Category: कला / साहित्य

  • दुर्गा पक्ष सुरु : बडादशैंको रौनक, आज घरघरमा घटस्थापना गरिँदै

    दुर्गा पक्ष सुरु : बडादशैंको रौनक, आज घरघरमा घटस्थापना गरिँदै

    पूर्णप्रसाद मिश्र\रासस

    ६ असोज, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दशैं आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसँै घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

    आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

    जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ ।

    घटस्थापनाको साइत ०९ : १३ बजे
    आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान ०९ः१३ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए ।


    दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

    दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

    नौ दिन नौ दुर्गाको पूजा
    यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दशैं पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

    दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष ।माथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् ।

    नवरात्रभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो समेत हुनेगर्छ ।

    विजयादशमीको साइत असोज १६ गते बिहान ११ : ५३ बजे
    नवरात्र भनेरसमेत चिनिने दसँै नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष १० रात र ११ दिनको हुन पुगेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले यस्तो अवस्थामा खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको समितिका पूर्वअध्यक्ष प्राश्रीकृष्ण अधिकारीले बताए ।
    आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmलप्रसाद ग्रहण गर्ने गरिन्छ ।

    असोज १६ गते देवी विसर्जनको साइत बिहान ०९ : २३ बजे रहेको समितिले जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ : ५३ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाइ धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।

    Source : Hamro patro

    हनुमानढोकाको दशैं घरमा विशेष पूजा
    परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसँै घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । आज बिहान वैदिक विधिपूर्वक समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले बताए । दशैं घरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।

    रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दशैंको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादशैं लाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दशैंका अवसरमा आजैदेखि बिदा दिने गरेका छन् ।

  • माओवादीको ऐतिहासिक निर्णय : केन्द्रीय समिति भङ्ग गर्ने, विशेष महाधिवशेन बोलाउने

    माओवादीको ऐतिहासिक निर्णय : केन्द्रीय समिति भङ्ग गर्ने, विशेष महाधिवशेन बोलाउने

    ५ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मौजुदा केन्द्रीय समिति विघटन गरी महाधिवशेन आयोजक समिति बनाउने प्रस्ताव आसन्न केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समितिको ‘एजेण्डा’का रुपमा प्रस्तुत गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।


    “महाधिवशेनमा जाने कुरा भइरहेको थियो, बदलिँदो परिस्थितिमा आधिकारिक मञ्चबाट संस्थागत धारणा बनाउनुपर्ने आवश्यकता भयो । पार्टी जीवनको सबैभन्दा सर्वोच्च संस्था महाधिवशेन हो”, प्रवक्ता सापकोटाले भने, “महाधिवेशनमा जानका लागि मौजुदा केन्द्रीय समिति विघटन गरेर अध्यक्षको योजकत्वमा महाधिवशेन आयोजक समिति बनाउने प्रचलन छ ।”

    विशेष महाधिवशेनसम्बन्धी प्रस्तावमाथि छलफल गर्न माओवादीले यही असोज ८ गते स्थायी समिति बैठक बोलाएको छ । सो बैठकमा पदाधिकारी बैठकको निर्णयबारे छलफल हुनेछ । केन्द्रीय समितिको बैठक यही असोज ९ गते बस्नेछ । केन्द्रीय समिति बैठकले पदाधिकारी बैठकको प्रस्तावमाथि छलफल गरी निर्णय लिनेछ । जेनजी प्रदर्शनपछि राजनीतिक दलमा पुस्तान्तरणका लागि दबाब बढिरहेको छ ।

    “नेतृत्वको हस्तान्तरण सम्बन्धमा विचार, विधि र प्रक्रियाका बारेमा प्रारम्भिक छलफल भयो”, उपाध्यक्ष सापकोटाले भने, “आगामी कार्यक्रमका बारेमा पनि विस्तृत छलफल भएको छ । सोसम्बन्धी प्रस्ताव पनि केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरिएको छ ।” बैठकमा अध्यक्ष दाहालले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै पार्टी नयाँ स्वरुपबाट अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए । अध्यक्षको प्रस्तावमाथि सबै पदाधिकारीले धारणा व्यक्त गरेका थिए ।


    बैठकले घोषित मितिमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकामा कुनै कमी आउन नदिने निर्णय गरेको उपाध्यक्ष सापकोटाले जानकारी दिए । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेको छ । माओवादीले देशभक्त लोकतान्त्रिक र अग्रगमनका पक्षधर सबैलाई वर्तमान परिस्थितिका बारेमा एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्ने निर्णय गरेको उनले जानकारी दिए ।


    “देश नयाँ परिस्थितिबाट अघि बढ्दै छ, परिवर्तनकारी शक्ति एकजुट भएर अघि बढ्नुपर्छ भन्ने बैठकको निष्कर्ष छ”, सापकोटाले भने, माओवादीले जेनजी पुस्ताले उठाएका माग जायज भए पनि त्यसभित्र घुसेर निर्माण गरिएको विशेष परिस्थितिमा अग्रगमन पक्षधर शक्तिको एकताबद्ध प्रयास आवश्यक भएको निष्कर्ष निकालेको छ ।

  • थप ५ मन्त्री नियुक्तिको तयारी, को-को हुँदैछन् ?

    थप ५ मन्त्री नियुक्तिको तयारी, को-को हुँदैछन् ?

