Category: अर्थतन्त्र

  • अब चितवनसम्म पाइपलाइनबाट ग्यास

    अब चितवनसम्म पाइपलाइनबाट ग्यास

    बारा । भारतको मोतिहारीबाट अब चितवनसम्म पाइपलाइनबाट ग्यास आउने भएको छ । मोतीहारी–चितवन पाइपलाइन र अमलेखगञ्ज–चितवन इन्धन पाइपलाइनको काम शुरु गरिएको छ ।

    शनिबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाड्दै यस आयोजनाको शुरुवात भएको घोषणा गरे ।
    मोतिहारी–चितवन ग्यास पाइपलाइनसँगै अमलेखगञ्ज–चितवनपेट्रोलियम पाइपलाइन समेत बिस्तार हुने उक्त अवसरमा जानकारी दिइयो ।

    अमलेखगञ्जबाट चितवनको लोथरसम्म करीब ६२ किलोमिटर लामो पाइपलाइन विस्तारको तयारी गरिएको हो ।

    अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन विस्तारको लागत ५ अर्ब ६७ करोड लाग्ने र पेट्रोलियम पदार्थ भण्डारण आयोजनाको लागत ४ अर्ब १९ करोड लाग्ने नेपाल आयल निगमले जनाएको छ ।

  • दुई वाणिज्य बैंक ग्लोबल आइएमई र जनता गाभिए

    दुई वाणिज्य बैंक ग्लोबल आइएमई र जनता गाभिए

    काठमाडौं । नेपालका दुई ठूला बैंक ग्लोबल आइएमई र जनता बैंक मर्जर भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बाध्यकारी वीग मर्जर नीति ल्याउने अपेक्षा गरिएको थियो ।

    तर, नीति नआएपनि दुई ठूला बैंक गाभिने निष्कर्षमा पुगेका हुन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकामा मर्जरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भयो ।

    सम्झौतापत्रमा ग्लोबल आइएमई बैकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले हस्ताक्षर गरे ।

    राष्ट्र बैकले अन्तिम स्वीकृति दिएपछि एकीकृत कारोबार सुरु हुने कार्यक्रममा जानकारी दिइयो । दुई बैकबीच २० असारमै मर्जरसम्बन्धी प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

    अब मर्जरपछि बन्ने बैकको नाम ग्लोबल आइएमई बैक रहने भएको छ । बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल रहने छन् । मर्जरपछि बैकको चुक्ता पूँजी १९ अर्ब पुग्ने छ । यो निजी क्षेत्रको सबैभन्दा ठूलो बैंकसमेत बन्ने छ ।

  • डुइङ विजनेस इन्डेक्समा नेपालको छलाङ

    डुइङ विजनेस इन्डेक्समा नेपालको छलाङ

    काठमाडौं । ‘डुइङ विजनेस इन्डेक्स’ मा नेपालले उल्लेख्य प्रगति गरेको छ । विश्व बैंकले निकाल्ने यस्तो प्रतिवेदनले विश्वव्यापी मान्यता पाउने गर्छ ।

    डुइङ विजनेस २०२० प्रतिवेदन अनुसार नेपाल ९४ औं स्थानमा रहेको छ । अघिल्लो वर्ष नेपाल १ सय १० औं स्थानमा रहेको थियो । डुइङ विजनेसले हेर्ने विभिन्न १० क्षेत्रमध्ये नेपालले ५ क्षेत्रमा सकारात्मक प्रगति गरेको छ । केही क्षेत्र भने नराम्ररी खस्किएका छन् ।

    खासगरी कर प्रशासन र विजनेश प्रारम्भ गर्ने प्रकृयामा रहेका झण्झटले नेपालको डुइङ विजनेस इन्डेक्स प्रभावित भएको पाइएको छ ।

    ९४ औं स्थानमा रहेको नेपालले समग्रमा ६३.२ अंक पाएको छ । अघिल्लो वर्ष ५९.७ अंक रहेको थियो । दक्षिण एसियामा सबैभन्दा अनुकूल वातावरण भारतमा बनेको छ ।

    १ सय ४२ औं स्थानमा रहेको भारत ६३ औं स्थानमा उक्लिएको छ । डुइङ विजनेश इनडेक्सको पहिलो नम्बरमा न्यूजिल्याण्ड छ । पुछारमा सोमालिया छ ।

    सबैभन्दा राम्रो छलाङ भने साउदी अरेवियाले मारेको छ । डुइङ विजनेस इन्डेक्समा कानूनि, प्रक्रियागत विषय तथा संरचनाले ठूलो भूमिका खेल्ने गर्छ । जब ति सबै क्षेत्रमा सुधार हुन्छ, त्यसबेला व्यापार व्यवसाय गर्ने तथा विदेशी लगानी आकर्षित हुने सम्भावना बढी हुन्छ ।

  • लोडसेडिङ हटेको उल्लासमय पर्व तिहार

    लोडसेडिङ हटेको उल्लासमय पर्व तिहार

    काठमाडौं । ४ वर्ष अगाडीसम्म नेपाल विद्यूत प्राधिकरणले हरेक तिहारमा एक सूचना जारी गथ्र्यो । सूचनामा बढी विद्यूत खपत हुने सामग्रीको कम प्रयोग गरी लोडसेडिङ हुनबाट बचाउन आह्वान गरिएको हुन्थ्यो ।

    तर, जब प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आए, त्यसपछि पहिलो वर्ष काठमाडौंबाट लोडसेडिङ हट्यो । त्यसपछिका वर्षहरुमा भने क्रमशः देशभरबाट लोडसेडिङको कालो इतिहास मेटिने क्रममा छ ।

    प्राधिकरणका अनुसार यो वर्ष पनि मानिसहरुले ढुक्कले आफ्नो घर, आगँन, कार्यालय र टोललाई झिलिमिली बनाउन सक्छ । कुनै प्राविधिक गडबडी हुनु बाहेक लोडसेडिङका कारण अन्धकारमा बस्नु पर्ने छैन ।

    प्राधिकरणले खासगरी लक्ष्मीपूजाको दिनका दिन खास व्यवस्था गरेको छ । यस दिन शहरी इलाकामा विद्युतको अधिक खपत हुन्छ । त्यसपछि भने क्रमशः यसको माग घट्दै जाने गर्छ ।

    लक्ष्मी पूजामा व्यवस्थापन गर्न सकियो भने वर्षभर ढुक्कसँग विद्यूत आपूर्तिको व्यवस्थापन हुने प्राधिकरणको भनाई रहेको छ ।

    तिहारअघि नै सबै जलविद्युत् गृह, सबस्टेसन, प्रसारणलाइन तथा ट्रान्सर्फमरको नियमित मर्मतको काम सक्ने लक्ष्य रहेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युतको माग काठमाडौं उपत्यका र देशका ठूला शहरमा हुन्छ ।

  • अब काठमाडौं छिर्ने गाडी सुरुङमार्गबाट

    अब काठमाडौं छिर्ने गाडी सुरुङमार्गबाट

    काठमाडौं । अब काठमाडौं उपत्यका छिर्न सुरुङमार्गको प्रयोग हुने भएको छ । आगामी ३ वर्षमा पुरा हुने गरी धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) जोड्ने सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।

    सुरुङमार्ग २.६८ किलोमिटर लामो हुने आयोजनाले जानकारी दिएको छ । सडक विभाग मातहत रहेको नागढुंगा सुरुङमार्ग आयोजनाले यो आयोजना बनाउदैछ ।

    आयोजना निर्माणको जिम्मा भने जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले पाएको छ । आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार काम भने आगामी डिसेम्बरबाट शुरु हुने छ ।

    तर, पूर्वतयारीको काम भने अब शुरु हुने भएको छ । यो कम्पनी विपि राजमार्ग निर्माण गर्ने सफल कम्पनी हो । यो सुरुङमार्गको डिजाइन समेत जापान सरकारका तर्फबाट भएको हो ।

    ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको लाग करबाहेक साढे १३ अर्ब रुपैयाँ हो । यस आयोजनासँगै करीव साढे दुई किलोमिटर लामो पहुँचमार्गसमेत निर्माण हुने भएको छ ।

    सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधाराचोक र सुरुङको मुखभन्दा मुनि २ वटा फ्लाइओभर बन्ने भएका छन् । गुर्जुधारामा ६१० मिटर लामो फ्लाइओभर बन्ने भएको छ ।

    आकस्मिक उद्धारका लागि एक लेनको सहायक सुरुङसमेत बनाउने तयारी छ । दुर्घटनाको समयमा सहायक सुरुङबाट गई उद्धार गर्न सकिन्छ । सुरुङमार्गमा टनेल बोरिङ मेसिन प्रयोग नभइ बिष्फोटक पदार्थ प्रयोग गरि निर्माण हुने भएको छ ।

  • टेलिकमले ल्यायो अफरै अफर

    टेलिकमले ल्यायो अफरै अफर

    काठमाडौं । नेपाल टेलिकमले ग्राहक लक्षित आकर्षक अफर सार्वजनिक गरेको छ । अटम सिजनलाई लक्षित गर्दै कम्पनीले नयाँ नयाँ सुविधा र अफर ल्याएको बताएको छ ।

    बिहीबारबाट शुरु भएको अफर अभियान आगामी ९ महिनासम्म जारी रहने कम्पनीले उल्लेख गरेको कम्पनीले मौसम अनुसार विभिन्न अफर मार्फत ग्राहक आकर्षित गरिरहेको छ ।

    अब यसअघि उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन ग्राहकमैत्री बनाइएको छ ।

    डे डाटा प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिन भर ८० एमबी डाटा चलाउन सकिने टेलिकमले उल्लेख गरेको छ ।

    डे भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने बताइएको छ ।

    एफटीटीएच कम्बो प्याक अन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य घटाइएको छ ।

    पहिलेको १ हजार २ सयको प्याकलाई १ हजार, ३ हजार ४ सयको प्याकलाई ३ हजार, ६ हजार ४ सयको प्याकलाई ५ हजार ५ सय र १२ हजार ३ सयको प्याकलाई अब १० हजार ५ सय रुपैयाँ मात्र पर्ने गरी परिमार्जन गरिएको छ ।

    एक घण्टा अनलिमिटेड प्याक, अल टाइम डाटा प्याक, १ जीबी पर डे डाटा प्याक, नाइट डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसल मिडिया प्याक, डाटा स्ट्रिमिङ प्याक, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट भ्वाइस प्याक, पोष्टपेड प्याक, एसएमएस प्याक, सीयूजी प्याक, एफटीटीएच प्याकेज, विद्यार्थी अफर, चाइना कल अफर, इन्डिया कल अफर, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकेज र मिस्ड कल अलर्ट सुविधा भने यथावत नै रहेका छन् ।

    फोरजी एलटीई अफरको रुपमा हाल दिइरहेका विभिन्न सुविधासमेत निरन्तर प्राप्त हुनेछन् ।

  • नेपालमा विदेशीलाई आकर्षक रोजगारी, बेरोजगार नेपाली खाडीमा

    नेपालमा विदेशीलाई आकर्षक रोजगारी, बेरोजगार नेपाली खाडीमा

    काठमाडौं । नेपालले हजारौं विदेशी नागरिकलाई आकर्षक रोजगारी प्रदान गरेको छ । त्यो पनि इज्यतिलो काममा । तपाई पत्याउनु हुन्छ ?

    किनकी स्वदेशमा काम पाएनौं भन्दै खाडीको तातो धुपमा संघर्ष गरिरहेका नेपालीको व्यथाले देशमा कुनै अवसर नै छैन कि भन्ने भान पर्छ ।

    तर, नेपालमा विदेशबाट दक्ष कामदारले आकर्षक मूल्यमा रोजगारी गरिरहेका छन् । यहाँबाट ठूलो रकम विदेशीएको छ । नेपालमा भारतीय नागरिकको यकिन तथ्यांक छैन ।

    तर, भारत सरकारको तथ्यांक हेर्ने हो भने भारतमा जाने रेमिट्यान्समध्ये टप १० मुलुकमा नेपाल पर्छ । यहाँबाट वार्षिक ३ खर्ब हाराहारी रकम भारत जाने गरेको छ ।

    जहाँकी वार्षिक ९ खर्ब हाराहारी रकम मात्र विदेश पुगेका नेपालीले स्वदेशमा पठाउने गरेका छन् । नेपालले विदेशमा अदक्ष कामदार पठाउँछ, काम अत्यन्तै धेरै गर्नुपर्छ र तर पारिश्रमिक कम आउँछ ।

    तर, नेपालमा भने विदेशीले निकै इज्यतिलो जागिर गर्छन् र राम्रो कमाई गरी स्वदेश फर्कन्छन् ।

    नेपालमा होटल, एयरलाइन्स, उद्योग, परियोजना र संघसंस्थामा विदेशी कामदारको माग अधिक छ ।

    श्रम तथा रोजगार मन्त्रालयको तथ्यांक अनुसार प्राविधिक क्षेत्रमा बढीजसो विदेशी कामदार ल्याउनु परेको छ । किनकी नेपालीले दक्षता विकास गर्ने गरी सीप नै सिक्न सकेका छ्रैनन् ।

    अर्कोेतर्फ भारतबाट भने नेपालीले काम गर्न अल्छी मान्ने तथा कामदार सानो सम्झने क्षेत्रमा बढी कामखार आएका छन् ।

    भारतीय नागरिकले नेपालमा श्रम स्वीकृति नलिइ नै काम गर्न सक्छन् । तथ्यांक अनुसार एक वर्षमा नेपालले २ हजार ७ जना विदेशी कामदारलाई श्रम स्वीकृति दिएको छ ।

    जसमध्ये भारतीय मात्र ७२ जना छन् । अन्य श्रमिकको भने यसमा कुनै गणना हुँदैन । नेपालमा श्रम स्वीकृति लिएर काम गर्नेमा बढीजसो चिनियाँ नागरिक छन् ।

    यसबाहेक अष्ट्रेलिया, फ्रान्स, जर्मनी, इटाली, जापान, कोरिया, फिलिपिन्स, अमेरिका लगायतका देशबाट कामदार भिसामा विदेशीहरु नेपाल आएको तथ्यांक छ ।

  • वैदेशिक व्यापारमा सुधारको संकेत, आयात घट्दा निर्यात वृद्धि

    वैदेशिक व्यापारमा सुधारको संकेत, आयात घट्दा निर्यात वृद्धि

    काठमाडौं । चालु आर्थिक वर्ष (२०७६\७७)को पहिलो दुई महिनाको अवधिमा वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ ।

    यस अवधिमा नेपालको आयात सामान्य घटेको छ भने निर्यातको वृद्धिदर भने उल्लेख् रुपमा बढेको छ ।

    भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पहिलो दुई महिना (साउन–भदौ)मा कूल २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ ।

    यो रकम अघिल्लो आर्थिक वर्ष २०७५\७६ को सोही अवधिको तुलनामा १.२२ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष दुर्ए महिना अवधिमा २ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ बराबरको आयात भएको तथ्यांक रहेको छ ।

    यी दुई महिनामा निर्यात भने १८ अर्ब ५० करोड १८ लाख रुपैयाँ बराबरको भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५.८७ प्रतिशतले बढी हो ।

    उक्त आवको दुई महिनामा १४ अर्ब ६९ करोड ९० लाख रुपैया बराबरको वस्तु निर्यात भएको थियो । आयातमा कमी र निर्यात वृद्धिले गर्दा समग्र व्यापार घाटा समेत सुधारोन्मुख देखिएको छ ।

