Category: अर्थतन्त्र

  • अर्थमन्त्रीले गैरआवासीय नेपालीलाई भने : नेपालमा डलर खाता खोल्नुहोस

    अर्थमन्त्रीले गैरआवासीय नेपालीलाई भने : नेपालमा डलर खाता खोल्नुहोस

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसारभर बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोल्न आह्वान गरेका छन् । यसले नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुने समेत उनको भनाई छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा सोमबार आयोजित एक वेबिनारमा अर्थमन्त्री शर्माले एनआरएनले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताए ।

    “तपाईँहरूले थोरै सेवा गर्दिनोस्, मेवा पनि प्राप्त हुन्छ, तपाईँहरूलाई पनि फाइदा पुग्ने छ ।” अर्थमन्त्री शर्माले सरकारले वैदेशिक लगानीको वातावरण सहज बनाइरहेको बताए । नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्न वर्षेनी अर्बौँ डलर लगानी आवश्यक पर्ने र त्यसका लागि लगानीकर्तालाई सेवा सुविधा दिनुपर्ने अवश्यकता रहेको उनको भनाई छ ।

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छोटो समयमै यो नियम ल्याइएको बताए । उनले यसअघि रहेको १० हजार डलरलाई घटाएर पाँच हजार डलर पु¥याएको, दुई वर्षलाई घटाएर एक वर्ष गरेको, केही बैंकहरूले विदेशी मुद्रामा खाता खोल्न सुरु गरिसकेको र यो प्रावधान विदेशमा हुर्किरहेकाले दोस्रो पुस्तलाई नेपालसँग जोड्ने माध्यम बन्ने आशा पनि व्यक्त गरे । अर्थसचिव मधु मरासिनीले यसभन्दा पहिला पनि डलरमा खाता खोल्न पाइन्थ्यो, तर यसपटक सरकारले त्यसलाई सहजीकरण गरेको बताए ।

    “तपाईँ जहाँ हुनुहुन्छ त्यहीँबाट खाता खोल्न पाइन्छ, फिर्ता लग्न पनि पाइन्छ, पैसासँगै भावना र माया पनि जोडिन्छ । तपाईँहरूले आर्जन गरेको ज्ञान, सीप, क्षमता मातृभूमिको हितमा लगाउन पनि वातावरण निर्माण गर्छ भन्ने हाम्रो अपेक्षा छ । यसरी जम्मा भएको रकमले नेपालमै रोजगारी सिर्जना गर्न मद्दत पुग्ने, स्वदेशी उत्पादनका लागि लगानी बढाउन उपयोग गर्ने हाम्रो ध्येय छ । देशलाई माया गर्दा बचत सुरक्षित हुने भएकाले व्यापक सहभागिताका लागि अनुरोध गरे ।


    गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले नेपाल सरकारले ल्याएको नयाँ सुविधाका लागि सरकारलाई धन्यवाद दिँदै यसले संसारभरका नेपालीलाई नेपालमा खाता खोलेर आफूसँग रहेको बचत नेपाल भित्र्याउन सहज हुने विश्वास व्यक्त गरे ।

  • जोखिम हेरेर आवश्यक परे सीडीओले लकडाउन घोषणा गर्न सक्ने

    जोखिम हेरेर आवश्यक परे सीडीओले लकडाउन घोषणा गर्न सक्ने

    काठमाडौं । नेपालमा कोरोना भाइरसको बढ्दो संक्रमणका बीच सरकारले पुनः स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गरेको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न ‘लकडाउन’ लगायत सबै किसिमका प्रतिकार्य योजना लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको हो । सम्बन्धित जिल्लाको संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गरेर स्थान विशेष आधारमा ‘लकडाउन’ र ‘निषेधाज्ञा’ लगायत प्रतिकार्य योजना लागू गर्ने जिम्मा प्रजिअको नेतृत्वमा रहेका जिल्लास्थित संयन्त्रलाई दिइएको छ ।

    कोभिड संक्रमणको स्थानीय अवस्था हेरी जोखिम नियन्त्रण गर्न एकीकृत कोभिड रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना ०७८ र स्मार्ट लकडाउन कार्यविधि ०७८ को कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीले पहल गर्ने निर्णय गृह मन्त्रालयले गरेको हो । कार्यविधिअनुसार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसी) र जिल्ला सुरक्षा समितिमार्फत आवश्यक कदम चाल्न सक्नेछन् । दुवै संयन्त्रको प्रमुख प्रजिअ रहने व्यवस्था छ ।

  • नारायणहिटीमा बतासको क्याफेबारे छानविन समितिको निष्कर्ष के आयो ?

    नारायणहिटीमा बतासको क्याफेबारे छानविन समितिको निष्कर्ष के आयो ?

    काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा क्याफे खोल्न दिइएको अनुमतिका सम्बन्धमा सरकारले गठन गरेको छानविन समितिले प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई बुझाएको छ । चमेनागृह सञ्चालन गर्न गरिएको ठेक्का प्रक्रियाबारे छानबिन गर्न बनेको मन्त्री आलेले तीन दिन अगाडी समिति गठन गरेका थिए ।

    समितिका संयोजक पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सोमबार मन्त्री आलेलाई प्रतिवेदन बुझाए । छानबिन समितिले नारायणहिटी विकास समितिले बी. म्यानेजमेन्ट प्रालिलाई पत्राचार गरी अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न र समितिसँग समन्वय नगरी निर्माण गरेका र सम्झौतामा उल्लेखित क्षेत्रभन्दा बढी क्षेत्रमा निर्माण गरिएका सम्पूर्ण संरचनाहरु हटाउन अनुरोध गरेको उल्लेख गरेको छ ।

    क्याफेटेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन नभएको पनि छानबिन समितिको निष्कर्ष छ । क्यान्टिन, क्याफेटेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थान स्पष्ट सीमाङ्कन नगरी क्यान्टिन र क्याफेटेरिया सञ्चालन गर्न दिएको देखिँदा बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    नारायणहिटी दरबार संग्रहालय प्रवेश गर्ने दक्षिणपट्टिको प्रवेशद्वार नजिक समितिको स्वामित्वमा रहेको जग्गामा समितिसँग पूर्व स्वीकृति र समन्वय नगरी नयाँ संरचनाहरु निर्माण भइरहँदा विकास समितिका कार्यकारी निर्देशकबाट विकास समितिको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण र संबर्द्धनका लागि अनुगमन, निरीक्षण तथा रेखदेख गर्ने जिम्मेवारी पूरा गरेको नदेखिएको पनि समितिले उल्लेख गरेको छ ।

    सम्झौताविपरीत बी म्यानेजमेन्टले नयाँ संचरना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकबाट कुनै पनि कानुनी कारबाही गरेका थिएनन् । क्यान्टिन र क्याफ्टेरिया भाडामा लगाउन निर्धारित दररेट कायम गर्दा तत्कालीन चलन चल्तीको बजार मूल्यलाई समेत आधार मानेको नदेखिँदा कायम भएको दररेटलाई स्वभाविक मान्न नसकिएको प्रतिवेदनमा उल्लेख छ ।

