Category: अर्थतन्त्र

  • भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

    भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

    काठमाडौँ, २० चैतः भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने भएको छ । त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र यहाँस्थित भारतीय राजदूतावासबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    परियोजनाअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–२ मा तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा ‘कोल्ड स्टोर’ निर्माण, मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा जनबल माध्यमिक विद्यालयको भवन, छात्रावास र चमेनागृहको निर्माण, कैलालीको गौरीगङ्गा नगरपालिका–११ मा कालिका प्राथमिक विद्यालय भवन निर्माण गरिनेछ ।

    यसैगरी, रौतहटको परोहा नगरपालिका–४ मा प्रसूति केन्द्रको भवन निर्माण, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ मा कस्तुरी माध्यमिक विद्यालय र बाँकेको खजुरा गाउँपालिका–४ मा जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरिनेछ ।

  • डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

    डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

    दमौली (तनहुँ), २० चैतः डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार मध्याह्न १२ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखि राति ९ः०० बजेसम्म सडक बन्द हुनेछ । उक्त कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

  • सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यात सेवा

    सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यात सेवा

    काठमाडौँ, २० चैत । सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने भएको छ । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि पनि सार्वजनिक बिदाका दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक नखुल्दा भन्सार जाँचपासमा समस्या हुने गरेको थियो ।

    अन्तरनिकाय समन्वय अभावमा सेवा प्रभावित भइरहेकोबारे गुनासो आउन थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत चासो देखाएको थियो । सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पनि सजिलै सेवा दिन सकिने व्यवस्था मिलाउन प्रक्रिया थालेको हो ।

    “मालसामान हुलाक गर्न वा अन्तररास्ट्रिय कुरियर सेवाका लागि गोश्वारा हुलाक कार्यालयले सार्वजनिक बिदाको दिनमा सेवा दिने गरेको छ । तर त्यहाँ रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको शाखा सार्वजनिक बिदामा नखुल्दा जाँचपासमा समस्या थियो”, हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले रासससँग भनिन्, “यो समस्या समाधानका लागि हामीले भन्सार विभागसँग मौखिक र पत्राचारबाट समेत जानकारी गराइसकेका छौँ ।”

    भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले पनि गोश्वारा हुलाक कार्यालयस्थित भन्सार शाखालाई सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गर्ने प्रबन्ध मिलाउन लागिएको बताए । त्यस्तै, राजस्व भुक्तानीका लागि त्यहाँस्थित बैंक शाखाले पनि आफ्नो सेवाहरू सुचारु राख्ने तयारी थालिएको छ । राष्ट्रिय वाणिज्य बैंकको शाखा सार्वजनिक बिदामा पनि खुला राख्न पहल भइरहेको हो ।

    गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गत फागुन महिनामा मात्र १९ हजार २०० भन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिट्ठी, रजिस्ट्री चिट्ठी, बुक पोस्टलगायत वस्तु विदेशबाट आएका थिए । त्यस्तै, निर्यात भएका यस्ता वस्तुको सङ¬्ख्या ११ हजार ७०० हाराहारी छ । जसबाट रु २९ लाख चार हजार हाराहारी भन्सार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । सार्वजनिक बिदाको दिन कार्यालय सञ्चालन गर्दा नागरिकले सहज सेवा पाउनेमात्र नभई कार्यालयको व्यवसाय र नतिजा प्राप्ति दुवैमा सकारात्मक प्रभाव देखिने अपेक्षा गरिएको छ ।

  • सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    म्याग्दी, २० चैत । धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका छवटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको हो । धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको लुलाङ–गुर्जा सडक योजनामार्फत गुर्जाको कानबराह नजिकैसम्म सडकको मार्ग खोल्न प्रयोग भएको डोजरसँगै ‘बिएए’ ७८४६ नम्बरको जिप बिहीबार पहिलोपटक पुगेको गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिए ।

    “यसअघिका तीन वर्षमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडकको मार्ग खुलेको थियो”, उनले भने, “चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्रयाक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्ने योजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।”

    थप एक किलोमिटर मार्ग खोलेर आगामी एक हप्ताभित्र गुर्जा गाउँसम्मै गाडी पुर्याउने तयारी भएको छ । चालु आर्थिक वर्षमा रु एक करोड ७० लाख बजेट विनियोजन गरेको योजनामार्फत छनोट भएको ठेकेदार कम्पनी लुलु कन्ट्रक्सनले गत पुसमा रु ८८ लाख ८५ हजारमा ठेक्का सम्झौता गरेको थियो । आव २०७९÷८० देखि सुरु भएको लुलाङ–गुर्जा धवलागिरि गाउँपालिकाको गौरवको प्राथमिकताप्राप्त योजना भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । दुई वर्षअघिसम्म गुर्जादेखि लुलाङ पुग्न पूरै दिन भिर, जङ्गल र खोल्साको उकालो, ओरालो पैदलयात्रा गर्नुपर्ने अवस्था थियो ।

    हाल गाडी पुग्ने गाउँदेखि पाँच मिनेट पैदलयात्रा गरेर गुर्जा पुग्न सकिन्छ । गत फागुनमा पाल्टनमा पुगेको सडक निर्माणकार्य डोजर बिग्रिएका कारण एक महिनापछि केही दिनअघि सञ्चालन भएको थियो । म्याग्दी १ ९१० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले गुर्जासहित म्याग्दीका सबै वडाहरूमा सडक पुगेको बताए । “भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा सडक पुर्याउन सफल भएका छौँ”, उनले भने, “तीनै तहका सरकार र समुदायको सहकार्यमा गुर्जालाई सडक सञ्जालमा जोड्न सफल भएका हौँ ।”

    गाडी चल्न थालेपछि गुर्जाबाट दुई घण्टा ३० मिनेटमा गाउँपालिकाको केन्द्र मुना, पाँच घण्टामा बेनी र सात घण्टामा पोखरा पुग्न सकिने भएको छ । यसअघि गुर्जादेखि मुना पुग्न पूरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीय गोर्खा छन्त्यालले बताए । गाडी चल्न थालेपछि बिरामीलाई अस्पताल पुर्याउन, कृषि, पशुजन्य र जडीबुटी बजारीकरणमा सहज भएको छ । गुर्जामा पर्यटकको चहलपहल बढ्न थालेको छ ।

    मार्ग खुलेको सडकको ग्रेड, घुम्ती मिलाउन, साँघुरो ठाउँमा फाराकिलो पार्न, पक्की नाला बनाउन चालु आवमा सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट रु तीन करोड र गण्डकी प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको छ । प्रदेश सरकारले पालिकामा पठाएको रु ५० लाख बजेटको योजना कार्यान्वयनका लागि ठेक्का आह्वान भइसकेको पालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

    गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण थालेको छ । दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पुर्याउन सहज भएको छ । गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास छ । एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घरपरिवार रहेको गुर्जाको जनसङ्ख्या एक हजार ५०५ जना छ ।

  • विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

    विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

    काठमाडौँ, २० चैत । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बैंकको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३७.७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।

    गत फागुनमा विप्रेषण आप्रवाह रु एक खर्ब ८८ अर्ब ६४ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ५१ अर्ब १९ करोड बराबर थियो । सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भई रु १० अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।

    केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः तीन लाख १७ हजार ०६८ र दुई लाख १७ हजार ४०३ रहेको थियो ।

    त्यस्तै, समीक्षा अवधिमा चालु खाता रु पाँच खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ९७ अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा रु एक अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा रु तीन अर्ब ८८ करोडले बचतमा रहेको छ ।

    यस्तै, फागुन मसान्तस्म्म रु १० अर्ब ८४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० रु आठ अर्ब ४७ करोड रहेको थियो । सो अवधिमा शोधनान्तर स्थिति रु छ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको थियो ।

  • कर्णाली राजमार्गका दश अलपत्र ठेक्का तोडिए

    कर्णाली राजमार्गका दश अलपत्र ठेक्का तोडिए

    जुम्ला, २० चैत । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दशवटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै सडक कार्यालयले ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीको ठेक्का अन्त्य गरिएको सम्बन्धी १५ दिने सार्वजनिक सूचना निकालिएको जिम्ला सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिए ।
    कार्यालयले कर्णाली राजमार्गअन्तर्गतका कालीकोट जिल्लाको दहीखोला मान्म–नाग्म जुम्ला खण्डमा शाखा सडकमा सडक सुरक्षा कार्यहरू व्यवस्थापन र जुम्लाको कुडारीदेखि कालीकोटसम्म सडकको कल्भर्ट निर्माण र संरक्षण कार्यहरूसहित विशिष्ट मर्मतकार्य गर्नका लागि आव २०७८–७९ धुर्वा निर्माण सेवा सुर्खेतसँग सम्झौता भई उल्लेखित मितिमा निर्माण सम्पन्न गर्नुपर्नेमा सो हुन नसकी पटकपटक म्याद थप गरिएको र थपिएको म्याद पनि समाप्त भइसकेकाले ठेक्का तोडिएको सूचना अधिकारी सिंहको भनाइ छ ।

