Category: अर्थतन्त्र

  • तरकारी पसलमा कोरोना संक्रमणको जोखिम, कालिमाटीका खुद्रा पसल बन्द हुने

    तरकारी पसलमा कोरोना संक्रमणको जोखिम, कालिमाटीका खुद्रा पसल बन्द हुने

    काठमाडौं । तरकारी बजारमा हुने अधिक भिडभाडले कोरोनाको जोखिम बढाएको छ । खासगरी हरेक दिन साँझ लकडाउन कै अवधिमा समेत ठूलो संख्यामा मानिस तरकारी किन्न निस्कने गरेका छन् ।

    सोही जोखिमलाई ध्यानमा राख्दै अब कालीमाटी फलफूल तथा तरकारी बजारभित्र तरकारीको खुद्रा व्यापार नहुने भएको छ ।

    कालिमाटी भित्र रहेका खुद्रा पसल सञ्चालनमा रोक लगाउने सहमति भएको हो । व्यवसायीहरु सँगकै सहमतिमा यस क्षेत्रमा रहेका ६५ वटा पसल बन्द गर्ने निर्णय भएको बजार विकास समितिले जनाएको छ ।

    बजार व्यवस्थित गर्नेबारे शुक्रबार जनप्रतिनिधि, नेपाली सेना, प्रहरी, व्यापारिक संघ, संस्थासहित छलफल भएको थियो ।

    शनिबारदेखि बजारभित्र खुद्रा पसल चल्ने छैनन् । यहाँ दुईपांग्रे सवारीसाधन समेत प्रवेश निषेध गरिएको छ ।

    अब थोक किन्ने ग्राहक मात्र कालिमाटी बजारमा छिर्न पाउने भएका छन् ।

    बैठकले बजारभित्र थोकका तरकारी तथा फलफूल बिक्री गर्ने व्यवसायीलाई पनि ठूला प्याकेजिङमा मात्रै बिक्री गर्न आग्रह गरेको छ ।

    लकडाउनका कारण चैत १६ देखि कालीमाटी तरकारी बजार होलसेल खरिद बिक्रीका लागि बिहान दुईदेखि सात बजेसम्म र खुद्रा बिक्रीका लागि साँझ पाँच देखि सात बजेसम्म खुल्ला हुँदै आएको छ ।

  • कोरोना कोषमा आइपुग्यो १ अर्ब ९ करोड

    कोरोना कोषमा आइपुग्यो १ अर्ब ९ करोड

    काठमाडौं । सरकारले कोरोना भाइरसको उपचार तथा नियन्त्रण गर्न स्थापना गरेको कोषमा बिहीबारसाँझ सम्म अर्ब ९ करोड रुपैयाँ जुटेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा उक्त रकम जम्मा भइसकेको छ ।

    यअअघि सरकारले ५० करोड रुपैयाँ राखेर यस्तो कोष स्थापना गरेको थियो । जम्मा भएको रकम भने सरकारले राखेको रकमभन्दा बाहेक हो ।

    कार्यालयका अनुसार बिहीबार साँझ सम्म कोषमा १ अर्ब ९ करोड २५ लाख २२ हजार ५ सय ८६ रुपैया जम्मा भएको छ। कोषमा बिहिबार मात्रै ८४ करोड ५१ लाख ५० हजार १ सय २४ रुपैयाँ थपिएको थियो ।

    प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले सार्वजनिक गरेको विवरण अनुसार कोषमा नेपाल आयल निगमले ५० करोड र नेपाल दुरसञ्चार प्राधिकारणले १५ करोड रकम जम्मा गरेका छन् ।

    कर्मचारी संचयकोष, नेपाल धितोपत्र बोर्ड र निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन–तीन करोड रुपैयाँ राखेका छन् ।

    नेपाल स्टक एक्चेन्जले ३ करोड ५१ लाख सहयोग गरेको छ । नागरिक लगानीकोषले २ करोड रुपैयाँ राखेको छ ।

    कोषमा नेपाल पुनर्वीमा कम्पनीले १ करोड १ लाख ११ हजार दिएको छ ।

    एनएमबी बैंकले १ करोड, ५१ लाख, प्रभु बैंकले १ करोड एक लाख, नेपाल ईन्भेष्टमेन्ट बैंकले १ करोड रुपैयाँ जम्मा गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले घोषणा गरेको रकम भने कोषमा आइपुगको छैन ।

    सरकारी निकायबाट धमाधम रकम आएपनि केही बैंकबाहेक निजी क्षेत्रका कर्पोरेट हाउसहरुले भने सरकारी कोषमा रकम जम्मा गरेका छैनन् ।

  • आवासीय मजदुर राखेर उद्योग खोल्न सकिने

    आवासीय मजदुर राखेर उद्योग खोल्न सकिने

    काठमाडौं । सरकारले लकडाउनका अवधिमा समेत उद्योग तथा आर्थिक प्रतिष्ठानहरु भने संचालनको वातावरण बनाउने भएको छ ।

    यसका लागि शर्तसहित उद्योग तथा आर्थिक प्रतिष्ठान संचालन गर्ने निर्णय सरकारले गरेको छ ।

    कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठक बिहीबार बसेको थियो ।

    बैठकले विशेषगरी खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानलाई खुला गर्ने निर्णय गरेको हो ।

    तर, उद्योगहरुले कामदारलाई आवासीय सुविधा दिनुपर्नेछ । उनीहरु बस्ने र काम गर्ने स्थानमा समेत सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्ने शर्त राखिएको छ ।

    सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार सुरक्षा मापदण्ड पुरा गरी उद्योगहरु खुल्ने भएका छन् ।

    अन्य उद्योग चलाउनु परेमा भने स्थानीय प्रशासनको अनुमति चाहिने भएको छ ।

  • पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

    पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । नेपाल आयल निगम  संचालक समितिको बुधबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट सँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य कटौती भएको हो ।

    कोरोना भाइरसका कारण करीव संसार नै लकडाउन भएको छ । यसले पेट्रोलियम पदार्थको खपत उल्लेख्य घटेको छ । जसले गर्दा मूल्यमा समेत गिरावट आइरहेको छ ।

    १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको १२ बजे रातीबाट लागू हुने गरी पेट्रोल, डिजल र मटितेलमा साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएको हो ।

    काठमाडौंमा अब पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा आएको छ ।

    हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँले घटेर ७५ रुपैयाँ कायम भएको छ । हवाई इन्धनको बाह्यतर्फको मूल्य  अब प्रतिलिटर ०.९५ डलर प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।

  • पूर्वराजा ज्ञानेन्द्रबाट कोरोना उपचार कोषमा २ करोड

    पूर्वराजा ज्ञानेन्द्रबाट कोरोना उपचार कोषमा २ करोड

    काठमाडौं । सम्पूर्ण विश्व कोरोना भाइरससँग जुधिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहसमेत सरकारसँग हातेमालो गर्न आइपुगेका छन् ।

