Category: अर्थतन्त्र

  • नेपाली सेयर बजारमा इतिहासकै ठूलो पहिरो, ३० कम्पनीको मूल्य अत्यधिक घट्यो

    नेपाली सेयर बजारमा इतिहासकै ठूलो पहिरो, ३० कम्पनीको मूल्य अत्यधिक घट्यो

    काठमाडौं । सेयर बजारमा इतिहासकै ठूलो पहिरो गएको छ । नेप्से सूचक आज एकै दिन तीन अंकले घटेको हो ।

    बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजार १४५ अंक (५ प्रतिशत)ले घटेपछि ४० मिनेटका लागि कारोबार बन्दभएको थियो । त्यसपछि खुलेको बजार झन्डै १०० अंकले फर्केर ५१ अंकसम्म आएपनि अन्त्यमा १०८ अंकले घटेर बन्द भएको हो ।

    एकैदिन यति १०० बढी अंकले घटेको यो नेपाली सेयर बजार इतिहासकै दोस्रो घटना हो । यसअघि २०७७ असार २३ गते सबैभन्दा धेरै १२३ अंकले घटेको थियो ।

    सूचकमा उच्च गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज सवा ११ अर्ब बढीको कारोबार भएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से १०८.२६ अंकले घटेर २८१८.७३ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२३ कम्पनीको ११ अर्ब २४ करोड ३ लाख रुपैयाँ बढीको २ करोड ३० लाख ७९ हजार कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ८.०१ प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक ७.२१, हाइड्रोपावर र लगानी समूह पनि ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज कारोबारमा आएका २२३ कम्पनीमध्ये जम्मा १४ कम्पनीको सेयर मूल्य बढेको छ भने २०६ कम्पनीको मूल्यमा गिरावट आएको छ । ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ७० करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रलरी कम्पनीको ३० करोड र नेपाल बैंक २५ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    तेहेरो अंकले घटेको बजारमा आज २ दर्जन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किछ लागेको छ । सर्किट लाग्नेमा अधिकांश फाइनान्स र हाइड्रोपावर कम्पनी रहेका छन् ।

    नारायणी विकास बैंक, बेस्ट, जानकी, नेपाल, गुडविल, समृद्धि, आइसीएफसी, रिलायन्स फाइनानस, अरुण काबेली, युनिभर्सल पावर, रुरु, हिमालयन ऊर्जा र सीईडीबी हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

    यसैगरी, पाँचथर पावर, घलेम्दी, माउन्टेन, दिव्यश्वरी, ग्रीनलाइफ, पञ्चकन्या माइ हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमाल दोलखा, अपी पावर र सिन्धु विकास बैंकका सेयरधनीले पनि करिब १० प्रतिशत गुमाएका छन् ।

    घट्दो बजारमा आज सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा भने पाजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

  • ८ महिनामा भित्रिए मात्र ६७ हजार पर्यटक

    ८ महिनामा भित्रिए मात्र ६७ हजार पर्यटक

    काठमाडौं । नेपालको अर्थतन्त्रमा पर्यटनको ठूलो योगदान छ । तर, कोरोना महामारीका कारण सन् २०२१ मा समेत पर्यटक आगमन प्रभावित हुने भएको छ । सन् २०२१ को आठ महिनामा ६७ हजार मात्र पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अगष्टसम्म ६६ हजार ९ सय ६६ विदेशी पर्यटक नेपाल आएका छन् ।

    अगष्ट महिनामा हवाई मार्ग भएर पाँच हजार ९१७ विदेशी पर्यटन नेपाल भित्रिएको तथ्यांकले देखाएको छ । एक महिनामा नेपालबाट पाँच हजार ८३ विदेशी बाहिरिए । अघिल्लो वर्ष सन् २०२० को सोही महिनामा जम्मा २६५ मात्र पर्यटक आएका थिए। कोभिड–१९ अघि सन् २०१९ को अगष्टमा ९४ हजार ७४९ पयटक नेपाल आएको तथ्याङ्क छ।

    कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ। विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ। जनवरी महिनामा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३ र जुलाईमा दुई हजार ९९१ विदेशी पर्यटक नेपाल आएको आंकडा छ ।

  • एमसीसीकी उपाध्यक्ष सुमर नेपाल आउने

    एमसीसीकी उपाध्यक्ष सुमर नेपाल आउने

    काठमाडौं । नेपालमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनमा तिब्र विवाद र बहस जारी रहेको समयमा एक उच्चस्तरीय एमसीसीको टोलीले नेपाल भ्रमण गर्ने भएको छ । एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर नेपाल आउन लागेकी हुन् । उनको साथमा एमसीसी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स समेत रहने बताइएको छ । यो भ्रमण आगामी साता हुने सम्भावना छ । पाँच दिनसम्म नेपाल रहने टोलीले एमसीसी बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धनका नेताहरू र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेट्ने भएको छ ।

    नेपालले २०७४ भदौ २९ मा ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न ५ सय मिलियन अमेरिकी डलर अनुदान पाउने गरी एमसीसीसँग सम्झौता गरेको गरेको हो । यो सम्झौता संसदबाट अनुमोदन भएमात्र कार्यान्वयनमा आउँछ । तर, सम्झौताको चार वर्ष पुग्नै लाग्दा पनि सम्झौता कार्यान्वयनमा आउन सकेको छैन । नेपालमा एमसीसी पास नहुँदा अमेरिका भने असन्तुष्ट रहेको छ । नेपालमा एमाले भित्र एमसीसीका पक्षमा दुई धार छन् । माओवादी विपक्षमा र कांग्रेस पक्षमा रहेको छ ।

  • पोखरा-सिमरा रुटमा शुरु भयो सिधा हवाई उडान

    पोखरा-सिमरा रुटमा शुरु भयो सिधा हवाई उडान

    पोखरा । प्रदेश २ को सिमरा र गण्डकी प्रदेशको पोखराबीच सिधा हवाईसेवा शुरु भएको छ । अब सिमरा हुँदै पोखरा जान सडक मार्ग वा काठमाडौं जानु पर्ने बाध्यता समेत हटेको छ । बुधबार गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा नेतृत्वको १८ जनाको टोली बुद्ध एयरको जहाजमार्फत सिमरा विमानस्थलमा अवतरण गरेको छ । बुद्ध एयरले पछिल्लो समय क्षेत्रिय गन्तब्यहरुलाई जोडिरहेको छ ।

    यस उडानले आन्तरिक तथा भारतीय पर्यटकको आवागमन सहज बनाउने छ । खासगरी भारतबाट पोखरा आउने पर्यटकले सिधा उडान सेवा लिन सक्ने भएका हुन् । पोखराबाट आएको टोलीलाई प्रदेश नं २ का पर्यटनमन्त्री रामनरेश राय यादवले स्वागत गरे । यो रुटमा बुद्ध एयरले साताको आइतबार, बुधबार र शुक्रबार गरी तीन दिन दिउँसो सवा १ बजे उडान गर्ने भएको छ । सिमरा पोखराको टिकट दर बढीमा सात हजार एक सय ७० र कम्तीमा ४ हजार सात सय ७० तोकिएको छ ।

