Category: कला / साहित्य

  • माधव नेपाल नेतृत्वको नेकपा एसले गर्यो माओवादीसँग एकता गर्ने निर्णय, केही नेता भने विरोधमा

    माधव नेपाल नेतृत्वको नेकपा एसले गर्यो माओवादीसँग एकता गर्ने निर्णय, केही नेता भने विरोधमा

    १४ कात्तिक, काठमाडौं । माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दै एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकिएको छ । बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन् । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरे ।

    एकीकृत समाजवादीले माओवादीसँगै महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी (नेसपा) सँग पनि एकता गर्ने निर्णय गरेको छ । बैठकमा अध्यक्ष नेपालले एकताका लागि पार्टीको सचिवालय बैठकले थप गृहकार्य गर्ने जानकारी दिएका उपाध्यक्ष प्रकाश ज्वालाले बताए ।

    एकीकृत समाजवादीमा अध्यक्ष नेपाल इतरका एउटा पक्षले भने माओवादीसँग एकता गर्न नहुने अडान लिएको छ । एकता भए पार्टी पुनर्गठन गर्ने उनीहरूले बताउँदै आएका छन् । समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्यास भूसाल, नेताहरू विजय पौडेल, राम कुमारी झाँक्री लगायत नेता भने माओवादीसँगको एकताको विरोधमा छन् ।

  • माओवादीसँग एकताको विषयमा नेकपा एसमा असन्तुष्टी , ओलीले भने : हाम्रोमा आउनुस

    माओवादीसँग एकताको विषयमा नेकपा एसमा असन्तुष्टी , ओलीले भने : हाम्रोमा आउनुस

    १४ कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएका नेता तथा कार्यकर्तालाई घर फर्कन आग्रह गरेका छन् । नेकपा एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्नेबारे विवाद भइरहेका बेला ओलीले फरक मत राख्नेलाई एमालेमा फर्कन सार्वजनिक रुपमा आहृवान गरेका हुन् । ‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आहृवान गर्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो ।’

    उनले एमालेमा एकजुट भएर आशाको ज्याति बाल्न सकिने बताएका छन् । ‘फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं, देशको स्वाधीनता जोगाऔं । लोकतन्त्रको रक्षा गरौं र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं,’ उनले आग्रह छ, ‘हामी एउटै परिवार हौं । हाम्रो लक्ष्य स्पष्ट छ, समृद्ध नेपाल, सुखी नेपाली । कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा–हाम्रो साझा सपना साकार पार्न । निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं ।’


    उनले मुलुकमा देखिएको राजनीतिक संकट टार्ने दिशामा अघि बढ्न आवश्यक भएको बताएका छन् । ‘आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्क्रिक संविधानमाथि आत्रमण भइरहेको छ,’ ओली थप्छन्, ‘यस्तो बेला हामी मौन रहन सक्दैनौं । राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ ।’

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, के छन् एजेण्डा ?

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, के छन् एजेण्डा ?

    १३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ । कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रित रहेको जनाइएको छ ।

    आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ । हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ । यस अवस्थामा सुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ ।

    नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ ।

    यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । त्यसयता उनको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ ।

    यसबीचमा तिहार तथा छठ पर्वसमेत परेकाले यही कात्तिक १ गतेको अन्तिम पटक बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी अर्को बैठक आजका लागि तोकेको थियो ।

    रासस

  • राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने

    राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने

    १२ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन माघमा गर्ने निर्णयसहित पाँच निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    बैठकले नेपाल र मौरिसेसबीच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने, सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची २ हेरफेर गर्ने र स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय गरेको उनले बताए ।

    यसैगरी छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिँदै सञ्चारमन्त्री खरेलले अब अनलाइनको दर्ता र नवीकरणसम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशित भएपछि लागू हुने स्पष्ट गरे । कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसियल डेभलपमेन्ट’ विषयक कार्यक्रममा सहभागी हुनेक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा यही कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमणलाई स्वीकृत गरको पनि प्रवक्ता खरेलले जानकारी दिए । रासस

  • सरकार, दल र जेनजीबिच आज त्रिपक्षीय संवाद हुँदै

    सरकार, दल र जेनजीबिच आज त्रिपक्षीय संवाद हुँदै

    काठमाडौँ, कात्तिक १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गर्नुभएको छ । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सरकारको अग्रसरतामा पहिलो पटक त्रिपक्षीय संवाद हुने भएको हो ।

    प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षसँग सघन रूपमा वार्ता र छलफल गरिरहेकी छिन् । उनको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार (आज) अपराह्न ४ बजे सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबिच निर्वाचनकेन्द्रित संवाद हुने छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजीबिच संयुक्त बैठक आयोजना गरिएको बताए । उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए ।

    प्रधानमन्त्री कार्कीले कात्तिक ४ गते पनि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित विघटित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग संवाद गरेकी थिइन् । बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माण गर्न दलहरूले सरकारलाई आग्रह गरेका थिए ।

    प्रधानमन्त्री कार्कीले जेनजीका प्रतिनिधिसहित विभिन्न पक्षसँग निरन्तर संवाद गरिरहेकी छिन् । सरकारले निर्वाचनको तयारीका काम अगाडि बढाएको छ । सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको प्राविधिक तयारीबारे गृहकार्य अघि बढाएको छ । निर्वाचन आयोगले पनि आफ्नो क्षेत्राधिकारभित्रको काम आरम्भ गरिसकेको छ ।

  • मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु

    मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु

    ८ कात्तिक, काठमाडौं । मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठुलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ ।

    गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए । उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको बताए । गुप्ताले यो वर्ष प्रतिअर्घ्य ६०० निर्धारण गरिएको बताए । उनले भने, “सबैले दिँदैनन् । नदिनेले पनि यहाँ अर्घ्य राख्छन् । प्रत्येक वर्ष तीन ३००–३५० रुपियाँ पुर्जा काट्ने गरेको छ । श्रद्धालु भक्तजनहरूबाट आएको रुपियाँले यसको व्यवस्थापनमा लाग्ने खर्च निस्किहाल्छ ।”

    गङ्गासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा रहेको छ भने झिलीमिली बत्तीको काम बाँकी रहेको छ । गङ्गासागरमा तीन वटा समितिले सजावटको काम गर्ने गरेको छ । यस्तै, अरगजासरमा छठको घाटको निर्माण गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले दसैँ सकिएपछि आफूहरू तयारीमा जुटिसकेको बताए । उनले सजावट तथा सफाइका लागि अहिले काम भइरहेको जानकारी दिए ।
    कर्णले यस पोखरीमा हिन्दूहरू मात्र नभई मुस्लिम समुदायका पनि केही व्यक्तिहरू रहने गरेको बताए । “कर्णले घाटमा अर्घ्य राख्नेहरूबाट सहयोगस्वरूप रकम लिने गरिएको र अर्घ्य राख्नेसँग कुनै दबाव हुँदैन, हामीले सहयोगस्वरूप आर्थिक सहयोग गरिदिन आग्रह गर्छौँ”, उनले भने ।

