Category: अर्थतन्त्र

  • इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको बाटो खुल्यो

    इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको बाटो खुल्यो

    काठमाडौं । करीव दुई वर्षयता रोकिएको सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लगाउने काम सूचारु गर्ने बाटो खुलेको छ ।

    सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन विरुद्ध परेको रिट खारेज गरेसँगै अब सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने बाटो खुलेको हो ।

    शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले अधिवक्ताद्वय भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले हालेको रिट खारेजीको निर्णय गरेको हो ।

    देवनागरीको सट्टा अंग्रेजीमा नम्बर प्लेट लेखिएको भन्दै अभियन्ताबाट यसको विरोध भएको थियो । त्यसपछि सर्वोच्चमा रिट परेको हो ।

    रिटमाथिको प्रथम सुनुवाईमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अर्को आदेश नभएसम्मका लागि इम्बोस्ड नम्बर प्लेट लागु नगन अन्तरिम आदेश गरेको थियो ।

    शुक्रबार भएको फैसलाले भने बाटो खुला गरिदिएको हो । बंगलादेशी कम्पनी डेकाटुर टाइगरसगँ ५ वर्षमा २५ लाख नम्बर प्लेट छाप्नेगरी सरकारले सम्झौता गरेको थियो ।

    सरकारले ४ अर्व ९० करोड २० लाख रुपैयाँमा उक्त सम्झौता गरेको थियो । तर, करिब ४ हजार ६ सयवटा सवारी साधनमा नम्बर प्लेट राखेपछि सर्वोच्चको अन्तरिम आदेशले अन्य प्लेन जडान रोकिएको थियो ।

    यसले सरकारलाई निरन्तर घाटा भएको थियो ।

    यातायात व्यवस्था विभागले मोटरसाइकललाई २ हजार ५ सय, तीन पांग्रे सवारीलाई २ हजार ९ सय, चारपांग्रे सवारीलाई ३ हजार २ सय र हेभी सवारीलाई नम्बर जडान गर्न ३६ सय रुपैँया शुल्क निर्धारण गरी नम्बर प्लेट राख्न थालेको थियो ।

  • आजदेखि मुग्लिन-नारायणघाट सडक दैनिक ४ घण्टा बन्द

    आजदेखि मुग्लिन-नारायणघाट सडक दैनिक ४ घण्टा बन्द

    काठमाडौं । आजबाट मुग्लिन-नारायणघाट सडक खण्ड दैनिक ४ घण्टा बन्द हुँदैछ । शुक्रबारदेखि दुई सातासम्म दैनिक चार घण्टा सडक बन्द गर्न लागिएको हो ।

    यो सडक खण्ड पश्चिम नेपालसँग काठमाडौं जोड्ने मूख्य मार्ग हो । सडकमा पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्न आवातजावत रोक्न लागिएको नारायणघाट मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ।

    दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने भएको छ । नारायणघाट तर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनलाई पन्ध्र किलो बजारमा रोक्ने र मालवाहक सवारीसाधनलाई दासढुंगामा रोक्ने तयारी छ ।

    मुग्लिनतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनमा काठमाडौंबाट छिर्नेलाई मुग्लिन बजारमा रोकिनेछ र पोखराबाट आउनेलाई बेनीटारमा रोकिने भएको छ ।

    मालवाहक सवारीसाधन भने काठमाडौंबाट मुग्लिन छिर्नेलाई लेवाटारमा र पोखराबाट मुग्लिन आउनेलाई आँबुखैरेनीमा रोकिने आयोजनाले उल्लेख गरेको छ ।

  • विश्व बैंकले भन्यो ६.४ प्रतिशत मात्र आर्थिक वृद्धि, बिच्किए अर्थमन्त्री

    विश्व बैंकले भन्यो ६.४ प्रतिशत मात्र आर्थिक वृद्धि, बिच्किए अर्थमन्त्री

    काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७६्\७७ मा ८ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि गर्ने लक्ष्यसहित बजेट कार्यान्वयन गरिरहेको छ ।

    तर, नेपालको सबैभन्दा ठूलो विकास साझेदार मध्ये एक विश्व बैंकले आर्थिक वृद्धि ६.४ प्रतिशतमा मात्र खुम्चिने प्रक्षेपण अर्थ मन्त्रीकै अगाडी गरेपछि अर्थमन्त्री बिच्किएका छन् ।

    बिहीबार विश्वबैंकले नेपालको अर्थतन्त्रसम्बन्धी पछिल्लो अपडेट सार्वजनिक गर्दै सन् २०२० मा आर्थिक वृद्धि ६.४ प्रतिशत रहने अनुमान गर्यो ।

    अर्थमन्त्रीले भने नेपालमा अनुमानको भरमा तथ्यांक आउने गरेको भन्दै यथार्थपरक तथ्यांक नै नभएको उल्लेख गरे ।

    उनको भाव विश्वबैंकको तथ्यांकप्रति स्पष्ट झल्कन्थ्यो । उनले नेपालको आर्थिक वृद्धिदर ८ प्रतिशतबाट सरकारले कुनै पनि संशोधन नगरेको समेत पुनः दोहोर्याए ।

    विश्व बैंकको तथ्यांक अनुसार सन् २०१९ मा आर्थिक वृद्धि ७.१ प्रतिशत रहेको छ । त्यसपछिका दुई वर्ष पनि लगातार ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि भने कायम रहनेछ ।

    सन् २०२१ को आर्थिक वृद्धिको अनुमान ६.५ प्रतिशत रहेको विश्वबैंकले स्पष्ट पारेको छ । खासगरी सन् २०२० मा सरकारले नेपाल भ्रमण वर्ष मनाउँदैछ ।

    यसैवर्ष केही ठूला होटेल संचालनको तयारीमा छन् । एउटा अन्तर्राष्ट्रिय विमानस्थलसमेत यसै वर्ष संचालनमा आउने छ ।

    यसले आर्थिक वृद्धिमा सकारात्मक भूमिका खेल्ने विश्व बैंकको भनाई रहेको छ ।

    विद्यूत आपूर्तिमा भएको सुधार, राजनीतिक स्थायित्व, नीतिहरुमा समय सापेक्षा सुधारले समेत लगानी अभिवृद्धि हुने र त्यसले आर्थिक वृद्धिमा सघाउने विश्व बैंकको भनाई रहेको छ ।

  • लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल रोक्ने षड्यन्त्र गर्दै भारत

    लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल रोक्ने षड्यन्त्र गर्दै भारत

    विश्वन्युज संवाददाता
    काठमाडौं
    भारतले एकपछि अर्को गर्दै नेपालमा प्रहार गरिरहेको छ । सीमा विवाद चर्किएको अवस्थामा भारतले नेपालको हवाई उडड्यन क्षेत्रलाई समस्यामा पार्न थालेको छ । रुपन्देहीको भैरहवामा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा छ । तर, सञ्चालनका लागि तयार भैसक्ने बेलामा भारतले हवाई रुट नदिएकाले नेपाल समस्यामा परेको छ ।
    नेपालले लुम्बिनी नजिकै, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई रुटका लागि गरेको पहल सफल हुन सकेको छैन । यस्तो अवस्थामा काठमाडौंका लागि दिइएको हवाई रुटबाट जहाज भित्रिने र बाहिरिने गर्नुपर्छ । जसले नेपाललाई थप समस्या पार्छ । जुन उद्देश्यले भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो, त्यो अनुकूल नहुने अवस्थामा वैकल्पिक विमानस्थलले फाइदा नहुने विज्ञहरुले बताएका छन् । नेपालले भैरहवा नजिक र नेपालगञ्ज नजिकबाट हवाई रुट पाएको अवस्थामा भैरहवा विमानस्थलले राम्रो काम गर्न सक्ने अपेक्षा गरेको छ ।
    लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थललाई कम्तीमा नेपालगञ्ज र महेन्द्रनगर रुट उपलब्ध भएमा पनि सहज हुने नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । त्यसका लागि सरकारले पटक पटक उच्चस्तरीय कूटनीतिक पहल गरेको छ । तर, भारतले विभिन्न बहाना बनाएर टार्दै आएको छ । यी रुटको असर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पर्नेछ । भारतले पटक पटक विभिन्न कारण देखाएर हवाई रुट दिनलाई आलटाल गरिरहेको छ ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा भारतीय समकक्षी नरेन्द्र मोदीसँग हवाई रुटका विषयमा वार्ता गरेका थिए । मोदी सकारात्मक भएर कर्मचारीलाई तत्काल रुट उपलब्ध गराउन निर्देशन नै दिएका थिए । तर, पछि कर्मचारीले भारतीय राजनीतिक नेतृत्वलाई यो विषयमा के के कुराकानी गरेर अहिले अन्यौल भैरहेको मन्त्रालयका एक अधिकारीले बताए । भारतीय कर्मचारीले नेपाललाई रुट उपलब्ध गराउन नहुने तर्क गरिरहेका छन् । त्यसैले भारतीय नेतृत्वले पनि पटक पटक हवाई रुटका विषयमा प्रष्ट कुराकानी गरिरहेको छैन ।
    भारतले गोरखपुर र लखनउ नजिक रहेका आफ्ना वायु सेनाका एयर फोर्सका कारण नेपाललाई अहिले मागेका रुटबाट हवाई उडानको अनुमति दिन नसक्ने जनाउँदै आएको छ । ती ठाउँमा वायु सेनाले अभ्यास गर्ने भएकाले प्रभावित हुने कारण देखाउँदै भारतले नेपाललाई हवाई रुट नदिएको हो । लुम्बिनीसँग सीमा जोडिएको भारतीय क्षेत्रमा जसरी पनि जहाज पुग्नु पर्ने भएकाले नेपालको लुम्बिनी विमानस्थल प्रभावकारी सञ्चालनका लागि भारतकै भर पर्नुपर्ने बाध्यता रहेको छ ।
    लुम्बिनीबाट झण्डै तीन किलोमिटर एयर दूरीमा सीमावर्ती भारतीय क्षेत्र आउँछ । ठूला जहाजले उडान तथा अवतरणमा आसपासको सीमा क्षेत्रमा फन्को मार्नुपर्ने अवस्था आउन सक्ने भएकाले भारत सरकारको सहयोग महत्वपूर्ण भएको नेपाली अधिकारीहरु बताउँछन् । पछिल्लो समय नेपाल सरकारले पटक पटक पत्राचार गरिरहेको छ । विमानस्थल निर्माणको अन्तिम तयारीमा रहेकाले नेपाल सरकारले पटक पटक पत्राचार गरेको हो । भारतले भने महेन्द्रनगर रुट मात्र उपलब्ध गराउने तयारी गरे पनि त्यो कामसमेत गरिरहेको छैन ।