    ५ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् । उनले पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्री नियुक्ति गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको स्रोतहरुले पुष्टी गरेका छन् ।

    सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ भोलि मात्रै हुने तयाुरी छ ।
    राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री कार्यालयबाट मन्त्रीहरुको सिफारिस राति आइपुगेको छ । शपथ भोली हुने भएको छ ।

  • संविधान दिवसमा बृहत शान्ति र्‍याली

    संविधान दिवसमा बृहत शान्ति र्‍याली

    ३ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा आज बिहान बृहत शान्ति र्‍यालीको आयोजना गरिएको छ । काठमाडौँको माइतीघरबाट सुरु भएको शान्ति र्‍याली भद्रकाली, सहिदद्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघर पुगेर सभामा परिणत भएको थियो । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) उक्त कार्यक्रममा संविधानविद्, पत्रकार, वकिल, मानवअधिकारकर्मी, शिक्षक, बुद्धिजीविलगायत विभिन्न पेसा र व्यवसायसँग आबद्ध नागरिकको सहभागिता थियो । र्‍यालीमा सहभागीहरुले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    विस २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिँदै आइएको छ । र्‍यालीमा सहभागीहरुले समयसापेक्ष संविधानमा संशोधन र सुधार गर्दै लैजानुपर्नेमा जोड दिए । आजै राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा संविधान दिवस मूल समारोहद्वारा अहिले सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस कार्यक्रम भइरहेको छ ।

  • नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

    नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

    ३ असोज, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना आज सन्देश दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिनेछ भनी शुभकामना व्यक्त गरेका हुन् ।


    राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको बताए । उनले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान गरे ।

    राष्ट्रपति पौडेलले मुलुकको संस्कृति र प्रकृतिले देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको छ भन्दै सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सकेमात्र पनि नेपाल समुन्नत राष्ट्रको अग्रस्थानमा छिट्टै नै पुग्न सक्ने विश्वास व्यक्त गरे । हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचनाको बहुजाति, बहुभाषी एवं बहुसंस्कृतिलाई संविधानले समान संरक्षण प्रदान गरेको छ । उनले यस्तो अवस्थामा नेपालीहरूबीच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोहीकसैबाट नहुने अपेक्षा गरे ।


    विसं २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा आज संविधान दिवस (राष्ट्रिय दिवस) मनाइँदैछ । दिवसका अवसरमा राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरे ।

    उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । साथै उहाँले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताहरूप्रति सम्मान एवं श्रद्धा प्रकट गर्दै लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गरे ।

  • आज संविधान दिवस, देशैभरी सार्वजनिक बिदा

    आज संविधान दिवस, देशैभरी सार्वजनिक बिदा

    ३ असोज, काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।

    नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।
    विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका हुन् ।

  • अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

    अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

    २ असोज, काठमाडौं । ‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् (अस्कर अवार्ड)’मा नेपालको प्रतिनिधित्व चलचित्र ‘अञ्जिला’ले गर्नेभएको छ । नेपालस्थित अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समितिले संयुक्त राज्य अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’ अन्तर्गत ‘अन्तरराष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको जानकारी दिएको छ । छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।


    उनले भने, “चलचित्रको गहन मूल्याङ्कनपछि प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर हामीले सो चलचित्रलाई छनोट गरेका हौँ ।” चलचित्र ‘अञ्जिला’ नेपाली महिला फुटवल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडी सुब्बाले नै अभिनय गर्नुभएको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् । उक्त चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले खेलाडीको विषयमा बनेको चलचित्रले नेपालमा प्रतिनिधित्व गर्नु गौरवको विषय रहेको बताए ।


    “नेपालले खेलमा राम्रो प्रगति गरिरहेको छ, सोही कारण हामीले खेलाडी सुब्बाको जीवनी र सङ्घर्षलाई समेटेर चलचित्र तयार गरेका हौँ । यसले नेपालको सुन्दरतासँगै महिला खेलाडीको सङ्घर्षपूर्ण यात्रा र सफलताको कथा समेटेको छ । यो अन्यका लागि प्रेरणा पनि बन्ने छ”, निर्माता श्रेष्ठले भने । चलचित्र ‘अञ्जिला’मा खेलाडी सुब्बासँगै दयाहाङ राई, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धी तामाङलगायतका कलाकारले अभिनय गरेका छन् । निर्माण पक्षका अनुसार गत वर्ष नेपालमा प्रदर्शन भएको सो चलचित्रले रु नौ करोडको हाराहारीमा व्यापार गर्न सफल भएको थियो ।

  • सीके राउतको पार्टी जनमतका वरिष्ठ उपाध्यक्षसहित छ जनाले दिए सामूहिक राजीनामा

    सीके राउतको पार्टी जनमतका वरिष्ठ उपाध्यक्षसहित छ जनाले दिए सामूहिक राजीनामा

    २ असोज, काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिएका छन् । नेतृत्व परिवर्तनको माग पुरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदुरपश्चिम प्रदेश) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले बुधबार पार्टी अध्यक्ष डा चन्द्रकान्त राउत र सङ्गठन विभाग डा जयकान्त राउतको २४ घण्टाभित्र स्वेच्छिक राजीनामाको माग गरेका थिए । माग पुरा नभएपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रवक्ता यादवले जानकारी दिए ।


    “देशको विषम परिस्थितिलाई मध्यनजर गरी जनभावना अनुरुप पार्टीको प्रमुख नेतृत्वलाई आत्मआलोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटमसहित हामीले माग गरेको राजिनामा पत्रलाई तपाईँले अपहेलना गरी जेनजीले बगाएका रगतको अपमान गरी उल्टै नेता कार्यकर्तालाई अङ्हकारको भाषामा आफ्नो आधिकारीक फेसबुकमार्फत धारणा सार्वजनिक गरी सकेपछि हाम्रो ध्यानकर्षण भएको छ”, राजीनामा पत्रमा भनिएको छ, “त्यसैलाई आधार मानी आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी हामी पार्टीबाट राजीनामा गर्दछौँ ।”