    शान्ति सुरक्षाका लागि प्रहरीसँग पनि समन्वय गरिएको छ । यस पोखरीमा पाँच हजारभन्दा बढी अर्घ्य रहने गरेको र यो प्रत्येक वर्ष बढ्ने गरेको छ । मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरू पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर रहेकाले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामललगायतको व्यवस्था गरेर त्यसलाई धोइ पखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पिठोबाट छठको सामग्रीहरू बनाउने गरिन्छ ।

    त्यस्तै, यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरूको बजारमा भीड लागेको छ । जनकपुरधामको बजारहरूमा बाँसबाट र माटोबाट बनेको सामग्रीहरू जताततै बिक्री भइरहेको छ । छठपर्वमा बाँस तथा माटोबाट बनेको सामानहरू शुद्ध मानिने भएकोले यसको माग अहिले बजारमा बढेको छ । मिथिलानीहरू अहिले माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतीलगायतको सामान किन्नमा व्यस्त छन् ।

    चारदिनसम्म मनाइने छठपर्व भोलिदेखि औपचारिक रूपमा सुरु हुँदैछ । चार दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ । यस पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय–खाए’ हुनेछ । दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन् । यस विधिलाई ‘खरना’ भनिन्छ ।

    त्यस्तै, मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ । यस्तै, छठपर्वको अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरिनेछ । रासस

  • गायिका आत्महत्या प्रकरण : गायक गिरी पक्राउ

    गायिका आत्महत्या प्रकरण : गायक गिरी पक्राउ


    ७ कात्तिक, काठमाडौं । गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरी आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गिरी शुक्रबार पक्राउ परेका हुन् । 

    अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएपछि गायक गिरी पक्राउ परेका हुन् । पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो ।


    आफैंमाथि आगो लगाइरहेको अवस्थामा गायिका पौडेललाई गत शनिबार प्रहरीले उद्धार गरेर कीर्तिपुर बर्न अस्पताल पुर्‍याएको थियो । उक्त घटनामा गिरी पनि सामान्य घाइते भएका थिए ।
    प्रहरीका अनुसार गिरी र पौडेल झन्डै ९ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

  • राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

    राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

    ६ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेलले बिहिबार राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो । भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । अहिले विश्वभर रहेका नेपालीले भाइटिका लगाइरहेका छन् ।

  • कलाकार र प्रधानमन्त्रीबीच संयुक्त छलफल

    कलाकार र प्रधानमन्त्रीबीच संयुक्त छलफल

    ५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार कलाकारसँग सामूहिक छलफल गरेकी छिन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री सुशीला कार्कीले कलाकारसँग छलफल गरेकी हुन् ।

    प्रधानमन्त्रीसँगै गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएको छलफलमा नेपाली चलचित्र र संगीत क्षेत्रका कलाकारको उपस्थिति थियो । छलफलमा विजय बराल, कालीप्रसाद रिजाल, निश्चल बस्नेत, ऋचा शर्मा, बिपिन कार्कीलगायत कलाकारको उपस्थिति थियो ।

  • चुनावमा सहकार्य गर्न प्रधानमन्त्रीको अपिल

    चुनावमा सहकार्य गर्न प्रधानमन्त्रीको अपिल

    ५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचनमा सहकार्य गर्न अपिल गरेकी छिन् । नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो अपिल गरेकी हुन् । नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध भएको बताउँदै उनले सचेत नागरिकको भूमिका निर्वाह गर्न समेत भनेकी छिन् ।


    ‘सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ । यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ । आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौं,’ उनले भनेकी छिन्, ‘लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ ।’

    उनले सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको बताएकी छिन् । उनले राष्ट्रिय विभूति शंखधर साख्वास्ले देखाएको सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न हामी सबैलाई प्रेरणा मिलोस् भन्दै शुभकामना दिएकी छिन् । ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा शंखधरले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरिदिएका थिए । ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक निर्णय भएको प्रधानमन्त्री कार्कीले भनेकी छिन् । ‘यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो,’ उनले भनेकी छिन् ।

    शंखधरलाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएका थियो । ‘यस संवतको प्रवर्तन गर्ने ती महान् व्यक्तित्व साख्वाबाट आज पनि हामीले सिक्ने कुरा के छ भने व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई राखी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुन सक्छ,’ उनले भनेकी छिन् ।

  • प्रधानमन्त्रीले दलहरुसँग गरिन् निर्वाचन लक्षित सर्वदलीय बैठक

    प्रधानमन्त्रीले दलहरुसँग गरिन् निर्वाचन लक्षित सर्वदलीय बैठक

    ४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ। सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेता सहभागी छन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालका अनुसार बैठकमा कांग्रेस, एमाले, माओवादीसहित राष्ट्रिय मान्यता प्राप्त दलका साथै निवर्तमान संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेता र प्रतिनिधि सहभागी छन् ।


    दलसँगको आगामी चुनावका लागि आयोजित राजनीतिक दलसँगको संवादमा सरकारका तर्फबाट उपस्थित प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल सहभागी भए । सञ्चारमन्त्री जगदीश खरेलले सुरुमा स्वागत र विषयवस्तुमा प्रकाश पारेका थिए ।

    दलका नेतासँगको छलफल प्रधानमन्त्री निवासको सगरमाथा कक्षमा जारी छ। छलफलमा कांग्रेसका महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, नेकपा ९एमाले०का महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र) का वर्षमान पुन, पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र गुरुङ, मोहन श्रेष्ठ, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, प्रकाश ज्वाला उपस्थित छन् ।

    त्यसैगरी छलफलमा जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्त पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र जनमत पार्टीबाट चन्दन सिंहलगायत नेता सहभागी छन् । छलफलमा प्रधानमन्त्री कार्कीले केदारभक्त माथेमा र विद्याधर मल्लिकले पर्यवेक्षकका रूपमा बोलाएकी हुन् ।

  • तिहारमा राष्ट्रपतिको सन्देश : पर्वले एकताको सुत्रमा बाध्ने छ

    तिहारमा राष्ट्रपतिको सन्देश : पर्वले एकताको सुत्रमा बाध्ने छ

    ३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन् । तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज एक सन्देश जारी गर्दै उनले सुख, शान्ति, समृद्धि एवम उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

    ‘नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ । यस्ता पर्वहरूमध्ये तिहार हिन्दुको महान पर्वको रूपमा रहेको छ । यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ’, राष्ट्रपतिले सन्देशमा भनेका छन् ।

