Category: अर्थतन्त्र

  • १० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी कम्पनी छनोट

    १० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी कम्पनी छनोट

    ७ साउन, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १० वटा ठूला वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी ‘हउलदार युनुस एन्ड कम्पनी’ छनोट भएको छ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले दोस्रो चरणमा उक्त कम्पनीलाई छनौट गरेको आशयपत्र जारी गरेको छ । परेका बोलकबोलमध्ये दोस्रो चरणमा पनि ‘हउलदार युनुस एन्ड कम्पनी’ छनौट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बुधबार सो कम्पनीलाई छनौट गरिएको आशयपत्रको सूचना जारी गरेको छ । अब एक साताभित्र उक्त कम्पनी उपर उजुरी नआए सोही कम्पनीले १० वटा कम्पनीको लेखापरीक्षण गर्ने राष्ट्र बैंकले जनाएको छ ।

    यससँगै उक्त कम्पनीले ६२ लाख ५४ हजार रूपैयाँ र २ लाख ७१ हजार डलर (करिब तीन करोड ७१ लाख रूपैयाँ) भुक्तानी पाउने छ । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सुझाव तथा सहयोगमा नेपालका ठूला १० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न लागेको हो । गत वर्ष पुसमा राष्ट्र बैंकले एक सूचनामार्फत इच्छुक विदेशी लेखापरीक्षकलाई नेपालका वाणिज्य बैंकहरुको व्यापक सम्पत्ति गुणस्तर समीक्षा (लोन पोर्टफोलियो रिभ्यू–एलपीआर) का लागि आशयपत्र बुझाउन आहृवान गरेको थियो । यसरी आशयपत्र बुझाउने विदेशी लेखापरीक्षकमध्ये राष्ट्र बैंकले बंगलादेशको हाउलदार युनुस कम्पनीलाई छानौट गरेको थियो ।

    यो छनौटविरुद्ध आशयपत्र बुझाउने अर्को कम्पनी मेहरा जेकेएसएस एसएसबीडीआईका तर्फबाट एस सुवेदी एन्ड एसोसिएट्सका सञ्चालक सतिश सुवेदीले राष्ट्र बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालाई विपक्षी बनाएर सर्वोच्च अन्तरिम आदेश माग गर्दै रिट दायर भएको थियो । तर, गत असार ९ गते न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलाजले अन्तरिम आदेश निरन्तरता नहुने फैसला गरेको पनि राष्ट्र बैंकलाई प्रक्रिया अघि बढाउन बाटो खुलेको थियो । यो कम्पनीले लेखापरीक्षण सुरु गरेपछि राष्ट्र बैंक तोकेको मापदण्डअनुसार छनौट भएका १० वटा ठूला वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जाको गुणस्तर मूल्यांकन स्वतन्त्र रूपमा हेरिनेछ । जसअनुसार कर्जा भुक्तानीकै लागि कर्जा लिने परिपाटी भए–नभएको, समूहगत कर्जा लिने प्रवृत्ति कस्तो छ र कर्जा केन्द्रीकृत भएद्दनभएको, खराब कर्जाको अवस्थालगायत पक्षको लेखापरीक्षण हुनेछ । सरकारले सन् २०२१ डिसेम्बर २२ मा आईएमएफसँग विस्तारित कर्जा सुविधा (ईसीएफं लिँदा १० वटा ठूला वाणिज्य बैंकको स्वतन्त्र रुपमा लेखापरीक्षण गर्ने प्रतिवद्धतामा हस्ताक्षर गरेको थियो ।

  • अमेरिका र जापानबीच वृहत व्यापार सम्झौताः कर पनि कटौती

    अमेरिका र जापानबीच वृहत व्यापार सम्झौताः कर पनि कटौती

    ७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जापानसँग बृहत् व्यापार सम्झौता गर्न अमेरिका सहमत भएको बताएका छन्। जापान अमेरिकाको एउटा ठूलो व्यापार साझेदार हो। सहमतिको योजना अन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब अमेरिकी डलर लगानी गर्ने र १५ प्रतिशत पारस्परिक रूपमा शुल्कहरू, ट्यारिफ, तिर्ने कुरा भएको ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्। उनले जापानले आफ्नो अर्थतन्त्रलाई कार, ट्रक, चामल र केही कृषि उत्पादनलगायत अमेरिकी उत्पादनका लागि खुला गर्ने बताएका हुन्।

    जापानका प्रधानमन्त्री शिगेरु इशिबाले त्यस्तो सम्झौताको स्वागत गरेका छन् तर सम्झौताका थप विवरणहरू अध्ययन गर्न बाँकी रहेको बताएका छन्। जापानका मुख्य व्यापार वार्ताकार रायोसी आकाजावाले एउटा फेसबुक पोस्टमा ूमिसन पूरा भएकोू ह्यासट्यागसहित ह्वाइट हाउसको भ्रमण गरेको उल्लेख गरेका छन्। सम्झौताबारे विस्तृत जानकारीका लागि बीबीसीले वासिङ्टनस्थित जापानी दूतावाससँग सम्पर्क गरेको छ।


    ूमैले भर्खरै इतिहासकै सबैभन्दा ठूलो व्यापार सम्झौतामा हस्ताक्षर गरेको छु, मलाई लाग्छ जापानसँग इतिहासकै सबैभन्दा ठूलो व्यापार सम्झौता भएको छ, ट्रम्पले मङ्गलवार साँझ ह्वाइट हाउसमा आयोजित एउटा कार्यक्रममा भने। उनीहरूका वरिष्ठ मानिसहरू यहाँ थिए र हामीले यसबारे लामो र कठिन काम गर्‍यौँ। यो सम्झौता सबैका लागि ठूलो कुरा हो। म जहिले पनि भन्छु सहमति सबैपक्षका लागि ठूलो हुनुपर्छ। यो ठूलो सम्झौता हो, उनले थपे।

    ट्रम्पले युरोपेली सङ्घसँगको व्यापार सम्झौता पनि बुधवार घोषणा हुने र चाँडै नै अन्य सम्झौता हुने बताएका छन्। बीबीसीले व्यापार सम्झौताको विस्तृत विवरणका लागि ह्वाइट हाउससँग सम्पर्क गरेको छ। जापानका प्रधानमन्त्री शिगेरु इशिबाले बुधवार पत्रकारहरूसँग बोल्दै भने, ,वार्ताको परिणामलाई कुन अर्थमा बुझ्ने भन्ने सन्दर्भमा वार्ता र सम्झौताको विस्तृत विवरण सावधानीपूर्वक जाँच नगरेसम्म म यस विषयमा छलफल गर्न सक्दिनँ।

    यसै महिना जापानलाई पठाएको पत्रमा ट्रम्पले अगस्ट १ भन्दा अगाडि नयाँ व्यापार सम्झौता नभए अमेरिकामा जापानले गर्ने सामग्रीहरूको निर्यातमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका थिए। यो एप्रिल २ तारिखमा लिबरेसन डे भनेर ट्रम्पले देशमा हुने आयातहरूमा विभिन्न अतिरिक्त शुल्कहरू लागु गर्ने घोषणा गर्दाको समयमा जापानलाई लगाइने भनिएको २४ प्रतिशतको दरभन्दा एक अङ्कले बढी थियो।


    विश्वभरिका धेरै अमेरिकी व्यापारिक साझेदारहरूलाई अतिरिक्त कर लगाइने घोषणा गरिएको एप्रिलको ट्यारिफ योजना विश्वव्यापी बजार उथलपुथल भएपछि ९० दिनका लागि रोकिएको थियो। जसले टोकियोका व्यापार प्रतिनिधिहरूलाई वासिङ्टनमा आफ्ना समकक्षीहरूसँग वार्ता गर्न समय दिएको थियो।

    टोकियोमा जापानको बेन्चमार्क शेअर सूचकाङ्क निक्केई २२५ बुधवार बिहान २।५ प्रतिशत भन्दा बढीले बढेको थियो। प्रसारण संस्था एनएचकेले जापानी कार निर्माता कम्पनी माथिको विद्यमान कर कटौती हुने जानकारी दिएपछि टोयोटा, निसान र होन्डाजस्ता विशाल मोटर उद्योगका शेअर मूल्यले ठूलो फड्को मारेका थिए। प्रधानमन्त्री शिगेरु इशिबाले पछि देशका कार निर्माताहरूले अब अमेरिका निर्यात गर्दा २५ प्रतिशतको साटो १५ प्रतिशत तिर्नु पर्ने बताए।

    जापानको संसदको माथिल्लो सदनको चुनावमा लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले बहुमत गुमाएपछि प्रधानमन्त्री शिगेरु इशिबालाई पदबाट हट्न दबाव परिरहेका बेला यो सम्झौता भएको हो। एलडीपीले गत वर्ष नै जापानको शक्तिशाली तल्लो सदनमा आफ्नो बहुमत गुमाइसकेको थियो।

    बीबीसीबाट

  • नेपालका लागि एडीबीको ५ वर्षे रणनीति सार्वजनिक, के छन् प्रमुख कार्यक्रम ?

