Category: स्वास्थ्य

  • एक आमाले जन्माइन एकै पटक चार बच्चा

    एक आमाले जन्माइन एकै पटक चार बच्चा

    काठमाडौं । काठमाडौंमा एक युवतीले एकै पटक चार शिशुलाई जन्म दिएकी छिन् । काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा बुधबार चम्ल्याहा शिशु जन्मिएका हुन् ।

    २७ वर्षीया खगित्रा शाहीले एकैपटक चार शिशुलाई धर्तीमा जन्म दिएकी हुन् । अहिले बच्चा र आमा सबैको स्वास्थ्यको अवस्था राम्रो रहेको छ ।

    अस्पतालका अनुसार ३३ हप्ता ३ दिनपछि अपरेसन गरी बच्चा जन्माइएको छ ।

    शिशुमध्ये तीन छोरा र एक छोरी छन्। एकै पटक चार शिशु जन्मनु दूर्लभ क्षण मानिन्छ । संसारमा सिमित मानिसहरुमा मात्र यस्तो संयोग मिल्छ ।

  • छोरीको हत्यापछि बाउद्धारा आत्महत्या

    छोरीको हत्यापछि बाउद्धारा आत्महत्या

    धनगढी। आफ्नो तीन वर्षीया छोरीलाई हत्या गरेपछि एक बाबु्ले आत्महत्या गरेका छन् । धनगढी, गौरीगंगा नगरपालिका–५ मा यस्तो घटना घटेको हो ।

    यहाँका स्थानीय रामबहादुर कलेलले विष खुवाएर छोरीको हत्या गरेका थिए । त्यसपछि आफूले पनि विष खाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    गत बैशाखमा उनकी श्रीमती सरिता कलेल घरमै झुन्डिएर आत्महत्या गरेकी थिइन् । त्यसपछि उनलाई श्रीमतिको माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएका थिए।

    तर, उनी अदालतबाट निर्दोष सावित भएका थिए । अदालतले निर्दोष सावित गरी जेलबाट छुटेको डेढ महिनापछि उनले नाबालक छोरीको हत्या गरी आफूले पनि आत्महत्या गरेका हुन् ।

    घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ । पछिल्लो समय नेपालमा आत्महत्या गर्ने र दुरुत्साहन मुद्दामा निर्दोष मानिसहरु फस्ने क्रम बढ्दै गएको छ ।

  • किर्तिपुरका मेयरले गरे अठाईसौं रक्तदान

    किर्तिपुरका मेयरले गरे अठाईसौं रक्तदान

    किर्तिपुर

    एउटा ब्यक्ति सामान्य रुपमा आयो । सर्वसाधारणकै लाईनमा बसेर सामान्य स्वास्थ्य जाँच गरायो । स्वास्थकर्मीले अनुमति दिएपछि बेडमा पल्टियो र रक्तदानको लागि आफ्नो हात सुम्पियो । वरिपरीका व्यक्तिहरुले पछि रगत झिकिसक्दा पो थाहाँ पाए कि उहाँ त कीर्तिपुर नगरपालिकाकै मेयर हुनुहुँदो रहेछ । एक नर्सले कीर्तिपुर नगरपालिकाका मेयरलाई उदृत गर्दै भनें; ‘कति सरल ! कति महान्’ !

    आफ्नो भाई पर्ने स्व. विवेक डंगोलको पैँतालिसौं दिनको पुण्यतिथिमा पनि हँसिलो मुद्रामा, मेयर रमेश महर्जनको रक्तदान गर्दै गरेको फोटो फेसबुकमा भाइरल भयो । सामाजिक सञ्जालमा खासै आफ्नो आत्मप्रचार नगर्ने मेयरले फोटोको मुन्तिर लेखेका थिए—अठाइसौं रक्तदान । मेयरको यस कदमलाई सबैले तारिफ पनि गरे ।

    भनाई नै छ; रक्तदान जीवनदान । गीतको सार जस्तो रक्तदान, त्यो महादान हो, जो जीवनदान हो । अहिलेसम्म अठाइसौ पटक रक्तदान गरिसकेका मेयर रमेश महर्जन कीर्तिपुरमा हुने प्रायःजसो रक्तदान कार्यक्रम छुटाउँदैनन् । कीर्तिपुरका मेयर रमेश महर्जन अहिले देशैभरि, रक्तदान गरेर आनन्द लिने अर्थात ‘रक्तदाता मेयर’को रुपमा चिनिन थालेका छन् । 

  • संसदमा प्रधानमन्त्रीको सम्वोधन भएन, अस्वस्थताको आंशका

    संसदमा प्रधानमन्त्रीको सम्वोधन भएन, अस्वस्थताको आंशका

    काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेशन अन्त्य हुने दिन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ ।

    बिहीबार दिउँसो २ बजे सम्बोधन गर्ने तय भएको भएपनि अन्तिम समयमा आएर प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम झिकिएको थियो ।

    अन्तिम दिन तीन वटा बैठक बसे । पहिलो बैठकले राहदानीसहित ६ वटा विधेयक पारित गर्‍यो ।

    दोस्रो बैठकमा मन्त्रीहरुले संसदमा उठेका तर जवाफ दिन नपाएका प्रश्न लिखित रुपमा उत्तर टेबल गरे । तेस्रो बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवासहित सबै दलका नेताले पालैपालो संसदमा सम्बोधन गरे ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम थियो ।

    उनको स्थानमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सम्बोधन गरे ।

    प्रधानमन्त्रीले भने अन्तिममा आएर नाम काटे । धेरैजसो सांसदले संसदमा प्रधानमन्त्रीको अनुपस्थितिलाई संसदको अपमान भन्दा धेरै उनको स्वास्थ्य अवस्थासँग जोडेर हेरेका छन् ।

    किनकी उनी पटक पटक बिरामीका कारण अस्पताल धाइरहेका छन् । चिकित्सकहरुले पनि सार्वजनिक कार्यक्रममा दौडधुप नगर्न प्रधानमन्त्रीलाई सुझाव दिइरहेका छन् ।

    बुधबार निकै व्यस्त देखिएका प्रधानमन्त्री बिहीबार भने निर्धारित कार्यक्रमहरुमा उपस्थित भएनन् ।

  • प्रोस्टेट क्यान्सरको उपचार पाँच दिनमा नै गर्न सकिने बिधि पत्ता लाग्यो

    प्रोस्टेट क्यान्सरको उपचार पाँच दिनमा नै गर्न सकिने बिधि पत्ता लाग्यो

    प्रोस्टेट क्यान्सरका बिरामीहरुका लागि केही राहत मिल्ने समाचार आएको छ । आठ हप्ता लामो समय गलाएर गरिंदै आएको प्रोस्टेट  क्यान्सरको उपचार अब ५ दिनमा रेडियो थेरापीको माध्यमबाटै हुने भएको छ । गत १६ तारिख सोमबार “यानसेट मेडिकल जर्नल” मा प्रकासित एक रिपोर्टका अनुसार उपचार शुरु गरेको पाँच दिन भित्र प्रोस्टेट क्यान्सरको सफल उपचार सम्पन्न गरी सकिने नयाँ बिधि पत्ता लगाईएको छ । उपचारको यो बिधिमा पहिलाको उपचार पद्धती भन्दा कम साईड ईफेक्ट्स हुने समेत प्रष्ट पारिएको छ । कुल ८ सय ४७ जना प्रोस्टेट क्यान्सरका बिरामीहरुमा बेलायतस्थित रोयल मार्सडेन हस्पिटलका बिज्ञहरुले अनुसन्धान गरी ५ दिनमा रोगको निदान गर्न सकिने निष्कर्ष निकालिएको हो । परिक्षण उपचारार्थ अनुसन्धानमा संलग्न गरिएका कुल ८ सय ४७ बिरामी मध्ये अाधा बिरामीहरुलाई ३९ दिनसम्म गरिने उपचार बिधि अपनाईएको थियो भने बाँकी आधाको संख्यामा रहेका बिरामीहरुलाई एस् बि आर टि नामक शक्तिशाली रेडिएसन् प्रयोग गरेर ५ दिनमा नै उपचार गरिएको थियो । अनुसन्धानकर्ता बैज्ञाननिकहरुले उपचार गरिएका ति सबै बिरामीहरुलाई आगामी ५ बर्षसम्म कुन चाँहि उपचार पद्दति भरपर्दो र दिर्घकालिन हुने भनेर लगातार मुल्याङ्कन गरी रहने समेत  बताएका छन् ।  

    पुरुषमा मात्र हुने प्रोस्टेट ओखर जत्रो ग्ल्यान्डमा ट्युमर पलाउनुलाई प्रोस्टेट  क्यान्सरको रुपमा चिनिने गरिन्छ ।  बेलायतमा हरेक बर्ष झन्डै १२ हजार र अमेरिकामा २६ हजार मानिसहरुको प्रोस्टेट   क्यान्सरका कारण मृत्‍यु हुने गरेको छ । ६१ बर्षीय चर्चित कलाकार स्टेफेन फ्राईले आफु प्रोस्टेट क्यान्सर मुक्त भएपछी यसको उपचार र अनुसन्धानमा ठुलो रकम सहयोग गर्दै आएका छन् ।  

    श्रोत : डेली मेल

  • निम्तोको दु:खले पनि रक्तदानलाई रोक्न सकेन

    निम्तोको दु:खले पनि रक्तदानलाई रोक्न सकेन

    अर्जुनप्रसाद मैनाली / न्यूयोर्क

    पृथ्वीको भुमध्य रेखामा रहेको अफ्रिका महादेशको करिब मध्य भागमा संसारकै गरिब देश हो कंगो । प्राकृतिक स्रोतको हिसाबले भने कंगोलाई बिश्वकै धनी देशमा गन्न सकिन्छ । त्यहाँ भएका खनिजहरु निकाल्ने हो भने २४ ट्रिलियन युएस डलर भन्दा बढी हुने अनुमान गरिएको छ । तर उपनिवेशवाद, दासत्व, र भ्रष्टाचारले यो देशलाई सबैभन्दा गरिव बनाएको छ । दोश्रो विश्व युद्धसँगै जोडिएर बल्झिएको हत्या हिँसा अहिलेसम्म सकिएको छैन । त्यहाँको जनसंख्या करिब ९ करोड र वार्षिक बजेट ७८ बिलियन अमेरिकी डलर छ । प्रतिब्यक्ती आम्दानी वार्षिक ८७० अमेरिकी डलर छ । नेपालको जनसख्या ३ करोड र वार्षिक बजेट ८४ बिलियन अमेरिकी डलर छ । तुलना गर्दा नेपालको प्रतिब्यक्ती आम्दानी वार्षिक ९१९ अमेरिकी डलर छ । हाल विश्वकै धनी देश संयुक्त राज्य अमेरिकाको जनसंख्या ३२ करोड, वार्षिक बजेट २० ट्रिलियन र प्रतिब्यक्ती आम्दानी ६२ हजार डलर छ । अहिलेको हवाइजहाजको बाटो अनुसार अमेरिकाको न्यूयोर्कबाट कगो पुग्न २० घण्टा लाग्छ भने नेपालबाट १६ घण्टा लाग्दछ ।