    उनले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा २ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् । उनले मंगलबार एक विज्ञप्ती जारी गरेका छन् ।

    जसमा उनले यस कोषमा आफ्नो तर्फबाट २ करोड दिने घोषणा गरेका हुन् । उनका अनुसार पूर्वराजाले हिमानी कोषलाई उक्त रकम दिनेछन् । हिमानी कोषले सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्नेछ ।

    पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा समेत गरेका छन् ।

    उनको यो उदारताको सामाजिक संजालमा समेत खुलेर प्रसंशा भइरहेको छ । पूर्वराजाले कोरोना विरुद्धको अभियान अझ अझ प्रभावकारी बनाउनुपर्ने सुझाव समेत दिएका छन् ।

    लकडाउन बाध्यात्मक अनिवार्यता भएको भन्दै उनले यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि नभएको उल्लेख गरेका छन् ।

    महामारीविरुद्ध अहोरात्र खटिनेहरुलाई धन्यवाद दिँदै पूर्वराजाले चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पु¥याउने सञ्चारकर्मी एवं पत्रकारहरूप्रति पनि आभार व्यक्त गरेका छन् ।

    आम नेपालीले दुःखको घडीमा अभाव र समस्या सहेर पनि कोरोनाविरुद्ध लड्न अनुशासन तथा धैर्यता दर्शाएको भन्दै पूर्वराजाले उच्च सराहना गरेका छन् ।

  • एनसेलले आज फेरी सरकारलाई तिर्यो साढे ४ अर्ब लाभकर

    एनसेलले आज फेरी सरकारलाई तिर्यो साढे ४ अर्ब लाभकर

    काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले मंगलबार सरकारलाई ४ अर्ब ६० करोड रुपैयाँ कर तिरेको छ । यो रकम सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर हो ।

    कूल २२ अर्ब ४५ करोड रुपैयाँ कर निर्धारण भएको यो कम्पनीले यसअघि ४ अर्ब ५० करोड रुपैयाँ बुझाइसकेको छ ।

    ठूला करदाता कार्यालयका अनुसार यस कम्पनीले अझै सरकारलाई साढे १४ अर्ब बुझाउनु पर्छ । यो रकम एकै पटक बुझाउनु पर्ने रकम हो ।

    तर, कम्पनीले किस्ताको सुविधा सरकारसँग माग गरेको थियो ।

    देशमा आर्थिक संकट रहेको र कोरोनासँग लड्नुपर्ने समयमा आएको यो रकमले सरकारलाई भने केही रहात दिएको छ । ठूला करदाता कार्यालयका अनुसार बाँकि रकम लकडाउन लगत्तै तिर्न आदेश दिइएको छ ।

  • सरकारले रोक्यो मदिरा आयात, महंगा गाडी पनि आयात नहुने

    सरकारले रोक्यो मदिरा आयात, महंगा गाडी पनि आयात नहुने

    काठमाडौं । नेपालमा मदिरा आयात रोकिएको छ । सरकारले सोमबार बिहानबाट लागु हुने गरी विभिन्न वस्तुको आयातमा रोक लगाएको छ । त्यसमध्ये अब विदेशबाट मदिरा नेपाल आउने छैन ।

    कोरोना भाइरसको महामारीसँग जुध्नु स्रोतको जोहो गर्नुपर्ने भन्दै सरकारले अनावश्यक वस्तु तथा अतिविलासिताका सामानको आयात रोक्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषदले मदिरा, मरिच र छोगडाको आयातमा तत्काल रोक लगाउने निर्णय गरेको हो । यो निर्णय अर्को निर्णय नभएसम्मका लागि भएको हो ।

    त्यसकारण अब विदेशबाट अत्यावश्यक सामग्री मात्र आयात हुने भएको छ । त्यसमा मंहगा गाडीको आयात पनि रोकिएको छ ।

    भारतबाट आउने ढुवानीलाई भने सरकारले रोकेको छैन । तर, मानिसहरुको आवतजावत रोकिएको छ । लकडाउन २५ चैतसम्म लम्बिदा सीमा नाका समेत सोही अवधिसम्म रोकिएका छन् ।

  • कोरोनासँग जुध्न सरकारले २२ अर्ब भन्दा बढी ऋण लिने

    कोरोनासँग जुध्न सरकारले २२ अर्ब भन्दा बढी ऋण लिने

    काठमाडौं । कोरोनासँग जुध्न सरकारले वैदेशिक ऋण लिने भएको छ । सरकारले आइतबार विभिन्न प्रकारका आर्थिक प्याकेज घोषणा गरेको छ ।

    उक्त घोषणा अनुसार आर्थिक स्रोतको जोहो गर्न वैदेशिक ऋण स्वीकार गर्ने निर्णय भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

    उनका अनुसार सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिन लागेको छ ।

    सरकारले अन्तर्राष्टिय मुद्रा कोषबाट उपलब्ध हुने निर्ब्याजी ८७.५ मिलियन एसडीआर अर्थात् १३ अर्ब ९ करोड ऋण लिने भएको छ ।

    सरकारले विश्व बैंकबाट आपतकालीन स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम अन्तर्गत् प्राप्त हुने २९ मिलियन अर्थात् ३अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण सहायता पनि लिने निर्णय गरेको हो ।

    एसियाली विकास बैंकले घोषणा गरेको ५० मिलियन अमेरिकी डलरको सहयोग कार्यक्रम समेत सरकारले स्वीकार गरेको छ । सरकारले आर्थिक प्याकेजमा अन्य स्रोत भने आन्तरिक स्रोतबाट जुटाउने भएको छ ।

    यसमा वार्षिक बजेट रकम रकमान्तर, स्थानीय तह प्रदेश र संघको कोरोना उपचार कोषमा जम्मा हुने रकम, विपद् व्यवस्थापन र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा भएको रकम प्रयोग हुने भएको छ ।

    सार्वजनिक संस्थानबाट दिइने छुटको हिस्सा भने संस्थानबाटै व्यहोरिने भएको छ ।

  • सरकारले ल्यायो आर्थिक प्याकेज, घरबेटीलाई एक महिनाको घरभाडा छूट दिन आग्रह

    सरकारले ल्यायो आर्थिक प्याकेज, घरबेटीलाई एक महिनाको घरभाडा छूट दिन आग्रह

    काठमाडौं । सरकारले मजदुर तथा कोरोनाबाट अति प्रभावित नागरिकका लागि आर्थिक प्याकेज घोषणा गरेको छ । अब स्थानीय तहले राहत दिन पर्ने नागरिकको लगत संकलन गर्ने छ ।

    स्थानीय तथा प्रदेशबाट उनीहरुलाई राहतको व्यवस्था गरिने भएको छ । सबै मजदुरको चैत महिनाको तलव सम्बन्धित रोजगारदाताले दिनुपर्ने र त्यसका लागि मजदुर लोककल्याणकारी कोषको उपयोग गर्न सकिने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।

