Category: अर्थतन्त्र

  • चार महिनामा बने ४५ पक्की पुल

    चार महिनामा बने ४५ पक्की पुल

    काठमाडौं । देशभर सडक निर्माणले गति लिएको छ । यसै सन्दर्भमा चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा देशभर ४५ वटा पक्की पुलको निर्माण सकिएको छ ।

    सडक विभागको तथ्यांक अनुसार पहिलो चौमासिक अवधि भित्रै ४५ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् ।

    चालु आर्थिक वर्षमा मात्र तीन सय पक्की पुलको निर्माण पुरा गरिसक्ने योजना रहेको छ । धेरै आयोजनाहरु बहुवर्षिय रहेका र विगतदेखि काम भइरहेका पुलहरु चालु आवको पहिलो चार महिना मै निर्माण सम्पन्न भएका हुन् ।

    विभागका अनुसार अहिले देशभर १ हजार ४ सय ६७ वटा पुल निर्माणाधीन अवस्थामा छन् । सामान्यतया एउटा पुललाई अधिकतम तीन वर्षमा पुरा गर्ने गरी ठेक्का लगाइएको हुन्छ ।

    सडक बिस्तारका क्रममा अहिले पक्की पुल निर्माणलाई पहिलो प्राथमिकता दिइएको छ । पछिल्लो समय बन्ने अधिकांश पुल दुई लेनका छन् ।

  • अर्थ मन्त्रालयका उपसचिवविरुद्ध ४ करोड ६८ लाख भ्रष्टाचार मुद्दा

    अर्थ मन्त्रालयका उपसचिवविरुद्ध ४ करोड ६८ लाख भ्रष्टाचार मुद्दा

    काठमाडौं । अर्थमन्त्रालयका सहसचिव राजेन्द्र ढुंगानाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    शुक्रबार ढुंगाना र उनकी श्रीमतीविरूद्ध ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा अख्तियारले मुद्दा दर्ता गरेको हो ।

    सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

    उनले गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति आफू र श्रीमती मधुको नाममा राखेको पाइएको छ ।

    उनी २०४९ मा सार्वजनिक सेवामा प्रवेश गरेका थिए । त्यसयता २०७५ सम्म वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ मात्र देखिएको छ ।

    तर यस अवधिमा उनले गरेको खर्च र लगानी भने ५ करोड ४८ लाख ३ हजार ३५१ देखिएपछि यसलाई अख्तियारले अस्वभाविक भनेको छ ।

    उनले ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँको स्रोत खुलाउन सकेनन् । उनलाई जरिवाना र कैदका साथै गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको बिगो जफत गरी पाउन समेत माग दाबी गरिएको छ ।

  • सरकारले उखु किसानसँग गर्यो सहमति, किसानले ७ माघभित्र सबै पैसा पाउने

    सरकारले उखु किसानसँग गर्यो सहमति, किसानले ७ माघभित्र सबै पैसा पाउने

    काठमाडौं । सरकारले ७ माघ भित्र कृषकले सबै पैसा पाउने गरी समन्वय गर्ने सहमति जनाएपछि सरकार र आन्दोलनरत सर्लाहीका उखु किसान सहमति भएको छ ।

    उद्योग मन्त्रालयमा शुक्रबार साँझ दुई पक्षबीच पाँचबुँदे सहमति भएको हो । सहमतिसँगै उखु किसानको आन्दोलन समेत स्थगित भएको छ ।

    सर्लाहीस्थित अन्नपूर्ण चिनी मिलले कृषकको दुई वर्षदेखिको करीव ४५ करोड रुपैयाँ वक्तौता नतिरेपछि कृषकहरु सरकारको ढोका घच्घच्याउन काठमाडौं आएका थिए ।

    उनीहरुले रकम दिलाइदिन मन्त्रालय र मन्त्री निवासमा धाउँदा समेत रकम नपाएपछि माइतीघर मण्डलामा धर्ना बसेका थिए ।

    त्यसपछि संचारमाध्यमको ध्यानाकर्षण भयो । यस मुद्दालाई प्राथमिकताका साथ उठाइयो । फलस्वरुप सरकार स्वयम पहल गर्ने गरी उखु कृषकसँग सहमत गर्न तयार भएको हो ।

    उखु किसानका समस्या सञ्चारमाध्यमले उठान गरेपछि मात्र मन्त्रालयले चिनी मिल मालिकलाई बोलाएर किसानको पैसा दिन निर्देशन गरेको थियो ।

    पैसा नदिए पक्राउ गर्ने चेतावनी समेत सरकारले दिएको थियो । अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले शुक्रबार नै किसानहरुको खातामा ५० लाख रुपैयाँ पठाएका छन् ।

    बाँकी रकम पुस २५ गतेभित्र दिने बाचासमेत गरेका छन् । त्यसपछि उद्योग मन्त्रालयले कृषकलाई मन्त्रालयमा बोलाएर सहमति गरेका हुन् ।

    शुक्रबार भएको सहमतिअनुसार माघ ७ गतेभित्र उखु किसानको बाँकी रकम भुक्तानी गरिसक्नु पर्नेछ ।

    यसका लागि मन्त्रालयले समन्वय गर्नेछ । भुक्तानी समस्या दिगो रुपमा हल गर्न उखु खरिद विक्री गरेको रकम तुरुन्त भुक्तानी हुने गरी स्वचालित मूल्य प्रणाली बनाउन अध्ययन गर्न सहसचिवको नेतृत्वमा कार्यदल समेत गठन गर्ने सहमति भएको छ ।

    किसानहरुलाई सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषि मन्त्रालयमा समेत ताकेता गर्ने भएको छ ।

    किसानको भुक्तानी र चिनीको आपूर्तिमा कुनै समस्या वा गुनासो भए सम्बोधन गर्न मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखा तोक्ने र उखु किसानका आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने सहमति शुक्रबार भएको छ ।

  • मोवाइल र इन्टरनेट बैंकिङको सीमा बढ्यो, उपभोक्ता लाभान्वित हुने

    मोवाइल र इन्टरनेट बैंकिङको सीमा बढ्यो, उपभोक्ता लाभान्वित हुने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल वालेट, मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङका माध्यमबाट हुने कारोकारको सीमा बढाएको छ । यसले उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

    राष्ट्र बैंकले बिहीबार भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशिका जारी गरेको छ । जसअनुसार बैंक खाताबाट मोवाइल वालेटमा स्थानान्तरण हुने रकम प्रतिकारोबार ५ हजारबाट २५ हजार पुगेको छ ।

    बैंक खाताबाट एकै पटक २५ हजार रुपैयाँसम्म मोबाइल वालेटमा ट्रान्सफर हुने भएको छ ।

    बैंक खाताबाट वालेटमा दैनिक १ लाख रुपैयाँसम्म र मासिक ५ लाखसम्म ट्रान्सफर गर्न सकिने गरी नयाँ प्रावधान आएको छ ।

    क्लासलेस कारोवारलाई बढावा दिन यो निर्देशिकाले सहयोग गर्ने भएको छ ।

    अब एक वालेटबाट अर्को वालेटमा प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजारसम्म पठाउन सकिने भएको समेत राष्ट्र बैंकले उल्लख गरेको छ ।

    एजेन्ट वा सबएजेन्टबाट एक दिनमा २५ हजार रुपैयाँसम्म वालेटमा पठाउन सकिने प्रावधान समेत आएको छ ।