  • नेपाली सेयर बजारमा झिनो सुधार, कारोबार रकममा भने ठूलो गिरावट

    नेपाली सेयर बजारमा झिनो सुधार, कारोबार रकममा भने ठूलो गिरावट

    काठमाडौं । सेयर बजारमा झिनो सुधार आएको छ । यससाता दुई दिनमै करिब १२० अंकले घटेको बजारमा आज झिनो अंकले बढेको छ ।

    सूचकमा झिनो सुधार आए पनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४ अर्बले घटेर सवा ९ अर्बमा सीमित भएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से १.१८ अंकले घटेर २९७७.०२ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२६ कम्पनीको ९ अर्ब ३५ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड ७१ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.७६ प्रतिशतले बढेको छ भने फाइनान्स समूह २.८६ प्रतिशतले घटेको छ ।

    आज कारोबारमा आएका २२६ कम्पनीमध्ये जम्मा ८४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झण्डै ६० करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, युनाइटेड मोदी हाइड्रोपावर ३० करोड र अपी पावर साढे २७ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    झिनो अंकले बढेको बजारमा आज रुरु जलविद्युत्को सबैभन्दा धेरै ७.५५ प्रतिशतले बढेको छ । यसैगरी, ओरेन्टल होटल, युनाइटेड र हिमालयन ऊर्जा कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    यस्तै, शिवश्री हाइड्रो ५.७३ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशन र मनकामना लघुवित्तका सेयरधनीले ४ प्रतिशतभन्दा धेरै कमाएका छन् । आज सनराइज फर्स्ट म्युचुअल फण्डकाधनीले सबैभन्दा धेरै ९.९८ प्रतिशत गुमाएका छन् ।

  • शरद ऋतुमा हिमाल चढ्न दुई समुहमा २५ जनाले लिए अनुमति

    शरद ऋतुमा हिमाल चढ्न दुई समुहमा २५ जनाले लिए अनुमति

    काठमाडौं । शरद् ऋतुमा हिमाल चढ्न दुई वटा समूहका २५ जनाले अनुमति लिएका छन् । आठ हजार एक सय ६३ मिटर अग्लो हिमाल चढ्न मङ्गलवार दुई वटा समूहका २५ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । अनुमति लिनेमा पाँच महिला र अन्य पुरुष छन् । दुई समूहबाट २६ लाख ४६ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको समेत विभागले जनाएको छ । गत वसन्त ऋतुमा नेपालमा उत्साहजनक रुपमा पर्वतारोही आएका थिए । यो सिजनमा समेत आरोही बढ्ने अपेक्षा गरिएको छ ।

  • नेपाली शेयर बजारमा पहिरो,नेप्से ६९ अंकले घट्यो

    नेपाली शेयर बजारमा पहिरो,नेप्से ६९ अंकले घट्यो

    काठमाडौँ । साताको कारोबारको दोस्रो दिन पनि शेयर बजारमा पहिरो गएको छ ।

    आइतबार ४९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार नेप्से ६९.०५ अंकले घटेर २९७५ विन्दुमा झरेको छ । सोमबार भने सार्वजनिक बिदा परेकोले बजार बन्द भएको थियो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२७ कम्पनीको १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैयाँ बराबरको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । यस दिन सबै समूहहरु झरेका छन्। बैंकिङ २३, ब्यापार १०६, होटल तथा पर्यटन ४६, विकास बैंक २०५, जलविद्युत १२४, फाइनान्स १०१, निर्जीवन बीमा ३७२, उत्पादन १९८, अन्य ६२, माइक्रोफाइनान्स १६४ र जीवन बीमा ४४७ अंकले घटेका छन्।

    नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

    शेयरमूल्य बढ्ने कम्पनीहरुमा कर्णाली डेभलपमेन्ट बैंक रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ७.५८ प्रतिशतले बढेको छ ।

    त्यस्तै, आज रु रु जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.९९ प्रतिशतले घटेको छ ।

    अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब १ करोड ५ लाख ७३ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

    त्यसपश्चात् धेरै कारोबार हुने अन्य कम्पनीहरूमा हिमालयन डिष्टीलरी, नेपाल बैंक, गुडविल फाइनान्स, अपि पावर रहेका छन् ।

  • भोलिदेखि काठमाडौंको फोहोर उठाइने, सिसडोलमा अवरोध गर्न खोजे बल प्रयोग

    भोलिदेखि काठमाडौंको फोहोर उठाइने, सिसडोलमा अवरोध गर्न खोजे बल प्रयोग

    काठमाडौँ । बुधबारदेखि काठमाडौँको फोहोर संकलन कार्य नियमित हुने भएको छ । भोलि विहान ६ बजेदेखि काठमाडौँ महानगरसहित उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर संकलन हुने भएको हो ।

    मंगलबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलगायत अधिकारीकोे बैठकले यस्तो निर्णय गरेको हो ।

    सडक भत्किनु प्राविधिक कारणले साइटमा फोहोर लैजान कठिनाइ भइरहेको थियो । यही अवस्थामा ककनी गाउँपालिका वडा १ की एकजना ७० बर्षिया वृद्धाको भदौ ६ गते मृत्यु भयो । उनको मृत्यु हैजाको कारण भएको जनाउँदै स्थानीयले भदौ १० गतेदेखि साइटमा फोहोर लैजान अवरोध गर्दै आएका छन् ।

    हैजाको एकिन गर्न महानगरबाट सम्भावित क्षेत्रका ५ जना व्यक्तिको दिशा र ४ वटा परिवारले पिउने गरेको पानीको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराइसकेको छ । प्रयोगशालाबाट प्राप्त रिपोर्टले त्यस क्षेत्रमा हैजाका जीवाणु नभेटिएको देखाएको छ ।

    ‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ ।’ महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘स्थानीय समस्या समाधान गर्ने काम निरन्तर हुनेछ ।

    हामीले समाधान गर्न नसक्ने समस्या भए सम्वन्धित निकायसँग समाधानका लागि पहल गर्छौैँ । तर, लामो समयसम्म फोहोर रोकेर समस्या बढाउने काम हुँदैन । स्थानीय जीवन र वातावरणलाई असर नपार्ने गरी भोलिदेखि फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको काम नियमित हुनेछ ।

    हामीले यस अघि पनि स्थानीयले उठाएका जायज माग पूरा गरेका छौँ । अहिले पनि जायज माग पूरा गराउन प्रतिवद्ध छौँ । यसका लागि सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा गरेका छौँ ।’

    ‘सिसडोलमा फोहोर व्यवस्थापनकोे काम ०६२ सालदेखि हुँदै आएको छ । ल्याण्डफिल साइटमा पूर्वाधार बनाउने जिम्मेवारी हामीसँग छैन । हामी फोहोर संकलन गर्छौँ । ढुवानी गर्छौँ । र सरकारले दिएको साइटमा लगेर अन्तिम व्यवस्थापन गर्छौँ ।

    शाक्यले भने, ‘सबैले आफ्ना—आफ्ना जिम्मेवारी पूरा गरे मात्र फोहोर व्यवस्थापन नियमित हुन्छ । यसका लागि स्थानीयबासी, व्यवस्थापनमा जिम्मेवार सम्बद्ध कार्यालयदेखि प्रधानमन्त्रीसम्म पनि हामीले अवस्थाका विषयमा जानकारी गराएर समन्वयको प्रयास गरिरहेका छौँ ।’

    बैठकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले, फोहोर व्यवस्थापन कार्य अत्यावश्यक सेवा भएकोले अवरोध नहुने विश्वाश व्यक्त गरे ।
    बैठकले गरेका अन्य निर्णयहरुमा साइटमा पुग्ने सडक बनाउन महानगर र सडक विभागले सहकार्य गर्ने, गृह प्रशासनले शान्ति सुरक्षाको प्रबन्ध मिलाउने लगायत छन् ।

    बैठकमा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले, फोहोर व्यवस्थापनका लागि विभागले उदार भएर स्रोत, क्षमता र उपकरण परिचालन गर्ने बताए ।

    छलफलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सडक विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर कैलाशकुमार श्रेष्ठ, सडक डिभिजन काठमाडौँका प्रमुख कुवेर नेपालीसहित वातावरण व्यवस्थापन विभागका अधिकारीहरु सहभागी थिए ।

    फोहोर व्यवस्थापनका विषयमा हिजो महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सहजीकरणका लागि अनुरोध गरेका थिए ।

  • नेपाली सेयर बजारमा पहिरो, यी ६ कम्पनीका लगानीकर्ता भने मालामाल

    नेपाली सेयर बजारमा पहिरो, यी ६ कम्पनीका लगानीकर्ता भने मालामाल

    काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । गत साता करिब १०० अंकले घटेको बजार यससाता पहिलो कारोबार दिनमै ४९ अंकले घटेको हो ।

    सूचकमा उच्च गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रहेको छ । आज साढे १५ अर्ब बढीको सेयर किनबेच भएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से ४९.१८ अंकले घटेर ३०४४.८७ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२७ कम्पनीको १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ रुपैयाँ बराबरको २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये फाइनान्स बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.४२ प्रतिशतले घटेको छ ।

    आज कारोबारमा आएका २२७ कम्पनीमध्ये जम्मा ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको मूल्यमा गिरावट आएको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, अरुण काबेली हाइड्रोपावर ८७ करोड र जीवन विकास लघुवित्तको झन्डै ७५ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    उच्च अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नारायणी विकास बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    यसैगरी, अरुण भ्याली हाइड्रोपावर ७.५६ प्रतिशत, जानकी फाइनानस ६.९९, सिभिल लघुवित्त ६.३० र मनकामना लघुवित्तको सेयर मूल्य ६.०९ प्रतिशतले बढेको छ ।

    घट्दो बजारमा आज रुरु जलविद्युत्को सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

  • मंगलबारदेखि नेपाल-श्रीलंकाबीच सिधा उडान, न्यूनतम भाडादर ५९९ डलर

    मंगलबारदेखि नेपाल-श्रीलंकाबीच सिधा उडान, न्यूनतम भाडादर ५९९ डलर

    काठमाडौं। नेपाल र श्रीलंकाबीच सीधा हवाई उडान शुरू हुने भएको छ ।

    नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं-कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् ।

    हप्तामा दुईपटक काठमाडौंबाट कोलोम्बो उडान भर्ने गरी श्रीलंकाको राष्ट्रिय एयरले प्राधिकरणबाट अनुमति लिएको छ ।

    काठमाडौं-कोलम्बोको भाडादर न्यूनतम ५९९ देखि अधिकतम ११५८ डलरसम्म तोकिएको छ । श्रीलंकाको राष्ट्रिय धोजाबाहक श्रीलंकन एयरबाट उडान हुनेछ ।

    कोरोना महामारीअघिसम्म श्रीलंकाबाट नेपाल घुम्न आउने पर्यटकको संख्या उच्च रहँदै आएको छ ।

  • बजेट अध्यादेश प्रतिस्थापन गर्न विधेयक आउने

    बजेट अध्यादेश प्रतिस्थापन गर्न विधेयक आउने

    काठमाडौं । अध्यादेशबाट आएको चालू आर्थिक वर्षको बजेट प्रतिस्थापन गर्न विधेयक ल्याउने भएको छ । सो प्रयोजनका लागि सरकारले तयारी शुरु गरेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले अन्य मन्त्रालयका सचिवको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गरेको छ ।

    नवगठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको हो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत चालू आवको बजेट सार्वजनिक गरेका हुन् । संविधानअनुसार हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

    बजेट प्रस्तुत हुनुभन्दा केही दिनअघि मात्रै प्रतिनिधिसभा विघटन गरिएका कारण अध्यादेशबाट बजेट आएको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकका प्राथमिकताका बारेमा जानकारी दिँदै विद्यमान अर्थतन्त्रलाई उत्पादनमुखी दिशातर्फ सोझ्याउने गरी कार्यक्रम परिमार्जन गरेर पठाउन निर्देशन दिए । अध्यादेश बजेट परिमार्जन गर्दा सङ्घीयताको व्यावहारिक कार्यान्वयनलाई बल पुग्ने, वित्तीय अनुशासन कायम गर्ने तथा पुँजीगत खर्च बढाउने र पुँजी निर्माण गर्ने खालका कार्यक्रममा जोड दिनुपर्ने उनको भनाई छ ।

    गरिबी घटाउने र रोजगारी बढाउने, सहज स्वास्थ्य सेवाको उपलब्धता, शिक्षा, कृषि र पर्यटनलगायतलाई प्राथमिकतामा राखेर परिमार्जन प्रस्ताव पठाउन विभिन्न मन्त्रालयलाई भनिएको छ । मन्त्री शर्माले राष्ट्रिय गौरवका आयोजनाको पुनःपरिभाषा र पुनर्तालिकीकरण, थन्किएर रहेको राज्यको सम्पत्ति र विभिन्न कोषको एकीकृत परिचालनमा उचित ध्यान दिइनेसमेत बताए ।

    योजना र बजेटको तालमेल मिलाइने र विस्तृत परियोजना प्रतिवेदनलगायत पूर्वतयारीविनाका, स्रोत सुनिश्चित नभएका आयोजनाका सम्बन्धमा पुनर्विचार गरिने भएको छ । सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रलाई ध्यान दिइ आआफ्नो मन्त्रालयको बजेट तथा कार्यक्रम परिमार्जन गरी शुक्रबारसम्म अर्थ मन्त्रालयमा पठाइसक्न मन्त्री शर्माले निर्देशन दिए ।

  • अपांगमैत्री छैनन् नेपालमा तारे होटेलका संरचना

    अपांगमैत्री छैनन् नेपालमा तारे होटेलका संरचना

    काठमाडौं । नेपालमा पर्यटक स्तर र तारे स्तरका होटलमा समेत अपांगमैत्री संरचना नहुँदा त्यस प्रकारका पाहुनालाई आकर्षित गर्न सकिएको छैन । पहुँचयोग्य पर्यटकका कारण मुलुकको अर्थतन्त्रमै सकारात्मक प्रभव पर्न सक्ने भएपनि त्यसअनुसारको संरचना बनाउन नसकिएको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को अध्ययन अनुसार नेपालका तारे स्तरका ९० होटल र त्यसमा संलग्न व्यवसायीले यसबारे आफुलाई थाहा भए पनि कार्यान्वयनमा नरहेको बताएका छन् ।