  • प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

    प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

    २ असोज, भोजपुर । भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् । शिक्षालाई व्यावहारिकसँगै रोजगारमूलक बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको हो । भोजपुरका अधिकांश माध्यमिक तहका अधिकांश सामुदायिक विद्यालयले व्यावहारिक र जीवन उपयोगी शिक्षा दिँदै आएका छन् । प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीका लागि कक्षा ९ बाट कक्षा १२ सम्म यो शिक्षा लिने व्यवस्था गरिएको छ ।

    यहाँका पञ्चकन्या मावि च्याङ्ग्रे, यशोधरा मावि टक्सार, पञ्चकन्या मावि भुल्ने, सिद्धेश्वर मावि दावालगायत अधिकांश विद्यालयले प्राविधिक शिक्षा दिँदै आएका छन् । यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले शिक्षालाई व्यावहारिक र समय सुहाउँदो बनाउन प्रविधिमैत्री अभ्यासमूलक शिक्षणमा जोड दिँदै आएको बताए । यसले हरेक विद्यार्थीलाई स्वरोजगार बन्न सहयोग पुग्ने बताए ।


    राज्यको नीतिअनुसार नै जिल्लाका अधिकांश माध्यमिक तहका सामुदायिक विद्यालयले व्यावहारिक शिक्षामा जोड दिएको प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिए । “सामुदायिक विद्यालयले प्राविधिकसँगै व्यावहारिक शिक्षामा जोड दिँदै आएका छौँ”, उनले भने, “समयको आवश्यकताअनुसार प्राविधिक शिक्षामा जोड दिनु अपरिहार्य छ । यस्तो शिक्षाले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नेछ ।”

    पञ्चकन्या माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकराज भट्टराईले शिक्षालाई पराम्परामुखीभन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन प्रविधिमैत्री शिक्षामा जोड दिइएको बताए । बिस्तारै विद्यार्थीहरूमा प्रविधिक शिक्षाप्रति आकर्षण बढेको छ । केही समयअघि सार्वजनिक कक्षा १२ को नजितामा परीक्षामा सामेल भएका ६० विद्यार्थीमध्ये ४९ जना प्राविधिकधार र ११ जना साधारणधारतर्फका उत्तीर्ण भएको भट्टराईले बताए ।

    विद्यार्थीलाई अभ्यासका लागि विद्यालय परिसर तथा ‘लिज’मा जग्गा लिएर विभिन्न तरकारीखेती गरिएको छ । विद्याथीले अकबरे खुर्सानी, च्याउ, टमाटरखेती, आधुनिक तरिकाबाट धान, मकैखेती, माछापालन, काउली, एभोकाडो खेतीसँगै अन्य कृषिका विषयमा अभ्यासमार्फत ज्ञान लिँदै आएका छन् ।

  • धार्मिक तथा सांस्कृतिक सम्पदा जगेर्नामा जोड

    धार्मिक तथा सांस्कृतिक सम्पदा जगेर्नामा जोड

    २ असोज, टक्सार । विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालमा नेपालमै एक मात्र टक काट्ने स्थल भोजपुरको ऐतिहासिक टक्सार बजार स्थापना गरिएको इतिहास छ । यो सहरका मुख्य पहिचानका रूपमा यहाँ ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्त्वका मठमन्दिरहरू रहेका छन् । टक्सार बजार र आसपासमा २० वटाभन्दा बढी धार्मिक तथा सांस्कृतिक स्थलहरू छन्, जसमा ऐतिहासिक शाक्यमुनि बौद्धविहार, राममन्दिर, मच्छिन्द्रनाथ, शिवमन्दिर, हनुमान मन्दिर, गणेशलगायत दर्जनौँ बढी मठमन्दिर तथा विहारहरू पर्दछन् । यिनै सम्पदाहरू संरक्षण र रेखदेखको अभावमा ओझेलमा पर्दै गएका छन् ।

    यी सम्पदाको उचित रेखदेख र व्यवस्थापन नहुँदा पूजाआजा गर्ने तीर्थालुसमेत घट्दै गएको स्थानीयको गुनासो छ । स्थानीय सानुकाजी शाक्य काठमाडौँ उपत्यकाको पाटनमा रहेका मठमन्दिर जत्तिकै महत्तव बोकेका यहाँका मठमन्दिरको जीणोद्धार हुन नसक्दा समस्या भएको बताउँछन् । यसलाई दोस्रो मिनी पाटनका रूपमा पनि चिन्ने गरिन्छ । पाइलैपिच्छे भेटिने टक्सारका मठमन्दिरहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएकाले सरोकार भएकाहरूले यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    स्थानीय किशोर ताम्राकार यहाँ रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा राज्य पक्षबाट सहयोग हुनुपर्ने बताउँछन् । “इतिहास बोकेको टक्सारलाई पहिलाकै अवस्थामा फर्काउन गुरुयोजनासहित काम गर्न आवश्यक छ । टक्सारको प्रचार–प्रसारका लागि स्थापना गरिएको भोजपुर सङ्ग्रहालयबारे पनि उचित ध्यान दिन आवश्यक छ”, उनले भने ।
    यशोधरा माध्यामिक विद्यालय टक्सारका प्रधानाध्यापक धु्रवराज रेग्मी सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्वसँग सम्पदाको विकासका लागि स्थानीय निकायले योजनाबद्ध रूपमा विकास गर्नुपर्नेमा जोड दिन्छन् । “टक्सारका ऐतिहासिक सम्पदा संरक्षणका लागि स्थानीय नागरिक, स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले समेत ध्यान दिनु आवश्यक छ । नभए यहाँको पहिचान नै गुम्नसक्छ”, उनले भने ।