    नेपालका लागि एडीबीको ५ वर्षे रणनीति सार्वजनिक, के छन् प्रमुख कार्यक्रम ?

    ७ साउन, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मंगलबार नेपालका लागि एसियाली विकास बैंक (एडीबी) को राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९) सार्वजनिक गरेका छन् । एडीबीको सञ्चालक समितिबाट स्वीकृत राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडीबीको आगामी पाँच वर्षको रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ ।

    उक्त राष्ट्रिय रणनीति निजी क्षेत्रले नेतृत्व गर्ने आर्थिक वृद्धि, युवाका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवं विपद् उत्थानशीलतामा केन्द्रित छ । अर्थसचिव घनश्याम उपाध्याय, नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वा र विश्‍व बैंकका तर्फबाट मालदिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स मेनेजर प्रीति अरोराले रणनीति सार्वजनिकमा सहभागी थिए ।

    एडीबीले नेपालमा पहिलो पटक विश्‍व बैंक समूहसँग संयुक्त रूपमा राष्ट्रिय साझेदारी फ्रेम वर्क तयार गरेको हो । यो सहकार्यमा आधारित विकास योजनामा महत्त्वपूर्ण कोसेढुंगा सावित हुने दाबी गरिएको छ । एडीबीसँगको ६ दशक लामो साझेदारीमा नयाँ अध्यायको सुरुवात भएको अर्थमन्त्री पौडेलले बताए । १६औं योजनासँग तादात्म्य कायम गर्दै यसले समावेशी आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र खासगरी युवाका लागि गुणस्तरीय रोजगारी सिर्जनामा सहयोग गर्ने उनले सुनाए ।

    राष्ट्रिय साझेदारी रणनीतिले नेपालको विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने एडीबीको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्नुका साथै समावेशी, उत्थानशील हरित र रोजगारी–सघन आर्थिक वृद्धिको बृहत् एजेन्डा तय गरेको कोस्वाले जनाए । ‘हामी अर्थ मन्त्रालयको नेतृत्व र विश्व बैंक समूहसँगको घनीभूत सहकार्यको प्रशंसा गर्छौं,’ उनले भने, ‘नीतिगत सुधार, संस्थागत सुदृढीकरण तथा पूर्वाधार विकास आबद्ध गरिएका लगानी परियोजना नीतिगत आधारमा प्रदान गरिने ऋण तथा क्षेत्रगत विकास कार्यक्रमको संयोजनमार्फत राष्ट्रिय साझेदारी रणनीतिको प्रभावकारी कार्यान्वयन गर्न सबै सरोकारवालासँग काम गर्न एडीबी तयार छ ।’

    रणनीतिले डिजिटल रूपान्तरण, सुशासन र संघीयताका लागि क्षमता विकासका साथै महिला एवं वञ्चितीकरणमा परेका साथै जोखिममा रहेका समूहहरूको सशक्तीकरणजस्ता अन्तरविषयगत प्राथमिकताहरू समावेश गरेको छ, जसले समावेशी र समतामूलक विकास परिणाम सुनिश्चित गर्ने एडीबीले जनाएको छ 
    एडीबीका प्रमुख अर्थशास्त्री इयान ह्यानसन र कार्यक्रम अधिकृत सृजना राजभण्डारीले राष्ट्रिय साझेदारी रणनीतिका मुख्य रणनीतिक प्राथमिकता र प्रमुख परियोजनाहरू प्रस्तुत गरेका थिए ।

  • शेयर कारोबारी अग्रवालसहित तीन जना पक्राउ

    शेयर कारोबारी अग्रवालसहित तीन जना पक्राउ

    ६ साउन, काठमाडौं । प्रहरीले मोरङ विराटनगर महानगरपालिका–९ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१४ बस्ने ४२ वर्षीय दीपेन्द्र अग्रवालसहित तीन जना शेयर कारोबारीलाई पक्राउ गरेको छ ।

    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बस्ने ६० वर्षीय दिनेशप्रसाद साहबाट निज दीपेन्द्र अग्रवालसमेतले शेयर दिलाई दिने भन्दै खातामा रु छ करोड ४५ लाख रकम हाल्न लगाई सो रकम फिर्ता नगरेको र शेयर पनि नदिलाएकाले ठगी तथा आपराधिक विश्वासघात गरेको जाहेरीका आधारमा आज पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    उनका अनुसार ठगी तथा आपराधिक विश्वासघात मुद्दा शीर्षकमा गत असार ३० गते मुद्दा दर्ता भई काठमाडौँ जिल्ला अदालतबाट यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।

  • भदौदेखि देवघाटमा विद्युतीय शवदाह सञ्चालनमा आउने

    भदौदेखि देवघाटमा विद्युतीय शवदाह सञ्चालनमा आउने

    ६ साउन, चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह भवनको निर्माण कार्य सम्पन्न भएको छ । विद्युत् र मेसिन जडानसँगै आगामी भदौदेखि शवदाह पूर्ण रूपमा सञ्चालनमा आउने भएको हो । विक्रम संवत् २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै अहिले सम्पन्न भएको हो । मिलिनियम सिद्धगढी जेभीले ठेक्का पाएको शवदाह भवन सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरले निर्माण गरेको हो । कार्यालयका प्रमुख झपटबहादुर थापाका अनुसार साउनभित्रमा शवदाह भवनको बाँकी काम सम्पन्न गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी छ ।

    भवनको निर्माणसम्पन्न भए पनि यसमा विद्युत् जोड्ने, शवदाहको मेसिन जडान, प्रविधिलाई तालिमलगायतको काम बाँकी रहेको उनले जानकारी दिए । यी सबै काम सम्पन्न गरेर शव पोल्ने जनशक्तिलाई तालिम दिएपछि दायित्व पूरा हुने उनको भनाइ छ । आन्तरिक तयारीको सबै काम सकिएपछि भवन हस्तान्तरण गरिने उनले बताए ।
    भवनको काम हेर्दै आउनुभएका कार्यालयका इन्जिनियर द्रोण कटुवालका अनुसार विद्युत् जडानका लागि मिटर आइसकेको छ । केही दिनमा मिटर जडान हुनेछ । यससँगै महानगरपालिकाले पठाउने जनशक्तिलाई तालिम दिइनेछ । भवनमा दुईवटा शवदाह गर्ने मेसिन जडान गरिएको छ । ती मेसिनले अधिकतम ९० मिनेटमा शवलाई जलाउनेछन् । शव राख्नुपर्दा चारवटा शव राख्न मिल्नेगरी ‘फ्रिज’ जडान गरिएको छ ।

    बर्सातमा पानीको सतह माथि आएकाले भुइँतला खाली गरी माथिल्लो तलामा उपकरण जडान गरिएको छ । क्रियापुत्री बस्नका लागि ठाउँ छुट्याइएको छैन । आवश्यकताअनुसार क्रियापुत्रीका लागि भुइँतलामा व्यवस्थापन गर्न सकिने उनले बताए । भवनमा शौचालय, स्नानघरलगायतका सुविधासमेत रहेको छ ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले विद्युतीय शवदाहले धेरै सहज हुने बताए ।उनका अनुसार सरदर हिसाब गर्दा दैनिक सात दशमलव पाँच शव देवघाट आउने गर्दछन् । ती शव अन्त्येष्टि गर्न अहिले एक महिनामा रु दुई लाख ५० हजारको दाउरा खरिद गर्नुपरेको छ । विद्युतीय शवदाह सञ्चालनसँगै दाउराको खपत घट्ने उनको भनाइ छ ।

    बर्सातमा शव जलाउन कठिन हुने, दाउराको समस्या, समयको बचत सबै विषयले शवदाह धेरै प्रभावकारी हुने उनले बताए । सहरी विकास कार्यालयले रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरेको हो । शवदाह भवन ६०० वर्गमिटर क्षेत्रफलमा बनेको छ ।

  • करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

    करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

    ६ साउन, किमाथाङ्का । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । चिचिलागाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र करेन्ट लागेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । अरुण आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

  • लुम्बिनी प्रदेशमा मात्र एक वर्षमा सवारी दुर्घटनामा ५०६ जनाको ज्यान गयो

    लुम्बिनी प्रदेशमा मात्र एक वर्षमा सवारी दुर्घटनामा ५०६ जनाको ज्यान गयो

    ६ साउन, लुम्बिनी । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ५०६ जनाको ज्यान गएको छ । जुन अघिल्लो आवको तुलनामा बढी हो । आव २०८०–८१ मा प्रदेशमा सवारी दुर्घटनामा ४९६ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
    गत आर्थिक वर्ष २०८१–८२ भएका तीन हजार ४७९ सवारी दुर्घटनामा पाँच हजार ६९१ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार ट्राफिक प्रहरीले सवारीसाधनको जाँच र कारबाहीलाई तीव्र बनाइ रहँदा सवारी दुर्घटनाका घटनामा भने वृद्धि भएको जनाएको छ ।