    उद्योगहरुको विद्युतमा ३० देखि ५० प्रतिशतसम्म छूट दिने, घरबेटीलाई एक महिनालाई घरभाडा छूट दिन आग्रह गर्ने र छूट दिएको घरभाडाको घरबाहल कर छूट दिने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।

    क्वारेन्टाइनमा राखेका बिरामीको खाना खर्च तथा अन्य व्यवस्थापनको जिम्मा पनि सरकारले लिने भएको छ ।

    चिकित्सक, नर्स तथा बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने सुरक्षाकर्मी र सफाईकर्मीको बीमा आगामी असार मसान्तसम्म २५ लाख पुर्याइएको छ ।

    व्यक्तिगत सुरक्षाको जिम्मा पनि राज्यले लिने भएको छ । अस्पतालमा उपकरण तथा औषधी र क्षमता अभिवृद्धिमा सरकारले सहयोग गर्ने भएको छ ।

  • विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन पाउने, नेपाल आउन भने नपाउने

    विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन पाउने, नेपाल आउन भने नपाउने

    काठमाडौं । सरकारले विदेशमा रहेका आफ्ना छोराछोरीलाई पैसा पठाउने सुविधा नेपालमा रहेका अविभावकलाई दिने भएको छ ।

    तर विदेशमा रहेका नेपाली विद्यार्थी अब तत्काल नेपाल भने आउन भने पाउने छैनन् ।

    कोभिड १९ सम्बन्धि उच्चस्तरीय संयन्त्रको बैठकले विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन दिने निर्णय गरेको हो ।

    यसको व्यवस्थापन नेपाल राष्ट्र बैंकले गर्ने भएको छ । कोरोनाका कारण धेरै नेपाली विद्यार्थी विदेशमा अलपत्र परेका छन् ।

    काम गर्ने स्थान बन्द भएका कारण धेरैको रोजिरोटी गुमेको हो । यसले गर्दा विदेशमा दैनिकी नै संचालनमा समस्या परिरहेको गुनासो नेपाली विद्यार्थीले गरेका छन् ।

    विदेशमा लाखौंको संख्यामा नेपाली विद्यार्थी रहेका छन् । कोरोनको संक्रमणको डरले उनीहरुलाई भने नेपाल भने नल्याइने भएको छ ।

    जहाँ जुन अवस्थामा छन्, सोही स्थानमा सुरक्षित रहन सरकारले आग्रह गरेको छ ।

  • एभरेष्ट फेडरल क्रेडिट युनियनले कोरोना महामारीको मारमा परेका ऋणीको लागि एक महिनाको किस्ता रोक्यो

    एभरेष्ट फेडरल क्रेडिट युनियनले कोरोना महामारीको मारमा परेका ऋणीको लागि एक महिनाको किस्ता रोक्यो

    न्यूयोर्क

    अमेरिकास्थित नेपाली ब्यनस्थापनमा संचालित एभरेष्ट फेडरल क्रेडिट युनियनले कोरोना महामारीको कारण मारमा परेका ग्राहकको सुबिधाको लागि ऋणीहरुले आफ्नो किस्ता एक महिना रोक्न पाउने निर्णय गरेको छ । कोरोना महामारीका कारण नियमित कामहरु बन्द भएको र थुप्रै ऋणीहरुले रोजगारी समेत गुमाएको परिपेक्षमा आफ्नै समुदायका मानिसलाई सहयोग मिलोस भन्ने हेतुले ऋणको किस्ता एक महिनालाई रोक्न मिल्ने निर्णय क्रेडिट युनियन बोर्डले गरेको हो । मार्च महिनाको अन्त्यमा तिर्नु पर्ने नियमित किस्ता रोकेर ऋणीहरुले अप्रिल अन्त्यदेखि नियमित किस्ता तिर्नु पर्ने मेनेजर बिराज रिजाले बताए ।  

    युनियनले यसै हप्तादेखि नेपाली समुदायलाई अप्ठेरो अवस्थामा सहयोग पुगोस भनेर दुई हजार डलरको निर्ब्याजी ऋण समेत                                                      दिन सुरु गरेको छ । एभरेस्ट फेडरल क्रेडिट युनियन अमेरिकामा केन्द्रीय सरकार अन्तर्गतको पहिलो नेपाली ब्यनस्थापनको बित्तिय संस्था हो ।

  • कोरोनाले अमेरिकामा ३३ लाख बेरोजगार

    कोरोनाले अमेरिकामा ३३ लाख बेरोजगार

    न्यूयोर्क । कोरोना भाइरसले अमेरिकामा बहुआयामिक असर गरिरहेको छ । त्यसले पारेका प्रभावहरु क्रमशः देखिन थालेको छ ।

    संचारमाध्यमहरुका अनुसार गत साता अमेरिकामा ३३ लाख अमेरिकी नागरिकले आफू बेरोजगार भएको भन्दै भत्ता र अन्य सहयोगका लागि सरकार समक्ष पेश गरेका छन् ।

    इतिहासमै यति धेरै नागरिकले एक साथ बेरोजगारी भत्ताका लागि सरकार गुहार्नु परेको हो ।

    अमेरिकाको लेवर डिपार्टमेन्टका अनुसार कोरोनाबाट अमेरिकी अर्थतन्त्र नराम्रोसँग प्रभावित बनेको छ । जसले गर्दा नागरिकहरुमा बेरोजगारी दर अकल्पनीय रुपमा बढेको हो ।

    तीन साता अगाडी देशभरबाट मात्र दुई लाख अमेरिकी नागरिकले मात्र बेरोजगार भत्ताको माग गर्दै निवेदन दिएको तथ्यांक संचारमाध्यमले सार्वजनिक गरेका छन् ।

    यसअघि सन् १९८२ मा एक सातामै ६ लाख ९५ हजार अमेरिकीले बेरोजगार भत्ताका लागि निवेदन दिएका थिए।

    यो संख्या अहिले भने निकै बढेको छ । कोरोनाले अमेरिकाको अर्थतन्त्र सन् २०३० यता कै कमजोर हुने आंकलन गरिएको छ । अमेरिकामा तिब्र आर्थिक मन्दीको आंकलन समेत गरिएको छ ।

    कोरोना भाइरस अमेरिकामा तिब्र रुपमा फैलिरहेको छ । चीनमा भन्दा अमेरिकामा बढी संक्रमित पुगिसकेका छन् ।

    यहाँ कोरोनाले १ हजार भन्दा बढीको ज्यान लिइसकेको छ ।

  • चैत महिनाको विद्यूत महसुलमा २० प्रतिशत छूट

    चैत महिनाको विद्यूत महसुलमा २० प्रतिशत छूट

    काठमाडौं । सरकारले चैत महिनाका लागि विद्यूतका ग्राहकलाई छूट दिने भएको छ । यो छूट घरायसी प्रयोजनमा विद्यूत उपयोग गर्ने ग्राहकका लागि मात्र हो ।