    हरेक बर्ष अफ्रिका महादेशमा ६ लाख गर्भवती र सुत्केरी महिलाहरुको अत्यधिक रक्तश्रावका कारणले मृत्यु हुने गरेको छ । त्यस्ता बिरामीहरुले सजिलै रगत पाउन सकेका छैनन । कुपोषण, बिभिन्न रोग लागेका कारण धेरै जसो रक्तदान गर्न सक्ने अवस्थाका छैनन । बाँकी रहेका केही स्वस्थ खालका युवाहरु रगत दिन डराउँदा रहेछन । अझ ‘मेरो शरीरको रगत अरुलाई किन दिने’ भन्ने सोच्दा रहेछन । केहीले दिइ हाले पनि ‘सित्तैमा किन दिने ?’ सोच्दा रहेछन । 

    यति बुझिसक्दा मैले अब अल्पबिकसित देशहरुमा रक्तदान अभायान बृद्धी गर्नु पर्छ भन्ने सोचें । अफ्रिकी देशहरु मलावी, युगान्डा, इथियोपिया, रुवान्डामा गएर आफ्नै रगत दान गरी केहीलाई भए पनि बचाउन प्रयास गरें । अफ्रिकाकै कंगोमा संसारकै उच्चतम मातृ मृत्युदर छ । त्यस्तै दोश्रो उच्चतम शिशु मृत्युदर छ । महिलाहरुलाई धेरै दु:ख छ । बलिया पुरुषहरुले आफ्नो स्वार्थका लागि महिलाहरुको इच्छा बिपरित दासी, बलात्कार, यौन शोषणगर्दा रहेछन । गरिबीले घरमा खानेकुरा नपुग्ने र जुटिहाले पनि महिलाको भागमा थोरै पर्दो रहेछ ।

    कंगोको यस्तो अवस्था थाहा पाए पछी सेप्टेम्बर ११, २०१९ मा त्यहाँ पनि गएर रक्तदान गरौँ भन्ने मनमा आयो । तीन महिना अगाडि मात्रै रुवान्डामा गएर रक्तदान गरेको थिएँ । रगत नै नपाएर संसारका कुनै पनि कुनामा कसैले पनि जीवन गुमाउनु नपरोस भन्ने मेरो चाहना हो । यद्यपी कहिलेकाँही थकिन हुन्छु । कहिलेकाँही मलाई एकदमै बाध्यताले त्यहाँ गएर रक्तदान गर्नु परेको जस्तो हुन्छ । सधैं हर्यास ! सधैं प्रेसर ! यो मेरो कस्तो इच्छा हो ? यो मेरो कस्तो चाहना हो ? फेरी तमाम मेरा आफ्ना दुख र समस्यालाई थाती राखी आफुलाई सम्हाल्छु  । र जुनसुकै कठिन अवस्थामा पनि आफ्नो रक्तदानको काममा कमी ल्याउनु हुँदैन भन्ने भावनाले मन भर्दछु  । यस्तो मनको आदेशमा कंगोमा नै गएर रक्तदान उत्प्रेरणा गर्ने कार्यक्रम तय गरेको हुँ । 

    कंगोमा गएर रक्तदान गर्ने मेरो योजना अमेरिकी सरकारलाई जानकारी गराएँ । अमेरिकी सरकारले आफ्नो नागरिकहरुलाई कंगोमा तत्काल नजान र गईहाले पनि सावधानी अपनाउन सुचना जारी गरेको रहेछ । कङोमा राजनीतिक द्वन्द, जातीय द्वन्द, लुटपाट, अपहरण, चोरी, हत्या जस्ता हिंसा हुदो रहेछ । बिस बर्षको अबधिमा ५४ लाखले अकालमै जीवन गुमाइ सकेका रहेछन । अझ एचआईभि एड्स, झाडा पखला, औलोको पनि उत्तिकै जोखिम रहेछ । यसका बावजुद मलाई त्यहाँ गएर रक्तदान दिन नै मन लाग्यो । मैले काम गर्ने कार्यालयका सहकर्मीहरुले कंगोमा जानु भनेको आत्महत्या गर्न जानु जस्तै हो भनेका थिए । मानिस जन्मे पछी एक दिन मरी नै हाल्छ । तर बाँची रहँदा अरुका लागि के गर्‍यो भन्ने कुरा महत्वपूर्ण हुन्छ जस्तो लाग्यो । अरुका लागि मेरो रगत दिनु पनि म एक रक्तदाताको प्रतिभा निर्माण गर्नु जस्तै हो लाग्यो । यो कदमले अरुका लागि रक्तदान गर्न प्रेरणा पाउन सक्छन जस्तो लाग्यो ।        

    विश्व स्वास्थ्य संगठनले कंगोमा इबोला रोग धेरै नै बढेको भन्दै अन्तर्राष्ट्रीय संघ संस्थाहरुको ध्यानाकर्षण गराएको एक हप्तामै कंगोमा इबोला रोगको महामारीलाई नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्य मन्त्रीले पदबाट जुलाई २३, २०१९ मा राजिनामा नै दिएका रहेछन । यस्तो थाहा पाए पछी जुलाई २५, २०१९ मा न्यूयोर्क स्थित कंगोको कन्सुलेटमा भिसाको लागि निवेदन दिएँ । त्यतिखेर मसँग न्यूयोर्कदेखि कंगोसम्म जान-आउन हवाइजहाज टिकट थिएन । बस्नको लागि होटेल बुक पनि गरेको थिइन । त्यसैले मेरो निवेदन स्विकृत भएन । मैले त्यहाँका अधिकृतलाई ‘तपाइले मेरो पासपोर्ट राम्रोसँग हेर्नु त भयो नि?’ सोधें । मैले अमेरिकन पासपोर्ट छ भनेर फुर्ती लगाउने कुरा पनि भएन । बिगत ६ बर्षमा १६ देशमा रक्तदान उत्प्रेरणा गराउन जाँदा लिएका भिषा र छापहरुले भरिएर पासपोर्टमा दुई पेजमात्र बाँकी थिए । निन्याउरो मुख लगाएर घर फर्किदा बाटोमा मनमा कुराहरु खेल्न थाले ‘कंगोमा रक्तदानबारे जनचेतना कम भएर चाहिने जतिले रगत दान गरी रहेको अवस्था छैन, म आफ्नै खर्चमा गई रगत दान गर्छु, रक्तदान गर्न उत्साह जगाउँछु भन्दा पनि भिषा नै दिएनन् !

    भगवानले ‘तँ आँट म पुर्याउछु’ भने जस्तै मैले आटें । र त्यस कार्यको लागि समुदायका मेरा साथीहरुको आशिर्वाद र केही आर्थिक सहायता पाउन ‘गो फण्डमी’ कार्यक्रममा मेरो कुरा राखें । साथीहरुले सहयोग पनि गर्न थाल्नु भयो । गोफण्ड मार्फत (गोपेन्द्र भट्टराइ २५, राजन गौली १५, बसन्त चापागाइँ २०, रघु न्यौपाने २०, विश्व थापा २०, सलिल देवकोटा ५१, आरती राइ ५, हरिश हमाल १५, रेशम घर्ती १५, पशुपती पाण्डे १५, रोबर्ट एलिस २५, सुर्य लम्साल २१, दिनेश सन्ज्याल ५, राम ढकाल २०, प्रेम गुरूङ ५१, राम बिष्ट २०, शिव राइ २०, जगदिश राउत २०, भरत बास्कोटा १५, टिका ढकाल ५१, विश्व बास्तोला ५१, निराजन खड्का ५, पिपल मणी सिग्देल ५१) ५५६ डलर र ब्यक्तीगत रूपमा नगद नै सहयोग गर्नुहुने महेश खड्का १००, बिष्णु राना मगर १००, जंग पाल ५०, राधाकृष्ण देउजा २५, नारायण तिमिल्सिना २५, उद्धव हुमागाइँ ४०, उद्धव शास्त्री २०, मोहन बिष्ट ४०, जनक भण्डारी २१, रोनीश बिष्ट २० सहित जम्मा ९९७ डलर सहयोग गर्नु भएको छ। चाहिने रकम जुट्ने भएपछी साथी टिका ढकालसँग क्रेडिट कार्ड लिएर टिकट र होटेलको कोठा बुक गरें ।

    मेरो कंगो जाने टिकटको करिव दुई घण्टा केन्यामा ट्रान्जिट थियो । त्यसैले म त्यही टिकटबाट केन्यामा ओर्लिन्छु भन्ने मनसायले एअरपोर्ट गएँ । तर एअरपोर्टमा मैले त्यो टिकटबाट यात्रा गर्न पाइनँ । मैले केन्याका रक्तदाताहरुको संस्था केही सहयोग गर्छु र आफ्नो दैनिकी खर्चको लागि छुट्याएको रकमबाट नै पुन अर्को टिकट किनेँ । कस्तो अचम्म भयो भने, पहिलेको टिकटमा भएको जस्तै मिती, समय र यात्रा तालिका नै उल्लेख भएको नयाँ टिकट पाएँ । ब्यापारमा कुनै पनि मानवीय सम्बेदनामा हेरिदो रहेनछ भन्ने मलाई लाग्यो । यहाँनेर म ठगिएँ । म बेखर्ची पनि भएँ । १२ हजार किलोमिटरको दुरिको १५ घण्टाको हवाइयात्रा भरी मेरो मन रोयो तर म हतोत्साहित भईनँ । 

