Category: अर्थतन्त्र

  • रुदीखोला जलविद्यूतले थाल्यो उत्पादन, साढे ६ मेगावाट विद्यूत राष्ट्रिय प्रशारणमा

    रुदीखोला जलविद्यूतले थाल्यो उत्पादन, साढे ६ मेगावाट विद्यूत राष्ट्रिय प्रशारणमा

    काठमाडौं । लमजुङस्थित रुदीखोला बी जलविद्यूत आयोजनाले उत्पादन थालेको छ ।

    पछिल्ला समय निजी क्षेत्रबाट धमाधम आयोजनाहरु निर्माण भइरहेका छन् । सम्भवतः नेपालमा सबैभन्दा ठूलो लगानी समेत जलविद्युतमा रहेको छ । रुदीखोला–बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत् उत्पादन थालेको हो ।

    यसको क्षमता ६.६ मेगावाट रहेको छ । यो क्षमताको विद्यूत शनिबार बाटै राष्ट्रिय प्रशाररणमा जोडिएको हो । आयोजनाको विद्युत गृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा रहेको छ।

    यो आयोजना विन्दवासिनी हाइड्रोपावर कम्पनीले निर्माण गरेको हो । मिजुरेडाँडा सवस्टेशनमार्फत यहाँको जिवुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

    आयोजनाबाट १५ दिनसम्म परीक्षण प्रसारण हुने र त्यसपछि पूर्ण क्षमतामा उत्पादन हुने कम्पनीले जनाएको छ ।

    निर्माण थालेको दुई वर्षमै उत्पादन थालेको यो आयोजनामा प्रतिमोगावटा १८ करोड रुपैयाँ लगानी लागेको छ । सरकारले यसै वर्ष १ हजार मेगावाट भन्दा माथिको क्षमतामा विजुली थप्ने योजना बनाएको छ ।

  • सुधारिँदै वैदेशिक व्यापार, व्यापारघाटा निरन्तर ओरालो

    सुधारिँदै वैदेशिक व्यापार, व्यापारघाटा निरन्तर ओरालो

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा समग्र वैदेशिक व्यापार सुधारोन्मुख देखिएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ६ महिनासम्म आइपुग्दा आयात घटेको छ ।

    निर्यातले उच्च दरमा वृद्धिको बाटो पहिलाएको छ । यसले समग्र व्यापार घाटा घटाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

    यस आव पहिलो महिनाबाटै व्यापार घाटा कम हुन थालेको हो । आयात व्यापार र बढेको निर्यात व्यापार छैटौँ महिनासम्म निरन्तर रह्यो ।

    तथ्यांक अनुसार ६ महिनामा ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँको सामान आयात भएको छ। अघिल्लो वर्ष गत सोही अवधिमा सात खर्ब २३ अर्ब रुपैयाँको आयात भएको थियो । आयात घट्दा निर्यातसमेत बढेको छ।

    यसले व्यापार घाटा घटाउन भूमिका खेलेको हो । निर्यात वृद्धिदर गत वर्षको तुलनामा २६ प्रतिशतले बढेको छ।

    ६ महिनाको अवधिमा ५७ अर्ब २७ करोडको निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ४५ अर्ब ४१ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

    आयात घट्नु र निर्यात बढ्नुबाट व्यापार घाटा ६ प्रतिशतले कम भएको छ ।

    गत वर्ष ६ महिनामा ६ खर्ब ७८ अर्ब रुपैयाँको व्यापार घाटा रहेकोमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ खर्ब ३७ अर्ब रुपैयाँ मात्रै सिमित छ ।

  • प्रदेश २ मा विदेश जान बैंकले ऋण दिने, साहुको ऋण लिन नपर्ने

    प्रदेश २ मा विदेश जान बैंकले ऋण दिने, साहुको ऋण लिन नपर्ने

    जनकपुरधाम । अब प्रदेश दुईबाट रोजगारीका लागि विदेश जाने यूवाले बैंकबाट ऋण पाउने भएका छन् । व्यक्तिगत रुपमा गाउँका साहुहरुले चर्को व्याजमा ऋण लिँदा धेरै घरपरिवार समस्यामा पर्ने गरेका छन् ।

    यसैसन्दर्भमा प्रदेश सरकारको पहलमा बैंकले यूवालाई विदेश जाने प्रयोजनका लागि ऋण दिन थालेका हुन ।

    प्रदेश २ बाट वैदेशिक रोजगारीमा जाने युवाले विनाधितो सहुलियत ऋण पाउने कार्यक्रम कार्यान्वयनमा आएको हो ।

    यसमा प्रदेश सरकारले समन्वय गरेको छ । बिहीबार प्रभु बैंकले युवालाई कर्जा दिएर यसको शुरुवात गरेको छ ।

    जनकपुरमा एक कार्यक्रम आयोजना गरी मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गरे ।

    यस अभियानबाट अब साहुबाट ऋण लिएर वैदेशिक रोजगारीमा जाने बाध्यता हट्ने मूख्यमन्त्री राउतको भनाई छ ।

    मुख्यमन्त्री राउतले सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जान युवालाई सुझाव समेत दिए।

    अर्धदक्ष र दक्ष युवाले विदेशमा राम्रो आम्दानी गर्न सक्नै भन्दै आफू सक्षम भएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरे ।

    प्रदेश सरकार, सीप परियोजना, प्रभु बैक र एसबिआई बैंकबीच साउनमा वैदेशिक रोजागरीमा जाने युवालाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको थियो।

    उक्त सम्झौता कार्यान्वयनमा आएको हो । अब बैंकले विनाधितो सहुलियत ऋण दिनेछन् । सम्झौता अनुसार प्रभु बैकले सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा यस्तो सेवा दिनेछ ।

    एसबिआई बैंकले सिरहा, धनुषा र महोत्तरीमा सेवा दिनेछ । युवाले विनाधितो ऋण लिन पासपोर्ट बनाउने बित्तिकै बैंकमा नागरिकता, पासपोर्ट र ४ प्रति फोटो सहित निवेदन दिन सक्ने भएका छन् ।

    बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाममा बचत खाता खोल्नेछ । भिसा लागेपछि, भिसा, श्रम सम्झौता बैकमा जम्मा गरेपछि पाँच दिनभित्र कर्जा उपलब्ध हुने गरी कार्यविधि बनाइएको छ ।

  • नेपालमा गाँजालाई वैधानिकता दिन प्रयास

    नेपालमा गाँजालाई वैधानिकता दिन प्रयास

    काठमाडौं । नेपालमा गाँजाको खेती तथा सेवन प्रतिवन्धित छ । यसको किनबेच पनि गैरकानूनी हो । तर, केही व्यक्ति र संस्था भने यसको वैधानिकताको पक्षमा उभिएका छन् ।

    उनीहरुलाई पछिल्लो समय केही सांसदले समेत साथ दिएका छन् । सत्तारूढ नेकपाका ४६ सांसदले प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

