धि

    न्युयोर्क । अमेरिकी अर्थव्यवस्थामा पछिल्लो चार दशक यताकै उच्च आर्थिक वृद्धिदर देखिएको छ । कोरोना भाइरसको महामारीपछि अर्थतन्त्र चलायमान भए सङ्गै आर्थिक वृद्धिदरमा उछाल देखिएको हो । सन् २०२० मा अत्यधिक लकडाउन र प्रतिवन्धले प्रभावित भएको अर्थतन्त्रले सन् २०२१ मा तीब्रता लिएको हो ।

    अमेरिकी वाणिज्य विभागले सार्वजनिक गरेको  आधिकारिक आंकडा अनुसार अर्थव्यवस्थामा ५.७ प्रतिशतको वृद्धिदर आएको छ । यो सन् १९८४ यताकै सबैभन्दा राम्रो वृद्धिदर हो । तर, २०२२ मा भने आर्थिक वृद्धिदरमा कमि आउने अनुमान गरिएको छ । सरकारले प्रोत्साहन प्याकेजमा गत साल गरेको खर्चमा व्यापक कटौती गरेको छ । साथै ब्याजदरमा समेत भएको वृद्धिको असर अर्थतन्त्रमा पर्ने छ । साथै, अमेरिकी अर्थव्यवस्थामा  महङ्गी र कोरोनाको थप जोखिमले समेत चुनौती थप्ने छ ।  विश्व बैंकले गरेको अनुमान अनुसार सन २०२२ मा  अमेरिकी अर्थव्यवस्था ३.७ प्रतिशतले बढ्ने छ । 

  • झिनो अंकले बढेर नेपाली शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’

    झिनो अंकले बढेर नेपाली शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’

    काठमाडौं । झिनो अंकले बढेर शेयर बजारको ओरालो यात्रा रोकिएको छ ।

    आइतबारदेखि ओरालो लागेको बजार ४ दिनमा नेप्से १४५ अंकले घटिसकेको थियो । आज सूचक झिनो अंकले बढेपनि कारोबार रकममा पनि ठूलो गिरावट आएको छ ।

    साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ३.२९अंकले बढेर २७७९.९३ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २३४ कम्पनीको ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँ बराबरको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर किनबेच भएका छन् ।

    बुधवार तुलनामा कारोबार रकममा गिरावट आएको छ । त्यसदिन ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँको कारोबार भएको थियो ।

    सामान्य अंकले घटेको बजारमा बैंकिङ ४, विकास बैंक २१, होटल तथा पर्यटन २१, जीवन बीमाको उपसमूह १ अंकले घटेको छ ।

    निर्जीवन बीमा १३२, उत्पादन समूह २५, जलविद्युत ५ अंकले बढेको छ । फाइनान्स १४, लगानी समूह ०.४८, माइक्रोफाइनान्स ५ अंकले बढेको छ ।

    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ ।

    यी दुबै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, सीईडीबी हाइड्रोपावर ८.७२, अजोड इन्स्योरेन्स ७.२८, एनआरएन इन्फ्रस्ट्रक्चर ७.१६, पोखरा फाइनान्स ५.२०, नेशनल माइक्रोफाइनान्स ५.०२ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    सिटिजन्स म्युचुअल फण्ड २, नबिल ब्यालेन्स फण्ड ३, मानुषी लघुवित्त र शिखर इन्स्योरेन्सको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज २० करोड बढीको कारोबार भएको छ । नेपाल टेलिकम र अपी पावरको ११ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहेका छन् ।

    त्यस्तै, सप्तकोशी डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

  • उखुको मूल्य बढेसँगै उद्योगीले बढाए चिनीको मूल्य प्रतिकिलो १६ रुपैयाँसम्म

    उखुको मूल्य बढेसँगै उद्योगीले बढाए चिनीको मूल्य प्रतिकिलो १६ रुपैयाँसम्म

    काठमाडौं । चिनी उद्योगीहरुले चिनीको मूल्य बढाएका छन् । उद्योगीहरुले उखुको मूल्य बढेको भन्दै चिनीको मूल्य प्रतिकेजी ८ देखि १६ रुपैयाँसम्म वृद्धि गरेका हुन् ।