    अघिल्लो आव २०८०–८१ मा भने एक हजार १२० सवारी दुर्घटनामा एक हजार ६९३ जना घाइते भएका थिए । अघिल्ला वर्षहरूमा मध्यम र गम्भीर दुर्घटनाका घटनालाई मात्र तथ्याङ्कमा समावेश गर्ने गरिएकोमा गत आर्थिक वर्षमा सामान्य दुर्घटनाको तथ्याङ्कसमेत समावेश गरिएकोले सङ्ख्या बढी देखिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

    लुम्बिनी प्रदेशमा एक वर्षमा सवारी नियम उल्लङ्घन गर्ने विभिन्न सवारी चालकबाट रु १७ करोड ८३ लाख ८३ हजार ४११ जरिवाना सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमार्फत आव २०८१\८२ मा प्रदेशका १२ वटै जिल्लामा गरिएको जाँचको क्रममा सवारी नियम उल्लङ्घन गर्ने एक लाख ७० हजार ८० वटा सवारीसाधनबाट उक्त जरिवाना सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    सवारी नियम उल्लघनवापत सङ्कलित जरिवाना रकम अघिल्लो आर्थिक वर्ष २०८०–८१ को भन्दा रु ४१ लाख ४५ हजार ९१६ बढी हो । अघिल्लो आर्थिक वर्षमा सवारी नियम उल्लङ्घन गर्नेबाट रु १७ करोड ४२ लाख ३७ हजार ५०३ जरिवाना सङ्कलन भएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०–८१ को तुलनामा आव २०८१र८२ मा जरिवाना रकम बढी सङ्कलन भए पनि सवारी नियम उल्लङ्घन गरी कारबाहीमा पर्ने सवारीसाधनको सङ्ख्यामा अघिल्लो आर्थिक वर्षमा भन्दा कमी देखिएको छ । ६३ हजार १६ ले कमी हो ।

    आर्थिक वर्ष २०८०–८१ मा दुई लाख ३३ हजार ९६ वटा सवारीसाधन कारबाहीमा परेका थिए भने आर्थिक वर्ष २०८१–८२ कारबाहीमा पर्ने सवारीको सङ्ख्या एक लाख ७० हजार ८० रहेको प्रहरी उपरीक्षक शर्माले बताए । प्रहरी उपरीक्षक शर्माका अनुसार सवारीसाधनको कारबाही सङ्ख्यामा कमी देखिए पनि जरिवाना दस्तुर वृद्धि भएको छ । यसबाट सबैभन्दा बढी रूपन्देहीमा ५० हजार ४४१ सवारीसाधन कारबाहीमा पर्दा रु छ करोड आठ लाख ४९ हजार १२ जरिवाना सङ्कलन भएको छ ।

    रूपन्देहीमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमार्फत रु एक करोड १८ लाख ८७ हजार तीन र जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीमार्फत रु चार करोड ८९ लाख ६२ हजार नौ जरिवाना सङ्कलन भएको हो । यस्तै बाँकेमा ३७ हजार ४३५ वटा सवारीसाधनबाट रु तीन करोड २७ हजार ५०३, दाङमा २१ हजार ५९० सवारीसाधनबाट रु दुई करोड ३१ लाख ६० हजार, कपिलवस्तुमा १३ हजार ५६१ वटा सवारीसाधनबाट रु एक करोड ४५ लाख ५० हजार र पश्चिम नवलपरासीमा आठ हजार ३०० सवारीसाधनबाट रु एक करोड छ लाख नौ हजार जरिवाना सङ्कलन भएको छ ।

  • अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेट, चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

    अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेट, चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

    ५ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

    द्विपक्षीय भेटवार्तासँगै विभिन्न चार वटा परियोजनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माणसम्बन्धी परियोजना र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएको छ ।

    जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरे । त्यस्तै दुई देशबीच मानव संशाधन विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसबाट एक हजार दुई सयभन्दा बढी सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरूले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ ।

    सोअवसरमा रसुवागढी–केरुङ अन्तरदेशीय विद्युत् प्रशारणलाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी माइन्युटमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरे । त्यस्तै रसुवा जिल्लामा केही समयअघि बाढीले पु¥याएको भौतिक संरचनाको पुनःनिर्माणमा चीनले सहयोग गर्ने भएको छ । अर्थमन्त्रीसँगको भेटवार्ताका क्रममा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरूको पुनःर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए ।


    अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनःनिर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरूको पुनःनिर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद दिए । “आयात–निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महत्वपूर्ण छ । त्यसैले पुनःनिर्माणलाई छिटो अघि बढाउँछौँ”, अर्थमन्त्री पौडेलको भनाइ थियो ।

  • नेप्से परिसूचक २१ अङ्कले बढ्यो

    नेप्से परिसूचक २१ अङ्कले बढ्यो

    ५ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ७६ अङ्क अर्थात शून्य दशमलव ७५ प्रतिशतले बढेर दुई हजार आठ सय ९२ दशमलव ७२ बिन्दुमा कामय भएको छ । आज विभिन्न ३११ कम्पनीका तीन करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर एक लाख ३८ हजार ८२८ पटक खरिदबिक्री हुँदा रू १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार दुई सय ३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ४२, लघुवित्त एक दशमलव ९३, निर्जीवन बीमा एक दशमलव २७ र अन्य समूह एक दशमलव ८४ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ४८, होटल तथा पर्यटन शून्य दशमलव ३०, जलविद्युत् शून्य दशमलव ४६, लगानी शून्य दशमलव ३७, जीवन बीमा शून्य दशमलव ०२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३७, म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ ।

    थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ७५ करोड ६६ लाख ४६ हजार ३०७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै लक्ष्मी भ्यालु फन्ड–२ को १७ लाख ४६ हजार सात सय ११ कित्ता शेयर किनबेच भएको छ ।

  • कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

    कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

    ५ साउन, काँक्रेविहार । तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन गरेको छ । तथ्याङ्कअनुसार १० जिल्लामा सङ्कलित तथ्याङ्कअनुसार ५० वटा तुइन रहेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले जानकारी दिए । तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजना अनुरूप विवरण माग गरिएको थियो । प्रदेशका १० मध्ये सात वटा जिल्लामा रहेका तुइनको विवरण मन्त्रालयलाई प्राप्त भएको हो । पूर्वाधार विकास कार्यालयबाट माग गरिएको विवरण अनुसार ५० वटा तुइन भएको विवरण प्राप्त भएको मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिए ।


    सङ्कलन गरिएको विवरणअनुसार सबैभन्दा धेरै तुइन हुम्लामा रहेको छ । हुम्लामा १५ वटा तुइन रहेको विवरणमा उल्लेख छ । हुम्लामा कर्णाली नदीमाथि छ वटा तुइन रहेको जनाइएको छ । यसैगरी कालीकोटमा १२, जाजरकोटमा १२, दैलेखमा दुई, मुगुमा दुई, डोल्पामा तीन र सुर्खेतमा आठ वटा तुइन रहेको विवरण प्राप्त भएको छ । दैलेख, जुम्ला र रुकुम पश्चिमबाट विवरण प्राप्त भएको नभएको जनाइएको छ ।

    प्रदेश सरकारले चालु आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने नीति लिएको छ । नीति तथा कार्यक्रममा यो योजना समेटेर बजेटसमेत विनियोजन गरिएको छ । तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । चालु आर्थिक वर्ष २०८२–८३ मा उक्त शीर्षकमा रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले बताए ।

  • खानेपानीमन्त्री यादवले रातमा गरे छड्के अनुगमन तथा निरीक्षण

    खानेपानीमन्त्री यादवले रातमा गरे छड्के अनुगमन तथा निरीक्षण

    ५ साउन, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आज राति अनुगमनमा निस्किएका छन् । आज राति मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुँडालदेवी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्णशम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको स्थलहरूमा छड्के अनुगमन गरेका हुन् । अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले पाइपलाइन बिच्छाइएको क्षेत्रमा तत्काल पाइप परीक्षण सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिए ।


    बालुवाटारस्थित प्रधानमन्त्री निवास तथा आसपासका क्षेत्रहरूमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत बिच्छाइएको प्राइमरी पाइपलाइन (३१५ मिमिं, २८० मिमि (एचडिइपी) को निर्माण कार्य तेर्सो दिशात्मक ड्रिलिङ्ग (एचडिडि) प्रविधिबाट सफलतापूर्वक सम्पन्न गरिएको र चाँडै मेलम्चीको खानेपानी वितरण गरिने तयारी रहेको अनुगमनमा आफूले जानकारी पाएको मन्त्री यादवले बताए ।
    उनले भने, “मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत बालुवाटारलगायत क्षेत्रमा पाइपलाइन बिच्छाउने काम सफल भएको पाइयो । ती क्षेत्रमा अब चाँडै मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएको छु ।”