    नैरोबी, केन्याको एअरपोर्टमा मलाई स्वागत गर्न केन्याकी सर्बाधिक महिला रक्तदाता एैसा र पुरुष रक्तदाता अल्फा स्वागत गर्न आउनु भएको रहेछ । वहाँहरु संगै म त्यहाँको रक्तसन्चार नजिकैको होटेल हिलपार्कमा गएँ । न्यूयोर्कमा मैले वेबसाइटमा हेर्दा उक्त होटेलको रातको ७० डलर लाग्ने लेखेको थियो, तर त्यहा ११४ डलर लाग्ने बताए । होस, अब कता गएर बस्नु ? त्यसैमा बस्न फर्म भरेँ ।  

    केन्याको रक्त सन्चार सेवामार्फत स्वास्थ्य मन्त्रालयले म रक्तदान नै गर्न भनेर न्युयोर्कदेखि नैरोबिमा आउने थाहा पाएपछी सरकारी अधिकारीहरूले पनि विशेष चासो राखेका रहेछन । किनभने उनिहरुले मेरो लागि त्यहाँ बसिन्जेलसम्म एउटा कार र ड्राइभर उपलब्ध गराएका थिए । त्यस अबधिमा म जहाँ जान पनि उक्त सुबिधा प्रयोग गर्न सक्थेँ । त्यसदिन बेलुका एनआरएन केन्याको पदाधिकारीहरुले मेरो लागि आयोजना गर्नु भएको रात्री भोजमा सहभागी भएँ । उहाँहरुलाई आफ्नो अनुकुलमा सानै भएपनी रक्तदान कार्यक्रम गर्न अपिल गरेँ । विश्व ब्यापी रुपमा मेरो रक्तदान अभियानको काम र कुरा बारेमा जानकारी गराएँ ।

    केन्याको स्वास्थ्य मन्त्रालयले मेरो लागि बिशेष कार्यक्रम नै बनाएको रहेछ; सम्भाबित रक्तदाता उपस्थित हुने समय, म कार्यक्रममा पुग्ने समय, केन्याकी सर्बाधिक रक्तदाता महिलाको मन्तब्य, केन्याको सर्बाधिक पुरुषको मन्तब्य, मेरो मन्तब्य, स्वास्थ्य मन्त्री (क्याबिनेट सेक्रेटरी) सिसिली कारीउकीको मन्तब्य, उपस्थित भएका हरुले मसँग फोटो खिच्ने समय, संचारमाध्यमसँग अन्तरवार्ता र मेरो रक्तदानको समय निर्धारण गरेको थियो । अझ उनिहरुले म रक्तदान नै गर्न भनेर अमेरिकादेखि केन्यासम्म आउन लागेको भनेर राष्ट्रिय पत्रीका ‘डेली नेशन’मा अधिल्लो दिनमा समाचार नै छापेका रहेछन ।      

    सोही अनुरुप म भोलिपल्ट बिहान १० बजे राष्ट्रिय अभिलेख मैदान, नैरोबीको प्राङणमा आयोजित कार्यक्रम स्थलमा पुगेँ । दुई वटा ठुला पालहरु टाँगिएका थिए । औपचारिक कार्यक्रमका लागि आवश्यक ब्यवस्था मिलाईएको रहेछ । सयौँ सर्ब-साधारण र सम्भावित रक्तदाताहरुको उपस्थित रहेको थियो । ठीक ११ बजे मन्त्रिको आगमन भयो । लाइनमा म भन्दा अगाडि स्वास्थ्य मन्त्रालयका दुई बरिष्ठ पदाधिकारीहरु हुनुहुन्थ्यो र म तेश्रो नम्बरमा उभिएको थिएँ अनी सयौँ सर्वसाधारण, सम्भावित रक्तदाता र करीब तीन दर्जन जती संचार क्षेत्रका ब्यक्तिहरु थिए । सबैसँग हात मिलाउँदै मन्त्री म उभिएको ठाउँमा अाइपुगे पछी ठक्क उभिईन ‘तपाइलाई केन्यामा स्वागत छ, तपाईं सर्बाधिक रक्तदातासँग भेट गर्न पाउदा धेरै खुशी लागेको छ, तपाईंले हाम्रो देशमा रक्तदान बढाउन साझेदारिको काम गर्नुभयो, अब मन्चतिर जाउँ’ भनिन ।      

        

    बिभिन्न क्षेत्रका अतिथिहरुले खचाखच भरिएको मन्च भएको पाल अगाडि उपस्थित भएका सयौँलाई सम्बोधन गर्दै प्रमुख अतिथी मन्त्रिले ‘वास्तबमा हाम्रो देशमा वार्षिक १० लाख युनिट रगत चाहिनेमा करीब एक लाख ७० हजार युनिट मात्रै रगत उपलब्ध हुन्छ, हाम्रो देशमा पनि स्वयमसेवी रक्तदानको सँस्कार बसाउनु पर्छ, यस्तो अवस्थामा रक्तदानको क्षेत्रमा उल्लेखनिय काम गरेका विश्व प्रख्यात रक्तदाता अर्जुन मैनालीको अनुभवले हाम्रा केन्याली जनताहरूलाइ रक्तदान गर्न थप उत्साह मिल्नेमा विश्वस्त भएकी छु,’ उनले भनिन्। प्रमुख अतिथी मन्त्रिले सम्बोधनकै बिचमा मलाई परम्परागत केन्याको क्राउन (राजडन्डा, ह्याट र गम्छाले सम्मान गरिन । त्यसपछी मैले बोल्ने क्रममा विश्व भरी रगतकै अभावमा कसैले पनि जीवन गुमाउनु नपरोस भन्दै यो स्वयमसेवी रक्तदान अभियान लिएर आज तपाईंहरु सामु रक्तदान नै गर्न भनेर न्यूयोर्कदेखि आएको छु, ३२ बर्षको अबधिमा मैले १७१ पटक रक्तदान गरी सकेको छु, आज तपाईं सामु तपाईंका जनताको लागि रक्तदान गर्दै छु, अब तपाईं पनि रक्तदान गर्नुहोस, रक्तदान गरेर शरिरमा कुनै कमजोरी हुँदैन, हेर्नुहोस त मलाई, मैले यतिका पटकसम्म अरुका लागि करीब ८५.५ लिटर रक्तदान गरी सकेको छु, मेरो आफ्नै रगतले मात्रै ५१३ जनासम्मलाई बच्चाउन सहयोग हुन्छ’ भनेँ । त्यसपछी उपस्थित ब्यक्तिहरुले ताली बजाएर स्वाबास ब्यक्त गरे । मैले ६ वटै महादेशका १६ वटा देशमा गएर रक्तदान गरी सकेको छु, केन्या मेरो १७औँ देश हो ।

    मन्तब्यको कार्यक्रम सकिएपछी एकजना पत्रकारले मलाई बोलाएर अन्तरबार्ता लिन खोजेका थिए । त्यहाँ भएभरका सबै टि भि, रेडियो, अखबारका उपस्थित पत्रकारहरुले मलाई घेरी हाले । मैले किन रक्तदान गरेको, कहिलै कमजोरी हुनु भयो कि, र मैले केन्यामा नै रक्तदान गर्नु परेको कारणहरु सोधेका थिए । उहाँहरुले मबाट रक्तदानमा ठुलो अपेक्षा राखेका रहेछन भन्ने मलाई लाग्यो ।    

    त्यसपछी रक्तदान गर्ने स्थानमा गएँ । प्रमुख अतिथी मन्त्री रिवन काटेर कार्यक्रम उदघाटन गर्न मलाई पर्खि राख्नु भएको रहेछ, वहाँले मलाई रिवन काट्दा संगै राख्नु भयो । रक्त संचार सेवाकी निर्देशक डा फ्रिदाह गोवेदीले रक्तदान गर्न स्वास्थ्य परिक्षण गर्न लगिन । बिध्युतिय उपकरणबाट मेरो रक्तचाप परिक्षण गर्दा एक अंकले बढी भयो । ला ! अब रक्तदान गर्न नपाउने भएँ भन्ने चिन्तामा परेँ । स्वास्थ्य परिचारिकाले पुन: परिक्षण गरिन । बल्ल तल्ल स्वास्थ्य परिक्षण पास भएँ । रगत दिने मेचमा सुताएपछी मेरो पाखुरा हेर्न मन्त्री आँफै आए । बिगतमा रक्तदान गर्दा सुइ घुसारेको ठाउँमा हेर्दै स्पर्स गर्नु भयो । सायद वहाँलाई यत्तिका पटक रगत निकाल्दाको पाखुरा कस्तो होला जान्ने उत्सुकता थियो कि ? मैले रक्तदान गरी सकेपछी मन्त्री आफ्नो मन्त्रालय जानु भयो । करीब १ बजे तिर रक्त संचार सेवाका पदाधिकारी साथ म पनि दिवा भोज गर्न गएँ । एउटा करीब दुई पाऊ जतिको सिङैगै माछा र ढिडोँ खाएँ । फेरी एक घण्टा जती रक्तदान भई रहेको ठाउँमा बसेँ । हरेक रक्तदाताहरुलाई भेट गर्दै रक्तदान गर्नुभएकोमा धन्यवाद छ भनेँ । पाँच छ जनाले त ‘तपाईंको रक्तदान अनुभवले म त साह्रै प्रभावित भएँ अब म पनि बर्षको चार पटक रक्तदान गर्छु’ भने । उनिहरु यस्तो प्रतिकृयाले म साह्रै हर्षित भएँ । मैले यत्राो दु:ख गरेर यहाँसम्म आएको लक्ष पुरा भयो भन्ने लाग्यो । त्यहाँ रक्तदान गर्ने र हेर्नेहरुको पनि ठुलो भिड थियो। रक्तदान गर्न साना साना केटीहरु पनि आएका थिए । मैले अचम्म मान्दै ‘तपाइ पनि रक्तदान गर्ने ?’ सोधेँ।  ‘हो’ भनिन । फेरी मैले ‘रक्तदान गर्न त कम्तिमा पनि शारिरिक तौल ५० किलोग्राम हुनुपर्छ नि’ सोधेँ । उनले ‘छु’ भनिन । ‘अनी उमेर त १८ बर्ष भन्दा माथि हुनुपर्छ नि’ सोधेँ । उनले ‘२६ बर्षकी भएँ’ भनिन । त्यहाँका मानिसहरु साना देखिए पनि खदिँला र पाको उमेरका हुँदा रहेछन । 