    उर्जा मन्त्रालयका अनुसार करीव ३८ लाख ग्राहक यसबाट लाभान्वित हुने भएका छन् ।

    १ सय ५० युनिटसम्म विद्युत प्रयोग गर्ने ग्राहकलाई चैत महिनाको महसुलमा २० प्रतिशत छुट दिन लागिएको हो ।

    ३८ लाख ग्राहकलाई १ सय ५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजश्व भने ५० करोड कम हुनेछ ।

    ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठक बसेको थियो ।

    बैठकले महसुल छूटको निर्णय मन्त्रिपरिषदसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न सरकारले लकडाउन गरेको छ ।

    यसबीचमा कमाएर खाने मानिसको रोजगारी गुमेको गुनासोका बीच सरकारले थोरै भएपनि ग्राहकलाई छूट दिने घोषणा गरेका हो ।

    यसले एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा समेत प्रोत्साहन गर्ने बताइएको छ । ग्यासलाई इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने अवसरका रुपमा महामारीलाई उपयोग गर्न सकिने उर्जा मन्त्री वर्षमान पुनको भनाई छ ।

  • अत्यावश्यक सेवाका कामदार निर्वाध घरबाहिर निस्कन पाउने

    अत्यावश्यक सेवाका कामदार निर्वाध घरबाहिर निस्कन पाउने

    काठमाडौं । काठमाडौंमा कडा लकडाउन छ । घरबेटीले ताल्चा लगाएर गेट बन्द गरेका छन् । जसले गर्दा निर्वाध काममा निस्कन समस्या भएको गुनासो कामदारले गरेका छन् ।

    सोहीकारण सरकरले घरबेटीसँगै आह्वान नै गर्नुपरेको छ । अत्यावश्यक सेवामा काम गर्ने कामदारले घर बाहिर निस्कन रोक्न पाउने छैनन् ।

    घरपरिवारले समेत यस्तो सेवाका खटिएका आफ्नो परिवारका सदस्यलाई रोक्न पाउने छैनन् ।

    आपूर्ति मन्त्रालयले अत्यावश्यकीय वस्तु तथा सेवाको उत्पादन, ढुवानी तथा बिक्रीवितरणमा संलग्न श्रमिकहरुलाई काममा जानबाट नरोक्न सम्बद्ध परिवार तथा घरबेटीहरुलाई आग्रह गरेको छ ।

    त्यस्तो सेवाका लागेका कामदार समेत घरमै बस्न चाहेको सन्दर्भमा काममा लगाउने कम्पनी तथा उद्यागले पर्याप्त सुरक्षा प्रवन्ध गर्न सरकारले आग्रह गरेको छ ।

    मन्त्रालयले भनेको छ, ‘श्रमिक तथा अन्य जो कोही जनशक्तिले संकटको यस घडीमा आफ्नो सुरक्षाको समेत ख्याल गर्दै पेशागत जिम्मेवारी, नैतिकता र इमानदारिताको पूर्ण पालना गर्नु पर्ने हुन्छ ।

    त्यसैले मन्त्रालय सम्बद्ध सबैलाई सचेतना, सजगता र पूर्ण सुरक्षा सहित आफू, आम उपभोक्ता र मलक सबैको संरक्षणका लागि जिम्मेवार भई सरकारलाई सहयोग गर्न हार्दिक अपिल गर्दछ ।’

    सरकारले संचालनमा रहने उद्योग, ढुवानीकर्ता र बिक्रेताहरुलाई कामदारहरुलाई निश्चित सवारी साधनमार्फत ल्याउने, पुर्‍याउने, कार्यस्थलमा प्रवेश गर्नुपूर्व र कार्यालय भित्र समय समयमा साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, मास्क तथा पञ्जा लगाउने, निर्धारित न्यूनतम दूरी कायम गरी काम गर्ने, न्यूनतम जनशक्तिबाट काम गराई आलोपालोमा बोलाउने, सेवाग्राहीको भीड हुन नदिन आवश्यक प्रबन्ध मिलाउने जस्ता व्यवस्थाहरु अनिवार्य रुपमा गर्नु पर्ने बताएको छ ।

    उद्योग कलकारखाना तथा अन्य सरोकारवालाले मापदण्ड पुरा गरे नगरेको अनुमगन मन्त्रालले गर्ने भएको छ ।

    सरकारले अत्यावश्यक खाद्य वस्तुका सबै स्टोर एवम् विक्रेताहरुले आम उपभोक्तालाई मोबाइल भ्यान मार्फत होम डेलिभरी गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।

    माग संकलन र वस्तु वितरण गर्ने कार्यलाई सहज एवम् व्यवस्थित गर्नको लागि बिक्रेताहरुले आ-आफ्नो टोल प्रिm नम्बर वा अन्य नम्बर उपलब्ध गराई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउनु पर्ने मन्त्रालयको निर्देशनमा उल्लेख छ ।

  • अब ग्यास आधा सिलिण्डर पाइने, सर्वसुलभ गराउने प्रयास

    अब ग्यास आधा सिलिण्डर पाइने, सर्वसुलभ गराउने प्रयास

    काठमाडौं । सरकारले अब आधा सिलिण्डर मात्र भएपनि ग्यास बिक्रि गर्ने भएको छ । ग्यासको आपूर्ति सर्वसुलभ बनाउन यस्तो प्रस्ताव गरिएको हो । अब शुक्रबारदेखि आधा सिलिण्डर मात्र भरिएको ग्यास उपलब्ध हुने भएको छ ।

    नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको छ ।

    अहिले एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास राखेर बिक्रि गर्न लागिएको छ ।

    मागअनुसार ग्यास पुर्‍याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्न थालिएको हो । माग अनुसार आपूर्ति हुन नसकेपछि ग्यासको परिमाण घटाउन लागिएको हो ।

    भारतले २१ दिन लकडाउन घोषणा गरेसँगै नेपालमा समेत आपूर्ति कम भएको छ । यसले बजारमा माग धान्न नसक्ने अवस्था देखिएको छ ।

  • एभरेस्ट फेडरल क्रेडिट युनियनले अमेरिकी  बजारमा ल्यायो “कोभिड -१९ कम्युनिटी  रिलिफ प्याकेज”

    एभरेस्ट फेडरल क्रेडिट युनियनले अमेरिकी बजारमा ल्यायो “कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज”