    पाइपलाइनको दबाब परीक्षण (प्रेसर टेष्ट)को तयारी तथा सम्पन्न गर्ने चरणमा रहेको र प्रेसर टेष्ट सफलतापूर्वक सम्पन्न भएपछि ‘डिएमए एच–२’, ‘आई– ३’, ‘आई–४’ र ‘आई–५’ अन्तर्गतका क्षेत्रहरू बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुँडालदेवी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्णशम्शेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरु गरिने आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए ।


    उनका अनुसार पानी वितरण पश्चात उक्त क्षेत्रका करिब तीन हजार पाँच सय घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । काठमाडौँ उपत्यकाका बासिन्दालाई शुद्ध, स्वच्छ तथा नियमित खानेपानी आपूर्ति गर्ने दीर्घकालीन लक्ष्य अनुरूप उक्त पाइपलाइन बिच्छाउने कार्य गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का आयोजना प्रबन्धक अमित रञ्जितले जानकारी दिए ।

  • रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बिमा दाबी

    रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बिमा दाबी

    ५ साउन, काठमाडौं । रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी रु २८ करोड ९२ लाख ६० हजार बराबर रहेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न सात बिमा कम्पनीमा सो बराबरको दाबी परेको हो । शिखर इन्स्योरेन्स कम्पनीमा रु १६ करोड १२ लाख १० हजार बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा रु पाँच करोड २० लाख बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु तीन करोड ४१ लाख ५० हजार बराबरको सात वटा दाबी परेको छ ।

    नेपाल इन्स्योरेन्स कम्पनीमा रु एक करोड २८ लाख ५० हजार बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा रु ७७ लाख बराबरको छ वटा, आइजीआई प्रूडेन्सियलमा रु ७५ लाख ५० हजार बराबरको नौ वटा बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । त्यसैगरी युनाइटेड अजोडमा रु ६८ लाख बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा रु ४७ लाख बराबरको छ वटा, सिद्धार्थ प्रिमियरमा रु ३१ लाख बराबरको सात वटा बिमा दाबी परेको छ । प्राधिकरणका अनुसार कूल ६३ वटा बिमा दाबी परेको छ ।

    रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो । रसुवागढी जलविद्युत् आयोजनालगायतका अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको थियो ।

  • राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी, यस्ता छन् नयाँ प्रावधान

    राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी, यस्ता छन् नयाँ प्रावधान

    ५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको छ ।
    लाभांश वितरणलाई पारदर्शी एवं व्यवस्थित बनाउने अभिप्रायका साथ उक्त मार्गदर्शन जारी गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितले जानकारी दिए । आर्जन गरेको मुनाफाको बाँडफाड तथा लाभांश वितरणलाई थप पारदर्शी र व्यवस्थित गर्ने उद्देश्यका साथ केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको हो । उक्त मार्गदर्शन कार्यान्वयनबाट संस्थाहरुले आर्जन गरेको मुनाफाको वितरण तथा पुनः लगानी थप प्रभावकारी भई सम्बन्धित संस्थाको जोखिम बहन गर्न सक्ने क्षमता र कार्यक्षमता वृद्धि हुँदै जाने र सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

    केन्द्रीय बैंकको मार्गदर्शनलाई आधार मानेर लाभांश वितरणसम्बन्धी नीति तर्जुमा गरी लागू गर्नुपर्नेछ । यस्तो नीति सञ्चालक समितिबाट पारित भएको हुनुपर्नेछ । नियामकीय पूँजी कायम गर्ने सम्बन्धमा संस्थाको योजना र प्राथमिकतासम्बन्धी विवरण, नगद लाभांश र शेयर लाभांशसम्बन्धी नीति, अनुमतिप्राप्त संस्थाले जोखिम बहन कोष र जगेडा कोषको व्यवस्था गर्नुपर्नेछ । त्यस्ता कोषमा मुनाफाको निश्चित प्रतिशत रकम छुट्याउनुपर्ने र अप्रत्यासित रुपमा आइपर्ने घटनाबाट हुने क्षतिको व्यवस्थापनका लागि उक्त कोषको रकम प्रयोग गर्न सकिनेछ । कोषबाट भएको खर्चको विवरण केन्द्रीय बैंकलाई जानकारी गराउनुपर्नेछ ।

    मार्गदर्शन अनुसार, भुक्तानी प्रणाली सञ्चालकले पूर्वाधार विकास कोषको व्यवस्था गरी मुनाफाको निश्चित प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्नेछ । यस्तो कोषको रकम संस्थाको पूर्वाधार विस्तारमा खर्च गर्न सकिनेछ । लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको, संस्था मुनाफामा भएको बर्षको वित्तीय विवरणका आाधारमा मात्र लाभांश घोषणा गर्नुपर्नेछ । नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको, कर्जासँग स्म्बन्धित शर्तहरुले लाभांश वितरणमा बन्देज नगरेको अवस्था हुनुपर्ने जनाइएको छ ।

  • नारायणगढ–मुग्लिन सडकमा ढुङ्गा खसेर लाग्दा तीन जना भारतीय नागरिक घाइते

    नारायणगढ–मुग्लिन सडकमा ढुङ्गा खसेर लाग्दा तीन जना भारतीय नागरिक घाइते

    ४ साउन, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोला नजिक ढुङ्गा खसेर लाग्दा तीन जना भारतीय नागरिक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार भारतको आग्रह बस्ने ४२ वर्षीय रतेन्द्र यादव, सोही स्थानका ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय हितेन्द्र यादव घाइते भएका जानकारी दिए ।

    उनका अनुसार घाइते तीनै जनाको अवस्था खतरामुक्त छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ८० जिपी २९२८ नम्बरको कारमाथि आज दिउँसो ढुङ्गा खसेर लागेको थियो । घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी जनाएको छ ।

  • पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार

    पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार

    ४ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिँदा कारोबार रकम भने करिब साढे २१ अर्ब हाराहारी पुगेको छ ।
    आज नेप्से परिसूचक शून्य दशमलव ३२ अङ्कले बढेर दुई हजार ८७० दशमलव ९५ को बिन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका पाँच करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर एक लाख ७८ हजार १७६ पटक खरिदबिक्री हुँदा रू २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आज बैंकिङ समूह एक दशमलव ३८, विकास बैंक शून्य दशमलव ०८, वित्त दुई दशमलव २६, जलविद्युत् शून्य दशमलव ४२, लगानी शून्य दशमलव १६, उत्पादन तथा प्रशोधन एक दशमलव १२, लघुवित्त शून्य दशमलव ०२ र व्यापार समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ । बाँकी सबै समूहको उपसूचक बढेको छ । होटल तथा पर्यटन समूह एक दशमलव २४, जीवन बीमा एक दशमलव ४०, म्युचुअल फन्ड शून्य दशमलव २५, निर्जीवन बीमा एक दशमलव ३७ र अन्य समूह तीन दशमलव ३६ प्रतिशतले बढेको छ ।

    उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र सान्भी इनर्जी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै समृद्धी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ८८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको रू ९८ करोड ५५ लाख ५२ हजार ९८९ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिटिजन्स सुपर–३० म्युचुअल फन्डको ३१ लाख सात हजार २०० कित्ता शेयर खरिदबिक्री भएको छ ।

  • लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

    लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

    ४ साउन, झापा । खुला सीमाका कारण झापामा लागुऔषधको कारोबार बढेपछि प्रहरीले कारोबारी र प्रयोगकर्ताविरुद्ध कडाइका साथ अभियान सञ्चालन गरिरहेको छ । लागुऔषधको ओसारपसार, बिक्रीवितरण र भण्डारणविरुद्ध आक्रामक कारबाहीमा उत्रिएको प्रहरीले पछिल्लो समय विर्तामोड–५ मा एक लाख क्याप्सुलसहित ठूलोमात्रामा लागुऔषध भण्डारण गरिएको गोदाम फेला पारेको छ । त्यसलाई प्रहरीले अभियानको उपलब्धिका रुपमा हेरिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८१–८२ मा जिल्लामा ५५९ जनालाई लागुऔषधको कारोबार गरेको अभियोगमा पक्राउ गरिएको छ भने ३४६ मुद्दा दर्ता भएका छन् । बर्सेनि यस्तो सङ्ख्या बढ्दै गएको छ । प्रहरीले गत आव २०८०–८१ मा ४६२ कारोबारी पक्राउ गरेको थियो । पछिल्लो आवमा यो सङ्ख्या १६ दशमलव पाँच प्रतिशतले बढेको छ । ‘की जेलमा की सुधार केन्द्रमा’ भन्ने प्रहरी अभियानको उद्देश्य छ । विगत एक वर्षमा जिल्लाको सीमावर्ती नाका, राजमार्ग र भित्री सडकमा जाँच गर्दा पक्राउ परेका १४० प्रयोगकर्तालाई अभिभावकको सहयोगमा सुधार गृहमा पु¥याइएको प्रहरीले जनाएको छ ।