    करीब ४:३० बजे तिर ‘मन्त्रिले वहाँकै कार्यालयमा बोलाउनु भएको छ’ भन्दै रक्तसन्चार सेवाको पदाधिकारीले मलाई मन्त्रालयमा लिएर गए । मन्त्रालयमा सानो सेरोमनी कार्यक्रम राखिएको रहेछ । स्वास्थ्य महानिर्देशक डा जोन मससबी, प्रमुख सल्लाहकार डा प्रशाद लगाएत संचार क्षेत्रका प्रतिनिधिहरु र अन्य गन्यमान्यहरु उपस्थित रहेको थियो । तीन दिनसम्म चल्ने उक्त रक्तदान कार्यक्रममा पहिलो दिनमै करिब ५ सय जनाले रक्तदान गरेका डा फ्रिदाहले बताएकी थिइन । म आउने समाचारले सायद युवाहरुको राम्रो उपस्थित भएको होला भन्ने मलाई लाग्यो । मन्त्रीले ‘अमेरिकादेखि यहाँसम्म आएर रक्तदान बढाउन साझेदारी गर्नु भएकोमा धन्यवाद छ’ भनिन ‘यस्तो अवस्थामा रक्तदानको क्षेत्रमा उल्लेखनीय काम गरेका मैनालीको अनुभवले हाम्रा केन्याली जनताहरूलाइ रक्तदान गर्न थप उत्साह मिल्नेमा विश्वस्त भएकी छु,’ भनिन्। मन्त्रिले ‘रक्तदानको तपाईंको योगदानको उच्चतम कदर गर्दछौ भन्दै’ प्रशंसा–पत्रले सम्मान गरेकी थिइन। मेरो रक्तदान उत्प्रेरणा अभियानले अफ्रिकामा धेरै जनालाई रक्तदान गर्न उत्साहित बनाउन म सफल भएको छु जस्तो लागेको छ । गौरवले मेरो छाती नै फुलेर आयो । धेरै खुशी भएँ । मेरो बुवा जिवित रहनु भएको भए उहाँ कति खुसी हुनुहुन्थ्यो होला !

    भोलीपल्ट बिहान पृथ्वीको बिच भाग भुमध्ये रेखामा जाने योजना बनाइ सुतेँ । बिहान ७ बजे डा फ्रिदाहले फोनबाट ‘तपाइको जि बि एस टेलिभिजनमा एक बजे अन्तरवार्ता तय भएको छ’ भनिन । कार्यक्रम थपिएकोले घुम्न जान सकिएन । टिभिमा अन्तरवार्ता दिए पछी पाँच बजे रक्त संचार सेवाकी निर्देशकको कार्यालयमा गई पुरै तीन दिनको समिक्षा गर्यौ । त्यसपछी ति निर्देशक र त्यहाँकी सर्वाधिक रक्तदाता ऐशाले मलाई एअरपोर्टमा ७ बजे पुर्याइ दिनु भयो ।

  • संविधान दिवस पारी सरकारी अस्पतालमा निःशुल्क ओपीडी

    संविधान दिवस पारी सरकारी अस्पतालमा निःशुल्क ओपीडी

    काठमाडौं । २ असोजमा देशभरका सरकारी अस्पतालमा निःशूल्क ओपीडी सेवा उपलब्ध हुने भएको छ । ३ असोजमा भव्यताका साथ संविधान दिवस मनाउने तयारी सरकारको छ ।

    सोही क्रममा अस्पतालहरुमा एक दिनका लागि ओपीडी निःशूल्क गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयले मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी टिकट निःशुल्क वितरण हुने जानकारी दिएको छ ।

    अन्य सेवा भने साविककै अनुसार संचालन हुने मन्त्रालयले जनाएको छ ।

    सरकारले यस दिन भब्य रुपमा मनाउने गरी हरेक मन्त्रालयबाट कार्यक्रम माग गरेको थियो । त्यसअनुसार स्वास्थ्य मन्त्रालयले निःशूल्क ओपीडीको घोषणा गरेको छ ।

  • पौडी खेल्दाखेल्दै पानी भित्र हृदयघात भए पछी

    पौडी खेल्दाखेल्दै पानी भित्र हृदयघात भए पछी

    मानिसलाई कतिबेला वा कस्तो अवस्थामा हृदयघात हुन्छ ?  भन्ने कुरा निश्चित हुँदैन ।  तर पनि दैनिक जीवनमा मानिसहरुको सुतेको समयमा हृदयघात भएर मृत्‍यु भएको खबर भने थुप्रै सुनिने गरिएको छ । बाटोमा हिंड्दा हिंड्दै गाडी चलाऊदा चलाऊदै शारीरिक ब्यायाम गर्दा, खाना खाँदा खाँदै पनि हृदयघात हुने गरेका घटना छिटपुट रुपमा सुनिने गरिएको छ । गत हप्ता ग्रिसमा एक जनाको पौडी पोखरी भित्र पौडी खेल्दा खेल्दै मृत्‍यु भएको छ । ४२ बर्षीय साईमोन जोन्स् पौडी खेलेर बिदा मनाई रहेका थिए । तिन सन्तानका पिता साईमोन्सलाई पानी भित्र हृदयघात भए पछी बाहिर निकालिएको थियो र घटनास्थलमा अाई पुगेका प्यारा मेडिक्सले  केहीबेर आकस्मिक उपचारको प्रयास गरेर अस्पताल पुर्याए पनि ४५ मिनेट पछी साईमोन्स जोन्सलाई मृत घोषित गरिएको थियो । 

    एउटै कम्पनीमा काम गर्ने पत्नी डेनिला र उनले कामबाट केही दिन बिदा लिएर एक होटलमा आराम गर्ने क्रममा पौडी पोखरी भित्र साईमोन्सलाई हृदयघात भएको हो ।  

    श्रोत : डेली मेल

  • दिउँसो सुत्दा अचम्मको फाईदा

    दिउँसो सुत्दा अचम्मको फाईदा

    दिउसो छोटो समय सुत्नेहरुका लागि खुसीको खबर आएको छ । सुताईसँग सम्बन्धित एउटा नयाँ तथ्यले दिउँसो सुत्नेहरुका लागि नयाँ खुसी दिएको हो । धेरै सुत्न्नु स्वास्थको लागि नराम्रो मानिदै आएको समयमा हप्तामा दुई दिन दिउँसोको समयमा छोटो समय सुत्यो (न्याप) भने हृदयघात नहुने तथ्य बाहिर आएको हो ।  

    गत सोमबार जर्नल हर्टमा प्रकासित रिपोर्टका अनुसार कारिब ३५ सय स्विट्जरल्याण्डबासी माझ गरिएको अनुसन्न्धानबाट उक्त तथ्य प्रमाणित भएको हो । जर्नल हर्टका अनुसार उक्त तथ्यका सम्बन्धमा स्विट्जरल्यान्डको लौजानी स्थित युनिभर्सिटी हस्पिटलकी चिकित्सक तथा उक्त नयाँ अनुसन्धानका नेतृत्वकर्ता नदिनी हौसलरले भनेका छिन; “जीवनमा कहिले पनि दिउँसो नसुतेकाहरु भन्दाहप्तामा एक वा दुई दिन दिउँसो छोटो सुताई (न्याप) सुत्नेहरुमा मुटु सम्बन्धि रोग कम लाग्ने गरेको पाईयो”।  हौसलर र उनका समकक्षीहरुले ५ बर्षसम्म ३५ देखि ७५ बर्ष उमेर समुहका पूर्ण स्वस्थ र ज्यादै धेरै नसुत्नेहरु छानेर अनुसन्धान सुरु गरेको बताईको छ । अनुसन्न्धानले हप्तामा एक वा दुई पटक दिनको समयमा ५ मिनेट देखि १ घण्टासम्म निदाउने गरेकाहरुलाई मुटु सम्बन्धी रोग कम लाग्ने गरेको देखिएको छ ।  ब्रिटिश कार्डियो भास्कुलर सोसाईटीद्वारा प्रकासित द हर्ट नामक जर्नलमा प्रकासित सुताई सम्बन्धी नयाँ रिपोर्ट पछी युनिभर्सिटी अफ ग्ल्यास्गोका प्रोफेसर नभिद सत्तरले हप्तामा एक वा दुई पटक दिनमा सुत्दा फाईदा पुग्ने देखिएता पनि हरेक दिन दिउँसो सुत्नेहरुलाई भने घातक हुने प्रतिकृया दिएका छँन् ।  

    एजेन्सी

  • ट्रम्प राष्ट्रपति चुनिएपछि स्वास्थ्य बीमा गुमाउनेको संख्या बढ्यो, साढे आठ प्रतिशत अमेरिकी बीमा बिहिन

    ट्रम्प राष्ट्रपति चुनिएपछि स्वास्थ्य बीमा गुमाउनेको संख्या बढ्यो, साढे आठ प्रतिशत अमेरिकी बीमा बिहिन

    न्यूयोर्क
    राष्ट्रपती डोनाल्ड ट्रम्पले राष्ट्रपतीको पदभार सम्हालेसँगै स्वास्थ बीमा गुमाउने अमेरिकीको संख्या उकालो लागेको छ । मंगलवार प्रकाशित संघीय तथ्यांक अनुसार ट्रम्पले कार्यभार सम्हालेपछि स्वास्थ्य बीमा गुमाउनेको संख्या दुई लाखले बढेको हो ।

    अमेरिकी केन्द्रीय तथ्यांक विभागको सर्भेक्षण अनुसार सन् २०१८ मा मा बीमा बिहिन अमेरिकीको संख्या दुई करोड ७५ लाख पुगेको छ । सन् २००९ पछि पहिलो पटक अमेरिकामा बीमा बिहिनको संख्या बढेको हो । पूर्व राष्ट्रपति बाराक ओबामा राष्ट्रपतिमा चुनिएपछि बीमा बिहिनको संख्या घट्दै अाएकाे थियो । उनले ओबामा केयर कार्यक्रम मार्फत बिपन्नहरुलाई बीमाको दायरमा समेटेका थिए । ट्रम्प लगायत रिपब्लिकनहरु सुरु देखिनै ओबामा केयर खोस्ने पक्षमा भए पनि सकेका छैनन् । तर, यसका कैयन् प्रावधान वर्तमान सरकारले यसमा कडाइ गरेको छ ।