    लुम्बिनी विमानस्थल अन्तिम चरणमा

    भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र भैरहवाको बीचमा पर्ने विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भौतिक संरचनाको प्रगति लगभग ८० प्रतिशत भैसकेको छ । काठमाडौं विमानस्थलको विकल्पको रुपमा लुम्बिनी विमानस्थल अबका केही महिनामै सञ्चालनमा आउने छ । हवाई टर्मिनल, एयर ट्राफिक कन्ट्रोल रुमको निर्माणको काम पनि अन्तिम चरणमा रहेको छ । रनवे पनि लगभग तयारी अवस्थामा छ । तर लुम्बिनी जोड्ने बाटो भने भारतीय ठेकेदार कम्पनीले आलटाल गरिरहेको छ ।
    विमानस्थल आगामी ६ महिनाभित्रै सञ्चालनमा आउनेछ । विमानस्थल बनेको अवस्थामा बोइङ ७७७–२०० र एयरबस ३३०–३०० ‘सिरिज’का विमान सजिलै अवतरण र उडान गर्न सक्नेछन् । त्यसैले नेपाल सरकारले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा यो विमानस्थललाई लिएको हो । एसियाली विकास बैंक (एडिबी)को ऋण तथा अनुदान, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष (ओएफआइडी) र नेपाल सरकारको लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको उक्त आयोजनाको भौतिक काम एक महिनाभित्र पूरा गर्न दैनिक दुई सत्रमा २ सय ७० जनाभन्दा बढी कामदार परिचालन भएका छन् ।
    तीन किलोमिटर लामो र ४५ मिटर चौडा धावनमार्ग कालोपत्र गरी त्यहाँ ‘मार्किङ’ गरिएको छ । विमानस्थल सञ्चालन भएपछि मौजुदा एक हजार पाँचसय २४ मिटर लामो र ३० मिटर चौडा धावनमार्गलाई ट्याक्सी वेका रूपमा उपयोग गरिनेछ । हाल विमानस्थलको ८५ प्रतिशतभन्दा बढी भौतिक संरचना निर्माण भइसकेको सरकारले जनाएको छ । कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवन, विमान राख्नेस्थल (एप्रोन), अग्नि नियन्त्रण तथा उद्धार भवन, मुख्य विद्युत्गृह, आगमन र प्रस्थान टर्मिनल तथा प्रशासनिक भवनको रङरोगनलगायत आन्तरिक सजावटको काम धमाधम भइरहेको छ ।
    विमानस्थल निर्माणका लागि नजिकै रहेको घाघरा खोलाको मार्ग परिवर्तन, सवारीसाधान पार्किङस्थल, ढल निकासको काम पनि पूरा भइसकेको छ । विमानस्थलमा बगैँचा बनाउने र त्यहाँको सौन्दर्य बढाउन साजसज्जाका काममा सयौँ मजदुर खटिएका छन् । विमान उडान र अवतरण, तिनको व्यवस्थापनका साथै विमानको अवस्था तथा अवस्थितिबारे जानकारी दिने उपकरण, विमानलाई मार्गदर्शन गर्ने तथा चालकसम्म सूचना प्रवाह गर्ने सञ्चार उपकरण, मौसमसम्बन्धी जानकारी दिने उपकरण, धावनमार्गमा विद्युत्लगायत विमानस्थलका निम्ति आवश्यक पर्ने सम्पूर्ण उपकरण जडान आगामी तीन महिनाभित्र पूरा गरिने भएको छ ।
    कोरियाली कम्पनी योशिन इन्जिनीयरिङ कर्पोरेशन परामर्शदाता रहेको विमानस्थलको भौतिक संरचनाको निर्माणको ठेक्का पाएको चीनको नर्थवेष्ट सिभिल एभिएशन एयरपोर्ट कन्सट्रक्शन ग्रुपनका प्रबन्धक सू बेजिङ निर्धारित समयमा परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता गर्छन् । रुग्ण परियोजनाका रूपमा परिचित यो विमानस्थल निर्माणमा यसअघि विविध समस्या झेल्नुपरेको थियो । मुख्य लगानीकर्ता एडिबी नै परियोजनाबाट बाहिरिएको थियो । दुई वर्षअघि नै पूरा गर्ने लक्ष्य रहेको यो परियोजना तेस्रोपटक म्याद थपेर हालको अवस्थामा पु¥याइएको हो ।
    ६ अर्ब २२ करोड ५१ लाख २० हजार १२८ रुपैयाँ लागत मध्ये एडिबीले ४०.५ ऋण र १८ प्रतिशत अनुदान उपलब्ध गराएको छ भने (ओएफआइडी)को ३०.५ प्रतिशत र बाँकी सरकारको लगानी रहेको छ । नेपाल भ्रमण वर्ष २०२० जारी रहेकै बेला यो विमानस्थल सञ्चालन गर्ने लक्ष्य सरकारको छ । प्राविधिक काम पनि निर्धारित समयमा नै पूरा गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले एकजना वरिष्ठ अधिकारीलाई खटाइसकेको छ । विमानस्थल बन्ने बित्तिकै तत्काल सञ्चालन नहुने तर परीक्षण उडानलगायत अन्य प्राविधिक परीक्षणपछिमात्र स्वदेशी विदेशी विमान कम्पनीलाई सेवा सञ्चालनका लागि आह्वान गरिने महानिर्देशक राजन पोखरेल बताउँछन् ।
    लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरणका लागि श्रीलङ्का, कतार, थाइल्यान्ड, नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र फ्लाई दुबईले आफ्नो सेवा विस्तार गर्न रुचि देखाएका छन् । चीन र दक्षिणपूर्वी एशियाली देशले पनि नेपालमा उडान भर्न चासो देखाएका छन् । विमानस्थल निर्माण सकिएपछि विमानस्थलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनबाट अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता प्राप्त गर्नुपर्ने हुन्छ, जसका लागि केही समय लाग्नेछ । विमानस्थलको व्यवस्थापनका लागि जर्मनीको म्युनिख विमानस्थललाई दिने सरकारको तयारी छ ।
    लुम्बिनीमा अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनमा आएमा गौतम बुद्धको जन्मस्थल आउने विदेशीको संख्या बढ्नेछ । लुम्बिनी बिकास कोषले पनि आफ्नो योजना त्यसै अनुसार अगाडि बढाइरहेको छ । लुम्बिनी गुरु योजना पनि अन्तिम चरणमा पुगेको छ । गुरुयोजना पनि ८० प्रतिशत पुगेको कोषले जनाएको छ । विमानस्थलमा भारतीय अवरोध रोकिएको अवस्थामा देशकै समृद्धिमा सहयोग पुग्नेछ । पश्चिम नेपालबाट आम नागरिक भैरहवा हुँदै बाहिरिने र स्वदेश भित्रिने छन् ।

  • अब नेपालमै सवारी साधनको एसेम्बल्ड, कोरियाली कम्पनीसँग सम्झौता

    अब नेपालमै सवारी साधनको एसेम्बल्ड, कोरियाली कम्पनीसँग सम्झौता

    काठमाडौं । कोरियाली कम्पनी मोट्रेक्सले नेपालमा गाडीको एसेम्बल्ड प्लान्ट लगाउने गरी सरकारसँग सम्झौता गरेको छ ।

    लगानी बोर्ड र कोरियाली कम्पनी मोट्रेक्सबीच वुधबार प्रारम्भिक चरणको परियोजना लगानी सम्झौंता (पिआइए)मा हस्ताक्षर भएको छ ।

    मोट्रेक्सले एसेम्बल्ड प्लान्ट लगाउन करीव ११ अर्ब रुपैयाँ नेपालमा लगानी गर्ने भएको छ ।

    लगानी बोर्डका अनुसार कोरियाली कम्पनीलाई सरकारले जग्गा उपलब्ध गराउने भएको छ । एसेम्बल्ड प्लान्ट लगाउन मोतिपुर औद्योगिक क्षेत्रमा सय विघा जग्गा कोरियाली कम्पनीलाई दिने भएको छ ।