    प्रहरीले लागुऔषधले व्यक्ति, परिवार, समाज र मुलुकलाई पुर्‍ याउने हानिबारेमा जनचेतनामूलक कार्यक्रममार्फत विद्यालय र समुदायमा जानकारी गराउँदै आएको छ । यसका लागि प्रहरी र समुदायबीच साझेदारीमार्फत कार्यक्रम सञ्चालन भइरहेका छन् । समुदायसँग मिलेर दुव्र्यसनमुक्त समाज निर्माण गर्ने कोशी प्रदेश प्रहरी कार्यालयकै अभियान रहेको छ । त्यसअन्तर्गत ‘दुव्र्यसनविरुद्ध आमाहरु’ र ‘फाइट एगेस्न्ट नारकोटिक’ नामक अभियान प्रदेशमा जारी रहेको प्रहरीका सूचना अधिकारी खड्काको भनाइ छ ।

    उनका अनुसार आव २०८१–८२ मा झापामा एक हजार ६५१ किलो गाँजा र दुई किलो ८८२ ग्राम ब्राउनसुगर बरामद भएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये लागुऔषधको समस्याबाट सबैभन्दा बढी प्रभावित जिल्लाको रुपमा झापा चिनिएको छ । कोशी प्रदेशमा आव २०८१–८२ मा लागुऔषधविरुद्धको अभियानमा दुई हजार ३७ व्यक्तिमाथि कानुनी कारबाही भएको छ । यसैगरी २२ हजार किलो गाँजा र चार किलो ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

    जिल्लाका मेचीनगर, विर्तामोड, भद्रपुर, दमक, बुद्धशान्ति र कचनकबलमा लागुऔषधको कारोबार अधिक हुने गरेको छ । पूर्वी नाका भएकाले मेचीनगरको काँकडभिट्टामा प्रहरीले दिनहुँ लागुऔषधसहित कारोबारी र प्रयोगकर्ता पक्राउ गर्दै आएको छ । प्रहरी सीमावर्ती क्षेत्रको जाँचमा सक्रिय हुन थालेपछि कारोबारीहरुले विर्तामोडमा गोदाम नै खडा गरेर धन्धा चलाउन थालेको पाइएको छ ।

    विर्तामोड नगरपालिका– ५ स्थित मनकुमार सङ्ग्रौलाको दुईतले घरको भुइँतलामा दुई कोठा भाडामा लिएर लागुऔषध र प्रतिबन्धित औषधि ठूलोमात्रामा भण्डारण गरेको पाइएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताए । औषधि पसलले नै लागुऔषधको भण्डारणका लागि गोदाम राखेको प्रहरीले फेला पारेको हो । स्थानीयले लागुऔषध र प्रतिबन्धित औषधि भण्डारण गरिएको कोठा विनोद घिमिरे र भानुभक्त खरेलको रहेको बताएका छन् । खरेलले विर्तामोडमा ‘सनलाइट फर्मा’नामक औषधि पसल सञ्चालन गर्दै आएका छन् ।

    अभियुक्तहरुले विर्तामोडको गोदाममा भण्डारण गरिएका ती सामान पहाडी जिल्ला इलाम, पाँचथर, ताप्जेजुङ र तेह्रथुमसम्म आपूर्ति गर्दै आएको अनुमान छ । भारतसँग १४४ किलोमिटर लामो खुला सीमाना भएका झापामा लागुऔषधको रोकथाम र नियन्त्रण चुनौतीपूर्ण बनेको हो । खुला सीमा र अनेक बहानामा भारतबाट लागुऔषध भित्र्याउने र कारोबार गर्ने गतिविधि बढ्दै गएको अवस्थाले नागरिक समाजसमेत चिन्तित पाइएको छ ।

  • वन्यजन्तु जोगाउन संरक्षण पाठशाला सञ्चालन

    वन्यजन्तु जोगाउन संरक्षण पाठशाला सञ्चालन

    ४ साउन, भरतपुर । चितवनमा वन्यजन्तु, बासस्थान संरक्षण र प्रदूषण नियन्त्रणसम्बन्धी सचेतना कक्षा सञ्चालन गरिएको छ । शनिबार भरतपुर महानगरपालिका–२२ को पटलहरामा संरक्षण पाठशाला कार्यक्रम गरिएको हो । सो कार्यक्रममा विद्यार्थी तहका बालबालिकालाई सहभागी गराइएको छ । पाठशालामा वन्यजन्तुको जानकारी, बासस्थान, आहारा, जीवन र आनीबानीबारेमा बालबालिकालाई प्रशिक्षण दिइएको छ ।

    बढ्दो प्रदूषणले गर्दा वन्यजन्तु, जलचर, नदीमाथि भइरहेको असरबारे सिकाइएको संरक्षणकर्मी अपिल घिमिरेले जानकारी दिए । सानो उमेर समूहदेखि संरक्षण सिकाइले जैविक विविधताको रक्षा, मानव वन्यजन्तुको सहअस्थित्वबारे बालबालिकालाई सकारात्मक र जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । नदी, सिमसार, ताल, नदीमा आश्रित चराहरूको अवस्था र संरक्षणबारे पनि पाठशालामा सिकाइएको छ ।

    वन, नदी र जलाधार क्षेत्रमा प्लाष्टिकजन्य फोहरमैलाको कारणले सृजना गरेका नकारात्मक असरलाई न्यूनीकरण गर्न र जलवायु परिवर्तनबारे सूचित गर्दै आएको घिमिरेले बताए । उनले कार्यक्रमलाई निरन्तरता दिँदै मध्यवर्ती क्षेत्रका सबै बालबालिकालाई यो कार्यक्रममा सहभागी गराइने जानकारी दिए । सचेतना कक्षा विषय प्रशिक्षकसहित विज्ञहरूलाई समेत सहभागी गराइने उनको भनाइ छ ।

  • रङ्गीबिरङ्गी फूलले सजियो ढोरपाटन

    रङ्गीबिरङ्गी फूलले सजियो ढोरपाटन

    ४ साउन, गलकोट । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम र शीतल हावापानी बर्खायाममा ढोरपाटनको विशेषता हो यो । थरिथरिका फूलले रङ्गिएको ढोरपाटन बर्खायाम अन्य यामभन्दा झनै रमाइलो छ । बर्खायाम अन्यत्र पर्यटकीय गतिविधि शून्यप्रायः जस्तै हुँदा यसपटक भने बागलुङको ढोरपाटन पर्यटकले ‘गुल्जार’ बनेको छ । आठ किलोमिटर वरपर फैलिएको ढोरपाटन उपत्यकामा फुलेका रङ्गीबिरङ्गी वनफूलका कारण ढोरपाटनको छुट्टै रौनकता थपिएको छ ।

    ढोरपाटनको फाँट र पाखा अनेक थरिका बुकी फुलेर रङ्गिएपछि रमणीय बनेको छ । प्रचारप्रसार र पर्यटकीय पूर्वाधारका कारण पछिल्लो समय ढोरपाटनमा बर्खामा समेत उत्तिकै पर्यटक आएको पाइएको छ । बर्खामा ढोरपाटन पुग्ने मुख्य कारण भनेको सयौँ थरिका रङ्गीबिरङ्गी फूल रहेको छ । स्थानीय ढोरपाटन सामुदायिक घरबासका सञ्चालक मिलन घर्तीका अनुसार असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको आगमन शून्य भए पनि ढोरपाटन ‘गुल्जार’ बनिरहेको बताए ।

    “बर्खामा ढोरपाटन आउने सडक असहज छ तर यहाँको मनोरम दृश्यले पर्यटकको सडकयात्रा बिर्साउने गर्दछ, यस्तो बर्खामा समेत आफ्नो घरबासमा पाहुनाको कमी छैन, पछिल्लो दुई हप्तायता मौसममा सुधार भएसँगै बुकी पुग्ने पदयात्रीले घरबास भरिएर अन्य होटलमा पठाउन बाध्य भएको छु”, घर्तीले भने, “यहाँको मुख्य विशेषता भनेको रङ्गीबिरङ्गी फूल हो, पदयात्रा गर्न सक्नेहरू चार हजारभन्दा माथिको उचाइ बुकीपाटनमा पुग्छन् भने पदयात्रा गर्न नसक्ने ढोरपाटन उपत्यकाका फूलसँगै घोडा सफारीमा रमाउने गरेका छन् ।”