    उनीहरुले गाँजाको प्रतिवन्ध हटाएर वैधानिकता दिनु पर्ने तर्क गरेका छन् ।

    नेकपा सांसद विरोध खतिवडासहितको टोलीले गाँजामा वैधानिकता खोजेका छन् ।

    उनीहरुको तर्क सन् १९७० ताका गाँजा र भाङलाई लागु औषधमा समावेश गरेका अमेरिका, क्यानडा, जर्मनीजस्ता देशले वैधानिकता दिएको भन्दै नेपालमा पनि बैभानिक हुनुपर्ने माग गरेको छ ।

    विश्वका ६५ मुलुकले यसलाई खुला गरेपनि धेरै मुलुकमा यो प्रतिवन्धमा रहेको छ ।

    खतिवडाको प्रस्तावमा ४५ सांसदले समर्थन गरेको बताइएको छ । गाँजालाई बहुमुल्य जडिबुटी भन्दै सांसदहरु यसको पक्षमा उभिएका हुन् ।

    तर, नेपालमा गाँजाका कारण धेै यूवाले अकालमा ज्यान गुमाइरहेका छन् ।

    निरन्तर गाँजा सेवन गर्न थालेपछि लागू औषधको लत बस्ने र त्यसले जीवन नै वर्वाद गर्दै यूवामा विकृति फैलिएको समयमा केही व्यक्ति र संस्थाको प्रभावमा सांसदहरु यसको समर्थनमा खुलेका हुन् ।

    धेरै नेपाली परिवारले गाँजालाई पारिवारिक समस्याको मूख् जड मान्न थालिसकेका छन् ।

  • जति धेरै खपत, उत्ति कम महशुल

    जति धेरै खपत, उत्ति कम महशुल

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब उपभोक्तालाई धेरै बिजुली खपतमा प्रोत्साहित गर्ने भएको छ ।

    स्वदेशमा क्रमशः बिजुलीको उत्पादन बढिरहेको सन्दर्भमा अब बिजुली खपत बढाउनु पर्ने बाध्यता प्राधिकरणसँग छ ।

    यसबाहेक निर्यातको बाटो खोल्नेतर्फ समेत प्राधिकरणले काम गरिरहेको छ । प्राधिकरणका अनुसार बढी विद्युत् खपत बढाउन प्रोत्साहन गर्ने भन्दै नयाँ महशुलदर प्रस्ताव गरिएको छ ।

    अब थ्रि फेज र सामुदायिक खानेपानी आयोजनाको विद्युत महशुलदर समेत घट्ने छ ।

    अहिले प्राधिकरणले ५, १५, ३० र ६० मएम्पियरमा ग्राहकलाई विभाजन गरेको छ । त्यसमा ७ वटा स्ल्याब राखी प्राधिकरणले महशुल उठाइरहेको छ ।

    अहिलेको प्रावधान अनुसार जति बढी विजुली खपत गर्‍यो त्यति नै दर बढ्दै जान्छ ।

    तर, आगामी दिनमा भने रणनीतिक रुपमा परिवर्तन गर्न लागिएको हो ।

    आगामी दिनमा हिटर, एसी, इन्डक्सनजस्ता विद्यूतीय उपकरणको प्रयोग गरी विद्यूत खपत बढाउन सकिने विश्वास प्राधिकरणको रहेको छ ।

    आन्तरिक उत्पादनका रुपमा विद्यूतको खपत बढाउन सके त्यसले अनाधिकृत रुपमा विदेश जाने रकम स्वदेशमै बच्ने र देशको उत्पादकत्व बढ्नेछ ।

    प्राधिकरणका अनुसार अब ५ एम्पिएर अन्तर्गत लाइन राख्नेले १० युनिटसम्म विद्युत उपयोग गर्दा महिनामा ३० रुपैयाँमात्र शुल्क राखे पुग्छ ।

    नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका अनुसार १० युनिटसम्म खपत गर्ने ग्राहकसँग भने महशुलमा ‘इनर्जी चार्ज’ लिइने छैन ।

    कम विद्यूत खपत गर्ने ग्राहकको संख्या अधिक रहेको छ । निकट भविश्वमा उत्पादन बढ्ने तर त्यस अनुसार खपत हुन नसकेपछि प्राधिकरण खपत बढाउने योजनामा जुटेको हो ।

  • खाडीबाट भित्रन्छ नेपालमा धेरै रेमिट्यान्स

    खाडीबाट भित्रन्छ नेपालमा धेरै रेमिट्यान्स

    काठमाडौं । विदेशमा रोजगारीको सिलसिलामा पुगेका नेपालीमध्ये सबैभन्दा धेरै खाडी मुलुकबाट रेमिट्यान्स आउने गरेको छ ।

    नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यूरोप, अमेरिकालगायत विकसित मुलुकबाट आउने रेमिट्यान्स बढ्न थालेको छ ।

    तर, धेरै रेमिट्यान्स भने खाडी मुलुकबाट प्राप्त भएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको तथ्यांक अनुसार खाडी मुलुकबाट आउने विप्रेषण नै कुल विप्रेषणको ५०.३ प्रतिशत हिस्सा ओगटेको छ ।

    राष्ट्र बैंकले अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको संयोजकत्वमा अनुसन्धान गरेको थियो । अध्ययन अनुसार कतारबाट नेपालमा सबैभन्दा बढी १७.७ प्रतिशत विप्रेषण आउँछ ।

    संयुक्त अरब इमिरेट्स (यूएई) बाट मात्र १३.४ प्रतिशत र साउदी अरेबियाबाट १२.५ प्रतिशत विप्रेषण आउने गरेको छ । यस वर्ष मलेसियाबाट आएको विप्रेषणमा केही कमी आएको छ ।

    यस वर्षको पहिलो चार महिनामा विप्रेषणको हिस्सा ९.७ प्रतिशत मात्र रहेको छ ।

    तथ्यांकअनुसार चालु आवको पहिलो चार महिनामा कतारबाट ५३ अर्ब ९३ करोड र भारतबाट ४३ अर्ब १६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

    चार महिनामा कुल ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांक रहेको छ । युएईबाट ४० अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मलेसियाबाट २९ अर्ब ६६ करोड भित्रिएको छ ।

  • नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको काम बैशाखपछि

    नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको काम बैशाखपछि

    काठमाडौं । राजधानी जोड्ने नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको काम वैशाखबाट धमाधम शुरु हुने भएको छ ।

    अहिले निर्माण सामग्री, उपकरणलगायत संकलनको काम भइरहेको र बैशाखपछि धमाधाम काम हुरु गर्ने आयोजनाको तयारी रहेको छ ।

    आयोजनाका अनुसार सुरुंग निर्माणको काम जेठबाट शुरु हुने भएको हो ।

    सुरुङ खन्न चाहिने विष्फोटक पदार्थ र उपकरण ल्याउने काम अहिले भइरहेको छ । यस आयोजनाका लागि विस्फोटक पदार्थ भारतबाट आउँदैछ ।

    आयोजनाका अनुसार ९ सय टन विष्फोटक पदार्थ आवश्यक पर्नेछ । यो आयोजना जापानी कम्पनीले निर्माण गर्नेछ ।

