Category: अर्थतन्त्र

  • असारमै दुई तिहाई खेत बाँझै, २३ प्रतिशतमा मात्र रोपाईं

    असारमै दुई तिहाई खेत बाँझै, २३ प्रतिशतमा मात्र रोपाईं

    काठमाडौं । असार सकिन अब एक साता मात्र बाँकि छ । मानो रोपेर मुरी फलाउने महिनाका रुपमा परिचित यो महिनामा कृषक व्यस्त रहनु पर्ने हो ।

    तर, प्रकृति कृषकमैत्री नबन्दा अहिलेसम्म रोपाईको माहोल शुरु हुन सकेको छैन । बालिविकास तथा जैविक संरक्षण केन्द्रका अनुसार मुलुकभर अहिलेसम्म मात्र २३ प्रतिशत खेतमा रोपाइं सम्पन्न भएको छ ।

    केन्द्रले २२ असारसम्मको तथ्यांक समेटेर मंगलबार विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अघिल्लो वर्षको २२ असारसम्म ५३ प्रतिशत खेतमा रोपाई भइसकेको थियो ।

    ढिला मनसुन शुरु हुनु र कतिपय स्थानमा अझै खडेरी नै परेका कारण वर्षातमा आधारित रहेर हुने रोपाई अझै शुरु हुन नसकेको हो ।

    नेपालमा करीव ६५ प्रतिशत खेतियोग्य जमिनमा अझै पनि स्तरीय सिञ्चाई सुविधा पुगेको छैन । त्यसकारण कृषक वर्षातकै पानीमा भर पर्नु पर्ने अवस्था रहेको छ ।

    नेपालमा कुल १३ लाख ७१ हजार ७०६ हेक्टर जमीनमा धान रोपाइँ हुने तथ्यांक केन्द्रसँग छ । त्यसमध्ये २२ असारसम्म ३ लाख २५ हजार ९ सय १ हेक्टरमा मात्रै रोपाइँ भएको छ ।

    उच्च पहाडी भूभागमा ४८ हजार १९३ हेक्टर जमिनमा धान रोपाई हुन्छ । त्यसमध्ये १६ जार ६९३ हेक्टर जमिनमा रोपाइँ सकिएको छ ।

    मध्य पहाडमा ३ लाख ४६ हजार ९९ हेक्टरमा रोपाई हुनेमा एक लाख ७ हजार ८०१ हेक्टर जमीनमा मात्रै रोपाइँ सकिएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

    तराईमा भने ९ लाख ७७ हजार ४१४ हेक्टर जमीनमा धान खेति गरिन्छ । त्यसमध्ये ३ लाख २५ हजार ९०१ हेक्टर जमीनमा मात्र रोपाइँ सकिएको छ ।

    कुल धान उत्पादनको झण्डै ७० प्रतिशत हिस्सा प्रदेश २ ले ओगट्छ । पहाडभन्दा पनि तराईको जिल्लामा हुने रोपाईले धेरै हदसम्म तथ्यांकमा प्रभाव पार्छ ।

    मनसुन ढिला शुरु हुँदा तराईका नदीहरुमा समेत पानीको बहाब बढ्न सकिरहेको छैन ।

  • बच्चाको डाइपरमा लुकाएर सुन तस्करी

    बच्चाको डाइपरमा लुकाएर सुन तस्करी

    काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट ४ सय ग्राम अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका लीलाबहादुर बस्नेत र नवलपरासीका बीरबहादुर थारू छन् ।

    उनीहरुले बच्चाको डाइपरमा लुकाएर सुन ल्याएको प्रहरीले बताएको छ । लीलाबहादुर बस्नेत कतारको दोहाबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका थिए ।

    विमानस्थल प्रहरी र काठमाडौं प्रहरीको परिसरको संयुक्त टोलीले आइतबार चेकजाँचका क्रममा डाइपरमा सुन फेला पारेको प्रहरीले  जानकारी दिएको छ ।

    यस्तै, नेपाल वायु सेवा निगमको दोहा उडानमा आएका नवलपरासीका बीरबहादुर थारूले पनि बस्नेतले जस्तै डाइपरमा सुन लुकाएर ल्याएका थिए।

    प्रहरीले दुबै भरिया भएको र सुन तस्करले उनीहरुलाई प्रयोग गरेको उल्लेख गरेको छ । उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • पर्याप्त पूर्वाधार नहुँदा विषादी परिक्षण रोकियो : कृषि मन्त्री

    पर्याप्त पूर्वाधार नहुँदा विषादी परिक्षण रोकियो : कृषि मन्त्री

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले पर्याप्त पूर्वाधार नबनेका कारण सीमा नाकामा फलफूल तथा तरकारीको विषादी परीक्षण रोकिएको बताएका छन् ।

    आइतबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले नेपालसँग विषादी परिक्षण गर्ने पूर्वाधार भएपनि पर्याप्त नरहेको उल्लेख गरे ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्वाधार अभावका कारण परीक्षण रोकिएको दावि गरेका थिए । तर, कृषि मन्त्रीका अनुसार नेपालमै विषादी परिक्षण गर्न सक्ने पूर्वाधार भने उपलब्ध छन् ।

    काठमाडौंस्थित कालिमाटीमा २९ प्रकारका विषादी समूहको परीक्षण हुने सुविधा रहेको छ । देशका विभिन्न ६ स्थानमा परीक्षण केन्द्र स्थापना गरिएका छन् ।

    नेपाल आयात हुने तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने व्यवस्थासहित २ असारमा ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित भएको थियो ।

    यस व्यवस्थापछि सीमानामा तरकारी र फलफुल रोकिए । त्यसपछि भारतीय दूतावासले चासो देखायो । दूतावासको चासोसँगै सरकारले परीक्षण गर्ने व्यवस्था फिर्ता लियो । त्यस निर्णयपछि भने सरकारको खुलेर आयोजना भइरहेको छ ।

    तर, कृषिमन्त्री खनालले पूर्वाधार नभएको भन्ने तर्कको घुमाउरो गरी खण्डन गरे । पूर्वाधार हुँदै नभएको नभई पर्याप्त मात्र नरहेको भन्दै उनले अहिलेकै अवस्थामा पनि विषादी परीक्षण गर्न सकिने उनको तर्क छ ।

    नेपालमा प्रदेश १ को विर्तामोड, दुईको सर्लाही, ३ को कालीमाटी, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल र सुदूरपश्चिम प्रदेशमा दुई वटा केन्द्रबाट विषादी परीक्षण हुने गरेको उनले जानकारी दिए ।

  • तरकारीको विषादी परिक्षण विवादमा सरकारको चौतर्फी विरोध

    तरकारीको विषादी परिक्षण विवादमा सरकारको चौतर्फी विरोध

    काठमाडौं । विदेशबाट आयात हुने फलफूल तथा तरकारीमा जीवनासक विषादी अवशेष परीक्षण गर्ने र विषादी देखिए नाकामै रोक्ने सरकारी निर्णय उल्टिएसँगै सरकारको व्यापक आलोचना शुरु भएको छ ।

    प्रमुख प्रतिपक्षी दल कांग्रेस, सामाजिक सञ्जाल तथा आम नागरिकबाट मात्र नभई सत्तारुढ दलकै नेता तथा भातृ संगठनबाट समेत सरकारको आलोचना शुरु भएको हो ।

    शनिबार नेकपा नेता भीम रावलले सरकारको यस निर्णयप्रति आपत्ति जनाएका छन् ।

    शनिबार नेकपा संसदीय दलको बैठकपछि संचारकर्मीसँग बोल्दै नेकपा नेता रावलले विश्‍व व्यापार संगठनको सम्झौताअनुसार कुनै देशले तरकारी वा वनस्पती आयात गर्ने क्रममा निश्‍चित मापदण्ड तोक्ने सक्ने उल्लेख गरे ।

    सरकारले आफ्नो सार्वभौम अधिकारको रक्षा गर्नुपर्ने उनको तर्क थियो ।

    उता, विषादी परिक्षण गरी हानिकारण्क तरकारीको आयातमा रोक लगाउने निर्णयबाट सरकार पछि हटेको भन्दै सत्तारुढ दल सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले विरोध गरेको छ ।

    अनेरास्ववियूका कार्यवाहक अध्यक्ष रञ्जित तामाङद्धारा शनिबार जारी विज्ञप्तीमा जनपक्षीय निर्णयलाई तयारी नपुगेको भन्दै सरकार एकाएक पछि हटेकोमा गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।

    यसबाट सरकार र सरकारका निकाय प्रत्यक्ष वा परोक्ष रुपमा कतै अनुचित विदेशी दबाबमा परेर पछि हटेका त हैनन् भन्ने आशंका पैदा भएको विज्ञप्तिमा उल्लेख छ ।