  • संविधान दिवस सरकारी स्तरमै मनाइने

    संविधान दिवस सरकारी स्तरमै मनाइने

    १ असोज, काठमाडौ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विगतमा जस्तै यस वर्ष पनि विविध कार्यक्रम आयोजना गरी देशव्यापी रुपमा मनाइँदैछ । सरकारले मुलुकको परिवर्तित राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको छ ।
    राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा यही असोज ३ गते बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना हुने गृहमन्त्रालयका सहसचिव ऋषिराम तिवारीले जानकारी दिए । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी विभिन्न झाँकीलगायतका कार्यक्रम कम हुनेछन् ।

    नेपालको संविधान घोषणाको एक दशकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन भनी अघिल्लो सरकारले गत भदौ ८ गते संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरेको थियो । नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान, २०७२ असोज ३ गते घोषणा भएको थियो ।

    संविधान जारी भई एक दशक पुगेको यस विशेष अवसरमा संविधान कार्यान्वयनपछिको अवस्था, उपलब्धि, कमीकमजोरी, झेल्नुपरेका समस्यालगायतका विषयमा व्यापकरुपमा वहस, छलफल तथा अन्तरक्रिया हुने भनिएकामा धनजनको अपुरणीय क्षतिसहित परिवर्तित घटनाक्रमका कारण प्रभावित हुने अवस्था सिर्जना भएको छ ।

    यस दिवसका अवसरमा वर्तमान संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, संविधानको महत्व, संविधानमा अन्तरनिहित पक्षहरुमा केन्द्रित भई प्रदेश र स्थानीय तहहरूमा समेत कार्यक्रम आयोजना हुनेछन् ।

  • तीन मन्त्रीद्वारा सङ्घीय संसद् भवन निरीक्षण

    तीन मन्त्रीद्वारा सङ्घीय संसद् भवन निरीक्षण

    १ असोज, काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा आगलागी भइ क्षतिग्रस्त सङ्घीय संसद् भवन आज तीन मन्त्रीले निरीक्षण गरेका छन् । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सो भवन निरीक्षण गरेका हुन् ।

    निरीक्षण गर्दै अर्थमन्त्री खनालले भने, “प्रदर्शनकारीको आगजनीबाट क्षतिग्रस्त यो भवन पुरानै स्वरुपमा निर्माण गरिने छ ।” त्यसैगरी मन्त्री घिसिङले आगामी पुससम्म सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवन निर्माण सम्पन्न हुने र त्यहीँ संसद्को बैठक बस्ने बताए । जेनजी प्रदर्शनका क्रममा उक्त भवन पूर्णरुपमा जलेर ध्वस्त भएको छ । प्रदर्शनमा तीन नेपाल प्रहरीसहित मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ ।

  • जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

    जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

    १ असोज, काठमाडौं । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ । प्रदेश कमिटीले आज माइतीघर मण्डलामा मौनधारण गरी दीप प्रज्वलन गरेको हो । दीप प्रज्वलनमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, पत्रकार महासंघ काठमाडौँ, ललितपुर र भक्तपुरका अध्यक्षलगायत सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

    जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा हालसम्म ७३ जनाको मृत्यु भएको छ ।

  • विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

    विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

    ३१ भदौ, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ । असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे बडादसैँको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए । यस वर्षको बडादसैँ असोज ६ गतेदेखि सुरु हुँदैछ ।

    असोज ६ गते बिहान ०९ः१३ बजे घटस्थापनाको शुभ साइत रहेको उनले बताए । असोज १३ गते सोमबार फूलपाती, असोज १४ गते मङ्गलबार महाअष्टमी र कालरात्रि परेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । असोज १५ गते बुधबार महानवमी र असोज १६ गते बिहीबार विजयादशमी परेको छ । असोज २० गते सोमबार सबै बलि दिइसक्नुपर्ने (अखिलबलिपूर्ति) र त्यसै दिन कोजाग्रत पूर्णिमा परेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिए ।

  • उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

    उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

    ३० भदौ, काठमाडौं । निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधिसभाको विघटन गरी आगामी फागुन २१ गतेका लागि नयाँ प्रतिनधिसिभाको निर्वाचन गर्ने मिति तोकिएसँगै उपनिर्वाचन रद्द गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी कात्तिक १७ गते सोमबार रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचनको मिति तोकेको थियो ।

  • सुमनाले किन छाडिन् रास्वपा ?

    सुमनाले किन छाडिन् रास्वपा ?

    ३० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’अब खुला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडेँ ।’ पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको बताएकी छिन् ।

    उनले आफूलाई यस्ता गतिविधि स्वीकार्य नभएकोले पार्टी छोडेको पनि बताएकी छिन् । ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ?,’ उनले भनेकी छन् , ‘पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने ?’ पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दुःख दिने र सबैभन्दा माथि नेतालाई राख्ने गरिएको उनको भनाइ छ । ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ’, उनले भनेकी छन् ।

    सुमना यसअघि रास्वपाको सह–महामन्त्रीबाट राजीनामा दिएकी थिइन् । तर, सांसद भएकोले पार्टीको काम गर्न समय नहुने भन्दै राजीनामा दिएको बताएकी थिइन् । समानुपातिकबाट सांसद बनेकी उनी प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री पनि भएकी थिइन् । सुशीला कार्की नेतृत्वको क्याबिनेटमा उनी मन्त्री बन्ने हल्ला पार्टीभित्रैबाट चलेपछि उनले आफू त्यस दौडमा नरहेको बताएकी छिन् । जेनजी विद्रोहीसँग निरन्तर सम्पर्कमा रहेकी सुमना प्रधानमन्त्री कार्कीको शपथग्रहणमा सामेल पनि भएकी थिइन् ।