    राष्ट्रपति पौडेलले सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्व पनि भएको उल्लेख गरेका छन् । तिहारका माध्यमबाट प्रकट हुने विभिन्न सांस्कृतिक अभ्यासले मानवीय जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अग्रसर रहन प्रेरित गर्न सकोस भन्ने उनले कामना गरेका छन् ।

    तिहार पर्वलाई यमपञ्चक पनि भनिन्छ । यस पर्वमा काग, कुकुर, गाई, गोरु, पर्वत आदिको सम्मान गर्ने, पूजा गर्ने तथा लक्ष्मी पूजाको दिनमा भगवती लक्ष्मीको पूजा आराधना गरिन्छ । भाइटीकाका दिनमा दाजुभाइ तथा दिदीबहिनीबीच आपसमा टीका लगाई सद्भावका साथ पूजा अर्चना गरी हर्षोल्लासका साथ यो पर्व मनाइन्छ । भाइटीका लगाउने, म्हपूजा गरी आत्मशुद्धि गर्नेजस्ता चलनले प्रेम र स्नेह, सामाजिक एकता र समृद्धि, धर्म, दया र करुणा तथा अन्धकार माथिको प्रकाशको विजयजस्ता सन्देशहरू प्रवाह गरेको देखिने राष्ट्रपतिले उल्लेख गरेका छन् ।

  • महाकवि देवकोटाको ११७ औं जन्मजयन्ती आज

    महाकवि देवकोटाको ११७ औं जन्मजयन्ती आज

    ३ कात्तिक, काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन् । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन् ।

    नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी विकेको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भन्ने मान्यता छ ।

    नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीन पटक जन्मेको बताएका थिए । विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमासमेत उनले महत्वपूर्ण योगदान दिएका छन् । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरेका थिए ।

    विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए । वर्तमान नेपाल प्रज्ञा(प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिएको अविस्मरणीय देन हो । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।

    चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताकाबीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरेका थिए । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन् । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् ।

  • न्युयोर्कमा गणेश यशोधा स्वर्णिम साँझ २०२५ सम्पन्न

    न्युयोर्कमा गणेश यशोधा स्वर्णिम साँझ २०२५ सम्पन्न

    ओम कर्माचार्य, न्युयोर्क ।

    हिमालय साँस्कृतिक प्रतिष्ठान न्युयोर्कको आयोजना र कवयित्री अनिता थापाको संयोजनमा क्वीन्सस्थित उडसाइड क्याफेमा १८ अक्टोबर शनिबार साँगीतिक कार्यक्रम गणेश यशोधा स्वर्णिम साँझ २०२५ सम्पन्न भएको छ ।
    नेपाली सुगम संगीतका अनवरत साधक गणेश पराजुली र गायिका यशोधा पराजुलीको सामुहिक प्रस्तुति रहेको साँगीतिक महोललाई प्रतिष्ठानका संरक्षक / अध्यक्ष अभय ढुँगेलले संचालन र दर्शकश्रोतालाई स्वागत गर्दै साँगीतिक साँझ शुरु गरेको थियो ।

    गायन तथा वाद्यवादकको लाइभ प्रस्तुति रहेको कार्यक्रमको प्रवेश शुल्क डिनर सहित ४० डलर राखिएको थियो । करिव ३ घण्टा दर्शकश्रोतालाई २५ भन्दा बढी प्रस्तुति दिएर श्रष्टाद्वयले कहिले रुवाउने र कहिले नचाउने पारेका थिए । तबलामा न्हुच्छे डंगोल, साउण्डमा राजेन्द्र राई, गिटारमा शिशिर श्रेष्ठ र हेमराज राई हार्मोनियममा गायक पराजुली स्वयम् रहेको कार्यक्रममा नवगायिका निर्जला पराजुलीले दुई प्रस्तुति दिएकी थिइन् ।

    कलाकारद्वयले एकल तथा द्वयन गरि सामुहिक प्रस्तुति गरेको कार्यक्रमको शुरुवात सदावहार गीत ‘लाग्दछ मलाई रमाइलो’ बाट गरेका थिए । गायिका यशोधाले आफ्नै चर्चित गीत ‘दिन ढल्यो अँधेरी रातमा…’ ले माहोल तताएको थियो भने रचनाकार अनिता थापाको ‘त्यो मुटुमा त मेरो आवाज पुग्दैन भने…’ बोलको गीतले दर्शकश्रोतालाई भावुक बनाएको थियो ।

  • पुरानै कालजयी गितले धान्दैछ तिहारको संगित

    पुरानै कालजयी गितले धान्दैछ तिहारको संगित

    काठमाडौँ, २ कात्तिकः उज्यालोको पर्व तिहार हाम्रो घरआँगनमा आइसकेको छ । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनबाट सुरु भई पाँच दिनसम्म मनाइने यो पर्वमा घर उज्यालो पारेर देउसी र भैलो खेल्नुका साथै गुञ्जिने गीतसङगीतको पनि आफ्नै विशेषता छ । ती गीतसङ्गीतमा अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीत पनि समेटिएको छ ।

    चलचित्र ‘स्वर्ग’मा समावेश ‘तिहारै आयो लौ झिलीमिली’ यो गीत सुनेपछि तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत भएको गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका हुन् । यादव खरेलको रचना गरेको गीतमा शम्भुजीत बाँस्कोटाले सङ्गीत सृजना गरेका थिए ।
    ‘दियो बाली साँझको’ गीत उत्तिकै लोकप्रिय छ । चलचित्र ‘चिनो’मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराईले नृत्य गरेका छन् । कुशुम गजमेरले शब्द रचना, रञ्जित गजमेरले सङ्गीत सृजना गर्नुभएको गीतमा गायिका आशा भोस्लेले स्वर दिएका थिए । निर्देशक तुलसी घिमिरेले चलचित्र तिहारको गीत र प्रसङ्गलाई कथावस्तुअनुसार नै प्रस्तुत गरेका थिए ।

    मनिला सोताङले गाएको चलचित्र ‘अन्याय’मा समावेश ‘अधरमा आज उनकै छ’ तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो । गीतकार रत्नशमशेर थापाले शब्द रचना गरेको गीतमा रञ्जित गजमेरले सङ्गीत सृजना गरेका छन् । अभिनेता विश्व बस्नेत, अभिनेत्री मीरा माधुरी, गीताञ्जली सुनारलगायतका कलाकारहरू प्रस्तुत भएको गीतको श्रव्यदृश्य पनि दर्शकको रोजाइमा पर्छ ।

    चलचित्र ‘विजय पराजय’मा समावेश ‘निधारमा लार्काएर सप्तरङ्गी टीका’, चलचित्र ‘माइती’मा समावेश ‘हाँसेर बोल बैनी’लगायतका गीतहरू नै तिहारमा देउसीभैलोसँगै स्रोताको रोजाइमा पर्ने गरेका छन् । नेपाली संस्कृतिलाई समेटेर यी गीतहरू अझै लोकप्रिय हुनुको कारण प्रसङ्ग र श्रव्यदृश्यको उत्तिकै भूमिका रहेको गायक तथा सङ्गीतकार अर्जुन पोखरेलले बताए ।