    यसअघि यस्तो सुविधाको सीमा १५ हजार मात्र थियो । मोबाइल तथा इन्टरनेट बैंकिङबाट प्रतिदिन ५० हजार वा प्रतिमहिना अधिकतम २ लाख तथा इन्टरनेट बैंकिङ प्रतिदिन १० लाखसम्म गर्न सकिने व्यवस्था आएको छ ।

    एटिएमबाट एक पटक २५ हजार रुपैयाँसम्म र दैनिक १ लाख रुपैयाँसम्म झिक्न पाइने व्यवस्था भने यथावत राखिएको छ।

    अब एटिएममा बैंकले २४ सैं घण्टा सुरक्षा गार्ड समेत राख्नु नपर्ने भएको छ ।

    सुरक्षा गार्डको सट्टा २४ सै घण्टा मोनिटरिङको व्यवस्था गर्न बैंकहरुलोई निर्देशिका ल्याइएको छ ।

  • उखु किसानको पैसा तिर्न मिल मालिकलाई अल्टिमेटम

    उखु किसानको पैसा तिर्न मिल मालिकलाई अल्टिमेटम

    काठमाडौं । सरकारले उखु किसानको वक्यौता तिर्न चिनि मिलका मालिकहरुलाई अल्टिमेटम दिएको छ ।

    किसानको पैसा तिर्न बाँकी चिनी मिल सञ्चालकले माघ पहिलो सातासम्म सबै पैसा तिरिसक्नु पर्ने गरी सरकारले अल्टिमेटम तोकिदिएको हो ।

    आफ्नो पैसा माग गर्दै काठमाडौं आएका उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टबीच भएको वार्तामा सरकारले उक्त निर्देशन दिएको हो ।

    माघको पहिलो सातासम्म सबै पैसा तिर्न मिल सञ्चालकलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । पुस २५ भित्र ८० प्रतिशत रकम तिरेर बाँकि रकम माघ पहिलो सातासम्म चुक्ता गर्न निर्देशन दिइएको छ ।

    सरकारले उखु मिल संचालकलाई पक्राउ गर्ने तयारी गरेपछि केही मिल संचालक भने सरकारको सम्पर्कमा आएर पैसा तिर्ने बताइसकेका छन् । त्यसमध्ये एक महालक्ष्मी सुगर मिल्स हो ।

    यस उद्योगले पुस २५ सम्म सबै पैसा तिर्ने प्रतिवद्धता जनाएको छ । सरकारको अल्टिमेटममा पनि पैसा ननिरे कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

    मिलले उखु किसानको उखु पेलेर चिनी बनाएर बेचिसक्दा पनि किसानको मूल्य नतिरेपछि कृषक समस्यामा रहेका छन् ।

    उनीहरु उद्योगबाट पैसा दिलाइदिन माग गर्दै काठमाडौं आएका थिए ।

  • आजबाट मलेसियामा बढ्यो कामदारको न्यूनतम पारिश्रमिक

    आजबाट मलेसियामा बढ्यो कामदारको न्यूनतम पारिश्रमिक

    काठमाडौं । मलेसियामा कामदारको न्यूनतम पारिश्रमिक आजबाट बढेको छ । यसबाट मलेसियामा रहेका करीव १ लाख ६० हजार नेपालीसहित ४० लाख विदेशी कामदारसमेत प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

    मलेसिया नेपाली कामदारका लागि आकर्षक गन्तब्य मध्ये एक हो । यहाँ स्वदेशी र विदेशी सबै श्रमिकको न्यूनतम पारिश्रमिक बढाइएको हो ।

    मलेसिया सरकारले १ जनवरी १ देखि श्रमिकहरूले न्यूनतम मासिक तलब १२ सय मलेसियन रिङ्गेट पुर्याएको छ ।

    अब मलेसिया जाने नेपालीले न्यूनतम ३३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । अहिले मलेसियामा न्यूनतम तलब ११ सय रिङ्गेट (करीव ३० हजार रुपैयाँ) मात्र रहेको थियो ।

    बढेको तलब मलेसियाको शहरी क्षेत्रका कामदारको हकमा मात्र लागू हुने उल्लेख गरिएको छ । यो मलेसियाका ५७ शहरबाट प्रारम्भ गरिदैछ ।

    त्यसपछि क्रमशः सबै स्थानमा बिस्तारको तयारी रहेको छ ।

    अहिले जोहोरबरु , इस्कन्डर, पुटेरी, अलोर सेटर, मेलाका बेर्सेजर्हा, पुलाउ पिनान्ङ, सेबेराङ पेराइ, इप्हो, शाह अलम, पेटालिङ जय, क्वाला तेरेन्गानु, कुचिङ उतरा, कुचिङ सेलेटन, मिरीकोटा किनाबालु, क्लालालम्पुर ,बाटु पहटजस्ता शहरमा काम गर्ने कामदारले यसको लाभ उठाउन सक्ने भएका छन् ।

  • उखु किसानमारा व्यवसायीसामु निरिह सरकार

    उखु किसानमारा व्यवसायीसामु निरिह सरकार

    काठमाडौं । जब हिउँद शुरु हुन्छ, त्यसपछि शुरु हुन्छ, कृषक र व्यवसायीबीचको द्धन्द्ध । यस्तो द्धन्द्ध शुरु भएको दशकौं नाघिसक्यो तर, कृषकका समस्या ज्यू का त्यूँ रहेका छन् ।

    देशमा एक प्रकारको विडम्बना छ । एकातर्फ उखु कृषकलाई चिनि उद्योगीले पैसा दिँदैनन् । किसानको उखुले भाउ पाउँदैन ।

    अर्कोतर्फ मुलुकमा चिनिको अधिक माग भयो भन्दै आयात घटेको छैन । सरकारले गत वर्ष १ लाख मेट्रिक टन अधिकतम आयातको सिलिंग तोकेको थियो ।

    त्यो सिंलिंग ३ महिनामै पुरा भएको थियो । सरकारलाई व्यवसायीको चिन्ता छ, तर ऊ कृषकको पिडामा मलहम लगाउन सक्दैन ।

    अहिले त्यस्तै भइरहेको छ । उखुको मूल्य पाउनु पर्ने माग सहित कृषक राजधानी आएका छन् । संसदीय समितिमा मन्त्रीहरु भन्छन्, उद्योगी नै फरार छन् ।

    कतिसम्म भने मंगलबार गृह मन्त्रालयले सरकारको सम्पर्कमा नआएका चिनि उद्योगीलाई प्रहरीको सहायतामा समात्ने समेत भनिरहेको थियो ।

    कृषकले ऋण काडेर भाडा जोरजाम गरी उखुको मूल्य दिलाइदिन माग गर्दै काठमाडौं धाएका हुन् ।

    अहिले उखु कृषक माइतीघरमा धर्नामा बस्न बाध्य भएका छन् ।

    अन्नपूर्ण सुगर इन्डस्ट्रीसहित अधिकांश उखु मिलले कृषकको पैसा तिरेका छैनन् । उपभोक्ताबाट पूर्ण पैसा असुल गरी कालोधन्दा समेत गर्न भ्याउने उद्यमीलाई सरकार आफैले संरक्षण गरेको कृषकको गुनासो छ ।