    पर्यटकका कारण यहाँका घरबास, होटल तथा घोडा व्यवसायीसमेत उत्साहित छन् । पच्चीस जना क्षमता रहेको घरबास यो बर्खामा समेत भरिएर पाहुना अन्य होटल तथा घरबासमा पठाइरहेको बताउँदै यो सिजनमा पोखरा, बुटवलदेखि काठमाडौँबाट समेत पर्यटक आउने गरेको पाइएको छ ।

    कञ्चन उत्तरगङ्गा नदी, सुन्दर र समथर भूबनोट, अनेकथरि बुकीफूल र त्यसमाथि घोडा चरिरहेको दृश्यले ढोरपाटन पुग्ने जोकोही लोभिने गरेका काठमाडौँबाट मोटरसाइकलमा घुम्न आएका अनिल राजवंशीले बताए । यहाँ फल्ने रातो, सेतो, पहेँलो, गुलाफीजस्ता अनेकौँ थरिका फूलले पर्यटकलाई ढोरपाटन तानिरहेको छ ।

    राजवंशीले चार हजार मिटरभन्दा माथिको बुकिपाटनसमेत एक दिनको पदयात्रामार्फत पुगेको बताउँदै ढोरपाटनको सौन्दर्यता वयान गरेर नसक्ने बताउँछन् । बुर्तिबाङबाट ढोरपाटनसम्मको झण्डै ३० किमी सडकलाई स्तरीय बनाउन सके ढोरपाटनमा पर्यटकको कमी नहुने उनको भनाइ छ । राजवंशीले कष्टकरयात्रालाई ढोरपाटनको दृश्यले बिर्साउने गरेको बताए ।


    “टिकटकमा अहिले निकै सुन्दर दृश्य देखिएका थिए, ढोरपाटन उपत्यका, पदयात्रामार्फत बुटीपाटन गएको, भेडाका बथानसँगै सयौँ थरि फूलहरूको दृश्यले लोभ्यायो एक हप्ताको छुट्टी लिएर श्रीमतीसँगै काडमाडौँबाट ढोरपाटन आएँ”, राजवंशीले भने, “यो बर्खामा समेत पदयात्रीको कमी रहेन बुकी पाटनमा एक दिनमै सयौँ पर्यटक त्यहाँ आफूसँग गएको, पदयात्राका क्रममा बाटोमा साँघु र गोठ निर्माणले यात्रालाई केही सहज बनाएको पाएँ ।”

    ढोरपाटनबाट बुकी र जलजला क्षेत्र पुगेर हिमालका सुन्दर दृश्य हेर्न पर्यटक लालयित भएर ढोरपाटन पुग्ने गरेको पाइएको छ । पाटनैभरि फुल्ने वनफूल, फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी चर्दै गरेको दृश्यले पर्यटकलाई तान्ने गरेको छ । लेकमा फुल्ने फूललाई समग्रमा बुकीका नामले चिन्ने गरेको स्थानीयको भनाइ छ । अहिले सडक यातायात, होटल तथा घरबास सुविधा, सञ्चारमाध्यमले यहाँ आउन पनि निकै सजिलो भएको छ ।

  • बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द

    बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द

    ४ साउन, मध्यविन्दु । बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का प्रमुख जनक बन्जाराका अनुसार पछिल्लो एक वर्षमा उक्त सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको छ । यीमध्ये अधिकांश घटना भारी वर्षासँगै आएको पहिरो वा खसेको माटोले सडक अवरुद्ध हुँदा भएका थिए । सडक मर्मतका क्रममा ठूला उपकरण जाम हुँदा र ट्रक बिग्रिएर रोकिँदा पनि घण्टौँसम्म बाटो थुनिएको थियो ।

    दाउन्ने क्षेत्रको विश्वकर्मा मन्दिर, घ्युखोला, त्रियासी मोडलगायत क्षेत्रमा बढीजसो सडक अवरुद्ध भएको पाइएको छ । बुटवल–नारायणगढ सडक विस्तारका लागि दाउन्ने पहाडमा भित्तो कटानको काम सुरु गरेसँगै सडक अवरुद्ध हुने क्रम बढेको हो । जम्मा १४ किलोमिटर दूरी रहेको दाउन्ने क्षेत्रमा गत आर्थिक वर्ष विगतको भन्दा धेरैपटक सडक अवरुद्ध भएको प्रमुख बन्जाराले बताए । “वर्षाको समयमा लगातार पहिरो, हिलो र सडक कटानका कारण तथा घाम लागेका दिनमा खाल्डाखुल्डी र धुलोले दाउन्ने क्षेत्र सधैँजसो समस्याग्रस्त बनिरहेको छ”, उनले भने ।


    गत पुस २६ गते विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासको विनयी खोला पुल भाँचिएपछि यस क्षेत्रको यातायात थप अस्तव्यस्त बनेको थियो । सो अवधिमा निर्माण गरिएको अस्थायी डाइभर्सन पटकपटक खोलाले बगाउँदा यातायात अवरुद्ध हुने गरेको थियो । गत असार १९ गतेदेखि विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएपछि सो समस्या टरेको छ ।

    दाउन्ने सडकखण्ड विस्तारका लागि गत चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ः०० देखि ३ः०० बजेसम्म र वैशाख १ देखि ३१ गतेसम्म रातिको ११ः०० देखि बिहान ५ः०० बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएको थियो । अहिले दाउन्ने खण्डमा पर्खाल लगाउने, कल्भर्ट निर्माण र सडक ढलानको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताए ।


    नारायणगढ–बुटवल सडकखण्डको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित ६ र जोखिम बढी रहेको क्षेत्र मानिने दाइउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । रु १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । यही साउन मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने छ ।

  • हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन

    हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन

    ३ साउन, सिन्धुपाल्चोक । यहाँको मेलम्ची नगरपालिकाले गत आर्थिक वर्षमा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । हल गोरु पाल्ने दुई सय ४० किसानलाई रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए । पछिल्लो समय प्रविधियुक्त ट्र्याक्टर भित्रिने क्रम बढेपछि हल गोरु पाल्ने प्रचलन हट्दै गएको भन्दै प्रोत्साहन गरिएको उनले बताए ।

    “खेत जोत्ने नयाँ नयाँ प्रविधि आइरहेका छन्, जसले गोरु पाल्ने चलन नै लोप हुने अवस्था आउनसक्छ । त्यसैकारण नगरपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनको नीति लिएका हौँ”, नगरप्रमुख तामाङले भने । नगरपालिका कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यले अनुदान रकमका लागि पशु बिमा गर्नका लागि आग्रह गरिएको बताए ।

    यसरी बिमा भएका किसानलाई बैंक खातामार्फत र बिमा भएको तर बैंक खाता नभएका किसानलाई भरपाई गरेर रकम उपलब्ध गराइएको उनले जानकारी दिउ ।
    यस कार्यक्रमले किसानलाई प्रोत्साहन मात्र नभई प्राङ्गारिक मल उत्पादन गरी माटो सुधार र जैविक विविधता संरक्षणमा समेत सुधार ल्याउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।

  • तिब्बतमा ‘मेगा ड्याम’ निर्माण सुरु

    तिब्बतमा ‘मेगा ड्याम’ निर्माण सुरु

    ३ साउन, काठमाडौं । प्रधानमन्त्री ली कियाङको उपस्थितिमा चीनले तिब्बत र भारत भएर बग्ने एक नदीमा शनिबारदेखि ठूलो बाँध निर्माण सुरु गरेको छ ।
    तिब्बतमा यार्लुङ साङ्पो भनिने उक्त नदी भारतमा ब्रह्मपुत्रको नामले चिनिन्छ । चीनको कार्बन तटस्थता लक्ष्य र तिब्बत क्षेत्रमा आर्थिक लक्ष्यसँग जोड्ने यो परियोजनालाई बेइजिङले डिसेम्बरमा अनुमोदन गरेको थियो । दक्षिणपूर्वी तिब्बतको निङ्चीमा शिलान्यास समारोहपछि अधिकारीहरूले उक्त परियोजना अन्तर्गत उत्पादन हुने विद्युतबाट तिब्बतमा विद्युतको मागलाई सम्बोधन गरिनेछ ।

    उत्पादित बिजुली मुख्यतया खपतका लागि अन्य क्षेत्रमा प्रवाह गरिनेछ भने तिब्बतको स्थानीय विद्युत् आवश्यकतालाई पनि पूरा गरिनेछ । यो बाँध मध्य चीनको याङत्से नदीमा रहेको थ्री गर्जेज बाँधभन्दा ठूलो हुनेछ । बाँध निर्माणका कारण रोकिने पानीका कारण भारत र बङ्गलादेशका लाखौं मानिसमा गम्भीर प्रभाव पर्न सक्छ । यस परियोजनामा पाँच वटा जलविद्युत केन्द्रहरु निर्माण हुनेछन्, जसको कुल लगानी लगभग १६७.१ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ । गत जनवरीमा भारतले तिब्बतमा यस परियोजनाका बारेमा चीनसँग चासो व्यक्त गरेको र ‘भारतीय हितको रक्षाका लागि आवश्यक कदम चाल्ने’ बताएको थियो ।