    प्रतिवेदन अनुसार ९५ प्रतिशत होटल व्यवसायीले पहुँचयोग्य पर्यटनको अवधारणाबारे आफूहरु जानकारी रहेपनि त्यस प्रकारका पूर्वाधार नभएको बताएका हुन् । पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न आवश्यक पर्ने लगानी नै त्यस्ता सुविधा बन्न नसक्ने कारण समेत अध्ययनले निष्कर्ष निकालेको छ । आईएफसी र राष्ट्रिय अपाङ्ग महासंघको आर्थिक तथा प्राविधिक सहयोगमा आर्थिक पत्रकार समाज सेजनले प्रतिवेदन तयार पारेको थियो ।

    प्रतिवेदन बुधबार सार्वजनिक गरियो । अध्ययनअनुसार नेपालका अधिकांश होटलका संरचना पुराना भइसकेका छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय अध्ययनले समावेशी पर्यटनका पूर्वाधार तयार पार्दा लगानीको शून्य दशमलव २ प्रतिशत मात्र खर्च थपिने बताए पनि होटलले यस्तो संरचना थप्न सकेका छैनन् । अधिकांश होटलमा अपाङ्गता भएका व्यक्तिको आवतजावतका लागि चाहिने भिराला र्‍याम्प, ह्विलचियर तथा अन्य पूर्वाधारमा पर्याप्त लगानी गर्न सकेका छैनन् ।

    अध्ययन अनुसार सुलभ पर्यटनको अवधारणाबारे सरकारी निकाय समेत अनभिज्ञ छन् । अध्ययनले समावेश पहुचयोग्य सुलभ पर्यटन प्रवद्र्धन गर्न सरकार, निजी क्षेत्र र दातृ निकायबीच सहकार्य अनिवार्य भएको निष्कर्ष समेत निकालेको छ । सुलभ पर्यटनको अवधारणामा अपाङ्गता भएका व्यक्तिसँगै गर्भवती अवस्थाका महिला, बिरामी, बालबालिका र काखे नाबालक भएका परिवारका सदस्यको आवश्यकतामा समेत उपयोगी हुन्छ ।

    आईएफसीको अध्ययनले अहिले सञ्चालनमा रहेका अधिकांश होटलमा अपाङ्गता भएका व्यक्तिको आवतजावतका लागि लिफ्ट र भिराला र्‍याम्प मात्रै रहेको, अध्ययनमा समावेश भएका १७ प्रतिशत होटलले दृष्टिविहीन पाहुनाको सहयोगका लागि संकेत चिन्ह राखेको देखाएको छ । बाँकी ७४ प्रतिशत होटलले ढोका बाहिर वा कोठाको निर्देशिका पुस्तकमा ब्रेल लिपी वा संकेत चिन्हको प्रयोग गरेका छैनन् । अध्ययनले ९ प्रतिशत होटलका कर्मचारी पहुँचयोग्य पर्यटन र विशिष्ट क्षमता भएका पाहुनावारे प्रशिक्षित रहेका र ३३ प्रतिशत होटलमा अपाङ्ग अतिथिका लागि अतिरिक्त ह्विलचेयरको व्यवस्था रहेको देखाएको छ ।

  • नेपाली सेयर बजारमा लगातार पहिरो

    नेपाली सेयर बजारमा लगातार पहिरो

    काठमाडौं । सेयर बजारमा लगातार पहिरो गएको छ । मंगलबार ५६ अंकले घटेको बजार आज पनि ४८ अंकले घटेको छ । दुई कारोबार दिनमै नेप्से सूचक १०५ अंकले घटेको हो ।

    सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । गतहप्ता दैनिक २० अर्ब बढीको कारोबार हुँदै आएकोमा आज १२ अर्बमा सीमित भएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से ४८.४२ अंकले घटेर ३१७६.४४ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२७ कम्पनीको १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५०४ रुपैयाँ बराबरको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.८४ प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक र उत्पादनमूलक समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज कारोबारमा आएका २२७ कम्पनीमध्ये जम्मा २६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अरुण काबेली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै रिडी हाइड्रोपावर ४८ करोड र अरुण भ्याली हाइड्रोपावर ४६ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    उच्च अंकले घटेको बजारमा आज खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको मूल्य करिब १० प्रतिशतले घटेको छ ।

    यसैगरी, आज जानकी फाइनान्स ६.०५ प्रतिश, जनरल इन्स्योरेन्स, नेपाल फाइनान्स, हिमालयन पावर, फर्स्ट माइक्रोफाइनान्स र रुरु जलविद्युतको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । जीवन विकास लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने आइसीएफसी फाइनान्सको मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।

  • पुसमा बुझाउनु पर्ने बैंकको साँवा ब्याज कोरोनाका कारण बुझाउन नसक्नेलाई एक वर्ष म्याद थप

    पुसमा बुझाउनु पर्ने बैंकको साँवा ब्याज कोरोनाका कारण बुझाउन नसक्नेलाई एक वर्ष म्याद थप

    काठमाडौं । आगामी पुुस मसान्तमा बैंकलाई बुझाउनु पर्ने ऋणको साँवा ब्याज कोरोना भाइरसको महाकारीका कारण तिर्न नसक्ने ऋणीलाई समय थप भएको छ । कोरोना प्रभावित ऋणीले ऋण तिर्न अतिरिक्त समय पाउने गरि नेपाल राष्ट्र बैंकले प्रावधान ल्याएको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन अनुसार आगामी पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्षसम्म म्याद थप गर्न निर्देशन दिएको हो ।

    अब क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले कोरोनाबाट अति प्रभावित क्षेत्रहरु रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था, मनोरञ्जन व्यवसाय तथा नगद प्रवाह अवरुद्ध भएका लघु, घरेलु, साना तथा मझौला व्यवसायीलाई असर मूल्याङ्कन गरी पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज एक वर्षसम्म म्याद थप गरी कम्तिमा चार किस्तामा असुली गर्ने व्यवस्था गर्न सक्ने छन् ।

    यस्तो ब्याजलाई पुँजीकरण गर्न पाइने छैन । यसमा पेनाल ब्याज समेत नलाग्ने व्यवस्था मिलाउन राष्ट्र बैंक्ले निर्देशन दिएको छ । होटल, ट्राभल, ट्रेकिङ्ग र हवाई सेवा जस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई परेको कोरोनाको असर मूल्याङ्कन गरी २०७९ असार मसान्तसम्म हुन आउने ब्याजलाई छुट्टै हिसाब राखी दुई वर्षसम्ममा कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

    राष्ट्र बैंकले यस्तो ब्याजलाई पनि पुँजीकरण गर्न नपाइने र थप हर्जाना तथा पेनाल ब्याज नलाग्ने व्यवस्था मिलाउन भनेको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञालाई मध्यनजर गरी ऋणीहरुले २०७८ असारसम्म भुक्तानी गर्नु पर्ने ईएमआई, ईक्यूआई वा अन्य साँवा ब्याज निषेधाज्ञाको कारणले भुक्तानी गर्न नसकेको अवस्थामा ऋणीको वित्तीय स्थिति मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्न सक्ने भएका छन् ।

  • कुलमान नियुक्तिका मिसिल झिकाउन सर्वोच्चको आदेश

    कुलमान नियुक्तिका मिसिल झिकाउन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्नुको कारण माग गरेको छ।

    मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले कुलमानको नियुक्तीविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा तीन दिनभित्र मिसिल झिकाउन आदेश दिएको हो ।