    डेमोक्र्याटहरुले ट्रम्प प्रशासनले ओबामा केयर हटाउन नसके पछि नागरिकले पाइ रहेको सुविधामा बिभिन्न छिद्रको प्रयोग गरि कटौती गर्दा बीमा बिहिनको संख्या बढेको भन्दै आलोचना गरेका छन् ।

    ‘राष्ट्रपति ट्रम्पको निर्दयी स्वास्थ्य नीतिका कारण २० करोड नागरिकले आफ्नो आफ्नो बीमा गुमाइ सके, कुनै भवितव्य या केही भइहाले कसरी उपचार गर्ने भन्ने भय र चिन्तामा नागरिकहरु जीवन बिताउन बाध्य भएका छन्’ अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख एवं डेमोक्रेटिक नेतृ न्यान्सी पिलोसीले भनेकी छिन् ।

    यस्तै सिनेटका डेमोक्रेटिक नेता चक स्हुमरले स्वास्थ्य सुरक्षणप्रति रिपब्लिकनको पछिल्लो प्रहारले नागरिकहरुलाई जोखिममा धकेलेको टिप्पणी गरेका छन् ।

    तथ्यांक विभागका अनुसार सन् २०१७ को अन्त्यतिर दुई करोड ५६ लाख अमेरिकीसँग कुनै पनि स्वास्थ्य बीमा थिएन । गत बर्ष यो बढेर दुई करोड ७५ लाख पुगेको छ । यसरी कुल अमेरिकी जनसंख्याको यो साढे आठ प्रतिशत जनता स्वास्थ्य बीमाबाट बञ्चित भएका हुन् । २०२० को राष्ट्रपतिय प्रतिश्पर्धामा रहेका सबै डेमोक्र्याट नेताहरुले स्वास्थ्य बीमालाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् ।

  • डेंगु आतंक, डा सन्दुक रुइत पनि बिरामी

    डेंगु आतंक, डा सन्दुक रुइत पनि बिरामी

    काठमाडौैं । देशभर फैलिएको सरुवा रोग डेंगुले काठमाडौंमा महामारीको रुप लिने संकेत देखाएको छ ।

    हजारौं मानिसलाई प्रभावित बनाइसकेको यो रोगले आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई समेत संक्रमण बनाएको छ ।

    उनी अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारार्थ भर्ना भएका छन् ।

    देशभर ४८ भन्दा बढी जिल्लामा डेगुंका बिरामी फेला परिसकेका छन् । ५ हजारभन्दा बढीमा यसको स‌ंक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालमा पनि डंगुको संक्रमण देखिएको थियो । यो रोग लामखुट्टेको टोकाईका कारण सर्ने गर्छ ।

  • तन्दुरुस्त बनेर स्वदेश फर्किए प्रधानमन्त्री

    तन्दुरुस्त बनेर स्वदेश फर्किए प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन । सिंगापुरमा स्वास्थ्य उपचार गरी प्रधानमन्त्री शुक्रबार बिहान स्वदेश फर्किएका हुन् ।

    प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरु पुगेका थिए ।

    विमानस्थलमा प्रधानमन्त्री संचारकर्मीसँग बोल्न भने मानेनन् । उनी ५ भदौमा उपचारको सिलसिलामा सिंगापुर गएका थिए ।

    त्यसअघि १० दिन उपचार गरी उनी स्वदेश फर्किएका थिए । प्रधानमन्त्रीका निजी चिकित्सकहरुका अनुसार प्रधानमन्त्री तन्दुरुस्त बनेर स्वदेश फर्किएका छन् ।

    उनी अब नियमित काम गर्न सक्छन् । यसैबीच नेकपा अध्यक्ष प्रचण्डले शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    सिंगापुरमा रहेका बेला प्रधानमन्त्रीले दुई पटकसम्म भिडियो कन्फ्रेन्स गरी नेपालको हालखबर बुझेका थिए ।

  • कृषि मन्त्रीलाई डेंगुको संक्रमण, देशभर फैलिँदै प्रकोप

    कृषि मन्त्रीलाई डेंगुको संक्रमण, देशभर फैलिँदै प्रकोप

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालमा डेंगुको संक्रमण देखिएको छ । उनलाई उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको छ ।

    रगत जाँच गर्दा डेंगुको जिवाणु भेटिएपछि उनी अस्पताल भर्ना भएका हुन् । अघिल्लो शुक्रबार हेटौडा पुगेका मन्त्री खनाललाई रुघाखोकी र ज्वरोले च्यापेको थियो ।

    त्यसपछि रगत परिक्षण गर्दा डेंगुको संक्रमण देखिएको मन्त्री खनालको सचिवालयले जानकारी दिएको छ । मन्त्रीसहित अहिले देशभर ५ हजार भन्दा बढी मानिसमा यसको संक्रमण फैलिसकेको छ ।

    बिहीबार मात्रै सिन्धुपाल्चोकका एक जनाले ज्यान गुमाएका छन् । बिहीबार राजधानीका विभिन्न क्षेत्रमा डेंगु विरुद्धको छरिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार डेंगु नियन्त्रण बाहिर पुगेको छ । यसका लागि सेना नै परिचालन गर्नुपर्ने स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताइसकेका छन् ।

    डेंगु एक विशेष प्रकारको पोथी लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । दिउँसो सक्रिय हुने यो लामखुट्टेले टोकेको थाहा पाइन्न, तर टोकेपछि अति धेरै चिलाउँछ । र ठूल्ठूलो चाला उठ्ने गर्छ ।

    यस्तो लामखुट्टे घर भित्रैको सफा पानीमा उत्पन्न हुने र बढ्ने गर्छ । काठमाडौंमा धेरैजसो घरमा पानी जम्मा गरेर राख्नु पर्ने बाध्यताले यस लामखुट्टेको फैलावटमा सहयोग पुगेको हो ।

    सकेसम्म लामखुट्टेको टोकाईबाट बच्दा धेरै हदसम्म यो रोगको संक्रमणबाट बच्न सकिन्छ । आँखा, नाक, मुखबाट रगत बग्ने, पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने डेंगीका मूख्य लक्षण हुन्।

  • कस्तो छ प्रधानमन्त्रीलाई ?

    कस्तो छ प्रधानमन्त्रीलाई ?

    काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था गोप्य राखेको छ । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री विगत १२ दिनदेखि उपचारका क्रममा सिंगापुरमा छन् ।

    आम जनतालाई प्रधानमन्त्रीलाई कस्तो होला भन्ने निकै ठूलो चासो छ, तर सरकारले यो विषयमा स्पष्ट धारणा ल्याउन सकेको छैन ।

    यसै मेसोमा प्रधानमन्त्रीलाई भेट्ने सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल मंगलबार सिंगापुरतर्फ प्रस्थान गरेका छन् ।

    उनीसँगै नेकपा उपाध्यक्ष वामदेव गौतमसमेत जाने कार्यक्रम रहेको बताइए पनि गौतम भने गएनन् ।

    सिंगापुर उड्नुअघि नेता पौडेलले स्वास्थ्य अवस्था बुझ्ने र प्रधानमन्त्री सँगै स्वदेश फर्कने कार्यक्रम तय गरी आफू सिंगापुर जान लागेको बताएका थिए । प्रधानमन्त्री स्वस्थ रहेको समेत उनको भनाई थियो ।

    प्रधानमन्त्री २० भदौमा स्वदेश फर्कने बताइएको छ । यद्दपी उनको उपचार जारी रहेका कारण त्यो पनि सर्ने हो की भन्ने आशंका पनि छन् ।

  • भीरमा छाडिएका गाई-गोरु नेपालगन्ज पठाइयो, गृह मन्त्रालयले छानविन गर्ने

    भीरमा छाडिएका गाई-गोरु नेपालगन्ज पठाइयो, गृह मन्त्रालयले छानविन गर्ने

    काठमाडौं । दैलेखका लागि नेपालगन्जबाट पठाइएको गाई-गोरु बिहीबार सुर्खेतमा लगेर भीरबाट खसालिएको थियो । त्यसमध्ये करीव ३ दर्जन गाईगोरु मृत भेटिएका थिए ।

    करीव ३ सय गाई लगिएको अलपत्र अवस्थामा रहेका अन्य गाईलाई भने उद्धार गर्दै पुनः नेपालगन्ज पठाउन थालिएको छ ।

    वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारबाट नेपालगञ्ज पठाउन थालेको जानकारी दिएको छ ।

    प्रहरीका अनुसार शनिबार १४२ गाई नेपालगञ्ज पठाइएको छ । भीरबाट खसालिएका कारण कतिपय गाईगोरु भने घाइते छन् ।

    उनीहरुलाई भने उपचारपछि मात्र पठाइने प्रशासनले जानकारी दिएको छ । नगरपालिकास्थित पशु स्वास्थ्य शाखाका चिकित्सकले मृत भेटिएका गाईको मुचुल्का तथा शव परीक्षण गरेका थिए ।

    उनीहरुले घाइते पशुको समेत उपचार गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार यस घटनामा ३० गाइगोरु मरेका छन् ।

    जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उप–महानगरपालिकास्थित काञ्जीहाउसबाट दैलेखको शिरस्थान क्षेत्रतर्फ गाई गोरु पठाइएको हो ।
    यसैबीच शनिबार सुर्खेतमा गौहत्याको विरोधमा प्रदर्शनसमेत गरिएको छ । एक प्रदेशका पशु अर्को प्रदेशमा ल्याएर दानवीय हिसावले हत्या गरिएको भन्दै निन्दा गरिएको छ ।

    त्यसो त पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि यस घटनाको भ्रत्सना गरेका छन् । राप्रपा स्वयम:ले गौहत्या गरेको भन्दै उनले निष्पक्ष छानविन हुनुपर्ने बताएका छन् ।

    नेपालगन्ज नगरपालिकाको नेतृत्व राप्रपाले गरिरहेको छ । उता, गाईगोरुको हत्या भएको सम्बन्धमा गृह मन्त्रालयले समेत छानविन थालेको छ ।