    यो काठमाडौं उपत्यका जोड्ने पहिलो सुरुग मार्ग बन्दैछ ।

    ४ कार्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो आयोजनाका औपचारिक शिलान्यास गरेका हुन् । बढीमा चार वर्ष भित्र यो आयोजना सक्ने लक्ष्य लिइएको छ ।

  • गृहमन्त्री थापासमेत समेत एमसीसीका प्रावधान संशोधनको पक्षमा

    गृहमन्त्री थापासमेत समेत एमसीसीका प्रावधान संशोधनको पक्षमा

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले समेत एमसिसीका केही प्रावधान राष्ट्रको हितमा नभएको बताएका छन् ।

    शनिबार सुर्खेत पुगेका थापाले एमसीसीका केही प्रावधान संशोधनमा जोड दिएका हुन् ।

    गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुईदिने सुरक्षा गोष्ठीमा भाग लिन उनी सुर्खेत पुगेका हुन् ।

    त्यहा पार्टी नेता तथा कार्यकर्तासँगको कुराकानी गर्दै उनले नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित पार्ने प्रावधान भए एमसिसी मान्य नहुने बताए ।

    एमसिसी परियोजनाअन्तर्गत अमेरिकाबाट नेपालमा लगानी हुने ५५ अर्ब बजेटमध्ये १३ अर्ब नेपालको समेत लगानी हुने उनले स्पष्ट पारे ।

    सोहीकारण कर्मचारी राख्नेदेखि लेखापरीक्षणसम्मको प्रावधानमा अमेरिकाको निर्णय मान्नुपर्ने शर्तमा संशोधन आवश्यक रहेको उनको भनाई छ ।

    यो लगानी हिन्द प्रशान्त रणनीति भने नरहेकोकाृ उनको भनाई छ ।

    दूतावासबाटै यसको खण्डन भइसकेको अवस्थामा अब यस विषयमा शंका नहरेको उनको भनाई छ । पछिल्लो समय एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयमा संसदभित्रै विवाद रहेको छ ।

  • नेपाल एयरलाइन्समा पाइलटको राजिनामा काण्ड

    नेपाल एयरलाइन्समा पाइलटको राजिनामा काण्ड

    काठमाडौं । शुक्रबार बिहानै एक समाचार नेपाली संचारमाध्यममा भाइरल भयो,  ‘नेपाल एयरलाइन्सका २५ पाइलटले एकै साथ राजिनामा दिए, त्यसले अन्तरराष्ट्रिय उडान ठप्प हुने ।’

    यो समाचार यस्तो बेला आयो, जहाँ भर्खरै नेपाल एयरलाइन्स नेतृत्वविहिन भएको थियो ।

    सन् २०१९ मा सबैभन्दा धेरै यात्रु बोकेको एयरलाइन्स बन्दै नम्बर वान भएको नेपाल एयरलाइन्समा अचानक के भयो ? जसले गर्दा पाइलटले राजिनामा गरे ? बुझ्दा पत्ता लाग्यो, पाइलटले राजिनामा गरकै होइनन् ।

    उनीहरुले व्यवस्थापनसँग माग राखेका छन् र त्यो पुरा गर्न तीन महिनाको समय सीमा दिइएको छ ।

    त्यसमा उनीहरुको मूख्य माग नै आयकरवापत राज्यलाई ठूलो रकम बुझाउँदा व्यक्तिमाथि भार पर्यो ।

    त्यसको साटो कर कम्पनीले नै तिरिदिओस भन्ने उनीहरुको अपेक्षा रहेको छ । त्यसबाहेक नेपाल एयरलाइन्समा विदेशी पाइलटको तुलनामा स्वदेशी पाइलटले कम तलव पाएको भन्दै त्यसमा पनि केही समायोजनको माग उनीहरुले गरेका छन् ।

    विशुद्ध पेशागत हकहितका लागि गरेको मागलाई अतिरन्जित गरी बाहिर आएपछि भने पाइलटहरुले त्यसबाट पछाडी हट्दै नाम समेत फिर्ता लिइसकेका छन् ।

    २५ जना पाइलटले हस्ताक्षर गरेको भनिएपनि त्यसबाट करीव आधा दर्जनले नाम फिर्ता लिएका छन् । नेपाल एयरलाइन्सका जहाज निरन्तर उड्नेछन् ।

  • हिमालय एयरलाइन्सले तीन जहाज थप्ने, चीनमा पाँचौ गन्तब्य

    हिमालय एयरलाइन्सले तीन जहाज थप्ने, चीनमा पाँचौ गन्तब्य

    काठमाडौं । निजी लगानीको हिमालय एयरलाइन्सले यसै वर्ष तीन एयरबस जहाज भित्राउने भएको छ ।

    कम्पनीले फेब्रुअरीबाटै जहाजहरु नेपाल आउने र गन्तब्य थप्ने योजना बनाएको छ ।

    अहिले कम्पनीसँग तीन वटा जहाज छन् । हिमालयले अहिले १० गन्तब्य पुर्याएको छ । कम्पनीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी योजना सार्वजनिक गरेको हो ।

    कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले देशको उत्कृष्ट वायुसेवा कम्पनी बन्ने लक्ष्य राखेर योजनाहरु अगाडी सारिएको बताए ।

    हिमालयले एयरबस-३१९ सिरिजका जहाज थप्ने भएको छ । चीनको ल्हासासहित उच्च भेगका विमानस्थलमा यी जहाजले उडान गर्न सक्छन् ।

    हिमालयले अहिले ए३२०-२१४ सिरिजका जहाज उडाइरहेको छ ।

    हिमालय एयरलाइन्सले बिहीबारबाट चिनियाँ शहर छोङछिङमा उडान थालेको छ ।

    यो चीनमा हिमालयको पाँचौ गन्तब्य हो । यसअघि चीनको राजधानी बेइजिङसहित गुइयाङ, चाङसा, शेन्जेङ्गमा उडान बिस्तार गरेको छ ।

    हिमालयले आबुधावी, दोहा, ढाका र क्वालालाम्पुरमा समेत उडान गरिरहेको छ ।

    हिमालयले सन् २०२० भित्र नाङचाङ, सङ्घाई, अली र ल्हासामा हिमालयको उडान शुरु गर्ने भएको छ ।

  • किसानको वक्यौता नतिर्ने उद्योगको बैंक खाता रोक्का

    किसानको वक्यौता नतिर्ने उद्योगको बैंक खाता रोक्का

    काठमाडौं । सरकारले उखु किसानको पैसा नतिर्ने चिनी मिलको बैक खाता रोक्का गर्ने भएको छ ।

    अन्नपुर्ण सुगर एण्ड जनरल प्रालि, इन्दिरा सुगर एण्ड एग्रो प्रालि र लुम्बिनी चिनी उद्योग प्रालिको बैंक खाता रोक्का गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार अन्नपूर्ण र इन्दिरा उद्योगका सञ्चालक राकेश अग्रवाल हुन् । लुम्बिनी चिनी उद्योगका संचालक भने मनिष अग्रवाल हुन् ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव दिनेश भट्टराईले बताए ।