    उता, शनिबारको नेकपा संसदीय दलको बैठकमा पनि सांसदहरुले सरकारको उक्त कदमको विरोध गरेका थिए ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक जनशक्ति र प्रविधि उपलब्ध भएपछि परिक्षण गरेरै तरकारी तथा फलफूल भित्रने भन्दै सरकार यस निर्णयबाट पछि नहटेको प्रतिक्रिया दिएका थिए ।

    उनले सरकारका कामको वचाउ गर्न समेत सांसदहरुसमक्ष आग्रह गरे ।

    सरकारले भारतबाट आयात हुने यस्ता सामग्रीको विषादी परिक्षण गर्न सामान आयात रोकेको थियो । तर, भारतीय दूतावासले आयात खोल्न पत्र पठाएसँगै सरकारले बीना परिक्षण आयात खुला गरेको हो ।

  • भारतबाट नेपाल आउँदा जांच नगरे पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भने जांच यथाबत

    भारतबाट नेपाल आउँदा जांच नगरे पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भने जांच यथाबत

    भारतबाट नेपाल आयात हुने कृषिजन्य बस्तुमा विषादी मापनको व्यवस्था सरकारले हटाए पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भारतले विषादी मापनको व्यवस्थालाई कायम राखेको व्यवसायीहरूले बताएका छन्।
    भारतले कृषिजन्य बस्तुको परीक्षण गर्न थालेको करिब ६ वर्ष भइसकेको बताइन्छ।
    नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुहरूमा तयारी चिया, ठूलो अलैंची, कुचो, हिमाली जडीबुटी, अदुवालगायत छन्।

    चिया उद्योगी तथा व्यवसायीहरूका अनुसार नेपालमा उत्पादित तयारी चिया भारत निकासी गर्दा कोलकाताको प्रयोगशालामा नमुना लगेर परीक्षण नगरी भारत निकासी गर्न पाइँदैन।
    तर भारतीय उत्पादन नेपाल आयात गर्दा नेपाल सरकारले गर्न खोजेको विषादी मापनको व्यवस्था सरकारले नै हटाएकोमा नेपाली व्यवसायीहरुले आक्रोस पोखेका छन्।
    सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीवार बोल्दै दुवै देशले एक अर्काको नागरिकको स्वास्थ्य खेलबाड हुने गरि काम गर्न नहुने बताएका थिए। उनले चेकजाँचको व्यवस्था राम्रो भएको र त्यसका लागि बरू प्राविधिक केही जटिलता भए मिलाउनु पर्ने बताएका थिए।
    “न हाम्रो उत्पादनको कारण भारतीय जनताको स्वास्थ्यमा खेलबाड गर्न मिल्छ, न भारतीय उत्पादनको कारण हाम्रो नागरिकको स्वास्थ्यमा खेलबाड गर्न मिल्छ। त्यसप्रति दुवै सरकारहरू संवेदनशील हुनुपर्छ। उत्पादक तथा व्यापारीहरू पनि संवेदनशील हुनुपर्छ। यसलाई अन्य विषयसँग जोड्नु हुँदैन,” उनले भने।

    भारतमा परीक्षण यथावत

    नेपालका कृषिजन्य उत्पादन भारतमा निर्यात गर्न सहज नभएको नेपाली व्यवसायीहरु बताउँछन्।
    कहिले चिया त कहिले अदुवा अनि कहिले अलैंचीको निर्यातमा भारततर्फबाट अवरोध हुँदै आएको किसान तथा व्यवसायीहरू बताउँछन्।
    इलामको गोर्खा टि इन्डस्ट्रिजका प्रोपाइटर उदय चापागाईंका अनुसार कोलकाताको प्रयोगशालामा लगेर नमुना परीक्षण नगरी नेपालको चियाको भारत जान पाउँदैन।
    विषादी परीक्षण
    रिपोर्ट आउन जति दिन लागे पनि उक्त चियाका सवारीसाधन सीमा नाकामै राख्नुपर्ने बाध्यता छ।
    उनले भने, “व्यवहार भनेको समान हुनुपर्छ। भारतका बस्तु नेपाल ल्याउँदा विषादी मापनको व्यवस्था चाहिँ हटाउनुपर्ने अनि हाम्रा बस्तु भारत लैजाँदा उनीहरुले जाँच नगरी भित्र्याउन नदिने। यो पनि समान व्यवहार हो र? हामी चकित परेका छौं।”
    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार नेपालका व्यवसायीले भारतको कोलकाता र लखनउमा रहेका प्रयोगशालामा कृषिजन्य बस्तुका नमुना लगेर परीक्षण गराउनुपर्छ।
    जसका कारण प्रयोगशालाको रिपोर्टका लागि एक सातादेखि १५ दिनसम्म कुर्नुपर्ने उनले बताए।
    उनले भने, “भारतले चाहेको जुनसुकै बेलामा हाम्रा उत्पादनको नमूना लगेर परीक्षण गराउँछ। त्यसमा पनि दुईवटा मात्र प्रयोगशाला छन्। कतिपय व्यवहारका कुराले यस्ता व्यापार समान छैनन् भन्ने लाग्छ।”
    अर्का व्यवसायी आदित्य पराजुलीका अनुसार एकपटकको परीक्षणको रिपोर्टको ६ महिनाको म्याद हुन्छ तर भारतले चाहेको बेलामा जतिबेला पनि परीक्षण गराउने गरेको उनले बताए।
    एक पटकको परीक्षणमा करिब २० हजार नेपाली रुपैयाँ खर्च आउने उनको भनाइ छ।

    नेपालमा परीक्षण हाललाई स्थगित

    नेपालका सीमा नाकामा विषादी मापनका लागि प्रयोगशाला नभएकाले हाललाई भारतबाट नेपाल ल्याइने तरकारी तथा फलफूलमा रासायनिक विषादी मापनको प्रक्रिया स्थगन गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
    अहिले पनि नेपाली व्यवसायीहरूले कृषिजन्य उत्पादन भारत लैजाँदा भारतका दुईवटा प्रयोगशालाबाट नमुना परीक्षण गराइरहेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ।
    तर मन्त्रालयका प्रवक्ता सुवेदीका अनुसार नेपालमा पाँचवटा विषादी मापनका प्रयोगशाला छन्।
    विर्तामोड, सर्लाही, काठमाण्डू, पोखरा तथा बुटवलमा प्रयोगशाला रहेको उनले बताए।
    उनले भने, “हाम्रा सीमा नाकामा प्रयोगशाला छैनन्। तर संख्याको हिसाबमा धेरै छन्। तर पनि भारतबाट तरकारी आयात गर्नेहरूले झञ्झट भयो भनेपछि सीमामा प्रयोगशाला स्थापना नहुञ्जेललाई विषादी मापनको कामलाई स्थगन गरिएको हो।”

    समाचार श्रोत : बि बि सि नेपाली सेबा

  • भारतमा २७८ खर्ब भारुको बजेट

    भारतमा २७८ खर्ब भारुको बजेट

    नयाँ दिल्ली । भारत सरकारले आव २०१९\२० का लागि बजेट सार्वजनिक गरेको छ । यो बजेट प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेट हो ।

    वित्त मन्त्री सीतारमणले २७,८६,३४९ करोड भारु (करीव ४ सय ५० खर्ब नेपाली रुपैयाँ) बराबरको बजेट लोकसभामा प्रस्तुत गरेकी हुन् ।

    बजेटले आकर्षक कार्यक्रम समेटेको छ । पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बजेटले सडक, रेल, हवाई र अन्य पूर्वाधारमा ठूलो बजेट खर्च गर्ने लक्ष्य लिएको छ ।

    जनतालाई आकर्षित गर्ने खालका कार्यक्रम अधिकतम समेटिएका छन् । विदेशी लगानीमा उदार रहेर भारतलाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने घोषणा समेत बजेटमा गरिएको छ ।

    बजेटले पेट्रोल\डीजलको मूल्य बढाएको छ । यसमा दुई रुपैयाँ प्रतिलिटर कर बढाइएको छ ।

    विद्युतीय सवारीमा सरकारले छूट लिएको छ । तीन करोड साना व्यापारीका लागि पेन्सन योजना ल्याइएको छ ।

    ठूलो कम्पनीलाई फाइदा हुने गरी कारोबारको ५ सय करोड पुर्याइएको छ, जसमा २५ प्रतिशत कर लाग्ने छ ।
    एजेन्सी