    त्यसैगरी, कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतको कालीकोटको बालीघाट नजिकै विशेष मर्मतकार्य र खुल्लालेदेखि घोडेङ्गासम्म आवधिक मर्मतसम्भार कार्य आव २०७९–८० मा कृष्ण निर्माण सेवासँग सम्झौता भए पनि तोकिएको समयमै निर्माण कम्पनीले काम गर्ने नसकेकाले ठेक्का तोकिएको छ । आव २०७९–८० मा अविनास निर्माण सेवासँग नाग्म–गमगडी सडकखण्डको मुगुको ताल्चादेखि रारासम्म सडकको विशिष्ट मर्मतकार्यको सम्झौता भएको थियो ।

    सडक सुधारको काम तुमदेखि लामाचौर सडक राराको प्रतक्की मार्ग च्यनाथ रारा संरचना फराकिलो र फुटपाथको काम विनाम्रा निर्माण सेवा सुर्खेतसँग आव २०८०–८१ मा भएको सम्झौताअनुसार काम नभएपछि पटकपटक ताकेता गरेको र धेरैपटक भन्दा पनि काम नभएपछि ठेक्का तोड्ने प्रक्रियाअघि बढेको सडक भिडिजन कार्यालय सूचना अधिकारी सिंहले जानकारी दिए ।

    यसअघि कर्णाली राजमार्गका चारवटा रुग्ण अवस्थामा रहेका ठेक्का सडक डिभिजन कार्यालयको आफ्नो कार्यक्षेत्रभित्र पर्ने कालीकोटका दुई, मुगुको नाग्म–गमगडी सडकखण्डको एक र जुम्ला डोल्पा हुँदै मनाङ–मुस्ताङ जोड्ने सडक गरी चारवटा ठेक्का तोडिएको सडक डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख श्रवणकुमार महताराले बताए ।

    निर्माण व्यवसायीलाई लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न पटकपटक अनुरोध गर्दा पनि निर्माण कम्पनीले ठेक्का सम्भौताका शर्तहरूबमोजिम आफ्नो करारीय दायित्व पूरा नगरेको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९९२० अनुसार ठेक्का अन्त्य गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । यसअघि पूर्वऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

  • भ्रष्टाचार नियन्त्रणका लागि उपयुक्त सुझाव दिन आग्रह

    भ्रष्टाचार नियन्त्रणका लागि उपयुक्त सुझाव दिन आग्रह

    काठमाडौँ, २० चैत । सरकारले आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रणका लागि कार्यालय प्रमुखलाई नै जिम्मेवार र जवाफदेही बनाउने भएको छ । त्यसका लागि सरकारको तर्फबाट तत्काल अवलम्बन गर्नुपर्ने नीतिगत, कानुनी, संस्थागत, प्रक्रियागत र व्यवहारगत पक्षमा सुधार ल्याउन गर्नुपर्ने सुझाव उपलब्ध गराउन सबैलाई आग्रह गरेको छ ।

    सेवाग्राहीसँग सभ्य व्यवहार गर्ने, कर्मचारीले तटस्थता, पारदर्शिता तथा कानुनमा उल्लिखित नैतिक एवं अनुशासनका विषयलगायत आचारसंहिताको कडाइकासाथ परिपालना गर्ने र गराउने प्रमुख दायित्व कार्यालय प्रमुखको भएको मुख्यसचिव अर्यालले उल्लेख गरेका छन् ।


    मुख्यसचिव सुमनराज अर्यालले बिहीबार एक विज्ञप्ति जारी गरी हालै गठन भएको सरकारले सार्वजनिक निकायमा हुने नीतिगत, संस्थागत, प्रक्रियागतलगायत सबै किसिमका भ्रष्टाचारलाई अन्त्य गरी सुशासन प्रवर्द्धन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे । उनले सरकारी कार्यालय र कर्मचारीलाई दक्ष, व्यावसायिक र सदाचारयुक्त बनाई जनविश्वास आर्जन गर्ने, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा असहायलाई सार्वजनिक सेवा प्रवाहमा प्राथमिकता दिने नीति सरकारले आत्मसात् गरेको बताए ।

    सरकारी निकायमा हुनसक्ने मोलमोलाहिजा, भ्रष्टाचार र अनियमिताका घटनाको सुक्ष्म निगरानी राख्ने, छड्के जाँच गर्ने गराउने र भ्रष्टाचारसम्बन्धी कुनै जानकारी प्राप्त हुनेबित्तिकै सम्बन्धित निकायमा लेखी पठाउनुहुन विज्ञप्तिमा अनुरोध गरिएको छ । सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा निकाय तथा कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने भएकाले सोहीबमोजिम गर्ने÷गराउने व्यवस्थाका लागि विज्ञप्तिमा अनुरोध गरिएको छ ।

    सरकारी निकायबाट हुने सेवा प्रवाह, विकास व्यवस्थापन र नियमित कार्य सञ्चालनमा चुस्तता, मितव्ययिता, पारदर्शिता, प्रभावकारिता एवं आचरणगत पक्षमा सुधार गरी मुलुकमा सुशासनको प्रत्याभूति गराउनुपर्ने मुख्यसचिव अर्यालको विज्ञप्तिमा भनिएको छ ।

    सरकारी निकायबाट हुने सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन, ठेक्का तथा खरिद प्रक्रियामा सार्वजनिक पद तथा अधिकारको दुरुपयोग गरी हुने गरेका भ्रष्टाचारको अन्त्य गरी नागरिकले अनुभूति गर्नेगरी सुशासन र सदाचार कायम गर्न सबैले आवश्यक पहलकदमी लिनुपर्ने प्रष्ट पारिएको छ ।

  • एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ

    एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ

    काठमाडौँ, १९ चैतः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको एक सातामै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल–मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो । यसअघि निगमले यही चैत ११ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो ।

    निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २०१ रुपैयाँ र तेस्रो वर्गमा २०२ रुपैयाँ तथा डिजेल–मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १७९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८१ रुपैयाँ र तेस्रो वर्गमा १८२ रुपैयाँ तोकेको छ । मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पर्ने भएको छ । निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तोकेको छ ।

    अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ । यही मार्च १६ र ३१ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४७।१२ रुपैयाँ र डिजेलमा प्रतिलिटर १३३.४५ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६.३७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

    अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहने तथा सोही अनुसार मूल्य समायोजन हुन नसक्दा पाक्षिकरुपमा १३ अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको निगमले स्पष्ट पारेको छ । घाटा रकम बढ्दै जाँदा इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिन नसकिने अवस्था सिर्जना भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

  • काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

    काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

    काठमाडौँ, १८ चैत । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज नयाँ बसपार्क, कलङ्की र बल्खुबाट उनीहरुलाई पक्राउ गरेको हो । ती स्थानमा सञ्चलित टिकट काउन्टरमा आफूहरूले भनेको सवारी साधनमा यात्रा गर्नुपर्छ भनी सर्वसाधारणलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । प्रहरीले गोङ्गबुस्थित नयाँ बसपार्कबाट पाँच, कलङ्कीबाट २४ र बल्खुबाट १९ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

  • नयाँ सरकार गठनपछि निरन्तर ओरालो यात्रामा नेप्से, आज ७४ अङ्कको गिरावट

    नयाँ सरकार गठनपछि निरन्तर ओरालो यात्रामा नेप्से, आज ७४ अङ्कको गिरावट

    काठमाडौँ, १८ चैतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ६२ प्रतिशतको गिरावट हो । आज ३४७ कम्पनीको तीन करोड दुई लाख ९२ हजार ४५२ कित्ता शेयर एक लाख २३ हजार ७३० पटक खरिदबिक्री हुँदा रू १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ ।

    बैंकिङ दुई दशमलव ३१, विकास बैंक तीन दशमलव १८, वित्त तीन दशमलव शून्य तीन, होटल तथा पर्यटन दुई दशमलव १२, जलविद्युत् दुई दशमलव ८१, लगानी दुई दशमलव ६७ र जीवन बिमा दुई दशमलव शून्य दुई प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ३९, लघुवित्त एक दशमलव ९९, म्युचुअल फण्ड शून्य दशमलव ९७, निर्जीवन बिमा दुई दशमलव २२, व्यापार तीन दशमलव ९६ र अन्य समूह पाँच दशमलव २६ प्रतिशतले घटेको छ ।

    आजको कारोबारमा रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड र सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ८४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइस्योरेन्स लिमिटेडको रू ७१ करोड ३१ लाख २६ हजार ६४४ बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा कुमारी बैंक लिमिटेडको १८ लाख ८२ हजार २०९ बराबरको कारोबार भएको छ ।

  • गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    भैरहवा (रुपन्देही), १८ चैतः गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तरराष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ । विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तरराष्ट्रिय उडान सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालिएको जनाएको हो । विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार हाल सीमित रूपमा सञ्चालन भइरहेको अन्तरराष्ट्रिय उडानलाई व्यवस्थित गर्दै नियमितता दिन विशेष पहल भइरहेको छ । “हामी गर्मीयामको तालिकादेखि उडान सङ्ख्या बढाउने लक्ष्यसहित वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेका छौँ”, उनले रासससँग भने।