    न्यूयोर्क

    अमेरिकास्थित नेपाली समुदायको पहिलो बित्तिय संस्था एभरेस्ट फेडरल क्रेडिट युनियनले बिना ब्याजी ऋण “कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज” सुरु गरेको छ ।  बिगत ६ महिनादेखि नेपालीभाषीको घनाबस्ती न्युयोर्क क्वीन्सस्थित ज्याक्सन  हाईट्सबाट कारोबार संचालन गर्दै आएको क्रेडिट युनियनले कोभिड -१९ को कारण समुदाय भित्रका मानिसहरुलाई पर्न सक्ने सम्भाबित आर्थिक समस्यालाई मध्यनजर गर्दै यो प्याकेज बजारमा ल्याएको हो । नयाँ प्याकेज अन्तर्गत प्रति सदश्य जम्मा २ हजार अमेरिकी डलरसम्म एक महिनाको लागि बिना ब्याजी ऋण सरल ढंगले उपलब्ध गराईने छ । क्रेडिट युनियनको यो प्याकेज अमेरिकी संघीय सरकारको आफ्नै आर्थिक प्याकेज प्राप्त नहुँदासम्मका लागि नेपाली समुदायका सदश्यहरुलाई सहयोग पुगोस भनेर कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज डिजायन गरिएको अध्यक्ष डिल्ली भट्टले बताए ।

    एक महिनाको लागि उपलब्ध गराईने बिना ब्याजी ऋण यदि समय सिमा भित्र चुक्ता गर्न असफल भएका उक्त ऋण त्यसपछि १२ प्रतिशत ब्याजदरमा रुपान्तरण गरी मासिक किस्ता १ सय २१ डलर ९६ सेन्ट तिर्दै १८ महिनामा चुक्ता गर्न सकिने छ । “कोभिड -१९ रिलिफ प्याकेज संस्थाको सिमित श्रोत भित्रबाट बितरण गर्नुपर्ने भएको हुँदा अत्यावश्यक ब्यक्तिहरुले मात्र ऋण माग्नु भयो भने अझै सहयोग हुने थियो” भन्छन् मेनेजर – बिराज रिजाल । यो नयाँ प्याकेज एभरेस्ट फेडरल क्रेडिट युनियनको गभर्निङ् बडीको निर्णय अनुसार बजारमा ल्याईएको पनि बिराज रिजालले बताए ।

  • चीनसँगको नाका खोल्ने निर्णय (यस्ता छन् कोरोनासम्बन्धी उच्चस्तरीय संयन्त्रका निर्णय)

    चीनसँगको नाका खोल्ने निर्णय (यस्ता छन् कोरोनासम्बन्धी उच्चस्तरीय संयन्त्रका निर्णय)

    काठमाडौं । सरकारले चीनसँगका दुई नाका तातोपानी र रसुवागढी खोल्ने निर्णय गरेको छ । भारतसँगको सीमा नाका बन्द गरेसँगै आयात निर्यात ठप्प हुने अवस्था रहेको छ ।

    यस्तोमा दैनिक उपभोग्य सामानको आयात तथा निर्यातका लागि यी दुई नाका खोल्ने निष्कर्षमा सरकार पुगेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय सरकारले गरेको हो । ।

    यस सम्बन्धी आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्ने निर्णय बुधबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले गरेको हो ।

    बैठकले उपभोग्य तथा कृषि सामाग्रीको ढुवानी सहज बनाउन त्यससँग सम्बन्धी सवारी साधनको आवातजावत समेत खुकुलो बनाउने निर्णय समेत सरकारले गरेको हो ।

    औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधन सुचारु रुपले चल्न पाउने भएका छन् ।

    यस्ता छन् संयन्त्रले गरेका निर्णय
    १.स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने। यस सम्बन्धी आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्ने।

    २. अति आवश्यक बैंकिङ सेवा गृह मन्‍त्रालय र अर्थ मन्‍त्रालयको समन्वयमा सुचारु गर्ने।

    ३. औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने। यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने।

    ४. औषधि उत्पादन, ग्याँस बोटलिङजस्ता कार्यमा संलग्‍न हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उत्पादक संस्थाले सवारी साधनको व्यवस्था गर्ने। गृह मन्‍त्रालयले सो सवारी साधनका लागि आवश्यक अनुमति दिने।

    ५. ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने। यसका लागि गृह मन्‍त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने।

    ६.स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूल लगायत अन्य खाद्यवस्तु बिक्री वितरण गर्ने पसलहरूमा भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरूबीच भौतिक दूरी कायम हुने गरी सञ्‍चालन गर्न सहजीकरण गर्ने।

    ७. अति आवश्यक परी खाद्यान्‍न ढुवानी गर्नुपरेमा गृह मन्‍त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्‍त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्‍त्रालयको समन्वयमा हवाई ढुवानी गर्ने व्यवस्था मिलाउने।

    ८.इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहन दिन अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्‍त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्‍त्रालयले समन्वय गरी विद्युत महसूल र भन्सार महसूल छूट दिने व्यवस्था मिलाउने।

    ९. गृह मन्‍त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्‍त्रालयको स्वीकृतिमा नेपालका विभिन्‍न स्थानहरूमा रहेका विदेशी नागरिकहरूलाई हवाई उद्धार गरी काठमाडौं ल्याई त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट आफ्नो देश फर्की जान सहजीकरण गर्ने।

    यसरी ल्याइएका विदेशीहरूलाई विमानस्थलबाटै आफ्नो देश फर्की जाने उडानको समय नमिलेको अवस्थामा सो अवधिभर विमानस्थल नजिकको होटेलमा निजहरूकै खर्चमा क्वारेन्‍टाइनमा राख्‍ने।

    १०. स्थानीय तहहरूले आ(आफ्नो क्षेत्रभित्रका वडाहरूमा तेस्रो मुलुक र भारतबाट आएका व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी विवरणसहितको अभिलेख प्रत्येक दिन अद्यावधिक गर्ने। स्थानीय स्वास्थ्य संयोजकले कोभिड(१९ को लक्षण देखिएका व्यक्तिहरूको विवरण प्रत्येक दिन प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउने।

    यस्तो विवरण प्रमुख जिल्ला अधिकारीले राष्‍ट्रिय आपत्‌कालीन कार्यसञ्‍चालन केन्द्रमा र सो केन्द्रले आपत्‌कालीन स्वास्थ्य कार्यसञ्‍चालन केन्द्रमा प्रत्येक दिन साँझ ६ बजेभित्र पठाउने।

    ११. प्रदेश र स्थानीय तहहरूले क्वारेन्‍टाइनको व्यवस्था गरी सञ्‍चालन गर्ने व्यवस्था मिलाउने।

    १२. सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्‍त्री तथा मन्‍त्रिपरिषद्को कार्यालय, गृह मन्‍त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयमा ४ अंकको टोल फ्री टलिफोन सेवा जडान गर्ने व्यवस्था मिलाउने।

  • कुलमानको आह्वान, विजुली धेरै चलाउनुहोस, माग घटेको छ

    कुलमानको आह्वान, विजुली धेरै चलाउनुहोस, माग घटेको छ

    काठमाडौं । देशब्यापी लकडाउन कारण अहिले सबै काम ठप्प छ । कलकारखाना बन्द भएका छन् । व्यापारिक क्षेत्र ठप्प छन् । सोहीकारण विजुलीको माग घटेको छ । लकडाउन घोषणा भएसँगै विद्युतको माग ह्वातै घटेको हो ।