  • ग्लोबल र जनता बैंकबीच मर्जर हुने

    ग्लोबल र जनता बैंकबीच मर्जर हुने

    काठमाडौं । दुई वाणिज्य बैंक ग्लोबल आइएमई र जनता बैंकबीच मर्जर हुने भएको छ । दुई बैंकबीच शुक्रबार आयोजित एक कार्यक्रममा मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर भयो नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अगाडी नै वीग मर्जरमा जान बैंकहरुलाई दवाव दिइरहेको छ ।

    दुई बैंकबीचको औपचारिक सहमति सँगै अब यो एकिकृत बैंक नेपालको सबैभन्दा ठूलो बैंक बन्ने भएको छ ।

    शुक्रबार भएको सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका तर्फबाट अध्यक्ष केशव रायमाझीबीच हस्ताक्षर भयो ।

    मर्जरपछि बन्ने एकिकृत बैंकमा प्रमुख कार्यकारी अधिकृत पर्शूराम कुँवर रहनेछन् । उनी अहिले जनता बैंकका सीइओ छन् ।

    ग्लोबल आइएमईका कार्यबाहक सीईओ महेश ढकाल डेपुटी सीईओ हुने गरी दुई बैंक मर्जरमा जान तयार भएका हुन् । बैंकको नाम भने ग्लोबल आइएमई नै रहने भएको छ ।

    ग्लोबल आइएमईको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५ लाख रहेको छ । जनता बैंकको जनता बैंकको चुक्ता पूँजी ८ अर्ब ८ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

  • नेपालमा १५ पाँचतारे होटेल

    नेपालमा १५ पाँचतारे होटेल

    काठमाडौं । नेपालमा पाँचतारे होटेलको संख्या १५ पुगेको छ । १६ असारमा ठमेलमा खुलेको अलफ्ट काठमाडौं ठमेलले पर्यटन विभागबाट पाँचतारे होटेलको वर्गिकरण स्वीकृति लिएसँगै नेपालमा पाँचतारे होटेलको संख्या १५ पुगेको हो ।

    ठमेलस्थित १४ तला अग्लो छायाँ सेन्टरमा यो होटेल अवस्थित छ । २ असारमा मेरियट काठमाडौं होटेलले पाँचतारे होटेलको मान्यता पाएको थियो ।

    यस भवनको ६ तलासम्म सिनेमा हल, पसल तथा विभिन्न कर्पोरेट हाउसका कार्यालय संचलनमा छन् । त्यसमाथि भने होटेल स्थापना गरिएको छ । होटेलमा १७७ वटा कोठा छन् ।

    पछिल्लो समय पाँचतारे होटेलमा व्यवसायीको आकर्षण बढेको छ । फागुन २०७५ मा बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजा पाँचतारे मान्यता पाएयता ४ वटा होटेलले पाँचतारे मान्यता पाइसकेका छन् ।

    यसबीचमा नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियर र काठमाडौं मेरियट होटेलले पाँचतारे मान्यता प्राप्त गरे ।

    नेपालमा खुलेका पाँचतारे होटेलमध्ये १० राजधानीमा र पाँच होटेल उपत्यका बाहिर छन् ।

    उपत्यका बाहिर सोल्टी वेस्टेन्ड प्रिमियर, भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट, बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजा, पोखराको न्ड होटेल र द फूलबारी रिसोर्टले पाँचतारे मान्यता पाए ।

  • १२ हजार भूकम्प पिडितले एकमुष्ट ३ लाख पाउने

    १२ हजार भूकम्प पिडितले एकमुष्ट ३ लाख पाउने

    काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्राविधिक गाउँमा खटिनु अगाडी नै घर निर्माण गरेका करीव १२ हजार भूकम्पपिडित परिवारलाई एकमुष्ट तीन लाख रुपैयाँ दिने भएको छ ।

    प्राधिकरणले भूकम्पपिडितका लागि बनाइएका घरको निरिक्षण गर्न प्राविधिक खटिनुपूर्व नै निर्माण भएका घर धनीले एकमुष्ट ३ लाख अनुदान पाउने गरी कार्यविधि बनाएको छ ।

    प्राधिकरण कार्यकारी समितिको मंगलबारको बैठकले प्राविधिक खटिनु अगाडी नै घर बनाएका भूकम्पपिडितलाई निजी आवास पुनर्निर्माण अनुदान दिने सम्बन्धी कार्यविधि पारित गरेको प्राधिकरणले उल्लेख गरेको छ ।

    अब द्रूत गतिमा अनुदान वितरण हुने प्राधिकरणका सीइओ सुशील ज्ञवालीले जानकारी दिए ।

    कार्यविधि अनुसार अनुदान प्राप्त गर्न प्राधिकरणले प्राविधिक परिचालन गर्नुपूर्व नै उक्त घर पुनर्निर्माण भएको हुनुपर्ने र त्यस घरमा लाभग्राही बसिरहेको भनी स्थानीय तहले प्रमाणित गरिदिनुपर्छ ।

    प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार ४ लाख ७४ हजार लाभग्राहीले तेस्रो किस्ता लिएका छन् भने ४ लाख २३ हजार घर पुनर्निर्माण सम्पन्न भइसकेका छन् ।

    २ लाख ११ हजार घर पुनर्निर्माण भइरहेका छन् । प्राविधिक खटिनपुर्व करीव १२ हजार घर बनेको तथ्यांक प्राधिकरणसँग रहेको छ ।

    थप तथ्यांक आउने क्रम जारी नै रहेको र त्यसलाई पनि समावेश गरेर एकमुष्ट अनुदान उपलब्ध गराउने प्राधिकरणले उल्लेख गरेको छ ।

  • अब काठमाडौं उपत्यकामा साझा यातायातका विद्युतीय बस

    अब काठमाडौं उपत्यकामा साझा यातायातका विद्युतीय बस

    काठमाडौं । महानगरपालिका, प्रदेश सरकार र साझा यातायातको संयुक्त लगानीमा काठमाडौं उपत्यकासहितका शहरी क्षेत्रमा विद्युतीय सार्वजनिक बस चल्ने भएको छ ।

    यी तीन निकायबीच पहिलो चरणमा ३० वटा विद्युतीय बस खरीद गरी चलाउने सम्झौता भएको छ । यी बसको मूल्य ४५ करोड हुनेछ । यस अभियानमा प्रदेश ३ सरकार समेत जोडिएको छ ।

    अब त्रिपक्षीय लगानीमा साझा यातायातको ब्राण्डमा विद्युतीय बस गुड्ने पक्का भएको हो । सोमबार प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायातबीच विद्युतीय बस चलाउने सम्बन्धमा सम्झौता भयो ।

    प्रदेश ३ सरकारको ३० करोड लगानी
    काठमाडौं उपत्यकामा विद्युतीय बस संचालनलाई प्रदेश ३ सरकारले प्राथमिकता दिएको छ । उसले यक्लै ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

    काठमाडौं र ललितपुर महानगरपालिकाले क्रमशः १० करोड र २ करोड ५० लाख लगानी गर्ने भएका छन् । साझाले २ करोड ५० लाख रुपैयाँ लगानी गर्ने गरी सम्झौता भएको हो ।

    सम्झौता भएसँगै अब बस खरीदको प्रक्रिया थाल्ने साझा यातायातको तयारी छ । विद्युतीय बस काठमाडौं उपत्यकासहित प्रदेश तीनका मूख्य शहरसम्म चलाउने गरी सहमति भएको छ । यद्दपी रुट निर्धारण भने बाँकि रहेको छ ।

  • नेपाल एयरलाइन्स ६२ औं वर्षमा, जति पुरानो उत्ति धेरै ऋण

    नेपाल एयरलाइन्स ६२ औं वर्षमा, जति पुरानो उत्ति धेरै ऋण

    काठमाडौं । नेपाल वायुसेवा निगमले सोमबार स्थापनाको ६१ औं वार्षिकोत्सव मनाएको छ । ६१ वर्ष पुरानो गौरव बोकेपछि निगमले आफ्नो साँखलाई भने निरन्तरता दिन सकेको छैन ।

    सोमबार राजधानीमा आयोजित कार्यक्रममा निगमको अहिले करीव ३७ अर्ब हाराहारी ऋण रहेको जानकारी दिइयो । यो ऋण निगमले जहाज किन्दा लागेको हो ।

    तर, जहाज आइसकेपछि निगमले योजनाअनुसार उडाउन नसक्दा अहिले जहाजहरु घाटामा संचालन भइरहेको निगममा कार्यकारी अध्यक्ष मदन खरेल स्वीकार गर्छन् ।

    उनका अनुसार निगमले आगामी अगष्टमा मात्र नयाँ गन्तब्य थप्दैछ । नयाँ गन्तब्यका रुपमा जापानको नारितामा उडान बिस्तारको योजना छ ।