    उद्योगीले चिनीको मूल्य प्रतिकिलो ८२ रुपैयाँदेखि ९० रुपैयाँसम्म मूल्य तोकेका हुन् । यसअघि उद्योगीहरुले प्रतिकिलो ७२ देखि ७६ रुपैयाँसम्ममा चिनी दिँदै आएका थिए ।

    उद्योगमै चिनीको मूल्य बढेसँगै अब खुद्रा बजारमा प्रतिकिलो १०० माथि पर्ने व्यापारीहरु बताउँछन् । यसअघि नै खुद्रा व्यपारीहरुले प्रतिकिलो ९५ रुपैयाँसम्ममा चिनी बेच्दै आएका थिए ।

    सरकारले यो वर्ष उखुको मूल्य प्रतिक्वीन्टल ५५ रुपैयाँ बढाएर ५९९ रुपैयाँ पुर्याइएको छ । गत वर्ष उखु क्विन्टलको ५४४ रुपैयाँ ३३ पैसा रहेको थियो ।

    उखुको मूल्य बढेसँगै लागत पनि बढेको भन्दै चिनी उद्योगीहरुले मूल्य बढाएका हुन् । उखुको मूलय बढ्दा प्रतिकेजी लागत ५ रुपैयाँ बढेको उद्योगीको भनाइ छ । एक क्वीन्टल उखुबाट ९ किलो चिनी बन्छ ।

  • नेपालका सबै भन्सार कार्यालयमा शुरु भयो विद्युतीय भुक्तानी प्रणाली

    नेपालका सबै भन्सार कार्यालयमा शुरु भयो विद्युतीय भुक्तानी प्रणाली

    काठमाडौं । नेपालका सबैभ भन्सार कार्यालयमा विद्युतीय भुक्तानी प्रंणालीको शुरुवात भएको छ । भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बुधबार शुरूवात गरे । ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक समारोहकाबीच उनले सो प्रणालीको शुभारम्भ गरेका हुन् ।


    इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाईन मार्फत् नै तिर्न सक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे । योसँगै ‘नयाँ युग’को सुरुवात भएको अर्थमन्त्रीले प्रतिक्रिया दिए ।

    ‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’, उनले भने, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’ त्यस्तै उनले भन्सार विन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए ।

    उनले भन्सारको निरन्तर सुधार अन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए । मन्त्री शर्माले भेइकल स्क्यानर मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गरे । ‘हामीले इपेमेन्टको सुरुवात गरेका छौँ ।

    छिट्टै नै हामी प्रमुख भन्सारहरूमा स्क्यानरको पनि सुरुवात गर्नेछौँ’, उनले भने, ‘कुन माल वस्तु आयो भनेर छुट्याउने कुरा मात्र होइन राष्ट्रिय सुरक्षाका लागि त्यो महत्वपूर्ण साधन हुनेछ ।’ सबै वस्तु आवश्यक पर्ने मात्र नआउने बताउँदै उनले नेपाल र छिमेकी राष्ट्रहरूको सुरक्षामा खतरा हुन सक्ने वस्तुको निगरानीका लागि पनि स्क्यानर महत्वपूर्ण हुने उल्लेख गरे ।

    उनले भन्सार विन्दुहरूमा निजी क्षेत्रले माग गरेबमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । त्यसका लागि सरकार कामलाई अगाडि बढाउन प्रतिवद्ध रहेको उनले उल्लेख गरे । साथै निजी क्षेत्रसँगको सहकार्यको निरन्तरता तथा निजी क्षेत्रको सुझावहरू सकारले नीति निर्माणमा मार्गदर्शनका रूपमा लिने पनि विश्वास दिलाए ।

    पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्य वृद्धिको श्रृङ्खलाका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको जानकारी गराउँदै अर्थतन्त्र धराशायी नभएको बताए । कतिपयले निजी क्षेत्र तथा आम सर्वसाधारणलाई त्रसित बनाउने गरी प्रचार गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यस्ता भ्रमलाई सरकारले नतिजाबाट चिरफार गर्ने बताए ।

    समारोहमा अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने उल्लेख गर्नुहुँदै त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवम् तालिमको व्यवस्था हुनुपर्नेमा जोड दिए। त्यस्तै भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने भन्दै यस्ता सुधारमा निजी क्षेत्रको सहयोगको खाँचो समेत बताए ।

    निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्याङ्कन सुधार गर्नुपर्ने माग गरे । परम्परागत प्रणालीबाट नै मूल्याङ्कन भइरहेकाले सही मूल्य निर्धारण नहुँदा अर्थतन्त्रमा नै असर परिरहेको उनले जिकीर गरे ।

  • ग्राहकको आफ्नै खाताबाट २ लाखसम्म पैसा निकाल्न राष्ट्रिय वाणिज्य बैंकमा चेक वा एटीएम नचाहिने

    ग्राहकको आफ्नै खाताबाट २ लाखसम्म पैसा निकाल्न राष्ट्रिय वाणिज्य बैंकमा चेक वा एटीएम नचाहिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा ग्राहकले आफ्नो खाताबाट २ लाख रुपैयाँसम्म रकम निकाल्न चेक वा एटीएम नचाहिने भएको छ । यो बैंकका ग्राहकले २ लाख रुपैयाँसम्म निकाल्न क्यूआरमार्फत नगद भुक्तानी दिने व्यवस्था मिलाएको हो । बैंकले ५७औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्न यो सुविधा शुरु गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले बताए ।

    बैंकले मोवाइल बैंकिङ्ग सुबिधा लिइएका ग्राहकहरुले आफ्नो मोवाइलबाट बैंक काउण्टरमा उपलब्ध क्यूआर स्क्यान गरी दुई लाख रुपैंयासम्मको नगद भुक्तानी लिन सक्नेछन् । यो सुविधा सबै शाखा कार्यालयहरुको काउण्टरमा उपलब्ध हुने बैंकले जनाएको छ । योसँगै अब सिमित कारोबरको लागि बैंकमा चेक बोकेर जानु पर्दैन । बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोवाइल बैंकिङ्गको कार्य गर्न सक्ने गरी अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा सेवाको गत माघ १० गतेबाटै शुभारम्भ गरेको छ । हाल देशभर बैंकको २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिंङ्ग सेवा संचालनमा छन् ।

  • अख्तियारद्धारा चर्चित उद्योगीदेखि खानी विभागका महानिर्देशकमाथि सवा अर्ब बराबरको भ्रष्टाचार मुद्दा दायर

    अख्तियारद्धारा चर्चित उद्योगीदेखि खानी विभागका महानिर्देशकमाथि सवा अर्ब बराबरको भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार भएको ठहर गर्दै चर्चित उद्योगीदेखि खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसम्मलाई विपक्षी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभागका उपमहानिर्देशक जयराज घिमिरे, ९ जना व्यापारीसहित १८ व्यक्ति तथा ९ कम्पनी विरुद्ध १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ विगो कायम गरि विशेष अदालतमा मुद्दा दायर भएको हो ।

    अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार गैरकानुनी र तोकिएको भन्दा बढी चुनढुंगा उत्खनन् तथा दोहन गरेको आरोपमा ९ वटा सिमेन्ट उद्योगका सञ्चालक र ९ जना कर्मचारी तथा ९ वटा कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । खानीका कर्मचारीसँग मिलेर व्यापारीले तोकिएको भन्दा बढी खानीजन्य पदार्थ उत्खनन् गरेको अभियोग लागेको छ । छानबिनबाट प्राप्त रिपोर्टका आधारमा व्यापारीमाथि कारबाही गर्न पनि खानीका कर्मचारीले पनि बदनियत गरेको पाइएका छ ।