    हालसम्म थाई एयर एसियाको उडानमार्फत बौद्ध धर्मावलम्बीलाई लक्षित सेवा दिँदै आइएको थियो । पछिल्लो हिउँदे तालिकामा सातामा दुई दिन सञ्चालन गरिएको उक्त उडानलाई आगामी याममा थप विस्तार गर्ने तयारी भइरहेको विमानस्थल प्रशासनले जनाएको छ । लुम्बिनी–गयाजस्ता बौद्ध सर्किटलाई जोड्ने उडान विस्तारले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    विमानस्थलको प्रभावकारी उपयोगका लागि ‘फिफ्थ फ्रिडम’ उडान अवधारणा अघि सारिएको विमानस्थलका महाप्रबन्धक साहले उल्लेख गरे । यस व्यवस्थाअनुसार विदेशी वायुसेवा कम्पनीले भैरहवालाई ट्रान्जिट विन्दु बनाउँदै तेस्रो मुलुकसम्म उडान सञ्चालन गर्न सक्नेछन् । उदाहरणका रूपमा कतार एयरवेजजस्ता वायुसेवाले दोहा–भैरहवा–तेस्रो देश र पुनः सोही मार्गमार्फत उडान सञ्चालन गर्न सक्ने सम्भावना रहेको उनले बताए ।


    यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक नीतिगत तथा प्राविधिक तयारी अघि बढाइएको जनाएको छ । सरकारी तहबाट शीघ्र आवश्यक निर्णय हुने अपेक्षा रहेको महाप्रबन्धक साहले बताए । “अहिले पनि कतार एयरवेजले कतारबाट नभई अन्य मुलुकबाट उडान गरिरहेको छ, हामीले कतार एयरवेजलाई भैरहवाबाट नै ‘फिफ्थ फ्रिडम’ अनुरुप उडान गर्नेगरी तयारी गरिरहेका छौँ”, उनले भने, “यस विषयमा शीघ्र मन्त्रिपरिषद्ले निर्णय गर्नेमा हामी विश्वस्त छौँ ।”

    उडान सङ्ख्या वृद्धि गर्ने अर्को महत्त्वपूर्ण योजनाअन्तर्गत नेपाल वायुसेवा निगमको एउटा जहाज भैरहवामा ‘बेस’ राख्ने तयारी गरिएको विमानस्थलका महाप्रबन्धक साहले जानकारी दिए । यसले यहाँबाट अन्तरराष्ट्रिय उडान सञ्चालनलाई नियमित र भरपर्दो बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । रुपन्देही निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य कन्हैया बनियाँले अबको केही दिनमा नेपाल एयरलाइन्सले भैरहवालाई बेस बनाएर उडान गर्ने बताए ।

    हाल वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको आवागमन सहज बनाउन विभिन्न चार्टर उडान सञ्चालन भइरहेका छन् । कुवेत एयरवेजले कुवेत सिटी–भैरहवा उडानमार्फत नेपालीलाई स्वदेश ल्याइरहेको छ भने साउदी अरबको दमामबाट पनि उडान अनुमति प्रक्रियामा रहेको जानकारी विमानस्थलका महाप्रबन्धक साहले दिए । उनका अनुसार चार्टरसँगै नियमित उडानलाई पनि समान रूपमा प्राथमिकता दिइनेछ ।

    “चार्टर र नियमित दुवै उडानलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौँ, शीघ्र नियमित उडान थप सुदृढ हुनेछ”, उनले भने। उक्त पहलले लुम्बिनी केन्द्रित धार्मिक पर्यटन प्रवर्द्धनका साथै वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकका लागि सहजता ल्याउने विश्वास गरिएको छ । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सके क्षेत्रीय आर्थिक गतिविधि वृद्धि हुनुका साथै समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्ने सरोकार भएकाहरूको अपेक्षा छ ।

  • हिउँदमा पनि रोकिएन कर्णाली नदी कटानको जोखिम

    हिउँदमा पनि रोकिएन कर्णाली नदी कटानको जोखिम

    टीकापुर ९कैलाली०, १८ चैत । टीकापुर–५ स्थित टीकापुर बृहत उद्यान कर्णाली नदी कटानको जोखिममा रहेको छ । चैतमा पनि कर्णाली नदीले उद्यानको पिकनिकस्थलतिर तीव्र कटान भइरहेको छ । कर्णाली नदीले पानीको धार परिवर्तन गर्दा टीकापुर बृहत् उद्यान क्षेत्रमा नदी कटान तीव्र भइरहेको स्थानीयले बताएका छन् । “बर्खा लागेमा नदी उद्यान हुँदै बस्तीमा पस्ने जोखिम बढेकाले समयमै नियन्त्रणका लागि काम गर्नुपर्ने देखिएको छ”, स्थानीय सिंहराज बुढामगरले भने, “चैतमा यसरी कटान गरिरहेको नदीले बर्खा लागेमा बस्ती जोखिममा पार्छ । नदीले सिधैँ पार्क क्षेत्र कटान गरिरहेको छ । यही हिसाबले कटान भए बर्खामा पार्क हुँदै बस्ती सखाप हुन्छ ।”

    पार्कको वनभोजस्थलदेखि पाँच सय मिटर उत्तरतर्फ कर्णाली नदीले बर्दियाको सिमानातर्फ ढुङ्गा, गिट्टी, बालुवा थुप्रिई टापुजस्तै बनाएको छ । नदीको बहाव टीकापुरतर्फ बगिरहेकोे र टीकापुरतर्फ नदीमा पक्की तटबन्धसमेत नभएकाले थुप्रेर रहेका ढुङ्गा, गिट्टी, बालुवा सफाइ नगरेमा यस वर्षको मनसुनमा टीकापुरतर्फ नदीले कटान गरी बस्तीमा नदी पस्ने उच्च जोखिम देखिएको प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल सुमन धितालले बताए । “पालिकाको आफ्नै स्रोत नभएकाले नदी सफाइ तथा पक्की तटबन्ध गर्न सक्ने अवस्था छैन । समस्या समाधान तथा बृहत उद्यान र बस्ती जोगाउनका लागि अहिले नै काम गर्नुपर्ने देखिन्छ”, धितालले भने, “आवश्यक व्यवस्था गरिदिन माग गर्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरी पठाएका छौँ ।”

    नगरपालिका बर्सेनि कर्णाली नदी कटानको जोखिम झेल्दै आएको छ । कर्णालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले नदी नियन्त्रणका लागि विभिन्न ठाउँमा तटबन्ध निर्माण गरेको छ । सिँचाइले निर्माण गरेका तटबन्ध तारजालीका भएकाले यसको दिगोपनामा पनि समस्या देखिएको छ । टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाका अनुसार टीकापुरको वडा नं ५ पार्क क्षेत्र, वडा नं ७ मा सत्ती कर्णाली सामुदायिक वन क्षेत्रलगायत ठाउँ बर्सेनि कटान भइरहेका छन् । सिँचाइ आयोजनाले विगतमा गर्ने तारजालीको तटबन्ध दिगो नभएपछि अहिले ठूला ढुङ्गा (बिग बोल्डर) हाल्ने गरेको छ । तर पछिल्ला दुई वर्षयता यहाँ लगानी छैन । नदी कटान बढ्दै गएको तर आयोजनाले लगानी गर्न छोड्दा नदी नियन्त्रण समस्या भइरहेको छ ।

    सिँचाइ आयोजनाका सूचना अधिकारी रामकृष्ण घोरासैनीले विगतमा तारजालीबाट गरिने तटबन्ध दिगो नभएपछि अहिले तटबन्धको स्वरुप परिवर्तन गरिएको बताए । “विगतमा कर्णाली नदीमा दर्जनौँ ठाउँमा तटबन्धको काम भएको छ । विश्व बैंकको सहयोग नभएपछि तेस्रो ‘फेज’मा कर्णाली नदीमा खासै काम छैन, इन्टेकसहित तीन ठाउँमा तटबन्धको काम चलिरहेको छ”, उनी भन्छन्, “आयोजनासँग पनि बजेट कम छ । पुराना ठेक्का लागेका समयमै निर्माण व्यवसायीले काम नसकेका ठाउँमा निर्माण भइरहेको छ ।”

    सिँचाइ आयोजनाले सिँचाइ विस्तारका लागि कर्णाली नदीको चिसापानीमा इन्टेक र मुख्य नहर निर्माण, फिडर नहर निर्माण, जलविद्युत् निर्माण, डिभिजन बक्स र आउटलेट सुधार कार्य, सिञ्चित क्षेत्र बचाउ तथा सुरक्षा, सामाजिक सुरक्षा र पर्यावरण संरक्षण, पानी व्यवस्थापन, नयाँ शाखा नहर निर्माणका क्षेत्रमा काम गरिसकेकोे छ । कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले नदी स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय भई आएमा जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गरी आवश्यकताअनुसार जनधनको क्षतिबाट बस्ती जोगाउन पहल हुने बताए ।