    यसबाहेक चीनको ग्वान्झाउ, साउदी अरेवीया र कोरियामा पनि उडान बिस्तारका लागि कागजी प्रक्रिया मिलाउने काम भइरहेको छ ।

    कुनै समय दुई दर्जन जहाजका साथ यूरोप र एसियाका विभिन्न विकसित मुलुकसम्म उडान गरेको निगमलाई राजनीतिक दलका कार्यक्रता भर्ति केन्द्रको थलो बनाउँदा अहिले टाट पल्टने अवस्थामा पुगेको छ ।

    यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले निगमलाई व्यापारमा फड्को मार्ने गरी व्यापारिक कार्ययोजना ल्याउन आग्रह गरेका छन् ।

    निगमले नेपाल सरकारसँग पूँजीवृद्धिका रुपमा २० अर्ब रुपैयाँ मागिरहेको छ । तर, प्रधानमन्त्रीले यथास्थितिमा एक रुपैयाँ पनि निगमलाई दिन नसकिने स्पष्ट पारेका छन् ।

    वर्तमान व्यवस्थापनको शैलीबाट आफु असन्तुष्ट रहेको भन्दै आमुल परिवर्तन हुने गरी कार्ययोजना ल्याउन पनि उनले आग्रह गरे ।

  • त्रिभुवन विमानस्थल २१ घण्टा खुल्दै

    त्रिभुवन विमानस्थल २१ घण्टा खुल्दै

    काठमाडौं । धावनमार्गको पीच उप्काएर नयाँ बनाउने काम शुरु भएपछि दैनिक १० घण्टा बन्द भएको त्रिभुवन विमानस्थल सोमबारदेखि २१ घण्टा खुल्ने भएको छ ।

    विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार यो आयोजना निर्धारित समयमै सम्पन्न भएको छ ।

    १८ चैतबाट शुरु भएको काम तीन ७० दिनमा सक्ने लक्ष्य लिइएको थियो । ३०५० मिटर लामो धावनमार्गको पीच पुरै उप्काएर नयाँ बनाइएको हो ।

    अब विमानस्थल दैनिक राती ३ बजेसम्म संचालनमा हुनेछ । बिहान ६ बजेबाट पुनः सेवा शुरु हुनेछ । स्वर्गिय पर्यटन मन्त्री रवीन्द्र अधिकारीले यो विमानस्थल २१ घण्टा संचालनको वातावरण बनाएका थिए ।

    त्यसपछि हवाइ उडानकाृ चाप निकै हदसम्म व्यवस्थापन भएको थियो । महाप्रवन्धक क्षेत्रीका अनुसार धावनमार्गको पीच नयाँ बनाउने काम सकिएपछि ट्याक्सी वेको काम भने बाँकि छ ।

    त्यो काम अब वर्षा सकिएपछि अर्थातः सेप्टेम्बरमा मात्र शुरु हुनेछ । त्यस समयमा भने पुनः विमास्थलको संचालन अवधि घटाइने छ ।

    त्रिभुवन विमानस्थल नेपालको एक मात्र अन्तरराष्टिय विमानस्थल हो । जहाँबाट दैनिक औसतः ४ सय हाराहारी उडान र अवतरण हुने गर्छन् ।

  • खडेरीको मारमा कृषक, मध्य असारमा पनि रोपाईंको चटारो छैन

    खडेरीको मारमा कृषक, मध्य असारमा पनि रोपाईंको चटारो छैन

    काठमाडौं । आइतबार नेपालमा धान दिवस मनाइदैछ । सरकारले हरेक वर्ष १५ असारलाई धान दिवस घोषणा गरेअनुसार यस दिन विविध कार्यक्रम आयोजना गरिन्छन् ।

    मध्य असारमा रोपाईमा व्यस्त हुने नेपाली कृषक यस सिजनमा भने खडेरीको मारमा परेका छन् । नेपालका अधिकांश स्थानमा वर्षातको पानी राम्रोसँग नपर्दा रोपाई नै हन नसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जानकारी दिएको छ ।

    १५ असारमा धान दिवसको अवसर पारी यस पटक बर्दियामा विशेष कार्यक्रम आयोजना हुदैछ । धानखेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण भन्ने नारासहित यस पटकको धान दिवस मनाउन लागिएको मन्त्रालयको भनाई छ ।

    मन्त्रालयका अनुसार नेपालमा धान रोपाई हुने करीव ६३ प्रतिशत जमिनमा सिञ्चाई सुविधा पुगेको छैन । सिञ्चाई सुविधा पुगेको जमिनमा पनि पहाडी भगमा खहरे खोलाको कुलो लाग्ने गर्छ ।

    मनसुन पर्याप्त नहुँदा अहिले मुल पलाएका छैनन् । मुल नपलाउँदा खहरे खोलामा समेत पानीको वहाव बढ्न सकेको छैन । यसबाट कृषक प्रत्यक्ष प्रभावित भइरहेका छन् ।
    नेपालमा करीव १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर जमिनमा रोपाई हुने तथ्यांक छ ।

    नेपालमा धान उत्पादनले कूल गार्हस्थ उत्पादन मै प्रभाव पार्छ । किनकी जीडीपीको कृषितर्फको हिस्सामा धानको मात्र हिस्सा ११ प्रतिशत रहेको छ । सरकारले आर्थिक वृद्धिको लेखाजोखा गर्दा पनि धानको उत्पादनलाई प्रमुख सूचकांक मान्ने गर्छ ।

    नेपाल भित्रै ठूलो परिणाममा धान उत्पादन भए पनि त्यसको उचित व्यवस्थापन हुन नसक्दा नेपालले ठूलो मूल्य तिरेर चामल आयात गरिरहेको छ ।

  • नेपाल एयरलाइन्सको इन्जिनियरिङ अब नेपालीबाटै

    नेपाल एयरलाइन्सको इन्जिनियरिङ अब नेपालीबाटै

    काठमाडौं । नेपाल एयरलाइन्सका सबै जहाजको इन्जिनियरिङ कार्य अब नेपाली प्राविधिक बाट हुने भएको छ ।

    वाइडबडी जहाज ए ३३० को ‘लाइन मर्मत’देखि वाई १२, एमए ६० सम्मका सबै जहाजको मर्मतसमेत निगमकै इन्जिनियरबाट हुने भएको निगमले शुक्रबार विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले  नेवानिलाई ‘पार्ट १४५’ को स्वीकृति दिएको छ । यो स्वीकृति जहाजको मर्मत सम्भार गर्ने संस्थालाई दिइने प्राविधिक स्वीकृति हो ।

    यससँगै अब वाइडबडी जहाज ए ३३० को लाइन मर्मत गरी जहाजलाई उडानयोग्य घोषणा गर्ने काम नेपालीले नै गर्नेछन् ।

    जहाज एप्रोन एरियामा आइसकेपछि हरेक पटकको उडान, अवतरणका क्रममा इन्जिनियरले चेक जाँच गरी उडानको स्वीकृति दिनुपर्छ । अहिले यो काम संयुक्त अधिराज्यको बीसीटी कम्पनीले गरिरहेको निगमले उल्लेख गरेको छ ।

  • निजगढ विमानस्थल बनाउन रुख कटान आदेश देउ : समिति

    निजगढ विमानस्थल बनाउन रुख कटान आदेश देउ : समिति

    काठमाडौं । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले वन तथा वातावरण मन्त्रालयलाई निजगढमा निर्माण हुने दोस्रो अन्तरराष्ट्रिय विमानस्थल आयोजनामा रुख कटान आदेश दिन निर्देशन जारी गरेको छ ।

    समितिको शुक्रबार बसेको बैठकले मन्त्रालयलाई उक्त आयोजनामा काट्नु पर्ने रुखका लागि रुख कटान आदेश दिन निर्देशन दिएको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाका अनुसार रुख कटान आदेश अहिले वन मन्त्रालयमा पुगेर अड्किएको छ ।

    वन मन्त्रालयले रुख कटान आदेश मन्त्रीपरिषद्मा लगेर पास गराएपछि मात्र उक्त आयोजनामा काट्नु पर्ने रुख काट्ने अनुमति प्राप्त हुन्छ ।

    त्यसपछि मात्र साइट क्लियरेन्सको काम शुरु हुन्छ । यस आयोजनामा साइट क्लियरेन्सको काम नेपाली सेनाले गर्ने गरी जिम्मेवारी पाइसकेको छ ।

    निजगढ विमानस्थलका लागि पहिलो चरणमा करीव ७ लाख रुख काट्नु पर्ने र त्यसमध्ये ५ लाख हाराहारी पोथ्रा र कुकाठ रहेको प्राधिकरणको भनाई छ ।
    समितिले पर्यटन मन्त्रालय र प्राधिकरणलाई यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर काम अगाडी बढाउन पनि निर्देशन दिएको छ ।