    यस अवधिमा कूल व्यापार घाटा २ खर्ब ११ अर्ब १८ लाख रुपैयाँ बराबरको भएको छ । अघिल्लो आवको तुलनामा दुई महिनामा व्यापार घाटा ३.०५ प्रतिशतले घटेको पाइएको छ ।

    नेपालको कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सामा समेत यस अवधिमा ठूलो वृद्धि भएको छ ।

    तथ्यांक अनुसार यस वर्ष दुई महिनाको अवधिमा कूल वैदेशिक व्यापारमा निर्याको हिस्सा ७.५ प्रतिशत रहँदा आयातको हिस्सा ९२.५ प्रतिशत रहेको छ ।

    अघिल्लो वर्षको तुलनामा निर्यातको हिस्सामा २५.३८ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो आवमा निर्याता हिस्सा मात्र ५.९ प्रतिशत रहँदा आयातको हिस्सा ९४.१ प्रतिशत रहेको थियो ।

  • नेपालको आर्थिक वृद्धि ७.१ प्रतिशत रहने प्रक्षेपण

    नेपालको आर्थिक वृद्धि ७.१ प्रतिशत रहने प्रक्षेपण

    काठमाडौं । विश्व बैंकले सन् २०१९ का लागि नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

    विश्व वैंकले आइतबार सार्वजनिक गरेको प्रक्षेपण अनुसार सन् २०१८ को तुलनामा यस वर्ष आर्थिक वृद्धिदर सकारात्मक रहने भएको हो ।

    सन् २०१८ मा ६.७ प्रतिशत आर्थिक वृद्धिदर रहेको विश्व बैंकले उल्लेख गरेको छ । आइतबार नेपालसहित सार्क क्षेत्रका मुलुकको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरिएको हो ।

    दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा धेरै आर्थिक वृद्धि बंगलादेश र त्यसपछि नेपालले गर्ने भएका छन् ।

    विवरण अनुसार सन् २०१९ पछिका वर्षहरुमा भने क्रमशः आर्थिक वृद्धिदर कम हुन थाल्नेछ । सन् २०२० मा ६.४ प्रतिशत र सन् २०२१ मा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकले गरेको छ ।

    दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा कम आर्थिक वृद्धि अफगानिस्तान, श्रीलंका र पाकिस्तानमा हुने भएको छ ।

    अफगानिस्तानमा २.५, श्रीलंकामा २.७ र पाकिस्तानमा ३.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरिएको हो ।

    दक्षिण एसियामा समग्रमा ५.९ प्रतिशतको आर्थिक वृद्धिदर हुनेछ । नेपालमा निर्माण र सेवा क्षेत्रमा भएको सकारात्मक विकासको प्रभाव अर्थतन्त्रमा परेको विश्वबैंकले उल्लेख गरेको छ ।

  • संसारकै धनी शहर बन्यो न्यूयोर्क; कुन कुन सहर कति नम्बरमा ?

    संसारकै धनी शहर बन्यो न्यूयोर्क; कुन कुन सहर कति नम्बरमा ?

    न्यूयोर्क   

    विश्वका धेरै देशहरुमा सुन्दर र बिशाल सहरहरु छन । कतिपय शहरहरुमा त संसारका थुप्रै मानिसहरुको पुग्ने धोको नै हुन्छ । विश्वका चर्चित सहरहरुको चर्चा गर्दा गत बिहीवार “न्यू वर्ल्ड वेल्थ” ले संसारका धनी सहरहरुको सुची सार्वजनिक गर्दै अमेरिकाको न्युयोर्क शहरलाई संसारकै सबैभन्दा धनी सहरको रुपमा सुचीकृत गरेको छ । साउथ अफ्रिकाको जोहान्सवर्गमा रहेर ग्लोबल मार्केट रिसर्च ग्रुपको रुपमा काम गर्दै आएको न्यु वर्ल्ड वेल्थले गत बिहीवार सार्वजनिक गरेको सर्वाधिक सम्पन्न सहरको सुचीको पहिलो नम्बरमा परेको न्युयोर्क सहरको खुद सम्पत्ती ३ खर्ब अमेरिकी डलर रहेको छ ।

     “बिग एप्पल” को नामले चिनिने गगनचुम्बी स्काईस्क्रेपरको सहर न्युयोर्कमा यो संसारका ६५ जना खर्बपति बसोबास गर्दछन् भने ३ लाख ८० हजार भन्दा धेरै जना करोडपतीहरुको बसोबास पनि यसै सहरमा छ । विश्व कै सबैभन्दा ठुला न्यूयोर्क स्टक एक्स्चेन्ज र नाजदाक दुई वटा स्टक एक्सचेन्ज न्यूयोर्कमा नै छन् । रिपोर्टका अनुसार जापानको टोकियोले खुद सम्पत्ती २ खर्ब ५० अर्ब सहित संसारकै दोश्रो धनी सहर बन्ने सौभाग्य प्राप्त गरेको छ ।

    टोकियोलाई पछ्याउँदै अर्का दुई चर्चित सहरहरु बेलायतको लन्डन र अमेरिका कै सानफ्रेन्सिस्को तेश्रो धनी शहर दरिएका छन् । तेश्रो स्थानमा सुचीकृत यी दुई शहरको खुद सम्पत्ति २ खर्ब ४० अर्ब रहेको छ ।  चाईनाको राजाधानी बेईजिङ् २ खर्ब १० अर्ब सम्पत्ति सहित पाँचौ नम्बरमा परेको छ भने अर्को आर्थिक केन्द्र सांघाई १ खर्ब ९० अर्ब सम्पत्ति सहित छैठौं भएको छ ।  १ खर्ब २० अर्ब सम्पत्ति सहित हङ्कङ आठौं धनी सहर भएको छ । भारतको मुम्बई शहर ९ सय ६० अरब सम्पत्ति सहित १२ औं स्थानमा परेको छ  । त्यस्तै भारत कै अर्को सहर दिल्ली २२ औं स्थानमा परेको छ ।  

    अमेरिका कै अन्य सहरहरु लसएन्जलस, शिकागो, ह्युस्टन २० धनी शहर भित्र परेका छन् । सन् २०१९ को लागि धनी सहरहरुको सुचीकृत गर्दा सम्बन्धित सहरमा बसोबास गर्नेहरुको ब्यक्तिगत नगद सम्पत्ति इक्युटी र सम्पूर्ण दायित्व घटाईएको ब्यापारबाट प्राप्त ब्याजलाई आधार मानिएको जनाईएको छ ।  

    एजेन्सी

  • न्यूयोर्क ज्याक्सन हाइट्समा एभरेष्ट क्रेडिट युनियनको औपचारिक सुभारम्भ

    न्यूयोर्क ज्याक्सन हाइट्समा एभरेष्ट क्रेडिट युनियनको औपचारिक सुभारम्भ

    न्यूयोर्क । अमेरिकामा नेपालीहरुले प्रवद्र्धन गरेको पहिलो सामुदायीक बैंक एभरेष्ट क्रेडिट युनियनको शनिबार (अक्टुबर ५ तारिख) औपचारिक उद्घाटन भएको छ । न्यूयोर्क ज्याक्सन हाइट्स स्थित ७४–१८ ३७ रोडमा रहेको युनियनको मुख्यालयमा आयोजित एक समारोहमा फूलपातीको अवसर पारेर संस्थाको औपचारिक उद्घाटन गरिएको हो ।

    क्रेडिट युनियनका अध्यक्ष डिल्ली भट्ट, शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पा र गैर आवासीय नेपाली संघ अमेरिकाका पूर्व उपाध्यक्ष श्री पराजुलीले संयुक्त रूपमा रिबन काटेर संस्थाको औपचारिक शुभारम्भ गरेका थिए । कार्यक्रममा बिभिन्न नेपाली संघ संस्थाका पदाधिकारी, प्रतिनिधी एवं सर्वसाधारणको बाक्लो उपस्थिती थियो ।