    आधिकारिक निकायबाट नक्सा पास नगरी एवं निर्माण स्वीकृति नलिई र मन्त्रालय एवं विकास समितिको पूर्व स्वीकृति नलिई करिब १४ रोपनी क्षेत्रफल रहेको जग्गामा थप नयाँ संरचनाहरु निर्माण भएको देखिएको पनि समितिको निष्कर्ष छ ।

  • नेपालकै ठूलो चार्जिङ स्टेशन सञ्चालन, एकैपटक १६ वटा गाडी चार्ज गर्न मिल्ने

    नेपालकै ठूलो चार्जिङ स्टेशन सञ्चालन, एकैपटक १६ वटा गाडी चार्ज गर्न मिल्ने

    काठमाडौं । लुम्बिनीमा निर्माण भइरहेको चार्जिङ स्टेनशको परीक्षण सफल भएको छ ।

    चार्जिङ स्टेशन निर्माण मात्रै भएको छैन, सोलारबाट त्यसको लागि आवश्यक विद्युत उत्पादन पनि भएको छ । यी दुवै संरचनाको परीक्षण सफल भएसँगै संचालनमा आएको हो ।

    तयार भएको चार्जिङ स्टेशनमा ठूला बस, कार तथा इलेक्ट्रीक अटो रिक्सा पनि चार्ज गर्ने व्यवस्था गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

    यहाँ लगाइएको सोलार प्लान्टले १५४ किलोवाट विद्युत् उत्पादन गर्ने क्षमता राख्छ । सोलारबाट बिजुली उत्पादन गरेर सञ्चालित विद्युतीय बस चार्जिङ स्टेसन नेपालको सबैभन्दा ठूलो हो ।

    सिस्टम चेकिङ, टेस्टिङ र कमिसनिङ सफल भएसँग चार्जिङ स्टेसन लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको हो । अहिले स्थानीय स्तरमा चलिरहेका इलेक्ट्रीक रिक्सा यहाँ चार्ज गर्न आउन थालेको विकास कोषले जनाएको छ ।

    यहाँ एक पटकमा १६ वटा गाडी चार्जर गर्न मिल्ने बनाइएको छ । यहाँ जडान भएका १६ मध्ये १३ वटा चार्जर ७ किलोवाट क्षमताका छन् । ३ वटा भने फास्ट चार्जर जडान हुन् । यी तीनवटा चार्जरले ८० किलोवाट आवर सपोर्ट गर्ने एउटा साधन, ४० किलोवाट आवर सपोर्ट गर्ने दुईवटा साधन एकैपटक चार्ज गर्न मिल्ने छ ।

    यहाँ एकै पटक ७५ वटा इलेक्ट्रीक रिक्सा चार्ज गर्न मिल्ने प्वाइन्ट बनाइएको छ । त्यस्तै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नौवटा चार्जिङ प्वाइन्ट राखिएको छ । एयरपोर्टमा ८० किलोवाट आवर क्षमता र ४० किलोवाट आवर क्षमताको सवारीसाधनका लागि ८ वटा चार्जर राखिएको छ  ।

    एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत चार्जिङ स्टेसन निर्माण गरिएको हो । यसलाई जापानको इसाका इलेक्ट्रीक कम्पनीले निर्माण गरेको हो ।

  • नेपाली शेयर बजारको उकालो यात्रा कायमै, ७ अर्ब १२ करोडको कारोबार

    नेपाली शेयर बजारको उकालो यात्रा कायमै, ७ अर्ब १२ करोडको कारोबार

    काठमाडौं । साताको कारोबारको दोस्रोदिन शेयर बजार दोहोरो अंकले बढेको छ ।

    कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक(नेप्से) १९.४३ अंकले बढेर २७८४.९५ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३६ कम्पनीको ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँ बराबरको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर किनबेच भएका छन् ।

    सोमबार कारोबार रकममा पनि सुधार आएको छ । आइतबार ७ अर्ब १० करोड १८ लाख बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूह्को परिसूचक राताम्मे भएको छ भने १० समूहको परिसूचकमा हरियाली छाएको छ ।

    अन्य समूह सबैभन्दा धेरै ५.४८ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स समूह पनि ३.३१ प्रतिशतले बढेको छ भने होटल समूह सबैभन्दा धेरै १.१८ प्रतिशतले घटेको छ ।

    दोहोरो अंकले बढेको बजारमा आज तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    मध्य भोटेकोशी जलविद्युत्को शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि करिब १० प्रतिशत कमाएका छन् ।

    त्यसैगरी, खानीखोला ८.२०, हिमालयन ऊर्जा ८.०५, गोर्खा फाइनान्स ७.११, रुरु जलविद्युत् ६.७८, नेशनल लाइफ ६.७२, जोशी हाइड्रोपावर ६.५८, एनएमबी ५० म्युचुअल फण्ड, नेपाल पुनर्बीमा, घलेम्दी हाइड्रोपावर, नेपाल टेलिकम, माउन्टेन इनर्जी र नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य ५ प्रतिशभन्दा धेरैले बढेको छ ।

    गोर्खा फाइनान्स सर्वाधिक कारोबार भएको छ । यसको साढे २२ करोड बढीको शेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकमको साढे २१ करोड र एचआइडीसीएल २१ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

  • माघदेखि लागू हुने गरी बढ्यो ट्याक्सी भाडा, अब चढ्ने बित्तिकै कति तिर्नुपर्छ ?

    माघदेखि लागू हुने गरी बढ्यो ट्याक्सी भाडा, अब चढ्ने बित्तिकै कति तिर्नुपर्छ ?

    काठमाडौं । वाग्मती प्रदेश सरकारले ट्याक्सी भाडा बढाएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले मन्त्री स्तरको निर्णयबाट माघ १ देखि लागू हुने गरी काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशभर ट्याक्सी भाडा बढाएको हो ।

    प्रदेश सरकारको यो निर्णयसँगैै अब काठमाडौं उपत्यकामा ट्याक्सीको न्यूनतम् भाडा ६० रुपैयाँ कायम भएको छ । यात्रुले ट्याक्सी चढेकोे पहिलो एक किलोमिटरसम्मको यात्राको सुरु फ्लाग डाउन ६० रुपैयाँ हुनेछ । त्यसपछि प्रत्येक २०० मिटरको यात्रापछि ९ रुपैयाँ ८० पैसाका दरले भाडा थप हुने परिमार्जित भाडा दरमा उल्लेख छ ।

    उक्त परिमार्जित भाडादर आगामी माघ १ देखि लागू हुने जनाइएको छ । साथै,उक्त निर्णयअनुसार ट्याक्सीहरुले अब पूर्ण रुपमा मिटर प्रयोग गर्नुपर्नेछ । हाल ट्याक्सी सेवा प्रदायकहरु मिटरमा जान नमानेको जनगुनासो आउने गरेको छ ।

  • नेपाली शेयर बजारमा हरियाली, नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

    नेपाली शेयर बजारमा हरियाली, नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

    काठमाडौं । साताको कारोबार पहिलो शेयर बजारमा हरियाली छाएको छ ।

    आइतवारको कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक(नेप्से) ७३.१ अंकले बढेर २७६५.४७ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३८ कम्पनीको ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रुपैयाँ बराबरको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक हरियो भएको छ । उच्च अंकले बढेको बजारमा बैंकिङ ३५ , होटल तथा पर्यटन ५, निर्जीवन बीमा ३७९ माइक्रोफाइनान्स ७०, जलविद्युत १४८ अंकले बढेको छ ।