    मोतिपुरको ब्लक ‘बी’मा सय विघा जग्गा यस कम्पनीलाई दिइने भएको हो । जग्गामा एसेम्बल्ड प्लान्ट राखिने भएको छ भने गोदाम भने बुटवल औद्योगिक क्षेत्रमा रहने भएको छ ।

    बुटवल औद्योगिक क्षेत्रसँगै जोडिएको मोतिपुर औद्योगिक परियोजना ८ सय १३ रोपनी क्षेत्रफलमा रहने बताइएको छ ।

    बोर्डले गत फागुनमा कम्पनीलाई चार पाँग्रे गाडी एसेम्बल्ड गर्न स्वीकृति दिएको थियो। कम्पनीले अबको ४ वर्ष भित्र नेपालमा गाडी तयार पारिसक्ने भएको छ ।

    पहिलो वर्ष ५ हजार ८ सय २०, दोस्रो वर्ष ९ हजार ५ सय ३०, तेस्रो वर्ष १५ हजार ८०, चौथो वर्ष २० हजार थान सवारी उत्पादन गर्ने कम्पनीले आफ्नो प्रस्तावमा राखेको थियो ।

  • ७ देशमा श्रम सहचारी र काउन्सेलर नियुक्त गर्दै सरकार

    ७ देशमा श्रम सहचारी र काउन्सेलर नियुक्त गर्दै सरकार

    काठमाडौं । सरकारले विभिन्न ७ मुलुकमा काउन्सेलर र श्रम सहचारी नियुक्तीका प्रक्रिया थालेको छ ।

    रिक्त काउन्सेलर र श्रम सहचारी पदमा इच्छुक कर्मचारीबाट श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दसखास्त आह्वान गरेको हो ।

    मन्त्रालयले दक्षिण कोरिया, कतार र मलेसियाका लागि ३ जना काउन्सेलर मागेको छ । संयुक्त अरब इमिरेट्स, साउदी अरब, मलेसिया, कुवेत र ओमानमा श्रम सहचारी एक एक जना भर्ना गरिने भएको छ ।

    काउन्सेलर तथा श्रम सहचारी छनोट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ अनुसार योग्यता पुगेका कर्मचारीहरुले ३५ दिन भित्र यस्तो दरखास्त दिन सक्ने भएका छन् ।

    खासगरी विदेशमा कुनै कामदारलाई कानून समस्या आइपरे त्यसको समाधानमा यस्ता काउन्सिलरले भूमिका खेल्ने गर्छन् ।

    आफ्ना नागरिकलाई समस्या पर्दा त्यसमा सहजिकरण गर्न काउन्सेलर तथा श्रम सहचारी खटाउन थालिएको हो । अन्य मुलुकले पनि नेपालमा यस्त सहचारी खटाएका हुन्छन् ।

  • मुग्लिन-नारायणघाट सडकखण्ड दैनिक चार घण्टा बन्द हुँदै

    मुग्लिन-नारायणघाट सडकखण्ड दैनिक चार घण्टा बन्द हुँदै

    काठमाडौं । मुग्लिन-नारायणघाट सडकखण्ड दैनिक ४ घण्टा बन्द गरिने भएको छ । शुक्रबारदेखि दुई सातासम्म दैनिक चार घण्टा सडक बन्द गर्न लागिएको हो ।

    यो सडक खण्ड पश्चिम नेपालसँग काठमाडौं जोड्ने मूख्य मार्ग हो । सडकमा पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्न आवातजावत रोक्न लागिएको नारायणघाट मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ।

    दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने भएको छ । नारायणघाट तर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनलाई पन्ध्र किलो बजारमा रोक्ने र मालवाहक सवारीसाधनलाई दासढुंगामा रोक्ने तयारी छ ।

    मुग्लिनतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनमा काठमाडौंबाट छिर्नेलाई मुग्लिन बजारमा रोकिनेछ र पोखराबाट आउनेलाई बेनीटारमा रोकिने भएको छ ।

    मालवाहक सवारीसाधन भने काठमाडौंबाट मुग्लिन छिर्नेलाई लेवाटारमा र पोखराबाट मुग्लिन आउनेलाई आँबुखैरेनीमा रोकिने आयोजनाले उल्लेख गरेको छ ।

  • अब सडकमा माग्नेलाई ३० हजार जरिवाना, ३ वर्ष कैद

    अब सडकमा माग्नेलाई ३० हजार जरिवाना, ३ वर्ष कैद

    काठमाडौं । काठमाडौंका सडकलाई माग्नेमुक्त बनाउने अभियानस्वरुप काठमाडौं महानगरपालिकाले कारवाही थाल्ने भएको छ ।

    २८ मंसिरबाट महानगरपालिकाले अभियानकै रुपमा माग्नेहरुमाथि पनि कारवाही थाल्ने तयारी गरेको हो ।

    विभिन्न बाहनामा सडकमा माग्न बस्ने वा सहयोगको अपिल गर्नेका लागि कारवाहीका तयारी भएको महानगरपालिकाले सूचना निकाल्दै जनाएको छ ।

    त्यसो त सरकारले पनि नेपाललाई माग्नेमुक्त बनाउने अभियान थाल्ने जनाएको छ । नेपालका शहरहरुमा नेपालीभन्दा बढी भारतीय माग्नेहरुको सडकमा बाहुल्य रहेको छ ।

    मंगलबार सूचना निकालेको महानगरले तीन दिनभित्र सबै प्रकारका माग्नेलाई सडकबाट हट्न अल्टिमेटम दिएको छ । २९ मंसिरमा महानगरपालिकाले स्थापना दिवस मनाउँदै छ ।

    सोही अवसर पारेर काठमाडौं महानगरपालिकाले काठमाडौंलाई माग्नेरहित क्षेत्र घोषणा गर्दैछ । माग्ने र माग्न प्रोत्साहन गर्ने दुबैलाई कारबाही हुने महानगरपालिकाले जनाएको छ ।

    मुलुकी अपराध संहिताको दफा १ सय २६ मा भिक्षा माग्न र भिक्षा माग्न प्रोत्साहन गर्न नहुने र गरेमा बढीमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने महानगरपालिकाले जनाएको छ ।

    तीन दिन भित्र बाटोबाट माग्ने नहटे मानव सेवा आश्रमसँगको सहकार्यमा उनीहरूको व्यवस्थापन थालिने र उनीहरुलाई बालाजु २२ धारास्थित एक घरमा राखेर व्यवस्थापनको योजना छ ।

    त्यसपछि वास्तविक पिडामा रहेर माग्ने वा पेशेवर माग्ने छुट्याएर सोहीअनुसार कारवाही अगाडी बढ्ने भएको छ ।

    काठमाडौंमा कसैले पेशा वा व्यवसायका रुपमा माग्नेलाई सडकमा खटाउने गरेका पाइए उनीहरु दुबैमाथि कारवाही हुने भएको छ ।

  • दुई इन्जिनियर २० लाख घुससहित पक्राउ

    दुई इन्जिनियर २० लाख घुससहित पक्राउ

    प्युठान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई इन्जिनियरलाई २० लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

    सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर निरज महर्जन र इन्जिनियर ध्रुव श्रेष्ठ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका हुन् ।

    आयोगको टोलीले उनीहरूलाई करिब २० लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। काठमाडौं बानेश्वरस्थित एलिनाज बेकरी क्याफेबाट उनीहरु पक्राउ परेको आयोगले पुष्टी गरेको छ ।

    सेवाग्राहीसँग बिल भुक्तानी गरेवापत उक्त घुस मागेको सुराकीका आधारमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

  • २०८१ बैशाखमा द्रुतमार्गमा गाडी गुड्छ : नेपाली सेना

    २०८१ बैशाखमा द्रुतमार्गमा गाडी गुड्छ : नेपाली सेना

    काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं -तराई द्रूतमार्ग वैशाख २०८१ मा सम्पन्न हुने दावि गरेको छ ।

    सोमबार राजधानीमा आयोजित कार्यक्रममा सेनाले २०८१ वैशाखमा आयोजनाको काम सम्पन्न भई सवारी साधन चल्न थाल्ने दावि गरेको हो ।

    द्रूतमार्गको तोकिएको अवधिमै काम पुरा गर्न सडक संरचना, पुलको एकीकृत प्याकेज गुरुयोजना बनाएर अघि बढ्ने तयारी भएको आयोजना प्रमुख प्राविधिक सहायकरथि शरदलाल श्रेष्ठले जानकारी दिए ।

    चालु आर्थिक वर्ष यस आयोजनाका लागि मात्र सरकारले १४ अर्ब रूपैयाँ विनियोजन गरेको छ । त्यसमध्ये पहिलो चौमासिकमा मात्र ६ करोड रूपैयाँ खर्च भएको छ।

    पहिलो चौमासिकमा कागजी काम बढी हुने भएकाले बजेट खर्च कम हुने उनले उल्लेख गरे । सुरुङमार्ग र पुलको काम सुरू भएपछि खर्चले समेत गपत लिने उनको भनाई छ ।

    अहिले पुलको ठेक्काको मूल्यांकन भइरहेको छ। आयोजनामा कुल ८७ वटा पुल बन्ने छन् । त्यसमध्ये ७१ वटा नेपाली निर्माण कम्पनी र बाँकी १६ वटा विदेशी कम्पनीले बनाउने छन् । द्रुत मार्गमा पुलको मात्रै लम्बाई १०.५९६ किलोमिटर हुने भएको छ ।