    बढी विद्युत् खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालय अहिले बन्द छ । घरायसी प्रयोजनमा निकै कम मात्र विद्युत प्रयोग हुने गरेको छ ।

    नेपाल विद्युत प्राधिकरणका अनुसार लकडाउन सुरु हुनुभन्दा पहिले देशभरको विद्युतको अधिकतम माग १ हजार २ सय मेगावाट हाराहारीमा थियो ।

    तर, मंगलबार भने यो घटेर ९ सय ४५ मेगावाटमा सीमित छ । विद्युत् बढी खपत हुने काठमाडौंमै विद्युतको माग पनि घटेपछि घरायसी प्रयोजनपछि पनि विद्यूत बढी हुने अवस्था आएको छ ।

    लकडाउनभन्दा पहिले विद्युत्को अधिकतम माग साढे तीन सय मेगावाटको हाराहारीमा रहेको उपत्यकामा माग २ सय ९० मेगावाटमा झरिसकेको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार लकडाउनको कारण घरायसी प्रयोजनका लागि ग्याँसको अभावमा भएमा इन्डक्सन चुलो प्रयोग गर्न सकिन्छ ।

    अब विजुलीको कुनै अभाव हुँदैन । घिसिङका अनुसार प्राधिकरणका कर्मचारी २४ सै घण्टा सेवामा रहेका कारण समस्या आउना साथ समाधान हुन्छ ।

    विद्युतको माग घटेसँगै भारतबाट आयात हुने विद्युत्को परिमाण पनि घटाइएको छ । कुलेखानीको पावर हाउस समेत बन्द गरिएको छ ।

    माग घटेसँगै प्राधिकरणले सरकारी विद्यूत गृह बन्द गरेर निजी क्षेत्रको मात्र विजुली किन्नु पर्ने अवस्था आएको बताएको छ ।

  • कोरोनाबारे सरकारीबाहेक छुट्टै कोष बनाउन नपाउने, बनाएको भए केन्द्रिय कोषमा जम्मा गर्नुपर्ने

    कोरोनाबारे सरकारीबाहेक छुट्टै कोष बनाउन नपाउने, बनाएको भए केन्द्रिय कोषमा जम्मा गर्नुपर्ने

    काठमाडौं । सरकारले अब कोरोनासम्बन्धी छुट्टै राहत कोषमा रकम जम्मा गर्न नपाउने नियम ल्याएको छ । कोरोना सम्बन्धी उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।

    यसअघि कोष खोली सकेको भए सबै निजी कोषहरुले जम्मा भइसकेको रकम एक साता भित्र सरकारी कोषमा जम्मा गरिसक्नु पर्ने भएको छ ।

    खासगरी संकटका बेला पैसा उठाउने नाममा कोष खडा गर्ने तर उठेको रकम हिनामिना गर्ने गरेको गुनासो धेरै सुनिन्छ ।

    सोही कारण सरकारले केन्द्रिय कोषमात्र सक्रिय बनाउने घोषणा गरेको हो ।

    सरकारले विदेशबाट मेमिडल किट तथ औषधीको अभाव हुन नदिन निजी क्षेत्रमार्फत आपूतिको व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।

    पारदर्शी ढंगले निजी क्षेत्रबाट आपूर्ति गर्ने र त्यसलाई सहजिकरणको काम भने सरकारले गर्ने अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

  • कोरोनाविरुद्ध लड्न सरकारले बनायो कोष, मन्त्रीले हाले एक महिनाको तलव

    कोरोनाविरुद्ध लड्न सरकारले बनायो कोष, मन्त्रीले हाले एक महिनाको तलव

    काठमाडौं । सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न कोष खडा गरेको छ ।

    रोगको रोकथाम र संक्रमण आइहालेमा त्यसको उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री खरीदमा योगदान गर्ने गरी केन्द्रीय राहत कोष खडा गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।

    यस कोषमा मन्त्रीहरुले एक महिनाको तलव हालेका छन् भने सरकारले ५० करोड रुपैयाँ हालेको छ ।

    प्रधानमन्त्रीको पनि तलवबाट एक महिनाको रकम हालिने भएको छ । यो कोषमा रकम राख्न सरकारले सार्वजनिक आह्वान समेत गरेको छ ।

    सरकारले सशस्त्र प्रहरीको अस्पताललाई कोरोना सं‌क्रमितको उपचारमा मात्र केन्द्रित गर्ने निर्णय गरेको छ ।

    सोही बैठकले सीमा नाकालाई समेत बन्द गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारपछि फर्केर पहिलो पटक मन्त्रीपरिषद् बैठक राखेका हुन् ।

  • सार्क आपतकालिन कोषमा नेपालको १० करोड, मोदीले गरे प्रशंसा

    सार्क आपतकालिन कोषमा नेपालको १० करोड, मोदीले गरे प्रशंसा

    काठमाडौं । नेपालले सार्क आपतकालिन कोषमा नेपाली १० करोड रुपैयाँ जम्मा गर्ने भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले यसको घोषणा गरेका हुन् र कोरोना भाइरस सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने नेपाल सरकारको यस निर्णयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्दै ट्वीट गरेका छन् ।

    नेपालको यस निर्णयका लागि उनले ओलीलाई लक्षित गर्दै कृतज्ञता व्यक्त गरेका छन् । यो कोष स्थापनामा भारतीय प्रधानमन्त्री मोदीले सक्रियता जनाएका थिए ।

    उनकै पहलमा सार्क मुलुकका राष्ट्र प्रमुखहरुबीच भिडियो वार्ता भएको थियो । सोही बेला मोदीले कोष स्थापनाको प्रस्ताव गरेका थिए ।

    मोदीले ट्वीट गर्दै ओलीको यो प्रतिबद्धताले कोरोनाको महामारीविरुद्ध सामूहिक लडाइँ लड्ने सार्क देशहरुको समर्थनलाई दर्शाउने उल्लेख गरेका छन् ।

    भारतले कोषमा १ करोड अमेरिकी डलर जम्मा गरेको छ । कोषमा सार्क सदस्य देशले स्वेच्छाले रकम जम्मा गर्न र कोरोना विरुद्धको लडाइँमा खर्च गर्न पाउने भएका छन् ।

  • चिनियाँ अर्बपति ज्याक माले नेपालसहित एसियाली मुलुकलाई सहयोग गर्ने

    चिनियाँ अर्बपति ज्याक माले नेपालसहित एसियाली मुलुकलाई सहयोग गर्ने

    काठमाडौं । चिनियाँ अर्बपति तथा विश्वप्रख्यात व्यवसायी ज्याक माले नेपालसहित एसियाका ९ मुलुकलाई कोरोना विरुद्ध लड्न सहयोग गर्ने भएका छन ।

    उनले ९ एसियाली मुुलुकलाई कोरोना भाइरससँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री सहायता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