    विकास बैंक २५७, फाइनान्स ११५, व्यापार १७१ अंक, र अन्य उपसमूह ६२ अंकले उत्पादन समूह ७० अंकले बढेको छ । नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    नेपाल हाइड्रो डेभलपर्श, हिमालयन उर्जा विकास कम्पनी, युनाईटेड हाइड्रोपावर, मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।

    दुई कम्पनी मूल्य १० प्रतिशतले बढेको छ भने अन्यको मूल्य सर्किट लेभलले नै बढेको छ ।

    त्यसैगरी, न्यादी हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी फाइनान्स, एचआइडीसीएल र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    त्यस्तै, माउन्टेन इनर्जी, कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रो, गुडविल फाइनान्स र नेशनल हाइड्रोपावरको शेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    बढ्दो बजारमा आज नेपाल एसबीआई बैंकका डिबेञ्चरधनीले सबैभन्दा धेरै १.४२ प्रतिशत गुमाएका छन् ।

    आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको २९ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, प्रभु बैंकको साढे २० करोड र अपर तामाकोशीको २० करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

  • मौसममा सुधार आएपछि गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान

    मौसममा सुधार आएपछि गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान

    भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आएपछि भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने जानकारी दिएका छन् । शनिबार विमानस्थल अनुगमनमा पुगेका उनले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको तुवालो तथा मौसमको खराबी भएका कारण क्यालिब्रेशन फ्लाइट हुन नसकेको बताए । उनका अनुसार क्यालीब्रेसन फ्लाइटका तयारी पूरा भएको छ । मौसममा सुधार भएपछि उडान हुने छ ।

    मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चाँडै उडान सुरु हुने बताए । उक्त विमानस्थलमा जडान गर्नुपर्ने थप नयाँ उपकरण तथा निर्माणका क्रममा रहेका भौतिक संरचना चाँडो निर्माण सम्पन्न गर्नसमेत मन्त्री आलेले निर्देशन दिए । उनले उक्त विमानस्थलको धावनमार्ग, कन्ट्रोल टावर, यात्रु आवागमन तथा प्रस्थान कक्षको समेत निरीक्षण गरेका थिए । क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरण साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणहरुले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्नु हो ।

  • बैंकको रकम लुटपाटमा कर्मचारीको मिलोमतो पुष्टी

    बैंकको रकम लुटपाटमा कर्मचारीको मिलोमतो पुष्टी

    काठमाडौं । एनआईसी एसिया बैंकको १६ लाख रुपैयाँ लुटिएको घटनामा कर्मचारीको मिलोमतो पुष्टी भएको छ । कर्मचारीको संलग्नता देखिएपछि प्रहरीले एनआईसी एसिया बैंकको बानेश्वर शाखाका कलेक्टर प्रदीप खत्रीसहित ४ जनालाई पक्राउ गरेको छ । खत्रीको योजना र अन्यको मिलेमतोमा बैंकको पैसा लुटिएको हो । ‘बैंकले ठूलो परिमाणमा पैसा जम्मा गर्ने संस्थाका लागि कलेक्टर राख्ने गर्छ । त्यही भूमिकामा रहेका खत्री आफैंले आफैंलाई लुटाएको प्रहरीले जनाएको छ ।

    प्रहरीले अन्यको भूमिकाबारे अनुसन्धान गरिरहेको समेत बताएको छ । प्रहरीले खत्रीसँगै सिन्धुपाल्चोकका विमल तामाङ, रामेछापका शक्तिराज पौडेल, अनिश खड्कालाई पनि पक्राउ गरेको हो । पक्राउ परेकामाथि डाँका चोरीसम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान हुनेछ । महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसार घटना १८ पुसमा भएको थियो ।

    कलेक्टर खत्रीले काठमाडौं–१० को वडा कार्यालयबाट १२ लाख ४५ हजार रुपैयाँ र मेटलाइफ इन्स्योरेन्स शान्तिनगरबाट ३ लाख ५० हजार ४२४ रुपैयाँ लिएर बैंकतिर जाँदै थिए । बानेश्वरको युनिग्लोब कलेज अगाडि बैंकको शाखा कार्यालय नजिकै दुई जनाले उनको पैसा लुटेका थिए ।


    उनले बैंकमा खबर गरेका थिए । लगत्तै बैंकले प्रहरी वृत्त, बानेश्वरलाई जानकारी गराएको थियो । कलेक्टर खत्रीले बैंक भएकै भवनमा काम गर्ने विमल तामाङसँग मिलेर उनले बैंकको पैसा आफैं लुटाउने योजना बनाएको खुलेको छ ।

  • ललिता निवास प्रकरणमा सिआईबीले सरकारी वकिलको कार्यालयलाई बुझायो प्रतिवेदन

    ललिता निवास प्रकरणमा सिआईबीले सरकारी वकिलको कार्यालयलाई बुझायो प्रतिवेदन

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणको किर्ते लिखतका सम्बन्धमा आफ्नो अनुसन्धान सम्पन्न गरी सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको छ । राससका अनुसार विगत दुई वर्षदेखिको अनुसन्धान सकेर बिहीबार छुट्टाछुट्टै चारवटा मुद्दाको प्रतिवेदन बुझाइएको हो । सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले यस्तो जानकारी गराएका हुन् ।

    सरकारी लिखत किर्ते फैजदारी कसुर हुने भएकाले यसअघि सिआइवीले ३०० भन्दा बढीलाई अभियुक्त बनाएर अदालतबाट पक्राउ पुुर्जीको अनुमति लिइ अनुसन्धान थालेको थियो । सोही अनुसन्धान प्रतिवेदन बिहीबार बुझाइएको हा । उक्त जग्गा प्रकरणमा उच्च पदस्थ व्यक्तिको संलग्नता रहेको विभिन्न छानविन प्रतिवेदनले देखाएको छ ।

    सिआइवीको प्रतिवेदनमा कति जना आरोपित छन् र ती कोको हुन् भनेर खुलाइएको छैन । आधार, प्रणाण सरकारी वकिलको कार्यालयले हेर्ने र मागदावी पुग्ने, नपुग्ने प्रमाण हेरेर अभियोगपत्र दर्ता हुने बताईको छ । सरकारी वकिलले बिहीबार नै प्रतिवेदन दर्ता गरेर आवश्यक प्रक्रिया अघि बढेको जनाएको छ ।

    उक्त मुद्दाको हद म्याद दुई वर्षको हुन्छ । त्यसैले यही पुस २७ गते भित्रमा अदालतमा अभियोगपत्र दर्ता गर्नै पर्ने प्रावधान रहेको छ । हदम्याद नजिक आइसकेकाले प्रहरीले प्रतिवेदन बुझाइएको हो । सिआइवीले दुईवर्ष अघिदेखि उक्त घटनाको अनुसन्धान थालेको र चार वटा फरकफरक मुद्दा अघि बढाएको छ । त्यसअघि सिआइवीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानबिन समितिको आधारमा उसले अनुसन्धान थालेको हो । उक्त समितिले जग्गामा सरकारी लिखित किर्ते भएको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो ।