    किनकी सरकारले कृषकलाई न्याय दिलाउन सकेको छैन । उद्योगीहरुले खुलेआम सरकारलाई चूनौति दिइरहेका छन ।

    अन्नपूर्ण सुगरले मात्र कृषकको ५० करोड रुपैयाँ तिरेको छैन । अन्य चिनि मिल सबै गर्दा कूल १ अर्ब, ४१ करोड ८१ लाख रुपैयाँ कृषकले पाउनु पर्नेछ ।

    यतिसम्म कि सरकारी संयन्त्रसँग समेत कुन मिलले कृषकलाई कति तिर्नु पर्नेछ भन्ने तथ्यांकसमेत छैन ।

    अर्कोतर्फ सरकारी तवरबाट समेत कृषकले अनुदान पाउनु पर्छ । सरकारले दिने अनुदानबापतको १ अर्ब ३४ करोड पनि कृषकको हात परेको छैन । यो गरी कुल २ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ कृषकले पाउन सकेका छैनन ।

  • एनसेलले तिर्यो ४ अर्ब ५० करोड कर

    एनसेलले तिर्यो ४ अर्ब ५० करोड कर

    काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर सरकारलाई बुझाएको छ । मंगलबार ठूला करदाता कार्यालयमा एनसेलले कर दाखिला गरेको हो ।

    सर्वोच्च अदालतले कर तिर्न आदेश गरेअनुसार एनसेलले सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ तिर्नुपर्नेमा मंगलबार ५ अर्ब ५० करोड रुपैयाँ बुझाएको हो ।

    कार्यालयले १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा एनसेललाई पत्राचार गरेको थियो ।

    एनसेलले कार्यालयमा किस्ताबन्दीमा कर बुझाउन पाउ भनी निवेदनसहित ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको कार्यालयले जनाएको छ ।

    एनसेललाई किस्तावन्दीमा कर तिर्ने सुविधा दिने या नदिने भन्ने बारेमा भने अझै निर्णय भइसकेको छैन ।

  • एमसीसी पारित हुने परराष्ट्र मन्त्रीको दाबी

    एमसीसी पारित हुने परराष्ट्र मन्त्रीको दाबी

    काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पारित हुने दावि गरेका छन् ।

    एमसीसीका विषयमा सरकार स्पष्ट रहेको भन्दै उनले कुनै सन्देह यो पास हुने उल्लेख गरे ।

    परराष्ट्र मन्त्रालयले सोमबार आयोजना गरेको सन् २०१८ १९ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा उनले यस्तो जानकारी गराएका हुन् । एसीसीका विषयमा पछिल्लो समय पार्टी भित्रै विवाद बढेको छ ।

    वरिष्ठ नेता भीम रावल यसको खुलेर विरोधमा उत्रिएका छन् । प्रधानमन्त्री र रावलबीच यस विषयलाई लिएर सार्वजनिक बहस नै शुरु भएको छ ।

    मन्त्री ज्ञवालीले पार्टी स्थायी कमिटी बैठकमा यो विषय उठेको भएपनि पार्टीको निर्णय एमसिसीको पक्षमा हुने समेत उल्लेख गरे ।

    त्यसपछि एमसीसी संसदबाट पास हुने उनको भनाई छ ।

    एमसिसीका विषयमा आएका टिप्पणी भन्दा बढी सम्झौता महत्वपूर्ण रहेको उनको भनाई छ ।

    परियोजना छनोट गर्दा क्रस बोर्डर ट्रान्समिसन लाइनसमेत परेका कारण भारतको स्वीकृति अनिवार्य रहेको उनको भनाई छ ।

  • एकै पटक ८५ अर्बको वैदेशिक लगानी स्वीकृत

    एकै पटक ८५ अर्बको वैदेशिक लगानी स्वीकृत

    काठमाडौं । लगानी बोर्डले एकै पटक पौने खर्ब रुपैयाँ बराबरको वैदेशिक लगानीलाई स्वीकृति प्रदान गरेको छ ।

    तीनवटा जलविद्युत आयोजना निर्माण गर्न ८५ अर्ब रुपैयाँ लगानी स्वीकृत गरिएको बोर्डले जनाएको छ ।

    बोर्ड अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतवार बोर्डको बैठक बसेको थियो । बैठकले उक्त लगानी स्वीकृत गरेको हो ।

    बोर्डका अनुसार कोरियाली लगानीमा बन्ने माथिल्लो त्रिशुली १ लाई ६५ अर्ब, मर्स्याङदी बेंसी जलविद्युत आयोजनालाई ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनालाई ८ अर्ब २२ करोड ७४ लाख रुपैयाँ लगानी स्वीकृत गरिएको छ ।

    २१६ मेगावाटको माथिल्लो त्रिशुली १ आयोजना नेपाल र कोरियाको संयुक्त लगानीमा निर्माण हुने भएको छ ।

    निजी लगानीमा मर्स्याङ्दीबेंसी बनिरहेकोछ भने नेपाल विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली ३ बी आयोजना निर्माण गरिरहेको छ ।

    बोर्डले निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको छयाङकुटीदेखि दिर्दिङसम्मको पहुँचमार्गको मुआब्जा वितरणका लागि गठन भएको छानविन समितिलाई थप प्राविधिक सहयोग हुने गरी पुनर्गठन गर्ने निर्णय गरेको छ ।

    यस समितिबाट २ महिनाभित्र प्रतिवेदन माग्ने निर्णय समेत बैठकले गरेको छ । पछिल्लो समय जलविद्युत क्षेत्रमा तिब्र गतिमा वैदेशिक लगानी आइरहेको छ ।

  • अब काठमाडौं होर्डिङ बोर्डमुक्त शहर, आजैबाट थालियो काम

    अब काठमाडौं होर्डिङ बोर्डमुक्त शहर, आजैबाट थालियो काम

    काठमाडौं । शुक्रबारबाट काठमाडौं महानगरपालिका भित्रका विभिन्न स्थानबाट होर्डिङ बोर्ड हटाउन थालिएको छ ।

    महानगरले नगर प्रहरीको सहयोगमा शुक्रबारबाटै यसको थालनी गरेको हो । यसअघि बिहीबार गृहमन्त्री रामबहादुर थापा बादलले काठमाडौंका सबै होर्डिङ बोर्ड हटाउन निर्देशन दिएका थिए ।

    उनको निर्देशन लगत्तै महानगरपालिका र प्रहरीको संयुक्त टोलीले शुक्रबारबाट धमाधम होर्डिङ बोर्ड हटाउन शुरु गरेको हो ।

    शुक्रबार माइतीघर, विजुलीबजार, नयाँ बानेश्वर, तीनकुने, सोह्रखुट्टेसहित दर्जनौ स्थानमा टोली खटिएर होर्डिङ बोर्ड हटाइएको छ ।

    सर्वोच्च अदालतले २०७२ सालमै दिएको आदेश ४ वर्षपछि मात्र कार्यान्वयन हुन शुरु भएको छ ।

    राजधानीमा महानगरले नै कतिपय स्थानमा होर्डिङ बोर्ड अनुमति दिएका कारण हटाउन आनाकानी गरेको थियो ।

    तर, गृहमन्त्रीको आदेश र महानगरविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दायर भएपछि महानगर नै यसमा सक्रिय भएको हो ।

