Category: अर्थतन्त्र

  • ‘चरा प्रकृतिका खतराको सूचक मात्रै होइन अवसर हो, यिनीहरूको संरक्षण गर्नुपर्छ’

    ‘चरा प्रकृतिका खतराको सूचक मात्रै होइन अवसर हो, यिनीहरूको संरक्षण गर्नुपर्छ’


    २८ साउन, देउखुरी । पंछी संरक्षणका क्षेत्रमा अभियान चलाउँदै आएका जानकार एवं सरोकारवालाहरूले चरा संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन् । नेपाल पक्षी संरक्षण सङ्घ नेपालले चरा संरक्षणका लागि आज आयोजना गरेको छलफलमा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले चरा संरक्षणका लागि सबै नागरिकलाई जानकारी गराउन चेतानामूलक कार्यक्रम गर्नुपर्ने बताए । उनले भने, “प्रदेश सरकारले चरा संरक्षणका लागि केही बजेट छुट्याएको छ, चराचुरुङ्गी मानिसका सहयोग हुन्, उनीहरूको संरक्षण गर्नु मानवको दायित्व हो । उनीहरूले हानिकारक किराफट्याङ्ग्रालाई खाने भएकाले बालीनालीमा रोगकीराको प्रकोप कम हुने गर्छ ।”

    चरा विज्ञ आनन्द चौधरीले बसाइँ सर्ने क्रममा चराले लामो यात्राको प्रयास गर्ने र त्यसक्रममा उनीहरूलाई आराम गर्नका आवश्यक स्थान जोगाउनुपर्ने बताए । जलवायु परिवर्तनका हिसाबले पनि चरालाई समस्या हुने गरेको उनको भनाइ छ । चौधरीका अनुसार चरा सङ्कटमा पर्नुका प्रमुख कारणमध्ये बासस्थानको विनाश, जलवायु परिवर्तन, मानव निर्मित भौतिक पूर्वाधार हो । उनी भन्छन, “चरा खतराको सूचकमात्रै होइन अवसर हो ।” अर्बौं चराले जाडो छल्नदेखि प्रजनन गर्ने क्षेत्रमा बसाइँसराइ गर्दा हिमाल, मरुभूमि, समुन्द्र उस्तैउस्तै मार्ग प्रयोग गरेर पार गर्ने उनले जानकारी दिए ।


    चराका विषयमा धेरै वर्षदेखि आफू अनुसन्धानमा सक्रिय रहेको उल्लेख गर्दै उहाँले सो सम्बन्धमा स्थानीय तहलाई सहयोग गर्न तयार रहेको बताए । चौधरीले भने, “चराको विषयमा गहिरो तरिकाले अध्ययन भएको छैन । चरालाई के कारणले असर गरेको छ, त्यसका बारेमा अध्ययन हुनुपर्छ ।” देउखुरीमा चरा अध्ययन गर्न पर्यटक आउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । विज्ञ चौधरीले चरा संरक्षणका लागि सरकारी निकाय, स्थानीय र आदिवासी समुदायसँग सहकार्य गर्दै चरा तथा जैविक विविधता क्षेत्रको महत्त्व उजागर गर्ने उदेश्य रहेको बताए ।

    उनले आगन्तुक चराका लागि अतिआवश्यक बासस्थानहरूको पहिचान, अनुगमन र संरक्षण सुनिश्चित गर्ने, जनसमुदायलाई सचेतना कार्यक्रम सञ्चालन गर्ने र क्षमता अभिवृद्धि गर्ने बताए । डिभिजन वन कार्यालय दाङ देउखुरीका वन अधिकृत महेन्द्रराज वाग्लेले दाङमा भएका चरालाई कसरी संरक्षण गर्ने विषयमा सबै सचेत हुन आग्रह गरे । चराको महत्त्वका विषयमा स्थानीय समुदाय र स्थानीय सरकारलाई पर्याप्त जानकारी दिनुपर्ने उनको धारणा छ । उनले भने, “स्थानीय जनतालाई चरा संरक्षण गर्न प्रेरित गर्नुपर्छ, त्यसका साथै चराको बासस्थान जोगाउनुपर्छ ।”

    लुम्बिनी प्रदेशका वन निर्देशक प्रभात सापकोटाले चराको संरक्षणका विषयमा सोच्ने र स्थानीय स्तरमा काम गर्ने गर्नुपर्ने बताए । पछिल्लो समय चराका विषयमा सामान्य तथ्याङ्क सार्वजनिक गरिए पनि यसलाई बृहत् रूपमा अध्ययन गर्नुपर्नेमा उनको जोड थिए । निर्देशक सापकोटाले विभिन्न समुदाय र समूहसँग समन्वय गरेर काम गर्न आफू प्रतिबद्ध रहेको बताए । लुम्बिनी प्रदेश वन मन्त्रालयका सचिव प्रमोद भट्टराईले चराले मानिसले रोपेका बाली बिरुवाका कीरा खाएर सहयोग गर्ने गरेको बताए ।

    “चरा संरक्षणमा मन्त्रालयले पहल गर्नेछ”, उनले भने, “चराको बासस्थान सुरक्षा गर्नुपर्छ, त्यसका लागि प्राविधिक काम महत्त्वपूर्ण हुन्छ । चरा संरक्षणमा सहयोग गरेर सामाजिक संस्थाले सरकारलाई सहयोग गर्ने काम गरेका छन् ।” पर्यावरणीय दिगो बिकासका प्रमुख डिल्लीबहादुर रावतले पृथ्वीको कूचीकार गिद्ध संरक्षण गर्नुपर्नेमा जोड दिँँदै त्यसका लागि सबै निकाय निरन्तर सक्रिय हुनुपर्ने बताए । उनले जलविद्युत्का हाइटेसन तारका कारण समस्या परेकाले यस विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।

  • प्रधानमन्त्रीको निर्देशन : सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस्

    प्रधानमन्त्रीको निर्देशन : सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस्


    २७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर भएकाले ढुक्कका साथ काम गर्दै सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरूलाई आग्रह गरेका छन् । आयोगको वार्षिक समीक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्णताः दिन बाँकी सबै जिल्लास्थित आयोगहरूलाई अबको दुई साताभित्र पूर्णता दिन पनि निर्देशन दिए ।

    “यो आयोग काम नगर्न वा विगतका जस्तै असफल हुनका लागि गठन गरिएको होइन । काम गर्नका लागि, परिणाम निकाल्नका लागि र लालपुर्जाविहीनलाई त्यसबाट मुक्त बनाउनका लागि गठन गरिएको हो”, प्रधानमन्त्री ओलीले भने । “भूमिहीन र अव्यवस्थित बसोबासीले जमिन पाउनुपर्छ । त्यसका लागि कामका सन्दर्भमा सरकारको कुनै सहयोग वा कानुन संशोधन आवश्यक भएमा हामी गर्छौैँ । मुलुकको विशेष परिस्थितिमा दुई ठूला दलको सहकार्यमा बनेको यो गठबन्धन ढुक्का साथ २०८४ सम्म जान्छ । हामी ‘टालाटुली बाटुली, कति राम्री पुतली’ भनेजस्तो गरेर के के भेला पारेर सरकार बनाउने पक्षमा छैनौँ । यस्तो स्थिर सरकारको समयमा आयोगलाई काम गर्न कुनै दुविधा हुँदैन र हुन दिइँदैन ।”

    उनल अनेक स्वार्थ समूहको प्रभावमा पर्न सकिने भएकाले त्यसबाट बचेर बदनाम नहुनेगरी काम गर्न पनि आयोगको नेतृत्वलाई आग्रह गरे । गोष्ठीमा गृहमन्त्री रमेश लेखकले मानिसलाई गुजाराका लागि एक महत्त्वपूूर्ण साधन जमिन भएकाले जमिन नभएकाले लालपुर्जा पाउनुपर्ने संवैधानिक हकको कार्यान्वयनका लागि सरकारका तर्फबाट सबै सहयोग हुने विश्वास दिलाए ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लामो समयदेखि थाँती रहेको भूमिको समस्याका लागि अहिलेको सरकारले विशेष पहल लिएर कानुनी तर्जुमाका सार्थ आयोग गठन गरी कामलाई तीव्रता दिएको बताए । आयोगका अध्यक्ष हरिप्रसाद रिजालले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन, प्रमाणीकरण, नाप नक्साङ्कन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपुर्जा वितरणसम्मको योजना बनाइ तिनै तहका सकारसँगको सहकार्यमा काम भइरहेको जानकारी दिए ।

  • सुनको मूल्यमा सामान्य गिरावट

    सुनको मूल्यमा सामान्य गिरावट


    २७ साउन, काठमाडौं । गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा आज केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा रु एक हजार ३०० ले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९६ हजार ८०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ३०५ तोकिएको छ । सोमबार एक तोला चाँदी रु दुई हजार ३१५ मा कारोबार भएको थियो ।

    गत शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९९ हजार २०० कायम भएको थियो । सोही दिन एक तोला चाँदी रु दुई हजार ३३० मा खरिदबिक्री भएको थियो ।

  • तीनवर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै

    तीनवर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै


    २६ साउन, सिरहा । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरै छ । विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको चार सय ६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न नहँुदा स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन् । पुल नबन्दा स्थानीयले अस्थायी रूपमा बनाइएको बाँस वा काठको पुलमार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यही साउनको तेस्रो हप्तामा आएको बाढीले बाँसको अस्थायी पुल बगाएपछि आवतजावत ठप्प भएको थियो । हाल पुनः काठको संरचना बनाएर आवतजावत केही सहज बनाइएको भए पनि जोखिम यथावत् छ ।