    निर्माणको मोडालिटी नबनेका कारण सरकारले तत्काल मोडालिटी तय गरी स्रोतको जोहो थाल्न समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

    यो आयोजना कुन मोडेलमा कसरी बनाउने भन्ने टुंगो लाग्न नसक्दा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल आयोजना अलपत्र अवस्थामा छ ।

  • नेपालमा श्रम तथा रोजगार सम्मेलन हुँदै

    नेपालमा श्रम तथा रोजगार सम्मेलन हुँदै

    काठमाडौं । नेपालमा पहिलो पटक श्रम तथा रोजगार सम्मेलन आयोजना हुने भएको छ । सरकारले पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको छ ।

    मुलुकभित्र स्वस्थ श्रम सम्बन्ध बनाएर स्वदेशमै रोजगारीका सम्भावना खोज्ने उद्देश्यले पहिलो पटक यस्तो सम्मलेन आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

    असार १५ र १६ गते काठमाडौंमा आयोजना हुने सम्मेलन नेपाली श्रम बजारमा रोजगारीको सम्भावना, माग र आपूर्तिको विश्लेषण गर्न फलदायी हुने अपेक्षा सरकारको छ ।

    मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीका अनुसार रोजगारी सिर्जना गर्न सक्ने सम्भावना बोकेका क्षेत्रमा युवाको आकर्षण बढाई दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यअनुसार सम्मेलन आयोजना गरिएको हो ।

    सम्मेलनले देशमा आवश्यक श्रम नीति, योजना र कार्यक्रम तयार पार्न समेत सहयोग गर्ने उनले उल्लेख गरे ।

    सम्मेलनका दौरान जलविद्युत्, सडक, सिँचाइ, खेलकूद, अन्य पूर्वाधारलगायत निर्माण क्षेत्र, साना उद्योग, हस्तकला, जडीबुटी र प्रशोधन उद्योगलगायत घरेलु तथा साना उद्योग, सूचना प्रविधि, सेवा क्षेत्रमा रोजगारीकास सम्भावना र आवश्यक नीतिगत व्यवस्था सम्बन्धमा छलफलको तयारी रहेको छ ।

    सम्मेलनमा सरकारी सरोकारवाला निकायका अधिकारी, नेता, स्थानीय तहका जनप्रतिनिधि, विषयगत विज्ञ विशेषज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, रोजगारदता, तालीम प्रदायक संस्था, नमूना उद्यमी, सहकारी, मजदूर सङ्गठनलगायतबाट प्रतिनिधित्व हुने कार्यक्रममा जानकारी दिइयो ।

    सरकारले पछिल्लो समय स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ल्याएको कार्यक्रममा बनेटको व्यापक दोहन भइरहेको भन्दै आलोचना भइरहेका सन्दर्भमा सरकारले रोजगारी सम्मेलन आयोजना गर्न लागेको हो ।

  • जथाभावी सवारी पार्किङ गर्ने विरुद्ध प्रहरी कारवाही तिब्र

    जथाभावी सवारी पार्किङ गर्ने विरुद्ध प्रहरी कारवाही तिब्र

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमा जथाभावी पार्किङ गरी सवारी जाम बढाउन भूमिका खेल्ने चालकविरुद्ध कारवाही तिब्र बनाएको छ ।

    प्रहरीले ठूलाबडा र कानून पालना गराउने व्यक्तिहरुका समेत गाडीमा लक लगाउँदै अहिले कारवाहीलाई तिब्र बनाएको हो ।

    प्रहरीले पछिल्लो ८ महिनामा निषेधित क्षेत्रमा सवारी पार्क गरि राखेका ५ हजार सवारी साधनलाई कारवाही गरेको जानकारी दिएको छ ।

    कारवाहीमा पर्ने अधिकांश निजी सवारी साधनका चालक छन् । सामान्यतया निजी सवारी साधन चालक चढेलेखेका, कामकाजी र शिक्षित वर्ग मानिन्छन् ।

    नेपालमा कानून उल्लंघन गर्नेमा उनीहरु नै अगाडी रहेको तथ्यांक छ । निजी प्रयोजनका कार, जिप, मोटरसाइकलले बढी नियम उल्लंघन गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

    सरकारले बाटो बिस्तार गर्दा सर्वसाधारणका घर भत्काएको थियो । घर भत्काएर बिस्तार गरेको बाटोमा धनीमनी मानिसले सवारी पार्क गरेर राखेपछि सर्वसाधारण आक्रोसित हुँदै आएका छन् ।

    जनताबाट व्यापक गुनासो आएपछि निषेधित क्षेत्रमा पार्किङ गर्ने सवारी चालक विरुद्ध कारवाही तिब्र बनाएको प्रहरीको भनाई छ ।

    पछिल्लो समय सर्वसाधारणले जथाभावि पार्किङ गरेका र ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनको फोटो, भिडियो खिचेर समेत प्रहरीलाई दिने गरेका छन् । यसबाट पनि कारवाही गर्न सहयोग पुगेको प्रहरीको भनाई छ ।

  • बालुवाटार जग्गा प्रकरण : अख्तियारले ८६ जनाको बयान लिने

    बालुवाटार जग्गा प्रकरण : अख्तियारले ८६ जनाको बयान लिने

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको २९९ रोपनी जग्गा अनियमितता काण्डमा छानविन थालेको छ ।

    यसैक्रममा अख्तियारले यस काण्डमा मुछिएका तीन परिवारसहित ८६ जनालाई बयान दिन अख्तियार बोलाएको छ।

    बुधबार सार्वजनिक सूचना जारी गर्दै उनीहरुलाई अख्तियारले बयानका लागि बोलाएको हो ।

    यस काण्डमा मुछिएका सबै सात दिन भित्र अख्तियार पुगी बयान दिनु पर्ने भएको छ ।

    सूचना अनुसार भाटभटेनीका संचालक मीनबहादुर गुरुङका छोरा कल्याण गुरुङ पनि अख्तियारले बोलाएको सूचिमा रहेका छन् ।

  • पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दूर्घटनाको प्रतिवेदन बुझाइयो

    पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दूर्घटनाको प्रतिवेदन बुझाइयो

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दूर्घटना छानविन आयोगले प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाएको छ ।

    बुधबार आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री धनबहादुर बुढा समक्ष प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अनुसार दूर्घटनाको मूख्य कारण खराब मौसम मानिएको छ ।

    १५ फागुन २०७५ मा पाथिभराबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर दूर्घटनामा परी पर्यटन मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो ।

    खराब मौसमका बीच पाथिभरा पुगेको हेलिकोप्टर पाथिभराबाट पनि मौसम खुल्ने आशमा बसेको थियो । थोरै समय मौसम सफा भएको मौका पारेर उडेको हेलिकोप्टरलाई अकस्मात आएको हिउँसहितको तिब्र वेगको हावाले अनियन्त्रित बनाउँदा हेलिकोप्टर दूर्घटनामा परेको आयोगको निष्कर्ष छ ।

    आयोगले यसमा मानवीय भन्दा कठिन भौगोलिक परिस्थितिमा अकस्मात परिवर्तन भएको मौसमले असर पारेका कारण दूर्घटना भएको निचोड आयोगले निकालेको छ ।

    एयर डाइनेस्टीको ‘९एन–एएमआई–एसएस३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा पाइलटमाथि कुनै प्रकारको दवाव नरहेको र हेलिकोप्टरको प्राविधिक पक्ष पनि राम्रो रहेको बताइएको छ ।

    मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै आयोगले छानविनका क्रममा प्राविधिक तथा व्यवस्थापन पक्षका पदाधिकारीसँगको छलफल, दुर्घटनास्थलको स्थलगत अध्ययन, मौसमको अवस्था विश्लेषण, चालकको मानसिक, सामाजिक, आर्थिक तथा पारिवारिक अवस्थाको विश्लेषणसमेत गरेको उल्लेख गरेको छ ।

    रम्भीक प्रतिवेदनलाई दुई महिनासम्म हेलिकोप्टर निर्माता मुलुक तथा सरोकारवाला निकायमा पठाउने र त्यहाबाट आउने राय सुझाव राय सुझाव समेटेर विस्तृत प्रतिवेदन बनाउने प्रावधान रहेको छ ।

    दूर्घटनामा परी पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

    नेपालको हवाई इतिहासमा यस दूर्घटनाले महत्वपूर्ण क्षति पुगेकोथियो ।

  • आयो स्थानीय तहको बजेट, सबै तहको बजेट ल्याउने सीमा सकियो

    आयो स्थानीय तहको बजेट, सबै तहको बजेट ल्याउने सीमा सकियो

    काठमाडौं । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले तोकेको आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउने सीमा मंगलबारबाट सकिएको छ ।