    भारतको विदेश मन्त्रालयले भनेको छ, “चीनलाई यो सुनिश्चित गर्न आग्रह गरिएको छ कि ब्रह्मपुत्रको तल्लो तटीय राज्यहरूको हितमाथिको गतिविधिले क्षति नपु¥याओस् ।” गत डिसेम्बरमा बेइजिङको विदेश मन्त्रालयले यो परियोजनाले तल्लो तटीय क्षेत्रमा कुनै नकारात्मक प्रभाव नपार्ने बताएको थियो ।

    साथै, चीनले नदीको तल्लो भेगका देशहरूसँग पनि सम्पर्क कायम राख्ने बताएको थियो । पर्यावरणविद्हरूले पर्यावरणीय दृष्टिले संवेदनशील तिब्बती पठारमा यस्ता ठूला परियोजनाहरूको अपरिवर्तनीय प्रभावबारे पनि चेतावनी दिएका छन् । छिमेकी तथा प्रतिद्वन्द्वी एसियाली शक्ति भारत र चीनको हजारौं किलोमिटर लामो सीमा साझा रहेको छ ।

  • बाढी आउनसक्ने भन्दै सतर्कता अपनाउन जलविद्युत् आयोजनालाई इप्पानको आग्रह

    बाढी आउनसक्ने भन्दै सतर्कता अपनाउन जलविद्युत् आयोजनालाई इप्पानको आग्रह

    ३ साउन, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई आगामी ३ दिनमा उच्चसतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान भएकाले इप्पानले विज्ञप्ति जारी गर्दै जलविद्युत् आयोजनामा पूर्वतयारी स्वरुप सतर्कता अपनाउन आग्रह गरेको हो ।

    “इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौताअनुसार विभागले यस सम्बन्धमा इप्पानलाई पूर्वतयारीका लागि निरन्तर सूचना आदान प्रदान गर्दै आएको छ,”, इप्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विभागले यही साउन ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुने अनुमान गरेको छ ।”

    पूर्वी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काईलगायतका नदीमा बाढी आउन सक्ने सम्भावना अत्यधिक रहेको विभागको भनाइ छ । कोशी नदी सतर्कता तह नजिक वा पार गर्न सक्ने स्थितिमा पुग्न सक्नेछ । पूर्वीनेपालबाट सक्रिय हुने मौसमी प्रणाली पश्चिम नेपालतर्फ अघि बढ्नेछ । साउन ४ गते बेलुका बागमती नदीमा बाढी आई काठमाडौँ उपत्यका र तल्ला तटीय क्षेत्र प्रभावित हुने र साउन ५ गते दिउँसोसम्म महाकाली नदी र त्यसको तटीय क्षेत्रमा बाढी आउनसक्ने सम्भावना उच्च हुने विज्ञप्तिमा भनिएको छ ।

    “यसपटकको मौसमी प्रणालीले मध्य नेपालमा बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देहीलगायतका जिल्लामा असर पर्नेछ, जसले नारायणी जलाधारको मध्य पहाडदेखि तल्लो तटसम्मलाई प्रभावित गर्नेछ”, विज्ञप्तिमा भनिएको छ । साथै पश्चिममा राप्ती र बबई क्षेत्रमा पनि मध्यम स्तरको प्रभाव पर्ने सम्भावना भएको र महाकाली क्षेत्रमा साउन ४ गते बेलुकादेखि साउन ५ गते मध्यान्हसम्म बढी सतर्कता अपनाउनु आवश्यक रहेको जलतथा मौसम विज्ञान विभागलाई उदृत गर्दै इप्पानले जानकारी दिएको छ ।

    मौसमसम्बन्धी पूर्वसूचनाहरु लिएर इप्पानमा आवद्धसहित देशभरका सम्पूर्ण निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरुलाई विपद्बाट हुन सक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि पूर्वतयारीका कार्य अघि बढाउन इप्पानले आग्रह गरेको छ ।

    गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका आधा दर्जन भन्दा बढी जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति पु¥याएको घटनाका साथै विगतका वर्षहरुमा पनि बाढी पहिरोले जलविद्युत् आयोजना निर्माणमा संग्लग्न धेरै कर्मचारीहरुले ज्यान गुमाउनुका साथै आयोजनामा निकै ठूलो भौतिक क्षति भई वर्षौसम्म विद्युत् उत्पादन बन्द गर्नुपरेको घटनालाई स्मरण गराउँदै आगामी दिनमा यस्ता घना दोहोरिन नदिन इप्पानले आग्रह गरेको छ ।

  • चक्रपथको  दोस्रो खण्डको निर्माण अघि बढाउन समितिको निर्देशन

    चक्रपथको दोस्रो खण्डको निर्माण अघि बढाउन समितिको निर्देशन

    ३ साउन, काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले काठमाडौँ चक्रपथको दोस्रो खण्ड विस्तारका क्रममा आवश्यक स्थानमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक स्थानमा फ्लाइओभर वा अण्डरपास समावेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

    समितिले तत्काल चक्रपथ विस्तारको काम अघि बढाउन पनि निर्देशन दिएको सभापति दीपकबहादुर सिंहले जानकारी दिए । बैठकमा मन्त्री दाहालले दोस्रो चरणअन्तर्गत कलङ्की(महाराजगन्ज खण्डको काम शीघ्र अघि बढ्ने स्पष्ट पारे । ७ दशमलव २ किलोमिटर दूरीको सो खण्ड विस्तारको काम अघि बढाउने तयारी भइरहेको छ ।

  • राहुघाटको म्याद तेस्रोपटक थपियो

    राहुघाटको म्याद तेस्रोपटक थपियो

    २ साउन, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना हो । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स ९जेपी०ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित २०१७ नोभेम्बर १७ मा छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन २०२२ फेब्रुअरीमा पहिलो र सन २०२२ फेब्रुअरीमा दोस्रोपटक थपिएको म्याद गत जुन २७ मा सकिएको थियो ।

    हालसम्म ९० प्रतिशत भौतिक प्रगति भएको राहुघाटको सिभिल ठेकेदारसँगको सम्झौताको म्याद तेस्रोपटक २०२५ नोबेम्बर २७ सम्म थपिएको रघुगङ्गा हाइड्रोपावर का प्रबन्ध सञ्चालक गणेश केसीले बताए । उनका अनुसार परामर्शदाता ‘वाकफोस’को सिफारिसअनुसार चार महिनामात्र म्याद थपिएको हो । कोरोना महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावलाई ठेकेदारले आयोजना निर्माणमा ढिलाइ हुनुको कारण देखाएको छ ।

    बर्खायाममा बुग्लको पहिरो सक्रिय हुँदा बाँधस्थल जोड्ने सडक अवरुद्ध हुने र निर्माणाधीन बाँध नजिकै बाढीले गेग्रान थुपार्दा आयोजना निर्माणको काम प्रभावित बनाएको थियो । सर्वोच्च अदालतले तीन वर्षसम्म कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न रोक लगाएको थियो । विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२।३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि विद्युत्गृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन । भेलसँगको ठेक्काको म्याद आगामी डिसेम्बर ३१ सम्म छ ।

    यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।

  • कामपाको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुन सक्ने

    कामपाको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुन सक्ने

    २ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले शैक्षिकसत्र २०८२\८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आयोजित प्रवेश परीक्षामा १६ हजार १३७ विद्यार्थी परीक्षामा सहभागी हुन पाउने भएका छन् । देशभरका ७७ जिल्लाबाट कुल १७ हजार २२९ आवेदनमध्येबाट १६ हजार १३७ वद्यार्थी छनोट भएका हुन् ।

    कामपा शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार पहिचान खुल्ने नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन गरेको भए सोको प्रमाण, संस्थागत विद्यालयमा अध्ययन गरेको भए छात्रवृत्तिमा पढेको अथवा कामपामा स्थायी बसोबास भएको प्रमाण संग्लग्न नभएका एक हजार ९२ आवेदन अस्वीकृत भएका हुन् ।

    शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीमा विज्ञान सङ्कायमा ११ हजार ५९०, व्यवस्थापन सङ्कायमा चार हजार १६४, मानविकी सङ्कायमा ३२, शिक्षा सङ्कायका लागि ९५ र कानुन सङ्कायका लागि दुई सय ५६ जना समावेश छन् । छनोट भएका विद्यार्थीलाई इमेल र फोनमार्फत सूचना पठाइसकेको कामपाले जनाएको छ ।