  • कर्णालीमा छोरीको बैंक खाता सरकारले खोलिदिने, २० पुगेपछि मात्र पैसा निकाल्न पाउने

    कर्णालीमा छोरीको बैंक खाता सरकारले खोलिदिने, २० पुगेपछि मात्र पैसा निकाल्न पाउने

    सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका छोरीको बैँक खाता आफैले खोलि दिने निर्णय गरेको छ ।

    १ साउन २०७६ यता कर्णालीको क्षेत्रफलमा जन्मिएका सबै छोरीको बैँक खाता सरकारले नै खोलिदिने योजना प्रदेश सरकारले कार्यानवयन गर्न लागेको हो ।

    चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत सरकारले ‘बैँक खाता छोरीकोः सुरक्षा जीवन भरीको’ कार्यक्रम राखेको थियो ।

    यसका लागि बजेट समेत छुट्याइएको थियो । यस कार्यक्रमलाई कार्यान्वयन गर्न कार्यविधि तयार भएको हो । मुुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले कार्यविधि तयार पारेको हो ।

    छोरीहरुको सामाजिक सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकारले बैँक खाता खोल्ने कार्यक्रमलाई प्रभावकारी बनाउन लागेको बताएको छ ।

    कार्यविधिमा उल्लेख भएअनुसार अब १ साउन २०७६ भन्दा पछि कर्णालीमा जन्तिमा सबै छोरीको बैँक खाता रहनेछ ।

    यस खातामा प्रदेश सरकारले छोरी २० बर्ष नपुगेसम्म पहिलो महिना एक हजार र त्यसपछि हरेक महिना पाँचसय रुपैँया जम्मा गरिदिने भएको छ ।

    खासगरी छोरी जन्मिदा हेयको दृष्टिले हेने बाबुआमाको सोच पनि परिवर्तन हुने अपेक्षा सरकारको छ । छोरीमाथि हुने विभेद अन्त्य हुनुका साथै उमेर पुगेपछि स्वावलम्बन बन्न समेत यस कार्यक्रमले सहयोग गर्ने भएको छ ।

    कर्णाली मानव विकास सूचकांकमा पछि परेको प्रदेश हो । त्यसकारण यो कार्यक्रम महिला सशक्तिकरणका लागि प्रभावकारी हुने विश्वास लिइएको छ ।

    कार्यविधि अनुसार रकम भने छोरीको बैँक खातामा जम्मा गर्ने गरी प्रदेश सरकारले सबै स्थानीय तहमा पठाउने भएको छ ।

    कर्णालीमा बार्षिक करिब ७ हजार छोरी जन्मिने गरेको अनुमानित तथ्यांक रहेको छ । अहिलेकै रकम अनुसार छोरी २० वर्षकी पुग्दा उनको खातामा एक लाख २० हजार रुपैँया जम्मा हुुन्छ ।

    यद्दपी समय सापेक्षा यो रकम बढाउन सक्ने अधिकार सरकारलाई दिइएको छ । यो रकम छोरी २० वर्ष नपुगेसम्म निकाल्न पाइने छैन ।

    एक दम्पत्तिबाट जन्मिएका दुई वटी छोरीले मात्र यो सुविधा पाउनेछन् । २० वर्ष अगाडी नै बिहे गर्ने छोरीले नि त्यो रकम पाउने छैनन् ।

    माध्यामिक शिक्षा समेत छोरीले बिचमै छाड्न पाउने छैनिन । यसले शिक्षा, जीवनस्तर, बालबिबाह रोक्ने ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

  • एनसेललाई मात्र २२ अर्ब ४४ करोड कर निर्धारण

    एनसेललाई मात्र २२ अर्ब ४४ करोड कर निर्धारण

    काठमाडौं । ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका लागि नयाँ कर निर्धारण गरेको छ । सर्वोच्चको आदेशसँग एनसेलका लागि कर कार्यालयले नयाँ कर निर्धारण गरेको हो ।

    अब एनसेलले २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर तिरे पुग्ने भएको छ ।

    ठूला करदाता कार्यालयले वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर तिर्नुपर्ने गरी कर निर्धारण गरेको थियो ।

    एनसेलले यसअघि २१ अर्ब ५४ करोड तिरिसकेको थियो । त्यसकारण त्यो रकम घटाएर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ तिर्नुपर्ने कर कार्यालयको ठहर थियो ।

    उसको यस कर निर्धारणविरुद्ध एनसेल अदालत पुगेको थियो । सर्वोच्चले भने ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ को दफा १२० (क) अनुसार लगाएको ५० प्रतिशत शुल्क सर्वोच्चले खारेज गर्दै नयाँ कर तोकिदियो ।

    अदालतले एनसेलबाट तिर्नुपर्ने कर २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ कायम गरिदियो ।

    फैसलामा यो रकममा ब्याजसमेत जोड्न पाउने भनिएका कारण २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरिएको हो ।

  • किन सधै किचलो निजगढ विमानस्थलमा ?

    किन सधै किचलो निजगढ विमानस्थलमा ?

    काठमाडौं । शनिबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारी आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई त्रिभुवन विमानस्थलमा पुगे । त्यसअवसरमा उनले निर्माणाधिन संरचनाको अवलोकनपछि एउटा ट्वीट गरे ।

    उनले त्रिभुवन विमानस्थलमा संरचना बनिरहेका भएपनि यसले समस्या समाधानको स्थायी समाधान दिँदैन, त्यसको स्थायी समाधान निजगढ विमानस्थल नै हो । किनकी अहिले त्रिभुवन विमानस्थलमा अधिक हवाई चाप छ । यात्रुले सास्ती पाइरहेका छन् ।

    लगत्तै आयोजित एक औपचारिक कार्यक्रममा मन्त्री भट्टराईले यो आयोजना राष्ट्रिय महत्वको भएको भन्दै अनुमती मिल्छ भने यसका लागि वहस गर्न सर्वोच्च अदालतमै जान आफू तयार रहेको उल्लेख गरे ।

    किनकी दुई अगाडी सर्वोच्चले निजगढ विमानस्थलको सबै काम रोकेर छलफलमा आउन सरकार र रीट हाल्ने दुबैलाई अन्तरिमकालिन आदेश गरेको थियो ।

    सर्वोच्चले आयोजना रोक्ने नियतले नभई थप स्पष्टताका लागि बोलाएको मन्त्री भट्टारईको भनाई थियो । राज्यका कुनै पनि निकाय यो आयोजनाको विरुद्धमा हुन नसक्ने समेत उनको विश्वास थियो ।

    त्यसो त उनको आक्रोस हवाई विज्ञका नाममा केवल चर्चामात्र खोज्ने व्यक्तिहरुतर्फ पनि थियो ।

    वातावरणका नाममा जति धेरै लेख, रचना, तर्क विकर्त बाहिर आएका छन्, हवाई संरचनाको आवश्यकता, विकास र अर्थतन्त्रमा यसले पार्ने प्रभावबारे नभएको बहसका सम्बन्धमा समेत उनको गुनासो थियो ।

    निजगढमा २४ लाख रुख काटिने हौवा फिजाइएको छ । तर, अहिले प्रारम्भमा थोरै मात्र रुख काट्दासमेत विमानस्थल निर्माण भइसक्छ ।

    त्यसकारण वातावरणका नाममा विकास विरोधी हौवा चिर्न समेत उनले हवाई विज्ञहरुलाई आग्रह गरे ।

    वास्तवमा यो आयोजनामा सरकार र सरोकारवालाले आम जनतामा आवश्यकताको बोध गराउन नसकेकै कारण यति धेरै विवाद आएको पक्का हो ।

    यसलाई चिर्न सरकारले अब राष्ट्रिय बहस नै चलाएर आयोजनालाई गति दिनु आवश्यक छ ।

  • ग्लोबल आइएमई बन्यो सबैभन्दा ठूलो बैंक

    ग्लोबल आइएमई बन्यो सबैभन्दा ठूलो बैंक

    काठमाडौं । ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । शुक्रबार जनता बैंक र ग्लोबल आइएमई बैंकबीच मर्जर भई एकिकृत कारोबार प्रारम्भ भएसँगै ग्लोबल मुलुकको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न पुगेको हो ।

    शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडा, गभर्नर चिरन्जीवी नेपाललगायतको उपस्थितिमा एकिकृत कारोबार प्रारम्भ गरेको छ ।

    ग्लोबल आइएमई नेपालको २२ औं वाणिज्य बैंकका रुपमा १२ वर्षअघि स्थापना भएको हो ।

    जनता बैंकसँग ‘बिग मर्जर’ सम्पन्न भई कारोबार भएपछि यस बैंकले कूल पुँजी, चुक्ता पुँजीलगायत बैंकका अधिकांश सूचकमा सबैभन्दा ठूलो बैंक बन्न पुगेको हो ।

    दुई बैंकबीच मर्जर गर्ने सहमति भएको ५ महिना पछि शुक्रबारबाट एकिकृत कारोबार शुरु भएको हो ।

    मर्जरपछि बनेको बैंकमा अध्यक्ष चन्द्र ढकाल रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत जनता बैंकका सीईओ पर्शुराम कुँवर रहेका छन् ।

    मर्जरपछि यस बैंकको चुक्तापुँजी १९ अर्ब रूपैयाँ भएको छ । साविकको ग्लोबल आईएमई बैंकको १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ र जनता बैंकको ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ जोड्दा उक्त परिमाणमा चुक्तापूँजी भएको हो ।