    प्रधिकरणको कार्यकारी निर्देशकमा आफू बहाल रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्रदेव शाक्यले रिट दिएका थिए।

    आफू पदमा रहँदा रहँदै कुलमानलाई गरिएको नियुक्ति कानूनविपरीत भएको भन्दै उनलाई काम गर्नबाट रोक लगाउने अन्तरिम आदेश माग गरेका थिए।

    साथै इजलासले हितेन्द्रदेव शाक्यलाई विद्युत विकास निगममा लैजान गरिएको निर्णयको प्रति पनि झिकाउने आदेश दिएको छ ।

    शाक्यले कुलमानको नियुक्ति बदर गर्न अन्तरिम आदेशको माग गरेका थिए । तर सर्वोच्च अदालतले पहिलो सुनुवाइमा अन्तरिम आदेश नदिइ मिसिल झिकाउन आदेश गरेको हो ।

    गत साउन २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणबाट हितेन्द्रदेवलाई हटाउँदै कुलमानलाई पुनःनियुक्ति गर्ने निर्णय गरेको थियो

  • खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौं । नेपालमा खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्य बढाएको हो । डिजेल, पेट्रोल र मटिटतेलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ ।

    पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ पुगेको छ । एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढेर १ हजार ४५० पुगेको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको छ ।

    इण्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको निगमको भनाई छ । यसअघि असार ३० मा मूल्य बढेको थियो । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रति लिटर २.६४ रुपैयाँ तथा ग्यासमा प्रति सिलिण्डर ४२०.७५रुपैयाँ घाटा हुन्छ ।

  • एनसेलमाथि प्राधिकरणले लगायो जरिवाना, १ अर्ब ११ करोड क्षतिपूर्ति तिर्नुपर्ने

    एनसेलमाथि प्राधिकरणले लगायो जरिवाना, १ अर्ब ११ करोड क्षतिपूर्ति तिर्नुपर्ने

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि कारवाही गरेको छ । यो दूरसञ्चार क्षेत्रको अहिलेसम्मकै ठूलो कारबाही हो । ग्राहकको मन्जुरी नलिई गेमलफ्ट, ह्वावे एप ग्यालरीजस्ता भ्यालु एडेड सर्भिस आफैँ नवीकरण गराएको र यसबाट रकम लिएको अभियोग एनसेलमाथि लागेको छ । प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलमाथि १ अर्ब ११ करोड २९ लाख रुपियाँ क्षतिपूर्ति भराउने निर्णय गरेको छ ।

    साउन ३२ गते बसेको प्राधिकरणको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । एपको स्वतः नवीकरण हुँदा प्रयोगकर्ताले थाहै नपाई ब्यालेन्स घट्ने समस्या रहेको पुष्टी भएको हो । प्राधिकरणले एनसेललाई तोकेको क्षतिपूर्ति कम्पनीले सम्बन्धित ग्राहकलाई नै उनीहरूको मोबाइलमा फिर्ता गगराउन भनेको छ । तीन महिनाभित्र एनसेलले क्षतिपूर्तिबापतको रकम ग्राहकलाई नै फिर्ता गरिसक्नु पर्ने छ ।

    फिर्ता गरिएको रकमको विवरण मासिक रूपमा उपलब्ध गराउन समेत प्राधिकरणले एनसेललाई भनेको छ । रकम फिर्ता गर्दा कुनै ग्राहकको सेवा बन्द भई वा अन्य कुनै कारणले ग्राहकको पहिचान हुन नसकेको अवस्थामा फिर्ता गर्नुपर्ने रकमलाई छुट्टै कोष खडा गरी सो कोषमा उक्त रकम जम्मा गर्नुपर्ने निर्णय प्राधिकरणले गरेको छ । एनसेल प्रयोगकर्ताले मोबाइलबाट आफैँ ब्यालेन्स घट्ने गरेको उजुरी गरेपछि प्राधिकरणले अनुसन्धान गरेको थियो ।

    अध्ययनबाट २०७५ असोज १५ देखि २०७७ जेठ १८ सम्म एनसेलले गेमलफ्ट नामको भ्यास सेवामार्फत ११ करोड ३७ लाख रुपियाँ आर्जन गरेको थियो । ह्वावे एप ग्यालरीको नाममा कम्पनीले सोही अवधिमा ९९ करोड ९२ लाख रुपियाँ आर्जन गरेको छ ।

  • नेपालमा बेरुजु सवा ४ खर्बसहित हिसाव नमिलेको रकम साढे ६ खर्ब

    नेपालमा बेरुजु सवा ४ खर्बसहित हिसाव नमिलेको रकम साढे ६ खर्ब

    काठमाडौं । नेपालमा सवा ४ खर्ब बेरुजुसहित हिसाव नमिलेको रकम साढे ६ खर्ब भन्दा माथि पुगेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०७६\७७ को ५८ औँ वार्षिक प्रतिवेदन पेश गर्दै महालेखा परिक्षकको कार्यालले यस्तो जानकारी गराएको हो । प्रतिवेदनका अनुसार सरकारले कारबाही गरेर टुङ्गो लगाउनुपर्ने रकम रु ६ खर्ब ७६ अर्ब ४१ करोड बराबर रहेको छ ।

    महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६\७७ सम्म बेरुजु रकम रु ४ खर्ब १८ अर्ब ८५ करोड बराबर रहेको छ । आव २०७५\७६ मा रु चार खर्ब १८ अर्ब ३२ करोड रहेको बेरुजु आव २०७६र७७ मा थप रु ५३ करोडले बढेको हो ।

    लेखापरीक्षणबाट रु छ अर्ब १७ करोड बराबरको असुल भएको छ । सङ्घीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थाको समेत रु ५३ खर्ब २७ अर्ब ९१ करोड बराबरको लेखापरीक्षण गरिएको महालेखापरीक्षकको कार्यालयले जानकारी गराएको छ ।

    यसमध्ये तीन हजार ७९ सरकारी निकाय र एक हजार १९ कार्यालयको रु १५ खर्ब ५५ अर्ब ८१ करोड बराबरको लेखापरीक्षणबाट रु ४४ अर्ब ३९ करोड, प्रदेश निकाय र कार्यालय गरी कूल एक हजार १९ को रु दुई खर्ब ३७ अर्ब ४१ करोडको लेखापरीक्षणबाट रु ६ अर्ब ५० करोड बेरुजु देखिएको छ । महालेखाले स्थानीय तहको रु आठ खर्ब १५ अर्ब ९९ करोडको लेखापरीक्षणबाट रु ४० अर्ब ८३ करोड बराबरको बेरुजु देखिएको उल्लेख गरेको छ ।

    कूल ८१ सार्वजनिक संस्थातर्फ रु २५ खर्ब ५५ अर्ब १३ करोडको लेखा परीक्षण गरिएको छ । लेखापरीक्षणका क्रममा वित्तीय प्रशासन, आर्थिक अनुशासन, कोरोना महामारीमा सार्वजनिक खर्च कटौती र उपयोग, मितव्ययिता एवं कार्यदक्षता प्रवद्र्धन, भ्रष्टाचार न्यूनीकरण, विकास निर्माण र खरिद प्रक्रियामा मितव्ययिता र पारदर्शिता, सेवा प्रवाहमा समस्या रहेको ठहर गरेको छ ।