    ऐनको प्रावधान अनुसार संघले १५ जेठमा बजेट ल्याइसक्नु पर्छ । प्रदेशले १ असार र स्थानीय सरकारहरुले १० असारभित्र बजेट आफ्नो व्यवस्थापिकामा प्रस्तुत गरिसक्नु पर्ने प्रावधान रहेको छ ।

    सोहीबमोजिम ६ महानगरपालिकासहित देशभरका अधिकांश स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् ।

    यद्दपी कुन स्थानीय तहमा कति रकम बराबरको बजेट आयो या कुन स्थानीय तहको बजेट सार्वजनिक नै हुन सकेन भन्नेबारे भने एकिकृत तथ्यांक उपलब्ध छैन ।

    देशभर रहेका ६ वटा महानगरमध्ये वीरगन्ज महानगरपालिकाले सोमबार नै बजेट सार्वजनिक गरेको थियो । उक्त महानगरपालिकाले चालु आवको तुलनामा बजेट घटाएर सार्वजनिक गरेको हो ।

    अन्य महानगरपालिकाले भने मंगलबार नै बजेट सार्वजनिक गरे । बुटवल, हेटौडा, धरानलगायत उपमहानरपालिकाले मंगलबार नै बजेट सार्वजनिक गरेका छन् ।

    तथ्यांक अनुसार ६ वटा महानगरपालिकामा मात्र कूल ३९ अर्ब ६६ करोड ९४ लाख रुपैयाँको बजेट आएको छ । चालु आवमा महानगरपालिकाको बजेट ३७ अर्ब ४६ करोड २५ लाख रुपैयाँ रहेको छ ।

    महानगरहरुमध्ये सबैभन्दा धेरै बजेट काठमाडौंमा छ । काठमाडौंले १५ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ ।

    पोखराले ७ अर्ब ५४ लाख रुपैयाँको बजेट ल्याएको छ । विराटनगर महानगरपालिकाले ५ अर्ब १२ करोड ३० लाख, ललितपुर महानगरपालिकाले ५ अर्ब १७ करोड ९६ लाख, वीरगन्ज महानगरपालिकाले ४ अर्ब ४८ करोड १३ लाख र भरतपुर महानरपालिकाले ३ अर्ब ३७ करोड ३१ लाख रुपैयाँको बजेट ल्याएका छन् ।

    स्थानीय तहको बजेटमा भौतिक पूर्वाधार विकास प्राथमिकतामा रहेको देखिन्छ । खासगरी ठूलो बजेट ओगट्ने महानगरपालिकाहरुले भौतिक पूर्वाधार शिर्षकका कार्यक्रममा उल्लेख्य रकम विनियोजन गर्दै बजेट ल्याएका छन् ।

  • कोरियन चेन रेष्टुरेन्ट ब्राण्ड लोट्टे अब नेपालमा पनि

    कोरियन चेन रेष्टुरेन्ट ब्राण्ड लोट्टे अब नेपालमा पनि

    काठमाडौं । नेपालमा अब लोट्टेरियाको स्वाद चाख्न पाइने भएको छ । कोरियाको फ्रेन्चाइज रेष्टुरेन्ट ब्राण्ड लोट्टेले नेपालमा सेवा बिस्तारका लागि नेपाली कम्पनी हिमालय एनकेसँग व्यवसायिक साझेदारी गरेको छ ।

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवको उपस्थितिमा लोट्टे ग्रुपका ग्लोबल सीइओ नाम इक उ र हिमालय एनकेका अध्यक्ष कुँवरले व्यवसायीक सम्झौतामा हस्ताक्षर गरे ।

    गैरआवासीय नेपालीको पहलमा कोरियाको सबैभन्दा ठूलो चेन ब्राण्ड लोट्टे ग्रुप नेपालमा भित्रन लागेको हो । लोट्टेले कोरियामा १३ सयसहित आधा दर्जन मुलुकमा १६ सय रेष्टुरेन्ट संचालन गरिरहेको कार्यक्रममा जानकाारी दिइयो ।

    नेपाली कम्पनी हिमालय एनकेका संचालक विनोद कुँवर गैरआवासीय नेपाली हुन् । उनले कोरियामा पनि रेष्टुरेन्ट व्यवसाय गर्छन् । नेपालमा उनको जलविद्युतसहित अन्य क्षेत्रमा समेत लगानी बिस्तार गरिरहेका छन् ।

    लोट्टेरियाको चिकेन र बर्गर विश्वप्रख्यात मानिन्छ । सम्झौताका लागि लोट्टे ग्रुपका ग्लोवल सीइओ इक उ अहिले नेपाल आएका छन् ।

    सम्झौता कार्यक्रममा मन्त्री यादवले विदेशी आकर्षित गर्न सरकारले वातावरण बनाइरहेको बताए । हिमालय एनकेका अध्यक्ष विनोद कुँवरले भिजिट नेपाल २०२० लाई लक्षित गरी नेपालमा कोरियन ब्राण्ड भित्राउन लागिएको बताए ।

    लोट्टेरिया सन् १९७९ मा स्थापना भएको हो । ग्रुपले भियतनाम, म्यानमार, इण्डोनेसिया, कम्बोडिया, काजकिस्तान, मंगोलिया र लाओसमा फ्रेन्चाइज रेन्टुरेन्ट संचालन गरिरहेको छ । तीन देशमा करीव ३ सय रेष्टुरेन्ट लोट्टेरियाको छातामुनी संचालनमा छन् ।

  • भन्सारका नासुसँग दुई करोड अकुत सम्पत्ति

    भन्सारका नासुसँग दुई करोड अकुत सम्पत्ति

    काठमाडौं । अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भन्सारका नायव सुब्बा रामप्रसाद भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ ।

    कंचनपुर भन्सार कार्यालयमा कार्यरत भट्टराईविरुद्ध दुई करोडभन्दा बढी स्रोत नखुलेको रकम रहेको अख्तियारको दावि छ ।

    आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीसँग रहेको २ करोड ८ हजार ५ सय ४० रुपैयाँको स्रोत खुलेको छैन ।

    सरकारीमा जागिरमा लागेपछि उनले बैधरुपमा १ करोड १४ लाख ९१ हजार रुपैयाँ बैध रुपमा कमाएका थिए । तर, अन्य रकमको भने उनले स्रोत खुलाउन नसकेको अख्तियारको दावि रहेको छ ।

    उनीसँग अहिले रहेको ३ करोड १४ लाख ९१ हजार ६ सय ९१ रुपैयाँमध्ये दुई करोड अवैध रहेको अख्तियारको भनाई रहेको छ । उनी गत वर्ष साउनमा १० हजार घुस लिदालिदै अख्तियार टोलीबाट रंगेहात पक्राउ परेका थिए ।

    आयोगले सोमबार अन्य तीन कसुरमा समेत मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार नेपाल प्रहरीका इन्सपेक्टर, मालपोतका नासु, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको हो ।

    दुई साता अगाडी घुससहित पक्राउ परेका प्रहरी इन्सपेक्टर केशव बस्नेत, मालपोत कार्यालय चावहिलका नासु चन्द्रबहादुर श्रेष्ठ विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

  • २४ सै घण्टा उज्यालो बन्दैछन् काठमाडौंका चोक

    २४ सै घण्टा उज्यालो बन्दैछन् काठमाडौंका चोक

    काठमाडौं । नेपालको राजधानी काठमाडौं क्रमशः रात्रीकालिन समयमा पनि सक्रिय हुने क्रममा छ ।

    सरकारले रात्रिकालिन बस संचालनको तयारी गरिरहेको समयमा अब महानगरपालिकाले मुख्यमुख्य चोकमा ठूलो क्षमताका बत्ति जडान गर्दैछ । हाइमास्ट भनिने यस्ता बत्तिले एक साथ धेरै क्षेत्रमा उज्यालो छर्न सक्ने क्षमता राख्छन् ।

    काठमाडौंका मूख्य सडक र चोकमा अहिले सानो क्षमताका बत्ति जडान भइसकेका छन् । तर, रात्रिकालिन समयमा पनि सजिलै हिडडुल, व्यापार व्यवसाय समेत गर्न मिल्ने गरी ठूलो क्षमताका बत्ति जडान गर्न लागिएको महानगरपालिकाले जानकारी दिएको छ ।