    “हामी सबै क्षेत्रसँग छलफल गरी उचित निकासका निर्णय गरेर पहल गर्छौँ, विपद्बाट रोकथामका लागि सम्बन्धित निकायमा कार्यान्वयन गर्नेतिर पहल गर्छौँ”, उनले भने, “कैलालीका नदीहरूमा अहिले भइरहेका तटबन्धको दिगोपनाका लागि पनि संवेदनशील हुन अनुरोध गरेका छौँ ।” कर्णाली नदी कैलाली र बर्दियाको सीमामा भएकाले अन्तरजिल्ला समन्वय समितिबाट छलफल गरी आपसी समझदारीबाट विपद् व्यवस्थापनमा काम हुने प्रजिअ रेग्मीले बताए ।

  • महाकाली सिँचाइ आयोजनाः नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

    महाकाली सिँचाइ आयोजनाः नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

    महेन्द्रनगर, १८ चैतः कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत मूल नहर निर्माण तीव्र गतिमा भइरहे पनि नहरमा पानी नियमित प्रवाह गराउने विषय भने अन्योलमा छ । महाकाली सन्धिअनुसार भारतीय पक्षले टनकपुरबाट नेपाल-भारत सिमानासम्म बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ भने नेपालले आफ्नो क्षेत्र ब्रह्मदेवबाट शुक्लाफाँटाको टोटी फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण गरिसकेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सूचना अधिकारी इन्जिनियर यादव बरालले जानकारी दिए ।


    “मूल नहर २८ किलोमिटर निर्माण भएर सो क्षेत्रमा शाखा नहर पनि निर्माणाधीन अवस्थामा छ”, उनले भने, “महाकाली नदीबाट भारतले परीक्षणका लागि मूल नहरमा पानी छोडे पनि नियमित छोडेको छैन ।” उनले हालको अवस्थामा भारतीय पक्षसँग सहमति गरी पानी नियमित प्रवाह गराउन सके यहाँ पाँच हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्ने जानकारी दिए ।


    सिँचाइ आयोजनाले तीनपटक जलस्रोत तथा सिँचाइ विभागमा पानी ल्याउने विषयमा भारतसँग समन्वय गर्न पत्राचार गरिसकेको सूचना अधिकारी बरालले बताए । “हामीले मूल नहरमा पानी महाकालीबाट ल्याउन सकारात्मक पहल गरिदिन माथिल्लो निकायमा भन्दै आएका छौँ”, बरालले भने, “तर नेपाल–भारत सिँचाइमन्त्रीस्तरसम्म यो विषय अझै पुगेको छैन ।”

    यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतीय पक्षसँग उक्त विषयमा अनौपचारिक छलफल गरेको सूचना अधिकारी बरालले जानकारी दिए । “भारतमा सिँचाइ मन्त्रीस्तरमा यो विषय पुर्याएर नहरमा नियमित पानी बगाइसक्नुपर्ने हो”, उनले भने, “ठोस पहल नहुँदा अर्बौं लगानीमा बनेको मूल नहर काठ, घाँसलगायत वनजङ्गलले पुरिँदैछ ।”

    कैलालीको मालाखेतीसम्म ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति भइरहे पनि पानी ल्याउन प्रभावकारी पहल हुन नसकेको उनको भनाइ छ । “अहिले मूल नहरअन्तर्गत २८ देखि ४८ किलोमिटरसम्म चार चरणमा निर्माण भइरहेको छ”, उनले भने, “चारवटा चरणमा हालसम्म करिब गरेर ६० प्रतिशत भौतिक प्रगति भइसकेको छ ।”

    मूल नहर निर्माणअन्तर्गत जग्गा अधिग्रहण, ऐलानी र सुकुम्बासी जग्गाको विवादका साथै केही स्थानमा रुख कटानको समस्या रहेको बरालले बताए । “यो वर्ष मुआब्जासहित आयोजनाको बजेट रु दुई अर्ब रहेको छ”, उनले भने, “मुआब्जा वितरण हुन नसक्दा केही रकम खर्च हुनसक्ने अवस्था छैन भने काम पनि प्रभावित बन्दै गएको छ ।” विसं २०८७ सम्ममा कैलालीको मालाखेतीसम्म नहर निर्माण सक्ने सरकारको लक्ष्य छ । साथै आयोजनामा रु नौ अर्ब लगानी भइसकेको छ । टनकपुरमा हेड रेगुलेटरसँगै भारतीय पक्षमा ढिला गरी एक हजार २०० मिटर मूल नहर बनेपछि नेपालतर्फ केही समय परीक्षण र असार १५ गते धान दिवसमा पानी छाडिएको थियो ।

    कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले सिँचाइ तेस्रो चरणअन्तर्गत मूल नहरमा पानी ल्याएर किसानलाई सिँचाइ सुविधा पुर्‍याउन सरकारी संयन्त्रबाट सकारात्मक पहल हुनुपर्नेमा जोड दिए । “अर्बौंको लगानीमा नहर खन्ने तर महाकालीबाट पानी ल्याउन छिमेकी राष्ट्रसँग कूटनीतिक पहल गर्न ढिलाइ गर्नुहुँदैन”, उनले भने, “हालै बनेको नयाँ सरकारले यो विषय टुङ्गोमा पुर्‍याउने र समस्या समाधान हुनेमा हामी आशावादी छौँ ।”

    अध्यक्ष मल्लले कञ्चनपुरमा खासगरी राजमार्गभन्दा उत्तरतर्फ सिँचाइको समस्या बढी रहेकाले नहर पूर्ण भएसँगै उक्त समस्या समाधान हुने विश्वास व्यक्त गरे । “सिँचाइ सुविधा पुगेर उत्पादनमा वृद्धि भए अर्थतन्त्रमा पनि बल पुग्छ”, उनले भने, “महाकाली सिँचाइ आयोजनामार्फत किसानलाई सिँचाइ सुविधा प्रदान गर्नेगरी सहज र प्रभावकारी वातावरण बन्नुपर्छ ।”

  • बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

    बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

    इनरुवा (सुनसरी), १८ चैतः जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोका अनुसार सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको हो ।

    इनरुवा नगरपालिका(२ कुसुमगाछीमा सुमनकुमार राईले पालन गरेका ब्रोइलर कुखुरामा सङ्क्रमण देखिएको उनले बताए । इटहरी–१६ स्थित सुमन गोविन्द श्रेष्ठले पालेका स्थानीय जातका कुखुरा र हाँसमा पनि बर्डफ्लू सङ्क्रमण पुष्टि भएको डा महतोले बताए । जिल्लाका विभिन्न ठाउँमा कुखुरा फार्म परीक्षण गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट रोग पुष्टि गरेसँगै नियन्त्रणका उपाय तीव्र पारिएको उनले बताए ।


    सङ्क्रमण फैलिन नदिन फार्म वरपरको क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने अन्य कुखुरा फार्ममा पनि निगरानी कडा गरिएको डा महतोले जानकारी दिए । कुखुरामा असामान्य लक्षण देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन तथा बाह्य सम्पर्कबाट कुखुरालाई जोगाउन किसानलाई आग्रह गरिएको उनले बताए । उनका अनुसार जिल्लामा हालसम्म सङ्कास्पद लागेका १४ वटा फार्मबाट १९ हजार ३६५ कुखुरा नष्ट गरिएको छ ।

  • भारतमा विशाल जनगणना सुरु

    भारतमा विशाल जनगणना सुरु

    नयाँदिल्ली, १८ चैत (रासस–एएफपी) । तीव्र रूपमा बढ्दो जनसङ्ख्या र स्रोत व्यवस्थापनको दबाबबीच भारतले बुधबारदेखि विश्वकै सबैभन्दा ठूलो जनगणना अभियान सुरु गर्ने तयारी गरेको छ । करिब ३० लाखभन्दा बढी कर्मचारी परिचालन गरिने यस अभ्यासलाई सरकारले ‘राष्ट्रिय महत्त्वको विशाल अभियान’ का रूपमा चित्रण गरेको छ, जसले समावेशी शासन र प्रमाणमा आधारित नीति निर्माणलाई मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।

    करिब एक अर्ब ४० करोड जनसङ्ख्या रहेको दक्षिण एसियाली मुलुक भारत अहिले आधारभूत आवश्यकताहरू—बिजुली, खाद्यान्न र आवास—व्यवस्थापनमा बढ्दो चुनौतीसँग जुधिरहेको छ । देशका ठूला महानगरहरू पानी अभाव, वायु तथा पानी प्रदूषण र अत्यधिक भीडभाडयुक्त बस्तीका समस्याले ग्रस्त छन्, जसले जनगणनाबाट प्राप्त हुने तथ्याङ्कको महत्त्व झन् बढाएको छ ।

    यसपटकको जनगणनामा सबैभन्दा संवेदनशील मानिएको ‘जात’ सम्बन्धी विवरण पनि समेटिनेछ । हिन्दू समाजमा हजारौँ वर्षदेखि कायम सामाजिक पदानुक्रमका आधारमा मानिसहरूको पेशा र सामाजिक स्थिति निर्धारण हुने भएकाले यस विषयलाई राजनीतिक रूपमा पनि जटिल मानिन्छ । सन् २०११ मा गरिएको जाति सर्वेक्षण सार्वजनिक नगरिएको इतिहास छ भने औपचारिक रूपमा विस्तृत जातीय तथ्याङ्क अन्तिम पटक सन् १९३१ मा ब्रिटिस शासनकालमा सङ्कलन गरिएको थियो ।