  • उच्च शिक्षाका लागि विश्व बैंकले दिने भयो ७ अर्ब रुपैयाँ ऋण

    उच्च शिक्षाका लागि विश्व बैंकले दिने भयो ७ अर्ब रुपैयाँ ऋण

    काठमाडौं । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि ६ करोड अमेरिकी डलर अर्थात् करिब ७ अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आयोजित एक समारोहमा बिहीबार सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलङ्काका लागि देशीय निर्देशक फारिस हदाद–जार्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरे ।


    उक्त सहायता नेपालको उच्च शिक्षामा सुधार गर्न, सिकाइमा सूचना प्रविधिको प्रयोग बढाउन र पिछडिएका तथा जोखिममा रहेका विद्यार्थीलाई शैक्षिक संस्थासम्मको पहुँच बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ । हस्ताक्षर कार्यक्रममा अर्थसचिव मरासिनीले युवालाई आफ्नो पूर्ण क्षमता हासिल गर्न सघाउनका लागि मानव पूँजीमा लगानी गर्नु नेपालको प्राथमिकता रहेको उल्लेख गर्दै यसबाट कोभिड–१९ महामारीका कारण शिक्षा प्राप्त गर्नबाट वञ्चित भएका विद्यार्थी लाभान्वित हुने बताए ।

    विश्व बैंकका देशीय निर्देशक फारिसले गुणस्तरीय उच्च शिक्षालाई पहुँचयोग्य, समावेशी तथा श्रम बजारको आवश्यकतासँग सान्दर्भिक गराउन आवश्यक रहेको भन्दै कार्यक्रमले नेपालको पुनरुत्थानशीलतालाई सुदृढ बनाउन महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे । कार्यक्रमले बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादनका लागि नेपालका विभिन्न विश्वविद्यालयबाट छात्रवृत्ति प्रदान गरिने बताइएको छ । यस्तो छात्रवृत्ति विशेषगरी पिछडिएका र विभिन्न कारणले उच्च शिक्षा प्राप्त गर्नबाट वञ्चित हुने विद्यार्थीलाई प्रदान गरिने समेत विश्व बैंकले जनाएको छ ।

  • रेल्वे कम्पनीमा माधव नेपाल निकट झा नियुक्त

    रेल्वे कम्पनीमा माधव नेपाल निकट झा नियुक्त

    काठमाडौं । माधव कुमार नेपालले एमाले फुटाएसँगै सरकारले उनको नाममा छुट्याएका स्थानमा नियुक्तिहरु गर्न थालेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्न नेपालले नै निर्णायक भूमिका खेलेका हुन् । नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएको छ । सोही दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा समेत एमाले समाजवादीकै नेतालाई नियुक्ति दिइएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नियुक्त गरेको छ । उनी सप्तरीको सदरमुकाम राजविराज नगरपालिका निवासी हुन् । केपी शर्मा ओली नेतृत्वमा भने यो पदमा गुरु भट्टराई नियुक्त थिए । सरकारले उनीसँगै स्पष्टिकरण सोधेपछि राजिनामा गरेका थिए ।

  • नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना तामाकोशी पूर्ण क्षमतामा संचालन

    नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना तामाकोशी पूर्ण क्षमतामा संचालन

    दोलखा । नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना पूर्ण क्षमतामा संचालनमा आएको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सोमबारदेखि छ वटा युनिटबाट विद्युत उत्पादन थालिएको हो । यो आयोजनाको कुल क्षमता ४५६ मेगावाट हो । स्वदेशी लगानीमा निर्माण भएको आयोजनाको गत जेठमा उद्घाटन भएको थियो । यसअघि ५ वटा युनिटबाट उत्पादन थालेको आयोजनामा सोमबारबाट थप एक युनिट समेत संचालनमा ल्याइएको हो । आयोजनामा ७६, ७६ मेगावाटका छ युनिट छन् ।

    मङ्गलबारसम्म चारवटा युनिटबाट व्यावसायिक उत्पादन शुरु भएको छ । अर्थातः ती युनिटबाट निस्किएको विजुलीले आम्दानी समेत गर्न थालेको छ । दुई युनिट भने परीक्षणमै छन् । पाँचौँ युनिटले एक हप्ता र छैटौँ युनिटले १५ दिनपछि व्यावसायिक उत्पादन दिने आयोजनाको भनाई छ । उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्न रामेछापको फुलासीस्थित २२०, १३२ केभीको सब–स्टेसनमा जडान गरिएको छ । विद्युत् ढल्केबर र लामोसाँघु हुँदै राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण भएको हो ।

  • नेपाली सेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम २१ अर्ब नाघ्यो

    नेपाली सेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम २१ अर्ब नाघ्यो

    काठमाडौं । आज सेयर बजारमा तीव्र उतरचढाव आएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको प्रभाव पर्दा बजारमा तीव्र उतरचढाव देखिएको हो ।

    बजार खुल्नसाथ ओरोलो लागेको बजार ७० अंकसम्म ओरालो लागेको थियो भने अन्त्यमा २४ अंकले घटेर बन्द भएको छ । बैंकिङ, माइक्रोफाइनान्स समूह सम्हालिए पनि जलविद्युत्, फाइनान्स र विकास बैंक समूहको सेयरमा पहिरो गएको छ ।

    राष्ट बैंकले सेयर बजारलाई प्रत्यक्ष असर पर्ने सेयर धितो कर्जाको मूल्यांकनमा कुनै फेरबदल नगरे पनि कर्जाको सीमा तोक्दा ठूला खेलाडी असर पर्ने भएपछि तीव्र उतरचढाव आएको हो ।

    एक व्यक्तिले अधिकतम् एउटा बैंकबाट ४ करोड र सबैसंस्थाबाट गरी १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरेको छ । यसले साना लगानीकर्तालाई असर नगरे पनि ठूला खेलाडीलाई भने प्रत्यक्ष असर गर्ने देखिन्छ ।

    दिनभर उतरचढाव आएको बजारमा कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन साढे २१ अर्ब बढीको कारोबार हुँदै सर्वाधिक कारोबारको रेकर्ड बनेको छ । यो नेपाली सेयर बजारमा इतिहासमै एकैदिन भएको सर्वाधिक कारोबार हो । यसअघि गत जेठ ३१ गते सर्वाधिक १९ अर्ब ७० करोडको कारोबार भएको थियो ।

    ठूलो अंकले बजार घट्दा लगानीकर्ता आँत्तिएर सेयर बेच्दा र घटेको मौकामा सेयर उठाउने हाबी हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाएको हो ।

    आज सेयर बजार मापक सूचक नेप्से २४.५७ अंकले घटेर ३१५४.०८ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२२ कम्पनीको २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँ बराबरको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचकमा हरियाली छाएको छ १० समूहको परिसूचक राताम्मे भएका छन् । उत्पादनमूलक समूह सबैभन्दा धेरै २.३५ अंकले बढेको छ भने हाइड्रोपावर समूह ४.१३ अंकले घटेको छ । यस्तै, विकास बैंक र फाइनान्स समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज कारोबारमा आएका २२२ कम्पनीमध्ये जम्म ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको एकैदिन १ अर्ब ५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा हिमालयन डिस्टीलरी ७९ करोड र अपी पावर ७० करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    दोहोरो अंकले घटेको बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । युनियन लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । यस्तै, आइसीएफसी फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