    विजुलीका पोलमा समेत विज्ञापनका बोर्ड राख्न नेपाल विद्यूत प्राधिकरणले अनुमति दिएको थियो ।

    शुक्रबार पोष्टर–पम्प्लेट टास्दै हिँडेका १० जनालाई पक्राउ परेका छन् ।

    महानगरले पर्चा–पम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चावहिललाई १० हजार र काठमाडौं जब इम्प्लोइमेण्टलाई ५ हजार जरिमाना समेत तिराएको छ । यस्ता पम्प्लेटका कारण समेत शहर कुरुप बन्दै गएको छ ।

    सरकारले भ्रमण वर्ष अगाडी नै काठमाडौंलाई कुरुप बनाइरहेका होर्डिङ बोर्ड हटाउने रणनीति लिएको हो ।

  • ठेकदारसँग झुक्यो सरकार, फेरी संशोधन भयो खरीद नियमावली

    ठेकदारसँग झुक्यो सरकार, फेरी संशोधन भयो खरीद नियमावली

    काठमाडौं । सरकारले पछिल्लो ८ महिनायता चौथो पटक सार्वजनिक खरीद नियमावली संशोधन गरेको छ ।

    ठेकेदार कम्पनीले जे भन्छन्, त्यही प्रावधान राख्दै सरकारले प्रावधान संशोधन गर्दा काम नगर्ने ठेकेदारका अगाडी समेत सरकार झुकिरहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकदारलाई कारवाही गर्न विभागीय मन्त्रीहरुलाई समेत गत महिना निर्देशन दिएका थिए ।

    तर, भित्रभत्रै उनकै नेतृत्वको मन्त्रीपरिषद्ले ठेकेदारलाई सहज हुने गरी चौथोपटक सार्वजनिक खरीद नियमावली संशोधन गरेको छ ।

    जसअनुसार काम अलपत्र पारेका ठेकेदारको आयोजनाको म्याद फेरी थपिने भएको छ ।

    यसले ठेकेदारलाई काम नगरेवापत कारवाही हुनपर्नेमा उल्टो प्रोत्साहन मिल्नेछ ।

    सोमबार मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरीद नियमावलीको नवौं संशोधन गरेको बिहीकार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

    ३० वैशाखमा सरकारले छैठौं संशोधन गरेयता चार पटक खरीद नियमावलीमा संशोधन गरेको हो ।

    नवौं संशोधनबाट म्याद सकिएर अलपत्र आयोजनामा पुरानै निर्माण व्यवसायीलाई थप एक वर्ष काम गरिराख्ने प्रावधान राखिएको छ ।

    व्यवसायीहरु काम छिटो अगाडी बढाउनुको साटो आन्दोलनमा थिए । उनीहरु संसिरयता विभिन्न चरणको आन्दोलनमा थिए ।

  • पुनर्निर्माणका बाँकि काम सक्न अझै ३ खर्ब चाहिने

    पुनर्निर्माणका बाँकि काम सक्न अझै ३ खर्ब चाहिने

    काठमाडौं । सरकारले १२ वैशाख २०७२ को भूकम्पयता पुनर्निर्माणका क्रममा संरचना निर्माणमा मात्र साढे ३ खर्ब रुपैयाँ खर्च गरेको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत २ खर्ब ९३ अर्ब रुपैयाँ र गैर सरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ खर्च भएको प्राधिरकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

    प्राधिकरण १२ पुसमा ५ औं वर्षमा प्रवेश गर्दैछ । यसको समयावधी ५ वर्ष हो । अबको १ वर्षमा प्राधिकरणले पुनर्निर्माणका बाँकि काम पुरा गर्नुपर्ने दायित्व छ ।

    तर, कतिपय संरचना भने अझै पनि पुनर्निर्माण नै थालिएका छैन । त्यसकारण आगामी दिनमा थप बजेटको आवश्यकता रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

    उनका अनुसार अब पुनर्निर्माणका बाँकि काम गर्न अझै ३ खर्ब रुपैयाँ बजेट आवश्यक देखिएको छ । चार वर्षको अवधिमा पुनर्निर्माणको औषत ८३ प्रतिशत प्रगति देखिएको छ ।

    तर, बजेटको आवश्यकताका आधारमा भने अझै ठूलो रकम चाहिन्छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७२\७३ मा २२ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ खर्च भएको थियो ।

    आव २०७३\७४ मा ४९ अर्ब ६९ करोड १७ लाख बजेट खर्च भयो । आव २०७४\७५ मा १ खर्ब १४ अर्ब ७८ करोड ११ लाख खर्च भएको थियो ।

    आव २०७५\७६ मा ८९ अर्ब ४३ करोड ७६ लाख खर्च भएको तथ्यांक छ । चालु आवमा भने १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन भएको छ ।

    चार वर्षमा निजी आवास पुनर्निर्माणतर्फ कूल ८६ प्रतिशत प्रगति भएको प्राधिकरणको तथ्यांक छ ।

    अहिले धरहरा, रानीपोखरी, काष्ठमण्डप, बसन्तपुर दरवार, नुवाकोट दरवार, सिंहदरवारलगायत संरचनाको बनिरहेका छन् ।

  • नेपालमा ट्राफिक जरिवाना बढाउने तयारी

    नेपालमा ट्राफिक जरिवाना बढाउने तयारी

    काठमाडौं । यातायात व्यवस्था विभागले नेपालमा ट्राफिक नियम उल्लंघन गर्नेका लागि पहिलो पटकमै ५ हजार रुपैयाँ जरिवानाको नियम ल्याउने तयारी गरेको छ ।

    संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदा बनिरहेको छ । ऐनमा उक्त विषय उल्लेख गरिएको विभाग स्रोतले जनाएको छ ।

    बन्दै गरेको ऐनको मस्यौदामा ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार जरिवानाको प्रस्ताव गरिएको बताइएको छ ।

    पछिल्लो समय दूर्घटना बढिरहेको छ । यसमा चालकको लापरवाहीका कारण धेरै दूर्घटना हुने गरेको पाइएको छ ।

    जरिवाना रकम कम हुँदा धेरैले वेवास्ता गर्ने गरेको निष्कर्ष सरकारको छ । विभागले प्रस्तावित ऐनको विधेयक बनाउने विषयलाई लिएर सात वटै प्रदेशका विभागीय मन्त्री र सचिवसँग छलmलको तयारी समेत गरेको छ ।

    त्यसपछि ऐनको ड्राफ्ट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जानेछ । मन्त्रालयले सम्बन्धित सरोकारवाला निकाय र मन्त्रालयबाट राय तथा स्वीकृति लिएर संसदमा लैजाने भएको छ ।

    अहिले ट्राफिक नियम उल्लंघन गर्दा ट्राफिक प्रहरीले कसुर हेरेर ५ सय देखि १५ सयसम्म मात्र जरिवाना गर्ने प्रावधान रहेको छ ।

    नयाँ प्रावधान आएमा भने लेनक्रस, ओभर स्पिड, जिकज्याकजस्ता सामान्य ट्राफिक कसुरमा समेत पहिलो पटकमै ५ हजार जरिवाना लाग्नेछ ।

    भारतमा हालै ट्राफिक जरिवाना ठूलो परिमाणमा बढाएर कार्यान्वयनमा आएको छ । यसले दूर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