  • देशभर फैलदै डेंगु

    देशभर फैलदै डेंगु

    काठमाडौं । सरुवा रोग डेंगुले महामारीको रुप धारण गर्ने संकेत देखिएको छ । सरकारले डेंगु नियन्त्रणबाहिर गएको भन्दै यसले महामारीको रुप धारण गरिसकेको बताएको छ ।

    बिहीबार स्वास्थ्य तथा जनसङख्या मन्त्री उपेन्द्र यादवले रोग नियन्त्रणमा सुरक्षाकर्मी परिचालन आवश्यक भइसकेको बताएको थिए ।

    मन्त्रालयअन्तर्गत ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार डेंगु डरलाग्दो गरी फैलिएको छ ।

    जसलाई नियन्त्रण गर्न निकै मुस्किल परिरहेको छ । नेपालमा पहिलो पटक सुनसरीको धरान नगरपालिकामा यो रोग देखिएको थियो ।

    तर, अहिले देशको अधिकांश भूभागमा डेंगुले फैलावट देखाइसकेको छ । डेंगु ४२ जिल्लामा फैलिएको मन्त्रालयले उल्लेख गरेको छ ।

    देशभर डेंगुबाट १५ सय ३७ जना संक्रमित भेटिएका छन् भने ३ जनाको ज्यान गइकसेको छ । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ ।

    एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर अन्य प्रकारको डेंगु लाग्न सक्छ । यो रोग लामखुट्टेको टोकाईका कारण लाग्ने गर्छ ।

    पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षण यस रोगमा देखिन्छन् ।

  • अमेजनको आगो नियन्त्रण गर्न जी-७ को पहल, २.२ करोड डलर खर्च गर्ने

    अमेजनको आगो नियन्त्रण गर्न जी-७ को पहल, २.२ करोड डलर खर्च गर्ने

    फ्रान्स । संसारमा सबैभन्दा बढी वर्षा हुने जंगल लामो समयदेखि आगलागीको चपेटामा परेको छ । आगलागी नियन्त्रणका हरेक उपाय फेल खाइरहेका छन् ।

    यस्तो अवस्थामा विश्वका ७ ठूलो अर्थतन्त्र भएका मुलुकले आगलागी नियन्त्रणमा २.२ करोड डलर खर्च गर्ने घोषणा गरेका छन् ।

    यसैसाता फ्रान्समा सम्पन्न जी ७ मुलुकहरुको बैठकले उक्त घोषणा गरेको हो । अमेजनलाई विश्वकै फोक्सो पनि मानिछ ।

    यस जंगलबाट विश्वलाई आवश्यक हुने २० प्रतिशत अक्सिजन उत्पादन भइरहेको वैज्ञानिकहरुको भनाई छ । तर, यो जंगल भिषण आगलागीले जलिरहेको छ ।

    वनस्पति र वन्यजन्तुको ठूलो क्षति भइरहेको छ । यो रकम आगोलागी नियन्त्रणका लागि जहाजहरु पठाउने काममा खर्च हुने भएको छ ।

    जी ७ मा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका रहेका छन् ।

    अमेजनको सिघ्र बचाउन यस कारण पनि महत्वपूर्ण की, यो आदीवासीहरुको घटना आवादी रहेको क्षेत्र पनि हो ।

    यहाँ सयौं आदिवासी आफ्नो परम्परा जोगाएर जंगलमा बसिरहेका छन् । जलस्रोतका दृष्टिकोणबाट ब्राजिल संसारको धनी देश हो । यसमा अमेजन जंगलको ठूलो हात रहेको छ ।

    एजेन्सी

  • उपत्यका भित्रै डेंगुका बिरामी, कसरी बच्ने ?

    उपत्यका भित्रै डेंगुका बिरामी, कसरी बच्ने ?

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशको ठूलो क्षेत्रमा यस वर्ष डेंगुको प्रकोप फैलिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म यस रोगबाट देशभर २ जनाले ज्यान गुमाइसकेका छन् । पूर्वी नेपालको सुनसुरी र सर्लाहीबाट शुरु भएको यो रोग क्रमशः उपत्यका र अन्य जिल्लासम्म फैलिएको हो ।

    मन्त्रालयमातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बर्षायाममा पानी जम्ने र त्यसबाट उत्पन्न हुने लामखुट्टेको टोकाईबाट यो रोगको संक्रमण बढ्ने गर्छ ।

    काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुरसहितका जिल्लामा डेंगुका बिरामी बढी पाइएको छ । यसबाहेक पूर्व नेपाल बढी प्रभावित रहेको मन्त्रालयको भनाई रहेको छ ।

    देशभर १ हजार भन्दा बढी बिरामी उपचारार्थ रहेको बताइएको छ । चिकित्सकहरुका अनुसार लामखुट्टेको टोकाईबाट बच्नु नै डेंगु रोगबाट बच्ने सबैभन्दा सिजिलो उपाय हो ।

    यो रोग लागेको बिरामीमा ज्वरो आउने, रूघाखोकी लाग्ने, खान मन नलाग्ने, जीउ दुख्नेजस्ता लक्षण देखा पर्छ। उपचारमा लापरवाही गरे बिरामीको निधन समेत हुन सक्छ ।

  • फलफुल खानुहुन्छ ? सावधान !

    फलफुल खानुहुन्छ ? सावधान !

    योगेश डंगोल ‘आदी’/न्यूयोर्क

    अमेरिकामा हुनुहुन्छ र फलफुल खाँदै हुनुहुन्छ भने पर्खनुस् । पहिले फलफुलमा टाँसिएको स्टिकर हेर्नुस् । त्यसमा कतिवटा अंक छ ? कतिबाट शुरु भएको छ ? त्यो अंकको अर्थ के हो, के जनाई रहेको छ ? त्यो जानकारी लिएर मात्र खाँदा सही फलफुल खाएको ठहर्नेछ । नत्र अनेकौं डरलाग्दो रोगको शिकार हुन सक्नुहुन्छ । सरकारको स्वास्थ्य बिभागले फार्मबाट तुरुन्तै टिपेर ल्याएको फार्मर्स मार्केटको अर्गानिक फलफुल बाहेकका कुनै अन्य फलफुलको उत्पादन प्रकृया र भण्डारन गरिएको अवस्थाको चेकजाँच गरेर स्टिकर टाँसेपछि मात्र बजारमा बेचबिखन गर्न पाईन्छ । अमेरिकाको समस्या के छ भने, युरोपमा बन्देज गरिएको अवस्थाको फलफुल, तरकारी, जुस इत्यादी अमेरिकामा खुलेआम बिक्री बितरण भईरहेको हुन्छ । भारतबाट बिषाक्त तरकारी नेपालमा भित्रिएको समाचार जस्तै डरलाग्दो तरकारी फलफुल अमेरिकामा पनि बिक्री भईरहेको छ । 

    प्लास्टिकको भाँडोमा माईक्रोवेभ मार्फत तताएर खाँदा जस्तै खतरनाक तत्वहरु पेस्टिसाईट्स, प्रोसेस्ड र इन्जेक्टेड फलफुल तरकारीहरु खाँदा शरिरमा प्रवेश गर्दछ । जसको कारण क्यान्सर जस्ता रोगहरु लाग्ने सम्भावना बढी रहन्छ । यो नसोच्नुस् कि अमेरिकामा सबै कुरा राम्रो पाईन्छ । अमेरिका पैसाले सबै काम कुरा गर्न सकिने देश हो । कसैसँग यथेष्ट पैसा छ भने अमेरिकामा मान्छे मारेपनि कानूनका अनेक छिद्र प्रयोग गरी जेल बस्न नपर्ने देश हो । यहाँ जुन सामान, जति मुल्यमा, जसले जसरी बेचेपनि महंगो मुल्य लिएको निहुँमा कारवाही हुँदैन । उपभोक्ता आफै सचेत छैन भने यहाँ उस्तै चिजलाई दोब्बर मुल्य पनि लिइ दिन सक्छ । नेपालमा जस्तो खाद्य पदार्थको मुल्य सरकारले निर्धारण गर्दैन । अर्थात यहाँ समाजबादको कुनैपनि तप्काको अभ्यास हुँदैन । त्यसैले आफुले दैनिक खाने खाना कस्तो छ ? त्यो जान्न जरुरी छ । खासगरी फलफुल र तरकारी ।

    सामान्यतया हामीले बजारमा फलफुल छान्दा चिल्लो दाग नलागेको हेरेर छान्छौं । जुन गलत हो । राम्रो फलफुल चिल्लो हुँदैन । धरैजसो फलफुलमा लामो समयसम्म किरा नलागोस् भनेर किरालाई मन पर्ने फलफुलको गुण नै सुई हालेर निष्कृय पारेको हुन्छ । नकुहिनको लागि र फलफुलमा साईनिङ् ल्याउनको लागि टोक्सिक केमिकल्स लगाईन्छ । फरबुजालाई गुलियो बनाउका लागि इरिथ्रोसिन बी नामक सुई लगाइन्छ । रंगको सुई नगलाएको फरबुजा सिन्दुर जस्तो रातो कहिल्यै हुँदैन । काँचो केरा, गोलभेडा, आँप, सुन्तला, स्याऊ इत्यादी फलफुललाई काँचैमा किराबाट बचाउनको लागि टिपेर सुईबाट बाँकी पकाउनेसम्मको प्रकृया पुरा गरेको हुन्छ ।

    हरेक फलफुलमा टाँसिएको अंकको अर्थ के हो ?