    सामान्य बत्तीको तुलनामा हाइमास्टले एक साथ धेरै क्षेत्रमा उज्यालो पार्न सक्छ । पहिलो चरणमा सवारी चाप बढी भएका करीव दुई दर्जन चोकमा यस्तो बत्ति जडान गर्ने तयारी महानगरपालिकाको रहेका छ ।

    बत्ति जडान गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइरहेको महानगरको भनाई । उक्त प्रतिवेदनका आधारमा जडान कार्य अगाडी बढ्ने बताइएको छ ।

    काठमाडौंका बानेश्वर, त्रिपुरेश्वर, महाराजगञ्ज, कोटेश्वर, माइतीघर, चावहिलजस्ता चोकमा यस्ता बत्ति जडान हुने भएका छन् ।

    उता, ललितपुर महानगरपालिकाले भने कुपण्डोलदेखि मंगलबजारसम्म साइकल लेन बनाउने तयारी गरिरहेको छ । शहरलाई स्वच्छ राख्दै साइकल प्रवद्र्धन गर्न यस्तो तयारी भइरहेको महानगरपालिकाको भनाई रहेको छ ।

  • २४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द

    २४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द

    काठमाडौं । टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टाका लागि नेपालमा विदेशी च्यानलको प्रसारणमा बन्देज लगाएका छन् । सोमबार दिउसो ३ बजेबाट विदेशी च्यानल बन्द गरिएको हो ।

    जसले गर्दा सोमबार भइरहेका विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारणसहित अन्य लोकप्रिय कार्यक्रम दर्शकले छुटाउने भएका छन् ।

    सरकारले प्रस्तावित विज्ञापन ऐन २०७६ मा क्लिन फिड लागू गर्ने नीति राखेको छ । व्यवसायी यसको विरोधमा छन् ।

    क्लिन फिडले पर्ने असरका सम्बन्धमा सरोकारवालाको ध्यानाकर्षण गराउन विदेशी च्यानल बन्द गरिएको व्यवसायीहरुले बताएका छन् । २४ घण्टे च्यानल बन्दलाई सांकेतिक विरोधका रुपमा लिइएको छ ।

    विधेयकमा विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान अव्यवहारिक भएको व्यवसायीहरुको तर्क रहेको छ ।

    नेपालमा प्रसारण हुने सबै च्यानलमा अहिले सिधै सामग्रीसहित विज्ञापन पनि प्रसारण हुन्छ । जसले गर्दा नेपाली दर्शकले जबजस्र्र्ती भारतीय तथा अन्य विदेशी उत्पादनको विज्ञापन हेर्नु परेको छ ।

    क्लिन फिड लागु गर्दा नेपालबाट विज्ञापनका लागि बाहिरिने ठूलो रकम बच्ने छ भने बहुराष्टिय कम्पनीहरुले पनि नेपालमै नेपाली भाषामा विज्ञापन बनाएर जाउनु पर्ने छ । च्यानलहरु मंगलबार ३ बजेपछि मात्र खुल्नेछन् ।

    नेपालमा प्रसारण हुने कूल च्यानलमध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी छन् ।

    भारतीय च्यानलमा क्लिन फिड लागु भएमा त्यसका लागि भारतीय च्यानलहरु पनि तयार हुनुपर्छ । उनीहरु तयार नभए नेपालमा त्यस्ता च्यानलको प्रसारण बन्द हुन्छ ।

    त्यस अवस्थामा नेपालमा दर्शकले मनरोञ्जनात्मक, समाचार, सूचना र खेलकुद, धार्मिकलगायतका विधाका च्यानल हेर्न नपाउने व्यवसायीहरुको भनाई रहेको छ ।

  • नेपालमा कति दिन बस्छन् पर्यटक ?

    नेपालमा कति दिन बस्छन् पर्यटक ?

    काठमाडौं । संसारकै सुन्दर मुलुकमध्ये एक नेपाल पर्यटन बजारमा बिस्तारै आफ्नो उपस्थिति देखाउने क्रममा छ । सन् २०१८ मा इतिहासमै सबैभन्दा धेरै पर्यटक नेपाल आए ।

    यस वर्ष यस वर्ष ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल आएको सरकारको तथ्यांक छ । पर्यटक आगमन बढेपनि पर्यटनका माध्यमबाट हुने आयले नेपाली अर्थतन्त्रमा त्यति धेरै प्रभाव पार्न सकेको छैन ।

    यसको मुल कारण नेपालमा पर्यटकले खर्च गर्ने पर्यटकीय उत्पादन नहुनु पनि हो । त्यसकारण यहाँ आउने पर्यटकको बसाई अवधि पनि छोटो हुन्छ ।

    तर, पर्वतारोहण र पदयात्रामा आउने सिमित पर्यटकका कारण पनि बसाई अवधि लामो देखिने गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०१८ को समग्र पर्यटन तथ्यांक सार्वजनिक गरेको छ ।

    तथ्यांक अनुसार नेपाल आउने पर्यटक औसतः १२.४ दिन मात्र नेपालमा बस्ने गर्छ । पर्वतारोहण र पदयात्राका लागि आउने करीव पौनो दुई लाख पर्यटकका कारण नै औसतः बसाई अवधि धेरै देखिएको हो ।

    किनकी उक्त प्रयोजनमा आउने पर्यटकको बसाई औसतः १५ दिनदेखि ४० दिनसम्म पनि पुग्ने गर्छ । तर, भारतीय, चिनियाँ तथा धार्मिक, मनोरन्जन र बिदा मनाउन आउने पर्यटक भने लामो समय नेपालमा बिताउने गरी यहाँ पर्यटकीय उत्पादन विकास भइसकेका छैनन् ।

    सन् २०१७ मा औसत १२.६ दिन पर्यटक नेपाल बसेका थिए । सन् २०१६ मा १३.४ र सन् २०१५ मा १३.१६ दिन पर्यटक नेपालमा बसेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    सन् २०१८ मा बिदा मनाउने र मनोरञ्जनको उद्देश्यले नेपाल आउने पर्यटक ७ लाख ३ हजार ८ सय ४३ जना थिए । उक्त बर्ष धार्मिक पर्यटक १ लाख ८७ हजार ६ सय ९२ थिए ।

    पदयात्रा र पर्वतारोहणमा आउने पर्यटकको संख्या १ लाख ६९ हजार १ सय ८० थियो ।

    पछिल्लो ५ वर्षमा पर्यटकको बसाई अवधि

    सन् २०१४ :  १२.४४ दिन

    सन् २०१५ : १३.१६ दिन

    सन् १०१६ : १३. ४ दिन

    सन् २०१७ :  १२.६ दिन

    सन् २०१८ : १२.४ दिन

  • आन्दोलनको नेतृत्व गर्ने कर्मचारीका नेतालाई हायात होटेलको कारवाही

    आन्दोलनको नेतृत्व गर्ने कर्मचारीका नेतालाई हायात होटेलको कारवाही

    काठमाडौं । हायात होटेलमा आन्दोलन चर्काएर होटेल नै ठप्प पार्ने कामको नेतृत्व गरेका र होटेलको पनि उच्च तहमा रहेर काम गरिरहेका कर्मचारीलाई व्यवस्थापनले कारवाही गरेको छ ।

    काठमाडौंको पाँचतारे होटल हायातमा कर्मचारी आन्दोलन चर्किएपछि अघिल्लो साता १ हप्तासम्म सेवा ठप्प भएको थियो ।

    आन्दोलन उक्काउन भुमिका खेलेको भन्दै होटल व्यवस्थापनले नेतृत्वमा रहेकामध्ये तीन जनालाई निलम्बन गरेको मजदुर स्रोतले जानकारी दिएको छ ।
    व्यवस्थापनले होटलकोआधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहाल, नेपाल स्वतन्त्र होटल मजदुर युनियनका अध्यक्ष हेमबहादुर पण्डित, संघका कोषाध्यक्ष पुष्कर पोखरेललाई निलम्बन गरेको जनकारी दिएको छ ।

    ट्रेड युनियनमा आबद्ध विजयकुमार खत्री, शालिकराम सापकोटा, रमेश अधिकारी, शिवराम पुडासैनी, दुर्गा महत र रबेलसम्बा लामालाई सात दिने स्पष्टिकरण सोधेको छ ।

    गत साता होटलमा कार्यरत मजदुरले सम्मानजनक काम गर्ने वातावरण, निरन्तर सेवा सुविधा पाउनु पर्ने माग गर्दै होटेलमा आन्दोलन चर्काएका थिए । त्यसपछि व्यवस्थापनले होटल बन्द गरेको थियो।

    श्रम कार्यालयले होटेल खुलाउन पहल गरेछि वार्ताबाटै समस्या समाधान गरी तत्काल काममा फर्कने सहमति गर्दै मजदुर काममा फर्किएका थिए।