    उक्त घटनामा जम्मा दुई जनालाई मात्रै पक्राउ गरिएको छ । ब्यूरोले पुसको पहिलो साता काठमाडौँबाट रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यसअघिका प्रतिवेदनले विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको १४३ रोपनी जग्गासम्बन्धी लिखत किर्ते गरी हिनामिना भएको उल्लेख गरेको थियो ।

    उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा १७५ जना विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरिसकेको छ । विसं २०७५ को मन्त्रिपरिषद् बेठकको निर्णयअनुसार उक्त मुद्दा सिआइवी र अख्तियारले हेरिरहेका छन् ।

  • नारायणहिटी भित्र क्याफे खोल्न लागिएकोबारे छानविन गर्न समिति गठन

    नारायणहिटी भित्र क्याफे खोल्न लागिएकोबारे छानविन गर्न समिति गठन

    काठमाडौं । सरकारले नारायणहिटी संग्रहालय भित्र क्याफे खोल्न लागिएको बारे छानविन गर्न समिति गठन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा छानबिन गर्न समिति गठन गरेको छ ।

    समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि गौतम, सदस्यमा कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा तथा समितिको सदस्यसचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी तोकिएका छन् । दरबार सङ्ग्रहालयभित्र निर्माण गर्न लागिएको रेष्टुरेन्टका बारेमा तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको मन्त्री आलेले जानकारी दिए ।

    मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई गत सोमबार निर्देशन दिएका थिए । नारायणहिटीमा पूर्वमन्त्री योगेश भट्टराईको पालामा क्याफे खोल्न अनुमति दिइएको दावि समितिले गरेको छ । योगेशले भने यो खबरको खण्डन गरेका थिए ।

  • ‘काठमाडौं सहरको नयाँ भर्सन चाहियो’- अर्थमन्त्री

    ‘काठमाडौं सहरको नयाँ भर्सन चाहियो’- अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौं सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन् ।

    बिहीबार लगानी बोर्डको बैठकमा बोल्दैै उनले विकास काठमाडौं केन्द्रित भएकाले अर्को सहरको आवश्यकता रहेको बताएका हुन् ।

    उनले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने पनि बताए । उनले वर्तमान परिप्रेक्ष्यमा कम्तिमा तीन वटा ठूला सहरको निर्माण गर्नुपर्ने औँल्याए ।

    ‘काठमाडौं सहरको नयाँ भर्सन चाहियो । दूर–दराजका ठाउँमा नयाँ काम गर्यो भने त्यहाँ सहर बन्दो रहेछ’, उनले भने, ‘नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौँ भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ ।’

    मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योगहरू लागानी बोर्डले क्षेत्रगत विशिष्टिकरण गरेर गर्नुपर्नेमा जोड दिए । पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजनाहरू निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

    उनले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाहरू अघि सार्न लगानी बोर्डलाई भने । त्यस्तै जलविद्युत क्षेत्रमा तीन वटा ठूला जलविद्युत आयोजनाहरू विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिए । ‘बूढीगण्डकी, अपर–अरुण र कर्णाली चिसापानी जस्ता ठूला आयोजनामा तपाईँहरूले ध्यान दिनुहोस्’, उनले भने ।

    त्यस्तै उनले काठमाडौं–पोखरा–लुम्बिनीका लागि तीव्र गतिको यायाता पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याए । यसका लागि अध्ययन गर्न समेत उनले निर्देशन दिए । ‘काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्र्याक वा लिक (रेलको) बनाए पनि भयो । तर द्रूत गतिमा पुग्ने हुनुपर्यो’, उनले भने, ‘यो योजना तपाईँहरूको विशिष्टिकृत योजनामा हुनुपर्यो ।’

  • नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं। साताको कारोबार अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ ।

    बिहीवार शेयर बजार मापक सूचक (नेप्से) ४३.२९ अंकले बढेर २६९२.४७ विन्दुमा पुगेको हो । बुधबार ३० अंकले घटेको शेयर बजारमा आजभने कमब्याक भएको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २३८ कम्पनीको ४ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँ बराबरको ७३ लाख ३६ हजार ३३४ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ११ वटामा बढेको छ भने २ वटा राताम्मे भएको छ । उच्च अंकले बढेको बजारमा बैंकिङ ३५ , होटल तथा पर्यटन ८८, निर्जीवन बीमा २४३, माइक्रोफाइनान्स ५३, जलविद्युत ७२ अंकले बढेको छ ।

    विकास बैंक ८८, फाइनान्स २७ , लगानी १ अंक, र अन्य उपसमूह २० अंकले उत्पादन समूह ५ र लगानी समूह १९ अंकले घटेको छ ।

    नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । नेपाल फाइनान्स, तेह्रथुम पावर कम्पनी र मध्यभोटेकोशी जलविद्युत कम्पनी मूल्य १० प्रतिशतले बढेको छ ।

    त्यसैगरी, राष्ट्रिय बीमा कम्पनी र मैलुङ खोला जलविद्युत्को सेयर मूल्य साढ ५ प्रतिशतले बढेको छ । त्यस्तै, स्वरोजगार लघुवित्त, सेञ्चुरी कमर्शियल बैंक, एनआइसी एशिया बैंक र माउन्टेन इनर्जीको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    चन्द्रागिरि हिल्स, युनाइटेड इदी मार्दी, साहस ऊर्जा, फर्स्ट माइक्रोफाइनान्स, हिमालयन पावर, सिनर्जी पावर र नेपाल एसबीआइ बैंकको मूल्य पनि साढे ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड ३७ करोड बढीको शेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैकको १३ करोड ५२ लाखको कारोबार भएको छ । नेशनल माइक्रोफाइनान्सको १० करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

    नेपाल बंगलादेश बैंकका डिबेञ्चरधनीले सबैभन्दा धेरै ३.५३ प्रतिशत गुमाएका छन् ।

  • उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ

    उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ

    काठमाडौं । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ समर्थन मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मूल्य तोक्ने निर्णय गरेको हो । यसमा सरकारले दिने अनुदान प्रतिक्विन्टल ७० रुपियाँसमेत जोडिएको छ । यो मूल्यमा चिनी उद्योगीले किसानलाई दिने मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ हो । यसमा उखुको न्यूनतम लागत ३८२ रुपैयाँ, ढुवानी खर्च ६२ रुपैयाँ र मुनाफा ७६ रुपैयाँ देखिएको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार उखुको मूल्य निर्धारण गर्नु अगाडी किसान र चिनी उद्योगीसँग छलफल गरिएको थियो । उद्योगीले उखुको मूल्य प्रतिक्विन्टल ५८० र किसानले ६५० रुपैयाँ हुनुपर्ने माग गरेका थिए । उद्योग मन्त्रालयले मूल्य निर्धारणको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको हो । सरकारले गत वर्ष उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो । अअिले पनि किसान यो मूल्यबाट भने सन्तुष्ट छैनन् ।

  • काममा तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

    काममा तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काममा तीव्रता दिन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।

    बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संयुक्त बैठक बोलाएका प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन । उनले  मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिए ।
    उनले  विकास-निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराए । प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री तथा सचिवहरुलाई सचेत गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए ।