  • एक वर्षमा विदेशबाट नेपालीले पठाए ९ खर्ब ६१ अर्ब रेमिट्यान्स

    एक वर्षमा विदेशबाट नेपालीले पठाए ९ खर्ब ६१ अर्ब रेमिट्यान्स

    काठमाडौं । नेपालमा एक वर्षको अवधिमा विदेशबाट ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीले सो परिमाणमा रेमिट्यान्स पठाएका हुन् । आर्थिक वर्ष २०७७\७८ मा सो मात्रामा रकम भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको तुलनामा भने यो आवमा रेमिट्यान्स ९.८ प्रतिशतले बढेको छ । कोरोना महामारीका वावजुत भित्रिएको रेमिट्यान्सले अर्थतन्त्रमा भने उत्साह थपेको छ । यो रकम एक वर्षमा भित्रिएको सबैभन्द ठूलो रकम हो ।

    राष्ट्र बैंकका अनुसार गत साउनमा ९३ अर्ब, भदौमा ७३ अर्ब, असोजमा ९३ अर्ब, कात्तिकमा ७८.९ अर्ब, मंसिरमा ७९ अर्ब रुपैयाँ रकम भित्रिएको छ । पुसमा साढे ७८ अर्ब, माघमा साढे ७२ अर्ब, फागुनमा साढे ७४ अर्ब, चैतमा ८७ अर्ब, वैशाखमा ८१ अर्ब, जेठमा ६१ अर्ब र असारमा साढे ९० अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखिएको छ । कतार, दुबई, मलेसियालगायत मुलुकबाट नेपालमा बढी रेमिट्यान्स आउने गरेको छ ।

  • एक जना कामदारमा कोरोना पुष्टी भएपछि चीनले रोक्यो सबैभन्दा ठूलो बन्दरगाहको सेवा

    एक जना कामदारमा कोरोना पुष्टी भएपछि चीनले रोक्यो सबैभन्दा ठूलो बन्दरगाहको सेवा

    मेशान\चीन । एक जना कामदारमा कोरोना भाइरसको संक्रमण भएपछि चीनले ठूला बन्दरगाहमध्ये एक मानिने कार्गो बन्दरगाहको सेवा रोकेको छ । आंशिक रूपमा बन्द गरिएको बन्दरगाहका कारण विश्व व्यापारमै असर पर्ने चिन्ता व्यक्त गरिएको बीबीसीले लेखेको छ । एकजना कामदार कोभिड १९ को डेल्टा भेरिअन्टबाट सङ्क्रमित भएको पुष्टि भएपछि बुधवार निङ्गबाओ-जोसान बन्दरगाहका सेवा रोकिएको हो ।

    पूर्वी चीनमा अवस्थित उक्त बन्दगाह विश्वकै तेस्रो धेरै व्यस्त कार्गो बन्दरगाह मानिन्छ । क्रिस्मसका लागि गरिने किनमेलअगाडि उक्त बन्दगाहका सेवा बन्द हुँदा आपूर्ति प्रणाली थप अवरुद्ध हुने खतरा उत्पन्न भएको समाचारमा उल्लेख छ । मेशान द्वीपमा रहेको उक्त बन्दगाहको टर्मिनल अर्को सूचना जारी नभएसम्म बन्द गरिएपछि एक चौथाइले कन्टेनर कार्गो सेवा कटौती भएको छ।

    चीन र दक्षिण पूर्व एशिया तटबाट अमेरिकाको पूर्वी तटतर्फ पानीजहाजबाट सामान ओसारपसार गर्दा लाग्ने खर्च कीर्तिमानी स्तरमा पुगेका विवरणका बीच पछिल्लो समाचार आएको समेत बीबीसीले लेखेको छ । बेलायतका कतिपय व्यापारीले पहिल्यैदेखि सामान ओसारपसार गर्दा बढेको खर्चको दबाव महसुस गरिरहेको समेत समाचारमा जनाइएको छ । साङ्घाई र सिङ्गापुरपछि निङ्गबाओ-जोसान विश्वको ठूलो बन्दरगाह हो। त्यसका टर्मिनल लामो समयसम्म बन्द रहे भने विश्वको अर्थतन्त्रमा ठूलो असर पर्ने बताइएको छ ।

  • थन्किएका गाडी मर्मत गर्न व्यवसायीले २ लाखसम्म ऋण लिन पाउने

    थन्किएका गाडी मर्मत गर्न व्यवसायीले २ लाखसम्म ऋण लिन पाउने

    काठमाडौं । लामो लकडाउनका कारण ग्यारेजमा थन्किएर बसेका सवारी साधनको मर्मत गर्न व्यवसायीले बैंकबाट ऋण लिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारी साधन मर्मतका लागि पनि ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको बताएको छ । चालु आर्थिक वर्षका लागि जारी गरिएको मौद्रिक नीतिमा कोभिड १९ बाट अति प्रभावित सार्वजनिक यातायात सञ्चालन तथा मर्मतसम्भारको लागि बैंक तथा वित्तीय संस्थाले प्रतिसवारी साधन २ लाख रुपैयाँसम्म थप कर्जा प्रदान गर्न सक्ने व्यवस्था मिलाइएको हो ।

    सार्वजनिक सवारी धनीले निषेधाज्ञामा थन्किएका सवारीको मर्मतका लागि नगद प्रवाह नभएको गुनासो गरेका बेला केन्द्रिय बैंकले यस्तो व्यवस्था गरेको हो । सार्वजनिक यातायात व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तीमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिनेछ । यो व्यवस्था कोभिड(१९ महामारीका कारण नगद प्रवाह अवरुद्ध भएका लघु, घरेलु, साना र मझौला व्यवसायलाई समेत लागू हुने व्यवस्था पनि नीतिले गरेको छ ।

  • निषेधाज्ञापछि असारमा तिर्न नसकेको बैंकको साँवा-ब्याज पुस मसान्तसम्म तिर्न सकिने

    निषेधाज्ञापछि असारमा तिर्न नसकेको बैंकको साँवा-ब्याज पुस मसान्तसम्म तिर्न सकिने

    काठमाडौं । कोरोना महामारी र त्यसको रोकथामका लागि अपनाइएको निषेधाज्ञाका कारण २०७८ असारसम्म तिर्नुपर्ने बैंकको ब्याज तथा किस्ता तिर्न नसकेका ऋणीले अब पुस मसान्तसम्म तिर्न सक्ने भएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै यो नीतिबारे जानकारी गराएका हुन् ।

    मौद्रिक नीतिले निषेधाज्ञा अवधिको २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ईएमआई, इक्यूआई वा सावाँ ब्याज भुक्तानी गर्न नसकेका ग्राहकको वित्तीय स्थिति बैंक तथा वित्तीय संस्थाले मूल्यांकन गरी २०७८ पुस मसान्तसम्म म्याद थप गर्न सकिने व्यवस्था मिलाएको हो ।