    संस्थाका व्यवस्थापक सुदर्शन कडरियाले ‘विक डे’ मा दैनिक विहान साढे ९ बजे देखि साँझ ५ बजेसम्म सेवा दिने जानकारी दिए । साथै छिटै एटिएम सेवा सुरु गरि २४ सै घण्टा सेवा उपलब्ध गराउने उनले बताए । संस्थामा ५० डलरले खाता खोल्न सकिने जनाइएको छ । त्यसमध्ये आधा रकम संस्थाको सदस्यता शुल्क एवं आधा खाता ‘मेन्टेन’ शुल्कको रुपमा रहनेछ ।

    संस्थाका प्रमुख व्यवस्थापक रिजालले तीन बर्ष देखिको निरन्तर प्रयास पछि संस्थाको मुख्यालय एवं पहिलो शाखा स्थापना गर्न सफल भएको बताए । ‘प्रवद्र्धकहरुले संस्था यो अवस्थासम्म ल्याउन अनवरत मेहनत गर्नुभयो, अब भने यो अमेरिकामा बस्ने सबै नेपालीको साझा संस्था बनेको छ, उनले भने– यसबाट यहाँ रहेका नेपाली व्यक्ति एवं संघसंस्थाले भरपुर फाइदा लिन सक्नुपर्छ ।’

    अध्यक्ष डिल्ली भट्टले संस्थाले अब नेपालीको बाक्लो उपस्थिती भएका टेक्सास, क्यालिफोर्निया, भर्जिनिया, मेरिल्याण्ड, मासाचुसेट्स लगायत राज्यहरुमा शाखा विस्तारलाई तीब्रता दिने बताए । एक बर्ष भित्र एक हजार सदस्यता विस्तार गरिसक्ने उध्येश्य लिएको उनले जानकारी दिए । यस्तै संस्थाले तीन बर्ष भित्र पाँच हजार सदस्य संख्या पुर्याउने लक्ष लिएको छ ।

    संस्थामा बालबालीका बचत लगायतका भविश्यमूखी कार्यक्रमहरु पनि रहेको अध्यक्ष भट्टले जानकारी दिए । ‘कतिपयमा संस्थाले गरेको प्रगतिको लाभ प्रबद्र्धकहरुले मात्र लिन्छन् भन्ने बुझाइ रहेको समेत पाइएको छ, उनले भने– तर त्यसो होइन, अहिले आएर लगानी गर्ने हरेक सदस्यले प्रवद्र्धक बराबरकै सुविधा पाउने प्रष्ट गर्न चाहन्छौँ ।’ प्रतिशत शेयर २५ डलरका दरले संस्थाको शेयरमा लगानी गर्न पाइने उनले जानकारी दिए ।

    अमेरिकामा सामूदायीक बैंकहरुको संघीय नियामक नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसियुए)ले सन् २०१८ को पहिलो क्रेडिट युनियनको रुपमा गत बर्ष अगष्टमा एभरेष्टलाई लाइसेन्स दिएको थियो । कार्यालयका लागि उपयुक्त स्थान र भवनको खोजी, तयारी लगायतका व्यवस्थापकीय गृहकार्य सम्पन्न गरि संस्थाको औपचारिक उद्घाटन गरिएको हो ।
    अमेरिकामा क्रेडिट युनियनहरुले आफ्ना सदस्य एवं शेयरधनीलाई बिभिन्न प्रकारका वित्तिय सुविधा प्रदान गर्छन् । बिभिन्न देशबाट आएका आप्रबासीहरुले आफ्नो जनसंख्या एवं आर्थिक अवस्था सुधार हुँदै जाँदा अमेरिकामा क्रेडिट युनियन सञ्चालनमा ल्याउने गरेका छन् । यसै क्रममा नेपालीहरुले पहिलो क्रेडिट युनियनको रुपमा एभरेष्ट सञ्चालनको अनुमति पाएका हुन् ।

    संस्थाले नियमित शेयर बिक्री, शेयर ड्राफ्ट एवं प्रमाणपत्र जारी, बिभिन्न किसिमका कर्जा प्रवाह, मनी अर्डर, क्रेडिट कार्ड जारी, निक्षेप संकलन लगायतका कारोबार सुरु गर्ने अनुमति पाएको छ ।
    पाँच वर्षभित्रमा कम्तीमा १० शाखा र १० हजार निक्षेपकर्ता पुर्याइ कारोबार २० करोड अमेरिकी डलर नघाउने लक्ष लिएको सञ्चालक समितिका अध्यक्ष भट्टको भनाइ छ । कम्युनिटी बैंकको रुपमा क्रेडिट युनियनहरु गैर नाफा मुलक रहने र कर छुट समेत पाउने भएका कारण आफुहरुले निक्षेपकर्तालाई धेरै ब्याज र ऋणीलाई सस्तोमा कर्जा प्रवाह गर्ने उनको भनाइ छ ।

  • प्रधानमन्त्रीको जिल्लामा औद्योगिक पार्क बन्ने पक्का

    प्रधानमन्त्रीको जिल्लामा औद्योगिक पार्क बन्ने पक्का

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा औद्योगिक पार्क बन्ने पक्का भएको छ ।

    चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण गर्ने सम्बन्धमा बिहीबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    पार्क निर्माण गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्झौता भयो ।

    यस औद्योगिक र्पाकमा ६४ अर्ब रुपैयाँ लगानी हुँदैछ । यस लगानीलाई लगानी बोर्डले यसअघि नै स्वीकृति दिएको थियो ।

    पार्कको नाम ‘चाईना नेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क’ राखिने उक्त कार्यक्रममा जानकारी दिइयो ।

    पार्क निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनकोे काम शुरु भइसकेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

    उनका अनुसार सरकारले सात वटै प्रदेशमा औद्योगिक पार्क निर्माण गर्ने उद्देश्य राखेको छ । सोहीअनुसार प्रदेश नं १ मा औद्योगिक पार्क निर्माणले गति लिएको हो ।

  • भूकम्प पछि बन्द भएको एभरेष्ट होटेल पुनः संचालन

    भूकम्प पछि बन्द भएको एभरेष्ट होटेल पुनः संचालन

    काठमाडौं । भूकम्पपछि बन्द भएको पाँचतारे होटेल एभरेष्ट पुनः संचालनमा आएको छ । भूकपले मक्काएको यो होटेलको मर्मत सकिएपछि पुनः संचालनमा ल्याइएको व्यवस्थापनले जानकारी दिएको छ ।

    भूकम्पपछि सरकारले यस होटेलमा रातो स्टिकर लगाएको थियो । त्यसपछि व्यवस्थापनले लामो समय यो होटेल पुनः संचालनमा ल्याएको हो । ‍

    यस होटेलमा मजदुर र व्यवस्थापनबीचमा समेत केही समय विवाद भएको थियो ।

    यस होटेलमा १६० कोठा छन् । त्यसमध्ये लवी र केही कोठाहरुको पुनर्निर्माणको काम सकिएपछि होटल सञ्चालनमा ल्याइएको व्यवस्थापनले जानकारी दिए ।

    गत फागुनमा व्यवस्थापन र मजदुरबीच सहमति भएपछि यो होटेल संचालनको वातावरण भएको हो ।

    व्यवस्थापन र मजदुरबीचको सहमति अनुसार व्यवस्थापनले होटल बन्द भएयताको तलब भत्ता उपलब्ध गराउने भएको छ भने तलब पनि ५ प्रतिशत बृद्धि भएको छ।

  • मेलम्चीको पानी एक वर्ष भित्र काठमाडौं आउला ?

    मेलम्चीको पानी एक वर्ष भित्र काठमाडौं आउला ?

    काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकि काम पुरा गर्न एक वर्षको प्रतिवद्धतासहित चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको छ ।

    आइतबार सम्पन्न सम्झौता अनुसार चिनियाँ कम्पनीले पनि अब आयोजनाको बाँकि काम १ वर्ष भित्रै सक्ने बताएको छ ।

    एक सालमा पुरा गरे सरकारले आयोजनालाई पुरस्कारस्वरुप बोनस समेत दिने भएको छ । मेलम्ची सरकारका लागि निकै पेचिलो बनेको छ ।

    त्यसो त सरकारले निकै आलोचना पनि यस आयोजनाका कारण बेहोरिरहेको छ ।

    यसबाट पार पाउने उपाय स्वरुप यस पटक भने सरकारले आयोजनाको जिम्मा पाएको कम्पनीलाई बोनसकै घोषणा गरेको छ ।

    मेलम्चीको बाँकि काम असोज अन्तिम साताबाट शुरु हुने भएको छ । सिनोले समय अगावै काम सके प्रोत्साहन भत्ता दिइने आयोजनाको भनाई छ ।
    छिटो काम सकेमा प्रतिदिन १२ लाख ७५ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने गरी सम्झौता भएको बताइएको छ ।

    उता, काममा ढिलाई भएमा भने सिनोले दिनमा १२ लाख ५० हजार रुपैयाँका दरले जरिवाना तिर्ने गरी द्धिपक्षीय सम्झौता भएको छ ।

    सिनोले सुरुङमार्गको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायत काम गर्ने भएको छ ।

    मेलम्ची आयोजनाको काम शुरु भएको दुई दशक पुगिसक्दा पनि काठमाडौंमा पानी आउन सकेको छैन ।

  • काठमाडौं आए दशैंका खसी-बोका

    काठमाडौं आए दशैंका खसी-बोका

    काठमाडौं । सरकारले दशैंमा बिक्रि गर्न किनेका खसी-बोका काठमाडौं ल्याएको छ । काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारको तर्फबाट खसी बोका बिक्रि गर्ने भएको छ ।

    आइतबार काठमाडौं ल्याइएका खसी र च्यांग्राको बिक्रि भने सोमबारबाट मात्र शुरु हुने भएको छ ।

    सोमबार मूल्य निर्धारण गरेपछि उपभोक्ताका लागि बिक्रि शुरु गरिने भएको छ ।

    दशैंको समयमा निजी क्षेत्रबाट बजारमा अनाधिकृत मूल्य नराखियोस भनी बजार हस्तक्षेपका लागि सरकारले खसी बोका ल्याएर बिक्रि गर्ने गर्छ ।

    सरकारले देशका विभिन्न स्थानबाट खरीद गरेका खसी बोका तथा च्यांग्रा काठमाडौं ल्याउँदैछ ।

    यस पटक भारतबाट खसी बोका खरीद नगरिइका कारण स्वदेशी उत्पादनबाटै दशैं मनाउने तयारी रहेको छ ।

    सरकारले काठमाडौंमा ३ सय खसी बोका बिक्रि गर्ने भएको छ । निजी क्षेत्रका व्यवसायी भने काठमाडौंमा बिक्रि शुरु गरिसकेका छन् ।

  • विपन्न वर्गलाई इन्धनमा छूट दिने योजना

    विपन्न वर्गलाई इन्धनमा छूट दिने योजना

    काठमाडौं । सरकारले विपन्न वर्गका नागरिकलाई खाना पकाउने ग्यासमा सहुलियत दिने योजना सार्वजनिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शुक्रबार उक्त जानकारी गराएका हुन् ।

    उनका अनुसार अब विपन्न र सम्पन्न वर्गका नागरिकलाई ग्यासको छुट्टाछुट्टै मूल्य कायम गरिने भएको छ ।

    त्यसका लागि सिलिन्डरसमेत छुट्टै ल्याउन तयारी भइरहेको छ । उनका अनुसार अब सिलिण्डरलाई व्यवसायिक र घरायसी प्रयोजनमा छुट्टाछुट्टै रंगमा ल्याइनेछ ।

    घरासयी भित्र पनि विपन्न वर्गका लागि छुट्टै मूल्य कायम गरी बिक्रि गर्ने योजना रहेको मन्त्री यादवले जानकारी दिए ।

    उनले सबैको आर्थिक हैसियत बराबर नहुने भन्दै खाना पकाउने ग्यासमा सहुलियत आवश्यक रहेको समेत उल्लेख गरे ।

    धेरै मुलुकमा रासन कार्डका आधारमा ग्यास तथा खाद्यान्नमा छूट दिने प्रचलन भएपनि नेपालमा भने त्यसो गरिदैन ।

    यसैबीच, मन्त्रालयले खसी भेडा बेच्ने दिन समेत सार्वजनिक गरेको छ । काठमाडौंमा दशैंका लागि ल्याइएका खसी च्यांग्राको बिक्रि द्धितियाबाट शुरु गरिने भएको छ ।

  • आजदेखि पाइन्छ नयाँ नोट, एक जनालाई १८५०० सम्म

    आजदेखि पाइन्छ नयाँ नोट, एक जनालाई १८५०० सम्म

    काठमाडौं । चाडबाडलाई लक्षित गरी राष्ट्र बैंकले शुक्रबारबाट नयाँ नोट सटही सुविधा शुरु गरेको छ ।

    राष्ट्र बैंकको आफ्नै कार्यालय र बैंकका तोकेका विभिन्न बैंकका शाखाबाट नयाँ नोट वितरण हुने भएको छ । यस वर्ष सर्वसाधारणले १८ हजार ५ सय रुपैयाँ सम्म साट्न सक्ने गरी योजना ल्याइएको छ ।

    त्यसअनुसार एक बण्डलमा १ सय, ५०, २०, १० र ५ रुपैयाँका १ \१ सय वटा नोट हुनेछन् । सर्वसाधारणका लागि काठमाडौंको बालुवाटार स्थित राष्ट्र बैंकको कार्यालयमा सटही सुविधा राखिएको छ ।

    यसबाहेक कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट नयाँ तथा सुकिला नोट साट्न सकिने भएको छ ।

    अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट साट्न सक्ने अधिकार दिइएको छ । विराटनगर, वीरगञ्ज, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी कार्यालयबाट नयाँ नोट वितरण हुने भएको छ ।

    यसैगरी काठमाडौंमा नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही हुने भएको छ ।

    यसैगरी राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशालबजार, नक्साल, कलंकि र बालाजु शाखाबाट पनि नयाँ नोट पाइने छ ।

    कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र रत्नपार्क शाखाबाट पनि सर्वसाधारणले नयाँ नोट सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।

  • कृषि विकास बैंक लुट्ने मास्टर माइन्ड भारतमा, नेपाली एजेन्ट पक्राउ

    कृषि विकास बैंक लुट्ने मास्टर माइन्ड भारतमा, नेपाली एजेन्ट पक्राउ

    काठमाडौं । कृषि विकास बैंकको सिराहास्थित लहान शाखाबाट करोडौं रुपैयाँ निकालियो । सिस्टम ह्याक गरी कर्मचारीले चलाउने गरेको पासवर्ड प्रयोग गरी रकम निकोलेको पाइएको छ ।

    प्रहरीले घटनामा संलग्न रहेको भन्दै पछिल्लो तीन दिनमा १२ जना नेपालीलाई पक्राउ गरेको छ । बुधबार उनीहरुलाई सार्वजनिक गरियो ।

    महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बैंक लुट्ने मास्टर माइण्ड अफ्रिकी मुलका नागरिक पिटरको हो । उनी भारतमा बस्छन् ।

    उनले नेपालमा विभिन्न व्यक्तिलाई एजेन्टका रुपमा प्रयोग गरी निश्चित रकम दिने र लुटिएको रकम हुण्डीमार्फत भारतमा बुझ्ने गरेको प्रहरीले बताएको छ ।

    पिटरले नुवाकोट मेघाङ गाउँपालिका ४ का ४३ वर्षीय लवाङ तामाङमा मूख्य रुपमा नेपालमा परिचालन गरेको बताएको छ ।