    उनले भने, “ती समयमा कथामै गीत र चाडपर्वको प्रसङ्ग थियो । गीतिसङ्ग्रहको तुलनामा चलचित्रका गीतहरू बढी प्रचार हुने गरेका छन् । त्यहीँ कारण तिहारमात्र नभई दसैँ, होलीलगायतका पर्वमा पनि पुरानै गीत रोजाइमा पर्ने गरेका छन् ।” गायक तथा सङ्गीतकार पोखरेलले उल्लेखित गीतहरू चाडपर्वमा मात्र गुञ्जिने र लागत खर्च बढी हुने भएकाले नयाँ चलचित्रमा देख्न नपाइएको हुनसक्ने बताए ।

    पछिल्लो समय पनि चाडपर्व लक्षित गीतसङ्गीत नबन्ने गरेका होइनन् । तर सङ्ख्या निकै न्यून छ । पुराना गीतको मिठास दर्शक तथा स्रोताको मनमा बसेकाले पछिल्लो समय बनेका गीतसङ्गीतले पुराना कालजयी गीतलाई विस्थापित गर्न सकेका छैनन् ।

    राससको सहयोगमा

  • नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि दुलालको काग सम्मेलन

    नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि दुलालको काग सम्मेलन

    काठमाडौँ, २ कात्तिकः काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औँ काग सम्मेलन’सम्पन्न गरेका छन् । टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गरे । आज बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उहाँले कागको आवाज निकाल्नासाथ काग भेला भएका थिए । दुलालले कागसहित १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज नक्कल गर्छन् । उनीसँग मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारको धुन निकाल्ने कला पनि छ ।

    उनका अनुसार, विगतका वर्षहरूमा उनले कहिले रत्नपार्कस्थित शान्ति बाटिकामा, कहिले विमानस्थल परिसरमा, त कहिले सामाजिक सन्देशसहित ‘काग सम्मेलन’ गर्दै आएका छन् । दुलालले भने, “काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो । कागलाई यमराजको दूतका रूपमा मानिन्छ । यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ ।”

    काग तिहारलाई धार्मिक र सांस्कृतिक दुवै अर्थमा मनाइने परम्परालाई जोगाउन तथा जनचेतना जगाउन दुलालको यो कार्यक्रमलाई उपस्थित दर्शकहरूले सराहना गर्नुभएको छभने बहुप्रतिभाको धनी दुलालको चर्चा गरेका छन् । कार्यक्रमको मुख्य प्रायोजकमा मोर्डन राप्ती रियल स्टेट र भरत विश्वकर्मा रहेका छन् । सहप्रायोजकमा ह्याम्स हस्पिटल, शङ्करप्रसाद आचार्य, चुडा मैनाली, होराइजन स्पा, नौकरी नेपाल र शान्ति तथा ग्रामीण विकास केन्द्र नेपाल रहेका थिए ।

  • जेन जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले गरे पार्टी खोल्ने घोषणा

    जेन जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले गरे पार्टी खोल्ने घोषणा

    काठमाडौँ, १ कात्तिकः ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ । नयाँ बानेश्वरमा आज पत्रकार सम्मेलनमार्फत आफ्ना ‘एजेण्डा’ सार्वजनिक गर्दै ‘जेनजी’ पुस्तालाई गोलबन्द गर्न राजनीतिक दल गठन गरे पनि प्रत्यक्ष कार्यकारी शासकीय स्वरुप र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था हुने पर्ने आफ्नो ‘बटमलाइन’ पूरा नभएसम्म चुनावमा सहभागी नहुने बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरीय छानबिन समिति गठन र आर्थिक रुपान्तरणको स्पष्ट नीति अख्तियार गरिनुपर्नेमा जोड दिए ।


    ‘जेनजी’ प्रदर्शनलाई दिशाहीन हुन नदिन राजनीतिक दल गठन गर्ने निष्कर्षमा पुगिएको जनाउँदै ढुङ्गानाले पार्टीको नामबारे सुझाव लिने काम भइरहेको बताए । “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनलगायत मुद्दाका लागि निरन्तर लड्छौँ, जेनजीको बलिदानलाई खेर जान दिँदैनाँै”, उनले भने, “देश विकासमा सामूहिक प्रतिबद्धता र सहकार्यको आवश्यकता छ । आर्थिक समृद्धिलाई साझा सङ्कल्प बनाउन सबैलाई हाम्रो आग्रह छ ।”

    स्वदेशमा रोजगारीका अवसर नहुँदा लाखौँ युवा विदेशिनुपरेको र देश विकासमा लाग्नुपर्ने ऊर्जावान् शक्ति विदेश पलायन हुँदा मुलुक आर्थिक रूपले कमजोर बनेकाले यस्ता विषयमा सरकार जिम्मेवार हुनुपर्ने ढुङ्गानाको भनाइ छ । “बन्द कलकाखाना तुरुन्त सञ्चालनको प्रक्रिया अघि बढाउनुपर्छ, रोजगारीको सिर्जना गर्नुपर्छ । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्नुपर्छ”, आफ्नो समूहको अवधारणाबारे स्पष्ट पार्दै उनले भने, “छिमेकमा दुई ठूला जनसङ्ख्या भएका मुलुक छन्, त्यसलाई लक्षित गरेर उत्पादन वृद्धि गर्नुपर्छ ।”

  • काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न नदिइने

    काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न नदिइने

    १ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ । कार्यालयले मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ । दिपावलीको अवसरमा देउसीभैलोलगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले बेलुका नौ बजेसम्म मात्रै गर्न र कुनै गुनासो नआउने गरी मात्र खेल्ने व्यवस्था मिलाउन सूचनामा अनुरोध गरिएको छ ।

    ‘सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसीभैलो खेल्न पाइने छैन । सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई वाधा पर्ने गरी कुनैपनि प्रकारको पूजा मण्डप वा दीपावली उत्सव थल बनाउन पाइने छैन’, सूचनामा भनिएको छ । चाडपर्वको समयमा सम्पत्ति चोरीको सम्भावना अधिक हुने गरेको विगतको घटनाबाट समेत पुष्टि भएको उल्लेख गर्दै सूचनामा घर खाली नहुने गरी चनाखो र सतर्क भई आआफ्नो घर रेखदेख गर्न, घर छोड्नुपरेको खण्डमा छिमेकीलाई जानकारी गराउन र शंकास्पद व्यक्ति आएको खण्डमा नजिकको प्रहरी एवम् सुरक्षा एकाइमा खबर गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

    अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मुल्यवृद्धि, म्याद नाघेका वस्तु विक्री वितरण गर्नेलगायतका उपभोक्ता हित विपरीतका कार्य नगर्न भनिएको छ । सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तोकिएको भाडादर भन्दा बढी भाडा नलिने, ट्राफिक नियम पालना गर्ने र गराउने कार्य गर्न समेत ध्यानाकर्षण गराइएको छ । गैरकानूनी रुपमा चिठ्ठा, जुवातास र अनलाइन सपिङका नाममा हुने अवैध कारोवार तथा विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्न सबैलाई जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

  • जेन जी आन्दोलनबारे सेनाको पत्रकार सम्मेलन, विविध आरोपको यसरी गरियो खण्डन

    जेन जी आन्दोलनबारे सेनाको पत्रकार सम्मेलन, विविध आरोपको यसरी गरियो खण्डन

    ३१ असोज, काठमाडौं । नेपाली सेनाले विश्वमा परिवेशमा देखिएको आन्दोलनका तुलनामा नेपालको जेनजी आन्दोलन अनुमान गरिएभन्दा तीव्र र व्यापक रहेको निष्कर्ष निकालेको छ। सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा जेनजी आन्दोलनबाट सुरक्षा समस्या बढ्ने आकलन गरिए पनि मात्रा र तीव्रता अनुमान गरिएभन्दा ठूलो रहेको जानकारी दिइयो। सेनाका उपरथी अनुपजंग थापाले जेनजी आन्दोलन विश्वव्यापी तरङ्ग देखिएकामा यहाँ भने अचानक र व्यापक रहेकाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमनचयनका लागि सुरक्षाको वस्तुपरक विश्लेषण गरी आवश्यकताको सिद्धान्तका आधारमा अघि बढेको जानकारी दिए ।


    त्यसपछिको परिस्थितिमा सेनाले न्यायपालिका, अन्य सुरक्षा निकाय र राष्ट्र सेवक कर्मचारीको सहयोग र समन्वयमा शान्ति र स्थिरता कायम राख्ने विषयमा सन्तुलित ढङ्गले कार्य गर्दै आएको उनले बताए । सोही विभागका निर्देशक मनोज थापाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न वस्तुगतढङ्गले आवश्यक पहल गरेको स्पष्ट पारे ।


    आन्दोलनपछि अहिलेको अवस्था र परिणामबाटै सेनाको कस्तो खालको नियत रहेको थियो भन्ने आकलन गर्न सकिने बताउँदै उनले स्थिति सामान्यीकरण गर्न गरिएको बहुआयामिक प्रयासलाई वस्तुपरक ढङ्गबाट बुझ्ने र विश्लेषण गर्नुपर्नेमा जोड दिए । सेनाको बहुआयामिक भूमिका रहेकाले अग्रपङ्क्तिमा रहेर नागरिकको जीवन रक्षा र उद्धारका कार्यमा खटिँदै आएको स्पष्ट पार्दै सहायकरथी थापाले सेनाले शान्तिपूर्ण निकासका लागि सबै पक्षसँग आवश्यक परामर्श गर्नुपर्ने आवश्यकता महसुस गरेर नै विभिन्न समूहसँग छलफल गरेको बताए ।


    उनले देश र जनहितका लागि अरु सबै सुरक्षा फौजसँग हातेमालो गरी काम गरिरहेको पनि जानकारी गराए । सञ्चारकर्मीको प्रश्नको जवाफमा सेनाले जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा चुनावका लागि केही सुरक्षा चुनौती भएपनि क्रमशः शान्ति सुरक्षाको वातावरण बन्दै जाने विश्वास उनको थियो। चुनावका लागि सुरक्षासम्बन्धी रणनीतिक योजना तयार गरी क्रमशः कार्यान्वयन गरिँदै लगिने सहायकरथी थापाले स्पष्ट पारे ।


    सेनाका प्रवक्ता राजाराम बस्नेतले मुलुकको प्रतिरक्षा, विश्वशान्ति, वन्यजन्तु तथा पर्यावरण संरक्षण, पूर्वाधार विकास, ऐतिहासिक धरोहरको संरक्षण तथा आपत्कालीन उद्धारजस्ता कार्यमा सेनाले महत्त्वपूर्ण कार्य गर्दै आएको बताए । उनले गौरवमय इतिहास, पहिचान, परम्परा तथा संस्कृतिसँग गहिरोसँग जोडिएको सेनाले राष्ट्रको सार्वभौमसत्ता, अखण्डता, स्वाधिनता र एकताको रक्षा गर्दै आएको बताए ।


    त्यसअवसरमा यस वर्षको मनसुन विपद् व्यस्थापनका क्षेत्रमा संलग्न सबै सरोकारवाला पक्षसँगको सहकार्य, सहयोग र समन्वयमा प्रभावकारी कार्य भएकाले विगतका तुलनामा जनधनको क्षति न्यून गर्न सकिएको जानकारी दिइयो। मुुलुकको सर्वाधिक महत्त्वपूर्ण राष्ट्रिय गौरवका आयोजना काठमाडौँ–तराई मधेस दू्रतमार्गको हालसम्मको समग्र प्रगति करिब ४३ प्रतिशत रहेकाले तोकिएको मिति र बजेटमा आयोजना सम्पन्न गर्ने दृढता व्यक्त गरियो। सेनाले आन्दोलनका दौरान २३ गते २२ जनाको मात्र निधन भएको र अन्य व्यक्तिको मृत्युको कारण २४ गतेको घटना भएको निष्कर्ष समेत निकालेको छ । जसमा सुरक्षाकर्मी समेत रहेका छन् ।

  • एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न, के भयो निर्णय ?

    एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न, के भयो निर्णय ?

    ३१ असोज, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बैठकले ११ औं राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने निर्णय गरेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले केन्द्रीय कमिटीको बैठकले नयाँ नेतृत्वको व्यवस्थापन राष्ट्रिय ११ औं महाधिवेशनमार्फत गर्ने निर्णय गरेको जानकारी दिए ।

    उनले भने, “आगामी दिनमा समग्र नेतृत्वको पुनर्गठन, नयाँ नेतृत्व छनोट गर्ने आदि विषयको सन्दर्भमा मंसिर २७, २८ र २९ गते पोखरामा ११ औं महाधिवेशन गरेर पार्टी नेतृत्वलाई व्यवस्थित गर्नेगरी अगाडि बढ्ने निर्णय गरेको छ ।” उनले बैठकमा २२ वटा प्रस्ताव पारित भएको जानकारी दिए । बैठकले वर्तमान सरकार निर्वाचन गराउने बाटोतर्फ नभएको निस्कर्ष निकालेको छ ।