    मुलुकको विकास र सरकारले जनतालाई दिनुपर्ने सेवा, सुविधालाई तीव्रताका साथ अगाडि बढाउने र जनताको जीवन रक्षाका निमित्त सरकार चनाखो हुने र विकास निर्माणलाई पनि तीव्रताका साथ अगाडि बढाउन सबै मन्त्री, सबै सचिवहरुलाई निर्देशन दिएको समेत कार्कीले जानकारी दिए । बैठकमा अर्थतन्त्रको अवस्थाका बारेमा अर्थमन्त्रीले जानकारी गराएका थिए ।

  • एप्पल भारतको अर्थतन्त्रभन्दा ठूलो बजार मूल्य हुने विश्वकै पहिलो कम्पनी

    एप्पल भारतको अर्थतन्त्रभन्दा ठूलो बजार मूल्य हुने विश्वकै पहिलो कम्पनी

    काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पल ३० खर्ब अमेरिकी डलर बजार मूल्य भएको विश्वकै पहिलो कम्पनी बनेको छ । एप्पलको सेयर मूल्य बढेर बजार मूल्य ३० खर्ब डलर पुगेसँगै नयाँ रेकर्ड राखेको हो ।

    अमेरिकी स्टक एक्सेन्चको तथ्यांक अनुसार नयाँ वर्षको पहिलो दिन एप्पलको सेयर ३ प्रतिशतले बढी १८९.८८ अमेरिकी डलर पुगेको थियो । यो हालसम्मको सबैभन्दा उच्च स्तर हो । यद्यपि, मार्केट बन्द हुनु अघि यसमा थोरै गिरावट आयो ।

    तीन वर्ष अघि कम्पनीको बजार मूल्य १० खर्ब थियो । पछिल्लो दुई वर्षमै कम्पनीको बजार मूल्य तेब्बरले बढेको हो । अर्थात्, २ वर्षमा एप्पलको बजार मूल्य २० खर्ब डलर थपिएको हो ।

    एप्पलको बजार मूल्य भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आकारभन्दा पनि ठूलो हो । हाल भारतीय अर्थतन्त्रको आकार २६ खर्ब डलर रहेको छ । एप्पलको समग्र बजार मूल्य विश्वका प्रमुख १० ठूला अर्थतन्त्र भएका मुलकमध्ये ६ वटा देश बेलायत, भारत, फ्रान्स, इटाली क्यानडा र दक्षिण कोरियाको भन्दा ठूलो हो ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार कम्पनीका भर्चुअल रियालिटी तथा स्वचालित कारलगायत सबैभन्दा बढी बिक्री हुने उत्पादनका कारण लगानीकर्ताहरु आकर्षित भएका हुन् ।

    एप्पल कोभिड तथा लकडाउनमा सबैभन्दा बढी कमाउनेमध्ये एप्पल परेको छ । लकडाउनमा विशेषगरी मानिसहरु स्मार्टफोन, ट्याबलेट तथा ल्याउपटमा निर्भर रहेकोले यस्ता उत्पादनको माग बढेको थियो ।

    एप्पलको विशेषगरी आइफोनले विक्रीको आधा हिस्सा ओगटेको छ । जबकी यसको आइप्याड, म्याक तथा ट्यावलेटको कारण बढी चर्चामा छ ।

  • नेपाली शेयर बजारमा दोहोरो अंकको करेक्शन

    नेपाली शेयर बजारमा दोहोरो अंकको करेक्शन

    काठमाडौं । केही दिन लगातार बढेको शेयर बजार साताको कारोबारको चौथोदिन घटेको छ ।

    तीनदिन १५५.४५ अंकले बढेको शेयर बजार मापक सूचक नेप्से ३०.७५ अंकले घटेर २६४९.२० विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३६ कम्पनीको ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५२८ रुपैयाँ बराबरको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर किनबेच भएका छन् ।

    सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ३० करोडले बढेर साढे ४ अर्ब रुपैयाँ नाघेको छ ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ११ वटामा बढेको छ भने २ वटा राताम्मे भएको छ । धेरै गुमाउने होटल तथा पर्यटनका लगानीकर्ता रहेका छन् ।

    दोहोरो अंकले घटेको बजारमा बैंकिङ २७, होटल तथा पर्यटन ६९, निर्जीवन बीमा २२८, माइक्रोफाइनान्स ११०, व्यापार समूह ५० अंकले घटेको छ ।

    त्यस्तै विकास बैंक ७९, लगानी १ अंकले ,अन्य उपसमूह ३ अंकले र उत्पादन समूह ११० अंकले घटेको छ । जलविद्युत १४ अंकले र फाइनान्स २ अंकले बढेको छ ।

    दोहोरो अंकले घटेको बजारमा मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    घट्दो बजारमा आज विजय लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ४.५५ प्रतिशत गुमाएका छन् । त्यसैगरी, फर्स्ट माइक्रोफाइनान्स, किसान लघुवित्त र सिभिल लघुवित्तको शेयर मूल्य ४ प्रतिशतले घटेको छ ।

    त्यस्तै, प्राइम् लाइफ, नेरुडे लघुवित्त, सपोर्ट लघुवित्त, गणपति लघुवित्त, लक्ष्मी इक्वीटी म्युचुअल फण्ड, आरएसडीसी लघुवित्त, महालक्ष्मी विकास बैंक, आशा लघुवित्तसहित डेढ दर्जन कम्प्नीको शेयर मूल्य ३ प्रतिशले घटेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे १८ करोड बढीको शेयर किनबेच भएको छ ।

    त्यस्तै, अपी पावर १६ करोड र माथिल्लो तामाकोशी १४ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

  • नेप्सेमा लगातार उछाल, तीन दिनमै नेप्से १५६ अंकले बढ्यो

    नेप्सेमा लगातार उछाल, तीन दिनमै नेप्से १५६ अंकले बढ्यो

    काठमाडौं । साताको कारोबार तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ ।

    साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) ६३.१ अंकले बढेर २६७९.९५ विन्दुमा पुगेको हो ।

    आइतबार ६०‍.४१ अंकले बढेर २५८४.९१ बिन्दुमा पुगेको परिसूचक सोमबार ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा पुगेको थियो । तीन दिनमा बजारमा १५५.४५ अंकको सुधार देखिएको हो।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३४ कम्पनीको ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२७ रुपैयाँ बराबरको ९१ लाख ५१० हजार ७५८ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ११ वटामा बढेको छ भने २ वटा राताम्मे भएको छ । उच्च अंकले बढेको बजारमा बैंकिङ ६३ , होटल तथा पर्यटन ६४, निर्जीवन बीमा ४० माइक्रोफाइनान्स ९१, जलविद्युत ८७ अंकले बढेको छ । व्यापार समूह ५६ अंकले बढेको छ ।

    विकास बैंक २३२ फाइनान्स ७९ , लगानी २ अंकले बढेको छ । अन्य उपसमूह ६ अंकले र उत्पादन समूह ४२ अंकले घटेको छ ।

    नेप्सेका अनुसार आज द्ई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । श्री इन्भेष्टमेन्ट फाइनान्स, सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशतले बढेको छ ।

    मध्यभोटेकोशी जलविद्युत कम्पनी, नेपाल एसबिआई बैंक र सिन्धु विकास बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।