    उनका अनुसार महालक्ष्मी सुगर मिल्सबाट किसानले २१ करोड ४० लाख पाउनुपर्ने थियो । तर, उसले ११ करोड ५० लाखमात्र भुक्तानी दिएको छ ।

    अन्नपूर्ण सुगर मिलले ४२ करोड वक्यौता राखेकोमा ३ करोड ९० लाख मात्र बुझायो । इन्दिराले ७४ लाख रूपैयाँ मात्र भुक्तानी गरेको छ।

    श्री राम सुगर मिल्सबाट किसानलाई २६ करोड ७७ लाख रूपैयाँ पाउनुपर्नेछ ।

    खाता रोक्का बाहेक उखु किसानको बक्यौता नतिर्ने उद्योगको सबै आर्थिक कारोबार समेत रोक्का गर्न आन्तरिक राजश्व विभागमा पत्राचार गर्ने तयारी सहसचिव भट्टराईले उल्लेख गरे ।

    बाबा बैजुनाथ चिनी उद्योग र बाग्मती खाँडसारी, महाकाली र लुम्बिनी चिनी उद्योग भने सम्पर्कर्म आएका छैनन् ।

    अब गृह मन्त्रालयले ति उद्योगका संचालकलाई खोज्नेछ ।

    हिमालयन, इन्दुशंकर इष्टर्न, रिलायान्स र र भागेश्वर चिनी मिलले भने उखु किसानको सबै पैसा तिरेका छन् । त्यसो त सरकारले उखु किसानलाई दिने कति अनुदानसमेत कृषकसम्म पुग्न सकेको छैन ।

  • किसानको वक्यौता तिर्न उद्योगीलाई दिएको समयसीमा आज सकिदै, आधा उद्योगले तिरेनन्

    किसानको वक्यौता तिर्न उद्योगीलाई दिएको समयसीमा आज सकिदै, आधा उद्योगले तिरेनन्

    काठमाडौं । सरकारले उखु किसानलाई बक्यौता रकम तिर्न चिनी उद्योगीलाई दिएको समयसीमाको आज अन्तिम दिन हो । तर, सोमबार सम्म आधा उद्योगले किसानको पैसा दिएका छैनन् ।

    १८ पुसमा चिनी उद्योग र सरकारबीच भएको वार्तामा उखु किसानको वक्यौता रकम ७ माघसम्म उपलब्ध गराउने सहमति भएको थियो ।

    सो समयसीमा बितिसक्दा समेत किसानको भुक्तानी भने यथावत नै रहेको छ ।

    उद्योग विभागको तथ्यांक अनुसार चिनी उद्योगीले उखु किसानको ५९ करोड १६ लाख ५४ हजार ७५२ रुपैयाँ भुक्तानी दिनु बाँकि छ ।

    तर, १४ वटा चिनी उद्योगमध्ये आधाले मात्र उखु किसानको बाँकी बक्यौता तिरेको छन् ।

    अरुको भने केही रकम आएको छ भने केही रकम बाँकि छ । नवलपरासीको लुम्बिनी सुगर मिलका सञ्चालकको दुई वर्ष अगाडी नै मृत्यु भएको थियो ।

    सोहीकारण उनका परिवार सम्पर्कमा नआएका कारण उत्त उद्योगले कति तिर्न बाँकि रहेको छ भन्ने खुलेको छैन ।

    रौटहतको श्रीराम सुगर मिलले पुरै रकम तिर्न सकेको छैन । उसले तिर्ने पैसा नभएको भन्दै जग्गा बेच्ने प्रस्ताव गरेको छ ।

    सर्लाहीको अन्नपूर्ण सुगर मिल जम्मा ३ करोड ९० लाख भुक्तानी गरेपनि अरु बाँकि छ । उसको ४२ करोड रकम बक्यौता छ ।

  • ओली र मोदी आज भिडियो कन्फ्रेन्समा जोडिदै

    ओली र मोदी आज भिडियो कन्फ्रेन्समा जोडिदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी आज भिडियो कन्फ्रेन्समा जोडिने भएका छन् ।

    भारतको नयाँ दिल्लीबाट मोदी र सिंह्दरबारबाट जोडिने ओलीले आज खासगरी दुई परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    भारतीय सहयोगमा विराटनगरमा निर्माण भएको एकिकृत भन्सार जाँच चौकी (आइसीपी) आज भारतले नेपाललाई हस्तान्तरण गर्दैछ ।

    करीव ३ वर्ष अगाडी निर्माण थालिएको यो परियोजना निर्माणमा भारतले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो ।

    आजै, गोरखामा भारतीय आर्थिक सहयोगमा बनेका भूकम्पपिडितका घर पनि आजै हस्तान्तरणको कार्यक्रम राखिएको छ ।

    भारतले करीव ५० हजार घर निर्माणमा सहयोग गरेको हो । भारतले नुवाकोट र गोरखामा घर निर्माणका लागि सहयोग गरेको थियो ।

  • श्रीले थाल्यो जनकपुर उडान, पोखरामा पनि उड्ने

    श्रीले थाल्यो जनकपुर उडान, पोखरामा पनि उड्ने

    काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी श्री एयरलाइन्सले जनकपुरमा नियमित उडान थालेको छ । दैनिक एक उडान गर्ने गरी जनकपुरमा श्रीले सेवा थालेको हो ।

    कम्पनीका अनुसार अब जनकपुरमा २ हजारमै श्रीले उडान सेवा दिने भएको छ ।

    यसअघि बुद्धले करीव ४ हजार रुपैयाँ भाडा लिइरहेको थियो ।

    प्रवद्र्धनात्मक भाडा २ हजार राखेको र पछि पनि अधिकतम ३५ सय भन्दा माथि भाडा नजाने कम्पनीको भनाई छ ।

    यसैबीच श्रीले सोमबार नै पोखरामा परीक्षण उडान गरेको छ । उडान सफल भएको कम्पनीले जनाएको छ ।

    अब निकट भविश्यमा श्रीले पोखरामा समेत उडान गर्ने भएको छ । श्रीको उडानपछि पोखरामा समेत हवाई भाडामा निकै प्रतिस्पर्धा हुनेछ । किनकी यहाँ पनि श्रीले ठूलो क्षमताको जहाज उडाउँदैछ ।

  • नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष खरेलले राजिनामा दिए

    नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष खरेलले राजिनामा दिए

    काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा गरेका छन् ।

    आइतबार बिहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा पत्र बुझाएर गएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    उनी प्रधानमन्त्री केपी शर्मा ओलीको बलमा दोस्रो पटक कार्यकारी भूमिकामा नेपाल एयरलाइन्स पुगेका हुन् ।

    तर, दुई पटक नै उनी असफल भई राजिनामा दिन बाध्य भए । यसअघि उनी २०७० सालमा महाप्रवन्धक बनेर मात्र १ वर्ष भित्रै राजिनामा गरी भागेका थिए ।

    अहिले पनि भदौ ३१- २०७५ को मन्त्रीपरिषद् बैठकबाट निगमको नेतृत्वमा आएका उनी सरकारको अपेक्षा अनुसार काम गर्न नसकेपछि आफै पाखा लागेका छन् ।