  • नेपाल र बंगलादेशबीच विद्युत पूर्वाधार निर्माणमा समझदारी

    नेपाल र बंगलादेशबीच विद्युत पूर्वाधार निर्माणमा समझदारी

    काठमाडौं । नेपाल र बंगलादेश विद्युत उत्पादन र विक्री वितरण गर्न पूर्वाधार निर्माणसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ ।

    बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न नेपाल(बंगलादेश संयुक्त ऊर्जा संयन्त्रको बैठकमा दुई देशबीचको सहमति जुटेको हो ।

    सहमति अनुसार नेपालको जलविद्युत आयोजनामा बंगलादेश लगानी गर्न इच्छुक देखिएको छ । बंगलादेशले नेपाली जलविद्युत कम्पनीमा लगानी गरी बंगलादेशसम्म विद्युत निर्यात गर्ने गरी सहमति गरेको छ ।

    साथै, दुबै देशबीच वैकल्पिक ऊर्जामा समेत सहकार्य गर्ने सहमति भएको उर्जा मन्त्रालयले जनकारी दिएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे र बंगलादेशका समकक्षीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

    अब नेपालबाट भारत हुँदै बंगलादेशसम्म प्रशारणलाइन निर्माणको बाटो यस सहमतिले खोलेको छ । दुबै देश यस परियोजनाको तयारीमा लाग्न समेत सहमति भएका छन् ।

    तत्कालका लागि भारतकै संरचना उपयोग गरेर नेपालले बिक्रि गर्न सक्ने बिजुली बंगलादेश लैजाने र क्रमशः पूर्वाधार निर्माणमा जाने सहमति पनि दुई देशले गरेका छन् ।

    आगामी डेढ दशकभित्र करीव १५ हजार मेगावाट जलविद्युत उत्पादन गरी देशलाई समुन्नत बनाउने लक्ष्य राखेको सरकारी सोही सिलसिलामा विद्युतका लागि लगानी र बजार खोज्न थालेको हो ।

  • नेपालमा सुनको मूल्यले राख्यो कीर्तिमान

    नेपालमा सुनको मूल्यले राख्यो कीर्तिमान

    काठमाडौं । नेपालमा सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपालको इतिहासमै शुक्रबार छापावाल सुनको मूल्य सबैभन्दा धेरै पुग्यो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला ६४ हजार रुपैयाँमा सुन किनबेच भएको थियो ।

    प्रतिदिन प्रतितोला १ हजार रुपैयाँका दरले सुनको मूल्य वृद्धि भइरहेको छ । सुनले प्रतिदिन रेकर्ड कायम गर्न थालेपछि बजारमा सुन बिक्रि भने करीव ठप्प भएको महासंघको भनाई छ ।

    बजेटले १ हजार कर थपेसँगै प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य ६० हजार पुगेको थियो । त्यसपछि भने सुनको भाउ निरन्तर उकालो लागिरहेको छ ।

  • दिगो विकास लक्ष्य पुरा गर्न वार्षिक २० खर्ब २५ अर्ब आवश्यक

    दिगो विकास लक्ष्य पुरा गर्न वार्षिक २० खर्ब २५ अर्ब आवश्यक

    काठमाडौं । दिगो विकास लक्ष्य २०१६–२०३० को उद्देश्य पुरा गर्न वार्षिक २० खर्ब २५ अर्ब लाग्ने भएको छ ।

    राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यको लागत अनुमान शुक्रबार राजधानीमा सार्वजनिक गरेको छ । यस अवधिमा नेपालले मध्यम आय भएको विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य राखेको छ ।

    योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल अब बन्ने बजेट र योजनाहरु दिगो विकास लक्ष्यलाई आधार मानेर निर्माण गरिने बताए । ति योजनाहरुलाई दिगो विकास लक्ष्यसँग सामन्जस्य गर्दै लैजानुुपर्ने उनको भनाई छ ।

    दिगो विकास लक्ष्यका योजना पूरा गर्न सरकारी, निजी क्षेत्र, सहकारी र घरपरिवारले लगानी गर्ने उल्लेख छ । यस लगानीमध्ये सबभन्दा ठूलो हिस्सा सरकारको हुनेछ ।

    सरकारले वार्षिक औसत ५४.७ प्रतिशत अर्थातः ११ खर्ब ११ अर्ब रुपैयाँ लगानी गर्ने तथ्यांकमा उल्लेख छ । निजी क्षेत्रले वार्षिक ७ खर्ब ३९ अर्ब खर्च गर्ने छन् ।

    सहकारी र गैर–कारकारी संस्था तथा घरपरिबारबाट वार्षिक औसतः ८६.६ अर्ब र ८८ अर्ब लगानी हुने आयोगको तथ्यांकमा उल्लेख गरिएको छ ।

    आयोगले वार्षिक औसत आर्थिक वृद्धि ८.६७ प्रतिशत रहने आंकलन गर्दै स्रोतको अनुमान गरेको हो । यस अवधिमा कूल गार्हस्थ उत्पादनमा राजस्वको अनुपात २७ प्रतिशत रहने अनुमान छ ।

    यस अवधिमा गरिबी निवारणमा वार्षिक १ सय ५३ अर्ब खर्च गर्नुपर्ने भएको छ । श्रम तथा पर्यटनमा ५६ अर्ब ८ करोड लगानीको योजना छ ।

    कृषिमा १ खर्ब १८ अर्ब रुपैयाँको अनुमान छ । स्वास्थ्यमा १ खर्ब ३४ अर्ब तथा शिक्षामा ३ खर्ब ०६ अर्ब लगानीको अनुमान योजना आयोगले गरेको छ ।

    यस अवधिमा सर्वाधिक लगानी यातायात, उद्योगमा हुने अनुमान छ । ती दुई क्षेत्रमा ६ खर्ब १३ खर्ब लगानी चाहिने अनुमान गरिएको छ ।

    शहरी पूर्वाधारमा वार्षिक १ खर्ब ६८ अर्ब लगानीको खाँचो हुनेछ । दिगो विकास लक्ष्यले १७ उपलब्धी प्राप्तीको योजना बनाएको छ ।

    त्यसमा गरिबी अन्त्य, शून्य भोकमरी, स्वास्थ्य र समुन्नत समाज, गुणस्तरीय शिक्षा, लैंगिक समानता, स्वच्छ पानी तथा सरसफाइ, स्वच्छ ऊर्जामा सहज पहुँच, मर्यादित रोजगार तथा आर्थिक वृद्धिलगायत रहेका छन् ।

  • कस्तो आयो काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम ?

    कस्तो आयो काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    महानगरपालिकाले सम्पदा निर्माण निर्माणदेखि पर्यटन प्रवद्र्धनसम्मका योजना समेटएको नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ ।

    मेयर विद्या सुन्दर शाक्यले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । महानगरले आगामी आवमा काठमाडौंलाई प्लाष्टिक, धुलो र प्रदुषण मुक्त बनाउने घोषणा गरेको छ ।

    आफ्नो क्षेत्रमा भित्रने सवारी साधन नाकामा धोएर मात्रै प्रवेश दिने कार्यक्रम राखिएको छ । त्यसो त सरकारले संघीय बजेटमा पनि यो कार्यक्रमलाई प्राथमिकताका साथ राखेको थियो ।

    काठमाडौं उपत्यकाभित्र छिर्ने सवारीलाई धुने गरी नाकामा भेहिकल क्लिनिङ सेन्टर निर्माण गरिने र त्यसका लागि स्थानीय तहहरुसँग समन्वय गरिने महानगरले उल्लेख गरेको छ ।

    काडमाडौंमा सार्वजनिक यातायात सहज बनाउन ठुला विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्ने महानगरको नीति छ ।

    काठमाडौंलाई नो मास्क सीटीका रुपमा विकास गरी धुलो र प्रदुषणबाट मुक्त बनाउने घोषणा पनि महानगरले गरेको छ ।

    आगामी आर्थिक वर्षदेखि वघरबहाल सम्झौता गरेर मात्र घरमा बस्न पाउने व्यवस्थाको तयारी पनि महानगरले गरेको छ । महानगरको नीतिमा सम्पदा संरक्षण र पूर्वाधार निर्माणका समेत अनेक योजना समेटिएका छन् ।

    महानगरले मोनोरेल सञ्चालन गर्ने गरी योजना समेटिएको छ । हनुमानढोकादेखि स्वयम्भूसम्म पुरातात्विक सम्पदा पदमार्ग तथा पशुपतिनाथदेखि बौद्धस्तुपासम्म भने हरित सम्पदा पदमार्ग निर्माण गरि कार्यान्वयनमा ल्याउने महानगरको योजना रहेको छ ।