    मर्जरपछिको ग्लोबल आइएमई बैंकको कूल निक्षेपको आकार अब २ खर्ब १० अर्ब पुगेको छ । कर्जा लगानी भने २ खर्ब पुगेको छ । शाखा कार्यालय ३ सय हाराहारी पुगेको छ ।

    बैंकका २ सय ५६ स्थानमा एटिएम सेवा पुगेका छन् । २ सय ४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम भएको शुक्रबार आयोजना गरिएको औपचारिक कार्यक्रममा जानकारी दिइयो ।

    अब बैंकका कर्मचारीको कूल संख्या ३ हजार २ सय ५० कायम भएको छ । ग्राहक २० लाख भन्दा माथि भएको छ ।

  • ‘निजगढ विमानस्थलमा ब्रेक थ्रु हुँदैछ’

    ‘निजगढ विमानस्थलमा ब्रेक थ्रु हुँदैछ’

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बहुचर्चित राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलबारे छिट्टै महत्वपूर्ण निर्णय हुने बताएका छन् ।

    प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएसँगै बस्ने मन्त्रीपरिषद्को बैठकबाट यस आयोजनालाई अगाडी बढाउने सम्बन्धमा महत्वपूर्ण निर्णय हुन लागेको उनले जानकारी दिए । यद्दपी उनले त्यसबारेमा भने विस्तृतमा खुलाएनन् ।

    बिहीबार मन्त्रालयमा विभिन्न राजनीतिक दलका नेताहरुसँग नेपाल भ्रमण वर्षको तयारीका सम्बन्धमा आयोजित छलफल कार्यक्रममा उनले निजगढ विमानस्थलबारे रहेका अन्यौल हटाउने गरी पूर्वतयारीका काम अगाडी बढेको जानकारी दिए ।

    सरकारको उच्च प्राथमिकतामा रहेको आयो आयोजनाले नेपालको पर्यटन र आर्थिक भविश्व निर्धारण गर्ने भन्दै उनले आयोजनालाई सबैको साथ र सहयोग रहेको समेत उल्लेख गरे ।

    उक्त अवसरमा नेकपाका महासचिव विष्णु पौडेलले राष्ट्रिय आवश्यकताको आयोजना भएका कारण सामान्य विरोध भएपनि आयोजना नरोकिन स्पष्ट पारे ।

    राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले यो आयोजना कुनै पनि हालतमा अगाडी बढाउनु पर्ने भन्दै त्यसका लागि उपयुक्त निर्णय लिन सरकारलाई सुझाव दिए ।

  • अन्तर प्रदेश उडानमा वायुसेवा कम्पनीको आकर्षण

    अन्तर प्रदेश उडानमा वायुसेवा कम्पनीको आकर्षण

    काठमाडौं । नेपाल भ्रमण वर्षको तयारीसँगै सरकारले अन्तर प्रदेश उडानलाई प्रवद्र्धन गर्ने नीति लिएको थियो । सोहीअनुसार दुई प्रदेशलाई जोड्ने गरी उडान बिस्तारमा निजी वायुसेवा कम्पनी अग्रसर हुन थालेका छन् ।

    निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट सिधै विराटनगरसम्म उडानको घोषणा गरेको छ । यसअघि यो रुटमा उडान भएको छैन ।

    अब विराटनगरको यात्रुले पोखरा पुग्न काठमाडौं आइरहनु पर्ने झण्झट हट्ने पक्का भएको छ । बुद्धले आगामी ३ फेब्रुअरीबाट पोखरादेखि विराटनगरसम्म उडानको तयारी गरेको हो ।

    त्यसका लागि कम्पनीले बुधबार मिति नै सार्वजनिक गरेको छ । बुद्धले सातामा तीन उडान गर्ने गरी उडान मिति सार्वजनिक गरेको हो ।

    बुद्धले यसअघि पोखराबाट भैरहवामा समेत उडान बिस्तार गरिसकेको छ । पोखराबाटै भरतपुरमा समेत उडान हुन्छ ।

    यसले क्रमशः वायुसेवा कम्पनीहरु क्षेत्रिय उडानमा आकर्षित भएको देखाएको छ । पोखरा नेपालको मूख्य पर्यटकीय शहर हो ।

    यहाँ नेपालभरबाट आन्तरिक पर्यटक घुमघामका ला िपुग्ने गर्छन् । सोहीकारण पनि क्षेत्रिय उडान नाफामा चल्ने सम्भावना रहेको छ ।

    पोखरामा नेपालगन्ज र धनगढीबाट समेत ठूलो माग रहेको छ । यस रुटमा भने कम्पनीहरुले अझै उडान शुरु गरिसकेका छैनन् ।

    सरकारले क्षेत्रिय उडान गर्ने कम्पनीहरुलाई प्रवद्र्धन गर्न प्याकेज ल्याउने तयारी समेत गरिरहेको छ । त्यसका लागि एक समिति नै बनाएर काम गरिरहेको मन्त्रालयको भनाई छ ।

  • ग्लोबल र जनता बैंकको सेवा ३० घण्टाका लागि बन्द

    ग्लोबल र जनता बैंकको सेवा ३० घण्टाका लागि बन्द

    काठमाडौ । ग्लोबल आइएमइ बैंकको सम्पूर्ण सेवा ३० घण्टाका लागि बन्द हुने भएको छ । जनता बैंकसँग गाभिएर एकिकृत कारोबार गर्न लागेकोको बैंकले सोही व्यवस्थापनका लागि कारोबार बन्द गरिएको बताएको छ ।

    ग्लोबलका साथै जनता बैंकको सेवा समेत बन्द हुने भएको छ । बैंकले ग्राहकलाई विभिन्न माध्यमबाट यसको जानकारी गराइसकेका छन् ।

    यी दुई बैंकको एकिकृत कारोबार २० मंसिरबाट शुरु हुँदैछ । सेवासमेत सोही दिनबाट खुल्ने भएको छ । जनता र ग्लोबल आइएमइको सेवा बुधबार साँझ ६ बजेबाट देखि बन्द हुने छ।

    बिहीबार राति १२ बजेदेखि मात्र सेवा सूचारु हुने छ । दुबै बैंकको एटिएम, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङदेखि शाखारहित बैंकिङ सेवासम्म बन्द हुने बैंकले जानकारी गराएका छन् ।

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ ।

    मूल्य राती १२ बजेबाटै लागू हुने निगमका प्रवक्ता वीरेन्द्र गोइतले उल्लेख गरेका छन् । उनका अनुसार इन्डियन आयल कर्पोरेसनले मूल्य वृद्धि गरी पठाएका कारण नेपालमा मूल्य समायोजन गर्नु परेको हो ।

    नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

    एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ । १ डिसेम्बरबाटै एलपी ग्यास र हवाई इन्धनको मूल्य पनि बढेर आएको छ । तर, निगमले नेपालमा भने नबढाएको गोइतले जानकारी दिएका छन् ।

  • आजदेखि श्रम स्वीकृतिको टोकन अनलाइनबाट

    आजदेखि श्रम स्वीकृतिको टोकन अनलाइनबाट

    काठमाडौं । आजदेखि श्रम स्वीकृति लिन लामो लाइन बस्नु पर्ने छैन ।

    घरबाटै अनलाइनमार्फत भरेको श्रम स्वीकृतिका आफ्नो पालो आएको दिन गएर सजिलै लिन सकिने गरी वैदेशिक रोजगार विभागले अनलाइन प्रणाली शुरु गरेको छ ।

    पहिलो पटक कायान्वयनमा आएको यो प्रणाली आजबाट शुरु भएको हो । वैदेशिक रोजगारसाग सम्बन्धित हरेक कामहरु अनलाइन प्रणालीमा लैजाने योजना विभागको रहेको छ ।

    सोहीअन्तर्गत पहिलो चरणमा श्रम स्वीकृतिको टोकन अनलाइनबाट वितरण गर्न लागिएको हो ।

    श्रम स्वीकृतिका लागि अनलाइन फाराम भर्ने वित्तिकै आवेदनकर्ताले श्रम स्वीकृति पाउने दिन थाहा पाउँछन् ।

    आफूलाई पायक पर्ने कार्यालय रोजेर त्यहा पुगी सजिलै श्रम स्वीकृति लिन सकिने गरी प्रणाली विकास गरिएको छ ।

    अब श्रम स्वीकृतिमा सहजिकरण गर्छु भन्दै सक्रिय हुने दलालहरुको काम भने अन्त्य भएको छ । कर्मचारीले पनि दलालमार्फत खाने कमिसन बन्द भएको छ ।

    जुन कार्यालयमा छिट्टै पालो आउँछ, त्यही कार्यालय रोजेर सेवाग्राहीले श्रम स्वीकृति लिन सक्ने भएका छन् ।

    प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को काठमाडौँ ९ताहचल, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीबाट श्रम स्वीकृति हुने गरेको छ ।

    श्रम स्वीकृतिको फाराम बुझाइसकेपछि कुनै कारणले श्रम स्वीकृति अस्वीकृत हुने भएमा वा थप कागजात चाहिने भएमा भने मोबाइलमा म्यासेज आउने विभागले उल्लेख गरेको छ ।