    उनले भने, “निर्वाचनको कार्यदेश प्राप्त गरेको सरकार निर्वाचनको बाटोतिर होइन, अनिर्वाचित सत्ता लम्ब्याउने दिशामा उद्धत देखिन्छ । निर्वाचनको मूख्य पक्षका रुपमा दलहरुसँग परामर्श, सहकार्य गर्नुपर्नेमा सम्पर्क समेत गर्न चाहिरहेको छैन ।” उनका अनुसार बैठकले मुलुकलाई लोकतन्त्रको बाटोमा फर्काउन प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्ने निर्णय गरेको छ ।

    उनले भने, “निर्वाचन पनि हुन नसक्ने, प्रतिनिधि सभा पनि कायम नरहने वर्तमान अवस्थाले राजनीतिक अस्थिरता र रिक्तताको भाव सिर्जना हुनाले नै नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले असंवैधानिक ढङ्गले विघटन गरिएको प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्छ माग गर्छ । यसले मात्र मुलुकलाई लोकतन्त्रको बाटोमा फर्काउन सक्छ भन्ने स्पष्ट मान्यता राख्छ ।”

    उनले बैठकमा उपाध्यक्ष युवराज ज्ञवालीले प्रतिनिधि सभाको पुनस्र्थापनाको विषयलाई प्रचारात्मक बनाउनु पर्ने विषयमा राय राखेको जानकारी दिए । त्यसमा अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समर्थन गर्नुभएको उनले बताए । एमाले बैठक असोज २९ देखि ३१ गतेसम्म ललितपुरमा आयोजना भएको थियो ।

  • एमाले केन्द्रीय कमिटी बैठक आज सकिने

    एमाले केन्द्रीय कमिटी बैठक आज सकिने

    ३१ असोज, काठमाडौं । नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेपछि सकिँदैछ । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा बाँकी केन्द्रीय सदस्यसँगै पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्नेछन् । एमालेमा स्थायी र पदाधिकारी सहित ९९ जना नेताहरु रहेका छन् । ‘बोल्न बाँकी नेताहरूलाई पनि तीन मिनेट कै समय उपलब्ध हुन्छ’ प्रमुख गौतमले भने ‘बैठकको अन्त्यमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूबाट आएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन हुन्छ ।’

    बैठकमा प्रस्तुत अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव,वर्तमान राजनीतिक परिस्थिति,घोषित निर्वाचन र पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताहरूको भूमिका आदिका बारेमा विशेष निर्देशन दिने गौतमले जानकारी दिए । ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा तीन दिन अघिदेखि केन्द्रीय कमिटीको बैठक जारी छ । जेनजी आन्दोलनपछि उत्पन्न विषम राजनीतिक परिस्थितिको छलफल गर्नका लागि एमालेले विशेष बैठक बोलाएको जनाएको छ । बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । आजको बैठकमा उपमहासचिव प्रदिप ज्ञवालीले समसामयिक प्रस्तावहरू पनि प्रस्तुत गर्नेछ ।

  • बेलायती राजकुमार माथि यौन सम्बन्ध राख्दा ‘जन्मसिद्ध अधिकारजस्तो व्यवहार’ गरेको आरोप

    बेलायती राजकुमार माथि यौन सम्बन्ध राख्दा ‘जन्मसिद्ध अधिकारजस्तो व्यवहार’ गरेको आरोप

    लन्डन, ३१ असोज (रासस÷एएफपी) । बेलायतका राजकुमार एन्ड्र्युमाथि तत्कालीन १७ वर्षीया भर्जिनिया गिफ्रेसँग यौन सम्बन्ध राख्दा उनले आफूलाई ‘जन्मसिद्ध अधिकार’ जस्तो व्यवहार गरेको आरोप गिफ्रेको मरणोपरान्त प्रकाशित संस्मरणमा उल्लेख गरिएको छ । गिफ्रेले आफ्नो पुस्तक ‘नोबडिज गर्ल : ए मेमोयर अफ सर्भाइभिङ एब्युज एन्ड फाइटिङ फर जस्टिस’ मा सन् २००१ मा लन्डनमा एन्ड्र्युसँग तीनवटा छुट्टै अवसरमा यौन सम्बन्ध राखिएको बताएकी छिन् । उनले अमेरिकी फाइनान्सर जेफ्री एपस्टेनले उनलाई यौन दासको रूपमा प्रयोग गरेको र एन्ड्र्युले उनीमाथि आक्रमण गरेका आरोप लगाइन् ।


    एन्ड्र्युले बारम्बार आरोप अस्वीकार गर्दै करोडौँ डलरको सम्झौतासहित मुद्दा बेवास्ता गरेका थिए । गिफ्रेले सन् २००१ मार्चमा लन्डनमा एन्ड्र्युसँगको भेटको अनुभव, ट्र्याम्प नाइटक्लबमा उनीहरुको भेट र एपस्टेनको सहयोगी घिस्लेन म्याक्सवेलको घरमा यौन सम्बन्ध भएको वर्णन गरेकी छिन् । गिफ्रेले संस्मरणमा भनेकी छिन्, “उनी पर्याप्त मैत्रीपूर्ण थिए, तर अझै पनि हकदार थिए, जस्तो कि उनी मसँग यौन सम्बन्ध राख्नु आफ्नो जन्मसिद्ध अधिकार हो भन्ने विश्वास गर्थे ।” एपस्टेनले उनलाई १५ हजार डलर तिरेको पनि पुस्तकमा उल्लेख छ ।

    एपस्टेनको सन् २०१९ मा जेलमा मृत्यु भएको थियो भने म्याक्सवेललाई सन् २०२२ मा कम उमेरका केटीहरू भर्ती गरेको आरोपमा अमेरिकी जेल सजाय सुनाइएको थियो । गिफ्रेको अप्रिल २५ मा पश्चिमी अस्ट्रेलियामा निधन भएको थियो । एन्ड्र्युसँगको सम्बन्धले उनको प्रतिष्ठामा ठूलो प्रभाव पारेको छ र सन् २०१९ को टिभी अन्तर्वार्तापछि उनको लोकप्रियता सर्वकालिक कममा झरेको थियो । पुस्तक अक्टोबर २१ मा नोफद्वारा प्रकाशित हुने तयारीमा छ ।

  • निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न युवा पुस्तालाई राष्ट्रपति पौडेलको आग्रह

    निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न युवा पुस्तालाई राष्ट्रपति पौडेलको आग्रह

    काठमाडौँ, ३० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न ‘जेनजी’हरूलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज प्रधानमन्त्रीसहित अन्तरिम सरकारका मन्त्री र जेनजी अभियान्तहरूसँगको छलफलमा उनले निर्वाचनलाई अवसरको रूपमा लिनुपर्ने बताए ।
    राष्ट्रपति पौडेलले युवा पुस्ताले चलाएको आन्दोलनको चाहनाअनुसारको देश बनाउन नयाँ निर्वाचनमार्फत जनादेश लिएर अगाडि बढ्नुपर्छ भन्ने ध्ययले निर्वाचन घोषणा भएकाले यसलाई सामान्य रूपमा नलिन आग्रह गरे । “युवा पुस्ताले चाहेको देश साच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस् र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको छ”, उनले भने, “त्यसैले यो चुनावलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई मेरो आग्रह छ ।”

    राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले चुनावमा युवाहरू अघि सरेर राम्रो प्रतिनिधिसभा बनाउन आग्रह गरेको जानकारी दिए । “चुनावमार्फत भ्रष्ट र बदमास जित्न नपाउन्, असल र इमान्दारहरू जितेर आउन् । त्यसपछि देश न्यायको बाटोमा जानुपर्छ, सुशासनको बाटोमा जानुपर्छ र मुलुकले उन्नति गर्नुपर्छ । युवाहरू बाध्याताले विदेशपलायन हुने अवस्थाको अन्त्य हुनुपर्छ”, राष्ट्रपति पौडेको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार पोखरेलले भने ।
    राष्ट्रपति पौडेलले यो संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभए पनि युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितिमा सरकारलाई सहभागी गराएर जेनजीहरूका प्रतिनिधिलाई राखेर छलफल गरेको उल्लेख गर्दै आन्दोलनकारीहरूका बाँकी मागबारे सरकारले ध्यान विश्वास व्यक्त गरे ।

    उनले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धिका रूपमा संविधानमा भएको राष्ट्रपतिलाई अन्तरनिहित राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अधिकार प्रयोग गरेर अन्तरिम सरकार गठन भएको भन्दै यसलाई आन्दोलनको सफलताको रूपमा लिएर फागुन २१ गतेको चुनावमा होमिन आग्रह गरे ।
    राष्ट्रपति पौडेलले युवाहरूको जायज माग राखेर गरिएको आन्दोलनलाई देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थ पूर्ति गर्न चाहानेहरूबाट सचेत रहन पनि आग्रह गरे ।

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो उमेर र स्वास्थ्यलाई ख्याल नगरी राष्ट्रपतिले देशको विषम परिस्थितिलाई सम्हाल्न गरेको रातभरको अथक प्रयासको प्रशंसा गर्दै राष्ट्रपतिले युवाहरूलाई गरेको यो आग्रह राष्ट्रपिताको जस्तो भावुक र मार्मिक रहेको बताइन् । उनले राष्ट्रपति कलिलो उमेरदेखि नै देश र जनताका लागि निरन्तर सङ्घर्ष गरेको परिपक्क नेता पनि भएको उल्लेख गर्दै उनको भनाइलाई अन्तष्करणको आवाजका रूपमा लिन आग्रह गरिन् ।

    जेनजीका प्रतिनिधिहरूले युवाहरूको आन्दोलन सामाजिक, आर्थिक न्यायका लागि र कुशासन तथा भ्रष्टाचार विरुद्ध भएको उल्लेख गर्दै संविधान, लोकतन्त्र, सङ्घीयता, समावेशीता विरुद्ध नरहेको स्पष्ट पारे । उनीहरुले आफूहरू सम्पूर्ण रूपले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गरे । त्यसका लागि आन्दोलनलाई मान्यता दिँदै आफ्ना मागहरू पूरा हुनुपर्ने बताए ।


    बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबै मन्त्री सहभागी थिए । बैठकमा ‘जेनजी’ प्रतिनिधिहरू मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी सहभागी थिए ।

  • निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल, के आयो सुझाव ?

    निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल, के आयो सुझाव ?

    काठमाडौँ, ३० असोजः निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आज पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आशन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो ।

    छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष गुरु बराल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव कविन्द्र बुर्लाकोटी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायत अन्य दलका प्रतिनिधि छन् ।

    छलफलमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दललाई आग्रह गरे । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको थियो । छलफलमा पार्टीहरुले अहिले निर्वाचनको वातावरण नबनेको बारे ध्यानाकर्षण गराएका छन् ।

  • पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    काठमाडौँ, २९ असोजः जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकोे हो ।

    जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतले महरालाई सुन्धाराको जगननाथ देवलमा पठाउन आदेश दिएको हो । यही असोज २७ गते महराविरुद्ध मुद्दा दर्ता गरिएको थियोे । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार महराविरुद्ध रू आठ करोड ५५ लाख २८ हजार ३७४ बिगो र तीन वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । मङ्गलबारदेखि थुनछेक बहस सुरू भएको थियो ।

    पूर्वसभामुख महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा यही असोज २६ गते पक्राउ गरेको थियो ।

  • मधेस प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

    मधेस प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

    महेन्द्रनगर, २९ असोजः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल आज मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । नयाँ नेतृत्वका लागि आज दिउँसो ४ः०० बजेसम्म प्रदेश प्रमुख भण्डारीले समयसीमा तोकिएकोमा बिहान कांग्रस एमालेबाहेकको छ दलको ५७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका सोनललाई प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरिन् ।


    सोनलले लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा सरकार गठनका लागि बहुमत दाबी गर्दै मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् । संविधानमा कुनै एक दलको स्पष्ट बहुमत नहुँदा प्रदेशसभामा बहुमत पु¥याउने आधारमा मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

  • कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

    कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

    काठमाडौँ, २८ असोजः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिए । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन”, उनले भने ।


    यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ । कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।

    यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४ः२९ बजेसम्म औँशी तिथि रहेको समितिले जनाएको छ ।

    गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म ९म्ह० पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आत्म ९म्ह० पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ५ गते नै आत्म (म्ह) पूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गरेका छन् ।

    यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताए । यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुन्छ । शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचन अनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ ।

    शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाईलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक भनिने तिहार पर्व मनाइन्छ । यस पर्वमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ ।

    यमदीपदान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । काग र कुकुरलाई पनि यमदूतका रूपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ । जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ ।

  • एनआरएनएको स्थापना दिवसमा कवि गोष्ठी, नेपाली मौलिकता झल्काउने प्रयास

    एनआरएनएको स्थापना दिवसमा कवि गोष्ठी, नेपाली मौलिकता झल्काउने प्रयास

    राष्ट्रिय समाचार समिति
    काठमाडौँ, २६ असोज : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्किने बताउनुभएको छ ।
    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को २२औँ स्थापना दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा गैरआवासीय नेपाली सङ्घ र भाषा साहित्य समितिको सहकार्यमा यहाँ आयोजित ‘साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना’ वाचन कार्यक्रममा साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना’ वाचन कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले नेपालका सबै भाषाको प्रतिनिधित्वसहित गरिएको सिर्जना वाचनले नेपाली समाजको मौलिक अनुहार प्रतिबिम्बित भएको बताउनुभयो । उहाँले संसारभरि छरिएर रहेका नेपालीले आफ्नो भाषा, साहित्य र संस्कृतिलाई विस्तारित गरेको उल्लेख गर्नुभयो ।