    सिरहा – ६ का प्रवीण यादव भन्छन्, “पुल नबन्दा हामी वर्षौंदेखि सास्ती भोग्दै आएका छौँ । अहिले बनाइएको काठे संरचना जोखिमपूर्ण छ, तर त्यही बाटो भएर हामी हिँड्न बाध्य छौँ । मोटरसाइकलसहित यात्रा गर्दा झन् डर लाग्छ, तर विकल्प छैन । त्यसमा पनि यात्रुहरूमाथि मनपरी शुल्क असुली भइरहेको छ ।” नगरपालिकाले निःशुल्क सञ्चालनको दाबी गरे पनि रु ५० सम्म तिर्नुपरेको उनको भनाइ छ ।

    उनले भने, पहिले ठेक्का सम्झौताअनुसार रु २० लिइन्थ्यो, अहिले त्यो पनि हटेको भनिए तापनि व्यवहारमा शुल्क झनै बढेको छ । जनतामाथि दोहोरो भार परेको छ एकातिर जोखिमपूर्ण यात्रा, अर्कातिर अनियमित शुल्क असुली ।” पुल निर्माणको जिम्मा पहिले पप्पु–लुम्बिनी जेभीलाई दिइएको थियो । पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले गर्दै आएको हो । तर बाढीले दुई पाया भासिएपछि आवश्यक मर्मतका लागि आठ करोडको बिमा रकम नपाएको कारण देखाउँदै कम्पनीले पछिल्लो एक महिनादेखि काम रोकिदिएको छ ।

    हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका सूचना अधिकारी इञ्जीनीयर रञ्जितकुमार रायका अनुसार निर्माण कम्पनीले तोकिएको म्यादमै काम रोकेकाले ठेक्का तोडेर लुम्बिनी बिल्डर्सलाई पनि कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ । सिरहा—६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार, पुल नहुँदा बाढीपछिको समयमा पैदलयात्रुले बाँसको भ¥याङ चढेर वा डुङ्गाबाट नदी पार गर्नुपर्ने अवस्था रहेको छ । कमला नदीमाथिको पुल अधुरो रहँदा हरेक वर्षको वर्षायाम स्थानीयवासीका लागि चुनौती बनेको छ ।

  • नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

    नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

    २६ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीले नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरिएको हो । मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए । उनले नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायत काममा चासो दिन आग्रह गरे ।

  • नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

    नेप्से परिसूचकमा २७ अङ्कको गिरावट


    २६ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ९० अङ्कले घटेर दुई हजार ८२२ दशमलव ४६ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ९७ प्रतिशतले घटेको हो । आज विभिन्न ३२४ कम्पनीका दुई करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर ९८ हजार ५२५ पटक खरिदबिक्री हुँदा रू १० अर्ब २१ करोड एक लाख ४२ हजार ३०८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आजको कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव १७ र अन्य समूह शून्य दशमलव ३१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ३१ र लघुवित्त समूह दुई दशमलव ३५ प्रतिशतले घटेको हो । बैंकिङ शून्य दशमलव ४१, वित्त एक दशमलव २७, होटल तथा पर्यटन शून्य दशमलव ७६, जलविद्युत् एक दशमलव ४१ र लगानी समूह दशमलव १७ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बीमा शून्य दशमलव ८०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७५, निर्जीवन बीमा एक दशमलव २४ र व्यापार समूह एक दशमलव ४४ प्रतिशतले घटेको छ ।

    रिभर फल्स पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ६४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ५३ करोड ८८ लाख ६० हजार ९५७ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरे सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को नौ लाख २३ हजार ५४९ कित्ता शेयर किनबेच भएको छ ।

  • कर्णालीमा ‘राउटे करिडोर’ बन्दै

    कर्णालीमा ‘राउटे करिडोर’ बन्दै

    २६ साउन, काँक्रेबिहार । कर्णाली प्रदेश सरकारले लोपोन्मुख फिरन्ते राउटे समुदायको संरक्षण गर्न राउटे करिडोर निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२÷२०८३ मा कर्णाली प्रदेशको राउटे नीति, राउटे समन्वय समितिको अध्ययन प्रतिवेदन, विभिन्न संवैधानिक आयोगको सिफारिस तथा राउटेको विगत १० वर्षको बसोबासस्थलको नक्साङ्कनका आधारमा करिडोर बन्ने भएको हो ।

    कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यानलगायतका पहाडी जिल्लाका वन क्षेत्रमा अस्थायी टहरा बनाएर राउटे बसोबास गर्छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आफ्नो एकवर्षे कार्यप्रगति सार्वजनिक गर्दै राउटेको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न चालु आर्थिक वर्षमा राउटे करिडोर स्थापना गर्न लागिएको बताए ।


    राउटे बसाइँ सर्ने क्षेत्र समेटेर बनाइने करिडोर अवधारणामा राउटे समन्वय समितिको निर्णयका आधारमा प्रोफाइल प्रकाशन गर्ने, विकास साझेदारको समन्वयमा पोषणयुक्त खाद्य सामग्री प्रदान गर्ने, राउटेका लागि प्रादेशिक तथा अन्य सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने उनले बताए ।
    यस्तै राउटे समुदायका बालबालिकालाई शिक्षाको अवसरतर्फ अग्रसर गराउन आवश्यक सामग्री विकास गरी वितरण गर्नेदेखि आवश्यक क्षमता विकासका कार्यक्रम राउटे करिडोरमार्फत गरिनेछ । करिडारमार्फत राउटे समुदायको संरक्षण गर्न समानुकूल कानुनी प्रबन्धसमेत गरिनेछ ।

    राउटे समुदाय नेपालको मौलिक सांस्कतिक सम्पदा उल्लेख गर्दै मन्त्री भण्डारीले उनीहरूको संरक्षण र सशक्तीकरणमा राज्य तथा समाज दुवैको साझा जिम्मेवारी भएको बताए । आधुनिक शिक्षा, स्वास्थ्य सेवा र पूर्वाधारको पहुँच अत्यन्त न्यून भए पनि राज्यले भत्ता, स्वास्थ्य जाँच र जीवनस्तर सुधारका विभिन्न कार्यक्रममार्फत उनीहरूलाई समावेश गर्न प्रयास गरिएको भए पनि उनीहरूको परम्परा तथा स्वतन्त्रताको सम्मान गरी विकासको मार्ग तय गर्न चुनौतीपूर्ण रहेको उनले बताए ।


    गत आर्थिक वर्षमा उनीहरूलाई आवश्यक लत्ताकपडा, त्रिपाल, खाद्यान्न सामग्रीलगायतका सहायता उपलब्ध गराइएको उल्लेख गर्दै विभिन्न गैरसरकारी सङ्घसंस्थासँगको समन्वयमा राउटेलाई मूल प्रवाहीकरणमा ल्याउने प्रयास भइरहेको मन्त्री भण्डारीले बताउनुभयो । यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने भण्डारीले बताए ।

    राउटेको मुख्य जीविकोपार्जन काठका सामग्री बनाएर विनिमय प्रणालीमार्फत अन्न वा अन्य सामग्री प्राप्त गर्नु हो । कृषि, पशुपालन वा स्थायी रोजगारीमा उनीहरूको संलग्नता छैन । उनीहरू आफ्नै भाषा बोल्छन् । मौखिक परम्परा र नृत्य, गीतमार्फत सांस्कृतिक अभिव्यक्ति गर्ने यस समुदायको नेतृत्व मुखियाले गर्छन् । कल्याल, सोवंशी र रास्कोटी गरी तीन थरका राउटेको हालको सङ्ख्या १३५ छ ।

  • रासायनिक मल सहज रूपमा उपलब्ध गराउन कृषि मन्त्रालय क्रियाशील

    रासायनिक मल सहज रूपमा उपलब्ध गराउन कृषि मन्त्रालय क्रियाशील

    २५ साउन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको सहज व्यवस्थापन भइरहेको र कुनै गुनासो नआओस् भन्नेमा यथेष्ट ध्यान दिइएको जनाएको छ । तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन रासायनिक मल मौज्दात छ भने एक लाख ४० हजार ५०४ मेट्रिक टन मार्गस्थ छ । साल्ट टे«डिङ कम्पनी र कृषि सामग्री कम्पनी लिमिटेडमा उक्त परिमाणको मल उपलब्ध रहेको तथा आवश्यक बिक्री वितरणको व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ ।
    खेतीपातीको समयमा रासायनिक मल सहज रूपमा व्यवस्थापन गर्न मन्त्रालयले आवश्यक पहल र प्रयत्न गरिरहेको मन्त्रालयले जनाएको छ । सोहीअनुसार कृषि सामग्री कम्पनीमा कुल २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ । त्यसमा युरिया १६ हजार ५३९ मेट्रिक टन, डिएपी सात हजार ६५३ मेट्रिक टन तथा पोटास चार हजार ९१५ मेट्रिक टन मौज्दातमा छ ।

    त्यसैगरी, साल्ट टे«ड्रिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ । त्यसमध्ये युरिया १० हजार ९८४ मेट्रिक टन, डिएपी नौ सय ४२ मेट्रिक टन, पोटास एक हजार ७८५ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले चालु आवका लागि ६ लाख मेट्रिक टन मलको व्यवस्थापन गर्ने लक्ष्य राखेको छ । त्यसका लागि रु २८ अर्ब ८२ करोड बराबरको बजेट व्यवस्थापन गरिएको छ । हालसम्म तीन लाख मेट्रिक टन मल खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ ।