    श्रम स्वीकृतिको फारम भर्दा वास्तविक मोबाइल नम्बर र इमेल राख्नु पर्ने हुन्छ । अब वैदेशिक रोजगारीका क्रममा लाग्ने खर्च समेत विद्युतीय प्रणालीबाट भुक्तानीको प्रणाली समेत अन्तिम चरणमा रहेको विभागले जनाएको छ ।

    विद्युतीय भुक्तानी प्रणाली लागू भएपछि बीमा र कल्याणकारी कोषको रकम तिर्न बैंकमा धाृनु पर्ने छैन ।

  • सुधारिदो व्यापार घाटा, आयात घट्दै-निर्यातमा वृद्धि

    सुधारिदो व्यापार घाटा, आयात घट्दै-निर्यातमा वृद्धि

    काठमाडौं । नेपालको वैदेशिक व्यापार क्रमशः सुधारको बाटोमा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयात अघिल्लो वर्षको समिक्षा अवधिको तुलनामा ७ प्रतिशत घटेको छ ।

    निर्यात भने २३.९० प्रतिशतले वृद्धि भएको छ । तथ्याङक अनुसार यसअवधिमा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ ।

    गत वर्ष समिक्षा अवधिमा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात भएको तथ्यांक विभागको छ ।

    यसअवधिमा ३६ अर्ब २७ करोडको निर्यात भएको छ । गत वर्ष यही अवधिमा २९ अर्ब २८ करोड रुपैयाँको सामान बाहिर गएको थियो । आयात खुम्चने र निर्यातमा भएको वृद्धिले चार महिनामा नेपालको व्यापार घाटा ८.९ प्रतिशतले घटेको छ ।

    गत वर्षको चार महिनामा ४ खर्ब ५४ अर्बको व्यापार घाटा रहेकोमा यो वर्षको पहिलो चार महिनामा ४ खर्ब १४ अर्बमा झरेको छ । जसले गर्दा समग्र वैदेशिक व्यापारमा समेत ५.१६ प्रतिशतले कमी देखिएको छ ।

    नेपालमा सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थ रहेकोमा डिजेल २९ अर्ब २४ करोड, पेट्रोल १२ अर्ब ३७ करोड, एलपी ग्यास आठ अर्ब १३ करोडको आयात भएको छ। परिणाममा बढे पनि रकममा डिजेल पेट्रोलको आयात घटेको छ।

    यसअवधिमा सबैभन्दा बढी पाम तेल ८ अर्ब १३ करोडको निर्यात भएको छ। गत वर्ष यसै समयमा एक रुपैयाँको सामान निर्यात गर्दा १६ रुपैयाँको आयात गरेकोमा अहिले अनुपात घटेर १२ मा झरेको छ।

  • विमानस्थलबाट ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

    विमानस्थलबाट ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । सुन तस्करीका रोकेको दावि गर्ने सरकारलाई चूनौति दिँदै बिहीबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    विमानस्थल भन्सार कार्यालयका अनुसार उनीहरु नियमित जाँचका क्रममा समातिएका हुन् । चेन होङयाङ र चेन क्वीनहाङ रहेको विमानस्थल प्रहरीले जनाएको छ ।

    उनीहरु नेपाल एयरलाइन्सको हङकङ उडानबाट नेपाल आएका हुन् । उनीबारेतर्फ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    विमानस्थलबाट हुने तस्करी नेपाल प्रहरीका लागि ठूलो टाउको दुखाई बनेको छ । पटक पटक हुने तस्करीका कारण नेपालको विमानस्थलको सुरक्षा स्थितिबारे नै प्रश्न उठ्ने गरेको छ ।

  • युवालाई जागिर दिन सरकारले लियो साढे १३ अर्ब ऋण

    युवालाई जागिर दिन सरकारले लियो साढे १३ अर्ब ऋण

    काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले विश्व बैंकबाट साढे १३ अर्ब सहुलियत ऋण लिएको छ । यस सम्बन्धमा नेपाल सरकार अर्थ मन्त्रालय र विश्व बैंकबीच हस्ताक्षर भएको हो ।

    ‘युवा रोजगारीको लागि रुपान्तरण पहल परियोजना’का लागि विश्व बैंकले १३ अर्ब ६३ करोड ऋण उपलब्ध गराउने सम्बन्धमा बुधबार सम्झौतामा हस्ताक्षर भएको हो।

    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यो सहुलियत पूर्ण ऋण रोजगार व्यवस्थापन सूचना प्रणालीको विकासमा खर्च हुने भएको छ ।

    यसले यसले ७ सय ५३ वटा स्थानीय तहमा बेरोजगार तथ्याङ्क संकलन तथा त्यसको लागि सूचना प्रणालीको विकास गर्न सहयोग पुग्ने भएको छ ।

    यसबाहेक प्रधानमन्त्री कार्यक्रममा सूचीकृत भएका बेरोजगार युवालाई एक सय दिन काम गरेको तलब पनि यही ऋणको रकमबाट उपलब्ध गराइने भएको छ ।

    सरकारले चालू आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

  • नक्कली खातावालाले सक्कली खाताबाट पैसा निकाल्न थालेपछि…

    नक्कली खातावालाले सक्कली खाताबाट पैसा निकाल्न थालेपछि…

    काठमाडौं । अरुको खाताबाट सक्कली चेक नै बनाएर रकम निकाल्ने धन्दामा संलग्न ६ जनालाई प्रहरीले पक्रिएर सार्वजनिक गरेको छ ।

    प्रहरीले अञ्जन बराल, सुभाष श्रेष्ठ, मनिष घिमिरे, कुमार तामाङ, सुमन पौडेल र गोविन्द घिमिरेलाई सार्वजनिक गरेको छ । उनीहरुको साथबाट कैयौ व्यक्तिको सक्कली चेक नै फेला परेको प्रहरीले बताएको छ ।

    प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये श्रेष्ठ, तामाङ, घिमिरे र बराल काभ्रे पाँचखाल नगरपालिका, ३ का हुन्।

    उनीहरू कालिमाटीमा फ्लाट भाडामा लिएर बस्दै आएका छन् । बाग्लुङ गलकोट नगरपालिका, ३ का पौडेल बुद्धनगर र सिन्धुपाल्चोक साबिक ज्यामिरे गाविस, ९ का गोविन्द सुविधानगरमा बस्दै आएका छन् । उनीहरु १९ देखि ३० वर्ष उमेर समूहका युवा हुन् ।

    उनीहरुले कालिमाटीको डेरामा राति अबेरसम्म विभिन्न व्यक्तिको कीर्ते सही बनाउने अभ्यास गर्ने गरेको प्रहरीले फेला पारेको छ । रजिष्टर लगेर त्यहा उनीहरुले नक्कली सही बनाउन सिक्ने गर्थे ।

    सोमबार अन्जन बरालले गोपालमान राजबाहकलाई दिउँसो फोन गरेर आफू जनता बैंकबाट बालेको र खाता जाँच भइरहेको भन्दै फोन अफ गर्न लगाए । नत्र सिस्टमले काम नगर्ने उनको भनाई थियो ।

    राजबाहकले बैंककै कर्मचारीको फोन सम्झेर मोवाइल बन्द गरे । तीन बजे तीर उनलाई त्यस्तो फोन आएको थियो । राति साढे ८ बजेपछि फोन अन गर्दा उनको खाताबाट १९ लाख ९९ हजार रुपैयाँ निकालेको म्यासेज आए ।

    त्यसपछि तत्काल उनले प्रहरीलाई खबर गरे । प्रहरीले जनता बैंकमा निगरानी बढायो । मंगलबार तीन जना व्यक्ति राजबाहककै चेक बोकेर बैकमा चेक साट्न आएपछि उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

    उनीहरुको कोठा खानतलासीबाट प्रहरीले नगद, चेकबुक, एटिएम र बैंकका फाइल, खाता खोल्न राखिएका मानिसका फोटो र नागरिकताको नक्कल फेला पारेको छ । उनीहरुसँग करीव ३ सय मानिसको फोटोकपीको नक्कल रहेको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार उनीहरुलेव्यक्तिको सक्कली नै चेकबुक बनाएर खातावालाको नक्कली सही मार्फत पैसा निकालेका छन् । यसमा बैंकबाटै हस्ताक्षर बाहिरिएको आंशका प्रहरीको छ ।

    घटनामा कर्मचारीको समेत मिलेमतो देखिने भन्दै विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि अन्य खाताबाट पैसा निकालिएको समेत प्रहरीको दावि रहेको छ ।

    प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार खातावालाका नागरिकताको प्रतिलिपि २९० थान, खातावालाको नाम र रकम उल्लेख गरिएको रजिष्टर २६ थान, हस्ताक्षर नमूनाको डायरी दुई थान, खाता खोल्न फोटो टाँसेको तयारी फारम ३०० बरामद भएको छ ।

    ११५ जनाको बैंक स्टेटमेन्ट, जनता बैंकबाट जारी भएका १६ थान चेकबुक, ४१ थान काटिएको चेकबुक, ज्योति विकास बैंकमा अन्जन बरालको नाममा जारी भएको चेकबुक एक थान समेत यो समूहबाट जारी भएको छ ।

    एभरेस्ट बैंकको २० थान चेकबुक, सोही बैंकमा काटिएको तीन थान चेकबुक, माछापुछ्रे बैंकका १७ थान, मुक्तिनाथ विकास बैंकका ४१ थान, एनआइसी एसिया बैंकका चेकबुक ६८ थान समेत बरामद भएका छन् ।