    लजिस्टिक हिसाबले पनि यो अभियान अत्यन्त चुनौतीपूर्ण रहनेछ । भारतले सन् २०२४ मा सम्पन्न गरेको आम चुनाव नै विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिएको थियो, जुन सात चरणमा छ हप्तासम्म चलेको थियो । त्यसभन्दा पनि व्यापक दायरामा फैलिएको जनगणना दुई चरणमा सञ्चालन गरिनेछ ।

    पहिलो चरण बुधबारदेखि सेप्टेम्बरसम्म चल्नेछ, जसमा घरधुरी, आवासको अवस्था र आधारभूत सुविधाहरूको विवरण सङ्कलन गरिनेछ । यस क्रममा घर–घरमै पुगेर तथ्याङ्क सङ्कलन गरिनेछ भने नागरिकलाई अनलाइनमार्फत स्व–गणना गर्ने विकल्प पनि दिइनेछ । स्याटेलाइट इमेजरीसँग जोडिएको डिजिटल नक्सा प्रणाली र १६ भाषामा उपलब्ध प्रविधिको प्रयोग गरिनेछ ।

    दोस्रो चरणमा भने जनसाङ्ख्यिकीय, सामाजिक र आर्थिक अवस्थासँगै जातिसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिनेछ । जाति अझै पनि भारतमा स्रोत, शिक्षा र अवसरको पहुँच निर्धारण गर्ने महत्त्वपूर्ण आधार भएकाले यसबाट प्राप्त तथ्याङ्कले नीति निर्माणमा गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

    देशका अधिकांश क्षेत्रमा वास्तविक जनगणना सन् २०२७ मार्च १ लाई सन्दर्भ मिति मानेर गरिनेछ । तर उच्च हिमाली क्षेत्रहरू—जम्मू–काश्मीरजस्ता स्थानहरू—मा कठोर मौसमका कारण यो प्रक्रिया अक्टोबर १, २०२६ अगावै सम्पन्न गरिनेछ ।

    कोभिड–१९ महामारीका कारण सन् २०२१ को जनगणना स्थगित भएपछि भारतले पछिल्लो पटक सन् २०११ मा मात्र यस्तो अभ्यास गरेको थियो, जसअनुसार त्यतिबेला जनसङ्ख्या एक अर्ब २१ करोड थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२३ सम्म आइपुग्दा भारत एक अर्ब ४२ करोडभन्दा बढी जनसङ्ख्यासहित विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । यस्तो परिवेशमा सुरु हुन लागेको नयाँ जनगणनाले भारतको सामाजिक संरचना, आर्थिक अवस्था र भविष्यका नीतिगत प्राथमिकताहरू निर्धारण गर्न महत्त्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ ।

  • भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले वृद्धि

    भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले वृद्धि

    नयाँ दिल्ली, १८ चैत (रासस–सिन्ह्वा) । भारतको औद्योगिक उत्पादन फेब्रुअरी महिनामा ५।२ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ । यो वृद्धि औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी) का आधारमा मापन गरिएको हो, जसले देशको समग्र औद्योगिक गतिविधिको अवस्थालाई सङ्केत गर्छ ।
    सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी विवरणअनुसार यस वृद्धिमा सबैभन्दा ठूलो योगदान उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रको रहेको छ । उक्त क्षेत्रमा ६।० प्रतिशत वृद्धि भएको छ, जसले उद्योग तथा कारखानाहरूमा उत्पादन विस्तार भइरहेको देखाउँछ ।


    त्यसैगरी, खानी तथा उत्खनन क्षेत्रमा ३.१ प्रतिशत वृद्धि भएको छ । यो वृद्धि कच्चा पदार्थको उपलब्धता र ऊर्जा स्रोतको उत्पादनसँग सम्बन्धित रहेको मानिन्छ । विद्युत उत्पादन क्षेत्रमा पनि २.३ प्रतिशत वृद्धि देखिएको छ, जसले औद्योगिक तथा घरेलु ऊर्जाको माग बढ्दै गएको सङ्केत गर्दछ । विश्लेषकहरूका अनुसार औद्योगिक उत्पादनमा आएको यो समग्र वृद्धि भारतको आर्थिक गतिविधि विस्तारको सकारात्मक सङ्केत हो । उत्पादन क्षेत्रमा सुधार आउनुले रोजगारी सिर्जना, लगानी वृद्धि तथा निर्यात विस्तारमा पनि सहयोग पु¥याउन सक्छ ।
    यद्यपि, केही चुनौतीहरू अझै कायम छन् ।

    कच्चा पदार्थको मूल्य, आपूर्ति शृङ्खला व्यवस्थापन र विश्वव्यापी आर्थिक अवस्थाले भविष्यको औद्योगिक वृद्धिमा प्रभाव पार्न सक्ने बताइएको छ । सरकारले औद्योगिक क्षेत्रलाई थप सुदृढ बनाउन पूर्वाधार विकास, नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माणमा ध्यान केन्द्रित गरिरहेको जनाएको छ । विशेषज्ञहरूले दीर्घकालीन स्थिर वृद्धि सुनिश्चित गर्न नवप्रवर्तन, प्रविधि प्रयोग र दक्ष जनशक्ति विकासमा जोड दिनुपर्ने सुझाव दिएका छन् ।

  • अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    न्युयोर्क,१८ चैत (रासस–एपी) । इरानसँगको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दै जाँदा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रति ग्यालन ४ डलर नाघेको छ, जुन सन् २०२२ पछि पहिलो पटक हो । ‘मोटर क्लब’का अनुसार अहिले साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध सुरु हुनुअघि भन्दा एक डलरभन्दा बढी वृद्धि हो । यसअघि सन् २०२२ मा युक्रेन युद्धपछि यस्तो उच्च मूल्य देखिएको थियो। विभिन्न राज्यहरूमा मूल्य फरक–फरक रहेको छ, जसको कारण आपूर्ति, कर दर र स्थानीय अवस्था रहेका छन् ।

    फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त युद्ध सुरु गरेपछि कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । मध्यपूर्वका प्रमुख उत्पादक देशहरूबाट आपूर्ति अवरुद्ध भएपछि मूल्यमा असर परेको हो ।

    अर्थतन्त्रमा असर पर्ने सम्भावना

    पेट्रोलको मूल्य बढ्दा उपभोक्ता र व्यवसाय दुवै प्रभावित भएका छन्। दैनिक खर्च बढ्दै जाँदा मानिसहरूले अन्य क्षेत्रमा खर्च घटाउनुपर्ने अवस्था आउन सक्छ । ढुवानी खर्च बढ्दा खाद्यान्न, बिजुली तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्ने सम्भावना रहेको छ । हालै गरिएको एक सर्वेक्षण अनुसार करिब ४५ प्रतिशत अमेरिकी नागरिक पेट्रोल किन्न सक्ने क्षमताबारे गम्भीर चिन्तित रहेका छन् ।

    ढुवानी र सेवा क्षेत्रमा असर

    इन्धन महँगो हुँदा ढुवानी क्षेत्र पनि प्रभावित भएको छ । हुलाक सेवाले केही सेवामा अस्थायी रूपमा ८ प्रतिशत अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरेको छ ।
    डिजेलको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ, जसले सामान ढुवानी गर्ने सवारी साधनहरूलाई थप भार परेको छ ।

    विश्व आपूर्ति सङ्कट

    विश्वको करिब पाँच भागको एक भाग तेल ओसारपसार हुने महत्वपूर्ण समुद्री मार्ग अवरुद्ध हुँदा आपूर्ति सङ्कट गहिरिएको छ । इरान, अमेरिका र इजरायलबीचका आक्रमणले तेल र ग्यास संरचनामा क्षति पुगेको छ ।

    भण्डार प्रयोग गर्ने प्रयास

    मूल्य घटाउने प्रयासस्वरूप अन्तर्राष्ट्रिय ऊर्जा निकायले सदस्य राष्ट्रहरूको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेको छ ।

    अमेरिकाले भेनेजुएला र रुसबाट केही तेल आपूर्ति सहज बनाउन प्रतिबन्धमा आंशिक छुट दिएको छ ।

    भविष्यको अवस्था

    युद्ध लम्बिएमा पेट्रोलको मूल्य अझै बढ्न सक्ने विश्लेषकहरूको भनाइ छ । साथै गर्मी मौसम सुरु भएसँगै माग बढ्ने भएकाले मूल्यमा थप दबाब पर्ने देखिन्छ ।

  • रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    म्याग्दी, १८ चैतः रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ । एक दशकअघि निर्माण सुरु भएको यो सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले बताए । हाल सडक फराकिलो पार्ने, ग्रेड र मोड सुधार, वर्षाको पानी निकासका निम्ति नाली निर्माण र सडक किनारमा पर्खाल निर्माण धमाधम भइरहेको गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले बताए ।