    पिटर पटक पटक नेपाल आएको र नेपालीसमेत प्रष्ट बोल्न सक्ने समातिएका अभियुक्तहरुले जानकारी गराएका छन् ।

    आइतबार लहान शाखाबाट ह्याक भएर पचास लाख रुपैयाँ तामाङको खातामा आएको थियो । प्रहरीले उनको डेराबाट ३१ लाख रुपैयाँ समेत बरामद गरेको छ ।

    उनलाई पक्राउ गरेपछि पिटरको संलग्नताको खुलासा भएको हो । बुझेको रकम हुण्डीबाट पठाउने मेलो मिलाउँदा मिलाउँदै प्रहरीको फन्दामा पुगेपछि घटना पर्दाफास भएको हो ।

    तामाङलाई हिरासत लिएपछि प्रहरी सोमबार बिहान कृषि विकास बैंकको केन्द्रीय कार्यालय पुग्यो। त्यहाबाट प्रहरीले चार करोड ७३ लाख रुपैयाँ चोरी भएको पत्ता लगायो ।

    त्यसपछि मात्र प्रहरी र बैंक कर्मचारीले लहान शाखाबाट बैंकको सिस्टम ह्याक भई रकम चोरी भएको पत्तो पाएका थिए ।

    पिटरले तामाङ जस्तै अरु मानिसलाई पनि एजेन्ट बनाउँदै खाता खोल्न लगाउने र हुण्डीबाट रकम पठाउन लगाउने गरेका थिए । त्यसवापत उनले एजण्टलाई कमिसन दिने गरेका थिए ।

    प्रहरीले बुधबार पिटरका एजेन्टका रुपमा काम गर्ने नुवाकोट मेघाङ गाउँपालिका-४ का तामाङसहित रसुवा नौकुण्ड गाउँपालिका-५ की लक्ष्मी तामाङ, निर्मला तामाङ, निमा तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका-२ का सञ्जय घले, सर्लाही हरिवन नगरपालिका-२ का पुष्पराज खड्कालाई पक्राउ गरेको छ ।

    यसैगरी लमजुङ दोर्दी गाउँपालिका-३ का विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका-९ का श्रवणकुमार श्रेष्ठ, भक्तपुर ठिमी नगरपालिका-४ की सुनिता श्रेष्ठ, भारत कलकत्ता घर भई काठमाडौं बस्दै आएका शुबन्कर पन्जा, कैलाली भजनी नगरपालिका-३ का विजय साह र भजनी नगरपालिका-१ कै चन्द्रबहादुर बुढालाई सार्वजनिक गरेको छ ।

    अन्य ८ एजेन्ट फरार रहेको प्रहरीको भनाई छ ।

  • बैंकमा अर्को चोरी काण्ड, सीस्टम ह्याक गरी कृषि विकास बैंकबाट निकालियो डेढ करोड

    बैंकमा अर्को चोरी काण्ड, सीस्टम ह्याक गरी कृषि विकास बैंकबाट निकालियो डेढ करोड

    काठमाडौं । काठमाडौं । ह्याकरले सिस्टम ह्याक गरी अर्को चोरी काण्ड मच्याएको छ ।

    कृषि विकास बैंकको सिस्टम नै ह्याक गरी मंगलबार डेढ करोड रुपैयाँ चोरी गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

    यसअघि एक महिना अगाडी चिनियाँ ह्याकरले विभिन्न बैंकको एटीमए सिस्टम ह्याक गरी रकम चोर्दाचोर्दै पक्राउ परेका थिए ।

    उनीहरुमाथि अनुसनन जारी रहँदा अर्को चोरी काण्ड सार्वजनिक भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बैंकबाट १ करोड ५६ लख रुपैयाँ चोरी भएको बताइएको छ ।

  • एक महिनामा ७५ अर्ब ४० करोड रेमिट्यान्स, घटे विदेश जाने नेपाली

    एक महिनामा ७५ अर्ब ४० करोड रेमिट्यान्स, घटे विदेश जाने नेपाली

    काठमाडौं । चालु आर्थिक वर्ष २०७६\७७ को पहिलो एक महिनामा विदेशमा रहेका नेपालीहरुले वैधानिक प्रणालीमार्फत ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् ।

    नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष रेमिट्यान्सको वृद्धिदर खस्किएको छ । तर, कूल रकम भने सामान्य बढेको छ ।

    आव २०७५\७६ को पहिलो महिनाको तुलनामा यस वर्ष २ प्रतिशतले मात्र रेमिट्यान्स रकम बढेको छ ।

    वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या निरन्तर घटिरहँदा त्यसले रेमिट्यान्समा समेत असर गरेको पाइएको छ ।

    पछिल्लो समय मलेसियाको रोजगारी बन्दले धेरै मात्रामा विदेश जाने युवा कम भएका थिए । अहिले भने मलेसियाको रोजगारी खुलेको छ ।

    अदक्ष कामदारको बढी जोड मलेसियामा रहेको छ ।

    साउनमा अघिल्लो वर्षको तुलनमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत(नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १९ प्रतिशतले घटेको पाइएको छ ।

    पछिल्लो समय जापान, कोरियालगायत मुलुकमा वैधानिक रुपमै दक्ष कामदार पठाउन शुरु भएको छ । ती स्थानबाट भने अझै वैधानिक रुपमा रेमिट्यान्स भित्रन थालेको छैन ।

  • दशैंको ८ दिन सवारी साधनलाई स्वतन्त्र रुट परमिट

    दशैंको ८ दिन सवारी साधनलाई स्वतन्त्र रुट परमिट

    काठमाडौं । दशैंमा घर पुग्ने यात्रुहरुको सहजताका लागि ८ दिनसम्म रुट परमिट स्वतन्त्र गरिएको छ । यसको मतलव बीना रुट परिमिट गाडीहरु जुन सुकै सडकमा गुड्न सक्ने भएका छन् ।

    काठमाडौबाट करीव २० देखि २५ लाख हाराहारी मानिस दशैंको अवसरमा बाहिरिने अनुमान छ ।

    यातायात व्यवस्था विभागका अनुसार १२ असोजबाट ८ दिनसम्मका लागि सार्वजनिक सवारी साधनको इजाजतपत्र (रुट परमिट) खुला गरिएको हो ।

    यस्तो परमीट १९ असोजसम्म लागु हुने भएको छ । यस्ता सवारी साधनले पटकेलाई लागि झण्झट बेहाुर्न पर्दैन । सडक दस्तुर बुझाउँदै सवारी साधन जुनसुकै रुटमा पनि चल्न सक्ने भएका छन् ।

    दशैंमा धेरै यात्रुले रिर्जभ बसहरु लगेर ग्रामिण भेगमा जाने गर्छन् ।

    यस्तो बेला सहज यात्राका लागि विभागले हरेक दशैंमा इजाजत खुला गराउने गर्छ ।

    विभागले सामान बोकेर नारायणगढ हुँदै काठमाडौं भित्रिने मल्टि एक्सन ट्रयाम्क्टर ट्रेलरलाई भने यस अवधिभर सञ्चालनमा रोक लगाएको छ ।

    सुस्त गतिमा गुड्ने यस्ता सवारीले सडकमा ठूलो जाम गराउने विभागको भनाई छ ।

    पछिल्लो समय अग्रिम बुकिंग खुलेपनि धेरै यात्रु अग्रिम बुकिंगको लाइनमा बस्नुको साटो आफूखुसी सवारी लिएर जाने प्रचलन बढेको छ ।

  • काठमाडौं-धादिङ जोड्ने सुरुङमार्ग बन्ने पक्का

    काठमाडौं-धादिङ जोड्ने सुरुङमार्ग बन्ने पक्का

    काठमाडौं । काठमाडौं र धादिङबीच सुरुङमार्ग बन्ने पक्का भएको छ । धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्ग निर्माण सम्बन्धमा आइतबार सम्झौता भएको हो ।