  • आन्दोलनकारीको पहिलो निशानामा परेको संसद्ः क्षतिको मूल्याङ्कन र सेवा सञ्चालनसँगसँगै

    आन्दोलनकारीको पहिलो निशानामा परेको संसद्ः क्षतिको मूल्याङ्कन र सेवा सञ्चालनसँगसँगै

    २९ भदौ, काठमाडौं । ‘जेनजी’ समूहको आन्दोलनका पहिलो निशानामा परेको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनभित्रको चौघेराबाहेक सम्पूर्ण संरचना ध्वस्त भएका छन् । भवनभित्रका दुई ठूला कक्ष प्रतिनिधिसभा र राष्ट्रियसभामा जडान भएका सबै फर्निचर, क्यामरा, ‘साउन्ड सिस्टम’, उपकरण, ‘सर्भर’, टेलिभिजन स्क्रिनसहितका सबै सामान जलेर खरानी भएका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने, “बानेश्वरको संसद् भवनको सबै संरचना जलेर नष्ट भएको छ । कुनै पनि समान सग्लो छैन । त्यहाँ कुनै सामान पनि पहिचान गर्नसमेत नसकिने गरी खरानी भएका छन् ।”

    सभाकक्षमा जडान गरिएका महत्त्वपूर्ण सामग्री जलेर खरानी भएकाले ती कुनै पनि वस्तु पहिचान गर्न नमिल्ने अवस्था छ । भवनभित्र दुवै सभा र वरपर अन्य कक्षको छत खसेको छ । संसद् बैठकका लागि निकै महत्त्वपूर्ण मानिएको ‘सर्भर’को कुनै पहिचान नै नरहने गरी नष्ट भएको छ । सभामुख र राष्ट्रियसभा अध्यक्षका दुवै कार्यकक्ष पूर्ण रूपमा जलेका छन् । ठाउँठाउँमा भवनको कम्पाउन्ड भत्काइएका छन् । पछिल्लो राजनीतिक परिस्थितिबाट प्रतिनिधिसभा विघटन भए पनि अधिवेशन चालु नै रहेको राष्ट्रियसभाको बैठक त्यहाँबाट सञ्चालन हुन सक्ने अवस्था देखिन्न ।

    सिंहदरबारस्थित सङ्घीय संसद्का दुवै भवन भने यथावस्थामा छन् । विभिन्न समितिका स–साना घर पनि सुरक्षित अवस्थामै रहेको पाइयो । त्यहाँ भौतिक संरचनामा कुनै क्षति पुगेको छैन, तर नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको कार्यालय भने पूर्ण रूपमा क्षति भएको छ ।

    केही सवारीसाधन जलेका छन् । संसद् सचिवालयका चारपाङ्ग्रे १३ वटा, दुईपाङग्रे ४० भन्दा बढी सवारीसाधन जलेको प्रवक्ता गिरीले जानकारी दिए । तीमध्ये ३० वटा पूर्ण क्षतिग्रस्त भएका छन् । केही सामान्य मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्थाका पनि छन् । देशकै महत्त्वपूर्ण दस्तावेज रहेको संसद् सचिवालयको पुस्तकालय भने जोगिएको छ । जनप्रतिनिधिमूलक संस्था संसद् कानुन निर्माण, सरकारका कामको निगरानीलगायत काम गर्दै आएकामा प्रतिनिधिसभा विघटनपछि त्यस मातहतका संसदीय समिति निष्क्रिय छन् । राष्ट्रियसभा स्थायी सदन भएकाले अधिवेशन चालु अवस्थामा छ ।

    हाल सचिवालयले आन्दोलनबाट भएको क्षति मूल्याङ्कन र यसअघि गर्दै आएको दैनिक सेवा प्रवाहका काम भइरहेको पनि प्रवक्ता गिरीले बताए । उनले भने, “संसद् सचिवालयले नियमित कार्य गरिरहेको छ, सेवा दिइरहेकै छ । प्रतिनिधिसभा नभएपछि क्षतिको मूल्याङ्कन, पुनःनिर्माण योजनाबारे छलफलमा छौँ ।”
    प्रतिनिधिसभा विघटन भएसँगै त्यहाँ उत्पत्ति भएका ३० वटा विधेयक निष्क्रिय भएका छन् । नागरिकतासम्बन्धी विधेयक भने पारित गरेकाले सभामुखबाट प्रमाणित भएकाले राष्ट्रपतिसमक्ष पठाइने छ । अरू करिब पाँच वटा विधेयक मात्रै सदनमा विचाराधीन छन् ।

  • प्रधानमन्त्री कार्कीद्वारा पदबहाली

    प्रधानमन्त्री कार्कीद्वारा पदबहाली

    २९ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छिन् । भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त उनले गृह मन्त्रालयका लागि नयाँ निर्माण गरिएको भवनमा पदबहाली गरेकी हुन् । सो अवसरमा सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीलगायत उपस्थित थिए ।

    पदबहालीपछि प्रधानमन्त्री कार्कीले मुख्यसचिवसहित सचिवहरूसँग मन्त्रालयको कार्यविवरणका सम्बन्धमा जानकारी लिइन् । यही भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

  • जितियाको निराहार व्रत आज

    जितियाको निराहार व्रत आज

    २९ भदौ, महोत्तरी । सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले आज जितिया पर्वको व्रत सुरु गरेका छन् ।
    शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ ९दर० खाएसँगै सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले निराहार व्रत सुरु गरेका हुन् । पितृपक्ष पनि भनिने असोज कृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ ।