  • घर र गाडी खरीदमा लिने कर्जामा राष्ट्र बैंकको कडाई

    घर र गाडी खरीदमा लिने कर्जामा राष्ट्र बैंकको कडाई

    काठमाडौं । घर र गाडी किन्दा बैंकले दिने कर्जामा राष्ट्र बैंकले कडाई गरेको छ।

    बैंक तथा वित्तीय संस्थाका नाममा मंगलबार नयाँ निर्देशन जारी गरेको राष्ट्रबैंकले ऋणीको आयस्रोतमा हुने भुक्तानी र त्यसको किस्ता रकमको परिमाणमा कडाई गरेको छ ।

    ऋणीले तिर्ने किस्ता रकम व्यक्तिको कुल आम्दानी भन्दा ५० प्रतिशत नाघ्न पाउने छैन । ऋण भुक्तानीलाई आम्दानीको अनुपातसँग सन्तुलित राख्न यस्तो नियम ल्याउने परेको राष्ट्र बैंकको भनाई छ ।

    अब व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर तथा हायर पर्चेज कर्जामा राष्ट्रबैंकले कडाई गरेको हो । ऋणीको आयमा समेत स्रोत खुल्नु अनिवार्य भएको छ । त्यसका लागि आय खुल्ने कागजात देखाउनु पर्ने भएको छ ।

    अहिले किस्ता धान्न सक्ने आम्दानी पेश गरेको अवस्थामा बैंकले सजिलै ऋण दिने गरेका थिए । अब भने स्रोत खुल्ने आम्दानीको ५० प्रतिशतभन्दा बढी किस्ता हुन नपाईने गरी निर्देशन आएको छ ।

    अब मासिक ३० हजार कमाई हुने व्यक्तिले १५ हजारभन्दा माथिको किस्ता बुझाउने गरी कुनै पनि बैंकबाट ऋण नपाउने भएको हो ।

    विगतमा वास्तविक आम्दानी भन्दा बढीको आय देखाउने र ऋण लिने अनि तिर्न नसकेर टाट पल्टने परिपाटी रहेको भन्दै यस्तो प्रवृत्ति अब हट्ने राष्ट्रबैंकको विश्वास रहेको छ ।

  • मलेसियामा बढेको तलव १ जनवरीबाट लागु, नेपाली पनि लाभान्वित

    मलेसियामा बढेको तलव १ जनवरीबाट लागु, नेपाली पनि लाभान्वित

    क्वालालाम्पुर । मलेसिया सरकारले आगामी १ जनवरीबाट श्रमिकको न्यनतम पारिश्रमिक वृद्धि गर्दैछ । यसबाट १ लाखभन्दा माथिको संख्यामा रहेका नेपाली कामदार समेत लाभान्वित हुने भएका हुन् ।

    मलेसिया नेपाली कामदारको मूख्य गन्तब्य स्थलमध्ये एक हो । मलेसिया सरकारले न्यूनतम पारिश्रमिक बढाउने नीतिले स्वदेशी तथा विदेशी दुबै श्रमिकहरुको पारिश्रमिक बढ्न लागेको हो ।

    मलेसियाली मानव संसाधन मन्त्रालयका अनुसार अब श्रमिकको न्यूनतम पारिश्रमिक १२ सय रिंगेट रहने भएको छ । यो नेपाली रुपैयाँमा करीव ३३ हजार हुन्छ ।

    यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक ११ सय रिंगेट थियो । मलेसियामा प्रारम्भमा यो पारिश्रमिक क्यालालम्पुर, पेटालिङ, पेनाङ, पुत्रजयालगायत ५७ वटा सहरमा लागु हुने छ ।

    करीव १ वर्ष रोकिएको मलेसिया रोजगारी नेपालीका लागि खुलेको तीन महिना मात्र भएको छ । लगत्तै पारिश्रमिक समेत बढ्ने भएपछि मलेसियामा नेपालीका लागि रोजगारी अझ आकर्षक बन्ने भएको हो ।

  • एनसेललाई कर तिर्न १५ दिनको ताकेता

    एनसेललाई कर तिर्न १५ दिनको ताकेता

    काठमाडौं । सरकारले एनसेललाई तोकिएको कर तिर्न १५ दिन म्याद राखेर ताकेता गरेको छ ।

    आइतबार ठूला करदाता कार्यालयले एनसेलका नाममा पत्र काटेको छ । १५ दिनभित्र कर चुक्ता गरेर फरफारक गर्न आग्रह गरेको छ ।

    ठूला करदाता कार्यालयले मंसिर २२ मा २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको थियो ।

    अन्तिम कर निर्धारणवापतको कर तिर्न १५ दिनको समय राखेर पत्र काटिएको ठूला करदाता कार्यालयले जानकारी दिएको छ ।

    तोकिएको अवधिमा पनि एनसेलले कर नतिरे आयकर ऐनअनुसार कारवाही हुने करदाता कार्यालयले जनाएको छ ।

  • निजगढ विमानस्थलबारे सर्वोच्चको अन्तरिम आदेश, थपियो अन्यौल

    निजगढ विमानस्थलबारे सर्वोच्चको अन्तरिम आदेश, थपियो अन्यौल

    काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थलको काम तत्काल अगाडी नबढाउने अन्तरिम आदेश दिएको छ ।

    आइतबार विमानस्थलका लागि रुख कटान गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

    रुख कटानको विषयलाई लिएर सर्वाेच्चमा रीट दायर भएको थियो ।

    जसमध्ये पूर्वप्रशासक द्वारिकानाथ ढुंगेललगायतले दायर गरेको रीटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश दिँदै तत्काल काम अगाडी नबढाउन अन्तिम आदेश गरेको छ ।

    रीटमा यसअघि सर्वोच्चले १९ मंसिरमा निजगढ विमानस्थलको काम यथास्थितिमा राख्न अन्तरकालिन आदेश दिएको थियो ।

    आइतबार रिट निवेदक र सरकार दुबै पक्षको बहस सुनेपछि संयुक्त इजलासले रुख कटान गर्ने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ ।

    विमानस्थलबारे वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले पनि सर्वोच्चमा रिट दायर गरेका छन् । निजगढ विमानस्थलसम्बन्धी दुबै रिटलाई एकसाथ राखेर सुनुवाइ गर्न सर्वोच्चले आदेश दिएको छ ।

    सर्वोच्चले निजगढ विमानस्थलका लागि रुख कटानमात्र रोकेको हो । यो विमानस्थलको काम अगाडी बढाउने तयारी सरकारले गरिरहेको समयमा आएको सर्वोच्चको आदेशले काममा केही ब्रेक भने पक्कै लाग्नेछ ।

  • निजगढ विमानस्थलबारे सरोकारवालाको एक स्वर : कुनै पनि बाहनामा प्रभावित बन्नु हुँदैन

    निजगढ विमानस्थलबारे सरोकारवालाको एक स्वर : कुनै पनि बाहनामा प्रभावित बन्नु हुँदैन

    काठमाडौं । सरकारले बाराको निजगढमा निर्माणको योजना बनाएको राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तरराष्ट्रिय विमानस्थल आयोजना कुनै पनि बाहनामा प्रभावित हुन नहुने स्थानीय जनप्रतिनिधिले बताएका छन ।

    शनिबार राजधानीमा सरोकारवालाको बैठक बसेको थियो । जहाँ निजगढ मुलुकको आर्थिक भविश्यसँग गासिएको परियोजना रहेको भन्दै यसको निर्माण कुनै पनि बाहनामा प्रभावित बन्न नहुनेमा सरोकारवाला एक मत भएका छन् ।