    त्यसैगरी, मार्गस्थ अवस्थामा रहेको रासायनिक मल एक लाख ४० हजार ५०४ मेट्रिक टन रहेको छ । सोमध्ये कृषि सामग्री कम्पनीतर्फ ७८ हजार ३४९ मेट्रिक टन र साल्ट टे«डिङतर्फ ६२ हजार १५४ मेट्रिक टन छ । गत आवको ३० हजार ९८३ मेट्रिक टन मल भने मौज्दात छ । त्यसमा युरिया १९ हजार ९२३ मेट्रिक टन, डिएपी १० हजार ४४८ मेट्रिक टन र पोटास छ सय ११ मेट्रिक टन छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीका अनुसार किसानले सहज रूपमा रायायनिक मल पाउने गरी सरकारको तर्फबाट आवश्यक पहल भएको छ ।

  • रसुवा बाढी : बीमा दावी ९८ करोड ५९ लाख

    रसुवा बाढी : बीमा दावी ९८ करोड ५९ लाख

    २५ साउन, काठमाडौं । गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी रु ९८ करोड ५९ लाख ८२ हजार बराबर पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यही साउन २२ गतेसम्म कुल बीमा दाबी ७८ पुगेको छ । त्यसमा सम्पत्ति बीमा छ, सामुद्रिक बीमा नौ, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम पाँच, मोटर बीमा (निजी) १६ र मोटर बीमा (सार्वजनिक) ४२ वटा दाबी परेको छ । प्राधिकरणका अनुसार हिमालयन एभरेष्टमा रु ५५ करोड, शिखर इन्स्यारेन्स कम्पनीमा रु १६ करोड ९६ लाख ३० हजार, नेपाल इन्स्यारेन्स कम्पनी रु आठ करोड ७३ लाख तथा सानिमा जिआइसीमा रु ६ करोड ८४ लाख ८२ हजार बराबरको बीमा दाबी भएको छ ।

    प्राधिकरणका अनुसार नेको इन्स्योरेन्स रु पाँच करोड ६७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु दुई करोड ६५ लाख, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा रु ९१ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी रु ७६ लाख ७० हजार, एनएलजी इन्स्योरेन्स कम्पनीमा रु ४७ लाख, सिद्धार्थ प्रिमियर रु ३१ लाख र प्रभु इन्स्योरेन्स रु २८ लाख बराबरको बीमा दाबी परेको छ । लेहेन्दे खोलामा आएको बाढीका कारण नेपाल–चीन सीमामा रहेको मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरी राखिएका सवारीसाधन बगाएको थियो । यस्तै, रसुवागढी हाइड्रोपावरलगायत संरचनामा समेत बाढीले क्षति पुगेको थियो ।

  • थाइल्याण्डमा अवैध ऋण लिएको आरोपमा २६ चिनियाँ नागरिक पक्राउ

    थाइल्याण्डमा अवैध ऋण लिएको आरोपमा २६ चिनियाँ नागरिक पक्राउ

    एजेन्सी
    २४ साउन, काठमाडौं । थाइल्याण्ड प्रहरीले अवैध अनलाइन ऋण लिएको आशङ्कामा शनिबार २६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ । अधिकारीहरूले बैङ्ककबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको रिसोर्ट शहर पटायामा रहेको सुविधासम्पन्न ‘पूल भिल्ला’मा छापा मारेर चीनबाट एक महिला र २५ जना पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीले एएफपीलाई दिएको जानकारीअनुसार केही शङ्कास्पद व्यक्तिको पर्यटक र विद्यार्थी भिसाको म्याद नाघेको थियो । प्रहरीले ५३ वटा मोबाइल फोन, चिनियाँ भाषाका कागजात र ८० हजार भाट (दुई हजार ५०० अमेरिकी डलर) नगद बरामद गरेको छ । अधिकारीहरूले उक्त समूहलाई अनधिकृत क्रेडिट व्यवसाय सञ्चालन गरेको र राज्यमा गैरकानुनी रूपमा काम गरेको आरोप लगाएका छन्।

  • असारे विकासको कुरुप ‘शङ्खमूल सडक’

    असारे विकासको कुरुप ‘शङ्खमूल सडक’

    २४ साउन, काठमाडौं । “झरी परेपछि हिलाले बोटामा हिँड्नेस्थिति हुँदैन । अरूको घरको भित्ता समाउँदै हिलाम्मे सडक पार गर्नुपर्ने स्थिति छ”, बुटवलकी शुभद्रा भट्टराई शङ्खमूलस्थित वडा नं ३१ को सडकको बिजोग देखेर भन्छिन्, “छि, सडक ।” यहाँ असारे बजेट खर्च गर्नैका लागि काठमाडौँ महानगरपालिका–३१ ले धमाधम सडक खनेको थियो, तर त्यसको व्यवस्थापन भएन, जसले गर्दा सडकछेउका नागरिक र यही बाटो भएर आउनेलाई निकै सास्ती भएको छ । “घर आउने यो बाटोको अर्को विकल्प छैन । दिनहुँ हिँड्नै पर्छ,त् हिँडेपछि सास्ती । अस्ती सानी नातिनी हिलोमा चिप्लिएर लडी । हामी बूढाबूढी पनि हिँड्न पनि त्यस्तै जोखिम छ”, शङ्खमूल डेरा गरेर बस्ने भट्टराई भन्छिन् ।


    कोटेश्वर, बालकुमारी करिडोर सडक भएर बानेश्वर वा बबरमहल निस्किने अधिकांश यात्रीले यहाँको दुर्दशा देखिरहेका छन् । जेठ\असार लागेपछि बाटो खन्ने र समयमै सम्पन्न नभए पनि सामान्य व्यवस्थापनसमेत नगरेको भन्दै धेरैजसो आक्रोशित छन् । दैनिक यो बाटो प्रयोग गर्नै पर्ने बाध्यतामा रहेका स्थानीय झनै आक्रोसित छन् । वडाले खानेपानीका पाइप, बिजुलीको तार, ठूला ढल राख्ने भनेर बाटो भत्काए पनि सामान्य हिलोसमेत नफाली छोड्दा व्यापार व्यवसायमा पनि समस्या परेको aछ । तरकारी व्यापारी माया तामाङ हिलोका कारण आवातजावत गर्न समस्या भएकाले मान्छेको चहलपहल कम भएको र यसले व्यापारीले घाटा बेहोर्नु परेको गुनासो गर्छिन् ।


    सडक हिलाम्मे हुँदा फोहोर उठाउन पनि त्यत्तिकै सास्ती छ । स्थानीयले फोहोर बटुलेर चोकसम्मै पुग्नु परिरहेको छ । अधिवक्ता एवं स्थानीयवासी भूपेन्द्र पोख्रेलले विकासका नाममा जनताको सामान्य हिँड्डुल गर्ने स्थितिको हेक्का नै नगरी सडक खन्नु गैरजिम्मेवारपूर्ण काम भएको बताए । सडक खन्ने पनि जनताले कसरी हिँड्डुल गर्लान् भनेर हेक्का नै नराखी काम गरेको उहाँले बताउनुभयो। “मान्छे कहाँबाट हिँड्छ त, सोच्नु पर्दैन रु विकासको नाममा भत्काएर अलपत्र छोड्ने होइन, त्यो पनि बर्खामासमा”, उनले भने, “वडाले चाँडोभन्दा चाँडो हिलोबाटोलाई व्यवस्थापन गरेर हिँड्डुल गर्न सक्ने बनाउनुपर्छ ।”

    कोटेश्वरदेखि शङ्खमूलस्थित स्कुलमा छोरा लिएर आउने शङ्कर कार्कीले हिलो सडकका कारण निकै समस्या भएको बताए । शङ्खमूल गणेशमार्ग नजिकै रहेको उक्त सडक बालकुमारी, कोटेश्वर, तीनकुने करिडोर भएर आउनेहरू आउजाउहरूले सास्ती भोगिरहेको उनको भनाइ छ । किराना पसल व्यापारी रमेश लामिछानेले असारे विकासका नाममा धमाधम सडक खनेर त्यत्तिकै छोड्दा आफूहरूको दैनिक गुजारा गर्ने व्यवसाय नै ठप्पजस्तै भएको बताए ।

    वर्षाभरि हिलोले सताउने भयो, चैत–वैशाखमा धुलोले पिरोल्ने”, उनी भन्छन्, “विकासको नाममा उल्टै नागरिकको दैनिकी नै नराम्ररी प्रभावित हुनेगरी काम गर्नु निन्दनीय छ ।” यस विषयमा स्थानीय मिलेर वडा कार्यालयमा ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको लामिछानेले गुनासो गर । “खाल्टो खन्दा सडकबाट निस्किएको हिलोलाई व्यवस्थापन गरेर अलिकति समथल बनाइदिए काम चल्थ्यो, तर यहाँ जसरी भत्काइयो, त्यस्तै छ । यो जनप्रतिनिधिको लापरबाही हो ।”