    शनिबार मध्यरातपछि तत्काल अष्टमी तिथि नलागे पनि व्रतको दिन सुरु भएको हुँदा मिथिलानीले ‘ओगटन’ पछि उपवास सुरु गर्नुपरेको हो । अष्टमी तिथि आज बिहान ८ः४४ बजेदेखि सुरु हुने भए पनि व्रत भने शनिबार मध्यरातपछि सुरु भएको बर्दिबास–२ ॐ शान्तिचोककी बर्तालु नगिनादेवी महतोको भनाइ छ ।


    यो निराहार व्रत भोलि सोमबार बिहान ७ः०० बजेपछि समापन गर्न सकिने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ । मिथिला क्षेत्रमा चाडपर्व, शुभकार्य र पितृकार्यसहितका सबै धार्मिक अनुष्ठान यिनै दुई पात्रोका आधारमा गरिने परम्परा छ । जितियाको व्रत समापन एक अहोरात्र कटेपछि नवमी तिथि एक घडी बिताएर गरिन पर्ने व्रत विधान रहेको बर्दिबास–२ का मैथिल कर्मकाण्डका ज्ञाता पण्डित दिनेशकुमार झा बताउँछन् ।


    पितृपक्ष (सोह्रश्राद्ध) मा पर्ने यस पर्वमा बर्तालुले सप्तमी तिथिका दिन पवित्र स्नान गरी पितृको स्मरण गर्दै व्रत सङ्कल्प गरेर चोखोनीतो खाने चलन छ । सोही दिन बर्तालुले पवित्र जलाशयमा नुहाएर सूर्यदेवलाई तोरीको तेल, पिना र आँपको अचार अघ्र्यस्वरुप चढाउँछन् ।

    योसँगै बर्तालुले दिवङ्गत सासू, बूढीसासू, ज्यामै सासू र जेठानी÷देवरानी र मातृकूललाई स्मरण गर्दै व्र्रत पूरा गर्न आशिष र आफ्ना सन्तानको कल्याणका लागि पुकारा गर्छन् । सोह्रश्राद्धमा छोराहरूले आफ्ना पितृलाई तर्पण र पिण्ड दिएर सम्झना गरेजस्तै जितियाका बर्तालुले तीन पुस्ताभित्रका दिवङ्गगत आफन्त महिलालाई तर्पण दिन्छन् । सोही दिन राति ‘ओगटन’ खाएपछि व्रत सुरु गरिन्छ ।

    पर्वको मुख्य दिन आज सबै बर्तालु राजा जिमुतवाहनको कथा सुन्दै छन् । अघि द्वापर युगमा भारत वर्षको नर्वदा नदी तटीय प्रदेशका राजा शालीवाहनका पुत्र देवदूत जिमुतवाहनले असोज कृष्ण अष्टमीकै दिन एक बिधवा ब्राह्मणीका सात भाइ मरेका छोरालाई ब्यँुताएका कथाका आधारमा सन्तानको कल्याणका लागि यो व्रत परम्परा थालिएको मैथिल जनविश्वास छ । यो व्रतबारे भविष्य पुराणमा वर्णन छ । निष्ठा र श्रद्धापूर्वक गरिने जितिया व्रतको प्रभावले सन्तानको कल्याण हुनेसँगै आमाहरूलाई सन्तानले अत्यन्त सुख दिने विश्वास गरिन्छ ।

  • नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

    नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

    २८ भदौ, काठमाडौं । संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो ।

    बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने जनाएको छ ।

  • ‘….तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’

    ‘….तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’

    २८ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार छ महिना भित्र प्रतिनिधिसभाको अर्को निर्वाचन गराउनु रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

    साथै नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्न आवश्यक भएकाले संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । जेनजी युवाको आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारको नेतृत्व निर्भिक महिलालाई प्राप्त भएको छ । कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास कायम समेत गरेकी छिन् ।


    राज्यको उच्च कार्यकारी पदमा पुग्ने सौभाग्य पाएकी प्रधानमन्त्री कार्कीले विकसित संक्रमणकाललाई निर्वाचन मार्फत पार लगाउने गहन दायित्व प्राप्त गरेकी छिन् । यही भदौ २३ र २४ गते जेनजी युवाले गरेको आन्दोलनको बलमा एकाध दिनभित्रै सरकारमा आएको परिवर्तनपछि प्रधानमन्त्रीका रुपमा कार्कीले जिम्मेवारी सम्हालेकी हुन् ।


    शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शुभकामना दिनुहुँदै देशलाई सफल बनाउन आग्रह समेत गरेका थिए । राष्ट्रपतिले भने, “ धेरै धेरै बधाई छ । धेरै धेरै शुभकामना । तपाईं सफल हुनुहोस् । देश सफल होस् ।” नवनियुक्त प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनियताको शपथ लिनु भएको छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको उपस्थिती थियो ।

    शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठ पनि सहभागी थिए । समारोहमा अमेरिका, चीन, भारतलगातयका देशका राजदूतको सहभागिता थियो भने आन्दोलनरत पक्षका रुपमा जेनजी युवाहरुको सहभागिता थियो । यस्तै, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति र सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता थियो । त्यस्तै, नवनियुक्त प्रधानमन्त्री कार्कीका पति दुर्गा सुवेदी पनि उपस्थित थिए ।

  • प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार

    प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार

    २८ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गरेका छन् । राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

    आज यहाँ विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको छ । विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिमा आएको परिवर्तनसँगै आफ्नो कार्यकाल पूरा नगरी विघटन भएको छ ।