  • बिपी राजमार्ग अनिश्चितकालीन बन्द

    बिपी राजमार्ग अनिश्चितकालीन बन्द

    काभ्रेपलाञ्चोक, १७ चैतः बिपी राजमार्गमा आज साँझदेखि अनिश्चितकालीन यातायात सञ्चालनमा रोक लगाइएको छ । आज साँझ ७ः०० बजेदेखि राजमार्गस्थित भकुण्डे–नेपालथोकमा खण्डमा भारी वर्षात् भएकाले रोशी खोलामा पानीको बहाब बढेपछि राजमार्गका हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार अहिले जिल्लाको दक्षिणी क्षेत्र पनौती, नमोबुद्ध, कटुञ्जे, मङ्गलटार तगा काभ्रेभञ्ज्याङलगायतका स्थानमा भारी वर्षा भइरहेकाले रोशी खोलमा आउने बाढी र यसले राजमार्गमा पु¥याउने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जनाएको हो । सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ ।

    छिमेकी जिल्ला सिन्धुलीसँग समन्वय गरेर यातायात होल्ड र व्यवस्थापन गरिएको विष्टले बताए । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिल गरिएको छ । यसअघि गत शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले दुई दिन बिपी राजमार्ग अवरुद्ध बनाएपछि करिब ३६ घण्टापछि आइतबार बिहानदेखि सञ्चालनमा ल्याइएको थियो । त्यसबेला पनि दुईतर्फी रूपमा नै सञ्चालन भएको जनाउँदै कार्यालयले मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्नसमेत अनुरोध गरेको थियो ।

    शुक्रबारदेखिको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबारको बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । जसका कारण शुक्रबार साँझदेखि नै उक्त राजमार्ग ठप्प अवस्थामा रहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको थियो । गत साल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो ।

  • घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

    घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

    काठमाडौँ, १८ चैत । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत सेवाग्राहीसँग रु २० हजार घुस लिँदालिँदै पक्राउ परेका छन् ।
    बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिए बापत र उक्त मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । घुसबापतको रकम र मोबाइल एक थानसहित उनलाई काठमाडौँ महानगरपालिका वडा नं ५ स्थित गहनापोखरीबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

  • हवाई इन्धनको मूल्य भारी वृद्धि

    हवाई इन्धनको मूल्य भारी वृद्धि

    काठमाडौँ, १८ चैतः नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरिएको छ । साविकमा प्रतिलिटर रु एक सय २७ रहेको आन्तरिकतर्फको हवाई इन्धन अब बृद्धिपछि प्रतिलिटर रु दुई सय ५१ पुगेको छ । यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर आठ सय १९ अमेरिकी डलर प्रतिकिलोलिटरले बृद्धि भएको छ ।

    परिमार्जित मूल्य अनुसार काठमाडौँमा प्रतिलिकिलोटर नौ सय ६६ अमेरिकी डलर रहेकोमा बृद्धिपछि अब एक हजार सात सय ८५ अमेरिकी डलर पुगेको छ । अर्को मूल्य समायोजन नगर्दासम्म पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको भने साविकको मुद्रा मूल्य नै कायम राखिएको निगमले जनाएको छ ।

  • पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    गुल्मी, १७ चैत । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्धारित समयभन्दा पाँच महिनाअगावै निर्माण सम्पन्न भएको छ । सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको एक सय ४६ मिटर लामो सस्पेन्सन (एनटाइप) पुलको निर्माण आस्था सम्झना जेभी अर्घाखाँचीले निर्माण समयअघि नै सम्पन्न गरेको हो । पुल निर्माणका लागि रु एक करोड ७१ लाख ८४ हजार ४६० बजेट विनियोजन गरिएको थियो ।

    निर्माण व्यवसायीसँग २०८२ भदौ ३ गते सम्झौता भई २०८३ भदौ ३ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएपछि स्थानीयवासीमा खुसी बनेका छन् । वर्षायाममा खोलामा बाढी आउँदा स्थानीय बासिन्दा, विशेषगरी विद्यार्थी, बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई आवतजावतमा निकै सास्ती खेप्नुपर्ने बाध्यता थियो ।

    यसअघि पुल अभावमा वर्षात्को समयमा कतिपय विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने अवस्था रहेको स्थानीय यमबहादुर थापाले बताए । उनका अनुसार पुल नहुँदा खोला तर्न जोखिम मोल्नुपर्ने तथा लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । अब पुल सञ्चालनमा आएपछि करिब आधा घण्टाको दूरी पाँच मिनेटमै छोटिने भएको छ ।

    स्थानीय रामलाल घिमिरेका अनुसार पुल सञ्चालनमा आएपछि विद्यालय तथा स्वास्थ्य सेवा लिन जानका लागि सहज हुनुका साथै व्यापारिक क्षेत्रमा पनि चहलपहल बढ्ने छ । लामो समयदेखि त्यस क्षेत्रका बासिन्दाले राजनीतिक दलहरूसँग गरेको झोलुङ्गे पुलको माग ढिलै भए पनि पूरा गरिदिएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । उक्त पुलले वारिपारिका दुई बस्तीलाई जोड्ने मात्र नभई त्यस क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ ।

  • प्रअले नै छात्रवृत्ति रकम हिनामिना गरेपछि…

    प्रअले नै छात्रवृत्ति रकम हिनामिना गरेपछि…

    जुम्ला, १७ चैत । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले सोमबार दायर गरिएका प्रअमहतसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद भट्टराई र लेखा सहायकविरुद्ध आर्थिक वर्ष २०७९÷८० मा विद्यालयलाई प्राप्त रु एक लाख ४५ हजार ३५० छात्रावृत्ति रकम हिनामिना गरेको आरोप लागेको छ ।

    प्रअमहतले मिति २०८० चैत २१ मा कक्षा १ देखि ५ सम्मका छात्राहरूलाई छात्रवृत्ति रकम रु एक हजारको दरले ८३ जनालाई र कक्षा ६ देखि ८ सम्मका छात्राहरूलाई एक हजार ४८५ रुपैयाँ २३ पैसाका दरले ४४ जनालाई रु ६५ हजार ३५० गरी रु एक लाख ४८ हजार ३५० वितरण गरेको भर्पाइ तातोपानी गाउँपालिकालाई पठाएको देखिएको जनाइएको छ । विद्यालयलाई प्राप्त छात्रवृत्ति रकम सम्बन्धित छात्राहरूलाई वितरण गरेको नदेखिएको तथा प्रतिवादीहरूले एकापसमा मिलेमतो गरी २०८० असोज २१ गते झुट्टा भर्पाइ पुनः कीर्ते गरी २०८० चैत २१ मा छात्रवृत्ति वितरण गरेको अर्को झुट्टा भर्पाइ तयार गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय ९ङ० बमोजिमको कसुरमा उनीहरूविरुद्ध रु एक लाख ४५ हजार ३५० बिगो रकम कायम गरी कैद र जरिवानाको सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएकोे छ ।

  • युद्धको असर सामना गर्न जी ७ सक्रिय

    युद्धको असर सामना गर्न जी ७ सक्रिय

    पेरिस, १७ चैत (रासस–एएफपी) । मध्यपूर्वमा चर्किंदै गएको युद्धले विश्व अर्थतन्त्रमा गहिरो दबाब सिर्जना गरिरहेका बेला धनी राष्ट्रहरूको समूह जी ७ का मन्त्रीहरू त्यसको आर्थिक असर व्यवस्थापन गर्न आपतकालीन समन्वयमा जुटेका छन् । तेल र ग्यासको मूल्य तीव्र रूपमा बढ्दै जाँदा ऊर्जा, वित्त र मौद्रिक नीतिमा संयुक्त प्रतिक्रिया खोज्न सोमबार विशेष बैठक आयोजना गरिएको हो । फ्रान्सका अर्थमन्त्री रोलान्ड लेस्क्योरका अनुसार भिडियो कन्फरेन्समार्फत हुने यस बैठकमा ऊर्जा र अर्थमन्त्रीहरूका साथै केन्द्रीय बैंकका प्रमुख र अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरू सहभागी हुँदैछन् । उनले वित्तीय बजार र विश्व अर्थतन्त्रमा देखिएको अस्थिरताबारे साझा धारणा बनाउन यो बैठक महत्त्वपूर्ण हुने बताए ।


    फेब्रुअरी अन्त्यतिर संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि स्थिति झन् जटिल बनेको हो । त्यसको प्रतिकारस्वरूप तेहरानले खाडी क्षेत्रका तेल निर्यातकर्ता मुलुकहरूलाई लक्षित गर्दै ढुवानी मार्ग अवरुद्ध गरेको छ, जसले विश्व आपूर्तिमा ठूलो अवरोध सिर्जना गरेको छ । यसको प्रत्यक्ष असर ऊर्जा बजारमा परेको छ । तेल र प्राकृतिक ग्यासको मूल्य आकासिँदा उत्पादनदेखि ढुवानीसम्मका आपूर्ति शृङ्खलामा व्यापक प्रभाव परेको छ । विशेषगरी एसियाली मुलुकहरूमा यसको प्रभाव गहिरो देखिएको भन्दै लेस्क्योरले विभिन्न देशका प्रतिक्रियामा फरक–फरक दृष्टिकोण देखा परेको उल्लेख गरे । र्नुभयो ।