    कोभिड महामारीबाट अति प्रभावित होटेल, ट्राभल, ट्रेकिङ, हवाई सेवालगायत पर्यटनमा निर्भर रहने व्यवसायी ऋणीको हकमा वित्तीय अवस्था विश्लेषण गरी आवश्यकता अनुसार २०७९ असार मसान्तसम्म पाक्ने ब्याजको छुट्टै हिसाबमा राख्ने व्यवस्था हुने भएको छ । यस्तो रकममा थप हर्जाना र पेनाल्टी ब्याज नलाग्ने व्यवस्था मिलाइएको छ ।


    कोभिड १९ महामारीबाट अति प्रभावित क्षेत्रमध्ये रेष्टुरेन्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरन्जन व्यवसायका ऋणले २०७८ पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने सावाँ तथा ब्याज दायित्वको समयावधि एक वर्ष थप गर कम्तीमा चार किस्तामा तिर्न सकिने व्यवस्था गरिने भएको छ ।

    यो व्यवस्था कोभिड १९ महामारीका कारण नगद प्रवाह अवरुद्ध भएका लघु, घरेलु, साना तथा मझौला व्यवसायलाई समेत लागू हुने भएको छ । कोभिड १९ बाट अति प्रभावित पर्यटन, चलचित्र, पार्टी प्यालेस, सार्वजनिक यातायात तथा शिक्षा क्षेत्रमा प्रवाह भएको कर्जा बैंक तथा वित्तीय संस्थाले मूल्यांकन गरी २०७८ साल पुस मसान्तसम्म पुनर्संरचना तथा पुनर्तालिकीकरण हुने समेत मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

  • सरकारले सेयर धितोमा ठूला लगानीकर्तालाई कस्यो, अब १२ करोड भन्दा बढी ऋण नपाइने

    सरकारले सेयर धितोमा ठूला लगानीकर्तालाई कस्यो, अब १२ करोड भन्दा बढी ऋण नपाइने

    काठमाडौं । सरकारले सेयर धितो राखेर ऋण लिने ठूलो लगानीकर्तालाई लगाम लगाएको छ । यसअघि सेयरको धितो मूल्यांकनको सीमालाई भने ७० प्रतिशत राखी सोका आधारमा मागेजति कर्जा दिने गरिएको थियो । अब भने नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो राखेर ऋण प्रवाहमा कडाइ गरेको हो । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको छ ।

    नयाँ व्यवस्थाअनुसार सेयर धितो ऋणको सीमा एक संस्था वा व्यक्तिको बढीमा १२ करोड रुपैयाँ हुनेछ । एक बैंकबाट बढीमा चार करोड रुपैयाँभन्दा बढी ऋण लिन पाइनेछैन । विभिन्न बैंक तथा संस्थाहरुबाट गरेर जम्मा १२ करोड मात्रै ऋण पाइने व्यवस्था मौद्रिक नीतिमार्फत गरिएको हो । यसबाट ठूलो लगानीकर्ता प्रभावित हुने छन् । साना लगानीकर्तालाई भने यसले कुनै असर गर्नेछैन । सेयरको धितो मूल्यांकनको सीमालाई भने ७० प्रतिशतमा यथावत् नै राखिएका कारण समेत बजारलाई भने यसले प्रभाव पार्ने छैन ।

  • मौद्रिक नीतिमार्फत सरकारले भन्यो : रेमिट्यान्सलाई बैंकमा राखे अतिरिक्त एक प्रतिशत ब्याज पाइने

    मौद्रिक नीतिमार्फत सरकारले भन्यो : रेमिट्यान्सलाई बैंकमा राखे अतिरिक्त एक प्रतिशत ब्याज पाइने

    काठमाडौं । रेमिट्यान्सलाई औपचारिक च्यानलबाट भित्राउन र त्यसको औपचारिक क्षेत्रमै उपयोग बढाउन सरकारले प्रोत्साहन गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रिय बैंकले विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरे एक प्रतिशत थप ब्याज दिने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानलबाट पठाएर बचत गरेमा थप ब्याज दिने व्यवस्था गरेको उल्लेख छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नीति सार्वजनिक गरेका छन् । बैंकिङ च्यानलबाट आएको रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा राखेमा थप एक प्रतिशत ब्याजदर दिने व्यवस्था गर्ने अधिकारीको भनाई छ ।

  • अर्थमन्त्रीले भने : आन्तरिक राजस्व दोब्बर बढाउने योजना ल्याउ

    अर्थमन्त्रीले भने : आन्तरिक राजस्व दोब्बर बढाउने योजना ल्याउ

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना ल्याउन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । बिहीवार आन्तरिक राजस्व विभागको ब्रिफिङ लिने क्रममा मन्त्री शर्माले राजस्व सङ्कलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् । ‘चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरा लागि मान्य छैन । एक पटक राम्रोसँग सोच्नुहोस्, राजस्व सङ्कलन बढाउन सकिने उपायहरू तपाईँ आफैँ फेला पार्नुहुनेछ’, उनले भने ‘त्यसका लागि तपाईँलाई के चाहिन्छ ? जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ, त्यो उपलब्ध गराइन्छ । तर राजस्व दोब्बर बनाउने लक्ष्यका साथ काम गर्नैपर्छ ।’

    उनले करदातालाई कानुन लगाएर कर तिराउने नभइ करदाता आफैँले कर तिरुँ तिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन मातहतका निकायलाई निर्देशन दिए । ‘करदाता आफैँ उत्साहित भएर कर तिर्ने हुनुपर्दछ । त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयको तर्फबाट के–के गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस्’, मन्त्री शर्माले भने, ‘हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ ।’

    मन्त्री शर्माले समग्र देशको सम्पत्ति लेखाजोखा गर्नुपर्ने आवश्यकतासमेत औँल्याए । ‘कति हो त हाम्रो देशको सम्पूर्ण मूल्याङ्कन रु यसको हिसाब खोइ ? नागरिकसँग भएको सम्पत्ति के–कति हो ? सरकारको स्वामित्वमा भएको सम्पत्ति के–कति हो ? यसको हिसाब गर्ने योजना पनि चाहियो’, उनले भने । कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले राजस्व भनेको देशकै प्राणरेखा भएको भन्दै राजस्व सङ्कलनको निर्धारित लक्ष्य हेरफेर हुने सम्भावना रहेको बताए ।

  • आजबाट काठमाडौंमा रात्रिकालिन सवारी संचालनमा रोक

    आजबाट काठमाडौंमा रात्रिकालिन सवारी संचालनमा रोक

    काठमाडौं । कोरोना भाइरसको महामारी बढेसँगै आजबाट काठमाडौं उपत्यकामा कडाई हुने भएको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा कडाइ गर्न लागिएको हो । अब भदौ ८ गतेसम्म निषेधाज्ञा थप भएको छ निषेधाज्ञामा पुराना आदेश यथावत छन् । यसमा थप रातीको समयमा सवारीसाधन चलाउन कडाई गरिएको छ ।

    काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौँ उपत्यकामा साँझ ८ बजे भित्र निजी र सार्वजनिक सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको छ । अत्यावश्यक नपरेसम्म सवारी साधन चलाउन पाइने छैन । उपत्यकामा २५ जना भन्दा बढी भेला हुन नपाइने, मास्क अनिवार्य, पार्टी प्यालेस तथा सिनेमा हल बन्दसहितका प्रतिवन्ध कायम छन् । नेपालका कोरोनाको संक्रमण भने निरन्तर जारी छ ।