    पछिल्लो समय वातावरणीय मुद्दा उचालेर यस आयोजनालाई प्रभावित बनाउने खेल भइरहेको छ । रुख काट्न नहुने भन्दै मुद्दा समेत सर्वोच्चमा विचाराधिन अवस्थामा छ ।

    यसै मेसोमा सरोकारवालाले भने कुनै पनि हालतमा विमानस्थल बन्नुर्ने अडान राखेका छन् ।

    संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले विमानस्थलको काम अघि बढेपछि अहिले सतहमा आएका धेरै विवाद क्रमशः हराउँदै जाने उल्लेख गरे ।

    जति लम्बियो त्यति विवाद पनि बढ्दै जाने भएकाले विमानस्थल निर्माण कार्य छिटो अघि बढाउन उनले आग्रह गरे ।

    अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले देशकै ठूलो र महत्वपूर्ण आयोजनामा अलमल गरेर बस्न नहुने उल्लेख गरे ।

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समेत आयोजनामा अलमल गर्ने अवस्था नरहेको उल्लेख गरे ।

    पूर्वमन्त्री उमाकान्त चौधरीले यो आयोजना बाहनाबाजी गरेर पछि धकेल्न नपाइने उल्लेख गरे ।

    पूर्वमन्त्री फरमुला मन्सुरले अर्थतन्त्रमै प्रभाव पर्ने आयोजना भएकाले अलमल नगर्न सरकारलाई सुझाव दिए ।

    कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पहिलो चरणमा १९ सय हेक्टरमा सुविधा सम्पन्न विमानस्थल बन्ने र त्यसका लागि थोरै रुख काटेमात्र पुग्ने प्रस्तुती दिएका थिए ।

  • बंगलादेशले नेपालको विजुली किन्ने पक्का

    बंगलादेशले नेपालको विजुली किन्ने पक्का

    काठमाडौं । बंगलादेश सरकारले नेपालको विजुली किन्ने पक्का गरेको छ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने ५०० मेगावाट विद्युत् बंगलादेशले खरीद गर्ने सम्बन्धमा सम्झौता गर्ने निर्णय भएको छ ।

    भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले यो परियोजना निर्माण गर्नेछ । यो कूल ९०० मेगावाट क्षमताको आयोजना हो ।

    त्यसमध्ये ५०० मेगावाट विद्युत् बंगलादेशले खरीद गर्ने निर्णय भएको छ ।

    जीएमआरका निर्माण परियोजना प्रमुख केके शर्माका अनुसार बंगलादेशले जीएमआरको विद्युत् भारतीय विद्युत् व्यापार कम्पनी (एनभिभिएन)मार्फत खरीद गर्ने भएको छ।

    बंगलादेशको मन्त्रिपरिषद्मा हुने सार्वजनिक खरीद समितिले विद्युत् खरीद गर्ने निर्णय स्वीकृत गरेको छ। बंगलादेशले प्रतियुनिट ७.७ सेन्टमा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरीद गर्ने भएको छ ।

    बंगलादेशले २५ वर्षसम्म विद्युत् खरीद गर्ने निर्णय गरेको छ।

    नेपालको विजुली भारतीय प्रसारण प्रणालीमार्फत बंगलादेश पुग्ने गरी निर्णय भएको हो ।

  • ६० लाख चल्ला नष्ट गरिदै, मासुको मूल्य बढाउने खेल ?

    ६० लाख चल्ला नष्ट गरिदै, मासुको मूल्य बढाउने खेल ?

    काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले आह्वान गरेपछि देशभरबाट ब्रोइलर र कोइलरका चल्ला नष्ट गर्ने क्रम जारी रहेको छ ।

    चल्ला, चल्ला निस्कने क्रममा रहेको अण्डासमेत नष्ट गर्ने अभियान संघले चलाएको छ । बजारमा अधिक उत्पादन भएको र मूल्य नपाएको भन्दै संघले चलाएको यो अभियानले भने कुखुराको मासुको भाउ बढाउने निश्चित छ ।

    किनकी नेपाल भर्खरै कुखुराको मासुमा आत्मनिर्भर भएको हो । भोली एकै पटक कुखुराको अभाव हुँदा त्यसले मूल्य बढाउने निश्चित छ ।

    तर यस तर्फ सरकारी अधिकारीहरु भने मौन छन् । सं३ले कुखुराका करीव ६० लाख जिउँदा चल्ला नष्ट गर्ने अभियानमा छन् ।

    संघमा आवद्ध व्यवसायीका चल्ला मार्न टोलीनै खटिएको छ । १० दिनसम्म थप चल्ला उत्पादन नगर्ने भन्दै संघले यस्ता अभियान चलाइरहेको छ ।

    २८ मंसिरबाट संघको आह्वानमा देशभर चल्लाको उत्पादन बन्द भएको छ । भएका चल्ला र अण्डा पनि नष्ट गर्ने अभियान जारी छ ।

    तर, सरकारलाई भने यसले कुनै छोएको छैन । व्यवसायीको यो गतिविधिप्रति सरकारी निकायले आधिकारिक धारण नै सार्वजनिक गरेको छैन । नेपाल ह्याचरी उद्योग संघ नेपालभर चल्ला उत्पादन गर्ने २८० उत्पादक आवद्ध रहेका छन् ।

  • पेप्सीले छल्यो ६५ करोड राजस्व, मुद्दा दायर

    पेप्सीले छल्यो ६५ करोड राजस्व, मुद्दा दायर

    काठमाडौं । राजस्व छलेको आरोपमा पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले भ्याट छलीको मुद्दा दायर गरिएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दियो ।

    झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर प्रयोग गरी ६४ करोड ९६ लाख २ हजार ३ सय ४० राजस्व चुहावट गरेको विभागले उल्लेख गरेको छ ।

    विभागले उक्त कम्पनीबाट ६४ करोड ९६ लाख २ हजार ३ सय ४० रुपैयाँ विगो र विगोको दोब्बर गरी कूल १ अर्ब २९ करोड ९२ लाख ४ हजार ६ सय ८० जरिवाना माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

    मुद्दामा ३ वर्ष कैद सजायसमेत माग गरिएको छ । विभागले वेभरेजका संचालक अमित गुप्तासहित ७ जनाविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो ।

    वरुण वेभरेज प्रालिले राजश्व चुहावट गर्ने दूरासयले झुट्टा तथा नक्कली कर विजक जारी गरेको विभागले उल्लेख गरेको छ ।

    यस मुद्दामा वेभरेजका वर्तमान तथा पूर्व सञ्चालक अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविणकुमार अग्रवाल, विनादेकुमार सिंह र अशोक कुमारलाई विपक्षी बनाइएको छ ।

    कुनै पनि बहुराष्ट्रिय कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले दर्ता गरेको यो सबैभन्दा ठूलो मुद्दा हो ।

  • अब निर्माण सामग्रीको माग नदीबाट मात्र पुरा हुँदैन : अर्थमन्त्री

    अब निर्माण सामग्रीको माग नदीबाट मात्र पुरा हुँदैन : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब नेपालको विकास निर्माणका लागि आवश्यक नदीजन्य निर्माण सामग्रीको आपूर्ति अब नदीबाट मात्र नपुग्ने बताएका छन् ।