    विभिन्न व्यक्तिका फोटो ८२५ थान, एनआइसी एसियाका ८२ थान एटिएम, अन्य बैंकका ७ थान एटिएम र विभिन्न बैंक तथा व्यक्तिको हस्ताक्षर गरेको चेक ३२९ थान बरामद भएको प्रहरीले जनाएको छ ।

    यस घटनाबाट करीव १८ वटा बैंकको सीस्टम जोखिममा रहेको प्रहरीले अनुमान गरेको छ ।

  • केरुङ-काठमाडौं क्रस बोर्डर रेल्वेको भौगर्भिक अध्ययन हुने

    केरुङ-काठमाडौं क्रस बोर्डर रेल्वेको भौगर्भिक अध्ययन हुने

    काठमाडौं । नेपाल र चीन केरुङ-काठमाडौं क्रस बोर्डर रेल्वे आयोजनाको भौगर्भिक अध्ययन गर्न सहमत भएका छन् ।

    चीन सरकारले स्वय: एरियल म्यापिङ र भौगर्भिक अध्ययनको काम सुरू गर्ने सहमति जनाएको हो । मंगलबार नेपाल र चिनियाँ अधिकारीबीच काठमाडौंमा यस आयोजनाका सम्बन्धमा छलफल भएको थियो ।

    छलफलमा उक्त सहमति जुटेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारीले जानकारी दिएका छन् । यस आयोजनालाई अगाडी बढाउने सन्दर्भमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणकै दौरान सहमति जुटिसकेको थियो ।

    आयोजना कार्यान्वयनका लागि काठमाडौंमा बेठक बसेको हो । आयोजनाको विस्तृत सम्भाब्यता अध्ययन गर्ने सहमति समेत यस बैठकले गरेको छ । त्यस कार्यमा नेपालले सहजिकरण गर्नेछ भने सुरक्षाको जिम्मेवारी निवार्ह गर्ने भएको छ ।

    चीन र नेपाल सम्बन्धको एक कडीका रुपमा यस आयोजनालाई हेरिएको छ । चीनले सिगात्सेसम्म आएको रेल्वेलाईनलाई सन् २०२० सम्म केरुङसम्म नै ल्याउने छ । त्यहाबाट काठमाडौंसम्म बिस्तार गर्न नेपाल र चीन सहमत भइसकेका छन् ।

  • गौतमबुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा, वायुसेवालाई प्याकेज घोषणाको तयारी

    गौतमबुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा, वायुसेवालाई प्याकेज घोषणाको तयारी

    काठमाडौं । भैरहवामा निर्माणाधिन राष्ट्रिय गौरवको विमानस्थल आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको भौतिकतर्फको ९० प्रतिशत काम पुरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिरकणले जनाएको छ ।

    प्राधिकरणका अनुसार भौतिक संरचना निर्माणको काम सकिएसँगै व्यवस्थापनमा खटिने गरी विमानस्थल प्रमुख तोकिएको छ ।

    प्राधिकरणका निर्देशक प्रतापबाबु तिवारीले अब भैरहवास्थित गौतमबुद्ध विमानस्थलको प्रमुखको जिम्मेवारी पाएका छन् । उनले विमानस्थल संचालनमा व्यवस्थापनको भूमिका निर्वाह गर्ने भएका छन् ।

    यो विमानस्थलमा निकट भविश्यमै परीक्षण उडानको तयारी छ । यद्दपी सूचना प्रविधिसम्बन्धी धेरै उपकरण जडान गर्नुपर्ने काम बाँकि रहेको छ ।

    अहिले परीक्षण उडान सम्म भएपनि नियमित उडानका लागि भने अझै धेरै समय लाग्नेछ । किनकी यो विमानस्थ्ल संचालनको मोडालिटी अझै स्पष्ट भएको छैन ।

    कुन निकायबाट कसरी संचालन गर्ने भन्नेमा सरकार टुंगोमा पुगिसकेको छैन । त्यसपछि मात्र बजारिकरण गरी यहाँ जहाजहरुलाई आकर्षित गर्ने काम शुरु हुनेछ ।

    यसैबीच, सरकारले गौतमबुद्ध विमानस्थलमा आउने जहाजका लागि प्याकेज घोषणाको तयारी गरेको छ ।

    त्यस्ता प्याकेजको सूचि बनाएर प्राधिकरणले मन्त्रालयमा पठाएको र मन्त्रालयले स्वीकृतिका लागि अर्थमा पठाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

  • अब श्रम स्वीकृति लिन लाइन बस्नु नपर्ने, इ-टोकन प्रारम्भ

    अब श्रम स्वीकृति लिन लाइन बस्नु नपर्ने, इ-टोकन प्रारम्भ

    काठमाडौं । सरकारले श्रम स्वीकृति लिन रहेको झण्झट हटाउने भएको छ । अब युवाले बिहान ३ बजेदेखि श्रम कार्यालयमा लाइन बस्नु पर्ने छैन ।

    यसको साटो इ-टोकनका माध्यमबाट आफ्नो पालोको दिन श्रम कार्यालय पुगी सहजै श्रम स्वीकृति लिन सक्ने भएका छन् ।

    वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुषालका अनुसार श्रम स्वीकृतिका लागि अनलाइन फारम भर्ने बित्तिकै श्रम स्वीकृति पाउने दिन देखिने छ ।

    आफूले कुन कार्यालय पायक पर्छ, उक्त कार्यालय रोज्न समेत मिल्ने छ । जुन कार्यालयमा छिटो पालो आउँछ, उक्त कार्यालय रोजेर फारम भर्न सकिने भएको छ ।

    यो प्रणाली १ डिसेम्बर २०१९ (१५ मंसिर २०७६) बाट कार्यान्वयनमा आउने विभागले उल्लेख गरेको छ ।

    फारम भरिसकेपछि कारणवश श्रम स्वीकृति अस्वीकृत हुने अवस्था आयो भने मोवाइलमा त्यसको जानकारी एसएमएसका माध्यमबाट आउने भएको छ । श्रम स्वीकृती भएको म्यासेजसमेत मोवाइलमा प्राप्त हुने भएको छ ।

    यसले श्रम स्वीकृति भएको कन्फर्म गराउने छ । विद्यूतीय भुक्तानीका लागि समेत विभागले सम्झौताको तयारी गरिरहेको बताएको छ।

    यो प्रणाली लागू भएपछि बीमा र कल्याणकारी कोषको पैसा तिर्न बैंक जानु पर्ने छैन । यसबाट विचौलिको प्रवेशसमेत अन्त्य हुने भएको छ ।

    त्यसपछि कामदारको छनोट प्रणालीसमेत पारदर्शी बनाउन अनलाइन माध्यमको प्रयोगको प्रणाली प्रयोगका तयारी समेत भइरहेको छ । यो सबै कामको तयारी विभागले विगत ५ महिनादेखि गरिरहेको र अब रिजल्ट देखिन थालेको विभागको भनाई छ ।

  • विदेशी लगानीमा उत्साहजनक वृद्धि, तीन महिनामै भित्रियो ४ अर्ब

    विदेशी लगानीमा उत्साहजनक वृद्धि, तीन महिनामै भित्रियो ४ अर्ब

    काठमाडौं । चालू आर्थिक वर्षको प्रारम्भिक तथ्यांक अनुसार मुलुकमा क्रमशः लगानीको वातावरण बन्दै गएको आभाष भएको छ ।

    नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो तीन महिनामै ४ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आइसकेको छ ।

    यो रकम अघिल्लो वर्षको समिक्षा अवधिको तुलनामा १ सय ५९ प्रतिशतले बढी हो । गत आवमा १ अर्ब ५४ करोड रुपैयाँमात्र विदेशी लगानी आएको तथ्यांक छ ।

    यसबीचमा मुलुकको लगानीयोग्य वातावरणमा सुधार आएको जनाउ दिने गरी डुइङ विजनेश रिपोर्टमा प्रगति देखिएको छ ।

    सरकारले कतिपय नीतिगत सुधारमा समेत ध्यान दिएका कारण विदेशी लगानीकर्ताहरु क्रमशः नेपालमा आकर्षित हुँदै गएको पाइएको छ ।

    आयात संकुचन, सरकारको वाह्य ऋण परिचालनमा भएको वृद्धि, प्रत्यक्ष बैदेशिक लगानीमा भएको वृद्धि र नेपालीको वैदेशिक भ्रमण व्यय घटेपछि समग्रमा शोधनान्तर समेत बचतमा गएको राष्ट्र बैंकको भनाई छ ।

    होटल लगायत पर्यटन पूर्वाधार विस्तार, पुनरनिर्माण कार्यमा निरन्तरता र संघीयता कार्यान्वयनले गति लिन थालेकोले उच्च आर्थिक वृद्धिको प्रवृतिलाई कायम राख्न सहयोग पुग्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

  • गैरआवासीय नेपालीबाट १० अर्ब लगानी भित्राउने अभियानमा सहजिकरणको माग

    गैरआवासीय नेपालीबाट १० अर्ब लगानी भित्राउने अभियानमा सहजिकरणको माग

    काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटेको छ । भेटमा संघका अध्यक्ष कुमार पन्तले संघका पछिल्ला गतिविधीबारे परराष्ट्र मन्त्रीलाई जानकारी गराएका थिए

    । नेपालको पूर्वाधार विकासका लागि गैरआवासीय नेपालीको रु. १० अर्ब लगानी भित्र्याउने घोषणा गरिएको छ । यस अभियानमा थप सहजीकरणका लागि परराष्ट्र मन्त्री ज्ञवालीमार्फत सरकारको ध्यानाकर्षण गराएको संघले जानकारी दिएको छ ।

    सो अवसरमा वैदेशिक रोजगार श्रमिक कल्याणकारी कोषमा नेपाल राष्ट्र बैंकका तर्फबाट पनि योगदान गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको थियो ।

    संसदमा विचराधिन गैरआवासीय नागरिकता सम्बन्धी विषयमा पनि अध्यक्ष पन्तले मन्त्री ज्ञवालीको ध्यानाकर्षण गराएका थिए ।

    भेटमा गत अक्टोवरमा सम्पन्न विश्व सम्मेलन तथा अन्तर्रा्ष्ट्रिय महाधिवेशन बारे जानकारी गराउँदै अध्यक्ष पन्तले अब छिट्टै दोश्रो एनआरएन विश्व ज्ञान सीप सम्मेलन आयोजनाको तयारीमा जुटेको समेत बताएका थिए ।

    जवाफमा मन्त्री ज्ञवालीले संघले गर्दै आएका गतिविधीप्रति सरकार सकारात्मक रहेको उल्लेख गरे । संघले उठाएका विषयमा नेपाल सरकार सकारात्मक भएको र यी विषयलाई संबोधन गर्न सम्बन्धित निकायमा पहल गर्ने आश्वासन मन्त्री ज्ञवालीले दिएका थिए ।

    दोश्रो विश्व विज्ञ सम्मेलनबारे चासो व्यक्त गर्दै उनले पहिलो विश्व विज्ञ सम्मेलन मौलिक र स्तरीय भएकोमा प्रसन्नता व्यक्त गरेको संघले जानकारी दिएको छ । टोलीले परराष्ट्र सचिव शंकरदास बैरागीसँग समेत भेटघाट गरेको छ ।

  • अब अमेरिका र युरोपमा पर्वतको  सातु

    अब अमेरिका र युरोपमा पर्वतको  सातु

    काठमाडौं । नेपालको पर्वत जिल्लामा उत्पादन भएको सातु अब अमेरिकामा पनि पाइने भएको छ । सामुदायिक खाद्य प्रशोधन उद्योग मार्फत उत्पादन भएको मकैको सातुले अमेरिका र युरोपको बजारमा लोकप्रीय बनेको छ । पोषिलो खानेकुरा भए पनि आजभोली गाउँमा मकै लगायतका अन्न पिसेर बनाइने सातुको भाग हराएको छ । तर शहर बजार र विदेशमा बस्ने नेपालीका माझ भने यसको महत्व बढ्ने क्रममा छ । त्यसैले पर्वतमा उत्पादन भएको मकैको सातु अहिले युरोप र अमेरिकासम्म पुगेको हो ।
    पर्वतको फलेवास नगरपालिकामा सातु उत्पादन सुरु भएको छ । फलेवासमा तयार गरिएको त्यहीँ सातु अहिले अमेरिका र युरोपका गैरआवासीय नेपालीले लैजान थालेका हुन् । फलेवास नगरपालिकामा स्थानीय जातका परिकार तयार गर्दै आएका उद्यमी थानेश्वर भुसालले मकै, भट्टमास, फापर, चनालगायतको मिश्रणबाट पोसिलो खाजा उत्पादन गरिएको बताए । गाउँघरमा सातु भनेर हेला गर्ने खाद्यबस्तु अहिले शहरी क्षेत्र र विदेशमा माग ह्वात्तै बढिरहेको उनको भनाई रहेको छ ।
    मुडिकुवामा १८ वर्षदेखि सामुदायिक खाद्य प्रशोधन उद्योग सञ्चालन गरेर भुसालले गाउँघरमै आम्दानीको स्रोत बनाएका छन् । उद्योगमा स्थानीयस्तरमा उत्पादन हुने मकै, भट्टमास, चना, फापर, अदुवा, बदाम, दालचिनी, अलैँची, मरिचलगायतलाई मेशिनमा भुटेर सातु बनाउने गरिएको छ । आवश्यकताअनुसार नुन वा चिनी पनि मिसाउने गरिएको भुसालले बताए । पछिल्लो समय उद्योगले अडर अनुसारको सातु उत्पादन गर्ने गरेको छ ।
    चाउचाउ, बिस्कुट वा अन्य तयारी खाजाले स्वास्थ्यलाई असर गर्ने भएकाले सातुको माग दिनप्रतिदिन बढ्न थालेको छ । सातु पोषणयुक्त र स्वास्थ्यमा कुनै असर नगर्ने भएकाले यसको माग बढेको उद्योगी भुषालले भनाइ छ । लप्सी, अदुवा र सितलचिनी पनि प्रशोधन गरेर बेच्दै आएको उनले बताएका छन् । पहिले लप्सी, अदुवा र सितलचिनीको प्रशोधनबाट व्यवसाय सुरु गरेका उनले पछिल्लो समय भने सातुको उत्पादन थालेका थिए ।
    पहिले पहिले एक दुई किलो गैरआवासीय नेपालीले विदेश लैजाने गरेकामा अहिले भने सयौँ किलो व्यवसायीक प्रयोजनका लागि अमेरिका र युरोपमा जाने गरेको उनले जानकारी दिए । केहीले अमेरिकाको डिमार्टमेन्टल स्टोरमा पनि राख्न थालेको जानकारी आफूलाई दिएको उनले सुनाए । त्यहाँको सातु स्थानीय बजारमा पनि लोकप्रीय बनेको छ । अहिले कुश्माबजारका खाद्य स्टोर्समा उनले सातु पुर्याउने गरेका छन् । कोसेलीका रुपमा काठमाडौं पोखरा लगायतका विभिन्न ठाउँमा पनि सातु जाने गरेको छ ।
    गाउँघरमा नै उत्पादन भएका अन्न मिसाएर बनाइएको हुनाले बालबालिका र वृद्धवृद्धाले सातु स्वादिलो मानेर खाने गरेका छन् । जिल्लाकै विभिन्न ठाउँ र जिल्ला बाहिरका सहरमा रहेका विभिन्न विद्यालयले पनि दिवा खाजाका लागि सातु लैजान थालेका छन् । त्यसैले उद्यमी भुसालले उत्पादनलाई पनि बढाउन थालेका छन् । भुसालले उत्पादन गरेको लप्सीको अचार, क्याण्डी, तितौँरा, अदुवाको क्याण्डीलागतका परिकार अमेरिका र युरोपमा जाने गरेको छ ।
    स्थानीय वनपाखामा उत्पादन भएका लप्सीका परिकार मौसमी भएका कारण बाह्रै महिना उद्योग चलाउन सातु उत्पादन गरिएको उनले जानकारी दिए । उद्योगको वक्षमता बिस्तार गर्न र थप स्थानीय उत्पादनलाई बढवा दिनका लागि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावराण् मन्त्रालयले ७ लाख ६० हजार आर्थिक सहयोग गरेको छ । गाउँघरमा उत्पादन हुने अन्नबाली फाले जङ्कफुड खाने प्रचलनलाई निरुत्साहन गर्न अभियान जस्तै व्यक्तिगत पहल गरेकामा आफूलाई खुसी लागेको उनले बताएका छन् ।
    गाउँमै उत्पादन भएका मकैलगायतका अन्नबालीबाट बजारीया खानेकुरालाई बिस्थापित गर्नेगरी उद्योग बिस्तार गरेको उनले बताए । गाउँमा मकैको मूल्य प्रतिकिलो ४० पर्छ । त्यसबाट सातु बनाएर बेच्दा पनि राम्रो आम्दानी गर्न सकिएको छ । चारवर्ष अघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरेपछि फलेबस क्षेत्रमा मकै जोड कार्यक्रम चलिरहेको छ । यसले मकैको उत्पादन बढेको छ । उत्पादन भएको मकैले बजार पाएकाले स्थानीय पनि खुसी छन्, आफूले पनि स्थानीय अन्न सुलभ मूल्यमा पाएकामा भुसाल पनि खुसी छन् । आफूले उत्पादन गरेको अन्न सातु र अचारको रुपमा अमेरिका र युरोप पुगेपछि स्थानीय पनि हर्षित छन् ।

  • काठमाडौंमा अचाक्ली महंगी

    काठमाडौंमा अचाक्ली महंगी

    काठमाडौं । काठमाडौं उपत्यकामा अचाक्ली महंगी बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा काठमाडौं उपत्यकामा मूल्य वृद्धि ८ प्रतिशत भन्दा माथि पुगेको छ ।

    गत आवको पहिलो त्रैमासिकमा मात्र ४ प्रतिशत मूल्य वृद्धि थियो । यस वर्ष भने आवको प्रारम्भमै नागरिकको ढाड सेक्ने गरी महंगी बढेको छ ।

    तथ्यांक अनुसार असोजसम्म उपभोक्ता मुद्रास्फिति ८.१४ प्रतिशत पुगेको छ । तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशतले महंगी बढेको छ ।

    समग्रमा भने उपभोक्ता मुद्रास्फिति ६.२१ प्रतिशत रहेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

    समिक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य बढि रहेको छ ।

    गैरखाद्य तथा सेवा समूहतर्फ घरायसी उपयोगिताका वस्तु तथा सेवा, कपडा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको देखिएको छ ।