    अख्तियारका अनुसार विभागका महानिर्देशक घिमिरे र उपमहानिर्देशक घिमिरे, उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजन मेकानिकल इन्जिनियर प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र भूगर्भविद् सौनक भण्डारीलाई प्रतिवादी बनाइएको छ ।

    सर्वोत्तम सिमेन्ट लिमिटेड, सिद्दार्थ निरल्स प्राली, मारुती सिमेन्ट, अन्नपूर्ण क्वेरिज प्राली, उदयपुर मिनरल्स टेक प्रालि, युनाइटेड सिमेन्ट प्रालि, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, कञ्चन क्वेरिज प्राली र डोलोमाइट चुनढुंगा उद्योग प्राली र त्यसका सञ्चालक विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

    अनुसन्धानबाट ९ वटा कम्पनीहरुबाट वार्षिक प्रति आर्थिक वर्ष १, १ लाख रूपैयाँका दरले मात्रै जरिवाना लिने निर्णय नै बदनियतपूर्ण रहेको अख्तियारले उल्लेख गरेको छ । अख्तियारले सर्वोत्तमका सञ्चालकविरुद्ध १६ करोड ३१ लाख ८१ हजार ६ सय १६ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

    सिद्दार्थ मिनरल्सका सञ्चालक पशुपति मुरारका विरुद्ध ४९ करोड ४५ लाख ५१ हजार ६ सय ४५, मारुतीका सञ्चालक सरद गोयल विरुद्ध २० करोड ५० लाख ६५ हजार ५ सय ७५ रुपैयाँ, अन्नपूर्णका सञ्चालक ऋषि अग्रवाल विरुद्ध ११ करोड १७ लाख २५ हजार ७ सय ५७, उदयपुरका प्रवलजंग पाण्डे विरुद्ध १ करोड ७९ लाख ७१ हजार ७ सय ७६ रुपैयाँ, युनाइटेडका नरेश दुगड विरुद्ध ९ करोड ६९ लाख ४० हजार ५ सय, सोनापुरका निपेश तायल विरुद्ध ६ करोड ९८ लाख ९९ हजार ४ सय १५, कञ्चन क्वेरिजका भीमबहादुर थापा क्षेत्री विरुद्ध ३ करोड ८ लाख ६९ हजार १ सय ५९ र डोलोमाइटका मानबहादुर श्रेष्ठ विरुद्ध ५ करोड ४३ लाख २१ हजार २ सय बिगो मागदावी गरेको छ ।

    खानी तथा भूगर्भ विभागबाट २०७६ जेठ १४ मा तत्कालीन उपमहानिर्देशक (हाल महानिर्देशक) राम प्रसाद घिमिरेको नेतृत्वमा गठित ३ सदस्यीय समिति (पहिलो) ले विभिन्न ९ वटा सिमेन्ट उद्योगहरुले खानी दोहन गरी उत्खनन अनुमतिपत्रमा तोकिएको निर्धारित परिमाण भन्दा बढी चुनढुंगा निकालेको उल्लेख गरी मिति असार ३१ मा प्रतिवेदन पेस गरेको थियो । प्रतिवेदनमा १ अर्ब २६ करोड १९ लाख ४८­­­ हजार क्षतिपूर्ति (राजस्व) उठाउनु पर्ने गरी कारबाहीको सिफारिस गरेकोमा सिमेन्ट, चुनढुंगा कम्पनीहरुबाट लिनु पर्ने क्षतिपूर्ति नलिई मिति २०७७ जेठ १५ मा जयराज घिमिरेको संयोजकत्वमा गठित समिति (दोस्रो) को प्रतिवेदन बमोजिम जम्मा १८ लाख मात्र जरिवाना लिएपछि अख्तियारमा त्यस विरुद्ध उजुरी परेको थियो ।