    बिहीबार अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले अब पहाडबाट उत्खनन् गरी यस्ता सामग्रीको आपूर्तिमा लाग्नु पर्ने उनले बताएका हुन् ।

    पहाड नफोरेसम्म नदीजन्य सामग्रीको आपूर्ति पुरा नहुने उनको भनाई छ ।

    भैरहवा विमानस्थल निर्माण गर्न नजिकै सामग्री भएपनि चितवनबाट आपूर्ति गर्नुपर्ने बाध्यता रहेको भन्दै यसले विकास निर्माणको समय र लागत दुबै बढाउने उल्लेख गरे ।

    अर्थ समितिले विकास बजेट कम खर्च भएको सन्दर्भमा बिहीबार विकासे मन्त्रालयका सचिव तथा अर्थमन्त्री र योजना आयोगका पदाधिकारीसँग छलफल गरेको थियो ।

    सो छलफलका क्रममा मन्त्रालयहरुले नदीजन्य सामग्रीको अभावलाई विकास बजेट खर्च हुन नसक्नुको एक कारण मानेका थिए ।

    जवाफमा अर्थमन्त्री खतिवडाले अब नदीले मात्र निर्माण सामग्रीको आपूर्ति गर्न नसक्ने बताएका हुन् ।

  • काठमाडौंमा स्थायी रुपमै लागू होला जोर-विजोर प्रणाली ?

    काठमाडौंमा स्थायी रुपमै लागू होला जोर-विजोर प्रणाली ?

    काठमाडौं । काठमाडौं उपत्यका, अधिक सवारी र साँघुरो सडक संरचनाका कारण अत्यधिक सडक जाम हुने शहरमध्ये एकमा गनिन्छ ।

    यसले मानिसको जनजीवनमा नकारात्मक प्रभाव पारेको छ । यसै सन्दर्भमा काठमाडौंमा स्थायी रुपमा जोर-विजोर प्रणाली लागु गर्द माग गर्दै सर्वोच्च अदालतमा रीट दायर भएको छ ।

    काठमाडौं उपत्यकामा अत्यधिक ध्वनी प्रदूषण र टाफिक जाम भएकाले जोर-विजोर प्रणाली माग गरिएको रीट दायर भएको हो । अधिवक्ता रिता कार्की र श्‍यामकुमार श्रेष्ठले सात पृष्ठ लामो रीट सर्वोच्चमा दर्ता गराएका हुन्।

    रीटमा स्थायी रुपमा जो(बिजोर नम्बर अनुसार सवारी संचालनको आदेशको माग गरिएको छ । २० वर्ष पूराना सवारी साधन उपत्यकामा गुड्न दिन नहुने र प्रभावकारीरुपमा वातवरण प्रदूषणको जाँच गरिनु पर्ने मागसमेत रीटमा छ ।

    रीटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १५ सरकारी संयन्त्रलाई विपक्षी बनाइएको छ ।

    काठमाडौं उपत्यकामा अति विशिष्ट व्यक्तिका सवारी साधन, आकस्मिक सेवामा गुड्ने सवारी साधन, निजामती कर्मचारी एवम् संस्थानका सवारी साधन, सुरक्षाकर्मीका सवारी साधन, विदेशी कूटनीतिक नियोगका सवारी साधन, विकलाङ्ग व्यक्तिले चलाउने व्यक्तिगत बाहन, बालबालिका बोक्ने विद्यालयको सवारी साधनबाहेक अन्य सबै व्यक्तिगत तथा भाडाका सवारी (दुई पांग्रे र चार पांग्रे) का लागि स्थायीरुपमा जोर बिजोर प्रणालीको माग गरिएको छ ।

    यसमा सर्वोच्चले सकारात्मक आदेश दिएमा काठमाडौं धेरै हदसम्म चुस्त शहरका रुपमा स्थापित हुने देखिएको छ ।

  • सोधनान्तर स्थितिमा सुधार, २७ अर्ब २९ करोड नाफामा

    सोधनान्तर स्थितिमा सुधार, २७ अर्ब २९ करोड नाफामा

    काठमाडौं । गतवर्ष घाटामा गएको सोधनान्तर स्थिति चालु आर्थिक वर्षको पहिलो महिनाबाटै नाफामा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चौथो महिनासम्म आइपुग्दा सोधनान्तर नाफा २७ अर्ब २९ करोड नाघेको छ ।

    देशबाट बाहिरिने रकम र देशभित्र रहने रकमको तुलना नै सोधनान्तर हो । बाहिरिने भन्दा भित्रने रकम बढी भयो भने त्यसबेला सोधनान्तर नाफामा जान थाल्छ ।

    यसवर्ष आयातमा आएको संकुचनले सोधनान्तर स्थिति नाफामा गएको हो । पहिलो महिना पाँच अर्ब नाफामा देखिएको सोधनान्तर स्थिति दोस्रो महिना आठ अर्ब नाफामा पुगेको थियो।

    तेस्रो महिना थप ६ अर्ब थपिएर १४ अर्ब पुगेकोमा चौथो महिनामा १३ अर्ब रुपैयाँ थपिएको तथ्यांकले देखाएको छ । आयात घटेसँगै व्यापार घाटा कम भएको छ ।

    जसले शोधानान्तर स्थितिलाई ऋणात्मक हुनबाट बचाएको छ । अघिल्लो वर्षको तुलनामा चालु आवमा निर्यातमा समेत सुधार भएको छ ।

    अर्थतन्त्रको एक पाटो सकारात्मक रहेपनि राजस्व संकलन र खर्चको पाटो भने अझ डामाडोल देखिएको छ । गत वर्ष सोधनान्तर घाटा नै ५७ अर्ब नाघेको थियो ।

  • नेपालमा गुड्ने रेलको डिब्बा तयार

    नेपालमा गुड्ने रेलको डिब्बा तयार

    काठमाडौं । नेपालमा गुड्ने रेलको डिब्बा तयार भएको छ । भारतीय भारतीय कम्पनीमै जनकपुर-जयनगरखण्डको ३५ किलोमिटर रुटमा चल्ने रेलको डिब्बा तयार पारिएको हो ।

    चेन्नइस्थित कोन्कन रेल्वे कर्पोरेसनको कारखानामा डिब्बा बनाइएको छ । नेपाल रेल विभाग अनुसार नेपाली टोलीले बन्दै गरेको डिब्बाका डिजाइन अवलोकन समेत गरेको छ ।

    जनकपुर-जयनगर रुटमा दुई वटा रेल चलाउने योजना रहेको छ । डिब्बा भारत सरकारले नै उपलब्ध गराउने सहमति यस अघि भइसकेको छ ।

    गत वैशाखमा नेपाल र भारतबीच यस्तो सहमति भएको थियो । यी डिब्बा जडान भएर रेल नेपाल ल्याउनासाथ जनकपुर-जयनगर रेलवे सञ्चालन हुने भएको छ ।

  • पेट्रालियम पदार्थको मूल्य बढ्यो

    पेट्रालियम पदार्थको मूल्य बढ्यो

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टितेलको मूल्य बढाएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ ।

    इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार निगमले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको छ । अन्य दुई पदार्थमा भने भाउ बढेको छ ।