    त्यसो त मन्त्रालयले समेत उनलाई सहयोग गरेका थिएनन् । मन्त्री भट्टराईले पटक पटक पद छाड्न उनलाई दवाव दिएका थिए ।

    उनी कार्यकारी अध्यक्षको भूमिकामा नियुक्त हुँदा महाप्रवन्धक सुगतरत्न कंसकार थिए ।

    उनले भित्राएका दुई वाइडबडी जहाजसमेत खरेलले पुरै क्षमतामा भित्राउन सकेनन् । भएका जहाजसमेत थन्किएर बसेका छन् ।

  • विकासमा अवरोध, सोलुमा हवाइ फायर

    विकासमा अवरोध, सोलुमा हवाइ फायर

    सोलुखुम्बु । सोलुखुम्बुको तिङ्लामा तनाव भएको छ । शनिबार तिङ्लाबासीले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्ने कार्यक्रम विथोलेपछि प्रहरीले हवाई फायर गर्नु परेको छ ।

    प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरी भीड नियन्त्रणमा लिनु परेको थियो ।

    तर, प्रदर्शनकाीले भने दर्जनभन्दा बढी मोटरसाइकल र एउटा गाडीलाई जलाएर ध्वस्त बनाएका छन् ।

    तिङ्लामा निर्माण भएको  लाम्मानेमा ३३ केभी प्रसारण लाइनको सबस्टेशनबाट जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार पत्तालेमा कार्यक्रम राखिएको थियो ।

    तर तिङ्लाबासी त्यस कार्यको विरोधमा उत्रिएका हुन् ।

    आयोजनाबाट मुख्य प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका, ११, तिङ्लामा विद्युतीकरण नै नभएको अवस्थामा केन्द्रिय प्रसारण लाइनमा जोडिएको विरुद्धमा आन्दोलन गर्नु परेको स्थानीयको गुनासो रहेको छ ।

  • आधा आर्थिक वर्ष सकिदा मात्र १३.७२ प्रतिशत विकास खर्च

    आधा आर्थिक वर्ष सकिदा मात्र १३.७२ प्रतिशत विकास खर्च

    काठमाडौं । विकास खर्चका सन्दर्भमा यस पटक पनि सरकार असफल भएको छ । आर्थिक वर्ष २०७६\७७ को आधा समय घर्किएको छ ।

    तर, यसबीचमा मात्र १३.७२ प्रतिशत विकास खर्च सम्भव भएको सरकारी तथ्यांकले देखाएको छ । महालेखा नियन्त्रकको कार्यालयले जारी गरेको आंकडा अनुसार यस बीचमा २५.५१ प्रतिशत बजेट खर्च भएको छ ।

    त्यसमध्ये पूँजिगत खर्च निकै सुस्त गतिमा छ भने चालु खर्च फड्को मारिरहेको छ । मुलुकको आर्थिक विकास र समृद्धिका लागि भने पूँजिगत खर्चले गति लिनुपर्छ ।

    यस वर्ष सरकारले ४ खर्ब ८ अर्ब रुपैयाँ पूँजिगत खर्चको लक्ष्य लिएको छ । त्यसमध्ये ६ महिनाको अवधिमा मात्र ५८ अर्ब ३९ करोड रुपैयाँ पूँजिगत खर्च भएको छ ।

    कूल ९ खर्ब ५७ अर्ब पूँजिगत र्ख गर्ने लक्ष्य लिएको सरकारले ६ महिनामा ३ खर्ब ९ अर्ब रुपैयाँ पूँजिगत खर्च भने गरिसकेको छ ।

    यसको मतलव तलव भत्ता तथा अनुदानका रुपमा मात्र ठूलो रकम खर्च भइरहेको छ । विकास निर्माण भने ठप्प रहेको देखिएको छ ।

    सरकारले चालु आर्थिक वर्षमा कूल १५ खर्ब ३२ अर्ब बजेट कार्यान्वयन गरिरहेको छ ।

    यस वर्ष राजस्व परिचालनमा समेत सरकारले उत्साहजनक तथ्यांक पाउन सकेको छैन ।

    कूल ११ खर्ब १२ अर्ब राजस्व संकलन गर्नुपर्ने सरकारले ६ महिनामा मात्र ४ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सकेको देखिएको छ ।

    सरकारल यसपटक भन्सार राजस्वबाट लक्ष्यअनुसार प्रगति हाँसिल गर्न सकेन ।

  • सिंहदरबारको पुरानो संसद भवन भत्काउन निर्देशन

    सिंहदरबारको पुरानो संसद भवन भत्काउन निर्देशन

    काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिंहदरबार भित्रको पुरानो संसद भवन भत्काउन नेपाल पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ।

    भूकम्पले भत्काएको यो भवन जीर्ण बनिसकेको छ । यो भवनलाई सरकारले राजकीय भोज आयोजना गर्न भवनका रुपमा विकास गर्ने योजना बनाएको छ ।

    समितिले भने पुरानो भवन भत्काएर नयाँ बनाउन निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकल यस्तो निर्देशन दिएको हो ।

    समिति बैठकमा सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारी र राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले सिंहले ग्यालरी बैठक भएको भवनलाई रेट्रोफिटिङ गरेर पुनर्निर्माण गर्न सम्भव नरहेको बताएका थिए ।

    त्यसपछि समितिले भत्काउन निर्देशन दिएको हो । नयाँ बन्ने भवन पूरानै शैलीमा निर्माण हुनुपर्ने गरी निर्देशन समितिले दिएको छ ।

    पछिल्लो समय पुनर्निर्माणको कामले गति लिएको छ । निजी आवास पुनर्निर्माणसँगै सम्पदाको पुनर्निर्माणको गति समेत बढेको छ ।

  • भाटभटेनीसहित ५ कम्पनीले कर छलेको अदालतको ठहर

    भाटभटेनीसहित ५ कम्पनीले कर छलेको अदालतको ठहर

    काठमाडौं । भाटभटेनी सुपरमार्केटसहित पाँच कम्पनीले नक्कली भ्याट बिल बनाएर राज्यले पाउनु पर्ने कर छली गरेको सर्वोच्च अदालतले ठहर गरेको छ।

    करीव १ दशक अगाडीको मुद्दामा सोमबार सर्वोच्चले फैसला सुनाएको हो ।

    राजस्व न्यायाधीकरणले कर छली भनी दोषी ठहर भएका भाटभटेनी सुपरमार्केट, अरूण इन्टरकन्टिनेन्टल, शंकर ग्याँस, महेश बानियाँ र आइएटी प्रालि सर्वोच्चको ढोका ढक्ढकाउन पुगेका थिए । उनीहरुको पुनरावेदनमाथि सर्वोच्चले सोमबार फैसला सुनाएको हो ।

    न्यायाधीकरणले गरेको फैसलाप्रति चित्त नबुझेको अवस्थामा कतिपय कम्पनीविरुद्ध आन्तरिक राजस्व विभागले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

    सबै मुद्दा एकैसाथ राखेर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले फैसला दिएको हो ।