    काठमाडौँ महानगरपालिका–३१ का वडाअध्यक्ष सरोज ढकाल ढल व्यवस्थापनसँगै अन्य काम पनि एकैपटक गर्ने योजनाका कारण गत आर्थिक वर्षको अन्तिममा सबै काम नसकिएपछि समस्या भएको बताउँछन् । “५० वर्षअघि राखिएको छ इन्चको ढल प्रतिस्थापन गरी हाल ४२ इन्चको ठूलो ढल राखिएको छ । खानेपानीको पाइप र बिजुलीका तार एकैसाथ बिछ्याउने तयारी भएको हुँदा यस्तो भएको हो”, उनले भने, “पाइप, ढल राख्न सडक खन्नै प¥यो । हिलोमा ग्राभेल गर्न सकिँदैन । स्थानीयलाई गाह्रो भएको छ, तर अरू उपाय छैन । तीन–चार महिनापछि त पहिलेको भन्दा राम्रो सडक बनिहाल्छ नि ।”

  • पहिरोमा परी सुपर न्यादी आयोजनाका एक कामदारको मृत्यु, तीन जना घाइते

    पहिरोमा परी सुपर न्यादी आयोजनाका एक कामदारको मृत्यु, तीन जना घाइते

    लमजुङ, २४ साउनः लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ मा निर्माणधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको आज पहिरोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार आज दिउँसो अचानक आएको पहिरोले बेँसीसहर नगरपालिका–८ मा अस्थायी रूपमा बस्ने ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको हो । दोर्दी गाउँपालिका–५ का २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका–७ बस्ने ३५ वर्षीय प्रितम लामा र प्यूठान जिल्ला झिम्रुक गाउँपालिका–६ का २५ वर्षीय विकास विष्ट घाइते भएका उनले जानकारी दिए । घाइतेहरूको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

    आयोजनाको काम गरेर क्याम्पमा खाना खाने क्रममा पहिरो आएको जनाउँदै प्रहरी नायब उपरीक्षक बोहोराले भाग्ने क्रममा सो पहिरोमा परी एकको मृत्यु र तीन जना घाइते भएका बताए । उनका अनुसार सो क्याम्पमा करिब ४० जना कामदार बस्दै आएकामा पहिरो आएपछि भाग्ने क्रममा चार जना पहिरोमा परेका हुन् । न्य ३६ जना भने सकुसल रहेको प्रहरीले जनाएको छ । यस घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै

    तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै

    २३ साउन, दमौली । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कङ्क्रिट निर्माण गरिएको छ । एक सय ४० मिटर अग्लो मुख्य बाँध बनाउनका लागि करिब नौ लाख घनमिटर कङ्क्रिट निर्माण गर्नुपर्नेमा हालसम्म ७३ हजार घनमिटरको काम सकिएको हो । मुख्य बाँधको कङ्क्रिटका लागि विसं २०८१ चैत ७ गतेदेखि काम सुरु भएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आयोजनाको ‘प्याकेज १’ अन्तर्गत व्यास नगरपालिका ५ र ऋषिङ गाउँपालिका १ स्थित सेती नदी फर्काएर बाँध निर्माणलाई अघि बढाइएको उनले बताए ।


    एक सय ४० मिटर अग्लो बाँध निर्माणअन्तर्गत अहिले बाँधको फाउण्डेसनमाथि औसत १० मिटर उचाइसम्म कङ्क्रिटका ब्लकहरू उठाइसकिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । उच्च बाँधको ठूलो कङ्क्रिटको तापमान नियन्त्रण अत्यन्त संवेदनशील मानिने भएकाले त्यसलाई ख्यालमा राखेर काम भइरहेको उनको भनाइ छ ।

    विसं २०८० कात्तिक २० गतेदेखि जग खन्ने काम सुरु भएकामा विसं २०८१ असारमा सकिएको थियो । ऋषिङ गाउँपालिका(१ र व्यास नगरपालिका ५ सीमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काएर काम थालिएको भण्डारीले जानकारी दिए ।

    “डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्र हुँदै पुनः सेती नदीमा खसालिएको थियो । बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्त्वपूर्ण मानिएको छ”, उनले भने । विसं २०७८ भदौ १४ गतेदेखि प्याकेज १ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण सुरु भएकामा हालसम्मको प्रगति ४३ दशमलव पाँच प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।

    भण्डारीका अनुसार ‘प्याकेज २’ अन्तर्गतको विद्युत्गृहभित्र संरचनागत कार्यहरू सम्पन्न भएर उपकरण जडान भइरहेको छ । ‘प्याकेज(२’ अन्तर्गत भूमिगत विद्युत्गृहमा ६७ र ‘प्याकेज ३’ अन्तर्गत प्रसारणलाइन निर्माणमा ७४ प्रतिशत प्रगति भएको उनले जानकारी दिए । आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । पुँजी संरचना तथा वित्तीय व्यवस्थापनसहित आयोजनाको कुल लागत (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ ।

    एसियाली विकास बैंक (एडीबी)ले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकारअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजना कार्यालयले जनाएको छ ।

  • घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार

    घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार

    २३ साउन, गण्डकी । लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत गाँजाखेती र घरेलु मदिरालाई कानुनी मान्यता दिने घोषणा गरेको थियो । औद्योगिक उत्पादन र औषधिजन्य प्रयोजनका लागि गाँजाखेती खुला गर्ने गरी प्रदेश सरकारले विधेयकको मस्यौदा तयार पारेको हो ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानुन तथा संवैधानिक मामिला महाशाखाका सचिव रामजी दनाईले मस्यौदामाथि प्राररम्भिक छलफल सुरुआत भएको बताए । “मुख्यमन्त्रीसहित सरोकार भएका पक्षहरुबीच एक चरण छलफल भइसकेको छ, मस्यौदा थप परिमार्जन तथा संशोधन हुनसक्छ”, उनले भने, “सेवनका लागि नभई गाँजाको औद्योगिक र औषधीजन्य उत्पादनलाई मात्र वैधता दिने गरी प्रदेश सरकारले कानुन ल्याउन लागेको हो ।”

    प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, विधेयकको प्राररम्भिक मस्यौदा तयारीमा प्रदेश सरकारलाई सहयोग गरिरहेको नेपाल कानुन समाजका पदाधिकारीलगायत सम्मिलित उक्त बैठकमा गाँजाखेतीलाई कानुनी मान्यता दिनुपर्नेमा एकमत देखिएको थियो । सचिव दनाईले प्रस्तावित विधेयकको खाकाले पूर्णता पाइनसकेकाले ऐन निर्माणको प्रक्रियाले केही समय लिने बताए । लागूऔषध सम्बन्धी सङ्घीय ऐन र अन्य प्रचलित कानुनसँग नबाझिने गरी कानुन ल्याउनुपर्ने उनको भनाइ छ ।

    प्रस्तावित विधेयकमा गाँजाखेती र व्यवसायका लागि कडा प्रावधान राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रदेश सरकारले गाँजाखेती सम्बन्धी नौ प्रकारका इजाजत दिने गरी विधेयकको मस्यौदा तयार पारेको हो । जसमा प्रतिव्यक्ति निवेदन दस्तुरको रु. पाँच हजारदेखि खरिद बिक्रीसँगै आयात निर्यातका लागि रु. एक करोड ५० लाखसम्म तिरेर अनुमति लिनुपर्ने पाउने व्यवस्था गरिएको छ ।

    गाँजाखेतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाबाट अनुमति लिनुपर्ने र सोको अन्तिम निर्णय गर्ने अधिकार मुख्मन्त्रीमा रहने गरी विधेयकमा प्रस्ताव गरिएको छ । अनुमतिबिना गाँजाखेती, ओसारपसार र बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । गाँजाजन्य पदार्थको विज्ञापन गर्न नपाइने तर रेशाबाट बनेका कपडा, तेल, महल जस्ता औद्योगिक उत्पादनको भने विज्ञापन गर्न पाइने व्यवस्था गरिएको छ । गाँजाखेती व्यवस्थापन र नियमनका लागि शक्तिशाली ‘गाँजा नियमन बोर्ड’ गठनको प्रस्ताव गरिएको छ ।

    लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई पनि नियमन तथा व्यवस्थापन गर्न प्रदेश सरकार ऐन ल्याउने तयारीमा छ । सो सम्बन्धी विधेयक विषयतगत समितिबाट पास भई दफाबार छलफलका लागि प्रदेशसभामा पेस गरिएको छ । उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले अर्थ विकास समितिमा विज्ञहरुसहित सरोकार भएका पक्षहरुबीच दफाबार छलफल भएको बताए । “प्रदेशसभा अधिवेशन सुरु हुनासाथ यस विधेयकमा दफाबार छलफल हुन्छ र विधेयक पारित गर्ने प्रकृया अगाडि बढ्छ”, उनले भने ।


    प्रदेश सरकारले सोसम्बन्धी विधेयकलाई गत चैत १४ गते प्रदेशसभामा प्रस्तुत गरेको थियो । मन्त्री बस्यालले घरेलु मदिराको ‘ब्रान्डिङ’का लागि कानुनी प्रबन्ध गर्न लागिएको बताए । मापदण्ड र गुणस्तर तय गरेर घरेलु मदिराको व्यावसायिक उत्पादनलाई खुला गर्न लागिएको हो । सङ्घीय कानुनसँग नबाझिने गरी विधेयकलाई पूर्णता दिइने मन्त्री बस्यालले बताए । परम्परागतरुपमा घरघरमा बनाइँदै आएको मदिरालाई एकसाथ वैध घोषणा गर्दा गुणस्तर सुनिश्चितताको समस्या आउन सक्ने हुँदा व्यावसायिक उत्पादनलाई मात्र कानुनी दायरामा ल्याइने उनको भनाइ छ ।