    उनका अनुसार १० लाख मास्क, २ लाख १० टेष्ट किट, ३६ हजार सुरक्षा पोसाक, केही भेन्टिलेटर र थर्मोटिर यी मुलुकका लागि सहायताको घोषणा उनले गरेका हुन् ।

    शनिबार विहान ट्वीट गरेका थिए । उनले यी सामान पुर्‍याउन सहज नभए पनि सम्पन्न गरिने उल्लेख गरेका छन् ।

    उनका अनुसार नेपालसँगै अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंकाले यो सहायता पाउने भएका छन् ।

    यसअघि माले अमेरिकामा स्वास्थ्य सामग्री सहायता पठाएका थिए । उनी एसियाका सबैभन्दा धनी व्यापारी हुन् ।

  • ढुवानीका सवारी साधन नरोकिने, सामान आपूर्ति नियमित

    ढुवानीका सवारी साधन नरोकिने, सामान आपूर्ति नियमित

    काठमाडौं । सरकारले १० चैतबाट सार्वजनिक सवारी साधन र लामो दूरीको यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनताका नाममा गरेको सम्बोधनमार्फत यस्तो घोषणा गरेका हुन् ।

    यस घोषणाबाट सामग्री आपूर्ति र ढुवानीका सवारी साधनको आवतजावत भने प्रभावित नहुने सरकारले स्पष्ट पारेको छ ।

    अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार कुनै पनि ढुवानीका साधन रोकिने छैनन् । यसले बजारमा सामानको आपूर्ति रोकिने छैन ।

    जहाज बन्द भएपछि हुने कठिनाइका सम्बन्धमा पनि विशेष व्यवस्थामार्फत व्यवस्थापन गरिने भएको छ । जहाज बन्द हुँदा विमानस्थलमै अलपत्र परेका नेपाली तथा विदेशी यात्रुलाई सम्बन्धित दूतावाससँगको समन्वयमा क्वारेन्टाइनमा राख्ने गरी व्यवस्थापन मिलाउने भएका छन् ।

    सरकारले कोरोनाको संक्रमण भित्रन नदिन व्यापक तयारी गरेको उनले जानकारी दिए । भित्रिहालेमा समेत प्रभावकारी उपचारको व्यवस्थापन हुने उनको भनाई छ ।

    संसारका अधिकांश मुलुकमा महामारीका रुपमा फैलिएको कोरोना नेपालमा भने देखा परिसकेको छैन । तर, सरकारले तयारीको काम तिब्र बनाएको छ ।

  • आजबाट सहुलियत पसल संचालन

    आजबाट सहुलियत पसल संचालन

    काठमाडौं । सरकारले आजबाट सहुलियत पसल संचालनमा ल्याउँदैछ । उपभोक्तालाई सुपथ मूल्यमा खाद्यवस्तु बिक्री गर्न सरकारले उपत्यकाका पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको बताएका छन् ।

    उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत सुपथ मूल्य पसल सञ्चालनमा आउन लागेका हुन् ।

    सहुलियत पसलमा नुन, चामल, चिनी, गेडागुडी सुपथ मूल्यमा पाइने भ्एको छ ।

    मन्त्री भट्टका अनुसार सरकारसँग अहिले करिब ६ महिनालाई पुग्गे खाद्यान्न, ८ महिनालाई पुग्ने औषधि, १० महिनालाई पुग्ने नुन र ३ महिनासम्म पुग्ने चिनी बाँकी मौजदात छ ।

    ग्यास आयातमा समस्या छैन । व्यवसायीको कमजोरीले ग्यासको वितरणमा देखिएको समस्या केही दिनमै हल हुने उनले बताए ।

    सरकारले सतुगंल, कालीमाटी, कोटेश्वर, बनेपा र भक्तपुरमा सुपथ मूल्यका पसल संचालनमा आउँदैछन् ।

    ललितपुरमा भने शनिबारसम्म पसल संचालनमा आइसक्ने भएको छ ।

    बालाजु र चाबहिलमा पनि पसल संचालनको तयारी रहेको छ ।

  • आन्तरिक उडानको भाडा घट्यो, यात्रु नपाएपछि जहाज ग्राउन्डेड

    आन्तरिक उडानको भाडा घट्यो, यात्रु नपाएपछि जहाज ग्राउन्डेड

    काठमाडौं । आन्तरिक उडानमा वायुसेवा कम्पनीले हवाई भाडा घटाएका छन्। सरकारले आन्तरिक हवाई इन्धनको मूल्यमा ४ रुपैयाँ ५० पैसा घटाएपछि कम्पनीहरुले समेत हवाई भाडा कम गरेका हुन् ।

    घटेको भाडा शुक्रबारदेखि लागु हुनेछ । वायुसेवा कम्पनीले कम्तीमा २५ रुपैयाँदेखि बढीमा २ सय रुपैयाँसम्म हवाइ भाडा घटाएको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिएका छन् ।

    कोरोना भाइरसले आन्तरिक उडानका कम्पनीहरुतर्फ पनि हेलिकोप्ट र  साना विमानस्थलमा उड्ने कम्पनीको व्यापार भने घटेको छ ।

    किनकी पर्यटक आगमन ठप्प भएपछि यी वायुसेवा कम्पनीको व्यापार घटेको हो । ठूला विमानस्थलमा भने नेपाली यात्रुकै कारण पर्याप्त व्यापार भइरहेको छ ।

    साना विमानस्थलमा उडाउने जहाजमध्ये केही जहाज ग्राउन्डेड गर्ने निष्कर्षमा व्यवसायी पुगेका छन् । हेलिकोप्टर समेत केही समय थन्किएर बस्नेछन् ।

    कोरोना भाइरसका कारण नेपालमा पर्यटन व्यवसाय सबैभन्दा धेरै प्रभावित भएको छ ।

  • नेपाल एयरलाइन्सको नारिता र दुवई उडान स्थगित

    नेपाल एयरलाइन्सको नारिता र दुवई उडान स्थगित

    काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारिता र यूएईको दुवईबाट नियमित उडान बन्द गरेको छ ।

    कोरोना भाइरसविरुद्ध सतर्कता अपनाउन सरकारले जापान र यूएईसहित ६६ मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

    सरकारले शुक्रबार राती बाट लागु हुने गरी ती मुलुकका नागरिक, त्यहास्थित नेपाली नागरिक र गैरआवासीय नेपालीलाई समेत नेपाल आउन रोकेको छ ।

    यी दुई गन्तब्यको उडान चैत मसान्तसम्म स्थगित गरिएको नेपाल एयरलाइन्सले उल्लेख गरेको छ ।

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार ती दुई गन्तव्यको नियमित उडान ३० चैतसम्मका लागि स्थगित गरिएको कम्पनीले जानकारी दिएको छ ।

    चैत्र ७ गते र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने कम्पनीले उल्लेख गरेको छ ।