    अख्तियारले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे नेतृत्वको समितिको सिफारिस बमोजिम लिनुपर्ने क्षतिपूर्ति (राजस्व) नभराई बदनियतपूर्वक दोश्रो समिति गठन गरी सरकारलाई राजस्व हानि नोक्सानी पुर्‍याएको ठहर गरेको हो । यसरी विभागीय निर्णय गरी क्षतिपूर्ति (राजस्व) उठाउने कानूनी कर्तव्यबाट विमुख भई सामान्य जरिवाना मात्र लिई नेपाल सरकारलाई बिगो १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैया राजस्व नोक्सान पुर्‍याएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

  • रोकिएन नेपाली शेयर बजारको आरोलो यात्रा, ४ दिनमै १४३ अंकको गिरावट

    रोकिएन नेपाली शेयर बजारको आरोलो यात्रा, ४ दिनमै १४३ अंकको गिरावट

    काठमाडौं । शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ ।

    आइतबारदेखि ओरालो लागेको बजारले आज पनि सोही यात्रा जारी राखेको हो । यससाताको ४ दिनमा नेप्से १४३ अंकले घटिसकेको छ ।

    साताको कारोबारको चौथोदिन शेयर बजार मापक सूचक (नेप्से) ३८.४५ अंकले घटेर २७७६.६१ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३३ कम्पनीको ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँ बराबरको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर किनबेच भएका छन् ।

    मंगलवार तुलनामा कारोबार रकममा गिरावट आएको छ । त्यसदिन ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा समूहको परिसूचक राताम्मे भएका छन् । दोहोरो अंकले घटेको बजारमा बैंकिङ २२, होटल तथा पर्यटन १५, अन्य उपसमूह २४ अंकले घटेको छ ।

    निर्जीवन बीमा १४६, उत्पादन समूह ५४, जलविद्युत ५२ अंकले घटेको छ । विकास बैंक ८४, फाइनान्स ५९, लगानी समूह १, माइक्रोफाइनान्स ६३ अंकले र जीवन बीमा समूह २९८ अंकले घटेको छ ।

    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ ।

    यी दुबै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज २६ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।

    त्यस्तै, पोखरा फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । सेन्टर फाइनान्स र मानुषी लघुवित्तका शेयरधनीले ४ प्रतिशत गुमाएका छन् ।

    त्यसैगरी, सानीम इक्वीटी फण्ड, घलेम्ली हाइड्रोपावर, एशियन लाइफ इन्स्योरेन्स, एनआइबीएल समृद्धि फण्ड २, वरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, हिमालयन पावर, खानी खोला, कुमारी बैंकको डिबेञ्चर र हिमालयन ऊर्जा कम्पनीको शेयर मूल्य ३ प्रतिशभन्दा धेरैले घटेको छ ।

  • पशुपति धर्मशाला चलाउन बतास समूहसँग भएको सम्झौता सरकारले गर्यो रद्द

    पशुपति धर्मशाला चलाउन बतास समूहसँग भएको सम्झौता सरकारले गर्यो रद्द

    काठमाडौं । सरकारले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले यस्तो जानकारी गराएका हुन् । आलेका अनुसार बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको हो । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको मन्त्री आलेले जानकारी गराए । छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेको उनको भनाई छ । अब धर्मशाला बसात समूहले सञ्चालन गर्दैन । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको भन्दै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो । पशुपति विकास कोष र बतास समूहअन्तर्गतको होटल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको थियो । कोषले निर्माण गरेको संरचनामा बतास समूहले महङ्गो मूल्य लिँदै होटलका रूपमा धर्मशाला सञ्चालन गरेको गुनासोपछि सरकारले हस्तक्षेप गरेको हो ।

  • राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिँदै

    राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिँदै

    काठमाडौं । आज राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक हुँदैछ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्न कार्यक्रम राखेको छ । जनगणना कात्तिक २५ बाट मंसिर ५ सम्म चलेको थियो । तीन महिना भित्र जनगणनाको प्रारम्भिक र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना अनुसार आज प्रारम्भिक नतिजा आउन लागेको छ ।