    प्रदेश सरकारले घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणलाई पनि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पनि समेट्दै आएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि पटकपटक घरेलु मदिरालाई ‘ब्राण्डिङ’ गरेर कानुनी मान्यता दिने बताउँदै आएका छन् । पछिल्लो समय प्रदेश र स्थानीय तहले घरेलु मदिरालाई वैधानिकता दिनुपर्ने आवाज उठाउँदै आएका छन् । सर्वोच्च अदालतले केही वर्षअघि संस्कारजन्य कार्यका लागि एक परिवारले वर्षमा ३० लिटरसम्म उत्पादन गर्न पाउने फैसला गरे पनि व्यावसायिक उत्पादन र बिक्री वितरणका लागि घरेलु मदिरा वर्जित छ । मदिरा ऐन, २०३१ ले पनि घरेलु मदिरालाई वैधानिक मान्यता दिएको छैन ।


    सोही ऐनमा टेकेर प्रहरीले बेलाबेला घरेलु मदिरा नष्ट गर्ने अभियान नै चलाउँछ । जनजाति समुदायको संस्कृतिसँग गाँसिएको र कतिपयको आयआर्जनको माध्यम बनेको घरेलु मदिरा जफत गरेको भन्दै प्रहरीकै आलोचना हुने गर्छ । वैज्ञानिक विधिबाट गुणस्तरीय घरेलु मदिरा उत्पादन र बजारीकरण गर्न सके राज्यलाई ठुलो आर्थिक लाभ मिल्ने मन्त्री बस्यालले बताए ।


    केही समयअघि गण्डकी विश्वविद्यालयले गरेको घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चाको गुणस्तर निर्धारण अनुसन्धान सफल भएको थियो । प्रदेशका ११ वटै जिल्लाबाट रक्सी बनाउने विधिको अध्ययनसहित मर्चा सङ्कलन गरेर रासायनिक विश्लेषण गरिएको थियो । मर्चाको मापदण्ड र गुणस्तर कायम गरेर घरेलु मदिरालाई सुरक्षित बनाउन सकिने आधार अनुसन्धानबाट देखिएपछि प्रदेश सरकारले घरेलु मदिरालाई कानुनी मान्यता दिन लागेको हो ।

    विधेयकमा घरेलु मदिरा उत्पादनका लागि प्रदेश सरकारबाट इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । व्यक्ति, फर्म वा कम्पनीले उद्योग दर्ता नगराई घरेलु मदिराको उत्पादन, संकलन, प्रशोधन, प्याकेजिङ, लेबलिङ तथा बिक्री वितरण गर्न मनाउने व्यवस्था गरिएको छ । धर्म, परम्परा, घरायसी प्रयोजन तथा निजी उपयोगका लागि वार्षिक ५० लिटरसम्म उत्पादन गर्न इजाजत पत्र लिनु नपर्ने व्यवस्था विधेयकमा रहेको मन्त्री बस्यालले जानकारी दिए । उद्योग दर्ता गराउन स्थानीय तहको सहमति, स्थान, आवश्यक पर्ने भाँडा, उपकरण, अन्न तथा फलफूल जस्ता कच्चा पदार्थको आपूर्ति गर्ने क्षेत्र उल्लेख गर्नुपर्ने विधेयकको मस्यौदामा उल्लेख छ ।

    घरेलु मदिरालाई गण्डकी प्रदेश भित्रका कृषि सहकारीलेसमेत दर्ता गर्न सक्नेछन् । यस्तो मदिरामा अन्य मिसावट गर्न नपाइने स्पष्ट व्यवस्था विधेयकले गरेको छ । कोदो , फापर, उवा, जौ, गहुँ, मकै, स्याउ , सुन्तला, खुर्पानी, मौवा, अम्वा, लिची, ऐसेलु, चुत्रो, डिम्बर जस्ता अन्न र फलफूलबाट मदिरा बनाउन सक्ने व्यवस्था विधेयकमा छ । प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले घरेलु मदिरालाई कानुनी दायरामा ल्याउँदा स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताए । मदिराको व्यावसायिक उत्पादनसँगै संस्कार र संस्कृतिलाई पनि ध्यान दिन जरूरी रहेको उनको भनाइ छ ।

  • समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरुलाई अर्थको निर्देशन

    समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरुलाई अर्थको निर्देशन

    २३ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२–८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको बैठकमा उनले बजेटसम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिए । उनले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर बजेट कार्यावन्यनमा परिणाम निकाल्न पनि निर्देशन दिए ।
    अर्थमन्त्री पौडेलले विद्यमान कानुनको व्यवस्था र सीमाभित्र रहेर गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिए ।

    अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा रु एक खर्ब २८ अर्ब गैरकर सङ्कलन भएको थियो, जुन कूल राजस्वको १०.९ प्रतिशत हो । बैठकमा गैरकर राजस्वसम्बन्धी थप स्रोत पहिचान गरी कार्यान्वयन गर्दै अघि बढ्नेबारे छलफल भएको छ । बैठकमा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

  • नेप्से परिसूचक उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार

    नेप्से परिसूचक उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार

    २२ साउन, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १८ दशमलव ३० अङ्कले उकालो लागेर दुई हजार ८५० दशमलव ३७ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६१ अङ्कले उकालो लागेर चार सय ९० दशमलव १६ मा पुगेको छ । कूल दुई करोड ५४ लाख तीन हजार ५४० कित्ता शेयर रु आठ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ मूल्यमा खरिद बिक्री भएको छ ।

    नेप्सेका अनुसार सिक्लेस हाइड्रोपावर, बरुण हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, रिलायवल समृद्धि योजना र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस्तै, उन्न्ती सहकार्य लघुवित्त, समाज लघुवित्त, सान्भी इनर्जी, मैलुङ खोला हाइड्रोपावर र नबिल डिवेञ्चरका लगानीकर्ताले गुमाएका छन् ।

    कारोबार भएका कूल ३१८ कम्पनीमध्ये १८७ कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै, ६२ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा अन्यको भने स्थिर छ । कारोबारका आधारमा लिवर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालय रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छन् । आजको कारोबारपछि कूल बजार पूँजीकरण रु ४७ खर्ब ५७ अर्ब ७६ करोड बराबर पुगेको छ ।

  • प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन

    प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन

    २२ साउन, म्याग्दी । दुई दशकअघिसम्म यहाँको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो । न्यानोका लागि ज्याकेट नहुँदासम्म हरदुब्लो ओड्ने गरिन्थ्यो । गलैँचाको विकल्पमा घरमा काम्लो बिछ्याउने, सिरकको विकल्पमा ओढ्ने चलन थियो”, उनले भनिन्, “सिरक, डसना, गलैँजा सहजै पाइन थालेपछि हाम्रा मौलिक सामग्री लोप हुन थाल्यो ।” परम्परागत राडी, पाखी, काम्लो, हरदुुब्लोको प्रयोग घट्न थालेको र बजारमा बिक्री नहुँदा भेडाको ऊन कृषकले जङ्गलमै फाल्ने गरेका छन् ।

    असार र कात्तिकमा ऊनले भेडालाई गर्मी हुुने र बाह्य परजीविको सङ्क्रमण नहोस भनेर ऊन काट्ने गरिन्छ । बिक्री नहुुने भएपछि घरायसी उपभोगबाहेकका ऊन जङ्गलमै फाल्ने गरेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका भेडापालक कृषक कमल पाइजाले बताए । “ऊन निकाल्ने आधुनिक औजारको अभावमा कैँचीको सहाराले काट्ने गरिन्छ”, उनले भने, “सीपयुुक्त जनशक्तिको अभावका कारण ऊनबाट कपडा बनाउने चलन हराउँदै गएपछि खपत पनि घटेको हो ।” ऊनबाट बुनेका मौलिक कपडा वातावरणमैत्री हुन्छ । म्याग्दीको गुर्जा, मल्कवाङ र कुइनेमङ्गलेमा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल समुदायको मौलिक पोसाक ऊनबाट बनेका कपडा हुन् ।

    आर्थिक वर्ष २०७९–८० मा १८ हजार ५६७ भेडा रहेको म्याग्दीमा २०८०र०८१ मा घटेर १७ हजार ५६५ वटामा झरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ । अघिल्लो वर्ष ६१ हजार ४२४ वटा बाख्रा रहेको म्याग्दीमा २०८०–०८१ मा ६० हजार ४२३ मा झरेको केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले बताए ।
    ऊनको बजारीकरणमा समस्या भएको उनले बताए । सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले भेडाबाख्राको ऊनबाट सामान बनाउनेलगायत मौलिक सीपहरु लोप हुन नदिन समुदायस्तरमा अन्तरपुस्ता ज्ञान सीप हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको बताए । रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका बासिन्दाले मौलिकता जोगाउन गाउँका सबैले ऊनका कपडा लगाउने गरेको वडासदस्य टेकजित छन्त्यालले बताए ।