    “यसबाट बहुभाषिक देश नेपाललाई समान रूपमा समृद्ध बनाउन सकिन्छ”, कुलपति राईले भन्नुभयो । प्रज्ञा–प्रतिष्ठानको संरचना विगतको जस्तो एकल भाषी नभई बहुभाषिक प्राज्ञिक केन्द्रको रूपमा अघि बढेको उहाँको भनाइ थियोे । प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले नेपाली भाषा र साहित्यको विकासमा गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्दै अघि बढ्न सकिने बताउनुभयोे । प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङले मुलुक चलाउन नेपालमा बोलिने सबै तहतप्का र समुदायका भाषालाई प्रवद्र्धन गर्दै राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।

    गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठले विदेशमा रहेका नेपालीका सन्तानलाई नेपाली भाषा, साहित्य, संस्कृतिप्रति आकर्षित गर्दै आफ्नो मौलिकताको संरक्षण गर्नुपर्ने बताउनुभयो । भाषा जोगाएनौँ, संस्कृति बचाएनौँ र साहित्य सिर्जना गरेनौँ भने सभ्यता तथा इतिहास नामेट हुने खतरा रहने उहाँको भनाइ थियो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व महासचिव जानकी गुरुङले आफूहरू जहाँ रहे पनि नेपालप्रतिको अगाध स्नेह, माया र ममतामा कुनै कमी नआउने बताउनुभयोे । नेपाली भाषा प्रवासमा रहेका नेपालीका सन्तानलाई समयमै सिकाएर आफ्नो मातृभाषा जोगाउन सके मात्रै पहिचान बाँच्ने उहाँले बताउनुभयोे ।

    कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठ, गैरआवासीय नेपाली सङ्घकी महिला संयोजक रश्मीकाली थापा, गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा भाषा, साहित्य समितिका संयोजक विश्वासदीप तिगेला, एनआरएनए भाषा साहित्य समितिका सदस्य कथा कवि अमित थेबेलगायतले नेपाल बहुभाषिक देश भएकाले सबै भाषाको उत्तिकै समान हैसियत कायम गर्न बहुभाषिक सिर्जना वाचन महत्त्वपूर्ण हुने बताउनुभयोे ।

    बहुभाषिक सिर्जना वाचन कार्यक्रममा नेपाली भाषा, विभिन्न मातृभाषा र अङग्रेजी भाषामा गरी ५९ कविले आफ्ना कविता वाचन गर्नुभएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले नेपाली भाषा र अर्का प्राज्ञसभा सदस्य जनक रसिकले डोट्याली भाषामा कविता वाचन गर्नुभएको थियोे । कविगोष्ठीमा प्रा डा गोविन्दमान सिंह कार्की, विश्वासदीप तिगेला, मनोज न्यौपाने, स्वप्निल स्मृति, रमेश पौडेल, विमला तुम्खेवा, सन्ध्या पहाडी, मणिराज सिंह, देवेन्द्र सुर्केली, अमित थेबे, जनार्दन अधिकारी धड्कन, तीर्थराज भट्ट, सङ्गीता काली, मिथोच सुनुवार, विशाल नाल्बो, मिमबहादुर परियार, सोझो गाउँले, निरन्ती तुम्बापोलगायतले नेपाली भाषामा आ–आफ्ना कविता वाचन गर्नुभएको थियोे ।

    मातृभाषाका कवि अञ्जु राजवंशी, ओमकृष्ण श्रेष्ठ, जगत् वशिष्ठ, गणेश वाम्बुले राई, डम्बर थामी, निशेष आङ्देम्बे, पदम बालाहाङ राई, पेम्बा गेलु शेर्पा, भूमिका थारु, राकेशबहादुर बुढा मगर, आलोक तिवारी, शर्मिला राना थारु, शोभा सुनुवार, रचना मोक्तान तामाङ, स्नेहा झा, मनु ठाडा मगर, रितेश त्रिपाठी, प्रगति राई, विमला गुरुङ, प्रकृति थारू, शिलाखा वाम्बुले राई, निरा श्रेष्ठलगायतले कविता वाचन गर्नुभएको थियो ।

  • कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ मा

    कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ मा

    रासस
    पाटन । २५ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते हुने भएको छ । असोज २३ बाट सुरु भएको केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी एवम् कार्यसम्पादन समितिको बैठक आज सम्पन्न भए पनि केही तयारी आवश्यक भएकाले निर्धारित समयभन्दा दुई दिनपछि बैठक सारिएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।


    “हालको बैठकमा महत्त्वपूर्ण विषयमा छलफल भएको छ । भदौ २३ र २४ को घटनाले राष्ट्रिय राजनीतिसँगै पार्टीको जीवनमा समेत अत्यन्तै प्रभाव पारेको विषयमा गम्भीरताका साथ छलफल भयो । घोषित निर्वाचन र संसद् पुनःस्थापनाका विषयमासमेत छलफल भएको छ”, उनले भने, “पार्टी महाधिवेशन पनि विधिसम्मत रूपमा प्रक्रिया पु¥याएर युवाहरूलाई समेटेर गर्ने विषयमा समेत केन्द्रीय कार्यसमितिमा छलफल गर्ने तय भएको छ ।

    निर्वाचनका सन्दर्भमा सरकारले गम्भीरताका साथ काम गर्न सकेको छैन भन्ने हाम्रो बुझाइ छ । निर्वाचनका सन्दर्भमा अन्योलता धेरै छन् ।” पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको कार्यसम्पादन बैठकले दिएको परामर्शलाई सभापतिसँग छलफल गरेर पार्टीको केन्द्रीय समिति बैठकका एजेन्डा तय गरिने पनि प्रवक्ता डा महतले बताए ।

  • मतदाता नामावली अद्यावधिक गर्न कार्यकर्तालाई माओवादीको निर्देशन

    मतदाता नामावली अद्यावधिक गर्न कार्यकर्तालाई माओवादीको निर्देशन

    काठमाडौं, २२ असोज स् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका पार्टी पङ्क्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन दिएको छ ।

    पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा जारी गरिएको परिपत्रमा पार्टी कार्यकर्ताहरूलाई आगामी कात्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम समावेश गर्न, विवाह तथा बसाइँ सराइका कारण मतदान केन्द्र परिवर्तन गर्नुपरेमा आवश्यक प्रक्रिया पुर्‍याउन, साथै नाम, जन्म मिति वा अन्य विवरणमा त्रुटि भएमा त्यसको सच्याउन पहल गर्न आग्रह गरिएको छ ।

    परिपत्रमा भनिएको छ, “निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो । त्यसैले सम्पूर्ण पार्टी पङ्क्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ ।” यो अभियान निर्वाचन आयोगले सुरु गरेको नामावली अद्यावधिक कार्यक्रम सँग मेल खाने गरी सञ्चालन गर्न भनिएको छ ।