    यदि फलफुलमा ५ अंकवाला स्टिकर टाँसिएको छ र त्यो ९ बाट शुरु हुन्छ भने त्यो पूर्ण रुपमा शुद्ध अर्गानिक हो । यस्तो फलफुल होलफुड, कुनै कुनै ट्रेडर्स जो, सबै अर्गानिक मार्केट्समा पाईन्छ । (न्यूयोर्क ज्याक्सन हाईट्समा बस्नुहुन्छ भने ३७ एभेन्यू बिटवीन ८४ र ८५ स्ट्रिटको अर्गानिक मार्केटमा पाईन्छ) 

    कुनै फलफुलमा ५ अंकवाला स्टिकर छ तर ८ बाट शुरुभएको छ भने जेनेटिकल्ली मोडिफाईड हो । खान सकिन्छ र अर्गानिक होइन ।

    तँपाईले किन्नु भएको फलफुलमा ४ अंकवाला स्टिकर छ । जुन ३ वा ४ अंकबाट शुरु भएको छ भने आजै खान बन्द गर्नुहोस् । त्यो फलफुललाई ३ ओटा कृतिम प्रकृया पुरा गरेको छ । पकाउन, सुरक्षित राख्न र चिल्लो देखाउन ३ किसिमको हानिकारक केमिकलको प्रयोग गरिएको छ । थप जानकारी हेल्थ डिपार्टमेण्टको वेवसाईड वा गुगलदाईबाट लिन सकिन्छ ।

    हरेक वर्ष अमेरिकामा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सरकारले चेतनामुलक कार्यक्रम गरिरहेको हुन्छ । तर व्यापारी र पहुँचवालाले त्यो समाचार बाहिर आउन नै दिदैनन् । सरकारी निकायले पनि, कारण भगवान जानुन, तर तदारुकताका साथ पहल गर्दैनन् । जबकी युरोपमा हरेक महिना यस सम्वन्धमा जनचेतनामुलक कार्यक्रमहरु भईरहेका हुन्छन् । वर्ल्ड हेल्थ अर्गनाईजेशन र डिपार्टमेण्ट अफ हेल्थ लगायतका सरोकारवाला निकायलाई सबै यथार्थ थाहा छ तर अमेरिकाको ३० करोड जनताको बजार मागलाई बिचार गरेर यस बिषयमा मौन देखिन्छ ।

    सरकारले रोकोस् नरोकोस्, आफु र आफ्नो परिवारको स्वास्थ्यलाई बिग्रनबाट रोक्ने काम तँपाईको हो । थोरै खानुहोस् तर राम्रो शुद्ध खानुहोस् । खानाको स्वरुपमा बिष सेवन गरेर बहुमुल्य जीवनलाई रोगको मुख नधकेलौं ।

  • उपचारका लागि प्रधानमन्त्री आज पुन: सिंगापुर जाँदै

    उपचारका लागि प्रधानमन्त्री आज पुन: सिंगापुर जाँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे आम जनमानसमा निकै चासो रहेको छ ।

    तर, उनको स्वास्थयको यथार्थ अवस्था के छ भन्ने जानकारी नै नगराई १० दिनको अन्तरालमा प्रधानमन्त्री पुनः आज सिंगापुर प्रस्थान गर्दैछन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो साढे १ बजे थाई एयरको नियमित उडानबाट उनी सिंगापुर प्रस्थान गर्दैछन् ।

    उनको साथमा पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंहसहितको एक सानो टोली रहेको छ ।

    २७ साउनमा फर्किएका प्रधानमन्त्रीले यस बीचमा केही भाषणका दौरान आफू ठिक रहेको र विपक्षीले आफ्नो मृत्युको कामना गर्न भ्याएको सम्म भने ।

    तर, उनलाई के भइरहेको छ र अब केका लागि सिंगापुर जान लागेका हुन् भन्नेबारे भने सरकारले आधिकारिक जानकारी जनतालाई गराउन उचित ठानिरहेको छैन ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार चिकित्सकको सल्लाह अनुसार नै उनी सिंगापुर जान लागेका हुन् ।

    प्रधानमन्त्रीले सिंगापुरमा रहँदा त्यहास्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य उपचार गराउन छन् ।

    अघिल्लो पटक उनी ९ दिनसम्म सिंगापुर बसेका थिए । उनको खर्च भने व्यक्तिगत रहेको बताइएको थियो । १२ वर्ष अगाडी मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था उनी फर्किएपछि मात्र प्रष्ट हुने भएको छ ।

  • सिंहदरवार भित्रै कर्मचारीद्धारा विष सेवन गरी आत्महत्या

    सिंहदरवार भित्रै कर्मचारीद्धारा विष सेवन गरी आत्महत्या

    काठमाडौं । देशको सबैभन्दा ठूलो तथा मुख्य प्रशासनिक केन्द्र मै कर्मचारीले विष सेवन गरी आत्महत्या गरेका छन् ।

    राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी आफनो कार्यकक्षमै मृत अवस्थामा भेटिएको प्रहरीले पुष्टी गरेको छ ।

    उनले विष सेवन गरेको र साथबाट सुसाइड नोट समेत फेला परेको प्रहरीको भनाई छ ।

    केसीले सुसाइट नोटमा अंशबन्डाको विषय उल्लेख गरेको प्रहरीले जनाएको छ ।

    श्रीमतीको नाम सम्बोधन गरेर लेखिएको नोटमा थोरै अंश पाइयो भनेर चिन्ता नगर्न सुझाव दिएको नोट प्रहरीले फेला पारेको छ ।

    घरायसी विवादका कारण तनावमा आइ आत्महत्या गरेको हुन सक्ने आंशका छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

    उनले आफुुले कसैका कारण पनि आत्महत्या नगरेको भन्दै अर्को अर्थ नलगाउन समेत नोटमा लेखेको प्रहरीले बताएको छ ।

    उनको शव भेटिएको स्थान नजिकै कृषि बालीमा प्रयोग किटनाशक औषधिको खोल र केराको बोक्रा भेटिएको थियो ।

    उनले केरासँगै विष सेवन गरेको आंशका प्रहरीको छ । उनी कीर्तिपुरका स्थायी बासिन्दा रहेको बताइएको छ ।

    सिंहदरवार परिसर भित्रै आत्महत्याको यो भने पहिलो घटना हो ।

    पछिल्लो समय श्रृंखलावद्ध रुपमा बढेको आत्महत्याको खबरले समाजलाई चिन्तित बनाइरहेको छ ।

  • उपचारमा प्रधानमन्त्री पुनः सिंगापुर जाने, आज सर्वदलिय बैठक

    उपचारमा प्रधानमन्त्री पुनः सिंगापुर जाने, आज सर्वदलिय बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका सिलसिलामा पुनः सिंगापुर जाने भएका छन् ।

    उनी आगामी बिहीबार सिंगापुरतर्फ जाने तय भएको हो । त्यसअगाडी प्रधानमन्त्रीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक आह्वान गरेका छन् ।

    बालुवाटार स्रोतका अनुसार उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा आह्वान गरेका छन् ।

    पछिल्लो समय प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर चासो बढिरहको छ । उनले पनि सार्वजनिक कार्यक्रमहरुमा आफ्नो स्वास्थ्य अवस्थाको बारेमा खुलेर बोलिरहेका छैनन् ।

    संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दलको प्रतिनिधित्व रहेको छ ।

    प्रधानमन्त्री दुई साता अगाडी मात्र करीव ९ दिन सिंगापुर मै बसेर उपचार गरी घर फर्किएका थिए ।

    तर, स्वास्थ्यमा लगातार समस्या देखिएपछि उनी पुनः विदेश जाने तयारीमा छने ।

    नजिकिएको उपनिर्वाचन, सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगमा पदाधिकारीको नियुक्तिजस्ता विषय पनि सर्वदलिय बैठकको एजेन्ण्डा बन्न सक्ने बताइएको छ ।

    यसबाहेक प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्था बारे दलहरुलाई जानकाररी समेत गराउन सक्छन् ।

  • बिग्रदैछ मौसम, सचेत रहन आग्रह

    बिग्रदैछ मौसम, सचेत रहन आग्रह

    काठमाडौं । देशभर मौसम अदलबदल भइरहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहने सर्वसाधारणसँग आग्रह गरेको छ ।

    बाढी सूचना केन्द्रका अनुसार ठूला र साना नदीहरुमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ ।

    देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने र पश्चिमी पहाडी भू-भागका मेघगर्जन तथा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई रहेको छ ।

    शनिबार दिउँसो पूर्वी तथा मध्यपहाडी भू-भागका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । शनिबार र आइतबार कन्काई, कमला, बागमती र महाकाली नदीमा बहाव बढ्ने अनुमान गरिएको छ ।

    यी नदीको किनारमा बस्ने मानिसले सचेतना अपनाउनु पर्ने बाढी सूचना केन्द्रको भनाई रहेको छ ।

    झापा, मोरङ, इलाम, उदयपुर, सिन्धुली, कैलाली, कञ्चनपुरलगायत जिल्लामा बग्ने नदीमा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ ।

    साना र ठाडो खोलाहरुमा पनि अकस्मात बाढीको सम्भावना रहेको केन्दको भनाई रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार चुरेबाट बहने नदीमा पानीको बहाव आकस्मिक वृद्धि हुन सक्छ ।

    बिहीबारदेखि सक्रिय रहेको बादलले देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ ।

  • प्रधानमन्त्री फेरी अस्वस्थ

    प्रधानमन्त्री फेरी अस्वस्थ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य समस्या आएको छ । ९ दिन सिंगापुरमा उपचार गरी सोमबार स्वदेश फर्किएका प्रधानमन्त्रीको स्वास्थ स्थिति पुनः बिग्रिएको बालुवाटर स्रोतले जानकारी दिएको छ ।

    प्रधानमन्त्री अस्वस्थ भएपछि बिहीबार बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित गरिएको छ ।

    नेकपाका अनुसार बैठक अब शुक्रबार पुनः बस्ने गरी डाकिएको छ । बैठक आयोजनापछि नेकपाका नेताहरु बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री अस्वस्थ भएपछि बैठक बस्ने सकेन ।

    उनी ज्वरोका कारण अस्वस्थ भएको बताइएको छ । नेकपालको सचिवालय बैठक अपरान्ह तीन बजेटका लागि बोलाइएको थियो ।

    प्रधानमन्त्री मृगौलासम्बन्धी रोगका कारण बढी संक्रमणको जोखिममा छन् । सोमबार स्वदेश फर्कने क्रममा विमानस्थलमा कुनै प्रतिक्रिया नदिएका प्रधानमन्त्रीले टुई गर्दै आफू स्वस्थ बनिसकेको बताएका थिए ।

    बिहीबार प्रधानमन्त्री निवासमै आयोजना भएका अन्य कार्यक्रममा पनि उनी उपस्थित हुन सकेनन् । विश्वविद्यालयसम्बन्धी एक कार्यक्रम बिहीबार प्रधानमन्त्री निवासमै राखिएको थियो ।