  • अमेरिकी करवृद्धिको चेतावनीपछि भारतीय सुरक्षा प्रमुख मस्कोमा

    अमेरिकी करवृद्धिको चेतावनीपछि भारतीय सुरक्षा प्रमुख मस्कोमा

    २२ साउन, काठमाडौं । वासिङ्टनले रुसी तेल खरिद गरेको भन्दै अमेरिकी कर वृद्धि गर्ने धम्की दिएपछि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार बुधबार मस्को पुग्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत रुसी तेलको एक प्रमुख क्रेता हो र रूसका लागि तेल युक्रेनमा मस्कोको सैन्य आक्रमणको लागि राजस्व सङ्कलन गर्ने एक प्रमुख स्रोत हो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी तेल खरिदमा भारतीय आयातमा कर वृद्धि गर्नेबारे विचार गरिरहेको बताएका छन् । यसबारे नयाँदिल्लीले आधिकारिक पुष्टि गरेको छैन तर द हिन्दू पत्रिका र एनटीडीभीले सुरक्षा प्रमुख अजित डोभालले मङ्गलबार राति मस्कोको भ्रमण गरेको बताएका छन् ।

    डोभालको मस्को भ्रमण अमेरिकी राजदूत स्टिभ विटकोफको भ्रमणसँग मिल्दोजुल्दो छ । उनले रुसी नेतृत्वसँग पनि भेट्ने तयारी गरेका छन् । ट्रम्पले रुसलाई युक्रेनमा आक्रमण रोक्न वा नयाँ सजाय भोग्न शुक्रबार सम्मसमय दिएका छन् । भारतको विदेश मन्त्रालयले रुसी तेल खरिद रोक्न अमेरिकी दबाब ‘अनुचित र अन्यायपूर्ण’ भएको भन्दै भारतले आफ्नो हितको रक्षा गर्ने बताएको छ । नयाँदिल्लीले ‘युक्रेनमा रूसी आक्रमण सुरु भएपछि परम्परागत आपूर्तिहरू युरोपमा डाइभर्ट भएकालेरूसबाट आयात गर्न सुरु गरेको’ तर्क गरेको थियो।

    क्यापिटल इकोनोमिक्सका शिलन शाहका अनुसार भारतले सिद्धान्ततः अन्य आपूर्तिकर्तालाई तुलनात्मक रुपमा सहज आर्थिक प्रभावसहित भेट्न सक्छ तर राजनीतिक रुपमा यो चुनौती हुनेछ । “आन्तरिक रूपमा, ट्रम्पको मागलाई बेवास्ता गर्नु राम्रो हुनेछैन”, शाहले एक सन्देशमा भने, “नीति निर्माताहरू रूससँग सामान्यतया सौहार्दपूर्ण र लामो समयदेखिको सम्बन्धलाई तोड्न अनिच्छुक हुनेछन्।”

    यसैबीच, युक्रेनले मङ्गलबार रुसमा प्रहार गरिएका रुसी ड्रोनमा भारतनिर्मित पार्टपुर्जा फेला परेको बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री येर्माकले टेलिग्राममा एक पोस्टमा भन्नुभएको छ, “हामीले रुसीहरूलाई अन्य देशबाट सामग्री प्राप्त गर्ने क्षमताबाट बञ्चित गर्नुपर्छ र युक्रेनीहरूको हत्या रोक्नुपर्छ।” विश्लेषकहरूका अनुसार भारतले रुसी सैन्य उपकरण र तेल खरिद गरेकोमा ट्रम्पको आक्रोशले नयाँ दिल्ली र मस्कोबीच शीतयुद्धदेखि नै ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध रहेको तथ्यलाई नजरअन्दाज गरेको छ ।

    ‘स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट’को तथ्याङ्कअनुसार सन् २००९ देखि २०१३ को बीचमा रुसले भारतलाई ७६ प्रतिशत सैन्य उपकरण निर्यात गरेको थियो । हालैका वर्षहरूमा यो प्रतिशतमा उल्लेखनीय गिरावट आएको छ, भारत अझै पनि प्रमुख सैन्य उपकरणका लागि रूसमा निर्भर छ ।

  • पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

    पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

    २१ साउन, बैतडी । अविरल वर्षासँगै खसेको पहिराले आज बिहानैदेखि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।

    राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र परेका छन् । जयपृथ्वी राजमार्गमा बेलाबेलामा पहिरो खस्दा अवरुद्ध हुने गरेको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

  • नारायणगढ–मुग्लिन सडकः सधैँ ढुङ्गा खस्ने त्रास

    नारायणगढ–मुग्लिन सडकः सधैँ ढुङ्गा खस्ने त्रास

    २० साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन् । पछिल्ला वर्षहरूमा सडक विस्तार, पुल निर्माण र पहिरो रोकथामको काम भएसँगै पहिलेको तुलनामा जोखिम कम हुने भए पनि ढुङ्गा खस्ने समस्या भने रहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार सबैभन्दा बढी समस्या देखिएको तुइन खोलामा ठूलो ढुङ्गा झारिएको छ । सँगै साना ढुङ्गा झारिएको भए पनि अझै सो क्षेत्र जोखिमपूर्ण रहेको उनको भनाइ छ ।

    उनले भने, “यो ठाउँमा रकनेटिङ गर्नका लागि छलफल भइरहेको छ”, झण्डै १६ मिटर माथिबाट अत्यन्तै जोखिममा रहेको ठूलो ढुङ्गालाई लङबुम एक्साभेटरको सहयोगमा गरिएको हो । सोही सडकको लामो बालुवा पुल आसपास क्षेत्रमा ढुङ्गा खस्ने जोखिम छ । सोही क्षेत्रमा ढुङ्गा खसेर केही समयअघि एक जना चालकको मृत्यु पनि भएको थियो । घिमिरेका अनुसार सडकको सात सय मिटर जति क्षेत्रमा जोखिम बढी छ । सो क्षेत्रको केही भित्तो काटिएको थियो ।

    यस्तै जोखिम जलवीरेमा छ । झण्डै एक सय मिटर क्षेत्रमा साना ढुङ्गा खस्ने जोखिम रहेको हो । नाम्सी पुल क्षेत्रमा भित्तो काटिएको हुँदा ढुङ्गा खस्ने जोखिम छ । एक सय मिटर जति क्षेत्र जोखिममा रहेको घिमिरेले जानकारी दिए । तुइन खोला नजिकैको क्षेत्र पनि जोखिममा छ । साठ्ठी मिटर हाराहारी क्षेत्रमा ढुङ्गा खस्ने जोखिम छ । सो क्षेत्रमा सडक विस्तार गर्दा हल्का भित्तो काटिएको थियो । केही वर्षअघि यो सडक विस्तार गर्दा ठाउँठाउँमा भित्तो काटिएको थियो । ती क्षेत्रमा रकनेटिङ, वायो इञ्जिनियरिङलगायत प्रविधि प्रयोग गरेर पहिरो र ढुङ्गा खस्ने समस्या रोकथाम गरिएको हो । घिमिरेले भने, “पहिले रोकथामको काम गरेका ठाउँमा समस्या छैन, नयाँ ठाउँमा समस्या देखिएको छ ।” ती समस्या समाधानका लागि कार्यालयले विभागमा लेखी पठाएको छ ।

    कार्यालय प्रमुख नारायण लामिछानेले जोखिम बढी देखिएका ठाउँमा रकनेटिङलगायतका काम गर्नुपर्ने आवश्यकता औँल्याए । विभागसँग परामर्श गरेर काम अघि बढाइने उनको भनाइ छ । वर्षाको समयमा सडक जोखिमपूर्ण भएकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्ने उनको सुझाव छ । कार्यालयले ढुङ्गा र पहिरो खस्न सक्ने जोखिम भएकाले मुग्लिनमा एउटा लोडर तयारी अवस्थामा राखेको छ । यस्तै सेतीदोभानमा लोडर, जेसिभी एक्साभेटर, ट्रकटेलर, टिपर तयारी अवस्थामा राखेको छ । उहाँका अनुसार नाली बन्द हुन नदिन मिनी एक्साभेटर र आवश्यक जनशक्ति सडकमा नियमित परिचालन गरिएको छ ।

  • बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

    बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

    काठमाडौँ, २० साउनः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा स्थलगत रूपमा छलफलमार्फत समस्या समाधानका लागि सहजीकरण गर्दै यथाशीघ्र बजेट तथा कार्यक्रम पारित गरी कार्यान्वयनमा ल्याउने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन महाशाखाका प्रमुख कालीप्रसाद पराजुली प्रकाश दाहाल र रुद्रसिंह तामाङको नेतृत्वमा सहजीकरणको काम गर्ने निर्णय भएको हो ।

    त्यस्तो वातावरण निर्माणका लागि पहल गर्न गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी प्रतिनिधिसमेतको संलग्नतामा यही साउन २१ गतदेखि विभिन्न तीन वटा टोली परिचालन गर्ने निर्णय गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
    सङ्घीय व्यवस्थामा स्थानीय तहको सशक्तीकरणको मूल आधारका रूपमा आर्थिक स्वायत्तता र वित्तीय अनुशासन रहेको हुन्छ । नेपालको संविधानले धारा ५९ मा आर्थिक अधिकारको प्रयोग र धारा ६० मा राजस्व स्रोतको बाँडफाँटको अधिकार सुनिश्चित गरी स्थानीय तहलाई आर्थिक स्वायत्तता प्रदान गरेको छ ।

    सो अधिकारको विधिसम्मत प्रयोग गर्दै स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न नेपालको संविधानको धारा २३० मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान गाउँसभा वा नगरसभामा पेस गरी पारित गराउनुपर्ने व्यवस्था गरिएको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २७ मा स्थानीय तहले सञ्चित कोषमाथि व्ययभार हुने रकमबाहेकका अन्य रकम आफ्नो बजेटमा व्यवस्था गरेर सभाबाट स्वीकृत भएपछि मात्र खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ ले कार्यपालिकाबाट स्वीकृत बजेट असार १० गतेभित्र सभासमक्ष पेस गर्नुपर्ने र सो बजेट असार मसान्तभित्र पारित गरी सक्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।