    त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक, आरएसडीसी लघुवित्त, स्ट्याण्डर्ड चार्टर्ड, निफ्रा, गुह्वेश्वरी मर्चेन्ट, पोखरा, फाइनान्स, एभरेष्ट बैंकर जनउत्थान लघुवित्तको शेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

    आज नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे १४ करोड बढीको शेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक १३ करोड र अपी पावर ११ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

    आज ‘१०.३५% कृषि विकास बैंकको डिबेञ्चर २०८३’का धनीले सबैभन्दा धेरै १.९६ प्रतिशत गुमाएका छन् ।

  • लगानीकर्ताको फाइल रोकियो भने मलाई भन्नुहोस : अर्थमन्त्री

    लगानीकर्ताको फाइल रोकियो भने मलाई भन्नुहोस : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताहरूलाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन् । सोमबार लगानी बोर्डको कार्यालयमा लगानीकर्तासँग अन्तर्क्रिया गर्दै उनले यस्तो आग्रह गरे । आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने भन्दै उनले आयोजनामा भएका समस्या समयमै जानकारी गराउन आग्रह गरे । ‘एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको भनेर भर्खर जानकारी भयो,’ उनले भने, ‘यस्तो जानकारी समयमै गराउनुहोला । यसले सरकारलाई सहजीकरण गर्न र समस्या समाधान छिटो हुन्छ ।’


    फाइल नै अड्किँदा आयोजनाको समयावधि लम्बिने र घाटा हुने भन्दै उनले समय सबैभन्दा ठूलो पुँजी भएको बताए । ‘प्रोजेक्टको समय बित्ने भनेको हाम्रो लगानी बढ्ने हो । अर्को ढङ्गले भन्ने हो भने हामीलाई घाटा हुने हो । व्यवसायिक रूपले हेर्ने हो भने पनि समय बिलकुलै लम्ब्याउनु हुँदैन’, उनले भने ।

    नेपाललाई वैदेशिक लगानी आवश्यक रहेको बताउँदै मन्त्री शर्माले त्यसका लागि सरकारले पुराना लगानीकर्तालाई थप लगानी गर्न उत्पे्ररणा जगाउने तथा नयाँ लगानीकर्तालाई समेत लगानीका लागि वातावरण तयार गर्ने प्रतिवद्धता व्यक्त गरे । नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र त्यस्ता लगानीले मुलुकको विकासमा महत्वपूर्ण योगदान हुने भन्दै उनले सरकारले उचित सेवा सुविधाको व्यवस्था गर्ने आश्वासन समेत दिए ।

  • रेल सञ्चालनको मिति कहिले तय होला ?

    रेल सञ्चालनको मिति कहिले तय होला ?

    काठमाडौं । जनकपुर–जयनगर रेल परीक्षणको लामो समय भएपछि संचालनमा आएको छैन । भारतसँगको सहमतिमा मात्र रेल संचालन गर्नुपर्ने भएकाले नेपाल आफैले यसबारे निर्णय लिन सकेको छैन । रेल सञ्चालनको मिति प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणपछि तय गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जानकारी गराएकी छिन् । प्रधानमन्त्री देउवा पुस अन्तिम साता भारत भ्रमणमा जाने छन् ।

    दुबै मुलुकको सहमतिमा उद्घाटनको मिति तय गरिने र कम्तीमा दिनको एक पटक रेल चलाउने यादवले बताइन् । उनले सोमबार प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलमा यो जानकारी गराएकी हुन् । उनका अनुसार रेल पूर्वाधार विस्तारका लागि विभिन्न खण्डमा समेत प्रक्रिया अगाडि बढाइएको छ । रेलको ट्रयाकको गति परीक्षण गरिएको छ ।

  • नेपालमा ५ वर्ष यताकै कम धान उत्पादन, ​कुन प्रदेशमा कति भयो उत्पादन ?

    नेपालमा ५ वर्ष यताकै कम धान उत्पादन, ​कुन प्रदेशमा कति भयो उत्पादन ?

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत ५ वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो ।

    मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालु आवमा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको हो । चालू आवमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको हो । गत आवमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

    यस्तै आव २०७६/७७ मा ५५ लाख ५० हजार ८७८, आव २०७५/०७६ मा ५६ लाख १० हजार र २०७४/७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा मन्त्रालयले यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरेता पनि धान थन्काउने बेलामा नै वर्षा र हावाहुरीका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी आएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।

    उनका अनुसार सुदूरपश्चिमका कैलाली र कञ्चनपुर तथा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, कपिलवस्तुलगायत विभिन्न जिल्लामा बैमौसमी वर्षाले किसानको धानमा क्षति पुर्याउँदा समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो । यसवर्षको बेमौसमी वर्षाले मुलुकभरका १ लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको चार लाख २४ हजार ११३ टन धानबालीमा क्षति पुर्याएको मन्त्रालयले जनाएको छ ।

    कुन प्रदेशमा कति उत्पादन ?

    मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा कमी आएको छ । उक्त प्रदेशमा चार लाख ४१ हजार ९१३ मेट्रिक टन धान उत्पादन भएको हो । गत आवको तुलनामा ३१.४९ प्रतिशतले उत्पादनमा कमी आएको छ ।

    यस्तैगरी लुम्बनी प्रदेशमा १८.३८ प्रतिशत, प्रदेश नं १ मा ०.९३ प्रतिशत, प्रदेश नं २ मा ५.२४ प्रतिशत, बागमती प्रदेशमा ०.३५ प्रतिशत र कर्णालीमा ८.७६ प्रतिशतले उत्पादनमा कमी आएको छ । प्रदेशगत रुपमा धान उत्पादनको अवस्था हेर्दा गत आवको तुलनामा यसवर्ष गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ ।

    ​

    चालु आवमा गण्डकी प्रदेशमा मात्र २.३३ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष धान रोप्ने समयमा नै मनसुन सक्रिय हुँदा १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो

  • विद्युत प्राधिकरण र वायुसेवा निगमबीच सम्झौता, प्राधिकरणले अन्तर्राष्ट्रिय उडानमा छुट पाउने

    विद्युत प्राधिकरण र वायुसेवा निगमबीच सम्झौता, प्राधिकरणले अन्तर्राष्ट्रिय उडानमा छुट पाउने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र नेपाल वायुसेवा निगमबीच एक आपसमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

    सोमबार नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बीच कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौंतामा हस्ताक्षर भएको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

    अब प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दा टिकटमा १५ प्रतिशत छुट पाउने छन् ।

    कर्मचारीले छुट पाउन प्राधिकरणको सिफारिस पत्रका साथै परिचयपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने छ । निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र छुट सुविधा पाउने छन् ।

    प्राधिकरणले निगमको उडान गन्तव्य रहेका ठाउँबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५/१० प्रतिशत छुट पाउने छ ।

    प्राधिकरणले आफ्ना कर्मचारीलाई सम्भव भएसम्म अन्तर्राष्ट्रिय यात्रा गर्दा निगमको जहाजमार्फत गर्न परिपत्र गर्ने व्यवस्था एमओयूमा गरिएको छ ।