    नागढुंगा सुरुङमार्ग आयोजना र जापानी कम्पनी हाज्मा आन्दो जेभीसँग ठेक्का सम्झौता भएको हो ।

    तिहारपछि (नोभेम्बर) सुरुङमार्ग निर्माणको काम थालिनेछ । यो आयोजनाको काम साढे ३ वर्ष भित्र सक्ने गरी सम्झौता भएको हो ।

    आयोजनाको लागत १५ अर्ब २५ करोडको लागतमा बन्न लागेको हो। यो कम्पनीले नेपालमा राम्रो नतिजामा काम गरिरहेको छ ।

    यही कम्पनीबाट कोटेश्वर सूर्यविनायक खण्ड यही कम्पनीले बिस्तार गरेको हो । चर्चित बिपी राजमार्ग निर्माण समेत यही कम्पनीले गरेको हो ।

    चालु आवमा यो सुरुङमार्ग बनाउन सरकारले ६ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ । सुरुङमार्ग निर्माण गर्न जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भएको छ ।

    जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षसम्म तिर्ने गरी ऋण उपलब्ध गराएको छ ।

    नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड निकै घुमाउरो र उकालो ओरालो भएपछि निकै ट्राफिक जाम हुने गरेको छ ।

    यो जाम हटाउन यो योजना अगाडी बढेको थियो । सुरुङमार्गको लम्बाइ २.३५ किलोमिटर हुनेछ । सुरुङमार्ग बनेपछि यो डाँडो काट्न २० मिनेट मात्र लाग्ने भएको छ ।

  • बाहिरी चक्रपथमा चिनियाँ कम्पनीको चासो

    बाहिरी चक्रपथमा चिनियाँ कम्पनीको चासो

    काठमाडौं । उपत्यकाकोबाहिरी चक्रपथ निर्माणमा चिनियाँ कम्पनीले गरेको प्रस्ताव स्वीकृत भएको छ ।

    लगानी बोर्डको सोमबार बसेको बैठकले बाहिरी चक्रपथमा चासो देखाएको चिनियाँ कम्पनी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनीको प्रस्ताव स्वीकृत गरेको हो ।

    यो आयोजनामा पनि सरकारले लगानी जुटाउन सकेको छैन । काठमाडौं उपत्यकाको दीर्घकालिन विकास र भविश्यसँग जोडिएको यो आयोजनाको कार्यान्वयनले ठूलो रणनीतिक फाइदा हुने र पूर्वाधार विकासमा देशले ठूलो फड्को मार्ने अपेक्षा गरिएको  छ।

    तर, लगानी जुट्न नसक्दा सरकारले यो आयोजना पनि अगाडी बढाउन आँट गर्न भने सकेको छैन ।

    लगानी बोर्डले छनोट भएको कम्पनीसँग ४५ दिनभित्र विस्तृत प्रस्ताव पठाउन समेत माग गर्ने निर्णैय गरेको हो ।

    बोर्डले अरुण जलविद्युत आयोजनामा परेको तीन वटै प्रस्तावलाई योग्य ठान्दै स्वीकृत गरेको छ । यस आयोजनामा तीन वटा कम्पनीको प्रस्ताव परेको थियो ।

    यस आयोजनामा भारतीय कम्पनी एसजेभीएन, चाइना पावर र जापानको जे पावरले प्रस्ताव राखेका थिए ।

    बैठकले पश्चिम सेती तथा एसआर  संयुक्त जलविद्युत् परियोजनाका लागि प्रस्ताव पेश गर्नेमध्ये संक्षिप्त सूचीकरण छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा अलग-अलग समिति गठन गरेको समेत उल्लेख गरेको छ ।

    नेपालमा ठूला लगानीका आयोजनाको सहजिकरण गर्न लगानी बोर्ड सक्रिय रहेको छ ।

  • निजगढ विमानस्थल बनाउन ज्यूरिच विमानस्थलको प्रस्ताव स्वीकृत

    निजगढ विमानस्थल बनाउन ज्यूरिच विमानस्थलको प्रस्ताव स्वीकृत

    काठमाडौं । बारामा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय (निजगढ) विमानस्थल निर्माण गर्न स्वीट्जरल्याण्डको ज्यूरिच एयरपोर्टको प्रस्ताव स्वीकृत गरिएको छ ।

    लगानी बोर्डको सोमबार बसेको बैठकले लगानी सम्मेलनका दौरान आएका ७ प्रस्तावमध्ये ६ वटालाई अयोग्य ठहर गरेको हो ।

    एक मात्र प्रस्ताव स्वीकृत गरिएको र उक्त प्रस्ताव ज्यूरिच विमानस्थलको रहेको लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारीले जानकारी दिए ।

    उनका अनुसार बैठकले ज्यूरिचसँग निजगढ विमानस्थल निर्माणका सम्बन्धमा विस्तृत प्रस्ताव माग गर्ने निर्णयसमेत भएको छ ।

    यो विमानस्थलका लागि तीन खर्ब लगानी अनुमान गर्दै लगानी बोर्डले गत फागुनमा सम्पन्न लगानी सम्मेलनका दौरान शोकेमा राखेको थियो ।

    विमानस्थल बनाउन नेपाली कम्पनी म्याट्रिक्स इन्टरप्राइजेजसहित ७ कम्पनीले चासो देखाएका थिए ।

    चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ र चाइना एयरपोर्ट कन्स्ट्रक्सनसमेत विमानस्थल बनाउन इच्छुक थियो ।

    भारतीय कम्पनी जीएमआर र फ्रान्सको भिन्ची एयरपोर्टले पनि विमानस्थल बनाउन लगानी सम्मेलनका दौरान प्रस्ताव राखेका थिए ।

    ज्यूरिच विमानस्थल स्वीट्जरल्याण्डको सरकारी विमानस्थल हो । यो विमानस्थलले संसारका अन्य देशमा समेत विमानस्थल संचालन तथा व्यवस्थापन गर्दै आएको छ ।

    सरकारले लामो समयदेखि यो विमानस्थलमा लगानीकर्ताको खोजी गरिरहेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको तदारुपताका कारण लगानी बोर्डसमेत द्रूत गतिमा निजगढ विमानस्थलको मूल्यांकन सकाएको छ । यसबाट यो आयोजनाले गति लिने आशा पलाएको छ ।

  • नयाँ नोट सटहीमा सहज

    नयाँ नोट सटहीमा सहज

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्न सहज व्यवस्था गरेको छ । बैंकका अनूसार अब ग्राहकले नयाँ नोट साट्न केवल राष्ट्रबैंंककै कार्यालयमा लाइन लाग्न नपर्ने व्यवस्था गरेको हो ।

    १० असोजबाट नयाँ नोट साट्न सकिने भएको छ । त्यसका लागि राष्ट्र बैंकबाहेक पनि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट उपलब्ध हुनेछ ।

    केन्द्रमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, विरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट नयाँ नोट उपलब्ध हुने भएको छ ।

    राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका उपत्यकामा विभिन्न कार्यालयले समेत नयाँ नोट साट्ने छन् । यी सरकारी बैंक हुन् ।

    यस पटक पाँच, दश, २०, ५० र १०० दरका एक÷एक पकेट गरी प्रति व्यक्ति रु १८ हजार ५०० का दरले नयाँ सटही सुविधा दिइएको छ ।

    सो रकमभन्दा बढी सटही सुविधा चाहिने नयाँ नभई सुकिला नोट उपलब्ध हुने भएका छन् ।

    राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकका सबै शाखा कार्यालयमा समेत नयाँ तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

    राष्ट्र बैंकले नोटलाई पुरानो हुने गरी टिका नलगाउन, पानीले नछुन र सफा राख्न समेत आग्रह गरेको छ । नयाँ नोट छपाईमा मात्र वर्षेनी ठूलो रकम खर्च हुने गरेको छ ।