    स्थानीय तहमा सुशासनको प्रवर्द्धन र सेवा प्रवाहको सुनिश्चितता गर्न उपर्युक्त अनुुसारका संवैधानिक तथा कानुनी व्यवस्थाबमोजिम समयमै बजेट पारित गरी कार्यान्वयन गर्नु अनिवार्य भए पनि केही उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाले हालसम्म पनि चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम सभाबाट पारित गरी कार्यान्वयनमा ल्याउन सकेको देखिँदैन । सरकार कार्यविभाजन नियमावली, २०७४ अनुसार सङ्घ र स्थानीय तह तथा प्रदेश र स्थानीय तहबीचको सम्पर्क र समन्वयको जिम्मेवारी यस मन्त्रालयमा रहेको छ । सो जिम्मेवारीअनुरुप सभाबाट समयमै बजेट तथा कार्यक्रम पारित गराई कार्यान्वयनमा ल्याउन नसकेका स्थानीय तहहरुका समस्याका सम्बन्धमा छलफल गरी समाधानका लागि सहजीकरण गर्ने विषयलाई यस मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ ।

  • ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

    ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

    २० साउन, म्याग्दी । धवलागिरि गाउँपालिका–२ मुनाको धवलागिरि माविका शिक्षक र विद्यार्थीले तरकारीखेती गरेका छन् । मुनामा वार्षिक रु पाँच हजार भाडा तिर्नेगरी दुई रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरेका हुन् । एक रोपनीमा बन्दा, काउली, रायोसाग, मुला, गाजर र दुईवटा पलास्टिक टनेलमा गोलभेँडाका बिरुवा रोपिएको प्रधानाध्यापक रुपेश सुवेदीले जानकारी दिए । “गत हप्ता कक्षा ८, ९ र १० का विद्यार्थीका साथै शिक्षकले खाली समयमा श्रमदान गरेर जग्गा तयार गरेर तरकारीका बिरुवा लगाएका छौँ”, उनले भने, “बाँकी एक रोपनी जमिनमा प्याजका बिरुवा उत्पादन गरेर बिक्री गर्ने योजना छ ।”

    विद्यार्थीलाई तरकारीखेतीसम्बन्धी व्यावहारिक र व्यावसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफँै उत्पादन गर्ने र तरकारी बिक्री गरेर विद्यालयको कोष वृद्धि गर्ने उद्देश्यले तरकारीखेती थालिएको प्रअ सुवेदीले बताए । तरकारीखेतीका लागि धवलागिरि गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ को ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ भन्ने कार्यक्रममार्फत सहयोग गरेको थियो । गाउँपालिकाले उपलब्ध गराएको रु एक लाख ५० हजारबाट मल, बीउ, टनेल खरिद, जग्गा भाडा तिरेको छ ।

    गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने सीप सिकाउने उद्देश्यले हेम नमूना आवासीय मावि र धवलागिरि माध्यमिक विद्यालयमा ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रम सञ्चालन गरेको बताए । हेम नमूना आवासीय माविको झिनडाँडास्थित छात्रावासमा बस्ने ५० विद्यार्थीले छ रोपनी पाखोको झाडी फाडेर तरकारीखेती गरेर हराभरा बनाएका छन् । गत वर्ष रु तीन लाख बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनले बताए ।

  • भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना : ६ कामदारको मृत्यु , १० जना घाइते

    भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना : ६ कामदारको मृत्यु , १० जना घाइते

    २० साउन, काठमाडौं । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको बापाट्ला जिल्लामा खानीमा काम गर्ने क्रममा भएको दुर्घटनामा छ कामदारको ज्यान गएको पुष्टि गरिएको छ । घटनामा १० जना कामदार घाइते भएका छन्, जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्राप्त जानकारीअनुसार, दुर्घटना शुक्रबार साँझ भएको हो । खानीमा ढुंगा निकाल्ने कार्य भइरहेका बेला एक ठूलो चट्टान खस्दा केही कामदारहरू मलबामुनि पुरिएको जनाइएको छ । घटनाका बेला करीब १६ जना कामदार खानी क्षेत्रमा कार्यरत थिए ।

    उद्धार टोली तुरुन्तै घटनास्थलमा परिचालित भई जीवित व्यक्तिहरूको खोज तथा उद्धार कार्यमा सक्रिय भएको थियो । घाइतेहरूलाई तत्काल नजिकको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । दुर्घटनामा ज्यान गुमाउने अधिकांश कामदारहरू ओडिशा राज्यका बासिन्दा रहेको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ । यो दुःखद घटनाप्रति सम्बन्धित निकाय र सरोकारवालाहरूबाट प्रभावकारी सुरक्षा उपायको माग उठ्न थालेको छ । घटनामा ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

  • अभौतिक मुद्राको कारोबारमा संलग्न पक्राउ

    अभौतिक मुद्राको कारोबारमा संलग्न पक्राउ

    १९ साउन, काठमाडौं । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ कौशलटार बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका–१६ चिसापानी घर भएका २१ वर्षीय सुसान्त दाहाललाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले दाहाललाई पक्राउ गरेको प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । अभौतिक मुद्राको प्रयोग गरी नगद रु ७८ लाख ३० हजार ३८८ भन्दा बढी कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

  • मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु

    मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु

    १९ साउन, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । हाइड्रो सपोर्ट कम्पनीले ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढङ्गामा विस्फोटक पदार्थको प्रयोग गरेर गत हप्तादेखि चार हजार तीन सय १९ मिटर लामो सुरुङ निर्माण सुरु गरेको हाइड्रो सपोर्टका सञ्चालक चन्द्र ढकालले बताए ।

    अडिटको दुरी चार सय ५९ मिटर छ । बाँधतर्फबाट यही साउन महिनाभित्र र आउटलेटबाट हिउँददेखि सुरुङ खन्ने तयारी भएको छ । अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध बनाइ ल्याउने पानी एक सय ५१ मिटर उचाइबाट अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत हुन्छ । रसुवा–मल्टि जेभीका प्रमुख कार्यकारी अधिकृत फणिन्द्रराज पाण्डेले सुरुङ निर्माणका लागि अत्याधुनिक बुमर रोवटिक सटकिटलगायत उपकरण ल्याएको बताए ।

    मध्य कालीगण्डकीको विद्युत् नौनीबगरदेखि सात किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा आवद्ध हुनेछ् । आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको हाइड्रो सपोर्टका सञ्चालक ढकालले बताए । कूल रु १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यस आयोजनामा नविल बैंक लिमिटेडको नेत्तृत्वमा छ वटा वाणिज्य बैंकले ७५ प्रतिशत, २५ प्रतिशत प्रर्वद्धक र शेयर लगानीकर्तामार्फत जुटाइने भएको छ ।

    नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर रु आठ ४० पैसा र वर्षायामको दर रु चार रुपैयाँ ८० पैसा कायम भएको छ । आयोजनाबाट हिउँदमा एक सय ३० गिगावाटबाट रु एक अर्ब नौ करोड र बर्खामा दुई सय ७७ गिगावाटबाट रु एक अर्ब ३३ करोड आम्दानी हुने प्रक्षेपण छ ।

    मध्य कालीगण्डकीसहित कालीगण्डकी नदी बेसिनमा तीन सय मेगावाट भन्दा बढी क्षमताका तीन वटा जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, एक सय ८० मेगावाटको कालीगण्डकी गर्जले पनि निर्माणको तयारी गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

  • बाढीपहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरु अवरुद्ध

    बाढीपहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरु अवरुद्ध

    १९ साउन, गुल्मी । अविरल वर्षाका कारण गएरातिदेखि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । जिल्लाको कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका छन् । कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका –१ स्थित गरगरे, वडा नम्बर –२ को मिल्क र वडा नं–३ स्थित कनौटामा सडकमाथिबाट चट्टान सहितको ठूलो पहिरो खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

    लगातार वर्षाको कारण रिडी–तम्घास सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ स्थित सल्लेरीमा पहिरो खस्दा उक्त सडक पनि पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यसैगरी रिडी–वामीटक्सार सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका –६ स्थित डहरे खोला र वडा नं –५ को बादरेभीरमा बाढीपहिरोका कारण गएरातिदेखि उक्त सडकसमेत पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी सारुले जानकारी दिएका छन् ।

    उक्त क्षेत्रमा अहिले पनि लगातार रुपमा वर्षा भइरहेका कारण वर्षा नरोकिएसम्म अवरुद्ध सडक सुचारु गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक पटक–पटक बन्द हुँदा त्यस क्षेत्रका नागरिकले समस्या भोग्दै आइरहेका छन् । लगातारको वर्षाको कारण बडिगाड खोलामा पनि पानीको सतह बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन र सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीले जिल्लाका करिब दुई सय भन्दाबढी स्थानलाई बाढीपहिरोको उच्च जोखिममा राखेको छ ।