    उनका अनुसार यही कारणले ऊर्जा, वित्त र केन्द्रीय बैंकहरूलाई एकै ठाउँमा ल्याएर समन्वय गर्न आवश्यक भएको हो । स्थानीय मिडियासँग कुरा गर्दै उनले झण्डै आधा शताब्दीपछि पहिलोपटक यस्तो स्वरूपमा जी७ बैठक आयोजना गरिएको जानकारी दिए । जी७ समूहमा अमेरिका, क्यानाडा, बेलायत, फ्रान्स, जर्मनी, इटाली र जापान समावेश छन् । यी मुलुकले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच नीतिगत दिशा निर्धारणमा प्रभाव पार्दै आएका छन् । हालको सङ्कटमा विशेषगरी अमेरिकाले इरानद्वारा अवरुद्ध गरिएको स्ट्रेट अफ होर्मुज मार्ग पुनः सञ्चालन गराउन समूहको समर्थन खोजिरहेको छ ।

    हालै सम्पन्न विदेशमन्त्रीहरूको बैठकपछि जी७ ले इरानलाई उक्त जलमार्ग खुला गर्न ‘पूर्ण आवश्यक’ भएको बताउँदै नागरिक पूर्वाधारमा हुने आक्रमण रोक्न आह्वान गरेको थियो । युद्धको प्रभाव बढ्दै जाँदा विभिन्न देशहरूले आन्तरिक रूपमा पनि दबाब झेलिरहेका छन् । ऊर्जा अभाव र मूल्यवृद्धिको असर कम गर्न सरकारले विभिन्न राहत तथा नियन्त्रणका उपायहरू अघि सारेका छन् । तर युद्धको अवधि कति लम्बिने र त्यसको दायरा कति फैलिने भन्ने अन्योलले प्रभावकारी र एकीकृत प्रतिक्रिया दिन कठिन बनाएको छ ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धका उद्देश्य लगभग पूरा भएको दाबी गरेका थिए । तर सोही समयमा हजारौँ अमेरिकी सैनिकहरू मध्यपूर्वमा तैनाथ गरिँदै गएका छन्, जसले स्थिति अझ जटिल बन्ने सङ्केत दिएको छ । मानवीय क्षतिको पक्ष पनि गम्भीर बन्दै गएको छ । इरानबाहिरका अधिकारकर्मीहरूका अनुसार अमेरिका–इजरायल आक्रमणमा तीन हजारभन्दा बढी मानिस मारिएका छन्, जसमा आधाभन्दा बढी सर्वसाधारण रहेका छन् ।

    लेबनानमा पनि हिजबुल्लाहविरुद्ध इजरायली कारबाहीपछि एक हजारभन्दा बढीको ज्यान गएको अधिकारीहरूले बताएका छन् । यद्यपि इजरायल र खाडी राष्ट्रहरूले भने आफ्नातर्फ कम क्षति भएको दाबी गरेका छन् । समग्रमा युद्धले सैन्य मात्र नभइ, आर्थिक र मानवीय दुवै मोर्चामा गहिरो सङ्कट निम्त्याइरहेको देखिएको छ, जसको सामना गर्न जी७ देशहरू समन्वित रणनीति खोज्न बाध्य भएका छन् ।

  • बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    काठमाडौँ, १७ चैत । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह आग्रह गरेको छ ।

    स्वास्थ्य संस्थाहरूले बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बीमितप्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा सुविधा एवं औषधि उपलब्ध नगराइएकोप्रति बोर्डले ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित कानुनविपरीतका गतिविधि नगर्न तथा नगराउन बोर्डले चेतावनी दिएको छ । अनुगमनका क्रममा कुनै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट नियमविपरीत कार्य भएको प्रमाणित भएमा स्वास्थ्य बीमा ऐन, २०७४ बमोजिम कारबाही हुने बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

  • श्रीलङ्कामा बिजुलीको मूल्य करिब ४० प्रतिशत वृद्धि

    श्रीलङ्कामा बिजुलीको मूल्य करिब ४० प्रतिशत वृद्धि

    कोलम्बो, १७ चैत (रासस–एएफपी) । श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका समय बुधबारदेखि बिजुलीको मूल्यमा करिब ४० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । श्रीलङ्काको सार्वजनिक उपयोगिता आयोगले विश्वव्यापी ऊर्जा मूल्यको आधारमा अप्रिलमा विद्युत शुल्कमा थपवृद्धि हुने बताएको हो । आयोगका अध्यक्ष केपीएल चन्द्रलालले कोलम्बोमा पत्रकारसँग भने, “आज हामीले घोषणा गरेको वृद्धिको गणना मध्यपूर्व द्वन्द्व अघि व्याप्त मूल्यको आधारमा गरिएको थियो।” अधिकांश मध्यम वर्गीय उपभोक्ताहरूको लागि, एक किलोवाट बिजुलीको प्रतिघण्टा लागत ८४ रूपैयाँ अर्थात् ०।२८ अमेरिकी डलर हुनेछ ।

    यो मूल्य समायोजनका कारण सबैभन्दा कम विद्युत उपभोग गर्ने उपभोक्ताले एक किलोवाट बिजुलीको प्रतिघण्टाको लागत ६१ रूपैयाबाट ३९.३४ प्रतिशत वृद्धि भई ८४ रूपैँया हुनेछ । यसैगरी, महिनामा ३० किलोवाट प्रतिघण्टा भन्दा कम प्रयोग गर्ने उपभौक्ताका लागि ११.११ प्रतिशतले मूल्यवुद्धि हुनेछ ।
    श्रीलङ्काले यस महिनामा तीन पटक इन्धनको मूल्य बढाइएको र यो एक तिहाईभन्दा बढीले बढेको छ । देशले ऊर्जा सङ्कट हुन नदिन इन्धनको बचत गर्नका लागि हप्तामा तीन दिन सार्वजनिक विदा तोकेको छ।

    सरकारले निजी क्षेत्रलाई पनि सम्भव भएसम्म घरबाटै काम गर्ने व्यवस्था पुनः लागू गर्न भनेको छ । गत महिनाको अन्त्यमा अमेरिका–इजरायलले गरेको आक्रमणपछि शान्तिकालमा विश्वव्यापी कच्चा तेल र ग्यास निर्यातको २० प्रतिशत हिस्सा ओहोरदोहोर गर्ने प्रमुख जलमार्ग हर्मुज घाँटी भएर ओहोर दोहोर गर्ने जहाजहरूलाई इरानले प्रभावकारी रूपमा बन्द गरेको छ। श्रीलङ्काले आफ्नो सबै तेल आयात गर्छ र बिजुली उत्पादनका लागि कोइला पनि खरिद गर्छ ।

    उसले भारत, सिङ्गापुर, मलेसिया र दक्षिण कोरियाबाट प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्छ भने इरानमा निर्मित श्रीलङ्काली प्रशोधन केन्द्रका लागि कच्चा तेल मध्यपूर्वबाट आयात हुने गरेको छ । मध्यपूर्वमा लडाइँ र कुनै पनि लामो युद्धले सन् २०२२ को आर्थिक मन्दीबाट बाहिर निस्कने उसको प्रयासलाई गम्भीर रूपमा कमजोर पार्न सक्ने सरकारले बताएको छ। यसबाट बच्न सरकारले मितव्ययी कार्यक्रमहरूको घोषणा गरेको हो । श्रीलङ्कामा विदेशी मुद्रा सकिएपछि सन् २०२२ मा ४६ अर्ब डलर बराबरको विदेशी ऋण तिर्न नसकेपछि त्यसयता कोलम्बोले आइएमएफको २.९ अर्ब डलरको ससर्त कर्जा सहयोग प्राप्त गरेको छ ।

  • धवलागिरि माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरि माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    म्याग्दी, १७ चैत । यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटीखेती गरेका हुन् । माकुसका बलबहादुर रोकाले चार रोपनी पाखोबारीमा सतुवाखेती गरेको बताए । “इलामबाट प्रतिगोटा रु ३० का दरले बिरुवा किनेर ल्याई सतुवा रोपेको हो”, उनले भने, “एक सय किलोग्राम सतुवा उत्पादन भएको छ ।” केही वर्षअघिसम्म प्रतिकिलोग्राम रु १६ हजारमा बिक्री हुने सतुवाको मूल्य घटेर रु पाँच हजार प्रतिकिलोमा झरेकाले बिक्री गर्न नपाएको उनले बताए ।

    रोकाले सतुवाको गानाका साथै १० हजार नयाँ बिरुवा तयार पार्नुभएको छ । यसअघि मकै, गहुँ, कोदो, उवा, जौँखेती हुने पाखोबारी र खोल्साको पाखामा सतुवा लगाएको रोकाले बताए । तत्कालीन सशस्त्र द्वन्द्व पछि ४५ वर्षीय रोका खेतीकिसानी र पशुपालन गर्दै आएका थिए । समुद्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा भिरालो पाखामा अवस्थित माकुसको भूगोल र हावापानी अनुकूल तथा उच्च मूल्य पाइने भएकाले सतुवाखेती गरेको रोकाले बताए ।
    उहाँले सतुवाखेतीका साथै व्यावसायिक बाख्रापालन पनि गर्नुभएको छ । पचासभन्दा बढी बाख्रा पालेका छन् । माकुस नजिकैको जङ्गलमा प्राकृतिक रूपमा पनि सतुवा उत्पादन हुँदै आएको थियो ।