  • नयाँ प्रधानमन्त्रीको जिम्मेवारी : ६ महिना भित्र निर्वाचन

    नयाँ प्रधानमन्त्रीको जिम्मेवारी : ६ महिना भित्र निर्वाचन

    २७ भदौ, काठमाडौं । अबको ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ।

    नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ। जेन जी आन्दोलनसँगै अघिल्लो सरकार बडारिएपछि मुलुकमा नयाँ राजनीतिक कोर्ष सुरु भएको हो । अब शासन सत्ता युवा पुस्ताको हातमा पुगेको छ ।

  • नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला

    नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला

    २७ भदौ, काठमाडौं । नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की कार्यपालिका प्रमुख अर्थात् पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छिन् । उनले लामो समयसम्म वकालत गर्दै सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश भएकी थिइन् ।

    न्यायालयभित्र प्रष्ट विचार, खरो स्वभाव र इमान्दार छवी बनाएकी उनको नेतृत्वको सरकारले प्राप्त समयाधिभित्र स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराई नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी पाएको छ । उनलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

  • राष्ट्रपति समक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथ

    राष्ट्रपति समक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथ

    २७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराएका छन् ।
    राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उनले पद तथा गोपनीयताको सपथ लिएकी छिन् ।
    राष्ट्रपति पौडेलले विसम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाक्षा अनुसार, राजनीतिक दल र सरोकारबालासँगको परामर्शमा उनलाई नियुक्ति गरेका हुन् ।


    राष्ट्रपति पौडेलबाट नेपालको संविधान बमोजिम राष्ट्रपतिमा निहित अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवम् राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिशमा छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गराउनेगरी अन्तरिक सरकारको प्रधानमन्त्रीमा उनलाई नियुक्त गरेका हुन् ।


    सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि उपस्थित थिए । जेनजीले उठाएका मागका विषयमा सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । नवनियुक्त प्रधानमन्त्रीले सानो मन्त्रिमण्डल गठन गर्ने र उक्त मन्त्रिमण्डलले गर्ने सिफारिशका आधारमा सरकारका प्राथमिकताका थप काम अघि बढाइनेछ ।

    जेनजीले मुलुकमा सुशासन, नयाँ पुस्ताको नेतृत्व र निस्क्रिय तुल्याइएको सामाजिक सञ्जालको सञ्चालन सञ्चालनको माग राख्दै आयोजना गरिएको प्रदर्शनी र त्यसपछिका घटनामा ठूलो जनधनको क्षति भएको थियो । उक्त घटनापछि तत्कालिन सरकारका प्रदानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि उक्त आन्दोलनको माग अनुरूप पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो ।

    मुलुकमा अचानक बदलिएको राजनीतिक परिस्थिति र अन्यौलको वातावरणमा नेपाली सेनाको पहलमा क्रमशः कानुनी राज्य र अमनचयन कायम गर्दै वार्ता र संवादका माध्यमबाट नयाँ सरकार गठनमा सफलता मिलेको हो । सेनाले इतिहासदेखि नै प्राप्त जिम्मेवारीलाइ संविधान सम्मतढङ्गबाट प्रजातान्त्रिक–मूल्य मान्यताका आधारमा जिम्मेवारी बहन गर्दै आएको छ । निकै जटिलपूर्ण अवस्थामा संयम भई छोटो समयमा परिस्थितिलाई सहजरूपमा अवतरण गराउन सफल भएको छ ।

  • नयाँ सरकार गठनमा रातभर छलफल, आज देशले पाउला नयाँ प्रधानमन्त्री ?

    नयाँ सरकार गठनमा रातभर छलफल, आज देशले पाउला नयाँ प्रधानमन्त्री ?

    २७ भदौ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका विषयमा आज रातभर छलफल भयो । छलफल शुक्रबार पनि छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरे । छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा अझै सहमति जुटेको छैन । शुक्रबार बिहान ९ बजेबाट पुनः छलफल सुरु हुने भएको छ ।


    पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्ष नियुक्त गर्ने विषयमा भने सहमति जुटिसकेको स्रोत बताउँछ ।
    जेन–जी युवाहरूको समूहले संसद बिघटनलाई बटमलाइन बनाएका छन् । तर विद्यमान संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्रीमा नियुक्त हुन संसदको सदस्य हुनै पर्ने भएकाले राष्ट्रपति पौडेलले वैकल्पिक उपायबारे विज्ञसँग राय मागेका थिए । छलफलमा जेनजी युवाको प्रतिनिधिको रुपमा अधिवक्ता ओमप्रकाश अर्यालसमेत सहभागी थिए । अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार समेत हुन् ।

    राष्ट्रपति पौडेलले बिहीबार नै नेपाली कांग्रेसका नेताहरूसँग पनि परामर्श गरेका थिए । साथै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि शीतल निवासमै भेटेका थिए । कांग्रेस नेताहरूले अहिलेको परिस्थितिमा पूर्वप्रधान्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सकिने राय दिएका छन् । प्रचण्डले समेत कार्कीलाई अघि बढाउने सन्दर्भमा आफूहरू सकारात्मक रहेको बताए ।

  • रास्वपाको निर्णय : जेनजीसहितको सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्री छानौं

    रास्वपाको निर्णय : जेनजीसहितको सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्री छानौं

    २६ भदौ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजीसहितको अनिवार्य सहभागीतामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्री चयनमा समर्थन जनाएको छ । बिहीबार बसेको पार्टीको भर्चुअल केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जारी गरेको उक्त प्रस्तावमा बृहत् राजनीतिक अनुमोदन हुने शुभेच्छा रास्वपाले राखेको छ । ‘सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेन–जी पुस्ता सहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहनेछ,’ रास्वपाले आफ्नो प्रस्तावमा भनेको छ ।