    फैसला अनुसार पाँच वटै कम्पनीले कर छली गरेका हुन । आन्तरिक राजस्व विभागले २०६५ सालमा गरेको अध्ययनबाट विभिन्न व्यापारिक घरानाबाट कर छलि भएको भेटिएको थियो ।

    त्यसपछि विभागले भाटभटेनी सुपरमार्केटसहित कूल २४ व्यापारिक प्रतिष्ठान र कम्पनीले नक्कली भ्याट बिल बनाएर कर छलेको देखिएको थियो ।

    त्यसबेला कूल २ अर्ब ७० करोड रुपैयाँ भ्याट छली भएको देखिएको थियो । सर्वोच्चले फैसलाको पूर्णपाठ भने सार्वजनिक गरिसकेको छैन ।

  • नदीजन्य निर्माण सामग्री आपूर्ति गर्न खानी खोतल्ने तयारी

    नदीजन्य निर्माण सामग्री आपूर्ति गर्न खानी खोतल्ने तयारी

    काठमाडौं । देशभर नदीजन्य निर्माण सामग्रीको उत्खनन्का कारण नदीहरुको अधिक दोहन भएको गुनासो बढ्दै गएपछि सरकारले अब खानीबाट निर्माण सामग्री आपूर्तिको योजना बनाएको छ ।

    अर्थमन्त्री डा. युवराज खतिवडाले नदीले मात्र निर्माण सामर्ग्री आपूर्ति नधान्ने भन्दै खानी खोतल्ने बताएको एक महिनापछि उद्योगमन्त्री लेखराज भट्ट पनि यही लाइनमा उभिएका छन् ।

    उनका अनुसार खानीबाट नदीजन्य सामगी निकाल्ने सम्बन्धमा खानी विभागल यसअघि नै १४ वटा जिल्लाका ९१ वटा स्थान पहिचान गरिएको छ ।

    यहाँबाट ढुंगा तथा बालुवा निकालेर निर्माण सामग्रीको आपूर्ति गरिने भएको छ । नेपालका ढुंगा विश्वमै राम्रा ढुंगा मानिन्छन् ।

    अहिले नेपाल निर्माण सामग्रीका लागि नदी र खोला किनारमा निर्भर रहेको छ ।

    प्रक्रिया अगाडी बढेका खानीहरुबाट प्रतिदिन २७ हजार ६ सय घनमिटर ढुंगा, गिट्टी र बालुवा उत्पादन हुने सरकारको भनाई छ ।

    सरकारले यस्ता खानी उत्खनन्मा निजी क्षेत्रलाई सहभागी गराउने भएको छ ।

    नदीजन्य निर्माण सामग्रीको अवैध दोहनको विरोध गर्दै शुक्रबार धनुषामा एक युवकको हत्या भएको छ ।

    देशभर यो विषय निकै पेचिलो समेत बन्दै गएको छ ।

    खानी विभागले डडेल्धुरा, डोटी, सुर्खेत, सल्यान, प्युठान, अर्घाखाँची, पाल्पा, चितवन, मकवानपुर, सिन्धुली, उदयपुर, धनकुटा, मोरङ्ग र ललितपुरमा यस्ता खानी पहिचान गरेको छ ।

  • नेपालले चीनका सात बन्दरगाह प्रयोग गर्न पाउने

    नेपालले चीनका सात बन्दरगाह प्रयोग गर्न पाउने

    काठमाडौं । नेपालले अब चीनका सात वटा बन्दरगाह प्रयोग गरी मालसामान ढुवानी गर्न सक्ने भएको छ । त्यसमध्ये चारवटा समुन्द्री र दुई वटा सुख्खा बन्दरगाह रहेका छन् ।

    नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा ल्याइएपछि यस्तो बाटो खुलेको हो ।

    उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालका अनुसार चीनको तियानजिन, लियनयुंगा, सेन्जेन र झानजियाङ गरी चारवटा सामुद्रिक बन्दरगाह अब नेपालले पनि प्रयोग गर्न सक्ने भएको छ ।

    लन्झाउ, ल्हासा र सिगात्सेस्थित सुख्खा बन्दरगाहसमेत नेपालका लागि खुला भएको हो । यता, उत्तरी नाकामध्ये ६ वटा नाका प्रयोग गर्ने गरी दुबै देशबीच सहमति भएको छ।

    अब नेपाल र चीनबीच रसुवा, तातोपानी (कोदारी), हुम्लाको यारी संखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाका प्रयोगमा ल्याउन सक्ने गरी सहमति भएको छ ।

    नेपालमा दर्ता भएका सवारी साधन सिगात्सेसम्म जान सक्ने गरी समेत नेपाल र चीनबीच पारवहन सन्धी भएको थियो । यी प्रावधान कार्यान्वयनमा आएका उनले जानकारी दिए ।

    भारतसँग अधिक निकट रहेको नेपालको वैदेशिक व्यापार चीनतर्फ बिस्तार गर्ने भनिएपनि भारतसँग सहज वातावरण चीनसँग छैन ।

    यता, भारतसँग भएको पारबाहन सम्बन्धि सन्धि पनि समेत नवीकरणको तयारी गरिएको उनले जानकारी दिए । नयाँ सन्धि भएपछि नेपालले भारतको आन्तरिक जलमार्ग प्रयोग गरेर नेपालमा आयात निर्यात गर्ने बाटो खुल्नेछ ।

  • फोहोरबाट विजुली झिक्न युएईद्वारा नेपाललाई १ अर्ब १३ करोड ऋण

    फोहोरबाट विजुली झिक्न युएईद्वारा नेपाललाई १ अर्ब १३ करोड ऋण

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई १ करोड डलर (१ अर्ब १३ करोड) ऋण दिने भएको छ । शहरी फोहोरबाट विजुली उत्पादन गर्न यो रकम उपयोग गरिने भएको हो ।

    अबुधावीमा विश्व नवीकरणीय उर्जा संघ (इरिना) को वार्षिक साधारण सभा चलिरहेको छ । सभामा नेपालका तर्फबाट उर्जा मन्त्री वर्षमान पुनले भाग लिइरहेका छन् ।

    अबुधावी फण्ड फर डेभलपमेन्टअन्तर्गत नेपाललाई उक्त रकम दिने घोषणा सभामा भएको छ । मन्त्री पुनले सहयोग स्वीकार गरेको सभालाई जानकारी दिए ।

    उनले सहुलियत कर्जा स्वीकार गर्दै नेपाललाई सहयोगका लागि छनोट गरेकामा धन्यवाद दिएका थिए ।

    यो रकम विभिन्न ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालन गर्न र प्रांगारिक मल उत्पादनको प्रविधि जडानमा प्रयोग हुने भएको छ ।

    यस सहयोग कार्यक्रमका लागि नेपालसहित बुर्निका पासो, चाड, क्युबा, सेण्ट लुसिया, माल्दिभ्सका साथै एण्टिगुवा र बर्मुडा सहुलियतका लागि छानिएका थिए ।

  • पाम आयलको निर्यात रोकिएकोमा कांग्रेसको चिन्ता

    पाम आयलको निर्यात रोकिएकोमा कांग्रेसको चिन्ता

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रशोधित पाम आयल भारत निर्यात गर्न रोकिएकोप्रति चिन्ता व्यक्त गरेको छ ।

