Category: अर्थतन्त्र

  • अब सूर्यविनायक–जडिबुटी सडकमा सार्वजनिक सवारीलाई डेडिकेटेड लेन

    अब सूर्यविनायक–जडिबुटी सडकमा सार्वजनिक सवारीलाई डेडिकेटेड लेन

    काठमाडौं । कोटेश्वरमा अधिक सवारी जाम हुँदा आवागमन प्रभावित बन्दै गएपछि ट्राफिक प्रहरीले लेन कार्यान्वयनमा नयाँ नियम ल्याएको छ ।

    अब सूर्यविनायक–जडिबुटी सडक खण्डमा यात्रुबाहक तथा मालबाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधनका लागि छुट्टै लेन हुने भएको छ ।

    यी सवारी साधनले बायाँ लेनबाट मात्र सवारी साधन चलाउन पाउने भएका छन् ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ लेनको नियम सार्वजनिक गरेको हो । अब दाहिने लेनबाट निजी तथा साना सवारीसाधन मात्रै गुडाउन पाइनेछ ।

    यो प्रावधान १४ फागुनदेखि लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले उल्लेख गरेको छ ।

    उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा एक सुझाव समिति गठन गरिएको थियो ।

    उक्त समितिले दिएको प्रतिवेदनका आधारमा महाशाखाले नयाँ नियम बनाउन लागेको हो । तिब्र गतिमा सवारी चलाउने र ट्राफिक जामका कारण यो सडक खण्ड असुरक्षित समेत बन्दै गएको छ ।

  • शेयर बजारमा कीर्तिमानी कारोबार, अर्थमन्त्री हट्ने हल्लाको प्रभाव

    शेयर बजारमा कीर्तिमानी कारोबार, अर्थमन्त्री हट्ने हल्लाको प्रभाव

    काठमाडौं । आइतबार एकाबिहानै विभिन्न संचारमाध्यममा अर्थमन्त्री डा. युवराज खतिवडाको पद हट्ने खबर सार्वजनिक भयो ।

    उनको पद अन्य मन्त्रीजस्तै कुनै बदमासी गरेर नभई कानून अनुसार नियमित कार्यकाल पुरा गरी उनी बिदा हुँदैछन् ।

    किनकी उनको सांसद पद दुई वर्षे कार्यकालका लागि हो । २० फागुनबाट उनको सांसद पद रहने छैन ।

    त्यसअवस्थामा अर्थमन्त्रीका रुपमा उनले कार्यभार निरन्तरता दिन कानूनी अड्चन रहेको छ ।

    किनकी संविधानअनुसार सांसद नभएको मानिस मन्त्री हुने प्रावधान छैन । त्यसो त दोस्रो कार्यकालका लागि राष्ट्रपतिबाट उनको पुनः नियुक्ति भएमा भने अर्थमन्त्री पद यथावत रहन सक्छ ।

    तर, नेकपाले राष्ट्रिय सभा सांसदमा बामदेव गौतमलाई ल्याउन लागेको खबर एकाएक सार्वजनिक भएपछि यसको प्रभाव शेयर बजारमा परेको छ ।

    आइतबार सेयर बजारमा अहिलेसम्मकै उच्च कारोबार भएको कीर्तिमान बनेको छ ।

    नियमित कारोबार हुने १७६ कम्पनीको किनबेचबाट कारोबार रकम ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ नाघेको हो ।

    सूचक समेत एकै दिन ६९.५६ अंकले बढेको छ । नेप्से परिसूचक ३० महिनायताकै उच्च बिन्दुमा पुग्दा १५०४ अंकमा दिनको कारोबार बन्द भएको छ ।

    विश्लेषकहरु आजको परिवर्तनलाई वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडासँग तर्सिरहेका लगानीकर्ताको प्रभाव मान्छन् ।

    किनकी अर्थमन्त्रीले नीतिगत रुपमा कुनै निर्णय नलिएपनि शेयर कारोबारलाई अनुत्पादक ठान्ने उनको परम्परागत सोचबाट लगानीकर्ता तर्सिरहेका छन् ।

    आइतबार सबैभन्दा बढि जीबन बीमा कम्पनी १९२ अंकले बढेको छ। निर्जीवन बीमा कम्पनी १४० र बैंकिङ ८६ अंकले बढेको छ।

    विकास बैंक ८५ र लघुवित्त ५५ अंकले वृद्धि भएको हो । दिनभर भएको कारेबारबाट १४२ कम्पनीका सेयरधनीले कमाएका छन्।

    गुमाउने २७ कम्पनीका लगानीकर्ता रहेको छन् । १२ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढिले उक्लियो ।

    तारागाउँ रिजेन्सी, वरुण हाइड्रो, पञ्चकन्या माइ, नेशनल हाइड्रो र ओरेन्टल होटलका लगानीकर्ता गुमाउने तर्फ परेका छन् ।

  • युवराज खतिवडा नदोहोरिने, बामदेवलाई सांसद बनाउन गृहकार्य

    युवराज खतिवडा नदोहोरिने, बामदेवलाई सांसद बनाउन गृहकार्य

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का लागि उपाध्यक्ष बामदोव गौतम महत्वपूर्ण स्थानमा छन् । उनी पूर्वएमाले र पूर्वमाओवादी दुबै खेलमा पुलको रुपमा काम गर्न सक्छन् ।

    त्यसकारण नेकपाभित्र उनलाई कुनै पनि मानेमा कमजोर आकिदैन । पार्टीले हालै उनलाई वरिष्ठ उपाध्यक्षको पद दिलाएको थियो ।

    अब भने सांसद बनाउने गृहकार्यका शुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव हारेका व्यक्ति हुन् ।

    तर नेकपाले उनलाई सांसद बनाउन चाहेको छ । शनिबार बसेको सचिवालय बैठकमा समेत उनलाई सांसद बनाउने सम्बन्धमा छलफल भएको थियो । तर, उनी भने संविधान संशोधनको पक्षमा छन् ।

    निर्वाचन हारेको व्यक्तिसमेत मन्त्री, प्रधानमन्त्री हुन सक्ने प्रावधानको पक्षमा छन् । अहिले निर्वाचन हारेको व्यक्ति अन्य माध्यमबाट सांसद बनेपनि कार्यकारी पदमा जान पाउँदैनन् ।

    यस्तो अवस्थामा केवल सांसद मात्र नबन्ने बामदेवको अडान छ ।

    नेकपाले भने अर्थमन्त्री डा. युवराज खतिवडाको सांसद पद समाप्त भएपछि उनलाई बिदा गर्ने र उनको स्थानमा राष्ट्रपतिबाट मनोनयन हुने कोटाबाट बामदेवलाई सांसद बनाउने तयारी गरेको छ ।

    यस विषयमा शनिबार समेत छलफल भएको थियो । यसो हुँदा पुनः एक पटक व्यापक रुपमा मन्त्रीपरिषद्समेत हेरफेर हुनेछ ।

    किनकी हालै सूचना तथा संचार प्रविधि मन्त्रालय खाली भएको छ ।

    यसअघि शहरी विकास मन्त्रालयसमेत संचार मन्त्री गोकुल बास्कोटाले नै सम्हालेका थिए । तर उनीमाथि घुसकाण्ड लागेपछि राजिनामा गरे ।

  • नेपालमा सुनको कीर्तिमानी मूल्य

    नेपालमा सुनको कीर्तिमानी मूल्य

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार कीर्तिमान कायम गर्दै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७८ हजार १ सय र तेजावी सुन ७७ हजार ८ सय रुपैयाँमा कारोबार भयो ।

    यो अहिलेसम्मकै बढी हो । शुक्रबार चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँ पुगेको छ ।