    बढेको मूल्य बुधबार बिहान १२ बजेबाट कार्यान्वयनमा आएको छ । पेट्रोलसहित हवाई ईन्धन र एलपि ग्यासको खुद्रा बिक्री मूल्यसमेत यथावत राखिएको छ ।

    समायोजनपछि निगमको डिपो (बिक्री विन्दुदेखि १५ किमि क्षेत्रभित्र) डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा ९८ रुपैया कायम भएको छ ।

    पोखरा र दाङमा ९७.५० रुपैयाँ प्रतिलिटर कायम भएको छ । तराई क्षेत्रमा ९६.५० रुपैयाँ प्रतिलिटर राखिएको छ ।

    मूल्य समायोजन पछि पनि भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य २०.४१ प्रतिलिटरले सस्तो र डिजेल १७.१६ प्रतिलिटरले नेपालतर्फ सस्तो हुने निगमले उल्लेख गरेको छ ।

  • ५ महिनामा मात्र ९ प्रतिशत पूँजिगत खर्च

    ५ महिनामा मात्र ९ प्रतिशत पूँजिगत खर्च

    काठमाडौं । आर्थिक वर्षको मध्यसमय बितिसकेको छ । तर, देशको पूँजिगत खर्च भने अझै पनि खराब अवस्थामा रहेको छ । अर्थमन्त्री युवराज खतिवडा देशको आर्थिक अवस्था निकै सुधार भएको बताउँछन् ।

    तर, विकास निर्माणको मानक भने निकै खस्किएको देखिएको छ । चालु आर्थिक वर्ष २०७६\७७ को पहिलो ५ महिना (साउन–मंसिर)मा पूँजीगत खर्च ९.०५ प्रतिशत मात्र भएको छ ।

    यो तथ्यांक दयनीय हो । किनकी यस समय भित्र आइपुग्दा पूँजिगत खर्च मात्र निकै प्रगति भइसक्नु पर्ने थियो ।

    पहिलो चौमासिकमा पूँजीगत बजेट खर्च भएपछि प्रधानमन्त्री स्वयमले सरोकारवालालाई बोलाएर निर्देशन दिनु परेको थियो ।

    उनले दोस्रो चौमासिकसम्म ५० प्रतिशत पुर्याउन निर्देशन दिएका थिए । तर, यही गतिमा पूँजिगत खर्च हुने हो भने त्यो लक्ष्य निकै पर देखिन्छ ।

    चालु आवमा सरकारले कूल १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ बजेट कार्यान्वयन गरिरहेको छ । त्यसमध्ये पूँजीगत खर्च ४ खर्ब ८ अर्ब रुपैयाँ गर्नुपर्छ ।

    पहिलो ५ महिनामा भने मात्र ३७ अर्ब ४८ करोड रुपैयाँ पूँजीगत खर्च भएको छ । यस अवधिमा कूल १९.४८ प्रतिशत बजेट खर्च भएको देखिएको छ ।

    महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार कूल २ खर्ब ९८ अर्ब ५७ करोड रुपैयाँ बजेट खर्च भएको छ ।

    त्यसमध्ये चालु खर्च २ खर्ब ४६ अर्ब ९२ करोड रुपैयाँ छ ।

    पूँजीगत खर्च ३७ अर्ब ४८ करोड र वित्तीय व्यवस्थापनमा १४ अर्ब १६ करोड ८६ लाख रुपैयाँ खर्च भएको तथ्यांकले देखाएको छ । ५ महिनामा राजस्व संकलन ३ खर्ब ८ अर्ब रुपैयाँ संकलन भएको छ ।

    यस वर्ष सरकारले कूल ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

  • १० दिन कुखुराको चल्ला उत्पादन बन्द हुने

    १० दिन कुखुराको चल्ला उत्पादन बन्द हुने

    चितवन । देशभरका ह्याचरी उद्योगबाट १० दिनसम्म चल्ला उत्पादन बन्द गरिने भएको छ । व्यवसायीले आजबाट देशभर कुखुराका चल्ला उत्पादन बन्द गर्ने निर्णय गरेका हुन ।

    कुखुराको उचित मूल्य नपाएको गुनासो गर्दै व्यवसायी उक्त निर्णयमा पुगेका हुन् । चल्ला उत्पादन बन्द गरी लागत अनुसार मूल्य पाउनुपर्ने मागसहित पहल थाल्ने व्यवसायीको तयारी रहेको छ ।

    आइतबारदेखि १० दिनसम्म कुखुराका नयाँ चल्ला उत्पादन हुने छैनन् । मेसिनमा राखिसकेको अण्डासमेत नष्ट गर्ने निर्णयमा व्यवसायी पुगेका हुन् ।

    नेपाल ह्याचरी उद्योग संघले शनिबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको छ । उत्पादनको लागत बढी भएपनि कम मूल्यमा कुखुरा बेच्नु परेको व्यवसायीको गुनासो रहेको छ ।

    १० दिनमा देशभरका ह्याचरीले ६० लाख चल्ला उत्पादन गर्ने गरेका थिए ।

  • तातोपानी भन्सार प्रमुखविरुद्ध साढे १० करोड भ्रष्टाचार मुद्दा

    तातोपानी भन्सार प्रमुखविरुद्ध साढे १० करोड भ्रष्टाचार मुद्दा

    काठमाडौं । तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध साढे १० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा बिगो दाबी गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

    अख्तियारले शुक्रबार मुद्दा दायर गरेको जनाएको छ । अख्तियारले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर गरेको छ ।

    बस्नेतले कमाएको पैसा आफू र आफ्ना परिवारको नाममा राख्ने गरेका थिए । २०४५ सालमा लेखापालको रुपमा उनी सरकारी सेवा छिरेका थिए ।

    त्यसयता उनको वैधानिक कमाई १ करोड ७८ लाख २० हजार ९ सय ७५ रुपैयाँ ८२ पैसा मात्र रहेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

    उनको नाममा भने वैधानिक आम्दानीबाहेक नै १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा खर्च र बचत देखिएपछि अख्तियारले मुद्दा चलाएको हो ।

    उनले भन्सार नाकाबाट नेपाल आयात हुने सामानको भन्सार पास गर्ने बेला व्यापारी, क्यारिङ्ग व्यवसायी र भन्सार एजेन्टसँग गैरकानूनी रुपमा रकम बुझ्ने गरेका थिए ।

    बस्नेतले लिने घुस बुझ्ने काम भने संखुवासभाको खाँदबारी–१ बस्ने जेठान नबिनकुमार गौलीबाट हुने गरेको अख्तियारले उल्लेख गरेको छ ।

    ज्वाइँले लिएको घुस जेठानको नाममा जमिन तथा घरमा लगानी भएको पाइएको छ । त्यसपछि भने जेठानबाट बक्सिस पाएको भन्दै आफ्नो नाममा गराउने धन्दा उनको थियो ।

    अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा बिगो तथा बिगोअनुसार जरिवाना, २ वर्षसम्म कैद तथा गैरकानून रुपमा आर्जन गरेको सम्पत्ति जफतको मागदाबी गरिएको छ ।

    जेठान नबिन कुमार गौलीको हकमा भने ९ करोड २१ लाख ५२ हजार ७ सय ९२ रुपैयाँ बिगो तथा २ वर्षसम्म कैद तथा गैरकानून रुपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न मागदाबीसहित  मुद्दा दर्ता भएको छ ।