    त्यस्तै, संविधानको धारा ८३ अन्तर्गत संघीय व्यवस्थापिका दुई सदनात्मक हुने तथ्यको स्मरण गर्दै राष्ट्रिय सभाको स्थायी स्वरुप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्नेगरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन राख्न रास्वपाले उचित ठानेको उल्लेख छ ।

  • त्रिविको पठनपाठन अब छठ पर्वपछि मात्रै

    त्रिविको पठनपाठन अब छठ पर्वपछि मात्रै

    २६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पठनपाठन आगामी कात्तिक ११ गतेपछि मात्रै सुरु हुने भएको छ । त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सुरु गर्न समस्या भएको जनाउँदै अब छठपर्वपछि मात्र पठनपाठन हुने जनाएको हो ।

    सूचनामा भनिएको छ, “मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ ।” जेन जी आन्दोलनका कारण अहिले मुलुकमा सबै विषय संक्रमणकालमा प्रवेश गरेका छन् । सरकारविहिनताको अवस्था सिर्जना भएको छ ।

  • जेन-जी आन्दोलन : काठमाडौंमा मंगलबार निजी स्कुल बन्द

    जेन-जी आन्दोलन : काठमाडौंमा मंगलबार निजी स्कुल बन्द

    २३ भदौ, काठमाडौं उपत्यकाका निजी विद्यालय भोलि (भदौ २४ गते) बन्द हुने भएका छन् । सोमबार जेन(जीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरूले एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । साना तथा ठूला विद्यालयहरूले मंगलबार एक दिन विद्यालय बन्द रहने सूचना अभिभावकहरूलाई पठाएका छन् । सोमबारको प्रदर्शनमा परी साँझसम्म १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने सयौं प्रदर्शनकारी घाइते भएका छन् ।
    प्रदर्शनमा केही विद्यालयका विद्यार्थीसँगै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू समेत सहभागी थिए ।

  • सकियो एमालेको दोस्रो विधान महाधिवेशन

    सकियो एमालेको दोस्रो विधान महाधिवेशन

    २२ भदौ, गोदावरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म सञ्चालन भएको महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, विधान संशोधनसम्बन्धी प्रस्ताव, साङ्गठनिक प्रतिवेदनका साथै केन्द्रीय निकायका चारवटा प्रतिवेदनहरू सर्वसम्मतरूपमा पारित गरिएका छन् । महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्ताव सर्वसम्मत पारित भएको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

    यसैगरी, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले आ–आफ्ना निकायका तर्फबाट प्रतिवेदन प्रस्तुत गरे । महाधिवेशनमा तीनवटा दस्तावेज र सातवटा प्रतिवेदनमाथि छलफल गरी सुझाव प्रस्तुत गर्न दशवटा समूह निर्माण गरिएका थिए । ती समूहमा खासगरी राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि घनिभूत छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।


    छलफलपछि सबै समूहबाट टोली नेताहरूले सुझाव प्रस्तुत गर्नुभएको थियो । सुदूरपश्चिम समूहबाट पार्टीका प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी, कर्णाली प्रदेश समूहबाट प्रदेश अध्यक्ष गुलावजङ्ग शाह, लुम्बिनी प्रदेश समूहबाट प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, गण्डकी प्रदेश समूहबाट प्रदेशका कार्यवाहक अध्यक्ष मीनप्रसाद गुरुङ, बागमती प्रदेश समूहबाट प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, मधेस प्रदेश समूहबाट प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल र कोशी प्रदेश समूहबाट प्रदेश अध्यक्ष घनश्याम खतिवडा आआफ्ना समूहका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    यस्तै, केन्द्रीय निकाय, विभाग र केन्द्रीय कार्यालय समूहबाट केन्द्रीय लेखा आयोगका सचिव शिव अधिकारी, सल्लाहकार तथा आयोजक समूहबाट केन्द्रीय सदस्य चूडामणि जङ्गली र उपत्यका, जनसङ्गठन, सम्पर्क कमिटी तथा प्रवास कमिटी समूहका तर्फबाट भक्त गुरुङले समूहका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    समूहगत प्रस्तुतिपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासा, उपाध्यक्ष पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले साङ्गठनिक प्रतिवेदनमाथिका सुझाव र जिज्ञासाबारे जवाफ दिए । प्रतिवेदनमाथि प्रतिनिधिहरूले राखेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद (जबज) देशलाई हरेक क्षेत्रमा बाटो देखाउने मार्गदर्शक सिद्धान्त भएको बताउनुभयो । उहाँले माक्र्सवादलाई पार्टीले जबजका रूपमा कार्यान्वयन गर्न चाहेको र गरिरहेको बताए ।


    “जबज सिद्धान्त हो, मूल कानुन होइन । यो मार्गदर्शक सिद्धान्त हो, यसको मार्गदर्शनमा समाजवादका आधार तयार गर्दै अगाडि बढ्दैछौँ । यस्तै परिस्थिति, कार्यनीति, रणनीतिसहित स्पष्ट भिजन राखेर हामी अगाडि बढ्नेछौँ”, अध्यक्ष ओलीले भने । उनले पार्टी निर्माणको काम गर्दा बिग्रेका मानिसहरूसँग एकता खोज्दै हिँड्नु आवश्यक नरहेको भन्दै सही नीति र विचारलाई जनतामा पुर्याएर पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सकिने विश्वास व्यक्त गरे ।
    विधान संशोधनसम्बन्धी प्रस्तावबारे प्रष्ट पार्दै उपाध्यक्ष पौडेलले पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जबजबाट एमाले ‘डिरेल’ भयो भनी भ्रम सिर्जना गर्न प्रायोजित प्रचार गरिएको र त्यो निन्दनीय भएको बताए ।