    जनगणनाका सबै विवरण भने आगामी दुई वर्ष भित्र सार्वजनिक हुनेछन् । नेपालमा जनसंख्याको वृद्धिदर तुलनात्मक रुपमा घटेको पाइएको छ । सोही अनुसार नतिजा आउने अपेक्षा गरिएको छ । प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको जनसंख्या सार्वजनिक गरिने भएको छ । प्रारम्भिक नतिजामा लिंगको आधारमा महिला र पुरुषको मात्र संख्या सार्वजनिक गरिनेछ । अन्य लैंगिक र यौनिक पहिचान भएकाहरुको विवरण भने पछि सार्वजनिक हुनेछ ।

  • क्रिप्टोकरेन्सीको कारोबारमा ३७ करोड ६४ विगो दाविसहित एक परिवारमाथि मुद्दा दायर

    क्रिप्टोकरेन्सीको कारोबारमा ३७ करोड ६४ विगो दाविसहित एक परिवारमाथि मुद्दा दायर

    काठमाडौं । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको अभियोगमा ३७ करोड ६४ विगो दाविसहित एक परिवारमाथि मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार परिवार नै मिलेर अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको पाइएको दावि गरिएको छ । कैलाली लम्कीचुवा–१० स्थायी घर भई हाल काठमाडौँको कालोपुलमा बस्ने दिनेश खड्काले दिदी भगवती, बुबा नरबहादुर खड्का र केटी साथी अनिता धितालसमेत मिलेर अवैध कारोबार गरेको र विद्युतीय माध्यमबाट पैसा नेपाल भित्र्याएको पाइएको उल्लेख गरिएको छ ।

    उनीहरुले सामूहिक रूपमा मिलेमतो गरी इ–स्क्रेल र निवांश प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कारोबार गरेको पाइएको विभागले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । विभिन्न मितिमा सामान्य व्यक्तिको बैंक खातामा अस्वाभाविक रूपमा पैसा भित्रिएपछि नेपाल राष्ट्र बैंकले सूक्ष्मरूपमा अनुसन्धान गरेको थियो ।

    विवरणअनुसार दिनेशको नाममा रहेको ग्लोबल आइएमई बैंकको खातामा नौ करोड ७९ लाख ९८ हजार ५८१, अनिता धितालको नाममा रहेको लक्ष्मी बैंकको खातामा पाँच करोड ७७ लाख छ हजार ८२६, भगवती खड्काको नाममा रहेको एनआइसी एशिया बैंकमा २० करोड ४२ लाख ९४ हजार ५२६ र नरबहादुर खड्काको नाममा रहेको ग्लोबल आइएमबई बैंकको खातामा एक करोड ६४ लाख ११ हजार १०० बराबरको रकम भित्रिएको पाइएको छ ।

    केन्द्रीय बैंकको सूचनाअनुसार प्रति अमेरिकी डलरको १२० रुपैयाँ ३४ पैसाको हिसाबले हुन आउने ३७ करोड ६४ लाख ११ हजार १०० बराबरको बिगो कायम गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । विभागकाअनुसार आरोपी खड्कालाई बिगो जफत गरी तीन वर्ष बराबरको कैद सजायको माग गरिएको विभागले जनाएको छ ।

  • नेपालमा मल कारखाना खोल्न उद्योगीहरुसँग प्रधानमन्त्रीको आग्रह

    नेपालमा मल कारखाना खोल्न उद्योगीहरुसँग प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालमा मल कारखाना खोल्न उद्योगीहरुसँग आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँग भेट्दै प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन् ।
    उनले उद्योगी, व्यवसायीहरुले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताए । प्रधानमन्त्री देउवाले भने,’ कतिपय सरकारलाई प्रायोरेटिजहरु हुन्छन्, जस्तो अहिले कुरा आएको छ, फर्टिलाइजर प्रायोरेटीको कुरा भएन, पाइएकै छैन के गर्नु ? यहाँ त्यो उद्योग खोल्नुस् । यस्ता कति कुराहरुमा सहयोग गर्नुपर्ने उद्योग खोल्नुपर्ने कुरा छ । त्यसैले तपाईंहरुलाई त्यो सहयोग दिन हामी तयार छौँ ।’