    बिहीबारको तुलनामा सुनको मूल्य तोलामा एकै दिन पाँच सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने यथावत नै रहेको छ ।

    ६ फागुनयता सुनको मूल्यले हरेक दिन कीर्तिमान राखेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दा त्यसले नेपाली बजारमा समेत सुनको मूल्यले निरन्तर भाउ प्रभावित गरिरहेको छ । मूल्य बढेपछि सुनको खपत भने निरन्तर घट्दो क्रममा रहेको छ ।

  • एमसीसीमा संशोधन आवश्यक रहेको कार्यदलको निष्कर्ष

    एमसीसीमा संशोधन आवश्यक रहेको कार्यदलको निष्कर्ष

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का विषयमा अध्ययन गर्न गठन गरेको कार्यदलले एमसीसीका कतिपय प्रावधानमा सशोधनको आवश्यकता औल्याएको छ ।

    कार्यदलले शुक्रबार आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्धय प्रचण्ड र केपी शर्मा ओलीलाई बुझाएको छ ।

    उक्त प्रतिवेदनको सार सम्झौताका कतिपय बुँदा सच्याउनु पर्ने देखिएको बताइएको छ । बुँदा नसच्याएसम्म संसदबाट अनुमोदन नगर्न समेत पार्टी नेतृत्वलाई सुझाव दिइएको छ ।

    एमसीसीका सम्बन्धमा पार्टी भित्र विवाद चर्किएपछि नेकपाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

    कार्यदलमा नेताहरु प्रदीप ज्ञवाली र भीम रावल सदस्यका रुपमा रहेका थिए ।

    यस सम्झौतामा बाहिर नल्याइएका कतिपय प्रावधान रहेका र ती प्रावधानले मुलुकलाई हानी गर्ने भन्दै कार्यदलले सच्याउन माग गरेको हो ।

    यो कार्यदलले २० दिनसम्म कागजात अध्ययन गरेको थियो । यता, अमेरिकाले भने अब सम्झौतामा उल्लेख भएका बुँदा सम्झौताको समय नरहेको यसअघि नै बताइसकेका छ ।

    त्यसकारण यो सम्झौता संसदबाट पास हुने शंका व्क्त भएको छ । खासगरी कांग्रेस सम्झौत पास हुने पक्षमा छ ।

    पूर्वमाओवादी खेमा सम्झौताको विपक्षमा छ । पूर्व एमाले खेमा भने यस सम्झौताको विषयमा खुलेर लागिसकेको छैन । तर, भीम रावल भने सम्झौताको पूर्ण विरोधमा छन् ।

    शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला नेपालले अमेरिकाबाट करिब ५५ अर्ब रुपैयाँ बराबरको विकास सहायता प्राप्त गर्ने गरी एमसीसी सम्झौतामा हस्ताक्षर गरेको हो ।

    केपी ओली नेतृत्वको सरकारले यसलाई मन्त्रिपरिषदबाट अनुमोदन गरिसकेको छ ।

    अब संघीय संसदको सामान्य बहुमतले पारित गरेपछि यो कार्यान्वयनमा आउँछ । त

    र, कार्यदलले नै सम्झौतामा संशोधनको सुझाव दिएपछि सरकारमाथि अब नैतिक संकट आइपरेको छ ।

    लामो समय संसदमा रोकेर राखेका कृष्षबहादुर महरालाई जेल पठाउनुको पछाडी एमसीसी नै रहेको भन्दै बाहिर आंशका गर्नेहरु समेत धेरै रहेका छन् ।

  • बास्कोटासँग बार्गेनिंग गर्ने मिश्रलाई कारवाही गर्न लेखा समितिको पत्राचार

    बास्कोटासँग बार्गेनिंग गर्ने मिश्रलाई कारवाही गर्न लेखा समितिको पत्राचार

    काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग कमिसनका विषयमा बार्गेनिंग गर्ने विजय प्रकाश मिश्रलाई कारबाही गर्न प्रहरी समक्ष पत्राचार गरेको छ।

    उनलाई लेखा समितिका सदस्य सांसदको चरित्र हत्या हुने गरी सार्वजनिक टीकाटिप्पणीमा उत्रिएको भन्दै समितिले कारवाहीका लागि पत्राचार गरेको हो।

    यसअघि मिश्रले एक अनलाइनसँग कुराकानी गर्दै बाँस्कोटासँगको अडिओ वार्ता बाहिर नल्याएको भए लेखा समितिले जर्मन कम्पनीलाई ठेक्का दिनेबारे निर्देशन दिने तयारी गरिरहेको बताएका थिए ।

    नोट, पासपोर्ट र राजस्व स्टिकर लगायतका महत्वपूर्ण कागजपत्र छपाइका लागि आवश्यक सेक्युरिटी प्रेस खरिद गर्ने सम्बन्धमा सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको छ ।

    यस विषयमा समितिले बिहीबार बैठक राखेको थियो । सरकारले जर्मनी, फ्रान्स र स्वीस कम्पनीसँग सेक्युरिटी प्रेस खरिदबारे छलफल गरेर अन्तिममा जर्मनी र फ्रान्सबारे प्रस्ताव अगाडि बढाउने तयारी गरेको हो ।

    तर मिश्रले लेखा समितिले जर्मनीको कम्पनीलाई ठेक्का दिनेगरी समितिका सदस्यहरूले सेटिङ गरेको दाबी गरेका छन् ।

    सोही विषयलाई लिएर लेखा समितिले उनीविरुद्ध कारवाही गर्न पत्राचार गरेको हो ।

    बिहीबारको बैठकमा नेकपा सांसद सूर्य पाठकले सञ्चार मन्त्रीसँगको अडिओ सार्वजनिक गरेका विजय प्रकाश मिश्रले गरेको सार्वजनिक टिप्पणीमाथि पनि छानबिन गर्नुपर्ने उल्लेख गरे ।

  • संचार मन्त्रालयको जिम्मा खतिवडालाई

    संचार मन्त्रालयको जिम्मा खतिवडालाई

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. खतिवडाले पाएका छन् ।

    गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले अर्थमन्त्रीबाट जिम्मेवारी सम्हाल्ने गरी कार्यभार तोकिदिएकी हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. खतिवडाले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले बिहीबार प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन् ।

    उनको राजिनामा बिहीबारै स्वीकृत भएको छ । यसअघि बास्कोटाले सञ्चारसँगै शहरी विकास मन्त्रालय समेत सम्हाल्दै आएका थिए ।

    उनको राजीनामा सँगै शहरी विकास मन्त्रालयको जिम्मा राष्ट्रपतिले भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले हेर्ने गरी तोकिदिएकी छिन् ।

  • अब नेपालमा पनि निजी विमान राख्न पाउने

    अब नेपालमा पनि निजी विमान राख्न पाउने

    काठमाडौं । विश्वमा धनाढ्य व्यापारी, खेलाडी तथा सेलिब्रेटीका लागि आफ्नै विमान हुनु कुनै नौलो कुरा होइन् । भारतमा समेत यसको व्यवस्था छ ।

    सोहीकारण कुनै बेला भारतीय धनाढ्यहरुले नेपालमा निजी विमान ल्याएर पार्क गर्ने गरेको समाचार आइरहन्छ ।

    यो सुविधा अब नेपाली नागरिकका लागि समेत उपलब्ध हुने भएको छ । सरकारले हवाई ऐन २०७६ मा निजी वायुयान राख्न पाउने प्रावधान ल्याएको छ ।

    नीतिले अब क्षमता हुने मानिसले आफ्नै वायुयान किनेर चलाउन सक्ने भएका छन् ।

    ‘हामीले राख्न चाहनेका लागि बाटो खेलिदिएका छौं,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने, ‘कसैले राख्न चाहेमा अब कानून बाधक बन्दैन ।’