    परम्परागत खाद्यबाली खेती गरेर लागत पनि उठाउन नसक्ने अवस्था भएपछि विकल्पमा जडीबुटीखेती गरेको रोकाले भने । वैदेशिक रोजगार र परम्परागत खेतीकिसानीको विकल्पमा व्यावसायिक जडीबुटीखेती गरेका रोकालाई धवलागिरि गाउँपालिकाले सतुवाखेती गरेको बारीमा पर्खाल बनाएर घेराबार गर्न गत वर्ष रु एक लाख अनुदान सहयोग गरेको वडाध्यक्ष अमर छन्त्यालले बताए ।


    त्यसैगरी, सतुवाको बिरुवा भएको पल्टमा पलास्टिकको टनेल बनाउन सकेमा तापक्रम सन्तुलित बनाउन, हिउँ, असिना र रोगकीराबाट बचाउन सकिने रोकाको अपेक्षा छ । औषधि बनाउन प्रयोग हुने सतुवा पेट दुखेको, घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन गरेको बेलामा प्रयोग गर्ने चलन छ ।

  • दाङमा १० जनाले बुझाएनन् चुनावी खर्च विवरण

    दाङमा १० जनाले बुझाएनन् चुनावी खर्च विवरण

    दाङ, १७ चैतः गत फागुन २१ गते मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट चुनावी प्रतिस्पर्धामा रहेका ६० उम्मेदवारमध्ये १० जनाले अझै चुनावी खर्चको विवरण बुझाएका छैनन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार खर्च विवरण नबुझाउनेमा निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बनेका आमजनता पार्टीका सीताराम यादव, निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका ढुण्डीराज थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतीक अधिकारी, नागरिक उन्मुक्ति पार्टी नेपालका झरेन्द्रबहादुर खत्री, आमजनता पार्टीका कृष्णबहादुर सुनार र स्वतन्त्र उम्मेदवार पदमप्रसाद पाण्डे रहेका छन् ।

    त्यसैगरी, दाङ निर्वाचन क्षेत्र नं ३ बाट जनता समाजवादी पार्टी नेपालका शोभा डाँगी, मितेरी पार्टी नेपालका सन्तोष सिंह, नागरिक उन्मुक्ति पार्टीका महेश चौधरी र स्वतन्त्र उम्मेदवार भागीराम चौधरी रहेका कुँवरले जानकारी दिए । सूचना अधिकारी कुँवरका अनुसार निर्वाचन ऐन, २०७४ को दफा ७२ अनुसार उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । रासस

  • लापसे गरेर सवारी चलाउनेमाथि कञ्चनपुरमा ट्राफिक प्रहरीको कडाइ

    लापसे गरेर सवारी चलाउनेमाथि कञ्चनपुरमा ट्राफिक प्रहरीको कडाइ

    रासस
    कञ्चनपुर, १७ चैतः जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकविरुद्ध कडाइ गरेको छ । लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनेमाथि प्रहरीले विशेष जाँच अभियान सञ्चालन गर्दै आएकोे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बालेन्द्र नाथका अनुसार गत कात्तिकदेखि हालसम्म लागुपदार्थ सेवन गरेका २२ जना चालकमाथि कारबाही गरिएको छ ।

    सोही क्रममा हिजो मात्रै पूर्व–पश्चिम महेन्द्र राजमार्गमा गरिएको छड्के जाँचका क्रममा चार जना चालक लागुपदार्थ सेवन गरेर सवारी चलाउँदै गरेको अवस्थामा फेला परेका छन् । स्वास्थ्य कार्यालय र महाकाली अस्पतालको प्राविधिक सहयोगमा गरिएको जाँचमा १६ जना चालकको परीक्षण गर्दा चार जनाले लागुपदार्थ सेवन गरेको पुष्टि भएको प्रहरी निरीक्षक नाथले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

    उनका अनुसार लागुपदार्थ सेवन गरेर सवारी चलाउनु केबल ट्राफिक नियम उल्लङ्घन मात्र नभई गम्भीर अपराध र सार्वजनिक सुरक्षामाथिको खेलबाड हो । लापसे जाँचका लागि प्रहरीले ‘ड्रग डिटेक्सन किट’ प्रयोग गर्ने गरेको छ । “यस प्रविधिमा चालकको ¥यालको नमुना सङ्कलन गरी परीक्षण गरिन्छ । जसबाट चालकले लागुपदार्थ सेवन गरेको वा नगरेको तत्कालै थाहा हुन्छ”, प्रहरी निरीक्षक नाथले भने । सेवन गरेको पुष्टि भएमा लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइँदै आएको छ ।

    यसअघि मादक पदार्थ सेवन (मापसे) को मात्र जाँच हुँदै आएकामा अब चिकित्सकको निगरानीमा लागुपदार्थ सेवन जाँच सुरु गरिएकाले लागुऔषध प्रयोग गरेर सवारी चलाउने चालक कानुनी दायरामा आउन थालेका छन् । उनका अनुसार लागुपदार्थ सेवन गरेका चालकको स्नायु प्रणालीमा असर पर्ने, निर्णय क्षमता कमजोर हुने, प्रतिक्रिया समय ढिलो हुने र दृष्टिमा भ्रम हुने भएकाले दुर्घटनाको जोखिम अत्यधिक रहने गर्दछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले राजमार्ग क्षेत्रमा महिनामा लागुपदार्थ सेवनबारे दुई(तीन पटक छड्के जाँच गर्ने र साँझको समयमा दैनिक मापसे जाँचलाई निरन्तरता दिने कार्य गर्दै आएको छ ।

    “यसले चालकमा सचेतना बढाउनुका साथै दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ”, प्रहरी निरीक्षक नाथले भने, “यस कार्यले कारबाहीसँगै सडक सुरक्षाबारे सचेतना फैलाउने काम पनि हुँदै आएको छ ।” सडकमा लापसे जाँच गर्नुको मुख्य उद्देश्य दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए । राजमार्गमा हुने दुर्घटना कम गर्न र लागुऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न आगामी दिनमा पनि लापसे तथा मापसे जाँच अभियानलाई निरन्तरता दिइने उनको भनाइ छ।

  • लोकप्रिय बन्दै पालुङटारको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम

    लोकप्रिय बन्दै पालुङटारको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम

    रासस
    गोरखा, १७ चैतः जिल्लाको पालुङटार नगरपालिकाले सञ्चालन गरेको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम लोकप्रिय बन्दै गएको छ । आर्थिक वर्ष २०८१–८२ देखि सुरु भएको उक्त कार्यक्रममा हाल पालिकाका अधिकांश किसान आबद्ध रहेका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए । उनका अनुसार कार्यक्रमअन्तर्गत पालिकाले कृषक, कृषि समूह तथा कृषि सहकारीलाई शतप्रतिशत अनुदानमा बीउ उपलब्ध गराउँदै आइएको छ । पालिकाले किसानको इच्छाअनुसार विभिन्न प्रकारको खाद्यान्न, रैथाने र मसला बालीको बीउ उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।


    “खाद्यान्नअन्तर्गत धान र मकै, रैथाने बालीअन्तर्गत कोदो, फापर, मास र कागुनो तथा मसला बालीअन्तर्गत अधुवा र हलेदोको बीउ उपलब्ध हुन्छ”, प्रमुख प्रशासकीय अधिकृत बिसीले भने बीउ पैँचो कार्यक्रममा कृषकको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।

    पालिकाले उपलब्ध गराएको बीउबाट किसानले बीउ उत्पादन गर्नुपर्ने प्रावधान रहेको प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए । “निश्चित समयपछि किसानले पालिकाले अनुदानमा उपलब्ध गराएको बीउ पालिकामै फिर्ता गर्नुपर्ने हुन्छ”, उनले भने, “किसानले पालिकाले जतिमात्रामा बीउ उपलब्ध गराएको थियो, त्यति पालिकालाई फिर्ता गरेर बाँकी आफूखुसी बेच्न सक्नुहुन्छ ।” यसरी किसानले फिर्ता गरेको बीउ पुनःअन्य किसानलाई उपलब्ध गराएर बीउ पैँचो कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।


    “सुरुको वर्षमा किसानलाई आवश्यकपर्ने बीउ बाहिरबाट ल्याउनुपर्ने हुन्छ । विस्तारै यही उत्पादन बढ्न थालेपछि किसानबीच बीउ पैँचोको अभ्यास सुरु हुन्छ”, उनले भने । पालुङटारले किसानसँग बीउ पैँचो कार्यक्रमका लागि चालु आव २०८२–८३ मा रु दुई लाख विनियोजन गरेको छ । पालिकाले हाल कार्यक्रम जारी गरेर इच्छुक किसानलाई कार्यक्रममा आबद्ध हुन सूचना प्रकाशन गरिसकेको छ ।

    गत वर्ष कार्यक्रममा आबद्ध भएका किसानले बीउसमेत फिर्ता गरिसकेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसीले उल्लेख गरे । कार्यक्रम किसानको मागमा आधारित हुन्छ । विशेषगरी पालिकाको रैथाने बाली प्रवर्द्धन गर्न, कृषकको जीविकोपार्जनमा सहयोग पुर्‍याउन र पालिकालाई बीउमा आत्मनिर्भर बनाउन ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ ।