Category: अर्थतन्त्र

  • श्रीलङ्कामा इन्धन र ऊर्जा बचतका नयाँ निर्देशिका जारी

    श्रीलङ्कामा इन्धन र ऊर्जा बचतका नयाँ निर्देशिका जारी

    कोलम्बो,११ चैत (रासस–सिन्ह्वा) । मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन आयातमा सम्भावित अवरोधहरू आउन सक्ने अवस्थामा श्रीलङ्काको प्रमुख आवाश्यक सेवा कार्यालयले सरकारी निकायहरूका लागि इन्धन र ऊर्जा बचतसम्बन्धी निर्देशिका जारी गरेको छ । यो निर्देशिका मन्त्रालय सचिव, प्रादेशिक तथा जिल्ला सचिव र सरकारी तथा कानूनी संस्थाहरूका प्रमुखहरूलाई वितरण गरिएको छ । यसमा सार्वजनिक क्षेत्रभरि इन्धन र बिजुलीको खपत घटाउने उपायहरू अपनाउन सुझाव दिइएको छ ।

    निर्देशिकाअनुसार, कर्मचारीहरूले व्यक्तिगत सवारीसाधन प्रयोग नगरी सम्भव भएमा सार्वजनिक यातायात वा समूहिक यातायातको प्रयोग गर्नुपर्छ । साथै, क्षेत्रीय कार्यका लागि सवारी साधनको सङ्ख्या घटाउन दैनिक यातायात योजना तयार गर्न सरकारी निकायहरूलाई निर्देशन दिइएको छ । बिजुली र ऊर्जा बचतका लागि सुझावहरूमा प्राकृतिक प्रकाशको अधिकतम प्रयोग, एयर कन्डिसनको सट्टा बिजुली पङ्खाको प्रयोग र सिँढीको प्रयोग प्रोत्साहित गरी लिफ्टको सीमित प्रयोग समावेश छ ।

    स्थानीय सरकारका निकायहरूले अनावश्यक समयमा सडक बत्ती निभाउन र उच्च सुरक्षा क्षेत्रबाहेक सडक बत्ती अस्थायी रूपमा बन्द गर्न निर्देशन पाएका छन् । निर्देशिकाले संस्थाहरूका प्रमुखलाई पनि प्रविधि उपलब्ध भएमा कर्मचारीलाई कार्यालय उपस्थितिका सट्टा घरबाट काम गर्न अनुमति दिन प्रेरित गरेको छ । सबै सार्वजनिक अधिकारीहरूलाई जिम्मेवार व्यवहार गर्न, जनता माझ उदाहरण प्रस्तुत गर्न र राष्ट्रिय ऊर्जा संरक्षण तथा सुरक्षा प्रयासमा पूर्ण समर्थन जनाउन आग्रह गरिएको छ ।

  • वीरगन्जबाट मात्र एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वीरगन्जबाट मात्र एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज (पर्सा), ११ चैत । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ ।

    पेट्रोलियम पदार्थको आयातबाट रु ५२ अर्ब १५ करोड राजस्व सङ्कलन भएको छ । त्यसैगरी, रु ६३ अर्ब ६५ करोड बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात भएको छ । सोही अवधिमा रु २५ अर्ब ३० करोड बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल रु २० अर्ब ८५ करोड बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ ।

  • विभागले तीन फर्मलाई तिरायो जरिवाना

    विभागले तीन फर्मलाई तिरायो जरिवाना

    काठमाडौँ, ११ चैतः स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागका अनुसार दशरथ ग्रोसरी प्रालि इमाडोललाई रु ५० हजार, शाह एण्ड शाह इन्टरप्राइजेज सूर्यविनायक बालकोटलाई रु १० हजार जरिवाना गरेको छ । यस्तै, ए एण्ड ए सपिङ सेन्टर महालक्ष्मी ५ टिकाथलीलाई रु पाँच हजार जरिवाना गरेको छ ।

    स्थलगत अनुमगनको क्रममा कानुन विपरीतको कारोबार भएको पाइएपछि जरिवाना गरिएको हो । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारवाही गरिएको हो । थप कूल १५ फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुको उपस्थितीमा विभागले नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ ।

  • चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    गलकोट (बागलुङ), ११ चैत । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमश मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मङ्गलबार चैते दसैँ मेला पनि सुरु भएको छ ।

    कालिका मन्दिरमा वडा दसैँको तुलनामा चैते दसैँमा बढी भक्त आउने गरेको र यसपटक भक्तजनको सङ्ख्या बढी देखिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिए । शुक्रबारदेखि नवदुर्गा सुरु भएको र त्यस यत्रा नवमीसम्मै मन्दिरमा पूजा आजाका लागि आउने गरिएको छ । चैते दसैँमा अष्टमीलाई सबैभन्दा बढी उत्तम मानिन्छ । चैते दसैँको मुख्य दिन चैत १२ गते बिहीबार परेको छ ।

    तीन सय वर्षभन्दा पहिलेदेखि मन्दिर परिसरमा चैते दसैँको अवसरमा मेला लाग्दै आएको छ । यस मन्दिरमा गुठीले व्यवस्थापन गरेसँगै व्यापारिक स्टल, रमाइलो मेला लगायतका संरचना निर्माण गरेर मङ्गलबारबाट मेला आयोजना गरेको हो । देशभरबाट भक्तजन तथा आन्तरिक पर्यटक आउने क्रम जारी छ । मन्दिर परिसरमा लाग्ने मेलालाई विशेष पर्वका रूपमा लिने गरिन्छ । चैते दसैँको प्रतिपदादेखि राम नवमीसम्म करिब १० लाख भक्तजन आउने अनुमान गरिएको छ । यस अवसरमा विभिन्न गाउँ तथा जिल्लाबाट आउने भक्तजनका लागि मेला, स्टल र आवासको व्यवस्था मिलाइएको छ ।

    मेलाका अवसरमा कालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता तथा छेलो प्रतियोगिता आयोजना गरिएको छ । मेलामा सांस्कृतिक कार्यक्रमसमेत हुनेछ । मेलामा गाउँबाट किसानहरूले वर्षभरि तयार पारेका काठ, ठेका, बाँसुरी र बाँस र निगालोका सामग्री बिक्रीका लागि ल्याउने गरेका छन् । मन्दिरमा विसं १५९१ देखि यस मन्दिरमा पूजा हुँदै आएको छ । किंवदन्तीअनुसार पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्वदेवीसँग विवाह गर्दा कालिका देवीलाई साथमा ल्याई यहाँ स्थापना गराएको विश्वास गरिन्छ ।

  • झापामा ‘बर्ड फ्लु’ प्रकोपः पक्षीजन्य वस्तु ओसार–पसारमा रोक

    झापामा ‘बर्ड फ्लु’ प्रकोपः पक्षीजन्य वस्तु ओसार–पसारमा रोक

    झापा, १० चैतः यहाँका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा ‘बर्ड फ्लु’ देखा परेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै रोग पुष्टि भएको क्षेत्रलाई केन्द्रविन्दु मानी चारै दिशामा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर नियन्त्रणका काम अघि बढाएको जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंद्वारा जारी सूचनामा सङ्क्रमण थप फैलिन नदिन प्रभावित स्थानीय तहहरूबाट पक्षी, अण्डा, दाना र अन्य पक्षीजन्य सामग्री अन्यत्र लैजान पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ ।

    भेटेरिनरी अस्पताल झापाकी प्रमुख शीतल भट्टराईका अनुसार दमक नगरपालिका–१० स्थित एग्रिकल्चर फार्ममा पालिएका लेयर्स कुखुरामा ‘हाइप्याथोजेनिक’ बर्ड फ्लु पुष्टि भएको छ । सङ्क्रमण देखिएलगत्तै उक्त फार्मका सबै कुखुराहरू सोमबार नै नष्ट गरिसकिएको उनले बताए । दमक, झापा गाउँपालिका मात्र नभई जिल्लाका मेचीनगर र अर्जुनधारा नगरपालिकालगायतका क्षेत्रबाट पनि कुखुरा मरिरहेको सूचना प्राप्त भएकाले जोखिम बढेको अनुमान गरिएको छ ।

    प्रमुख भट्टराईले किसानले ल्याएका नमूनाका प्रारम्भिक ‘(यापिड टेस्ट’ गर्दा ‘रिपोर्ट पोजेटिभ’ देखिएको र थप प्राविधिक पुष्टिका लागि केन्द्रीय प्रयोगशालामा पठाएर पिसिआर परीक्षण प्रक्रिया अघि बढाइएको जानकारी दिए । झापासँगै छिमेकी जिल्ला मोरङ र सुनसरीमा समेत यो रोग फैलिएकाले झापा बर्ड फ्लुको उच्च जोखिममा रहेको उनले बताए ।

  • ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    रासस
    काठमाडौँ, १० चैतः इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि राजधानी उपत्यकामा एक्कासी खाना पकाउने ग्यासको अभाव भयो । देशमा पेट्रोलियमा पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने निकाय नेपाल आयल निगमले समस्या समाधानको प्रयासस्वरुप आधा सिलिन्डर ग्यास बजारमा पठाउन उद्योगीलाई निर्देशन दियो तर सहजै ग्यास नपाएको उपभोक्ताको गुनासो छ । निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिति नगर्न आमउपभोक्तामा आग्रह गर्दै आइरहेको छ । नेपालमा मासिक रुपमा ४६ हजार मेट्रिक ग्यास खपत हुँदै आएको छ । हरेक महिना सोही परिमाणमा आयात पनि भइरहेको छ ।

    पश्चिम एयसियामा जारी जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य र आपूर्तिमा विश्वव्यापी रुपमा असर परिरहेको छ । यद्यपि, निगमले पेट्रोलियम पदार्थको आपूर्ति साबिककै परिणाममा गरिरहेको बताएको छ । देशमा इन्धनको पर्याप्त भण्डारण नहुँदा बेलाबखत अभाव हुने गरेको निगमका अधिकारी स्वीकार गर्छन् । सरकारले तीन महिनाको माग धान्न सक्नेगरी पेट्रोलियम पूर्वाधार निर्माण गर्ने घोषणा गरेको छ । डिजेल, पेट्रोल र मट्टितेलको भण्डारण क्षमता वृद्धि गरिए पनि हालसम्म खाना पकाउने ग्यासको भण्डारण व्यवस्था भएको छैन ।

    निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट बजारमा ग्यासको अभाव हुन नदिन भण्डारण पूर्वाधारमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउँछन् । “अहिलेसम्मको अवस्थाले नेपाललाई एलपी ग्यास पाइपलाइन र कम्तीमा ३० दिनका लागि पुग्ने भण्डारण पूर्वाधार निर्माण गर्नु अत्यावश्यक छ”, उनले भने ।


    ग्यास ढुवानीमा वार्षिक रु छ अर्बभन्दा बढी खर्च हुँदै आएको छ । नेपालसँग आफ्नै ग्यास बुलेट नहुँदा ढुवानी लागत अधिक छ । “ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माण भएमा अर्बांै बचत हुन्छ”, कार्यकारी निर्देशक भट्टले भने,“यसबाट आपूर्ति प्रणाली सुधार भई आमउपभोक्ताले सहजै ग्यास पाउने अवस्था बन्छ ।”

    तीन महिनाको पेट्रोलियम पदार्थ माग धान्ने पूर्वाधार निर्माण गर्ने राष्ट्रिय नीति भए पनि अझै त्यसले पूर्णता पाउन सकेको छैन । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना पेट्रोलियम भण्डारण नीतिको अस्पष्टता र अव्यवस्थित वितरण प्रणालीका कारण सहजै ग्यास उपलब्ध नभएको तर्क गर्छन् । पेट्रोलियम पदार्थमा परनिर्भर हामीले अधिकभन्दा अधिक विद्युत् उपभोगमा उनको जोड छ ।

    भारतको मोतिहारीदेखि सर्लाहीसम्म ग्यास पाइपलाइन र भण्डारण गृह निर्माणका लागि नेपालले भारतसँग प्रस्ताव गरेको छ । “हामीले एक वर्षअघि नै इन्डियन आयल कर्पोरेसनमार्फत त्यहाँको पेट्रोलियम मन्त्रालयमा ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव गरिसकेका छौँ, जवाफ प्राप्त भएको छैन”, कार्यकारी निर्देशक भट्टले भने ।


    उनले ‘अब के हुने हो’ भनेर उपभोक्ताले सञ्चिति गरेका कारण ग्यासमा केही ‘प्रेसर’ देखिएको बताए । उनले भने, “ग्यास बुलेट लोड गर्न जाने क्रममा कहिलेकाहीँ चाप हुँदा भर्न नभ्याएको मात्रै हो, ग्यास आयातमा केही समस्या छैन ।” ग्यासको वितरण प्रक्रिया सहज हुँदै गएको ठहर गर्दै निगम एक सातापछि पूर्ण सिलिन्डर बजार पठाउने योजनामा जुटेको छ ।

  • निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

    निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

    काठमाडौँ, १० चैत । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९ प्रतिशत मत खसेकाले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणालीका लागि छापिएकामा ४० प्रतिशत मतपत्र प्रयोगविहीन भएका हुन् ।

    निर्वाचनका लागि कूल एक करोड ८९ लाख तीन हजार ६६९ मतदाता रहेकामा आयोगले दुवै प्रणालीका लागि मतदाता सङ्ख्याभन्दा सात प्रतिशत बढी हुने गरी जनक शिक्षा सामग्री केन्द्रमार्फत मतपत्र छपाइ गरेको थियो । आयोगले प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार र समानुपातिकतर्फ दुई करोड आठ लाख ४३ हजार गरी चार करोड ११ लाख ४३ हजार मतपत्र छपाइ गरी सम्बन्धित निर्वाचन क्षेत्रमा ढुवानी गरेको थियो ।

    आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मतदान भएको र त्यसमध्ये करोड पाँच लाख नौ हजार १७ (९४ दशमलव ५५ प्रतिशत) मत सदर भएको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा एक करोड आठ लाख ३५ हजार २५ (९६ दशमलव ०५ प्रतिशत) मत सदर भएको थियो ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सामान्यतः मतदाताको सङ्ख्याभन्दा बढी सङ्ख्यामा मतपत्र छापिने अभ्यासबमोजिम यस पटक पनि चार करोड ११ लाख ४३ हजार मतपत्र छापिएकामा प्रयोग नभएका मतपत्र कानुनी प्रबन्धबमोजिम तत्तत् क्षेत्रमा धुल्याउने प्रक्रियामा जाने बताए । मतदाताभन्दा बढी मतपत्र छपाइ भएकामा कुनै दुरूपयोग त भएन ? वा निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्छ कि श्र भन्ने कतिपयले प्रश्न उठाएको सन्दर्भमा प्रवक्ता भट्टराईले भने, “शङ्का त गर्न पाइयो तर निर्वाचनको निष्पक्षतामा कुनै शङ्का छैन । हामीले प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइसेको र कुनै दल वा पक्षबाट औपचारिकरूपमा त्यस्तो प्रश्न नआएकाले मतपत्र खेर गयो भन्ने आधारमा कुनै शङ्का गर्नु उचित हुँदैन ।”

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले पाठ्यपुस्तक छपाइलगायत नियमित कामका अतिरिक्त राष्ट्रको जिम्मेवारीलाई बोध गर्दै आयोगको कार्यादेशबमोजिम दैनिक १३ लाख मतपत्र छपाइ गरी सुरक्षितरूपमा समयमै हस्तान्तरण गरिएको बताए । उनले मतपत्र छपाइको कामले केन्द्रलाई घाटापूर्ति गर्न पनि सघाएको बताए ।


    ‘सरकारी कागजात धुल्याउने नियमहरू, २०२७ (पहिलो संशोधन, २०७०’ मा धुल्याउने भन्नाले ‘सरकारी कार्यालयमा रहेको कागजातमा लेखिएको व्यहारो पढ्न, बुझ्न वा त्यसको कुनै उपयोग गर्न नसकिने गरी रद्द गर्ने कार्यलाई सम्झनुपर्छ र सो शब्दले त्यस्तो कागजलाई आगोमा डढाउने कार्यसमेत जनाउँछ’ भनिएको छ ।

    सो कानुनअनुसार सम्बन्धित कार्यालय प्रमुखले आफ्नो कार्यालयमा रहेको कागजातहरूअवधि पुगेपछि ‘नेपाल सरकारको कुनै हानि–नोक्सानी नहुनेदेखि धुल्याउन उचित ठह¥याएका जति कागजातहरू काम तामेल भई सकेपछि जुनसुकै बखत धुल्याउन धुल्याउन आदेश दिन सक्ने’ व्यवस्था छ । धुल्याउने कागजातहरूलीलाम बिक्री पनि गर्न सकिने भनिएको छ ।

    कानुनमा काम तामेल भएको तीन महिनापछि धुल्याउने कागजातहरूको वर्गीकरण गरिएको छ । ‘नक्सा र डिजाइनसम्बन्धी तथ्याङ्कबाहेक कुनै निर्माण कार्यसम्बन्धी योजना, सम्भौता, ठेक्का पट्टा, अनुदानसम्बन्धी कागजात सो कार्य पूरा भएपछि लेखापरीक्षण गराउनुपर्ने भए गराइ अन्तिम रूपमा फर फारख भएपछि र लेखा परीक्षण गराउनुपर्नेमा सम्बन्धित कार्य पूरा भएपछि धुल्याउने व्यवस्था छ । राष्ट्रका लागि अभिलेखमूलक काजगात कहिल्यै नधुल्याउन नपाउने भनिएको छ । आयोगले विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चाररचार करोड मतपत्र छपाइ भएकामा करिब ६२ प्रतिशत मतदान भई बाँकी मतपत्र प्रयोगविहीन भएको थियो । राससबाट

  • डब्ल्युटिओमा सुधार गर्न इयुको आग्रह

    डब्ल्युटिओमा सुधार गर्न इयुको आग्रह

    ब्रसेल्स, १० चैत (रासस–एएफपी) । युरोपेली सङ्घ (इयु) ले क्यामरुनमा यसै साता हुने उच्चस्तरीय बैठकअघि विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) मा ‘गम्भीर’ सुधारका लागि आह्वान गरेको छ । डब्ल्युटिओको सर्वोच्च निर्णय गर्ने निकाय मार्च २६ देखि २९ सम्म याउन्डेमा बैठकमा हुनेछ। यो सामान्यतया हरेक वर्ष आयोजित गरिन्छ। लामो समयदेखि विश्व व्यापार सङ्गठनमा सुधार गर्ने इच्छा रहँदै आएको छ तर यस हप्ताको वार्ता विश्व अर्थतन्त्रका लागि विशेष गरी तनावपूर्ण क्षणमा आएको छ, जहाँ विश्वव्यापी व्यापार तनाव, अमेरिकी कर र मध्यपूर्व युद्धका कारण उत्पन्न अवरोधहरू छन्।

    इयुका व्यापार प्रमुख मारोस सेफकोभिकले सङ्घका लागि यो बैठक निर्णायक क्षण भएको बताए । उनले पत्रकारहरूसँग भने, “ईयूले विश्व व्यापार सङ्गठनको गम्भीर सुधारमा जोड दिनेछ, जहाँ समान अवसर क्षेत्र, अधिक क्षमता र बजार नीतिहरूलाई विगतको तुलनामा राम्रोसँग सम्बोधन गरिनुपर्छ। “हामी अधिकार र दायित्वबिचको नयाँ सन्तुलन हेर्न चाहन्छौँ, किनकि परिस्थितिहरू नाटकीय रूपमा परिवर्तन भएका छन्,” उनले थपे । उनले विश्वव्यापी ‘विभिन्न आर्थिक नमूना’ लाई औँल्याउँदै भने, “प्रायः यी अधिक क्षमताले युरोपेली अर्थव्यवस्थामा धेरै समस्याहरू सिर्जना गरिरहेका छन्।”

    इयुले बारम्बार चीनलाई स्टिलसहित केही औद्योगिक क्षेत्रहरूमा विशेषतः अधिक क्षमताको आरोप लगाउँछ । ब्रसेल्सले यो अधिक क्षमताले मूल्यहरू घटाउँछ र युरोपेली निर्माताहरूको लागि अनुचित प्रतिस्पर्धा निम्त्याउँछ। डब्ल्युटिओले संरचनात्मक र भूराजनीतिक अवरोधहरूको सामना गरेको छ र सुधारको माग कुनै नयाँ कुरा होइन। सङ्गठनका धेरै सदस्यहरूले हाल सहमतिमा आधारित यसको निर्णय लिने प्रक्रियामा सुधारका साथै अन्य सुधारहरू गर्न खोजेका छन् ।

  • डोटीमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

    डोटीमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

    डोटी, १० चैत : यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोलेरो चालक आदर्श –३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुङ्गेलले जानकारी दिए ।

    उनका अनुसार खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०१–००१च ३९२३ नम्बरको सो बोलेरो घुम्तीमा अनियन्त्रित भई गए राति १२ः०० बजेको समयमा दुर्घटनामा परेको थियो । दुर्घटनापछि दुवै जना सडकबाट करिब ९०० मिटर तल साइलीखोलामा मृतावस्थामा फेलापरेका थिए ।

  • वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी

    वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी

    म्याग्दी, १० चैतः वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहद्वारा यस वर्ष छ वटा पोखरी निर्माण गर्न थालिएको हो । पानी र आहराका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्न, पोखरीमा पानी भरेर चिस्यान कायम राख्न र डढेलो निभाउनका लागि आवश्यकपर्ने पानी सङ्कलन गर्न पोखरी बनाउन लागिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले जानकारी दिए ।


    “पानी र आहाराको खोजीमा वन्यजन्तु मानव बस्तीमा नआउन् भनेर जङ्गलमा पोखरी बनाउने कार्यक्रम सुरु गरेका थियौँ । उक्ता कार्यक्रम प्रभावकारी बनेपछि पछिल्लो चार वर्षयता निरन्तरता दिएका छौँ”, उनले भने, “वनमा पानी र आहारा भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुगेको छ ।” पोखरीमा पानी सङ्कलन हुँदा जमिनमा रिचार्ज हुने र डढेलो लागेको अवस्थामा निभाउन आवश्यकपर्ने पानी व्यवस्थापन गर्न सजिलो हुने गरेको डिभिजनल वन अधिकृत अधिकारीले बताए ।


    बेनी नगरपालिका ५ को चिप्लरी सिमपाखो, मङ्गला गाउँपालिका–१ कुहुँको पात्लेपानी, धवलागिरि गाउँपालिका ३ मुनाको दहपातल, रघुगङ्गा गाउँपालिका ६ को ठाडाखानी, मालिका गाउँपालिका ६ को सानो धैरेनी उपल्लोतला र अन्नपूर्ण गाउँपालिका ७ को घराम्दी सामुदायिक वन पोखरी बनाउन छनोट भएका छन् ।

    करिब ६१ दशमलव ७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका पोखरीमा ६१ हजार लिटर पानी सङ्कलन गर्न सकिनेछ । प्रतिपोखरी निर्माणका लागि कार्यालयले समूहलाई रु एक लाख अनुदान सहयोग गरेको छ । यसअघि आव २०७८–७९ मा १०, २०७९–८० मा छ, २०८०–८१ मा १० र २०८१–८२ मा पाँच गरी ३१ वटा पोखरी निर्माण भइसकेका छन् । जिल्लामा पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु नजिकको मानवबस्तीमा आएर क्षति पुर्‍याउन थालेका छन् । यसरी बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्दछन् ।

  • वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह

    वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह

    काठमाडौँ, १० चैतः गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्को सूचीकृत व्यक्ति, समूह वा सङ्गठनसँग सम्बन्धित प्रस्तावले सूचीकरणका लागि तोकेको मापदण्डमा पर्नसक्ने कुनै सूचना वा मनासिव आधार प्राप्त गरेमा सोको जानकारी गोप्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले कुनै व्यक्ति, निकाय वा संस्थाले आफ्नो काम कारबाहीको सिलसिलामा कुनै तरिकाले अनाधिकृत कार्य गरेको पाइएमा त्यसको जानकारी दिन सूचनामार्फत आग्रह गरेको हो ।

    मन्त्रालयले त्यस्तो सूचना नजिकको जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखामा जानकारी गराइदिन अनुरोध गरेको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ बमोजिम मन्त्रालयले सो आग्रह गरेको हो ।

  • वाणिज्य विभागले तीन फर्मलाई तिरायो जरिवाना

    वाणिज्य विभागले तीन फर्मलाई तिरायो जरिवाना

    काठमाडौँ, १० चैतः नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन तीन वटा फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणका क्रममा कैफियत देखिएपछि विभागले सुवाः ग्रोसरी, प्रमिसा खाद्यस्टोर र ए जे सल्पायर्सलाई जरिवाना गरेको हो । विभागका अनुसार ललितपुर महानगरपालिका २२ बुङ्मतिमा रहेको सुवा ग्रोसरीलाई रु ५० हजार जरिवाना गरेको छ ।

    ललितपुर महानगरपाली १८ मगरगाउँमा अवस्थित प्रमिसा खाद्यस्टोरलाई रु १० हजार र सूर्यविनायक नगरपालिका ६ पाण्डु बजारमा अवस्थित एजे सप्लायर्सलाई रु १० हजार जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ । ती फर्मलाई विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको छ । विभागले थप १२ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएका निकाय समेतको उपस्थितिमा नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ ।

  • मुस्ताङमा पर्यटन पूर्वाधारसम्बन्धी २७ आयोजना कार्यान्वयनमा

    मुस्ताङमा पर्यटन पूर्वाधारसम्बन्धी २७ आयोजना कार्यान्वयनमा

    मुस्ताङ, १० चैतः मुस्ताङका पाँच पालिकामा चालु आव २०८२\८३ का लागि धार्मिक तथा पर्यटन पूर्वाधार निर्माण तथा स्तरोन्नतिसम्बन्धी २७ वटा आयोजना कार्यान्वयनमा ल्याइएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालयले मुस्ताङका धार्मिक तथा पर्यटकीयस्थलको पर्यटनसम्बन्धी पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि चालु आवमा रु दुई करोड ३० लाख बजेट विनियोजन गरेको हो ।

    धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण, मर्मत तथा स्तरोन्नतिका लागि २४ वटा आयोजना कार्यान्वयन गर्न एकीकृत सेवा कार्यालयलाई बजेट सुनिश्चित गरिएको हो भने बाँकी तीन वटा आयोजना प्रदेश सरकारअन्तर्गत कार्यान्वयन गर्नेगरीबजेट सुनिश्चित गरेको एकीकृत सेवा कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयलाई धार्मिक तथा पर्यटकीयस्थलको मर्मत, स्तरोन्तिका लागि रु एक करोड ५० लाख र प्रदेश सरकारबाट अख्तियारी प्राप्त तीन वटा आयोजनाका लागि रु ८० लाख बजेट विनियोजन भएको छ ।

    चालु आवका लागि लोमान्थाङ गाउँपालिकामा पाँच, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एक, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा दुई, घरपझोङ गाउँपालिकामा नौ र थासाङ गाउँपालिकामा सात वटा आयोजना परेका एकीकृत सेवा कार्यालयले जनाएको छ । यसैगरी, प्रदेश सरकारबाट अख्तियारी प्राप्त भई कार्यान्वयनको चरणमा रहेका तीन आयोजनामध्ये थासाङ, घरपझोङ र लोमान्थाङ गाउँपालिकामा एकरएक वटा परेका प्रमुख दर्जीले जानकारी दिए ।

    धार्मिक तथा पर्यटन पूर्वाधारसम्बन्धी पाँच वटा आयोजनाका लागि रु २५ लाख बजेट परेको छ । सोमध्ये लोमान्थाङमा रहेका ऐतिहासिक तथा धार्मिक चार वटा गुम्बाको मर्मत तथा स्तरोन्नति र एक पर्यटकीयस्थलको पूर्वाधार स्तरोन्नतिका लागि उक्त बजेट विनियोजन भएको उनले बताए ।


    लोघेकर दामोदरकुण्ड गाउँपालिकामा चराङ गुम्बा मर्मत तथा स्तरोन्नति गर्न रु पाँच लाख बजेट छुट्याइएको जनाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा दुई आयोजनाका लागि रु १० लाख बजेट परेको छ । यहाँ बारागुङ मुक्तिक्षेत्र–४ तिरीस्थित गुम्बा मर्मत तथा स्तरोन्नति र बारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि लोघेकर दामोदरकुण्डको ताङ्ग्या जाने पर्यटकीय पदमार्ग स्तरोन्नति गर्न उक्त बजेट विनियोजन भएको हो ।

    घरपझोङ गाउँपालिकामा नौ वटा आयोजनाका लागि रु ५० लाख बजेट परेको छ । घरपझोङस्थित एयरपोर्ट पुथाङ भिरमा पर्यटकीय पूर्वाधार, जोमसोम पर्यटक पार्क निर्माण, इको म्युजियममा आवश्यक पर्यटकीय पूर्वाधार, छैरो छहरामा पर्यटन पूर्वाधार, ठिनी पर्यटकीय पूर्वाधार, ढुम्बाताल संरक्षण तथा सौन्दर्यीकरण, नीलगिरि भ्यू पार्क र रिसुम गुम्बा जाने पदमार्ग निर्माण गर्न उक्त बजेट परेको हो ।

    थासाङ गाउँपालिकामा सात आयोजनाका लागि रु ५० लाख बजेट विनियोजन भएको छ । यहाँ गुरुसाङ्बो धार्मिक क्षेत्रमा जीर्ण अवस्थामा रहेको ध्यान गर्ने कोठा निर्माण, नाखेधारा झरना पर्यटन पूर्वाधार निर्माण र छाक्ताङदेखि खल्ह्यु गोरेटो पदमार्ग निर्माण गरिने एकीकृत सेवा कार्यालयले उल्लेख गरेको छ । थासाङमा थकाली सामुदायिक ऐतिहासिक कोतघरको तला थप्ने, नाङसुङ गुम्बा मर्मतसम्भार, कालोपानी स्याकुप्रा पर्यटन मार्ग निर्माण र कालोपानी धुलो डाँडा भ्यू टावर पर्यटन मार्ग विस्तारलगायत आयोजना छन् ।

    गण्डकी प्रदेश सरकारमार्फत यहाँस्थित एकीकृत सेवा कार्यालयले कार्यान्वयन गर्ने थासाङ गाउँपालिकामा अवस्थित धौलागिरि आइसफल पर्यटकीय पदमार्ग तथा पर्यटकीय पूर्वाधार निर्माणमा रु ४० लाख, घरपझोङ–४ जोमसोमस्थित कालीगण्डकी नदीमा रहेको ठूला चट्टानमा मूर्तिकला र शालिग्रामलगायत आकृति निर्माणमा रु २० लाख र लोमान्थाङ–१ छोसेरस्थित झोङ केपमा पर्यटकीय पार्क निर्माणमा रु २० लाख बजेट कार्यान्वयनको चरणमा रहेका कार्यालय प्रमुख दर्जीले जानकारी दिए ।

  • अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो

    अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो

    काठमाडौँ, १० चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ आज उकालो लागेको छ । लगातार उकालो लाग्दै आएको अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ५० पैसा र बिक्रीदर २०१ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ २५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०५ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७८ पैसा र बिक्रीदर २१ रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४१ रुपैयाँ २२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २२ पैसा र बिक्रीदर २३ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    मधु शाही र सिर्जना राई–रासस
    काठमाडौँ, ९ चैतः प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन् । कतिपय कर्मचारीहरू मन्त्रीका कार्यकक्ष सजाउन खटिएका छन् । नयाँ मन्त्रीको स्वागतमा सजिएका छन्, मन्त्रालयहरू । यसै त वसन्त ऋतुमा सिंहदरबारका बगैँचामा फूलहरू ढकमक्क छन् । त्यसैमा अहिलेको सजावटले ‘सुनमा सुगन्ध’ थपिदिए जस्तै भएको छ । यसो हेर्दा लाग्छ, सिंहदरबारमा फुलेका फुलहरू पनि नयाँ सरकारको स्वागतार्थ लामबद्ध छन् ।

    निर्वाचनको अन्तिम परिणाम आइसकेको छ र सांसदहरूको शपथ चैत १२ गतेका लागि तोकिएको छ । त्यसलगत्तै सरकार गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृहकार्यमै छ । त्यसैले केही दिनमै बन्ने सरकारको स्वागतका लागि सिंहदबारभित्र तयारी भइरहेको हो । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगलागीमा परेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मुहार पनि यसै मेसोमा फेरिँदै छ, सिँगारिँदै छ । मन्त्रालयका सूचना अधिकारी मधुप्रसाद घिमिरेका अनुसार जेनजी आन्दोलनका बेला टेलिफोनका जलेका टेलिफोनका तारहरू व्यवस्थित हुँदैछन् । उहाँले भन्नुभयो, “मन्त्रालय चिरिच्याट्ट बन्दै छ । नयाँ मन्त्रीको स्वागतमा तयार हुँदै छ ।”

    युवा खेलकुद मन्त्रालयमा पनि नयाँ मन्त्रीको स्वागतका तयार गरिँदै छ । यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि नयाँमन्त्रीसँगै नीतिगत कार्य सम्पादनको पर्खाइमा छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदयबहादुर रानामगरले कार्यकारी अर्थात मन्त्री नहुँदा नियमित सामान्य कामसमेत प्रभावित भइरहेको अवस्थामा नयाँ मन्त्रीको स्वागत गर्न मन्त्रालयका कर्मचारी उत्साहित रहेको बताए । उनले विगतमा जस्तै भौतिक संरचनाको हिसाबले मन्त्रीकक्ष पूर्ण व्यवस्थित नै रहेको सुनाए । “मन्त्री हुँदा पब्लिक चहलपहल हुने गर्यो । अहिले सुनसान जस्तै छ,” उनले भने, “मन्त्रीको प्रतीक्षामा कार्यालयदेखि कर्मचारी रहेका छौँ ।”


    त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि जलेको अघिल्लो भाग पेन्टिङ गरेर चिरिच्याट्ट पारिएको छ । मन्त्रालयका एक कर्मचारीले भने, “अब नयाँ सरकार आएसँगै चहलपहल बढ्ला, अहिले त सुनसानै छ ।” मन्त्रालयका सूचना अधिकारी राजु महर्जनले नयाँ मन्त्रीको आगमनसँगै मन्त्रालयमा सेवाग्राहीले चाप बढ्ने हुनाले आवश्यक सबै तयारी सकिएको बताए । जेनजी आन्दोलनका क्रममा मन्त्रालयको क्षतिग्रस्त भवनको पुनः निर्माण सम्पन्न भइसेको छ । नियमित प्रशासनिक कामबाहेक नीतिगत मन्त्रिस्तर निर्णयका लागि मन्त्रालय प्रतिक्षारत रहेको उनको भनाइ छ ।

    जेनजी आन्दोलनले पूर्ण रूपमा क्षति भएको मन्त्रालयमध्ये, बेला रामशाह पथमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय थियो । भवनको क्षति भएसँगै कार्यालय व्यवस्थित बनाउने सङ्घर्षमै रहेको छ । मन्त्रालयको आधा कार्य कार्यालय अहिले सिंहदबारस्थित अस्थायी टहरामा सीमित छ । यद्यपि आगामी सरकार गठनले ल्याउने स्वास्थ्यमन्त्रीको स्वागत गर्न मन्त्रालय प्रशासन चुस्त छ ।

    मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार भवन जलेपछि स्वास्थ्य मन्त्रालयको आफ्नो स्थायी संरचना छैन । उनका अनुसार हालका स्वास्थ्यमन्त्री डा सुधा गौतमले आइतबारदेखि अत्यावश्यक कामबाहेक मन्त्रालयमा नियमित उपस्थित नहुने गरी धन्यवाद दिएर गएका छन् । आगामी बजेटको तयारीमा लागेको मन्त्रालयले बेलैमा नयाँ मन्त्रीको स्वागत गर्न पाए प्रभावकारी हुने आशा रहेको मन्त्रालयका प्रवक्ता बुढाथोकीको धारणा छ ।

    “टहरामा मन्त्रालय चलाउनु परेको अवस्था छ,” उनले भने, “हाम्रो यति मात्र आशा छ कि बजेटको तयारी गर्दै गर्दा स्वास्थ्यमन्त्री छिटो नियुक्ति भएको खण्डमा पछि पनि सजिलो हुन्थ्यो ।” सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले नयाँ मन्त्रीको स्वागतका लागि खास तयारी आवश्यक नभएको बताइन् । उनले भवन संरचना पूर्ण तयार रहेकाले पनि तयारी आवश्यक नभएको बताइन् । नियमित प्राशासनिक काम सञ्चालन भइरहेको र नीतिगत कामहरू सम्पादन गर्न मन्त्रीको पर्खाइमा रहेको उनले सुनाइन् ।

  • नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

    नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

    काठमाडौँ, ९ चैत । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलको आगमन र प्रस्थान कक्षमा विशेष डेस्क स्थापना गरी सेवा दिन सुरु गरेको हो ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेका अनुसार पहिला एनआरएनए र भिसा फ्रि भएका मुलुक र व्यक्तिका लागि छुट्टै डेस्को व्यवस्था गरिएको थियो । अब नेपाली मूलका विदेशी नागरिकलाई पनि अध्यागमनमा छुट्टै डेस्कको व्यवस्था गरिएको छ । नेपाली भाषा, संस्कृति र मातृभूमिप्रतिको सम्बन्ध अझ सुदृढ बनाउने, साथै पर्यटन र लगानी प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।

    अध्यागमन विभागको यही चैत ८ गतेको निर्णयअनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको आगमन र प्रस्थानतर्फ नेपाली मूलका विदेशी नागरिकका लागि छुट्टै लाइन र अध्यागमन डेस्कको व्यवस्था गरिएको अध्यागमन कार्यालयद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ । विश्वमा रहेका नेपाली मूलका नेपालीहरुको संस्था एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले यसका लागि लामो समयदेखि सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । गृह प्रशासनले आइतबार यो निर्णय गरेपछि संस्थाले स्वागत गरेको छ ।

  • १६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

    १६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

    काठमाडौँ, ९ चैतः खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ । स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले उत्खननको इजाजत प्रदान गरेको हो ।

    विभागले गत आर्थिक वर्षसम्ममा अनुमति दिएका खनिजजन्य वस्तुहरूमा टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामालगायत खानी छन् । खानी अनुमतिपत्र प्रदान गर्ने नियमअनुसार उत्खनन अनुमति माग भएका कम्पनीमध्ये खानी प्रस्ताव अध्ययन गरी आवश्यकताअनुसार प्रक्रिया पूरा भएका विभागले निजी तथा स्वदेशमा दर्ता भएका विभिन्न अन्तरराष्ट्रिय कम्पनीका १६६ संस्थालाई अनुमति प्रदान गरेको सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए ।


    देशको खनिज सम्पदाको खोजतलास, अन्वेषण, विकास र उत्खननसमेत गर्दै आएको विभागले खानी अनुमति प्रदान गर्दा वातावरणीय प्रभाव मूल्याङ्कनमा प्रभाव नपर्ने, दर्ता तथा उत्पादनको अनुपातमा राजस्व सङ्कलन, स्थानीयको लाभ हुने गरी आवश्यक सर्तहरू तोक्ने गरेको जनाइएको छ । विभागले करिब एक सय चुनढुङ्गा खानीले उत्खननको इजाजत प्राप्त गरेको जनाएको छ ।

    भौगोलिक विकटता र यातायातको अभावलगायत कारणले देशमा खनिज सम्पदाको आवश्यक विकास हुन नसकेको सूचना अधिकारी बाँस्कोटाले जानकारी दिए । नेपालमा खनिज सम्पदाको विकास हुन नसक्नुका मुख्य कारणहरूमा पुँजी र आधुनिक प्रविधिको अभाव, भौगोलिक विकटता एवं नीतिगत समस्या पाइएको छ ।

    पूर्वाधारको कमी, खनिज सम्पदाको विस्तृत अन्वेषण हुन र वातावरणीय जोखिम, खनिज उत्खननका लागि आवश्यक महँगो प्रविधि, उपकरण र ठूलो पुँजीको अभाव, र लगानीमैत्री वातावरण नबन्नाका कारण खनिज उत्खनन चुनौतीपूर्ण बनेको छ । धेरैजसो खनिज पदार्थ दुर्गम र भिरालो स्थानमा रहेकाले उत्खनन पनि ढुवानीमा कठिन रहेको जनाइएको छ ।

  • रूसद्वारा इरान युद्धको ‘राजनीतिक’ समाधानको माग, पहल भइरहेको अमेरिकाको भनाइ

    रूसद्वारा इरान युद्धको ‘राजनीतिक’ समाधानको माग, पहल भइरहेको अमेरिकाको भनाइ

    वासिङ्टन, ९ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्यका लागि वासिङ्टन र तेहरानबीच वार्ता भएको खुलासा गरेसँगै रुसले मध्यपूर्व युद्धको ‘राजनीतिक र कूटनीतिक’ समाधानका लागि सोमबार आह्वान गरेको छ । इरानी विदेश मन्त्री अब्बास अराघचीसँगको कुराकानीमा रुसी कूटनीतिज्ञ सर्गेई लाभरोभले शत्रुता तत्काल अन्त्य गर्न र इरानमा संलग्न सबै पक्षको वैधानिक हितलाई ध्यानमा राख्ने राजनीतिक समाधान खोज्न आग्रह गरेका हुन् । रुसी वक्तव्यमा अमेरिका–इरान वार्ताको कुनै उल्लेख गरिएको छैन । अमेरिकाले वार्ताको पहल भइरहेको बताए पनि तेहरानले यसको पुष्टि गरेको छैन ।

    राष्ट्रपति ट्रम्पले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, “विगत दुई दिनमा दुवै पक्षबीच शत्रुताको पूर्णसमाधानका लागि निकै राम्रो र फलदायी कुराकानी भएको छ ।” राष्ट्रपति ट्रम्पले पहिले इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न चेतावनी जारी गर्दै अन्यथा इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएक थिए । तर सोमबार पाँच दिनका लागि आक्रमण रोक्न आदेश दिएको बताएका छन् । फेब्रुअरी २८ मा अमेरिका–इजरायलले इरानमाथि गरेको बमबारीका कारण युद्ध सुरु भएदेखि नै जलमार्ग बन्द गरिएको छ । मस्कोले वार्ताका लागि पहिले पहल इरानले सुरु गरेको बताएको छ ।

  • इरानसँग फलदायी वार्ता भएको ट्रम्पको भनाइ, ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न निर्देशन

    इरानसँग फलदायी वार्ता भएको ट्रम्पको भनाइ, ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न निर्देशन

    वासिङ्टन, ९ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार तेहरानसँग ‘धेरै राम्रो र फलदायी वार्ता’ पछि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न आदेश दिएको बताएका छन् । आफ्नो पूर्व चेतावनी बमोजिम अघि नबढ्न र कारबाही रोक्न अमेरिकी र इजरायली सेनालाई आदेश दिएको उनले बताए । वार्ता यो हप्ता जारी रहनेछ ।

    ट्रम्पले सोमबार बिहान आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेखेका छन्, “संयुक्त राज्य अमेरिका र इरानबीच मध्य पूर्वमा हाम्रो शत्रुताको पूर्ण समाधानको बारेमा विगत दुई दिनमा धेरै राम्रो र फलदायी कुराकानी भएको छ।” उनले भने, “हप्ताभरि जारी रहने यो रचनात्मक वार्ताको प्रतिवद्धतालाई ध्यानमा राख्दै मैले युद्ध विभागलाई इरानको ऊर्जा प्लान्ट र पूर्वाधारमा सबै सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु। यो निर्णय बैठक र छलफलको सफलतामा निर्भर हुनेछ।”

  • व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

    व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

    भोजपुर, ९ चैतः यहाँको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका साथसाथमा उत्पादनमूलक क्षेत्रमा लागिरहेका छन् । तामाङले सञ्चालन गरेको गाई फार्ममा हाल चार उन्नत जातका गाईरहेका छन् । व्यवस्थित रूपमा गाईपालन गर्दै आएका उनले आधुनिक तरिका अपनाउँदै उत्पादन बढाउने प्रयाससमेत गरिरहेका छन् ।


    दैनिक रूपमा उत्पादन हुने दूध स्थानीय बजारमा बिक्री गर्दै उनले आम्दानी लिन सफल भएका छन् । दूध बिक्रीबाट सबै खर्च कटाएर मासिक रु २५ हजारदेखि ३० हजारसम्म आम्दानी भइरहेको उनको भनाइ छ । उनका अनुसार जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गर्दै बाँकी समयलाई कृषि तथा पशुपालनमा लगानी गर्दा आर्थिक रूपमा सुदृढ बन्न सकिन्छ ।

    “समय व्यवस्थापन गरेर काम गर्न सकियो भने सरकारी जिम्मेवारीसँगै उत्पादनमूलक क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ,” उनले भने, “युवाहरू वैदेशिक रोजगारीमा जानुभन्दा गाउँमै केही गरेर देखाउनुपर्छ भन्ने मेरो सन्देश हो ।” गाईपालनबाट प्राप्त आम्दानीले परिवारको खर्च धान्न सहयोग पुग्नुका साथै थप लगानीका लागि प्रेरणा मिलेको उनले बताए । पछिल्लो समय दानापानी, औषधि तथा व्यवस्थापनमा हुने खर्च बढे पनि उचित योजना र मेहनतले राम्रो प्रतिफल लिन सकिने उनको अनुभव छ ।

    तामाङको यस पहलले स्थानीय किसानलाई समेत व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न मद्दत पुगेको छ । उहाँको फार्म अवलोकन गर्न आउने स्थानीयले गाईपालनसम्बन्धी जानकारी लिनुका साथै आफ्नै गाउँमा व्यवसाय सुरु गर्ने सोच बनाउने गरेका छन् । श्यामशिलाका ३९ जना किसानले उन्नत जातका गाई पाल्दै आएका छन् । यसले गाउँस्तरमै रोजगारी सिर्जना र आयआर्जन वृद्धि गर्ने सम्भावनालाई बलियो बनाएको छ ।

    पौवादुङमा गाउँपालिकालेसमेत कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भमा जनप्रतिनिधि नै यस क्षेत्रमा सक्रिय हुनु सकारात्मक सङ्केतका रूपमा हेरिएको छ । स्थानीय तहले दिने अनुदान, तालिम तथा प्राविधिक सहयोगको प्रभावकारी उपयोग गर्न सकेमा किसानको जीवनस्तर सुधार गर्न सकिने सरोकारवालाको भनाइ छ ।

    भविष्यमा गाईको सङ्ख्या बढाएर फार्मलाई अझ विस्तार गर्ने योजना रहेको तामाङले जानकारी दिए । उनले दूध उत्पादनसँगै अन्य दुग्धजन्य पदार्थ उत्पादनतर्फ समेत ध्यान दिने सोच बनाएका छन् । गाउँमै बसेर मेहनत गर्दा आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिँदै तामाङले युवाहरूलाई कृषि र पशुपालनतर्फ आकर्षित हुन आग्रह गरेका छन् ।

    गाई फार्मबाट उत्पादन भएको प्राङगारिक मलको सदुपयोग गर्ने लक्ष्यले उनले करिव ३०० रोपनी क्षेत्रमा किबी खेतीसमेत विस्तार गरेको जानकारी दिए । उनले थालेको कामलाई परिवारका सदस्यले आवश्यक सहयोग गर्दै आएका छन् ।

  • कार्यविधि नहुँदा जटिल बन्दै सुदूरपश्चिमका वन

    कार्यविधि नहुँदा जटिल बन्दै सुदूरपश्चिमका वन

    इन्द्राकुमारी केसी–रासस
    घोडाघोडी (कैलाली), ९ चैत । विसं २०७७ सालमा ‘वैज्ञानिक वन व्यवस्थापन’ कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक वन र कैलालीका साझेदारी वन नीतिगत अन्योलतामा छन् । वन क्षेत्रका ढलापडा रूख सङ्कलन बाहेक वन सम्वर्द्धन प्रणालीमा आधारित कुनै काम वन समूहले गर्न सकेका छैनन् । जसले गर्दा स्थानीयस्तरमा वन व्यवस्थापनबाट सृजना हुने रोजगारी गुम्नुका साथै वनको प्रभावकारी संरक्षण र व्यवस्थापन प्रभावित बनेको कैलाली लम्की चुहा नगरपालिका–३ स्थित मुक्तकमैया सामुदायिक वनका अध्यक्ष हितु चौधरी बताउँछन् ।


    कञ्चनपुर जिल्लामै पहिलो पटक २०७४ सालमा वैज्ञानिक वन व्यवस्थापन लागू गरेको सिंहपुर सामुदायिक वनका अध्यक्ष जोगराज चौधरीले कार्यविधि खारेजीपछि प्रदेशले दिगो वन व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था नल्याउँदा समस्या भएको बताए । उनका अनुसार वन सञ्चालन कठिन बनेको छ । यही अवस्था जारी रहे सरकारलाई वन हस्तान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने उनको
    यो पीडा केवल सामुदायिक वन उपभोक्ता समूहको मात्र हैन । साझेदारी वनको पनि उस्तै छ ।

    कैलालीको भारताल साझेदारी वनका अध्यक्ष यादव भण्डारीका अनुसार वन संरक्षणदेखि व्यवस्थापन र वन पैदावार सदुपयोगसम्मका गतिविधिमा गम्भीर असर परेको छ । उनले भने, “यसले सरकारको राजस्वमा नकारात्मक प्रभाव पार्नुका साथै वनका बुढा रूखको समयमै सदुपयोग नहुँदा गुणस्तर घट्दै नोक्सानी भइरहेका छन् । साझेदारी वनको कार्ययोजना नै अलपत्र परेका छन् ।”

    एकातिर वनभित्र करोडौँ मूल्यका काठ दिनानुदिन कुहिँदै गएको छभने अर्कोतिर उपभोक्ताले काठ पाउन सकेका छैनन् । दिगो वन व्यवस्थापन रोकिँदा काष्ठ व्यवसायी मारमा परेको पर्यावरण संरक्षण तथा वन पैदावार व्यवसायी सङ्घ कैलालीका अध्यक्ष जोन शाह बताउँछन् । यता डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत रामबिचारी ठाकुर कार्यविधि अभावले गर्दा दिगो वन व्यवस्थापनमा कठिनाइ देखापरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “प्रदेशस्तरबाट दिगो वन व्यवस्थापन कार्यविधि नआएसम्म वन व्यवस्थापन अघि बढाउन समस्या छ । यसले स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरमा राजस्व सङ्कलनमा समेत असर पारेको छ ।”

    कैलाली र कञ्चनपुरका वन उपभोक्ता समूहले दिगो वन व्यवस्थापन कार्यविधि स्वीकृत गरी कार्यान्वयन गर्नुपर्नेलगायतका २३ बुँदे माग राख्दै आन्दोलन घोषणा गरेका थिए । उनीहरूको माग सम्बोधनका लागि सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा कार्यदल गठन गरी गत मङ्सिर ९ गते एक महिनाभित्रै कार्यविधि स्वीकृत गरी कार्यान्वयन गर्नुपर्ने माग मन्त्रालयमा पेस गरिएको थियो । तर हालसम्म सो कार्यविधि कार्यान्वयनमा आएको छैन ।

    प्रदेश सरकारले तत्काल समस्या समाधान गर्नुपर्ने वैज्ञानिक वन उपभोक्ता राष्ट्रिय महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश संयोजक पुष्कलबहादुर बम बताउँछन् । उनले भने, “प्रदेश वन निर्देशकको संयोजकत्वमा कार्यदल गठन भई दिगो वन व्यवस्थापन कार्यविधि स्वीकृत गर्ने कार्य अगाडि बढाइएको छ । यदि कार्यविधि कार्यान्वयनमा नआएमा सरोकारवाला अन्य सङ्घ–संस्थासँग सल्लाह गरेर अघि बढ्नेछौँ ।”

    के हो दिगो वन व्यवस्थापन ?

    त्रिभुवन विश्वविद्यालयअन्तर्गत वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा राजेश राईका अनुसार दिगो वन व्यवस्थापन तीनवटा आधारभूत पक्षमा आधारित अवधारणा हो । उनका अनुसार यसको पहिलो आधार भनेको सामाजिक पक्ष हो, जसमा वन किन र के उद्देश्यका लागि व्यवस्थापन गरिँदैछ भन्ने कुरा स्पष्ट पार्नु हो । उक्त कुरा उपभोक्ता समूह वा वनको स्वामित्व लिने पक्षले तय गर्नुपर्ने उनको भनाइ छ ।

    “आफ्नो वन काठ उत्पादनका लागि हो कि काठ–दाउरा, जडीबुटी वा पर्यटन प्रवद्र्धनका लागि हो भन्ने कुरा पहिला नै निर्णय गर्नुपर्छ,” प्राध्यापक राईले भने । उद्देश्य निर्धारण भइसकेपछि अर्को चरणमा वन व्यवस्थापनको उपयुक्त तरिका छनोट गर्नु हो । यो भनेको वनको वातावरणीय पक्ष हो । “वनको वर्तमान अवस्था र क्षमताको मूल्याङ्कनका आधारमा वन व्यवस्थापनको उद्देश्य पूरा गर्न सक्ने वन संवद्र्धन प्रणाली अपनाउनुपर्छ,” उनले भने । “कस्तो किसिमले वनको पुनरुत्पादन गर्ने, वनलाई कसरी हुर्काउने र वन पैदावारको कसरी उपयोग गर्ने भन्ने प्राविधिक पक्ष यही चरणमा निर्धारण हुन्छ ।”

    प्राध्यापक राईका अनुसार दिगो वन व्यवस्थापन प्रक्रियाको तेस्रो र महत्त्वपूर्ण पक्ष भनेको आर्थिक हो, जसमा वन व्यवस्थापनको उद्देश्य र वन संवद्र्धन प्रणाली आर्थिक रूपमा पनि व्यवहारिक हुनुपर्छ । त्यो भनेको व्यवस्थापनमा लाग्ने खर्चभन्दा प्राप्त हुने आम्दानी बढी हुने गरी योजना बनाइनुपर्छ । “यी तीनै पक्ष स्पष्ट उद्देश्य, उपयुक्त प्राविधिक व्यवस्थापन र आर्थिक सम्भाव्यता पूरा भए मात्रै त्यसलाई दिगो वन व्यवस्थापन भन्न सकिन्छ,” उनले भने ।


    उनले हालको प्रक्रियामा खासै समस्या नभएको बताए । उनका अनुसार धेरैजसो सालका जङ्गल र उत्पादनमूलक वनलाई आम्दानीका हिसाबले काठ र दाउरा निकाल्ने उद्देश्यले व्यवस्थापन गरिएको छ । दिगो वन व्यवस्थापन सबै ठाउँमा एउटै ढाँचामा हुन नसक्ने राईको भनाइ छ । उनी भन्छन्, “कैलालीमा गर्ने वन व्यवस्थापन र डडेलधुरा वा दार्चुलामा गर्ने वन व्यवस्थापन एउटै हुँदैन, किनभने त्यहाँको वनको अवस्था र आवश्यकता फरक छन् ।”

    वैज्ञानिक वन व्यवस्थापन र अहिले चर्चामा रहेको दिगो वन व्यवस्थापनबारे प्राध्यापक राई भन्छन्, “यी दुई फरक मोडालिटी होइनन्, बुझाइको कमीले फरक जस्तो देखिएको हो ।”

    घट्दै उत्पादकत्व
    सुदूरपश्चिम प्रदेशमा दिगो वन व्यवस्थापन कार्यविधि स्वीकृत नहुँदा वनको उत्पादकत्व घट्दै गएको छ । वनभित्र पुराना र वृद्धि रोकिएका रूखको अत्यधिक चापका कारण नयाँ बिरुवा हुर्कन नसकेको प्रदेश वन निर्देशक हेमराज बिष्ट बताउँछन् । निर्देशक विष्टका अनुसार हाल प्रदेशका धेरै वन क्षेत्रमा ‘ओभर म्याच्योर’ अर्थात् अत्यधिक वृद्ध रूख छन् । जसले सूर्यको प्रकाश रोक्दा वनको प्राकृतिक पुनरुत्पादन प्रभावित भएको छ ।

    नयाँ बिरुवा हुर्कन दैनिक पाँचदेखि सात घण्टा सूर्यको प्रकाश आवश्यक पर्छ । “पुराना रूखले ठाउँ र घाम दुवै छेक्दा नयाँ पुस्ताको विकास हुन सकेको छैन, जसले वनको समग्र उत्पादकत्व घटाइरहेको छ,” उनले भने । विष्टकाअनुसार दिगो वन व्यवस्थापन भनेको वनलाई निश्चित वैज्ञानिक चक्रमा व्यवस्थापन गर्दै पुराना रूख हटाउने र त्यही स्थानमा नयाँ बिरुवाको पुनरुत्पादन सुनिश्चित गर्ने प्रक्रिया हो । साल प्रजातिको रूखको हकमा ८० वर्षको चक्र मानिने गरिन्छ ।

    नेपालका अन्य ६ वटा प्रदेशमा दिगो वन व्यवस्थापन पद्धति लागू भइसकेको भए पनि सुदूरपश्चिम प्रदेशमा भने कार्यविधि स्वीकृत हुन ढिलाइ भएको उनले बताए । विगतमा ‘वैज्ञानिक वन व्यवस्थापन’ खारेज भएपछि उत्पन्न नीतिगत शून्यतालाई चिर्न अहिले सबै सरोकारवाला दिगो वन व्यवस्थापनमा सहमत भइसकेको बताउँदै उनले भने, “कार्यविधि तयार भई मन्त्रालयमा पेस भइसकेको छ, नीति तथा कार्यक्रममा पनि समावेश छ, तर औपचारिक स्वीकृति भइसकेको छैन ।

    कार्यविधि स्वीकृत भएलगत्तै आगामी आर्थिक वर्षदेखि पाँचदेखि १० वटा वनमा नमुना परियोजनाका रूपमा दिगो वन व्यवस्थापन लागू गर्ने तयारी रहेको उनले बताए ।
    कार्यविधि निर्माणको तयारी
    सङ्घीय मन्त्रालयले २०८१ सालमा जारी गरेको दिगो वन व्यवस्थापन मापदण्डको आधारमा सातै प्रदेशले आफ्नै कार्यविधि निर्माण गर्नुपर्ने दायित्व पाएका थिए । सोहीअनुसार सुदूरपश्चिम बाहेकका प्रदेशले दिगो वन व्यवस्थापनअनुसार वन व्यवस्थापन गरिरहेका छन् । तर सुदूरपश्चिम प्रदेशमा कार्यविधि अन्योलमा छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार, सुदूरपश्चिममा कार्यविधि निर्माणको प्रारम्भिक चरणमा विवाद र असमझदारीका कारण प्रक्रिया अड्किएको थियो । अब भने चाँडै दिगो वन व्यवस्थापन कार्यविधि स्वीकृतको तयारी गरिएको छ ।

    संरक्षण साझेदार, सामुदायिक तथा साझेदारी वनका पदाधिकारी र उपभोक्ताको ज्ञापनपत्र र त्यसको छलफल पश्चात् वन सुदूरपश्चिम वन निर्देशकको संयोजकत्वमा कार्यदल गठन गरिएको बताउँदै कोइरालाले भने, “कार्यदलले सुझाव दिएपछि मापदण्डअनुसार दिगो कार्यविधि तयार पार्ने काम अघि बढाइएको छ ।” नीतिगत अन्योलताले रोकिएका कार्ययोजना र अधुरो व्यवस्थापनका कारण सुदूरपश्चिमका वन उपभोक्ता निर्णयको प्रतिक्षामा छन् । एकातिर वनभित्र करोडौँ मूल्यका काठ खेर गइरहेका छन् भने अर्कोतिर उपभोक्ता, स्थानीय अर्थतन्त्र र राजस्व सबै प्रभावित बनेका छन् ।

  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ९ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०० रुपैयाँ ४६ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९० रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १० पैसा र बिक्रीदर १०५ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७० पैसा र बिक्रीदर ११७ रुपैयाँ १६ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४० रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६ रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १७ पैसा र बिक्रीदर २३ रुपैयाँ २७ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४९० रुपैयाँ ०२ पैसा, बहराइन दिनार एकको खरिददर ३९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३९० रुपैयाँ २३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • ‘फ्लोरा एक्स्पो’मा सवा करोडको कारोबार

    ‘फ्लोरा एक्स्पो’मा सवा करोडको कारोबार

    काठमाडौँ, ९ चैतः पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए ।

    ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित यही चैत ५ गतेदेखि मेला सुरु भएको थियो । मेला कुल ६० हजार ७०० जनाले अवलोकन गरेका थिए । मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक दुई स्टल रहेका थिए । पुष्प व्यवसायमा आठ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी लगानी रहेको र करिब ५३ हजार ५०० बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेको जनाइएको छ ।

    गत आर्थिक वर्षमा २७ करोड ७९ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकामा यस वर्ष ५४ दशमलव २७ प्रतिशतले घटेर रु १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । निर्याततर्फ भने एक सय नौ दशमलव १६ प्रतिशतले वृद्धि भई दुई करोड १३ लाख रुपैयाँ पुगेको एसोसिएसन अध्यक्ष राजेशभक्त श्रेष्ठले जानकारी दिए ।

  • कैफियत देखिएपछि विभागद्वारा जरिवाना

    कैफियत देखिएपछि विभागद्वारा जरिवाना

    काठमाडौँ, ९ चैतः नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एक फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षण तथा अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले काठमाडौँ महानगरपालिका–२२ सुन्धारास्थित मुम्बई जाइकालाई रु १० हजार जरिवाना गरेको हो ।

    विभागले आइतबार विभिन्न १३ वटा फर्ममा निरीक्षण गरेको थियो । सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ । तीमध्ये १२ वटा फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकारवालाको उपस्थितिमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको छ ।

  • सूर्यविनायक–धुलिखेल सडक :  तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

    सूर्यविनायक–धुलिखेल सडक : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

    राजकुमार पराजुली/रासस

    काभ्रेपलाञ्चोक, ९ चैतः अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा १६ किलोमिटरको उक्त सडक विस्तारमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । आयोजनाले थपिएको समयमा काम सम्पन्न गर्ने जनाएको छ । दुई लेन रहेको उक्त राजमार्ग छ लेनमा विस्तार गरिएको हो । सडकका दायाँबायाँ दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण भइरहेको छ । आयोजनाको समयावधि सकिएपछि गत मङ्सिर अन्तिमसाता पुनः एक वर्ष म्याद थप गरिएको थियो । उक्त सडक विस्तारका लागि सूर्यविनायकदेखि साँगासम्म र साँगादेखि धुलिखेलसम्म दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो ।

    आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते सम्झौता भइ गत मङ्सिर २५ गते म्याद सकिएको थियो । सो कामका लागि लामा कन्स्ट्रक्सन प्रालिले चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । उक्त अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएको सडक आयोजनाले जनाएको छ । कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र श्रेष्ठका अनुसार समग्रमा ६५ प्रतिशत तथा पिचबाहेक भौतिक प्रगति ९० प्रतिशत सम्पन्न भएको छ ।

    दोस्रो खण्डअन्तर्गत सूर्यविनायक–साँगामा भने ५५ प्रतिशत काम सकिएको जनाइएको छ । यसअघि ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले विवाद गरेपछि डेढ वर्षदेखि रोकिएको यस सडकखण्डको पलुबजार क्षेत्रमा गत मङ्सिर तेस्रोसाता स्तरोन्नति सुरु गरिएको थियो । आयोजनाकाअनुसार सूर्यविनायक–साँगा खण्डमा केही स्थानमा सडक तथा अन्य संरचना भत्काउने काम भइरहेको छ । आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी, बनेपा बजारलगायतका क्षेत्रमा काम तीव्र गतिमा भइरहेको छ ।

    सूर्यविनायक–साँगा ७ दशमलव ५ किलोमिटर विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि गत पुसमा सकिएपछि म्याद थपिएको हो । हाल उक्त सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कल्भर्ट’ निर्माण भइरहेको छभने सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठुलो घुम्ती तथा भिर भएकाले काम गर्न केही अफ्ठ्यारो भएको छ ।

    यस सडकखण्डमा पर्ने तीन पुलमध्ये महादेव खोलामा निर्माण भइरहेको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर अन्जु परियारले बताइन् । उनका अनुसार अन्य दुई पुलमा डिजाइनको प्रारम्भिक चरणमा स्थानीय तथा जनप्रतिनिधिले विभिन्न माग राखी अवरोध गरेकाले डिजाइन ढिला भएको हो । हाल ती समस्या समाधान भइसकेकोले डिजाइन भइसकेको छ । अब चाँडै पुल निर्माणको तयारी भइरहेको उनको भनाइ छ । चीनसँगको छोटोदूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुलेपछि यस राजमार्गमा सवारी चाप बढेको हो । यही राजमार्गमा हाल कोटेश्वरबाट लामा–छोटा दुरीका सवारी मात्रै दैनिक दुई हजार पाँच सयभन्दा बढी छुट्ने गरेका छन् ।

  • आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

    आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

    काठमाडौँ, ८ चैतः चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार उक्त अवधिमा कुल रू १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको कुल वैदेशिक व्यापारमा मुलुकले रू १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख घाटा बेहोरेको हो । पछिल्लो आठ महिनामा रू १२ खर्ब ८९ अर्ब २५ करोडको आयात र रू एक खर्ब ९१ अर्ब ११ करोड २० लाख बराबरको निर्यात भएको विभागले जनाएको छ ।

    गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२ दशमलव ५४ र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको छ । गत फागुन मसान्तसम्ममा भारतसँगको व्यापार घाटा मात्र रू पाँच खर्ब ६७ अर्ब ३९ करोड छ । यस अवधिसम्ममा भारतबाट रू सात खर्ब २४ अर्ब छ करोडको वस्तु आयात भएको छ भने रू एक खर्ब ५६ अर्ब ६६ करोड बराबरको निर्यात भएको छ । त्यस्तै, छिमेकी मुलुक चीनसँग रू दुई खर्ब ७५ अर्ब ६६ करोड ७० लाखको आयात र रू ९८ करोड ३३ लाखको निर्यात हुँदा रू दुई खर्ब ६४ अर्ब ६८ करोड ३६ लाखको व्यापार घाटा व्यहोर्नुपरेको विभागले जनाएको छ । नेपालले बढी व्यापार घाटा बेहोरेका मुलुकमा अर्जेन्टिना तेस्रो, संयुक्त अरब इमिरेट्स चौथो र इन्डोनेसिया पाँचौँ स्थानमा छन् ।

    नेपालको वैदेशिक व्यापारमा नाफा भएका मुलुकमा भने रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक, केन्यालगायत छन् । पछिल्लो आठ महिनामा रोमानियासँग रू ५० करोड ६५ लाख, नर्वेसँग रू तीन करोड ३३ लाख र आइसल्याण्डसँग रू दुई करोड ५७ लाख बराबर व्यापार नाफा देखिएको छ ।यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो आठ महिनामा रू ८२ अर्ब १० करोड ५१ लाखको डिजेल, रू ४३ अर्ब ८९ करोड ७३ लाखको पेट्रोल र रू ३७ अर्ब ३१ करोड ३७ लाख बराबरको एलपी ग्यास आयात भएको छ ।


    त्यस्तै, रू ८१ अर्ब १८ करोड ६४ लाख बराबरको कच्चा भटमास तेल आयात भएको छ भने रू २९ अर्ब ९३ करोड ५९ लाख बराबरको स्मार्टफोन, रू ३६ अर्ब ८२ करोड ३० लाखको फलामजन्य वस्तु, रू २३ अर्ब ४९ करोड ६७ लाखको सुन, रू १८ अर्ब ४४ करोड ७८ लाखको चाँदी आयात भएको छ । नेपालले बढी निर्यात गरेका वस्तुमा भटमास तेल पहिलो स्थानमा छ । पछिल्लो आठ महिनामा रू ७५ अर्ब ७७ करोड ४१ लाख बराबरको भटमास तेल निर्यात भएको छ । त्यस्तै, रू नौ अर्ब ४९ करोड, ६१ लाखको अलैँची, रू छ अर्ब ५३ करोड ९६ लाखको कार्पेट, रू छ अर्ब २० करोड २३ लाखको सूर्यमुखी तेल, रू चार अर्ब ३२ करोडको पाम तेल निर्यात भएको छ ।

  • परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    रासस
    काठमाडौँ, ८ चैतः परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ । चरनभूमिको संरक्षण गर्न ‘नेपालका उच्च हिमाली चरनभूमि संरक्षणका लागि धार्मिक नेतृत्वको पुनर्जीवन’ नामक चार वर्षे परियोजना सुरु गरिएको हो । यसका लागि नेपाल सरकारले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको सहयोगमा उक्त परियोजना बिहीबारदेखि प्रारम्भ गरेको हो ।

    यस परियोजनाको उद्देश्य कर्णाली प्रदेशस्थित डोल्पाको माथिल्लो दुर्गम क्षेत्रमा रहेका उच्च हिमाली चरनभूमिको संरक्षण गर्नु तथा स्थानीयको जीविकोपार्जन सुधार गर्नु, सांस्कृतिक सम्पदाको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्नुलगायत रहेका छन् । संयुक्त अधिराज्यको ‘डर्विन इनिसिएटिभ’मार्फत वित्त पोषित यस सहकार्यले सरोकार भएका निकायको क्षमता उपयोग गर्दै सह(व्यवस्थापनको नवीन दृष्टिकोण अपनाउने छ । जसमा स्थानीय परम्परागत ज्ञान र आधुनिक विज्ञानको समन्वय गरिने जनाइएको छ ।

    सन् २०२६ लाई ‘चरनभूमि तथा पशुपालकको अन्तरराष्ट्रिय वर्ष’ का रूपमा मनाइँदैछ । नेपालको उच्च हिमाली चरनभूमिहरूले हजारौँ वर्षदेखि प्रकृति र मानव जीवनलाई धान्दै आएका छन् । यी चरनभूमि आम्दानीको महत्वपूर्ण स्रोत हुनुका साथै जनताका लागि जल सुरक्षाको सुनिश्चिततामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । डोल्पासहित हिमाली क्षेत्रमा यी चरनभूमिले हिउँ चितुवालगायत विविध जैविक सम्पदालाई संरक्षण गर्छन् भने आदिवासी तथा स्थानीय समुदायका लागि सामाजिक(आर्थिक जीवनरेखाको रूपमा कार्य गर्नेछन् । बढ्दो मानवीय दबाब तथा जलवायु परिवर्तनका प्रभावले यी चरनभूमि प्रत्यक्ष जोखिममा परिरहेका छन् ।

    डब्लुडब्लुएफ नेपालले देशका दुर्गम क्षेत्रमा रहेका वञ्चित समुदायसँग काम गर्ने सुदृढ अनुभव हासिल गरेको जनाएको छ । डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले ‘डर्विन इनिसिएटिभ’को सहयोगमा यसअघि तराई क्षेत्रमा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको जीवनस्तर सुधारका कार्य गरिएको बताए । “डोल्पाको माथिल्लो क्षेत्रमा सञ्चालन हुने यो नयाँ परियोजनामार्फत समुदायमा आधारित संरक्षण र जीविकोपार्जनलाई सुदृढ गर्दै समान प्रभाव हासिल गर्ने हाम्रो लक्ष्य छ”, उनले भने ।
    नेपालले यी चरनभूमिको प्राकृतिक तथा सांस्कृतिक अखण्डताको संरक्षणलाई उच्च प्राथमिकता दिएको छ । दूरदर्शी नीतिहरूले सह(व्यवस्थापनका लागि अनुकूल वातावरण सिर्जना गरेका छन् । जसमा आदिवासी तथा स्थानीय समुदायको सार्थक सहभागिता सुनिश्चित गरिएको छ । तथापि, दुर्गमता, सीमित स्रोतसाधन तथा व्यवस्थापनसम्बन्धी अस्पष्ट जिम्मेवारीजस्ता व्यावहारिक चुनौतीहरूले प्रभावकारी संरक्षणमा अझै अवरोध सिर्जना गरिरहेका छन् ।