  • खुल्यो बसको अग्रिम टिकट बुकिङ, हजारौंले लिए टिकट

    खुल्यो बसको अग्रिम टिकट बुकिङ, हजारौंले लिए टिकट

    काठमाडौं । दशैमा काठमाडौंबाट बाहिरिने यात्रुले टिकटको जोहो शुरु गरेका छन् । यातायात व्यवसायीले लामो दूरीको यात्राका लागि आइतबारबाट अग्रिम बुकिङ खुला गरेका छन् ।

    व्यवसायीहरुका अनुसार आइतबार मात्र हजारौं यात्रुले टिकट काटेका छन् । टिकट बुकिङ खुल्ने दिन हजारौं यात्रु एका बिहानै काउन्टर पुगेका थिए ।

    काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायत क्षेत्रबाट विभिन्न स्थानका लागि अग्रिम टिकट बितरण थालिएको हो ।

    सीटभन्दा बढी यात्रु नराख्न र त्यसो भए कारवाही हुने यातायात व्यवस्था विभागले यातायात व्यवसायीलाई सचेत गराइसकेको छ ।

    हरेक वर्ष सीट बीना यात्रु राखेको पाइए कारवाही हुने बताए पनि त्यो नीतिमा कडाई गर्न भने सरकार असफल हुँदै आएको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाइमा उपत्यकाबाट बाहिरिने सवारीसाधनका अनुगमन गर्न तथा यात्रुलाई आइपर्ने समस्या समाधान गर्न उपत्यकामा १० असोजबाट नागरिक सहायता कक्ष समेत स्थापना हुने भएको छ ।

    यस्तो कक्षमा नागरिकले गुनासो टिपाउन सक्ने भएका छन् । सातदोबाटो, कोटेश्वर, गौशाला, जोरपाटी, नयाँ बसपार्क, स्वयम्भू, कलंकी, नागढुंगा, पुरानो बसपार्क र सुन्धारामा नागरिक सहायता कक्षा स्थापनाको तयारी रहेको छ

  • खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो

    खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो

    काठमाडौं । सरकारले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको हो ।

    संविधान दिवस कै अवसर पारी मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको छ ।

    निगमका अनुसार खाना पकाउने ग्यास अब प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइने भएको छ ।

    यसैगरी अन्तर्राष्ट्रिय उडान तर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो ।

    अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेरिकी डलरमा जहाजले तेल हाल्न पाउने गरी मूल्य समायोजन भएको छ ।

    निगमले ग्यासमा स्वचालित मूल्य कायम गरेको हो । यस्तो मूल्य अन्तरांष्ट्रिय बजार अनुसार थपघट हुने गर्छ ।

  • दशैंका नयाँ नोट १० असोजबाट साट्न सकिने

    दशैंका नयाँ नोट १० असोजबाट साट्न सकिने

    काठमाडौं । दसैंमा नयाँ नोट १० असोजबाट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

    १० गतेदेखि नयाँ नोट साट्न सकिने र त्यसका लागि स्थान तय गरिएको बैंकको भनाई रहेको छ ।

    राष्ट्र बैंकका अनुसार काठमाडौंबाहेक बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट साट्न सकिने भएको छ ।

    काठमाडौंमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटार नयाँ नोट सटही हुनेछ। प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट साट्न सकिने बैंकले स्पष्ट पारेको छ ।

    ५, १०, २०, ५० र १ सयका नयाँ नोट वितरण हुनेछ। त्योबाहेक आफूसँग भएको पुराना नोटको साटो सुकिला नोट साटेर समेत लैजान सकिने सुविधा राष्ट्र बैंकले दिएको छ ।

    राष्ट्र बैंकको बालुवाटार कार्यालयसहित उपत्यकाका २५ ठाउँबाट नयाँ नोट साट्न सकिने भएको छ ।

    जब राष्ट्र बैंकले नयाँ नोट साट्न थाल्छ, त्यसपछि नेपालीका लागि दशैं आएको अनुभूति हुन्छ । यस वर्ष ११ असोजमा घटस्थापना परेका छन् ।

  • चाडबाडमा सरकारद्धारा बजार हस्तक्षेप, २० हजार मेट्रिक टन चिनी आयात गर्ने

    चाडबाडमा सरकारद्धारा बजार हस्तक्षेप, २० हजार मेट्रिक टन चिनी आयात गर्ने

    काठमाडौं । काठमाडौं । चाडबाड लक्षित गर्दै हुने महंगी नियन्त्रण गर्न सरकारले आफै बजारमा हस्तक्षेप गर्ने भएको छ ।

    त्यसका लागि दशैं तिहारमा सबैभन्दा धेरै खपत हुने खाद्यवस्तुमध्ये एक चिनी आयात गर्ने भएको छ ।

    मन्त्रीपरिषद् बैठकले चाडवाडमा अभाव सिर्जना नहोस र व्यापारीले त्यसको फाइदा लिन नपाउन भनी सरकारले बजारमा हस्तक्षेप गर्ने भएको हो ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्गलाई २० हजार मेट्रिक टन चिनी आयात गर्न मन्त्रीपरिषदले अनुमति दिएको सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

    उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १० हजार मेट्रिक टन चिनी आयात गर्ने भएका छन् ।

    यी कम्पनीले गर्ने आयातलाई ५० प्रतिशत भन्सार महसुल छुट समेत सरकारले दिएको छ ।

    मन्त्रीपरिषदले स्वीकृति प्रदान गरेकाले चाँडै नै बोलपत्र निकालेर चिनी खरिद प्रक्रिया थाल्ने तयारी कम्पनीको छ । सरकारले विभिन्न स्थानमा सहुलियत पसल समेत संचालनमा ल्याएको छ ।

  • कर्णाली प्रदेशमा नागरिकको विपद् बीमा कार्यक्रम लागू

    कर्णाली प्रदेशमा नागरिकको विपद् बीमा कार्यक्रम लागू

    सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्ना नागरिकका लागि विपद् बीमा कार्यक्रम बुधबारदेखि कार्यान्वयनमा ल्याएको छ ।

    विपद्‍ जोखिमविरुद्ध सामूहिक दुर्घटना बीमा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । यो कार्यक्रमबाट कर्णाली प्रदेशका सबै नागरिक लाभान्वित हुने बताइएको छ ।

    बीमा कार्यक्रममा प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख डिल्लीराज अर्यालले हस्ताक्षर गरेका छन् ।

    यो कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालयको वार्षिक बजेट तथा कार्यक्रममा मै उल्लेख थियो ।

    यस बीमा कार्यक्रम मार्फत कर्णालीका प्रत्येक नागरिकले १ लाख रुपैयाँको निःशुल्क बीमा सुविधा प्राप्त गर्ने कार्यक्रममा जानकारी गराइयो ।

    विपद् दुर्घटनाका कारण घरमा क्षति पुगे प्रतिघर ५ लाख रुपैयाँको बीमा सुविधा प्राप्त हुने प्रदेश सरकारको भनाई रहेको छ ।

    यस कार्यक्रमका लागि सरकारले चालु आवमा १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    सामूहिक रूपमा गरिने बिमाको प्रिमिएमबापत कर्णाली प्रदेशको कुल जनसंख्या १७ लाख ७० हजार मानेर प्रतिव्यक्ति सात रुपैयाँका दरले हुन आउने रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बीमा कम्पनीलाई भुक्तानी गर्ने गरी यो स्कीम ल्याइएको हो ।

    नागरिकको एक रुपैयाँ पनि लागत नपर्ने र प्रिमियम सरकारले तिर्ने गरी यो प्रावधान ल्याइएको हो । कर्णाली मानव विकास सूचकांकमा सबैभन्दा धेरै पिछडिएको प्रदेश मध्ये पहिलो स्थानमा रहेको छ ।