    छात्रवृत्ति प्रवेश परीक्षा साउन ३ गते बिहान ८ः०० देखि १०ः०० बजेसम्म हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ । जसमा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०\३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्न सोधिनेछन् । परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अङ्क ल्याउनुपर्नेछ ।

    परीक्षाको नतिजा प्रकाशनपश्चात मेरिट सूचीका आधारमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यो कार्यक्रमले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा आफूले रोजेको संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गरेको कामपाको भनाइ छ ।

    कामपाले उक्त कार्यक्रममार्फत गुणस्तरीय शिक्षालाई पहुँचयोग्य बनाउन विद्यार्थीको शैक्षिक भविष्यलाई उज्ज्वल बनाउन प्रयास गरिरहेको छ । कामपाले अनिवार्य रूपमा कार्यन्वयनमा ल्याएको उक्त व्यवस्थाले विद्यार्थीलाई शिक्षा प्राप्त गर्न ठूलो सहयोग पुगेको विश्वास लिएको छ ।

  • गत आवमा धितोपत्र कारोबारमा कीर्तिमान, २१ अर्ब नाघ्यो

    गत आवमा धितोपत्र कारोबारमा कीर्तिमान, २१ अर्ब नाघ्यो

    २ साउन, काठमाडौं ।अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१–८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको छ । बजारका अन्य परिसूचकमा पनि सो आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ ।

    नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार आव २०८०\८१ मा रु सात खर्ब ३४ अर्ब ६८ करोड बराबरको धितोपत्रको कारोबार भएकामा आव २०८१\८२ मा रु २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ । कारोबार रकम आव २०८०\८१ को तुलनामा एक सय ८९ दशमलव २३ प्रतिशतले बढी हो । यसअघि आव २०७७\७८ मा सबैभन्दा धेरै ९अर्थात् रु १४ खर्ब ५४ अर्ब ४४ करोड०को कारोबार भएको थियो ।

    त्यसैगरी वर्ष २०८१ को असार मसान्तमा रु ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१ दशमलव शून्य पाँच प्रतिशतले वृद्धि भई रु ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ । आर्थिक वर्ष २०८१\८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको सङ्ख्या दुई सय ७२ पुगेको छ । सो आवमा मर्जर तथा एक्विजिसनका कारण तीन कम्पनी सूचीकरणबाट हटेका छन् ।

    त्यसैगरी, प्रथम सार्वजनिक निष्कासनमार्फत चारवटा कम्पनी थपिएका छन् । प्रथम निष्कासनमार्फत तीन करोड ६५ लाख कित्ता सेयर, थप निष्कासनमार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको चार करोड ३२ लाख ५८ कित्ता सेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाइ र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।

    नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आव २०८१\८२ मा भएको उत्साहजनक कारोबारका लागि नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, अन्य नियामक निकाय, कारोबार सदस्य, सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, लगानीकर्ता, सञ्चारकर्मीसहित पुँजी बजारका सरोकारवाला सबैलाई धन्यवाद दिएको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

  • नेपाली गलैँचा तेस्रो मुलुक निर्यात

    नेपाली गलैँचा तेस्रो मुलुक निर्यात

    २ साउन, वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डिस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुुलुक निर्यात गरेको हो । उक्त इन्डिस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा आफ्ना उत्पादन निर्यात गर्न थालेको हो । यसअघि भारतमा आफ्ना उत्पादन निर्यात गर्दै आएको थियो ।

    “करिब रु एक करोड बराबरको गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरिएको छ”, लामो प्रयासपछि तेस्रो मुलुकमा पनि निर्यात गर्न बन्न सफल भएको उल्लेख गर्दै उनले भने । जितपुर–सिमरा उपमहानगर–२३ मा रहेको उक्त उद्योगले १०० जनालाई रोजगारी दिएको छ । उद्योगको वार्षिक २० लाख वर्गमिटर उत्पादन गर्ने क्षमता छ ।

    उद्योगका अनुसार प्रतिवर्गमिटर मिटर रु ९०० देखि चार हजारसम्मका गलैँचा उत्पादन हुने गरेको छ । विगत पाँचवर्षदेखि सञ्चालनमा रहेको उद्योगमा रु ४० करोड लगानी भएको छ । यसैबीच, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरी पुनः विदेश निर्यात गर्नु खुसीको कुरा भएको बताए ।

  • धरहरा अब १२ घण्टा खुला

    धरहरा अब १२ घण्टा खुला

    २ साउन, काठमाडौं । धरहरा १२ घण्टा खुल्न थालेको छ । हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने गरी तोकिएको छ । नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै समयावधि थप गर्दै धरहरा १२ घण्टा खुला गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ । धरहरा १२ घण्टा सञ्चालन सार्वजनिक हुने जनाउँदै मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बिदाको दिन पनि खुला रहने उल्लेख गरे ।

    यसअघि दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिँदै आएकोमा बिहीबारदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहने उनले जानकारी दिए । “अब दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौंँ । धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि खुला रहनेछ”, प्रवक्ता नारायण भने । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनःनिर्माणपछि गत असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा गरिएकामा सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको गुनासो गरेसँगै समयावधि थपिएको उनको भनाइ छ ।

    उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको सुझावलाई ध्यान दिँदै धरहरा सञ्चालनको अवधि बढाएर दुई सिफ्टमा सञ्चालनको तयारी गरिएको मन्त्रालयले जनाएको छ । भूकम्पले क्षतिग्रस्त धरहरा पुनःनिर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट रु चार करोड ३३ लाख ९३ हजार ६५० राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले जनाएको छ । इकाईअन्तर्गत रहेर सञ्चालन भइरहेको धरहरामा हालसम्म दुई लाख ३७ हजार ६५ जनाले अवलोकन गरेका छन् । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश २०८१ बमोजिम सशुल्क धरहरा सञ्चालन भइरहेको छ ।

  • आवको पहिलो दिनमै नेप्से परिसूचक ७५ अङ्कले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार

    आवको पहिलो दिनमै नेप्से परिसूचक ७५ अङ्कले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ, १ साउनः नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ७५ दशमलव ८४ अङ्कले बढेर दुई हजार ८७० दशमलव ६३ विन्दुमा कायम भएको छ । आर्थिक वर्ष २०८२–८३ को पहिलो दिन आज नेप्से परिसूचक दुई दशमलव ७१ प्रतिशतले बढेको हो । आज तीन सय ११ कम्पनीको तीन करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर एक लाख ४१ हजार ४३४ पटक खरिदबिक्री हुँदा रु १६ अर्ब ५९ करोड २१ लाख पाँच हजार ४५५ दशमलव १७ को कारोबार भएको छ । आज दुई सय ४० कम्पनीको शेयर मूल्य बढ्दा नौ कम्पनीको घटेको छभने कारोबार रकम पनि बढेको छ ।

    आज कारोबार भएका सबै समूहगत परिसूचक बढेका छन् । सबैभन्दा बढी ‘अन्य’ समूह पाँच दशमलव शून्य नौ प्रतिशतले बढेको छ । लगानी समूह तीन दशमलव १७ प्रतिशत, जीवन बिमा तीन दशमलव १४ प्रतिशत, हाइड्रोपावर तीन दशमलव शून्य चार प्रतिशतले वृद्धि भएको छ ।

    बैंकिङ एक दशमलव ७६, विकास बैंक एक दशमलव ९५, फाइनान्स दुई दशमलव ८०, होटल तथा पर्यटन दुई दशमलव ६०, उत्पादन तथा प्रशोधन दुई दशमलव ९४, माइक्रोफाइनान्स दुई दशमलव ५०, निर्जीवन बिमा दुई दशमलव १८ र व्यापार एक दशमलव ७६ प्रतिशतले बढेका छन् । आज ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एनआबिएल स्टेबल फण्डको शेयर शुल्य सबैभन्दा बढी सात दशमलव ५८ प्रतिशतले घटेको छ ।

  • वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

    वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

    १ साउन, काठमाडौँ । नेपाल वायुसेवा निगमले असार मसान्तसम्म्को ऋणको किस्ता भुक्तानी गरेको छ । निगमले अन्तरराष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाज खरिदका लागि लिएको ख्णको किस्तावापत कूल रु ५३ करोड ९ लाख ५५ हजार भुक्तानी गरेको निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिए ।

    निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । यसमध्ये न्यारो बडी जहाजको पूरै र न्यारो बडी जहाजको आंशिक किस्ता तिरेको निगमले उल्लेख गरेको छ । जहाज खरिदसम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असार मसान्तसम्म रु सात अर्ब ९२ करोड १४ लाख ६३ हजार किस्ता रकम भुक्तानी गरिसकेको निगमले जनाएको छ ।