    भारतले विभिन्न मुलुबाट आयत हुने पाम आयलमा प्रतिवन्ध लगाएको छ । भारतले लगाएको रोकलाई कूटनीतिक पहल गरी खुलाउन र अन्य मुलुकमा समेत निर्यातको सहज वातावरण बनाउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो ।

    काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति निकाल्दै प्रशोधित पाम आयलको निर्यात रोकिएपछि उत्पादित पाम आयल खेर जाने र उद्योगी व्यवसायीको लगानी जोखिममा पर्ने उल्लेख गरेका छन् ।

    यसबाट उद्योग, श्रमिक तथा कर्मचारीको रोजगारीमा समेत सङ्कट उत्पन्न हुने उल्लेख गरेका छन् ।

    नेपालबाट पछिल्लो ५ महिनामा सबैभन्दा बढी निर्यात भएको पाम आयललाई भारतले प्रतिवन्ध लगाएको छ ।

    यसले अब नेपालको निर्यात बजार नराम्रोसँग प्रभावित हुने देखिएको छ । पाम आयल नेपालको उत्पादन नभएपनि कच्चा तेल नेपालमा आयात गरी प्रशोधनपछि भारत निर्यात भइरहेको थियो ।

  • नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सूचारु

    नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सूचारु

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सूचारु भएको छ । यो सडक खण्ड आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

    पहिरो नियन्त्रणका लागि सडक दिउँसो बन्द हुँदै आएको थियो । काम सकिएसँगै सडक पूर्णरूपमा सञ्चालनमा आएको हो ।

    दिउँसो दैनिक चार घण्टा सवारी साधन बन्द गरेर यहाँ पहिरो नियन्त्रणको काम भएको हो । मूख्य काम सकिएपछि सडक पूर्णरुपमा संचालनमा आएको हो ।

    नारायणघाट मुग्लिन सडकमा बाँकी रहेका आठ ठाउँमा पहिरो रोकथामको काम गरिएको छ ।

    २७ मङ्सिरदेखि प्रत्येक दिन बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म सडकमा सवारी साधनलाई रोकेर काम गरिएको हो ।

    यो सडक खण्ड काठमाडौंलाई अधिकांश नेपालसँग जोड्ने मूख्य माध्यम समेत हो ।

  • भारतले रोक्यो पाम आयलको आयात, नेपालको निर्यात प्रभावित हुने

    भारतले रोक्यो पाम आयलको आयात, नेपालको निर्यात प्रभावित हुने

    काठमाडौं । भारत सरकारले नेपाललगायत मुलुकबाट भइरहेको पाम आयलको आयात बन्द गरेको छ । बुधबार भारतले यस्तो निर्णय सार्वजनिक गरेको छ ।

    यसबाट नेपालको निर्यात बजार भने नराम्रोसँग प्रभावित हुने भएको छ । किनकी आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालबाट सर्वाधिक पाम आयल निर्यात भइरहेको थियो ।

    निर्यातका अन्य वस्तु सुस्ताएको समयमा नेपालको व्यापार घाटा न्यूनिकरणमा पाम आयलले ठूलो योगदान गरेको थियो ।

    अब नेपालबाट पैठारी हुने प्रशोधित पाम आयलमा भारतले रोक लगाएको छ । यसबाहेक प्रशोधित पामोलिन समेत भारतमा जान पाउने छैन ।

    भारतको वाणिज्य विभाग अन्तर्गत वैदेशिक व्यापार निर्देशनालयबाट आएको यस्तो परिपत्रले नेपालको व्यापार घाटा चुलिने पुनः योगदान गर्नेछ ।

    जसबाट निर्यात बढाउने र आयात प्रतिस्र्थापनको नारा दिने अर्थमन्त्रीलाई भने नकारात्मक प्रभाव पार्ने भएको छ । किनकी उनको कार्यकालमा कतै पनि निर्यात बढाउन ठोस काम भएो छैन ।

    त्यसकारण नेपाल आत्मनिर्भर हुन सक्ने क्षेत्रमा समेत आयातले स्थान लिएको छ । पछिल्लो ५ महिनामा मात्र नेपालबाट ११ अर्ब भन्दा माथिको पाम आयल भारतमा गएको छ ।

    पाम आयल नेपालको उत्पादन पनि होइन । मलेसिया, इण्डोनेसियालगायत मुलुकबाट कच्चा पदार्थ ल्याएर नेपालमा प्रशोधन गरी भारत पठाउने गरिएको छ ।

  • एकै दिन दुई उद्योगमा आगलागी, लाखौंको क्षति

    एकै दिन दुई उद्योगमा आगलागी, लाखौंको क्षति

    वीरगन्ज । सुनसरी र वीरगन्जमा एकै दिन दुई उद्योगमा भिषण आगलागी भएको छ । सुनसरीको दुहबीस्थित पशुपति बिस्कुट उद्योग र वीरगञ्जस्थित सरस्वती कपडा उद्योगमा आगलागी भएको हो ।

    आगलागीले लाखौं मूल्य बराबरको क्षति भएको बताईको छ । चौधरी ग्रुपले चलाएको पशुपति बिस्कुटमा मंगलबार राति करिब ८ बजेबाट आगोलागी भएको थियो ।

    यसलाई नियन्त्रणमा लिन करीव साढे ४ घण्टा लागेको थियो । यहाँको आगो निभाउन पाँच वटा वारुणयन्त्र खटिएका थिए । सेना तथा प्रहरी स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

    उता, वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित जवाहिर गुप्ताको सरस्वती कपडा उद्योगमा समेत गएरात नै आगलागी भएको छ ।

    यसले तयारी कपडा, मेसिनलगायत जलेर नष्ट भएको उद्योगले जनाएको छ ।

    यद्दपी दुबै उद्योगमा आगलागली कति क्षति भयो भन्ने बारे भने अझै स्पष्ट भइसकेको छैन । यस उद्योगमा साँझ साढे छ बजेबाट आगलागी भएको थियो ।

  • नेपालमा आकासियो सुनको भाउ, इतिहासकै धेरै मूल्य

    नेपालमा आकासियो सुनको भाउ, इतिहासकै धेरै मूल्य

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावले नेपालमा समेत नकारात्मक प्रभाव पारेको छ ।

    पछिल्लो समय इरान र अमेरिकाबीच बढ्दो युद्धको खतराका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अधिक बढेको छ ।

    त्यसको प्रभाव आइतबार नेपाली बजारमा समेत देखियो । नेपालमा सुनको मूल्य आइतबार इतिहासकै सर्वाधिक विन्दुमा पुग्यो ।

    यसअघि ७३ हजार ५ सय सबै भन्दा उच्च बिन्दुमा रहेको सुनको भाउले आइतबार ७५ हजार ५ सयको आँकडा छोएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय तोकिएको छ ।

    तेजावी सुनको मूल्य सुनको प्रतितोला मूल्य ७५ हजार २ सय रहेको छ । चाँदी प्रतितोला ९ सय रुपैयाँमा किनबेच भएको छ ।

    अघिल्लो शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार मात्र एक हजार रुपैयाँले बढेर कीर्तिमानी मूल्यमा पुगेको हो ।

    तेजावी सुनमा पनि एक हजार रुपैयाँ नै भाउ बढेको छ । विश्व बजारमा अमेरिका र इरानको द्धन्द्धले नराम्रोसँग प्रभाव पारेको छ ।

    यसको मारमा नेपाली उपभोक्ता समेत परेका छन् ।

  • चप्पल लगाएर सवारी हाँक्न रोक, अन्य नियम के के आए ?

    चप्पल लगाएर सवारी हाँक्न रोक, अन्य नियम के के आए ?

    काठमाडौं । अब नेपालमा सवारी साधन चलाउने चालकहरुले अनिवार्य जुत्ता लगाउनु पर्ने भएको छ । सरकारले दूर्घटना न्यूनिकरणका विभिन्न उपायमध्ये अनिवार्य जुत्ता लगाउनु पर्ने प्रावधान समेत अगाडी ल्याएको छ ।

    चप्पल लगाएर सवारी चलाउँदा चिप्लिले जोखिम हुँदा ब्रेक समयमै नलाग्ने र त्यसले दूर्घटनाको डर हुने जोखिम हुन्छ ।

    यातायात व्यवस्था विभागले सार्वजनिक गरेको सूचना अनुसार चप्पल लगाएर सवारी हाँके अब कारवाही हुनेछ ।

    चार पाङग्रे सवारीको अगाडिको सिसामा स्टिकर र अन्य सामाग्री टाँस्न नपाइने भएको छ । ब्यानर वा कुनै प्रचार सामग्रीका स्टीकर सवारी साधनको अगाडीको सिसामा राख्न नपाइने भएको छ ।

    क्याबिनमा सजावट र म्युजिक सिस्टमका सामान समेत नराख्न विभागले सूचित गरेको छ । यसले चालकले अगाडी राम्रोसँग देख्न नसक्ने विभागको भनाई छ ।

    लामो दूरीको यात्रुबाहक सवारीले ढोकामा यात्रु क्षमता र सवारी यात्रुको संख्या टाँस्नुपर्ने भएको छ ।

    यात्रुबाहक सवारी चलाउने चालकको फोटो र अनुमतिपत्रको विवरण पनि अब सबैले देख्ने ठाउँमा राख्नुपर्नेछ ।

    लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा अब रिसोलिङ गरेको टायर अगाडि राख्न पाउने छैन ।

    अघिल्लो भागमा कमजोर टायर हुँदा दुर्घटनाको जोखिम बढी हुन्छ । सवारी साधन भित्र र बाहिरको कुनै पनि साहित्य वा स्लोगनसमेत राख्न नपाइने प्रावधान आएको छ ।

    पछिल्ला दिनमा ठूला यात्रुबाहक बस दूर्घटनामा अकालमा धेरै मानिसको ज्यान गएपछि अहिले सरोकारवाला निकाय त्यसको न्यूनिकरणमा सक्रिय भएका छन ।

  • नर्सिङ केयर गिभरमा जापानमा फेरी नेपालीलाई अवसर

    नर्सिङ केयर गिभरमा जापानमा फेरी नेपालीलाई अवसर

    काठमाडौं । जापानले नेपाली कामदारका लागि नेपालमा भाषा परीक्षा सञ्चालनको तयारी गरेको छ ।

    पहिचो चरणमा परीक्षा गरिसकेको जापानले जनवरी र मार्चमा दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षाको तयारी गरेको हो ।

    जनवरीमा १ हजार र मार्चमा १ हजार ३ सय जनालाई भाषा परीक्षामा सहभागी गराउने तयारी जापानको रहेको छ ।

    जापान फाउन्डेसनका अनुसार परीक्षामा सहभागी हुनेले अब आवेदन दिन सक्ने भएका छन् । जनवरीमा ७, ८, १४, १५, १६, २१, २२, २३, २८ र २९ तारिखमा परीक्षा सञ्चालनको तयारी छ ।

    मार्चमा भने ३, ४, ५, ९, १०, ११, १२, १५, १६, १७, १८ र १९ तारिखमा परीक्षा हुने भएको हो ।

    यसअघि जापानले कात्तिकमा भाषा परीक्षा लिएको थियो । ५६ जना नेपाली यस परीक्षामा उत्तीर्ण भएका थिए ।

    यसपटक २ हजार ५ सय रुपैयाँ परीक्षा शुल्क तोकिएको छ । परीक्षामा सहभागी हुन जापानी भाषामा ए टू लेभल आवश्यक पर्ने बताइएको छ ।

    पछिल्लो समय जापानमा सरकार आफैले कामदार लैजाने प्रक्रिया थालेको हो ।

  • एलपी ग्यासमा दिइएको सरकारी अनुदान हटाइदै

    एलपी ग्यासमा दिइएको सरकारी अनुदान हटाइदै

    काठमाडौं । आयातित एलपी ग्यासमा दिँदै आएको सरकारी अनुदान हट्ने भएको छ । यसको तयारी भइरहेको जल तथा उर्जा मन्त्री वर्षमान पुनले जानकारी दिएका छन् ।

    उनका अनुसार भारतबाट आयात हुने खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने तयारी भइरहेको बताएका हुन् ।

    उनका अनुसार ऊर्जा मन्त्रालयले यसै वर्षबाट ग्यासको अनुदान हटाउन प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले भने आगामी आर्थिक वर्षको बजेटबाट यो अनुदान हटाउने संकेत गरेको छ ।

    स्वदेशमा विजुली उत्पादन बढेको र त्यसले स्वदेशको माग धान्न सक्ने अवस्था रहेका कारण ग्यासको अनुदान हटाउन लागिएको उनले जानकारी दिए ।

    उनका अनुसार ग्यासको अनुदान हटेपछि ग्यास महंगो हुन्छ । त्यस अवस्थामा विजुलीको महसुल घटाएर खाना पकाउउने प्रयोजनमा विजुलीको प्रयोगलाई बढावा दिने नीति सरकारको छ ।

    विद्युतीय चुल्होको प्रयोग बढाउन सरकारले विजुलीको महसुलमा छूट दिने भएको छ । इन्डक्सन चुल्हो प्रयोग गर्ने वर्गको विद्युत महशुल समायोजन गरी ग्राहकलाइ सहजिकरण गरिने जानकारी दिए ।

    एकातर्फ स्वदेशी विद्युत खपत बढ्ने र अर्कोतर्फ ग्यासको आयातमा बाहिरिने अर्बौ रकम स्वदेशमै अडिने सरकारको विश्वास छ । महिनामा १ सय युनिटभन्दा बढी खपत गर्ने ग्राहकको महशुल दर न्यायोचित ढंगले समायोजन गरिने भएको छ ।

    उनका अनुसार सरकारले यसैवर्ष वैकल्पिक ऊर्जा प्रवद्धृन केन्द्रमार्फत प्रवर्द्धनमा १० हजार इन्डक्सन चुल्हो सहुलियत मूल्यमा विक्री गर्दैछ ।