    कार्यक्रममा मन्त्री आलेले डुब्न लागेको प्राधिकरणलाई उकास्न त्यहाँको व्यवस्थापनले चालेको कदमबाट पाठ सिकेर काम गर्न निगम व्यवस्थापनलाई आग्रह गरे। उनले अन्तर्राष्ट्रिय उडानका लागि जहाज थप्ने विषयमा निगम व्यवस्थापनले व्यापारिक योजना तयार गरी सञ्चालक समितिमा पेश गरिसकेकोले यस बारेमा छिट्टै निर्णय गरिने बताए ।

    सचिव न्यौपानेले १८ घण्टासम्मको लोडसेडिङ अन्त्य, घाटाको संस्थाको वित्तीय तथा प्रशासनिक अवस्थालाई सुधार गरी नाफा आर्जन गरेको जस्ता प्राधिकरणका सफलतालाई मानक बनाएर निगम व्यवस्थापनले आफ्नो सेवालाई नियमित र भरपर्दो बनाउनु पर्ने बताए ।

    कार्यकारी निर्देशक घिसिङले एमओयूमा गरिएका व्यवस्था कार्यान्वयका लागि तत्काल परिपत्र गरिने बताए ।

  • मल खरिदमा १ अर्ब ५३ करोड भ्रष्टाचार गरेको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर

    मल खरिदमा १ अर्ब ५३ करोड भ्रष्टाचार गरेको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं । रासायनिक मल खरिदमा १ अर्ब ५३ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।  अख्तियारले कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्करदीप बुढालाई प्रतिवादी बनाएको छ।
    ‘कृषि सामग्री कम्पनीलाई हानिनोक्सानी र आफूसमेतलाई गैरकानुनी लाभ लिने मनसाय लिई कार्य गरेको पुष्टि हुन आएको छ, उक्त ठेक्काबाट आपूर्ति गरिएको डीएपी मलको ९० प्रतिशतबापत हुन आउने १ अर्ब ५३ लाख २२ हजार ४ सय ६ भुक्तानी दिने निर्णयमा संलग्न भई भुक्तानीसमेत गरेको देखिन्छ,’ अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले जारी गरेको  विज्ञप्तिमा उल्लेख छ ।

    आपूर्ति कम्पनी जोशी बीज हाउस प्रालि र मल परीक्षणमा संलग्न नेपाल इन्भाइरोमेन्टल साइन्टिफिक सर्भिस प्रालिविरुद्धसमेत विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।
    कम गुणस्तरको डीएपी मल खरिद गरी गुणस्तरीय भनेर गलत प्रतिवेदन बनाई अनियमितता गरेको कसुरमा उनीहरूविरुद्ध मुद्दा चलाइएको हो ।

    आपूर्तिकर्ता जोशी बीज हाउसले २०७७/७८ लागि २५ हजार टन मल आयातको कोटा पाएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । ग्लोबल टेन्डरमार्फत स्वीकृति पाएको जोशी बीजले भियतनामबाट मल आयात गर्ने सम्झौता कृषि कम्पनीसँग गरेको थियो ।

    १९ हजार ४ सय ३३ टन डीएपी आयात भएपछि कम गुणस्तर भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अनुसन्धान हुँदा कृषि सामग्री कम्पनीका कर्मचारी र आपूर्तिकर्ताको समेत मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त भनी प्रतिवेदन बनाइएको अख्तियारले जनाएको छ ।

    ‘रासायनिक मल (नियन्त्रण) आदेश २०५५, सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ विपरीत कृषि कम्पनीले बिनाप्रतिस्पर्धा प्रमाणपत्र अद्यावधिक नगरेको संस्था नेपाल इन्भाइरोमेन्टल साइन्टिफिक सर्भिस प्रालिलाई मलको गुणस्तर परीक्षण प्रतिवेदन दिन लगाइएको देखिन्छ,’ अख्तियारको विज्ञप्तिमा छ, ‘सोही मल नेपाल गुणस्तर तथा नापतौल विभागको परीक्षण गर्दा डीएपी मलको स्पेसिफिकेसनअनुसार मोइस्चरको मात्रा अधिकतम १.५ प्रतिशत हुनुपर्नेमा १२.४ प्रतिशत, नाइट्रोजन १८ प्रतिशत हुनुपर्नेमा १४.२ प्रतिशत, फोस्फोरस ४६ प्रतिशत हुनुपर्नेमा ४५.१ प्रतिशतलगायत कम गुणस्तर देखिएको छ ।’

    कम्पनीले गलत परीक्षण प्रतिवेदन बनाई भन्सार नाका तथा कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालयमा पेस गरेको अख्तियारले जनाएको छ । सोही प्रतिवेदनका आधारमा कृषि सामग्री कम्पनीले आपूर्तिकर्तालाई कुल रकमको ९० प्रतिशतले हुन आउने १ अर्ब ५३ लाख २२ हजार ४ सय रुपैयाँ भुक्तानी दिएको थियो । सरकारी रकम हानिनोक्सानी गरेको पुष्टि भएको भन्दै अख्तियारले मुद्दासहित सजायको मागदाबी गरेको छ ।

  • नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि

    नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि

    काठमाडौं । शेयर बजार उच्च अंकको बढेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से)६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २४० कम्पनीको ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ रुपैयाँ बराबरको ७१ लाख ६० हजार ९८३ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये १२ वटामा बढेको छ भने १ वटा राताम्मे भएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै ५.०८ प्रतिशतले बढेको छ । त्स्तै, विकास बैंक र निर्जीवन बीमा समूह पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा हिमालयन डिष्ट्रिलरी, मध्यभोटेकोशी जलविद्युत कम्पनी र सूर्या लाईफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।

    त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, किसान लघुवित्त, मिथिला लघुवित्त, श्री इन्भेष्टमेन्टको सेयर मूल्य ७ प्रतिशभन्दा धेरैले बढेको छ भने सिभिल लघुवित्त, उन्नति सहकार्य लघुवित्त, ज्योति लाइफ, लुम्बिनी विकास बैंक, नेशनल माइक्रोफाइनान्स र इभरेष्ट इन्स्योरेन्सको प्रमोटर शेयर ६ प्रतिशत धेरैले बढेको छ ।

    त्यस्तै, आज गोर्खाज फाइनान्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४५ करोडको शेयर किनबेच भएको छ ।

    त्यस्तै, नबिल बैंक २९ करोड र शिवम सिमेन्ट २३ करोडको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहेको छ ।

  • नेपाली सेनामा एक साथ २२९ जनाका लागि खुल्यो जागिर

    नेपाली सेनामा एक साथ २२९ जनाका लागि खुल्यो जागिर

    काठमाडौं । नेपाली सेनामा एक साथ दुई सय २९ जनाका लागि जागिर खुलाएको छ । सेनाले क्याडेट अधिकृत पदमा आवेदन माग गरेको हो । छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आइतबार सूचना निकालेर २२९ जना अधिकृत क्याडेट माग गरेको जनाएको छ । खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको निर्देशनालयले जनाएको छ। सेनाको वेबसाइटबाट दरखास्त भर्न सकिन्छ ।

    खुलातर्फ १२६ जना माग भएको छ। महिलातर्फ २१, आदिवासी जनजातिमा ३३, मधेशीमा २९, दलिततर्फ १५ र पिछडिएको क्षेत्रतर्फ ५ जनाको माग भएको छ। माघ १७ गतेसम्म दरखास्त दिन सकिने अवधि रहेको छ । १८ वर्ष पूरा भई २१ वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्नेछन्। तर स्नातक तह वा सो सरह शैक्षिक योग्यता भएका २४ वर्षसम्मकाले दरखास्त दिन सक्ने गरि योग्यता तोकिएको छ । पुरूषका लागि उचाइ ५ फिट ३ इन्च र महिलालाई ५ फिट तोकिएको छ ।

  • तीन महिना भित्र गौतमबुद्ध विमानस्थल उद्घाटन गर्ने पर्यटनमन्त्रीको सपना पुरा होला ?

    तीन महिना भित्र गौतमबुद्ध विमानस्थल उद्घाटन गर्ने पर्यटनमन्त्रीको सपना पुरा होला ?

    काठमाडौं । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनबारे अन्यौल कायम रहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबको तीन भित्र उद्घाटनको घोषणा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले ‘क्यालिब्रेसन उडानको तयारी भइरहेको समेत जानकारी गराए । यन्त्रहरुको परीक्षणका लागि गरिने यस्तो उडान जनवरी भित्रै गर्ने तयारी प्राधिकरणको रहेको छ ।

    भारतीय पक्षसँग एयर रुटको विषयमा कुरा भइरहेको भन्दै मन्त्री आलेले भारतको आलटालका कारण समेत यो विमानस्थल संचालनमा अलमल भइरहेको संकेत गरेका छन् । भारतले रुटको अनुमति दिएपछि व्यावसायिक उडानको बाटो खुल्ने छ । यो विमानस्थल भारतको सीमा क्षेत्र नजिकै छ । सोहीकारण भारतले यसमा उडानको अनुमति दिनुपर्छ । मन्त्री आलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी एक वर्षभित्र सञ्चालन गर्नेगरी तयारी गर्न निर्देशन दिए ।

  • ‘विद्युत आपूर्तिमा समस्या हुँदैन, २ हजार मेगावाटसम्मको माग दिन सक्छौं’

    ‘विद्युत आपूर्तिमा समस्या हुँदैन, २ हजार मेगावाटसम्मको माग दिन सक्छौं’

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबारदेखि कुनै पनि ठाउँमा झ्याप्प-झ्याप्प बत्ती जाने समस्या अन्त्य भएको बताएका छन् ।

    शुक्रबार पत्रकार सम्मलेनको आयोजना गर्दै पछिल्लो समय केही प्राविधिक कारणले बिजुली आउने-जाने समस्या भएकोमा अब त्यो समस्या नदोहोरिने बताएका हुन् ।

    तीन चार दिनदेखि विद्युत आपूर्तिमा समस्या देखिएको छ। यो समस्या काठमाडौंमा मात्र देखिएको हो। देशभर होइन आजैबाट अन्त्य भयो पत्रकार सम्मेलनमा उनले भने ।

    पानी परेर चिसो बढेपछि विद्युतको माग बढेको र ट्रान्सफर्मरमा लोड पर्दा अहिलेको समस्या देखिएको उनले बताए । काठमाडौँमा रहेका करिब ३८ सय ट्रान्सफर्मर मध्ये ५०-६० वटामा मात्र समस्या देखिएको बताए ।

    विद्युत आपूर्तिमा समस्या देखिएको हो। समस्या केही लिमिटेड ठाउँमा मात्रै समस्या आएको छ। बेलुकाको पिक लोड १७०० र बिहान १५ सय मेगावाट रहेको छ। अहिले फिडरमा समस्या आएको होइन वितरण ट्रान्सफर्मरमा समस्या हो उनले भने ।

    उनका अनुसार हाल काठमाडौँको सबै ठाउँमा समस्या देखिएको नभई इमाडोल , बानेश्वरका , रत्नपार्क र कालधारा क्षेत्रमा मात्र समस्या देखिएको बताए ।

    फिडरमा समस्या आएको भए ठूलो समस्या हुने तर अहिले ट्रान्सफर्मरमा समस्या आएकोले ट्रान्सफर्मर फेर्दा समस्या समाधान हुने उनको भनाई थियो ।

    उनका अनुसार अब छिट्टै काठमाडौं उपत्यकाले २ हजार मेगावाट विद्युत माग गरेपनि प्राधिकरण दिन सक्ने अवस्थामा छ ।

  • कुमारी बैंकको सिस्टम ह्याक गर्ने ह्याकरको धम्की

    कुमारी बैंकको सिस्टम ह्याक गर्ने ह्याकरको धम्की

    काठमाडौं । ह्याकरले कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की दिएसङ्गै सतर्कता बढाइएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनीसहितको धम्की आएको बैंकले जनाएको छ ।

    बिहीबार विहान यस्तो धम्कीपूर्ण इमेल आएपछि बैंकले सबै सिस्टम बन्द गरेको समेत स्थानीय संचारमाध्यमले लेखेका छन् । बैंकको सबै  सिस्टम ठीकठाक रहेको समेत जनाएको छ ।  धम्की आइसकेपछि बैंकले सतर्कता अपनाएको समेत बताएको छ ।

  • झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब ६२ करोडको कारोबार

    झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब ६२ करोडको कारोबार

    काठमाडौं । शेयर बजारमा झिनो अंकको बढेको छ ।

    साताको कारोबारको चौथोदिन शेयर बजार मापक सूचक नेप्से ५.५१ अंकले बढेर २५२४.५० विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९१ रुपैयाँ बराबरको ५६ लाख ३८ हजार २९७ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ८ वटामा बढेको छ भने अन्य ५ वटा राताम्मे भएका छन् ।

    सामान्य अंकले बढेको बजारमा बैंकिङ ०.७६ , होटल तथा पर्यटन १७, निर्जीवन बीमा २५१ माइक्रोफाइनान्स ११, जलविद्युत २५३ र उत्पादन ५७ अंकले बढेको छ ।

    ब्यापार १३, विकास बैंक २९, फाइनान्स घटेको छ भने अन्य उपसमूह १९ अंकले बढेको छ ।

    नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा भोटेकोशी जलविद्युत कम्पनी रहेको छ । यो कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेका छ ।

    त्यस्तै,नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्स शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलीटर लिमिटेडको भएको छ । यस कम्पनीको आज ५२ करोड ५५ लाख भन्दा बढीको कारोबार भएको छ ।

  • सोलुखोला दूधकोसी जलविद्युत आयोजनामा दुई इन्जिनीयरको मृत्युबारे छानविन समिति गठन

    सोलुखोला दूधकोसी जलविद्युत आयोजनामा दुई इन्जिनीयरको मृत्युबारे छानविन समिति गठन

    काठमाडौं । सोलुखोला दूधकोसी जलविद्युत आयोजनामा दुई इञ्जिनीयरको मृत्यु भएको घटनाबारे छानविन गर्न समिति गठन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको हो । मन्त्रालयले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन मंगलबार सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा एक छानबिन समिति गठन गरेकोहो ।

    गत आइतबार अपराह्न जडान गरिएको पेनस्टक पाइप परीक्षणका क्रममा भएको दुर्घटनामा इञ्जिनीयरद्वय अर्जुन थापा र सुवासराज रेग्मीको मृत्यु भएको थियो । मन्त्रालयले उहाँहरूको निधनमा गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि तथा मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । उक्त दुर्घटनामा परेका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।