  • अझै भेटिएनन् त्रिशुलीमा हराइरहेका डेढ दर्जन यात्रु

    अझै भेटिएनन् त्रिशुलीमा हराइरहेका डेढ दर्जन यात्रु

    धादिङ । त्रिशुली नदीमा बस दूर्घटनामा परी हराइरहेका १९ यात्रु अझै वेपत्ता छन् । शुक्रबार पृथ्वीराजमार्गको धादिङ, बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट बस त्रिशूली नदीमा खसेको थियो ।

    जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार यात्रुको खोजीमा गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँसम्म खोजी कार्य जारी रहेपनि वेपत्ताको कुनै अत्तोपत्तो छैन ।

    प्रहरी नदि किनारमा खटिएर खोजी जारी राखेपनि फेला पार्न नसकिएको प्रहरीको भनाई रहेको छ ।

    सर्लाहीको मलङ्गवाबाट ४५ यात्रु बोकेर काठमाडौँ आइरहेको ना ६ ख ७४६९ नम्बरको बस त्रिशूली नदीमा खसेर दूर्घटना भएको थियो ।

    दुर्घटनामा परी ११ जनाको निधन भइसकेको छ । उनीहरुको शव फेला परेको हो ।

    केही यात्रुलाई सकुसल उद्दार गरिएको थियो । अझै १९ यात्रु हराइरहेको प्रहरीको भनाई रहेको छ । पृथ्वी राजमार्ग सबैभन्दा व्यस्त तथा जोखिमपूर्ण राजमार्ग हो । यहाँ हजारौं मानिसले ज्यान गुमाइसकेका छन् ।

  • स्वदेश फर्किए प्रधानमन्त्री

    स्वदेश फर्किए प्रधानमन्त्री

    काठमाडौं । सिंगापुरमा स्वास्थ्योपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन ।

    शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम तय गरी अघिल्लो शनिबार सिंगापुर गएका प्रधानमन्त्री ९ दिनपछि स्वदेश फर्किएका हुन् ।

    प्रधानमन्त्रीले आफ्नो भ्रमणलाई अनौपचारिक भएको बताए । उनले विमानस्थलमा संचारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् ।

    आफू ठिक भएको फर्किएको भन्दै प्रधानमन्त्रीले केही दिनपछि सबै जानकारी थाहा हुने समेत उल्लेख गरे  ।

    त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीको स्वागतका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपाका बामदेव गौतमलगायत पुगेका थिए ।

    प्रधानमन्त्रीलाई विमानस्थलमा नेपाली सेनाले पनि सलामी दिएन् । सामान्यतया राजकीय भ्रमणका बेला मात्र सेनाले सलामी दिने प्रचलन रहेको छ । प्रधानमन्त्री मृगौलाको रोगबाट ग्रसित छन् ।

  • बालुवा निकाल्न खनेको खाल्डोले लियो दुई युवाको ज्यान

    बालुवा निकाल्न खनेको खाल्डोले लियो दुई युवाको ज्यान

    धादिङ । जथाभावी वालुवा निकाल्ने र खोलानालाको दोहन अत्यधिक भएका क्षेत्रमा दूर्घटनाको जोखिम ह्वात्तै बढेको छ ।

    शनिबार मात्र धादिङमा दुई युवाले बालुवा निकाल्न खनेको खाल्डोमा परी ज्यान गुमाउनु परेको छ ।

    गजुरी गाउँपालिका-६ ठुलीफाँटस्थित दरिङगाल खोलामा खाल्डोमा डुबेर स्थानीय २१ वर्षीय भीम तामाङ र २३ वर्षीय सुमन स्याङतानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार युवाको मृत्यु भएपछि आक्रोसित स्थानीयले दुई डोजरमा आगजनी गरेका छन् । प्रहरीका अनुसार ती युवा खोलामा बालुवाकै काम गर्ने मजदुर हुन् ।

    खोलामा बालुवा कति छ भन्ने बारे परीक्षण गर्दागर्दै यसअघि खनेको खाल्डोमा युवा परेको प्रहरीको भनाई छ ।

    खासगरी सुख्खा याममा खनेका खाल्डाहरुले अहिले पानीको बहाव बढेपछि पानीले पुरिएका छन् ।

    जसले गर्दा खोलामा जोखिम बढाएको छ । देशका सबैजस्तो नदीमा अहिले बालुवा तथा गिट्टीको अनाधिकृत दोहन भइरहेको छ ।

  • त्रिशुलीमा बस दूर्घटना, २६ वेपत्ता, १६ जनालाई जिवित उद्दार

    त्रिशुलीमा बस दूर्घटना, २६ वेपत्ता, १६ जनालाई जिवित उद्दार

    धादिङ । बेनिघाटस्थित त्रिशुली नदीमा खसेर दूर्घटनाग्रस्त बसमा सवार रहेका यात्रु मध्ये १६ जनाको सकुशल उद्दार गरिएको छ ।

    तीन यात्रुले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार बसमा ४५ जना यात्रु थिए । २६ जना अझै वेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ ।

    शुक्रबार बिहान साढे ३ बजे दूर्घटनामा परेको बसको उद्दार अबेर मात्र शुरु एको थियो । प्रहरीका अनुसार ना ६ ख ७४६९ नम्बरको बस सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै थियो ।

    ज्यान गुमाउने तीनै जनाको सनाखत भइसकेको छ । प्रहरीका अनुसार दूर्घटनामा परी सर्लाही ब्रहम्पुरी गाउँपालिकाका राजनारायण रौनियार श्रीमती शोभा रौनियार र उनका भतिज सौरभ रौनियार रहेका छन् ।

  • पूर्ण डिजिटल बन्दै एक सरकारी अस्पताल

    पूर्ण डिजिटल बन्दै एक सरकारी अस्पताल

    काठमाडौं । नेपालमा सरकारी अस्पतालको छवि राम्रो छैन । सरकारी अस्पताल भन्नासाथ धेरै भीड, भद्रगोल व्यवस्था र अस्तव्यस्तताको प्रतिक मानिन्छन् ।

    तर, नेपालमै एक यस्तो सरकारी अस्पताल छ, जसले आफ्नो सेवालाई क्रमशः डिजिटल बनाउँदै लगेको छ ।

    नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा अब अनलाइनबाटै टिकट बुक गर्न सकिने सुविधा शुरु भएको छ ।

    अस्पतालको ओपिडी टिकट लिन अब बिरामी र उसको आफन्त लाइनमा बस्ने नपर्ने भएको हो । प्रभु पे मोबाइल वालेटका माध्यमबाट सर्वसाधारणले सजिलै टिकट काट्न सक्ने अस्पतालले जानकारी दिएको छ ।

    घरमै बसेर आफ्नो रोगको सम्बन्धित विभागका लागि टिकट खरीद गर्न सकिने सुविधाको विकास गरिएको हो ।

    यससँगै नेपालमा पहिलो पटक कुनै पनि अस्पतालले एप्सका माध्यमबाट टिकट काट्न सकिने सजिलो माध्यम शुरु गरेको हो ।

    यो अस्पताल निजामती कर्मचारीलाई लक्षित गरी खोलिएको हो । तर, यहाँ सर्वसाधारणको पनि निकै राम्रो उपचार हुने गरेको छ ।

    अस्पतालका अनुसार दैनिक औसतः ८ सय जना सर्वसाधारणको ओपिडीमा उपचार हुने व्यवस्था मिलाइएको छ । यो अस्पताल छिमेकी मुलुक चीनको सहयोगमा निर्माण भएको हो ।

  • एकै दिन तीन आत्महत्या, किन रोज्दैछ व्यक्तिले डरलाग्दो बाटो ?

    एकै दिन तीन आत्महत्या, किन रोज्दैछ व्यक्तिले डरलाग्दो बाटो ?

    काठमाडौं । माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनीले चितवन पुगेर आत्महत्याको बाटो रोजेका छन् ।

    प्रहरीका अनुसार उनी सोमबार राती चितवनको नारायणगढस्थित बसपार्क नजिकै कंगारु होटलको कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

    उनी सोमबार दिँउसो साढे तीन बजे होटेलमा चेकइन गरेका थिए । रातको खाना खाने बेला बोलाउँदा उनले ढोका खोलेनन् ।

    त्यसपछि लामो समयसम्म ढोका नखुलेपछि होटेलले प्रहरीलाई खबर गरेको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा उनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीको भनाई छ ।

    उनी नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ कुमरीका स्थायी हुन् । पत्रकार रवि लामिछानेको कार्यक्रम न्यूज २४ को सीधा कुरा जनतासँग पनि आवद्ध भई काम गरिसकेका पत्रकार हुन् ।

    सोमबार नै काठमाडौंको कपनमा एउटै रुखमा पासो लगाएर युवायुवतीले आत्महत्या गरेको प्रहरीले बताएको छ ।

    सोलुखुम्बु सोताङ(४, नाम्लुङका २१ वर्षीय अमिर चन्द्र नाछिरिङ र दूधकोशी गाउँपालिकाकी २३ वर्षीया निर्मला खालिङले एउटै रुखमा पासो लगाएर झुण्डिएका हुन् ।

    विवाहित खालिङकी एक छोरीसमेत छिन् भने नाछिरिङ अविवाहित हुन् । निर्मलाका श्रीमान वैदेशिक रोजगारीमा रहेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

    उता, सोमबार नै कुलत छुटाउन सुधार केन्द्रमा राखिएका एक पुरुषले सुधार गृहभित्रै झुण्डिएर आत्महत्याको बाटो रोजेका छन् । भक्तपुरको सूर्यविनायक-९, नंखेलस्थित भाटेढिकुरको नयाँ बिहानी सुधार केन्द्रमा ३९ वर्षीय माधव कार्कीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    उनी नेपाली सेनाका अवकासप्राप्त कर्मचारी रहेको बताइएको छ । उनी दोलखाका स्थायी बासिन्दा हुन् ।

    पछिल्लो समय नेपालमा विवाहइत्तर सम्बन्ध राख्ने र गल्ती गरेपछि त्यसको ढाकछोपका लागि आत्महत्याको बाटो रोज्ने प्रवृत्ति फैलिएको छ ।

    खासगरी वैदेशिक रोजगारीमा जाने परिवारहरुमा यो समस्या डरलाग्दो गरी फैलिरहेको छ । यसले गम्भीर सामाजिक समस्या ल्याउने चिन्ता समाजशास्त्रीहरु गर्छन् ।