    अब नेपालमा सिंगल इन्जिन जहाजलाई व्यवसायिक प्रयोजनमा प्रयोग गर्न पाइने छैन् ।

    तर, निजी प्रयोजन र तालीमका लागि भने भित्राउन सकिने भएको छ । सरकारले यसका लागि समेत कानून फुकाइदिएको छ ।

    यसअघि नेपालमा सिंगल इन्जिन जहाजबाट यात्रु समेत ओसार्न पाउने प्रावधान रहेको थिया ।

    सरकारले यो प्रावधानलाई परिवर्तन गरिदिएको हो । हवाई नीतिको अन्तिम मस्यौदा तयार भई सार्वजनिक गरिएको छ । अब यो नीतिलाई मन्त्रालयले क्याविनेट लैजाने भएको छ ।

  • पेट्रोलियम पदार्थको भाउ घट्यो

    पेट्रोलियम पदार्थको भाउ घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य राती १२ बजेदेखि घटेको निगमले जनाएको छ ।

    निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले घटाइएको छ । डिजेल र मट्टितेलको मूल्य समेत प्रतिलिटर २ रुपैयाँले नै घटेको हो ।

    नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ परेको छ । यसअघि ११० रुपैयाँ रहेको थियो ।

    डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ भएको छ ।

    भारतबाट इन्धनको मूल्य घटेर आएपछि नेपालमा समेत मूल्य समायोजन गरिएको निगमको भनाई छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्यमा भने फेरबदल भएन ।

  • प्रहरी सङ्गठनमा जागीर छाड्ने सङ्ख्या बढ्दो, रोक्न नयाँ नियम ल्याइयो

    प्रहरी सङ्गठनमा जागीर छाड्ने सङ्ख्या बढ्दो, रोक्न नयाँ नियम ल्याइयो

    काठमाडौं । प्रहरी सङ्गठनमा जागिर छाड्ने युवाको सङ्ख्या बढ्दो छ ।

    खासगरी एक पटक सुरक्षा फौजमा तालीम प्राप्त गरि अनुभव बटुलेका युवालाइ विदेशमा राम्रो पारिश्रमिकमा काम पाइने प्रलोभनले धेरै युवा पेशाबाट पलायन हुने गरेका छन् ।

    नेपालको मगङ्गिमा पारिश्रमिकले खान लाउन, बालबच्चा पढाउन र बाउ आमाको उपचार खर्च नै नधान्ने अवस्था नेपालमा छ ।

    त्यसकारण वैदेशिक रोजगारीका लागि जागिर छाड्ने प्रवृती बढेको हो ।

    युवाहरुले धमाधम जागिर छाडिरहेका छन्। यसले उनीहरुको तालिममा राज्यले गर्ने ठूलो खर्च खेर जाने गरेको छ ।
    धमाधम जागिर छाड्ने युवा बढेपछि नेपाल प्रहरीले जागिर छाड्नु अघि केही नयाँ नियम पालना गर्नुपर्ने प्रावधान ल्याएको छ।

    अब प्रहरीमा काम गर्दागर्दै राजीनामा दिन चाहने व्यक्तिले श्रीमतीलाई साक्षी राख्नुपर्ने प्रावधान आएको हो ।

    राजीनामा दिनेक्रममा स्वीकृतिसहित स्वयं श्रीमतीलाई उपस्थित गराउनुपर्ने नियम नेपाल प्रहरीले ल्याएको हो ।

    परिवारको सहमती बिना नै जागिर छाड्ने र त्यसले पछि पारिवारिक कलह बढाएको गुनासो पछि सङ्गठनले यस्तो नियम ल्याउनु परेको बताएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार अब प्रहरी जवान र हवल्दारले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा राजीनामा बुझाउनु पर्नेछ ।

    त्यसरी राजीनामा दिँदा श्रीमतीलाई उपस्थित गराउनुपर्नेछ ।

    कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ७ महिनामा १५९२ जना प्रहरीले जागिर छाडिसकेका छन् ।

    अघिल्लो वर्ष ३०७३ जना प्रहरीले जागिर छाडेको तथ्यांक कार्यालय सङ्ग छ ।

  • काठमाडौंमा तार भुमिगत गर्ने तयारी, आज शिलान्यास

    काठमाडौंमा तार भुमिगत गर्ने तयारी, आज शिलान्यास

    काठमाडौं । काठमाडौं उपत्यकाको आकासमा देखिने तार अब भुमिगत गरिने भएको छ ।

    सरकारले सोमबारबाट काठमाडौंमा विद्युत वितरण प्रणालीलाई भूमिगत (अन्डरग्राउन्ड) गर्ने कामको शुरुआत गर्दैछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जमा यसको शुरुआत गर्दैछन् ।

    नेपाल विद्युत प्राधिकरणले सडक विभागसँगको समन्वयमा तार भुमिगत गर्न लागेको हो ।

    तार भूमिगत गर्न प्राधिकरणले सडक प्रयोग गर्ने र त्यसलाई पुनस्र्थापना पनि गर्ने गरी समझदारी भएको प्राधिकरण स्रोतले जनाएको छ ।

    प्राधिकरणलाई सुरुमा अधिकतम ७ किलोमिटरमा मात्रै तार भुमिगत गर्ने छ ।

    यसको जिम्मा भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडले पाएको छ ।

    कम्पनीसँग ठेक्का सम्झौता समेत भइसकेको प्राधिकरणको भनाइ छ ।

    ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्ने भएको छ ।

    आगामी ३२ महिनाभित्र पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तरगत तार भूमिगत गरिसक्ने प्राधिकरणको योजना छ ।

    प्रारम्भमा महाराजगञ्ज क्षेत्र र सिहंदरबारबाट धोबीखोला जाने फिडरको लाइन भूमिगत गर्न तयारी छ ।

    त्यसपछि काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रका तार भुमिगत हुनेछन् ।

    यसबाहेक वालुवाटार, गंगबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको छ ।

  • सरकार गठनको आज दुई वर्ष पुरा, केके भए उपलब्धी ?

    सरकार गठनको आज दुई वर्ष पुरा, केके भए उपलब्धी ?

    काठमाडौं । पुर्ण रुपमा राजनीतिक स्थायित्वसहित बलियो सरकार गठन भएको आज ठ्याक्कै दुई वर्ष पूरा भएको छ ।

    ३ फागुन २०७४ सालमा प्रधानमन्त्री केपि शर्मा ओलिको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो ।

    सुशासन, तीब्र आर्थिक विकास, समृद्धि र सुखी नेपालीको नारा सहित गठन भएको सरकारको पहिलो वर्ष जनता मौन थिए ।

    किनकी यसअवधिमा थप उपलब्धिको पर्खाइमा उनिहरु थिए ।

    चुनाव र त्यसपछि प्रधानमन्त्रीले देखाएका रेल सपना, हावाबाट बिजुली, घरघरमा पाइपलाइनबाट ग्यास, गरिबलाइ घर, सर्वसुलभ शिक्षा र स्वास्थ्यका नारा केवल चुनावी फन्डा मात्र थिए ?