    यसका अतिरिक्त नियमित उडान चालु रहेका गन्तव्यका लागि टिकट लिएका यात्रुहरुले उडानको एक दिन अघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पुरै रकम उपलब्ध गराइने कम्पनीले विज्ञप्ती जारी गर्दै उल्लेख गरेको छ ।

    यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको समेत नेपाल एयरलाइन्सको विज्ञप्तीमा उल्लेख छ ।

  • सुनको मूल्य २ हजारले घट्यो

    सुनको मूल्य २ हजारले घट्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणछि विश्वव्यापी रुपमा बजार प्रभावित भएको छ । यसले सुनको मूल्यमा समेत असर गरेको छ । मंगलबार सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँ घटेको छ।

    सोमबार प्रतितोला ७७ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन मंगलबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भयो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमै सुनको माग घटिरहेको छ ।

    कोरोना भाइरसको महामारीका कारण विश्वभर आर्थिक मन्दी छ । जसले गर्दा सुनको माग पनि घटेको हो ।

    मंगलबार चाँदीमा समेत प्रतितोला ८० रुपैयाँ घटेको छ। चाँदी मंगलबार ७ सय १० रुपैयाँ तोलामा कारोबार भयो ।

  • कालोबजारीविरुद्ध आक्रामक सरकार, सहुलियत पसल संचालन गरिने

    कालोबजारीविरुद्ध आक्रामक सरकार, सहुलियत पसल संचालन गरिने

    काठमाडौं । बजारमा कालो बजारी गर्नेहरु सक्रिय भएपछि त्यसको निरुत्साहनका लागि सरकार आफैले सहुलियतपूर्ण पसल संचालन गर्ने भएको छ ।

    नोवेल कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण नेपालमा पनि बजारमा सामानहरुको अभाव सिर्जना भएको छ ।

    यही मौकामा धेरै धन कमाउने उद्देश्यले कालो बजारी गर्नेहरु सक्रिय भएका छन् । पछिल्लो समय मास्क, स्यानिटाइजरलगायत सरसफाईका काममा प्रयोग हुने सामानको कालोबजारी तिब्र छ ।

    उपभोग्य समामानको कालोबजारी पनि उत्तिकै रहेको छ । बजारमा अत्यावश्यक वस्तुमा भएको कालोबजारी रोक्न पसल सञ्चालन गर्न लागिएको सरकारको भनाई छ ।

    मंगलबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले यस्तो जानकारी दिएका हुन ।

    उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत सहुलियतपूर्ण पसल सञ्चालन हुने भएका छन् ।

    पसल छिट्टै संचलनमा ल्याउने तयारी सरकारले गरेको हो । मन्त्री भट्टका अनुसार पसलमा नुन, चिनी, चामल, दाल, ग्याँस, इन्डक्सन चुल्हो उपलब्ध हुनेछन् ।

    ती सामान बेच्न घुम्ती पसल समेत संचालन गरिने छ । अभाव सिर्जना भएका स्थानमा देशभर नै यस्ता सामान बिक्रि गरिने भएको छ ।

  • नेपाल एयरलाइन्सले झिक्यो मलेसिया उडान

    नेपाल एयरलाइन्सले झिक्यो मलेसिया उडान

    काठमाडौं । नेपाल एयरलाइन्सले मलेसियाको क्वालाम्पुरमा गर्दै आएको नियमित उडान स्थगित गरेको छ ।

    कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न मलेशिया सरकारले सबै विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेश रोकेको छ । त्यसपछि नेपाल एयरलाइन्सले क्वालालाम्पुरको नियमित उडान रोक्ने निर्णय गरेको हो ।

    क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको नेपाल एयरलाइन्सले जनाएको छ ।

    २०२० मार्च १७ तारिख र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । २०२० मे ३० सम्म यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

    मलेसियाले दुई साता विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेश नदिने र मलेसियाका नागरिकलाई पनि विदेश भ्रमणमा नजान सूचित गरेको छ ।

    पछिल्ला दिनमा नेपाल एयरलाइन्सले आफ्नो अधिकांश गन्तब्यको उडान कटौती गर्नु परेको छ । यसले कम्पनीलाई मूख्य सिजनमै ठूलो घाटा लाग्ने निश्चित देखिएको छ ।

  • मेलम्चीमा सुरुङ मार्गमा पानी हालेर परीक्षण गरियो, आयोजना अन्तिम चरणमा

    मेलम्चीमा सुरुङ मार्गमा पानी हालेर परीक्षण गरियो, आयोजना अन्तिम चरणमा

    सिन्धुपाल्चोक । राष्ट्रिय गौरवको बहुप्रतिक्षित मेलम्ची आयोजनाको सुरुङ मार्गमा पानी हालेर परीक्षण सम्पन्न भएको छ ।

    सोमबार खानेपानी मन्त्री बिना मगरसहित मेलम्ची विकास समितिका पदाधिकारी सोही प्रयोजनका लागि मेलम्ची पुगेका थिए ।

    मेलम्चीको हेडवर्क्सबाट पानी हालेर सुरुङ मार्गको परीक्षण गरिएको छ । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

    सोहीकारण संरचनाहरूको परीक्षण शुरु गरिएको हो ।

    आयोजनाका अनुसार सुरुङ मार्गको परीक्षणका क्रममा हेडवर्क्सबाट अम्बाथानमा रहेको सुरुङ मार्गभित्र मेलम्चीको पानी हालेर परीक्षण सम्पन्न गरियो । सोमबार एक किलोमिटर लामो सुरुङ मार्गमा मेलम्चीको पानी पठाउँदा कुनै समस्या नदेखिएको आयोजनाले जनाएको छ ।

    अहिले यो आयोजना सिनो हाइड्रोले निर्माण गरिएको छ । केही समय अवरुद्ध भएको आयोजनाले पछिल्ला दिनमा भने तिब्र गति पक्रिएको छ । सोमबार मेलम्ची पुगेकी खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना सम्पन्न हुने अन्तिम चरणमा रहेकाले अब कुनै पनि हालतमा नरोकिने उल्लेख गरिन् ।

    अब कुनै कारणले पनि आयोजना नरोकिने उनको भनाई छ । अब मेलम्ची आउँदैन कि भन्ने भ्रम तोडिएको भन्दै उनले काठमाडौंबासीले तोकिएकै समयमा मेलम्चीको पानी पिउन पाउने उल्लेख गरिन् ।

    मुहानमा बन्ने हेडवर्क्स निर्माणमा फिनिसिङको काम जारी छ । मेलम्चीको पानी टनेलतर्फ फर्काउने यो मुख्य संरचनाको निर्माणको मूख्य संरचना बनिसकेको छ ।

    सिनो हाइड्रोले आयोजनाको ठेक्का सम्झौताअनुसारको कामलाई पूर्णता दिन गेट निर्माण कार्य, भेन्टिलेसन साफ्टहरू, पाइप जडान, स्काडा प्रविधि जडानलगायत साना ठेक्काका काम पनि गरिरहेको उल्लेख गरेको छ ।