    डब्लुडब्लुएफ नेपालले वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र स्थानीय समुदायसँग सहकार्य गर्दै से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा समग्र संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । जहाँ हिउँ चितुवालाई प्रमुख वन्यजन्तुको रूपमा लिइएको छ । संरक्षणको दिगोपन सरोकार भएका निकायको सक्रिय सहभागिता र जिम्मेवारीमा निर्भर हुने भएकाले यी प्रयासहरूले प्रकृति र मानव कल्याणबीचको सकारात्मक सम्बन्धलाई मजबुत बनाउँदै सहअस्तित्व प्रवर्द्धनलाई प्राथमिकता दिएका छन् । वन्यजन्तुसँगकोद्वन्द्व व्यवस्थापन, जीविकोपार्जन विविधिकरण, शिक्षा तथा स्वच्छ ऊर्जामा पहुँच विस्तार यसका प्रमुख प्राथमिकता हुन् ।

    “चरनभूमि व्यवस्थापनमा समुदायको सहभागिता र परम्परागत ज्ञानको एकीकरण नेपाल सरकारको प्राथमिक रणनीति हो । यस महत्वपूर्ण परियोजनामा योगदान पुर्‍याउने दातृ निकाय र साझेदारलाई विभाग धन्यवाद दिन चाहन्छ”, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्र्देशक डा बुद्धिसागर पौडेलले भने ।
    यो संयुक्त अधिराज्यद्वारा वित्तपोषित परियोजनाले हालसम्मका प्रयासलाई आधार मानेर चरनभूमि तथा तिनबाट प्राप्त हुने मूर्तअमूर्त सेवालाई दीर्घकालीन रूपमा सुरक्षित गर्दै मानव कल्याणमा योगदान पुर्‍याउने लक्ष्य राखेको उनले बताए । विभाग र से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको नेतृत्व तथा से–फोक्सुन्डो गाउँपालिकाको मार्गदर्शनमा सञ्चालन हुने यस परियोजनाले नेपालको उच्च हिमाली चरनभूमिका लागि पुनरावृत्ति गर्न सकिने प्रभावकारी शासन ढाँचा विकास गर्ने लक्ष्य राखेको छ ।

    परियोजना क्षेत्रका चरनभूमिले बुद्ध र मुक्पोरङ मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका ६५० भन्दा बढी परिवारलाई सहयोग पुर्‍याइरहेको छ । जहाँ समुदाय जीविकोपार्जनका लागि पशुपालन, गैरकाठ वन उपज तथा परम्परागत औषधिमा निर्भर छन् । नेपाल सरकारका नीति, परम्परागत ज्ञान र अन्तरराष्ट्रिय उत्कृष्ट अभ्यासको मार्गदर्शनमा यस परियोजनाले स्थानीय समुदायका सदस्य–विशेष गरी युवा, महिला र गोठालालाई सशक्त बनाउने बताइएको छ । जसले मध्यवर्ती क्षेत्र प्रयोगकर्ता समितिका चरनभूमि व्यवस्थापन उपसमितिमा सक्रिय भूमिका निर्वाह गर्नेछन् ।

    “यो परियोजना ‘डर्विन इनिसिएटिभ’मार्फत संयुक्त अधिराज्यको सहयोगले स्थानीय नेतृत्व सुदृढ गर्दै मानव र प्रकृतिलाई समान रूपमा लाभ पुर्‍याउने उत्कृष्ट उदाहरण हो । धार्मिक अगुवा र समुदायस्तरीय चरनभूमि समितिसँग सहकार्य गर्दै हामी बुद्धले लामो समयदेखि सिकाउँदै आएको एउटा सरल सत्यलाई स्वीकार गर्छौँ । मानव र प्राकृतिक संसारको कल्याण आपसमा गहिरो रूपमा सम्बन्धित छन्”, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनले भने ।

    डब्लुडब्लुएफ नेपाल बाहेक यस परियोजनाका साझेदार संस्थामा ‘दिगो कृषि र जैविक स्रोतका लागि एशियाली सञ्जाल’ (एन्साब) नेपाल र सोवा रिग्पा एसोसिएसन अफ नेपाल (एसआरएएन) रहेका छन् । ‘एन्साब’ नेपालले गैरकाठ वन उपजको दिगो सङ्कलन, मूल्य अभिवृद्धि तथा बजार पहुँचमा सहयोग गर्नेछ भने ‘एसआरएएन’ ले बौद्ध परम्परामा आधारित सोवा रिग्पा ९उपचारको विज्ञान० को संरक्षण र समसामयिक सन्दर्भअनुसार सुदृढीकरणमा योगदान पुर्‍याउनेछ ।

    परम्परागत ज्ञान प्रणालीको संरक्षण र सुदृढीकरणका लागि चरनभूमि व्यवस्थापन उपसमितिहरूको नेतृत्व धार्मिक अगुवा तथा परम्परागत चिकित्सक ‘अम्ची’हरूले गर्नेछन् । साथै, अम्चीहरूलाई कानुनी तथा दिगो औषधिजन्य सामग्री प्रयोगतर्फ रूपान्तरण गर्न सहयोग गरिने से फोक्सुन्डो राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । “जसले लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिमा निर्भरता घटाउँदै परम्परागत ‘सोवा रिग्पा’ उपचार पद्धतिको मौलिकता संरक्षण गर्नेछ”, उनले भने ।

  • वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण

    वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण

    काठमाडौँ, ८ चैतः शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) को तथ्याङ्क विश्लेषण गर्दा, सात दिनअघि मात्र वायु प्रदूषण १७८ एक्युआई पुगेर काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको सूचीमा थियो । आज भने वायु प्रदूषण घटेर ६० एक्युआईमा झरेको छ ।

    योसँगै काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा ६७औँ स्थानमा छ । एक्युआई मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । एक सय एकदेखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेष गरी श्वासप्रश्वास तथा मुटुरोगीलाई असर गर्नसक्छ । यस्तै १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

    वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले शुक्रबार र शनिबार हावाहुरीसहित परेको वर्षाका कारण वायु प्रदूषण घटेको बताए । उनका अनुसार वर्षाले हावामा रहेका धुलो तथा प्रदूषणका कणलाई जमिनमा झार्न मद्दत गर्छ भने हावाहुरीले ती कणलाई उडाएर अन्यत्र लैजाने हुँदा प्रदूषण कम हुन्छ । “यदि लामो समयसम्म वर्षा भएन र मौसम सुक्खा रह्यो भने वायुमण्डलमा धुलोका कण थुप्रिँदै जान्छन्”, महानिर्देशक सुवेदीले भने, “काठमाडौँ कचौरा आकारको सहर भएकाले प्रदूषण सजिलै बाहिर निस्कन सक्दैन ।”

  • पोखरा विमानस्थल अनियमितताबारे पूर्वसचिवसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    पोखरा विमानस्थल अनियमितताबारे पूर्वसचिवसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    काठमाडौँ, ८ चैतः अख्तियार दुरुपयोग अनुसन्धान आगोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा अनियमितता प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको अदालतका सहप्रवक्ता यज्ञराज रेग्मीलेले जानकारी दिए ।

    प्रतिवदीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेल, प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्रसिंह रावल, प्राधिकरणका तत्कालीन निर्देशक स्व ध्रुवदास भोछिभोया, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ छन् ।


    त्यस्तै, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन अधिकृत राजाराम चौधरी, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपप्रबन्धक हिमज्योति थापा, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन लेखा अधिकृत\उपप्रबन्धक प्रमोद नेपाल तथा राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत\उपप्रबन्धक सविन फुयाल छन् ।

    अधिकाशलाई रु ४६ करोड, १५ लाख, ८४ हजार ४३४ बिगो छ । त्यसमध्ये नरेन्द्र सैजु, प्रमोद नेपाल र सविन फुयाललाई रु आठ करोड ९५ लाख २ हजार ७८० बिगो छ ।

  • सवारीसाधन आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

    सवारीसाधन आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

    काभ्रेपलाञ्चोक, ८ चैत । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको अवस्थामा कलोपत्र (पक्की) बनाउन शनिबार रातिदेखि दुई हप्ता सडक बन्द गरेको हो ।

    लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिलाई तीव्रता दिइएपछि पक्की बनाउन यही चैत ७ देखि २० गतेसम्म रातिको समयमा साँझ ६ः०० देखि बिहान ५ः०० बजेसम्म यातायातका साधान बन्द गरिएको हो ।

    साथै, उक्त अवधिभर टिपरलगायत मालवाहक सवारीसाधनलाई भने पूर्णतः रोक लगाइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशले बताउनुभयो । उहाँका अनुसार चार किलोमिटर दूरीको उक्त सडकखण्डमध्ये चैतमा २।५ किलोमिटर र आउँदो वैशाखमा बाँकी पक्की गरिसक्ने लक्ष्य लिइएको छ ।

    उक्त सडकखण्डमा सुरुमा ‘सिटीभी’ हाल्ने र त्यसपछि लक्ष्यअनुसार पक्की बनाउँदै लगिनेछ योगेशले बताउनुभयो । लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि विभिन्न स्थानमा कटिङको कामबाट पुनः स्तरोन्नति कार्यलाई तीव्रता दिइँदै आइएको हो । कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सीएनएवान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो ।

    हाल साना संरचना तथा टेवा पर्खाल निर्माणका काम भइरहेको जनाइएको छ । चिसो मौसमका कारण सडकमा सतह (सर्फेस)को काम नभएको र चिसो कम हुँदै गएपछि पक्की बनाउने योजना बनाइएको योगेशले बताए । उक्त सडकखण्डमा कालोपत्रको काम सकिएपछि सडकको ‘स्लोप मेन्टेन’ र अन्य बाँकी सानातिना काम गरिने योगेशको भनाइ छ । सात मिटर चौडाइको बन्ने उक्त सडकखण्को सडकमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोगसमेत गरिने छ ।

    यसैबीच निर्माणमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ । कार्यलयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशतसमेत निर्माणको काम नसकेको अवस्थामा कार्यालयले २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो । उसले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो ।

    उक्त सडकखण्ड अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरीनाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकका रूपमा रहेको छ । उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबीएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले जनाएको छ ।