    आज जनताले यो प्रश्न उठाउन थालेका छन । किनकी नेकपाको घोषणा पत्र अनुसार अहिले कुनै काम भएका छैनन ।

    यस अवधीमा सरकार यति होल्डिङ्सका कारण सबैभन्दा विवादित बन्न पुग्यो ।

    गोकर्ण रिसोर्ट सम्झौता सकिनु ६ वर्ष अगाडि नै नविकरण गर्न हतारिनुमा प्रधानमन्त्री कै बढी भुमिका देखियो ।

    प्रधानमन्त्री अस्वस्थताका बिच पनि सक्रिय रहे । तर, उनको सक्रियता विकास र निर्माण भन्दा बढी व्यापारीका ठेक्का नविकरणमा बढी देखियो ।

    दुई वर्षमा आर्थिक विकास, बजेट खर्चको गति उस्तै कमजोर छ । भ्रष्टाचारको मात्रा अझ बढो छ ।

    पुर्वाधार निर्माणले अझै पनि गति लिन सकेन । मेलम्ची, गौतमबुद्ध विमानस्थल दुई साल अगाडी नै बनिसक्नु पर्ने थियो ।

    त्यहा अल्झीएको गाठो सरकारले फुकाउन सकेन ।

    यस अवधीमा संघीयता कार्यान्वयन केही हदसम्म सफल भयो ।

    तर, स्थानिय र प्रदेश तह आत्मनिर्भर बन्ने कुनै काम हुन सकेका छैनन ।

    समग्रमा यो दुई साल पनि सरकारले ठोक कामको थालनी भन्दा विगतलाइ निरन्तरता दिएको पाइयो ।

  • नेपाल-भारत दोस्रो पेट्रोलियम पाइपलाइन बन्ने

    नेपाल-भारत दोस्रो पेट्रोलियम पाइपलाइन बन्ने

    काठमाडौं । नेपाल र भारतबिच दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बन्ने भएको छ ।

    यसका लागि भारतले आन्तरिक तयारी थालेको छ ।

    भारतले टोली नै खटाएर अध्ययन थालेको नेपाल आयल निगमले जनाएको छ ।

    सिलिगुढी-झापा पेट्रोलियम पाइपलाईन बनाउने सन्दर्भमा भारतीय आयल निगमका अधिकारी फिल्डमा खटिएका हुन ।

    उक्त पेट्रोलियम पाइपलाइनको स्थलगत रेखांकन बाट दूरी समेत कम हुने अपेक्षा गरिएको छ ।

    यसटोलीमा नेपालको तर्फबाट समेत केही उच्च तहका कर्मचारीलाई खटाइएको छ ।

    फिल्ड अध्ययन यसै साता प्रारम्भ भएको हो ।

    आईओसीको सिलुगडी डिपोदेखि झापाको चारआलीसम्म करिब ४५ किलोमिटर लामो पाइपलाइन बनाउने योजना छ ।

    तर, फिल्ड अध्ययनबाट यो दुरि अझ घट्ने अधिकारीहरुले बताएका छन

    २७ पुस देखि दुई दिन सम्म भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल-भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको बैठकमा नेपालले सिलिगुढी-झापा दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सम्भावता अध्ययन गरिदिन भारतलाई प्रस्ताव गरेको थियो ।

     

    सोही अनुसार भारतीय टोलि फिल्डमा खटिएको बताइएको छ ।

    यसअघि अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ पाइपलाइनबाट आउन थालिसकेको छ ।

    यसले नेपाल आउने पेट्रोलियम पदार्थको ढुवानीमा उल्लेख्य मुल्य कटौती हुने गरेको छ ।

  • ८६ अर्बका १२ सयभन्दा बढी ठेक्का अलपत्र

    ८६ अर्बका १२ सयभन्दा बढी ठेक्का अलपत्र

    देशभर १२ सय भन्दा बढी ठेक्का अलपत्र अवस्थामा रहेको पाइएको छ । कतिपय ठेक्का लागेर अपलत्र परेका छन् भने कतिपयको काम समेत अगाडी बढिसकेको छ ।

    यस्ता आयोजनामा ठेकेदारले पेस्की र जमानतबापत १० अर्ब समेत बुझिसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग गत वर्ष यस्तो आयोजनाको विवरण संकलन गरेको थियो ।

    अहिले उक्त विवरणलाई पुनः अपडेट गरेको छ । अपडेट अनुसार देशभर रुग्ण ठेक्काको संख्या एक हजार दुई सय दुई रहेको छ । यसमा राज्यले ८६ अर्ब ४४ करोड लगानी गरिसकेको छ ।

    एक हजार एक सय ५३ वटा ठेक्का वेवारिसे अवस्थामा छन् । त्यस्ता आयोजनाका लागि राज्यले ४० अर्ब ३६ करोड लगानी गरिसकेको छ ।

    गतवर्ष रुग्ण आयोजनाको सूचि एक हजार आठ सय ४८ देखिएकोृ थियो ।

    अख्तियारको तथ्यांक अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका सात सय एक, शहरी विकास अन्तर्गतका दुई सय ९३, उर्जा अन्तर्गतका एक सय ७३, संघीय मामिला अन्तर्गतका २३, पर्यटन अन्तर्गतका ७, संचार अन्तर्गतका ४ र खानेपानी मन्त्रालय अन्तर्गतका एक आयोजना रुग्ण अवस्थामा रहेका छन् ।

  • असारसम्म काठमाडौंमा मेलम्ची !

    असारसम्म काठमाडौंमा मेलम्ची !

    काठमाडौं । सरकारले आगामी असारसम्म काठमाडौंमा मेलम्चीको पानी आइसक्ने दावी गरेको छ ।

    खानेपानी मन्त्री विना मगरले बिहिवार मन्त्रालयको तर्फबाट स्वेतपत्र जारी गर्दै उक्त दावी गरेकी हुन ।

    मन्त्री मगरका अनुसार आयोजनाको कामले गति लिएको छ काठमाडौं उपत्यका भित्र खानेपानी पाइपको सन्जाल बिस्तारको काम उत्तिकै गतिमा भइरहेको छ ।

    जसले गर्दा असारसम्म मेलम्चीको पानी काठमाडौं आउने आधार तय भएको छ ।

    काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर खानेपानी बितरण गर्ने उद्देश्यले यो आयोजना शुरु भएको हो ।

    आर्थिक वर्ष २०५५\५६ बाट शुरु भएको यो आयोजनामा अहिलेसम्म २७ अर्ब खर्च भइसकेको छ ।

    चालू आवमा मात्र ७ अर्ब ३८ करोड बजेट आयोजनाका लागि छुट्टाइएको छ ।

  • १० प्रतिशत घट्यो बजेट, विकास खर्चमा कटौती

    १० प्रतिशत घट्यो बजेट, विकास खर्चमा कटौती

    काठमाडौं । सरकारले विकास खर्चमा भारी कटौती गर्दै बजेटको आकार घटाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको आकार घटाएको जानकारी दिएका छन् ।

    चालु आर्थिक वर्ष २०७६\७७ को अर्धवार्षिक समिक्षा गर्दै अर्थ मन्त्रालयले बजेटको आधार घटाउने निर्णय गरेको हो ।

    अर्थमन्त्री अतिवडाका अनुसार आकार ९०.४ प्रतिशतमा झारेर १३ खर्ब ८५ अर्ब ९६ करोड कायम गरिएको हो ।

    चालु बर्षको बजेटको आकार १५ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । चालु खर्चतर्फ ९ खर्ब ४ अर्ब ४६ करोड ८ लाख (विनियोजित बजेटको ९४.५ प्रतिशत) रहने गरी नयाँ संशोधन आएको छ ।

    पुँजीगततर्फ ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख (विनियोजित बजेटको ८०.१ प्रतिशत) खर्च हुने भएको छ ।

    वित्तीय व्यवस्थातर्फ १ खर्ब ५४ अर्ब ६९ करोड १ लाख (विनियोजन बजेटको ९२.२ प्रतिशत) खर्च हुने संशोधित अनुमान कायम गरिएको छ ।