    प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न संकटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकहरुलाई सहयोग गरेकोमा सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे । ‘अफगानिस्तानमा अत्यन्तै खाद्य संकट छ । त्यसमा यूएनएसमेतले अफगानीहरु भोकै मर्न थाले मानवीय सहायता सहयोग चाहियो भनेर सहयोग माग्दा नेपालका सबै उद्योगपति सबैले मानवीय संकटमा खाद्यान्न पुर्‍याउने जस्तो कुरामा मद्दत गर्नुभयो, सबैलाई हार्दिक धन्यवाद’ उनले भने ।

    प्रधानमन्त्री देउवाले अहिले देश कोरोना भाइरसबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताए । उनले कोरोनाबिरुद्धको खोप सरकारको पहिलो प्राथमिकता भएकोले सबैले लगाएर कोरोनाबाट सुरक्षित हुन पनि आग्रह गरेका छन् ।

  • भ्रष्टाचार नियन्त्रणमा नेपाल असफल, विश्व सूचकांकको ११७ औँ स्थानमा

    भ्रष्टाचार नियन्त्रणमा नेपाल असफल, विश्व सूचकांकको ११७ औँ स्थानमा

    काठमाडौं । नेपालमा भ्रष्टाचार नियन्त्रण असफल तथ्यांक सार्वजनिक भएको छ ।

    भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल देखिएको हो ।

    ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपाल गत वर्षकै स्थानमा रहेको छ ।

    भ्रष्टाचार बढी हुने मुलुकहरुको सूचीमा नेपाल ११७ औँ स्थानमा परेको छ। नेपाललाई १०० अंकमा ३३ अंक दिइएको छ। गत वर्ष पनि यो सूचीमा नेपालको अंक ३३ (११७ औं स्थान) नै रहेको थियो।

    १ सय ८० वटा देश समेटिएको उक्त प्रतिवेदनले विश्वभर भ्रष्टाचार नियन्त्रणका लागि एकदमै न्यूनस्तरमा कदम चाल्ने गरिएको भन्दै चिन्ता जनाएको छ। यस्तै, नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको छ।

    राजनीति, न्यायमा पहुँच, वित्तीय अनुशासनसहित ६ वटा मापदण्डमा गरिएका अनुसन्धानका आधारमा प्राप्त अंकहरूको औसत निकालेर उक्त सूचकांक तयार पारिने जननाइको छ।

    सीपीआई २०२१ मा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान ६८ अंक प्राप्त गरी २५औं स्थान, मालदिभ्स ४० अंक प्राप्त गरी ८५ औं स्थान, भारत ४० अंक प्राप्त गरी ८५ औं स्थान, श्रीलंका ३७ अंक प्राप्त गरी १०२ औं स्थान, नेपाल ३३ अंक प्राप्त गरी ११७ औं स्थान, पाकिस्तान २८ अंक प्राप्त गरी १४० औं स्थान स्थानमा छ ।

    बङ्गलादेश २६ अंक प्राप्त गरी १४७ औं स्थान र अफगानिस्तान १६ अंक प्राप्त गरी १७४ औं स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ४५ अंक प्राप्त गरी ६६ औं स्थानमा रहेको छ । नेपालको स्थिति दक्षिण एसियाली मुलुकहरूमा भुटान, माल्दिभ्स, भारत र श्रीलंकापछिको पाँचौं स्थानमा छ ।

    डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड कुल १०० मा ८८ अंकका साथसबैभन्दा कम भ्रष्टाचार हुने मुलुकहरुमा परेका छन्।

  • नेपाली शेयर बजारको ओरालो यात्रा कायमै

    नेपाली शेयर बजारको ओरालो यात्रा कायमै

    काठमाडौं । शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ ।

    साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ५.९२ अंकले घटेर २८१४.७४ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँ बराबरको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर किनबेच भएका छन् ।

    सोमबार तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । त्यसदिन ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये १२ वटाको राताम्मे भएका छन् । भने १ वटा हरियो भएको छ । सामान्य अंकले घटेको बजारमा बैंकिङ ४ , होटल तथा पर्यटन ४, अन्य उपसमूह ९ अंकले घटेको छ ।