  • सुनकोशी मरिन डाइभर्सन आयोजनाको काम सात वर्षमा ३७ प्रतिशत

    सुनकोशी मरिन डाइभर्सन आयोजनाको काम सात वर्षमा ३७ प्रतिशत

    १८ धनुषाधाम । तराई–मधेसको सिँचाइ, खानेपानी र ऊर्जा उत्पादन समस्याको दिगो समाधानका रूपमा हेरिएको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य सुस्त छ । राष्ट्रिय गौरवको यो आयोजना निर्माण सम्झौताको सात वर्ष बित्दासमेत हालसम्म करिब ३७ प्रतिशत मात्र काम भएको छ ।

    बागमती प्रदेशअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–८ ढुङ्गे्रबाँस (खुर्कोट)स्थित सुनकोशी नदीबाट सुरु भएको उक्त डाइभर्सन आयोजनामा हालसम्म ३६ दशमलव ८३ प्रतिशत मात्र भौतिक प्रगति भएको जनाइएको छ । नेपाल सरकार र निर्माण कम्पनीबीच भएको सम्झौताअनुसार २०७६-०७७ देखि २०८५-०८६ अर्थात् १० वर्षमा आयोजनाको काम सम्पन्न हुनुपर्नेछ, तर आयोजनाअन्तर्गत दोस्रो चरणको काम ढिलो भएपछि समयमै पूरा हुनेमा शङ्का व्यक्त गरिएको छ ।

    हाल १३ दशमलव ३१६ किलोमिटर सुरुङमार्गको निर्माण सम्पन्न भए पनि अन्य भौतिक पूर्वाधार र विद्युत् उत्पादनकार्यमा अपेक्षित प्रगति भएको छैन ।
    शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवलगायतको टोलीले आयोजनाको स्थलगत अवलोकन गर्नुभएको थियो । टोलीले ढुङ्ग्रेबास (खुरकोट)देखि सुरुङको अन्तिम बिन्दु कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरीन खोलासम्म पुगेर आयोजना कार्यान्वयन अवस्थाबारे जानकारी लिएको थियो ।

    अवलोकनका क्रममा आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अशोक राज गौतमले आयोजना दोश्रो चरणको ठेक्का सम्झौताअनुसार २०७९ माघ ११ गतेदेखि पटेल–रमण जेभी प्रालिले काम थालेको र हालसम्म १० दशमलव १३ प्रतिशत मात्र भौतिक प्रगति भएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकार र निर्माण कम्पनीबीचको सम्झौताअनुसार दोस्रो चरणअन्तर्गतको काम २०८४ असार २५ भित्र सम्पन्न हुनुपर्नेछ । पहिलो चरणको ठेक्काको काम चिनियाँ कम्पनी चाइना ओभरसीज इन्जिनियरिङ ग्रुपले सम्पन्न गरिसकेको त्यस अवसरमा जानकारी दिइयो ।

    मुख्यमन्त्री सिंहले मधेसमा पानीको चरम अभाव भोगिरहेका बेला समस्या समाधानका लागि महत्त्वपूर्ण मानिएको आयोजनाको काममा ढिलाइ हुनु दुःखद भएको बताउनुभयो । उहाँले आयोजनालाई समयमा सम्पन्न गराउन प्रदेश सरकारका तर्फबाट नेपाल सरकारलाई औपचारिक रूपमै प्रतिवेदन तयार गरी जानकारी गराइने बताउनुभयो ।

    भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासो रहेको भन्दै समयमै ठेक्का सम्झौता पालना नहुने अवस्था रहे सम्झौता रद्द गर्नुपर्ने बताउनुभयो ।

    यो आयोजना रु ४९ अर्ब ४२ करोड ३१ लाख लागतमा निर्माण भइरहेको छ । मधेस प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको एक लाख २२ हजार हेक्टर अर्थात एक लाख ८३ हजार बिघा जमिनमा वर्षभर सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको सिनियर डिभिजनल इन्जिनियर गौतमले बताउनुभयो । साथै आयोजनाबाट ३१ दशमलव ०७ मेगावाट जलविद्युत् उत्पादन हुने उहाँले बताउनुभयो ।

    आयोजना सम्पन्न भएपछि कृषिबाट अनुमानित वार्षिक रु १० अर्ब ३० करोड र बिजुली उत्पादनबाट रु एक अर्ब ५५ करोड राजश्व सङ्कलन हुने अपेक्षा छ । आयोजना निर्माणमा हालसम्म रु १९ अर्ब ३३ करोड ५१ लाख बजेटमध्ये १६ अर्ब ५० करोड २७ लाख खर्च भइसकेको छ ।

    प्रारम्भिक चरणमा केही प्रगति देखिए पनि दोस्रो ठेक्का सम्झौताअनुसारको कार्य अत्यन्त सुस्त देखिएकाले गति बढाउन समन्वय भइरहेको सिनियर डिभिजनल इन्जिनियर गौतमको भनाइ छ ।

  • सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

    सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

    १८ साउन, इनरुवा । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारणले सप्तकोशी नदीमा आज बिहानदेखि पानीको बहाव वृद्धि भएको छ ।
    साँझ ७ बजेको मापनअनुसार कोसी ब्यारेज भएर एक लाख ८९ हजार ३९० प्रतिसेकेन्ड क्युसेक पानीको बहाव रहेकामा राति ८ बजे एक लाख ९१ हजार २१० प्रतिसेकेन्ड क्युसेक पानीको बहाव मापन भएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । हाल ५६ मध्ये २७ वटा ढोका खुला गरिएका उले बताए ।

    प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले नदीमा पानीको बहाव बढे पनि कुनै समस्या नरहेको बताए । कोशी ब्यारेज भएर एक लाख ५० हजारभन्दा माथि पानीको बहाव पुगेमा खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रूमले जनाएको छ ।

  • अमेरिकामा महँगी फेरि चुलिँदै, ब्याजदर घट्ने चर्चा तीव्र

    अमेरिकामा महँगी फेरि चुलिँदै, ब्याजदर घट्ने चर्चा तीव्र

    एजेन्सी
    १५ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकामा जुलाई महिनाको आधारभूत महँगी २.९ प्रतिशतले बढेको छ, जुन चालु वर्षको फागुन महिनापछिको सबैभन्दा उच्च स्तर हो । अमेरिकी आर्थिक विश्लेषण विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस्तो देखिएको हो । आधारभूत मूल्यवृद्धि भन्नाले खाद्यान्न र इन्धनजस्ता दैनिक रूपमा उतारचढाव हुने वस्तुहरूलाई हटाएर बाँकी वस्तु तथा सेवाहरूको मूल्यमा आएको परिवर्तनलाई जनाइन्छ । जुन महिनाको तुलनामा यो दर ०.३ प्रतिशतले वृद्धि भएको छ, जुन आर्थिक जानकारहरूको अनुमानसँग मेल खाएको बताइएको छ ।

    स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, मूल्यवृद्धिको गति अपेक्षाकृत मन्द देखिएकाले सेप्टेम्बर महिनामा ऋणको ब्याजदर घट्ने सम्भावना रहेको उल्लेख गरिएको छ । संयुक्त राज्य अमेरिकामा आर्थिक अवस्था आँकलन गर्ने मुख्य सूचकको रूपमा रहेको उपभोग व्यय मूल्य सूचकांक अनुसार, अमेरिकामा बसोबास गर्ने नागरिकहरू वा तिनीहरूका तर्फबाट किनमेल गरिने वस्तु तथा सेवाहरूको मूल्य यही माध्यमबाट मापन गरिन्छ ।

  • मधेशमा भयो वर्षा, किसानलाई राहत

    मधेशमा भयो वर्षा, किसानलाई राहत

    १७ साउन, धनुषा । लामो समयको पर्खाइपछि वर्षा हुँदा यहाँका किसानलाई राहत भएको छ । पानी नपर्दा रोपेका खेतमा धाँजा फाटेका र बीउ सुक्न लागेको अवस्थामा शुक्रबार बेलुकादेखि वर्षा भएपछि किसानलाई राहत भएको हो । क्षीरेश्वरनाथ नगरपालिका—४ हरैयाका किसान दिपो यादवले रोपाइँको बेला वर्षा नहुँदा समस्या भएकामा हाल केही राहत भएको बताए । धनुषामा ४८ हजार सात सय ६० हेक्टर जमिन धानखेती योग्य भएकामा पछिल्लो समय ४२ हजार हेक्टरमा मात्र खेती हुने गरेको छ ।

    कृषिज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवका अनुसार ६५ प्रतिशत खेतमा आकाशेपानीको भरमा धानखेती हुँदै आएको छ । शुक्रबारदेखि पानी परेकाले अब रोपाइँमा सुधार हुने उनले बताए । जिल्ला समन्वय समिति धुनषाका पूर्वसभापति रहेका ६५ वर्षीय रामदेव यादवले पछिल्लो समय धानखेती महँगो भएको र त्यसमा पनि मौसम चुनौतीपूर्ण रहेको बताउँछन् । धानखेती महँगो भए पनि लागतअनुसार उत्पादन र त्यसको बजार मूल्यसमेत पाइने नगरेको उनको गुनासो छ ।

    जिल्लामा करिब सात लाख जनसङ्ख्या रहेकामा त्यसमध्ये ७० प्रतिशत किसान धानखेतीमा संलग्न छन् । कृषि जनगणना २०७८ अनुसार जिल्लामा विस्तारै धानखेती घट्दै गएको छ । जिल्लाको १८ पालिकामध्ये गणेशमान चारनाथ, मिथिला र क्षीश्वरनाथ नगरपालिका तथा बटेश्वर गाउँपालिकाबाहेक १४ स्थानीय तहका किसानले व्यावसायिक रुपमा धानखेती गर्दै आएका छन् ।