    राजश्व लक्ष्य ५५ अर्ब रुपैयाँ घटाएर ९५.६ प्रतिशत कायम गरिएको । यस वर्ष ११ खर्ब राजस्व संकलनको लक्ष्य रहेको छ ।

    चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोत (राजस्व र आन्तरिक ऋण) बाट ११ खर्ब ३२ अर्ब ५० करोड स्रोत व्यवस्थापन हुने भएको छ ।

    वैदेशिक अनुदानबाट ४३ अर्ब ५५ करोड ४६ लाख आउने भएको छ ।

    वैदेशिक ऋणतर्फ २ खर्ब ९ अर्ब ९० करोड ९० लाख परिचालन हुने अर्थमन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजना, संघीय संसद भवन, काठमाण्डौं उपत्यकाभित्र सडक विस्तार तथा स्तरोन्नती, अधुरा आयोजना पुरा गर्दा धेरै बजेट खर्च हुने मन्त्रालयको भनाई छ ।

    सडक आयोजनाहरुमा समेत बजेटको ठूलो हिस्सा खर्च हुने भएको छ ।

    बजेटका अधिकांश सूचकांक सकारात्मक भएको भन्दै उनले आर्थिक वृद्धिदर भने कायम नै राखेका छन् । यस वर्ष सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।

  • भ्रमण वर्षलाई झड्का, पहिलो महिनामै घटे पर्यटक

    भ्रमण वर्षलाई झड्का, पहिलो महिनामै घटे पर्यटक

    काठमाडौं । नेपाल आउने पर्यटक भ्रमण वर्ष २०२० को पहिलो महिनामै घटेका छन् ।

    यसले सरकारको वार्षिक २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य नराम्रोसँग प्रभावित हुने संकेत गरेको छ ।

    अझ रोचक तथ्थ्य, चीनबाट आउने पर्यटक कोरोना भाइरसका वावजुत बढेका छन् भने भारतीय पर्यटकको संख्यामा कमी आएको छ ।

    अमेरिकाबाट आउने पर्यटकको संख्यामा समेत जनवरीमा कमी आएको छ ।

    नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२० मा कूल ७९ हजार ६ सय ८६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या जनवरी २०१९ को तुलनामा १५८७ अर्थात करीव ४ प्रतिशत कम हो ।

    २०१९ को जनवरीमा ८१ हजार २७३ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

    तथ्यांक अनुसार जनवरी २०२० मा भारतबाट १६ हजार ८ सय ८२ पर्यटक नेपाल आएका छन्।

    सन् २०१९ मा भारतबाट १७ हजार ६ सय ६३ पर्यटक आएका थिए ।

    चीनबाट सन् २०१९को जनवरीमा १२ हजार ९ सय १९ पर्यटक आएकोमा सन् २०२० मा भने १३ हजार ३ सय ३ जना पर्यटक आएका छन् ।

    अमेरिकाबाट सन् २०१९ जनवरीमा ६ हजार ५९२ जना पर्यटक आएकोमा सन् २०२० जनवरीमा ६३८६ पर्यटक आएका छन् ।

    जनवरीमा चिनियाँ पर्यटक बढेपनि आगामी दिनमा भने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घट्ने छ ।

    अर्कोतर्फ चीन हुँदै नेपाल आउने यात्रुलाई समेत अधिक कडाई गरिएका कारण समग्र रुपमा पर्यटक आवागमन कठिन भएको छ ।

    यसले नेपालको भ्रमण वर्ष असफल हुने चिन्ता सरोकारवालामा छ ।

  • पशुपंक्षीमार्फत कोरोना भित्रन नदिन पूर्वनिगरानी गरिने

    पशुपंक्षीमार्फत कोरोना भित्रन नदिन पूर्वनिगरानी गरिने

    काठमाडौं । नेपालमा मानिसबाट कोरोनाको संक्रमण नभित्रियोस भन्ने उद्देश्यले त्रिभुवन विमानस्थलसहित सीमा नाकामा कडा निगरानी अपनाइएको छ । उच्च ज्वरो आएका मानिसलाई नाका प्रवेश मै रोकिएको छ ।

    तर, पशुबाट पनि यसको संक्रमण छिर्न नदिने अब पूर्वनिगरानी गरिने भएको छ । कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न पशु सेवा विभागले पूर्व निगरानी तथा अध्ययन कार्यदल गठन गरेको जानकारी दिएको छ ।

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकृतसमेत रहेको कार्यदलले कोराना रोग पहिचान प्रयोगशालालाई सक्रिय बनाउने छ ।

    पशुपंक्षीका कारण यो रोग भित्रिन नदिन निगरानी गरिने विभागले जनाएको छ । यो रोग पशुपंक्षीबाटै मानिसमा सरेका विश्व स्वास्थ्य संगठनले पुटी गरेको छ । यद्दपी कुन पशु वा पंक्षीबाट सरेको भन्ने खुलाइएको छैन ।

    चीनमा चमेराबाट यो रोग सरेको आंशका छ । पशुपन्छीमा भइरसको संकमण भए नभएको जाँच गर्ने तथा नेपाल भित्रिने पशुपंक्षीजन्य वस्तुमा कडा निगरानी गर्न कार्यदल सक्रिय हुने भएको छ ।

    देशभर रहेका पशु क्वारेन्टाइन कार्यालयलाई स्वस्थता जाँच प्रमाण पत्र बिना आयात भएका वस्तु नष्ट गर्न समन्वय समेत गर्ने छ ।

    जहाजबाट आउने पशुपन्क्षी तथा मासुजन्य पदार्थ बोकेर आउने यात्रुको जाँचका लागि नागरिक उड्ययन प्राधिकरणसँग यस कार्यदलले समन्वय गर्नेछ ।

  • प्रधानमन्त्रीले स्वीकारे कमजोरी, भन्छन् : चाहेजसरी काम भएको छैन

    प्रधानमन्त्रीले स्वीकारे कमजोरी, भन्छन् : चाहेजसरी काम भएको छैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश पुरानै शैलीमा चलिरहेको स्वीकार गरेका छन् । खासगरी विकास निर्माणको काममा भएको प्रगतिबाट उनी कत्ति पनि संतुष्ट छैनन् ।

    आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले चाहेको गतिमा काम नभएको भन्दै असन्तष्टी व्यक्त गरे ।

    काम हुँदै नभएको होइन, तर जसरी विकास होस भन्ने चाहेको थियौं, त्यसरी हुन सकेन, उनले भने ।

    उनको असन्तुष्टी खासगरी पूँजिगत खर्च, विकास निर्माणमा भइरहेको ढिलाईप्रति धेरै थियो ।

    वैदेशिक लगानीका आयोजनाको प्रगतिबाट पनि उनी त्यति सन्तुष्ट देखिएनन् ।

    लगानी सम्मेलनबाट आएको प्रतिवद्धतालाई कार्यान्वयनको तहसम्म ल्याउन भइरहेको ढिलाईका सम्बन्धमा समेत प्रधानमन्त्रीको चासो थियो ।

    बैठकमा प्रधानमन्त्री आफ्नो स्वास्थ अवस्थाका कारण भने पुरै समय बसेनन् ।

    बैठकमा सातवटै प्रदेशका मूख्य मन्त्रीले कर्मकाण्डी रुपमा बस्ने यस बैठकको औचित्य नभएको भन्दै विकास खर्च कम हुनुमा केन्द्र सरकारको केन्द्रिकृत सोच दोषि रहेको प्रतिक्रिया दिएका थिए ।

    आइतबारको बैठकबाटै राष्ट्रिय आयोजना बैंकको औपचारिक शुभारम्भ गरियो ।

  • श्री एयरलाइन्सले थाल्यो पोखरा उडान

    श्री एयरलाइन्सले थाल्यो पोखरा उडान

    पोखरा । श्री एयरलाइन्सले पोखरामा उडान बिस्तार गरेको छ । शुक्रबार यस कम्पनीले दुई उडान गर्दै पोखरा उडान प्रारम्भ गरेको हो ।

    यसअघि बुद्ध, यति, सिम्रिक र नेपाल एयरलाइन्सले उडान गरिरहेको पोखरामा पाँचौं प्रर्तिपर्धीका रुपमा श्री एयर प्रवेश गरेको हो ।

    यसबाट पोखरामा अब मूल्य निकै प्रतिस्पर्धी हुने भएको छ । किनकी श्रीले पोखरामा प्रारम्भिक मूल्य २ हजार रुपैयाँ एकतर्फी टिकट राखिएको छ । यो टिकट अन्य कम्पनीको तुलनामा कम हो ।

    पोखरामा पर्यटकको बढी चाप हुन्छ । श्रीले पर्यटकलाई लािक्ष्त गर्दै डलर फेयरमा समेत सुधार गरेको छ ।

    अब पर्यटकले समेत सस्तो मूल्यमा पोखरा उड्न पाउने र्भका छन् । यसबाट श्री एयरलाइन्सले पोखरामा तुलनात्मक रुपमा राम्रो व्यापार गर्ने अपेक्षा गरेको छ ।

    श्री एयरलाइन्सको जहाज अन्य कम्पनीका तुलनामा ५ मिनेट छिटो पोखरा पुग्ने गरेको छ । श्री पछिल्लो समय आक्रामक बजार बजारको रणनीतिमा लागेको छ ।

  • विदेशीको श्रम स्वीकृति सहज बनाउने सरकारको निर्णय

    विदेशीको श्रम स्वीकृति सहज बनाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले विकास सहायता तथा प्राविधिक मिसनका लागि नेपाल आउने विदेशी नागरिकको श्रम स्वीकृति सहजिकरण गर्ने भएको छ ।

    नेपालकै सहयोगको प्रयोजनमा आउने विदेशी नागरिकलाई श्रम स्वीकृतिलगायत अन्य प्रक्रियामा सहजीकरण गर्ने निर्णय भएको सरकारका प्रवक्ता, सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

    माघ २० मा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउने विदेशी विज्ञ, परामर्शदाता, कर्मचारी, स्वयंसेवक तथा कामदारलाई प्रवेशाज्ञा र कार्यसहमति प्रदानमा सहजीकरण गर्ने निर्णय गरेको हो ।

    नेपालमा सम्बन्धित मन्त्रालयको सिफारिशमा गृहमन्त्रालयको कार्यसहमति र श्रम विभागबाट श्रम इजाजत लिएर मात्र विदेशीले काम गर्न पाउँछन् ।

    त्यसको प्रक्रिया भने झण्झिटिलो हुने गरेको छ । नेपालमा ८० भन्दा बढी मुलुकका विदेशीले काम गर्छन् ।

  • ललिता निवास घोटालामा डुब्दैछ बैंकको साढे दुई अर्ब ऋण

    ललिता निवास घोटालामा डुब्दैछ बैंकको साढे दुई अर्ब ऋण

    काठमाडौं । बालुवाटारस्थित ललिता निवास सरकारको जिम्मामा आइसकेपछि यहाँ लगानी गरेका बैंकको लगानी डुब्ने भएको छ । ललिता निवास सरकारले अधिग्रहण गरेको सरकारी जग्गा हो ।

    तर, यसलाई व्यक्तिका नाममा ल्याएर विभिन्न व्यक्ति तथा संघ संस्थाले घर बनाएका थिए । उनीहरुले घर तथा संरचना बनाउदा लिएको ऋण र यहाँको जग्गा धितो राखेर लिएको बैंकको ऋण डुब्ने भएको हो ।

    नेपाल राष्ट्र बैंकले घर,जग्गा धितो राखेर दिएको ऋण रकमबारे वाणिज्य बैंकहरुसँग विवरण माग गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याएर भ्रष्टाचार गर्नेहरुविरुद्ध बुधबार मुद्दा दायर गरेको छ ।

    त्यससँगै यो जग्गा वा घर धितो राखेर लिएको ऋणसमेत अब अवैध भएको छ । यसले बैंकको जोखिम बढाएको छ ।

    अख्तियार स्रोतका अनुसार बैंकहरुले करीव साढे २ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् । यसले एक साथ बैंकहरुको ठूलो रकम घाटा लाग्ने अवस्था सिर्जना गरेको छ ।

    अब बैंकहरुले जग्गाधनीलाई ऋण चुक्ताका लागि आग्रह गर्न सक्नेछन् । तर धितो राखेको जग्गा सरकारी भएका कारण त्यो धितो किनबेच हुने छैन । त्यसकारण अर्कोतर्फ ऋणको कसुर समेत उनीहरुमाथि थपिने भएको छ ।

  • ‘अरुण थर्ड’ जलविद्युतमा जुट्यो १ खर्ब लगानी, ८६ अर्ब भारतीय

    ‘अरुण थर्ड’ जलविद्युतमा जुट्यो १ खर्ब लगानी, ८६ अर्ब भारतीय

    काठमाडौं । ९ सय मेगावाट क्षमताको अरुण थर्ड जलविद्युत आयोजनामा लगानी व्यवस्थापन भएको छ । करीव १ खर्ब लगानी जुटेको हो ।

    बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा आयोजनाका लागि ‘फाइनान्सियल क्लोजर’ (वित्तीय ब्यवस्थापन) सम्बन्धमा सम्झौता सम्पन्न भएको हो ।

    आयोजनामा ३० प्रतिशत भन्दा बढी निर्माणको काम भइसकेको छ । बिहीबार नेपाल र भारतका ७ वटा बैंकले आयोजनाका लागि १ खर्बभन्दा बढी लगानी गर्ने सम्बन्धमा सम्झौता गरे ।

    यो आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुँदैछ । स्वपुँजीमध्ये कम्पनीले १० अर्बभन्दा बढी खर्च गरिसकेको र सोहीकारण भौतिक प्रगतिसमेत ३० प्रतिशत पुगिसकेको बताइएको छ ।

    यस आयोजनामा भारतको एसबीआई बैंकसहित कानरा बैंक, पञ्जाब नेशनल बैंक, एक्जिम बैंक अफ इन्डिया र युनियन बैंकले ऋण लगानी गर्ने भएका छन् ।

    भारतीय बैंबाट कूल ८५ अर्ब ९७ करोड रुपैयाँ बराबरको लगानी आउने कार्यक्रममा जानकारी दिइयो ।

    नेपालको एभरेष्ट बैंकबाट १० अर्ब २० करोड र नबिलबाट ५ अर्ब १२ करोड रुपैयाँ लगानी हुने भएको छ । अरुण तेस्रोमा लगानी गर्ने सहमतिपत्रमा १६ चैत २०७५ मै नेपालमा नबिल बैंक र एभरेष्ट बैंकले सम्झौता गरिसकेका छन् ।

    यो आयोजनाको निर्माणको योजना भने सन् २०११ मै बनेको थियो । त्यसबेला १ खर्ब ४ अर्ब लागत अनुमान गरिएको थियो ।

    अहिले बढेर १ खर्ब ४० अर्ब पुग्ने अनुमान छ त्यसमध्ये १ खर्ब १ अर्ब ३४ करोड बैंकबाट ऋण लिइएको छ । यो आयोजनाले सन् २०२४ बाट उत्पादन थाल्नेछ ।

    आयोजना भारत सरकारको स्वामित्वमा रहेको सतलज जलविद्युत निगम (एसजेभिएन)ले निर्माण गरिरहेको छ ।

    सरकारले २०७१ साल मंसिर ९ मा परियोजना विकास सम्झौता (पीडीए)मार्फत सतलजलाई निर्माणको जिम्मा दिएको हो ।

    अरुण तेस्रो आयोजनाबाट उत्पादन हुने कुल विद्युतको २१.९ प्रतिशत अर्थात १९७.१ मेगावाट विद्यूत नेपाल सरकारले निःशुल्क पाउने गरी सम्झौता भएको छ ।

    अरु विद्युत भने कम्पनीले बेच्नेछ । त्यसका लागि विद्युत प्रसारण लाइन समेत निर्माण भइरहेको छ ।

    संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै प्रसारण लाइन महोत्तरीको ढल्केबरस्थित ४ सय केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

    सतलजले निर्माण सम्पन्न भएको २५ वर्ष चलाएर चालु अवस्थामै परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी सम्झौता भएको छ ।

  • विमानस्थल बनाउन ५ वर्षमा ३ खर्ब ३५ अर्ब खर्चिदै सरकार

    विमानस्थल बनाउन ५ वर्षमा ३ खर्ब ३५ अर्ब खर्चिदै सरकार

    काठमाडौं । सरकारले विमानस्थलसहित हवाई पूर्वाधार विकासमा आगामी ५ वर्ष भित्र ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको छ ।

    हवाई पूर्वाधार र जग्गा अधिग्रहणका लागि यो रकम खर्च गर्न लागिएको हो । प्राधिकरणका अनुसार यो रकम भित्रबाटै निगढ विमानस्थलको पहिलो चरणको काम पनि सम्पन्न हुने हुने छ ।

    यो विमानस्थलको पहिलो चरणको काम सक्न १ खर्ब ५० अर्ब रुपैयाँ लाग्ने अनुमान रहेको छ । प्राधिकरणका अनुसार अन्तराष्ट्रिय हवाई पूर्वाधारतर्फ २ खर्ब ५० अर्ब रुपैयाँ खर्च हुनेनछ ।

    निजगढसहित त्रिभुवन विमानस्थल, पोखरा विमानस्थल र भैरहवा विमानस्थलमा यो रकम खर्च हुने भएको हो ।

    जग्गा प्राप्तीमा ५ अर्ब रुपैयाँ खर्च हुने हनुमान छ । आन्तरिकतर्फ हवाई पूर्वाधार निर्माणमा ४६ अर्ब रुपैयाँ खर्च गर्ने सरकारको योजना रहेको छ ।

    अब तराईका विमानस्थलमा ठूला जहाजको उडान सम्भव हुने गरी बनाइने छ । पहाड र हिमालमा समेत एटीआर क्षमताका ठूला जहाज उड्न सक्ने गरी बिस्तार गरिने भएको छ ।

    आन्तरिक विमानस्थल बनाउने प्रयोजनमा जग्गा अधिग्रहणमा मात्र आगामी ५ वर्षभित्र ३४ अर्ब ६० करोड रुपैयाँ खर्च हुने भएको हो ।

    प्राधिकरणका अनुसार पछिल्लो दुई वर्षमा हवाई पूर्वाधारमा ८९ अर्ब रुपैयाँ लगानी भइसकेको छ ।

    त्यसमध्ये ठूलो रकम जग्गा प्रात्तीमा खर्च भएको हो । जग्गा प्राप्तीमा ३३ अर्ब रुपैयाँ खर्च भएको छ ।

    त्यसमा पनि भैरहवा विमानस्थलमा मात्र २३ अर्ब खर्च भएको हो ।

    अन्तराष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणमा ४९ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

    त्रिभुवन विमानस्थल, पोखरा र भैरहवामा यो रकम खर्च भएको हो । आन्तरिकमा साढे दुई वर्षमा जग्गा प्राप्तीमा १ अर्ब र पूर्वाधार निर्माणमा ६ अर्ब रुपैयाँ खर्च भएको छ ।

     

  • ललिता निवास प्रकरण : १ सय ७५ जनामाथि अख्तियारको मुद्दा (कोको परे भीआइपी ?)

    ललिता निवास प्रकरण : १ सय ७५ जनामाथि अख्तियारको मुद्दा (कोको परे भीआइपी ?)

    काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता प्रकरणमा १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

    अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारसहित १ सय ७५ जनालाई यस काण्डमा दोषि देखेको छ ।

    पूर्वसचिव छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात समेत यस काण्डमा मुछिएका छन् ।

    भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङसमेत अख्तियारको अनुसन्धानबाट दोषि देखिएका छन् ।

    मन्त्री डब्बर श्रेष्ठ र चन्द्रदेव जोशीसमेत यस काण्डमा मुछिएका छन् । सरकारले अधिग्रहण गरेको जग्गा राजनीतिक कारणले जफत भएको भनी फिर्ता गराएर व्यक्तिको नाममा नामसारी भएको यो प्रकरणमा अधिकांश कर्मचारी मुछिएका छन् ।

    अख्तियारको कार्यक्षेत्र भित्र नपर्ने भन्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल भने उम्कन सफल भएका छन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनाको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

    सोही अनुसार अख्तियारले छानविन अगाडी बढाएको थियो । साथै मन्त्रीपरिषद्कै निर्णयमा मुछिएका पूर्वमुख्य सचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसमेत मुद्दाबाट बचेका छन ।

    गुठी प्रशासनका खरिदारदेखि सहसचिवसम्मका कर्मचारी यस काण्डमा परेका छन् । जग्गाधनी र मोही भनिएका व्यक्तिसमेत यस प्रकरणमा दोषि देखिएर मुद्दा दायर भएको छ ।

  • दुई महिना अगाडी कुखुराका चल्ला पुरेका व्यवसायीले मासुको मूल्य ह्वात्तै बढाए

    दुई महिना अगाडी कुखुराका चल्ला पुरेका व्यवसायीले मासुको मूल्य ह्वात्तै बढाए

    काठमाडौं । दुई महिला अगाडी चल्ला उत्पादन गर्ने व्यवसायीले साना चल्ला मार्दै खाल्डोमा पुर्ने अभियान चलाए । १० दिन चलेको यो अभियानका दौरान लाखौं चल्ला मारिएका थिए ।

    जो दुई महिनापछि वयश्क बनी मासुका लागि योग्य बन्थे । त्यतिमात्र होइन, अण्डा समेत फुटाइएको थियो ।

    त्यतिबेला मासुको उचित मूल्य नपाएको भन्दै व्यापारिले गरेको यो कुकर्म अहिले मासुको मूल्य हात्तै बढाउने रणनीति अनुसार भएको पाइएको छ ।

    यो मामलामा विज्ञ कृषिमन्त्री घनश्याम भुसाल मौन छन् । तर, बजारमा १० दिनको फरकमा मासुको मूल्य १ सय ३० रुपैयाँभन्दा बढी महंगो भइसकेको छ ।

    माघको पहिलो साता प्रतिकेजी २ सय ९० रूपैयाँ रहेको मासुको मूल्य अहिले ४ सय १० रूपैयाँ पुगेको छ ।

    सरकारले उचित नियमन नगर्दा हिँजो चल्ला मारेर आज कृतिम अभाव देखाएर दोब्बर मूल्य असुल गर्ने रणनीति रहेको पाइएको छ ।

    अहिले मासुको मूल्य बजारमा अधिकतम ४२० रूपैयाँसम्म पुगेको छ ।

  • घाटामा चलेका वायुसेवा कम्पनी मर्जरमा जान सक्ने

    घाटामा चलेका वायुसेवा कम्पनी मर्जरमा जान सक्ने

    काठमाडौं । नेपालमा हवाई इतिहास लामो छैन । नेपाल एयरलाइन्सले करीव ६ दशक आफ्नो उडान भरेको छ भने निजी वायुसेवा कम्पनी आएको मात्र तीन दशक पुग्दैछ ।

    यस अवधिमा सयौं कम्पनी जन्मिए, चले र हराए । नेपाल एयरलाइन्सबाहेक खुलेपछि निरन्तर चल्दै आएको निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयर हो । त्यसबाहेक अन्य कम्पनीसँग लामो इतिहास छैन ।

    यसो हुनुमा कम्पनी टाट पल्टैदै जानु, व्यापार गर्न नसक्नु, दूर्घटना भएपिच्छे जहाज घट्नु, नयाँ थप्न नसक्नुजस्ता कारणले भूमिका खेलेको छ ।

    अर्थातः कमजोर कम्पनी भएका कारण त्यसको असर हवाई उद्योगमा परेको हो ।

    अब सरकारले घाटामा चल्नुर्ने बाध्यता भएका वायुसेवा कम्पनी एक आपसमा गाभिन र प्राप्ति (मर्जर र एक्वीजिसन)मा जान सक्ने गरी प्रावधान ल्याउँदैछ । त्यस कार्यमा प्रोत्साहन समेत गर्ने गरी सरकारले हवाई नीति तयार पारेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक वायुसेवा कम्पनीमा मर्जरको सुविधा ल्याएको हो ।

    मन्त्रालयले राष्ट्रिय हवाई नीति २०७६ को प्रारम्भिक मस्यौदा तयार गरी सार्वजनिक गरेको छ । यो नीति पारित भएसँगै कार्यान्वयनमा आउनेछ ।

    ‘अस्वस्थ प्रतिस्पर्धाका कारणबाट वायुसेवा संस्थालाई पलायन हुन नदिई क्षमता तथा पूँजी लगानीको आधारमा दीगो सञ्चालन सुनिश्चित गर्न वायुसेवा कम्पनी पनि एक आपसमा गाभिने र प्राप्ती गर्ने क्रियाकलापलाई प्रोत्साहन गरिने छ’, नीतिको मस्यौदामा लेखिएको छ ।

    नेपालमा १९ वटा वायुसेवा कम्पनी आन्तरिकतर्फ संचालनमा छन् । विगतमा समेत दर्जनौं कम्पनी स्थापना भएका थिए ।

    तर, उनीहरु धेरैले शुरुवात नै गर्न सकेनन्, कतिपय भने टाट पल्टिएर बन्द भए ।

    अहिले ९ वटा ठूला जहाज उडाउने कम्पनी र १० वटा हेलिकोप्टर कम्पनीले सेवा दिइरहेका छन् । अन्तराष्ट्रियमा तीन कम्पनीले (नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयर)ले सेवा दिइरहेका छन्

  • खाना पकाउने ग्यास २५ रुपैयाँ महंगियो

    खाना पकाउने ग्यास २५ रुपैयाँ महंगियो

    काठमाडौं । सरकारले खाना पकाउने ग्यासको भाउ बढाएको छ । नेपाल आयल निगमका अनुसार प्रतिसिलिण्डर २५ रुपैयाँ वृद्धि भएको छ । यो मूल्य राती १२ बजेबाट लागु हुनेछ ।

    निगमका अनुसार भारतबाट खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ । सोहीअनुसार प्रति सिलिन्डर २५ रुपैयाँ मूल्य समायोजन गरिएको छ ।

    अब ग्यासको मूल्य अब प्रति सिलिन्डर १३७५ रुपैयाँ पुगेको छ । निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको बताएको छ ।

    भारतबाट आएको मूल्यमा समायोजना गर्दा डिजेल र पेट्रोलको मूल्य घटेको हो । यी दुबैमा प्रति लिटर १ रुपैयाँ घटेको छ ।

    यसअनुसार डिजेलको मूल्य प्रतिलिटर ९९ र पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ कायम भएको छ ।

    मूल्य समायोजन भएसँगै नेपालतर्फ वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य १६ रुपैयाँ ४० पैसा प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य १६ रुपैयाँ २७ पैसा प्रति लिटरले नेपालतर्फ सस्तो हुन जान्छ ।

  • एमसिसिको अध्ययन गर्न नेकपाले बनायो समिति

    एमसिसिको अध्ययन गर्न नेकपाले बनायो समिति

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसीबारे अध्ययन गर्न समिति गठन गरेको छ । पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनालको नेतृत्वमा समिति गठन गरिएको हो ।

    आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बसेको थियो । उक्त बैठकले खनाल नेतृत्वमा स्थायी कमिटी सदस्य भीम रावल र प्रदीपकुमार ज्ञवाली रहेको समिति गठन गरेको हो।

    यो समितिले एमसिसीबारे अध्ययन गरी दश दिनभित्र सचिवालयलाई प्रतिवेदन बुझाउने भएको छ । समिति गठन भएको बारे आइतबार केन्द्रीय कमिटी बैठकमा समेत जानकारी गराएको छ ।

    अध्यक्ष प्रचण्डले उक्त जानकारी गराएका थिए । रावल एमसीसीलाई देशघाती भन्दै स्वीकार गर्न नहुने मत राख्ने नेता हुन् ।

    एमसीसीबारे नेकपाभित्रै विवाद छ । विपक्षी काग्रेसले भने यो छिटो कार्यान्वयन गर्नुपर्ने पक्षमा निरन्तर पहल गरिरहेको छ ।

  • भारतले घटायो नेपाललाई दिने अनुदान, भूटानलाई बढायो

    भारतले घटायो नेपाललाई दिने अनुदान, भूटानलाई बढायो

    काठमाडौं । भारतले नेपाललाई दिने अनुदान कटौती गरेको छ । आर्थिक वर्ष २०२०\२१ को बजेट सार्वजनिक गर्दै भारत सरकारले नेपालका लागि उपलब्ध गराउने वार्षिक अनुदान कटौती गरेको हो ।

    भारतीय वित्तमन्त्री निर्मला सीतारमणले शनिबार संसदमा बजेट पेश गरिन् । उक्त बजेटले नेपाललाई दिने अनुदान घटेको हो ।

    अब भारतले वार्षिक ८ अर्ब भारु मात्र नेपाललाई दिनेछ । सीतारमणले यसअघि आफैले ल्याएको बजेटमा करीव १२ अर्ब भारु दिने उल्लेख थियो । ४ अर्ब कटौती गरी उक्त रकम कायम भएको हो ।

    आव २०१९ \२० को मध्यावधि बजेटमा नेपालका लागि १२ अर्ब भारु सहयोग राखिएको थियो । मोदी सरकारको अघिल्लो कार्याकालको अन्तिम बजेटले भने १० अर्ब ५० करोड भारु सहयोग राखेको थियो ।

    नेपालको बजेट कतौती गरेको भारतले भूटानमा भने सहयोग बढाएको अब भूटानमा वार्षिक २८ अर्ब ८४ करोड ६५ लाख भारु सहयोग जानेछ ।

    यो अघिल्लो वर्षको तुलनामा करीव ८ प्रतिशतले बढी हो । वित्तमन्त्री सीतारमणले भारतीय संसदमा कूल २६९ खर्ब ८५ अर्ब भारुको बजेट पेश गरेकी छिन् ।

    भारतले बजेटबाट आयकरमा व्यापक परिवर्तन गरेको छ । स्वदेशमै उत्पादन हुने वस्तुको आयातमा कडाइ गरेको छ । यसले पाम आयलसहितका धेरै उत्पादन नेपालबाट भारत जान समेत कडाई हुने भएको छ ।