    निर्जीवन बीमा २२, उत्पादन समूह १३, जलविद्युत १० अंकले घटेको छ । विकास बैंक २०, फाइनान्स ६, लगानी समूह ०.३७ र माइक्रोफाइनान्स १६ अंकले घटेको छ । जीवन बीमा समूह ६३ अंकले बढेको छ ।

    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ ।

    यी दुबै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज २६ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।

    अपी पावरको २२ करोडको कारोबार र एनआइसी एशिया बैकको १९ करोडको कारोबार भएको छ । त्यस्तै, कृषि विकास बैकको डिभेञ्चरसंगै गोर्खाज फाइनान्सको पनि शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

    कृषि विकास बैकको डिभेञ्चर ८ प्रतिशतले घटेको छ भने गोर्खाज फाइनान्सकको शेयरमूल्य ४ प्रतिशतले घटेको छ ।

    त्यसैगरी, चन्द्रागिरि हिल्स, मिर्मिरे माइक्रोफाइनान्स, शिव श्री हाइड्रोपावर, उन्नति सहकार्य लघुवित्त, श्री इन्भेष्टमेन्ट, आरम्भ चौतारी लघुवित्त, मेरो माइक्रो फाइनान्स, साहज ऊर्जाको शेयर मूल्य २ प्रतिशतले घटेको छ ।

  • सिद्धबाबामा आगामी महिनाबाट सुरुङ निर्माण थालिने

    सिद्धबाबामा आगामी महिनाबाट सुरुङ निर्माण थालिने

    काठमाडौं । नेपालको सबैभन्दा बढी जोखिमयुक्त सडक मध्ये एक सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा क्षेत्रमा आगामी महिनाबाट सुरुङ निर्माणको काम थालिने भएको छ । यो नेपालको दोस्रो सुरुङमार्ग हुने छ । पहिलो सुरुङमार्ग नागढुंगामा बनिरहेको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको हो ।

    राससका अनुसार वर्षेनी पहिरोका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउन सुरुङ निर्माण गर्न लागिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी (सिनीयर डिभिजनल इञ्जिनीयर) सौरभ बज्राचार्यले बताएका छन् । ठेक्का प्रक्रियामा रहेकामा ‘फाइनान्सिल ओपनिङ’ बाँकी आगामी माघ २० गते हुने बताइएको छ । त्यो खुलेपछि बोलपत्र कम हाल्नेलाई सम्झौताका लागि बोलाइने र स्वीकृत गरेपछि एक महिना समय दिनुपर्छ ।

    प्रक्रिया सबै टुङ्गाएर ठेक्कामा नै जान फागुन अन्तिमसम्म लाग्ने उनको भनाई छ । नेपालमा पहिलो पटक बन्न लागेको ‘रकसेड’ ले पहिरोको व्यवस्थापन गरी क्षति कम गराउने अपेक्षा गरिएको छ । सुरुङ दुई लेनको हुनेछ । यहाँ चल्ने गाडीमध्ये पनि मुख्य सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताको सवारीसाधनलाई ‘रकसेड’ बाट पठाउने गरी योजना बनाइएको छ ।

    ठेला गाडा, साना टेम्पो कम लोडको रकसेडबाट पठाइने र अरु अधिकांश सवारीसाधन सुरुङबाटै जानेछन् । निर्माण हुन लागेका संरचनामध्ये सुरुङको लम्बाइ एक हजार १२६ मिटर र बाटोको लम्बाइ जम्मा दुई दशमलव पाँच किमी हुन्छ । सरकारले यसका लागि १० अर्ब बजेट सुनिश्चित गरिसकेको छ । सरकारको आफ्नै लगानीमा निर्माण हुन लागेको सो सुरुङले खासगरी सिद्धार्थ राजमार्गले समेट्ने गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङलगायत दर्जन बढी जिल्लावासीलाई सुविधा पुग्नेछ ।